Tuesday, April 30, 2013

प्राधिकरणको नयाँ संरचना कार्यान्वयनमा ढिलाई

-भीम गौतम

neaकाठमाडौं, १७ वैशाख । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले प्राधिकरणको नयाँ संरचना लागू गर्ने निर्णय गरेको डेढ महिना बितिसक्दा पनि कार्यान्वयन भएको छैन ।
गत ६ चैत्रमा मुख्यसचिव एवं प्राधिकरणका अध्यक्ष लीलामणि पौडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले नयाँ संरचना गर्ने निर्णय गरेको थियो । प्राधिकरणको बैठकले नयाँ संरचना तत्काल लागू गर्न र असारभित्र पूर्ण रूपमा कार्यान्वयनका लागि प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवलाई निर्देशन दिएको थियो । यादवले १५ चैत्रमा र कर्मचारी प्रशासन महाशाखामा लागू गर्नका लागि निर्देशन दिएका थिए । महाशाखाले समेत १८ चैत्रमा नयाँ संरचना कार्यान्वयनका लागि सबै उपकार्यकारी निर्देशक र महाप्रबन्धकहरूलाई परिपत्र गरिसकेको छ । प्राधिकरणले नयाँ संरचना कार्यान्वयनका लागि महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरेको थियो । समितिले समेत प्राधिकरण विनियामवली संशोधन गरेर कार्यान्वयन गर्नका लागि सुझाव दिएको छ ।
प्राधिकरण व्यवस्थापनले समेत केही संशोधन गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै संशोधन गरेर नयाँ लागू गरिने जनाएको छ । ‘केही पुन:संरचना गरेर लागू गर्नुपर्ने अवस्था देखिएकोले त्यो संशोधन गरेर हामी लागू गर्दैछौँ ।’, प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले भने– ‘आगामी असारभित्र लागू गर्ने लक्ष्यका साथ प्राधिकरण अघि बढिरहेको छ ।’
प्राधिकरण संगठन तथा व्यवस्थापन (ओएनएम) संरचनामा व्यापक परिवर्तन गरी ७ महाप्रबन्धक र तीन उपकार्यकारी निर्देशक रहने पुरानो व्यवस्थालाई हटाएर सबै उपकार्यकारी निर्देशकको नेतृत्वमा रहने गरी ६ मा झारिएको छ । नयाँ संरचना अनुसार, ६ उपकार्यकारी निर्देशकको नेतृत्वमा प्रशासनतर्फको अर्थ र प्रशासन एउटा तथा प्राविधिकतर्फका उत्पादन, प्रसारण, वितरण, इन्जिनियरिङ र योजना गरी ५ निकाय रहनेछन् । ग्रिड विकास तथा प्रसारण तथा प्रणाली सञ्चालन मिलाएर प्रसारण, उत्पादन र निर्माण तथा उत्पादन, सञ्चालन तथा सम्भार मिलाएर उत्पादनका साथै ग्राहक तथा वितरण पूर्व र पश्चिमलाई मिलाएर वितरण विभाग बनाइएको छ । उपकार्यकारी निर्देशकको नेतृत्वमा रहेको अर्थ, प्रशासन र आन्तरिक लेखा परीक्षणको नेतृत्वमा रहेको ती निकायलाई घटाएर अर्थ र प्रशासनअन्तर्गत ल्याएर एउटा मात्र निकाय बनाइएको छ । प्रशासन अन्तर्गतको तालिम केन्द्रलाई इन्जिनियरिङतर्फ राखिएको छ भने कानुनलाई अर्थ र प्रशासनको नेतृत्वमा रहने गरी शाखामै सीमित गरिएको छ । नयाँ संरचना सार्वजनिक भए लगत्तै प्राधिकरणका कर्मचारीहरूले ऊर्जामन्त्री उमाकान्त झालाई भेटेर नयाँ संरचना संशोधनको माग गरेका थिए । उनीहरूले अर्थ र प्रशासनलाई छुट्टाछुट्टै बनाउनुपर्ने, तालिम केन्द्रलाई प्राविधिक नभई प्रशासनिक निकायअन्तर्गत ल्याउनुपर्ने लगायतमा माग गरेका थिए । उनीहरूले पुन:संरचनाका लागि गठित समितिले दिएको प्रस्तावमा परिवर्तन गरी गलत संरचना पारित गराएको समेत मन्त्री समक्ष गुनासो गरेका थिए । प्राधिकरणका कर्मचारी संघ/संगठनहरूले समेत नयाँ संरचनामा एक, दुई र तीन तहलाई करारमा मात्र राख्ने तथा पुराना म्यादी कर्मचारीहरूको स्थायीको ग्यारेन्टी नभएको भन्दै विरोध जनाउँदै आएका छन् । त्यस लगत्तै मन्त्री झाले ऊर्जामन्त्रालयका सह–सचिव किरणराज शर्मालाई प्राधिकरणको पुन:संरचनाबारे अध्ययन गरेर सुझाव दिन निर्देशन दिएका छन् ।
प्राधिककरणले नयाँ संरचना कार्यान्वयनका लागि प्राधिकरणबाट अवकाश भएका कर्मचारीहरूको ठाउँमा अर्को नियुक्त नगरी अघि बढ्ने प्राधिकरणले बताउँदै आए पनि त्यो अनुसार पुन:संरचना नभएको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए । ‘२३ चैत्रमा ग्रीड विकासका महाप्रबन्धक गणेशप्रसाद राज अवकाश भएपछि उक्त पदलाई नयाँ संरचना अनुसार लग्नुपर्नेमा पुष्पराज खड्कालाई निमित्त दिइएको छ ।’– उनले भने– ‘नयाँ संरचना लागू गर्नका लागि कामुहरूलाई हटाएर गर्नुपर्ने हो तर गरिएको छैन ।’

Sunday, April 28, 2013

“फोहोरबाट बिजुली” निकाल्न तीन आयोजना छनोटमा

-भीम गौतम

काठमाडौं, १५ वैशाख । जैविक फोहोरबाट बिजुली निकाल्नका लागि उत्कृष्ट तीन आयोजना छनोट भएका छन् ।
फोहोरबाट ऊर्जा निकाल्ने अभियान स्वरूप विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) ले काठमाडौंमा ऊर्जा बजार अभियानबाट उत्कृष्ट तीन आयोजना छनोट भएका हुन् ।
‘फोहोरमा पनि छ सम्भावना हजार, फोहोरभित्र छ शक्ति, तपाईं निकाल्नुस जुक्ति’ भन्ने नाराका साथै फोहोरबाट ऊर्जा निकाल्नका लागि आयोजनाहरूको प्रस्ताव गरेकोमा १ सय २८ आयोजनाले प्रस्ताव गरेकोमा त्यस मध्येबाट उत्कृष्ट १० छानिएका थिए । ती मध्येबाट समेत ऊर्जा बजार अभियान कार्यक्रममा तीन आयोजना छानिएका हुन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलको संयोजकत्वमा रहेको छनोट समितिले तीन आयोजनालाई उत्कृष्ट ठहर्‍याएको हो । उत्कृष्टमध्ये चितवनको सुख अल्टरनेटिभस्को पोल्टी फार्मबाट बायोग्याससम्बन्धी प्रस्ताव पहिलो, रूपन्देहीको लुम्बिनी एग्रोको प्रस्ताव दोस्रो र तनहुँको ग्रामीण तथा वैकल्पिक ऊर्जा प्रालिको प्रस्ताव तेस्रो भएको थियो । विश्व बंैकको सहयोगमा उत्कृष्ट परियोजनाका उपायहरूलाई कार्यान्वयन गर्नका लागि प्रविधिक र आर्थिक सहयोग गर्ने केन्द्रले जनाएको छ ।
देशभरबाट प्राप्त उपायहरूको नविनता, कार्यान्वयन गर्ने प्रस्तावित साझेदारी, दिगोपन लगायतको आधारमा उत्कृष्ट आयोजना छनोट गरिएको हो । कार्यक्रममा ३० प्रस्तावको पोस्टरसमेत प्रदर्शन गरिएको थियो ।
जैविक फोहोरबाट ऊर्जा निकाली यसमार्फत आर्थिक विकासमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको केन्द्रका कार्यकारी निर्देशक डा. गोविन्दराज पोखरेलले जानकारी दिए । ‘यस अभियानले फोहोरबाट बिजुली निकाल्नका लागि ठूलो योगदान दिएको छ, अब ती उत्कृष्ट आयोजनाको कार्यान्वयनका लागि विश्व बंैकसँग सहयोग मागेर अघि बढ्छौँ ।’, उनले भने ।
ऊर्जा बजार अभियानअन्तर्गत भएको कार्यक्रममा विश्वका १५ देशका सहभागीले फोहोरबाट बिजुली निकाल्दाका अनुभवका साथै नवीकरण ऊर्जाको विकासक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए । फोहरबाट ऊर्जा उत्पादन गर्न सकेमा नेपालमा लोडसेडिङ न्यूनीकरणमा सहयोग पुग्ने आशा लिइएको छ । हालै सार्वजनिक नयाँ नवीकरणीय ऊर्जा नीतिमा फोहोरबाट ऊर्जा उत्पादन गरेमा ५० प्रतिशतसम्म अनुदान दिने नीति ल्याएको छ ।
कार्यक्रममा डेनिस एम्बेसीकी पहिलो सेक्रेटरी डिटेल बज्रेगार्ड, सहायक मिसन प्रमुख चमिला रोजाक, विश्व बैंककी वरिष्ठ ऊर्जा विशेषज्ञ मौहा मुखर्जीलगायतले खेर गइरहेको जैविक ऊर्जाको उपयोगबाट ऊर्जा उत्पादन गरेर ऊर्जा संकटको न्यूनीकरण गर्न सकिने बताए ।

Friday, April 26, 2013

चार ठूला आयोजनालाई पिडिए वार्ताको आह्वान


काठमाडौं, १४ वैशाख । लगानी बोर्डले निर्यातमूलक चार जलविद्युत आयोजनालाई आयोजना विकास सम्झौता (पिडिए) वार्ताका लागि बोलाएको छ । ९ सय मेगावाटको अरुण ३ र ९ सय मेगावाटकै माथिल्लो कर्णाली, ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी २ र ६ सय ५० मेगावाटको तामाकोसी ३ जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीका प्रतिनिधिलाई बोर्डले वार्तामा बोलाएको हो ।
बोर्डका सह–सचिव मुकुन्द पौडेलले उक्त आयोजनाका प्रवद्र्धकलाई पिडिए वार्ताका लागि बोलाइएको जानकारी दिए । आगामी मेको अन्तिमसम्ममा वार्तामा आउने जानकारी पठाएको सहसचिव पौडेलले बताए । ‘हामीले वार्ताका लागि पत्र पठाइसकेका छौँ र मेको अन्तिमसम्ममा वार्ताका लागि आउने जानकारी उनीहरूले पठाएका छन्,’ पौडेलले भने, ‘बोर्डले पठाएको पिडिए मोडलमा समेत उनीहरूको सुझाव आउन बाँकी छ ।’
बोर्डले पिडिए वार्ताका लागि बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको संयोजकत्वमा मूल वार्ता समिति गठन गरिसकेको छ । सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणाबारे शुक्रबार आयोजित पत्रकारसँगको छलफलमा पिपिपी मोडेलमै बोर्डका आयोजना अघि बढाउन लागिएको जानकारी उनले दिएका थिए ।
विदेशी तथा स्वदेशी लगानीकर्तालाई आकर्षित गरी आयोजना निर्माण अगाडि बढाई रोजगारी र आर्थिक विकासलाई बोर्डले विशेष ध्यान दिने प्रमुख कार्यकारी अधिकृत पन्तले बताए । ‘नेपाली र विदेशी दुवै कम्पनीलाई समावेश गरेर पिपिपी मोडेलमार्फत आयोजना अघि बढाउन लागेका छाँै,’ पन्तले भने, ‘३ हजार मेगावाटका चार आयोजनासँग पिडिएको वार्ता अघि बढाएका छौँ ।’ लाभांश वितरणलगायत विषयको भने वार्तापछि मात्र टुंगो लाग्ने उल्लेख गर्दै उनले अर्बौंको लागतमा आयोजना बनाउन लागिएकाले पिडिएमा ढिलाइ भएको बताए । पिडिए नहुँदा आयोजनाको निर्माण कार्य दुई वर्षदेखि अघि बढ्न सकेको छैन ।
बोर्डले १२ सय अर्ब बराबरका १४ आयोजना अघि बढाउन लागिएको जानकारी दिइएको थियो । जलविद्युत् क्षेत्रको पिपिपी मोडेलबारे अध्ययनरत संस्था सिआइजीका वरिष्ठ सल्लाहकार सञ्जय पौडेलले २५ भन्दा बढी देशले पिपिए निकाय स्थापना गरेको र नेपालमा पनि कानुनमै पिपिपीसम्बन्धी कानुनी व्यवस्था रहेको जानकारी दिए ।

प्राधिकरणमा कर्मचारी संगठनको “गाईजात्रा”

भीम गौतम

biकाठमाडौं, १३ वैशाख । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादव आफ्नो कार्यकक्षमा बसेर काम गर्न नपाएको दुई हप्ता नाघ्यो । प्राधिकरणभित्र रहेका कर्मचारी संगठनहरूको आ–आफ्ना स्वार्थका माग राखेर आन्दोलन गरेपछि उनीले काम गर्न नपाएका हुन् । 
आफ्नो कार्यकक्ष अगाडि प्राधिकरणभित्रका कर्मचारी संगठनहरूले विभिन्न माग राखेर आन्दोलन गरेपछि उनले दुई हप्तादेखि आफ्नो दैनिक काम कारबाही अघि बढाउन नसकेका हुन् । आफ्नो कार्यकक्षमा जान नसकेपछि उनले कहिले ऊर्जा मन्त्रालयका एउटा कोठामा बसेर त कहिले प्राधिकरणभित्रकै अर्का कोठामा बसेर सामान्य काम मात्र अघि बढाए । कहिलेकाही कर्मचारीहरूको धर्ना सकिएपछि प्राधिकरणभित्र गएर गर्नैपर्ने अत्यावश्यक काम भने उनले गर्दै आएका छन् । ‘दुई हप्तादेखि ट्रेड युनियनको लफडाले कुनै काम गर्न सकेको छैन ।’ कार्यकारी निर्देशक यादवले भने, ‘काम गर्न नपाउँदा धेरै काम रोकिएका छन् ।’
चैत तेस्रो सातादेखि सरुवा कार्यविधिको कार्यान्वयनलाई लिएर प्राधिकरणभित्रका पाँच कर्मचारी संगठन पक्ष र विपक्षमा उभिएपछि प्राधिरणमा सुरु भएको तनाव वैशाख लागेपछि झन् बढेको थियो । प्राधिकरण कर्मचारी संघ र युनियन कार्यविधि लागू गर्न नहुने पक्षमा थिए भने प्राधिकरण संगठन, राष्ट्रिय संगठन र परिषद् लागू गर्नुपर्छ भन्ने पक्षमा थिए । यही विषयलाई लिएर ३ वैशाखमा राष्ट्रिय कर्मचारी संगठनले प्राधिकरणका १० हजार कर्मचारीको सम्पूर्ण विवरण भएको कम्प्युटर नियन्त्रणमा लिएपछि विगत दुई हप्तादेखि प्राधिकरणमा धर्ना र विरोध हुँदै आएको छ । सरुवा मनलाग्दी तरिकाले गरेको भन्दै उनीहरूले कम्प्युटर नियन्त्रणमा लिएको जनाएका थिए । त्यसपछि प्राधिकरणका गोप्य कम्प्युटर नियन्त्रणमा लिनेमाथि कारबाही गर्नुपर्ने आवाज अन्य चार संगठनले राखे ।
प्राधिकरण व्यवस्थापनले राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष सीताराम थापा लगायतको समूहले तीन कम्प्युटर लुटेको भन्दै प्रशासन कार्यालयमा निवेदन समेत दियो । कम्प्युटर नियन्त्रणमा लिएका माथि कारबाहीको माग गर्दै अन्य संगठनले धर्नासमेत दिए । दुई दिनपछि कम्प्युटर फिर्ता गरेपछि फेरि उनीहरूले आन्दोलनको माग राखेर कार्यकारी निर्देशकको कार्यकक्ष अगाडि धर्ना दिए । उनीहरूको धर्ना लगत्तै फेरि कर्मचारी संघले धर्ना दियो । ‘दुई हप्तादेखि कर्मचारी संगठनहरूले प्राधिकरणमा गाईजात्रा नै देखाए ।’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘कार्यकारी निर्देशकको कार्यकक्षमा घेराउको प्रतिस्पर्धा नै चल्यो, प्राधिकरणको हकहितभन्दा पनि सबै कर्मचारी संगठनहरू आफ्ना मान्छेको सरुवा र बढुवाका लागि आन्दोलन गरे । उनका अनुसार, प्राधिकरणका कार्यकारी निर्देशकले उनीहरूको मागलाई उचित सम्वोधन गर्न सकेनन् भने कर्मचारीहरू पनि निर्लज्ज भएर आफ्ना मान्छेको सरुवा, बढुवाको विषयलाई लिएर धर्ना र विरोधमा उत्रिए ।
जलविद्युत् उत्पादन, वितरण र प्रसारणको महत्त्वपूर्ण जिम्मेवारी लिएको प्राधिकरण व्यवस्थापनले कर्मचारी संगठनकै किचलोमा बढी समय बिताउनुपरेको र अरू काममा ध्यान दिन नपाएको गुनासो प्राधिकरणका ती अधिकारीले पोखे । ‘प्राधिकरणको आधिकारिक ट्रेड युनियनको चुनाव नहुँदा पाँच कर्मचारी संगठनका नेताहरूलाई प्राधिकरणले ज्वाइँ पालेसरह पाल्नुपरेको छ ।’ प्राधिकरणका अर्का अधिकारीले भने, ‘देशभरका एक हजार कर्मचारी विभिन्न ट्रेड युनियनका नेता भएकै कारण काम गर्दैनन, उनीहरूका लागि कोठादेखि फोन, फ्याक्स, इमेल इन्टरनेटलगायत प्राधिकरणले सहयोग गरेको छ, वर्षको ३ करोडभन्दा बढी त उनीहरूले नै खर्च गर्छन् ।’
कर्मचारी संगठनहरूको तनावका कारण दुई हप्तादेखि कार्यकारी निर्देशक यादवले स्वदेशी तथा विदेशी प्रतिनीधिहरूसँग भेट्न पाएका छैनन् भने दुई हप्ताभित्र गरिने महत्त्वपूर्ण भेटघाटसमेत रद्द गरिएको प्राधिकरण कार्यकारी निर्देशकको सचिवालयले जनाएको छ । अर्कोतर्फ प्राधिकरणमा सेवा लिन जाने सर्वसाधारण र अन्य व्यक्तिहरूले समेत कार्यकारी निर्देशकको गेटमा पुगेर ट्रेड युनियनहरूको धर्ना हेरेर फर्कनुपर्ने वाध्यता छ ।
उत्पादन, प्रसारण र वितरणमध्ये वितरणबाहेक उत्पादन र प्रसारण लाइन निर्माणमा असफल जस्तै देखिएको प्राधिकरण आर्थिक धराशायी हुँदै गएपछि कर्मचारी संगठनहरू भने झिना–मसिना कुरामा अल्झिरहेका छन् । वाह्य जे–जस्ता माग देखाए पनि भित्री रूपमा भने आफ्ना कार्यकर्ताको आकर्षक ठाउँमा सरुवा गर्न नपाएको कारण नै धेरै आन्दोलन गरिरहेको प्राधिकरणका अधिकारीहरू आरोप लगाउँछन् । यो आरोपलाई आंशिक रूपमा सत्य ठान्छन्–कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष खगेन्द्र शाही । ‘पछिल्ला समयममा कर्मचारी संगठनहरू झिना–मसिना कुरामा अल्झिएको जस्तो देखिएको छ, ठुल्ठूला कुरामा भन्दा साना कुरामा अल्भँmदा ट्ेरड युनियनको अभियान नै गलत हो कि भान पर्लाकी भन्ने आशंका जागेको छ ।’, उनले भने ।
कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष इन्द्र न्यौपाने भने प्राधिकरणभित्र मौलाएको दण्डहिनताको संस्कृति मौलाएको र यसको व्यवस्थापन प्राधिकरण व्यवस्थापनले गर्न नसक्दा समस्या आएको बताउँछन् । ‘प्राधिकरणका सबै कर्मचारीको विवरण भएको कम्प्युटर लुट्दा पनि केही कारबाही नहुने कस्तो दण्डहिनता हो ।’, उनले भने । राष्ट्रिय संगठनका अध्यक्ष सीताराम थापा भने प्राधिकरणले ल्याएको सरुवा कार्यविधि लागू हुन्न भनेर भन्नु र सरुवामा मनोमानी गर्ने प्रवृत्ति गलत भएकोले र कतिपय व्यवस्थापनले आफूले गरेको निर्णय कार्यान्वयन नगर्दा समस्या आएको बताउँछन् ।

भारतबाट थप १७ मेगावाट विद्युत् आयात

-सौर्य समाचार

काठमाडौं, १३ वैशाख । नेपाल विद्युत् प्राधिकरणलाई भारतले थप १७ मेगावाट विद्युत् दिएको छ ।
भारतको रक्सौलबाट १० मेगावाट र जयनगरबाट ७ मेगावाट विद्युत् थपी विद्युत् दिएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले जानकारी दिए । उनका अनुसार, ७ वर्षपछि भारतले जयनगर–सिरहा हुँदै बिहीबारबाटै प्राधिकरणलाई विद्युत् दिएको हो ।
गत मंसिर अन्तिम साता प्राधिकरणबाट गएको टोलीले जयनगर–सिरहाबाट १० मेगावाट र रक्सौल–वीरगन्जबाट १० मेगावाट विद्युत् आयात गर्ने सहमति गरेको थियो । सहमति गरेको झन्डै ५ महिनापछि थप विद्युत् भारतले नेपाललाई दिएको हो । प्राधिकरणका अनुसार, हाल बाल्मीकिनगर–गण्डक, दुहबी–कटैया, कटैया–राजविराज, सीतामडी–जलेश्वर लगायतका क्षेत्रबाट गरी १ सय ५० मेगावाट विद्युत् आयात हुँदै आएको छ ।
प्राधिकरणका अनुसार, अहिले विद्युत्को माग ९ सय ८५ मेगावाट रहेकोमा ४ सय ७५ मेगावाट विद्युत्को अभाव छ । निजी क्षेत्रबाट ९८ मेगावाट र प्राधिकरणमार्फत २ सय ६३ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । कुलेखानी दोस्रो जलाशययुक्त आयोजनाको ट्रान्सफर्मरमा आगलागी भएपछि प्राधिकरणले कुलेखानी पहिलो आयोजनाबाट कम विद्युत् मात्र उत्पादन गरिरहेको छ । दैनिक ६ लाख ५० हजार युनिट मात्र उत्पादन गर्ने गरेको र बन्द दोस्रो आयोजनाको खेर जाने विद्युत् कम गराउने प्रयास गरिएको प्रमुख क्षत्रीले जानकारी दिए । १० दिनभित्र दोस्रोको एक युनिट गण्डकबाट ट्रान्सफर्मर ल्याएर प्रतिस्थापन गरिने तथा एक महिनाभित्र बाँकी बिग्रिएका ट्रान्सफर्महरू जडान गरिसक्ने लक्ष्य प्राधिकरणको छ ।

Wednesday, April 24, 2013

जैविक ऊर्जा रणनीति बनाइँदै

-भीम गौतम
काठमाडौं, १२ वैशाख । परम्परागत जैविक ऊर्जाको खपत घटाउने उद्देश्यसहित सरकारले जैविक ऊर्जा रणनीति बनाउँदै छ ।
परम्परागत ऊर्जाको खपत घटाउने तथा किफायती बनाएर जैविक पदार्थलाई ऊर्जासँगै बिजुली, ग्याँस उत्पादनसमेत गर्न सक्ने गरी रणनीति बनाउन लागेको हो । देशमा ४० लाखभन्दा बढी घर परिवारअर्थात ८७ प्रतिशत अझै पनि खाना पकाउन दाउरा, गुइँठालगायतका जैविक ऊर्जामा नै निर्भर छन् ।
परम्परागत ऊर्जा प्रयोगलाई घटाएर ऊर्जा किफायती बनाउने, विविधीकरण गर्ने लगायतका उद्देश्यसहित रणनीति बनाउन लागिएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ । ‘जैविक पदार्थ ऊर्जाको स्रोतसँगै बहुउपयोगी बनाउनुपर्ने आवश्यकतालाई आधार मानेर नयाँ रणनीति बनाउन लागेका हौँ ।’ केन्द्रका सहायक निर्देशक नवराज ढकालले भने, ‘जैविक पदार्थबाट सुधारिएको चुलो र बायोग्यासका साथै दाउराबाट बिजुली, ग्यास निकालिन सकिने गरी रणनीति बनाउन लागिएको हो ।’ जैविक पदार्थको उपयोगलाई विविधीकरण गर्दै यसलाई वन, कृषि, जलवायु परिवर्तन, उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य, ग्रामीण विकास लगायतसँग जोडेर रणनीति बनाउन लागिएको छ ।
जल तथा ऊर्जा आयोगको सचिवालयले जर्मन विकास सहयोग (जिआइजेड)को सहयोगमा सञ्चालित नेपाल इनर्जी इफिसियन्सी प्रोग्राम (निप) को सहभागितामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जैविक ऊर्जा रणनीति निर्माण अघि बढाएको हो । सरकारले निर्माण गरिरहेको राष्ट्रिय ऊर्जा रणनीतिमा समेत जैविक ऊर्जाको प्रयोग घटाउने उल्लेख छ । सोही आधारमा बनाइरहेको जैविक ऊर्जा रणनीतिको अन्तिम मस्यौदा सन् २०१३ भित्रै पूरा गर्ने लक्ष्य राखिएको छ । सन् २०१० देखि रणनीति बनाउन सुरु गरिएकोमा अहिले भने नीपले रणनीतिकै लागि आइपी र इन्ट्रिेगेसनको संयुक्त परामर्शदाता कम्पनी छनोट गरेको छ भने कम्पनीका परामर्शदाताले रणनीति बनाउन सुरु गरिसकेका छन् । परामर्शदाता कम्पनीले चार चरणमा अन्तिम मस्यौदा तयार गर्न लागेको छ । अध्ययनपछि सरोकारवालाहरूसँग छलफल, त्यसपछि निर्माण, त्यसपछि फेरि सरोकारवालाहरूसँग छलफल गरेर मस्यौदा निर्माण र उक्त मस्यौदामा सल्लाह, सुझाव लिएपछि अन्तिम मस्यौदा बुझाउने परामर्शदाता वेर्नहार्ड मोहन्सले जानकारी दिए । उनीहरूले हिमाली, पहाडी र हिमाली क्षेत्रका सहरोन्मुख र ग्रामीण क्षेत्र पुगेर जैविक ऊर्जाको उपयोगबारे समेत स्थलगत छलफल गर्ने कार्यक्रम छ ।
मंगलबारसमेत परामर्शदाता कम्पनीका साथै आयोग, केन्द्र, निप कार्यक्रमका प्रतिनीधिहरू र सरोकारवालाहरूबीच रणनीतिबारे छलफल भएको थियो । छलफलमा रणनीतिको उद्देश्य र भिजन, कार्ययोजना निर्माण, राजनीतिक र नीतिगत वातावरण, लक्ष्य प्राप्तिका लागि अवलम्बन गर्ने उपायहरू लगायतबारे छलफल भएको थियो । सहभागीहरूले जैविक पदार्थसँग जोडिएका सबै क्षेत्रहरूलाई समेटेर रणनीति बनाउन सल्लाह दिएका थिए ।
केन्द्रले विभिन्न सरकारी, नीजि तथा गैरसरकारी साझेदारहरूको सहभागितामा हालसम्म देशभर ६ लाख ६० हजारभन्दा बढी घर परिवारमा सुधारिएको चुलो र लगभग ३ लाख घरपरिवारमा वायोग्यासको प्रवद्र्धन गरिसकेको छ । सन् २०१२ को जुलाई १६ देखि केन्द्रले नेपाल सरकार तथा विभिन्न विकास साझेदारहरूको सहयोगमा राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमको जैवीक ऊर्जा सह–इकाईअन्तर्गत २०१७ सम्ममा थप ४ लाख ७५ हजार उच्च गुणस्तरका सुधारिएको चुलो प्रवद्र्धन गर्ने तथा चुलोको परीक्षणलाई संस्थागत गर्ने लक्ष्य राखेको छ । हालै मात्र नेपाल सरकारले ‘सन् २०१७ सम्ममा देशका सम्पूर्ण घरपरिवारहरूमा स्वच्छ ऊर्जाका प्रविधि पुर्‍याई घरभित्रको धुँवामुक्त नेपाल बनाउने’ योजना घोषणा गरेको छ । जैविक पदार्थमार्फत ग्यास र बिजुली निकाल्ने नमुना आयोजना भने केन्द्रले निर्माण गरिसकेको छ ।

Tuesday, April 23, 2013

माथिल्लो सेती जलविद्यत् ऋण सहमती

-सौर्य समाचार
काठमाडौं, ११ वैशाख । एसियाली विकास बैक (एडिबी) र अर्थ मन्त्रालयबीच १ सय ४० मेगावाटको माथिल्लो सेती जलविद्युत् परियोजना निर्माणका लागि १ सय ५० मिलियन डलर ऋण दिने सहमति भएको छ ।
अर्थ मन्त्रालय र एडिबीबीच ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा अर्थसचिव शान्तराज सुवेदी र एडिबीका देशीय निर्देशक केनेची योकोहामाले हस्ताक्षर गरेका छन् ।
गत फागुन अन्तिम साता जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्थ मन्त्रालयबीच १४ अर्ब रुपियाँ बराबरको ऋणपत्रमा सम्झौता भएको थियो । तनहुँ हाइड्रो पावर कम्पनीद्वारा निर्माण हुने आयोजनाको कुल लागत ५ सय ५ मिलियन डलर हो । आयोजनाका लागि युरोपियन इभेस्ट फन्डले ७० मिलियन डलर र अबुदाबी फन्डले ३० मिलियन डलर ऋण दिन सहमत भए पनि ऋण सम्झौतापत्रमा हस्ताक्षर हुन बाँकी गरेको आयोजनाका निर्देशक महेश आचार्यले जानकारी दिए ।
एडिबीको २५ लाख अमेरिकी डलर बराबरको प्राविधिक सहयोग र प्राधिकरणको लगानीमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन
(डिपिआर) निर्माण कार्य भइरहेको छ भने जाइकाको सहयोगमा सम्भाव्यता अध्ययन भएको थियो । सन् २०१४ भित्रै निर्माण सुरु गरेर ६ वर्षभित्र परियोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्देशक आचार्यका अनुसार, करिब डेढ वर्षपछि आयोजनाको निर्माण कार्य सुरु हुनेछ । आयोजनाबाट तनहुँका आठ गाविस प्रभावित हुने तथा करिब ४५ घर मात्र विस्थापित हुने परियोजनाले जनाएको छ ।

Sunday, April 21, 2013

आयोगले “मनोमानी” तोक्यो विद्युत् प्राधिकरणको बजेट

-भीम गौतम
काठमाडौ, ९ वैशाख । राष्ट्रिय योजना आयोगले नेपाल विद्युत् प्राधिकरणको बजेटको सिलिङ मनोमानी ढंगले निर्धारण गरेको पाइएको छ । सम्बन्धित निकायसँगको समन्वयमा बजेटको सिलिङ तोक्नुपर्ने भए पनि आयोगले प्राधिकरणका लागि अन्दाजकै भरमा तोकेको हो ।
आर्थिक वर्ष ०७०/७१ का लागि सरकारले प्राधिकरणलाई दिएको २५ अर्बको बजेट आवश्यकताभन्दा ठूलो देखाउन आयोगले मनोमानी ढंगले सिलिङ तोकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणलाई २५ अर्बको सिलिङ तोकेको आयोगले सरकारका तर्फबाट ४ अर्ब २० करोड, अनुदान ४ अर्ब र वैदेशिक ऋण १७ अर्ब छुट्याएको छ । प्राधिकरणका अनुसार ४ अर्ब अनुदान भनिएकोमा १ अर्ब ५८ करोडभन्दा आवश्यक छैन भने सरकारले दिने ४ अर्ब २० करोड कम बजेट हो । वैदेशिक ऋणका रूपमा १७ अर्बको सिलिङ दिइए पनि १२ अर्बभन्दा बढी खर्च हुने अवस्था छैन ।
आयोगले प्राधिकरणको वास्तविकता नबुझी अनुदानमा झन्डै साढे २ अर्ब तथा वैदेशिक ऋणमा ५ अर्ब रुपियाँ बढीको सिलिङ दिएको छ । गत वर्ष सरकारले ५ अर्ब ९२ करोड रुपियाँ छुट्याएकोमा यस वर्ष घटाएर ४ अर्ब २० करोड मात्र छुट्याएको प्राधिकरणले जनाएको छ । ०७०/७१ का लागि कम्तीमा ८ अर्ब रुपियाँ सरकारले दिनुपर्ने अवस्था रहे पनि आधा रकम मात्र छुट्याएको हो । ‘समग्र छुट्याएको २५ अर्ब रुपियाँ हेर्दा त प्राधिकरणलाई यथेष्ट बजेट दिइएको देखिन्छ तर आवश्यक बजेटलाई घटाएर अनावश्यक बजेटको सिलिङ बढाइएको छ,’ प्राधिकरणका निर्देशक सुरेन्द्र राजभण्डारीले भने, ‘आयोगले बजेट बनाउँदा प्राधिकरणसँग छलफल गर्नुपर्ने हो तर छलफल नगरी सिधै पठायो ।’
२५ अर्बको सिलिङमा साढे ८ अर्ब रुपियाँ खर्च नहुने रकम हो । सरकारले दिने ४ अर्ब २० करोडमध्ये ग्राहक तथा वितरण पूर्व तथा पश्चिममा करिब ३ अर्ब खर्च हुने अनुमान छ । बाँकी रकमले चमेलिया, कुलेखानी तेस्रो, त्रिशूली–३ ‘ए’लगायत आयोजनाका साथै महत्त्वपूर्ण ठाउँमा खर्च गर्नुपर्ने अवस्था रहेको राजभण्डारीले बताए । ‘थुप्रै आयोजनामा रकम खर्च गर्नुपर्ने अवस्था छ तर एकदम न्यून रकम योजना आयोगले पठाइदियो,’ उनले भने । उनका अनुसार उक्त ४ अर्ब २० करोड रुपियाँ लोडसेडिङ न्यूनीकरणबाहेकका लागि हो । लोडसेडिङ न्यूनीकरणका लागि भारतबाट विद्युत् आयात गर्दाको तथा डिजेल र मल्टिºयुल चलाउँदाको फरक रकम यसमा समावेश छैन ।
कतिपय आयोजना त आयोगले सिधै तोकेर बजेटसहित पठाउने गरेको तीतो अनुभवसमेत प्राधिकरणका अधिकारीसँग छ । ‘छलफलै नगरी तथा सम्भव र असम्भव कुनै कुराको ख्याल नगरी कहिलेकाहीँ त आयोगले सिधै आयोजना र बजेटसमेत पठाउने गरेको छ,’ प्राधिकरण्का एक अधिकारीले भने, ‘सामान्यत: आयोगका पदाधिकारीले प्राधिकरण र ऊर्जा मन्त्रालयसँग समन्वय गरेर बजेटको सिलिङ र कार्यक्रम बनाउनुपर्ने हो तर त्यो गरेको छैन ।’ सिधै बजेट पठाउँदा त्यसको दुरुपयोगको सम्भवना बढी रहेको ती अधिकारीको भनाइ छ ।

सार्क युवा उद्यमीको अध्यक्षमा सौरभ ज्योति

-सौर्य समाचार
काठमाडौं, ९ वैशाख । दक्षिण एसियाली राष्ट्रहरूको संगठन (सार्क) चेम्बर अफ कमर्सको युवा उद्यमी मञ्चमा नेपालका सौरभ ज्योति अध्यक्ष चयन भएका छन् ।
सार्क चेम्बर अफ कमर्सको ५७ औँ कार्यकारी बैठक तथा १८औँ साधारणसभाबाट ज्योति दुई वर्षका लागि अध्यक्षमा चयन भएका हुन् । सार्क युवा उद्यमीका अध्यक्ष सारुक मल्लिकले ज्योतिलाई आइतबार अध्यक्ष पद हस्तान्तरण गरेका थिए ।
सार्क चेम्बर अफ कमर्सको बैठकले सार्क राष्ट्रभित्रका राष्ट्रिय उद्यमीहरूको संस्थालाई समेत सदस्यता दिने निर्णय गरेको छ । बैठकमा सार्क चेम्बरको स्थापना भए पनि अन्तरदेशीय उद्यमशीलता विकासमा योगदान दिन नसकेको चिन्ता प्रकट गर्दै अन्तरदेशीय लगानी र उद्यमशीलता विस्तारमा जोड दिइएको थियो ।
सार्क कमर्सका अध्यक्ष विक्रमसिंह सिंहानीले सार्कभित्र एउटै मुद्रा निर्माण, सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा आर्थिक विकास, अन्तरदेशीय व्यापार प्रवद्र्धन, आर्थिक बौद्धिकता वृद्धिलगायतको क्षेत्रमा अग्रसर हुने बताए । सार्क क्षेत्रभित्र आर्थिक विकासका लागि सार्क विकास कोष स्थापना ग िरएको र त्योमार्फत जलस्रोतको सम्भावना भएका नेपाल, भुटानलगायत देशमा जलविद्युत्को विकासका लागि लगानी गर्न तयार रहेको अध्यक्ष सिंहानीले बताए । ‘सार्कभित्रका उद्यमीहरू जलविद्युत्को विकासका लागि तयार छन्,’ उनले भने ।

Saturday, April 20, 2013

भारतीय लगानीका आयोजना बन्न नदिने माओवादी चेतावनी

-सौर्य समाचार

काठमाडौं, ८ वैशाख । नेकपा–माओवादीले भारतीय लगानीमा निर्माण हुन लागेका चार आयोजना बन्न नदिने चेतावनी दिएको छ ।
वैद्य पक्षीय माओवादीको जलस्रोत तथा ऊर्जा विभागले शनिबार विज्ञप्ति जारी गरी उक्त चेतावनी दिएको हो । नेपाल उद्योग वाणिज्य महासंघले प्रमुख राजनीतिक दलहरूलाई स्वदेशी तथा विदेशी लगानीमा बन्ने कुनै पनि जलविद्युत् आयोजनामा वाधा, अवरोध र हड्ताल नगर्ने प्रतिवद्धता गराएको दुई हप्ता नवित्दै माओवादीले उक्त चेतावनी दिएको हो । महासंघको प्रतिवद्धता जनाउने कार्यक्रममा निमन्त्रणा गरेर पनि माओवादीका अध्यक्ष मोहन वैद्य सहभागिता भएका थिएनन् ।
भारतीय लगानीमा निर्माण हुन लागेका ९ सय मेगावाटको अरुण ३ र ९ सय मेगावाटकै माथिल्लो कर्णाली, ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी २ र ६ सय ५० मेगावाटको तामाकोसी ३ आयोजनालाई बन्न नदिने चेतावनी माओवादीले दिएको हो । यी आयोजना अघि बढाउनका लागि लगानी बोर्डले केही दिनअघि मात्र आयोजना विकास सम्झौता (पिडिए) अगाडि बढाउनका लागि बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको संयोजकत्वमा समिति गठन गरेको थियो । सरकारले आयोजना अघि बढाउने प्रक्रिया अघि बढाइरहेको बेला माओवादीले उक्त चेतावनी दिएको हो । माओवादीले पञ्चेश्वर, सप्तकोसी उच्च बाँधसमेत निर्माण हुन नदिने उल्लेख गरेको छ । यी आयोजनाहरूको भारतमा विद्युत् निर्यात हुने गरी निर्माण हुन लागेकोले नेपालको हित नहुने भन्दै विरोध गरिएको माओवादीले जनाएको छ ।

‘जनताको जलविद्युत्’को मस्यौदा तयार

-भीम गौतम

riverकाठमाडौं, ८ वैशाख । जनआन्दोलनको ०६२/६३ सालको सफलतापछि जनताको सहभागितामा जलविद्युत् आयोजना निर्माण गर्नका लागि सरकारले अघि सारेको ‘जनताको जलविद्युत्’ को मस्यौदा तयार भएको छ ।
आर्थिक वर्ष ०६८/६९ मा सुरु गरिएको जनताको जलविद्युत् कार्यक्रमको कार्यान्वयन कार्यविधिको मस्यौदा विद्युत् विकास विभागले तयार गरेको हो । ०७१ को असारभित्र कार्यक्रम अगाडि बढाउनका लागि सम्पूर्ण नियम, कार्यविधिलगायत तयार गरी जलविद्युत् आयोजनाहरू अघि बढाउने योजना सरकारको छ ।
सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा ५ देखि २५ मेगावाटसम्मका जलविद्युत् आयोजना निर्माणका लागि ०६८ सालमा तत्कालीन ऊर्जामन्त्री गोकर्ण विष्टको पालामा यो कार्यक्रम अघि सारिएको थियो । कार्यक्रमको कार्यान्वयन कार्यविधि तयार पारेर स्वीकृतिका लागि ऊर्जामन्त्रालयमा पठाइएको विभागका सुपरिटेन्डिङ इन्जिनियर एवं कार्यविधि मस्यौदा समितिका संयोजक दिनेश घिमिरेले जानकारी दिए । ‘कार्यविधि तयार गरेर स्वीकृतिका लागि मन्त्रालयमा पठाएका छौँ, मस्यौदाबारे मन्त्रालयमा समीक्षा भइरहेको छ ।’– उनले भने– ‘जनआन्दोलनको सफलतापछि जनतालाई जलविद्युत्मा सहभागी गराउन र देशमा भइरहेको लोडसेडिङ कम गर्नका लागि जनताको जलविद्युत् कार्यक्रम सरकारले अघि सारेको हो ।’
ऊर्जा उत्पादनमा क्षेत्रीय सन्तुलन मिलाउने गरी बनाउन लागिएको कार्यविधिमा सरकार, स्थानीय जिल्ला विकास समिति, गाउँ विकास समिति, सहकारी संस्था, उद्योग वाणिज्य संघलगायतको जलविद्युत् आयोजनामा सहभागिता गराउन प्रस्ताव गरिएको छ । संयोजक घिमिरेका अनुसार, निर्माण हुने जलविद्युत् आयोजनाका लागि सरकारले ४० देखि ५० प्रतिशत, जिविसले १५ प्रतिशत, गाविसले १० प्रतिशत, उद्योग वाणिज्य संघले १५ प्रतिशत, स्थानीय संघसंस्था, सहकारी र जनताले शून्यदेखि १० प्रतिशतसम्म तथा छिमेकी जिल्लाका जिविसलगायतबाट १० प्रतिशत सेयर राख्न प्रस्ताव गरिसकेको छ । उक्त सेयरबारे भने ऊर्जा मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिइसकेको विभागले जनाएको छ । कार्यविधिमा सबैको सहभागितामा कम्पनी दर्ता गरी जलविद्युत् आयोजना अघि बढाउने उल्लेख छ । जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेपछि सरकारको सेयर जिविसलाई दिने तथा सबै आयोजनाको जिम्मा जिविससहित सम्बन्धित कम्पनीलाई दिएर जनतामार्फत नै आयोजनाको सञ्चालन गरिने प्रस्ताव गरिएको छ । ‘जलविद्युत् आयोजनामा जनताको स्वामित्व र अपनत्व बढाउनका लागि यो कार्यक्रम अघि बढाउन लागिएको छ ।’– संयोजक घिमिरेले भने, ‘जनताको जलविद्युत् आयोजना अघि बढाएपछि आयोजनामा स्थानीयबासीबाट आउने वाधा अवरोधको अन्त्य हुन्छ, पहुँच मार्ग, प्रसारण लाइन निर्माणलगायतका कार्यमा सहजता आउँछ ।’ विभागले
खारेज भएका जलविद्युत् आयोजनाहरूलाई क्षेत्रीय सन्तुलन मिलाउने गरी जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत अगाडि बढाउने लक्ष्य राखेको छ । कार्यक्रमबाट स्थानीय समुदायको सशक्तिकरण, विकास निर्माण तथा गरिबी निवारणमा सहयोग पुग्ने अपेक्षा विभागको छ ।
जनताको जलविद्युत् कार्यक्रमअन्र्तगत मोडेलका रूपमा लमजुङको ८.७ मेगावाटको लोअर चेपे, ताप्लेजुङको १३.१ मेगावाटको मैवा, रोल्पाको १२.२५ मेगावाटको मादी र डोटीको ५.७८ मेगावाटको डोटीगाड जलविद्युत् आयोजना अघि बढाउन लागेको छ । हरेक जलविद्युत् आयोजनाहरूमा विभिन्न वाधा, व्यवधान, अवरोध तथा समस्या आइरहेको बेला जनताको प्रत्यक्ष सहभागितामा जलविद्युत् आयोजना निर्माण गर्ने उद्देश्यसहित अघि सारिएको जनताको जलविद्युत् कार्यक्रममार्फत समयमै जलविद्युत् आयोजना निर्माणमा सहयोग पुग्ने अपेक्षा सरकारको छ ।

अनियमितताले भवन नबन्दा विद्यार्थीको कन्तबिजोग

-भीम गौतम

Schoolकाभ्रे, ८ वैशाख । गाह्रो चर्किएर भत्कनै लागेको भवन, झरी पर्नासाथ चुहिएर नजिकको घरमा जानुपर्ने अवस्था । हिउँदमा चउरमा पढ्नुपर्ने बाध्यता । विद्यार्थी त के शिक्षकमा पनि विद्यालय भवन भत्कने त्रास ।
राजधानीसँग जोडिएको जिल्ला काभ्रेको एक विद्यालयको दयनीय अवस्था हो यो । काभ्रेको महादेवटार गाविसस्थित जोगेश्वर माध्यमिक विद्यालयको भवन जीर्ण भएपछि त्रासमा पढाइ चलिरहेको छ । भित्ता र भुइँ चर्किएको छ । दुईतले भवनको भुई तलामा पढ्ने विद्यार्थीले माथिल्लो तलाबाट आउने धुलोलाई नियमित पचाउनुपर्छ । उस्तै खसिएला कि भन्ने चिन्तामा हुन्छन् माथिल्लो तलाका विद्यार्थी ।
‘विद्यालय भवनको गाह्रो चर्किएको र भत्कन लागेकाले विद्यार्थी त डराइ–डराई पढ्नुपर्छ नै शिक्षकले पनि डराइ–डराई पढाइरहनुपरेको छ,’ प्रधानाध्यापक अम्बिकाप्रसाद दाहाल भन्छन्, ‘नयाँ भवन बन्न नसक्दा बिजोग अवस्थामा जोखिम मोलेर पढ्नु/पढाउनुपर्ने अवस्था छ ।’
जिल्ला सदरमुकाम धुलिखेलबाट ३२ किलोमिटरको दूरीमा रहेको उक्त विद्यालयलाई २७ वर्ष पुरानो माटो र ढुंगाको कच्ची भवनले थेगेको छ । ०४३ सालमा बनेको भवनको भित्ता तथा भुइँ चर्किएका छन् । दोस्रो तलामा बार्दली पनि दरिलो छैन । ढोका तथा झ्याल पनि उस्तै जीर्ण छन् । एउटा कक्षाले अर्को कक्षालाई अवरोध नगरी शान्तिसाथ पढ्नुपर्ने आवाज उठिरहेका बेला यहाँ भने अर्को कक्षा सजिलै देख्न सकिन्छ । कतिपय कक्षा त खुला छन् । झरीबाट जोगिन सिलिङमा प्यास्टिक टाँगिएको छ । कक्षा कोठाभित्र प्वाल देखिन्छन् । कक्षा कोठाभित्रका गाह्रा पनि अधिकांश चर्किएका छन् । ढोकामा प्वालैप्वाल ।
सरकारको माथिल्लो निकायसम्म स्थानीयवासीको पहँुच नहुँदा विद्यालयको अवस्था दयनीय रहँदै आएकोमा आर्थिक वर्ष ०६६/६७ मा बल्लतल्ल जिल्ला शिक्षा कार्यालयले चारकोठे भवन बनाउन ८ लाख २५ हजार रुपियाँ सहयोग गरेको थियो । समुदायमा हस्तान्तरण हुँदाको ३ लाख र गाविसबाट प्राप्त २ लाख ७५ हजार गरी १४ लाखको लागतमा भवन निर्माणसमेत थालिएको थियो । ०६८ असारमै भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि अझै काम पूरा हुन सकेको छैन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंखलाल तामाङले पूर्वअध्यक्ष नरमान लामाले रकम हिनामिना गरी भवन नबनाएकाले विद्यालयको अवस्था नाजुक बन्न पुगेको बताए । ‘पूर्वअध्यक्षले बन्न लागेको भवनको डिपिसी मात्र गरेर विद्यालय भवन अलपत्र पारिदिए,’ उनले भने, ‘सातपटक त हिसाब–किताब गर्नका लागि व्यवस्थापन समितिको बैठक बसेर चिठी पठायाँै, भेटेर पनि भन्यौँ तर हिसाब–किताब पाइएन ।’
हिसाब चुक्ता नगरेपछि लामालाई व्यवस्थापन समिति सदस्यबाट निलम्बन गरिएको छ । तामाङका अनुसार १४ लाखमध्ये डिपिसीका लागि ४ लाख खर्च गरेर बाँकी १० लाख लामाले अनियमितता गरेका हुन् । लामाले अनियमितताको आरोप अस्वीकार गरे पनि भवन निर्माणको हिसाब भने बुझाउन सकेका छैनन् । अनियमितता छानबिनका लागि शिक्षा कार्यालयसँग प्राविधिक मूल्यांकन गर्न पत्र पठाइए पनि एक वर्षदेखि बेवास्ता गर्दै आएको विद्यालयले जनाएको छ । शिक्षा कार्यालयले भने चाँडै भवन निर्माण गर्न ताकेता मात्र होइन, कालोसूचीमा राखिदिने चेतावनी दिँदै आएको छ ।
बेरुजुले रोक्यो नयाँ योजना
लामा नेतृत्वको काम पूरा नहुँदा नयाँ व्यवस्थापन समितिले ल्याएको २ करोड ८५ लाखको लागतमा भव्य र आधुनिक भवन बनाउने योजना अघि बढ्न सकेको छैन । नेपाल तामाङ कलाकार संघको समन्वयमा सांस्कृतिक कार्यक्रम गरी संकलित रकमबाट भवन निर्माण गर्ने योजना यसअघिको बेरुजुका कारण रोकिएको हो ।
‘विकट गाउँको विद्यालय भनेर कलाकार संघ नयाँ भवन निर्माणका लागि सहयोग गर्न तयार भयो तर यसअघिको काम पूरा नहँुदा अप्ठ्यारो परेको छ,’ तामाङले भने, ‘डिपिसी मात्र सकिएको भवनको निर्माण त अघि बढाएका छाँै तर आर्थिक समस्या परेको छ । सापटी खोजेर करिब १६ लाख खर्च रुपियाँ भइसकेको छ । अब त सहयोगी खोजिरहेका छौँ ।’
संघका केन्द्रीय अध्यक्ष चन्द्रकुमार दोङ पनि देश/विदेशका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम गरेर विद्यालय भवनका लागि सहयोग गर्न तयार भए पनि पुरानो भवनका कारण समस्या परेको बताउँछन् ।
पढाइमा भने अब्बल
भौतिक पूर्वधारका दृष्टिले नाजुक रहे पनि उक्त विद्यालय पढाइमा भने राम्रोमा गनिन्छ ।
‘०१६ सालमा स्थापना भएको यो विद्यालय चार वर्षदेखि एसएलसी परीक्षा सहभागी छ,’ तामाङले भने, ‘तीन वर्ष शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्षको एसएलसीको परीक्षाफल कुरिरहेका छौँ ।’
गत वर्ष ३ सय ७६ विद्यार्थी रहेको यसपटक भर्ना अभियान जारी रहेको विद्यालय व्यवस्थापनले जनाएको छ ।

Friday, April 19, 2013

राधिकरणमा पौडेलको राजीनामा र झाको आगमन

-भीम गौतम

Bhim-Gautamनेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको अध्यक्षबाट मुख्य सचिव लीलामणि पौडेलले चैत्रको दोस्रो साता राजीनामा दिएपछि अहिले प्राधिकरणको अध्यक्ष ऊर्जा मन्त्री उमाकान्त झा छन् । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत मंसिरमा अध्यक्षमा नियुक्त गरेका पौडेलले मन्त्री झा ऊर्जा मन्त्री भएपछि राजीनामा दिए । जम्मा चारमहिना प्राधिकरणको अध्यक्ष बनेका पौडेलको कार्यकालको उपलब्धि र झाको आगमनपछिको आगामी यात्राबीचमा कस्तो सहकार्य रहला त्यो त हेर्ननै बाँकी छ तर प्राधिकरणको इतिहासमा पौडेलको कार्यकाललाई स्वर्णिम समयको रूपमा लिइएको छ ।
प्राधिकरण जानकारअनुसार, चारमहिनाको छोटो अध्यक्षता गर्दा पौडेलले झन्डै ८२ वटा निर्णय र ९५ वटा निर्देशन दिए । अध्यक्ष बनेर पौडेलले के गरेनन्, प्राधिकरणभित्रको अनियमिततालाई रोक्ने प्रयास गरे, पेन्डिङ अवस्थामा रहेको ट्रान्सफर्मर प्रकरणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुर्‍याए, सेत्तो हात्ती मानिएको डिजेल प्लान्ट स्थापनाको निर्णय रद्ध गरे, सबैभन्दा बढी महसुल उठाए, प्राधिकरणको पुनर्संरचना गराए, भोटेकोसी र खिम्ती जलविद्युत् आयोजनामा डलरमा पिपिए गरेर थलिएको प्राधिकरण डलरमा पिपिए गर्दा सरकारले डलरको जोखिम खोल्न तयार भए मात्र गर्ने निर्णय गरे, प्राधिकरणभित्रको व्यवस्थापकीय कामलाई चुस्त दुरुस्त पारे, कर्मचारीको काम चोरी प्रवृत्ति निरुत्साहित बनाए, विद्युत्चोरी र चुहावटलाई नियन्त्रणमा सक्रियता देखाए आदिआदि । झा मन्त्री भएपछि पुनर्संरचनाका लागि बनेको समितिको प्रतिवेदनलाई हुबहु नगरी हेरफेर गरेर हतारहतार पारित गर्ने निर्णय गराउँदा केही असावधानी देखिए पनि त्यो अत्यावश्यक थियो भन्नेमा कसैको दुईमत छैन । वर्षौदेखि पुनर्संरचना गर्ने पूर्वप्राधिकरण सञ्चालक समितिका अध्यक्षहरू, मन्त्रीहरूले भाषण गर्दै आएका थिए, तर उनले काममै गरेर देखाए । प्राधिकरणको शुभचिन्तक कर्मचारीहरूको नजरमा मुख्य सचिव पौडेल मात्र प्राधिकरणको इतिहासमा त्यस्ता सफल र इमान्दार मान्छे देखिए, जसले प्राधिकरणभित्र काम गर्दा कहिल्यै आफ्नो स्वार्थका लागि काम गरेनन् र प्राधिकरणको अहितमा एउटा पनि काम गरेनन् । प्राधिकरणमा अध्यक्ष बनेर आउनको आफ्नो स्वार्थ हुन्छ, उनीहरू अधिकांशले आफ्नो सबै स्वार्थ पूरा गरी छाड्छन् । यो प्राधिकरणले वर्षौदेखि भौग्दै आएको तीतो सत्य हो तर पौडेलले प्राधिकरणको हितबाहेक आफ्नो स्वार्थ कतै देखाएनन् । ऊर्जा सचिव अध्यक्ष हुँदा आफ्नो स्वार्थका लागि भरपुर प्राधिकरणलाई प्रयोग गरेका थिए । उनैले प्रधानमन्त्री एवं प्रधानमन्त्री पत्नीलाई आर्थिक लाभ देखाएर २ अर्ब ८४ करोड रुपियाँमा आउने डिजेल प्लान्टलाई सबैका विरोधका बाबाजुत झन्डै १० अर्ब रुपियाँमा किन्ने निर्णय गराएका थिए । त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको क्षमता वृद्धिमा पनि उनले लविङ गरिरहे । तर, करोडौँको आर्थिक लोभ देखाउँदा पनि र तत्कालीन भट्टराईको इच्छाविपरीत राष्ट्रलाई ठूलो घाटा लाग्ने देखेर उनले डिजेल प्लान्ट किन्ने निर्णय रद्ध गरिदिए । मुख्य सचिवका अगाडि चुँ नबोल्ने ऊर्जा सचिवले भने मुख्य सचिवविरुद्ध कुप्रचार गर्नका लागि ठूलै षड्यन्त्र गरिरहे तर अहिले पनि गरिरहेकै छन् । मुख्य सचिवले प्राधिकरणबाट राजीनामा दिउँmको महिनौसम्म धाराप्रवाह रूपमा उनीविरुद्ध कुप्रचार गरिनु यसको ज्वलन्त उदाहारणहरू हुन् । जे कारणले र जसलाई खुसी पार्न मुख्य सचिवविरुद्ध कुप्रचार गरिए पनि प्राधिकरण र जलविद्युत् क्षेत्रको विकासभन्दा पनि आफ्नो स्वार्थमा लाग्ने प्राधिकरण सञ्चालक अध्यक्षहरूको पुरानो शैली र गलत चरित्रबाट टाढा रहेर पौडेलले गरेको त्याग र योगदान प्राधिकरणका लागि अविस्मरणीय छ । ऊर्जा सचिव र उनका आसेपासेबाहेक प्राधिकरणभित्र मुख्य सचिवको समग्र कार्यकाललाई प्राधिकरणको अहिलेसम्मको इतिहासमा सबैभन्दा सफल र इमान्दार कार्यकाल भन्नेहरू धेरै छन् । सुरुसुरुमा केही व्यक्तिको उक्साहटमा लागेर गलत निर्णय गरे पनि त्यो आफँै सच्चाएर र सबै कर्मचारीको भावना र मर्का बुझेर प्राधिकरणको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्ने उनको शैली साँच्चै प्राधिकरणका भावी अध्यक्षका लागि प्रेरणादायी र अनुकरणीय छ । कुनै पार्टीको सरकार भएको बेला त्यही सरकारको अध्यक्ष नियुक्त भएर आउँदा त्यही सरकारको स्वार्थभन्दा प्राधिकरणको स्वार्थलाई हेरेर निर्णय गर्ने उनको कार्यपद्धति साँच्चै अनुकरणीय छ ।
पौडेलले राजीनामा दिएपछि ऊर्जा मन्त्री झा अध्यक्ष भएका छन् । लामो समयसम्म सरकारको सचिव भएर अनुभव सम्हालेका उनी स्वतन्त्र व्यक्तिको रूपमा मन्त्री बनेका छन् । पौडेलको जस्तो कुनै पार्टीको प्रधानमन्त्री भएको बेलामा जस्तो टाउको माथिको जातो उनीसँग छैन । सबै दलको स्वार्थसँग डराउनुपर्ने अवस्था पनि छैन । ऊर्जा मन्त्री झाका लागि अनियमितता र घाटाको चक्रमा फसेको भनिएको प्राधिकरणलाई सबैभन्दा पारदर्शी र सफल बनाउने सुनौलो अवसर आइपुगेको छ । पौडेलले सबै चुनौतीको चौघेराबीच बिना स्वार्थ काम गरेर देखाइदिए तर मन्त्रीलाई कुनै चुनौती र समस्या छैनन्, उनले कुनै स्वार्थ राख्न खोजेनन् भने जलविद्युत् विकासका लागि र प्राधिकरणको उत्थानका लागि जस्तासुकै असल काम गर्नका लागि ढोका खुला छ । विद्युत् उत्पादन, प्रशारण र वितरण तीनवटै काम गर्ने प्राधिकरण सफल भएमात्र जलविद्युत् क्षेत्र सफल हुन्छ भन्नेमा दुईमत छैन । विगतका सरकार र अध्यक्षहरूले प्राधिकरणलाई कमाई खाने भाँडो बनाएकै कारण प्राधिकरण थलिएको छ, त्यो थलिएको र बिरामी परेको प्राधिकरणलाई स्वस्थ बनाउनका लागि झाको आगामी यात्रा केन्द्रित हुनुपर्छ ।
कुनै आर्थिक लाभ र लालचाको पछि नलागी जलविद्युत्को विकास र प्राधिकरणलाई सक्षम संस्था बनाउने जिम्मेवारी झाको काँधमाथि आएको छ । प्राधिकरणका असल अध्यक्षहरूको नामावलीमा झाको नाम थप्ने यो सुनौलो अवसर पनि हो । यो अवसरका अगाडि थोरै चुनौती र समस्या मात्र भएकाले इमान्दारिता प्रस्तुत गरेर झाले प्राधिकरणलाई गतिशील बनाउनु आवश्यक छ । ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखानलाई बारम्बार सम्झने प्राधिकरणका कर्मचारीका लागि ब्रेक थु गर्ने प्रयासको अन्त्यमा पुगेर पौडेलले छोडेका छन् र अब ब्रेक थु्र गरेर बलियो सुरुङ बनाउने जिम्मा मन्त्रीको झाको काँधमा आइलागेको छ । हिजो दुलामा बसेर मुख्य सचिवका असल कामहरूको विरोध गर्ने झिना स्वरहरू अहिले बलवान भएका छन् । मन्त्री झाकैवरिपरि घुमेर ऊर्जा संकटको अर्को भयंकर तस्बिर देखाउँदै सेत्तो हात्ती डिजेल प्लान्ट र त्रिशूली ३ ‘ए’ क्षमताको विस्तारका लागि फेरि प्रयास सुरु गरिसकेका छन् । हिजो मुख्य सचिवको प्रतिस्पर्धामा सँगै रहँदाको तुष पालेर मन्त्री झाअगाडि बढ्नु हुन्न । मन्त्री भएपछि झाले आफ्नो पद र प्रतिष्ठाभित्रै बसेर पौडेलले गरेका असल कार्यहरूको निरन्तरता दिनुपर्छ । वर्षौदेखिको पुरातन र गलत परम्परालाई भत्काएर नयाँ र वैज्ञानिक पद्धति ल्याउँदा विरोध हुन्छ तर मन्त्री झा त्यसमा अल्झनु हुन्न । प्राधिकरणको पुन:संरचना, डिजेल प्लान्ट किन्ने निर्णय स्थगित, सरुवा कार्यविधिको लागू, त्रिशूली ३ एको क्षमता वृद्धिलगायत मुद्दामा पौडेलले गरेको निर्णयलाई खराब भन्नेहरूको संख्या थोरै छ, तर चर्को छ । तपार्इं मन्त्री झालाई सजिलै सुन्ने गरी चिच्याउन सक्ने अवस्थामा उनीहरू छन् । तिनैको स्वार्थमा लाग्नुभयो भने तपार्इंलाई सबैभन्दा खराब अध्यक्ष बनाउने पनि तिनै हुनेछन् । यसकारण मुख्य सचिवसँगको हिजोको तुष छोडेर मन्त्री झाले ऊर्जाको असल ड्राइभर बन्नुपर्छ । मन्त्री झाको लागि यो सबैभन्दा उपयुक्त अवसर हो ।

चमेलिया आयोजनामा लम्बेतान

-भीम गौतम

काठमाडौं, ६ वैशाख । चमेलिया जलविद्युत् आयोजना निर्माणमा फेरि ढिलाइ हुने भएको छ । ०६३ सालमा सुरु भई ०६८ वैशाखमा सम्पन्न गर्नुपर्ने भए पनि आयोजनाको अवधि थपेर ०७० साउन पुर्‍याइएको थियो । साउनसम्ममा पनि आयोजना पूरा नहुने भएपछि दोस्रोपटक एक वर्ष थप्ने निश्चित भएको छ ।
आयोजना प्रमुख राजेन्द्र मानन्धरले सन् २०१३ अगस्टभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा सुरुङ साँघुरिने, पेनस्टकको समस्यालगायत रहेको जानकारी दिएका छन् । आयोजना निर्माण ढिलाइ हुनुमा सुरुङ साँघुरिने मात्र समस्या नभएको विद्युत् प्राधिकरणका एक अधिकारी बताउँछन् । ती अधिकारीका अनुसार प्राधिकरण सञ्चालक समितिले तत्काल निर्णय नगर्नुका साथै परामर्शदाताको निर्देशन ठेकेदार कम्पनीले नटेर्ने, ठेकेदार कम्पनीले आर्थिक समस्या देखाउँदै काम नगर्ने, बढी भेरियसन दाबी गर्नेलगायत समस्या पनि ढिलाइको कारण बनेको छ ।
‘आयोजना समयमा पूरा नहुनुमा ठेकेदार कम्पनीको पनि बदमासी छ, उसका उपकरण पुराना छन् भने जनशक्ति पनि कम छ,’ उनी भन्छन्, ‘प्राधिकरणले चमेलियामा रहेको सुरुङ साँघुरिने समस्याको निर्णय गर्न सात महिना लगाइदियो ।’
प्राधिकरण उत्पादन तथा निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डे भने समस्या थपिँदै गएकाले आयोजना निर्माणमा ढिलाइ भएको बताउँछन् ।
प्राधिकरण स्रोतका अनुसार आयोजना निर्माणमा ढिलाइसँगै सुरुको लागत ९.९९ करोड डलर रहेकोमा झन्डै चार अर्ब १७ करोड रुपियाँ बढेको छ । ३० मेगावाट क्षमताको चमेलियाको लागत बढ्नुमा सुरुङ साँघुरिने समस्या मुख्य रहेको मानन्धरले बताए ।
प्राधिकरणले कोरिया सरकारको सहयोगमा निर्माण गरिरहेको आयोजनाको शाह सिल्ट आइकन जेभी परामर्शदाता छ भने चाइनिज गेजुवा वाटर एन्ड पावर कम्पनीले मुख्य सिभिलको काम गरिरहेको छ । ठेकेदार कम्पनी सिजिजिसीसँग दुई अर्ब ८८ करोड १३ लाखमा ठेक्का सम्झौता भए पनि बढेर पाँच अर्ब ३८ करोड ६२ लाख रुपियाँ पुगेको र अझै बढ्ने अवस्थामा रहेको प्राधिकरण स्रोतले जनाएको छ । अहिलेसम्म सिभिलको काम ८५ प्रतिशत मात्र सकिएको छ ।
सुरुङको पाँच सय ५० मिटर क्षेत्र साँघुरिँदै गएपछि आयोजना निर्माणमा ढिलाई हुँदा फेरि म्याद लम्बिने भएको हो । गत साउनमा विशेषज्ञ डा. मनोज बर्मन नेतृत्वको टोलीले सुरुङमा पुगेर समस्या पहिचान गरेको थियो । प्राधिकरणका अनुसार सुरुङको साँघुरिने क्रम १.६ मिटरसम्म पुगेको छ । उक्त प्रतिवेदन साउनमै बुझाए पनि त्यसबारे निर्णय हुन भने झन्डै सात महिना लागेको र फेरि टोली पठाउन लागिएको प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न भएको सुरुङको ढलान गरी फिनिसिङ गर्ने क्रममा खुम्चिएको पत्ता लागेको थियो । सात किलोमिटर लामो सुरुङको अघिल्लो वर्षको वैशाख अन्तिम साता ब्रेक थ्रु भएको थियो । दार्चुलाको शिखर ४ मा बन्न लागेको चमेलिया आयोजना राजधानी काठमाडौबाट ९ सय ५० किलोमिटरको दूरीमा पर्छ ।
यसैबीच चमेलिया जलविद्युत् आयोजनाको समस्याबारे अध्ययन गर्न ऊर्जासचिव हरिराम कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको छ । उमाकान्त झा ऊर्जामन्त्री भएपछि पहिलोपटक उनको अध्यक्षतामा हालै बसेको विद्युत् प्राधिकरणको बैठकले आयोजनाको समस्याका सन्दर्भमा कोइरालाको संयोजकत्वमा समिति गठनको निर्णय गरेको हो । समितिमा प्राधिकरणका कार्यकारी निर्देशक, प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय विवेक तातेड र मनोज मिश्र सदस्य छन् ।

Wednesday, April 17, 2013

प्राधिकरणका कम्प्युटर अझै कब्जामै

-सौर्य समाचार

काठमाडौं, ५ वैशाख । नेकपा–माओवादीनिकट नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी संगठनका कर्मचारीले कब्जा गरेका प्राधिकरणका तीन गोप्य कम्प्युटर अझै फिर्ता भएका छैनन् ।
मंगलबार दिउँसो कर्मचारी सरुवाको विषयलाई लिएर छापामार शैलीमा कब्जा गरिएका कम्प्युटर कर्मचारी संगठनले आºनो कार्यालयमा राखेको छ । ती कम्प्युटरमा प्राधिकरणका सम्पूर्ण कर्मचारीहरूको अभिलेख रहेको छ ।
प्राधिकरण व्यवस्थापनले कार्यालयभित्रबाट लुटेर लगेका कम्प्युटर खोजतलास गरी सुरक्षित राख्न तथा लुटपाटमा संलग्नहरूमाथि कारबाही गर्न मंगलबार नै जिल्ला प्रशासन कार्यालय काठमाडांैमा निवेदन दिए पनि प्रहरीले कुनै वास्ता गरेको छैन ।
बुधबारसम्म पनि कम्प्युटर फिर्ता ल्याउन नसकेको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक रामेश्वर यादवले आफूहरूले प्रशासनलाई निवेदन दिएको र कम्प्युटर अझै पाउन नसकेको बताए । बुधबार दिउँसो प्रहरी प्राधिकरणको केन्द्रीय कार्यालय पुगे पनि कम्प्युटरको खोजतलास नगरेको उनले बताए । ‘अति गोप्य’ र महत्त्वपूर्ण कम्प्युटर लुटिएकाले प्राधिकरणलाई समस्या परेको यादवले बताए ।
कम्प्युटर नियन्त्रणमा लिने संगठनका अध्यक्ष सीताराम थापाले भने आफूहरू दिनभर प्राधिकरणभित्रैको कार्यालयमा बसेको र समस्या समाधानका लागि कार्यकारी निर्देशकले कुनै वास्ता नगरेको बताए । ‘प्राधिकरणले यसबारे वार्तामा बोलाएको छैन, २४ घन्टाभित्र समस्या समाधान नगरे हामी नेपाल राष्ट्रिय कर्मचारी महासंघ आबद्ध सबै कर्मचारी आन्दोलनमा उत्रन्छौँ,’ उनले भने ।

कुलेखानी दोस्रोको उत्पादन बन्द

-भीम गौतम

Kulekhaniकाठमाडौं, ५ वैशाख । कुलेखानी दोस्रो जलाशययुक्त जलविद्युत् आयोजनाको ट्रान्सफर्मरमा आगलागी भएको छ । हिउँदको बेलामा लोडसेडिङ न्यूनीकरणका लागि मेरुदण्ड मानिएको कुलेखानी दोस्रोमा आगलागीपछि विद्युत् उत्पादनसमेत बन्द भएको छ ।
मंगलबार राति वाइफेजको ट्रान्सफर्मरमा ब्रुसिङ भएर पड्केपछि आगलागी भएको आयोजना प्रमुख कृष्ण यादवले जानकारी दिए । ३२ मेगावाट क्षमता भएको आयोजनाले ट्रान्सफर्मर पड्कदा साढे चार मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको केन्द्रले जनाएको छ । मध्यरातमा कम मात्र विद्युत्को माग भएकोले कम उत्पादन भइरहे पनि पिक आवरमा भने बढी विद्युत् उत्पादन कुलेखानी दोस्रोबाट हुँदै आएको थियो ।
राति पौने १२ बजे आगलागी भएपछि स्थानीयवासी, नेपाली सेना, प्रहरी तथा दमकलको सहयोगमा एक बजे आगो नियन्त्रणमा लिएको प्रमुख यादवले जानकारी दिए । सिंगल फेजका तीन ट्रान्सफर्मरमा क्षति पुगेको र क्षतिको विवरण एकिन हुन नसकेको केन्द्रले जनाएको छ । ट्रान्सफर्मरको भित्री भाग क्षति भए नभएको टुंगो लागि नसकेकोको कारण क्षतिको विवरण एकिन हुन गाह्रो रहेको यादवले बताए । उनका अनुसार, भित्री भागमा क्षति पुगेमा पुन:निर्माणका लागि कम्तीमा ६ महिना र बाहिर मात्र क्षति भएमा करिब एक महिना लाग्छ । प्रचलित मूल्य अनुसार, एउटा ट्रान्सफर्मरको करिब १५ करोड रुपियाँ पर्छ । २४ वर्षअघिको उक्त ट्रान्सफर्मर पड्केकोबारे अनुसन्धान भइरहेको प्राधिकरणले जनाएको छ । गत वर्षसमेत ट्रान्सफर्मरमा समस्या देखिएपछि मर्मत गरिएको थियो । ‘वर्षांै पिच्छे समस्या आइरहेको छ, यो कसरी हुन गयो भनेर प्राधिकरणले अनुसन्धान गरिरहेको छ, जलविद्युत् आयोजनामा ट्रान्सफर्मर पड्कनु गम्भीर कुरा हो ।’– प्राधिकरणका एक अधिकारीले भने– ‘ट्रान्सफर्मर खराब हो कि के हो अनुसन्धान गर्नुपर्ने भएको छ ।’ समयमै आगलागी नियन्त्रण भएकोले थप क्षति भने हुन नपाएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीका अनुसार, कुलेखानी दोस्रोबाट प्रत्येक दिन सरदर साढे तीन लाख युनिट विद्युत् उत्पादन हुँदै आएको थियो । नेपालमा ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो मात्र जलाशययुक्त आयोजना हुन् । हिउँदमा अधिकांश जलविद्युत् आयोजनाहरूबाट एक तिहाई मात्र विद्युत् उत्पादन हुने भएकाले लोडसेडिङ न्यूनीकरणका लागि जलाशययुक्त आयोजनाहरूलाई मेरुदण्डका रूपमा लिइने गरिन्छ ।
कुलेखानी दोस्रोको उत्पादन बन्द भए पनि लोडसेडिङ नबढ्ने भारप्रेषण केन्द्र प्रमुख क्षेत्रीले जानकारी दिए । ‘उत्पादन बन्द भए पनि अरुतिरबाट तानतुन पारेर भए पनि लोडसेडिङ बढाउने पक्षमा छैनौँ ।’– उनले भने । प्राधिकरणका अनुसार, एक हजार मेगावाटको विद्युत्को माग रहेकोमा भारतबाट आयातित विद्युत्सहित करिब ४ सय ५० मेगावाट उपलब्ध छ भने ५ सय ५० मेगावाट विद्युत् अझै अभाव छ ।

छापामार शैलीमा प्राधिकरणका “गोप्य” कम्प्युटर कब्जा

-भीम गौतम

Computerकाठमाडौं, ४ वैशाख । नेकपा–माओवादी निकट नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी संगठनका कर्मचारीले प्राधिकरणका तीन गोप्य कम्प्युटर कब्जामा लिएका छन् । प्राधिकरणले कर्मचारीको सम्पूर्ण अभिलेख राखिएका गोप्य कम्प्युटर ‘छापामार शैलीमा लुटिएको’ जनाएको छ ।
कर्मचारी सरुवाको विषयलाई लिएर मंगलबार दिउँसो माओवादी निकट संगठनका कर्मचारीहरूले प्राधिकरणका उपकार्यकारी निर्देशक बद्रीनाथ रोक्काको कोठामा रहेको एक र कर्मचारी प्रशासन महाशाखाका दुई कम्प्युटर कब्जामा लिएका हुन् । कब्जा गरिएका कम्प्युटर संगठनले प्राधिकरणभित्रकै आफ्नो कार्यालयमा राखेको छ ।
प्राधिकरण व्यवस्थापनले कार्यालयभित्रबाट लुटेर लगेका कम्प्युटरहरू खोजतलास गरी सुरक्षित राख्न तथा लुटपाटमा संलग्नहरूमाथि प्रचलित कानुन अनुसार कारबाही गर्न मंगलबार नै जिल्ला प्रशासन कार्यालय काठमाडांैमा निवेदन दिएको छ । निवेदनमा संगठनका अध्यक्ष सीताराम थापाको नेतृत्वमा आएको समूहले कम्प्युटर लुटेको भन्दै कारबाहीको माग गरिएको छ ।
निवेदन परे लगत्तै प्रहरी टोली प्राधिकरण पुगेको थियो । संगठनका पदाधिकारीहरूले कम्प्युटर आफ्नो कार्यालयमा सुरक्षित राखेको बताएपछि प्रहरी त्यसै फर्केको थियो । ‘प्राधिकरणको नियमअनुसार पनि कम्प्युटर लुट्नेमाथि कारबाही हुन्छ, कम्प्युटर सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिइसकेका छौँ’, प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले भने । प्राधिकरणको पूर्ण संरचनादेखि सम्पूर्ण विवरणहरू ती कम्प्युटरमा रहेको र त्यसमा तलमाथि भए १० हजार कर्मचारीको भविष्य अन्योल हुने प्राधिकरणले जनाएको छ ।
आफू निकटका कर्मचारीहरूको सरुवा नगरेको भन्दै जबरजस्ती कम्प्युटर लुटेर लगेको आरोप प्राधिकरण व्यवस्थापनको छ । ‘प्राधिकरणभित्रका सबै कर्मचारीहरूको अभिलेख भएको कम्प्युटर छापामार शैलीमा कब्जा गरिए’, प्राधिकरण कर्मचारी प्रशासन महाशाखाका सह–निर्देशक लोकेन्द्र थापाले भने, ‘सो कर्मचारी संगठनले आफ्ना मान्छेहरूलाई सरुवा गर्न दबाब दिएको थियो तर, सरुवा नगरिदिएपछि अभद्र शैली देखाएर कम्प्युटर लगे ।’
सह निर्देशक थापाका अनुसार कम्प्युटर कब्जा गर्ने क्रममा उनीहरूले भौतिक आक्रमण गर्ने धम्कीसमेत दिए । प्राधिकरण व्यवस्थापनले प्रशासनमा निवेदन दिएपछि संगठनका पदाधिकारीहरूले कार्यकारी निर्देशक यादवलाई समेत धम्की दिएको स्रोतले जनाएको छ ।
कर्मचारी संगठनले भने सरुवामा आर्थिक चलखेल भएपछि कम्प्युटर कब्जामा लिएको दाबी गरेको छ । ‘गोजीमा पैसा बोकेर गएका कर्मचारीको तत्काल र भनेको स्थानमै सरुवा र पदस्थापना हुने अवस्था भेटियो, कतिपय पैसा नहुने कर्मचारी वर्षौदेखि सरुवा नभएर एकै ठाउँमा बस्नुपर्ने अवस्थापछि कम्प्युटर कब्जामा लिएका हौँ’, कर्मचारी संगठनका अध्यक्ष सीताराम थापाले भने ।
आफूहरूले प्राधिकरणमा जनकारबाही थालेको अध्यक्ष थापाले बताए । ‘सरुवा, बढुवा, पदस्थापना, म्यादी कर्मचारीदेखि प्राधिकरणको सबै कर्मचारीको तथ्यांक भएको गोप्य कम्प्युटर कब्जामा लिएर जनकारबाही गरिएको प्राधिकरणको इतिहासमा यो पहिलोपटक हो’, उनले भने ।
प्राधिकरण व्यवस्थापनले गत वर्ष बनाइएको सरुवा कार्यविधिको उल्लंघन गरेर कर्मचारीलाई उत्पीडन गरेको आरोप अध्यक्ष थापाले लगाए । प्राधिकरणको दरबन्दी कति छ ?, कति वर्षदेखि को–को काम गर्दै आएका छन् भन्ने तथ्यांक पटक–पटक माग्दा पनि अटेर गरेको कर्मचारी संगठनले जनाएको छ । संगठनले मंगलबार जारी गरेको विज्ञप्तिमा छलफल गर्न जाँदा उपकार्यकारी निर्देशकले अभद्र व्यवहार गरेको जिकिर पनि गरिएको छ । आफूहरूमाथिको दुव्यर्वहार नसच्याए र म्यादी कर्मचारीको हकहित सुरक्षित नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
प्राधिकरण कर्मचारी युनियन र संघले मंगलबार नै छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कार्यालय भित्रबाट कम्प्युटर उठाई लग्नु अराजकताको पराकाष्ठा भएको जनाएका छन् ।

पिडिए गर्न वार्ता समिति

काठमाडौ : लगानी बोर्डले निर्यातमूलक चार जलविद्युत् आयोजनासँग आयोजना विकास सम्झौता (पिडिए) वार्ताका लागि मूल वार्ता समिति गठन गरेको छ ।
बोर्ड अध्यक्ष एवं मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा मंगलबार बसेको बैठकले समिति गठन गरेको हो । बैठकले नौ सय मेगावाटको अरुण–३ र नौ सय मेगावाटकै माथिल्लो कर्णाली, ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ र ६ सय ५० मेगावाटको तामाकोसी–३ आयोजनासँग पिडिए वार्ताका लागि बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । चारवटै आयोजना भारतमा विद्युत् निर्यात गर्ने उद्देश्यले बनाउन लागिएका हुन् । पिडिए नहुँदा यी आयोजनाको निर्माण कार्य दुई वर्षदेखि अघि बढ्न सकेको छैन । सह–सचिवस्तरीय वार्ता टोलीमा विद्युत् विकास विभागका महानिर्देशक अनुपकुमार उपाध्याय, ऊर्जा मन्त्रालयका केशवध्वज अधिकारी, अर्थ मन्त्रालयका बैकुण्ठ अर्याल, कानुन मन्त्रालयको एक प्रतिनिधि र बोर्डका मुकुन्द पौड्याल सदस्य छन् ।
चार आयोजनासँग वार्ताका लागि बैठकले बाटो खोलेको र तत्काल उनीहरूसँग वार्ता गरिने संयोजक पन्तले जानकारी दिए । ‘बोर्डले अन्तर्राष्ट्रिय दातृ समुदाय, बहुराष्ट्रिय निकायका साथै स्वयं आयोजना विकासकर्ताहरूसमेतका टिप्पणीलाई समेटेर तयार पारिएको पिडिएबारे आयोजना प्रवद्र्धक कम्पनीका प्रतिनिधिसँग निर्णायक वार्ता गर्नेछ,’ उनले भने, ‘वार्ता गरेर टुंग्याउन महिनौँ लागे पनि एउटा निष्कर्षमा हामी पुग्छौँ ।’ (सौस)

प्राधिकरणका दुई ठूला आयोजनाको दरखास्त रद्द

-सौर्य समाचार

काठमाडौं, ४ वैशाख । विद्युत् विकास विभागले जलविद्युत् आयोजनाको अनुमतिपत्रका लागि नेपाल विद्युत् प्राधिकरणले दिएको दरखास्त रद्द गरेको छ ।
विभागलाई अनुमतिपत्रका लागि तिर्नुपर्ने दस्तुर नतिरेको भन्दै दुई ठूला जलाशययुक्त आयोजनाको दरखास्त रद्द गरेको हो । निजी क्षेत्रका प्रवद्र्धकले आयोजनाको अनुमतिपत्रका लागि दिइएको दरखास्त भटाभट खारेज गरिरहेको बेला ऊर्जा मन्त्रालयअन्तर्गतकै निकाय विभागले मन्त्रालयकै अर्को निकाय प्राधिकरणको दरखास्त खारेज गरेको हो ।
प्राधिकरणले अनुमतिपत्रका लागि दरखास्त दिएको ६ सय ६० मेगावाटको कालीगण्डकी–२ र १ सय ८० मेगावाटको आँधी खोला जलाशययुक्त जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागका वरिष्ठ इन्जिनियर एवं सूचना अधिकारी गोकर्णराज पन्थले जानकारी दिए । उनका अनुसार १५ चैत्रभित्र दस्तुर बुझाउनुपर्नेमा दुवैले नबुझाएपछि रद्द गरिएको हो । कालीगण्डकी–२ ले १ करोड २० लाख तथा आँधीखोलाले एक करोड रुपियाँ दस्तुर तिर्नुपर्ने थियो । अनुमतिपत्र रद्दपछि आँधीखोलाको अनुमतिपत्र बास्केटमा गएको छ भने ६ सय मेगावाटभन्दा माथिको आयोजना लगानी बोर्डले बनाउने हुनाले कालीगण्डकी भने बोर्डमा पुगेको छ । ५ सयमुनिका आयोजना ऊर्जामार्फत र ५ सय मेगावाटभन्दा माथिका आयोजना बोर्डमार्फत बनाउने नियम सरकारले बनाएको छ ।
विभागका अनुसार जलविद्युत् आयोजनाको अनुमतिपत्रका लागि करिब १४ हजार मेगावाट बराबरका ६ सय आयोजनाले दरखास्त दिएकोमा हालसम्म करिब ३ हजार मेगावाट बराबरका ४० आयोजनाको दरखास्त रद्द गरिसकिएको छ । ३५ दिनभित्र लाइसेन्स नवीकरणका लागि बढेको दस्तुर तिर्न र विवरण बुझाउन भने पनि तोकिएको १५ चैत्रभित्र नबुझाएपछि विभागले दरखास्त रद्द गर्न थालेको हो । ०६२ सालदेखि अहिलेसम्म विभिन्न जलविद्युत् आयोजनाको लाइसेन्सका लागि करिब ६ सयले निवेदन दिएका थिए ।
विभागका अनुसार ६ सय आयोजनामध्ये ६ आयोजनाले नवीकरण गरेका छन् भने ६ आयोजना बढेको दस्तुरविरुद्ध अदालत गएका छन् । विभागले पछिल्लो समयमा १५ सय मेगावाट बराबरका ४२ आयोजनाको अनुमतिपत्रसमेत खारेज गरिसकेको छ ।

Tuesday, April 16, 2013

“प्राधिकरणले डलरमा पिपिए गर्नुपर्छ”

-सौर्य समाचार

काठमाडौं, ३ वैशाख । ऊर्जामन्त्री उमाकान्त झाले आवश्यकताको आधारमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए) डलरमा समेत गर्न सक्ने बताएका छन् ।
साना तथा मझ्यौला जलविद्युत् आयोजनाहरूलाई स्वदेशी तथा ठूला आयोजनाहरूलाई स्वदेशी र विदेशी दुवै लगानीकर्तालाई आकर्षण गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले आवश्यकता र त्यसको अध्ययनको आधारमा डलरमा पिपिए गर्नुपर्ने बताए । ‘जलविद्युत्को विकासका लागि स्वदेशी र विदेशी दुवै लगानीकर्ताको खाँचो नेपाललाई छ, आवश्यकता आधारमा पिपिए डलरमा गर्नुपर्छ, गर्नुहुन्न भनेर विदेशी लगानीकर्तालाई भड्काउने काम गर्नुहुन्न ।’ उनले भने ।
मुख्य राजनीति दलका नेताहरूले नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा जलविद्युत् आयोजनाहरूमा कुनै बन्द, हड्ताल नगर्ने प्रतिवद्धता जनाएको र सरकारले पनि लगानी मैत्री वातावरण बनाइरहेकोले ढुक्क भएर लगानी गर्नका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे । ‘स्वदेशी र विदेशी लगानीकर्ताले ढुक्क भएर लगानी गरे हुन्छ, अहिले ऊर्जा क्षेत्रमा लगानीका लागि राम्रो वातावरण बन्दै गएको छ ।’उनले सौर्यसँगको कुराकानीमा भने । पानीमाथिको अनावश्यक राजनीतिको कारणले जलविद्युत् उत्पादन अत्यन्त न्यून भएको बताउँदै पानीमाथिको राजनीति नगर्न पनि उनले सुझाव दिए । अधिकांश निर्माणाधीन आयोजनाहरूलाई समयमै सम्पन्न गर्न तथा नयाँ आयोजनाहरूको निर्माणका लागि द्रुतगतिमा अघि बढाउनका लागि मन्त्रालय लागि परेको बताउँदै उनले भने, ‘लोडसेडिङलाई १० घन्टाभन्दा नबढाउन, ऊर्जा मन्त्रालय, प्राधिकरण र विभागबीच देखिएको असमन्वयको अवस्था अन्त्य गर्न तथा मन्त्रालयमा अड्किएर बसेका फाइलहरू तुरुन्तै निर्णय गर्नका लागि म सक्रिय भएको छु ।’ उनका अनुसार, जलविद्युत् विकासका लागि प्राधिकरण, विभाग र मन्त्रालयको समन्वय अत्यावश्यक भएकोले सबै काम तीन निकायबीचको समन्वय गरी गर्नका लागि उचित वातावरण मिलाइएको छ । उनले सुपर सिक्सलगायतका आयोजनाको रोकिएको प्रक्रिया अघि बढिसकेको जानकारी दिए । ‘म चमत्कार देखाउने मान्छे होइन तर जलविद्युत् विकासका लागि म मन्त्री भइन्जेलसम्म जलविद्युत् विकासका लागि आधारशिला तयार गरेर जान्छु ।’, उनले थपे– ‘सरकारको सचिव भएर धेरै अनुभव लिएको छु, मेरो पुरै शक्ति जलविद्युत्को विकासका लागि सक्रिय हुन्छ ।’
मन्त्री झाले आफू ऊर्जा, विज्ञान तथा प्रविधि र सिंचाईमन्त्री भएको तथा तीन निकायबीचको समन्वयविना ऊर्जा विकास असम्भव भएकोले समन्वय गरेर अघि बढ्ने उनले बताए । ‘ऊर्जा र सिंचाई एउटै भएको भए उत्तम हुन्थ्यो तर अहिले दुवै निकाय तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको मन्त्रालय विज्ञान तथा प्रविधि मन्त्रालय पनि मैले सम्हालेको छु, सबैलाई समन्वय गरेर ऊर्जा उत्पादनमा बढी जोड दिन्छु ।’– उनले भने ।

Monday, April 15, 2013

अपडेट नै हुँदैन प्राधिकरणको वेभसाइट

-भीम गौतम

Neaकाठमाडौं, २ वैशाख । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको अध्यक्षबाट मुख्यसचिव राजीनामा दिएको तीन साता नाघिसक्दा पनि वेभसाइट भने अपडेट भएको छैन ।
५ चैतमा नयाँ सरकार आएपछि उनले ६ चैत्रमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा राजीनामा दिने संकेत गरेका थिए र त्यसको लगत्तै राजीनामा दिएका थिए । १७ चैत्रमा बसेको मन्त्रिपरिषद्को बैठकले राजीनामा पनि स्वीकृत गर्‍यो तर प्राधिकरणको आधिकारिक वेभसाइट डब्लुडब्लुडब्लु.एनइए.ओआरजी.एनपीमा हालसम्म उनी नै अध्यक्ष छन् ।
त्यति मात्र होइन, २९ चैतमा पुराना प्राधिकरणको सञ्चालक समितिका सदस्यहरू हटाएर चार नयाँ सञ्चालक सदस्यहरू नियुक्त गरियो । धनुषाका मनोजकुमार मिश्र, बुटबलका सन्तोषकुमार श्रेष्ठ, काठमाडौंमा लक्ष्मणप्रसाद अग्रवाल र राजविराजका विवेक तातेड प्राधिकरणको नयाँ सञ्चालक सदस्य नियुक्त भए तर प्राधिकरणको वेभसाइटमा अझै पुरानै सञ्चालकहरू विश्वप्रकाश गौतम, मोहनराज पन्त, डा. डम्बबहादुर नेपाली र टेकनाथ आचार्यको तस्बिर छ । ऊर्जा मन्त्रालयले नयाँ सदस्यहरू नियुक्त गरेपछि पुराना सञ्चालकहरूलाई प्राधिकरणकै कर्मचारीमार्फत अवकाशपत्र थमाइएको थियो । नयाँ सञ्चालकबारे जानकार प्राधिकरणले अझै वेभसाइट परिवर्तन गरेको छैन । प्राधिकरणभित्र कहिल्यै लोडसेडिङ हुँदैन र इन्टरनेटको अभाव पनि छैन, अपडेट गर्नका लागि निकाय पनि छ तर अपडेट छैन । ‘मुख्यसचिवको राजीनामा स्वीकृत नै भएको दुई साता बितिसकेको छ, अध्यक्ष मन्त्री हो कि होइन भन्ने विश्वस्त नभएको भए अध्यक्षमा खाली राख्न सकिन्थ्यो, नयाँ सञ्चालकहरूको फोटो नआएको भए पनि खाली राख्न सकिन्थ्यो,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘अपडेट नहुँदा प्राधिकरणको वेभसाइट हेरेर प्राधिकरणबारे जानकारी लिनेले गलत सूचना लिइरहेका छन् । तर, प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले मुख्यसचिवको राजीनामा स्वीकृतबारे मन्त्रिपरिषद्बाट कुनै पत्र नआएकाले परिवर्तन नगरिएको र सञ्चालकहरूको हकमा नयाँ सञ्चालक नियुक्त भएको लगत्तै विदा परेकाले अपडेट गर्न नसकिएको बताए ।
प्राधिकरणले नयाँ जानकारी दिनका लागि वेभसाइटमा राखेको प्रेस रिलिजमा २०६८ साल भदौ २८ गतेपछि कुनै अपडेट गरेको देखिँदैन तर वेभसाईटभित्र नै लेटेस्ट अपडेट भन्दै २०६९ फागुन ३० गतेसम्मको अपडेट भने गरिएको छ । ‘प्रत्येक दिन प्राधिकरणले केही न केही नयाँ कार्यहरू गरिएको हुन्छ, त्यो विवरण वेभसाइटमा राखिदिएमा इन्टरनेटको पहुँच भएका नेपालीले प्राधिकरणको गतिविधि सजिलै थाहा पाउने सक्थे,’ प्राधिकरणका ती अधिकारीले भने, ‘लोडसेडिङको समस्या नभएको प्राधिकरणमा वेभसाइट अपडेट नहुँदा धेरैले गुनासो पनि गर्ने गरेका छन् ।’ प्राधिकरणमा आफ्ना नयाँ सूचना, जानकारी दिनका लागि छुट्टै व्यवस्थापन सूचना महाशाखा पनि छ तर दिनदिनै गर्नुपर्ने अपडेट गरिएको छैन । प्राधिकरण सञ्चालक समितिको निर्णयहरू समेत वेभसाइटमा राख्नुपर्ने भए पनि राख्ने गरेको छैन । प्राधिकरणले निर्णय गरेको २४ घन्टाभित्र सार्वजनिक गर्नुपर्ने भए पनि नगरेकाले ती निर्णयहरू वेभसाइटमा राख्नका लागि जलस्रोतका सरोकारवालाहरूले माग गर्दै आएका छन् तर हालसम्म अपडेट गरेको छैन । नेपालको जलविद्युत् तथा प्राधिकरणबारे स्वदेश तथा विदेशबाट जानकारी लिनका लागि वेभसाइटको प्रयोग गर्ने हुँदा अपडेट नगराएमा गलत सूचना प्रवाह हुने भएकोले समयमै गर्नुपर्ने आवश्यकता छ ।
सरकारले ऊर्जा मन्त्री, राज्यमन्त्री वा सरकारले तोकेको व्यक्तिलाई प्राधिकरणको अध्यक्ष तोक्ने गरेको छ । तत्कालीन डा. बाबुराम भट्टराईको पालामा मुख्यसचिव पौडेललाई तोकिएको थियो । उनले राजीनामा दिएपछि अहिले स्वत: ऊर्जा मन्त्री उमाकान्त झा अध्यक्ष बनेका छन् । चार मनोनीत सञ्चालक सदस्यबाहेक अर्थसचिव र ऊर्जासचिव प्राधिकरण सञ्चालक समितिका सदस्य हुने गरेका छन् । ६ चैतमा प्राधिकरणको बैठक बसेपछि अहिलेसम्म सञ्चालक समितिको बैठक बस्न सकेको छैन ।

Saturday, April 13, 2013

अनियमितता र अन्योलमा जलविद्युत् क्षेत्र

-भीम गौतम
काठमाडौ, १ बैशाख । उत्पादनको दृष्टिकोणले जलविद्युत् क्षेत्रका लागि खासै सुख नरहे पनि अन्य विभिन्न प्रकरणहरूको कारणले जलविद्युत् क्षेत्रका लागि ०६९ साल स्मरणीय रह्यो । यस अवधिमा जम्मा करिब ३० मेगावाट मात्र विद्युत् उत्पादन भयो तर यसै अवधिमा सबैभन्दा ठूला प्रकरणहरू सार्वजनिक भए र त्यसले जलविद्युत् क्षेत्रमा सनसनी मच्चायो ।
नेपाल विद्युत् प्राधिकरणभित्र ०६९ सालमा सबैभन्दा बढी चर्चित ट्रान्सफर्मर प्रकरण नै बन्यो । यो प्रकरणमा तत्कालीन वर्तमान कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठसहित अहिलेका कार्यकारी निर्देशक रामेश्वर यादव, पूर्वकार्यकारी निर्देशकहरू दीपेन्द्रनाथ शर्मा, डा. जीवेन्द्र झा, महाप्रबन्धकहरू चिरञ्जीवी शर्मा, उपेन्द्रदेव भट्ट र गणेशप्रसाद राज तथा पूर्वमहाप्रबन्धकहरू दीपक उपाध्याय र युगोलकिशोर शाहसहित ३३ जना दोषी देखिए ।
त्यसैगरी त्रिशूली ३ ए जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धि प्रकरण पनि ०६९ सालमा त्यत्तिकै चर्चित बन्यो । ६० बाट ९० मेगावाट बनाउन पहल भए पनि त्यो पूरा भने भएन । बरु समयमै क्षमता बढाउने वा नबढाउने स्पष्ट निर्णय नहुँदा निर्माणका कार्यमा त्यसको प्रत्यक्ष असर पर्‍यो । २२ महिनामा बल्ल २५ प्रतिशत निर्माण पूरा भएको छ ।
वर्षामा समेत लोडसेडिङ बढाएपछि आलोचित बनेको सरकारले हिउँदमा भने १२ घन्टा बनाउने गरी ल्याएको लोडसेडिङ न्यूनीकरण आयोजना चर्चामा रह्यो । ०६९ हिउँदमा १९ घन्टासम्म लोडसेडिङ हुने अनुमान गरिएपछि १२ घन्टामा झार्ने योजना अघि सारेको हो । तर, लोडसेडिङ १४ घन्टासम्म पुग्यो । कार्यान्वयन नभए पनि पुस, माघ, फागुन र चैतमा हप्ताको दुई बिदा दिने, वर्षातसम्म विद्युत्को अनाधिकृत प्रयोग गरे वापत कारबाही गरी ३ प्रतिशत चुहावट नियन्त्रण गर्ने, डिजेल प्लान्ट किन्ने मन्त्रिपरिषदबाट पारित भए पनि कार्यान्वयन हुन सकेन ।
त्यसैगरी सरकारले लोडसेडिङ न्यूनीकरण कार्ययोजनाअन्तर्गत डिजेल प्लान्ट स्थापना गर्ने निर्णय चर्चित बन्यो । नेपालले धान्नै नसक्ने डिजेल प्लान्ट स्थापनाका लागि पक्रिया अघि बढाएपछि यसबारे ०६९ सालमा सबैभन्दा वादविवाद देखियो । डिजेल प्लान्टबाट विद्युत् उत्पादन गर्दा प्रति युनिट ४० रुपियाँ पर्ने भए पनि अन्तिम अवस्थासम्म सरकारका प्रतिनीधिहरूले प्लान्ट ल्याउने चक्कर चलाइरहे । ९ अर्ब ५७ करोड रुपियाँमा ८० मेगावाटको डिजेल प्लान्ट किन्ने निर्णय गरे पनि उक्त प्लान्ट २ अर्ब ८४ करोड रुपियाँमा आउने थाहा पाएपछि मुख्यसचिव लीलामणि पौडेलले प्राधिकरण अध्यक्ष भएको बेला त्यो खारेज गरिदिए ।
०४२ सालमा स्थापना भएको नेपाल विद्युत् प्राधिकरणको संरचना ०६९ सालमा परिवर्तन भयो । प्राधिकरणको संरचना भत्ता र खर्चिलो भएको भन्दै आवाज उठिरहेको परिवर्तनले प्राधिकरणभित्र हलचल मच्चियो । ७ महाप्रबन्धक र तीन उपकार्यकारी निर्देशक रहने पुरानो व्यवस्था रहेकोमा अब सबैलाई उपकार्यकारी निर्देशकको नेतृत्वमा रहने गरी ६ मा झारियो ।
त्यसैगरी ०६९ साल सबैभन्दा बढी लाइसेन्स खारेज गर्ने वर्ष बन्यो । यस वर्षमा झन्डै ४५ आयोजनाका १५ सय मेगावाट बराबरका आयोजनाका लाइसेन्स खारेज भए । लाइसेन्स लिनेमा भने सबैभन्दा कमजोर वर्ष यही भयो । १५ वटा जलविद्युत् आयोजनाले मात्र सर्भे लाइसेन्सका लागि निवेदन दिए । त्यही वर्ष लाइसेन्सको दस्तुरमा सबैभन्दा बढी दुई सय प्रतिशतसम्म वृद्धि भयो ।
वितेको वर्ष नै ५ सय मेगावाटभन्दा माथि र मुनिका आयोजनाका लागि आयोजना विकास सम्झौता (पिडिए) मोडल तयार भयो । लगानी बोर्डले ५ सय मेगावाट माथिका जलविद्युत् आयोजनाको लागि र ऊर्जा मन्त्रालयले ५ सय मेगावाटभन्दा मुनिका आयोजनाको लागि पिडीए मोडल गरेको हो ।
०६६ साल चैतमा सरकारले मन्त्रिस्तरीय निर्णयबाट पिडीएको मोडल बनाउने निर्णय गरेको थियो ।
०६९ सालमै ऊर्जा संकट गहिँरिदै र जलविद्युत् उत्पादनका लागि चुनौती थपिँदै गएको बेला निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघले जलविद्युत्को साझा रणनीति बनायो । महासंघले जलविद्युत् आयोजनाहरूमा कुनै वाधा, अवरोध, हड्ताल नगर्ने लगायतका १९ बुँदे प्रतिवद्धतापत्रमा एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले, राप्रपा, तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिकलगायतका दलका शीर्ष नेताहरूलाई हस्ताक्षर गरायो ।
पश्चिम सेती जलाशययुक्त आयोजना ०६९ सालमा चर्चामा रह्यो । ऊर्जा मन्त्रालयले अघि बढाउने कि लगानी बोर्डले अगाडि बढाउने भन्ने विवाद अन्त्यमा बोर्ड मार्फत नै अघि बढाउने गरी टुंगो लाग्यो । नेपालकै गौरवपूर्ण आयोजनाको रूपमा लिइने माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ०६९ सालमा चर्चामा रह्यो । राष्ट्रिय प्राथमिक आयोजना भने पनि कहिले इन्धनको अभाव त, कहिले ऊर्जा मन्त्रालयको अनावश्यक हस्तक्षेपको कारणले समस्यामा पर्‍यो ।
राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको ६ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनाको विस्तृत परियोजना अध्ययन (डिपिआर) ०६९ मै सुरु भयो । विकास समिति अगाडि बढाउने निर्णय गरेको सरकारले पहिला अध्यक्ष मात्र बनाइएका डा. लक्ष्मीप्रसाद देवकोटालाई समितिको प्रावधान शंसोधन गरेर कार्यकारी अध्यक्ष बनाइयो ।
०६९ सालमै नेपालका अधिकांश जलविद्युत् आयोजनाहरूमा वाधा, अवरोध र विवादको कारणले समयमै बन्न नसके पनि कुलेखानी तेस्रो जलविद्युत् आयोजनालाई बन्द, हड्तालमुक्त क्षेत्र घोषणा गरियो । मकवानपुर जिल्लाका प्रमुख राजनीतिक दलहरूले प्रतिवद्धतासहित यो घोषणा गरिएको थियो ।
०६९ सालमै सुपर सिक्सका नामले चिनिने ६ आयोजनाका प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच भएको विवाद पनि चर्चित बन्यो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई, ऊर्जामन्त्री उमाकान्त झादेखि ऊर्जा सचिव हरिराम कोइरालाले समेत पटकपटक विद्युत् प्राधिकरणलाई विद्युत् खरिद सम्झौता (पिपिए) गर्न निर्देशन दिए पनि कार्यान्वयन भएन तर प्रवद्र्धकहरूले पिपिएका लागि वर्षभरि धाइरहनु पर्‍यो ।
०६९ मा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा मुख्यसचिव लीलामाणि पौडेल र कार्यकारी निर्देशकमा रामेश्वर यादव नियुक्त भए । करिब चार महिनापछि सरकार परिवर्तन भएको कारण पौडेलले भने राजीनामा दिए । मुख्यसचिव आएपछि प्राधिकरणमा धेरै सुधारहरू समेत भए । विगतको वर्षमा प्राधिकरणको सञ्चालक समितिमा नयाँ चार सदस्य नियुक्त भए । धनुषाका मनोजकुमार मिश्र, बुटबलका सन्तोषकुमार श्रेष्ठ, काठमाडांैका लक्ष्मणप्रसाद अग्रवाल र राजविराजका विवेक तातेड प्राधिकरणको नयाँ सञ्चालक सदस्यका रूपमा नियुक्त गरियो । प्राधिकरणका तत्कालीन सञ्चालकहरू विश्वप्रकाश गौतम, मोहनराज पन्त, डा. डम्बरबहादुर नेपाली र टेकनाथ आचार्यलाई हटाएर नयाँ सञ्चालक सदस्यहरू नियुक्त गरिएको हो ।
वितेको वर्ष कर्मचारीको मिलेमतोमा विद्युत् चोरी गरेको बाराको त्रिवेणी स्पिनिङ मिल्सको सक्कल फाइल नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयबाट गायब भयो । ठूलो उद्योगका रूपमा लिइने उक्त मिल्सले कर्मचारीको मिलेमतोमा बिलिङ सिस्टम नै बिगारी ६ करोड १९ लाख ९२ हजार रुपियाँ विद्युत् चोरी गरेको सक्कल फाइल नै प्राधिकरणबाट हराएको हो । यो विवाद सार्वजनिक भएपछि उक्त उद्योग रकम दिन सहमत भएको थियो ।

Friday, April 12, 2013

विद्युत् प्राधिकरणमा चार सञ्चालक नियुक्त

-भीम गौतम

काठमाडौं, ३० चैत्र । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा नयाँ चार सदस्य नियुक्त भएका छन् ।
ऊर्जा मन्त्रालयस्तरीय निर्णयले पुराना चार सदस्यलाई हटाएर नयाँ सञ्चालक सदस्य नियुक्त गरेको हो । मन्त्रालयका अनुसार, धनुषाका मनोजकुमार मिश्र, बुटवलका सन्तोषकुमार श्रेष्ठ, काठमाडौंमा लक्ष्मणप्रसाद अग्रवाल र राजविराजका विवेक तातेड प्राधिकरणको नयाँ सञ्चालक सदस्यको रूपमा नियुक्त भएका हुन् । मिश्र उपभोक्ता, श्रेष्ठ तथा अग्रवाल र तातेड जलविद्युत् क्षेत्रबाट सञ्चालक समितिमा नियुक्त गरिएका हुन् । अग्रवाल जलस्रोत मन्त्रालयका पूर्वसह–सचिव हुन् । उनले जलस्रोत मन्त्रालयमा मात्र ३० वर्ष काम गरेका थिए भने तातेड अरुण भ्याली जलविद्युत् आयोजनाका सेयर सदस्य हुन् । ऊर्जामन्त्रीको रूपमा उमाकान्त झा आएपछि उनीहरूलाई प्राधिकरण सञ्चालक सदस्यको रूपमा नियुक्त गरिएको हो । सञ्चालक सदस्य अग्रवालले सौर्यसँग कुरा गर्दै प्राधिकरणमा रहेर जलविद्युत् क्षेत्रको विकासका लागि अग्रसर हुने बताए ।
डा. बाबुराम भट्टराईको सरकारले अध्यक्षको रूपमा नियुक्त गरेका मुख्य सचिव लीलामणि पौडेलले राजीनामा दिएपछि अहिले ऊर्जामन्त्री झानै प्राधिकरण सञ्चालक समितिको अध्यक्ष छन् । प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा ऊर्जामन्त्री, ऊर्जाराज्यमन्त्री वा मन्त्रिपरिषद्ले तोकेको व्यक्ति अध्यक्ष हुने व्यवस्था छ । प्राधिकरण सञ्चालक समितिको सदस्यमा अर्थसचिव र ऊर्जासचिव सदस्य तथा प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव हुने व्यवस्था छ । पूर्वसचिव झा ऊर्जामन्त्री बनेपछि पौडेलले राजीनामा दिएका थिए । यही कारण ६ चैतपछि प्राधिकरण सञ्चालक समितिको बैठक बस्न सकेको छैन । प्राधिकरणका तत्कालीन सञ्चालकहरू विश्वप्रकाश गौतम, मोहनराज पन्त, डा. डम्बरबहादुर नेपाली र टेकनाथ आचार्यलाई बिहीबार नै अवकाश दिइएको छ । गौतम, पन्त र आचार्य तत्कालीन ऊर्जामन्त्री पोष्टबहादुर बोगटीको पालामा प्राधिकरण सञ्चालक सदस्यमा नियुक्त भएका हुन् । गत मंसीरमा तत्कालीन सदस्य डा. केपी दुलाललाई हटाएर ऊर्जा मन्त्रालयले डा. नेपालीलाई सदस्यमा नियुक्त गरेको थियो ।
ऊर्जामन्त्री झाले गौतम र पन्तलाई राजीनामा दिन भने पनि उनीहरूले दिन नमानेपछि चारै जना परिवर्तन गरिएको ऊर्जा स्रोतले जानकारी दियो । सरकार परिवर्तन हुँदा विभिन्न सरकारी निकायमा नियुक्त भएका सदस्यहरूलाई अवकाश नदिने राजनीति दलहरूको भद्र सहमतिलाई ऊर्जामन्त्रीले तोडेको आरोप तत्कालीन सञ्चालक सदस्यले लगाएका छन् ।
ऊर्जासचिवसमेत फेर्ने तयारी
काठमाडौं : ऊर्जामन्त्री उमाकान्त झाले ऊर्जासचिव हरिराम कोइरालालाई समेत फेर्ने तयारी गरेका छन् । त्रिशुली–३ ए को क्षमता अभिवृद्धि, महँगोमा डिजेल प्लान्ट स्थापनामा सक्रिय, माथिल्लो तामाकोसी आयोजनाका प्रमुखसँग अधिकार क्षेत्र नाघेर स्पष्टीकरण लिएको लगायतका विषयमा विवादमा मुछिएका कोइरालालाई हटाउने तयारी मन्त्रीले गरेका हुन् । स्रोतका अनुसार, तत्कालीन डा. बाबुराम भट्टराईको पालमा ऊर्जामन्त्रालय ल्याइएका उनले मन्त्री झालाई पूर्ण सहयोग गर्ने अवस्था नरहेको विश्लेषणसहित सचिव फेर्न लागेको स्रोतले जनाएको छ । सचिवको लागि जल तथा ऊर्जा आयोगका सचिव विश्वप्रकाश पण्डितलगायतको नाम चर्चामा छ ।

Thursday, April 11, 2013

जलविद्युत्मा हडताल नगर्ने राजनीतिक दलको प्रतिबद्धता

-सौर्य समाचार

top-ledकाठमाडौं, २९ चैत । जलविद्युत्को विकासलाई मुख्य एजेन्डा बनाएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा मुख्य राजनीतिक दलले जलविद्युत् आयोजनामा बन्द, हड्ताल र चन्दा असुली रोक्ने लगायतका १९ बुँदामा प्रतिवद्धताजनाएका छन् । उनीहरूले उक्त प्रतिवद्धताआफ्नो राजनीतिक घोषणापत्रमा समावेश गर्ने, आफ्नो महाधिवेशन तथा अन्य संयन्त्रमा पारित गराउने, सहयोगका लागि आफ्नो दलभित्र संयन्त्र बनाउने प्रतिबद्धतासमेत जनाएका हुन् ।
राजनीति दलहरूको उक्साहटमा अधिकांश जलविद्युत् आयोजनाहरूमा अवरोध तथा समस्या आइरहेको बेला नेकपा माओवादीका बाहेकका मुख्य राजनीति दलका मुख्य नेताहरूले सामुहिक रूपमा प्रतिवद्धताव्यक्त गरेका हुन् । महासंघको ४७औँ वार्षिक साधारणसभाको अवसरमा बुधबार उनीहरूले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको विशेष उपस्थितिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदार, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रतिवद्धता जनाएका हुन् । कांग्रेस सभापति कोइराला कांग्रेस महासमितिको भेलामा नवलपरासीमा भए पनि उनले भिडियोमार्फत प्रतिवद्धता जनाएका थिए । पछिल्लो समयमा भारतीय लगानीका माथिल्लो कर्णाली, अरुण तेस्रो, माथिल्लो मस्र्याङ्दीलगायतका आयोजनाहरू निर्माणमा अवरोध गर्ने घोषणा गर्दै आएको नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई आमन्त्रण गरे पनि उनी भने उपस्थित भएनन् । प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्न माओवादी नआउँदा प्रतिवद्धता कार्यान्वयनले प्रभावकारिता नपाउने व्यवसायीहरूले बताएका छन् ।
जलविद्युत् परियोजनालाई कब्जामा नलिने वा राष्ट्रियकरण नगरिने तथा विनाअवरोध विदेशी लगानी फिर्ता र हस्तान्तरण हुने कुराको सुनिश्चितता गर्ने, जलविद्युत् परियोजनामा संलग्न मानव संसाधन, मेसिनरी तथा परियोजनाको सम्पत्ति उपर हुनसक्ने जोखिम न्यूनीकरण गर्न सहयोग पुर्‍याउने, जलविद्युत्मा स्वदेशी वा विदेशी दुवै प्रकारका निजी लगानीलाई प्रोत्साहन गर्ने लगायतका मुद्दामा समेत उनीहरूले प्रतिवद्धता जनाएका छन् । त्यसैगरी विदेशी लगानी वा स्वामित्वका कम्पनीका विरुद्ध कुनै कारबाही नगर्ने तथा जलविद्युत् परियोजनाको विकास र सञ्चालनको क्षेत्रमा लगानी गर्ने व्यक्ति वा कम्पनीको राष्ट्रियता तथा संस्थापना भएको मुलुक जुनसुकै भए पनि समान व्यवहार गर्ने कुरामा मुख्य दल सहमत भएका छन् । विशेष क्षेत्र भएको कुरालाई स्वीकार गरी जलविद्युत् परियोजनाको विकास तथा सञ्चालनका क्रममा उत्पन्न हुने स्थानीय अवरोधहरू हटाउनका लागि आवश्यक सहयोग उपलब्ध गराउने समेतमा दलहरू सहमत भएका छन् ।
दिगो र योजनावद्ध जलविद्युत् विकासको लक्ष्य प्राप्त गर्न कानुन, नियम, विनियम, नीति, योजना निर्माण गर्ने कार्यमा सहयोग पुर्‍याउने प्रतिवद्धता दलले गरेका छन् । एउटा स्वतन्त्र नियामक निकाय बनाएर जलविद्युत् उत्पादन, प्रसारण तथा वितरणका लागि खुला, प्रभावकारी तथा प्रतिस्पर्धात्मक बजार उपलब्ध गराउने एवं स्वदेशी तथा विदेशी निजी लगानीको साथै सरकारी लगानीलाई पनि प्रोत्साहित गरिने प्रतिवद्धता गरिएको छ । विदेशी लगानी वा स्वामित्वका कम्पनीका विरुद्धमा कुनै कारबाही नगर्ने र सबै मुलुकलाई समान व्यवहार गर्ने समेत प्रतिवद्धता दलहरूले गरेका छन् ।
प्रतिवद्धता पत्रमा मुलुकको संक्रमणकाल अन्त्य गरी राजनीतिक स्थिरता ल्याउन र देशमा शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक सहमति गर्ने, जलविद्युत् क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रूपमा घोषणा गर्दै जलविद्युत् क्षेत्रलाई हड्ताल, बन्दबाट मुक्त गर्ने प्रतिवद्धता गरिएको छ । राज्यको संघीय स्वरूपले जलविद्युत् परियोजनाको विकासमा असर नपर्ने सुनिश्चितता दलहरूले गरेका छन् ।
नेपाल र छिमेकी मुलुकबीचमा जलविद्युत्को विनिमय तथा व्यापारका सम्बन्ध स्थापित गर्न द्विपक्षीय र बहुपक्षीय सन्धी–सम्झौंता गर्ने र जलविद्युुत् परियोजनाबाट प्राप्त हुने रोयल्टी तथा शुल्कहरू स्थानीय तहसम्म उपलब्ध गराउन प्रभावकारी नीतिगत संयन्त्र निर्माण गर्ने जनाएका छन् ।
विद्युत् उत्पादन गर्ने अपार स्रोत भएर पनि अँध्यारोमा बस्नुपरेको भन्दै महासंघले न्यूनतम साझा एजेन्डाका रूपमा राजनीतिक प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्न प्रमुख राजनीतिक दलहरूलाई राजी गराएको हो । महासंघले डेढ वर्ष अघिदेखि जलविद्युत्को साझा रणनीति बनाउन थाले पनि २०१२ फेब्रुअरीमा ऊर्जा विशेषज्ञ रोगर जीललाई परामर्शदाताको रूपमा नियुक्त गरेर अन्तिम मस्यौदा तयार गरी राजनीति दलहरूलाई पठाएको थियो ।
निर्माण व्यवसायी उत्कृष्ट वस्तुगत संघ
महासंघको ४७औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघ सर्वोत्कृष्ट वस्तुगत संघ सदस्य कदर सम्मान २०६९ बाट सम्मानित भएको छ । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले महासंघका अध्यक्ष जयराम लामिछानेलाई सम्मानित गरेका थिए । नेपाल निर्माण व्यवसायी महासंघले गत वर्ष र केही वर्ष अगाडि गरी तेस्रोपटक यो सम्मान प्राप्त गरेको छ । उत्कृष्ट जिल्लातर्फ चितवन उद्योग वाणिज्य संघ बनेको छ ।

जलविद्युत् लाइसेन्सको शुल्कवृद्धिले राजस्व दोब्बर

-भीम गौतम

kholaकाठमाडौं, २९ चैत । जलविद्युत् उत्पादनको सर्वेक्षण लाइसेन्स दस्तुर वृद्धि गरिएपछि दोब्बर राजस्व उठेको छ । ऊर्जा मन्त्रालयले गत १५ असोजदेखि लाइसेन्सको शुल्क वृद्धि गरेपछि चालु आर्थिक वर्षमा अहिलेसम्म २० करोड राजस्व उठेको छ ।
विद्युत् विकास विभागका लेखा प्रमुख रामकृष्ण गुरागाईंका अनुसार अघिल्लो वर्षमा यही अवधिमा नयाँ लाइसेन्स, नवीकरणलगायतबाट करिब १० करोड मात्रै राजस्व उठ्ने गरेको थियो । ‘गत वर्षभन्दा यो वर्ष अहिलेसम्ममा नै दोब्बर राजस्व उठिसक्यो, आगामी असारभित्र ३० करोड रुपियाँ पुग्ने अनुमान गरिएको छ,’ गुरागाईंले भने ।
लाइसेन्स शुल्क वृद्धिपछि मात्रै १७ करोड ८२ लाख रुपियाँ राजस्व उठेको छ । गत ६ महिनाको अवधिमा ४ सय ५ मेगावाट क्षमताका १० आयोजनालाई सर्भे लाइसेन्स, ६ सय ३० मेगावाटका १४ आयोजनालाई उत्पादन लाइसेन्स र ५५ आयोजनाको लाइसेन्स नवीकरणबाट मात्रै त्यत्रो रकम उठेको हो ।
लाइसेन्सको शुल्क २० गुणासम्म वृद्धि गरिएपछि राजस्व संकलन ह्वात्तै बढेको विभागका सूचना अधिकारी गोकर्णराज पन्तले बताए । विभागका अनुसार एक मेगावाटदेखि पाँच मेगावाटसम्म प्रतिवर्ष एकमुष्ट ५० हजार रुपियाँ रहेको राजस्व बढाएर दश लाख रुपियाँ पुर्‍याइएको छ ।
त्यस्तै, पाँचदेखि सय मेगावाटसम्म प्रतिवर्ष प्रतिमेगावाट १० हजार रुपियाँ रहेकोमा पाँचदेखि दश मेगावाटसम्म २० लाख, २५ मेगावाटसम्म एकमुष्ट ३० लाख र सय मेगावाटसम्मको राजस्व ४० लाख पुर्‍याइएको छ । एक सयदेखि पाँच सय मेगावाटसम्म प्रतिवर्ष एकमुष्ट १० लाख रुपियाँबाट बढाएर ५० लाख र पाँच सय मेगावाटदेखि माथि प्रतिवर्ष एकमुष्ट २० लाख रुपियाँ रहेको राजस्व ६० लाख पुर्‍याइएको छ । नवीकरण दस्तुर पनि उत्तिकै राख्नेगरी अनुमतिपत्र दस्तुर वृद्धि गरिएको छ ।
विद्युत् उत्पादन, प्रसारण र वितरण अनुमतिपत्रका लागि पनि राजस्व वृद्धि गरिएको छ । विगतमा एकदेखि पाँच मेगावाटसम्म एक लाख रुपियाँ राजस्व तोकिएको थियो । तर, अहिले बढाएर पाँच मेगावाटसम्मलाई पाँच लाख, पाँचदेखि १० मेगावाटसम्मलाई ७ लाख, १० देखि २५ मेगावाटलाई १० लाख, २५ देखि सय मेगावाटलाई ३० लाख रुपियाँ तोकिएको छ । त्यस्तै, सयदेखि पाँच सय मेगावाटसम्म १० लाख रुपियाँ रहेको राजस्व ४० लाख र पाँच सयदेखि माथिकोलाई ५० लाख रुपियाँ राजस्व तोकिएको छ ।
अघिल्ला वर्षमा लाइसेन्सका लागि ३ देखि ४ सय दरखास्त पर्ने भए पनि यस वर्ष १२ वटा मात्र परेका छन् । झन्डै १३ सय मेगावाट बराबरका ४० आयोजनाको अनुमतिपत्र रद्द गरिएको छ । शुल्क वृद्धिले नेपाली जलविद्युत् प्रवद्र्धकहरू हतोत्साहित भएको निजी प्रवद्र्धकहरूले बताएका छन् ।

Tuesday, April 9, 2013

विद्युत् प्राधिकरणमा सरुवाकै किचलो

-भीम गौतम

neaकाठमाडौं, २७ चैत । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले व्यवस्थित रूपमा कर्मचारीहरूको सरुवा गर्नका लागि कार्यविधि बनाए पनि सरुवाको किचलो उस्तै छ ।
प्राधिकरणभित्र क्रियाशील कर्मचारी युनियनहरूको राजनीति कर्मचारी सरुवा र बढुवामा बढी केन्द्रित हुने तथा व्यवस्थापनले समेत आफ्नो स्वार्थमा बढी केन्द्रित हुने हुँदा कार्यविधि बने पनि किचलो उस्तै रहेको हो । जलविद्युत् उत्पादन, वितरण र प्रसारणको महत्त्वपूर्ण जिम्मेवारी लिएको प्राधिकरण व्यवस्थापनले यही किचलोमा ५० प्रतिशतभन्दा बढी समय बिताउनुपरेको र अरू काममा ध्यान दिन नपाएको गुनासो प्राधिकरणका एक उच्च अधिकारीले पोखे । कार्यविधिमा कार्यालय र लेखाप्रमुख भदौ मसान्तभित्र, प्रशासन मंसिर मसान्तभित्र र अन्य कर्मचारीहरूको चैत्र मसान्तभित्र सरुवा गर्नुपर्ने उल्लेख छ ।
अघिल्लो वर्ष फागुनमा प्राधिकरण व्यवस्थापनले जथाभावी रूपमा सरुवा गरेर विवाद आएपछि सञ्चालक समितिले सरुवा एक वर्ष अघि कार्यविधि नै बनाएको थियो तर त्यो सरुवा कार्यविधि लागू हुन नदिन प्राधिकरणभित्र कर्मचारीहरूले किचलो सुरु गरेका हुन् । प्राधिकरण यही किचलोको कारणले सोमबार दिउँसोभर तनावग्रस्त बनेको थियो । प्राधिकरणमा एकीकृत माओवादी र माओवादी निकटका प्राधिकरण कर्मचारी संगठनहरू सरुवा कार्यविधि पूर्ण रूपमा लागू गर्न माग गर्दै कार्यकारी निर्देशक रामेश्वर यादवलाई कार्यालय बाहिर निस्कन दिएनन् भने कांग्रेस र एमाले निकटका प्राधिकरण कर्मचारी संघ र युनियनले कार्यविधि परिमार्जन गरेर मात्र लागू गर्न दिनभर दबाब दिइरहे । यही कारण प्रसारण लाइन निर्माणका लागि भारतीय एक्जिम बंैकसँग हुन लागेको छलफल कार्यक्रममा समेत घेराउमा रहेका कार्यकारी निर्देशक यादव जान पाएनन् । यादवले प्राधिकरणभित्रका ५ वटै युनियनसँग छलफल गरी केही स्टोर किपरको आवश्यकता अनुसार सरुवा गरिने र बाँकी सरुवाका लागि सबैलाई मान्य हुने उपायको खोजीमा प्राधिकरण रहेको जानकारी दिए । ‘सधैँ सरुवाको किचलो छ, सबैलाई मान्य हुने गरी उपाय निकाल्न युनियनहरूलाई पनि भनेको छु ।’– उनले भने ।
प्राधिकरणमा १५ वर्षसम्म सरुवा नभई एउटै कार्यालयमा बस्ने पनि छन् । प्राधिकरणका तथ्यांक अनुसार, ५ वर्षदेखि १५ वर्षसम्म सरुवा नहुने कर्मचारीको संख्या ४ हजार ५ सय छ भने त्यसमध्ये १५ वर्षसम्म एउटै कार्यालयमा बसेर सरुवा नहुने संख्या झन्डै ५ सय छ । एउटै कार्यालयमा बर्सांै बस्दा पदीय दुरुपयोग हुनसक्ने र अनियमितताका घटना बढ्ने तर्क प्राधिकरण सञ्चालकहरूको छ । ‘जथाभावी रूपमा सरुवालाई नियन्त्रण गरेर ५ वर्ष नाघेका जोकोहीलाई व्यवस्थित रूपमा सरुवा गर्नका लागि कार्यविधि ल्याएका हौँ ।’–प्राधिकरणका एक सञ्चालकले भने– ‘१५ वर्षसम्म सरुवा नहुने भन्ने पनि हुन्छ, यसले प्राधिकरणभित्र अनियमितता र पदीय दुरुपयोगको घटना बढेका छन् ।’ सरुवा कार्यविधिले एउटै कार्यालयमा ५ वर्षभन्दा बढी बस्न नपाउने व्यवस्थाले अझ प्राधिकरणलाई ठीक बाटोमा हिँडाउन सहयोग गर्ने उनको तर्क छ ।
प्राधिकरणका उच्च अधिकारीहरू सरुवा कार्यविधि गलत नभए पनि एकैपटक मिटर रिडर, स्टोर किपरलगायतको सरुवा भने अव्यावहारिक देखिएको बताए । ‘एकैपटक स्टोर, मिटर रिडरको जिम्मा लिएका ३/४ हजार कर्मचारीलाई सरुवा असम्भव छ तर व्यवस्थित सरुवा कार्यविधि चाहिएको थियो, त्यो बन्नु राम्रो हो ।’– उनले भने ।
पहिला सरुवाको नाममा घुसखोरी चल्ने भए पनि कार्यविधि बनाएर सरुवा गर्न खोज्नु जायज भएको र यसको कार्यान्वयन नभए आन्दोलनमा जाने प्राधिकरण राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष सीताराम थापाले बताए । ‘ऊर्जामन्त्री उमाकान्त झाको निर्देशनमा विनाघुसखोरी सरुवा गर्ने कार्यविधि कार्यान्वयनमा रोक लगाएको सुनेका छांै, यसको कार्यान्वयन हुनुपर्छ ।’– उनले भने । कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष खगेन्द्र शाहीले समेत प्राधिकरणको सरुवालाई व्यवस्थित बनाउन बनाइएको कार्यविधि लागू भएर सरुवालाई व्यवस्थित बनाउनुको विकल्प नभएको बताए । प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद रिमालले कर्मचारीहरूसँग सल्लाह नगरी जबर्जस्ती रूपमा प्राधिकरण बोर्डले पारित गरेको र त्यो व्यावहारिक नभएकोले व्यवस्थित बनाएर लागू गर्नुपर्ने बताए । सरुवा कार्यविधिको विपक्षीमा कर्मचारी नरहे पनि एकैपटक धेरै संख्यामा सरुवा असम्भव देखिएको र आवश्यकता अनुसार सरुवा गर्ने गरी कार्यविधिको परिमार्जनको आवश्यकता रहेको प्राधिकरण कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष इन्द्र न्यौपानेले बताए । एकैपटक मिटर रिटर, स्टोरकिपरलगायतलाई सरुवा गर्दा प्राधिकरणको काम अघि बढाउनका लागि समस्या भएकोले क्रमश: रूपमा गर्नु नै उत्तम हुने उनीहरूको सुझाव छ ।

Saturday, April 6, 2013

खोलामा हारालुछ गर्न छाडे लगानीकर्ता

-भीम गौतम

काठमाडौं, २५ चैत । २०४९ सालमा जलविद्युत् ऐनले निजी प्रवद्र्धकलाई आयोजनामा लगानी गर्न बाटो खोलेपछि लाइसेन्स लिन भिड लाग्यो । विद्युत् विकास विभागको तथ्यांकअनुसार लाइसेन्सका लागि प्रत्येक वर्ष तीनदेखि चार सय निजी प्रवद्र्धक तथा कम्पनीको आवेदन पर्ने गरेको थियो ।
शान्तिप्रक्रियामा आएपछि माओवादी नेतृ पम्फा भुसालले सार्वजनिक कार्यक्रममै अधिकांश खोला कांग्रेस, एमाले कार्यकर्ताले ओगटेको भन्दै बाँकी यथाशीघ्र दर्ता गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएकी थिइन् । तब ०६३/६४ मा आवेदनको संख्या बढेर करिब ६ सय पुग्यो । अहिले भने निजी प्रर्वद्धक तथा कम्पनी जलविद्युत्मा लगानी अनिच्छुक देखिन थालेका छन् । ‘खोलालाई झोलामा’ राख्ने प्रतिस्पर्धामा सहभागी भएकाहरूले समेत लाइसेन्स नवीकरण गरेका छैनन् ।
विभागका अनुसार, ०६९ साउनपछि १२ निजी प्रवद्र्धक तथा कम्पनीले मात्र लाइसेन्स लिन आवेदन दिएका छन् । लाइसेन्सको दस्तुर वृद्धिपछि एउटा आयोजनाले मात्र बसर्भे लाइसेन्सका लागि आवेदन हालेको छ । विभागका वरिष्ठ इन्जिनियर एवं सूचना अधिकारी गोकर्णराज पन्थका अनुसार सर्भे लाइसेन्सका लागि निवेदन दिएका ६ सय आयोजनालाई वृद्धि शुल्कअनुरूप नवीकरण गर्न र प्रगति बुझाउन ३५ दिने सूचना जारी गरेकोमा ६ वटाले मात्र नवीकरण गरेका छन् । ६ आयोजनाले दस्तुर वृद्धिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । ५ सय ८८ आयोजनाले लाइसेन्स नवीकरण गर्न चासो नदेखाएपछि विभागले १ सय २७ मेगावाटका ३ आयोजनाको लाइसेन्स खारेज गरिसकेको छ । अन्य आयोजनाको लाइसेन्स खारेज गर्ने तयारी रहेको विभागले जनाएको छ ।
‘पहिला वर्षमा ६ सयसम्म आवेदन परेको थाहा छ तर ०६९ साउनपछि जम्मा १२ वटा आवेदन आएको छ,’ पन्थले भने, ‘जलविद्युत् लाइसेन्सको दस्तुर वृद्धिपछि त एउटा मात्र आवेदन परेको छ, पहिलाको तुलनामा त लाइसेन्सका लागि आवेदन पर्नै छाडेको छ ।’
उनका अनुसार १५ असोजमा आयोजनाको लाइसेन्स दस्तुरमा वृद्धिपछि पाँच मेगावाटको गलकोट दरमखोला जलविद्युत् आयोजनाको मात्र आवेदन परेको.हो । देशभरमा ६ हजार खोलानाला रहेकोमा धेरै खोलाबाट विद्युत् उत्पादन गर्नसक्ने सम्भावना छ । नेपालबाट ८३ हजार मेगावाट बराबरको विद्युत् उत्पादन क्षमता रहेको अध्ययनले देखाएको छ । विभागका अनुसार सरकारले निजी प्रवद्र्धकका लागि ढोका खुला गरेपछि प्रत्येक वर्ष तीन सयदेखि ६ सयसम्म आवेदन पर्ने गरेका थिए । वर्षमा ५० देखि सयवटा आयोजनाले लाइसेन्स पाउँथे । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रले गरी १८ हजार सात सय ६७ मेगावाट बराबरका ६ सय ८० आयोजनाको अनुमतिपत्र लिइसकेका छन् । उत्पादन भने जम्मा ६ सय ८७ मेगावाट मात्र छ । उत्पादन कम भएकै कारण दैनिक १० घन्टा लोडसेडिङ हुँदै आएको प्राधिकरणले जनाएको छ ।
एक हजार आठ सय मेगावाटका ९१ आयोजनाको लाइसेन्स खारेज गरेकोमा नवीकरण दस्तुर बढेपछि मात्र एक हजार दुई सय ८१ बराबरका ३९ आयोजनाका लाइसेन्स खारेज भइसकेको छ । प्रवद्र्धकलाई झन सहुलियत दिनुपर्नेमा सरकार लाइसेन्स दस्तुर बढाउने, लाइसेन्स खारेज गर्ने र समयमै विद्युत् खरिद सम्झौता (पिपिए) नगर्नेजस्ता उल्टो काममा लागेकोले जलविद्युत्मा लगानीप्रति विकर्षण बढेको तर्क निजी क्षेत्रको छ । सरकारी अधिकारी भने ‘झोलामा खोला’ राख्ने प्रवृत्तिलाई निरुत्साहित गरेर वास्तविक लगानीकर्तासँग मात्र लाइसेन्स पुगोस् भन्ने पक्षमा सरकार रहेको बताउँछन् ।
‘निजी प्रवद्र्धकलाई अझ सहुलियत दिएर लगानीको वातावरण बनाउनुपर्नेमा अन्धाधुन्द रूपमा लाइसेन्स नवीकरण दस्तुर बढाइयो, लगानीको वातावरणै छैन,’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष डा. सुवर्णदास श्रेष्ठ भन्छन्, ‘प्राधिकरणले समयमै पिपिए नगरिदिने, निजी प्रवद्र्धकको पीडा नबुझी भटाभट लाइसेन्स खारेज गरिदिने प्रवृत्ति बढेको छ ।’
दस्तुर वृद्धिले अध्ययनमै करोडौं खर्चनुपर्ने अवस्था आएको तथा प्रसारण लाइन, पिपिएलगायतको अनिश्चितताले निजी क्षेत्रमा जलविद्युत्मा आकर्षण घटेको अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘सरकारी कदमले निजी प्रवद्र्धकहरू हतोत्साही छन्, लगानी गर्न जोखिम बढेको छ, जलविद्युत् लगानीबाट हात झिक्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘ऊर्जाको चरम संकट भोगिरहेको बेलामा यो देशकै लागि दुर्भाग्य हो ।’
विभागका महानिर्देशक अनुपकुमार उपाध्याय भने दस्तुर वृद्धिले लाइसेन्स किनबेचको प्रवृत्तिलाई निरुत्साहित गरेको दाबी गर्दै वास्तविक लगानीकर्तालाई कुनै असर नगर्ने बताउँछन् । ‘जलविद्युत् लाइसेन्स लिएर च्याँखे थाप्नेलाई मात्र दस्तुर वृद्धिले असर गरेको हुन सक्छ, आयोजनामा लगानी गर्नेका लागि यसले खासै असर गर्दैन, अझै राम्रो वातावरण छ,’ महानिर्देशक उपाध्याय भन्छन्, ‘निजी प्रवद्र्धकहरू निरुत्साहित हुनुको कारण दस्तुर वृद्धिभन्दा पनि बिजुलीको बजारको सुनिश्चितता नहुनु हो ।’
उनका अनुसार, निजी क्षेत्रलाई जलविद्युत्मा लगानीका लागि उचित वातावरण बनाउन प्राधिकरण, विद्युत् महसुल निर्धारण आयोग र सरकारको भूमिका मुख्य छ । यसका लागि प्राधिकरणले लगानीका आधारमा पिपिए गरिदिने, त्यसको आधारमा आयोगले विद्युत्को मूल्य तोकिदिने तथा सरकारले बढी भएको विद्युत् भारत बेच्ने तथा स्वदेशमै खपतका लागि मौसमी उद्योग स्थापना गर्न सके जलविद्युत्मा लगानी बढ्ने उनको तर्क छ ।
निजी प्रवद्र्धक भने मन्त्रिपरिषद्ले निर्माणाधिन आयोजना तथा निर्माण भएका आयोजनालाई सहुलियत दिने निर्णय प्राधिकरणले कार्यान्वयन नगरेपछि, धेरै आयोजना पिपिए नभएर अड्केपछ् ितथा दुई सय प्रतिशतसम्म आयोजनाको दस्तुर वृद्धिपछि पछि हट्न थालेको बताउँछन् ।

सर्भे लाइसेन्सको दरखास्त रद्द

काठमाडौं : विद्युत् विकास विभागले सर्भे लाइसेन्सका लागि प्रवद्र्धकले दिएको दरखास्त रद्द गर्न थालेको छ ।
३५ दिनभित्र लाइसेन्स नवीकरणका लागि बढेको दस्तुर तिर्न र विवरण बुझाउन भने पनि नबुझाएपछि विभागले दरखास्त रद्द गर्न थालेको हो । ०६२ सालदेखि अहिलेसम्म विभिन्न जलविद्युत् आयोजनाको लाइसेन्सका लागि करिब ६ सयले निवेदन दिएकोमा उनीहरूसँग विभागले तुरुन्तै बढेको दस्तुरअनुसार शुल्क तिर्न र आफ्नो प्रगति प्रतिवेदन बुझाउन भनेको थियो । समयमैभित्रै वृद्धि शुल्क र प्रगति प्रतिवेदन नबुझाएपछि लाइसेन्स रद्द गर्न सुरु गरिएको विभागका वरिष्ठ इन्जिनियर एवं सूचना अधिकारी गोकर्णराज पन्तले बताए । ‘पहिलो चरणमा १ सय २८ मेगावाट बराबरका तीन आयोजनाको सर्भे दरखास्त रद्द गरेका छौँ,’ उनले भने, ‘६ सय आयोजनाले विभिन्न जलविद्युत् आयोजनाको सर्भे लाइसेन्सका लागि दरखास्त दिएकोमा बढेको दस्तुर नबुझाएकाले अब अन्य आयोजनाको लाइसेन्स क्रमश: खारेज गर्न लागेका छाँै ।’ विभागका अनुसार ६ सय आयोजनामध्ये ६ आयोजनाले नवीकरण गरेका छन् भने ६ आयोजना बढेको दस्तुरविरुद्ध अदालत गएका छन् । बाँकी ५ सय ८८ आयोजनाले बढेको दस्तुर र विवरण नबुझाएको विभागले जनाएको छ ।
उनका अनुसार दरमखोलाअन्तर्गतका २.५ मेगावाटको लोअर दरमखोला, २.५ मेगावाटको दरमखोला र ५ मेगावाटको वामी टक्सार दरमखोला तथा ७ मेगावाटको लोअर न्यादी र १ सय ११ मेगावाटको कालीगण्डकी गर्ज छन् । सर्भे लाइसेन्सका लागि निवेदन दिएर खोला ओगटिरहेकोले उनीहरूलाई ३५ दिने सूचना जारी गरेर प्रगति मागिएको पनि नदिएकाले बाँकी आयोजनाको लाइसेन्स खारेज गर्नका लागि बाटो खुलेको विभागले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् विकास विभागलाई समयमै तीन आयोजनाको दस्तुर नतिरेर अटेर गरेको भन्दै ती आयोजनाको दरखास्तसमेत रद्द गर्न लागेको छ । प्राधिकरणले १५ चैतभित्रै आयोजनाको वृद्धि दस्तुरअनुसार ६६० मेगावाटको कालीगण्डकी दोस्रोको १ करोड २० लाख, ३ सय मेगावाटको उत्तरगंगा आयोजनाको १ करोड तथा १ सय ८० मेगावाटको आँधीखोलाको एक करोड रुपियाँ दस्तुर बुझाउनुपर्नेमा नबुझाएकाले ती आयोजनाको लाइसेन्ससमेत रद्द गर्न लागेको विभागले जनाएको छ ।

Thursday, April 4, 2013

संविधानसभाका मुख्य तीन दल र जलविद्युत् क्षेत्र

-भीम गौतम
Bhim-Gautam०५२ सालदेखि झन्डै १० वर्ष चलेको शसस्त्र युद्ध अन्त्यको मिलनविन्दु संविधानसभा बनेको थियो । राज्य र शसस्त्र युद्ध गरिरहेको विद्रोही माओवादीले संविधानसभाको राजनीति एजेन्डामा सहमति जनाए । राज्य र विद्रोहीबाट मारिएका, बेपत्ता पारिएका, विस्थापित भएका परिवारका पीडाका दर्दनाक कथाहरूसँग शसस्त्र युद्धको नाम जोडिएको छ । त्यो युद्ध शान्तिको बाटोमा अघि बढ्यो । तर, समयक्रमले ती दर्दनाक पीडाका अवशेषहरू अझै सकिएका भने छैनन् । द्वन्द्वको मनौवैज्ञानिक त्रासबाट नेपालीले मुक्त पाएका छैनन् । यही कारणले पनि अहिलेसम्म नेपाल भूमि छोडेर विदेशमा श्रम बेच्न पुगेकाहरूको कारुणिक कथाहरू लम्बिरहेकै छन् । नेपालको राजनीतिक स्थिरताको प्रतीक्षा गरिरहेका धेरै नेपाली निरन्तर पलायन हुने क्रम बढीरहेकै छ । यसको प्रमुखकारण हो–‘संविधानसभाको चुनावपछि पनि निर्धारित समयमै संविधान बनाउन नसक्नु र देशमा स्थिर राजनीति नहुनु ।’
संविधान बन्न नसक्नुको मुख्यकारण तीन राजनीतिक दलहरूनै हुन् । संविधानसभाको चुनावले माओवादी, नेपाली कांग्रेस र एमालेलाई मिलेर संविधान बनाउन म्याडेट दियो । तीन दल मिलेपछि मात्र दुई तिहाइ पुग्थ्यो र नयाँ संविधान बन्न सक्थ्यो तर बिडम्वना यी तीन दल तीनतिर फर्किए र आफ्नो पार्टीगत स्वार्थका लागि राष्ट्रलाई बन्धक बनाइदिए । यी तीन दलले आफ्नो पार्टी स्वार्थका लागि जे गर्न पनि तयार भए तर राष्ट्र र जनताको अधिकार सुनिश्चित गर्नका लागि एकतावद्ध भएर अघि बढ्न सकेनन् । फलस्वरूप दलहरूप्रति जनतामा घृणा पैदा भयो, देशमा राजनीतिक स्थिरता भएमा मुलुकको समृद्धिमा सहयोग पुग्छ भन्ने जनताको आशामाथि तुसारापात भयो । राष्ट्र अस्थिरताको जन्जालमा फस्यो र नेपालमा श्रम गर्न छोडेर युवाहरू विदेशतिर भौँतारिन थाले । कुनै पनि क्षेत्रले संस्थागत रूपमा विकास गर्ने अवसरनै पाएनन् ।
लामो शसस्त्र युद्ध र जनमानसमा बढेको त्राससँगै भएको संविधानसभाको चुनावले देशलाई राजनीतिक स्थिरतामा पुर्‍याएर देशको मुहार फेर्नका लागि ढोका खोल्ने आशालाई जसरी नयाँ संविधानका लागि माओवादी, नेपाली कांग्रेस र एमाले तीनतिर फर्केर कुठारघात गरे, त्यसैगरी ऊर्जा संकटले थलिएको मुलुकमा जलविद्युत् क्षेत्रको विकासका लागि तीनतिर फर्केर ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागले त्यसैगरी संकटमा झन् संकट थपिरहेका छन् । ऊर्जा, प्राधिकरण र विभागबीच समन्वय नभई ऊर्जा उत्पादन हुन सक्दैन । तर, अपार जलविद्युत्को सम्भावना बोकेको नेपालमा जलविद्युत् उत्पादनको अवस्था लाजमर्दो छ । ८३ हजार मेगावाटको सम्भावना बोकेको मुलुकमा जम्मा सात सय मेगावाट मात्र विद्युत् उत्पादन हुनुलाई बिडम्वनानै मान्नुपर्छ । नयाँ संविधान निर्माणका लागि संविधानसभाका तीन मुख्य दलहरूको बलियो ऐक्यवद्धता आवश्यक भए जस्तै जलविद्युत् उत्पादन गरेर देशले भोगिरहेको ऊर्जा संकट समाधानका लागि ऊर्जा, प्राधिकरण र विभागबीच बलियो एकता र सहकार्यको खाँचो छ । तर, तीन निकाय तिनतिर फर्किरहेकै छन् र उत्पादन बढाउनुभन्दा पनि आफ्नो डफ्फु बजाइरहेकै छन् ।
उत्पादन, वितरण र प्रशारण लाइन तीनवटै काम प्राधिकरणले गर्दै आएको छ । ऊर्जा र विभाग तथा प्राधिकरणबीच समन्वय नभए प्राधिकरणलाई यी तीनवटै काम गर्न कठिन छ । विभागले उत्पादन अनुमतिपत्र नदिई प्राधिकरणले उत्पादन र प्रशारण लाइनअघि बढाउन सक्दैन । यसका लागि ऊर्जाको समन्वय सबैभन्दा महत्त्वपूर्ण हुन्छ । आर्थिक व्यवस्थापनलगायतका थुप्रै प्रक्रियाका लागि अर्थ मन्त्रालय, वन मन्त्रालय, वातावरण मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालयलगायतका निकायसँग समन्वय गर्न ऊर्जा मन्त्रालय आवश्यक पर्छ । ऊर्जा अन्तर्गतकै निकाय भएर पनि विभाग र प्राधिकरणबीचको सम्बन्ध अत्यन्त चिसो छ । प्राधिकरणले मागेको अनुमतिपत्र दिन विभागले झुलाउने र विभागले तोकेको दस्तुर बुझाउन प्राधिकरणले अटेर गरेका थुप्रै उदाहरणहरू छन् । दस्तुर बुझाउनका लागि समन्वय गर्नुपर्ने ऊर्जाले समेत फाइल प्रक्रियामा ढिलासुस्ती गरिदिने अर्को समस्या छ । आफू अन्तर्गतको निकाय भएको भन्दै प्राधिकरण र विभागलाई गैरकानुनी कार्यदेखि गम्भीर असर पर्ने निर्णय गरेर लाद्ने काममा ऊर्जा मन्त्रालय अग्रसर छ भने प्राधिकरण र विभाग एक अर्कोलाई किन टेर्ने भन्ने पक्षमा छन् । सुपर सिक्सको विद्युत् खरिद सम्झौता (पीपीए), २१६ मेगावाटको खारेज लाइसेन्स पुन: त्यही कम्पनीलाई दिने निर्णय, डिजेल प्लान्टको स्थापना, बुढीगण्डकी अनुमतिपत्र खारेज, त्रिशूली ३ ‘ए’ आयोजनाको क्षमता विस्तार, माथिल्लो तामाकोसी, सान्जेनलगायतका जलविद्युत् आयोजनामा अनावश्यक हस्तक्षेप, जलविद्युत् आयोजनाहरू र प्रशारण लाइनको टेन्डर प्रक्रियामा चासोलगायतका थुप्रै विवाद यही तीन निकायबीचसँग जोडिन्छन् । तीन निकायको समन्वयको सिकार पछिल्लो समयमा निजी क्षेत्रका प्रवद्र्धकसमेत भएका छन् । सरकारका प्रमुख वा ऊर्जा मन्त्रालयले दिएको निर्देशन प्राधिकरणले नमान्ने, लाइसेन्सको अवधि छँदै खारेज गरिदिने, एकैचोटि धेरै दस्तुर बढाइदिने, प्रशारण लाइन निर्माणमा गम्भीर नबन्ने, समयमै पीपीए नगरिदिनेलगायतका धेरै समस्या यी तीन निकायको समन्वय अभावले निजी प्रवद्र्धकहरूले समेत भोगिरहेका छन् ।
मुख्य तीन दल नमिलेर नयाँ संविधान निर्माण असफल भए जस्तै ऊर्जा, विभाग र प्राधिकरण तीनतिर फर्केर ऊर्जा संकटको समस्या समाधान गर्न सरकार असफल बन्दै गएको छ । कागजी रूपमा सन् ०१७ भित्र लोडसेडिङ मुक्त बनाउने लक्ष्य सरकारले राखे पनि त्यो सम्भावना देखिँदैन । समन्वय र सहकार्यको अभावमा निर्माणाधीन आयोजनाहरूमाथि अनावश्यक हस्तक्षेप बढ्ने क्रम बढ्दो छ भने आयोजनामा चासो दिएका स्वदेशी र विदेशी कम्पनीहरू जलविद्युत् निर्माण छोडेर भाग्नुपर्ने अवस्था सिर्जना हुँदै छ । कतै स्वार्थ र कतै आफ्नो निकायको प्रतिष्ठाको नाममा समन्वय र सहकार्यको सट्टामा टसल गर्ने प्रवृत्ति र संस्कार मौलाउँदै जाँदा जलविद्युत् आयोजनाहरूको निर्माणमा ढिलाई हुँदै छ र नयाँ आयोजनाहरू निर्माणका लागि उत्साह घट्दै छ । यसको परिणामस्वरूप लोडसेडिङको समस्या झन् भयावह बन्ने निश्चित छ । अहिले ऊर्जामन्त्री उमाकान्त झा आउनुभएको छ । उहाँले पनि ऊर्जा, प्राधिकरण र विभागको बिफ्रिङको क्रममा यी तीन निकायबीचको समन्वय अभाव र समस्या प्रस्ट चाल पाइसक्नुभएको छ । उहाँले यी तीन निकायबीच एक अर्काेमा रहेको अविश्वास हटाएर समन्वय गर्न सकेमा मात्र उहाँ सफल हुने निश्चित छ, नत्र उहाँको नाम खाली ऊर्जा मन्त्रीहरूको लिस्टमा मात्र थपिनेछ ।
ऊर्जा, प्राधिकरण र विभागबीच बोलचालनै बन्द भएको अवस्था छैन तर विश्वासको संकट ठूलो छ । जलविद्युत् विकासका लागि नभइनहुने यी तीन खम्बाबीचको विश्वासको संकट नहटाएसम्म देशको ऊर्जा संकट समाधान हुन सक्दैन । ऊर्जाले चाकडी खोज्ने तथा प्राधिकरण र विभागले निहुँ खोज्ने प्रवृत्तिलाई निरुत्साहित गराएर ऊर्जा असल अभिभावक बनेर विभाग र प्राधिकरणबीच पुल बन्नुपर्छ । जसरी नयाँ संविधानविना देशका सबै क्षेत्रमा अस्तव्यस्तता देखिएको छ, त्यसैगरी ऊर्जाविना देशको कुनै पनि क्षेत्र व्यवस्थित र विकसित हुन सक्दैनन् । देश विकासका लागि जसरी नयाँ संविधानको आवश्यक छ, त्यसैगरी ऊर्जाको पनि आवश्यक छ । अपार सम्भावना भएको देशमा ऊर्जा संकटको सबैभन्दा महत्त्वपूर्ण माध्यम जलविद्युत्नै भएकोले तीन दलजस्तो फर्केर देशले भोगेको संकटबाट पाठ सिक्दै एकतावद्ध भएर जलविद्युत् विकासमा सक्रिय हुनुपर्ने बेला आइसकेको छ । समयमै सबैलाई चेतना भया ।

डेनिस मन्त्री लघु जलविद्युत् हेर्न सिधै गाउँमा

-भीम गौतम
कुशेश्वर दुम्जा (सिन्धुली), २३ चैत । डेनमार्कका विकास सहायतामन्त्री क्रिस्चियन फ्रिस ब्याच बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सिन्धुलीको कुशेश्वर दुम्जा गाउँ आएका छन् ।
क्रिस्चियन कुशेश्वर दुम्जा–९ मा निर्माण भएको छाँगे खोला लघु जलविद्युत् आयोजनाको प्रभावबारे जानकारी लिन सिधै गाउँ लागेका हुन् । डेनमार्कलगायत मुलुकको आर्थिक तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्रको प्राविधिक तथा सामाजिक सहयोगमा उक्त आयोजना निर्माण भएको हो । उनले लघु जलविद्युत्बाट स्थानीयबासीले पाएको फाइदाका साथै बायोग्यास, सोलार, सुधारिएको चुल्हो र सुधारिएको घट्टबारे जानकारी लिए । डेनमार्कका राजदूत मोर्गन जेसफर्सनसहित गाउँ आएका उनलाई लघु जलविद्युत उपभोक्ता समितिका अध्यक्ष दवाङसिंह तामाङलगायतले नवीकरणीय ऊर्जाले ल्याएको परिवर्तनबारे जानकारी दिएका थिए ।
क्रिस्चियनले नवीकरणीय ऊर्जाले समुदायमा पुर्‍याएको योगदान र प्रभावबारे जानकारी पाउँदा खुसी लागेको बताए । ‘संसारभर दिगो ऊर्जा विकासका लागि डेनमार्कले सहयोग गरिरहेको छ, गाउँमै आएर हेर्दा यसबाट प्रेरणा मिल्यो, राष्ट्रसंघका महासचिवलाई भेटेर नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्न भन्छु,’ उनले भने, ‘जलवायु परिवर्तनले संसारमा असर परिरहेको बेला गाउँमा बनेको आयोजनाले वातावरण संरक्षणमा योगदान दिएको छ ।’

कटौती गरेको बिजुली भारतले फेरि दियो

काठमाडौं : भारतले बुधबारमात्र कटौती गरेको ६० मेगावाट बिजुली बिहीबारदेखि पुन: दिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट नेपालमा १ सय ४५ मेगावाट विद्युत् आयात हुँदै आएकोमा रामनगर र दुहबी हुँदै आउने विद्युत्मा ६० मेगावाट कटौती भएको थियो । रामनगर–गण्डकबाट २५ मेगावाट विद्युत् आयात हुँदै आएकोमा बुधबार दिउँसोदेखि पूरै र दुहबी–कटैयामार्फत ७५ मेगावाट आयात हुने गरेकोमा ३५ मेगावाट कटौती गरेको थियो । भारतबाट विद्युत्कटौतीपछि चार घन्टा लोडसेडिङ थपिन लागेको समाचार सार्वजनिक भएलगत्तै भारतले पुन: विद्युत् दिएको हो । कटौती गरेको विद्युत् बिहीबारदेखि पुन: दिन थालेको प्राधिकरण भार प्रेषण केन्द्रकका प्रमुख भुवन क्षेत्रीले जानकारी दिए । (सौस)

Wednesday, April 3, 2013

चार घन्टा लोडसेडिङ बढ्ने सम्भावना

-भीम गौतम
काठमाडौं, २१ चैत । भारतले नेपाललाई उपलब्ध गराउँदै आएको विद्युत्म ध्ये ६० मेगावाट कटौती गरेको छ । भारतले पुन: विद्युत् नदिए दैनिक ४ घन्टा लोडसेडिङ बढ्ने सम्भावना छ ।
विद्युत् प्राधिकरणका अनुसार भारतले नेपाललाई दिँदै आएको १ सय ४५ मेगावाट विद्युत्मध्ये रामनगर र दुहबी हुँदै आउने विद्युत्मा ६० मेगावाट कटौती गरेको हो । रामनगर गण्डकबाट आयात हुँदै आएको २५ मेगावाट र दुहबी कटैयाबाट
आएको ७५ मेगावाटमध्ये ३५ मेगावाट विद्युत् बुधबार दिउँसोबाट कटौती गरेको हो ।
भारतले विद्युत् कटौती गरेसँगै पूर्वाञ्चलक्षेत्रमा बुधबार दिउँसोदेखि चार घन्टा अघोषित रूपमा लोडसेडिङ बढाइएको छ । भारतले ३/४ दिनदेखि दुहबी कटैयाक्षेत्रबाट आएको विद्युत्लाई ४० मेगावाटमा सीमित राख्न प्राधिकरणलाई भन्दै आएको थियो ।
प्राधिकरणले अहिले लोडसेडिङ नबढाए पनि कटौती गरिएको विद्युत् पुन: आपूर्ति नभए दैनिक ४ घन्टासम्म लोडसेडिङ बढ्न सक्ने प्राधिकरण स्रोतले जनाएको छ । यसअघि गत माघमा भारतले ३० मेगावाट विद्युत् कटौती गरेपछि दैनिक १२ घन्टाको लोडसेडिङ १४ घन्टा पुर्‍याइएको थियो । त्यतिबेला ८४ घन्टाको लोडसेडिङ हप्ताको ९७ घन्टा पुगेको थियो ।
यस वर्षको हिउँदमा १२ घन्टाभन्दा बढी लोडसेडिङ नबढाउने तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनविपरीत १४ घन्टा लोडसेडिङ पुगेपछि भट्टराईकै पहलमा भारतबाट कटौती विद्युत् पुन: आयात गरेर १२ घन्टामा झारिएको थियो । अहिले दैनिक १० घन्टा लोडसेडिङ छ । गत भदौमा भारतले दुहबी हुँदै आएको करिब ३० मेगावाट विद्युत् कटौती गरेपछि हप्ताको ३५ घन्टाबाट बढेर लोडसेडिङ ४८ घन्टा पुगेको थियो ।
‘सकेसम्म लोडसेडिङ नबढाउने पक्षमा छौ, सम्भव नभए बढाउनुको विकल्प पनि छैन’, महाप्रबन्धक राजेश्वरमान सुल्पियाले भने ।