Monday, October 29, 2018

‘इनर्जी बैकिङ’ भए दुई वर्षभित्रै विद्युत् आयात निर्यात बराबर

सोमवार, कार्तिक १२, २०७५
सहमति गर्न सरकारको पहल कमजोरसहमति गर्न सरकारको पहल कमजोरभारत इनर्जी बैकिङका विषयमा सहमति भए दुई वर्षभित्रै दुई देशबीच विद्युत् आदानप्रदान बराबर हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकले आर्थिक वर्ष २०७४-०७५ मा १९ अर्ब ३७ करोड बराबरको विद्युत् आयात गरेको छ भने यसमा सहमति भए दुई वर्षभित्रै आयात र निर्यात बराबर हुने देखिएको हो । ५ वर्षदेखि नेपालले भारतसमक्ष प्रस्ताव गरेको तथा दुई वर्ष अघि नेपाल–भारत संयुक्त कार्यकारिणी समिति (जीडब्लूसी) बैठकमा प्रवेश पाएको इनर्जी बैकिङमा भारत सहमत भएमा नेपालले बढी विद्युत् हुने बर्षामा विद्युत् निर्यात र हिउँदमा आयात गर्ने बाटो खुल्नेछ तर हालसम्म यसबारे दुई देश सहमत भैसकेका छ्रैनन् । इनर्जी बैकिङबारे टुंगो लागिनसकेकोले विद्युत् प्राधिकरण बिजुली खेर गएर घाटा बेहोर्नुपर्नेमा चिन्तित छ । इनर्जी बैकिङअनुसार दुई देशबीच आदानप्रदान खुल्ला भइ बढी वा घटीको आधारमा एक अर्का देशले विद्युत् किनबेच गर्नेछन् । विद्युत् प्राधिकरणका अनुसार गत वर्ष २५८२ गिगावाट आवर विद्युत् आयात गरेको नेपालले चालू आर्थिक वर्ष २०७५-०७६ मा इनर्जी बैकिङमार्फत निर्यात गरिएको ४ सय गिगावाट आवर निर्यात र  १३०० गिगावाट आवर आयात गर्ने छ । विद्युत् प्राधिकरणको प्रक्षेपणअनुसार चालू वर्षको बर्षादेखित नेपालले भारतलाई विद्युत् निर्यात गर्ने देखिएको छ । विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी चालु वर्षको हिउँदमा ४ सय गिगावाट आवर भारत निर्यात गर्ने र अर्को आर्थिक वर्षदेखि नेपालले निर्यात गर्ने र आयात गर्ने विद्युत्को परिमाण बराबर हुने बताउँछन् । “आर्थिक वर्ष २०७६-०७७ देखि विद्युत् आयात निर्यात बराबर हुने तथ्यांक छ,” उनले भने, “४५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण भएपछि वर्षामा इनर्जी बैकिङ अनुसार भारतलाई विद्युत् निर्यात गरिनेछ ।” विद्युत् प्राधिकरण स्रोतले भने माथिल्लो तामाकोसी चालू आर्थिक वर्षभित्र पूरा हुन कठिन देखिएकोले निर्यात गर्ने सम्भावना न्यून रहेको बताउँछन् । माथिल्ला तामाकोसी आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विद्युत् प्राधिकरणको प्रक्षेपण अनुसार आर्थिक वर्ष २०७६-०७७ मा ८ सय गिगावाट आवर, आर्थिक वर्ष २०७७-०७८ मा ९ सय गिगावाट आवर र आर्थिक वर्ष २०७८-०७९ मा ७ सय गिगावाट आवर विद्युत् निर्यात हुने देखाएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७६-०७७ देखि दुई देशको आयात निर्यात इनर्जी बैकिङको आधारमा बराबर हुने उल्लेख गरेको छ ।निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माण सम्पन्न हुने अवधि तथा विद्युत् प्राधिकरणको माग प्रक्षेपणको आधारमा विद्युत् हिउँदमा कम र बर्षामा बढी हुने भएकोले तत्काल इनर्जी बैंकिङ अनुसार आयात निर्यात गरिनुपर्ने बताउँदै आएको छ तर इनर्जी बैकिङमा सहमति भने जुटिसकेको छैन । इनर्जी बैकिङबारे विद्युत् प्राधिकरण र भारतीय विद्युत् केन्द्रबीच छलफल भएपनि हालसम्म टुंगो नलागेको प्रवक्ता अधिकारी बताउँछन् । “छिट्टै बस्ने जेएससी बैठकले इनर्जी बैकिङको टुंगो लगाउने आशा गरेका छौँ” उनले भने ।५ वर्षदेखि इनर्जी बैकिङबारे बहस सुरु गरेपछि जेएससी बैठकमा औपचारिक प्रवेश पाएपनि सरकारको उचित पहल कदम र तदारुकताको अभाव इनर्जी बैकिङ सहमति भएको छैन । परराष्ट्र र ऊर्जा मन्त्रीका साथै मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूले इनर्जी बैकिङका लागि सार्थक पहल नगर्दा इनर्जी बैकिङको विषय टुंगो लाग्ने नसकेको विद्युत् प्राधिकरणका एक अधिकारीले बताए । “भारतीय अधिकारीहरू अनौपचारिक कुराकानीको क्रममा बैठकमा बाहेक तिम्रो देशका मन्त्री, सचिव, सह–सचिवले हाम्रो देशका उच्च पदस्थ व्यक्तिसँग कुराकानीनै गर्दैनन्, पहल गरे इनर्जी बैकिङमा कुनै समस्या छैन भन्छन्,” ती अधिकारी भन्छन्, “खोई मन्त्री, सचिवको ध्यान त्यतातिर गएको देखिदैन ।”
एकै दिन तीन आयोजनासँग पीपीएनेपाल विद्युत् प्राधिकरणले एकै दिन १७० 
मेगावाट बराबरका तीन आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।
१ सय मेगावाटको सुपर त्रिशूली, ६५ मेगावाटको दूधखोला र ४.५५ मेगावाटको माथिल्लो माछाखोला आयोजनासँग एकैदिन पीपीए गरेको हो । ब्लु इनर्जी प्रालिले निर्माण गर्ने सुपर त्रिशूलीको पीपीएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका कार्यकारी निर्देशक बरुण सराफले हस्ताक्षर गरे भने दूधखोला पीपीएमा कार्यकारी निर्देशक घिसिङ र प्रबद्र्धक सीता हाइड्रोपावर कम्पनीका निर्देशक सतिस तिम्सिनाले हस्ताक्षर गरे । यस्तै, विकास हाइड्रोपावरले निर्माण गर्ने ४.५५ मेगावाटको पनि पीपीएमा हस्ताक्षर भएको

Thursday, October 25, 2018

‘टेक अर पे’ पीपीएले प्राधिकरणलाई वार्षिक सवा खर्ब घाटा

बिहिवार, कार्तिक ८, २०७५
http://karobardaily.com/news/development/11870
खेर जाने विद्युत्को जोखिम नबेहोरे असम्भवः प्राधिकरण 
• मन्त्रालयले निर्देशन दिएको छ, निर्णय हुँदै होलाः मन्त्रालय
• टेक अर पे नहुँदा जलविद्युत् निर्माण असम्भव छः प्रबद्र्धक
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनबमोजिम १० वर्षमा १५ हजार मेगावाटलाई आधार मानी टेक अर पे (लेऊ वा तिर) मा विद्युत् खरिद सम्झौता (पीपीए) गरे वार्षिक सवा खर्ब रुपैयाँ बराबर घाटा हुने नेपाल विद्युत् प्राधिकरणले निष्कर्ष निकालेको छ । गत वैशाखमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ल्याएको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको श्वेतपत्रमा १५ हजार मेगावाटलाई आधार मानेर त्यसको आधारमा टेक अर पे मा पीपीए गर्न प्राधिकरणलाई पत्राचार गरेको थियो । तर, सरकारले भविष्यमा खेर जाने सम्भावित खेर जाने विजुलीको भुक्तानी ग्यारेण्टी नदिएर खेर जाने अवस्था आएमा १ खर्ब २७ अर्ब रुपैयाँ बराबर बार्षिक घाटा बेहोर्नुपर्ने निष्कर्ष निकालेको छ ।
जोखिम बेहोर्ने ग्यारेण्टी नभएसम्म विद्युत् प्राधिकरण टेक अर पेमा पीपीए गर्न नहुने पक्षमा प्राधिकरण देखिएपछि यसबारे मन्त्रालयले निर्देशन दिएको पाँच महिना बितिसके पनि निर्णय हुन सकेको छैन । मन्त्रालय र प्राधिकरणबीच एकमत नहुँदा अनुमतिपत्र (लाइसेन्स) खारेजीलाई रोक्न वित्तीय व्यवस्थापन गर्न असम्भव भए पनि लेऊ र तिर (टेक एन्ड पे) को पीपीए गर्न जलविद्युत् प्रवद्र्धकहरू बाध्य छन् भने आयोजना निर्माणमा भने अन्योल थपिएको छ । विद्युत् प्राधिकरणले आन्तरिक रूपमा गरेको अध्ययनले १० हजार मेगावाटको लक्ष्यसहितको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणा २०७२ को सट्टामा १५ हजार मेगावाटको आधारमा पीपीए गर्दा नदी प्रवाहमा आधारित (आरओआर) तर्फ थप २ हजार २ सय ५० मेगावाट तथा पिकिङ आरओआर (अर्धजलाशय) थप २ हजार ५ सय पीपीए गर्नुपर्ने उल्लेख छ । १० वर्षमा १० हजार मेगावाट खपत गर्न सक्ने गरी प्रक्षेपण गरिएकोमा राज्यले खेर जाने विद्युत्को भुक्तानीको ग्यारेण्टी नलिए थप पीपीए गर्दा आरओआरतर्फ बार्षिक ६७ अर्ब र पीआरओआरतर्फ ७० अर्ब बराबरको घाटा बेहोर्नुपर्ने अध्ययनमा उल्लेख छ ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लेऊ र तिर (टेक एण्ड पे) को सट्टामा टेक अर पे पीपीए गर्नका लागि प्राधिकरण बोर्ड पेश गरिएको र पीपीए गर्दा खराब अवस्थामा विद्युत् खेर जाँदा हुने घाटाबारे छलफल भईरहेको जानकारी दिए । “टेक अर पे पीपीएलाई मन्त्रालयले निर्देशन अनुसार बोर्डमा पेश भएर यसका चुनौतीबारे छलफल भइरहेको छ, यसको घाटाबारे पनि अध्ययन गरिएको छ,” उनले भने । संकटकाल कार्ययोजनाले १० हजार  मेगावाटमध्ये आरओआर ३० प्रतिशतसम्म र पीआरओआर २० प्रतिशतसम्म भनेपनि श्वेतपत्रले भने १५ हजार मेगावाटमा यसलाई बढाएर आरओआर ३५ प्रतिशत र पीआरओआर ३० प्रतिशतसम्म उल्लेख छ । २०७२ सालको ऊर्जा संकटकाल कार्ययोजनाले टेक अर पे मा पीपीए गर्दा विद्युत् प्राधिकरणलाई अतिरिक्त घाटा पर्न गएमा सोको शोधभर्ना सरकारले उपलब्ध गराउने उल्लेख भएपनि श्वेतपत्रमा भने यसबारे उल्लेख छैन । श्वेतपत्र ल्याए लगत्तै ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणलाई १५ हजार मेगावाटको आधारमा आरओआर र पीआरओआरका आयोजनामा टेक अर पेमा पीपीए गर्न पत्राचार गरेको थियो । ऊर्जा मन्त्रालयको निर्देशन अनुसार प्राधिकरणले टेक अर पे खुल्ला गरिएको छैन । ऊर्जा मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थ भने मन्त्रालयले प्राधिकरणलाई पत्र पठाईसकेकोले सो अनुसार प्राधिकरणले निर्णय लिने विश्वास व्यक्त गर्छन् । “मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिइसकेको छ, सोही अनुसार गर्ने प्रक्रियामा प्राधिकरण होला,” उनले भने, “श्वेतपत्रमा हुनु भनेको राज्यले ग्यारेण्टी लिएको नै हो ।”१० हजार मेगावाटको ३० प्रतिशत अर्थात ३ हजार मेगावाट टेक अर पे मा पीपीएपछि अहिले विद्युत् प्राधिकरण टेक एण्ड पे मा पीपीए गरिरहेको छ । हालसम्म करिब १८ सय मेगावाट बराबरको टेक एण्ड पे मा पीपीए भएको र बोर्डले टेक अर पे को पीपीएको सीमा बढाएमा ती पीपीएलाई टेक अर पे रूपान्तरण गर्न सकिने विद्युत् प्राधिकरणका व्यापार शाखाका प्रमुख एवं प्रवक्ता प्रवल अधिकारी बताउँछन् । “पहिला पनि टेक एण्ड पे मा भएका पीपीए टेक अर पे मा रूपान्तरण भएका थिए, बोर्डमा प्रस्ताव गएको छ, बोर्डले स्वीकृत दिएमा रूपान्तरण हुन्छन्,” उनी भन्छन् ।  विद्युत् प्राधिकरणका अनुसार हाल ६ हजार मेगावाट पीपीए लाइनमा रहेकोमा त्यसमध्ये एक हजार मेगावाट पीआरओआर र बाँकी आरओआर प्रकृतिका छन् । हालसम्म पीओरओआरको १२ सय मेगावाट बराबर मात्र पीपीए भएकोले यसमा भने अझ पनि टेक अर पे पीपीए हुने अवस्था रहेको प्राधिकरणले जनाएको छ । टेक एण्ड पे मा पीपीए गर्दा जलविद्युत् आयोजनाहरूमा वित्तिय व्यवस्थापन गर्न असम्भव रहेकोले ती आयोजनाहरूको निर्माण अन्योलमा परेको छ  । 
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईं नेपालको आर्थिक सम्वृद्धिका लागि आवश्यक विजुली उत्पादनका लागि वित्तिय व्यवस्थापन हुने गरी टेक अर पे पीपीए हुनुपर्ने बताउँछन् । “टेक एण्ड पे मा पीपीए गरेर वित्तिय व्यवस्थापन असम्भव छ भने ती जलविद्युत् आयोजनाहरू पनि बन्दैनन्,” उनले भने, “कुरा आर्थिक समृद्धिको गर्ने तर कि बिजुली थप चाहिँदैन भन्नुभयो, नत्र राज्यले टेक अर पे मा पीपीए गर्दिनँ भन्न पाउँछ ।” उनी टेक अर पे पीपीए भएर पनि जलविद्युत् आयोजना निर्माणका लागि डलर भाउको उतारचढाव लगायतका धेरै समस्या रहेको बताउँछन् । 

Tuesday, October 23, 2018

नियमन आयोग पूर्णतामा ऊर्जा मन्त्रालयकै अल्झन

मंगलबार, कार्तिक ६, २०७५
कानुनी रूपमा नेपाल विद्युत् नियमन आयोग स्वतः सक्रिय भएको डेढ महिनापछि एक वर्ष पुग्दैछ । तर, नियमन आयोगका पदाधिकारी गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । 
संसद्ले २०७४ साउन २७ गते विद्युत् नियमन आयोग ऐन पारित गरी राष्ट्रपतिबाट लालमोहर लगाएको ९१ औं दिनमा अर्थात २० मंसिरदेखि सक्रिय भएको आयोगको पदाधिकारी नियुक्ति प्रक्रिया अझै अघि बढ्न नसकेको हो । ऊर्जा मन्त्रालय र मन्त्रालयका नेतृत्व गर्नेहरुबाटै बेवास्ता गरिएको कारण विद्युत् क्षेत्रका लागि महत्वपूर्ण मानिएको नियमन आयोग सक्रिय भएको ११ महिना पुग्न लाग्दासमेत सक्रिय हुन सकेको छैन । कानुनी रुपमा सक्रिय भएपछि तुरुन्तै पदाधिकारीहरु चयन गर्नुपर्ने भए पनि ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणका कतिपय अधिकारहरु आयोगमा जाने भएका कारण ऊर्जा मन्त्रालयले आयोग सक्रिय गराउनका लागि आवश्यक पर्ने पदाधिकारीहरु चयन प्रक्रिया नै अघि बढाएको छैन । आयोग सक्रिय भएको १० महिनापछि अर्थात ११ भदौमा मात्र विद्युत् नियमन आयोग नियमावली २०७५ ऊर्जा मन्त्रालयले ल्याएको थियो ।
पदाधिकारीहरु नियुक्तिका लागि बढी केन्द्रित हुनुपर्ने भए पनि आयोगले लिने विद्युत् खरिद दर (पीपीए) लगायत तोकेर ल्याइएको नियमावलीपछि पनि नियमन आयोग पदाधिकारीहरू चयनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको छैन । नियमावली आएको दुई महिना बित्न लाग्दासमेत हालसम्म ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पदाधिकारी छनोटको लागि समितिलाई पूर्णता दिन सकेको छैन । भदौको अन्तिम साता मन्त्रालयका सचिव डा. सञ्जय शर्मा संयोजक र कानुन महाशाखाका सहसचिव तोयानाथ अधिकारी सदस्य रहेको समिति गठन गरेपनि विज्ञ सदस्य भने हालसम्म नियुक्ति भएको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन पछिल्लो समयमा विदेश भ्रमणमा बढी व्यस्त रहेको तथा केही दिनपछि सर्बियामा जाने कार्यक्रम रहेकोले समिति गठनसमेत तिहार अघि हुने अवस्था नरहेको ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए ।
हाल प्रतिस्पर्धाभन्दा उत्पादन, प्रसारण र वितरणमा विद्युत् प्राधिकरणको एकाधिकार रहेको तथा जलविद्युत् अनुमतिपत्र (लाइसेन्स) मा मन्त्रालयको मनोमानी रहेकोले हाल कायम रहेका विभिन्न अधिकार कटौती हुने भएकोले मन्त्रालयले नै आयोगलाई पूर्णता दिन अल्झन गरिरहेको आरोप जलविद्युत् क्षेत्रका विज्ञहरूको छ । “आयोग सक्रिय भएपछि नियमावली आउनमात्र १० महिना लाग्यो, नियमावली आएपछि पनि पदाधिकारीहरु नियुक्तिका लागि सूचना निकाल्न कति लाग्ने हो, अझै अन्योल छ,” ती विज्ञले भने, “आफ्नो अधिकार खोस्न कोही चाहाँदैन, केही ठूला आयोजना दिने र त्यसमा चलखेल गर्नका लागि मन्त्रालय नै ढिलाई गरेको हुनुपर्छ ।” उनका अनुसार आयोगलाई पूर्णता दिन मन्त्री र मन्त्रालयको नेतृत्वले तदारुकता देखाएको छैन । तर, मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थ भने नियमन आयोग गठनका लागि प्रक्रिया अघि बढिसकेको दाबी गर्दै छिट्टै छनोट समितिले पूर्णता पाएर प्रक्रिया अघि बढ्ने बताउँछन् । “छनोट समिति गठनको प्रक्रिया अघि बढिसकेको छ, छिट्टै पदाधिकारीहरुको छनोट प्रक्रिया अघि बढ्छ,” उनी भन्छन् । 
२०६५ सालमै नियमन आयोग गठनको मस्यौदा तयार भए पनि संसदबाट पारित हुन ९ वर्ष लागेको आयोगको ऐन आएको साढे १४ महिना पुगिसकेको छ तर पदाधिकारीहरु चयनमा अझै अन्योल देखिएको छ ।

Monday, October 15, 2018

नेपालको विद्युत् प्रणाली अब मिश्रिततर्फ

सोमवार, आश्विन २९, २०७५
विद्युत् प्रणालीमा रहेको जलविद्युत्को एकाधिकार तोड्दै बल्ल मिश्रित ऊर्जाको कार्यान्वयन अघि बढेको छ । १ सय ७ वर्षअघि जलविद्युत् आयोजनाको निर्माण सुरु भएपनि १ सय वर्षभन्दा बढी प्रणालीमा जलविद्युत्को मात्र हिस्सा रहेकोमा विस्तारै मिश्रिततिर अघि बढेको हो । 
हाल १ हजार २० मेगावाट विद्युत् उत्पादन क्षमता रहेकोमा १.५ मेगावाटमात्र सौर्य ऊर्जा (सोलार) हिस्सा रहेपनि पछिल्लो समयमा जलविद्युत्बाहेक सोलार, वायोमास, वायु र बगास (उखुको खोस्टा) बाट विद्युत् उत्पादन गर्ने आयोजनाहरू बढेका छन् । लामो समयदेखि जलविद्युत्मा मात्र निर्भर रहेको प्रणालीलाई मिश्रित बनाउने भनिएपनि २०७२ सालमा सरकारले सार्वजनिक गरेको १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा संकटकाल कार्ययोजनामा तथा ६ महिना अघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको यस क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको श्वेतपत्रका समेत मिश्रित ऊर्जाबारे उल्लेख छ । १० प्रतिशतसम्म वैकल्पिक माध्यमबाट विद्युत् उत्पादन गरिने कार्ययोजना र मार्गचित्रमा उल्लेख छ । हालसम्म जलविद्युत्कै अधिकांश हिस्सा रहेपनि पछिल्लो समयमा सोलार, बगास र वायोमासबाट विद्युत् उत्पादनका लागि अनुमतिपत्र (लाइसेन्स) लिने प्रक्रिया अघि बढेको छ ।
सरकारले घोषणा गरे अनुसारै जलविद्युत् आयोजनाको लाइसेन्स र विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने जलविद्युत्बाहेकका अन्य प्रविधिहरू उपयोग गरेर विद्युत् उत्पादन गर्ने योजना अघि बढेका छन् । “पहिला विद्युत्को लागि जलविद्युत्मार्फत मात्र उत्पादन हुँदै गएकोमा अहिले सोलार, वगासबाट विद्युत् उत्पादन पनि अघि बढेको छ,” नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, “पछिल्लो समयमा जलविद्युत्बाहेक अन्य स्रोतबाट विद्युत् उत्पादनका लागि विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने क्रम बढेको छ ।” उनका अनुसार हालसम्म जलविद्युत् आयोजनाको ४ हजार ६ सय मेगावाटको पीपीए भइसकेको छ भने सोलारको मात्र २९ मेगावाट पीपीए भइसकेको छ भने चिनी मिलले उखुको खोस्टाबाट विद्युत् उत्पादन गर्ने गरी ६ मेगावाटको पीपीए भैसकेको छ । विद्युत् प्राधिकरणका अनुसार ५ हजार मेगावाटभन्दा बढी क्षमता जलविद्युत् आयोजना, ४७ मेगावाटको सोलार र १५ मेगावाटको चिनिमिल्सबाट उत्पादन हुने आयोजना पीपीए प्रक्रियामा छन् ।
हालसम्म २४ हजार मेगावाट बराबरको आयोजनाले जलविद्युत् आयोजनाको सर्भे लाइसेन्स लिएका छन् । यसले नेपालमा जलविद्युत्कै आयोजनाहरूमा बढी प्राथमिकता देखिएको छ तर पछिल्लो समयमा सोलारबाट २३७ मेगावाट बराबरका आयोजना सर्भे लाइसेन्स लिएर निर्माणको प्रकृयामा अघि बढ्न लागेका छन् । त्यसैगरी वायु (हावा) बाट ५ मेगावाट, बायोमासबाट २८ मेगावाट, चिनी मिलमा वगासबाट विद्युत् उत्पादनका लागि सह–उत्पादन (चिनी मिल्स) १५ मेगावाटको आयोजना पनि पीपीएको प्रक्रियामा छ ।

Wednesday, October 10, 2018

निजी आवास निर्माणको काम यसै वर्ष सक्छौं

 बुधवार, आश्विन २४, २०७५
भूकम्पपछिको पाँच वर्षभित्र पुनर्निर्माण गर्ने गरी २०७२ साल असारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरिएको थियो । भूकम्प गएको साढे तीन वर्ष पुग्न लागेको छ, तर पुनर्निर्माणको काम सन्तोषजनक छैन । यस अवधिमा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत भने पाँच पटक परिवर्तन भइसकेका छन् । पहिलो डा. गोविन्दराज पोखरेल, त्यसपछि सुशील ज्ञवाली, त्यसपछि पुन: पोखरेल अनि युवराज भुसाल र फेरि अहिले ज्ञवाली प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत छन् । भूकम्पपछि पुनर्निर्माणको गति सुस्त हुनुलाई नेतृत्व परिवर्तनलाई एउटा कारणको रूपमा लिने गरिएको छ । भूकम्पपछिको पुनर्निर्माणका क्रममा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने निजी आवासको काम अझै पूरा भएको छैन भने पुरातात्विक सम्पदा निर्माणको काम बल्ल प्रक्रियामा अघि बढेको छ । विशेष गरी निजी आवासको पुनर्निर्माण, एकीकृत बस्ती, प्रभावितको जीविकोपार्जन र पुरातात्विक सम्पदा निर्माणलगायतबारे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसँग कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :
भूकम्प गएको साढे तीन वर्ष नाघिसकेको छ, तर पुनर्निर्माणले जुन गति लिनुपर्ने हो, लिन सकेको छैन । अब कसरी अघि बढाउँदै हुनुहुन्छ ? 
पहिला पुनर्निर्माण प्राधिकरणमा नेतृत्व परिवर्तनको कुरा रह्यो । यसमा केही समस्या पनि रह्यो । अब विगतको समस्यातिर फर्कनेभन्दा पनि अब अघि बढ्नुपर्छ । पहिला पाँच वर्षभित्र पुनर्निर्माण गरिसक्ने जुन योजना थियो, त्यो योजनालाई समीक्षा गर्दै बाँकी अवधिको कार्यक्रम तयार पार्ने, त्यसका आधारमा नीति तयार गर्ने सोच बनाएका छौं । यसका लागि कसरी स्रोत जुटाउन सक्छौं भन्ने कुरालाई पनि अघि बढाउन लागेका छौं । यस अनुसार योजनाबद्ध तरिकाले हामी काम अघि बढाउँदैछौं ।
निजी आवासको कुरा गर्दा लक्ष्यअनुसार अघि बढ्न सकेको अवस्था देखिँदैन । विगतमा यसमा के समस्या थिए र अहिले के–के समस्या फुकाएर पुनर्निर्माणलाई अघि बढाउँदै हुनुहुन्छ ? 
पुनर्निर्माण भनेको जनताले आफैं घर बनाउने हो, तर त्यसका लागि निश्चित आधार र सहयोग गरिदिने काम हामीले गर्नुपर्ने हुन्छ । यसका लागि जनताका लागि पैसा समयमै सुनिनिश्चता गराउने काम, निर्माण सामग्रीको सुनिश्चितता, जनशक्तिको सुनिश्चितता, एकले अर्कालाई सहयोग गर्ने सुनिश्चितताजस्ता कुरामा एउटा वातावरण तयार गर्नुपर्ने हुन्छ । गुनासो समयमै सम्बोधन गर्नुपर्ने लगायतका काम गर्नुपर्ने अवस्था छ । यी कुरामा कतै न कतै समस्या भएको देखियो ।
अहिले हामीले ३१ जिल्लाका २ सय ७२ स्थानीय तहमै स्थानीय पुनर्निर्माण तथा पुनर्बास योजना बनाउन लागेका छौं ।
कति पुनर्निर्माण सम्पन्न भए ? कति निर्माण गर्न बाँकी छन् ? बाँकी कुरा पूरा गर्न के–के समस्या छन् ? यसको समाधानका उपायहरू के–के हुन् र यसका लागि प्राधिकरणले के भूमिका खेल्नुपर्छ ? स्थानीय निकायले के सहयोग गर्नुपर्छ ? स्थानीय समुदायले के सहयोग गर्यो भने जनताले आफैं घर बनाउन सक्छन् ? यसलाई समेटेर हामीले कार्ययोजना बनाउँदैछौं । १७ जिल्लामा कार्ययोजनाको खाका तयार भइसकेको छ । हाम्रा इन्जिनियरहरू गाउँमा हुनुहुन्छ । कसरी बनाउने भन्ने उहाँहरूले बनाउनुपर्छ । मूलभूत रूपमा चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । यसमा विशेष गरी मौलिक परम्परा र सहरभित्रका बस्ती, गुनासोबाट प्राप्त समस्याहरू रहेका बाहेक अन्य सबै चालू वर्षभित्रै पूरा गर्ने योजना छ । यसका लागि दु्रत गतिमा हामी पुनर्निर्माणको काम अघि बढाउँछौं ।

स्थानीय तहलाई पुनर्निर्माणको जिम्मेवारी दिएको बताउनुभएको छ, यसका लागि केके अधिकार दिइएको छ ? 
संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । चाहे स्थानीय निकायको पुनर्निर्माणको कुरा गरौं या घरको पुनर्निर्माणको कुरा गरौं, यसमा सबैभन्दा ठूलो त सुनिश्चितता गर्ने कुरा हुन्छ । यो सबैको अधिकार स्थानीय तहलाई दिइएको छ । पुनर्निर्माणको काम स्थानीय तहकै नेतृत्वमा हुनुपर्छ भन्ने हाम्रो चासोको विषय छ । विशेष गरी निजी आवास पुनर्निर्माणको काम स्थानीय तहबाटै जाओस् भन्ने चाहेका छौं । अहिले चाँडोभन्दा चाँडो निरीक्षणको काम होस् र जनताले छिटोभन्दा छिटो पैसा पाऊन् भन्ने उनीहरूका लागि सुनिश्चतताको कुरा आएको छ । छिटोभन्दा छिटो जनताको हातमा अनुदान पुगोस् भन्ने चाहना छ । यसका लागि प्रत्येक स्थानीय तहमा एक/एक जना इन्जिनियरिङ व्यवस्था गरेका छौं । अब स्थानीय तहलाई गुनासो फछ्र्योटको जिम्मा दिन खोजेका छौं ।
एकीकृत बस्ती निर्माणको कामको जिम्मा पनि स्थानीय तहलाई दिन थालेका छौं ।
बढीभन्दा काम गर्नुपर्नेछ । २०७७ साल पुस १० गतेदेखि त पुनर्निर्माण प्राधिकरण हुँदैन । त्यसपछि पनि विपद्का अवस्था आउन सक्छन् । यो विपद्को अवस्थामा क्षमता विकास गर्ने कामका लागि अहिलेदेखि दक्षता विकासमा काम अघि बढाएर लग्यौं भने त्यसपछि अबको दिनमा स्थानीय निकाय आफैंले क्षमता वृद्धि गर्न सक्छन् ।
एकीकृत बस्तीको कुरा पनि आएको छ । एकीकृत बस्ती बनाउँदा भूकम्पप्रभावितले अन्यभन्दा बढी कसरी लाभ लिन सक्छ ? 
भूकम्पपछिको समय हाम्रो पुनर्निर्माणका लागि सबैभन्दा उपयुक्त थियो । यस क्रममा एकीकृत बस्तीको कुरा पनि आयो । अहिले हामी प्रत्येक स्थानीय निकायमा कम्तीमा एउटा एकीकृत बस्ती विकास होस् भन्ने पक्षमा छौं । एकीकृत बस्तीमा जनतालाई बाध्य पारेर सार्न त सकिँदैन । जनताका आफ्नै किसिमका समस्या छन् । सामाजिक र समुदायको कुरा छ । यी सबै कुरा हेरेर जानुपर्छ । भौतिक पूर्वाधारका हिसाबले घर सारेर मात्र हुँदैन । जीवनशैली, जीवनस्तर र संस्कृतिसँग यो जोडिएको हुन्छ । आर्थिक कुरासँग जोडिएको छ । त्यसैले अहिले हामीले जनतालाई प्रोत्साहित गर्नु जरुरी छ । अनिवार्य रूपमा बाध्यकारी गरेर भन्दा प्रोत्साहित पारेर जानुपर्छ । यसका लागि त्यहाँ आवश्यक पर्ने पूर्वाधारहरू सेवा–सुविधा दिलाउनका लागि सरकारका तर्फबाट सहयोग गर्ने काम अघि बढाएका छौं । सरकारका तर्फबाट भन्नाले केन्द्रमा संघ र स्थानीय तहमा स्थानीय सरकारको भूमिका कुरा होला । कतिपय स्थानमा प्रदेश सरकारले पनि सहयोग गर्न सक्छ । यो गर्ने गरी एकीकृत बस्तीको निर्देशिका स्वीकृति गरेका छौं । पहिलो चरणमा तराईमा एक घरधुरी बराबर ३ लाख, पहाडी क्षेत्रमा ४ लाख र हिमाली क्षेत्रमा ५ लाख रुपैयाँका दरले पूर्वाधार निर्माण गर्ने क्रममा सहयोग गर्ने कुरा गरेका छौं । त्यो पैसा स्थानीय तहमा पठाइन्छ ।
स्थानीय तहले समुदायसँग सम्झौता गरेर अघि बढ्छ । एउटा स्थानीय तहमा एउटा एकीकृत बस्ती बनाउने योजना छ ।
त्योअनुसारको कार्यक्रम अघि बढाइरहेका छौं । कतिपय अवस्थामा योजना निर्माण र आवश्यकताको आधारमा प्राविधिक सहयोग पनि पुराउँछौं । हामीले सिनियर इन्जिनियरहरूको व्यवस्था गरेका छौं । उहाँहरूले पनि त्यो काम गर्नुहुन्छ ।
सरकारले भूकम्पप्रभावितलाई सहुलियत ऋण दिने कुरा गरेको थियो, तर पाइरहेको अवस्था छैन । सहुलियत ऋणमा के समस्या देखियो र कसरी समाधान गर्दै हुनुहुन्छ ?
जनतालाई सहुलियत ऋण दिने भनियो, तर उपलब्ध गराउन भने सकेनौं । यसमा ठूलो कमजोरी रह्यो । राष्ट्र बैंकमार्फत नै काठमाडौं उपत्यकाभित्र २५ लाख र उपत्यकाबाहिर १५ लाख रुपैयाँ २ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भनेका थियौं । हालसम्म १२/१३ सय भन्दा बढीलाई उपलब्ध गराउन सकेनौं । पहिलाको ढंगले हामी सहुलियत ऋण दिन सकिँदैन भन्ने निष्कर्षमा पुग्यौं । निब्यार्जी रूपमा ३ लाख रुपैयाँ दिने कुरा पनि कार्यविधि नबनेर यसलाई कार्यान्वयनमा लैजान सकेनौं । म आउनेबित्तिक्कै यसलाई गम्भीर रूपमा लिएर राष्ट्र बैंक, अर्थ मन्त्रालयसँग छलफल सुरु गरें । अहिले हामीले के निष्कर्ष निकालेका छौं भने बैंकको आधारभूत दरमा २ प्रतिशत थप लाग्ने गरी सहुलियत ऋण दिने भनेका छौं । १५/२५ लाख पनि असोजसम्मका लागि मात्र रहेकाले यसलाई थप्नुपर्छ भनेका छौं, जुन जटिलता छ, यसलाई फुकाएर अघि बढ्नुपर्छ । जुन निब्र्याजी दिने भनेर कागजमा भनियो तर व्यवहारमा भएन । यसमा जुन समस्या भयो, यसबारे छलफल गर्येउ । बैंकसँग, राष्ट्र बैंक र अर्थमन्त्रालयसँग छलफल गरेर के निष्कर्ष निकाल्यौं भने यो निब्र्याजी भनेर जान सक्ने अवस्था विभिन्न कारणवश भएन । कर्जा सुरक्षाको कारण पनि । सामूहिक जमानीमा दिने भन्ने कुराले पनि समस्या ल्यायो । सामूहिक जमानीमा दिन नसक्ने भनेपछि असहजता देखियो, जुन बैंकहरूको आधारभूत दर छ, त्यसमा २ प्रतिशत मात्र थप गरेर ऋण पाउने र त्यो पाउनेमध्ये ५ प्रतिशत अनुदान सहुलियत नेपाल सरकारले सम्बन्धित बैंकलाई उपलब्ध गराउने र बाँकी भूकम्पप्रभावितले दिने गरी निर्णय गरेका छौं ।
नेपाल सरकारले भूकम्पपीडितको ऋणमा ५ प्रतिशत सहुलियत दिन लागेको छ ।
अरू पैसा सम्बन्धित घरधनी आफैंले बेहोर्नुपर्ने गरेपछि बैंकहरूमा यसमा दिन तयार भएका छन् ।
पहिला सरकारले भूकम्पप्रभावितलाई निब्र्याजी ऋण दिने कुरा गरिएको थियो, अहिले त त्यो हटेर ब्याज तिर्नुपर्ने भयो नि ? 
आज तीन वर्ष गुज्रिसक्यो । हामीले निब्र्याजी भन्यौं । लागू हुन नसकेको जुन अवस्था छ, बैंकसँग बसेर यसको समाधानको उपाय त निकाल्नुपर्यो नि । यसकारण हामीले समाधानको उपाय निकालेका छौं । बेला–बेलामा स्थानीय निकायका जनप्रतिनिधिहरू, भूकम्पप्रभावितहरू प्राधिकरणमा आउनुहुन्छ, उहाँहरूसँग पनि यसबारे छलफल गरे । उहाँहरूले केही न केही ब्याज लिएर भए पनि सहुलियत ऋणको सुनिश्चितता गरौं भन्ने कुरा आयो । भूकम्पपीडित दाजुभाइ–दिदीबहिनीहरूलाई प्राप्त नै नहुने निब्र्याजी ऋणभन्दा प्राप्त हुने तर केही सहुलियत ब्याजमा प्राप्त हुने व्यवस्था गरिएको छ । उहाँहरू सबैंको राय पाएका छौं ।
अनुदान दिने कुरा गरिरहँदा पुनर्निर्माणको काम अघि बढाउनका लागि बजेट अपुगको कुरा आइरहेको छ, यसको व्यवस्थापन कसरी गर्दैछौं ? 
हामीले जुन पाँच वर्षीय पुनर्निर्माण योजना बनाएका थियौं । अहिले हामी त्यसलाई पुनरावलोकन गरिरहेका छौं । हालसम्म कति काम सम्पन्न गर्येउ, कति काम गर्न बाँकी छ, कति काम विभिन्न सरकारी कार्यालयले नियमित रूपमा गर्दा हुन्छ, कति स्थानीय निकायबाट गर्दा हुन्छ, कति संघ, प्रदेश र स्थानीय सरकारले गर्दा हुन्छ भनेर हेरिरहेका छौं । बजेटमा जुन सरकारलाई दबाब छ, विभिन्न निकायबाट पुनर्निर्माणमा निरन्तरता पाउन सक्नेमा त्यतातिरबाट जाँदा सहज हुन्छ । नगई नहुने र अनिवार्य रूपमा जाने कामलाई सम्पन्न गरेर जानुपर्यो । यो समयमा एउटा निश्चित योजना बनाएर जानुपर्छ । कुन कुन चौमासिकमा वा वर्षमा कसरी जान सक्छौं भनेर स्पष्ट योजना बनाएर जानुपर्छ । बजेट कति चाहिने, कहाँबाट ल्याउने भन्ने महत्वपूर्ण हुन्छ । यसमा सरकारले कति गर्ने, गैरसरकारी संघसंस्थाले गर्ने हो भने कतिसम्म गर्ने हो ? यी सबै कुरा राम्रोसँग नबनाईकन हुँदैन । यसका आधारमा योजना बनाउने कुरामा हामी गइसकेका छौं । वास्तवमा कति पैसा लाग्छ, त्यसका आधारमा वित्तीय व्यवस्थापनको काम हुन्छ । त्यसपछाडि हामी गम्भीर हिसाबले जान्छौं । यसमा अर्थमन्त्रालयसँग बसेर छलफल पनि हुन्छ । यस्तो अवस्थामा दातृ निकायबाट थप पैसा माग्नुपर्ने पनि हुन सक्छ ।
पुनर्निर्माणका लागि बजेट अपुगचाहिँ कति देखिन्छ ?
पाँचवर्षीय योजना बनाउँदा ९ खर्ब ३८ अर्ब रुपैयाँ आवश्यक देखिएको थियो । हालसम्म १ खर्ब ८७ अर्ब खर्च भएको छ । चालू वर्षमा ५१ अर्ब बराबरको बजेट छ । करिब ६ खर्ब बराबर रकम आवश्यक छ । अपुग देखिएको मध्ये पनि सरकारको नियमित बजेटबाट कति हुन सक्छ ? सरकारको नियमित खर्चबाट हुन सक्ने काम गर्न सकियो भने केही कम हुन सक्छ । अहिले भइरहेको काममा कतिपय ठाउँमा आवश्यक भनिएको रकमभन्दा कममा पनि भएको छ, जनसहभागिताका कारण । विद्यालय पुनर्निर्माणको हकमा कुरा गर्ने भने विद्यालय व्यवस्थापनको सक्रियता कम खर्च भएको छ । ठेक्कापट्टाको क्रममा पनि कम भएको छ ।
सुरुमा हामीले तीन वर्षभित्र निजी आवासको पुनर्निर्माण सम्पन्न गर्ने भनेका थियौं । तीन वर्ष नाघिसकेको छ, कहिलेभित्र निजी आवासको पुनर्निर्माणको काम सम्पन्न हुन्छ ? 
चालू आर्थिक वर्षभित्र मूलभूत रूपमा निजी आवास निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं । विशेष बस्ती स्थानान्तरण, गुनासोको सम्बोधनपछिको निर्माण अनि सहरी क्षेत्रमा भएका परम्परागत बस्तीहरूको पुनर्निर्माण, विपन्न, गरिब वर्गहरूको पुनर्निर्माण, जो आफैं बनाउन सक्नुहुन्न, उहाँहरूबाहेकको जति काम सम्पन्न गर्ने हिसाबले हामीले सोच बनाएका छौं ।
बस्ती स्थानान्तरण, विपन्नलाई निजी आवास र ऐलानी जग्गामा रहेको समस्याले धेरैको निजी आवास पुनर्निर्माण अघि बढेको छैन, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ? 
बस्ती स्थानान्तरणको कुरामा कुनै पनि बस्ती नै अर्को ठाउँमा सार्न चाहेको अवस्थामा उहाँहरूका लागि सरकारले उपयुक्त जग्गा उपलब्ध गराउनेछ । उहाँहरूले खोजेको र नयाँ पायक पर्ने ठाउँलाई प्राथमिकता दिइनेछ । यसो गर्दा पुरानो बस्तीमा पनि खेतीपाती गर्न सहज हुन्छ । यसका लागि जग्गा प्राप्ति गर्ने कार्यविधि बनाएर अघि बढेका छौं । यदि कुनै व्यक्तिले आफ्नो आफन्तको नजिक र उपयुक्त ठाउँमा बस्छु भनेमा जग्गा खरिदका लागि थप २ लाख उपलब्ध गराउने निर्णय गरेका छौं । करिब ४ हजार घरधुरीजति यस्तो लाभग्राहीको सूची तयार भएको थियो, अहिले २ हजार १२/१३ सय जग्गा खरिद अनुदान र बाँकीले जग्गा व्यवस्था गरेर जाने अवस्था सिर्जना भएको छ । बाँकीको हकमा स्थानीय तहलाई ती स्थानान्तरण गर्ने बस्ती वा व्यक्तिहरूका लागि कस्तो जग्गा, कहाँ र कसरी खरिद गरेर व्यवस्थापन गर्न सकिन्छ भनेर लेखेर पठाउन भनेका छौं । छिट्टै यो विषय टुंगोमा जान्छ । कसैले छुट्टै एकीकृत बस्ती बनाउँछौं भन्छ भने त्यस्तो अवस्थामा हामीले व्यवस्था गरेअनुसार अघि बढाउँछौं । 
जहाँसम्म ऐलानी, पर्ती जग्गाको कुरामा पनि यसको निकास निकालिसकेका छौं । विगतमा जग्गा पनि दिऊँ भनेर सोचिरहेका थियौं । विभिन्न झमेलाहरू देखा परे । लामो समयदेखि ऐलानी जग्गामा बस्नुभएका भूमिहीन, सुकुम्बासीहरू जसको जग्गा अर्को ठाउँमा छैन, उनीहरूलाई लालपुर्जा दिएर मात्र अघि बढ्ने भन्ने कुरामा समस्या देखिएपछि गम्भीर रूपमा छलफल भयो । उहाँहरूलाई लाजपुर्जा नभईकन स्थानीय तहको सिफारिस र सर्जमिनका आधारमा घर बनाउने रकम उपलब्ध गराउने र यसका लागि कार्यविधि बनाएर मन्त्रिपरिषद्बाट पारित गराउने प्रक्रियामा छौं । 
वृद्धवृद्धा, विपन्न, अपांग, बालबच्चा मात्र भएको परिवार पहिलो चरणमा आएको तथ्यांकमा १८ हजारजति देखिएको छ । त्यसमध्ये २ हजारका निम्ति विभिन्न निकायबाट थप ५० हजार उपलब्ध गराउने कुरा भएको छ । यसबारे छलफल गर्छौं । यसमा माथिको सरकारका तर्फबाट मात्र मुख ताक्ने भन्दा पनि हाम्रो यसमा आफ्नै संस्कार र परम्परा के हो भने दीन–दु:खीहरूलाई अप्ठेरो परेकाहरूलाई अनि जो असहाय छ, उहाँहरूलाई त सहयोग गर्ने त हाम्रो परपम्परा हो नि ! यस्ता कार्यका लागि प्रत्येक वडामा सामुदायिक समितिहरू बनाउने भनेका छौं । यसको प्रक्रिया अघि बढिसकेको छ । एकले अर्कालाई सहयोग गर्नका लागि यसो गर्न खोजिएको हो । यो सँगै उहाँहरूलाई आर्थिक रूपमा समेत सक्षम बनाउन सकियो भने राम्रो हुन्छ ।
भूकम्पलगत्तै भूकम्पपीडितले बनाउने निजी आवासको मापदण्ड नबन्दै बनेका घरहरूको अनुदान लिनका लागि अहिले समस्या परेको छ । प्रधानमन्त्रीले त्यस्ता घरहरूलाई अनुदान दिने कुरा गर्नुभएको थियो, यसमा केही गर्नुभएको छ ? 
यो कुरा अघि बढाइसकेका छौं ।
बनिसकेका घरको हकमा स्थानीय तहले गरेको सिफारिसका आधारमा एकमुस्ट ३ लाख रुपैयाँ दिने भनेर निर्णय गरेका छौं ।
त्यसका निम्ति हामी के गर्छौं भने त्यो घर सुरक्षित बनाउनका लागि यसरबारे जनतालाई सिकाउने हो । त्यसलाई अनावश्यक भत्काएर भन्दा थप व्यवस्थित गर्दा राम्रो हुन्छ भन्ने हो । यसको उद्देश्य सुरक्षित बनाउनुपर्छ भन्ने हो । यो त स्थानीय निकायको पनि जिम्मेवारी हो । सुरक्षित घर बनाउन त लाग्नैपर्छ । उहाँहरू जनतासँग बसेर केही कुरा सुधार्न छ भने सुधारेर अघि बढाउनुपर्छ, भत्काउनेतिर जानु हुँदैन ।
भूकम्पपछि धेरै घरबारविहीन बने । उनीहरूको जीविकोपार्जन समस्याका रूपमा देखिएको थियो । यसका लागि कार्यक्रम गर्ने भनिएको थियो, अहिले के कार्यक्रम अघि बढाउने योजना छ ? 
प्राधिकरण ऐन र संसद्ले दिएको जिम्मेवारी के हो भने भूकम्पपछिको भौतिक हिसाबले घरहरूको पुनर्निर्माण पनि हो । त्यसका साथसाथै सामाजिक र आर्थिक पुनस्र्थापना पनि हो । यहाँ के भयो भने सामाजिक र आर्थिक विकासको पाटो ओझेलमा पर्यो । अघिल्लो बेला हुँदा मैले केही कार्यक्रम अघि बढाइसकेको अवस्था थियो । त्यसपछि अघि बढेन । विगतमा काम भएन, अब अगाडि जानुपर्छ भन्ने पक्षमा म छैन । यसका निम्ति योजनाहरू अघि बढाउँदैछौं । विश्व बैंकलगायतका दातृ निकायसँग छलफलको कार्यक्रम अघि बढिसकेका छन् । सामाजिक र आर्थिक पुनस्र्थापनाको विशेष कार्यक्रम बनाउनुपर्छ भन्ने उद्देश्यका साथ हामीले उहाँहरूसँग छलफल गरिसकेका छौं । प्रत्येक स्थानीय तहमा सामाजिक–आर्थिक पुनस्र्थापनाका काम अघि बढाउन एउटा युनिट खोल्नेछौं । आर्थिक हिसाबले जीविकोपार्जन अघि बढाउन कस्तो कार्यक्रम अघि बढाउन सकिन्छ भनेर अघि बढ्नेछौं । मान्छेहरू घरभित्र छिर्नुभयो, ओत लाग्यो तर खानेकुरा त चाहियो । यसका लागि के गर्न सकिन्छ, उहाँहरूको व्यावसायिक सोच कसरी अघि बढाउन सकिन्छ भनेर यो कुरामा अघि बढ्नुपर्छ । चाहे कृषि, पशुपालन, अन्य कुराहरू के–के हुन सक्छन्, त्यो कुरा अघि बढाउँदैछौं । यसका साथै हालै अर्थ मन्त्रालयले विभिन्न सहुलियत ऋणहरूको कार्यविधि बनाएको छ, हामीले अर्थमन्त्रीसँग छलफल गरेका छौं । यसमा दिने भनिएको सहुलियत ऋण पनि भूकम्पप्रभावितहरूलाई समेत दिने कुरामा हामी अघि बढ्छौं । महिला, दलित, शैक्षिक प्रमाणपत्र राखेर, विदेशबाट फर्केर आउने लगायतलाई छुट्टै कार्यक्रम छ । ती कार्यक्रमलाई प्राधिकरणको यी कामसँग पनि एकीकृत गरी जनतालाई प्राविधिक सहयोग उपलब्धका साथै सहुलियत ऋण पनि उपलब्ध गराएर बजारसँग उहाँहरूलाई अन्तर सम्मिलित गराउनेछौं । उहाँहरूलाई हामी व्यावसायिक तालिम पनि उपलब्ध गराउँछौं । यो गर्न सकियो भने दुई वर्षको अवधिमा जनताको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउन सक्छौं ।
पुरातात्विक सम्पदाको पुनर्निर्माणमा जताततै विवाद देखिन्छ, धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायतमा यस्तो देखिएको छ । मौलिक र परम्परागत कि आधुनिक भन्ने प्रश्न उठेको छ । अब यसलाई कसरी अघि बढाउनुहुन्छ ? 
यसमा म स्पष्ट छु ।
पुरातात्विक पुनर्निर्माण कसरी गर्ने भन्नेमा विवाद छैन । हामी मौलिक शैलीमै बनाउने हो ।
हिजो जस्तो अवस्थामा छ, त्यही अवस्थामा ल्याउने हो । जुन बनाउँदा परम्परागत शैली छ, निर्माण सामग्री छ, त्यसलाई प्रयोग गर्ने कुरामा सुनिश्चित गर्ने हो । यसमा केही कुरा थपेर सुरक्षित बनाउने कुरा हो भने थप्ने हो । यसमा एउटा मौलिकतालाई जगेर्ना गर्ने र यसको ऐतिहासिकतालाई बचाउने र अर्को भनेको सुरक्षित बनाउने हो, जसले गर्दा धेरै क्षति बेहोर्नु नपरोस् । पछिल्लो समयमा जुन आरसीसीमा बनाएका पूर्वाधारहरू छन्, ती सबै भत्काउने काम अघि बढेको छ । रानीपोखरीमा महानगरको तर्फबाट भत्काइसकेको अवस्था छ । पुरातात्विक विभागको स्वीकृति लिएर पुरानै शैलीमा बनाउने गरी टेन्डर गर्ने काम सकिएको छ । पोखरीको पीँधमा पुरानै अवस्थाको पानी कसरी ल्याउने भनेर यसका लागि अध्ययन गर्ने काम अघि बढाउन लागेका छौं । बालगोपालेश्वर मन्दिर कसरी बनाउने भनेर मल्लीकालीन वा जंगबहादुरको पालाको भन्ने बारेमा हामी अध्ययन गरिरहेका छौं । छिट्टै टुंगो लाग्छ । यसबारे विज्ञहरूकै दुई थरी राय आइरहेको छ । अर्को पटकको भाइटीकामा रानीपोखरी पानीसहित बन्छ, पहिलो भन्दा सुन्दर र मौलिक रूपमा देख्नु पाउनुहुनेछ । धरहराको पुनर्निर्माण पनि मौलिक शैलीमा अघि बढाउन लागेका छौं । भीमसेन थापाको पालाको उचाइमा हुने गरी टेन्डर स्वीकृति भएर काम अघि बढ्न लागेको छ । यसबारे स्थानीय समुदायसँग पनि यसबारे छलफल भइसकेको छ । काष्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक काठहरूबारे सम्झौता भएर अघि बढेको छ । यसका लागि पुराना काठका लागि वर्कसपको स्थापना भइसकेको छ भने नयाँ काठको लागि छिट्टै वर्कसप स्थापना गर्छाैं । काष्ठमण्डपमा पहिला काठको प्रबन्ध गरेर मात्र पुनर्निर्माण अघि बढाउने हो । जग्गाको इँटाको सम्झौता पनि भइसकेको छ । राष्ट्रपति भवनको कुरा पनि पहिलाको नभत्काउने रेक्टोफिटिङ गरेर जाने र नयाँ राष्ट्रपति भवन गुरुयोजना बनाएर अघि बढ्ने कुरा भएको छ । अन्य परम्परागत बस्तीहरूको विकास गर्ने कुरा पनि अघि बढेका छन् ।

Sunday, October 7, 2018

निर्माण मोडालिटीको जिम्मा भारतलाई

दोस्रो अन्तरदेशीय प्रसारण लाइन 
आइतवार, आश्विन २१, २०७५
चार सय केभीको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन आयोजनाको निर्माण मोडालिटी (प्रारूप) निर्णयको जिम्मा भारतीय विदेश मन्त्रालयलाई दिइएको छ । 
नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि प्रस्ताव गरिएको सो आयोजनाको निर्माण मोडालिटीको निर्णयको जिम्मा नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय विदेश मन्त्रालयलाई जिम्मा दिएको हो । गत वैशाखमा भएको नेपाल–भारतबीचको ऊर्जा क्षेत्रको सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) बैठकले यसको मोडालिटी निर्माणका लागि विद्युत् प्राधिकरण र भारतीय विद्युत् प्राधिकरणलाई मोडालिटी तयार गर्नका लागि निर्देशन दिएको दुवैको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । 
पहिलो अन्तरदेशीय ढल्केबर–मुज्जफ्फरपुर अन्तरदेशीय प्रशारणलाइनमा नेपालले एकल बुकिङ गरेकोमा त्यसको सट्टामा दुवै देशको सरकार (जीटूजी) मा निर्माण गर्ने नेपालको प्रस्ताव गरेकोमा भारतीय पक्षले अस्वीकार गरेपछि जेएससीले दुवैलाई जिम्मा दिएको थियो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले एकल बुकिङ अन्त्य गरी दुवै देशले आ–आफ्नो क्षेत्रतर्फको प्रसारण लाइन निर्माण गर्ने गर्ने प्रस्ताव गरेकोमा भारत सरकारले निर्णय गर्नुपर्ने हुनाले भारतर्फको निर्माणका लागि भारतीय विदेश मन्त्रालयलाई मोडालिटी निर्माणको जिम्मा दिने निर्णय गरेको जानकारी दिए । “तत्काल लाभग्राहीको पहिचान नभइसकेको र नेपाल एक्लैले बुकिङ गर्न नसक्ने अवस्था नभएकोले एकल बुकिङ अन्त्यका लागि नेपालले प्रस्ताव गरेकोमा भारतले व्यापारिकतर्फको निर्णय विदेश मन्त्रालयले गर्नुपर्ने भएकोले जिम्मा दिएका हौं,” उनले भने, “लगानीका लागि त्यसको प्रतिफललगायतका कारणले भारतीय विद्युत् प्राधिकरण एक्लैले निर्णय गर्न नसक्ने र विदेश मन्त्रालयले गर्नुपर्ने भएकोले यसको लगानी लगायत निर्माणको मोडालिटीको लागि दिने संयुक्त निर्णय भएको हो ।”
प्रशारण लाइनअन्तर्गत नेपालतर्फ २० किलोमिटर हुने र यसको लागत ३ अर्ब २९ करोड हुने बताइएको छ । भारतर्फ १ सय २० किलोमिटर हुने र यसको लागत ८ अर्ब २४ करोड लाग्ने अनुमान गरिएको छ । पहिलो अन्तरदेशीय प्रसारण लाइनमा नेपाल एक्लैले एकल बुकिङ गरेकोले सो लाइनवापत बर्सेनि १ अर्ब ८ करोड तिर्दै आएको छ । दोस्रो अर्थात न्यू बुटबल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन पहिलोभन्दा साढे दुई गुणाले बढी हुनाले वार्षिक कम्तिमा ४ अर्ब रुपैयाँ बराबर ऊर्जा बुकिङ गर्नेले बुझाउनुपर्छ । पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट एक हजार मेगावाट विद्युत् आदानप्रदान गर्न सक्ने क्षमता भएकोमा दोस्रो बनेपछि २ हजार ५ सय मेगावाटसम्म आदानप्रदान गर्न सकिन्छ । केही वर्षका लागि नेपालले भारतबाट विद्युत् आयात गर्ने र त्यसपछि निर्यात गर्ने हुनाले प्रसारण लाइन जीटूजी मोडेलमा बनाउनुपर्ने नेपालको प्रस्ताव रहे पनि भारतीय पक्षले भने अस्वीकार गर्दै आएको छ । एकल बुकिङकै विवादमा प्रसारण लाइनको मुद्दा अल्झिए पनि आगामी महिना हुन लागेको दुई देशबीचको जेएससी बैठकले यसबारे टुंगो लगाउने अपेक्षा विद्युत् प्राधिकरणको छ । 
अमेरिकी सरकारको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) ले नेपालको ऊर्जा र सडक सुधारका लागि दिन लागेको ५ सय मिलियन डलरको पूर्वशर्तको रूपमा बुटबल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको सुनिश्चिततालाई एउटा प्रावधानको रूपमा राखेको छ । 
एमसीसीले प्रशारणलाइनतर्फ लप्सीफेदीदेखि दमौलीसम्मको ३ सय किलोमिटर र दमौलीदेखि नेपाल–भारतको सीमा नजिक सुनवलसम्म २३ किलोमिटर ४ सय केभीको प्रसारण लाइन निर्माण गर्ने योजना छ । परियोजनाअन्तर्गत नुवाकोटको गल्छी, तनहुँको दमौली र सुनवलमा सबस्टेसन निर्माण हुनेछ । एमसीसीको सहयोगमा निर्माण प्रशारण लाइन सरकारले प्रस्ताव गरेको न्यू बुटवलदेखि गोरखपुरसम्मको दोस्रो अन्तरदेशीय प्रसारणसँग जोडिनेछ । एमसीसीले आफ्ना परियोजना एक बर्षभित्र अर्थात सेक्टेम्बर २०१९ देखि सबै प्रक्रिया पूरा गरेर सुरु गर्ने लक्ष्य राखिएकोले तत्काल निर्णय गर्नुपर्ने अवस्था छ । आयोजना सुरु भएको ५ वर्षभित्रै अर्थात तोकिएको समयभित्रै सम्पन्न नभएमा त्यो अवधिपछि सबै पैसा फिर्ता जाने सर्त भएकोले पनि यसको छिट्टो निर्णय लिनुपर्ने अवस्था छ । 
निर्माणको सुनिश्चित नभएसम्म एमसीसीको अनुदानमा समेत असर पर्ने हुनाले आगामी जेएससीको बैठकसम्ममा टुंगो लागिसक्ने लक्ष्य राखिएपनि भारत सरकारले यसबारे अन्तिम निर्णय गरिसकेको छैन । भारतीय पक्ष अहिलेपनि एकल बुकिङको पक्षमा रहेकोले भारतीय विदेश मन्त्रालयले कुटनीतिक रूपमा निर्णय गर्नुपर्ने भएकोले यसमा नेपाल सरकारको विशेष पहल हुनुपर्ने र यसका लागि राजनीतिक रूपमा हालसम्म ठोस पहल नभएको विद्युत् प्राधिकरणका एक अधिकारीले जानकारी दिए । उनका अनुसार एमसीसीको पूर्वसर्तको रूपमा अन्तरदेशीय प्रसारण लाइन रहेकोले नेपालको एकल बुकिङ अन्त्यका लागि बार्गेनिङ शक्ति कमजोर देखिएको छ । 
अमेरिकी अनुदान सहयोगमा अघि बढाउन लागिएको परियोजना कार्यान्वयनका लागि एमसीए (मिलेनियम च्यालेन्ज एकाउन्ट) नेपाल बोर्ड गठन भने भइसकेको छ । गत सेप्टेम्बर १४ मा अमेरिकामा नेपालको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी विदेश उपमन्त्रीले हस्ताक्षर गरेका थिए ।

Saturday, October 6, 2018

चिनी उद्योगको बिजुलीबाट प्राप्त आम्दानीको ५% किसानलाई

शुक्रवार, आश्विन १९, २०७५
सुरु भएपछि किसानलाई वार्षिक साढे दुई करोड
नेपाल विद्युत् प्राधिकरणले चिनी उद्योगबाट उत्पादित विद्युत्को ५ प्रतिशत आम्दानी किसानलाई दिनेगरी ती उद्योगसँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने प्रक्रिया अघि बढाएको छ । 
किसानले चिनी उद्योगबाट उखुको पैसा नपाएको गुनासो आइरहेको बेला त्यही चिनी उद्योगबाट उत्पादित विद्युत्बाट भएको आम्दानीमध्ये ५ प्रतिशत किसानलाई दिने गरी पीपीए अघि बढाइएको हो । विद्युत् प्राधिकरणले दुई चिनी उद्योगसँग पीपीए गरिसकेको छ भने एक उद्योगसँग बिहीबारमात्र पीपीए मस्यौदामा हस्ताक्षर गरेको छ । विद्युत् प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीले सर्लाहीको इन्दुशंकर चिनी उद्योग र महोत्तरीको एभरेष्ट सुगर एण्ड केमिकल्सबाट सह–उत्पादनको रुपमा ३÷३ मेगावाट विजुली उत्पादन गर्ने गरी पीपीए भएको जानकारी दिए । “पीपीए भएको छ, अब उत्पादनपछि विद्युत् प्राधिकरणलाई बेच्ने विजुलीबाट भएको आम्दानीको ५ प्रतिशत उखु किसानले पाउने गरी ऊर्जा मन्त्रालय पठाउँछौ,” उनले भने । उनका अनुसार ऊर्जा मन्त्रालयमार्फत चिनी उद्योगबाट प्रभावित उखु किसानलाई उक्त रकम दिइनेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चिनी उद्योगले प्राधिकरणलाई बेचेको विजुलीको ५ प्रतिशत सम्बन्धित उखु किसानलाई दिनेछ । उखु किसानलाई उखु उद्योगको सहउत्पादनको रुपमा रहेको विद्युत् बेचेर आएको रकम दिने बताउँदै यसका लागि छुट्टै कार्यविधि भने बन्न बाँकी रहेको बताए । विगत लामो समयदेखि खेर गएको बगास (उखुको खोस्टा) बालेर उमालेको पानीको बाफमार्फत बिजुली निकाल्ने प्रतिबद्धतासहित तत्कालीन ऊर्जा मन्त्रालयमा निवेदन दिए पनि यसको कार्यान्वयन हुन पाएको थिएन । तर, मन्त्रिपरिषद्ले बगासबाट विद्युत् उत्पादनका लागि स्वीकृति दिएपछि बल्ल पीपीए भएको हो । 
बिहीबार प्राधिकरणले १५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी बाराको रियालन्स सुगर एण्ड केमिकलसँग मस्यौदा पीपीए गरेको छ । अब विद्युत् प्राधिकरणको बोर्डबाट स्वीकृत भएपछि पीपीए गरिने प्रवक्ता अधिकारीले जानकारी दिए । इन्दुशंकर र एभरेष्टले २०७६ को चैत्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । हिउँदमा मात्र उत्पादन गर्ने भएकोले चिनी उद्योगले जलविद्युत् आयोजनामा जस्तै प्रतियुनिट ८.४० पीपीए दर पाउनेछन् । 
प्राधिकरणका अनुसार तीन चीनी उद्योगबाट मात्र वार्षिक रुपमा ४९ करोड ६२ लाख रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्नेछन् भने त्यसमध्ये २ करोड ४८ लाख उखु किसानले पाउनेछन् । इन्दुशंकरबाट बार्षिक ९ करोड ६५ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ९४ हजार ८ सय युनिट तथा एभरेष्टबाट ८ करोड ५ लाख रुपैयाँ बराबरको ९५ लाख ९० हजार युनिट विद्युत् उत्पादन हुनेछ । त्यसैगरी रिलायन्सबाट ३१ करोड ९१ लख रुपैयाँ बराबरको ३ करोड ७९ लाख ९४ हजार ४ सय युनिट विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ ।

Thursday, October 4, 2018

तमोर पनि बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई

http://karobardaily.com/news/development/11279
बिहिवार, आश्विन १८, २०७५
सरकारले चालू वर्षको बजेटमा प्रस्ताव गरेको तमोर चिसाङ सिँचाइ आयोजनालाई असर पर्ने गरी ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई दिने प्रक्रिया अघि बढाएको छ । बजेटअनुसार तमोर जलाशयको पानी डाइभर्सन गरी झापा र मोरङका ३० हजार हेक्टरभन्दा बढी सिँचाइ गर्ने उद्देश्य छ । तर, यस सिँचाइ आयोजनालाई समेत असर गर्नेगरी फेरि चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा यस आयोजना दिन लागिएको हो । सरकारले चालू वर्षको बजेटमा प्रस्ताव गरेको तमोर चिसाङ सिँचाइ आयोजनालाई असर पर्ने गरी ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई दिने प्रक्रिया अघि बढाएको छ । बजेटअनुसार तमोर जलाशयको पानी डाइभर्सन गरी झापा र मोरङका ३० हजार हेक्टरभन्दा बढी सिँचाइ गर्ने उद्देश्य छ । तर, यस सिँचाइ आयोजनालाई समेत असर गर्नेगरी फेरि चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा यस आयोजना दिन लागिएको हो । चिनियाँ कम्पनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा चीनको सिचुवान एनएचई हाइड्रोलिक एण्ड हाइड्रो इलेक्सन इन्जिनियरिङ कम्पनी लिमिटेड  निवेदन दिएकोमा गत वैशाख महिनामा प्रधानमन्त्री कार्यालयले लगानी बोर्डलाई पत्र लेखेको थियो । लगानी बोर्डले प्रधानमन्त्री कार्यालय तथा हाल आयोजना अघि बढाइरहेको नेपाल विद्युत् प्राधिकरणलाई पनि पत्र लेखेको थियो । प्रधानमन्त्री कार्यालयले समेत विद्युत् प्राधिकरणलाई पत्र लेखेको थियो ।अनुमतिपत्र (लाइसेन्स) लिइसकेका आयोजनाहरूलाई असर पर्ने भन्दै विद्युत् प्राधिकरणलाई हाल २ सय ५२ मेगावाटका मात्र लाइसेन्स दिएको ऊर्जा मन्त्रालयले भने ७ सय ६२ मेगावाटमै चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा दिने गरी प्रक्रिया अघि बढाएको उच्च स्रोतले जनाएको छ । आगामी हप्ता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गर्न लागेको चीन भ्रमणअघि नै चिनियाँ कम्पनीलाई दिने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ ।बूढीगण्डकी जलाशयभन्दा तुलनात्मक रूपमा सस्तो र आकर्षक भएकाले पाँचथर, तेह्रथुम र ताप्लेजुङबासीले स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने भन्दै माग राख्दै आएका छन् । प्राधिकरणले तमोर कम्पनी मोडेलमा अघि बढाउन समेत लागेको छ तर बजेटमा आफैले घोषणा गरेको सिँचाइ आयोजनालाई वेवास्ता गर्दै सरकारले चिनियाँ कम्पनीलाई दिन लागिएको विज्ञहरूले विरोध गर्दै आएका छन् । “सस्ता आयोजनाहरू विदेशीलाई विना प्रतिष्पर्धा दिइनु गलत हो, यसको कारण देशले ठूलो राजस्व गुमाउँछ,” जलस्रोतविज्ञ डा. कृष्णप्रसाद दुलाल भन्छन्, “तमोर परियोजना सस्तो भएकोले स्वदेशी लगानीमै बनाउनुपर्छ ।” सांसद भवानी खापुङ समेत देशकै नेतृत्वमा आयोजना बनाउनुपर्छ भन्ने पक्षमा आफूहरू रहेको बताउँदै यसका लागि सरकार अघि बढ्नुपर्ने बताउँछन् । सरकारले चालू आर्थिक वर्षको सार्वजनिक बजेटको बुँदा नं. १३७ मा तमोर चिसाङ सिँचाइ आयोजना सुरु  गर्नका लागि आवश्यक बजेट छुट्याएको उल्लेख छ । प्रदेश नं. १ का आर्थिक मामिलामन्त्री इन्द्र आङ्वो संघीय सरकारले बजेट राखेपछि सो आयोजना अघि बढाउनका लागि आफूहरूले पहल गरिरहेको बताउँछन् । तर  तमोर जलाशयमात्र चिनियाँ कम्पनीलाई दिएपछि सिँचाइ भने आयोजना बन्नेछैन । उनले सिँचाइसहितको आयोजना चिनियाँ कम्पनीलाई दिन लागेको आफूहरूले सुनेको बताए । प्रदेश नं. १ ले समेत गौरवपूर्ण आयोजनाको रूपमा लिएको सस्तो र आकर्षक आयोजनालाई स्वदेशी लगानीमा बनाउने सम्भावना हुँदाहुँदै विदेशी कम्पनीलाई दिइनु गलत भएको तमोर जलाशययुक्त आयोजना सरोकार समितिका संयोजक प्रकाश दुलाल बताउँछन् । “स्वदेशी लगानीमा बनाउने सम्भावना हुँदाहुँदै कुनै चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा दिन लाग्नु गलत छ, यसलाई स्वदेशी लगानीमै बनाउनुपर्छ,” उनी भन्छन्, “यो तमोर आयोजना नबनाउने खेल हो, तमोर मात्र बनाउन आवेदन दिएकोले सिँचाइ आयोजना बन्न सम्भावना पनि छैन ।” स्वदेशी लगानीमा बनाएमा भने त्यो सम्भावना नरहेकोले तमोर जलाशययुक्त आयोजना बन्न सक्ने उनीहरू बताउँछन् । बहुउद्देश्यीय आयोजना निर्माण गर्दा आर्थिक रूपमा आकर्षक नहुने भएकोले चिनियाँ कम्पनी त्यसमा इच्छुक नहुने भए पनि स्थानीयवासीको विरोधलाई मध्यनजर राखेर सरकारले हाल अध्ययनका लागि सिँचाइसहित दिने तयारी गरिएको हुनसक्ने विज्ञहरूले बताउँदै आएका छन् । पहिला सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाउने भनिए पनि सो आयोजना इन्जिनियरिङ प्रक्युरमेन्ट कन्स्ट्रक्सन फाइनान्स (ईपीसीएफ) मोडेलमा चिनियाँ कम्पनीलाई दिने योजना छ । सिँचाइसहित चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा दिँदा पानी कोशी उच्च बाँधमा नजाने भएकोले यसमा भारतीय पक्षको समेत चासो हुने र यसकारण आयोजना बन्न समस्या हुने तर्क विज्ञहरूको छ ।  प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा भने मोरसहित ७ जलविद्युत् आयोजना ‘बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई)’ अन्तर्गत राख्न चीनलाई प्रस्ताव गरिसकिएको छ । तल्लो तटमा निर्माणाधीन ३७.६ मेगावाटको काबेली ‘ए’ र २१.६ मेगावाटको तल्लो हेवालाई असर पर्ने भन्दै कम क्षमतामा अनुमतिपत्र दिइएको सरकारले चिनियाँ कम्पनीलाई ७ सय ६२ मेगावाटमै बनाउनका लागि प्रकृया अघि बढाएपछि प्राधिकरणका अधिकारीहरूले समेत आफ्नो संस्थानभन्दा चिनियाँ कम्पनीलाई सरकारले बढी झुकाव देखाएको बताउन थालेका छन् । आयोजनाका लागि मात्र १ खर्ब ५० अर्ब र सिँचाइसहित २ खर्ब लागत अनुमान गरिएको आयोजनाबाट मात्र वार्षिक ३३ सय ५३ गिगावाट घन्टा विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । 

Tuesday, October 2, 2018

नेपाल–भारत जलमार्ग बनाउन छुट्टै प्राधिकरण

मंगलबार, आश्विन १६, २०७५
मन्त्री भन्छन्– आर्थिक रुपमा ठूलो परिवर्तन ल्याउँछ
विज्ञ भन्छन्– पानीको लागि रणनीतिक रूपमा ल्याइयो
सरकारले नेपाल र भारतबीच जलमार्ग निर्माणका लागि छुट्टै प्राधिकरण बनाउने प्रकृया अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा जलमार्ग निर्माणका लागि अघि बढ्ने सहमतिसँगै सरकारले यसका लागि छुट्टै प्राधिकरण गठनको प्रकृया अघि बढाएको हो । 
नेपालमा पानीजहाजको चर्चा बारम्बार चल्दै आएपनि यसलाई अघि बढाउनका लागि हालसम्म कुनै निकाय छैन भने कानुनको समेत अभाव छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव माधव बेलबासेले दुई देशबीच जलमार्गको सम्भावना भएको बताउँदै यसका लागि प्राधिकरण निर्माण गर्न लागिएको जानकारी दिए । 
भारतबाट नारायणी, कोशी र गण्डकीमा जोड्ने गरी जलमार्गको सम्भावना रहेको बताउँदै यसबारे अध्ययन भइरहेको उनले बताए । भारतीय दूतावास र आइडाले सोमबार काठमाडौंमा आयोजना गरेको दुई देशबीचमा अन्तरदेशीय जलमार्गमार्फत् सम्बन्धबारेको कार्यक्रममा उनले गंगाबाट नेपालको सिमानासम्म २ सय ७० किलोमिटर तथा बाल्मीकिनगरमा अस्थायी टर्मिनल राखेर त्यहाँबाट दासढुंगासम्म १ सय ५ किलोमिटरको दूरीमा जलमार्ग बनाउन सकिने बताए । त्यसैगरी भारतको कालुघाटदेखि वीरगञ्जसम्म १ सय ८० किलोमिटर ल्याउन सकिने तथा भीमनगरबाट नेपालको कोशीसम्म १ सय २५ किलोमिटरमा जलमार्ग ल्याउन सकिने सह–सचिव बेलबासेले जानकारी दिए । उनका अनुसार जलमार्ग सञ्चालनका लागि नेपाल–भारतबीच भएको व्यापारसम्बन्धी सन्धीमा समेत संशोधन गर्नु आवश्यक देखिएको छ । एक अध्ययनले हाल ठूला कन्टेनरबाट सामान आयात–निर्यात गर्दा लाग्ने खर्चभन्दा यसबाट २६ प्रतिशत खर्च कम हुनेछ । 
हाल कोशीको हनुमाननगर र गण्डकको सीमाना जोड्नेबारे सम्भाव्यता अध्ययन भइरहेको छ भने साहेबगञ्जतर्फको जलमार्गको विस्तृत अध्ययन भने मे २०१९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुई देशबीच जलमार्गको उच्च सम्भावना भएको बताउँदै यसबाट दुवै देशले आर्थिक फाइदा लिन सक्ने बताए । “अहिले सामान आयात र निर्यातमा ठूलो समस्या छ, जलमार्ग निर्माणपछि यसले आर्थिक रुपमा ठूलो परिवर्तन ल्याउँछ,” मन्त्री पुनले भने, “यसका लागि द्विपक्षीय संयन्त्रले काम अघि बढाइरहेको छ ।”
नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी ओलीले जोड दिएको तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत उच्च महत्व दिएकोले जलमार्गको सम्भावना उच्च रहेको बताए । जलमार्गपछि नेपाल र भारतबीचमा सामान ओहोरदोहोर सहज हुने उनको तर्क थियो ।
पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले नेपाल–भारतको जलस्रोत सम्बन्ध असफल भएको बताउँदै जलमार्गको कुरा पानीको मुद्दा नटुंगिई रणनीतिक रूपमा ल्याइएको बताए । पञ्चेश्वर, कर्णाली चिसापानी, कोशी उच्च बाँधलगायतका आयोजनाहरू अघि बढ्न नसकेको बताउँदै उनले पानीबाट नेपालले पाउने फाइदाको टुंगो नलागेसम्म जलमार्गको कुरा अघि बढाउन समस्या रहेको बताए । “जलस्रोतमा नेपाल र भारतबीच सम्बन्ध असफल भैसकेको छ, यो मुद्दामा नटुंग्याई जलमार्गको कुरा गरेर यसलाई ढाकछोप गर्न लागिएको छ,” उनले भने, “जलमार्गको सम्भावना छ तर पहिला पानीबाट हुने नेपाल फाइदाको टुंगो लगाउनुप-यो, अहिले जलमार्गको कुरा अघि बढाउनु अचम्मको कुरा छ ।” उनले कोशी, बूढीगण्डकीलगायतका क्षेत्रमा पानीजहाजको सम्भावना भएको बताउँदै पहिला स्वदेशभित्र निर्माणका लागि सरकार अघि बढ्ने उपयुक्त हुने बताए । 
नेहरु मेमोरियल म्युजियम एण्ड लाइब्रेरी (एनएमएमएल) का सिनियर फेलो डा. उत्तम सिन्हाले जलमार्ग सम्बन्धले आर्थिक र व्यापारिक क्षेत्रमा ठूलो फाइदा पुग्ने बताउँदै यो निर्माणको क्रममा बजारको संकीर्णता, निर्माण हुने क्षेत्रको छनोट, सन्तुलित व्यापार व्यवस्थापन, पूर्वाधार विकास, केन्द्रदेखि स्थानीय निकायसम्मको संयोजन र समन्वय तथा यसको निर्माणको पक्ष महत्वपूर्ण हुने बताए । भौतिक, वैज्ञानिक र व्यवहारिक रुपमा समेत जलमार्गको उपयोगले धेरै फाइदा लिन सकिने उनको तर्क थियो । 
नेपाल–भारत चेम्बर अफ कमर्स (निक्की) का अध्यक्ष सूर्य जबराले जलमार्ग निर्माण गर्न सकेमा यसबाट आयात निर्यात भएको खर्चलाई धेरै बचाउन सकिने बताए ।

तनहुँ जलविद्युत् आयोजनाको ठेक्का सम्झौतामा हस्ताक्षर

मंगलबार, आश्विन १६, २०७५
दमौली-तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माणकार्यको निर्माण कम्पनीसँग सोमबार ठेक्का सम्झौता गरेको छ । 
आयोजनाको नदी फर्काउने, बा“धलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सारभूत रूपमा तथा न्यूनतम मूल्यांकित इटालियन कम्पनी सीएमसीसँग सम्झौता भएको हो । 
हाड्रोपावरतर्फ प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सीएमसीबाट सालभाटोरे कसियारोले सम्झौता पत्रमा हस्ताक्षर गरे । सीएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करसहित)मा खरिद सम्झौता भएको हो । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका लागि चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग सम्झौता भएको छ । सम्झौतापत्रमा प्रबन्ध सञ्चालक थिके र सिनोहाइड्रोका तर्फबाट छेङ सोएस्याङले हस्ताक्षर गरेका छन् । कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि करबाहेक)मा खरिद सम्झौता भएको हो । 
दुवै प्याकेजको निर्माणकार्य दुई महिनापछि सुरु गर्ने र सम्पूर्ण निर्माणकार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ । थिकेले तनहुँ जलविद्युत् आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युत् भार व्यवस्थापनका लागि महत्वपूर्ण हुने भएकाले निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीहरूलाई आग्रह गरे । उनले आयोजना निर्माण निर्धारित समयमा सम्पन्न गर्र्ने प्रतिबद्धताका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र निर्माण कम्पनीहरूका उच्चतहको व्यवस्थापनबीच दसंै अगावै छलफल गर्न लागिएकोले सोहीअनुसार तयारी गर्न आग्रहसमेत गरे । निर्माण कम्पनीहरूले आयोजना निर्धारित समयमै सम्पन्न गर्र्ने प्रतिबद्धता जनाएका थिए । 
तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको थियो । 
पहिलो प्याकेज निर्माणका लागि पूर्वयोग्यतामा छनोट भएका ५ कम्पनीमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्वयोग्यतामा छनोट भएका ३ वटा कम्पनीमध्ये दुईवटाले बोलपत्र पेस गरेका थिए । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मूल्यांकन भइरहेको छ । 
नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहँुको रिसिङ गाउँपालिका–१ मा कार्यालय तथा कर्मचारी आवास गृह निर्माणको काम अन्तिम चरणमा छ । जलाशय क्षेत्रको जग्गा प्राप्तिका लागि ९५ प्रतिशत मुआब्जा वितरण भइसकेको छ । बाँधतर्फ जाने पहुँच मार्ग निर्माण र व्यास नगरपालिका–५मा बन्ने श्रमिक आवास गृहका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भई मुआब्जा वितरण सुरु गर्ने प्रक्रियामा छ । 
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक (एडीबी) ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

Monday, October 1, 2018

५ महिनामा पनि बनेन ‘ऊर्जा श्वेतपत्र’ कार्ययोजना

http://karobardaily.com/news/development/11123
सोमवार, आश्विन १५, २०७५
 बजेटको निर्माण गर्दा ढिलो भयोः मन्त्री
 विगतको सरकारजस्तो नहोसः इप्पान
वर्षमान पुनले मन्त्री हुनेवित्तिकै ५ महिनाअघि २५ वैशाख २०७५ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको श्वेतपत्र सार्वजनिक गरेका थिए । १० वर्षभित्र १० हजार मेगावाट स्वदेशमा खपत र ५ हजार मेगावाट विद्युत् बिक्रीसहितको योजना ल्याउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पुनको घोषणाले ऊर्जा क्षेत्रमा नयाँ तरंग ल्याएको थियो । सार्वजनिक गर्नेवित्तिकै मन्त्री पुनले श्वेतपत्रमा उल्लेख ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विस्तृत कार्ययोजना तुरुन्तै ल्याएर कार्यान्वयनमा जाने घोषणा गरेका थिए । तर, पाँच महिना बित्न लाग्दासमेत न विस्तृत कार्ययोजना निर्माण भएको छ, न १२५ बुँदाका कार्यान्वयनमा पनि मन्त्रालय अघि बढेको छ । तीन वर्षअघि तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले समेत १० वर्षभित्र १० हजार मेगावाट उत्पादन गर्ने कार्ययोजनासहितको ऊर्जा दशक घोषणा गरेका थिए । त्यो कार्ययोजनामा कुन बुँदामा कहिले गर्ने भन्ने स्पष्ट कार्यतालिकासहित योजना ल्याएका थिए । योजनामा ल्याएकामध्ये ५० प्रतिशतभन्दा बढी प्रगति नै छ । तत्कालीन सरकारको पालामा ल्याएको भएपनि हालसम्म ऊर्जा क्षेत्रमा संलग्न सरकार, निजी क्षेत्र र विज्ञहरूले त्यो प्रतिवेदनलाई एउटा पूर्ण दस्तावेजको रूपमा लिने गरेका छन् । त्यसको तीन वर्षपछि स्थायी सरकारको नेतृत्व पाएका पुनले पुनः १० वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेर योजना त ल्याए तर कार्यान्वयनमा भने फितलो देखिएको छ । “चालू आर्थिक वर्षको बजेटको कार्ययोजना ल्याउनु परेकोले ढिलो भएको हो, अब छिट्टै ल्याउँछु,” मन्त्री पुनले भने, “कार्ययोजना अनुसारका जनताका जलविद्युत् लगायतका क्षेत्रका केही काम अघि बढेका छन् तर विस्तृत कार्ययोजना छिट्टै आउँछ ।”श्वेतपत्रमा जलविद्युत् क्षेत्रको विकास र विस्तारका लागि धेरै महत्वपूर्ण योजना समेटेपनि कार्यान्वयनमा नआउँदा श्वेतपत्रको कार्यान्वयनमाथि आशंका उब्जिएको छ । विगतका सरकारले योजना ल्याउने तर कार्यान्वयन नहुने समस्या ऊर्जा क्षेत्रले भोग्दै आएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालमा अध्यक्ष शैलेन्द्र गुरागाई योजना बन्ने तर कार्यान्वयन नहुने विगतको परम्परागत नदोहोरियोस् भन्ने पक्षमा इप्पान रहेको बताउँछन् । ऊर्जा मन्त्रालयले भने छिट्टै कार्ययोजना बनिसक्ने जनाएको छ । “ऊर्जा मन्त्रालयको कार्ययोजना बनिसकेको छ, सिँचाइको आउन बाँकी छ,” ऊर्जाका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले भने, “दुवै आएपछि अब छिट्टै आउँछ ।”एकीकृत राष्ट्रिय जलस्रोत नीति निर्माण गर्नेदेखि विदेशी लगानी भिœयाउनेसम्मका योजना श्वेतपत्रमा उल्लेख छ । एकीकृत जलस्रोत नीति बनाएर कार्यान्वयनका लागि कानुनी तथा संरचनागत व्यवस्था गरिने र यस अन्तर्गत जल तथा ऊर्जा आयोगको बेसिन कार्यालयहरू स्थापना समेतबाट आयोगको पुनर्संरचना गरिने उल्लेख छ । तर, यो कार्य अघि बढेको छैन । संघीय संरचनामा संघ–प्रदेश, प्रदेश–प्रदेश र स्थानीय तहबीच उपलब्ध जलस्रोतको अधिकतम उपयोग तथा व्यवस्थापन सम्बन्धमा भविष्यमा हुनसक्ने विवाद व्यवस्थापन गर्न आवश्यक संरचनागत व्यवस्था तथा अन्तर जलाधार जल स्थानान्तरणका आयोजनाहरूका सम्बन्धमा नीतिगत व्यवस्था गरी कार्यान्वयन गरिने स्वेत्रपत्रमा उल्लेख छ, तर जलस्रोत क्षेत्रमा संघ, प्रदेश र स्थानीयस्तरको विवाद बढ्दै गएपछि यसबारे मन्त्रालयले आफ्नो कार्यक्रम अघि बढाउन सकेको छैन । सुरक्षा आदिलाई मध्यनजर गर्दै सम्भव भएसम्म हरेक प्रदेशमा कम्तिमा एउटा जलाशययुक्त आयोजना निर्माण गरिने उल्लेख गर्दै ती क्षेत्रका आयोजनाहरूको नाम सार्वजनिक गरिएको छ तर अझै मन्त्रालयले निश्चित आयोजना चयन गर्न सकेको छैन । जलाशययुक्त आयोजनाहरूको विकास हुने क्षेत्रमा थप सडक विस्तार एवम् बस्ती विकासलगायत पूर्वाधार निर्माण कामको नियमन गर्न नीतिगत व्यवस्था गरिने पनि श्वेतपत्रमा छ तर कार्यान्वयन अघि बढेको छैन । सक्रिय भएको १० महिना पुगेपनि विद्युत् नियमन आयोग ऐन–२०७४ बमोजिम विद्युत् नियमन आयोगलाई पूर्णता दिने काम भएको छैन । लागि घरायसी, सार्वजनिक एवम् निजी संस्था, यातायात र औद्योगिक क्षेत्रमा प्रयोग भइरहेका ऊर्जाका अन्य स्रोतहरूलाई विद्युत् ऊर्जाले प्रतिस्थापन गर्ने गरी आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरिने, सामाजिक न्यायको प्रवद्र्धनका लागि लक्षित वर्गमा ऊर्जा विशेष कार्यक्रम सञ्चालन गरिने, यस अन्तर्गत विपन्न वर्ग, दलित, लोपोन्मुख, आदिवासी जनजाति, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र लगायतका लक्षित वर्गका लागि नवीकरणीय ऊर्जामार्फत जीवनस्तर उकास्ने कार्य गरिने तथा विपन्न वर्गलाई निःशुल्क इनर्जी मिटर जडान गर्ने व्यवस्था गरिने लगायतका काम समेत अघि बढ्न सकेका छैनन् ।औद्योगिक, व्यापारिक र गार्हस्थ्य ग्राहकहरूको लागि मौसम र समयअनुसार फरक फरक विद्युत् महसुल निर्धारण गरिने, विद्युत् प्रशारण लाइन, सञ्चार पूर्वाधार एवम् राजमार्ग तथा सडकलाई एकीकृत करिडोरको अवधारणा अनुरूप अघि बढाइने,  नयाँ सडकहरूको डिजाइन गर्दा प्रशारण लाइनलाई समेत समेट्ने गरी आवश्यक समन्वय गरिने, शहरी क्षेत्रमा विद्युत्, तथा सञ्चारका आधारभूत सेवा प्रदान गर्ने पूर्वाधार संरचनाहरू एकीकृत रूपमा निर्माण गरिने काम पनि मन्त्रालयले अघि बढाउन सकेको छैन ।  विद्युत् आयोजनाको अनुमतिपत्र प्रदान गर्ने प्रक्रियालाई प्रतिस्पर्धात्मक बनाउने गरी कानून निर्माणको प्रक्रियालाई अगाडि बढाइने श्वेतपत्रमा उल्लेख भएपनि जलविद्युत् आयोजनाहरूको विद्युत् ऐनको दफा ३५ को उपयोग गरी बिनाप्रतिस्पर्धा दिन थालिएको छ ।  ‘हरेक घर, उर्जा घर’ को अवधारणाअन्तर्गत ऊर्जा दक्षता कार्यक्रम र घर घरमा राखिने रुफटप सौर्य उर्जालाई नेट मिटरिङ तथा नेट पेमेन्टका आधारमा ग्रीडमा जोड्ने कार्यक्रमलाई अभियानको रूपमा अघि बढाइने, आगामी चार वर्षभित्र दोश्रो क्रस वोर्डर बुटवल–गोरखपुर ४०० के.भी. लाइन निर्माण सम्पन्न गर्ने र लम्की–बरेली, दुहवी–पूर्णीया र कोहलपुर–लखनउ ४०० के.भी. प्रशारण लाईनहरूको निर्माण प्रक्रिया सुरु गरिने तथा आगामी पाँच वर्षभित्र नेपाल चीन जोड्ने गल्छी–रसुवागढी–केरुङ ४०० के.भी. प्रशारण लाइन निर्माण सम्पन्न गर्ने लगायतका काम पनि अघि बढ्न सकेका छैनन् । आगामी एक वर्षभित्र हरेक प्रदेशको वितरण गुरुयोजना तयार गरी लागू गरिने, ‘हरेक बस्ती, ऊर्जा बस्ती’ कार्यक्रमअन्तर्गत ७५३ वटै स्थानीय तहलाई हरेकले १०० देखि ५०० किलोवाटसम्मको सौर्य विद्युत् जडान गर्न संघीय सरकारले च्यालेन्ज फण्डको स्थापना गरी आयोजना लागतको ५० प्रतिशत व्यहोर्ने व्यवस्था मिलाइने लगायतका स्वतेपत्रमा उल्लेख योजना अघि बढ्न सकेका छैनन् । “मन्त्रीज्यूलाई कार्यक्रममा कुद्दा, प्रत्येक दिन मन्त्रालयमा आउने भीडसँग भेट्दा र घुमफिर गर्दामै फुर्सद छैन,” मन्त्रालयका एक अधिकारीले भने, “श्वेतपत्रमा उल्लेख भएका कुनै काम पनि अघि बढेका छैनन्, फुर्सद भए सोच्नसमेत भ्याउनु हुन्थ्यो की !”