Monday, January 31, 2022

१२० स्थानीय तहले पाए जलविद्युत रोयल्टी

 https://www.karobardaily.com/news/172833

माघ १७, २०७८ सोमबार

देशभरका १२० वटा पालिकाले जलविद्युत रोयल्टीबापत ७० करोड ६७ लाख १७ हजार पाएका छन् । ती पालिकाले आर्थिक वर्ष २०७७-०७८ को रोयल्टी पाएका हुन् ।
महालेखा नियन्त्रकको कार्यालयले ७५३ स्थानीय पालिकामध्ये १२० पालिकाको लागि रकम पठाएको हो । मुलुक संघीयतामा गएपछि अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले प्राकृतिक स्रोतको रोयल्टीको बाँडफाँड गर्दा संकलित रकममध्ये ५० प्रतिशत संघ तथा प्रदेश र स्थानीयलाई २५-२५ प्रतिशत दिने व्यवस्था गरेको छ । गत आर्थिक वर्षमा २ अर्ब ८२ करोड जलविद्युतबापत रोयल्टी संकलन भएकोमा संघले १ अर्ब ४१ अर्ब बराबर पाएको छ भने प्रदेश र स्थानीयले ७० करोड ६७ लाख बराबर पाएका छन् । चालू वर्षमा ६ सय ३३ स्थानीय तहले भने रोयल्टीबापत एक रुपैयाँ पनि पाएनन् ।
महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा निर्देशक भेषप्रसाद भुर्तेलका अनुसार, चालू वर्षमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले सबैभन्दा बढी ८ करोड ९२ लाख ७८ हजार पाएको छ । जुरे पहिरो र भूकम्पपछि भोटेकोशीमा क्षति भएर लामो समयदेखि उत्पादन नभएकोमा गत वर्षदेखि उत्पादन सुरु भएको थियो ।
चालू वर्षमा स्याङ्जाको कालीगण्डकीले ४ करोड ७९ लाख ४१ हजार र गल्याङ नगरपालिकाले ४ करोड ४१ लाख ४१ हजार, दोलखाको तामाकोशी गाउँपालिकाले ४ करोड २४ लाख ७५ हजार तथा नुवाकोटको विदुर नगरपालिकाले ३ करोड ५६ लाख ७३ हजार पाएका छन् । अघिल्ला दुई आर्थिक वर्षमा भने सबैभन्दा बढी तामाकोशी गाउँपालिकाले पाएको थियो । आव २०७५-०७६ मा २०७६-०७७ का लागि ८ करोड ८८ लाख पाएको तामाकोशीले २०७६-०७७ मा ५ करोड ३ लाख पाएको थियो । डलरमा विद्युत खरिद सम्झौता (पीपीए) भएको ६० मेगावाटको खिम्ती आयोजना क्षेत्र रहेको तामाकोशी गाउँपालिकाले हाल कायम रहेको अन्तरिम पीपीएको दर रहेकोले कम पाएको हो । आयोजना र नेपाल विद्युत प्राधिकरणको सम्झौता अनुसार आयोजना सञ्चालनमा आएको २० वर्षपछि यसको ५० प्रतिशत सेयर प्राधिकरणको स्वामित्व पुगेको छ भने अहिले अन्तरिम रुपमा प्रति युनिट दुई रुपैयाँ मात्र कायम छ ।
२०७५-०७६ मा जलविद्युतर्फ तामाकोशी गाउँपालिकाले ८ करोड ८८ लाख पायो भने सबैभन्दा कम गुल्मीको छत्रेकोट गाउँपालिकाले ३३ हजार १ सय ९४ तथा आर्थिक वर्ष २०७६-०७७ मा विद्युततर्फ सबैभन्दा बढी तामाकोशीले ५ करोड ३ लाख र सबैभन्दा कम पर्वतको फलेबासले ३८ सय ५८ पाएको छ ।

मधेश प्रदेश शून्य
चालू आर्थिक वर्षमा जलविद्युतमा सबैभन्दा बढी बागमती प्रदेश एक्लैले ३५ करोड १ लाख ७५ हजार विद्युत रोयल्टीबापत पाएको थियो भने मधेश प्रदेशले शून्य पाएको थियो । संघीयतापछिका अघिल्ला दुई वर्षमा पनि मधेश प्रदेशले विद्युत रोयल्टीबापत कुनै पनि रकम पाएन। पाउनेमा सबैभन्दा कम कर्णाली प्रदेशले ७ लाख ८१ हजार रोयल्टीबापत पाएको थियो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गण्डकी प्रदेशले २२ करोड ८५ लाख १९ हजार, लुम्बिनी प्रदेशले ७ करोड ९२ लाख ८९ हजार, प्रदेश १ ले ३ करोड ७४ लाख ८४ हजार र सुदूरपश्चिम प्रदेशले १ करोड ५ लाख ५८ हजार रोयल्टीबापत पाएका छन्।https://www.karobardaily.com/news/172833

Wednesday, January 26, 2022

जलाशययुक्त आयोजनाबिना ऊर्जामा आत्मनिर्भर बन्न सक्छौं

 

https://www.karobardaily.com/news/172442

माघ १२, २०७८ बुधबार

पम्फा भुषाल
मन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
नेकपा माओवादीकी नेतृ पम्फा भुसाल अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री हुन् । अहिले ऊर्जाको खपत वृद्धिका साथै र विद्युत व्यापारका मुद्दा मुख्य रूपमा उठेको छ । अहिले हिउँदमा उत्पादन कम हुँदा अझै भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था छ । जलाशययुक्त आयोजना बनाउन ढिलाइ हुँदा नेपाल ऊर्जामा पूर्ण आत्मनिर्भर हुन सकेको छैन । पछिल्लो समयमा विद्युत नियमन आयोगका पदाधिकारीमाथि छानबिन गरेसँगै उनीहरू निलम्बनमा परेका कारण ऊर्जा क्षेत्रमा व्यापार उत्पादन मिति थप, सेयर जारीलगायतका थुप्रै काम अवरुद्ध हुन पुगेका छन् । जलाशययुक्त आयोजना नबने पनि नेपाल आगामी दुई वर्षमा पूर्ण रूपमा बिजुलीमा आत्मनिर्भर बन्ने दाबी गर्ने मन्त्री भुसालसँग ऊर्जामन्त्री बनेपछिको प्रतिबद्धता र यसको कार्यान्वयन, जलाशययुक्त आयोजनाको मोडल र बूढीगण्डकी मोडालिटी, नियमन आयोगका पदाधिकारीहरू निलम्बनपछिको अवस्था, विद्युत खपत वृद्धि र व्यापारबारे कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार ः

तपाईं ऊर्जामन्त्रीको रूपमा मन्त्रालय आएको पनि लामो समय भयो, मन्त्री बन्दै गर्दा के सोच्नुभएको थियो, हालसम्म केके गर्न सक्नुभयो ?
मैले जे सोचेको थिएँ, त्योअनुसार प्रारम्भिक कामहरू अघि बढेका छन् । जनतालाई राहत दिने योजना बनाएको थिएँ, अहिले २० युनिटसम्म भने पनि निःशुल्क दिने प्रबन्ध गरेको छु । यसको मूल्य पनि घटाउन चाहन्थें, केही घटेको पनि छ । विदेशी ग्यास र पेट्रोल घटाऊँ भन्ने मेरो उद्देश्य थियो । यसको प्रारम्भ भएको छ । म आएपछिको अहिलेको अवस्थामा विद्युतीय गाडीको माग बढिरहेको छ । विद्युतीय चुलोको माग पनि बढेको छ । उद्योगले मागेजति बिजुली पाएको छ । सिँचाइमा ५० प्रतिशत छुट गरिएको छ । जलविद्युतको हिसाबले पनि सिँचाइ, कृषिको हिसाबले यो राम्रो कामको शुभारम्भ भएको छ । हजार माइलको यात्रा एक पाइलाबाट सुरु गर्नुपर्छ, यो सुरु भएको छ । यसका साथै अहिले मैले गर्न खोजेका केही नीतिगत कामहरू पनि छन् । म ठूलो, धेरै काम गर्दिनँ, मेरै पुर्वजहरूले चलाएको मन्त्रालय हो । त्यतिबेला अघि बढेका आयोजनाहरूलाई निरन्तरता दिने योजना छ । यसबीचमा भएको महŒवपूर्ण कामको कुरा गर्दा विद्युत व्यापार सुरु भएको छ । थोरै छ तर सुरु भएको छ । अब यसको मात्रा पनि बढेर जान्छ । अर्को भनेको खपत बढाउने कुरा हो । उत्पादन हुन लागेका सरकारी आयोजनाहरूलाई अघि बढाउन कोसिस गरिरहेका छौं । तामाकोसीको काम अघि बढेको छ । दूधकोसी र जगदुल्ला अघि बढ्न थालेको छ । नलसिंहगाढ जलाशयको अध्ययन अन्तिम चरणमा छ । मेरो लागि ड्रिम प्रोजेक्ट भनेको बूढीगण्डकी हो । भर्खरै धेरै मुआब्जाको डिप्रिसेसन कटाउने र नघटाउनेबारे समस्या थियो । पाँच महिनापछि नकटाई जनतालाई बाँडेर दिने कुरा अघि बढेको छ । त्यसछि पुनस्र्थापनाको योजना अघि बढाउने तयारी छ । विशेषज्ञ हायर गरेर तीव्र रूपमा यसलाई अघि बढाउँछु । यसको कार्यान्वयनका लागि कसले र कुन मोडेलमा भनेर टुंगिएको छैन । यो साह्रै प्राथमिकतामा छ । मन्त्रालय आएपछि के थाहा भयो भने जलविद्युत र ठूला सिँचाइका आयोजना हे¥यो भने आजको भोलि ठ्याक्कै भइहाल्ने कुरा हुँदो रहेनछ । साँच्चै धैर्यता चाहिनेछ । अपर अरुण आठ वर्षदेखि अध्ययन भइरहेको छ । अध्ययन अझै पूरा भएको छैन । आज आएर भोलि नै प्रतिफल दिने भन्ने कुरा होइन रहेछ । खालि आयोजनाहरूलाई गति दिने भन्ने मात्र हो ।

जलाशयकै कुरा गर्दा पञ्चायतमा अघि बढेको कुलेखानीपछि अरू जलाशय बनेका छैनन् । किन जलाशययुक्त आयोजनाहरू सरकारले अघि बढाउन सकेन ? जलाशयुक्त आयोजना नबनेसम्म देश आत्मनिर्भर नहुने कुरा भइरहेको छ ?
जलाशययुक्त आयोजना निर्माण नभइकन पनि ऊर्जामा हामी आत्मनिर्भर बन्न सक्छौं । किन सकिन्छ भने वर्षामा सय मेगावाट उत्पादन हुने बिजुली हिउँदमा ३० मेगावाट मात्र हुन्छ । हाम्रो आवश्यकता पूरा गर्न सकिन्छ । सके आउने वर्षदेखि नै भारतबाट आयात गर्नु पर्दैन । नसके आउनेभन्दा अर्को वर्षदेखि हिउँदमा पनि बिजुली आयात गर्नु पर्दैन, नदी प्रवाहमा आधारित आयोजनाबाट समेत माग धान्न सकिन्छ । तर, वर्षामा हाम्रो बिजुली बढी हुन्छ । थोरै उत्पादन भएर हिउँदमा कम उत्पादन हुँदा ल्याउनुपरेको हो । धेरै उत्पादन भएपछि त हिउँदमा पनि पुग्छ । आगामी वर्षदेखि हामी ऊर्जामा आत्मनिर्भर हुन्छौं । पाइपलाइनमा भएका ४÷५ सय मेगावाटका आयोजना आएपछि त्यसको ३० प्रतिशतले हिसाब गर्दा आउने वर्ष पुग्छ, तर दिगो ढंगले विद्युतका लागि जलाशययुक्त चाहिन्छ । यो नबन्नुको कारण भने यो बढी खर्चिलो हुन्छ । कुनै पनि निजी क्षेत्रले जलाययुक्त आयोजना बनाउन आएको छैन । सरकारले बनाउनुपर्छ । अहिले त आरओआर र अर्धजलाशय त सरकारले नबनाएर निजी क्षेत्रले बनाइरहेको छ । जलाशययुक्तमध्ये दूधकोसी निर्माणका लागि अन्तिम चरणमा पुगेको छ । बूढीगण्डकी पनि अन्तिम चरणमा छ । त्यसपछि नलसिंहगाढको अध्ययन पनि अर्को महिना सकिँदै छ ।

सरकारले १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्यमा ३५ प्रतिशत अर्थात् ५२ सय ५० मेगावाट मात्र उत्पादन गर्ने लक्ष्य छ । अर्धजलाशययुक्त र जलाशययुक्त आयोजनाहरू भने कमै छन् । माग पनि बढ्दो छ, सबै उत्पादन गरिसक्दा पनि कसरी हामी ऊर्जामा आत्मनिर्भर बन्न सक्छौं त ?
अहिले हाम्रो जति आन्तरिक माग छ, बिना जलाशययुक्त आयोजना पनि हामी आत्मनिर्भर बन्न सक्छौं, हाम्रो धान्न सक्छौं । अहिले त १६ सय मेगावाट माग छ, यो बढ्दा पनि माग धान्न सकिने अवस्था छ । हामी आत्मनिर्भर त हुन्छौं तर भनेजस्तै समान ढंगले विद्युत वितरण गर्न जलाशययुक्त आयोजना चाहिन्छ । प्राथमिकतामा राखेर जलाशयुक्त आयोजना बनाउनुपर्छ । निजी क्षेत्रले त नाफाका लागि आयोजना बनाउने हो । राज्यले त सेवाका लागि आयोजना बनाउनुपर्छ । जति महँगो भए पनि बनाउनुपर्छ । बूढीगण्डकी, नलसिंहगाढ र पश्चिमसेती त हामीले बनाउनैपर्छ । माडी जलाशय पनि अध्ययनमा छ । सबैभन्दा छिटो जाने भनेको नलसिंहगाढ र दूधकोसी निर्माण गइहाल्छ । बूढीगण्डकी मोडालिटीको कारणले ढिलाइ हुन सक्छ, तर म छिटो यसको निर्माण मोडालिटी टुङ्ग्याउँदै छु । राज्यको धेरै महŒवपूर्ण गौरवको आयोजना भएकाले यसलाई अघि बढाउनुपर्छ ।

निजी क्षेत्रलाई जलाशययुक्त आयोजनामा आकर्षित गर्न बाँध र विद्युतगृह छुट्टाछुट्टै बनाउन दिने घोषणा बजेटमा गर्नुभएको थियो, यसको प्रगति के छ ?
निजी क्षेत्र पनि जलाशययुक्त आयोजना निर्माणमा त्यति इच्छुक देखिएको छैन । यस्तो मोडालिटी जापान सरकारको सहयोगमा नलगाढमा गर्ने कि भनेर अध्ययन भइरहेको छ । बाँध छुट्टै र विद्युत उत्पादन छुट्टाछुट्टै गर्ने र विद्युत उत्पादन गर्नेले बाँध किन्ने गरी मोडालिटी बनाउँदै छौं । सायद बूढीगण्डकीमा पनि यो मोडालिटीको उपयोग गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छौं । राज्य आफैंले बनाएमा त समस्या भएन, यसमा निजी क्षेत्रलाई पनि सहभागी गराउनैपरेमा यो मोडेलमा जान सकिन्छ, तर यसबारे धेरै अघि बढिसकेको छैन । राष्ट्रिय गौरवको आयोजना भएकाले राज्य आफैंले बनाउनुपर्छ भनेर हामी लागिरहेका छौं ।

तपाईंले बूढीगण्डकी प्राथमिकतमा छ त भन्नुभयो, तर ऊर्जा मन्त्रालयकै कारण यो रोकिएको देखिएको छ । न तपाईंहरूले चिनियाँ कम्पनीसँगको समझदारी खारेज गर्नुभएको छ, न चिनियाँ कम्पनीलाई पनि दिनु नै भएको छ । अब कसरी अघि बढ्नुहुन्छ त ?
एउटा आयोजनासँग दर्जनौं कम्पनी आएर समझदारी (एमओयू) गरेका छन् । एमओयू सम्झौता होइन । जोजोले गरेका छन्, उनीहरूसँग पनि हामी छलफल गरिरहेका छौं । किन बनाउनुप¥यो, कि छोड्नुप¥यो । बूढीगण्डकी बनाउने गरेर कोही निजी क्षेत्र आएको जस्तो लाग्दैन ।

अहिले विद्युत खपत १६ सय मेगावाटको हाराहारीमा छ, विगतमा विद्युत प्राधिकरणले गरेको प्रक्षेपणको आधारमा त २५ सय मेगावाट बराबर हुनुपर्ने थियो तर उत्पादनको तुलनामा हामी खपतमा यति धेरै किन कमजोर भयौं भन्ने तपाईंलाई लाग्छ ?
खपत वृद्धिको काम ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरण एक्लैले गर्न सक्दैन । उद्योग मन्त्रालयले औद्योगीकरण बढी गर्नुप¥यो । कृषिले पनि यसैगरी आफ्ना काम अघि बढाउनुप¥यो । अहिले देशभित्र उल्लेखनीय रूपमा विद्युत खपत बढेको छ । म आएपछि मात्र १ सय मेगावाट विद्युत खपत बढेको छ । आउने वर्ष अझै बढेर जान्छ । विद्युत उपलब्ध हुँदैन कि भनेर कतिपय ठाउँमा खपत बढेको छ तर कतिपय ठाउँमा विश्वासका साथ बढेको पनि छ । हामीले उद्योगले माग गरेजति बिजुली दिएका छौं । बाहिर बजारमा एउटा चर्चा हुने रहेछ, यथार्थमा लिने एउटा हुने रहेछ । उहाँहरू पनि ढुक्क नभएर होला । जब ढुक्क हुनुहुन्छ, विद्युत खपत बढाउनुहुन्छ । उहाँहरूको उद्योग स्थापना गर्नका लागि पनि समय चाहिन्छ, हामी पनि दिन तयार छौं । संस्थागत ढंगले उहाँहरूसँग छलफल गरेर विद्युत उपलब्ध गराउन हामी तयार छौं । बिजुली नभएर उद्योग स्थापना गर्न पाइँदैन भन्ने अवस्था हामी आउन दिँदैनौं । माग गरेअनुसार हामी दिन सक्छौं । अर्को कुरा, विद्युतीय सवारी साधनमा केही छुट हुनुपर्छ भन्ने पक्षमा त म पनि छु । हामी अहिले आर्थिक वर्षको बीचमा छौं, नयाँ वर्षका लागि केही नीतिगत निर्णय पनि गराउनुपर्नेछ । त्यसपछि खपत अझै बढ्छ ।

ग्यास विस्थापनको कुरा गर्नुभयो । ग्यासमा करिब सात सय अनुदान दिइएको छ, बिजुली खपत बढाउनका लागि विद्युतीय चुलोमा यस्तो अनुदान दिन तपाईंले केही पहल गर्न सक्नुहुन्न ?
तपाईंहरू भ्रममा हुनुहुन्छ, ग्यासमा अनुदान दिइएको छैन । आयल निगमले घाटा खाएर दिएको छ । अरू डिजेल, पेट्रोलमा उठाउने गरेको छ । सरकारले एक पैसा पनि ग्यासमा अनुदान दिएको छैन । यदि सरकारले ग्यासमा दिएको भए, म उताबाट यता बिजुलीमा ल्याउँथें । पहिला त आयल निगम नाफामा पनि थियो, अहिले त १२ अर्ब घाटामा छ भनेर पढेको थिएँ । अहिले मूल्यमा ग्यास दिएर आयल निगम डुब्छ । राज्यले यसमा अनुदान दिन सक्दैन, राज्यले अब उनीहरूलाई बिजुली दिनुपर्छ । अर्को कुरा, अहिले विद्युतीय उपकरणमा १ प्रतिशत मात्र भन्सार लाग्छ । घरमा ग्यास ल्याउन १२÷१५ हजार तिर्न सक्ने, ५ हजारको ग्यासको चुलो किन्न नसक्ने भन्ने पनि हुन्छ । अहिले पनि विद्युतीय चुलोमा प्रोत्साहन कम भएको हुन सक्छ । पहिला पनि ग्यासभन्दा बिजुलीबाट पकाउँदा सस्तो थियो । म आएपछि बिजुलीको महसुल घटेसँगै अझै सस्तो भएको छ । अहिले विद्युतीय चुलोको प्रयोग बढेको छ, म यसलाई नकारात्मक रूपमा लिँदिनँ । एउटा सहकारीले मलाई चुलो र विद्युतका लागि तीन प्रतिशतमा ऋण दिएको र यसमा मन्त्रालयले केही छुट दिन सक्छ कि भनेर फोन गर्नुभएको थियो । सहकारीहरूले हिजो अरू–अरू बाँड्थे, अहिले विद्युतीय चुलो बाँड्न थालेका छन् । हामीले सोअनुसारको वितरण प्रणालीको पनि व्यवस्था गरेका छौं । विद्युतीय चुलो प्रयोग गर्न चाहनेलाई बिजुलीको क्षमता सात दिनभित्र थप गर्न सक्ने व्यवस्था पनि गरेका छौं । थ्रीफेज जोड्न चाहेमा पनि सात दिनभित्र गरिसक्ने व्यवस्था गरिएको छ ।

अर्को स्वदेशमै विद्युत खपत वृद्धि गर्ने कि विद्युत व्यापार गर्ने भनेर बेलाबेलामा चर्चा चलिरहन्छ, यसबारे के भन्नुहुन्छ ?
पहिलो नम्बरमा स्वदेशमा खपत वृद्धि गर्ने हो, दोस्रोमा बढी भएको बिजुली विदेशमा हो । अहिले पीपीए गरेका र पीपीएको लाइनमा भएका सबै बिजुली उत्पादन भएपछि नेपालमा खपत हुने अवस्था छैन । बढी भएको बिजुली बेच्नैपर्छ ।

विद्युत व्यापारको कुरा गर्दा ३९ मेगावाटको सुरु भएको छ, तर धेरै प्रस्ताव गरे पनि आफ्नै सहायताका आयोजनालाई मात्र भारतले निर्यातको अनुमति दिएको छ । आफूसँग ऊर्जा सम्झौता नगरेका देशहरूको प्रत्यक्ष र अप्रत्यक्ष लगानी भएका आयोजनाहरूको बिजुली नलिने संकेत देखाएको छ । यस्तो अवस्थामा कसरी विद्युत व्यापार बढाउन सकिन्छ भन्ने तपाईंलाई लाग्छ ?
भारतसँग विद्युत व्यापार वृद्धिका लागि छलफल गरिरहेका छौं । हाम्रो धेरै क्षमताको बिजुली उहाँहरूको नीतिअन्तर्गत निर्यात गर्न मिल्ने पनि छन् । यसमा पनि कतिपय कुरा उहाँहरूको विदेशी नीतिको कुरा हो, हामी हस्तक्षेप गर्न सक्दैनौं ।

बिजुलीलाई भारतले भू–राजनीतिको विषय बनाएको देखिन्छ, यसका लागि उच्चस्तरबाटै छलफल नगरी निर्यातको सम्भावना छैन भनिन्छ, के गरिरहनुभएको छ ?
हामी उच्चस्तरमै प्रत्यक्ष, अप्रत्यक्ष रूपमा छलफलमा छौं । हालै दुई देशबीच ढल्केबर–मुजफ्फपुर अन्तर्देशीय प्रसारण लाइनको क्षमता १ हजार भए पनि ३ सय मेगावाट मात्र आदानप्रदानको व्यवस्था थियो । अहिले बल्ल ६ सय मेगावाट बनाएका छौं । यसमा पनि सुधार हुँदैन । मेरो बुझाइमा हाम्रो देशका लागि बिजुली राजनीतिक कूटनीति (पोलिटिकल डिप्लोमेसी) को विषय हो रहेछ ।

निजी क्षेत्रले पनि विद्युत व्यापारका लागि चासो दिइरहेको छ । यसका लागि अनुमति मागिरहेको छ । अनुमति दिन ढिलाइ भइरहेको छ । निजी क्षेत्रले म आफैं बजार खोज्छु भन्दा तपाईंहरूले किन ढिलाइ गरिरहनुभएको छ ?
किन ढिलाइ गर्नु, उहाँहरूसँग कहाँ बिजुली छ ? उहाँहरूसँग एक युनिट पनि बिजुली छैन । जति बिक्री भएका छन्, त्यो प्राधिकरणको बिजुली हो । तर पनि मैले उहाँहरूलाई अनुमति दिने भनेर कार्यविधिका लागि कार्यदल बनाएको छु । जो संयोजक हुनुहुन्छ, उहाँ कोभिड भएर घर बस्नुभएको छ । तर पनि हामी कार्यविधि बनाउँदै छौं । हामी अनुमतिपत्र दिन्छौं तर हिजो जलविद्युतमा जस्तो झोलामा खोला राखेर हिँड्ने भए दिँदैनौं । तथ्यगत र वस्तुगत आधार प्रस्तुत गरेमा दिन्छौं तर उहाँहरूसँग ऊर्जा नै छैन । उहाँहरू अब यो आयोजनाको लाइसेन्स लेऊ, यो उत्पादन गरेर म आफैं बेच्छु भनेर उहाँहरू आउनुपर्छ । अनि पो उहाँहरूसँग बिजुली हुन्छ । अहिले हाम्रा छिमेकी राष्ट्रका कम्पनी आएर अरुण तेस्रो र तल्लो अरुणमा लगानी गर्न आएका छन्, उनीहरू आफैंले बिजुली बेच्छु भनेका छन् । जीएमआरले पनि उतै बेच्न लैजान्छु भनेर आएको छ । अहिलेसम्म कुनै पनि कम्पनीले म यो आयोजना बनाएर भारत बेच्छु भनेर आउनुभएको छैन । बिजुली व्यापारको लाइसेन्स निजी क्षेत्रलाई पनि दिने गरेर कार्यविधि बनाउँदै छौं । बिजुली उत्पादन गरेर बिजुली आफंै बेच्छौं भन्नेलाई हामी अनुमति दिन्छौं ।

अहिले त विद्युत प्राधिकरणको उत्पादन, वितरण, प्रसारण र व्यापारमा एकाधिकारजस्तै छ, यसमा प्रतिस्पर्धा आवश्यक छैन र ?
उत्पादनमा सरकारको पनि छुट्टै उत्पादन कम्पनी भइसक्यो । ग्रिड कम्पनी छ । प्राधिकरणमा पनि ग्रिडको काम गर्ने निकाय छ । दुवैलाई हामी मर्ज गर्दै छौं । यसका लागि कार्यदल बनेर काम भइरहेको छ । हिजो डुब्लिकेसन गराइयो । उत्पादन कम्पनीलाई उसैले गर्ने भनेर अनुमतिपत्र नै दिइसकेका छौं । ऊ अघि बढिसकेको छ । जगदुल्लाको पहिलो पटक बोलपत्र आह्वान हुँदै छ । ग्रिड कम्पनीका लागि सहज बनाउन हामी ह्विलिङ चार्जको नीति ल्याउँदै छौं । विद्युत नियमन आयोग थियो, त्यसले केही पनि काम गरेन । यसकारण पनि हामीले त्यसको कार्य सम्पादनको मूल्यांकनका लागि एउटा समिति बनाएका छौं । विद्युत नियमन आयोगका कारण पनि यसमा ढिलाइ भयो ।

विद्युत नियमन आयोगका पदाधिकारी छानबिनका लागि निलम्बन गरेपछि त पूरै आयोजना ठप्प भएको छ, यसबारे के भन्नुहुन्छ ?
कामै नगर्नु र निलम्बन हुनुमा के फरक छ र ? गर्नुपर्ने काम नगरेकै कारणले हामीले त्यो गरेका हौं । प्रसारण लाइनको ह्विलिङ चार्जको नीति बनाउनुपथ्र्यो, त्यो बनाएन । त्यसलाई निरन्तरता दिन त म भन्दिनँ नि, यो अहिले समीक्षामा छ । नियमन आयोगलाई सेयरबाहेक अरू के चासो थियो र ? पीपीए त प्राधिकरणले गरेर त्यहाँ सहमतिका लागि पठाउने हो । प्राधिकरणले सहमतिको लागि पठाएको ११ महिनासम्म पनि सहमति दिएन आयोगले । आयोग अहिले स्वतन्त्र संस्था हो, यसले किन काम गरेन भनेर तपाईंहरूले अध्ययन गरेर दिएमा हामीलाई धेरै फाइदा हुन्छ । काम ग¥यो भने आयोग ऊर्जामा राष्ट्र बैंकजस्तै हो । त्यो आयोग त अधिकार सम्पन्न छ, आयोगले काममा प्रभावकारिता नदेखाएपछि कामहरू अघि बढ्न सकेनन ।

पछिल्लो समयमा झ्याप–झ्याप बिजुली जाने समस्या भयो भनेर गुनासो आइरहेको छ, यसलाई सुधार्नका लागि केही प्रयास गर्दै हुनुहुन्छ ?
बिजुली गयो भने नजिकैको बिजुली अफिसमा जान हामीले बारम्बार भनेका छौं । कि त उहाँहरूको प्रसारणको क्षमता नपुगेर हो, कि उहाँले घरको फेजको क्षमता बढाउनुप¥यो । हिजो त बढी विद्युत प्रयोग नगर्न भनिएको थियो, त्यस्तो बेलाको संरचना र अहिलेको संरचनामा फरक छ । कमजोर संरचना होला, कतिपय प्राधिकरण आफंैले स्तरोन्नति गरिरहेको छ । ग्राहकहरूलाई कुनै समस्या छ भने नजिकैको बिजुलीको अफिसमा सम्पर्क राख्नुस्, तीन÷पाँच, अधिकतम सात दिनभित्र समस्या समाधान हुन्छ । पानी आएन भने केयूकेएलमा धाउने गरिन्छ, बिजुली आएन भने नजिकैको बिजुली अफिसमा जानुस् । आवश्यकता छ भने त्यहाँ गएर के समस्या हो, समाधान गर्न सकिन्छ ।

Tuesday, January 25, 2022

साढे १५ सय मेवाका सोलार आयोजनाको पीपीए प्रतिस्पर्धाबाट

https://www.karobardaily.com/news/172337

 माघ ११, २०७८ मंगलबार

नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा (सोलार) प्लान्टबाट उत्पादित विद्युत खरिद बिक्री सम्झौता (पीपीए) प्रतिस्पर्धाको आधारमा गर्ने निर्णय गरेको छ । हाल प्रतियुनिट ७.३० पैसामा पीपीए गर्दै आएको प्राधिकरणले भने अब भने प्रतिष्पर्धाको आधारमा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै विद्युत विकास विभागबाट अनुमतिपत्र लिएका साढे १५ सय मेगावाटका सोलार आयोजनाले पनि प्रतिष्पर्धा गर्नुपर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पीपीए गर्दा प्रतिष्पर्धाबाट गर्ने निर्णय गरेको छ ।
विश्व बजारमा प्रतियुनिट ३ रुपैयाँसम्ममा सोलारबाट ऊर्जा उत्पादन भइरहेको बेला विद्युत प्राधिकरणले गरेको यो निर्णयलाई सकारात्मक मानिएको छ । तर लाइसेन्स लिएर विद्युत विकास विभाग र लगानी बोर्डबाट सोलार निर्माणको लागि अनुमतिपत्र (लाइसेन्स) दिँदा नै पीपीएमा प्रतिष्पर्धाबाट दिनुपर्ने व्यवस्था गर्नुपर्ने भए पनि प्राधिकरणले मात्र निर्णय गर्दा यसले अनुमतिपत्र लिएर अध्ययन गरिरहेका आयोजनाहरू भने मारमा पर्नेछन् । ऊर्जामन्त्री भुषालले भने सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन पिपिए प्रतिष्पर्धाबाट गर्ने निर्णय लिइएको बताइन् । “जनतालाई सहुलियत दरमा विद्युत उपलब्ध गराउन, विद्युत खरिदलाई प्रतिस्पर्धी तथा पारदर्शी बनाउँदै लैजानुपर्छ, सोलारमार्फत हामीले यसको सुरुवात गरेका छौँ,” उनले भनिन् ।
पछिल्लो विकसित प्रविधिअनुसार सोलारबाट विद्युत उत्पादन लागत कम हुँदै गएको उल्लेख गर्दै उनले तीन वर्षमा सोलारको पिपिए दर पुनरावलोकन गर्नुपर्ने भए पनि हालसम्म नगरिएकोले विद्युत महसुललाई सर्वसुलभ बनाउन, अन्तर्राष्ट्रिय प्रचलन, जनअपेक्षा, विद्युत माग र आपूर्तिको सन्तुलन एवं प्रचलित ऐन कानुनको मर्मलाई मध्यनजर गर्दै पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरिएको बताइन् ।
नयाँ निर्णयसँगै हाल विद्युत विकास विभागबाट अध्ययनका लागि सर्भे लाइसेन्स लिएका ६ सय ८ मेगावाट बराबरका २५ आयोजनाले पनि पीपीएमा प्रतिष्पर्धा गर्नुपर्ने भएको छ । यसैगरी सर्भे लाइसेन्सका लागि आवेदन दिएका ९ सय १२ मेगावाटका ३५ आयोजना र निर्माणका लागि अनुमतिपत्र माग्दै आवेदन दिएका ३४ मेगावाटका ६ आयोजनाले पनि पीपीएमा प्रतिष्पर्धा गर्नुपर्ने भएको छ । प्राधिकरणमा अनुसार, हालसम्म पीपीए भैसकेका बाहेक सबै प्रतिष्पर्धामा आउनुपर्नेछ । पहिलाकै दरमा सोलार आयोजना बनाउने गरी लाइसेन्स लिइसकेका र लिन प्रकृयामा रहेका १५ सय मेगावाट बराबरको आयोजनाको निर्माणलाई नयाँ निर्णयले असर पारेको बताए ।
सोलार आयोजनाबाट उत्पादित विद्युतको पीपीए गर्दा विद्युत आयोजनाहरूको उत्पादन सम्मिश्रणको अवधारणा अनुसार राष्ट्रिय ग्रिडमा कूल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर प्राधिकरणलाई आवश्यक भएको क्षेत्रमा ‘आधार दर’ तोकी सो दरमा नबढ्ने गरी प्रतिस्पर्धामार्फत पिपिएका लागि आह्वान गरिने छ ।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०७४ माघ २५ मा स्वीकृत ग्रिड कनेक्टेड वैकल्पिक विद्युत ऊर्जा विकाससम्बन्धी कार्यविधि,२०७४ मा उल्लेखित वैकल्पिक सौर्य र वायु ऊर्जाको विद्युत खरिद दर प्रतियुनिट ७ रुपियाँ ३० तोकिएको थियो । उक्त दर अधिकतम तीन वर्षभित्र विद्युत खरिद सम्झौता सम्पन्न हुने आयोजनाका लागि कायम हुने निर्णय भएको थियो ।
मन्त्रालयको सो निर्णयलाई प्राधिकरण सञ्चालक समितिले २०७५ असार २६ को ७७३ औँ बैठकबाट निर्णय गरी कार्यान्वयमा ल्याएको थियो ।
तीन वर्षका लागि तोकिएको उक्त दर हालसम्म पनि परिमार्जन हुन सकेको थिएन । हाल अन्तर्राष्ट्रिय बजारमा पछिल्लो विकसित प्रविधिका कारण सोलार आयोजनाबाट उत्पादन गरिने विद्युतको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ । प्राधिकरणले अहिलेसम्म २१ सोलार आयोजनासँग एक सय १० मेगावाटको पिपिए गरेको छ । यसमध्ये ६ आयोजना निर्माण सम्पन्न भई २९ मेगावाट राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ ।

Thursday, January 20, 2022

सर्तसहित डेरावालाले छुट्टै मिटर राख्न सक्ने

https://www.karobardaily.com/news/171833 

माघ ६, २०७८ बिहीबार

–सहमतिमा निजी प्रणालीबाट विद्युत वितरण
–बढी महशुल लिएको पुष्टि भएमा कार्बाही
–खानेपानी, सिँचाई, चिस्यान र शीत भण्डारलाई ट्रान्सफर्मर
–बक्यौता किस्तावस्दीमा तिर्न पाइने


नेपाल विद्युत प्राधिकरणले विद्युतीय चार्ज गर्नका लागि घरमा तथा सर्तसहित डेरावालाले छुट्टै मिटर राख्न पाउने व्यवस्था गरेको छ ।
हाल एशियाली विकास बैंक (एडीबी) को सहयोगमा ५० चार्जिङ स्टेशन निर्माण गरिरहेको र यसमा निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्ने बताइरहेको र घरधनीले बढी महशुल असुलेको भन्दै गुनासो आइरहेका बेला प्राधिकरणले व्यक्तिगत रुपमै घरमा छुट्टै मिटर राख्न पाउने व्यवस्था गरेको हो । प्राधिकरण सञ्चालक समितिको ८९२ औं बैठकबाट पारित भएको संशोधित विद्युत वितरण विनियमावली, ले पहिलोपटक यस्तो व्यवस्था गरेको छ ।
बक्यौता भुक्तानी गर्ने प्रतिवद्धतासहित छुट्टै मिटर राख्नका लागि घरधनीको लिखित सहमति भएमा, घरधनी र बहालमा बस्नेबीच कम्तीमा एक वर्षका लागि गरिएको घरबहाल सम्झौता पेश गरेमा, प्राविधिक रुपमा सम्भव भएमा तथा घरधनीको वक्यौता नभएमा र बहालमा बस्नेको मिटरसमेत एउटै स्थानमा राख्न सकिने गरी बायरिङको व्यवस्था गरेमा छुट्टै मिटर राख्ने व्यवस्था नियमावलीमा छ । ग्राहकले आफ्नो सम्पूर्ण खर्चमा निजी जग्गामा निर्माण गराएको विद्युत प्रणालीबाट विद्युत आपूर्ति लिएको र त्यस्तो लाइनबाट त्यस क्षेत्रका अन्य ग्राहकलाई विद्युत आपूर्ति गर्नुपर्ने अवस्था भएमा उक्त ग्राहकले सहमति लिई सो विद्युत प्रणालीबाट विद्युत आपूर्र्ति गर्न सक्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।
यसैगरी घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत सेवा छिटो, सर्वसुलभ एवं सहज रुपमा उपलब्ध गराउन र विद्युत खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत वितरण विनियमावली कार्यान्वयमा ल्याइएको बताए ।
“विगतमा लोडसेडिङको अवस्थामा हरेक कुरामा प्रतिबन्ध लगाउन खोजिएको थियो, अहिले लोडसेडिङ अन्त्य भई मुलुकभित्र उत्पादित विद्युत यही खपत बढाउनु पर्ने बाध्यात्मक अवस्था छ, यसलाई ध्यान दिई ग्राहकलाई माग बमोजिम छिटोभन्दा छिटो भरपर्दो तथा गुणस्तरीय सेवा उपलब्ध गराउने र विद्युत खपत बढाउने गरी नयाँ विनियमावली कार्यान्वयनमा ल्याएका छौं”, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, “खपत बढाउन विद्युत महसुल घटाउँदै लगेका छौं, सेवालाई पनि सहजीकरण गरी ग्राहकमैत्री बनाउन अधिकतम प्रयास गरिरहेका छौं ।”
विनियमावलीमार्फत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ पूर्वाधार निर्माण तथा सञ्चालनका नीतिहरु कार्यान्वयनमा ल्याएको छ । निजी आवास, कार्यालयहरु, फर्म-कम्पनी-संस्थामा निजी र सार्वजनिक स्थल, निजी घरजग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृत प्राप्त निकाय-फर्म-व्यक्ति-कम्पनीलाई अनुमति दिने छ । मुख्य–मुख्य सहरी क्षेत्रमा सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्ने संस्थालाई प्राथमिकता दिइनेछ ।
यसैगरी नेपाल सरकार, सार्वजनिक संस्थान र स्थानीय तहले सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्न चाहेमा प्राथमिकता दिइने व्यवस्था गरिएको छ । सरकारबाट स्वीकृत लिएर सार्वजनिक जग्गामा सार्वजनिक विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गर्न चाहेमा पनि स्वीकृति दिने व्यवस्था गरिएको छ ।
विनियमावलीमार्फत सार्वजनिक चार्जिङ स्टेसनको प्रवद्र्धनका लागि विशेष व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङले बताए । “दुई सय केभिएसम्मको विद्युत डिमाण्ड भएका चार्जिङ स्टेसन स्थापना गर्ने सेवा प्रदायकलाई प्राधिकरणले ट्रान्सफरर्मर सहितको विद्युत सेवा प्रवाह गर्नेछ । त्यो भन्दा माथिल्लो डिमाण्ड हुने चार्जिङ स्टेसनको हकमा भने एचटी लाइनको काम प्राधिकरणले गर्नेछ तर ट्रान्सफरमर जडानलगायतका बाँकी काम सेवा प्रदायकले नै गर्नुपर्नेछ”, उनले भने, “चार्जिङ स्टेसनका लागि छुट्टै विद्युत महसुलसमेत लागू भइसकेको छ ।
घरधनीले घरभाडामा बस्ने व्यक्तिसँग प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा लाइन काट्न सकिने व्यवस्था गरेको छ । घरधनीले डेरावालसँग महंगो विद्युतको महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले तोकिएको भन्दा बढी महसुल लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो । यसबाट घरभाडामा बस्ने उपभोक्तालाई सर्वसुलभ विद्युत सेवाको प्रत्याभूति हुनेछ ।
प्राधिकरणले सहकारी संस्थाले सञ्चालन गरेका दुग्ध चिस्यान केन्द्र तथा शीत भण्डार र सहकारी संस्था वा समुदायमार्फत सञ्चालित खानेपानी तथा सिंचाईलाई पनि सुविधा दिएको छ । दुई सय केभीएसम्म डिमाण्ड भएका त्यस्ता ग्राहकलाई प्राधिकरणले आफ्नै ट्रान्सफर्मरबाट विद्युत आपूर्ति दिनेछ । यसबाट त्यस्ता ग्राहकको ट्रान्सफर्मर खरिदमा हुने खर्च कटौती भई यो सुविधाबाट लाभान्वित हुने घिसिङले जानकारी दिए ।
“यसअघि ग्राहकले प्राधिकरणको ट्रान्सफर्मरबाट ५० केभिएसम्मको मात्र र त्यसभन्दा बढीको लोड लिनुपरेमा आफ्नै खर्चमा ट्रान्सफर्मर खरिद गर्नुपर्ने व्यवस्था थियो । अब यसलाई हटाएर एक सय केभिएसम्म लोड लिने उद्योगहरुलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत आपूर्ति दिने व्यवस्था गरी ग्राहकलाई राहत दिन खोजेका छौं”, उनले भने । एकसय केभीएभन्दा बढी लोड चाहिएमा भने ग्राहकहरु आफैंले ट्रान्सफर्मर किन्नु पर्ने छ । यसअघि उपलब्ध ट्रान्सफर्मरको क्षमताको ५० प्रतिशत मात्रै विद्युत आपूर्ति दिने गरिएकोमा अव यस्तो सिलिङ हटाइएर ग्राहकलाई सुविधा दिन खोजिएको छ ।
यसैगरी अपार्टमेन्ट, बहुतले आवासीय भवन, कोलोनीहरुमा बसोबास गर्ने उपभोक्तालाई तोकिएका शर्त पूरा भएमा अन्य ग्राहकसरह विद्युत सेवा उपलब्ध गराउने व्यवस्था विनियमावलीमा गरिएको छ । अहिले अर्पाटमेन्टहहरुले आफूले प्राधिकरणबाट विद्युत लिएर त्यहाँभित्र बस्नेलाई महंगो शुल्क लिएर आपूर्ति दिँदै आएका छन् । अब अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट मिटर लिएर सिधै विद्युत लिन सक्ने हुँदा महसुल सस्तो हुनेछ ।
यसैगरी विद्युत महसुलको वक्यौता रहेका ग्राहकले किस्ताबन्दीमा तिर्न पाउने भएका छन् । विद्युत महसुल नतिरेर कालोसूचीमा परेका ग्राहकले पुनः विद्युत लाइन जोड्नु पर्दा वक्यौता रकम एकमुष्ट बुझाउन नसकेमा नियमानुसार थप दस्तुर लिई बढीमा १२ किस्तासम्म रकम तिर्न सक्नेछन् ।

२४४ मेगावाट विद्युत निर्यात गर्न फेरि भारत समक्ष प्रस्ताव

https://www.karobardaily.com/news/171863

 माघ ६, २०७८ बिहीबार

नेपाल विद्युत प्राधिकरणले पुनः २ सय ४४ मेगावाट विद्युत निर्यातका लागि भारतसमक्ष प्रस्ताव गरेको छ । दुई दिनअघि विद्युत प्राधिकरणले १४४ मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मिडल मस्र्याङ्दी र ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत आगामी वर्षायाममा भारतमा बेच्ने गरी प्रस्ताव गरेको हो ।
प्राधिकरणका अनुसार विद्युत प्राधिकरणले भारतको नोडल एजेन्सी एनपीटीसीमार्फत एनपीटीसी विद्युत व्यापार निगम (एनभीभीएन) लाई प्रस्ताव गरेको हो । गत बर्षामा ५ सय मेगावाटसम्म विद्युत खेर गएकोमा आगामी वर्षामा एक हजार मेगावाटसम्म खेर जाने अवस्था आएपछि अनुमतिका लागि समयमै भारत समक्ष प्रस्ताव गरिएको हो ।

गत जुलाईमा पनि प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ७० मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको भोटेकोशी विद्युत निर्यातका लागि प्रस्ताव गरेको थियो तर भारतले अनुमति नदिएपछि सेप्टेम्बरमा भारतीय सहायतामा निर्माण भएका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत गृहबाट उत्पादित बिजुली निर्यातका लागि भारतसँग अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । भारतले १ मे २०२१ बाट नेपालले ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतीय ऊर्जा एक्सचेन्ज मार्केट (आईआईएक्स) मा विद्युत निर्यातका लागि अनुमति दिएको थियो ।
भारतले बनाएको अन्तरदेशीय विद्युत आयात निर्यात कार्यविधिले भारतको वृहत्तर नीतिगत स्वार्थलाई हेरेर भारतसँग जोडिएका र पारस्परिक विद्युत सम्झौता भएका देशहरुबाट मात्र विद्युत आयात गर्न सकिने तथा यसबाहेकका देशको प्रत्यक्ष वा अप्रत्यक्ष लगानी भएका आयोजनाबाट विद्युत आयात गर्न नसकिने उल्लेख गरेकोले विगतमा भारतीय सहायताबाहेकका आयोजनाको निर्यात अनुमति नदिएकोले प्रस्तावित आयोजनाको बिजुलीलाई भारतले अनुमति दिने सम्भावना कम रहेको प्राधिकरणका एक अधिकारीले बताए । कार्यविधिमा भारत सरकारले चाहेमा यसमा छुट हुने र विद्युत आयात गर्न सक्ने व्यवस्था रहेकोले सो उपयोग गर्न सके मात्र विद्युत निर्यातको सम्भावना रहेको उनको भनाइ छ ।
गत वर्षसम्म नेपालले सो प्रसारण लाइनबाट ३५० मेगावाटसम्म आयात गर्न अनुमति दिएको थियो भने दुई दिनअघि बसेको दुई देशको संयुक्त प्राविधिक समूहको बैठकले ६ सय मेगावाटसम्म आयात-निर्यात दुवै गर्न पाउने व्यवस्था गरेको छ । भारत सरकारले अनुमति दिएमा सो प्रसारण लाइनबाट नेपालले अब ६ सय मेगावाटसम्म आयात निर्यात दुवै गर्न सक्नेछ ।

Tuesday, January 18, 2022

पहिलो अन्तरदेशीय प्रसारणबाट ६ सय मेगावाटसम्म बिजुली निर्यात गर्न सकिने

https://www.karobardaily.com/news/171502

 माघ ४, २०७८ मंगलबार

नेपाल र भारतीय पक्षबीच नेपालको पहिलो ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट ६ सय मेगावाटसम्म विद्युत निर्यात गर्न सकिने गरी सहमति भएको छ । नेपाल विद्युत प्राधिकरणले पहिलो ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ३ सय ५० मेगावाटसम्म विद्युत आयात गर्न पाउने प्रावधान रहेकोमा अब भने ६ सय मेगावाटसम्म निर्यात र आयात गर्न पाउने सहमति भएको हो । सो प्रसारण लाइनको क्षमता एक हजार मेगावाट छ । तर अझै पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।
नेपाल र भारतबीचको संयुक्त प्राविधिक समूह (जेटीजी) को सोमबार काठमाडांैमा बसेको बैठकमा सो सहमति भएको थियो । विद्युत विकास विभागका महानिर्देशक सञ्जीव देव र भारतीय ऊर्जा मन्त्रालयका सहसचिव रविन्द्र गुप्ताले नेतृत्व गरेको बैठकको सहमति सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेडब्लूसी) बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
विभागका महानिर्देशक देवले हालसम्म ३५० मेगावाटसम्म मात्र आयात गर्न पाउने प्रावधान रहेकोमा अब ६ सय मेगावाटसम्म आयात–निर्यात गर्न पाउने व्यवस्था हुनु ठूलो सफलता भएको बताए । बैठकमा १३२ केभीका बुटबल–न्यू नौतनवा र कोहलपुर–नानपारा प्रसारण लाइनको प्रगतिबारे समीक्षा भएको थियो । हाल निर्माणाधीन आयोजना सम्पन्न भएपछि यस क्षेत्रको उद्योगमा विद्युत आपूर्तिका लागि सहज हुनेछ ।

६ महिनामा ६०० मेवा विद्युत उत्पादन

https://www.karobardaily.com/news/171499

 माघ ४, २०७८ मंगलबार

चालू आर्थिक वर्ष २०७८-०७९ को ६ महिनामा ६ सय मेगावाट विद्युत उत्पादन भएको छ । चालू वर्षभित्र १ हजार ६ सय २९ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखे पनि ६ महिनाको अवधिमा ११ आयोजनाबाट नौ मेगावाटको सौर्य (सोलार) सहित ५ सय ९८ मेगावाट उत्पादन भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, उत्पादन भएको बिजुलीमध्ये प्राधिकरणको सहायक कम्पनीबाट ४ सय ५६ तथा निजी क्षेत्रबाट १ सय ४२ मेगावाट उत्पादन भएको हो । सरकारले आर्थिक वर्ष २०७७-०७८ मा १ हजार ३ सय मेगावाट उत्पादन गर्ने लक्ष्य राखेकोमा १ सय ३१ मेगावाटमात्र उत्पादन भएको थियो ।
चालू वर्षको बजेटमा सरकारले विद्युत प्राधिकरणको सहायक कम्पनीअन्तर्गत माथिल्लो तामाकोसीसहित १ सय ११ मगावाटको रसुवागढी, ५६ मेगावाटको साञ्जेन र माथिल्लो साञ्जेन, ३७.६ मेगावाटको त्रिशूली–३ बी, ४० मेगावाटको राहुघाट र १ सय २ मेगावाटको मध्यभोटेकोसीका साथै निजी क्षेत्रबाट १ हजार ५५ मेगावाट उत्पादन गर्ने सार्वजनिक गरेको थियो । राष्ट्रिय योजना आयोगको पञ्चवर्षीय योजनाले भने आर्थिक वर्ष २०७७-०७८ मा ३ हजार १ सय ७९ मेगावाट र चालू वर्षमा ३ हजार ६ सय ९९ मेगावाट पु¥याउने लक्ष्य राखेको छ ।
६ महिना पुग्दा ६ सय मेगावाटमात्र उत्पादन भएको र बाँकी अवधिमा एक हजार थप उत्पादन हुने सम्भावना कम रहेको प्राधिकरणका एक अधिकारीले बताए । उनका अनुसार, प्राधिकरणका सहायक कम्पनीबाट निर्माण भइरहेका आयोजनाहरू नै चालू वर्र्षभित्र सम्पन्न हुने सम्भावना कम छ ।
प्राधिकरणका अनुसार, माथिल्लो तामाकोसीबाहेक सिंगटी हाइड्रो इनर्जी प्रालिद्वारा प्रवद्र्धित २५ मेगावाटको सिंगटी खोला, रिचेत जलविद्युत कम्पनीको ४.९८० मेगावाटको रिचेत खोला, अपि पावर कम्पनीको ४ मेगावाटको चन्द्रानिगापुर सोलार, सामलिङ पावर कम्पनी प्रालिको ९.५१० को माई बेनी र मनाङ ट्रेड लिंक प्रालिको २० मेगावाटको लोअर मोदी छ । यसैगरी सोलार फार्म प्रालिद्वारा निर्माण गरिएको ५ मेगावाटको बेलचौतारा सोलार, एसियन हाइड्रोपावरको ६.२०० मेगावाटको लोअर जोगमाई, ग्रिन भेन्चर प्रालिको ५२.४०० मेगावाटको लिखु–४, छ्याङदी हाइड्रोपावरको ४ मेगावाटको अपर छ्याङदी खोला र युनिभर्सल पावर कम्पनीको ११ मेगावाट लोअर खारे जलविद्युत आयोजनाको निर्माण कार्य पूरा भएर उत्पादन सुरु भएको विद्युत प्राधिकरणले जनाएको छ ।

आयोजना क्षमता (मेगावाट)
सिंगटी खोला २५
रिचेत खोला ४.९८०
अपर तामाकोसी ४५६
चन्द्रानिगाहापुर सोलार ४
माई बेनी ९.५१०
लोअर मोदी २०
बेलचौतारा सोलार ५
लोअर जोगमाई ६.२००
लिखु–४ ५२.४००
अपर छ्याङदी खोला ४
लोअर खारे ११
स्रोतः नेपाल विद्युत प्राधिकरण

Thursday, January 13, 2022

सय जलविद्युत कम्पनीको साधारणसभा प्रभावित

https://www.karobardaily.com/news/171062 

पुस २९, २०७८ बिहीबार

नेपाल विद्युत नियमन आयोग निष्कृय भएपछि एक सयभन्दा बढी जलविद्युत कम्पनीको साधारणसभा प्रभावित भएको छ । सरकारले आयोगका सदस्यहरुको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गरेपछि एक साता अघिदेखि अध्यक्ष र दुई सदस्य निलम्बनमा परेका छन् । योसँगै आयोगले काम गर्न नसक्दा जलविद्युत प्रवद्र्धक कम्पनीहरुको साधारणसभा प्रभावित भएको हो ।
पुसभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था भए पनि आईपीओ र हकप्रद सेयरका लागि आयोगबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईले आयोग निष्कृय हुँदा एक सयभन्दा बढी जलविद्युत कम्पनीका साधारणसभा प्रभावित भएको बताए ।
विद्युत ऐनमा जुनसुकै काम गर्नका लागि पनि आयोग पदाधिकारीहरुको निर्णय आवश्यक पर्ने उल्लेख छ । आयोगमा हाल सचिवको रुपमा गोकर्णराज पन्थ भएपनि उनीसँग कुनै पनि निर्णय गर्ने अधिकार छैन । “कानुनतः सचिवलाई अधिकार छैन, कतिपय स्वीकृतिका लागि आएका छन् तर अधिकार नभएकोले गर्न सकिएको छैन,” सचिव पन्थले भने । आयोग पदाधिकारीविहिन हुँदा कतिपय जलविद्युत कम्पनीले आफ्नो साधारणसभाबाट आईपिओ र हकप्रद सेयर जारी गर्ने निर्णय गरेपनि थप स्वीकृति लिन सकेका छैनन् ।
मन्त्रीपरिषदले विद्युत नियमन ऐन, २०७३ को दफा ९ अनुसार छानबिन समिति गठनसँगै अध्यक्ष डिल्लीबहादुर सिंह र सदस्यद्वय रामेश्वर कलवार र भगवती ज्ञवाली स्वतः निलम्बनमा परेका छन् । छानबिन समितिले उनीहरुको कार्यसम्पादन ठीक देखिएमा उनीहरु काममा फर्कन सक्नेछन् भने कार्यसम्पादन चित्तबुझ्दो नभएमा उनीहरुलाई सरकारले बर्खास्त गर्नेछ ।
कानुन विज्ञका अनुसार पदाधिकारीहरु बर्खास्तीमा परेमा पुनः आह्वान गरेर पदाधिकारी चयन नभएसम्म आयोगका सम्पूर्ण काम प्रभावित हुनेछन् । कानुनमै सचिवलाई अधिकार नभएकोले तत्काल कर्मचारीलाई अधिकार दिन संसद्बाट कानुन संशोधन गर्नुपर्नेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने आयोगका एक सदस्यका लागि दर्खास्त आह्वान गरिसकेको छ । ती सदस्य छिट्टै नियुक्ति हुने सम्भावना भए पनि उनले समेत आयोगको ऐन अनुसार काम गर्न पाउने अवस्था छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भुसालको प्रस्तावमा मन्त्रीपरिषदले पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा पूर्वसहसचिवद्वय विष्णु थापा र आशिष घिमिरे सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

Wednesday, January 12, 2022

विद्युत व्यापारमा नीतिगत समस्या र भू–राजनीति

https://www.karobardaily.com/news/170905 

पुस २८, २०७८ बुधबार

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान), नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) र नेपाल उद्योग परिसंघले काठमाडांैमा आयोजना गरेको नेपाल विद्युत बजार सम्मेलनमा नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारबारे बहस भएको छ । तीन देशबीच विद्युत व्यापारको सम्भावना पनि छ, तर यसका लागि केही नीतिगत र केही पूर्वाधारको अभावका समस्या छन् । नेपाल र भारतबीच त भूराजनीति समस्या अवरोधका रूपमा देखिएको छ । हालै भारतले आफ्नो सहायताका दुई आयोजनालाई निर्यात अनुमति दिनुले तेस्रो देशको संलग्नता रहेका आयोजनाहरूको बिजुली बेच्न समस्या देखिएको छ भने हालसम्म दुई देशबीच ढल्केबर–मुजफपुर अन्तरदेशीय प्रसारणलाइन मात्र छ । भारतले अन्तरदेशीय विद्युत व्यापार निर्देशिका बनाए पनि नेपालले हालसम्म बनाउन सकेको छैन । विद्यमान कानुनमा विद्युत व्यापारका लागि अनुमतिपत्र दिने व्यवस्था छैन भने विद्युत व्यापारका लागि प्रावधानहरू रहेको विद्युत विधेयक संसद्बाट पारित हुन सकेको छैन । यस कारणले पनि विद्युत व्यापारका लागि समस्या छ । सम्मेलनका क्रममा नेपाल र भारतका ऊर्जासँग सम्बन्धित विज्ञ तथा अधिकारीहरूले विद्युत व्यापारबारे व्यक्त गरेको विचार :

निजी क्षेत्रलाई अनुमति दिने तयारीमा छौं
पम्फा भुसाल, ऊर्जामन्त्री

आर्थिक तथा प्राविधिक दृष्टिकोणले हामी करिब ५० हजार मेगावाट जलविद्युत उत्पादन गर्न सक्छौं । हाम्रो हालको उत्पादन करिब २२ सय मेगावाट मात्रै रहेको छ । यस अर्थमा हामी प्रचुर स्वच्छ ऊर्जा उत्पादनको सुरुवाती चरणमा छौं । हामीले यहाँ उपलब्ध प्राकृतिक स्रोतसाधनको भरपुर उपयोग गरी राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरमै स्वच्छ ऊर्जामा योगदान गर्न सक्छौं ।
हाम्रो संविधानले राखेको समाजवादको लक्ष्य प्राप्तिका लागि देश आर्थिक रूपमा समृद्ध हुनु अपरिहार्य छ । विद्युत आर्थिक विकासका लागि कच्चा पदार्थ पनि हो । तसर्थ हामीले चाहेको समृद्धिका लागि विद्युत उत्पादन र खपत वृद्धि गर्दै लैजानुपर्नेछ । हाम्रो देशको प्रतिव्यक्ति विद्युतखपत न्यून रहेको छ । यसलाई कम्तीमा प्रतिव्यक्ति विद्युतखपत ७ सय युनिट पु¥याउनुपर्नेछ । यसका लागि हाम्रो आन्तरिक विद्युतखपत करिब पाँच हजार मेगावाट पु-याउनुपर्छ । हाल हाम्रो पिक आवरको विद्युतमाग करिब १६ सय ५० मेगावाट रहेको छ । सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजाने हो । यसका लागि सरकारले विद्युतीय चुलोको प्रयोग र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने नीति लिएको छ । अहिले निजी क्षेत्रबाट सञ्चालित उद्योगले मागेअनुसारको विद्युत उपलब्ध गराउँदै आएका छौं । साथै, हामीले बढी विद्युतखपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई विशेष आह्वानसमेत गर्दै आएका छौं ।
एकातिर हामीले विद्युत खपतलाई प्राथमिकतामा राखेको छौं भने अर्कातर्फ अन्तरदेशीय विद्युत व्यापारका लागि निरन्तर राजनीतिक एवं कूटनीतिक स्तरमा विचार विमर्श गर्दै आएका छौँ । यस किसिमको छलफललाई अझ तीव्रता दिँदै थप उपलब्धि हासिल गर्नेतर्फ नेपाल सरकार लागेको छ ।
हाम्रो विद्युतउत्पादन र खपतको वास्तविकता र यस क्षेत्रका मित्रराष्ट्रहरूको ऊर्जाको आवश्यकता पनि एकआपसमा सहकार्य गर्ने खालको छ । हाम्रोमा उत्पादन बढी हुँदा मित्रराष्ट्रमा विद्युतको माग बढी हुने गरेको छ । हाम्रोमा उत्पादन कम हुने समयमा उहाँहरूकोमा माग पनि कम हुने गरेको छ । यो विद्युतव्यापारका माध्यमबाट एकअर्काको आवश्यकता पूरा गर्ने महत्वपूर्ण अवसर हो ।
हामीले हालसालै विद्युत व्यापारको क्षेत्रमा भारतसँग महत्वपूर्ण सहमति गरेका छौं । जुन सहमति दक्षिण एसियाकै ऊर्जा व्यापारका सम्बन्धमा कोसेढुंगा बन्ने मैले विश्वास लिएको छु । यस्तै समझदारी बहुपक्षीयस्तरमा पनि गर्नुपर्नेछ । त्यसका लागि सरकारले विभिन्न स्तरबाट निरन्तर पहल गरिरहेको छ ।
नेपालको विद्युत उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको छ । पछिल्लो समयमा निजी क्षेत्रले ऊर्जा व्यापारका सम्बन्धमा पनि निरन्तर छलफल र बहस चलाएको छ । यो सराहनीय छ । हालै सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशीय विद्युत व्यापारको अनुमति प्रदान गरेको छ । मन्त्रालय अन्तरदेशीय विद्युतव्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि विद्युतव्यापारका लागि अनुमति दिने तयारीमा छ ।

विधेयक पारित भएपछि विद्युत व्यापार सहज हुनेछ
मधु भेटुवाल
सहसचिव, ऊर्जा मन्त्रालय

पहिलो त हामीले स्वदेशमै विद्युत्को बजार विस्तारका लागि अघि बढेका छौं । यसका लागि विभिन्न योजनाहरू अघि बढाउने चरणमा छौं । इन्डक्सन चुलो, विद्युतीय सवारी साधनको वृद्धिलगायतका कार्यक्रम अघि सारिएको छ । अहिले विद्युत प्राधिकरणले निजी क्षेत्रसँग पीपीए गरिरहेको छ । हाल २२ सय मेगावाटको उत्पादन क्षमता रहेकोमा हाल ३ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरू निर्माणाधीन छन् । धेरै आयोजनाहरूले पीपीएका आवेदन दिएका छन् । सरकारले २०८५ भित्र १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ । प्रतिव्यक्ति खपत १५ सय युनिट पु-याउने लक्ष्य छ । हाल त एकदम कम छ । यसकारण ऊर्जा खपत बढाउनुपर्ने आवश्यकता छ ।
पर्याप्त बिजुली भएपछि हामी व्यापारका लागि अघि बढ्छौं । छिमेकी मुलुकहरूसँग विद्युत व्यापारको सम्भावना छ । हाल नेपाल र भारतबीच विद्युत आदानप्रदान भइरहेको छ । विद्युत व्यापारलाई सहज बनाउनका लागि हामी कोसिस पनि गरिरहेका छौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत विधेयक संसद्मा पेस गरिसकेको छ । यो संसद्बाट पारित हुने चरणमा छ । विधेयक पारित भएपछि विद्युत व्यापारका लागि धेरै बाटो खुल्नेछ । यसमा स्पष्ट रूपमा विद्युत व्यापारका प्रावधानहरू समावेश गरिएको छ । विधेयक पारित भएपछि विद्युत व्यापारमा धेरै सहजता आउनेछ । दुई देशबीचको विद्युत व्यापारका लागि हामीले विभिन्न पहल गरिरहेका छौं । भारत र बंगलादेश दुवै देशसँग ऊर्जा सहकार्यका लागि संयन्त्र पनि छ । संयन्त्रमा पनि विद्युत व्यापारसहित यसका लागि आवश्यक पूर्वाधार निर्माणबारे योजना बनाएर अघि बढाएका छौं । पहिलो अन्तरदेशीय प्रसारणलाइन बनिसकेको छ भने अन्य निर्माणको चरणमा छन् । यसमा ढिलो भएको छैन । भारतले अन्तरदेशीय विद्युत व्यापार निर्देशिका ल्याइसकेको छ भने हामी पनि त्यसको तयारीमा छौं । दुवै देशबीच विद्युत व्यापारका लागि पहलकदमी गर्ने कार्य भइरहेको छ ।

तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्नुपर्छ
आरभी शाही
पूर्वसचिव, ऊर्जा मन्त्रालय, भारत

नेपाल र भारतबीच विद्युत व्यापारको कुरा बारम्बार भइरहेको छ । भुटानले बिजुली बेचेर आर्थिक रूपमा ठूलो प्रगति गरेको छ । पहिलो त नेपालले स्वदेशमै विद्युत खपत वृद्धिका लागि ध्यान दिनुपर्छ । खेर जाने बिजुली व्यापारका लागि अघि बढ्नुपर्छ । व्यापारका लागि यसको लागतमा ध्यान दिनुपर्ने हुन्छ । भारतले ५ लाख मेगावाटको सोलार निर्माणको योजना बनाएको छ । सोलारको लागत पनि सस्तो हुँदैछ । भारतले विद्युत व्यापारका लागि निर्देशिकासमेत जारी गरिसकेको छ । भारतले बंगलादेश, भुटान, श्रीलंका र नेपालसँग विद्युत व्यापारका लागि निर्देशिका बनाएर अघि बढिसकेको छ । छिमेकी देशहरूसँगको छलफलपछि पटक–पटक यसका प्रावधानमा परिवर्तन हुनसक्छ ।
भारतको सहभागितामा अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण भइरहेको छ । यी आयोजनाबाट उत्पादित बिजुली पनि नेपालबाट भारतको प्रणालीमा भविष्यमा आउने नै छ । खेर गइरहेको बिजुली भारतले किन्नका लागि केही नियमनका मुद्दा छन्, यसबारे छलफल भइरहेका छन् । अर्को महत्वपूर्ण कुरा भनेको विद्युतव्यापारका लागि पूर्वाधारको विस्तार नै हो । नीतिगत र पूर्वाधारसँगै विद्युतव्यापारका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्नुपर्छ । नेपालले धेरै आयोजनाहरू निर्माण गरिरहेको छ । यी आयोजनाबाट उत्पादन हुने बिजुली व्यापारका लागि क्षेत्रीय बजारको विस्तार आवश्यक छ । पछिल्लो १० वर्षमा दुई देशबीचको विद्युत व्यापार परिपक्व बन्दै गएको छ । विद्युत व्यापारका लागि सकारात्मक वातावरण बन्नु आवश्यक हुन्छ । भारत र नेपालबीचमा यसका लागि धेरै छलफल भइसकेका पनि छन् । दुई देशबीचमा विद्युत व्यापारका लागि ठूलो अवसर भएकाले यसको उपयोग गर्न दुवैको सकारात्मक पहल आवश्यक हुन्छ ।

छिमेकी देशमा बिजुली व्यापार गर्न कठिन छ
प्रबल अधिकारी
प्रमुख कार्यकारी अधिकृत, नेपाल विद्युत व्यापार कम्पनी

नेपाल पावर ट्रेडिङ कम्पनी नयाँ हो । योसँग आफ्नो बिजनेस प्लान छ, तर विद्युत व्यापारका लागि विश्वसनीयता महŒवपूर्ण हुन्छ । यसका लागि केही समय लाग्छ । अहिले विद्युत व्यापारमा विद्युत प्राधिकरण मात्र संलग्न छ । प्राधिकरणले निजी क्षेत्रसँग ६ हजार मेगावाटभन्दा बढी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । यसको व्यापार प्राधिकरणले गर्छ । नयाँ कम्पनीले विद्युत व्यापारका लागि नयाँ बिजनेस गर्नु आवश्यक छ । जहाँसम्म निजी क्षेत्रबाट स्थापना भएको नेपेक्स र प्राधिकरणको सहायक कम्पनी विद्युत व्यापार कम्पनी एक–अर्काका परिपूरक हुन्, एक–अर्काबीच प्रतिस्पर्धी होइनन् । नेपालका निजी क्षेत्रबाट विद्युत उत्पादन बढ्दो भएकाले यसको व्यापारमा र प्रसारणमा पनि सहभागिता गर्नु आवश्यक हुन्छ ।
विद्युतको बजार धेरै बहुआयामिक छ । द्विपक्षीय होइन, क्षेत्रीय रूपमै व्यापार सम्भव छ । यसका लागि द्विपक्षीय र बहुपक्षीय सहकार्य आवश्यक छ । तर, यसमा भूराजनीतिक स्वार्थले काम गरिरहेको छ । अमेरिका, युरोपमा विद्युत व्यापार किन सफल भएको छ भने यहाँ क्षेत्रीय सहकार्य र सम्बन्धले काम गरेको छ । यसका भूराजनीतिक बन्देज हटाउनुपर्छ । यसका लागि उच्च नेतृत्वको बलियो राजनीति प्रतिबद्धता आवश्यक हुन्छ । कूटनीतिक रूपमा यसका लागि पहल हुनुपर्छ । विद्युत व्यापारका लागि साझा कोड र पूर्वाधारसहित एकीकृत रूपमा नीति पनि आवश्यक हुन्छ । पर्याप्त प्रसारण लाइनको व्यवस्था भएपछि मात्र विद्युत व्यापार सम्भव हुन् । नेपाल र भारतबीच अहिले भएको अन्तरदेशीय प्रसारण लाइनको पूर्वाधार विद्युत व्यापारका लागि पर्याप्त छैन । अहिले एक मात्र अन्तरदेशीय प्रसारणलाइन छ । यसको क्षमता ८ सय मेगावाटभन्दा बढीको छैन । हामीसँग दोस्रो अन्तरदेशीय प्रसारणलाइन छैन । अहिले न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन प्रस्तावित गरिएको छ, तर यसका लागि कम्तीमा तीन–चार वर्ष लाग्छ । बंगलादेशसँगको व्यापारका लागि भारतीय प्रसारणलाइन उपयोग गर्नुपर्छ । बंगलादेश नेपालबाट बिजुली लैजान तयार छ, तर यसका लागि त्रिपक्षीय बैठक आवश्यक छ । दुई÷तीन वर्षदेखि यसका लागि पहल भइरहेको छ तर भइसकेको छैन । यसका लागि सरकारी स्तरबाट र राजनीतिक तहबाट पहल हुनु आवश्यक छ । यसका लागि आर्थिक कूटनीतिको भूमिका पनि महत्वपूर्ण हुन्छ ।
विश्व हरित ऊर्जातिर गइरहेको छ । कार्बन डाइअक्साइडको न्यूनीकरणको काम गरिरहेको बेला नेपालमा उत्पादन हुने सबै बिजुली स्वच्छ भएकाले भारतको प्रणालीका लागि पनि अपरिहार्य छ । भारतले नेपालको स्वच्छ ऊर्जा उपयोग गर्न सक्छ । यसका लागि भारतले अहिले देखिएको विद्युत व्यापारका अवरोधहरूलाई हटाउनुपर्छ । भारत सरकारले जारी गरेको अन्तरदेशीय विद्युत व्यापार निर्देशिकाले भारतसँग ऊर्जा सम्बन्ध भएकाबाहेकका देशहरूको सहभागितामा भएको विद्युतउत्पादनमा प्रतिबन्ध लगाएको छ । तेस्रो देशको सहभागितामा भएको उत्पादनलाई व्यापारका लागि अनुमति दिएको छैन । विद्यमान अवस्थामा छिमेकी देशहरूमा बिजुली व्यापार गर्न कठिन छ । तर, अहिले हामी सुरुवाती चरणमा छौं । क्रमिक रूपमा नेपाल सरकारले भारत सरकारलाई यसमा सुधारका लागि अनुरोध गर्नेछ । नेपालले पनि अन्तरदेशीय विद्युत व्यापार निर्देशिका बनाउँदै छ । दुवैबीचमा एकरूपता कायम भएमा आगामी दिनमा विद्युत व्यापार सहज हुनेछ ।

विद्युत व्यापार सत्ता राजनीतिभन्दा माथि हुनुपर्छ
विष्णु अग्रवाल
अध्यक्ष, नेपाल उद्योग परिसंघ

दक्षिण एसिया बिजुलीको भोको छ । दक्षिण एसियाको प्रतिव्यक्ति ऊर्जा खपत विश्वको भन्दा झन्डै तीन गुणाले कम छ । ऊर्जा खपत वृद्धिलाई छिमेकी देशहरूले बढी जोड दिइरहेका छन् । बंगलादेशलाई सन् २०४१ भित्र ५० हजार मेगावाट र भारतलाई सन् २०२७ भित्र ३ लाख मेगावाट बिजुली चाहिने प्रक्षेपण गरिएको छ । स्वच्छ ऊर्जाको माग उच्च भएकाले अन्तरदेशीय विद्युत व्यापारको सम्भावना पनि उच्च छ । तर, यसका लागि विक्रेता र खरिदकर्ताबीच स्पष्टता, राजनीतिक प्रतिबद्धता र दुवै देशका निकायबीच समन्वय आवश्यक छ ।
विद्युत व्यापारका लागि धेरै समय लाग्ने भएकाले यसमा धेरै चुनौती पनि छ । विद्युत खरिद गर्न चासो देखाएदेखि आयोजना सम्पन्न भएर कारोबार गर्नका लागि ५ देखि १० वर्ष समय लाग्छ । अर्को कुरा, विद्युत व्यापारमा संलग्न हुने देशभित्र जुनसुकै राजनीतिक परिवर्तन आए पनि विद्युत व्यापारलाई निरन्तरता दिनुपर्छ । विद्युत व्यापार सत्ता राजनीतिभन्दा माथि हुनुपर्छ । यसमा विद्युत किन्ने र बेच्ने दुवैको जितको अवस्था हुनुपर्छ । विद्युत व्यापारका लागि सरकार–सरकार तथा निजी क्षेत्र निजी क्षेत्रबीच समन्वय आवश्यक छ । हालसम्म पनि यस्तो समन्वय प्रभावकारी भएको छैन । नेपाल मात्र होइन, दक्षिण एसियाको समृद्धिका लागि पनि ऊर्जा व्यापार र खपत महŒवपूर्ण हुन्छ । यसका लागि अनुगमन र समन्वयको उपयुक्त संयन्त्र निर्धारण गरेर यसलाई संस्थागत रूपमा विकास गर्नुपर्छ । नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियान अघि बढाएको छ । यसका लागि विद्युत एउटा महत्वपूर्ण पक्ष हो । हामीले पनि विभिन्न देशसँग विद्युत व्यापारका लागि कुरा गरिरहेका छौं । हालै बंगलादेश पुग्दा त्यहाँबाट सन् २०४० सम्म १५ हजार मेगावाट स्वच्छ बिजुली खरिद गर्ने कुरा आयो । यो हाम्रो लागि महत्वपूर्ण कुरा हो । ऊर्जा व्यापारले नेपालसहित दक्षिण एसियाको विकासमा महत्वपूर्ण योगदान दिनेछ ।

लागतको आधारमा नेपालको बिजुली सस्तो छ
आशिष गर्ग
उपाध्यक्ष, इपान

निजी प्रवद्र्धकहरूले गठन गरेको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) ले भारतीय मनिकरण पावर लिमिटेडसँग ५ सय मेगावाट विद्युत बिक्रीका लागि सम्झौता गरेको छ । विद्युत बजार सम्मेलनमा भएको यो सहमतिलाई एउटा महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ । भारतको इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) को बजारमा मणिकरण सबैभन्दा ठूलो ट्रेडर कम्पनी रहेकाले योसँगको सम्झौताले विद्युतव्यापारका लागि धेरै सहयोग पुग्छ । मनिकरणले विद्युत व्यापारसँग नेपेक्सको क्षमता अभिवृद्धि, दीर्घकालीन विद्युत् खरिद गर्ने तथा नेपेक्समा १५ प्रतिशत रणनीतिक लगानीकर्ताका रूपमा लगानी गर्ने सम्झौता भएको छ । यसले पनि आगामी दिनमा विद्युत व्यापारका लागि सहयोग पुग्नेछ ।
हाल निर्माणाधीन आयोजनाहरूको अवस्था हेर्दा बिजुली खेर जाने अवस्था छ । नेपालको विद्युतको सम्भावना करिब ५७ हजार मेगावाट छ भने अहिले नै २५ हजार मेगावाट अध्ययनको विभिन्न चरणमा छन् । आगामी दुई–तीन वर्षमै निजी क्षेत्रबाट मात्र ३ हजार मेगावाट उत्पादन हुने अवस्था छ भने झन्डै ३ हजार मेगावाटमै निर्माण अघि बढ्ने अवस्थामा छन् । अहिलेको अवस्थालाई विश्लेषण गर्ने हो भने तीन वर्षमा विद्युतीय चुलोमार्फत २ हजार मेगावाट र विद्युतीय सवारी साधनको माध्यमबाट १ हजार मेगावाट खपतको सम्भावना देखिन्छ । तर, सबै उत्पादन हुने बिजुली खपत हुने अवस्था छैन । त्यसकारण व्यापार गर्नु आवश्यक छ । धेरैले नेपालको विद्युत महँगो भनिरहेका छन्, तर होइन । चौबीसै घण्टा उत्पादन हुने भएकाले सस्तो छ । लागतको आधारमा पनि नेपालको बिजुली सस्तो छ । यसकारण बिजुली व्यापार सम्भव छ । दरको तुलना गर्ने हो भने क्षेत्रीय रूपमा तुलना गर्दा नेपालको जलविद्युतवर्षामा झन्डै ७० प्रतिशत र हिउँदमा ३० प्रतिशत सस्तो छ । यसकारण विद्युत व्यापारका लागि नेपालले अन्तरदेशीय विद्युत व्यापार निर्देशिका बनाउनुपर्छ भने भारतीय निर्देशिकामा रहेका अवरोधहरू हटाउनुपर्छ । तत्कालीन र मध्यकालीन बजारमा निर्वाध रूपमा निजी क्षेत्रलाई पनि प्रवेश गर्ने वातावरण बनाउनुपर्छ ।


Tuesday, January 11, 2022

नेपेक्स र मनिकरण पावरबीच सम्झौता

https://www.karobardaily.com/news/170720

पुस २७, २०७८ मंगलबार

नेपालको निजी क्षेत्रले भारतीय कम्पनीसँग ५ सय मेगावाट बिक्रीका लागि सम्झौता गरेको छ ।
निजी प्रवद्र्धकहरूले गठन गरेको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) ले भारतीय मनिकरण पावर लिमिटेडबीच निजी क्षेत्रबाट बिजुली बेच्ने गरी पहिलो पटक सम्झौता गरेको हो । ४० हजार मेगावाट विद्युत खरिद गर्ने ग्राहक र २५ सय मेगावाट विद्युत खरिद गर्ने औद्योगिक ग्राहक रहेको मनिकरण विद्युत व्यापार गर्ने भारतको निजी कम्पनी हो । भारतको इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) को बजारमा मनिकरण सबैभन्दा ठूलो ट्रेडर पनि हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान), नेपेक्स र नेपाल उद्योग परिसंघले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल विद्युत बजार सम्मेलनमा नेपेक्सका कार्यकारी निर्देशक आशिष गर्ग र मनिकरणका कार्यकारी निर्देशक नवजित सिंह कल्सीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मनिकरणले नेपालको ५ सय मेगावाट विद्युत पावर एक्सचेन्ज लिमिटेडमार्फत खरिद गरेर भारतीय बजारमा बिक्री गर्नेछ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा नेपेक्सले तत्कालका लागि बर्खामा खेर जाने विद्युत मनिकरणमार्फत भारतीय बजारमा ५ सय मेगावाट बिजुली बिक्री गर्ने लगायतका चार बुँदे सम्झौता गरिएको गर्गले बताए । उनका अनुसार, मनिकरणसँग नेपेक्सको क्षमता अभिवृद्धि, दीर्घकालीन विद्युत् खरिद गर्ने तथा नेपेक्समा १५ प्रतिशत रणनीतिक लगानीकर्ताका रूपमा लगानी गर्ने सम्झौता भएको छ ।
निजी क्षेत्रले भारतीय कम्पनीसँग सम्झौता गरे पनि नेपेक्सले हालसम्म व्यापारको अनुमति भने पाएको छैन । नेपाल सरकारले दुई साताअघि नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीलाई विद्युत व्यापार अनुमति दिएको छ । सम्मेलनमा ऊर्जामन्त्री पम्झा भुसालले नेपेक्सलाई विद्युत व्यापारको अनुमति दिने गरी कार्यविधि बनाइरहेको बताइन् । उनले सरकारले स्वदेशमै विद्युत खपतका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताउँदै विद्युत व्यापारका लागि सरकारले प्रयास अघि बढाएको बताइन् ।
सम्मेलनमा भारतीय ऊर्जा मन्त्रालयका पूर्वसचिव आरभी शाहीले बिजुली बिक्रीका लागि नीति, नियम, लागत, पूर्वाधार मुख्य कुरा भएको बताउँदै दक्षिण एशियाबीचमा विद्युत व्यापारका लागि सहकार्य हुनुपर्ने बताए । दुई देशबीच विद्युत व्यापारका लागि उपलब्धता र वातावरण आवश्यक रहेको बताउँदै तत्कालीन, मध्यकालीन र दीर्घकालीन विद्युत व्यापारका लागि दुई देशले रणनीति बनाउनुपर्ने बताए ।
नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले उद्योग व्यवसायको लागत घटाउन तथा व्यापारका लागि बिजुलीको मूल्य घटाउनुपर्ने बताए । इपानका अध्यक्ष कृष्ण आचार्यले हालसम्म दुई देशबीच रोटीबेटीसँगै बिजुली आदानप्रदानको सम्बन्ध रहने गरी विद्युत व्यापार हुनुपर्ने बताए ।

‘बिजुली बिक्रीयोग्य तर अवरोधक कायमै छन्’
सरोकारवालाले नेपालको बिजुली भारतमा बेच्नका लागि योग्य भए पनि बिक्री गर्नका लागि अझै अवरोधकहरू कायम रहेको बताएका छन् ।
सोमबार आयोजित नेपाल विद्युत बजार सम्मेलनमा उनीहरूले नेपाल र भारतबीच विद्युत व्यापारका लागि अनुदार नीतिगत व्यवस्था र कमजोर पूर्वाधारका साथै भूराजनीति समस्या अवरोधको रुपमा रहेको बताएका हुन् । उनीहरूले हालै भारतले आफ्नो सहायताका दुई आयोजनालाई निर्यात अनुमति दिनुले तेस्रो देशको संलग्नता रहेका आयोजनाहरूको बिजुली बेच्न समस्या देखिएको, हालसम्म दुई देशबीच ढल्केबर–मुजफपुर अन्तरदेशीय प्रसारणलाइन मात्र निर्माण भएको र दोस्रो बुटबल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनका निर्माणमा ढिलाइ भएको तथा दुई देशबीच बिजुलीको विषय राजनीतिसँग जोडिएको भूराजनीतिले रोकेको भन्दै यी अवरोध नहटाएसम्म समस्या रहेको उनीहरुको भनाइ थियो । उनीहरूले नेपालको विद्युत ऐनमा स्पष्टसँग विद्युत व्यापार तथा विद्युत व्यापारका लागि अनुमतिपत्र दिने व्यवस्था नभएको तथा प्रस्तावित विद्युत विधेयक संसद्बाट पारित गर्न ढिलाइका कारणले समस्या भएको बताए ।
सम्मेलनमा ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटुवालले विद्युत व्यापारमा देखिएका समस्या समाधानका लागि दुई देशबीच भइरहेका द्विपक्षीय बैठकमा छलफल भइरहेको र समस्याहरु साँघुरिदै गएको बताए । विद्युत नियमन आयोगका सचिव गोकर्णराज पन्थले आयोगले विद्युत व्यापारका लागि अनुमति दिने व्यवस्था गरेको बताउँदै नेपालले अन्तरदेशीय विद्युत व्यापार निर्देशिकाको निर्माण अघि बढाएको बताए । विद्युत प्राधिकरणको सहायक नेपाल विद्युत व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवल अधिकारीले दुई देशबीचमा देखिएको भूराजनीतिको समस्या तथा भारतको अन्तरदेशीय विद्युत व्यापार निर्देशिकामा रहेको व्यवस्थाको कारण खुला रुपमा व्यापार गर्न नसकिएकाले यसलाई सच्चाउनुपर्ने बताए । हालसम्म विद्युत प्राधिकरणले ६ हजार मेगावाट क्षमता बराबरका निजी क्षेत्रका आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको बताउँदै नयाँ विद्युत व्यापार कम्पनीले व्यापारका लागि नयाँ पीपीए गर्नुपर्ने र नयाँ भएकाले यसमा सरकारी निकायको ग्यारेण्टीसमेत आवश्यक पर्ने बताए । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षामा नेपालको बिजुली खेर जान थालेको बताउँदै आगामी वर्षामा निर्यात बढाइने र निजी क्षेत्रसमेत व्यापारका लागि अग्रसर भएकाले व्यापारमा सहज हुने बताए ।
सरकारले आगामी पाँच वर्षभित्र ५ हजार मेगावाट विद्युत बिक्रीको लक्ष्य राखेको छ भने हाल ८ हजार मेगावाट क्षमता आयोजना निर्माणाधीन छन् । एनएमबी बैंकका निर्देशक उत्तम ब्लोनका अनुसार, हालसम्म बैंकले तीन खर्ब बराबरको जलविद्युतमा बैकको लगानी भइसकेको छ भने निर्माणाधीन आयोजनाका लागि ६ खर्ब लगानी गरिसकेको छ भने तीन खर्ब लगानीको चरणमा छन् । उनले सन् २०३० सम्म १५ हजार मेगावाट बनाउन अर्को थप ५ खर्बसहित आगामी तीन वर्षभित्र थप २० खर्ब लगानी आवश्यक देखिएको बताए ।

जलविद्युत आयोजनाका काम ठप्प

https://www.karobardaily.com/news/170225 

पुस २२, २०७८ बिहीबार

सरकारले विद्युत नियमन आयोगका सदस्यहरूको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गरेपछि अध्यक्ष र दुई सदस्य निलम्बनमा परेका छन् । १० दिनअघि मन्त्रिपरिषद्ले विद्युत नियमन ऐन, २०७३ को दफा ९ अनुसार छानबिन समिति गठन गरेर मुख्य सचिवबाट निर्णय प्रमाणित भई मंगलबार प्रमाणित आएलगत्तै अध्यक्ष डिल्लीबहादुर सिंह र सदस्यद्वय रामेश्वर कलवार र भगवती ज्ञवाली स्वतः निलम्बनमा परेका हुन् ।
पाँच सदस्यमध्ये यसअघि नै रामकृष्ण खतिवडा र डा। रामप्रसाद धितालले राजीनामा दिइसकेका छन् । डा। धितालले भने हालैमात्र राजीनामा दिएका हुन् । वैशाख २०७६ मा पाँच वर्षका लागि आयोगका अध्यक्षलगायतका पदाधिकारी नियुक्त भएका थिए भने तत्कालीन केपी शर्मा ओलीको सरकारले उनीहरूलाई नियुक्त गरेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालको प्रस्तावमा मन्त्रिपरिषद्ले पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा पूर्वसहसचिवद्वय विष्णु थापा र आशिष घिमिरे सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ऐनको दफा ९ मा अध्यक्ष वा कुनै अध्यक्ष वा कुनै सदस्यमा कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा दफा ६ बमोजिम निज अयोग्य भएको वा यस ऐनबमोजिम निजले पदीय दायित्व पूरा नगरेको देखिएमा सरकारले त्यस्तो विषयमा छानबिन गर्न छानबिन समिति गठन गर्नसक्ने उल्लेख छ ।
छानबिन समिति गठन भएको मन्त्रिपरिषद्को निर्णय मंगलबार मुख्य सचिवबाट प्रमाणित भएर आएको र नियमन ऐन २०७३ को दफा ९ बमोजिम स्वतः अध्यक्षलगायतका सदस्यहरूलाई कामकाज गर्न नमिल्ने ऊर्जासचिव देवेन्द्र कार्कीले जानकारी दिए । छानबिन समितिले प्रतिवेदन पेश गर्ने र प्रतिवेदनले कार्य सम्पादन चित्त नबुझेर हटाउन सिफारिस गरेमा मन्त्रिपरिषद्लाई उनीहरूलाई हटाउन बाटो खुल्नेछ ।
उनीहरूमाथि आफ्नो दायित्वअनुसारको काम नगरेको, निर्णय प्रकृयामा ढिलाइ गरेको लगायतका कारण देखाइएको छ । अध्यक्ष सिंह भने हालसम्म छानबिन समितिबाट पत्र नआइसकेको बताउँछन् । “हामीले पनि छानबिन समिति गठन गरेको हल्ला सुनेका हौं, सीमित स्रोत साधनबीच पनि ७५ प्रतिशतभन्दा बढी प्रगति हासिल गरेका छांै,” उनले भने, “कुन नियतले हटाउन लागिएको हो, यसबारे हामीलाई थाहा छैन । अध्यक्षभन्दा पनि एकमुष्ट रूपमा सबैलाई हटाउने उद्देश्य हेर्दा यसमा असल नियत देखिँदैन ।” मन्त्रालयले भने बुधबार अध्यक्षलगायतलाई छानबिन समितिको पत्र दिन लागेको जनाएको छ ।
१० दिनअघि मन्त्रिपरिषद्ले छानबिन समिति गठन गरेको चर्चासँगै एक सातादेखि आयोगका पदाधिकारीले कुनै काम गरेका छैनन् । एक सातादेखि ठप्प भएको काम कहिलेसम्म ठप्प हुने अनिश्चित बनेको छ । आयोग स्रोतका अनुसार आयोगका जुनसुकै निर्णयका लागि समेत आयोग पदाधिकारीको निर्णय चाहिने हुन्छ भने त्यहाँ कार्यरत कर्मचारीलाई कुनै निर्णयको अधिकार छैन । “एक सातादेखि आयोगको काम ठप्प छ, अब छानबिन समितिले छानबिन गरेर यसको निक्र्योल गरी हटाएमा अर्को दुई÷तीन महिना पूर्णरूपमा आयोगको काम ठप्प हुन्छ,” आयोग स्रोतले भन्यो, “जलविद्युत आयोजनाका सेयरदेखि व्यापारिक उत्पादन मिति ९आरसीओडी० को म्याद थपलगायतका थुप्रै काम अलपत्र परेका छन्, सबै अधिकार आयोगलाई भएकाले कर्मचारीबाट कुनै काम हुने सम्भावना छैन ।”

Tuesday, January 4, 2022

सुनकोसी तेस्रोको लागत डेढ खर्ब

https://www.karobardaily.com/news/170022 

पुस २१, २०७८ बुधबार

लागत डेढ खर्ब, प्रभावित घरधुरी ४४ सय



विद्युत विकास विभागले गरेको सम्भाव्यता तथा वातावरणीय अध्ययनले सुनकोसी तेस्रो जलविद्युत आयोजनाको लागत १३३.१०२ करोड डलर अर्थात १ खर्ब ५८ अर्ब देखाएको छ ।
काठमाडौंबाट ८२ किलोमिटर नजिक रहेको र ४५ किलोमिटर जलाशय फैलने सो ६८३ मेगावाटको सो जलाशययुक्त आयोजनाको लागत निर्माण अवधिको बैंक ब्याजबाहेक यति हो ।
जापान सहयोग नियोग (जाइका) ले जलाशययुक्त आयोजना मध्ये बागमती प्रदेशबाट सुनकोसी तेस्रो उत्कृष्ट आयोजनाको रुपमा छनोट गरेको थियो । अध्ययनमा संलग्न इन्जिनियरिङ सुवास थपलियाले लागत, वातावरण र जलविद्युतको लोडसेन्टरबाट नजिक रहेकाले सुनकोसी तेस्रो तुलनात्मक रुपमा राम्रो आयोजना देखिएको बताए ।
निर्माणको चर्चामा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनाको लागत करिब ४ खर्ब पुग्ने अनुमान गरिएको सोको तुलनामा सुनकोसी तेस्रो जलाशययुक्त आयोजनाको लागत कम हो । बुढीगण्डकीमा १० हजार घरधुरी विष्थापित हुनेमा यस आयोजनामा भने ४ हजार ४ सय २३ घरधुरी विस्थापित हुने विद्युत विकास विभागले तयार गरेको वातावरण प्रभाव मूल्यांकन (ईआए) को प्रतिवेदनमा उल्लेख छ । विस्थापित हुनेमध्ये ७ सय गोठ छन् ।
२ हजार ३ सय ५६.२७ गिगावाट आवर वार्षिक ऊर्जा उत्पादन हुने आयोजनाबाट सुख्यायाममा ६ सय ३२.२८ गिगावाट आवर विद्युत उत्पादन हुनेछ भने यसबाट पाँच हजारलाई प्रत्यक्ष रोजगारी हुने प्रतिवेदनले जनाएको छ । आयोजनाको आयु ११५ वर्षको हुनेछ । आयोजना बनेपछि प्रभावित क्षेत्रका स्थानीय निकायले १० वर्षसम्म वार्षिक ३० करोड र १० वर्षपछि वार्षिक १ अर्ब ७५ करोड रोयल्टीवापत पाउने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार, काभे्रको तेमाल र रामेछापको खाँडादेवीमा बाँध निर्माण हुनेछ भने काभ्रे, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वडा प्रभावित हुनेछन् । प्रतिवेदन अनुसार, २३ सय हेक्टर वन क्षेत्र आवश्यक रहने यस आयोजनामा अधिकांश पुष्पलाल र अरनिको राजमार्गको सडक खण्डसमेत प्रभावित हुनेछ । आयोजनाका लागि ४ सय केभीको ४५ किलोमिटर प्रसारण लाइन पुग्ने अध्ययनले देखाएको छ ।
आयोजना निर्माणका लागि बंगलादेशले चासो देखाएको छ । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकले सुनकोसी तेस्रो बंगलादेशलाई निर्माण गर्न दिने प्रस्ताव अनुमोदन समेत गरिसकेको छ ।
आयोजना निर्माण भएमा आयोजना अवधिभर वार्षिक रुपमा साढे दुई अर्ब बराबरको राजस्व समेत संकलन हुने प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माण गर्न सकेमा उक्त आयोजना नेपालकै सबैभन्दा राम्रो पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्न सकिने अवस्था र यहाँ ¥याफटिङ, फिसिङ, सुन्दर होटेल निर्माण लगायत गरेर तिमाल, कोसीपारी र दोलालघाट क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना छ । आयोजना बनाउन सकेमा सुख्खा हुने हिउँदमा नेपालको तराईका साथै भारतमा समेत सिँचाइको सुविधा पुग्नेछ भने सुनकोसी तेस्रो मुनि बन्न लागेका सुनकोसी दोस्रो, सप्तकोसी बाँधका साथै कोसीभरी निर्माण हुने सबै आयोजनालाई समेत ठूलो फाइदा पुग्नेछ । १९८२ सालमा भारतको गंगा नदीबाट सप्तकोसी हुँदै दोलालघाटसम्म पानी जहाज ल्याउने योजना रहेपनि अलपत्र परेकोमा उक्त पानी जहाज ल्याउनका लागि समेत उपयुक्त हुने अपेक्षा गरिएको छ ।
आयोजना निर्माणको क्रममा भने ९६ हजार ६ सय ३० रुख हटाउनुपर्ने भएपनि यस क्षेत्रमा भने ९ लाख ६६ हजार ३ सय रुख रोपिने तथा २७ अर्ब बराबरको निजी जग्गा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । जलाशयबाट सुनकोसी नदीतर्फ बलेफी तथा इन्द्रावतीतर्फ तामाघाटसम्म डुबानमा पर्नेछ भने यसका लागि ४ हजार १३ हेक्टर जमिन आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माण गर्दा बलेफी, दोलालघाट, सुकुटेलगायतका बजार प्रभावित हुनेछन् ।