Monday, April 30, 2018

अरुण तेस्रोको शिलान्यास वैशाख अन्तिम साता

सोमवार, बैशाख १७, २०७५
लामो राजनीतिक विवादमा फसेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास वैशाख अन्तिम साता हुने भएको छ । आगामी वैशाख २८ र २९ गते हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा आयोजना शिलान्यास हुन लागेको हो । 
केही दिनभित्र लगानी बोर्डले अरुण तेस्रो आयोजनालाई उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) दिने र भारतीय प्रधानमन्त्री मोदीको क्रममा शिलान्यास गर्ने योजना छ । लगानी बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्ले औपचारिक रूपमा शिलान्यासको पत्र नआए पनि अनौपचारिक रूपमा जानकारी आएकोले तयारीको लागि अघि बढेको बताउँछन् । “वैशाख २८ र २९ गतेसम्म एक दिन अरुण तेस्रोको शिलान्यास गर्ने योजना रहेको जानकारी आएको छ, सो अनुसार तयारी अघि बढाउन लागेका छौं,” उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा संखुवासभास्थित आयोजना स्थल गएर आयोजना शिलान्यास गर्ने कार्यक्रम छ । यसअघि पनि गत असोजमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री मोदीले शिलान्यास गर्ने कार्यक्रम भए पनि भ्रमण स्थगित भएपछि रोकिएको थियो । हालै प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा चैत २४ गते हैरादावाद हाउसबाट अरुण तेस्रोको शिलान्यास गर्ने कार्यक्रम राखे पनि आयोजनाको उत्पादन अनुमतिपत्रबारे विवाद देखिएपछि शिलान्यास रोकिएको थियो । छिमेकी राष्ट्र भारतका दुई कम्पनी सतलजले अरुण तेस्रो र जीएमआरले ९ सय मेगावाटकै माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गरिरहेकोमा विदेशी लगानीकर्ताले भने यी दुई आयोजनाको निर्माणलाई चासोका साथ हेरिरहेका छन् । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा नेपालमा ठूला आयोजनाहरू निर्माणमा लामो समय लागिरहेका बेला नेपालमा लगानी गर्न चाहेर पर्ख र हेर रणनीतिमा रहेका ठूला लगानीकर्ताका लागि अरुण तेस्रोको शिलान्यासले सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।
सन् २००८ मा भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेबीएन) ले प्रतिस्पर्धाको आधारमा लाइसेन्स लिएको सो आयोजनाको सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । २०४३ सालदेखि सुरु भएर विश्व बैंकले लगानी गर्ने गरी अघि बढेको आयोजनाबारे २०५१ कात्तिकमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले विवादित आयोजना भन्दै रद्द गर्न विश्व बैंकलाई पत्र लेखेका थिए । यसपछिको विकसित अन्योलका कारण बंैकले २०५२ असारमा अरुण तेस्रोबाट हात झिकेको थियो । अरुण तेस्रोबाट हात झिक्नुलाई नेपालको जलविद्युत् विकासका लागि दुःखद घटनाको रूपमा लिइन्छ ।
१ खर्ब ४ अर्ब कुल लागत अनुमान गरिएको आयोजनाको लागि वित्तीय व्यवस्थापन भइसकेको छ । भारतीय सरकारी कम्पनीद्वारा निर्माणाधीन सो आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रूपैयाँ बजेट उपलब्ध गराएको छ । पीडीएअनुसार भारत निर्यात हुने आयोजना निर्माण भएपछि नेपालले २१.९ प्रतिशत निःशुल्क ऊर्जा पाउनेछ । यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुलीसँगै करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रूपैयाँ लाभ पाउने लगानी बोर्डले जनाएको छ ।
६ महिना म्याद थप
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले अरुण तेस्रो आयोजनाको वित्तिय व्यवस्थापनका समय ६ महिना थप गरेको छ । गत कात्तिक अन्तिम साता बसेको बेठकले पनि अरुण तेस्रोको वित्तिय व्यवस्थापनको समय ६ महिना थपेको थियो भने २०७३ पुसमा नौ महिनाका लागि समय थपिएको थियो ।
सात ठूला आयोजनालाई स्वीकृति
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेलसम्म पुग्ने मेट्रोरेलसहित ६ ठूला आयोजनाको सम्भाव्यता अध्ययन अघि बढाउनका लागि आशयपत्र सम्बन्धी कागजपत्र स्वीकृति गर्ने निर्णय गरेको छ । साथै बैठकले सरकारलाई कुनै आर्थिक दायित्व नपर्ने गरी बिरेठाँटीदेखि मुक्तिनाथसम्मको केवलकार आयोजना निर्माण गर्न मुक्तिनाथ दर्शन प्रालिलाई स्वीकृति दिने निर्णय समेत गरेको बोर्डका सहसचिव एवं प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । 
उनका अनुसार, मेट्रोरेल निर्माण तथा सञ्चालन गर्नका लागि विस्तृत सम्भाव्यता अध्ययनका कार्य अघि बढाउन तयार पारिएको आशयपत्रलाई स्वीकृति गरी आवश्यक प्रकृया अघि बढाउनका लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । यो स्वीकृतिसँगै ३७ किलोमिटर लामो मेट्रोरेलको अध्ययन अघि बढ्नेछ । बैठकले सरकारको स्रोतबाट सिसा उद्योग, से–फोक्सुण्डो लक्जरी रिसोर्ट, एकीकृत कृषि परियोजना, स्की रिसोर्ट र स्वास्थ्य, शिक्षा तथा खेलकुद सहरको सम्भाव्यता अध्ययनका लागि आशयपत्र सम्बन्धी कागजपत्र स्वीकृति गरेको छ । 
बैठकमा प्रधानमन्त्री ओलीले विकासको गतिलाई तीव्र बनाई अर्थतन्त्रलाई समेत गतिशिल बनाउनुपर्नेमा जोड दिँदै विकास निर्माणका काममा कुनै कानुनी अवरोध भए सोको निराकरणका लागि प्रस्ताव गर्न बोर्डलाई निर्देशन दिएका थिए ।

Sunday, April 29, 2018

फेरि थपियो पञ्चेश्वर ‘डीपीआर’को म्याद

https://karobardaily.com/news/development/4655
आइतवार, बैशाख १६, २०७५
बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि परामर्शदाताको फेरि म्याद थपिएको छ । बिहीबार बसेको पञ्चेश्वर विकास प्राधिकरणको कार्यकारिणी परिषद् (गभर्नेन्स काउन्सिल) बैठकले डीपीआर तयार गरिरहेको परामर्शदाता वाकपोसको म्याद आगामी डिसेम्बर २०१८ सम्मका लागि थप गरिएको हो । 
प्राधिकरणको गत मंसिरमा बसेको बैठकले ६ महिनाभित्र एकीकृत डीपीआर तयार गर्ने गरी वाकपोसलाई जिम्मेवारी दिएको थियो, तर समयमै तयार नभएपछि डीपीआरको म्याद पटक–पटक थपिँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले डीपीआरका लागि थप वातावरण अध्ययन गर्नुपर्ने देखिएकोले परामर्शदाताको म्याद आगामी डिसेम्बरसम्मका लागि थप गरिएको जानकारी दिए । “वनजंगल, रुख कटानलगायतका केही वातावरणीय पक्षबारे थप अध्ययन गर्नुपर्ने देखिएकोले डीपीआर निर्माण गरिरहेको परामर्शदाताको म्याद थपिएको छ,” उनले भने, “डीपीआरलाई अन्तिम रूप दिन बनाइएको विज्ञ समूहको बैठक आगामी मेमा गर्ने गरी दुई देशका प्रतिनिधिहरूबीच छलफलसमेत भएको छ ।” ३१ मे २०१८ सम्मका लागि विज्ञ समूहको समेत म्याद थपिसकिएको प्राधिकरणले जनाएको छ । 
सन् २०५२ माघमा नेपाल र भारतबीच महाकाली सन्धिअनुसार अघि बढाउने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारेको सम्झौतामा भने ६ महिनाभित्र डीपीआर गर्ने उल्लेख थियो । तर, १९ वर्षपछि साउन २०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा आयोजनाको कार्यादेश (टीओआर) पारित भएको थियो । त्यसपछि गठित प्राधिकरणले ६ महिनाभित्र सम्पन्न गर्ने भनिएको डीपीआर नटुंगिँदा पञ्चेश्वरको काम अघि बढ्न सकेको छैन । यसका लागि विज्ञ समूहसमेत गठन गरिएको छ । सन् २०१७ मा दुई पटक विज्ञहरूको बैठक भने बसेको थियो, तर डीपीआरलाई अन्तिम रूप दिन अझै दिइएको छैन । पानी र मुनाफा बाँटफाँटलगायत विषयमा दुई देशबीच टुंगो लाग्न नसक्दा डीपीआरले अन्तिम रूप पाएको छैन । 
डीपीआरले अन्तिम रूप नपाएको कारणले सन् २०१८ का लागि बैठकले ३६ करोड रुपैयाँबराबर बजेट विनियोजन गरेको छ । प्राधिकरणले भने १ अर्ब २० करोड प्रस्ताव गरे पनि डीपीआरलाई अन्तिम रूप नदिई पुनर्बास, पुनस्र्थापना, पहुँच मार्गलगायतका काम अघि नबढाउने भन्दै बजेट थोरै छुट्याइएको छ । बजेटअन्तर्गत प्रशासनिकका साथै पुँजीगततर्फ तथ्यांक संकलन, भूकम्प मापद केन्द्रलगायतका काम अघि बढ्नेछन् । 
आगामी १० जुनदेखि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङको समय सकिन लागेकोले त्यसपछि भने प्रमुख कार्यकारी अधिकृत भारतीय हुनेछन् । जुनदेखि पुनर्बास, प्राविधिक र आर्थिकतर्फका तीन निर्देशक भारतका रहेकोमा नेपालतर्फका तथा कानुन, वातावरण र प्रशासनतर्फ नेपालका रहेकोमा भारतीय निर्देशक नियुक्त हुनेछन् ।

Saturday, April 28, 2018

बुटवल–गोरखपुर प्रशारणलाइनमा ‘एकल बुकिङ’ अन्त्य

https://karobardaily.com/news/development/4622
शुक्रवार, बैशाख १४, २०७५
नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि प्रस्ताव गरिएको दोस्रो चार सय केभीको बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारणलाइन आयोजना एकल बुकिङ अन्त्य गर्ने गरी निर्माण गरिने भएको छ । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि निर्माण गरिएको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारणलाइनमा नेपालले एकल क्षमता र ऊर्जाको बुकिङ गरेकोमा यसलाई अन्त्य गरी निर्माण गरिने भएको हो । 
कम्पनी मोडलमा निर्माण गरिएको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारणलाइनको सम्पूर्ण लागत २५ वर्षसम्म एकल रुपमा नेपालले तिर्ने गरी निर्माण गरिएको थियो । जसअनुसार हाल बर्सेनि नेपालले १ अर्ब ८ करोड रुपैयाँ तिरिरहेको छ भने भारतले कुनै रकम तिर्नुपर्दैन । तर, अहिले बुटबल–गोरखपुर अन्तरदेशीय प्रशारणलाइनमा भने एकल बुकिङ नगरी दुवै पक्षले बेहोर्ने गरी अघि बढ्ने निर्णय भएको छ । “नेपालले आयात गर्ने केही समयका लागि नेपालले र त्यसपछि भारतले प्रशारणलाइन खर्च बेहोर्ने गरी अघि बढ्ने सहमति भएको छ,” ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले भने, “पहिलो अन्तरदेशीय प्रशारणलाइनमा जस्तो एकल अवस्था छैन । कति समय गर्ने भन्ने निर्धारण भने नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले तीन महिनामा गर्ने सहमति भएको छ ।”
दुई देशबीचको ऊर्जा व्यापार सम्झौता (पीटीए) अन्तर्गत भारतमा ३ र ४ वैशाखमा सचिव र सह–सचिवस्तरीय बैठकले नेपालतर्फको भूभाग नेपालले र भारततर्फको भूभागमा पर्ने प्रशारणलाइन व्यापार तवरमा लगानी गर्ने विषयमा छलफल भएको तथा शुल्क बेहोर्नेबारे नेपालको विद्युत् प्राधिकरण र भारतको केन्द्रीय प्राधिकरणले विस्तृत अध्ययन गर्ने उल्लेख छ । प्रशारणलाइन अन्तर्गत नेपालतर्फ २० किलोमिटर हुने र यसको लागत ३ अर्ब २९ करोड हुने बताइएको छ । भारतर्फ १ सय २० किलोमिटर हुने र यसको लागत ८ अर्ब २४ करोड लाग्ने अनुमान गरिएको छ । बैठकमा नेपालले प्रशारणलाइन सरकार–सरकार (जीटुजी) अर्थात् आ–आफ्नो देशले बनाउन प्रस्ताव गरे पनि व्यावसायिक रूपमा बनाउनुपर्ने भन्दै भारतले यसलाई अस्वीकार गरेको थियो । तर, एकल बुकिङ अन्त्यसँगै विद्युत् आयातमात्र गर्दै आएकोले प्रशारणलाइन बनेमा नेपालले विद्युत् निर्यातका लागिसमेत प्रशारणलाइनको लागि वातावरण बनेको बैठकमा सहभागीहरूको बु्झाइ छ । “सुरुका केही वर्ष नेपालले आयात र बाँकी भारतले आयात गर्न सक्ने गरी अन्तरदेशीय प्रशारणलाइन अघि बढ्ने छलफल भएको छ । यसलाई आगामी दिनका लागि सहज वातावरण बन्दै गएको भन्न सकिन्छ,” विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, “नेपाल र भारतका विद्युत् प्राधिकरणले यसबारे अध्ययन गरेर समय तालिकासहितको प्रतिवेदन दिन्छ ।”

Thursday, April 26, 2018

चार महिनामा विद्युत् आयात ४८ प्रतिशत

https://karobardaily.com/news/economy/4584
बिहिवार, बैशाख १३, २०७५
पछिल्ला चार महिनामा मात्र नेपालले भारतबाट कुल विद्युत् आपूर्तिमध्ये ४८ प्रतिशत आयात गरेको छ । मंसिर, पुस, माघ र फागुनमा २०७७.९४ गिगावाट आवर विद्युत् खपत भएकोमा नेपाल विद्युत् प्राधिकरणले भारतबाटमात्र ९९७.८२ गिगावाट आवर विद्युत् आयात गरेको हो । पछिल्ला चार महिनामा मात्र नेपालले भारतबाट कुल विद्युत् आपूर्तिमध्ये ४८ प्रतिशत आयात गरेको छ । मंसिर, पुस, माघ र फागुनमा २०७७.९४ गिगावाट आवर विद्युत् खपत भएकोमा नेपाल विद्युत् प्राधिकरणले भारतबाटमात्र ९९७.८२ गिगावाट आवर विद्युत् आयात गरेको हो । रकमको हिसाबले चार महिनामामात्र करिब ८ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात भएको छ । चार महिनाको अवधिमा कुल आपूर्तिमध्ये नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका आयोजनाको हिस्सा ५५८.५६ गिगावाटआवर र निजी क्षेत्रको ५२१.५० गिगावाट छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको दोस्रो चौमासिक समीक्षामा प्रस्तुत गरेको तथ्यांकअनुसार, माघ र फागुन महिनामा भने कुल आपूर्ति विद्युत्मध्ये ५६ प्रतिशत बराबर भारतबाट आयात भएको छ । विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्र (एलडीसी) ले मन्त्रालयमा उपलब्ध गराएको विवरणअनुसार माघमा कुल आपूर्ति ५३१.४६ गिगावाट आवर रहेकोमा भारतबाट आयात मात्र २९५.६६ गिगावाट आवर भएको थियो, जुन ५५.६३ प्रतिशत हो । त्यसैगरी, फागुनमा कुल आपूर्ति ५२३.४५ गिगावाट रहेकोमा भारतबाट आयात मात्र २९६.६६ गिगावाट आवर भएको थियो । जुन ५६.६७ प्रतिशत हो । त्यसैगरी मंसिरमा ४९०.१६ गिगावाटआवर कुल आपूर्तिमध्ये १४६.२९ गिगावाटआवर र पुसमा ५३२.८५ गिगावाट आवरमध्ये २५९.२२ गिगावाटआवर भारतबाट आयात भएको थियो ।  मध्यावधी समीक्षामा ऊर्जा मन्त्रालयका सहसचिव प्रवीण अर्यालले प्रस्तुत गरेको साविकको ऊर्जा मन्त्रालयलाई चालू वर्षमा ७० अर्ब ५६ करोड ५९ लाख बराबरको बजेट रहेको र त्योमध्ये दोस्रो चौमासिकमा २३ अर्ब ७७ करोड ७ लाख बजेट रहेकोमा भौतिकतर्फ ३९.४५ र वित्तीयतर्फ ८४.०३ प्रतिशत खर्च भएको छ । मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागको भौतिक प्रगतितर्फ  ५०.७ प्रतिशत र वित्तीय प्रगतितर्फ २३.१८ प्रतिशत तथा प्राधिकरणतर्फ भौतिक प्रगति ५४.३ प्रतिशत र वित्तीय प्रगति ५०.८४ प्रतिशत भएको छ । यसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको भौतिक प्रगति २४.५ प्रतिशत र वित्तीय प्रगति ४७.६८ प्रतिशत छ । ऊर्जा मन्त्रालयअन्तर्गत पहिलो प्राथमिकताका ३७, दोस्रो प्राथमिकताका ३ र तेस्रो प्राथमिकताका २ गरी ४२ आयोजना तथा कार्यक्रम रहेकोमा भौतिक प्रगतितर्फ क्रमशः ८० प्रतिशत माथिका ६, ५० देखि ८० प्रतिशतसम्मका १३ र ५० प्रतिशतभन्दा कमका २३ आयोजना छन् ।

Wednesday, April 25, 2018

ऊर्जालाई प्राथमिकता दिने नीति तथा कार्यक्रम

बुधवार, बैशाख १२, २०७५
सरकारका विभिन्न मन्त्रालय आगामी आर्थिक वर्ष ०७५-७६ का लागि नीति तथा कार्यक्रम बनाउन जुटिरहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसको तयारी गरिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी ऊर्जा क्षेत्रको योगदान रहने गरी अघि बढ्ने र यसका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरेर अघि बढ्ने घोषणा गरेका छन् । लामो समयदेखि राजनीतिक अस्थिरता, प्रशासनिक झन्झट, स्थानीय स्तरमा विभिन्न समस्या भोग्दै आएका जलविद्युत् आयोजनाका प्रवद्र्धकहरूले राजनीतिक अस्थिरताको अन्त्य र स्थानीय तहमा समेत जनप्रतिनिधि आइसकेको अवस्थामा सबै किसिमका अवरोध हट्ने विश्वास गर्दै आएका छन् । मन्त्रालयले नयाँ नीति तथा कार्यक्रम निर्माण अन्तिम चरणमा पुगेका बेला जलविद्युत् क्षेत्रमा संलग्न प्रवद्र्धक, नीति–निर्माण तहका अनुभवी विज्ञ तथा व्यवसायीहरूसँग कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :
राज्यले गरेका प्रतिबद्धता पूरा गर्नैपर्छ 

शैलेन्द्र गुरागाईं
अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) 
जलविद्युत् क्षेत्रलाई माइलस्टोनकै रूप मानेर सरकारले नीति तथा योजना बनाएको छ । १० वर्षभित्र १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य छ । वाम सरकारले १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ । सरकारले सन् २०३० भित्र देशलाई डिजेल र पेट्रोलमुक्त मुलुक अर्थात् ग्रिन इनर्जी रहेको मुलुक बनाउने भनेको छ । यसले धेरै अर्थमा जलविद्युत्लाई जोड दिएको दिइन्छ । हुन पनि पछिल्लो समयमा विद्युत् उत्पादनको अवस्था बढेको छ । १ सय ७ वर्षमा बल्ल १ हजार मेगावाट विद्युत् उत्पादन भएको छ, तर अहिलेको अवस्थाले प्रत्येक वर्ष १ हजार मेगावाट विद्युत् बढ्ने देखिन्छ । ३ हजार ५ सय मेगावाट बराबरका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् भने ६ हजार मेगावाट बराबरका आयोजना विद्युत् खरिद सम्झौता () का लागि निवेदन दिएर प्रतीक्षामा छन् । यी आयोजनाको पीपीए लिऊ वा तिर (टेक अर पे) तुरुन्त हुनु आवश्यक छ । तर, प्रसारणलाइन यसका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । यसका लागि राज्यले सबै किसिमको शक्ति लाग्नैपर्छ, यसका लागि बजेट पनि पुग्ने गरी छुट्ट्याउनुपर्छ । दु्रत गतिमा प्रसारणलाइन बनाउने योजना आवश्यक छ । अहिले जलविद्युत् आयोजनामा रूख काट्ने कुरा समस्याका रूपमा आएको छ । वातावरण प्रभाव मूल्यांकन-प्रारम्भिक वातावरण मूल्यांकन स्वीकृति भएपछि यसका आधारमा रूख काट्ने व्यवस्था हुनुपर्छ । तीन–चार वर्ष लाग्ने वनको चक्र अन्त्य गर्नुपर्छ । अर्को परियोजनाहरूका लागि चाहिने जग्गा प्राप्ति गर्न ठूलो समस्या छ । बजारको मूल्यमा जग्गा उपलब्ध हुने व्यवस्था गर्नुपर्छ । बजारको मूल्यभन्दा धेरै बढी तिरेर जग्गा प्राप्ति गर्दा यसले जलविद्युत् आयोजनाको लागत धेरै बढाउन सक्छ । 
सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी जारी गरेको ९९ बुँदे कार्ययोजनामा जलविद्युत्को विकासका लागि एकल द्वार (सिंगल डेस्क) कुरा उल्लेख छ, तर अघि बढेको छैन । यो गर्न सके सबै किसिमका प्रशासनिक झन्झट अन्त्य हुनेछन् । कतिपय जलविद्युत् आयोजनाहरूमा सुरक्षा सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको छ । अधिकांश ठाउँमा राज्यको उपस्थिति छैन । बढी जलविद्युत् उत्पादन हुन सक्ने दोलखा, सिन्धुपाल्चोक, लमजुङ, संखुवासभा, कास्की, सोलुखुम्बुलगायतका जिल्लामा राज्यले छुट्टै सुरक्षा व्यवस्था गर्नुपर्छ । अहिले कुनै पनि जलविद्युत् आयोजनाले राज्य छ भनेर अनुभूति गर्न पाएका छैनन् । राज्यले जलविद्युत् आयोजनाहरू चाँडै अघि बढाउनका लागि केही सहुलियतका घोषणा गरेको छ, जसका कारण अहिले निजी क्षेत्रको योगदान ५० प्रतिशतभन्दा बढी नाघिसकेको छ, तर प्रतिमेगावाट ५० लाख, पोस्पेड दर दिने लगायतका धेरै प्रतिबद्धता पूरा भएका छैनन् । ९९ बुँदेमा धेरै सकारात्मक कुरा उल्लेख छन् । राज्यले गरेका प्रतिबद्धता पूरा गर्नैपर्छ । अहिलेको अवस्थालाई हेर्ने हो भने जलविद्युत् उत्पादन प्रत्येक वर्ष १ हजार मेगावाटका दरले बढ्ने भएकाले यसलाई मध्यनजर गरी अन्तर्देशीय व्यापारलाई पनि जोड दिनुपर्छ । विद्युत् आदानप्रदान, इनर्जी बैंकिङलगायतलाई प्राथमिकतामा राख्नुपर्छ । यसका लागि राज्य–राज्य तहमा पहलकदमी आवश्यक छ । आगामी नीति तथा कार्यक्रमले यथार्थ रूपमा जलविद्युत् र प्रसारण लाइन बढ्ने गरी उपयुक्त नीति, योजना, कार्यक्रम र बजेट ल्याउनुपर्छ ।
एक गाउँ एक जलाशय बनाउनुपर्छ

शीतलबाबु रेग्मी
पूर्व जलस्रोत सचिव
सरकारले नयाँ बनाउने नीति तथा कार्यक्रममा जलस्रोत क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकतामा राख्नुपर्छ । जलस्रोत क्षेत्रको सम्बन्ध जलविद्युत्, सिँचाइ, खानेपानी तथा सरसफाइलगायतका बृहत् क्षेत्रसँग सम्बन्धित छ । विशेष गरी यसका लागि जलाशययुक्त आयोजना र अन्तरबेसिन जलाधार आयोजनालाई जोड दिनुपर्छ । भेरीको पानी जुन भारत जान्थ्यो, सुरुङमार्फत बबईमा ल्याउँदा त्यसले नेपालको ठूलो क्षेत्रमा सिँचाइ हुँदैछ । यसले उत्पादनमा ठूलो वृद्धि ल्याई अर्थतन्त्रमा समेत योगदान दिने निश्चित छ । नेपालमा जलस्रोतको प्रचुर सम्भावना भएकाले यसलाई अधिकतम उपयोग गर्न सक्ने अवस्था छ । यसका लागि ठूला जलाशययुक्त आयोजनालाई महत्व दिनैपर्छ । यसको विकास गर्नुको विकल्प छैन । साना–साना आयोजनामा बजेट छरेर हुँदैन, बृहत् खालका आयोजनामा लगानी बढाउनु आवश्यक छ । साना कार्यक्रम बढी र त्यसका लागि बजेट पनि बढी विनियोजन गर्दा त्यसले ठूलो प्रभाव पार्न सक्दैन । अहिले ठूला आयोजना र ठूलो बजेट आवश्यक छ । यसले अर्थतन्त्रमा पनि ठूलो प्रभाव पार्न सक्छ । ठूला पूर्वाधारका आयोजनाहरूका लागि सरकारले छुट्टै नीति र कार्यक्रम तथा निश्चित प्रतिशत बजेटको व्यवस्था अनिवार्य रूपमा गर्नुपर्छ । यस्ता ठूला आयोजनाको अध्ययन, अनुसन्धान, निर्माण र सञ्चालनका लागि विशेष ध्यान दिनुपर्छ । सरकारले शतप्रतिशत घरघरमा खानेपानी र सरसफाइ पुर्याउन जोड दिएको छ । खानेपानी मात्र पुर्याउन सकियो भने पनि अहिले महिलाले खानेपानीका लागि लगाउनुपर्ने समय बचत भएर उनीहरू अन्य व्यवसायमा संलग्न हुन पाउँछन् । 
विद्युत्, खानेपानी र सिँचाइलाई मध्यनजर राखी सरकारले हरेक गाउँपालिकामा एउटा जलाशय बनाउन आवश्यक छ; अर्थात् एक गाउँ एक जलाशय बनाउनुपर्छ । त्यो जलाशयबाट एक मेगावाटसम्मको बिजुली निकाल्न सक्ने गरी व्यवस्था गर्नुपर्छ । यही जलाशयबाट खानेपानी र सिँचाइको व्यवस्थापन पनि गर्न सकिन्छ । यस्ता जलाशययुक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा पनि विकास गर्न सकिन्छ । यसकारण अहिलेको अवस्थामा ठूलै परिवर्तन ल्याउन सक्ने र दिगोपनमा योगदान दिने कार्यक्रम र योजना आवश्यक छ । सरकारले नीति तथा कार्यक्रम बनाउँदा टुक्रे र सानाभन्दा ठूलो सकारात्मक प्रभाव पार्ने खालका योजनाहरूलाई जोड दिनुपर्छ ।
प्रदेशपिच्छे नै ठूला आयोजना बनाउनुपर्छ

ज्ञानेन्द्रलाल प्रधान
कोषाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
जलविद्युत् क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढाउन ठूलो सहयोग गर्छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना निर्माण गर्दा मात्र पनि जीडीपीमा एक प्रतिशत बढ्नेछ । यस्ता आयोजनाहरू धेरैभन्दा धेरै बनाउन सकियो भने यसले नेपालको अर्थतन्त्रमा ठूलो योगदान दिन्छ । यसकारण धेरैभन्दा धेरै जलविद्युत् आयोजना बनाउनु आवश्यक छ । नेपालमा जलविद्युत् आयोजनाहरू निर्माण गर्ने प्रचुर सम्भावना छ । जलविद्युत् आयोजनामा लगानी गर्न छिमेकी राष्ट्र भारत, चीनदेखि विश्व बैंक, एसियाली विकास बैंकजस्ता दातृ निकाय पनि तयार छन् । सकेसम्म मुलुककै पुँजी जुटाएर र त्यसका लागि अपुग भएमा विदेशी लगानीसमेत ल्याएर जलविद्युत् आयोजनाको विकासलाई तीव्रता दिनैपर्छ । सम्भावना र लगानी भएर पनि निर्माण गर्ने क्षमता कमजोर छ । यस्तो क्षमतालाई वृद्धि गर्नु आवश्यक छ । 
जलविद्युत् आयोजनाहरू निर्माण गर्न सके नेपालमा खपतका लागि ठूलो बजार छ । हाल भारतबाट आयात गरिएको ५ सय मेगावाट बराबरको विद्युत्लाई स्वदेशी उत्पादनमार्फत विस्थापन गर्नुपर्नेछ । अहिले झन्डै ५४ लाख ग्यासका सिलिन्डर छन् । २० लाख मात्र विस्थापन गर्न सकियो भने पनि यसका लागि २ हजार मेगावाट भन्दा बढी विद्युत् आवश्यक छ । यसले नेपालमा बिजुलीको बजार छ र बजारको समस्या छैन भनेर देखाउँछ । यसकारण धेरैभन्दा धेरै जलविद्युत् आयोजना निर्माण गर्नुको विकल्प छैन । यसकारण जलविद्युत् आयोजनालाई तीव्रता दिन बीटी मोडलमा जानैपर्छ । हरेक प्रदेशमा जलविद्युत् परियोजनाहरू बनाउनैपर्छ । एउटा प्रदेशले ४ सय मेगावाटबराबरको आयोजना बनाउँदा यसले वार्षिक प्रत्यक्ष रूपमा १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी बढ्छ । प्रदेश नम्बर २ बाहेक अन्य सबै प्रदेशमा जलविद्युत् आयोजना निर्माणको सम्भावना छ । २ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा तामाकोसी मोडलमा आयोजनाहरू बनाउनैपर्छ । छोटो अध्ययन र तत्काल कार्यान्वयनमा जाने गरी आयोजनाहरू अघि बढाउनुपर्छ । अहिलेको प्रक्रियाहरूलाई सरलीकृत गर्नुपर्छ । सबै प्रदेशमा आयोजनाहरू बनाउन लगानी पुग्दैन । यसकारण भारत र चीनबाट सस्तो ब्याजदरमा ऋण लिएर आयोजना अघि बढाउनुपर्छ । यसका लागि बीटी मोडललाई अघि बढाउने गरी सरकारले निर्णय गर्नुपर्छ । तीन वर्षभित्र शतप्रतिशत जनतालाई विद्युतीकरण गर्न तथा विद्युत्को खपतलाई बढाउन पनि प्रदेशपिच्छे नै ठूला आयोजनाहरू बनाउनुपर्छ । यसका लागि कर्मचारी प्रशासनको अवरोध समस्याका रूपमा देखिएको छ । एउटा जलविद्युत् आयोजना निर्माणका लागि ३२ वटा निकायमा पुग्नुपर्ने प्रशासनिक झन्झटको अन्त्य गर्नुपर्छ । आगामी नीति तथा कार्यक्रम बनाउँदा निजी क्षेत्रलाई प्रोत्साहन र अनुभूति हुने गरी अघि बढ्नुपर्छ । निजी क्षेत्रको साथ र सहयोग लिएर अघि बढे जलविद्युत् क्षेत्रको विकास गर्न सकिन्छ । विगतकै प्रशासनिक झन्झट र अवरोधहरू जलविद्युत् क्षेत्रले बोहोरेमा जलविद्युत् आयोजनाहरू बन्न गाह्रो छ । रूख काट्नकै लागि वर्षौं लाग्ने प्रक्रियाले जलविद्युत् आयोजना बन्द सक्दैनन् । साँच्चिकै जलविद्युत् आयोजना बनाउने हो भने सबै किसिमका अवरोध तथा झन्झट अन्त्य गरेर उपयुक्त वातावरण बनाउनुपर्छ ।
ऊर्जाको पहुँच र सुरक्षालाई जोड दिनुपर्छ
डा. अरविन्दकुमार मिश्र
पूर्वसदस्य, राष्ट्रिय योजना आयोग
जलविद्युत् उत्पादन वृद्धि र विद्युत्को पहुँच पुगेपछि यसले अर्थतन्त्रमा ठूलो प्रभाव पार्छ । नयाँ बन्ने नीतिले मुख्यरूपमा ऊर्जाको पहुँच र सुरक्षालाई जोड दिनुपर्छ । हामी राष्ट्रिय योजना आयोगमा हुँदा यसलाई मध्यनजर राखेर ७ सय ५३ वटा स्थानीय तहमै जलविद्युत् उत्पादन र वितरण गर्ने योजना तयार गरिएको छ । यसलाई अघि बढाउन सकियो भने पनि ऊर्जाको पहुँचमा महत्वपूर्ण भूमिका खेल्छ । ऊर्जाको सुरक्षा कुरा गर्दा इनर्जी मिक्समा जार्नैपर्छ । यो भनेको सौर्य ऊर्जा (सोलार), वायुलगायतका वैकल्पिक मात्र भन्न खोजेको होइन, जलविद्युत्भित्रै नदी प्रवाहमा आधारित (आरओआर), अर्धजलाशय (पिकिङ रन अफ द रिभर), जलाशय (स्टोरेज) आयोजना भन्न खोजेको हो । सहसताब्दी विकास लक्ष्य (एसडीजी) लाई ध्यानमा राखेर अघि बढ्नु आवश्यक छ । एसडीजीमै यो वर्ष कति विद्युत उत्पादन गर्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाउने लगायतबारे स्पष्ट छ । यसैलाई आधार बनाएर नीति तथा कार्यक्रम बनाउनुपर्ने अवस्था छ । 
ऊर्जा क्षेत्रमा अहिलेको सवैभन्दा चुनौतीको रूपमा प्रशारण लाइन देखिएको छ । काबेली, सोलुलगायतका प्रशारण लाइनमा समस्या छ । कतिपय प्रशारण ढिला बन्ने तर उत्पादन पहिल्यै भैसक्ने अवस्था छ । यसलाई मध्यनजर गरेर प्रशारण लाइन निर्माणलाई विशेष जोड दिनुपर्छ । विद्युत् उत्पादन, भविष्यमा उत्पादन हुने विद्युत् तथा विद्युत् क्षेत्रलाई फराकिलो बनाउन पनि इनर्जी बैंकिङलाई तत्काल अघि बढाउनुपर्छ । यसमा भारतको आश्वासन र नेपालले पहल गर्ने भन्ने विषयमा मात्र केन्द्रित नभएर तत्काल अघि बढाउनका लागि गहिरो अध्ययन आवश्यक छ । विद्युत् खपत बढाउने योजना पनि आवश्यक छ । घरायसी खपत बढाएर मात्र पुग्दैन, औद्योगिक क्षेत्रमा पनि खपत बढाउन आवश्यक छ । यसको अलावा विद्युतीय सवारी साधानलाई प्रवद्र्धन गर्नुपर्छ । अहिलेको संविधानले वितरण प्रणालीलाई प्रदेश र स्थानीय सरकारको जिम्मा दिएको छ । यसका लागि संस्थागत संरचनामा परिवर्तन जरुरी छ । यसका साथै अहिले ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण मानिएको विद्युत् नियमन आयोगको ऐन तयार भएको छ तर कार्यान्वयन भएको छैन । आयोगलाई सकृय गराउनु आवश्यक छ ।

डेढ लाख घर बने, सवा ४ लाख बन्दै

https://karobardaily.com/news/development/4543
 बुधवार, बैशाख १२, २०७५
झण्डै ९ हजारको मृत्यु हुनेगरी गएको भूकम्पको तीन वर्ष बितेको छ । तर, यस अवधिमा अधिकांश संरचनाहरू निर्माण भइसक्नुपर्नेमा बल्ल तात्न थालेको छ ।
२०७२ वैशाख १२ मा गएको भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाबाहेकका अधिकांश संरचनाहरूको पुननिर्माण सम्पन्न गर्ने लक्ष्यसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ल्याएको पुनर्निर्माणको पाँच वर्षे योजना (पीडीआरएफ) सार्वजनिक गरेपनि हालसम्म अधिकांश संरचनाको अवस्था सन्तोषजनक छैन तर अहिले भने पुनर्निर्माणले गति लिन थालेको छ । 
योजनामा सन् २०२० भित्र पुरातात्विक सम्पदाबाहेक अधिकांश क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सक्ने उल्लेख छ । निजी आवास भने तीन वर्षभित्र अर्थात आज १२ वैशाखभित्र सम्पन्न गर्ने उल्लेख छ । तर, सम्पन्न हुने बेलामा बल्ल निजी आवास निर्माणले तीब्रता पाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले निजी आवास पुनर्निर्माण भएको उल्लेख गर्दै चालू वर्षभित्र साढे चार लाख तथा आगामी आर्थिक वर्षभित्र सबै निजी आवास पुनर्निर्माण सक्ने बताउँछन् । “पीडीआरएफलाई पछ्याउँदै पुनर्निर्माणको योजना अघि बढेको छ, निजी आवास पुनर्निर्माणले अहिले गति लिएको छ,” उनी भन्छन् । 
प्राधिकरणका सचिव अर्जुन कार्कीले भूकम्पपछिको पुनःनिर्माणले गति लिएको बताउँदै केही असहज भएकोले सफलता प्राप्त गर्न नसकेको बताए ।प्राधिकरणका अनुसार ७ लाख ६७ हजार निजी आवास क्षतिग्रस्त भएको पहिचान भएकोमा हालसम्म १ लाख ४१ हजार ६ सय २६ ले निजी आवास पुनर्निर्माण गरिसकेका छन् भने ४ लाख ३६ हजार निर्माणाधीन छन् । 
स्वास्थ्य संस्था र केन्द्रतर्फ १ हजार १ सय ९७ क्षतिग्रत भएकोमा ५ सय ८६ को पुनर्निर्माण भइसकेको छ भने १ सय ८० निर्माणाधीन छन् । सरकारी भवनतर्फ भने ३ सय ७९ मध्ये २ सय २० को पुनर्निर्माण भइसकेको छ भने १ सय ४७ निर्माणाधीन छन् । त्यसैगरी ३ सय ८३ सुरक्षा निकाय भवन क्षति भएकोमा ७९ सम्पन्न र १ सय २६ को पुनर्निर्माण हुँदैछ । 
सांस्कृतिक सम्पदातर्फ भने ७ सय ५३ क्षतिग्रस्त भएकोमा एक सय पुनर्निर्माण सम्पन्न र ३ सय २९ को पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब आवश्यक देखिएकोमा हालसम्म करिब १ खर्ब २० अर्ब रुपैयाँ मात्र खर्च भएको मंगलबार प्राधिकरणले आयोजनाको गरेको पत्रकार सम्मेलनमा सहसचिव यमलाल भुषालले जानकारी दिए । उनका अनुसार पुनर्निर्माणको लागि ३.४३ अर्बको प्रतिबद्धता आएकोमा हालसम्म २ अर्ब ६३ करोडको मात्र सम्झौता भएको छ ।   

Tuesday, April 24, 2018

पञ्चेश्वरको प्रगति अत्यन्त न्यून

मंगलबार, बैशाख ११, २०७५
बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन गठित पञ्चेश्वर विकास प्राधिकरणको बैठक १६ महिनापछि सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रत्येक वर्ष दुई पटक बैठक बस्नुपर्ने प्रावधान रहे पनि २२ डिसेम्बर २०१६ पछि बल्ल सोमबारदेखि बैठक सुरु भएको हो । सोमबार र मंगलबार विकास प्राधिकरण अन्तर्गत सहसचिवस्तरीय दुई दिने बैठक सुरु भएको हो भने प्राधिकरण कार्यकारिणी परिषदको बैठक बिहीबार हुँदैछ । 
बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन गठित पञ्चेश्वर विकास प्राधिकरणको बैठक १६ महिनापछि सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रत्येक वर्ष दुई पटक बैठक बस्नुपर्ने प्रावधान रहे पनि २२ डिसेम्बर २०१६ पछि बल्ल सोमबारदेखि बैठक सुरु भएको हो । सोमबार र मंगलबार विकास प्राधिकरण अन्तर्गत सहसचिवस्तरीय दुई दिने बैठक सुरु भएको हो भने प्राधिकरण कार्यकारिणी परिषदको बैठक बिहीबार हुँदैछ । सोमबारको बैठकको नेतृत्व नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालले गरेका थिए भने भारतको तर्फबाट जलस्रोत मन्त्रालयका सहसचिव अखिलकुमारले गरेका थिए । बिहीबारको बैठकको नेतृत्व भने दुवै देशका सचिवले गर्नेछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले बैठकमा पञ्चेश्वर विकास प्राधिकरणले सन् २०१७ मा गरेको प्रगतिका साथै यसलाई अघि बढाउन आवश्यक प्रशासनिक, कानुनी, लेखा परीक्षण र प्राविधिक पक्षबारे छलफल भएको जानकारी दिए । 
विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङले  संयुक्त समितिको बैठकमा प्रशासनिक, बजेट, नीति तथा कार्यक्रम लगायतबारे छलफल हुने र यसको आधारमा कार्यकारिणी समितिमा पेश गरी निर्णय हुने जानकारी दिए । सोमबार प्रमुख कार्यकारी अधिकृत गुरुङले पेश गरेको प्रतिवेदनमा भने सन् २०१७ भित्र पूरा गर्ने लक्ष्य राखिएको अधिकांश कार्यक्रम र नीति निर्माणमा अन्त्यन्तै कम प्रगति भएको उल्लेख छ । सन् २०१७ भित्र संयुक्त समिति र परिषदको बैठक हुन नसकेको तथा यस अवधिमा बन्नुपर्ने आर्थिक प्रशासनिक विनिमावली, कर्मचारी भर्ना नीति, पुनर्वास तथा पुर्नस्थापना योजनासमेत अघि बढ्न नसकेको प्रतिवेदनले देखाएको छ । 
सन् २०१७ का लागि २९ करोड ५० लाख रुपैयाँ बजेट भएकोमा २० प्रतिशतभन्दा कम खर्च भएको छ । प्राधिकरणले सन् २०१८ को लागि भने आज मंगलबार हुने छलफलमा १ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्ताव गर्न लागेको छ । २०१७ मा दुई पटक विज्ञहरूको बैठक भने बसेको थियो तर डीपीआरलाई अन्तिम रूप अझै दिइएको छैन । पानी र मुनाफा बाँडफाँड लगायतका विषयमा दुई देशबीच टुंगो लाग्न नसक्दा डीपीआरले अन्तिम रूप पाएको छैन । यसका लागि दुई वर्ष अघिनै विज्ञ समूह बनाएपनि यसले अन्तिम रूप नदिएकोले ३१ मे २०१८ सम्मका लागि म्याद थपिएको छ । 

Sunday, April 22, 2018

२०३० भित्र ऊर्जा दक्षता सुधारको दर दोब्बर

https://karobardaily.com/news/country/4428
आइतवार, बैशाख ९, २०७५
सन् २०३० सम्ममा ऊर्जा दक्षता सुधारको हालको दरलाई दोब्बर बनाउने लक्ष्यसहित ऊर्जा मन्त्रालयले ‘राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७४’ को मस्यौदा तयार गरेको छ । हाल ऊर्जा दक्षता वृद्धिदर ०.८४ प्रतिशत रहेकोमा सुधार दरलाई २०३० भित्र दोब्बर अर्थात १.१६ प्रतिशत बनाउने गरी मन्त्रालयले दक्षता रणनीति तयार गरेको हो । 
२०३० सम्मको दिगो विकास लक्ष्य (एसडीजी) को सातांै लक्ष्यले किफायती, भरपर्दो, दिगो र आधुनिक ऊर्जाको पहुँच सुुनिश्चितता गर्ने तथा राष्ट्रिय योजना आयोगले तयार पारेको चालू चौधौं योजनाले नेपालमा ऊर्जा दक्षता प्रवद्र्धनका लागि नीतिगत तथा संस्थागत संरचनाको व्यवस्था गर्ने उल्लेख छ । यसका लागि एकीकृत राष्ट्रिय ऊर्जा नीतिका साथै कानुनी र संस्थागत व्यवस्था हुन बाँकी रहे पनि जर्मन सहयोग नियोग (जीआईजेड) को नेपाल ऊर्जा दक्षता कार्यक्रमको सहयोगमा मस्यौदा तयार भएको हो । “ऊर्जा दक्षता रणनीतिको मस्यौदा तयार गरेर सुझावका लागि सरोकारवाला निकाय र यसलाई वेबसाइटमा सार्वजनिक गरेका छौं,” ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले भने । 
सुझावका लागि पठाइएको मस्यौदामा उद्योग मन्त्रालयले आफ्नो सुझाव दिइसकेको छ भने अन्य निकायबाट आउने क्रम पनि जारी छ । ऊर्जा मन्त्रालयले चालू आर्थिक वर्षभित्रै मस्यौदालाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्बाट पारित गरी आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ । ३० वर्षदेखि अध्ययन विश्लेषण हुँदै आएको, १९९९ देखि २००५ सम्म उद्योगहरूको ऊर्जा परीक्षण, ऊर्जा दक्षतासम्बन्धी तालिम तथा जनचेतना अभिवृद्धिका कार्य हुँदै आएकोमा २०१० देखि नेपाल ऊर्जा दक्षता कार्यक्रममार्फत ऊर्जा दक्षता र माग व्यवस्थापनबारे कार्यक्रम हुँदै आएको छ । 
आधुनिक ऊर्जा स्रोतको दिगो विकास, ऊर्जा संरक्षण तथा माग व्यवस्थापन गर्न ऊर्जा दक्षताको प्रबद्र्धन गर्ने प्रयोजनका लागि तयार रणनीतिमा ऊर्जा दक्षता निकाय गठन गरिने उल्लेख छ । ऊर्जा दक्षता प्रवद्र्धनबाट आकर्षक आर्थिक प्रतिफल दिनसक्ने, देशको व्यापार असन्तुलन कम गर्न सकिने, पहुँचको वृद्धि हुने तथा ऊर्जाको कमीलाई घटाएर ऊर्जा सुरक्षा बढाउन सकिने भएकोले रणनीति तयार पारेको मन्त्रालयले जनाएको छ । 
उपभोक्ता तहदेखि नीति निर्माण तहसम्म ऊर्जा दक्षतासम्बन्धमा सचेतना जगाउने, ऊर्जा दक्षताको लागि आवश्यक स्रोतको व्यवस्थापन तथा परिचालन, पूर्वाधार निर्माण र जनशक्ति विकासको लागि नीतिगत, कानूनी र संस्थागत संरचनाको निर्माण गर्ने कार्यनीति रहेको मस्यौदामा उल्लेख छ । ऊर्जा दक्षताको स्थापित अन्तर्राष्ट्रिय र क्षेत्रीय मापदण्डको आधारमा राष्ट्रिय मापदण्ड र स्तर निर्धारणका साथै ऊर्जा दक्षता मापनका उपकरण र उपायहरू विकास गर्नेसमेत उल्लेख गरिएको छ ।
रणनीतिमा स्थानीय, प्रदेश र केन्द्रीय तहमा कार्यान्वयन र व्यवस्थापन गर्ने, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू अबलम्बन गर्ने, दक्षतामैत्री कानुन निर्माण गर्ने, अनुसन्धान तथा विकास गर्नेलगायत उल्ल्ेख छ । रणनीतिमा सन् २०२० सम्म ऊर्जा दक्षता निकायको गठन गरिसक्ने, सम्बन्धित निकायमा इकाई गठन गर्ने, न्यूनतम ऊर्जा उपयोगको न्यूनतम राष्ट्रिय मापदण्ड विकास गर्ने, ऊर्जा दक्षताको एकीकृत रणनीति विकास गरी वायु प्रदूषण न्यूनीकरण गर्ने र अन्तर्राष्ट्रिय मापदण्डलाई राष्ट्रिय परिवेशमा प्रमाणीकरणको व्यवस्था गर्नेलगायत उल्लेख छ । त्यसैगरी सन् २०२५ सम्ममा उद्योगहरूमा आईएसओ १४००० तथा आईएसओ ५००१ लागू गर्नुका साथै प्रशिक्षित व्यक्तिबाट प्रमाणीकरण प्रक्रिया सुरु गर्ने, ठूला विद्युतीय ऊर्जा उपभोक्ताहरूको नियमित ऊर्जा परीक्षण गराउने व्यवस्था गर्ने, विभिन्न क्षेत्रमा ऊर्जा उपयोग हुने उपकरणहरूको गुणस्तर मापन सूचक र मापदण्ड विकास गर्ने लक्ष्य पनि रणनीतिले ल्याएको छ ।

Friday, April 13, 2018

ऊर्जा : स्रोतको प्रभावकारी व्यवस्थापन

शुक्रवार, चैत्र ३०, २०७४
जल तथा ऊर्जा आयोगले गरेको प्रारम्भिक अध्ययनले नेपालमा ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेको देखाएको छ । क्यू ४० को आधारमा गरिएको यो अध्ययनले यस्तो देखाए पनि क्यू १०÷१५ को आधारमा अघि बढाएमा नेपालको जलविद्युत् उत्पादन क्षमता दुई लाख मेगावाटसम्म पुग्ने विभिन्न अध्ययनले देखाएका छन् । क्षमताको आधारमा हेर्ने हो भने एक हजार मेगावाटमात्र छ । जुन क्षमताको एक प्रतिशतभन्दा पनि कम हो । विगतमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगेका सर्वसाधारणका लागि अहिले लोडसेडिङ भोग्नुपरेको छैन, यो सबैभन्दा ठूलो उपलब्धि हो तर उत्पादन कम भएकै कारण पिक आवरमा बिहान र बेलुका उद्योगधन्दालाई लोडसेडिङ गरेर तथा भारतबाट दैनिक ४८० मेगावाटसम्म आयात गरेर सर्वसाधारणलाई लोडसेडिङ गर्नुपरेको यथार्थता पनि छ । उत्पादन क्षमतामा नेपालको ऊर्जा क्षेत्र अत्यन्त गरिब भए पनि योजनामा भने धेरै धनी छ ।
योजनामा धनीयोजनामा धनीपछिल्लो १० वर्षमा सरकारले ऊर्जा क्षेत्रलाई ल्याएका योजना हेर्दा नेपाल धेरै धनी छ । उत्पादन, वितरण, प्रसारणमा मात्र होइन, बिजुली बिक्री र माग वृद्धिको योजना र कार्यक्रममा पनि नेपाल धेरै धनी छ तर चालू वर्षको बजेटमा सरकारले ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य सार्वजनिक गरेको छ । २ वर्षअघि १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने घोषणासहित ९९ बुँदे कार्ययोजना ल्याइएको थियो । २०६४ सालपछि हेर्ने हो भने प्रत्येक वर्ष ५ वर्षमा ५ हजार मेगावाट, १० वर्षमा १० हजार मेगावाट, १० वर्षमा १५ हजार मेगावाट, २० वर्षमा २५ हजार मेगावाटलगायतका महत्वकांक्षी र लोकप्रिय योजना र कार्यक्रम आइसकेका छन् । सन् २०३५ भित्र २५ हजार मेगावाट बिजुली बेच्ने योजनासहित अन्तरदेशीय प्रसारण लाइनको गुरुयोजना पनि तयार भइसकेको छ । तर कार्यान्वयनको पक्ष कमजोर छ । 
उत्पादनका लागि ल्याइएका योजना र कार्यक्रममा मात्र होइन, प्रशारण लाइन र वितरण लाइन बनाउने योजनामा पनि ऊर्जा क्षेत्र धनी छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, ६६ केभी, १३२ केभी, २२० केभी र ४०० केभी गरी हाल ३ हजार ४७२ किलोमिटर प्रशारणलाइन रहेकोमा ३ हजार ३८ किलोमिटर निर्माणाधीन अवस्था छ । उनका अनुसार, १३२ केभीका १ हजार ५५ किलोमिटर, २२० केभीका १७६ किलोमिटर र ४०० केभीका ५ हजार २८० किलोमिटर गरी ६ हजार ५११ किलोमिटर बनाउने योजना प्राधिकरणको छ । योजना यति धेरै भए पनि विगत १० वर्षको प्रशारण लाइन निर्माणको प्रगति हेर्ने हो भने ५ सय किलोमिटरभन्दा कम छ । हाल सबस्टेशनतर्फ ३ हजार १३५ एमभीए ट्रान्सफर्मर क्षमता रहेकोमा ७ हजार ७७२ निर्माणाधीन र ३ हजार २८६ एमभीए ट्रान्सफर्मर क्षमता बढाउने प्राधिकरणको योजना छ ।
यस्तै वितरण लाइनतर्फ भने स्मार्ट र डिजिटल प्रणालीसम्मको चर्चा छ तर वितरण प्रणाली अत्यन्तै साँघुरो छ । ४ सय भोल्टको ८८ हजार, ११ केभीको ३३ हजार तथा ३३ केभीको ४ हजार किलोमिटर गरी १ लाख २५ हजार किलोमिटर लामो वितरण लाइन रहेको प्राधिकरणमा २० हजार २५० किलोमिटर निर्माणको चरणमा छ भने ६५ हजार ५७० किलोमिटर निर्माण गर्ने योजनाका लागि अध्ययनको चरणमा छन् । यो तथ्यांकले अहिलेको वितरण प्रणाली साँघुरो भए पनि योजना भने छ ।
प्राधिकरणका अनुसार, अझै ३५ प्रतिशत नेपाली केन्द्रीय विद्युतको पहुँचबाट टाढा छन् । विद्युत्बाट वञ्चित नेपालीलाई विद्युत् पुर्याउनका लागि अझ प्रशारण र वितरण लाइनलाई विस्तार गर्नुपर्ने आवश्यकता छ । यसका लागि राष्ट्रिय योजना आयोगले नेपाल विद्युत् प्राधिकरणको सहायक इन्जिनियरिङ परामर्शदाता कम्पनीको सहयोगमा अध्ययन प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा ७५३ स्थानीय निकायबाट एक मेगावाट मुनिका जलविद्युत्, सोलार, वायोग्याँस र वायु ऊर्जामार्फत ६९४ मेगावाट बराबरको विद्युत् उत्पादन गर्न सकिने उल्लेख छ । वितरण र प्रसारणसहित २ खर्ब ४ अर्ब लागत अनुमान समेत गरिएको छ ।
विद्युत् विकास विभागको तथ्यांकअनुसार, हाल २५ हजार मेगावाट बराबरका आयोजनाले अनुमतिपत्र लिएर अध्ययनको चरणमा छन् भने ३ हजार ५ सय मेगावाट बराबर निर्माणाधीन अवस्थामा छन् । अहिलेको तथ्यांकले निर्माणाधीन आयोजना समयमै सम्पन्न भए पनि प्रशारण लाइनको समस्या हुने र प्रशारण लाइन बने पनि वितरण लाइनको समस्या हुने देखिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागार्इं निजी क्षेत्रले विद्युत् उत्पादन गरे पनि प्रशारण लाइन समयमै नबनेको कारणले निजी क्षेत्र थप पीडित हुने अवस्था देखिएको छ । निजी क्षेत्र मात्र होइन, स्वयं विद्युत् प्राधिकरणले निर्माण गरिरहेका आयोजनामा समेत प्रशारण लाइन समस्याको रूपमा देखिएको छ ।
जल तथा ऊर्जा आयोगको गरेको अध्ययनले सन् २०४० सम्ममा ९.२ आर्थिक वृद्धिदरको आधारमा विश्लेषण गर्दा ५१ हजार ३३० मेगावाट आवश्यक रहेको देखाएको छ भने ७.२ प्रतिशतलाई आधार मान्दा ३६ हजार ४ सय ८९ मेगावाट आवश्यक रहेको देखाएको छ । वर्तमानमा १३ सय मेगावाट बराबरको माग रहे पनि भविष्यमा भने धेरै ठूलो माग हुने यो अध्ययनले देखाएको छ । भविष्यको खपत गर्ने प्रक्षेपणमा पनि नेपाली धनी नै छ । जापान सहयोग नियोग (जाइका) ले चार वर्षअघि नै नेपालका ६४ जलाशययुक्त आयोजनाको पहिचान गरी तत्कालीन अवस्थाको भूगोलअनुसार पाँच विकास क्षेत्रको २÷२ उत्कृष्ट जलाशययुक्त आयोजनाको छनोटसमेत गरेको छ ।
आगामी १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यलाई आधार मान्दा निर्माणाधीनबाहेक ६ हजार ५ सय मेगावाटका आयोजनाको निर्माण गर्नुपर्ने देखिएको छ । माओवादी केन्द्रको जलस्रोत तथा ऊर्जा विभागले आयोजना गरेको कार्यक्रममा इन्जिनियर तारानाथ सापकोटाले प्रस्तुत गरेको तथ्यांकअनुसार, आगामी १० वर्षभित्र ६ हजार ५ मेगावाटका लागि मात्र १३ खर्ब रुपैयाँ आवश्यक छ भने वितरण लाइन र ट्रान्सफर्मरका लागि ७ खर्ब ५० अर्ब तथा प्रशारण लाइन र सबस्टेसनका लागि ७ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँ आवश्यक छ । । कार्यपत्रका अनुसार, आगामी १० वर्षमा ४० हजार मेगावाट बराबर प्रशारण र वितरण हुने गरी लाइनहरू निर्माणको आवश्यकता देखिएको छ । उनको तथ्यांकले नेपालका वित्तीय संस्था र अन्य निकायसँग २ खर्ब ६३ अर्बसम्म लगानी गर्नका लागि क्षमता रहेको छ । यो तथ्यांकले ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्र्याउनुपर्ने अवस्था भने देखिएको छ ।

अबको बाटो
तुलनात्मक रूपमा विद्युत् उत्पादनमा कमजोर भए पनि योजना र अध्ययनमा भने नेपाल धनी नै छ । जलविद्युत् उत्पादन, वितरण र प्रशारणका योजनाहरू धेरै छन् । यसका लागि संरचना पनि तयार छन् । विद्युत् प्राधिकरणको एकाधिकार भयो भनेर राष्ट्रिय उत्पादन र ग्रीड कम्पनी स्थापना भइसकेको छ भने जलविद्युत् लगानी तथा विकास कम्पनी स्थापना भइसकेको छ । नियमन आयोग र विद्युत् व्यापार कम्पनी बन्ने क्रममा छ । विद्युत् प्राधिकरणले छुट्टै कम्पनीको रूपमा इन्जिनियरिङ परामर्शदाता कम्पनी खोलिसकेको छ । विगतमा अस्थिर सरकार हुनेकारण जलविद्युत् क्षेत्रमा धेरै समस्या देखिएका थिए, अब त राजनीतिक स्थायित्व समेत कायम भइसकेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाई नयाँ कार्यक्रम ल्याउने भन्दा पनि सरकारले ल्याएका पुरानै कार्यक्रम र प्रतिवद्धताहरू पूरा गरे मात्र पनि जलविद्युत् क्षेत्रले फड्को मार्न सक्ने बताउँछन् । “नयाँ ऊर्जामन्त्रीलाई समेत हामीले बारम्बार नयाँ योजना र कार्यक्रम घोषणाभन्दा पुरानै प्रतिबद्धता र योजनालाई अघि बढाउन भनेका छौं, १० वर्षमा १० हजार मेगावाट बनाउने लक्ष्यसहित आएको ९९ बुँदे कार्ययोजना कार्यान्वयन गरे मात्र पनि धेरै प्रगति गर्न सकिने अवस्था छ,” उनी भन्छन् ।
नयाँ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीेको रूपमा वर्षमान पुन आएका छन् । मन्त्री पुनका लागि उत्पादन, वितरण र प्रशारण लाइनमा छलाङनै मार्नुपर्ने अवस्था छ । जलविद्युत् क्षेत्रमा प्रगति नहुनुको कारण राजनीति अस्थिरता, असुरक्षा, योजनाको अभाव, स्वदेशी विदेशी स्वार्थी समूहको हस्तक्षेप, स्थानीयको समस्या, अन्तर सरकारी समन्वयको अभावलगायतका परम्परागत समस्या देखाएर ऊर्जामन्त्री पुन अब उम्कने अवस्था छैन । प्रदेश, स्थानीय तह र संघबीच समन्वय गरेर ऊर्जाका परियोजनाहरूलाई तीव्र गतिमा अघि बढाउनुपर्ने दायित्व पनि उनीसँग छ । जश अपजशको दुवै पूर्ण रूपमा मन्त्री पुनकै पोल्टामा जाने अवस्था छ ।
विशेषगरी ऊर्जा क्षेत्रमा निर्माणाधीनका साथै निर्माणमा जान लागेका आयोजनालाई अघि बढाउनुपर्ने अवस्था छ । १०६ वर्षअघि नेपालमा जलविद्युत् उत्पादन सुरु भएकोमा हालसम्म एक हजार मेगावाटसम्म मात्र उत्पादन हुनु लाजमर्दो कुरा हो । योजनामा धेरै उत्पादनका कुरा आए पनि अब वास्तविकतामा उत्पादन बढाउनु आवश्यक छ । निर्माणाधीन, निर्माण हुन लागेका र भविष्यमा निर्माण गर्नैपर्ने (तल तालिका जहाँ एक सय मेगावाट माथिका मात्र दिइएको) का सबै आयोजनाहरूलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्नैपर्छ ।
अहिले भारतबाट करिब ५ सय मेगावाट आयात गरिरहेको बेला जति आयोजना निर्माणमा ढिलाइ हुन्छ, त्यति नै परनिर्भरता बढ्ने निश्चित छ । हाल नेपालमा १ हजार ३ सय मेगावाट विद्युतको माग छ, यो तुलनात्मक रूपमा एकदम कम हो । यो माग बढाउनका लागि विद्युतीय सवारी साधनसँगै बढी उद्योगधन्दा सञ्चालन गर्नुपर्ने आवश्यकता छ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सबैभन्दा बढी योगदान ऊर्जा क्षेत्रबाट गर्ने जुन ऊर्जामन्त्री पुनको घोषणा छ, यसलाई साकार पार्न पनि बढीभन्दा बढी उद्योग धन्दा सञ्चालन गर्नुपर्ने आवश्यकता छ । उत्पादन बढाएर मात्र पुग्दैन, यसको गुणस्तरीयतामा पनि ध्यान दिनुपर्छ भने हाल साँघुरो रहेको प्रशारण र वितरण प्रणालीलाई फराकिलो बनाउनु आवश्यक छ । निर्माणाधीन भेरी बबई बहुउद्देश्यीय सिँचाइ परियोजनालाई दैनिक ४.५ मेगावाट विद्युत् आवश्यक छ तर प्राधिकरणले भरपर्दो रूपमा दिन नसकेपछि हाल डिजेलबाट सञ्चालन गर्नुपर्ने आवश्यकता छ । परियोजना प्रमुख शिवकु्मार बस्नेतका अनुसार, दैनिक २० हजार लिटर डिजेल खपत हुन्छ । यसले के देखाउँछ भने उत्पादन वृद्धिसँगसँगै वितरण र प्रशारण लाइनको गुणस्तरीय सेवालाई पनि ध्यान दिएर निर्माणलाई अघि बढाउनुपर्छ ।
निर्माणाधीन ठूला आयोजनानिर्माणाधीन ठूला आयोजनामाथिल्लो तामाकोसी ४५६ मेगावाट
कालीगण्डकी कोभान ४०० मेगावाट
अपर त्रिशूली–१२१६ मेगावाट तनहुँ सेती १२७ मेगावाट
रसुवागढी १११ मेगावाटमध्यभोटेकोसी १०२ मेगावाट
निर्माण हुन लागेका र सक्ने ठूला आयोजनाहरू
कर्णाली चिसापानी १०८०० मेगावाट
पञ्चेश्वर ६४८० मेगावाटत
मोर जलाशय    १२२० मेगावाट
बूढीगण्डकी जलाशय १२०० मेगावाट
सुुनकोशी–२ १११० मेगावाट
माथिल्लो कर्णाली ९०० मेगावाट
अरुण तेस्रो  ९०० मेगावाट
वेतन कर्णाली ६८८ मेगावाट
तामाकोसी–३  ६५० मेगावाट
भेरी–१ ६१७ मेगावाट
एसआर ०६ जलाशय  ६०० मेगावाट
सुनकोसी–३ ५३६ मेगावाट
किमाथांका अरुण ४५०
फूकोट कर्णाली ४२६
बूढीगण्डकी पोर्क ४२० मेगावाट
दूधकोसी ४०० मेगावाट
अरुण–४४०० मेगावाट 
तल्लो अरुण ४०० मेगावाट
अपर अरुण ३३४ मेगावाट
लाङटाङ ३१० मेगावाट
उत्तरगंगा ३०० मेगावाटभेरी–४ ३०० मेगावाट
भेरी–२ २५६ मेगावाटबुढीगण्डकी २५४ मेगावाट
चैनपुर सेती  २१० मेगावाट
खिम्ती शिवालय २०० मेगावाट
आँधीखोला जलाशय  १८० सेती नदी १६५तमोर मेवा १२८ मेगावाट

-वास्तविकतामा उत्पादनलाई बढावा
-साँघुरो प्रशारण र वितरण प्रणालीलाई फराकिलो
-विद्युत् खपतको अहिलेको दरमा वृद्धिदर

Thursday, April 12, 2018

आर्थिक वृद्धिदर ४.९ प्रतिशत, आगामी वर्ष ५.५ प्रतिशत

https://karobardaily.com/news/development/4070
बिहिवार, चैत्र २९, २०७४
एसियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर खुम्चिएर ४.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । सरकाले चालू वर्षको बजेटमा सरकारले ७.२ प्रतिशत हुने लक्ष्य राखेकोमा मध्यावधी समीक्षामासमेत ६ प्रतिशत हासिल हुने दावी गरेको छ । तर, एडीबीले बुधबार सार्वजनिक गरेको माइक्रो इकोनोमिक अपडेटको परिदृष्य २०१८ र नयाँ प्रविधिले कसरी रोजगारमा असर पार्छ भन्ने प्रतिवेदनले त्योभन्दा कम हुने अनुमान गरेको हो । नयाँ सरकार गठनपछि बनेका अर्थमन्त्री डा युवराज खतिवडाले भने चालू आर्थिक वर्षको बजेटको मध्यावधि समिक्षामा ६ प्रतिशतसम्म आर्थिक बृद्धि हुने बताएका थिए । एडीबीले गत सेप्टेम्बरमा ४.७ प्रतिशत वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो भने अप्रिलमा यसलाई संशोधन गरेर ४.९ प्रतिशत पुर्याएको हो ।
तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले चालू वर्षको बजेटमार्फत ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेकोमा बजेटको मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चालू वर्षमा ६ प्रतिशत वृद्धि हुने संशोधित अनुमान प्रस्तुत गरेको थिए । गत अगष्टमा आएको बाढीको कारण धानको उत्पादन ५.१ टन घटेपनि मकै, कोदो लगायत केही खेतीको उत्पादनमा वृद्धि हुने लगायतका कारणले पुर्व अनुमानभन्दा अहिलेको अनुमानमा अािर्थक वृद्धिदर केही बढेको हो । राजनीतिक अस्थिरता र संरचनागत अवरोधको कारणले उत्पादनमूलक क्षेत्रमा कम लगानी हुनुलाई समेत ४.९ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको एडीबीले जनाएको छ । जलविद्युत् र सिमेन्टमा भने लगानी बढेको सार्वजनिक परिदृष्यमा उल्लेख छ । 
एडीबीले सन् २०१९ अर्थात आर्थिक वर्ष २०७५-०७६ मा भने ५.५ प्रतिशत हुने अनुमान गरेको छ । राष्ट्रिय ग्रीडमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना जोडिएर आयात कम हुने तथा सामान्य मनसुनका साथै ठूला आयोजनाहरू अघि बढ्ने कारण ५.५ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको एडीबीका आवासीय निर्देशक मुख्तोर हामुदखानोभले बताए । उनका अनुसार यो अवधिमा पूर्वाधारका आयोजनाहरू तीव्र गतिमा अघि बढ्नेछन् । प्रतिवेदनले यस अवधिमा प्रदेश सरकारक खर्चहरू वृद्धि हुनुका साथै कमजोर राजस्व परिचालन हुने आकलन गरेको छ । 
एडीबीले दक्षिण एसियामा भने चालू वर्षको आर्थिक वृद्धिदर ७.३ प्रतिशत तथा आगामी वर्षको ७.६ प्रतिशन हुने अनुमान गरेको छ । प्रतिवेदनले नेपालमा गत वर्ष ४.५ प्रतिशत रहेको मुद्रास्फीति भने चालू वर्षमा बढेर ५.५ प्रतिशत पुग्ने र आगामी आर्थिक वर्षमा ६ प्रतिशत पुग्ने अनुमान गरेको छ । प्रतिवेदनले व्यवसायिक कृषिमा जोड दिँदै यसको प्रभावकारी कार्यान्वयनका लागि कानुनी, संस्थागत, वित्तीय र पूर्वाधार अवरोधका मुद्दाहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि सीमित रहेको प्रविधिमा सुधार, कमजोर बजारको अवस्था, पुर्वाधारका अवरोध र गुणस्तरीय जस्ता मुद्दालाई सम्बोधन गर्न भनेको छ । प्रतिवेदनले व्यवसायिक कृषिका लागि सम्झौतागत र सहकारीमार्फत खेती मोडालिटीलाई अघि बढाउनुपर्ने उल्लेख छ । 
प्रतिवेदनले नयाँ प्रविधिले उच्च उत्पादन वृद्धि गर्ने भन्दै यसले उच्च तलबसहित रोजगारी र आर्थिक वृद्धिदर हुने उल्लेख गरेको छ । नयाँ प्रविधिले केही रोजगारीको अवस्था गुमाउने भएपनि यसले नयाँ पेशा र उद्योगलाई जन्माउने प्रतिवेदनमा उल्लेख छ ।

Wednesday, April 11, 2018

पूर्वाधार, सार्वजनिक वित्त र कानुनहरूमा संरचनागत सुधार गर्न सक्नुपर्छ

बुधवार, चैत्र २८, २०७४
डा. स्वर्णिम वाग्ले
पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग
डा. स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका वाग्लेले केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएसँगै राजीनामा दिएका हुन् । उनी अर्थतन्त्र र योजनाका विज्ञसमेतहुन् । अर्थतन्त्रसम्बन्धी राम्रो जानकार वाग्लेसँग प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा अघि बढाउने भनेका रेलवे र पानीजहाज, अर्थमन्त्रीले ल्याएको श्वेतपत्र तथा अतिकम विकसित राष्ट्रलाई विकासोन्मुख बनाउने लक्ष्य र यसको कारणबारे कारोबारका लागि सम्पादक कुवेर चालिसे र भीम गौतमले गरेको कुराकानीको सार :
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा रेल्वे र पानीजहाज परियोजना अघि बढाउने कुरा आएको छ, यसलाई कसरी हेर्नुभएको छ ? 
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको २३अगस्ट २०१७ मा भारत भ्रमण भएको थियो । संयोगले त्यो भ्रमण टोलीमा म पनि थिएँ । द्विपक्षीय विज्ञप्ति , सामान्यतया आतिथ्य गर्ने देशले पठाउँछ । भारतले पठाएको त्यो विज्ञप्तिलाई नेपालले परिमार्जन गर्छ । त्यो टोलीमा परराष्ट्र सचिव, मलगायत थियौं । त्यो बेला करिब ३४-३५ सय शब्दमा नेपाल र भारत सम्बन्धमा बृहत् आयाम उल्लेख भए । सातवटा टपिक्स छन् । विकास–निर्माण, रक्षा, राजनीतिक सम्बन्ध, अन्तर्राष्ट्रिय फोरमहरूमा गर्ने सहकार्य, जलस्रोत र ऊर्जा, कनेक्टिभिटीलगायतका विषय थिए । यसपालिको प्रधानमन्त्री केपी शर्मा ओलीको वक्तव्य एकदम छोटो छ । जम्मा १ पाना र १२ बुँदाको छ । यसलाई मैले विगतको भ्रमणको निरन्तरताका रूपमा मात्र हेरेको छु । सम्बन्ध प्रगाढ गराउने काम पहिले नै भइसकेकाले यो पूरक सम्झौताका रूपमा आएको छ । यसमा नयाँ थपिएको भनिएको कृषिको विषय मात्र हो । जहाँसम्म पानीजहाजको कुरा छ, देउवाकै पालामा सप्तकोसी हाइड्यामदेखि सुनकोसी स्टोरेज प्रोजेक्टसम्मका कुरा उल्लेख भएका हुन् । अहिले जलमार्गको कुरालाई अघि बढाउने भनिएको छ । यो पनि सन् १९९६-९७ मा डा. प्रकाशचन्द्र लोहनी परराष्ट्रमन्त्री हुँदा र आईके गुजराज भारतको प्रधानमन्त्री हुँदादेखि नै बहसमा ल्याइएको कुरा हो । अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको प्राथमिकतामा वाटर वे परेको छ । भारतमा नेसनल इनल्यान्ड वाटरवेज अथोरिटी नै छ । उनीहरूले गंगा नदीमा हल्दियादेखि बनारससम्मको वाटर वेलाई जोड दिएका छन् । यसबारेमा भारतमा बृहत् बहस चलिरहेको छ । यसले पर्यावरणलाई ध्वस्त बनाउँछ भनेर पनि लेखहरू आइरहेका छन् । यसले लागत घटाउँछ भनेर पनि चर्चा भइरहेको छ । योे पर्यावरणीय रूपमा चुनौतीपूर्ण देखिएको छ । यसबारे सकारात्मक बहस पनि छ । सन् १९९६ पछि पानीजहाजका रूपमा एजेन्डा बारम्बार उठाइरहेका छन्, भारतका बौद्धिक व्यक्तित्वहरूले अधिकांश फोरमहरूमा नाकाबन्दीपछि भूपरिवेष्टित हुनुको पीडा नेपालले उठाएकाले र प्रधानमन्त्री ओलीले पनि पानीजहाजको कुरा उठाइरहेकाले यसलाई नवीकरण गरिएको हो । रेल पनि १५-१६ वर्ष अघि अध्ययन भइसकेको हो । वीरगन्जवासीलाई त यसबारे धेरै थाहा छ । यो पनि नवीकरण मात्र हो । के बुझ्नुपर्छ भने अहिले भारतको सातवटा रेल प्रोजेक्टहरू छन् । जोगवनीदेखि विराटनगरसम्म, रक्सोलदेखि वीरगन्ज, न्यू जलपाईगुडीदेखि काँकडभिट्टा, न्यू नेपालगन्ज रोडदेखि नेपालगन्जसम्म, नौतनवा देखि भैरहवासम्म यी लगायतका सातवटा परियोजना पहिल्यै छन् । गत वर्ष कुशीनगरबाट लुम्बिनी र लुम्बिनीबाट कपिलबस्तु पुग्ने रेलबारे अध्ययन गरिने भनेर संयुक्त वक्तव्यमा उल्लेख थियो । भनेपछि यो पनि निरन्तरता र नवीकरण भएको हो । सात परियोजनपछि आठौंका रूपमा रक्सौल–काठमाडौँको पनि सम्भाव्यता अध्ययन गर्छौैं भनेको हो । समग्रमा भन्दा प्रधानमन्त्री ओलीको जुन भारतसँगको सम्बन्ध तिक्ततापूर्ण थियो, त्यसलाई व्यक्तिगत रूपमा सामान्यीकरण गर्नका लागि यो भ्रमण भएको हो जस्तो देखिन्छ । राष्ट्रकै तहमा भने हाम्रो सम्बन्ध सौहार्दपूर्ण आत्मीयताको चरणमा यसअघिका दुई भ्रमणमानै पुगिसकेको हो ।
पछिल्लो समयमा नेपालमा चीनको लगानी र सम्बन्ध बढ्दै गएको र चीनलाई रोक्नकै लागि केही विकासका परियोजनाहरू अघि सारिएको भन्ने पनि गरिन्छ । भारतले सुरु गरेका पञ्चेश्वर, हुलाकी राजमार्गलगायतको अवस्था त उस्तै छ । यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ? 
चीनले नेपालमा बेल्ट याण्ड रोड इनिशिएटीभले ठूलै प्रभाव पार्छ कि भन्ने भय भारतीय विश्लेषकहरूमा देखिन्छ । उनीहरूले अलि अतिरञ्जित दृृष्टिले पनि हेरिरहेका हुन्छन् । किनकि उनीहरूले सामरिक दृष्टिकोण राख्छन् । हामीले बेला–बेलामा सम्झाउने गर्छौं, नाकाबन्दी गर्दा नेपालसँग उत्तरतिर जानुको विकल्प थिएन भनेर । कहिलेकाहीं आत्मआलोचना गरेको महसुस पनि हुन्छ । रेलकै हकमा सिगात्छे–केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेल परियोजनाको जुन आइडिया ल्याइएको छ, यो फ्याक्टरले पनि काम गरेको हुन सक्छ । भारतीयहरूको पानीजहाजको कुरा राष्ट्रिय एजेन्डा नै हो । कोसीमा पानीजहाजका रूपमा वाटर लिङ्किङ परियोजनासँग पनि जोडिएको छ । यसमा उनीहरूको पनि स्वार्थ छ । चीनले ल्याउने भनेर रियाक्ट गरेजस्तो लाग्दैन, तर यसले पनि सानो अंशमा काम गरेको हुन सक्छ । मोदीको फराकिलो कनेक्टिभिटीको एजेन्डा अन्तर्गत यी सबै कुरा परेका हुन् ।
दोस्रो हवाई कनेक्टिभिटी र अन्तर्देशीय व्यापार निर्देशिकाले व्यापारमा लगाउन सक्ने रोकको असर अर्थात् ऊर्जा कनेक्टिभिटीको कुरा भ्रमणका क्रममा भएको देखिँदैन, यसलाई के भन्नुहुन्छ ? 
वान टु वान वार्तामा यी कुरा भएको भनिएको छ । वक्तव्यमा यी कुरा आएका छैनन् । प्रधानमन्त्री ओलीले व्यापार घाटालगायतका विषयमा वार्ता गरेको छु र वार्ताकै माध्यमबाट अगाडि बढाउँछु भन्नुभएको छ ।
कोसी हाईड्याम निर्माणबारे स्वयं सत्ताधारीहरू विरोधमा छन् । पानीजहाज अगाडि बढाउने कुराले कतै यसलाई अघि बढाउने संकेत त होइन ? 
मौखिक समझदारीले त त्यति अर्थ राख्दैन । लिखित कानुनका रूपमा सन्धि, सम्झौता, आयोजना आउँदा यसलाई हेर्नुपर्ने हुन्छ ।
अति कम विकसित (एलडीसी) बाट विकासोन्मुख (डीसी) मा स्तरोन्नति हुने कुरा पछाडि सरेकोमा यसबारे सकारात्मक र नकारात्मक दुवै टिप्पणी भइरहेको छ । किन नेपाल स्तरोन्नति हुन सकेन ? कतिपयले नेपाललाई गरिब नै राख्ने योजना हो भनेर आलोचना गरेका छन् नि ? 
म ठोकुवाका साथ भन्छु, यो अल्पज्ञान नै हो । एलडीसी स्तरोन्नतिको इतिहास छ । सन् १९७१ मा अल्प(विकसित राष्ट्रहरुलाई सूचीकृत गराउने चलन आयो । झन्डै ५० वर्ष हुन लाग्यो, धेरै मुलुक स्तरोन्नति भएनन् । सन् २०११ को एलडीसी सम्मेलनमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले नेपालका तर्फबाट नेतृत्व गर्नुभएको थियो । सन् २०२०-२२ सम्म नेपाललाई पनि स्तरोन्नति गर्ने लक्ष्य राखियो । अहिलेसम्म जम्मा पाँच मुलुक मात्र स्तरोन्नति भए । थप दुई राष्ट्र एलडीसीबाट स्तरोन्नति हुने क्रममा छन् । नेपाल दुई पटक योग्यता पुगेको ६ वटा राष्ट्रभित्र परेको छ । दुई पटक योग्यता पुगे पनि नेपाल र पूर्वी(टिमोरले यो साल स्तरोन्नति नहुने उल्लेख गरे पनि भुटानलगायतका अन्य स(साना राष्ट्रहरू माथि जानका लागि तयार भएका छन् । पहिलो पटक एलिजिबल बंगलादेश, लाओस र म्यानमार भएका छन् । जनसंख्या र सामर्थ्यका दृष्टिले यि तीनसंग हाम्रो समानता छ । सन् २०२१ मा उनीहरूसँगसंगै स्तरोन्नति हुँदा नेपाललाई राम्रो हुन्छ । प्रतिव्यक्ति आय, आर्थिक जोखिमको सूचकांक र मानव संसाधनका आधारमा अर्थात् तीन क्राइटेरियामध्ये दुईवटामा लगातार दुइवटा त्रि(वर्षीय समिक्ष्यामा योग्य भएमा मात्र स्तरोन्नति हुन्छ । अहिलेसम्म आयको मापदण्ड नपुगी कुनै पनि मुलुकको स्तरोन्नति भएको छैन, तर नेपालमात्र एउटा यस्तो मुलुक हो, आयबाहेकका अन्य दुई सूचकांकमा योग्य छ । प्राविधिक रूपमा दुई सूचकांकमा उत्तीर्ण भए स्तरोन्नति हुन्छ, तर आयको विशेष महत्व छ । प्राविधिक रूपमा स्तरोन्नतिका लागि नेपाल तयार भए पनि आय कम्तीमा तोकिएको हाराहारीमा पुगोस् भन्ने हाम्रो मान्यता हो । प्रतिव्यक्ति आय १२ सय ३० डलर तोकिएको छ, अहिले नेपालको आय ७ सय ५० डलरको हाराहारीमा छ । अहिले त थ्रेस होल्डभन्दा करिब ४० प्रतिशत कम छ । हामी कम्तीमा १ हजार डलरको हाराहारीमा पुगोस् भन्नेमा थियौं । आर्थिक वृद्धिदर दिगो र दह्रो हुनुपर्ने र प्रतिव्यक्ति आय पनि सम्मानजनक अर्थात् १ हजार डलरभन्दा माथि भएको भए थ्रेस होल्ड नपुग्दा पनि गैर आय सूचककै भरमा स्तरोन्नति हुन सक्थ्यौं । यही कारण म योजना आयोगको उपाध्यक्ष हुँदा मैले प्रधानमन्त्रीलाई टिप्पणी लेखेर यसपालि स्तरोन्नति नगर्ने गरी अघि बढेका थियौं । प्रधानमन्त्री देउवाले सदर गरेको त्यो कुरालाई ओली सरकारले पनि निरन्तरता दियो ।
ओली सरकारले अघिल्लो सरकारले गरेका कतिपय निर्णयहरू चिन्दैनौं भनिरहेका बेला एलडीसीलाई डीसी तत्काल नबनाउने बारेको निर्णयलाई कसरी चिन्यो र निरन्तरता दियो त ?
चुपचाप किसिमले प्रधानमन्त्री ओलीले हामीले अघि बढाएका धेरै कामलाई निरन्तरता दिइसक्नुभयो । हामी त्यति प्रचारप्रसार गर्न चाहँदैनौं । योजना आयोगको पुनर्संरचनाबारे मेरै नेतृत्वमा अध्ययन भएर प्रतिवेदन तयार भएको थियो । त्यसलाई पनि निरन्तरता दिइएको छ । जहाँसम्म एलडीसीको कुरा छ, कतिपय प्रावधान नेपाल सुहाउँदो छैनन्, तिनीहरूमा सुधार गर्नुपर्छ भनेर सुझाव पनि दिइएको छ । ती प्रावधानहरूमा गुणस्तरभन्दा पनि पहुँचलाई बढी जोड दिइएको छ । गुणस्तरलाई बढी जोड दिनुपर्छ भन्ने हाम्रो सुझाव छ । डीसीमा जानका लागि चाहिने दुई योग्यतामा जुन उत्तीर्ण नेपाल भएको छ, त्यसलाई जोगाएर प्रतिव्यक्ति आयलाई बढाउनुपर्छ भन्ने हाम्रो मान्यता छ । हतारिएर काम छैन, तत्काल पाउने कुरा केही थिएन भनेरै यसलाई स्तरोन्नति नगरिएको हो । अहिले गरेको भए राष्ट्रवादी छाती पिटाइ मात्र हुन्थ्यो । अर्को घातक के हुन्थ्यो भने एलडीसीको नाममा आइरहेका व्यापारका सुविधाहरू र अनुदानहरू तीन वर्षपछिको संक्रमणपछि कटौती गर्ने सम्भावना बढ्थ्यो । यी समग्र कुरा विचार गरेर देउवा सरकारले अहिले स्तरोन्नति नगरेको हो । सन् २०२१ मा म्यानमार, लाओस, बंगलादेशसँगै नेपाल पनि स्तरोन्नति हुन्छ ।
तपाईंको टिप्पणी सुन्दा त नेपालको अर्थतन्त्र समस्याग्रस्त छ भनेर त देखिँदैन, तर हालै अर्थमन्त्रीले ल्याएको श्वेतपत्रले अर्थतन्त्र पूरै समस्याग्रस्त देखाएको छ नि ? यसले अन्योल बढायो नि ? 
यसबारे धेरै प्रतिक्रिया आइसक्यो । अहिले अर्थमन्त्री पनि रक्षात्मक चरणमा हुनुहुन्छ भन्ने देखिन्छ । उहाँ राम्रो अवसरबाट चुक्नुभएकै हो । यो श्वेतपत्र विवादरहित वस्तुपरक चित्रण हुन सक्थ्यो, जसलाई सम्पूर्ण राष्ट्रले बोक्न सक्थ्यो । यसमा यसरी राजनीतिक आग्रह मिसाइयो कि आँकडाहरूको विश्लेषण पनि पूर्वाग्रही दृष्टिले गर्दा विवादरहित बन्न सकेन । यसमा हामी चुकेकै हो । अर्थमन्त्री यूएनडीपीको प्रिय परामर्शदाता हुनुहुन्छ । अन्तर्राष्ट्रिय प्रतिवेदनहरू कसरी लेखिन्छन् भनेर उहाँलाई राम्रो ज्ञान छ । कहाँबाट कहाँ आयौं र अहिले समस्याहरू के–के हुन्, त्यसलाई कसरी शुद्ध बनाउन उपायहरू के–के हुन् ? यसमा आउन सक्ने जोखिमहरू के–के हुन ? यो गरेको भए सन्तुलित, वस्तुपरक चित्रण आउँथ्यो । भएका सबल पक्षलाई पूर्ण रूपमा इन्कार गरेर नकारात्मक कुरालाई मात्र राख्दा यसले सन्तुलन गुमायो । विश्वसनीयतामा पनि प्रश्न उठ्यो । राम्रा कुरा नराख्दा यो पूर्वाग्रहको घानमा पर्यो ।
त्यस्ता सबल पक्ष के–के छन् र ? 
मैले एलडीसी स्तरोन्नतिको कुरा गरेँ । तीन वर्षपछि त्यो बेलाको सरकारले हामीले मुलुकलाई स्तरोन्नति गर्यौं भनेर जस लिन खोज्नुहोला । सन् २०२१ मा पनि आयको थ्रेस होल्ड पुग्दैन । अहिलकै जस्तोे दुई सूचककै आधारमा स्तरोन्नति गर्नुहोला । अहिले देउवाले चाहेको भए ४०-४५ वर्षसम्म अल्पविकसित रहेको नेपाललाई डीसीमा स्तरोन्नति गराएर छोडे भनेर ठूलो राजनीतिक प्रचारबाजी र श्रेय लिन सक्ने अवस्थामा हुनुहुन्थ्यो ्र तर मुलुकको हितका लागि अलि परिपक्व हुन्न भनेर तीन वर्षका लागि सार्ने भनेर राष्ट्रको हितमा जुन काम गर्नुभयो, यो कुरा बुझ्नुपर्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा कुनै पनि मुलुकको आर्थिक दरलाई सबैभन्दा पहिला तुलना गरेर हेरिन्छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत र यो वर्ष ६ प्रतिशतको वृद्धिदर हुने अवस्था छ भनेर अर्थमन्त्रीले मध्यावधि समीक्षामा सही गर्नुभएको छ । लगालग ६ प्रतिशतभन्दा माथि दुई वर्षसम्म निरन्तर वृद्धि भएको ३५ वर्षअघि मात्र थियो । पहिलो पटक तीव्र गतिको आर्थिक वृद्धिले लय समातेको यथार्थतालाई अहिलेका अर्थमन्त्रीले इन्कार गर्नुभयो । अहिलेकै वृद्धिदरलाई ८-१० वर्षसम्म निरन्तरता दिए त अहिलेको अर्थतन्त्रको आकार दोब्बर हुन्छ । हामीले आर्थिक क्षेत्रमा स्वर्णिम युग भनेर चिन्ने गिरिजाप्रसाद कोइरालाको बहुदलीय प्रजातन्त्रका बेला पनि एकपटक मात्र ७ प्रतिशतको वृद्धिदर नेपालले हासिल गरेको हो । मुद्रा स्फीतिमा अर्थमन्त्रीले १० वर्षको आँकडा दिनुभएको छ । पछिल्ला वर्षमा ३, ४, ५ प्रतिशतको हाराहारीमा छ । यो तुलनात्मक रूपमा धेरै राम्रो हो । राजस्व संकलनको अवस्था हेर्ने हो भने सरकारी तथ्यांकअनुसार नै अहिले ४ सय ६१ अर्ब उठिसकेको छ । ७ सय ३० अर्बको लक्ष्य थियो, हामीलाई थाहा छ, पछिल्ला त्रैमासिकमा बढी राजस्व उठ्छ । यसपालि चुनावका बेला भएको खर्च फ्रन्ट(लोड़ेड र आम्दानी ब्याक(लोड़ेड हुन्छ, तर राजस्व बढिरहेको छ । प्रत्यक्ष वैदेशिक लगानी हेर्ने हो भने गत वर्ष पहिलो पटक सन् २०१६-१७ मा १ सय मिलियन डलरभन्दा बढीको प्रतिबद्धता आएको छ । यो नेपालको इतिहासमा पहिलो पटक हो । गत वर्षभन्दा यो वर्षको आठ महिनामा त्योभन्दा बढी आइसक्यो । वैदेशिक लगानीमा सकारात्मक तरंग आएको छ । यसलाई निरन्तरता दिएर प्रतिबद्धता र आश्वासनहरूलाई साँच्चिकै मूर्त गर्नुपर्ने सरकारी चुनौती छ, तर प्रतिबद्धता आउनु सकारात्मक कुरा हो । पर्यटनमा हेर्ने हो भने नेपालमा पहिलो पटक झन्डै १० लाख पर्यटक भित्रिए । ऊर्जा क्षेत्रमा कायपलट गर्न सक्ने ५० अब डलरको अमेरिकी अनुदानलाई यही वर्ष हामीले अनुमोदन गर्यौं । यो ल्याउनका लागि डा. रामशरण महतको पालादेखि सुरु गरेको काम ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुँदा हस्ताक्षर नै भयो । यसबाट ३ सय किलोमिटर ४ सय केभीको हाई भोल्टेज लाइन बन्दैछ । यसले ऊर्जामा कायापलट नै गर्छ । कृषिमै भेरी बबईलगायतका सिंचाई योजना तीव्र गतिमा अघि बढिरहेका छन् । एमडीजीमा हेर्ने हो भने पनि धेरै पूरा भएका छन् । जहाँसम्म ढुकुटी रित्तियो, ढुकुटी रित्तियो भनिएको छ । सोझो हिसाबले हेर्ने भनेको बाह्य र आन्तरिक सन्तुलन हो । १०-११ अर्ब डलरको सञ्चिति छ । स्थानीय निकायलाई दिइएको रकमसमेत गरेर राष्ट्र बैंकको ढुकुटीमा २ खर्ब ५० अर्ब रुपैयाँ बराबर छ । चुनाव लगायतका कारणले यसपालि जति खर्च गर्ने भनिएको छ, त्यो हुँदैन पनि । यी माथिका सबै आयाम सकारात्मक छन्, तर श्वेतपत्रमा यीबारे चुइँक्क बोलिएको छैन । यीसमेत उल्लेख गरेर देखिएका चुनौतीबारे लेखिएको भए यो सन्तुलित हुन्थ्यो, यो भएन ।
देशमा सबै सकारात्मक कुरा मात्र थिए त ?
चुनौती त छन् । उहाँले जुन बजेट अनुशासनसहीनताको कुरा उठाउनुभएको छ त्यसमा मेरो पूर्ण समर्थन छ । उहाँले यो बेथितिको कुरा विगत १० वर्षदेखि चर्केको कुरा उठाउनुभएको हो । पछिल्ला दुई बजेट उहाँको निसानामा परेका छन् । १० वर्षको अवधि अर्थात् पुष्पकमल दाहाल प्रधानमन्त्री भएको समय २०६५ सालपछिको समीक्षा गर्ने हो भने ३ हजार ५ सय १९ दिनको ७६ प्रतिशत समय गैरकांग्रेसी प्रधानमन्त्री र अर्थमन्त्री भएका थिए । १० वर्षमा अर्थतन्त्र रेलको लिकबाट बाहिर आयो भनिन्छ भने त्यो कुराको विश्लेषण यसरी गर्न सकिन्छ । उहाँले उठाउनुभएका कुरा नीतिबारेभन्दा शासनसंग बढी सरोकार राख्छन् ्र निजीकरणको विषयमा नीतिगत प्रहार हो भन्ने जस्तो देखिएपनि वहाँले खाली अभ्यासको कुरा उठाउनुभएको छ । ट्याक्स उठाउन सकिएन, कर्मचारीहरूलाई ठाउँमा खटाउन सकिएन, अनौपचारिक क्षेत्र मौलायो, बजेटभन्दा बाहिरी खर्च भयो, यी कुरा सुशासनसँग सम्बन्धित छन् । १० वर्षमा बिग्रियो भन्ने हो भने यसको बागडोर सम्हालेको कसले, वामपन्थीले ? पछिल्ला दुई बजेट बेथितिको नमुना भएको उहाँकै श्वेतपत्रले इंगित गरेको छ । यी दुई बजेट एउटा विष्णु पौडेल र अर्को कृष्णबहादुर महराले ल्याउनुभएको थियो । पौडेलले बजेट ल्याएका बेला योजना आयोगका उपाध्यक्ष अहिलेका अर्थमन्त्री नै हुनुहुन्थ्यो । १० खर्ब ४९ अर्बको बजेट ल्याइएको थियो । १० खर्बभन्दा बढीको बजेट ल्याएको पहिलो पटक हो । विगत पाँच वर्षको अवधि हेर्दा शंकर कोइरालाले ५ सय १७ अर्बको बजेट ल्याउनुभयो, रामशरण महतले ६ सय १८ अर्बको बजेट ल्याउनुभयो । त्यसपछि भूकम्प आयो, ९१ अर्बको पुनर्निर्माण बजेट समेत गरी महतले ८ सय १९ अर्बको बजेट ल्याउनुभयो । त्यसपछि पौडेलले १ सय ४१ अर्बको पुनर्निर्माणसहित १० खर्ब ४९ अर्बको बजेट ल्याउनुभयो । महराले पुनर्निर्माणको बजेट त्यत्तिकै हाराहारीमा थियो, तर बजेट १२ खर्ब ७८ अर्ब आयो । दुबैपटक बजेटमा पुनर्निर्माण बाहेक झन्डै २५ प्रतिशत वृद्धि गरियो । वृद्धभत्ता दोब्बर, कर्मचारीको तलब २५५ वृद्धि, तयारी नभएका आयोजनाहरूमा ठूला–ठूला रकम हाल्ने जस्ता काम भयो । यसले बेथिति ल्यायो । बेथितिको जग त्यतिबेलै चर्किएको हो । महराको पालामा विष्णु पौडेलले गर्न हुने, मैले गर्न किन नहुने भनेर गरियो । यसरी बजेटको अनुशासन भत्किएको हो । त्यो बेला योजना आयोगले जम्मा ११ खर्ब ५६ अर्बको सिलिङ तोकेको थियो । राम्रा कार्यक्रम आएमा थप ५० अर्बसम्म बढाउन सकिने भनिएको थियो, तर मन्त्रालयहरूलाई ११ खर्ब ५६ अर्बकै सिलिङ थियो । यसरी बढ्दैछ बजेट भन्नेकुरा अन्तिम समयमा मात्र थाहा भयो । एकपटक तत्कालीन अर्थसचिव शान्तराज सुवेदीले बोल्नुभएको थियो, राष्ट्र बैंकमा १ खर्ब २ अर्ब मौज्दात भनेर राखेका थियौं, त्यो रहेनछ भनेर । कांग्रेसले अर्थतन्त्र ध्वस्त बनाएर दियो भनेर जुन कुरा गरिएको छ, ज्ञानेन्द्रबहादुर कार्की आएर के गर्नुभयो भनेर हेर्नुपर्ने हुन्छ । उहाँले नयाँ वा पूरक बजेट ल्याउन पाउनुभएन । चुनावका कारणले नयाँ योजनाहरू ल्याउने र रकमान्तर गर्न पनि पाउनुभएन । पछिल्लो समयमा भूकम्पपीडित र बाढीपीडितका लागि रकम थप्ने तथा वृद्धभत्ता पाउने समय घटाउने कुरा भएका छन् । यी कुरा कति उचित थिए-थिएनन् भनेर छुट्टै बहस हुन सक्छ । अहिले त्यो माइन्युटिङ नगरिएको भन्न थालिएको छ । त्यो निर्णय नचिन्ने भनेर अहिलेको सरकारले भनेकाले अब  ति विषय गौण भएर गएका छन् ।
अहिले हामी संघीयतमा गएका छौं, अबको मुलुक कतातिर अघि बढ्नुपर्छ ? 
अहिलेको सरकारसंग जनमत छ । तीव्र आर्थिक विकासका लागि उपयुक्त अवसर आएको छ । एउटा अवसर नेपाल अति पिछडिएको अवस्थामा बीपी कोइरालालाई आएको थियो । १७ महिनाको छोटो समयमा जुन काम गर्नुभयो, हालसम्मको कुनै सरकारले दोहोर्याउन सकेको छैन । त्यति दूरगामी र क्रान्तिकारी कामहरू भए । त्यसपछि राजा महेन्द्रले अवसर पाए । बीपी कोइरालाकै एजेन्डालाई निरन्तरता दिएर अघि बढे । त्यो राजनीतिक रूपमा अलोकतान्त्रिक व्यवस्था भएकाले पाउनेसम्मको जस पाएनन् । २०४८ सालमा सीमित म्यान्डेट गिरिजाप्रसाद कोइरालाले पाउनुभएको थियो । तीन वर्षमा भए पनि नेपाललाई आर्थिक सुधारको बाटोमा लैजानुभयो । त्यसले मुलुकलाई आजसम्म धानेको छ । अहिले ओलीको सरकार छ, जसलाई जताततै दुईतिहाइको म्यान्डेट छ । स्थानीय, प्रदेश र संघ तीनवटै उहाँहरूकै नियन्त्रणमा छ । अहिले अर्थतन्त्रको विकासका लागि अनुकूल समय छ । अन्तर्राष्ट्रिय रूपमा के प्रचलन हुन्छ भने हेभी म्यान्डेट भएका बेला पहिलो काम जनतामा सरकारप्रतिको विश्वासको पुनर्जागरण गर्नु आवश्यक छ । पहिला मनौवैज्ञानिक रूपमा कर्मचारीतन्त्र पनि खत्तम, नेताहरू पनि भ्रष्ट भन्ने निराशाको वातावरण थियो । यसलाई आशामा परिणत गरेर अर्थतन्त्रले लय समात्नुपर्छ । अर्को कुरा, जो सही लगानीकर्ता छन् र जोखिम मोलेर लगानी गर्न आउँछन्, प्रतिफल दिने प्रत्याभूतिसहित आर्थिक सुधारका काम अघि बढाउनुपर्छ । तेस्रो, तत्काल चुनाव नहुने अवस्थामा केही अप्रिय निर्णय लिनैपर्छ । पहिला ६-८ महिना आयु छ, किन अप्रिय निर्णय गर्ने भन्ने थियो । अब संरचनागत रिफर्म गर्नुपर्छ, जुन अप्रिय हुन सक्छ । नियमनकारी कानुनहरूमा स्वार्थी समूहहरू खेल्ने गरेका थिए, त्यसलाई पन्छाएर साँच्चिकै राष्ट्रहित र अर्थतन्त्रलाई दिगो वृद्धि गर्ने गरी रिफर्मलाई अघि बढाउनुपर्छ । आफ्नो पार्टीका कार्यकर्ता, व्यवसायीको हितभन्दा राष्ट्रलाई हित हुने गरी रिफर्म गर्नुपर्छ । पूर्वाधार, सार्वजनिक वित्त र नियमनकारी कानुनहरूमा निर्ममतापूर्वक संरचनागत सुधार गर्नुपर्छ । कोही रिसाउलान् भनेर लाग्नु हुँदैन । ओली सरकार राष्ट्रको हितमा अप्रिय निर्णय गर्न तयार हुनुपर्छ । केही क्षेत्रमा उहाँहरूको नीति तथा कार्यक्रम बनाउँदा ध्यान जाओस् भन्न चाहन्छु । एउटा अर्थतन्त्रको वृद्धिलाई चलायमान गराउनुपर्यो । हार्ड र सफ्ट दुवैमा धक्का दिनुपर्छ । हार्डमा पूर्वाधार र सफ्टमा कानुनी सुधार नै हो । जलमार्ग, रेलवेले यसलाई असर नगरोस्, त्यो अध्ययन हुँदै गरोस । दोस्रो शिक्षा र स्वास्थ्य नै हो । यसलाई परम्परागत होइन, अर्ली चाइल्डहुडको दृष्टिकोणबाट हेर्नुपर्छ । तेस्रो सीप, रोजगारी र सामाजिक सुरक्षालाई एकीकृत ढाँचाबाट अघि बढाउनुपर्छ । चौथो वित्तीय संघीयताको कुरा छ । एकातिर आवश्यकता छ, अर्कातिर स्रोतमा चाप छ । संयोगवश सबैतिर एउटै पार्टीको पकड भएकाले यसमा सहज हुन्छ । केही अप्रिय भएर योभन्दा बढी तपाईंहरूले पाउनुहुन्न भनेर संघले स्पष्ट भन्न सक्नुपर्छ । किन अप्रिय भनेको भने चुनावी घोषणापत्र हेरेर स्रोतको बांडफांड गर्ने हो भने त कहालीलाग्दो अवस्था छ । वृद्धभत्ता एमालेले ५ हजार पुर्याउने भनेको छ, यसले ६० अर्ब हाराहारीमा दायित्व पुग्छ । २२-२३ अर्बको अहिलेको लागतलाई ६० अर्ब पुर्याउन कठिन हुन्छ ।