Saturday, January 30, 2021

भ्रष्टाचारमा नेपालको अवस्था झन् खस्कियो

https://www.karobardaily.com/news/127600

 माघ १६, २०७७ शुक्रबार

नेपालमा भ्रष्टाचारको अवस्था झन् कमजोर अवस्थामा पुगेको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले देखाएको छ । इन्टरनेशनलद्वारा बिहीबार सार्वजनिक भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२० मा नेपालको स्थान झन कमजोर भएको देखाएको हो । सन् १९९५ देखि प्रत्येक बर्ष सीआईपी प्रतिवेदन सार्वजनिक गरेको थियो ।
अघिल्लो वर्ष १८० देशमध्ये ११३ औं स्थानमा रहेको नेपाल यो वर्ष भ्रष्टाचार व्याप्त मुलुकको ११७ औं स्थानमा पुगेको छ । १०० पूणांकमा नेपालले ३३ अंक पाएको छ, नेपालले गत वर्ष ३४ अंक पाएको थियो । नेपालको अवस्था खस्किएसँगै यसले आर्थिक क्षेत्रमा समेत समस्या पर्नेछ । भ्रष्टाचार बढ्दा त्यसको दबाब आर्थिक क्षेत्रमा ठूलो पर्ने विश्लेषण गरिएको छ ।
विश्व बैंक, विश्व आर्थिक मञ्च, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटी अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीइएम) को रिपोर्टको आधारमा सीपीआई स्कोर मापन गर्ने गरेको छ । ५० भन्दा कम अंक रहेका मुलुक भ्रष्टाचारमा व्याप्त भएको मानिन्छ । प्रतिवेदनका अनुसार, वल्र्ड जस्टिस प्रोजेक्टबाहेक सबैको प्रतिवेदनमा नेपालको अवस्था गत वर्षजस्तै रहेको छ । वल्र्ड जस्टिस प्रोजेक्टले अघिल्लो वर्ष नेपाललाई ३५ अंक दिएकोमा यो वर्ष ३२ दिएको छ ।
सीपीआईका पुरक सर्वेक्षणहरुमध्ये विश्व बैंकले सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको काम कारबाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सिमित व्यक्तिहरूको राज्य सञ्चालनमा पकडबारे सर्वेक्षण गरेको छ ।
वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का–पट्टा र न्यायिक निर्णयमा भ्रष्टाचारबारे सर्भेक्षण गरेको छ । ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्का–पट्टा, आयात निर्यातमा घूस र भ्रष्टाचारबारे सर्वेक्षण गरेको छ । बर्टेल्सम्यान फाउन्डेसनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारी माथि कतिको कारबाही हुन्छ र सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास कतिको सफल छ भन्ने सर्वेक्षण गरेको छ ।
वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा सर्वेक्षण गरेको छ । भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) ले राजनीतिक भ्रष्टाचारअन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिकासम्बन्धित भ्रष्टाचारको व्यापकताजस्ता विषयहरूबारे सर्वेक्षण गरेको थियो ।
प्रतिवेदनले नेपालका सरकारी कार्यालयहरुमा ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ’ भन्ने नारा टाँसिए पनि नघटेको देखाएको छ । भ्रष्टाचार नियन्त्रणमा पर्याप्त प्रयास नगरेको ट्रान्सपरेन्सी इन्टरनेसनलको निष्कर्ष छ ।
दक्षिण एसियाली देशको सूचकांक
देश अंक श्रेणी
भारत ४० ८६
बंगलादेश २६ १४६
भुटान ६८ २४
पाकिस्तान ३१ १२४
श्रीलंका ३८ ९४
अफगानिस्तान १९ १६५
माल्दिभ्स ४३ ७५
स्रोतः ट्रान्सपरेन्सी इन्टरनेशनल

No comments: