https://www.karobardaily.com/news/136741
बैशाख १६, २०७८ बिहीबार
एसियाली विकास बैंक (एडीबी) सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबी आउटलुक २०२१ ले सन् २०२० मा माइनस १.९ प्रतिशत आर्थिक वृद्धिदर रहेकोमा यसमा सुधार भई ३.१ प्रतिशत हुने उल्लेख गरेको हो ।
हालै विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०२१ को आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले २०७९÷८० अर्थात् सन् २०२२ मा भने आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । तर, कोरोनाको दोस्रो लहरको संक्रमणका कारण विहीबारदेखि सरकारले निशेधाज्ञा जारी गरेका कारण फेरि औद्योगिक गतिबिधी कम हुन गै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । जसको फलस्वरुप आगामी आर्थिक वर्षमा पनि अर्थतन्त्र विश्व बैक वा एसियाली विकास बैंकले प्रक्षेपण गरेझैं हुने कुरामा आशंका छ ।
हाल नेपालमा सञ्चालन भइरहेको कोरोनाको भ्याक्सिनेसन अभियानका कारण आर्थिक गतिविधि चलायमान भएको तथा कृषि उत्पादनमा पनि वृद्धि भएको बैंकले जनाएको छ । प्रतिवेदन अनुसार राम्रो मौसम र खेती गरिएको क्षेत्र बढेकोले धानको उत्पादन १.३ प्रतिशत बढेको छ भने समग्र कृषि क्षेत्रको उत्पादन २.२ प्रतिशतबाट बढेर २.४ प्रतिशत पुगेको छ । गत जुलाईमा ४ प्रतिशत मात्र उत्पादनमूलक उद्योग सञ्चालन रहेकोमा डिसेम्बरसम्मा ५४ प्रतिशत सञ्चालन भैसकेको तथा उत्पादन २९ प्रतिशतबाट ५० प्रतिशत पुगेको छ । मेलम्चीको खोपानी वितरण सुरु भएको तथा छिट्टै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न लागेकोले पनि आर्थिक वृद्धि गत वर्षभन्दा वृद्धि हुने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।
पहिलो लहरको कोभिडपछि बन्द रहेका थोक तथा खुद्रा पसलहरु ६५ प्रतिशत सञ्चालनमा रहेको, सेवा क्षेत्र ३.४ प्रतिशतले बढेको, चालू वर्षको ८ महिनामा विप्रेषण ८ प्रतिशतले बढेको तथा सन् २०२१ म व्यापारको वातावरणमा सुधार भई ५ प्रतिशत लगानी बढ्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
No comments:
Post a Comment