Wednesday, July 28, 2021

समृद्धिका लागि १५ प्रतिशतसम्म पूर्वाधारमा लगानी गर्नुपर्छ

https://www.karobardaily.com/news/149732 

श्रावण १३, २०७८ बुधबार

३४ वर्षसम्म सरकारी सेवामा बिताएका कमल पाण्डेले सडक विभागमा मात्र २४ वर्ष काम गरे । १० वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायतमा बिताएका सरकारका पूर्वसहसचिव पाण्डे त्यसपछि पनि निरन्तर रूपमा पूर्वाधार क्षेत्रमा सक्रिय छन् । पूर्वाधार विज्ञ पाण्डेसँग नेपालको पूर्वाधार अवस्था, यसको समय र लागत वृद्धिको कारण, ठूला पूर्वाधार क्षेत्रबारे हुने अनावश्यक विवाद, आगामी दिनमा आवश्यक पर्ने पूर्वाधार र यसले अर्थतन्त्रमा पार्ने प्रभावलगायतका विषयमा कारोबारकर्मी भीम गौतमले गरेको गरेको कुराकानीको सार :

नेपालको पूर्वाधारको अवस्था कस्तो छ, के यो पर्याप्त छ, यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
पूर्वाधार भनेको कहिल्यै पर्याप्त हुँदैन । यो एउटा किसिमको पुँजी निर्माण प्रक्रिया हो । पूर्वाधारले आर्थिक तथा सामाजिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पूर्वाधारको विकाससँगै मानिसको जीवनस्तर पनि उच्च हुँदै जान्छ । उनीहरूमा बढी सुविधा पनि उपलब्ध हुँदै जान्छ । नेपालको पूर्वाधार अहिलेको अवस्थामा त पर्याप्त छैन भने आर्थिक समृद्धिका लागि भविष्यमा त के पर्याप्त होला । सेवा प्रवाहलाई सहजीकरणका लागि पूर्वाधारहरू बढाउँदै जानुपर्छ ।

नेपालमा ठूला पूर्वाधार निर्माण सुरु भएका छन् । राष्ट्रिय गौरवका आयोजनाहरू पनि धेरै छन्, तर सबैको लागत र समय लम्बिएको छ । यसको पछाडिको कारण के देख्नुहुन्छ ?
अहिलेसम्म पनि हाम्रो पूर्वाधारले निश्चित दिशा लिन सकेको छैन । कतिपय पूर्वाधारको छनोटमै हाम्रो कमजोरी छ । हाम्रो पूर्वतयारी नै पूरा नभई सुरु हुने समस्या छ । आर्थिक मागभन्दा पनि राजनीतिक मागका आधारमा छनोट भएका परियोजनाहरू छन् । कतिपय सप्लाई साइटमा आएका परियोजनाहरू पनि छन् । एकातिर आवश्यक पूर्वाधारहरू नबनेको अवस्था छ भने अर्कातिर बनेका संरचनाहरू पनि अर्को पूर्वाधारसँग नजोडिएको कारणले पर्याप्त उपयोग भएको छैन ।

पूर्वाधार निर्माण अघि बढेको त लामो समय भइसक्यो, तर लागत र समयमै बन्ने कुरा त धेरै टाढाको कुरा बनेको छ । यसको मुख्य चुनौती के हुन्, जसले प्रभावकारी रूपमा काम गर्न रोकेको छ ?
हामीले पूर्वाधार क्षेत्रलाई नराम्री गिजोलेका छौं । कसरी गिजोल्यौं भने हामीले उचित लागत, समयमै र गुणस्तरीय कामको कुरा त गरिरहेका छौं, तर व्यवहारमा उतारेका छौं त ? योजनाहरूको उचित लागत तय गर्ने मापदण्डहरू नै तय गर्न सकेका छैनौं । यसका लागि आवश्यक सर्तहरू, उपकरणहरू, यसको परिचालन कसरी गर्ने भन्ने स्पष्ट छैन । हामीले पूर्वाधार क्षेत्रमा नचाहिने कामहरू पनि गरिरहेका छौं । पुनर्निर्माण र पुनस्र्थापनाको क्षेत्रमा आफ्नो क्षमताभन्दा बढी गएर काम गरिरहेको पनि देखेका छौं । त्यसको महत्व खास हुँदैन । जहाँसम्म लागतको कुरा छ, हामीले आयोजना निर्माण गर्दा कतिसम्म लागतमा बनाउने, कति कष्ट भेरियसन गर्ने भन्ने अधिकार योजना प्रमुखहरूमाथि छैन । त्यो माथि गइसक्यो । अन्त्यमा लागत कति हुन्छ भन्ने कुरा परियोजनामा सीमित भएन । मन्त्रालय वा मन्त्रिपरिषद्मा गयो । सुरुमा कति समय लाग्छ भनेर ठेक्का व्यवस्थापन गरेपछि त्यसको उत्तरदायित्व नहुँदा यसको दायरा पनि माथि गइसक्यो । यो योजना वा यसको प्रमुखमा छैन । गुणस्तर भनेपछि स्पेसिफिकेसनको कुरा हो । यसलाई पनि व्यवस्थित गर्न सकेनौं ।

के पूर्वतयारीबिना र राजनीतिक दबाबका कारण पूर्वाधार आयोजनाहरू छनोट हुने गरेका हुन् ? यस्तै अवस्था अझै छ त ?
अहिलेसम्म नेपालसँग अझै पूर्वाधारको गुरुयोजना नै छैन । हामीले यस क्षेत्रमा हाम्रो आवश्यकता के हो भनेर पहिचान नै गर्न सकेका छैनौं । एक–अर्का पूर्वाधारबीचको अन्तरसम्बन्ध नै हामीले स्थापित गर्न सकेका छैनौं । गुरुयोजना निर्माण गरेर एक–अर्का क्षेत्रका लागि सहयोगी रूपमा अघि बढ्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने हो ।

अहिलेसम्म पनि नेपालले गुरुयोजना निर्माण गर्न नसक्नुको कारण के हो ? यसमा किन पहल भएन ?
गुरुयोजना निर्माणमा प्रयास नै नभएको होइन, तर राजनीतिक परिवर्तनहरू यति छिटो भए कि यसले समस्या पा-यो । अर्को राजनीतिक दलहरूले आफूले तयार गरेको घोषणापत्र कहाँ पुग्यो भन्नेमा राजनीतिक रूपमा विश्लेषण गर्न नसक्नु, यसका प्राथमिकताहरू हरेक पटक परिवर्तन हुँदै जानुलगायतका कारणले अन्योलको अवस्था सिर्जना भएको हो । पूर्वाधार चाहिन्छ भनेर हामीले निजगढ विमानस्थल अघि बढाउने कुरा त सन् २००० मा नै गरिएको हो नि । २१ वर्ष भए पनि अघि बढाउन किन सकेका छैनौं ।

राजनीतिज्ञहरूले बिनापूर्वतयारीका परियोजनाहरू राख्न दबाब दिए पनि कर्मचारीतन्त्रले यसलाई रोक्न नसकेको हो ? लामो समय तपाईं पनि त्यो निकायमा रहेकाले यसमा कत्तिको दबाब झेल्नुपथ्र्यो ?
हाम्रो कर्मचारी संयन्त्र भनेको निजामती कर्मचारी ऐनअन्तर्गतको हो । उनीहरूको क्षमता अभिवृत्ति र वृत्ति विकासका लागि पनि कार्यक्रम आउनुपर्ने थियो । छिटो–छिटो राजनीतिक परिवर्तनले कर्मचारी क्षमता विकास पनि अन्ततिर नै मोडियो । वृत्ति विकास त भयो, तर खालि बढुवा खानका लागि मात्र भयो । प्राविधिक ज्ञान, अन्तर्राष्ट्रिय अनुभवहरूलाई थप गर्नुपर्ने हो, जसले परियोजनालाई इनोभेटिभ रूपमा अघि बढाउन सकिन्छ भन्ने कुरा भएन । न यसबारे कर्मचारीतन्त्रबाट कुरा आयो, न राजनीतिक निकायबाट आयो । हाम्रो कर्मचारीतन्त्र त खालि माथिबाट गरेको निर्देशनलाई कार्यान्वयन गर्ने निकायमा मात्र सीमित भयो । अर्को त राजनीतिक परिवर्तन चाँडो–चाँडो हुँदा एकै ठाउँमा लामो समय पनि बस्न पाएन । पूर्ण क्षमतामा परियोजनालाई कार्यान्वयन गर्ने अवस्था पनि सिर्जना भएन ।

सरकारले राजनीतिक कुरा गर्नुभयो । अधिकांश ठूला परियोजनाहरूमा विवाद देखिन्छ । यसको पछाडिको कारण के देख्नुहुन्छ ? राजनीतिज्ञहरूले ठूला परियोजनाको कुरा धेरै गर्छन् तर त्यही विवाद देखिएको हुन्छ, किन ?
परियोजनाहरूमा विवाद त हुन्छ, हुन्छ । विवाद नभएका परियोजना हुन्छन भन्ने होइन । इन्जिनियरिङले एउटा सोचेको कुरा, निर्माण कम्पनीले सोचेको अर्को कुरा, विकासकर्ताले सोचेको कुरा र जनताले खोजेको कुरा फरक हुँदा एकै किसिमले अघि बढ्छ भन्ने छैन । यस्ता विचारहरूको व्यवस्थापनका लागि मध्यस्थकर्ताको व्यवस्था गरिएको हुन्छ । यसलाई व्यवस्थापन गरेर जाने जिम्मा त राज्यको हो नि । कुनै विवाद कसरी जान्छ, यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा राज्यले हेर्नुपर्छ । ठेक्का व्यवस्थापनमा सबै प्रावधानहरू हुन्छन्, यसलाई कार्यान्वयनमा लैजाँदा समस्या आउँछ । यसमा धेरै हतार पनि गरिन्छ । गत वर्ष मात्र रेलवेको ठेक्का अन्त्य गर्नुप-यो । यसमा हाम्रो पदानुसारको दायित्व के हो ? स्पष्ट हुनुप-यो नि । यो ग-यो भने म पनि जिम्मेवार हुन्छ भन्ने सेन्स अफ फिलिङ त हुनुप-यो नि । कर्मचारीमा यो फिल ल्याउनुप-यो नि । अहिले कर्मचारीको हात कति बाँधिएको छ, यो पनि उपयुक्त छ कि छैन भनेर पुनर्विचार गर्नुपर्छ ।

पूर्वाधार आयोजनाहरूमा प्राविधिकभन्दा राजनीतिक पक्ष बढी हाबी हुँदै जाँदा यी समस्या आएका हुन् । ठूला पूर्वाधारबारेको हाम्रो मानसिकतामा पनि समस्या हो ?
ठूला पूर्वाधार आयोजनाहरूमा मानसिकताको परिवर्तन एकदम जरुरी छ । ठूला पूर्वाधारलाई अनावश्यक रूपमा विश्लेषण गर्ने क्रम बढेको छ । हुन त मैले त्यो प्रतिवेदन पढेको छैन, तैपनि मलाई यस्तो लाग्छ भन्ने जमातहरू बढेर गएका छन् । त्यो जमात यथार्थ धरातलमा त आउनुप-यो नि । यसका लागि जो कार्यान्वयन पक्षका छन्, अनुभवीहरू छन्, उनीहरूको विचार त सुन्नुप-यो नि । उनीहरूको यथार्थ अनुभवहरू सुन्नुप-यो । अन्तर्राष्ट्रिय अभ्यास र अनुभवहरू पनि बुझ्नुप-यो । यहाँ त जसले आजसम्म कुनै योजना कार्यान्वयन गरेकै छैन, ऊ कार्यान्वयन पक्षमा सबैभन्दा ठूलो भएर बोल्छ भने त्यो त भएन नि । यसमा राजनीतिक जिम्मेवार त छँदै छ, यसमा त अझ अनावश्यक रूपमा कुरा गर्ने अन्य पक्षहरू पनि जिम्मेवार छन् । ठूला पूर्वाधारहरूमा समस्या आउनुमा सो कल्ड विज्ञहरू भन्ने पनि जिम्मेवार छन् ।

हाम्रा अधिकांश ठूला पूर्वाधारहरू विदेशी सहायतामा बनिरहेका हुन्छन्, यसमा राष्ट्रिय स्वार्थलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न के गर्नुपर्ला ?
सबैभन्दा पहिला त पूर्वाधारलाई अघि बढाउनका लागि आन्तरिक क्षमता कति छ भनेर पहिचान गर्नुपर्छ । यसमा क्षमता छ भने ठीकै हो । स्वदेशी लगानीमा पूर्वाधार बनाउनु सबैभन्दा उच्चतम काम हो । तर पुग्दैन भने जति छोटो समयमा आर्थिक तथा वित्तीय प्रतिफल आउने परियोजनाहरू छन्, त्यसमा लगानीहरू परिचालन हुनुपर्छ । चाहे त्यो निजी क्षेत्रबाट होस् वा विदेशी सहायतामार्फत होस् । अहिले हामीले के कुरा गरिरहेका छौं भने कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १२ प्रतिशत पु¥यायौं भने हामीले विकासोन्मुख राष्ट्रमा जाने योजना पूरा गर्न सक्छौं । दीर्घकालीन विकास लक्ष्यहरू पूरा गर्न वा प्रतिव्यक्ति लक्ष्य पूरा गर्न त आर्थिक वृद्धिदर त हुनुप-यो नि । देशको समृद्धिका लागि कम्तीमा १५ प्रतिशतसम्म पूर्वाधारमा लगानी गर्नुप-यो नि । यसमा जान सक्यो भने बल्ल प्रगति हुन्छ । लगानी भने जथाभावी रूपमा गर्नु हुँदैन । जसले उचित प्रतिफल दिन्छ, त्यसमा लगानी गर्ने हो । सेतो हात्ती बन्ने परियोजना छान्नु हुँदैन । यसको मर्मत–सम्भार बारम्बार गर्नुपर्छ तर अनावश्यक पूर्वाधार बनाइयो भने यसका लागि ठूलो धनराशि खर्च गर्नुपर्छ । यसका लागि ठूलो ऋण लिनुपर्ने अवस्था पनि आउन सक्छ । भएका पूर्वाधारहरू एकातर्फ उचित तरिकाले मर्मत–सम्भार गर्नुपर्छ, यसलाई रुग्ण हुनबाट जोगाउनुपर्छ । अर्कातिर अत्यावश्यक पूर्वाधारहरूमा लगानी बढाउँदै लानुप¥यो । यसले पर्यटन, उद्योग, कृषिलगायतमा योगदान दिन्छ । अहिले पनि भारतसँग हाम्रो कुल व्यापारको एकतिहाइबराबरको अनौपचारिक छ भनिन्छ, यो त पूर्वाधार अभावको कारणले हो । औपचारिक व्यापारका लागि कनेक्टिभिटी त बढाउनुप-यो । यसमा यातायात पूर्वाधारमा लगानी गर्नैप-यो ।

कतिपयले नेपालले ठूलो सहायता लिए पनि पूर्वाधार कूटनीति कमजोर भएका कारणले समस्या छन् । तपाईं यसमा के देख्नुहुन्छ ?
सरकारले पूर्वाधार कूटनीतिलाई बलियो बनाउन आफूले बनाएका नीति, रणनीतिहरूलाई विश्लेषण गरी आवश्यक समन्वय गरेर जानुपर्छ । अर्को कुरा, सरकारले मात्र सबै पूर्वाधार बनाउन सक्दैन । निजी क्षेत्रले बनाउने पूर्वाधारका लागि सरकारले सहजीकरण गर्नुपर्छ । सबैभन्दा ठूलो कुरा त हामीले हाम्रो आवश्यकता के हो भनेर स्पष्ट पहिचान गर्नुप¥यो । ऊर्जा, यातायात, पर्यटनलगायतका सबै पूर्वाधार क्षेत्रमा के–के आवश्यकता हो, जसका कारणले तुरुन्तै हाम्रो आर्थिक वृद्धिमा टेवा पुग्न सकोस् अर्थात् आर्थिक चलायमान गर्न सकोस् । यसका लागि प्राथमिकता स्पष्ट हुनुपर्छ । जस्तै मध्यपहाडी राजमार्गलाई दुई लेनबाट चार लेन बनाउने जस्ता राजनीतिक हाबी हुने कुरा छन्, यसलाई निरुत्साहित गर्नुपर्छ । वातावरणमैत्री र दिगो संरचनामा मात्र लगानी गर्नुपर्छ । यो वर्षको मनसुनले मात्र १० अर्बबराबरको दायित्व सिर्जना गरिसक्यो । मनसुन सकिँदा त धेरै बढ्न सक्छ । भोलिका दिनमा क्षतिहरू बढ्दै जाने, ४०–५० अर्ब पुग्ने हो भने नयाँ निर्माण त सीमितता हुन्छ । दिगो परियोजनाहरूमा लगानी ल्याउने र दिगो संरचना बनाई दिगो रूपमा सञ्चालन गर्ने अवस्था सिर्जना गर्नु अहिलेको आवश्यकता हो ।

पछिल्लो समयमा ठूला पूर्वाधारबारे मिडिया र सोसियल मिडियाहरूले गलत सूचना प्रवाह गर्दा पनि समस्या आयो भनेर आलोचना भइरहेका छन् । तपाईं हाम्रो मिडियाबाट पूर्वाधारबारे पर्याप्त सूचनाहरू आएको देख्नुहुन्छ ?
सरकारमा सबैभन्दा ठूला समस्या के छ भने सूचनालाई स्वयंसेवी बनाउन सकेका छैनौं । सूचना नदिने अवस्था छ । यो ठूलो कमजोरीका रूपमा रहेको छ । सूचनाले धेरै कुरामा मद्दत गर्छ । यदि कुनै क्षेत्रमा दुई वर्षभित्र ठूलो सडक बन्दै छ भनेर जानकारी दियो भने यसले अन्य आर्थिक गतिविधि बढाइदिन्छ । विकास अघि बढाउनका लागि सूचना अत्यावश्यक हुन्छ । तर, हाम्रो सूचना दिने प्रणाली सशक्त छैन । हाम्रो रिपोर्टिङ पनि विश्वस्त सूत्रबाट पाएकोमा निर्भर छ । के आधिकारिक सूचना पाउनु हाम्रो अधिकार होइन ? के सरकारले आधिकारिक सूचना दिन सक्दैन त ? कति लागतमा बनेको, के समस्या छन्, अवस्था के छ, सडकमा कति गाडी गुडेका छन्, उपयोग भएको छ कि छैन जस्ता कुरा पनि उच्चस्रोतको आधारमा लेख्नुपर्ने हो त ? धरान–हेटौंडाको मदन भण्डारी राजमार्गमा ट्राफिक एकदम कम छ । तर यहाँ दुई लेन बनाएका छौं । यो सूचनाले त थप यातायात सञ्चालन र अन्य गतिविधिमा सहयोग पुग्छ नि । पर्याप्त सूचना नदिँदा सही सूचना प्रवाहमा समस्या छ ।

नयाँ पूर्वाधारहरू निर्माण धेरै हुन्छन्, तर मर्मत–सम्भार कम हुन्छ ? यसलाई कसरी हेर्नुहुन्छ ?
नयाँ बनाउन सजिलो हुन्छ, तर त्यसलाई सधैं त्यही अवस्थामा राख्न गाह्रो हुन्छ । तर, निरन्तर सञ्चालनका लागि यो आवश्यक छ तर हामीले प्राथमिकता दिन सकेका छैनौं । सडककै कुरा गरौं, यदि त्यो सडकमा गाडी गुडेन भने पनि सडक बिग्रन्छ । गुड्यो भने पनि बिग्रन्छ । यसकारण सम्भारको काम अति महत्वपूर्ण हुन्छ । समयमै उचित मर्मत–सम्भार गर्न सकेनौं भने ठूलो आर्थिक क्षति हुन्छ । यसलाई उचित रूपमा अघि बढाउन सकेका छैनौं । जहिले पनि बर्सातका कारणले सडक बिग्रियो भनिरहेका छौं । धेरै विकसित प्रविधि आइसकेको अवस्थामा वर्षामा सडक बिग्रियो भनेर चुप लागेर बस्ने स्थिति अब हुनु हुँदैन । यसको आर्थिक क्षति त ठूलो ठूलो हुन्छ नै ।

आगामी २० वर्षको प्रक्षेपण गर्दा नेपालका लागि कस्ता–कस्ता ठूला पूर्वाधार निर्माण आवश्यक देख्नुहुन्छ ?
सबैभन्दा पहिला त सबै पूर्वाधार क्षेत्रहरूको आवश्यकता के छ भनेर स्पष्ट रूपमा पहिचान गर्नुप-यो । हाउजिङ, पर्यटन क्षेत्र, यातायात, ऊर्जा, सहरी विकास लगायतमा यसको स्पष्ट पहिचान हुनुपर्छ । कतिपय ठूला पूर्वाधार अब अब केन्द्रमा मात्र निर्माण गरेर भएन । प्रदेशहरूमा पनि आवश्यकताअनुसार गर्नुप-यो । विदेश जानका लागि सबै त्रिभुवन विमानस्थलमा किन आउनुप-यो ? अहिले हेर्दा पूर्वाधार क्षेत्रमा प्रशस्त सम्भावना छ । नेपाललाई ट्रान्जिट हबका रूपमा विकास नगरी हुँदैन । यो नगरी नेपालको विकास हुन सक्दैन । यसका लागि ठूला पूर्वाधार निर्माण गर्नुपर्छ । हाम्रो भौगोलिक अवस्थालाई हेर्ने हो भनेर हरेक कुरा उत्पादन गर्न सक्छौं । यहाँ ट्राजिन्ट हब बनाएर ससारको जुनसुकै कुनामा पनि पु-याउन सक्छौं । अर्को कुरा हामीलाई बोर्डर पूर्वाधार पनि आवश्यक हुन्छ । नेपाल र नेपाल बाहिरबीचमा आबद्ध गराउने कुरालाई पनि जोड दिनुपर्ने हुन्छ । योसँगै हाम्रो स्वाभिमानतालाई कसरी बलियो बनाउने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । अहिले जुन पूर्वाधारमा ७ प्रतिशतजतिको खर्च भइरहेको छ, यसलाई बढाएर कम्तीमा १५ प्रतिशत पु-याउनुपर्छ । पूर्वाधारको दिगोपनता, समावेशिता र वातावरणीय पक्षलाई हेरेर लगानी बढाउनु आवश्यक छ । यदि हामीले पूर्वाधारमा धेरै लगानी गरेर व्यवस्थित रूपमा योजना अघि बढाई कार्यान्वयन ग-यौं भने हामी पूर्वाधारमा २० वर्षमा धेरै माथि हुन्छौं ।

‘विद्युत् प्राधिकरणमा प्रतिनीधित्व र व्यापारमा संलग्नता’

https://www.karobardaily.com/news/149794

 श्रावण १३, २०७८ बुधबार

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल समक्ष नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सञ्चालक समितिमा आफ्नो तर्फबाट प्रतिनीधितव र विद्युत् व्यापारमा संलग्नताको माग गरेको छ ।
मंगलबार ऊर्जा मन्त्री भुसालसँगको छलफलमा उनीहरुले प्राधिकरण सञ्चालक समितिका साथै औद्योगिक प्रवद्र्धन बोर्डमा इप्पानको प्रतिनिधित्वको माग गरेका हुन् । सरकारबाट घोषणा भए बमोजिम आयोजनाहरुको लागि पहुँच मार्ग तथा प्रसारण लाइनको लागतको ७५ प्रतिशत शोधभर्ना उपलब्ध गराउनका लागि इप्पानसँग सहकार्य गर्न, मन्त्रालयको संयोजकत्वमा इप्पानको प्रतिनिधित्व हुने गरी विद्यमान समस्या समाधान गर्न कमिटी निर्माण गर्ने, सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्रको वडापत्र तयार गरी अनुमति प्रदान गर्दा इप्पानको सिफारिस अनिवार्य गर्ने लगायतमा सहकार्य गर्नुपर्ने उनीहरुको माग छ ।
उत्पादित ऊर्जाका लागि बजारको व्यवस्थापन गर्ने, निजी क्षेत्रलाई सरकारी नीति अनुरुप विद्युत् व्यापारमा संलगन गर्नका लागि आवश्यक नीति र ह्विलिङ संयन्त्रको व्यवस्था गर्ने, ऊर्जा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय व्यापारका लागि भएका पहलहरुलाई निरन्तरता दिई निजी क्षेत्रको सहभागितासहितको आवश्यक नीति तथा कार्यविधिहरुको निर्माण गर्नेलगायतका काम अघि बढाउन पनि इप्पानले माग गरेको छ ।
जलस्रोतको उच्चत्तम प्रयोगका लागि क्यू ४० को अवधारणालाई परिमार्जन गर्ने, कोभिडबाट प्रभावि आयोजनाहरुलाई सहुलियत प्रदान गर्ने, साना जलविद्युत् आयोजनाहरुमा लाग्दै आएको हाइड्रोलोजी पेनाली हटाउने, हाल रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) तुरुन्तै खुलाउनुपर्ने माग पनि गरेको छ । इप्पानले ७ हजार मेगावाट बराबरका आयोजनाहरुको पीपीए रोकिएको उल्लेख गरेको छ ।
इप्पानले निजी क्षेत्रमार्फत निर्माण भएका ७९२ मेगावाट बराबरका १०७ आयोजना हाल सञ्चालनमा रहेको ४ हजार ५ सय ९४ मेगावाट बराबरका २३७ आयोजना निर्माण रहेको तथा १० हजार ६ सय १९ मेगावाट बराबरका २२८ आयोजना अध्ययनमा चरणमा रहेको जानकारी दिँदै हालसम्म निजी क्षेत्रबाट लगानी भएको ४ खर्ब ३८ अर्बमध्ये १ खर्ब ६८ अर्ब स्वपुँजी रहेको जनाएको छ ।
छलफलमा उनीहरले सरकारले पूर्व घोषित गरेको मूल्य अभिवृद्धि करवापतको प्रति मेगावाट ५० लाख मूल्य अभिवृद्धि कर फिर्ता लगायतका कार्यक्रम कार्यान्वयन गर्न तथा परियोजना अघि बढाउँदा देखा परेका प्रशासनिक झन्झट हटाउन पनि माग गरेका थिए । इप्पानका अध्यक्ष कृष्ण आचार्यले ऊर्जामा निजी क्षेत्रले काम गर्नका लागि सात मन्त्रालय र २३ विभागमा पुग्नुपर्ने बाध्यता रहेको भन्दै एकद्वार नीतिमार्फत सेवा लिने व्यवस्था मिलाउन अनुरोध गरेका थिए ।
छलफलमा मन्त्री भुसालले निजी क्षेत्रले एउटा आयोजना बनाउनका लागि धेरै मन्त्रालय र विभागहरू धाउनुपर्ने अवस्थाको अन्त्य गर्न छिट्टै अन्तरमन्त्रालयबीच छलफल चलाउने बताइन ।
निजी क्षेत्रका समस्या समाधानका लागि आफू सकारात्मक रहेको र उत्पादन र वितरणको ठूलो समस्या रहेको औंल्याउँदै उनले प्राधिकरणले करोडौं क्षतिपूर्ति तिरीरहने र लगानीकर्ताले लगानीको ब्याजसम्म उठाउन नसक्ने समस्या आउन नहुने बताइन् ।
विद्युत्् खपत बढाउनेतर्फ मन्त्रालयले गृहकार्य गरिहेको उनको भनाइ थियो । छलफलमा ऊर्जा सचिव देवेन्द्र कार्कीले मन्त्रालयले सबै निजी क्षेत्रलाई समान तवरले व्यवहार गर्ने स्पष्ट गर्दै मन्त्रालयबाट भएका निर्णयहरूको कार्यान्वयन विशेष ध्यान दिने बताए ।

Saturday, July 17, 2021

ऊर्जा उत्पादनमा सरकार असफल

https://www.karobardaily.com/news/147621?fbclid=IwAR3M1iJ-GcSSK_VMlwgxvNL-qNev4xmKz9K7lE6UkPt3IP5hn6A6gc6DQC4 

श्रावण १, २०७८ शुक्रबार

आर्थिक वर्ष २०७७-०७८ मा लक्ष्य अनुसारको विद्युत् उत्पादनमा सरकार असफल भएको छ । सरकारले बजेटमार्फत १ हजार ३ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि १३१ मेगावाट मात्र उत्पादन गर्न सफल भएको हो ।
गत वर्षको बजेटमा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो साञ्जेन, मध्य भोटेकोसी तथा निजी लगानीकर्ताबाट प्रवद्र्धित साना तथा मझौला आयोजना सम्पन्न गरी यति धेरै उत्पादन गर्ने लक्ष्य राखेको थियो । यद्यपि ४५६ मेगावाटको माथिल्लो तामाकोसीको १५२ मेगावाटका दुई युनिट १९७ मेगावाटको भने हाल उत्पादन परीक्षण भइरहेको छ । परीक्षण उत्पादनलाई पूर्ण उत्पादनको रुपमा गणना गर्ने गरिएको छैन ।
नेपाल विद्युत् प्राधिकरणले भने गत वर्ष २५ मेगावाटको सोलारमार्फत बिजुली उत्पादन गर्ने लक्ष्य राखेकोमा १२ मेगावाटको सोलार परियोजना मात्र पूरा भएको छ । यसैगरी विद्युत् प्राधिकरणले सहायक कम्पनीद्वारा निर्माणाधीन ४५६ माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी र १४.८ मेगावाटको माथिल्लो साञ्जेन गरी ६८३ मेगावाट उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर एक मेगावाट पनि उत्पादन हुन सकेन । निजी क्षेत्रले करिब ५ सय ९२ मेगावाट उत्पादन गर्ने लक्ष्य राखेकोमा ११९ मेगावाट मात्र उत्पादन गर्न सफल भयो ।
प्राधिकरणका अनुसार, गत वर्ष ९९७ किलोवाटको सेन्चुरी इनर्जी प्रालिद्वारा प्रवद्र्धित हाँडीखोला सुनकोसी ए, ३ मेगावाटको रावा इनर्जी डेलभपेन्ट प्रालिद्वारा प्रर्वद्धित अपर रावा, ११.८८० मेगावाटको हिमालयन हाइड्रो पावरद्वारा प्रवद्र्धित नामार्जुन मादी, ८.५ मेगावाटको रिडी हाइड्रोपावर डेलभमेन्ट कम्पनीको बुटबल सोलार परियोजना, ५ मेगावाटको मनकामना इन्जिनियरिङको घट्टेखोला र ३ मेगावाटको एभरेष्ट सुगर एण्ड केमिकल इडष्ट्रिजको एभरेष्ट सुगर एवं केमिकलबाट विद्युत् उत्पादन भएको छ । यसैगरी ४.५ मेगावाटको सिभिल हाइड्रोपावर कम्पनी लिमिटेडको विजयपुर २ खोला स्मल, १० मेगावाटको इको पावर डेलभेप्मेन्ट कम्पनीको मिथिला सोलार पीभी इलेक्ट्रिक प्रोजेक्ट, ८ मेगावाटको तस्कर पिखुवा हाइड्रोपावर कम्पनीको तास्कर पिखुवा, २२.२०० मेगावाटको शिवश्री हाइड्रो पावर कम्पनीको अपर चाकु ए र ४२ मेगावाटको रोवष्ट इनर्जी लिमिटेडको मिस्त्री खोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भएको छ ।
कोरोना महामारीबीचमै आएको बजेटमा समेत १ हजार ३ सय मेगावाट गर्ने महत्वकांक्षी लक्ष्य राखिएको थियो । विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले गत वर्ष लक्ष्यभन्दा कम १३१ मेगावाट मात्र विद्युत् उत्पादन भएको बताए । “विद्युत् प्राधिकरणले त्रिशुलीमा निर्माण गरिरहेको २५ मेगावाटमध्ये १२ मेगावाट उत्पादन भएको छ, सहायक कम्पनीले निर्माण गरिरहेका कुनै आयोजनाहरु पूरा भएनन्, निजी क्षेत्रले भने ११९ मेगावाट उत्पादन गरेको छ,” उनले भने, “४५६ मेगावाटको माथिल्लो तामाकोसीका दुई युनिटबाट परीक्षण उत्पादन सुरु भएको छ, ३५ मेगावाटका अन्य दुई र १० मेगावाटको सोलार आयोजनाको पनि परीक्षण उत्पादन भइरहेको छ ।”
परीक्षण उत्पादनलाई पूर्ण रुपमा उत्पादन भएको भनेर गणना गर्न नमिल्ने भएकाले १३१ मेगावाट मात्र उत्पादन भएको उनी बताउँछन् । तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव एवं प्रवक्ता मधु भेटुवाल परीक्षण उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएकाले यसलाई पनि उत्पादन मान्दा फरक नपर्ने बताउँछन् । “परीक्षण उत्पादनसहित हामीले लक्ष्यको एक तिहाई उत्पादन गर्न सफल भएका छौं, कोरोना र यसको कारणले सिर्जित अवस्थामा पनि भएको यो उत्पादनलाई सकारात्मक रुपमा लिनुपर्छ” उनले भने । कोरोनाको कारण विदेशबाट आवश्यक उपकरण ल्याउन नसकिएको, जनशक्ति व्यवस्थापनमा समस्या परेको तथा केही आयोजनाहरुमा बाढी पहिरोका कारण पनि समस्यामा परेकाले लक्ष्यअनुसार उत्पादन गर्न नसकेको उनी बताउँछन् ।


Thursday, July 15, 2021

ऊर्जामन्त्रीद्वारा कार्यदल गठन

https://www.karobardaily.com/news/147412 

असार ३१, २०७८ बिहीबार

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पदभार ग्रहण गर्दै जलविद्युत् र प्रसारण लाइन आयोजनाको प्राथमिकीकरण गर्न कार्यदल गठन गरेकी छिन् ।
ऊर्जा मन्त्रालय र यससँग सम्बन्धित विभिन्न निकायहरुले धेरै आयोजनाहरुको अध्ययन गरिरहेकोमा मन्त्री भुसालले पहिलो निर्णयको रुपमा प्राथमिकीकरणका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी हुन् । ऊर्जा मन्त्रालयका सह–सचिव मधु भेटुवालको संयोजकत्वमा गठित कार्यदलमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधिका साथै विद्युत् प्राधिकरणको वित्तीय विश्लेषक र विद्युत् विकास आयोजना महाशाखाका उपमहानिर्देशक सदस्य छन्
हाल विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय ग्रीड कम्पनी, जलविद्युत् लगानी तथा विकास कम्पनी, उत्पादन कम्पनी लगायतले जलविद्युत् र प्रसारण लाइनका परियोजनाहरुको अध्ययन गरिरहेको छ भने ऊर्जा मन्त्रालयले यी निकायबाट कुनै परियोजनाको लागि स्रोत उपलब्ध गराउन अनुरोधपछि अर्थ मन्त्रालयलाई पठाउने पत्र पठाउने गरेको छ ।
परियोजनाको अवस्थिति, रोजगारीको सम्भावना, क्षेत्रीय सन्तुलन, वातावरणीय पक्ष, माग र आपूर्तिबीचको सन्तुलन, व्यापार, प्रसारण लाइनको अवस्थालगायतको विश्लेषण गरी परियोजनाहरु प्राथमिकीकरण गर्न मन्त्री भुषालको पदबहालीको क्रममा पहिलो निर्णय गरिएको कार्यदल संयोजक एवं प्रवक्ता भेटुवालले जानकारी दिए । “अर्थ मन्त्रालयले पैसा माग्दा प्रत्येक पटक प्राथमिकताको आधार खोज्ने गरेको छ, सबै परियोजनामा बजेट व्यवस्थापन हुन सक्दैन पनि” उनले भने, “स्वदेशी लगानीका साथै द्विपक्षीय वा बहुपक्षीय विकास साझेदारहरुबाट हुन सक्ने स्रोत व्यवस्थापनको विश्लेषण गरेर प्रतिवेदन तयार गर्ने गरी कार्यदल गठन गरिएको छ ।”
पदबहालीपछि बोल्दै मन्त्री भुषालले कहिल्यै लोडसेडिङ नहुने गरी र बिजुली बत्ती बाल्न पाउनेहरुलाई पहुँच चाडो पु¥याउने गरी काम गर्न निर्देशन दिइन् । कृषि प्रधान देशमा सिँचाइको ठूलो समस्या रहेको बताउँदै १२ महिना सिँचाइ पु¥याउने गरी परियोजना अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

Wednesday, July 7, 2021

समुन्द्रटार–त्रिशूली–३ बी हब प्रसारणलाइन सम्पन्न

https://www.karobardaily.com/news/145888

 असार २०, २०७८ आईतबार

नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन समुन्द्रटार–त्रिशूली–३ बी हब १३२ केभी डबल प्रसारणलाइन र सबस्टेसनको निर्माण सम्पन्न भएको छ ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट सुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिशूली ३ हब सबस्टेसनसम्मको २६ किलोमिटर प्रसारणलाइन र १३२-३३ केभी समुन्द्रटार सबस्टेसन सम्पन्न भएको हो ।
२६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन जनताको जलविद्युत कार्यक्रमअन्तर्गत नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त प्रवद्र्धनमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने छ ।
समुन्द्रटार सबस्टेसनमा १३२-३३ केभीतर्फ २ थान ३० एमभीए क्षमताका ट्रान्सफर्मरहरु र ३३-११ केभीतर्फ २ थान ८ एमभीए क्षमताका ट्रान्सफर्मरहरु जडान गरिएको छ । १३२ तर्फ ५ वटा बे र ३३ केभीतर्फ ४ वटा बे उपकरणहरु जडान गरी सञ्चालनमा ल्याइएको छ । सबै उपकरणहरुलाई अत्याधुनिक सबस्टेसन अटोमेसन प्रणालीबाट नियन्त्रण गरिने छ । प्रसारण लाइनबाट २७० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ । यस लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलाहरुमा निजी लगानीमा ६० मेगावाटका १० जलविद्युत आयोजनाहरु निर्माणको विभिन्न चरणमा छन् ।
निर्माण सम्पन्न भएको प्रसारण लाइन र १३२-३३ केभी समुद्रटार सबस्टेसनको भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट उद्घाटन गरे ।
सबस्टेसनबाट स्थानीय रुपमा पनि विद्युत् आपूर्ति गरिने भएकोले नुवाकोटको पूर्वी भेगमा विद्युत भोल्टेजको सुधार र कटौतीमा रहेको समस्या समाधान हुने छ । नेपाल सरकारको लगानी र एसियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइन र सबस्टेसनको कूल लागत १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत प्रसारण लाइन निर्माणका लागि इटिइआरएन सिसिसिई एफइपिइसी जेभी, चीनसँग १३ मंसिर २०७३ ठेक्का सम्झौता भएको थियो । सबस्टेसन ३३ रोपनी जग्गामा फैलिएको छ । प्रसारण लाइनको टावरका लागि २१ रोपनी र तारमुनि ९ सय ४८ रोपनी जग्गा उपयोग गरिएको छ ।

तामाकोसीको उत्पादनले नेपाल बिजुलीमा आत्मनिर्भर हुन्छ

https://www.karobardaily.com/news/146457

 असार २३, २०७८ बुधबार

१५ वर्षअघि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनका लागि दोलखास्थित लामबगर पुगेका विज्ञान श्रेष्ठ अहिले आयोजनाको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छन् । २०६५ सालदेखि आयोजना प्रमुख हुँदै हाल प्रमुख कार्यकारी रहेका उनीसँग माथिल्लो तामाकोसी निर्माण सुरुदेखि अहिलेसम्मको अनुभव छ । ८० अर्बभन्दा बढी लागत अनुमान गरिएको नेपालको सबैभन्दा ठूलो स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोसीको पहिलो युनिटबाट सोमबारदेखि उत्पादन सुरु भएको छ । माथिल्लो तामाकोसीको पहिचान, यसको निर्माण सुरु, यसले भोगेका समस्या तथा चुनौती तथा यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावबारे कारोबारकर्मी भीम गौतमले लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँग गरेको कुराकानीको सार :

माथिल्लो तामाकोसी सुरु हुनुअघि दोलखाको लामाबगर र गोगर कस्तो थियो ? कसरी सम्झना गर्नुहुन्छ ?
माथिल्लो तामाकोसीको आयोजनास्थलमा २०६१ साल तिर पुगेको थिएँ । उक्त बेलाको विस्तृत सम्भाव्यता अध्ययनमा म पनि आबद्ध थिएँ । गोगरसम्म सिंगटीबाट पुग्न ३-४ घण्टा पैदल हिंड्न पथ्र्यो । लामाबगरमा ठाडो उकालो थियो । सिंगटीसम्म जाने पनि कृषि सडक थियो । ६÷७ महिनामात्र गाडी जान्थ्यो । वर्षामा दोलखादेखि हिँड्नुपथ्र्यो । चरिकोटबाट गोगर÷लामाबगर पुग्न बलियो मान्छे एक दिन, नत्र दुई दिन लाग्थ्यो । लामाबगर त प्राकृतिक रूपमा सुन्दर र कल्पनाभन्दा माथिको ठाउँ हो । त्यस्तो ठाउँमा यस्तो जलविद्युत्का लागि सुन्दर ठाउँ भनेर कल्पना गर्नुभन्दा टाढाको कुरा थियो । सुरुको जलविद्युत्को सर्भे बेला द्वन्द्वको समय थियो । त्यति सजिलो थिएन ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिचान कसरी भयो र अगाडि बढ्यो ?
सुरुमा जापान सहयोग नियोग (जाइका) बाट भएको सप्तकोसी करिडोरको गुरुयोजनाको अध्ययनमा जापानीजहरूले माथिल्लो तामाकोसी आयोजनाको स्पष्ट पहिचान गरेको थिएन । १९९६-९७ तिर अष्ट्रियाली भूगर्भविद क्रिस्चेन उल्हरवाट रोल्वालिङ भ्यालीमा आफ्नो शोधकार्यको सिलसिलामा धेरै बस्नुभएको थियो । उहाँ अहिले पनि अष्ट्रियाको साल्सवर्ग विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । उहाँले लामाबगरमा रहेको प्राकृतिक बाँधको कारण जलविद्युत् आयोजनाको सम्भावना देखेर उहाँबाट ब्यक्तिगत रुपमा सम्भावित अध्ययन गरेका थिए । तरपछि उहाँका सहपाठी तत्कालीन नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक स्व. भोला चालिसेसँंग गुरुभाइको सम्बन्धका कारण नेपाल विद्युत् प्राधिकरणलाई यस आयोजनाको सर्भेक्षण लाइसेन्स लिन सघाउनु भएको थियो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको स्वदेशी जनशक्तिको आन्दोलनमा श्री गणेश गर्नेमा सर्वप्रथम स्वर्गीय भोला चालिसेको नाम पहिले आउँछ । यसपछि विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणले वि.सं. २०५७–२०६० मा आयोजनाको सम्भाव्यता अध्ययन तथा प्रवेशमार्गको विस्तृत इन्जिनियरिङ डिजाइन कार्य सम्पन्न गरेको थियो । नर्बे सरकारको सहयोगमा विस्तृत सम्भाव्यता अध्ययन कार्य नर्बेजियन परामर्शदाता नर कन्सल्टमार्फत वि.सं. २०६०–२०६२ मा र नेपाल विद्युत् प्राधिकरणको आफ्नै खर्चमा आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्ने कार्य परामर्शदाता जेभी नरकल्सन्ट एस ल्याम्मरमार्फत वि.सं. २०६३–२०६५ मा भएको थियो । सम्भाव्यता अध्ययन गर्ने बेलादेखि नै तत्काल नेपाल विद्युत् प्राधिकरणका आदरणीय वरिष्ठ इन्जिनियर मृगेन्द्रबहादुर श्रेष्ठज्यू यस आयोजनाको प्रमुख एवं संयोजक हुनुहुन्थ्यो । उक्त इन्जिनियरिङ अध्ययनको समूहमा म पनि संलग्न थिएँ ।

स्वदेशी लगानीमै बनाउनुपर्छ भनेर कस्तो लबिङ भएको थियो ?
वि.सं. २०६०–२०६२ को विस्तृत सम्भाव्यता अध्ययनपछि यसको लगानी कसरी गर्ने भनेर छलफल सुरु भएको थियो । त्यो बेलामा नर्बेजियन सरकारले अध्ययनका लागि आर्थिक सहायता गरेकोले नर्वेको स्ट्याटक्राफ्ट पनि यो आयोजना आफैले बनाउन इच्छुक थियो । स्मरण रहोस् नर्वेको स्ट्याटक्राफ्ट नै खिम्ती जलविद्युत्का प्रवद्र्धक हिमाल पावर कम्पनीका मुख्य संस्थापक हुन् । त्यसका लागि धेरै लबिङ भएको पनि थियो ।
तर भाग्यवस २०६२ साल ताका राजाको प्रत्यक्ष शासनको बेला नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हरिशचन्द्र शाहको कार्यकालमा पनि यो आयोजना स्वदेशी लगानीमा बनाउन बल मिलेको थियो । जसको फलस्वरुप कर्मचारी सञ्चय कोषबाट १० अर्बको ऋण उपलब्ध गर्ने प्रतिबद्धता आएको थियो ।
त्यसपछि जनआन्दोलन २०६२÷०६३ पछिको संक्रमणकालीन अवस्थामा नेपालीले बनाउन सक्ने नसक्नेबारे ठूलो बहश चलेको थियो । तात्कालीन नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीको कार्यकालमा यो आयोजना स्वदेशी लगानीमा बनाउने र नबने भन्नेमा धेरै बहस चलेको थियो । उहाँले विदेशी कम्पनीको प्रलोभनमा नपरी स्वदेशी लगानीमा यो आयोजना बनाउन ठूलो दबाब पनि झेल्नु परेको हामी सुन्छौं । स्वदेशी लगानीमा यो आयोजना बनाउनु पर्छ भन्ने पक्षमा सघाउन तात्कालीन अर्थसचिव रामेश्वर खनाललाई बिर्सनु हुन्न । त्यसैगरी त्योबेला दोलखा जिल्लाबासीको तर्फबाट गठन भएको तामाकोसी जनसरोकार समिति, जिल्लास्तरका सबै राजनैतिक दल, तत्कालीन संसद् सदस्यद्वय स्व. पशुपति चौलागाईं र आनन्द पोखरेल, मिडियाकर्मीहरू र नेपाल विद्युत् प्राधिकरणलगायत सम्पूर्ण ऋणदाता संस्थाका क्रियाशील कर्मचारी संघ संगठनबाट धेरै सहयोग भएको थियो ।
अन्तमा दोलखाका स्वर्गीय सर्वमान्य नेता श्रद्धेय भीमबहादुर तामाङको ठूलो सुजबुझका कारण तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई स्वदेशी लगानीमै यो आयोजना बनाउन सकिन्छ भनी कन्भिन्स गर्न सफल हुनुभयो । र स्वदेशी लगानीमै यो आयोजना बन्ने निश्चय भयो ।

लगानी ढाँचाको कुरा गर्दा स्पेसल पर्पेच भेइकल (एसपीभी) मोडेलमा आयोजना निर्माण गर्ने अवधारणा कसरी आयो ?
एसपीपीभी मोडलमा हामी चिलिमे कम्पनीदेखि नै अभ्यस्त भइसकेका थियौं । त्यो बेलासम्म नेपाल विद्युत् प्राधिकरण घाटामा चलिरहेको थियो । विदेशी दातृसंस्थाको ऋणमा यस प्रकारको बृहत् आयोजना बनाउने सम्भावना कम थियो । तसर्थ एसपीपीभी कम्पनी मोडलमा आयोजना विकास गर्दा नेपाल विद्युत् प्राधिकरणको वित्तीय विवरणमा प्रत्यक्ष असर नपर्ने भएकाले सर्वसाधारणको भाषामा ‘चिलिमे मोडेल’ अहिलेको अबस्थामा ‘अपर तामाकोसी मोडेल’ हुन गएको छ । यो अवधारणा कार्यान्वयन गर्न कर्मचारी सञ्चय कोषको ठूलो भूमिका रहकोछ । कर्मचारी सञ्चय कोष र नेपाल विद्युत् प्राधिकरणबीच भएको १० अर्ब ऋण र २ अर्ब डिबेञ्चरको सुनिश्चितता सहितको त्यो बेला भएको समझदारी नै अर्को कोशे ढुंगा सावित भयो । त्यसपछि राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषबाट २-२ अर्ब ऋणको सुनिश्चितता भयो । ऋण रकम २० अर्ब पु¥याउन बाँकी ६ अर्बको जोहो हिमालय बैंकको नेतृत्वमा कन्सोटिएम बैंकबाट गर्ने कुरा भएको थियो । त्यो बेला बैंकहरूमा पनि जलविद्युत्मा लगानी गर्नका लागि आत्मविस्वास बढेको थिएन । तसर्थ बैकहरूले गर्ने भनेको लगानीबाट हात झिक्नुभयो । त्यसपछि विकल्पहरूको खोजीको क्रममा नेपाल टेलिकमबाट सकारात्मक संकेत आयो । लोडसेडिङ भइरहेको बेला जलविद्युत् र टेलिकमबीच त नङ र मासुको सम्बन्ध हुनुपर्ने अवधारणामा नेपाल टेलिकमबाट प्रतिबद्धता आएको थियो । टेलिकम आउने भएपछि संस्थापक सेयरको कुरा आएपछि पहिला प्राधिकरणले ५१ प्रतिशत संस्थापक सेयर घटाएर ४१ गरियो बाँकी १० प्रतिशत संस्थापक सेयरमा नेपाल टेलिकमलाई ६ प्रतिशत, बीमा संस्थानलाई २ प्रतिशत र नागरिक लगानी कोषलाई २ प्रतिशत छुट्याइयो । बाँकी ४९ प्रतिशत साधारण सेयरमध्ये एमडी कार्कीको कार्यकालमा स्थानीयलाई १० प्रतिशत छुट्याउने कुरा आयो । जसका लागि धितोपत्र बोर्डको नियममा नै परिमार्जन भएको थियो ।

अहिले त लागत धेरै भयो भनेर आलोचना हुने गरेको छ, यसको कारण के हो ?
विद्युत् खरिद बिक्रिका लागि गरिएको आयोजनाको सुरु अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक ३५ अर्ब २९ करोड (यूएसडी ४४१ मिलियन) रहेकोमा सुरुङमा आएको डिजाइन परिवर्तन र २०७२ सालको महाभूकम्पका कारणबाट केही कार्य थप हुन गएको, आयोजनाको निर्माण अवधि लम्बिन जाँदा प्रशासनिक र परामर्शदाताको खर्च बढ्न गएको, बजार मूल्य बढ्न जाँदा निर्माण कार्यहरूको लागत बढेको आदि कारणले गर्दा आयोजनाको लागत ५२ अर्ब (यूएसडी ५९० मिलियन डलर) पुग्ने अनुमान गरिएको थियो । आयोजनाको निर्माण अवधि थप भएका कारणबाट सुरु लागतमा प्रक्षेपण गरिएको निर्माण अवधिको व्याज १४ अर्ब हुने आंकलन गरिएकोमा आयोजनाको निर्माण अवधि बढ्न जाँदा करिब ३२ अर्ब पुग्ने अनुमान गरिएको छ ।
तर मिडियाका साथीहरूले ३५ अर्बबाट सिधै ८४ अर्ब भएको कुरा गर्छन् । सुरुको लागतमा विदेशी विनिमय दरको प्रक्षेपणमा ८० थियो भने अहिलेको प्रक्षेपणमा करिब १०५ को हाराहारीमा पुगेको छ । त्यो बेला औसतमा डलरको भाउ ८० रुपैयाँ थियो । अहिले औसतमा १०५ रुपैयाँ पुगेको छ । ३० प्रतिशत जति त यही कारण पनि लागत बढ्यो ।
अर्को सेड ब्याक भनेको लट २ हाइड्रो मेकानिकल ठेकेदार टेक्सम्याको खराब कार्य सम्पादन पनि हाम्रो लागि आयोजना ढिला हुनुको कारण बन्यो । पछिल्लो एक वर्षदेखि परीक्षण लगायतका कामका लागि कोभिडले असर गरिराखेकै छ ।
यसका बाबजुद् हाइड्रोमेकानिकलको अति संवेदनशील काममध्ये तल्लो पेनस्टक पाइप र डिस्ट्रिब्युटर पाइपहरू जडान गर्न आयोजनालाई थप आर्थिक भार नपर्ने गरी सो कार्य एण्ड्रिज हाइड्रोबाट गर्ने त्रिपक्षीय सम्झौता गरी आंशिक कामको जिम्मा दिइए ता पनि टेस्म्याकोबाट बाँकी काम अन्तिम समयसम्म सम्पादन गर्न नसकेर आयोजनाको टेस्टिङ र कमिसन कार्यमा बाधा नपार्ने गरी ठेक्का तोडिएको छ ।

सार्वजनिक खरिद व्यवस्थापनको समस्या धेरै ठाउँमा देखिन्छ, यहाँ पनि देखियो, यसको मुख्य कारण के हो जस्तो लाग्छ ?
सार्वजनिक खरिदमा चुनौती भनेको नै न्यूनतम कबोल गर्नेलाई नकार्न नमिल्ने धरातलीय यथार्थता छ । उदाहरणका लागि लट दुई हाइड्रोमेकानिक कार्यमा टेस्म्याकोले बोलपत्रमा सहभागी जनाए पछि प्रि–क्वालिफिकेसनमा छनोट भएका अरु राम्रा कम्पनीले बोलपत्रमा भाग नै लिएन । त्यसपछि न्यूनतम कबोल गर्नेलाई बाध्य भइयो ।
असल नियतले कुरा गर्दा निजी क्षेत्रमा फाइदा र घाटाको विश्लेषण गरेर निर्णय प्रकृया छिटो हुन्छ भने सार्वजनिक निकाय भएकोले जतिसुकै असल नियत भए पनि नियम कानुनको रित पु¥याएर गर्नुपर्ने भएकाले घाटा बेहोर्नुपर्ने अवस्था हुन्छ ।

हिजो प्राधिकरणले आयोजना निर्माण गर्दा निर्णय प्रकृयामा बढी समय लाग्यो भनेर हामी कम्पनी मोडेलमा गयौं । किन फेरि यहाँ पनि उस्तै हुन्छ र ?
प्राधिकरणभन्दा यहाँ निर्णय प्रकृया छिटो हुन्छ तर निजी क्षेत्रजति छिटो छैन । समग्रमा भन्दा प्राधिकरण लेभलको निर्णय प्रकृयामा जाँदा यो आयोजनाको समयमा थप २ वर्ष थप हुन सक्थ्यो भने निजी क्षेत्र लेभलको निर्णय क्षमतामा जाँदा यो आयोजनाको समयमा २ वर्ष बचत हुन सक्थ्यो ।

हामीले ठूला आयोजना निर्माणका लागि माथिल्लो तामाकोसीको मोडल भनिरहेका छौं तर यो मोडेलमा सुधार जरुरी छ भन्ने तपाईंको भनाइ हो ?
निर्णय प्रकृयामा सुधार गर्दै जानु पर्दछ । तामाकोसीमा भएको कमीकमजोरीलाई अरु आयोजनाहरूमा सुधार गर्ने हो । पूर्णविराम लगाउने होइन । तामाकोसीको कुरा गर्नुहुन्छ भने लगानीकर्ता कसैलाई घाटा छैन, हुँदैन । बिजुली किन्ने प्राधिकरणलाई पनि घाटा छैन । यसमा पीपीए दर परिवर्तन भएको छैन । ऋण लगानी गरेकाको ब्याजदर घटेको छैन, बरु बढेको छ । उसलाई पनि घाटा छैन । सामान्य अवस्थाभन्दा बढी नै छ । परियोजना नबनेमा मात्र उनीहरू डुब्ने हो, बनेपछि त प्रतिफल आउँछ । १० वर्षको सट्टा १५ वर्षमा आउला । जसरी लागत र समय बढ्यो, घाटा भनेको सर्वसाधारण लगानीकर्तालाई हो । सरकारले बनाएको सार्वजनिक खरिद ऐन सरकारी र सरकारी संस्थानहरूलाई लागू हुने हो ।

माथिल्लो तामाकोसी आएपछि ऊर्जा प्रणालीमा के परिवर्तन हुन्छ ?
मुख्यतया तामाकोसीको उत्पादनले नेपाल बिजुलीमा आत्मनिर्भर हुन्छ । यो अर्ध जलाशययुक्त आयोजना हो । रोल्वालिङ जोडिएपछि सुख्खा समयमा ६ घण्टासम्म ४५६ मेगावाट नै चलाउन सक्छौं । अहिले चार घण्टा चलाउन सकिन्छ । पिक लोड व्यवस्थापन गर्न धेरै सजिलो हुन्छ । वर्षामा भने नदी प्रवाहमा आधारित (आरओआर) नै हो, यसलाई भण्डारण गर्न सकिँदैन । तर अर्धजलाशय हुनाले यसले धेरै सहयोग गर्छ । ऊर्जा प्रणाली भारतसँग सिक्रोनाइज भइसकेको छ । यसका लागि अन्तरदेशीय पूर्वाधार पनि छ । यसमा आदानप्रदान गर्न सकिन्छ । खालि यसका लागि व्यापारको संयन्त्र बनाउन मात्र बाँकी रहेको हो ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी बनाएपछि अरू ठूला परियोजना बनाउनका लागि यसले के पाठ सिकाउला ?
यसले सिकाएका धेरै पक्ष र पाठ छन् । यो आयोजनाले सिकाएको पाठ भनेको स्थानीयको आयोजनाप्रति अपनत्व सबैभन्दा महत्वपूर्ण पक्ष हो । १० प्रतिशतको सेयरका कारण स्थानीयबाट आयोजनाप्रति अपनत्व बढेको देखिएको छ र सोचाइलाई फराकिलो बनाइदिएको छ । यसले जनशक्तिको विकासमा पनि सहयोग पु¥याएको छ । तर ठूलो परियोजना भएकोले विदेशी परामर्शदाताको भर पर्नुपर्ने कारणले हामीले सोचेको जस्तो जनशक्ति विकास गर्न सकेनौ । तामाकोसीले स्थानीय अर्थतन्त्र र सामाजिक पक्षमा आमूल परिवर्तन गराइदिएको महसुस हुन्छ । यहाँ जलविद्युत् पर्यटनको सम्भावना पनि बढेको छ । दैनिक ४÷५ सय आगन्तुक सजिलै आउन सक्छन् । अहिले यहाँ होमस्टे स्थापना भइसकेका छन् । हामीले हाम्रो परियोजनालाई नजिकबाट नियाल्नका लागि आवश्यक पूर्वाधार निर्माणबारे सोचिसकेका छौ । यहाँ आउनेले तामाकोसी जलविद्युत्सहित सुन्दरतालाई नियाल्नका लागि केही संरचना बनाउने सोच छ । यहाँको वातावरण नबिगार्ने गरी त्यो काम अघि बढ्छ । मुख्य पाठ भनेको हाम्रो आन्तरिक विज्ञतालाई खारिँदै जाने र विदेशी विज्ञप्रतिको परनिर्भरता घटाउँदै जाने हो ।

उत्पादनसम्म आइपुग्न माथिल्लो तामाकोसीमा भएका उपलब्धि र गर्व गर्न लायक केके पूर्वाधार बनेका छन् ?
जहाँसम्म संरचनाको कुरा छन्, सबै ठूला परियोजनामा यो भइहाल्छ । आठ सय मिटर हेड भएको नेपालमा अरु जलविद्युत् आयोजना पनि छैन । विश्वकै इतिहासमा आठ सय मिटरभन्दा बढी हेड भएका पेनस्टक स्पेसल प्रेसर सिस्टम भन्ने हुन्छ । यसको सफलताको दर २० प्रतिशत मात्र हुन्छ भनिन्छ । हाम्रोमा पेनस्टकले राम्रो काम ग¥यो । स्वीजरल्यान्डमा १६ सय मिटर हेड भएको जलविद्युत् आयोजना असफल भएर यसको क्षमता घटाउनुपरेको थियो । हामीकहाँ पनि ठेकेदार कम्पनीको समस्या यही पेनस्टकमा परेको हो । यसमा हामी बढी नै संवेदनशील बनेका थियौ । ठेकेदारले समयमै काम नगर्दा यस पक्षमा सुधार गर्ने अवसर पायौं । पहिलो ठेकेदारले गरेको काममा हामीले शतप्रतिशत पुनः मर्मत पनि ग¥यौं । अर्को संरचनामा यसको बाँधमा प्रयोग गरेको फ्लोटिङ फाउन्डेसन प्रविधि र सर्ज साफ्टलाई सरलीकृत गरी सर्ज टनेल सिस्टम बनाइएको छ ।
माथिल्लो तामाकोसी आएपछि देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशतको हाराहारीमा योगदान गर्छ भन्ने गरिएको छ, यसबारे के भन्नुहुन्छ र यसका आधारहरू केके छन् ?
अवश्य पनि गर्छ । यो त राष्ट्रिय योजना आयोगले गर्ने हो तर एक प्रतिशत त अवश्य होला । यति धेरै बिजुली उत्पादन भएर उद्योग व्यवसायका लागि ठूलो योगदान गर्छ । यसको आर्थिक मुनाफा त धेरै छ । वित्तीय फाइदा त सेयरकर्ताले पाउने भए, तर आर्थिक फाइदा हुन्छ ।

तपाईं आयोजनासँग कहिलेदेखि जोडिनुभयो र यसमा अनुभव के छ ?
सुरुमा म सम्भाव्यता गर्ने अध्ययन टोलीमा इलेक्ट्रिकल इन्जिनियरको हिसाबले सहभागी भएको थिएँ । पछि २०६५ सालदेखि तामाकोसी आयोजनाको काममा खटिएको थिएँ । त्यहाँ खटिएको मध्ये वरिष्ठ भएकाले पछि परियोजना प्रमुख बनें । अहिले प्रमुख कार्यकारी अधिकृत छु । अर्को चार महिनापछि मेरो अवकाश हुँदैछ । मेरो कार्यकालमै पूर्ण उत्पादन हुन्छ भन्नेमा विश्वस्त छु । सानातिना स्वार्थमा नअल्झिकन अघि बढ्यो भने ठूला आयोजना बनाउन सकिने रहेछ भनेर यसले अनुभव गराएको छ । यसमा डेडिकेसन र टिमवर्कको त्यतिकै आवश्यक छ । आयोजनाको कोरटिमका साथीको सहयोग र सञ्चालक समितिबाट गरिने उचित र समयसापेक्ष निर्णयको पनि त्यतिकै महत्व छ । कतिले नकारात्मक रूपमा यतिका वर्ष बसेर पनि सम्पन्न गर्न सकेन भनेर भन्छन् । अर्को सकारात्मक रूपले हेर्दा यतिका वर्षसम्म डेडिकेटेड भएर काम ग¥यो पनि भन्ने गरिन्छ । सोच आ–आफ्नो हो । ठूला आयोजना निर्माणको जिम्मेवारी भएकाले ठूलै चुनौती पनि थियो । खाने र सुत्नेबाहेक सबै समयमा मलगायतको मेरो टोली पूर्णरुपमा खटिरहेको छ । बेलाबेलामा जोखिम मोलेर पनि निर्णय गरियो । टेस्म्याकोले समयमै काम नगरेपछि कि रद्ध गर्नुपर्ने भयो कि विकल्पमा जानुपर्ने भयो । आंशिक काम एड्रिजलाई दिने काम जोखिम मोलेरै गरियो । तत्कालीन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बरु जेल जानु परे पनि जाउँला निर्णय गरौं भनेर भन्नुभयो, गरियो । त्यो बेलामा गरेको निर्णयको परिणामले अहिले यो आयोजना सम्पन्न गर्न आधार तयार भएको छ । त्यस बेला सार्वजनिक खरिद ऐन बाइपास गर्नसक्ने अवस्था त थिएन तर आंशिक काम दिएर भए पनि यसमा गति प्रदान गरियो । सबै काम दिइएको भए, एन्ड्रिजलाई दिँदा थप ४० करोड अर्थात् ८० करोडको जोखिममा काम सकिन्थ्यो तर दिन नसक्ने बाध्यताले आयोजना दुई वर्ष ढिलो हुने वातावरण बन्यो । ठेकेदारका कारण बढेको दुई वर्षको मूल्यमा करिब १० अर्ब को ब्याज खर्च बढायो ।

Monday, July 5, 2021

उलरको पहिचानदेखि नेपालको सानसम्म

 https://www.karobardaily.com/news/146173?fbclid=IwAR30xqSMCWPRBTyXY5HwP9cC30GVDXeZoPTdP8HNs1sg7y8-1K8hbY2Z4Ug

असार २१, २०७८ सोमबार

आर्थिक वर्ष २०६६/०६७ सालको बजेट तथा कार्यक्रममा २०६९/०७० भित्र सम्पन्न गर्ने गरी ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सुरु गरिने उल्लेख थियो । तर त्यसको ८ वर्षपछि बल्ल आज सोमबार तामाकोसी आयोजनाको बिजुली राष्ट्रिय ग्रीडमा जोडिँदैछ ।
२०६७ भदौ १७ बाट मुख्य सिभिल निर्माण कार्यको सुरुवात गरिएको र २०६८ जेठ ४ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्याश गरेको आयोजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुयल माध्यमबाट गर्दैछन् ।

झण्डै २५ वर्ष अघि अष्ट्रियन भूगर्भविद डा. कृष्ट्रियन उलरले आयोजनाको पहिचानदेखि स्वदेशी लगानीमा निर्माण भएको नेपालकै सबैभन्दा ठूला जलविद्युत् आयोजनाको सान बनाउनसम्मका माथिल्ला तामाकोसीले धेरै ब्रेक थु्रहरु अर्थात धेरै कठिनाइलाई छिचोलेको छ । पूर्वाधार र ऊर्जाको प्रसंग आउँदा राजनीतिज्ञ, नीति निर्माता, अर्थशास्त्री, विज्ञ, नागरिक समाज र सेयर लगानीकर्ता सर्वसाधारणले सानका साथ सबैले सधै चर्चा गर्ने यति ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण पूरा हुँदासम्म धेरै ब्रेक थु्र पार गरेको हो ।


१५ वर्ष अघिसम्म नेपालकै पुँजीबाट ठूला आयोजना बनाउन सकिँदैन भन्ने भनाइ बलियो थियो । हुन पनि स्वदेश पुँजीमा बनाएका आयोजनामध्ये सबैभन्दा ठूलो २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना मात्र थियो, तर १५ वर्षपछि अवस्था फेरिएको छ । “स्वदेशी लगानीमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने अवस्थामा पुग्दा यसले धेरै टर्निङ प्वाइन्टहरु पार गरेको छ र धेरै ब्रेक थु्र भएका छन्” अपर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठ भन्छन्, “आयोजनाको पहिचान गर्नेदेखि स्वदेशी लगानी जुटाउनका लागि भएका प्रयास र सफलताभित्र धेरैको योगदान र भूमिका छ ।”


हुन पनि माथिल्लो तामाकोसीको पहिचानदेखि निर्माण सम्पन्नताको स्थितिसम्म आउँदा साढे दुई दशकको इतिहास छ । जापान सहयोग नियोग (जाइका) ले तामाकोसी कोरिडोरका तामाकोसी–१, २, ३ र ४ आयोजनाहरुको पहिचान गर्दा माथिल्लो तामाकोसीको पहिचान भएको थिएन । तर १९९७ अष्ट्रियन भूगर्भविद डा उलरले च्छोरोल्पा तालको जियोलोजिकल म्यापिङ अध्ययन गर्न आउँदा पहिचान गरे र आयोजना बनाउनका लागि अनुमतिपत्र (लाइसेन्स) पनि लिए तर बनाउन सकेनन् ।


बनाउन नसकेपछि होल्डरले आफ्ना साथी समेत रहेका र अष्ट्रियामै अध्ययन गरेर फर्किएका तत्कालीन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक स्वर्गीय भोला चालिसेसँग छलफल गरी सन् २००० मा तामाकोसीको लाइसेन्स प्राधिकरणलाई प्रदान गरेका थिए । माथिल्लो तामाकोसी आयोजनाका अनुसार, त्यसपछि नेपाल विद्युत् प्राधिकरणले २०५७/०६० मा आयोजनाको सम्भाव्यता अध्ययन तथा प्रवेशमार्गको विस्तृत इञ्जिनियरिङ डिजाइन कार्य सम्पन्न गरेको थियो । नर्वे सरकारको सहयोगमा विस्तृत सम्भाव्यता अध्ययन कार्य नर्वेजियन परामर्शदाता नर कन्सल्ट्यान्टमार्फत २०६०/०६२ मा र आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्ने कार्य २०६३÷०६५ मा भएको थियो । परामर्शदाता कम्पनीले माथिल्लो तामाकोसीलाई लगानीयोग्य परियोजना भनेर किटान गरेको थियो । यसपछि यसका लागि कसरी लगानी जुटाउने भन्ने छलफल बल्ल अघि बढ्यो । स्वदेशी लगानीमा यो आयोजना बनाउन सक्ने नसक्ने भनेर ठूलै बहस पनि भएको थियो ।
स्वदेशी लगानीमा निर्माण हुन सक्दैन भन्ने बहस चलिरहेको बेला नर्वेजियन कम्पनीले लाइसेन्स हात पार्ने प्रपञ्च गरिरहेको बेला कर्मचारी सञ्चय कोषले १० र २ अर्ब गरी १२ अर्ब लगानी गर्ने प्रतिवद्धता प्राप्त भएको थियो । पछि यसबारे सम्झौता नै भएको थियो । तामाकोसी आयोजनाका अनुसार, सञ्चय कोषको प्रतिवद्धतापछि बिमा र नागरिक लगानी कोषबाट २/२ अर्ब तथा बाँकी ४ अर्ब कन्सोटिएम बैकबाट लिने कुरा भयो तर हिमालय बैकको नेतृत्वमा नबिल बैक लगायतका ६/७ वटा बैकहरुले लगानी गर्ने कुरा भएपनि उनीहरुले हात झिके । लगानीका लागि विकल्पको खोजी भइरहेको बेला नेपाल टेलिकम १० वर्ष लगानी गर्न तयार भयो ।


स्पेशल पर्पेच भेइकल (एसपीभी) मा अपर तामाकोसी हाइड्रोपावर लिमिटेडमा टेलिकमले ६ प्रतिशत संस्थापक सेयर हाल्न पनि तयार भयो । ६ प्रतिशत टेलिकमको सहित स्वपुँजीमा विद्युत् प्राधिकरणले ४१ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको २/२ प्रतिशत लगानी गरेका छन् । तत्कालीन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रहेका अर्जुन कार्कीले स्थानीयलाई १० प्रतिशत सेयर दिन सकिने प्रस्ताव गरे भने अर्को १५ प्रतिशत सर्वसाधारणलाई दिने प्रस्ताव गरियो । बाँकी २४ प्रतिशत शेयर संचय कोषका सञ्चयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुलाई दिइएको छ । “माथिल्लो तामाकोसी स्थानीयबासीलाई १० प्रतिशत सेयर दिने गरी प्रबन्धपत्रमै व्यवस्था गर्ने पहिलो जलविद्युत् आयोजना हो” कम्पनीका प्रमुख कार्यकारी अधिकृत भन्छन्, “माथिल्लो तामाकोसी सबैभन्दा बढी अर्थात ८ लाख सर्वसाधारणको सेयर भएको जलविद्युत् आयोजना हो तर अहिले त केही घट्यो पनि होला ।”


बैकहरुले हात झिकेपछि स्वदेशी लगानी जुटाउन हम्मे परिरहेको बेला सरकारले गरेको ११ अर्ब ८ करोड लगानीलाई पनि आयोजनामा स्वदेशी लगानी जुटाउने अर्को टर्निङ प्वाइन्टको रुपमा लिइन्छ । सुरेन्द्र पाण्ड अर्थमन्त्री र डा. प्रकाशशरण महत ऊर्जा मन्त्री हुँदा तत्कालीन अवस्थामा भएको यो निर्णयलाई पनि स्वदेशी लगानी जुटाउने एउटा महत्वपूर्ण निर्णयको रुपमा हेरिने गरिएको छ ।
स्वदेशी लगानीको अन्योलतामा बेला तत्कालीन प्राधिकरणका कार्यकारी निर्देशक कार्कीसहित तत्कालीन ऊर्जा सचिव शंकर कोइराला, अर्थसचिव रामेश्वर खनालले पनि स्वदेशी लगानी जुटाउन ठूलो भूमिका खेलेका थिए ।

अर्थमन्त्री डा. रामशरण महतलाई स्वदेशी लगानीमा निर्माण गर्न सकिन्छ भन्ने विश्वास दिलाउन पनि उनीहरु लागेका थिए । राजनीति नेतृत्वको कुरा गर्दा पूर्व मन्त्री स्वर्गीय भीमबहादुर तामाङले तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई विश्वस्थ पार्नु पनि स्वदेशी लगानीमा निर्माण हुन सक्नुको अर्को टर्निङ प्वाइन्टको रुपमा हेरिने गरिन्छ । पूर्व मन्त्री तामाङले प्रधानमन्त्रलाई विश्वासमा लिएपछि विदेशीले आयोजना लैजाने भन्ने रोकियो । त्यो बेला दोलखाका नेताहरु स्वर्गीय पशुपति चौलागाई, आनन्द पोखरेलसहितले स्वदेशी लगानीमा निर्माणका लागि सरकारमाथि ठूलो दबाब सिर्जना गरेका थिए ।


विदेशीले आयोजनाको लाइसेन्स नलगोस् भनेर निर्माण अवधिको ब्याजसहित ४९ अर्ब लागत भन्नेमा ३५ अर्ब अर्थात सस्तो आयोजनाको रुपमा यसलाई प्रचार गरिएको थियो, तर भूकम्प, नाकाबन्दी, कोरोना महामारी लगायतको कारणले अहिले लागत बढेर ८६ अर्ब पुगेको छ तर ४५६ मेगावाटको माथिल्लो तामाकोसीजस्ता ठूला आयोजना स्वदेशी लगानी र पुँजीमा निर्माण गर्न सकिन्छ भन्ने ठूलो सन्देश दिएको छ ।

Thursday, July 1, 2021

प्रदेश–२ को सोलार क्षमता १० हजार मेगावाट उत्पादन, १४ मेगावाट मात्र

https://www.karobardaily.com/news/145576

 असार १७, २०७८ बिहीबार

सौर्य ऊर्जा (सोलार) सहित नेपालको विद्युत् उत्पादन साढे १४ सय मेगावाट छ तर प्रदेश–२ को क्षमता १४ मेगावाट मात्र छ ।
मुलुकका ७ प्रदेशमध्ये पानीबाट विद्युत् उत्पादन हुने सम्भावना नै नभएको प्रदेश–२ मा सोलारबाट भने १० हजार मेगावाट उत्पादन हुने अवस्था रहेको देखिएको छ । विद्युत् विकास विभागको तथ्यांकअनुसार, कुल क्षमताको ३७.५ मेगावाट सोलारबाट उत्पादन भएकोमा यो प्रदेशमा १४ मेगावाटमात्र उत्पादन भएको छ ।

तथ्यांकअनुसार, ४५ मेगावाट सोलार निर्माणाधीन रहेकोमा प्रदेश–२ मा २५ मेगावाट र ६३ मेगावाटको सोलारहित २५ सय मेगावाट निर्माणको तयारी हुँदा यहाँ ४० मेगावाट सोलारमात्र यो प्रदेशमा ६०८ सय सोलारसहित १८ हजार ६०८ मेगावाट अध्ययनको चरणमा रहेकोमा सोलार ४ सय मेगावाटको मात्र अध्ययन भइरहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का उपाध्यक्ष आशिष गर्ग प्रदेश–२ मा १० हजार मेगावाट क्षमता रहे पनि उत्पादनको अवस्था न्यून रहेको बताउँछन् । “सरकारले १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ, त्यसमा १० प्रतिशत अर्थात् १५ सय मेगावाट सोलारबाट भनिएको छ,” उनी भन्छन्, “प्रदेश–२ को सोलारबाट मात्र १० हजार मेगावाट उत्पादन क्षमता रहेकाले अधिकत्तम उपयोग गर्न सकिन्छ, यसका लागि प्रदेश सरकारले जग्गा र प्रशारण लाइनको व्यवस्था गरेर लगानीकर्तालाई आकर्षित गर्नुपर्छ ।” उनी दु्रतगतिमा अनुमतिपत्र व्यवस्थापन तथा विद्युत् खरिद सम्झौता (पीपीए) र अन्य स्वीकृतिहरूमा सहजीकरण गरेमा लगानी भित्र्याउन सक्ने अवस्था छ ।
प्रदेश–२ को सरकारले भने आफूहरू सोलारमा लगानीकर्ता आकर्षण गर्न तयार रहे पनि संघीय सरकार बाधक भएको बताएका छन् । “संघीय सरकारको नीतिगत कठिनाइका कारण ऊर्जा क्षेत्रमा लगानी आउन बाधक बन्यो, हाम्रो प्रदेशमा २ सय मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण गर्न चौधरी गु्रपसँग सम्झौता भयो,” तर नीति बाधक भएकाले नै आजसम्म यो आयोजना अघि बढ्न सकेको छैन,” उनले इपान र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले संयुक्तरूपमा आयोजना गरेको ‘प्रदेश–२ को दिगो विकालका लागि ऊर्जा’ विषयक भर्चुअल कार्यक्रममा भने । सोलार आयोजना निर्माणका लागि स्थानीय नगरपालिका तथा गाउँपालिकाहरू जग्गा दिन तयार भए पनि नीतिगत असहयोगले ऊर्जामा लगानी आउन नसकेको उनको भनाइ थियो । कार्यक्रममा प्रदेश–२ का भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवले आफ्नो प्रदेश ऊर्जा विकासका लागि प्रतिबद्ध रहेको बताए ।
पाँच वर्षअघि नेपाल संघीयतामा गए पनि हालसम्म कति मेगावाटसम्म प्रदेशले गर्ने भन्ने टुंगो लागिसकेको छैन । इपान सदस्य प्रकाश दुलालले भने प्रस्तावित विद्युत् विधेयकले तीनदेखि २० मेगावाटसम्म प्रदेश सरकारको अधिकार क्षेत्रभित्र रहने उल्लेख गरे तर विधेयक नै पारित नभइसकेकाले टुंगो लागेको छैन । भर्चुअल कार्यक्रममा निजी क्षेत्रका प्रवद्र्धकहरूले सरकारले जग्गा प्राप्तिमा सहजीकरण नगर्दा सोलार आयोजना अघि बढाउन कठिन भएको बताएका थिए । तर विद्युत् विकास विभागकी उपमहानिर्देशक मनदेवी श्रेष्ठले भने सरकारले सोलारलाई प्रवद्र्धन गरी १० वर्षमा निर्माण गर्ने भनेको १५ हजार मेगावाटमध्ये १५ सय सोलारमार्फत बनाउने नीति लिएको बताइन् । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सिनियर डिभिजिनल इन्जिनियर बाबुराज अधिकारीले अहिले पनि ८७.१० प्रशित परम्परागत ऊर्जामा निर्भर रहनु परेकाले सोलार ऊर्जाको विकासको सम्भावना ठूलो रहेको बताए ।
इपान लुम्बिनी प्रदेश संयोजक कुवेरमणि नेपालले छिमेकी राष्ट्र चीनमा दुई लाख ४७०० सय मेगावाट (३२.६ प्रतिशत) र भारतमा ४२ हजार ८०० सय मेगावाट (६.८) प्रतिशत सोलारबाट उत्पादन गरिसकेको जानकारी दिँदै नेपालमा वर्ष दिनमा तीन सय दिन र २१ सय घण्टा सूर्य उदाउने भएकाले सोलारका लागि उपयुक्त भएको बताए । उनका अनुसार, प्रतिमेगावाट सोलारको लागत छदेखि आठ करोड छ । आईएफसीका भीष्म पण्डितले भने उचित वातावरण भएमा आईएफसी लगायतका निकायबाट लगानी ल्याउन सकिने बताउँदै यसका लागि विभिन्न लगानीका ढाँचा प्रचलित रहेको बताए ।