Sunday, July 17, 2022

स्थानीयको उत्साहले सुनकोसी-३ मा लगानी गर्न हौसला बढाएको छ: राजदूत चौधरी

https://nepalpurbadhar.com/7806/

 काठमाडौं । नेपालका लागि बंगालादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजना निर्माणबारे नेपाल सरकारसँग छलफल भइरहेको बताएका छन् । स्थलगत भ्रमण गर्न बुधबार रामेछापको लुभुघाट पुगेका राजदूत चौधरीले बंगलादेशको समेत लगानी रहने आयोजना निर्माणका सम्बन्धमा सरकारसँग छलफल तथा परामर्श भइरहेको बताएका हुन् ।

आयोजना स्थल पुगेर स्थानीयको उत्साह देखेपछि लगानीका लागि थप वातावरण सृजना भएको अनुभुत गरेको उनले बताए । ‘स्थानीय राजनितिक दल एवं स्थानीयबासीको आयोजना प्रतिको प्रतिबद्धता देखेर म निकै उत्साहित भएको छु,’ उनले भने, ‘यो माहोलले हामीलाई पनि लगानीका लागि उत्साहित बनाएको छ ।’

उनले नेपाल र बंगालादेशबीच व्यापार, पर्यटन र कृषिमा सहकार्य सहकार्य हुँदै आएकोमा अब विद्युत उत्पादन तथा खरिद–बिक्रीमा पनि सहकार्य थपिन लागेको बताए । यहाँ उत्पादन भएको विद्युत बंगालादेश पुर्याउँदा नेपालको मात्र नभइ बंगालादेशको समृद्धिमा पनि ठूलो योगदान पुग्ने उनको भनाइ छ ।

विद्युत विकास विभागका महानिर्देशक सन्दिपकुमार देवले रामेछाप र काभ्रे जिल्लाको सीमा पर्ने लुभुघाटमा सुनकोसी–३ जलाशय जलविद्युत आयोजनाको बाँध निर्माण गरिने जानकारी दिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना भारतको समेत संलग्नतामा निर्माण गर्न सकेमा अझै राम्रो हुने सुझाव दिए ।

उनले बंगालादेशसँगै भारतको लगानी ल्याउँन सकेमा यसलाई त्रिवेणी आयोजना बनाउन सकिने बताए ।उनले स्थानीयबासीले विना अवरोध सहयोग गरेको खण्डमा चाँडै निर्माण गर्न सकिने बताए । ‘यो आयोजना बूढीगण्डकी भन्दा धरै आकर्षक छ । कम क्षति र कम प्रभावित रहेने हुँदा आयोजना चाँडै सम्पन्न गर्न सकिने अहिलेसम्मको अध्ययनले देखाएको छ,’ उनले भने,‘सम्बन्धित सरोकारवाला सबैको सहयोग रहेमा अबको केही वर्षमा आयोजना तयार गर्न सकिन्छ ।’

घिसिङले नेपाल र बंगालादेशबीचको सहकार्यमा निर्माण हुन लागेको आयोजनाबाट धेरै उत्साहित रहेको बताए । उनले यो आयोजना विद्युत उत्पादनका लागि मात्र नभएर पर्यटनका लागि पनि उक्तिकै महत्त्वपूर्ण हुने धारणा राखे ।

आयोजना प्रमुख सुवास थपलियाले २०७४ सालदेखि आयोजनाको अध्ययन भइरहेको बताए । उनले अहिले विस्तृत अध्ययनको काम भइरहेको जानकारी दिए ।

नेकपा माओबादीका पोलिटब्युरो सदस्य युवराज चौंलागाईं, नेपाली काँग्रेस रामेछापका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, आयोजनाको प्रभावित क्षेत्र रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङलगायतले आयोजना निर्माणका लागि पहल तथा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरूले विकास निर्माणको काम कुनै दल विशेषको मात्रै नहुने हुँदा आयोजना निर्माणमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

राजदूत चौधरी विद्युत विकास विभागका महानिर्देशक देव, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, विद्युत व्यापार विभाग प्रमुख प्रबल अधिकारीसँगै आयोजना स्थलको भ्रमणमा गएका थिए । उनीसहितको टोलीलाई स्थानीयबासीले बाजागाजा बजार भव्य स्वागत गरे ।

सुनकोसी–३ आयोजना सर्वप्रथम जापानी सहयोग नियोग (जाइका) ले सन् १९८५ मा पहिचान गरेको थियो । यो आयोजनाको बाँधको उचाई १८० मिटर हुने अध्ययनले देखाएको छ । चौडाइ ५ सय मिटर रहेनेछ ।

आयोजना निर्माण गर्दा लुभुघाटबाट ४५ किलोमिटर टाढा सिपाघाट हुँदै बलेफीसम्म प्रभावित हुनेछ । करिब १५ सय ६५ घरधुरी विस्थापित हुने देखिन्छ । अध्ययन अनुसार आयोजना निर्माण हुँदा वार्षिक २ अर्ब ३५ करोड युनिट विद्युत उत्पादन गर्न सकिनेछ ।

No comments: