Wednesday, January 18, 2023

घरायसी उपभोक्तालाई वर्षा र हिउँदयाममा क्रमशः मासिक ५० र ३० युनिट विद्युत् निःशुल्क

 https://nepalpurbadhar.com/13826/

  • नेपाल पूर्वाधार नेपाल पूर्वाधार
  •  
  •  पुस २५, २०७९
  •  
  • ऊर्जा

  • काठमाडाैं । सरकारले न्युनतम साझा कार्यक्रममार्फत गार्हस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने  घाेषणा गरेकाे छ ।

    त्यस्तै, ५ वर्षमा विद्युत् उत्पादन क्षमता ६ हजार ५ सय मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत ७ सय किलोवाट घण्टा (युनिट) पुऱ्याउने लक्ष्य राखेकाे छ ।

    विद्युत् महसुललाई सर्वसाधारणले व्यहोर्न सक्नेगरी समायोजन गर्ने, २ वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पुऱ्याउने घाेषणा गरेकाे हाे ।

    विद्युत् उत्पादन विस्तारमार्फत आर्थिक वृद्धिदर बढाउने, विद्युतीकरणमार्फत आमनागरिकको जीवन सहज तुल्याउने, इन्धनमाथिको परनिर्भरता न्यून गर्ने, मुलुकको औद्योगीकरणमा टेवा पुऱ्याउने र नवीकरणीय ऊर्जाको प्रयोगमार्फत वातावरणमा सुधार ल्याउने लक्ष्य निर्धारण गरिएकाे छ ।

    सरकारले निर्माणाधीन जलविद्युत् आयोजनाहरू समयमै सम्पन्न गरी जलविद्युत् निर्यातमा वृद्धि गर्ने र राष्ट्रिय आय बढाउने तथा  वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएकाे छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साेमबार आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो ।

    सत्ता साझेदार दलले कार्यदल नै बनाएर न्यूतम साझा कार्यक्रम तयार पारिएको थियो ।

    No comments: