Tuesday, October 30, 2012

दुईदिने बिदा कार्यान्वयन भएन

काठमाडौं, १५ कात्तिक । सरकारले कात्तिक १५ बुधबारदेखि लागू हुने गरी सरकारी कर्मचारीलाई साताको दुई दिन बिदा दिने भनी गरेको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । लोडसेडिङ न्यूनीकरण कार्ययोजनाअन्तर्गत मन्त्रिपरिषद्ले बिजुली बचत गर्न भन्दै साताको दुई दिन बिदा गर्ने निर्णय लिएको थियो ।
ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार भएको निर्णय अनुसार बुधबारदेखि नै सम्पूर्ण सरकारी कार्यालय प्रत्यक दिन बिहान ९ बजेदेखि खुल्ने तथा शनिबार र आइतबार बिदा हुने उल्लेख छ । तर, मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनमा गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयले चासो देखाएका छैनन् ।
साताको दुई दिन बिदा दिने निर्णय पहिल्यै सार्वजनिक भएकाले मंगलबार सबै सरकारी कर्मचारी बुधबारदेखि कतिबजे काममा जाने अन्योलमा रहे । स्वयम् ऊर्जा मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालयका कर्मचारीसमेत अन्योलमा देखिन्थे । ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूसँग अन्य सरकारी कार्यालयका कर्मचारीहरूले विदाबारे बारम्बार सोधे पनि उनीहरूले स्पष्ट उत्तर दिन सकेका थिएनन् । ‘धेरैले बिदाबारे सोधेर हैरान भइयो, ऊर्जाका प्रतिनिधिलाई सोध्दा पनि थाहा छैन भन्छन्, गृह मन्त्रालयले पनि यसबारे कुनै सार्वजनिक सूचना गरेको छैन,’ प्राधिकरणका एक कर्मचारीले भने ।
सामान्यता सरकारी बिदाबारे गृह मन्त्रालयले अन्य मन्त्रालयलाई सर्कुलर जारी गर्नुपर्ने व्यवस्था छ । साताको दुई दिन बिदाका लागि सबै मन्त्रालयलाई मातहतका निकायलाई समेत सर्कुलर गर्न भन्दै ऊर्जाले मन्त्रिपरिषद्को निर्णय पुस्तिकासहित गृहलाई पत्र पठाएको थियो । तर, गृह मन्त्रालयबाट कुनै सर्कुलर भएको छैन । ऊर्जा प्रवक्ता अनुप उपाध्यायले मन्त्रिपरिषद्को निर्णयसहित सबै मन्त्रालयमा पत्र पठाइएको जानकारी दिए । ‘मन्त्रिपरिषद्को निर्णयअनुसार दसँैअघि नै हप्ताको दुई दिन बिदा हुनेगरी सबै मन्त्रालयलाई पत्र पठाएका थियौँ, बुधबारदेखि त्यो कार्यान्वयन हुन्छ कि हुन्न गृह मन्त्रालयलाई सोध्नुपर्छ,’ उनले भने ।
मन्त्रिपरिषद्ले निर्णय गरेलगत्तै दुई दिन बिदाका लागि आवश्यक प्रक्रिया पुर्‍याउन गृह र सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सेवा नियमावली परिवर्तनका लागि मन्त्रिपरिषद्मा पठाउनुपर्छ । तर, केही दिनअघि मात्रै नियमावली परिवर्तनका लागि प्रस्ताव पठाएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ । ऊर्जाका अधिकारीले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न पत्र पठाएपछि गृहका अधिकारीले कर्मचारी नियमावली परिवर्तन गर्नुपर्ने, दुई दिन बिदा हुँदा सरकारी सेवा प्रभावित हुनेलगायत भन्दै अड्को थापेका थिए । पटकपटक गृह मन्त्रालय र ऊर्जा मन्त्रालयका अधिकारीहरूबीच छलफल भएपछि बिदाको निर्णय गर्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको थियो । यस विषयमा ऊर्जा र गृह मन्त्रालयका पदाधिकारीहरूबीच विवाद पनि भएको थियो तर अन्त्यमा गृह मन्त्रालय सहमतिमा आयो ।
‘मन्त्रिपरिषद्बाट निर्णय हुनुअघि नै गृह मन्त्रालयले त्यसबारे विरोध जनाउनुपथ्र्यो, अहिले आएर अड्चन गर्नु ठीक होइन,’ ऊर्जाका एक अधिकारीले भने, ‘ऊर्जा मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हिउँदमा १२ घन्टामा लोडसेडिङ झार्ने योजनामाथि नै प्रहार हो ।’
मन्त्रिपरिषद्को उक्त निर्णय कार्यान्वयनका लागि अब मन्त्रिपरिषद्ले अर्को निर्णय गर्नुपर्ने भएको छ । गृहसचिव नवीन घिमिरेले गृह मन्त्रालयले पठाएको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र हप्ताको दुईदिने बिदा कार्यान्वयन हुने बताए । ‘ऊर्जा मन्त्रालयको पत्रको आधारमा छलफल गरेर प्रस्ताव मन्त्रिपरिषद्मा पठाएका छौँ, प्रस्ताव पारित नभएसम्म पहिलाकै अवस्थामा सरकारी सेवा सञ्चालन हुनेछन्,’ उनले भने । घिमिरेका अनुसार निर्णय नभएसम्म साताको एक दिन मात्र बिदा र दिनको १० बजेदेखि ४ बजेसम्म कार्यालय समय यथावत् रहनेछ ।
साताको दुई दिन सरकारी कार्यालय बन्द हुँदा करिब एक सय मेगावाट विद्युत् बचत हुने ऊर्जा मन्त्रालयको अनुमान छ । आगामी हिउँदमा १९ घन्टासम्म लोडसेडिङ हुनसक्ने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेपछि ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री भट्टराईले १२ घन्टामा लोडसेडिङ झार्ने गरी कार्ययोजना बनाउन ऊर्जालाई निर्देशन दिएका थिए । निर्देशन अनुसार ऊर्जाले बनाएको कार्ययोजनामा लोडसेडिङ घटाउनका लागि साताको दुई दिन सरकारी कार्यालय बन्दलगायत योजना सार्वजनिक गरेको थियो ।

मिस्त्री खोलामा जलविद्युत् विकास कम्पनीको लगानी

काठमाडौं, १५ कात्तिक । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मिस्त्री खोला जलविद्युत् आयोजनामा लगानी गर्ने निश्चित भएको छ ।
०६८ सालमा स्थापना भएर ०६९ साल साउनमा व्यावसायिक कारोबार सञ्चालनको घोषणा गरेको कम्पनीले मिस्त्री खोला जलविद्युत् आयोजनामा लगानी गर्ने पक्का भएको हो । नेपाल भारत क्रस बोर्डर ट्रान्समिसन लाइनका लागि साढे ६ करोड लगानी गर्ने निर्णय गरिसकेको कम्पनीले लगानी गर्न लागेको यो दोस्रो आयोजना हो ।
रोवस्ट इनर्जीले म्याग्दी जिल्लामा निर्माण गर्न लागेको ४२ मेगावाटको उक्त आयोजनाको लगानीका लागि नबिल बंैकको अनुरोधमा कम्पनीले मिस्त्री खोलामा लगानी गर्न लागेको हो । विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर केशवध्वज अधिकारीको संयोजकत्वमा रहेको कम्पनीको रिक्स एसिसमेन्ट सेलको अध्ययन प्रतिवेदनले आयोजनामा लगानी गर्न उपयुक्त देखाएको हो । नबिल बंैकको प्रस्तावपछि गरेको अध्ययनबाट आयोजनामा लगानी गर्न उपयुक्त देखिएको प्रतिवेदन रिक्स म्यानेजमेन्ट कमिटीलाई पठाइएको सेलका सदस्यसचिव संजीव बरालले जानकारी दिए ।
लगानी कम्पनीका बोर्ड सदस्य वैकुण्ठ अर्यालको संयोजकत्वमा रहेको समितिले सञ्चालक समितिका प्रस्ताव लगेर पारित भएपछि कम्पनीले लगानी प्रक्रिया अगाडि बढाउनेछ । ‘अध्ययन गर्दा प्रसारण लाइनमा केही समस्या देखिए पनि आयोजना निर्माण प्राविधिक रूपमा उपयुक्त र सस्तो देखिएकाले समितिलाई लगानी गर्नका लागि प्रतिवेदन दिएका छौँ,’ बरालले भने । आयोजनामा कम्पनीले कति लगानी गर्ने भन्ने टुंगो लागिसकेको छैन तर आयोजनाले एक महिनाभित्रै वित्तीय व्यवस्थापन गरिसक्ने जनाएको छ ।
करिब पाँच अर्ब ६० करोडको लागतमा निर्माण सुरु गरिएको आयोजनामा आगामि माघभित्र सुरु गरेर ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको रोवस्ट इनर्जीका अध्यक्ष सुव्रत धितालले जानकारी दिए । उनका अनुसार आयोजनाका लागतमध्ये ७५ प्रतिशत वित्तीय संस्थाको हुनेछ ।
आयोजनाको लिड बैंक नबिलका साथै कम्पनी, नेपाल इन्भेस्टमेन्ट बंैक, लक्ष्मी बैंक, नेपाल बैंक लिमिटेड, क्लिन इनर्जी बैंक, सञ्चय कोषलगायतले लगानी गर्न लागेका छन् । कुन बैंक र कम्पनीले कति गर्ने भन्ने टुंगो लाग्ने भने बाँकी छ । आयोजना प्रवद्र्धक रोवस्टका अध्यक्ष धितालका अनुसार आयोजनाका लागि ९८ प्रतिशत जग्गा खरिद गर्ने कार्य सकिएको छ भने पहुँच मार्ग निर्माणको कार्य पनि ३० प्रतिशत सकिसकेको छ ।

Monday, October 29, 2012

अनाहकमा ज्यान गुमाउँदै कर्मचारी

अनाहकमा ज्यान गुमाउँदै कर्मचारी

-भीम गौतम
काठमाडौं, १४ कात्तिक । नेपाल विद्युत् प्राधिकरण ललितपुर वितरण केन्द्रका सहायक रामकृष्ण महर्जनको गत फागुन २५ गते ११ केभी प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर निधन भयो । जबकि प्राधिकरणको नियमबमोजिम सहायकस्तरका कर्मचारीले प्रसारण लाइन मर्मत गर्न पाउँदैनन् ।
महर्जनको काम भर्‍याङ बोक्ने सहयोगीको मात्र थियो । तर, उनलाई प्रसारण लाइन मर्मतकै काममा लगाइयो र फलस्वरुप दुर्घटना हुन पुग्यो । यसअघि प्राधिकरण कीर्तिपुर वितरण केन्द्रका सहायक राजकुमार श्रेष्ठको पनि गत फागुन ११ गते ११ केभीकै प्रसारण लाइन मर्मतका क्रममा निधन भएको थियो । स्याङ्जा वितरण केन्द्रका सवारीचालक मोतीलाल तिवारीको काम प्राधिकरणको गाडी चलाउने मात्र हो तर अघिल्लो वर्षको कात्तिकमा उनी ट्रान्सफर्मरको एमसिबी फेर्ने क्रममा दुर्घटनामा परे ।
यसैगरी, सिन्धुली वितरण केन्द्रका क्लर्क कुरुराज काफ्ले पोलमा बढी सर्भिस केबल कनेक्सन गर्ने क्रममा पोलबाट खसेर घाइते भए । उनको काम पोलमा चढ्ने होइन, पैसा उठाउने हो, तर उनलाई अर्कै काम गर्न लगाइयो ।
यसरी आºनो जिम्मेवारीभन्दा बाहिरको काम लगाइदा दुर्घटना भई घाइते र मृत्युसमेत भएका कैयौँ घटना छन् । प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार पनि ०६८/६९ मा दुर्घटनामा परी मृत्यु भएका र घाइते भएका ३० जनामध्ये अधिकांशलाई उनीहरूको जिम्मेवारीभन्दा बाहिरको काम लगाइएको थियो । नियमबमोजिम सवारीचालक, सहायक, लेखा सहयोगीदेखि इलेक्ट्रिसियनसम्मले जोखिमपूर्ण कामका रूपमा लिइने प्रसारण लाइन, ट्रान्सफर्मरलगायत मर्मत तथा जोड्ने काम गर्न पाउँदैनन् । सामान्यतया प्राधिकरणको एक, दुई र तीन तहका कर्मचारीलाई प्रसारण लाइन, जम्पर छुटाउने, ट्रान्सफर्मर, लाइन, एलटी लाइनको मर्मतको काममा लगाउन पाइँदैन । त्यो काम चार तहभन्दा माथिले मात्र गर्नुपर्ने व्यवस्था छ । एक, दुई र तीन तहका कर्मचारीले सहयोगीको भूमिका मात्र खेल्न सक्छन् । तर, सम्बन्धित प्राधिकरण केन्द्रका प्रमुख तथा जिम्मेवार व्यक्तिले उनीहरूलाई त्यस्ता काम गर्न पठाउँदा दुर्घटनाको पीडा खेप्नुपरेको छ ।
प्राधिकरणका एक अधिकारीले भने, ‘प्राधिकरणका जिम्मेवार व्यक्तिलाई यसबारे थाहा छ तर उनीहरूको बेवास्ता तथा सम्बन्धित केन्द्रका जिम्मेवार व्यक्तिको गैरजिम्मेवारी र लारबाहीका कारणले समस्या आएको छ ।’
प्राधिकरणका अनुसार एक तहदेखि नै प्राविधिक कर्मचारीलाई हेलमेट, पञ्जा, बेल्ट, बुट, चेस्टगार्डलगायत सामग्री सुरक्षाका लागि दिने गरिन्छ । तर, सुरक्षासम्बन्धी तालिम भने चार तहमाथिका कर्मचारीलाई मात्र दिने गरिएको छ । तीन तहसम्मका कर्मचारीले तालिम नपाए पनि प्राधिकरणका जिम्मेवार व्यक्तिले उनीहरूलाई फिल्डको काममा खटाउने गर्दा दुर्घटनाको जोखिम बढेको हो । प्राधिकरणका जिल्ला तथा विभिन्न केन्द्रका प्रमुख प्राय: चार तहदेखि सात तहसम्म हुने भएकाले प्राय: उनीहरू ट्रान्सफर्मर, प्रसारण लाइनको मर्मतजस्ता कममा जाँदैनन् । उनीहरूले सवारीचालक, सहायक, पियन, क्लर्कलगायतलाई जोखिमपूर्ण काममा लगाउने गरेका छन् ।
‘हाकिमले आदेश गरेपछि नमान्ने कुरा भएन, काम गर्नै पर्‍यो तर हामीले भन्दा पनि इन्जिनियरले गर्नुपर्ने काम हो,’ प्राधिकरण काभ्रे वितरण केन्द्रमा कार्यरत एक सहायकले भने । अहिले धेरै वितरण केन्द्रमा इन्जिनियर नै कार्यालय प्रमुख छन् ।
प्राधिकरणका प्रवक्ता शेरसिंह भाट ग्रिड कोर्ट बनाएरै प्राधिकरणले सुरक्षा व्यवस्था मिलाएको बताउँछन् । ‘पदविपरीत काम लगाउनुहुँदैन भन्ने हो, कोही कर्मचारी त आफूखुसीसमेत जाने गरेका छन्,’ उनले भने । पहिला सट डाउनजस्ता प्रक्रिया पूरा गरेर मात्र मर्मतका लागि अघि बढ्नुपर्ने व्यवस्था पनि गरिएको उनी बताउँछन् । प्राधिकरणका महाप्रबन्धक उपेन्द्रदेव भट्टले भने जनशक्ति अभावका कारण इलेक्ट्रिसियनलाई समेत मर्मतका काममा लगाउनुपरेको बताए । ‘सामान्यतया लगाइँदैन तर जनशक्ति नभएको ठाउँमा मर्मतका काममा लगाउनुपर्ने बाध्यता छ,’ उनले भने ।

लोडसेडिङ र साइँला दाइ

दुई साताअघिको आइतबार काभ्रे जिल्ला विकास समितिको कार्यालयमा उर्जा शाखामा छिर्न लाग्दा एक अधबँसेले मलाई सोधे, ‘ए भाइ मलाई डाँडापारीको डाँडागाउँका सचिवको नम्बर भनिदिनुस् न ।’ जिविसको ढोका अगाडिकै सूचना पाटीमा टाँसिएको नम्बर मैले भनिदिएपछि उनले फेरि आफू पढेलेखेको मान्छे नभएको भन्दै कागजमा लेख्न भने र लेखिदिएँ । मलाई उनको कामबारे जिज्ञासा लाग्यो र सोधँ, सचिव केका लागि चाहियो र तपाईंलाई ? उनले जग्गाको सिफारिस चाहिएको र गत शुक्रबार आउँदा सचिव नभेटिएको गुनासो पोखे । बिहीबार सबेरै हिँडेका उनी शुक्रबार बिहान मात्र धुलिखेल आइपुगेका रहेछन् । धुलिखेलमा सचिव खोज्दाखोज्दै नभेटेपछि शुक्रबार उनको दिन बित्यो । शनिबार बिदा भएकाले उनी आइतबार आउँदा कसैले जिविसको सूचना पाटीमा सचिवको मोबाइल नम्बर हुने बताएपछि यी डाँडागाउँका साइला तामाङ जिविस आइपुगेका रहेछन् । उनले सचिव भेट्नै गाह्रो भएको र सहरमा आएर होटेलमा धेरै खर्च भएको गुनासो पनि पोख्न भ्याए । गाउँमा सचिव नगएको र सहरमा पनि नभेटिएको उनको पीडा सुन्दै म उर्जा शाखाको कार्यालयभित्र छिरेँ । केही कुरा गरेपछि म बाहिर निस्किएँ ।
बनेपा फर्कदा डाँडागाउँदेखि धुलिखेलसम्मको पीडाको चित्र मेरो मनमा आयो । पटकपटक पत्रकारिताको क्रममा डाँडापारी गएको र काभ्रेको कर्णाली डाँडापारी र डाँडापारीको पनि कर्णाली नामले चिनिने डाँडागाउँको पीडासँग म परिचित थिएँ । एकपटक हिड्ने बाटो अप्ठेरो भएकै कारण ऋण काटेर हेलिकोप्टर रिजर्भ गरी भाङ्टारबँेसीमा चाउखोला लघु जलविद्युत्को उपकरणहरू लिएर जाँदाको अनुभव मात्र होइन, पटकपटक यातायात, सञ्चारलगायतका सुविधाबाट वञ्चित डाँडापारीको त्यो ठाउँ ठूलो कष्टका साथ पुगेको स्मरण पनि मसँग ताजै छ । त्यहाँबाट सदरमुकाम धुलिखेल आउन झण्डै १२ घण्टाभन्दा बढी हिँडेर कामीडाँडा आइपुग्नुपर्छ र त्यहाँ पनि मोटर नपाएमा थप २ घण्टाभन्दा बढी हिँडेर खोपासी आइपुग्नुपर्छ । अहिले काठमाडौंमा बसेर जलविद्युत्लाई बिट बनाई पत्रकारिता गरिरहेको मेरो दिमागमा सरकारले हालै ल्याएको लोडसेडिङ न्यूनीकरण कार्ययोजनाको याद आयो । शनिबार एक दिन बिदा हुँदा त डाँडागाउँका साइला दाइले पीडा पाएका छन् भने लोडसेडिङ न्यूनीकरण कार्ययोजना अन्तर्गत आगामी कात्तिक १५ गतेपछि हप्ताको दुई दिन अर्थात शनिबार र आइतबार बिदा हुँदा धेरै साइला दाइहरूले कति पीडा पाउने हुन् ?
अधिकांश विकट र ग्रामीण क्षेत्रमा बिजुली पुगेको छैन । त्यो संख्या ६५ प्रतिशत भन्दा बढी छ । विद्युत् नपुगेका लागि लोडसेडिङ हुनु र नहुनु ‘कागलाई बेल पाक्यो, हर्ष र विस्मात्’ भने जस्तै हो । यातायात, सञ्चार, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधारबाट टाढा रहेका उनीहरूको जिन्दगी अँध्यारो छ । मोटर देख्न सहर पुग्नुपर्छ, मोबाइल फोन गर्न डाँडातिर कुद्नुपर्छ, स्वास्थ्य केन्द्र र उच्च शिक्षा लिन सहर धाउनुपर्छ र विद्युत्को उज्यालो देख्न पनि सहर पुग्नै पर्छ । गाउँमा सचिव नपुग्ने हुनाले सामान्य सिफारिसदेखि सबै काम गर्न सहर नपुगी धर नै पाउँदैनन् । सहर पुगेपछि गाविस सचिव नभेटिने, सरकारी कार्यालयका अधिकृत नभेटेर वा गोष्ठी, सेमिनारमा पुगेर दिनभरि कुर्नुपर्ने अर्को बाध्यता त उनीहरूसँग छ नै । बिजुली नभएर अन्धकारमा बसेका विकटका धेरै सर्वसाधारणलाई आफूलाई जनमुखी भन्ने सरकारले अर्को पीडा थपिदिँदैछ, ‘हप्ताको दुई दिन बिदा’ । लोडसेडिङ समस्याको पीडामा छ सहर तर त्यो पीडाको भागीदार सरकारले तिनै विकट र दुर्गमका सर्वसाधारणलाई थोपर्दै छ । जस्ले बिजुली बाल्न पाएका छैनन् । अब, विकट क्षेत्रका बासिन्दा बिहीबार वा शुक्रबार आएर गाविस सचिव वा तालुकदार सरकारी कार्यालयका हाकिम नभेटेमा आइतबार वा सोमबारसम्म बस्नुपर्नेछ, जसको कारण गरिबी, अशिक्षा र अभावले बढी ग्रसित विकट बासिन्दाको ढाड सेकिनेछ । एउटा नागरिकता सिफारिस वा अन्य सिफारिसका लागि आउँदा हजाराँै खर्च गर्नुपर्ने छ । सरकारी योजनाको कारण हिउँदमा लोडसेडिङ कम भएर सहरबासीले केही राहत त पाउनेछन् तर अधिकांश विकट गाविसका बासिन्दाका लागि यो वाध्यताले ठूलो आहत बनाउनेछ, ठूलो पीडा थप्नेछ । पहिला गाउँ आफ्नो आधार इलाका भएको र विकटतामा पार्टी हुर्केको बताउने बाबुराम भट्टराई अहिले प्रधानमन्त्री छन् । ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रम भट्टराईको हप्ताको दुई दिने बिदा दिने निर्णयले सहर र सरकारी कर्मचारी त खुसी नै छन् तर विकट गाउँका बासिन्दाको मन नराम्रोसँग कुडिन थालेको छ । बिजुली नपाउने ६५ प्रतिशतभन्दा सहरका ३५ प्रतिशत जनताका लागि उनले गरेको निर्णयले अधिकांश जनतालाई पीडा थपिँदै छ । महिनाको एकदिन विकट गाउँमा बस्ने सकारात्मक अभियान सुरु गरेका उनले मोटर नजाने र धेरै विकासका पूर्वाधारबाट वञ्चित गाउँलाई भन्दा सहरबासीलाई प्राथमिकता दिन थालेका छन् । युद्धको क्रममा गाउँगाउँ पुगेका र पछिल्लो समय सिंहदरबार छिरेका प्रमले गाउँका साइला दाइहरूको पीडा बिर्सन मिल्छ र ? सत्ता, शक्ति र सुखमा भुलिएका प्रमले हप्ताको दुई दिन सरकारी बिदा दिँदा सहरबासीलाई मस्ती र गाउँलेलाई सास्ती हुने तीतो यथार्थतालाई बिर्सिएका प्रधानमन्त्रीलाई कसरी गाउँलेका प्रिय नेता भन्ने । हप्ताको एकदिन बिदा हुँदा साइला दाइले पाएका पीडा सम्झेर प्रमसँग यही प्रश्न गरिरहेको छु, ‘बिजुली बाल्ने सहरबासीका लागि सामान्य सरकारी सेवा लिन सदरमुकाम धाउनुपर्ने विकटका सर्वसाधारणलाई किन सास्ती दिने ?’

चियापानमा पनि नेताहरूको वाक्युद्ध

काठमाडौं, १४ कात्तिक । विपक्षी दलका शीर्ष नेताहरूले डा. बाबुराम भट्टराईले राजीनामा नदिएमा तिहारपछि कडा आन्दोलनमा उत्रने बताएका छन् । आन्दोलनबाटै भट्टराई सरकारलाई हटाउने चेतावनी दिँदै उनीहरूले संसद् पुन:स्थापनाभन्दा पनि नयाँ निर्वाचनमा जानुपर्ने अडान लिए ।
यता, सत्तारूढ दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने तिहारसम्ममा सहमति भइसक्ने दाबी गर्दै आºनो पार्टीसमेत नयाँ निर्वाचनको विपक्षमा नरहेको बताए ।
नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा दसैँ, तिहार, इद, छठलगायत पर्वको अवसरमा सोमबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रम तथा चियापानमा उनीहरूले यस्तो बताएका हुन् । माओवादी अध्यक्ष दाहालले आफूहरू नयाँ निर्वाचनसित नडराएको उल्लेख गर्दै आगामी तिहारमा माओवादीले आयोजना गर्ने चियापानसम्ममा सहमति भइसक्ने दाबी गरे । उनले भने, ‘पुन:स्थापना र नयाँ चुनाव दुवैको सम्भावना अझै छ तर अधिकांश दल नयाँ निर्वाचनको पक्षमा भएकाले माओवादी पनि पछि हट्दैन, माओवादी चुनावबाट डराएको छैन ।’ राजनीतिक दलहरूबीच छलफल चलिरहेको बताउँदै उनले छिट्टै निकास आउने दाबी गरे ।
विपक्षी कांग्रेस, एमाले, नेकपा–माओवादीलगायत दलका नेताहरूले भने तिहारअघिसम्म सहमतिका लागि पर्खने र माओवादी लचिलो भएर नआएमा तिहारपछि सरकार ढाल्नेगरी आन्दोलनमा उत्रने चेतावनी दोहोर्‍याए । कांग्रेस सभापति सुशील कोइरालाले माओवादी लचकतामा सहमति भर पर्ने बताउँदै तिहारपछि आन्दोलनलाई तीव्र पार्ने उद्घोष गरे । आन्दोलन र वार्तालाई सँगसँगै अगाडि बढाउने बताउँदै उनले भने, ‘माओवादीले कहिले के र कहिले के भन्ने प्रवृत्तिले अप्ठेरो परेको छ ।’
कांग्रेस नयाँ निर्वाचनको पक्षमा रहेको र बुधबार बस्ने कांग्रेस केन्द्रीय सदस्यको बैठकले निर्णय गर्ने उनको भनाइ थियो । कोइरालाले राष्ट्रपति संविधानको संरक्षक भएको नाताले राजनीतिक निकासका लागि अघि बढ्न आफूले सुझाव दिएको जानकारी गराए ।
एमाले अध्यक्ष झलनाथ खनालले पनि सहमति नभए आन्दोलनमार्फत वर्तमान सरकार हटाउने चेतावनी दिए । तत्काल वर्तमान सरकार हटाएर राष्ट्रिय सरकार निर्माण गर्नुको विकल्प नरहेको भन्दै उनले सहमति नभएमा कडा आन्दोलन गर्ने चेतावनी दिए ।
‘चियापानले लोकतन्त्रका पक्षमा रहेका दलहरूबीच एकताबद्ध भएर जाने सन्देश दिएको छ, अब सहमति नभए तिहारपछि आन्दोलन उठ्छ,’ उनले भने । एमाले उपाध्यक्ष वामदेव गौतमले सहमतिका लागि प्रधानमन्त्रीले राजीनामा दिएर बाटो नखोले आन्दोलनबाट हटाइछाड्ने बताए ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संवैधानिक संकट अन्तिम अवस्थामा पुगेकाले सबै राजनीतिक दलबीच सहमति गर्नुको विकल्प नभएकामा जोड दिए । सहमतिका लागि वर्तमान सरकार हटाएर अर्को नयाँ राष्ट्रिय सहमतीय सरकार गठन गर्नुपर्ने उनको भनाइ थियो । सहमति नभएमा कांग्रेस, एमालेले गर्ने आन्दोलनमा आºनो समर्थन रहने बताउँदै उनले भने, ‘कांग्रेस, एमालेले सरकारविरुद्ध गर्ने आन्दोलनको पहिलादेखि समर्थन गरेकाले अब पनि दृढ समर्थन रहनेछ ।’
पूर्वसंविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पूर्वप्रधानन्यायाधीशहरूले दिएको सुझावअनुसार पनि बाधा–अड्काउ फुकाउन सकिने बताए । ‘नयाँ विचार आएको छ, संसद् पुन:स्थापना गरेर त्यसमार्फत नयाँ चुनावमा जान सकिन्छ,’ उनले भने ।
कांग्रेस नेताकै दुईथरी कुरा
चियापानमा कांग्रेस सभापति कोइराला संसद् पुन:स्थापनाको विपक्षमा देखिए पनि वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले भने पक्षमा बोलेका थिए । नेता देउवाले चुनावका लागि समेत संसद् पुन:स्थापना हुनुपर्नेमा जोड दिए । ‘चुनाव गराउनका लागि पनि संसद् पुन:स्थापना गर्नुको विकल्प छैन,’ उनले भने । नेता पौडेलले पनि चुनावमा जान देखिएका बाधा, अड्चन हटाउनका लागि समेत पुन:स्थापना गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस केन्द्रीय समिति बैठक बुधबार
मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले बुधबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा संविधानसभा पुन:स्थापना वा नयाँ निर्वाचनमा जाने भन्ने विषयमा आधिकारिक धारणा तय गरिने सभापति सुशील कोइरालाले जानकारी दिए । उनले भने, ‘बुधबार बस्ने केन्द्रीय समिति बैठकबाट नयाँ निर्वाचनमा जान पार्टीको आधिकारिक धारणा बनाउँछौँ ।’
यस्तो रह्यो कांग्रेसको चियापान
- कांग्रेसको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा पार्टीकै वरिष्ठ नेता शेरबहादुर देउवा झन्डै दुई घन्टा ढिला आए । एक बजे कार्यक्रम सुरु भए पनि देउवा पौने दुई बजे मात्र आइपुगेका थिए ।
- चियापनामा आएका पाहुनालाई सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, नेता शेरबहादुर देउवालगायतले स्वागत गरेका थिए । कांग्रेसको सार्वजनिक कार्यक्रममा कमै देखिने नेता योगप्रसाद उपाध्याय तथा पूर्व सभामुख तारानाथ रानाभाट पनि स्वागत गर्ने लाममा थिए ।
- चियापानमा पुगेका माओवादी अध्यक्ष दाहाल र कोइरालाबीच केहीबेर कानेखुसी भएको थियो । कोइरालाले दाहाललाई पुराना एजेन्डा छाडेर नयाँ एजेन्डा ल्याउन भनेका थिए । ‘मैले प्रचण्डलाई संसद् पुन:स्थापनाजस्ता पुराना एजेन्डा छाडेर सहमतिका लागि नयाँ एजेन्डा ल्याउन भनेको छु,’ कोइरालाले पत्रकारसित भने ।
- कांग्रेसले प्रधानमन्त्री बाबुराम भट्टराईलाई निमन्त्रणा पठाइए पनि उनी अनुपस्थित रहे । प्रधानमन्त्री पोखरामा रहेका कारण आउन ढिला भएकाले चियापानमा उपस्थित हुन नसकेको बताइएको छ । यद्यपि, सरकारका केही मन्त्री चियापानमा सरिक भएका थिए ।
- कांग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुकसँगै विभिन्न दलका शीर्ष नेताहरू, कर्मचारी, सुरक्षा निकाय, संवैधानिक निकाय र कूटनीतिक नियोगका प्रतिनिधिसहित व्यापारी, व्यवसायी, कलाकार, पत्रकारलगायतको कार्यक्रममा सहभागिता थियो ।
एमालेको आज
काठमाडौं : नेकपा एमालेले पनि विजयादशमी, दीपावली, इद, छठ तथा नेपाल सम्बत्का अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै छ । पार्टी कार्यालय बल्खुमा मंगलबार दिउँसो गरिने कार्यक्रमको सबै तयारी पूरा भएको एमालेले जनाएको छ ।
दिउँसो १२ बजेदेखि ४ बजेसम्म चियापान कार्यक्रम गरिने केन्द्रीय कार्यालयका सचिव पर्शुमेघी गुरुङले जनाए । विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, कूटनीतिज्ञ, व्यापारी, नागरिक समाजका अगुवा, कलाकार, साहित्यकार, पत्रकारलगायतलाई एमालेले चियापानका लागि निम्तो गरेको छ ।
नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री तथा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले हरेक वर्ष बडादसैँ, तिहार, इद, छठ तथा नेपाल सम्वतका अवसरमा चियापान गर्ने प्रचलन थालेका थिए । एमालेले त्यसलाई हरेक वर्ष निरन्तरता दिँदै आएको छ ।

Sunday, October 28, 2012

मुद्दा फिर्ता गर्न प्राधिकरणको निवेदन

काठमाडौं, १३ कात्तिक । नेपाल विद्युत् प्राधिकरण र कालीगण्डकी जलविद्युत् आयोजनाको सिभिल ठेकेदार कम्पनी इम्प्रिजिलो इटालीबीचको मिलापत्रअनुसार मुद्दा फिर्ता लिन प्राधिकरणले इटालीको अन्तर्राष्ट्रिय अदालतमा निवेदन दिएको छ ।
कम्पनी र प्राधिकरणबीच रहेको भुक्तानी विवाद गत १६ साउनमा मिलापत्रमा टुंगिएपछि इटालीमा रहेको अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको अदालत इन्टरनेसनल चेम्बर अफ कमर्समा रहेको मुद्दा फिर्ता गर्न प्राधिकरणले निवेदन दिएको हो ।
गत २४ असोजमा गएको प्राधिकरणको टोलीले आवश्यक कागजपत्र पूरा गरी मुद्दा फिर्ताका लागि निवेदन दिई प्रक्रिया अघि बढाएको प्राधिकरण कानुन विभागकी निर्देशक गोसार्इं केसीले जानकारी दिइन् ।
मुद्दा फिर्ताका लागि प्राधिकरण सञ्चालक सदस्य विश्वप्रकाश गौतम, प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठ, कानुन विभागका निर्देशक केसी, प्राधिकरण तालिम केन्द्रका प्रमुख गोविन्दराज खरेल र मिलापत्रका लागि नेगोसेसन गरेका प्राधिकरण निर्देशक सुनिल ढुंगेललगायत इटाली गएका थिए । श्रेष्ठ भने अरू सदस्य गएको एक सातापछि गत ३० असोजमा इटाली गएका थिए । ‘ठेकेदार कम्पनी र प्राधिकरणका कानुनी व्यवसायी तथा प्राधिकरणका टिमबीचको छलफलबाट सम्पूर्ण कागजपत्र तयार गरेर कार्यकारी निर्देशक श्रेष्ठको हस्ताक्षरसहित मुद्दा फिर्ताका लागि निवेदन दिएर प्रक्रिया अघि बढाएका छौँ,’ निर्देशक केसीले भनिन्, ‘मिलापत्रको कागज, मन्त्रिपरिषद्को निर्णय, प्राधिकरणको आधिकारिक व्यक्तिको निर्णय, ऊर्जासचिव अध्यक्ष बनाउने व्यवस्थाको निर्णयदेखि धेरै कागजपत्र तयार गर्नुपर्ने रहेछ, आवश्यक कागजपत्रबारे छलफल गर्दै नपुग कागजात मगाउने गरी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा फिर्ताका लागि दिएका छौँ ।’ उनका अनुसार अब त्यहाँको अदालतबाट एकपटक सुनुवाइ भएपछि मुद्दा फिर्ता हुनेछ ।
कम्पनीले आयोजना निर्माणका क्रममा बन्द, हड्तालको कारणले थप रकम लागेको भन्दै त्यसविरुद्ध अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको अदालतमा मुद्दा हालेको थियो । इन्टरनेसनल अदालतले समेत उक्त कम्पनीको पक्षमा निर्णय गर्दै प्राधिकरणले सन् २००७ मा दुई करोड डलर तिर्नुपर्ने फैसला सुनाएको थियो । फैसलाअनुसार रकम नपाएपछि कम्पनीले काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको थियो भने प्राधिकरणले अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको निर्णयविरुद्ध पुनरावेदन गरेको थियो । रकम नपाएपछि दुई करोड डलरको ब्याज र जरिबाना गरी पाँच करोड १० लाख डलर अर्थात् करिब चार अर्ब नेपाली रुपियाँ दाबी गरिएको थियो । मुद्दा चलिरहेका अवस्थामा प्राधिकरण र कम्पनीबीच विभिन्न चरणमा छलफल भई ८५ लाख डलर र कम्पनीले कर तिर्न बाँकी एक अर्ब रुपियाँ गरी करिब पौने दुई अर्ब तिर्ने सहमति भएको थियो । सहमतिपछि प्राधिकरणले पुनरावदेन अदालतमा रहेको मुद्दा फिर्ता गरिसकेको छ भने अन्तर्राष्ट्रिय अदालतमा रहेको मुद्दा फिर्ताका लागि टोली इटाली गइसकेको छ ।
गत साउनमा पाँच वर्षदेखि अन्तर्राष्ट्रिय अदालतमा समेत चल्दै आएको सो मुद्दाको मिलापत्र भएको थियो । मिलापत्रमा ६ महिनाभित्र प्राधिकरणले इम्प्रिजिलोलाई ८५ लाख अमेरिकी डलर तिरसक्ने छ भने कम्पनीले तिर्न बाँकी एक अर्ब रुपियाँ कर पनि प्राधिकरणले तिर्नेछ । मिलापत्र नभएको भए प्राधिकरणले चार अर्ब रुपियाँभन्दा बढी रकम तिर्नुपर्ने थियो तर मिलापत्रले थोरै रकम तिरे हुने निर्णय भएको थियो । ६ महिनाभित्र ८५ लाख डलर नतिरे ३ प्रतिशतका दरले उक्त कम्पनीलाई ब्याज तिर्ने सहमति समेत भएको छ । प्राधिकरणले ६० लाख डलर दिनुपर्नेमा विवादको कारण रोकेपछि प्राधिकरणविरुद्ध कम्पनीले अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा मुद्दा दायर गर्न पुगेको थियो ।

Sunday, October 21, 2012

दसैँको रातमा धेरै लोडसेडिङ


काठमाडौं, ५ कात्तिक । लोडसेडिङका कारणले हिउँद वा वर्षाका रातमा उज्यालो कमै देख्न पाउने उपभोक्ताका लागि नेपाल विद्युत्् प्राधिकरणले दसैँको अवसरमा लोडसेडिङ घटाएका नाममा अँध्यारोमा बस्नुपर्ने उपहार दिएको छ ।
सोही कारण साताको ४८ घन्टाबाट ३० घन्टा घटाएर १८ घन्टामा झारिएको लोडसेडिङमा समेत उपभोक्ताले कमै उज्यालो देख्न पाउने भएका छन् । विजया दशमीको अवसरमा फूलपातीदेखि एक सातासम्म घटाएको लोडसेडिङ अधिकांश दिउँसोकै समयमा छ । पहिलाको तुलनामा समय कम भएपछि हप्ताको पाँच दिन साँझ वा राति लोडसेडिङ तालिका सार्वजनिक गरेपछि घटेको लोडसेडिङबाट उत्साहित भएकासमेत निरुत्साहित हुन थालेका छन् ।
सरकारी तथा उद्योगधन्दामा विदा भएर विद्युत् खपत भएकै कारण उनीहरूले पहिलेको तुलनामा कम अँध्यारो देख्न पाए पनि प्राधिकरणले प्राय: दिउँसोको समयमा लोडसेडिङ नगरी साँझ र राति गरेपछि लोडसेडिङ घटेको उत्साह उपभोक्तामा छैन । ‘दसैँभरि बत्ती नजाने भयो भनेर ढुक्क भएको छ, लोडसेडिङ तालिका हेर्दा त साँझतिर पो बढी छ,’ नयाँ बानेश्वरका उपभोक्ता ज्ञानु शर्माले भने, ‘पहिला लोडसेडिङ घट्यो भन्दा उत्साह थियो तर अहिले उत्साह पनि मरिसक्यो ।’ नेपाल विद्युत् प्राधिकरणले भने साँझ र राति बढी विद्युत् खपत हुने आधारमा त्योबेला बढी लोडसेडिङ गरेको जनाएको छ । प्राधिकरणअनुसार उत्पादित विद्युत्ले दिउँसो मात्र लोडसेडिङ गर्दा साँझ र त्यसपछि बढी खपत हुने कारणले अझ बढी लोडसेडिङ गर्नुपर्ने हुन्छ । पहिला दैनिक साढे ६ घन्टा गर्नुपर्नेमा अहिले साढे दुई घन्टामा झरेको छ ।
लोडसेडिङ कार्यतालिका अनुसार साँझ र रातको समयमा समूह–१ मा शनिबार र आइतबार मात्र लोडसेडिङ हुने छैन भने समूह–२ मा आइतबार र सोमबार, समूह–३ मा सोमबार र मंगलबार, समूह–४ मा मंगलबार र बुधबार, समूह–५ मा बुधबार र बिहीबार, समूह–६ मा बिहीबार र शुक्रबार तथा समूह–७ मा शुक्रबार र शनिबार मात्र लोडसेडिङ हुने छैन । अन्य दिनमा भने हरेक अँध्यारोमा लोडसेडिङको सामना उपभोक्ताले गर्नुपर्नेछ । माग ९६१ मेगावाट भए पनि करिब सात सय मेगावाट मात्र विद्युत् उत्पादन भएर दैनिक साढे ६ घन्टा लोडसेडिङ गरिरहेको प्राधिकरणको दसैँभरिको लागि घटाएको लोडसेडिङ उपभोक्ताले केही राहत त अनुभव गर्लान् तर दसैँपछि फेरि लोडसेडिङको समय बढ्दै जाने अवस्थाले भने उपभोक्तालाई निराश बनाउनेछ । ‘दसैँभरिका लागि अहिलेको कम लोडसेडिङ दसैँ उपहारजस्तै हो, दसैँपछि त उपहारको अवधि थपिन्छ, त्यसपछि त लोडसेडिङ कति घन्टा हुने हो, ठेगान छैन,’ प्राधिकरणका अधिकारीले भने, ‘विद्युत् उत्पादनका लागि सरकार नै संवेदनशील नहुँदा लोडसेडिङ समस्या समाधान कहिले हुन्छ, कसैले भन्न सकेको छैन । आगामी हिउँदमा १९ घन्टासम्म लोडसेडिङ हुनसक्ने प्रक्षेपण प्राधिकरणले गरिसकेको छ ।
त्यो प्रक्षेपणपछि ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी संहालेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशन अनुसार दैनिक १२ घन्टामा लोडसेडिङ झार्ने गरी लोडसेडिङ न्यूनीकरण कार्ययोजना ०६९ निर्माण भइसकेको छ ।
त्रिशूली–३ ‘ए’ स्टोरमा सिल
काठमाडौं : निर्माणाधीन
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा गुणस्तरहीन सिमेन्ट प्रयोग गरेर ठेकेदार कम्पनीले बदमासी गरिरहेको भेटिएपछि जिल्ला प्रशासन कार्यालयले आयोजनाको स्टोरमा सिल गरेको छ ।
चिनियाँ ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) नेपाल विद्युत् प्राधिकरण र रसुवा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको समेत उपस्थितिमा सिमेन्ट सिल गरिएको हो । केही दिनअघि निर्माणाधीन आयोजनाको निर्माणमा कमसल सिमेन्ट प्रयोग गरिएको र स्टोरमा समेत अधिकांश सिमेन्ट कमसल भेटिएको थियो । ती स्टोरमा रहेका सिमेन्ट हेर्दा डल्ला परेर काम नलाग्ने अवस्थामा भेटिएको थियो । देवीघाटमा रहेको स्टोरका १२ सय टन र आयोजनास्थलमा रहेको पाँच सय टन गरी १७ सय टनको करिब ३५ हजार बोरामा रहेका सिमेन्टमध्ये ८० प्रतिशतभन्दा बढी अम्बुजा नामको सिमेन्ट गुणस्तरहीन भेटिएपछि प्रशासनलाई दबाब बढेको थियो । २९ असोजमा गुणस्तरहीन सिमेन्ट प्रयोग गरिरहेको भेटिए पनि प्रशासनले बल्ल ३ कात्तिकमा मात्र सिमेन्ट सिल गरेको हो । सिमेन्ट ल्याइएको ९० दिनभन्दा बढी उपयोग गर्न पाइँदैन तर ६ महिनाभन्दा बढी म्याद गु्रजिसकेको सिमेन्ट प्रयोग गरिरहेको भेटिएपछि चिनियाँ कम्पनीको बदमासी सार्वजनिक भएको थियो । प्राधिकरणको सल्लाहमा गुणस्तरहीन सिमेन्ट सिल गरिएको प्राधिकरण उत्पादन तथा निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डेले जानकारी दिए ।
आयोजना स्रोतका अनुसार सिमेन्टको गुणस्तर ५३ ग्रेड हुनुपर्नेमा २३–३३ प्रतिशत मात्र भेटिएको थियो । त्रिशूली ‘ए’ जलविद्युत् आयोजनाको क्षमता ६० मेगावाटबाट बढाएर ९० मेगावाट छिट्टै बन्ने र त्यसका लागि बढी सिमेन्ट चाहिने हुनाले ठेकेदार कम्पनीले धेरै परिणामा सिमेन्ट ल्याएको र आयोजनाको कामसमेत ढिलाइ गरेको कारणले बढी सिमेन्ट स्टोर भई जम्न पुगेको आयोजना स्रोतले जनाएको छ ।

Friday, October 19, 2012

दुईदिने बिदा अन्योलमा

काठमाडौं, ३ कात्तिक । लोडसेडिङ घटाउन सरकारी कार्यालयमा साताको दुई दिन बिदा गर्ने सरकारी निर्णय अन्योलमा परेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयमाथि प्रक्रियागत प्रश्न उठाएको छ ।
लोडसेडिङ न्यूनीकरण कार्ययोजना ०६९ अन्तर्गत १५ कात्तिकदेखि साताको पाँच दिन मात्र सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो । मन्त्रिपरिषद्बाट पारित र राजपत्रमा समेत प्रकाशित भइसकेको निर्णय कहिलेदेखि लागू हुने/नहुनेबारे अन्योल भएको हो ।
गृह मन्त्रालयले दुई दिन बिदा दिनका लागि निजामती कर्मचारी सेवा नियमावली परिवर्तनलगायत केही प्रक्रिया मिलाउनुपर्ने जनाएको छ । विजयादशमीको अवसरमा बिदा सकिएलगत्तै १५ कात्तिकदेखि उक्त निर्णय लागू  हुनुपर्ने भए पनि अहिलेसम्म निश्चित भएको छैन । गृह मन्त्रालयका प्रवक्ता शंकर कोइरालाले १५ कात्तिकदेखि साताको दुई दिन बिदा गर्नेबारे अन्तिम टुंगो लागिनसकेको बताए । ‘हामी यसबारे छलफलमै छौँ, अन्तिम टुंगो लागिसकेको छैन,’ उनले भने ।
दुई दिनभित्र सरकारले कर्मचारी तथा सर्वसाधारणलाई स्पष्ट जानकारी दिइसक्नुपर्ने भए पनि सरकारी निकायका प्रतिनिधिहरूले समेत दुई दिन बिदा हुन्छ कि हुँदैन भनेर स्पष्ट भन्न सकेका छैनन् । १५ कात्तिकदेखि गर्ने दुईदिने सरकारी कार्यालय बन्दबारे छलफल गर्न बुधबार गृह मन्त्रालयले ऊर्जा मन्त्रालयका प्रतिनिधिलाई बोलाएको थियो तर छलफलले कुनै टुंगो लगाउन सकेन । छलफलमा सहभागी ऊर्जासचिव हरिराम कोइराला र प्रवक्ता अनुप उपाध्यायले मन्त्रिपरिषद्कै निर्णयअनुसार १५ कात्तिकपछि साताको दुई दिन गर्नुपर्ने अडान राखेका थिए । तर, गृह मन्त्रालयका केही अधिकारीले भने केही प्रक्रिया पूरा गर्नुपर्ने भन्दै अस्वीकार गरे ।
लोडसेडिङ घटाउन दुई दिन बिदा दिँदा सर्वसाधारणले सास्ती पाउने धारणासमेत उनीहरूले राखेका थिए । गृहले बिदाबारे पुनर्विचार गर्नुपर्ने भन्दै छलफलका लागि बोलाएपछि प्राधिकरणका प्रतिनिधिले भने छलफलका लागि बोलाउनु नै गलत भएको बताए । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गृह मन्त्रालयका लागि बाध्यकारी भएकाले ऊर्जासचिवलाई छलफलमा नजान सुझावसमेत दिइएको थियो । ‘मन्त्रिपरिषद्बाट निर्णय भइसकेको विषयबारे गृह मन्त्रालयले छलफल गर्नु उपयुक्त नहुने सुझाव दिएका थियौँ, मन्त्रिपरिषद्बाट पारित गर्नुअघि नै प्रक्रिया नमिलेको भए कुरा राख्नुपथ्र्याे, पछि आएर राख्नु गलत हो,’ प्राधिकरणका एक उच्च कर्मचारीले भने ।
साताको दुई दिन सरकारी कार्यालय बन्द हुँदा करिब एक सय मेगावाट विद्युत् बचत हुन्छ । आगामी हिउँदमा १९ घन्टासम्म लोडसेडिङ हुन सक्ने प्राधिकरणले प्रक्षेपण गरेपछि ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १२ घन्टामा लोडसेडिङ झार्ने गरी कार्ययोजना बनाउन ऊर्जालाई निर्देशन दिएका थिए । निर्देशनअनुसार ऊर्जाले बनाएको कार्ययोजनामा लोडसेडिङ घटाउन साताको दुई दिन सरकारी कार्यालय बन्द गरेर विद्युत् खपत कम गराउने योजना अघि सारेको थियो ।
१२ घन्टा लोडसेडिङ घटाउन ऊर्जाले बनाएको कार्ययोजना मन्त्रिपरिषद्बाट पारित भएर त्यसअनुसार प्राधिकरण र ऊर्जा मन्त्रालयले कार्यान्वयन अघि बढाएको छ । ऊर्जासचिव कोइरालाले मन्त्रिपरिषद्को निर्णयअनुसार १५ कात्तिकेपछि साताको दुई दिन बिदा हुनुपर्ने निर्णय भइसके पनि गृह मन्त्रालयले केही प्रक्रियाबारे प्रश्न उठाएको स्विकारे । ‘मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुनुपर्ने हो तर गृह र प्रशासनले केही कुरा उठाएको छ,’ उनले भने, ‘कार्ययोजनामा कति बजेदेखि कति बजेसम्म गर्ने जस्ता कुरा उल्लेख नभएकाले पनि त्यसका लागि थप प्रक्रिया पुर्‍याउनुपर्ने भएको हो, लागू हुन्छ कि हुन्न अहिले नै भन्न नसक्ने अवस्था आयो ।’ ऊर्जा मन्त्रालयका प्रवक्ता उपाध्यायले पनि दुईदिने सरकारी बिदाको निर्णय गृह मन्त्रालयमा निर्भर रहेको बताए । कार्ययोजनामा कति बजेदेखि कति बजेसम्म कार्यालय सञ्चालन गर्नेबारे स्पष्ट नभए पनि ऊर्जा मन्त्रालयले कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म गर्ने तय गरिसकेको छ ।

Wednesday, October 17, 2012

सुरु भएन प्राधिकरणको ग्राहक सुविधा योजना

काठमाडौं, १ कात्तिक । साउनदेखि नै नेपाल विद्युत् प्राधिकरणले आफ्ना ग्राहकका लागि सुरु गर्ने भनिएको विशेष सुविधा योजना असोज अन्तिम साता भइसक्दा पनि दुई केन्द्रमा सुरु हुनसकेको छैन ।
तोकिएकै वितरण केन्द्रमा महसुल तिर्न जानुपर्ने, ग्राहकले झन्झट बेहोर्नुपर्नेजस्ता अवस्था रहेकोमा प्राधिकरणले एनी ब्रान्च पेमेन्ट सिस्टम (एबिपिएस) प्रविधि लागू गरी चार वितरण केन्द्रमा विद्युत्का ग्राहकलाई विशेष सुविधा दिने योजना थियो । तर, बानेश्वर, रत्नपार्क, पुल्चोक र लगनखेल वितरण केन्द्रमा सुरु गर्ने भनेकोमा पुल्चोक र लगनखेल वितरण केन्द्रमा अझै सुरु भएको छैन । दुई केन्द्रमा सुरु गरिएको र दुई केन्द्रमा छिट्टै सुरु गर्ने प्रक्रियामा प्राधिकरण रहेको प्राधिकरण काठमाडौं क्षेत्रीय कार्यालयका निर्देशक जुजुभाइ रञ्जितले बताए ।
प्राधिकरण स्रोतले भने प्राधिकरण सूचना प्रविधि शाखाको बेवास्ता र समयमै सफ्टवेयर बनाउन नसकेका कारणले सुरु गर्नुपर्ने समयको तीन महिना बितिसक्दा पनि एबिपिएस प्रविधिमार्फत दिइने ग्राहक सुविधा सुरु हुन नसकेको बताए । ‘प्राधिकरण सूचना प्रविधि शाखाको निष्क्रियता नै यसको कारण हो, पहिला चारवटै केन्द्रबाट एकैपटक सुरु गर्ने योजना थियो तर अहिले सुरु गर्न सकिएन,’ उनले भने । प्राधिकरणले भने लगनखेल र पुल्चोकको नेटवर्किङ गर्ने कार्य सकेर परीक्षण भइरहेकाले छिट्टै सुरु हुने जनाएको छ । ‘अहिले परीक्षण भइरहेको छ, दसैँपछाडि नै लगनखेल र पुल्चोकमा पनि सुरु हुन्छ,’ प्राधिकरण एबिपिएस आयोजनाका इन्जिनियर विजय श्रेष्ठले भने ।
प्राधिकरणले चार केन्द्रमा आयोजना लागू गरेपछि कुलेश्वर, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, भक्तपुर, ठिमीलगायत क्षेत्रमा समेत सो प्रविधिमार्फत ग्राहकलाई सेवा दिने लक्ष्य प्राधिकरणको छ । तत्काल काठमाडौं उपत्यकाभित्र र पछि देशका अन्य क्षेत्रमा समेत सेवाविस्तार गर्ने लक्ष्य राखिएको निर्देशक रञ्जितले बताए । प्राधिकरणका अनुसार रत्नपार्क र बानेश्वर केन्द्रअन्तर्गतका ग्राहकले जुन केन्द्रबाट पनि आफ्नो बिल तिर्नसक्ने भएका छन् ।
साउनदेखि नै रत्नपार्क र बानेश्वरमा सुरु गरिएको सो ग्राहक योजनाअन्तर्गत दुई केन्द्रका ग्राहकले अन्य केन्द्रमा पुगेर बिल तिर्ने क्रम बढे पनि अझै पूर्ण प्रभावकारी बन्न सकेको छैन । एबिपिएस प्रविधिमार्फत ग्राहकलाई दिइएको सुविधाबारे सर्वसाधारण ग्राहकलाई जानकारी दिन नसक्दा र प्राधिकरणले यसबारे चासो नदिँदा प्रभावकारी बन्न नसकेको हो । प्राधिकरणका अनुसार साउनमा ३६ जना, भदौमा एक सय १० जना र असोजको सोमबारसम्म एक सय २६ जनाले एबिपिए सुविधा उपयोग गरेका छन् । साउनमा बानेश्वर केन्द्रअन्तर्गतका ग्राहकले २८ जनाले रत्नपार्कमा र रत्नपार्कका ८ जना ग्राहकले बानेश्वरबाट बिल तिरेका छन् भने भदौमा बानेश्वरका एक सय तीन र रत्नपार्कका ६ तथा असोजमा बानेश्वरका एक सय ११ र रत्नपार्कका १५ जना ग्राहकले अर्को केन्द्रमा पुगेर बिल गरेका छन् । ग्राहकलाई यसबारे थाहा नहुँदा उनीहरूले उक्त सुविधा प्रयोग गर्न नसकेका हुन् तर ग्राहकबीचको प्रचारप्रसारका कारणले संख्या भने बढ्दै गएको छ । कम्प्युटराइज प्रविधिमार्फत सुविधा दिन सुरु भएपछि ग्राहकलाई बढी सुविधा हुने, ग्राहकबाट बढी महसुल संकलन हुने र व्यवस्थापनलाई पनि दैनिक कति संकलन भयो, कति ग्राहक बढे आदिबारे तुरुन्तै थाहा पाउन सकिन्छ । एबिपिएस सुरु हुनुअघि विद्युत् महसुल तिर्नका लागि सम्बन्धित केन्द्रमै पुग्नुपर्ने, लामो लाइन र धेरै समय लगाउनुपर्ने बाध्यता थियो ।
नमुना रूपमा सञ्चालन भएको सो सेवा सफल भएपछि जेठदेखि नै उक्त प्रविधि सञ्चालनमा ल्याउने तयारी प्राधिकरणको छ । काठमाडौंभित्रका चार वितरण केन्द्रका ग्राहकले प्रविधि लागू भएपछि जुनसुकै शाखा र संकलन केन्द्रबाट पनि आफ्नो विद्युत् महसुल तिर्ने सक्नेछन् । नमुना रूपमा सुरु गरिएको कार्यक्रम दुई केन्द्रमा सुरु गर्नै ढिलाइ भएपछि अन्य क्षेत्रमा कहिले सुरु हुने भन्ने अन्योल बढेको छ ।
मुलुकभर रहेका एक सय ४० भन्दा बढी प्राधिकरण शाखा र संकलन केन्द्रमध्ये ६४ वटामा मात्र कम्प्युटरमार्फत बिलिङ प्रविधि लागू गरिएको छ । डिबेट, ओराकललगायत सफ्टवेयरमार्फत सेवा दिँदै आएको प्राधिकरणले अब एबिपिएस सफ्वेयर विकास गरी यही प्रविधिमार्फत सेवा दिन सुरु गरेको हो । श्रेष्ठका अनुसार एबिपिएस सफ्टवेयर निर्माण भइसकेको कारणले अन्य क्षेत्रमा समेत नेटवर्किङ गरेर मात्र सेवा विस्तार गर्न सकिन्छ । बेलाबेलामा एबिपिएसमा समस्या आउने गरेको छ ।

Tuesday, October 16, 2012

गुणस्तरहीन सिमेन्ट प्रयोग

काठमाडौं, ३० असोज । निर्माणाधीन ‘त्रिशूली–३ ए’ जलविद्युत् आयोजनामा गुणस्तरहीन सिमेन्ट प्रयोग गरेर ठेकेदार कम्पनीले बदमासी गरिरहेको भेटिएको छ । बदमासी सार्वजनिक भएपछि आयोजनाको निर्माण कार्यसमेत रोकिएको छ ।
आयोजनामा सिभिल र इलेक्ट्रोमेकानिकलको काम गरिरहेको चाइना गेजुवा ग्रुप अफ कम्पनीले गुणस्तरहीन सिमेन्टको प्रयोग गरेर जलविद्युत् आयोजना निर्माण गरिरहेको भेटिएको हो । सोमबार कर्मचारी संगठनका प्रतिनिधि, आयोजनाका कर्मचारी, सञ्चारकर्मीलगायत सिमेन्ट स्टोर गरिएको देवीघाट जलविद्युत् आयोजनाको स्टोर र आयोजनास्थलनजिक स्टोर गरिरहेको सिमेन्टमा पुग्दा उक्त बदमासी पत्ता लागेको हो । ती स्टोरमा रहेको सिमेन्ट हेर्दा डल्ला परेर काम नलाग्ने अवस्थामा भेटिएको थियो । ‘देवीघाटमा रहेको स्टोरका १२ सय टन र आयोजनास्थलमा रहेको पाँच सय टन गरी १७ सय टन बराबर करिब ३५ हजार बोरामा रहेको सिमेन्टमध्ये ८० प्रतिशतभन्दा बढी अम्बुजा नामको सिमेन्ट गुणस्तरहीन भेटिएको छ,’ राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष सीताराम थापाले भने, ‘सिमेन्ट ल्याइएको ९० दिनभन्दा बढी उपयोग गर्न पाइँदैन तर ६ महिनाभन्दा बढी म्याद गु्रजिसके पनि त्यो सिमेन्ट प्रयोग गरिरहेको भेटिएको छ ।’ १७ सय मेट्रिकटन सिमेन्टको करिब तीन करोड रुपियाँ पर्छ ।
गत शुक्रबार मात्र ठेकेदार कम्पनीले गुणस्तरहीन सिमेन्ट प्रयोग गरिरहेको पत्ता लागेको थियो । त्यसपछि आयोजना व्यवस्थापनले त्यो सिमेन्ट प्रयोग नगर्न भनेपछि ठेकेदार कम्पनीले आफ्नो ल्याब रहेको र तीन दिनभित्र ल्याब टेस्ट गरेर उपयुक्त देखिए मात्र प्रयोग गर्ने बताएको थियो ।
आयोजनाका उत्तम अमात्यले भने राम्रो सिमेन्ट टेस्टका लागि पठाएको निरीक्षणमा पुगेका सञ्चारकर्मीमाझ बताएका थिए । ठेकेदार कम्पनीले मंगलबारसम्म टेस्टको परिणाम आएपछि मात्र प्रयोग गर्ने बताएको छ । आयोजना प्रमुख ऋषिकेश शर्माले म्याद गुज्रेको सिमेन्ट प्रयोग गर्न नदिएको र नयाँ सिमेन्ट मात्र प्रयोग गर्न ठेकेदार कम्पनीलाई भनेको जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणले समेत १७ सय मेट्रिकटन सिमेन्टमा गुणस्तरको समस्या देखिएको बताउँदै गुणस्तरहीन सिमेन्ट प्रयोगमा रोक लगाइएको र नयाँ सिमेन्ट प्रयोग गर्न भनिएको प्राधिकरण उत्पादन तथा निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डेले जानकारी दिए । ‘सिमेन्ट जमेको भेटिएपछि हामीले त्यो सिमेन्ट प्रयोग नगर्न भनिसकेका छौँ, त्यो सिमेन्टको सट्टामा नयाँ सिमेन्ट प्रयोग गर्नुपर्छ,’ उनले भने । उनले ठेकेदार कम्पनीले राम्रो सिमेन्टमा जमेको र गुणस्तरहीनसमेत मिसाएर प्रयोग गर्नसक्ने भएकाले त्यो ठेकेदार कम्पनीको स्टोरमा सिल गर्न भनिएको बताए पनि अहिलेसम्म ठेकेदार कम्पनीको स्टोरमा सिल गरिएको छैन ।
रसुवा र नुवाकोट जिल्लाको संगमस्थलमा बनिरहेको आयोजनामा चाहिने सिमेन्ट स्टोर गरिरहेको ठाउँमा ती जिल्लाका प्रमुख जिल्ला अधिकारीले सिल गर्नुपर्ने हुन्छ तर सार्वजनिक भए पनि अझै सिल गरिएको छैन ।
आयोजना स्रोतका अनुसार सिमेन्टको गुणस्तर ५३ ग्रेड हुनुपर्नेमा २३–३३ प्रतिशत मात्र भेटिएको छ । ‘स्टोरमा तुरुन्तै सिल गरेर उपयोग गर्न दिनुहुँदैन, सबै सिमेन्ट सिज गर्नुपर्छ’ थापाले भने, ‘गुणस्तरहीन सिमेन्ट प्रयोग गर्दा आयोजनाको पूर्वाधार कमजोर हुने हुनाले त्यसतर्फ सचेत हुनुपर्छ तर प्राधिकरण व्यवस्थापनले गुणस्तरहीन सिमेन्ट प्रयोग गर्न दिएर मिलेमतो भएको देखाएको छ ।’ कर्मचारी संगठनका अध्यक्षले सिमेन्ट म्याद गुज्रेको बताए पनि महाप्रबन्धक पाण्डेले भने म्याद गुज्रेको नभई ठेकेदारको कमजोर स्टोरका कारणले सिमेन्ट जमेको बताए ।
गुणस्तरहीन सिमेन्ट प्रयोग गरिरहेको भेटिएपछि सोमबारदेखि नै आयोजनाको निर्माण कार्यसमेत रोकिएको छ । स्रोतका अनुसार ठेकेदार कम्पनीले नयाँ सिमेन्ट नल्याएका कारण आयोजनाको निर्माण नै रोकिएको हो । आयोजना प्रमुख शर्मा भने सिमेन्टबाट हुने कार्य मात्र रोकिएको बताउँछन् । ‘सबै काम रोकिएको छैन, सिमेन्टबाट हुने काम मात्र रोकिएको हो’ उनले भने । तर, स्रोतका अनुसार सिमेन्टविना आयोजनाको कुनै पनि काम अघि बढ्न सक्दैन ।
त्रिशूली ‘ए’ जलविद्युत् आयोजनाको क्षमता ६० मेगावाटबाट बढाएर ९० मेगावाट छिट्टै बन्ने र त्यसका लागि बढी सिमेन्ट चाहिने हुनाले ठेकेदार कम्पनीले धेरै परिणाममा सिमेन्ट ल्याएको र आयोजनाको कामसमेत ढिलाइ गरेका कारण बढी सिमेन्ट स्टोर भई जम्न पुगेको आयोजना स्रोतले जनाएको छ । आयोजना निर्माणकार्य बल्ल करिब २० प्रतिशत मात्र पूरा भएको छ ।

Sunday, October 14, 2012

चिनियाँ प्राविधिक टोली सुदूरपश्चिममा

काठमाडौं, २९ असोज । पश्चिम सेती जलाशयुक्त आयोजना निर्माणका लागि हस्ताक्षर गरेको चीनको सिडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसनको प्राविधिक टोली सुदूरपश्चिमको डडेल्धुरा पुगेको छ ।
शुक्रबार आएको चिनियाँ टोली आइतबार आयोजनाको थप सम्भाव्यता अध्ययन अघि बढाउन आइतबार डडेल्धुरा पुगेको हो । लगानी बोर्डका अनुसार चिनियाँ कम्पनीका लिऊसहित नौजना र लगानी बोर्डका उपसचिव कृष्णप्रसाद आचार्यसहित तीनजना गरी १२ जनाको टोली डडेल्धुरा पुगेको हो । बोर्डका अनुसार टोलीले चार दिनसम्म आयोजनास्थल डडेल्धुरा र डोटीको निरीक्षण गर्नुका साथै भूगोल, बाँधलगायत अवस्थाको अध्ययन गर्नेछ ।
गत भदौमा पश्चिम सेती निर्माणका लागि हस्ताक्षर गरेको चिनियाँ कम्पनीले पुन: लगानी बोर्डमार्फत अघि बढाउन सम्झौता (एमओयु) गरेको थियो । १७ माघ २०६८ मा चिनियाँ कम्पनीसँगै सम्झौता भएको थियो ।
पहिला २२ हजार चार सय मेगावाटको जलविद्युत् आयोजना बनाइसकेको थ्री गर्जेज पावर कर्पोरेसनसँग (सिटिजी) को भगिनी संस्था चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सिटिजिआई) सँग समझदारी गरेको सम्झौता प्रक्रियाबारे विवाद भएपछि पुन: त्यही सिटिजीको विदेशमा लगानी गर्ने संस्था सिडब्लुईसँग परिमार्जित सम्झौता भएको थियो । सात सय ५० मेगावाटको सो आयोजना नेपालकै सबैभन्दा ठूलो जलाशययुक्त तथा चीनले लगानी गरेको पहिलो आयोजना हो ।
करिब दुई वर्षभित्र थप अध्ययन सकाएर निर्माण सुरु गर्ने लक्ष्य राखिएको सो आयोजनाबारे प्राविधिक अध्ययन अघि बढाउनका लागि टोली आएको हो । टोलीले अध्ययन गरेपछि त्यसको आधारमा चिनियाँ कम्पनीले थप अध्ययन गर्नेछ । अस्ट्रेलियाको स्नोइ माउन्टेन्स इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (स्मेक)ले १६ वर्षसम्म लाइसेन्स ओगटेपछि गत वर्ष रद्द भएपछि सरकारले गर्जेजसँग आयोजना अघि बढाउन प्रक्रिया अघि बढाएको थियो । गत फागुनमा चाइना कम्पनीसँग भएको समझदारी त्रुटिपूर्ण भएको भन्दै तत्कालीन संसद्को समितिले छानबिन गरेर आयोजनाको काम अघि नबढाउनका लागि निर्देशन दिएपछि पश्चिम सेती आयोजना अघि बढ्न सकेको थिएन । चिनियाँ कम्पनीले आयोजना निर्माणका लागि थप दुई वर्ष समय मागे पनि लगानी बोर्डले भने सन् २०२० भित्रै बनाउने लक्ष्य राखेको छ । सरकारले हालै सार्वजनिक गरेको लोडसेडिङ न्यूनीकरण आयोजनामा समेत आठ वर्षभित्र अर्थात् सन् २०२० भित्रै बनाइसक्ने लक्ष्य छ ।
ट्रान्सफर्मरका दोषीलाई कारबाही नगरे आन्दोलन
काठमाडौं : नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघले ट्रान्सफर्मर प्रकरणमा दोषी देखिएका व्यक्ति र संस्थालाई कारबाही गर्न माग गरेको छ । आइतबार राजधानीमा संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संघका पदाधिकारीले उक्त माग गरेका हुन् । प्राधिकरण सुदृढ र सक्षम बनाउनका लागि प्राधिकरणभित्रका विकृति तथा विसंगति हटाउनुपर्ने भन्दै उनीहरूले स्वतन्त्र रूपमा छानबिन गरेर कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।
त्रिवेणी स्प्रिङ मिल्सको विद्युत् चोरी काण्ड र ट्रान्सफर्मर प्रकरणमा संघले बढी आवाज उठाएको भन्दै उनीहरूले प्राधिकरणको हकहितका लागि समेत दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए । संघका अध्यक्ष जनार्दन भट्टराई, वरिष्ठ उपाध्यक्ष इन्द्र न्यौपाने, महासचिव शंकर बार्राकोटीलगायतले ट्रान्सफर्मरका कारणले प्राधिकरणले करोडौँ रुपियाँ घाटा बेहोरिरहेको, चुहावट बढेको तथा भविष्यमा समेत नोक्सानी हुने भएकाले दोषीमाथि कारबाहीको माग गरे । यसैगरी, प्राधिकरण स्रोतका अनुसार ट्रान्सफर्मर प्रकरणमा मुछिएका २३ कर्मचारीले प्राधिकरणले मागेबमोजिम स्पष्टीकरण दिएका छन् । ट्रान्सफर्मर गुणस्तरहीन प्रकरणमा मुछिएकाबारे छानबिन गर्न सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनअनुसार जिन्सी तथा भुक्तानी शाखाका ६ र निरीक्षणमा गएका १७ जनासँग स्पष्टीकरण लिएको थियो ।
गत २५ चैतमा प्राधिकरण सञ्चालक सदस्य डा. केपी दुलालको संयोजकत्वमा ट्रान्सफर्मरबारे छानबिन गर्न बनेको समितिले २०६४ सालपछि ल्याइएका ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो । यसअघि २०६६ सालमा पूर्वसञ्चालक मुकेश काफ्लेको संयोजकत्वमा रहेको समितिले समेत ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो । तर, त्यो प्रतिवेदन कार्यान्वयन भएन । पछि प्राधिकरणका अर्का सञ्चालक मोहनराज पन्तको संयोजकत्वमा रहेको समितिले ३३ जनालाई दोषी देखाएको थियो । (सौस)

समुदायमार्फत साढे दुई लाख घरधुरीमा विद्युत्

काठमाडौं, २८ असोज । सामुदायिक विद्युतीकरण कार्यक्रममार्फत साढे दुई लाख घरधुरीमा विद्युत् पुगेको छ ।
०६० सालमा सरकारले सामुदायिक विद्युतीकरण कार्यक्रम सुरु गरेपछि ४७ जिल्लामा १ सय ६५ सामुदायिक विद्युतीकरणका आयोजना निर्माण सम्पन्न भई २ लाख ३९ हजार घरधुरी लाभान्वित भइसकेको सामुदायिक विद्युतीकरण उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष डिल्ली घिमिरेले जानकारी दिए । ‘दुई लाख ३९ हजार घरधुरीमा कार्यक्रम सञ्चालन भएर करिब १३ लाख जनसंख्या लाभान्वित भएका छन्,’ घिमिरेले भने, ‘अहिले १ लाख ७ हजार घरधुरीलाई विद्युत् सेवा पुर्‍याउने उद्देश्यसहित ६१ सामुदायिक विद्युतीकरण आयोजना सञ्चालन भइरहेका छन् ।’
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ग्रिडसँग जोड्ने लक्ष्यसहित सुरु भएको सामुदायिक विद्युतीकरण कार्यक्रम अहिले ग्रामीण क्षेत्रमा प्रभावकारी देखिएको छ । सरकारी निकायको आशामा विद्युत्का लागि कुर्दा वर्षौं लाग्ने भएपछि समुदायकै सक्रियतामा विद्युतीकरण कार्यक्रम अघि बढाउने उद्देश्यसहित कार्यक्रम सुरु भएको थियो । महासंघका अनुसार करिब ८० करोडभन्दा बढी सामुदायिक विद्युतीकरणका लागि खर्च भइसकेको छ । ‘सामुदायिक विद्युतीकरण कार्यक्रम सबैभन्दा प्रभावकारी देखिएको छ, सर्वसाधारणले छिटो–छरितो सेवा मात्र पाएका छैनन्, विद्युत् चुहावट कम र यसमार्फत ज्ञान र सीपको विकास भई स्थानीयस्तरको विकासमा पनि सहयोग पुगेको छ,’ अध्यक्ष घिमिरेले भने । अहिले २ सय २६ विद्युत् सहकारी गठन भई उनीहरूले सामूहिक रूपमा कार्यसमेत अघि बढाएका छन् । प्राधिकरणलाई विद्युत् महसुलमार्फत ६० करोड प्राधिकरणलाई बुझाउने गरेका छन् भने ७ करोडभन्दा बढी कारोबारसमेत गरिरहेका छन् ।
०६० सालदेखि प्राधिकरणमा छुट्टै सामुदायिक विद्युतीकरण शाखा गठन गरी सामुदायिक विद्युतीकरण कार्यक्रम अघि बढाएको थियो । तर, दुई वर्षअघि सो शाखा खारेज गरिएको छ । खारेज गरिएपछि अहिले सामुदायिक विद्युतीकरण कार्यक्रमको प्राधिकरण ग्राहक तथा वितरण पूर्व र पश्चिमले हेरिरहेका छन् । सुरुमा ५०/५० प्रतिशतको साझेदारीमा विद्युतीकरण अघि बढाएको सरकारले ८० प्रतिशत सरकार र २० प्रतिशत समुदाय हुँदै अहिले भने १० प्रतिशत मात्र समुदायको लगानी हुनेगरी सामुदायिक विद्युतीकरण अघि बढाएको छ । सरकारले नीतिमा सामुदायिक विद्युतीकरणलाई जोड दिए पनि प्राधिकरणको असहयोगले धेरै समस्या आएको गुनासो यसमा संलग्नहरूको छ । ‘दुई वर्षअघि नै बन्नुपर्ने काभ्रेको मंगलटारको सामुदायिक विद्युतीकरण आयोजना प्राधिकरणले पोल समयमै उपलब्ध नगराउँदा बल्ल अहिले सुरु भएको छ, समयमै गरिदिएको भए गाउँमा बिजुली बलिसक्थ्यो,’ भुमेचुली मंगलटार विद्युत् सहकारी संस्थाका अध्यक्ष इन्द्रकुमार श्रेष्ठले भने ।
महासंघका अध्यक्ष घिमिरे पनि प्राधिकरणले सामुदायिक विद्युतीकरणका लागि आधारभूत सहयोग र समन्वय नगरेको, निर्माणमा चासो नदिएको, गुणस्तरबारे चासो नदिएको, बेलामा अनुगमन गर्ने नगरेकोलगायत विभिन्न बेवास्ता गर्ने गरेको बताउँछन् । ‘नेपालको सामुदायिक विद्युतीकरण विश्वकै मोडेल बनेको छ तर प्राधिकरणको असहयोगले समस्या छ,’ उनले भने । प्राधिकरणका प्रतिनिधि भने प्राधिकरणले सामुदायिक विद्युतीकरणलाई विशेष जोड दिइएको तर सरकारको टेन्डर प्रक्रियाअनुसार काम अघि बढाउन केही समस्या रहेको बताउँछन् । ‘टेन्डर प्रक्रियामा केही ढिलासुस्ती हुन्छ, यो कानुन र नियमानुसार भएको हो,’ प्राधिकरणका महाप्रबन्धक उपेन्द्रदेव भट्टले भने, ‘विद्यमान ऐन, कानुनका कारण पनि कतिपय समस्या छन्, टेन्डर प्रक्रियामा ढिलासुस्ती हुन्छ,’
उनले भने ।
टेन्डर गरेपछि अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतमा पर्ने उजुरी र त्यसले निर्णय दिनका लागि गर्ने ढिलाइका कारण पनि कतिपय समस्या हुने गरेका छन् । ‘ठेकेदार कम्पनीले आफूले नपाएपछि मुद्दा हालिदिन्छन्, त्यसले समय लम्बिन्छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘ठूला हाकिमसाबले आर्थिक चलखेल गर्न नपाउने कारणले पनि केही ढिलाइ भने भएको छ, यो समस्या पनि छ तर मुद्दा–मामिलाका समस्या पनि छन् ।’

Friday, October 12, 2012

३० मेगावाट विद्युत् उत्पादन सम्झौता

काठमाडौं, २६  असोज । सोलारबाट ३० मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्यसहित नेपाल विद्युत प्राधिकरण र चीनको एक कम्पनीबीच सम्झौता भएको छ ।
सोलार पावर स्टेशन निर्माण गर्ने उद्देश्यले प्राधिकरण र चीनको हुनान सोलार ईनर्जी टेक्नोलोजी लिमिटेडबीच सम्झौता भएको हो । उर्जा मन्त्रालयमा बिहीबार भएको सम्झौतामा प्राधिकरणको तर्फबाट कायममुकाम निर्देशक महेन्द्रलाल श्रेष्ठ र कम्पनीको तर्फबाट ज्याओ मिङले हस्ताक्षर गरेका हुन । सोलारबाट ३० मेगावाट विद्युत उत्पादन गर्ने गरी नेपालमा बनाउन लागिएको यो सबैभन्दा ठूलो आयोजना हो ।
सम्झौता अनुसार, चीनीयाँ कम्पनीले चार महिनाभित्र सोलार आयोजनाको सम्भाव्यता अध्ययनपछि आयोजना अघि बढाउनेछ । ‘सम्भाव्यता अध्ययनसहित ३० महिनाभित्र सोलार आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ ।’–उर्जा मन्त्रालयका प्रवक्ता अनुप उपाध्यायले भने, ‘आयोजना कहा बनाउने, त्यसको बजेट कति हुने भन्ने सम्भाव्यता अध्ययनपछि मात्र थाहा हुन्छ ।’ अध्ययनपछि सोलार आयोजना बनाउन उपयुक्र्त देखिएमा र विद्युत उत्पादन भएमा प्राधिकरणले विद्युत खरिद सम्झौता (पीपीए) गरी विद्युत खरिद गर्नेछ । अध्ययन र पावर स्टेशन निर्माणका लागि प्राविधकरणले चिनियाँ कम्पनीलाई सहयोग गर्ने र अध्ययनपछि लगानी लगायतमा विषयमा छलफल अघि बढाइने छ । अहिले प्रारम्भिक रुपमा ९२ प्रतिशत चीनीयाँ कम्पनी र ८ प्रतिशत लगानी प्राधिकरणले गर्ने बताइएको छ ।
चीनीयाँ कम्पनी युईर सोलार टेक्नोलोजीले सौर्य उर्जा उत्पादनका प्रस्ताव गरेपछि प्राधिकरणले प्रकृया अघि बढाएको थियो । प्राधिकरण र चीनीयाँ कम्पनीका प्रतिनीधिबीचको छलफलपछि सम्झौता भएको हो । प्राधिकरणका अनुसार, प्राधिकरणको सहकार्यमा चीनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गरेर सोलारबाट विजुली निकाल्ने र उपयुक्र्त मूल्यमा सोलारको विद्युत खरिद गर्ने गरी सम्झौता भएको छ । प्राधिकरणले सम्झौता प्रारम्भिक भएको र यसबारे थप छलफल गरी आयोजना बढाइने जनाएको छ ।
लोडसेडिङको समस्या चर्किरहेको बेला सोलारबाट उर्जा उत्पादन गर्ने आयोजना अघि बढेको हो । पहिला सरकारी निकायको वेवास्ताको कारणले सोलार प्राधिकरणको केन्द्रीय ग्रीडसँग जोड्ने गरी आयोजना अघि बढ्न सकेको थिएन । तर पहिलोपटक गत असोजमा प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी व्यवस्थान बोर्डद्धारा सुन्दरीघाट क्षेत्रमा निर्मित सौर्य उर्जा प्रणाली आयोजनाबीच विद्युत खरिद सम्झौता (पीपीए) भई केन्द्रीय ग्रीडसँग जोडिएको थियो । ६ सय ८० दशमलब ४ किलोवाटको सो सौर्यबाट बर्षेनी उत्पादन हुने ८ लाख ३० हजार युनिट उर्जामध्ये प्राधिकरणले करिब ६ लाख युनिट किन्ने गरी पीपीए सम्झौता भएपछि सोलार आयोजना अघि बढाउन बाटो खुलेको थियो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले स्वच्छ उर्जाको रुपमा लिइने सोलार (सौर्य) प्रविधिबाट नेपालमा २१ सय मेगावाट विद्युत उत्पादनको सम्भावना देखाएको छ । सरकारले विशेष अभियान सञ्चालन गरेमा अहिले नेपालीले उपयोग गरिरहेको जलविद्युत बराबर उपयोग गर्दा ६० लाख घरधुरीमा सोलार जडान गर्न सक्ने अवस्था देखाएपनि अहिले भने करिब चार लाख घरधुरीमा सोलार जडान गरिएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन क्षेत्रमा क्रियाशील संघसंस्थाले भने सोलारको अपार सम्भावना भएरपनि सरकारले खासै चासो नदिएको  गुनासो गरेका छन् । उनीहरुले काठमाडौका घरघरमा सोलार राखेर प्राधिकरणलाई सर्वसाधारणले बेच्ने वातावरण बनाएर लोडसेडिङ घटाउनका लागि सरकार सकृय हुनुपर्ने उनीहरुको तर्क छ ।

Thursday, October 11, 2012

प्राधिकरणको अन्तर्राष्ट्रिय मुद्दा फिर्ता हुंदै

काठमाडौं, २५ असोज । नेपाल विद्युत् प्राधिकरण र कालीगण्डकी जलविद्युत् आयोजनाको सिभिल ठेकेदार कम्पनी इम्प्रिजिलो इटालीबीच मिलापत्रपछि प्राधिकरणविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा रहेको मुद्दा फिर्ता हुने भएको छ ।
एक साताभित्र सो मुद्दा फिर्ता हुने भएको हो । मुद्दा फिर्ताका लागि प्राधिकरणको टोली बुधबार इटालीतर्फ गएको छ । इम्प्रिजिलो र प्राधिकरणबीच रहेको भुक्तानी विवाद गत १६ साउनमा मिलापत्रमा टुंगिएपछि इटालीमा रहेको अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको अदालत इन्टरनेसनल चेम्बर अफ कमर्समा रहेको मुद्दा फिर्ता गर्न टोली गएको हो ।
टोलीमा सञ्चालक सदस्य विश्वप्रकाश गौतम, कानुन विभागका निर्देशक गोसाईं केसी, प्राधिकरण तालिम केन्द्रका प्रमुख गोविन्दराज खरेल र मिलापत्रका लागि नेगोसेसन गरेका प्राधिकरण निर्देशक सुनील ढुंगेल छन् । प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठसमेत कम्पनीसँग छलफल गरी मुद्दा फिर्ताका लागि आगामी शनिबार इटाली जाने कार्यक्रम रहेको छ । प्राधिकरणका अनुसार टोलीले कम्पनीका प्रतिनिधिसँग छलफल, पहिला भएको मिलापत्र अनुसार दाबी रकम तिर्ने प्रतिबद्धतासहित अदालतबाट मुद्दा फिर्ता लिने कार्यक्रम छ ।
कम्पनीले आयोजना निर्माणको क्रममा बन्द, हडतालका कारणले थप रकम लागेको भन्दै त्यसविरुद्ध अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले अदालतमा मुद्दा हालेको थियो । अन्तर्राष्ट्रिय अदालतले समेत उक्त कम्पनीको पक्षमा निर्णय गर्दै प्राधिकरणले सन् २००७ मा दुई करोड डलर तिर्नुपर्ने फैसला सुनाएको थियो । फैसलाअनुसार रकम नपाएपछि कम्पनीले काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको थियो भने प्राधिकरणले अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको निर्णयविरुद्ध पुनरावेदन गरेको थियो । रकम नपाएपछि दुई करोड डलरको ब्याज र जरिवाना गरी पाँच करोड १० लाख डलर अर्थात् करिब चार अर्ब नेपाली रुपियाँ दाबी गरेको थियो ।
मुद्दा चलिरहेको अवस्थामा प्राधिकरण र कम्पनीबीच विभिन्न चरणमा छलफल भई ८५ लाख डलर र कम्पनीले कर तिर्न बाँकी एक अर्ब गरी करिब पौने दुई अर्ब तिर्ने सहमति भएको थियो । सहमतिपछि प्राधिकरणले पुनरावदेन अदालतमा रहेको मुद्दा फिर्ता गरिसकेको छ । एक साताभित्र सबै मुद्दा फिर्ता लिएर टोली नेपाल फर्कने कार्यक्रम छ । गत साउनमा पाँच वर्षदेखि अन्तर्राष्ट्रिय अदालतमा समेत चल्दै आएको उक्त मुद्दाको मिलापत्र भएको थियो । मिलापत्रमा ६ महिनाभित्र प्राधिकरणले इम्प्रिजिलोलाई ८५ लाख अमेरिकी डलर तिरिसक्नेछ भने कम्पनीले तिर्न बाँकी एक अर्ब रुपियाँ कर पनि प्राधिकरणले तिर्नेछ ।
मिलापत्र नभएको भए प्राधिकरणले चार अर्ब रुपियाँभन्दा बढी रकम तिर्नुपर्ने थियो तर मिलापत्रले थोरै रकम तिरे हुने निर्णय भएको थियो । ६ महिनाभित्र ८५ लाख डलर नतिरे ३ प्रतिशतका दरले उक्त कम्पनीलाई ब्याज तिर्ने सहमतिसमेत भएको छ । प्राधिकरणले ६० लाख डलर दिनुपर्नेमा विवादका कारण रोकेपछि प्राधिकरणविरुद्ध कम्पनीले अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा मुद्दा दायर गर्न पुगेको थियो । अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्दा नेपालको नकारात्मक छवि बन्ने भन्दै प्राधिकरणले पहल थालेको थियो । एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी सन् १९९७ मा निर्माण सुरु गरी सन् २००२ को अगस्टमै विद्युत् उत्पादन सुरु गरेको थियो ।
टोली ठूलो भएकोमा विरोध
काठमाडौं : प्राधिकरण र सिभिल ठेकेदार कम्पनीबीच भएको मिलापत्रका लागि सानो टोली गए पुग्ने भए पनि धेरैजना इटाली गएकोमा प्राधिकरणभित्रै चर्को विरोध भएको छ ।
ऋणमा थलिएको प्राधिकरणलाई व्ययभार हुनेगरी धेरैजना गएकोमा प्राधिकरणकै कर्मचारीले चर्को विरोध जनाएका हुन् । ‘एक/दुईजना गए पुग्नेमा चार/पाँचजना किन जानुपर्‍यो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘मिलापत्र भइसकेको अवस्थामा त्यसको मुद्दा फिर्ता लिनका लागि मात्र जम्बो टोली जानु आवश्यक थिएन, अनावश्यक व्यक्ति पनि पठाइएका छन् ।’

Wednesday, October 10, 2012

व्यवस्थित बन्यो विद्युत् प्राधिकरणको पार्किङ

काठमाडौं, २४ असोज । नेपाल विद्युत् प्राधिकरणले आफ्नो पार्किङलाई व्यवस्थित बनाएको छ । प्राधिकरणको आठ सय नौवटा सवारीसाधन छन् । त्यसमध्ये एक सयभन्दा बढी त प्राधिकरणको केन्द्रीय कार्यालयमा मात्र रहन्छन् । रत्नपार्कमा रहेको प्राधिकरणको पुराना भवनमा पार्किङ गर्ने ठाउँ नभएर ठूला विद्युत् आयोजनाका लागि लगानी गर्छु भनेर आउने विदेशी कूटनीतिदेखि लगानीकर्तासम्मले बिजोग अवस्थाको व्यंग्य गर्थे । तर, अहिले प्राधिकरणको बिजोग बनाउने पार्किङ व्यवस्थापन व्यवस्थित गरिएको छ
प्राधिकरणभित्रै रहेको महेन्द्र डिजेल पावर भत्काएर, ठूला ६ टयांक चिलिमे जलविद्युत् आयोजनालाई बेचेर र पोखरी भत्काएर अहिले पार्किङ व्यवस्थित गरिएको हो । प्राधिकरणको प्रत्येक भवनको मुख्य गेटसम्मै गाडी राख्नुपर्ने र हिँड्नसमेत बाटो नहुने अवस्थामा प्राधिकरण थियो । वर्षको ३० अर्बभन्दा बढी कारोबार हुने प्राधिकरणको पार्किङ अस्तव्यस्त भएपछि धेरैका लागि पार्किङ व्यवस्थापन टाउको दुखाइको विषय बन्दै आएको थियो ।
गाडी जामकै कारण निकाल्न नसकेर माइकिङ गर्नुपर्ने अवस्था प्राधिकरणको थियो । यद्यपि त्यो हटेको त छैन तर कम भने भएको छ । गाडी नै गाडीको जामका कारण अस्तव्यस्त देखेपछि धेरैले विद्युत् प्राधिकरण, विद्युत् उत्पादन र लोडसेडिङको समस्या उस्तै भएको भन्दै व्यंग्य गर्ने गरेका थिए । ‘कूटनीतिज्ञको अगाडि पार्किङ व्यवस्थापन गर्न नसक्दा प्राधिकरण लज्जित बनेको थियो, ठूलो समस्या पनि थियो ।’ प्राधिकरणका कायममुकामय कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले भने, ‘पूरै व्यवस्थित त गर्न सकिएको छैन तर पहिलाजस्तो अस्तव्यस्त भने छैन ।’
‘अहिले भित्री भागलाई मोटरसाइकल र गाडी पार्किङ गर्ने व्यवस्था गरिएको छ,’ विभागकी प्रमुख शान्तिलक्ष्मी शाक्यले भनिन्, ‘३०/३५ वटा सवारीसाधन र धेरै मोटरसाइकल पार्किङ गर्न सजिलो भएको छ ।’ उनका अनुसार पहिला सवारीसाधन बाहिर निकाल्नुपरेमा घन्टौँ लाग्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । प्राधिकरणले पार्किङ व्यवस्थापनका लागि करिब साढे दुई लाख रुपियाँ खर्च भइसकेको छ । प्राधिकरणसँग डेड करोड रुपियाँसम्मका महँगा गाडी छन् । पहिला देशका राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि ठूलाठूला नेता तिनै विद्युत्का गाडीमा रमाउने भए पनि अहिले त्यस्तो अवस्था छैन । तर, ती गाडीका पार्किङ गर्ने क्षेत्र भने साह्रै अस्तव्यस्त र बिजोग लाग्दो अवस्थामा थियो । ‘अझै प्राधिकरणको हुनुपर्ने पार्किङ व्यवस्थापन राम्रो भएको छैन, व्यवस्थित गरेर प्राधिकरणलाई अफिसियल रूपमा समेत विदेशी कूटनीतिज्ञदेखि सबैलाई ‘प्राधिकरण आउँm आउँm’ भन्ने वातावरण बनाउनुपर्छ’ प्राधिकरणका एक अधिकारीले भने । ती अधिकारीका अनुसार पहिलाभन्दा केही व्यवस्थित भयो तर यसलाई पर्याप्त नमानी व्यवस्थित पार्किङका लागि प्राधिकरणले पहल गर्नुपर्छ ।
दैनिक करोडौँको विद्युत् आयात गर्ने र जलस्रोतका लागि धनी मानिने नेपालको विद्युत् क्षेत्रलाई व्यवस्थित गर्ने निकाय प्राधिकरण ऋणमा भए पनि प्राधिकरणका गाडीहरूको ताँती देख्दा भने धेरै दंग पर्छन् । तर, ती गाडीको ताँतीका कारण प्राधिकरणको आँगनको जामले भने प्राधिकरण लज्जित हुने अवस्था रहेकोमा अहिले केही सुधार भएको छ ।

Tuesday, October 9, 2012

‘गैरकानुनी काम गर्ने एजेन्टलाई कारबाही गर्नुपर्छ’

गैरकानुनी काम गर्ने एजेन्टलाई कारबाही गर्नुपर्छ’

दक्षिण कोरियाका लागि नेपालका राजदूत कमानसिंह लामाले त्यहाा कार्यरत नेपाली कामदारले भोगिरहेका समस्यालाई नजिकबाट नियालिरहेका छन् । २२ हजार नेपाली रहेको कोरियामा कामदारको अवस्था सुर्धान आफू प्रयत्नसिल रहेको उनी बताउाछन् । काभ्रेको मादनकुडारी गाविसमा जन्मिएका राजदूत लामासाग कोरियामा नेपाली कामदारको अवस्था र भविष्यबारे गरिएको कुराकानी :
दक्षिण कोरियाको राजदूत भएर गएपछि नेपालीको अवस्था कस्तो पाउनुभयो ?
कतार, मलेसिया आदि देशमा गएका कामदारको भन्दा राम्रो छ तर गुनासोरहित भने छैन ।
नेपाली कामदारका समस्या के पाउनुभयो त ?
विशेषत: नेपाली कानुन र कोरियाको कानुनबीचको भिन्नताका कारण उब्जिएका समस्या छन् । काम लगाउनेको स्वार्थ र काम गर्नेको टकरावका कारण पनि धेरै समस्या उब्जेका छन् । जाली, फटाहा, दलालको उक्साहटमा समस्याको भुँमरीमा फस्नेको समस्या छ ।
समस्या समाधानका लागि नेपाल सरकारले के गर्नुपर्छ ?
राम्रो परामर्श सेवा दिएर मात्र कामदार पठाउनुपर्छ र गैरकानुनी काम गर्ने एजेन्ट सबैलाई कारबाही गर्नुपर्छ ।
तपाईंले के गरिरहनुभएको छ त ?
राजदूत भएर आएपछि मैले गर्न सक्ने सबै प्रयास गर्दै आएको छु । सबैका समस्या सुनेर समाधानका लागि मेरो प्रयास जहिले पनि हुन्छ । अर्कोतिर नेपालमा रहेको लोडसेडिङ समस्या समाधानका लागि कोरियाका तर्फबाट विद्युत्मा लगानी गर्ने वातावरणका लागि पनि मैले प्रयास गरिरेहेको छु । त्यसका लागि मैले सम्बन्धित निकायसँग छलफल गर्न लागेको छु ।
राजदूतावासले नेपालीको समस्या समाधानका लागि बेवास्ता गरेको आरोप छ नि ?
राजदूतावासले गर्न सक्ने र गर्नुपर्ने सबै समस्या समाधान गरिएका छन् । राजदूतावासमा दर्ता भएका सबै उजुरी र निवेदन किराना लगाएका छौँ । एउटा पनि बाँकी छैनन् ।
नेपाली कामदारले दु:ख पाउनुका पछाडि के कारण हुन सक्छन् ?
प्रश्न अलि बृहत् भयो । सबै कामदारले दु:ख पाएका छैनन् । कामदार पठाउने र जानेले केका लागि पठाएका हुन्, कस्तो काम, कति तलब हुन्छ, त्यहाँको कानुनअनुसार के गर्न पाइन्छजस्ता कुरामा चेतना अभिमुखीकरण नगरी आउँदा केही समस्या देखिएको हो ।
गल्ती गर्ने एजेन्टलाई कस्तो कारबाही गर्नुपर्ला ?
एक त गैरकानुनी रूपमा जानु भनेको दु:ख बेसाउन नै जानु हो । त्यसैले गैरकानुनी रूपमा जानु भएन नि । गैरकानुनी रूपमा कामदार पठाउनेमाथि सरकारलाई सहयोग गरेर कारबाही गराउनुपर्छ ।
कोरियामा कति नेपाली कामदार छन् र उनीहरुको अवस्था कस्तो छ ?
कोरियामा २२ हजार नेपाली छन् । कति साहुको ऋण तिर्नका लागि अहोरात्र खटिरहेका छन् । कतिले त त्यो सपना पूरा गर्न नसक्दा आफूले आफँैलाई मारिरहेका पनि छन् ।
कोरिया जाने नेपालीलाई तपाईंको सुझाव के छ ?
राम्ररी बुझेर मात्रै विदेश जानेहोस् । अरूको बहकाइमा नलाग्नुहोस् । दु:ख पाए तपाईंले पाउने हो, पठाउनेले पाउने होइन । आफ्नो देशमा जति आत्मसम्मान अरू कहीँ पाइँदैन । तर पनि परिश्रम गर्नेलाई कोरिया राम्रो गन्तव्य हो ।
नेपालको ग्रामीण क्षेत्रमा कामदारको खााचो भएको अवस्थालाई सम्झाउादा तपाईंलाई कस्तो अनुभुति हुन्छ ?
त्यो बुद्धि सम्झँदा आफैँलाई आकाशतिर फर्केर थुक्न मन लाग्छ । जुन जोगी आए पनि कानै चिरिएका भनेजस्तो सबै मिलेर संविधान पनि बनाउन सकेनाँै । एउटा प्लेनसमेत किन्न नसक्ने हाम्रो अवस्था त झन दयनीय छ । नेपाली परिश्रमी छन् तर त्यो श्रम नेपालकै लागि लगाउने चाँजोपाजोको आवश्यकता छ ।
बिदेसिने क्रम कसरी घट्न सक्ला त ?
नेपालले १६ प्रतिशत शिक्षामा बजेट खर्चेको छ । त्यसबाट उत्पादित कारिन्दा नेपाललाई आवश्यक छैन । नेपालका अधिकांश कलेज, स्कुल बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन् । देशको आवश्यकताअनुसारको रोजगारमूलक शिक्षाको लागू गर्न सकिएको छैन । स्वरोजगारमूलक वातावरणको आवश्यता पर्छ । अनि मात्र बिदेसिने नेपालीको संख्या घट्न सक्छ ।
कोरियनसँग कागजी विवाह गर्ने अधिकांश महिला विचल्लीमा छन् भनिन्छ नि हो ?
पेपर म्यारिज गरेर बिचल्लीमा परेका महिला मात्र होइन, गैरकानुनी रूपमा बसेका अन्य नेपालीलाई पनि स्वदेश फर्काउनका लागि दूतावासले प्रयास गरिरहेको छ । ट्राभेल डकुमेन्ट बनाएर उनीहरूलाई स्वदेश फकाइरहेका पनि छाँै । गैरकानुनी रूपमा बसेकालाई कानुनी रूपमा बसेसरह इज्जत दिलाउन त दूतावासले सकेको छैन, सक्दैन पनि होला । तर, उनीहरूलाई कानुन बनाएर स्वदेश फर्काउनका लागि क्रियाशील छ ।
रोजगार अनुमति प्रणालीमार्फत कामदार पठाउनेमा नेपाल कोरियामा उत्कृष्ट छ होइन ?
राम्रो काम गर्नेले उत्कृष्ट बनाएका हुन् । गलत काम गर्नेले नेपालको इज्जत धमिल्याएका छन् ।
के कारणले नेपाल उत्कृष्ट भएको होला ?
काम राम्रो गर्ने र तुलनात्मक रूपमा अरू देशका कामदारभन्दा हाम्रा कामदार अनुशासित भएकाले उत्कृष्ट भएका हुन् ।
कोरियामा नेपाली कामदारको माग किन बढेको होला ?
धैरै कोरियनले थ्रिडी काम नरुचाएकाले विदेशी कामदारको माग बढेको हो । अहिले १५ हजार नेपालीले भाषा परीक्षा पास गरेका छन् । तिनलाई कोरिया पठाएपछि मात्र फेरि भाषा परीक्षा कोरियाले लिनेछ । अहिले कटौती गरेको होइन तर हामीले लापरबाही गर्‍यौँ भने कोटा कटौती हुन सक्छ । यो वर्ष सात हजार जति नेपाली इपिएसअन्तर्गत कोरिया आउँदैछन् ।
नेपालको राजनीतिक अस्थिरताले नेपाली कामदारलाई कस्तो असर पारेको छ ?
अहिले कोरिया आएका नेपालीको उमेर देख्दा मलाई कस्तो लाग्छ भने राजनीतिक अस्थिरताका बीचमा जन्मे, त्यसैका बीच हुर्के, अस्थिरताबीच बिदेसिए, उनीहरूले कहिले स्थायित्व देख्न पाएका छन् र ? स्थायित्व हुनु र नहुनुमा त फरक पर्छ नि किन नपर्नु ।
नेपालको भविष्य उज्वल बनाउन के गर्नुपर्ला ?
नयाँ ठाउँमा नयाँ अनुभुति हुन्छ नै । मैले संसदीय सुनुवाइका बेलामा कम्तीमा चार सय मेगावाट जलविद्युत् लगानी भित्र्याएर लोडसेडिङ अन्त्यका लागि कोसिस गर्छु भनेको थिएँ, यसका लागि सक्रिय छु । बढीभन्दा बढी लगानी भित्र्याएर नेपालको भविष्य उज्वल पार्न कोसिस गर्छु ।
प्रस्तुति : भीम गौतम

कुलेखानीको सुरुङ निर्माण तीव्र

काठमाडौं, २३ असोज । सुस्तगतिमा सुरुङ खन्ने काम भइरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनामा सुरुङ निर्माण दु्रतगतिमा हुन थालेको छ ।
केही दिनअघिसम्म प्रतिदिन चार मिटर मात्र सुरुङ खन्ने काम गरिरहेको निर्माणाधीन आयोजनामा अहिले प्रतिदिन १५ मिटर सुरुङ निर्माण भइरहेको छ । आयोजना प्रमुख मधुसूदनप्रताप मल्लका अनुसार अहिले पाँच ठाउँबाट सुरुङ निर्माण सुरु भएपछि प्रतिदिन सरदर १५ मिटरको दरले सुरुङ निर्माण कार्य भइरहेको छ ।
सहायक सुरुङसहित पाँच हजार नौ सय सुरुङमध्ये अहिलेसम्म ३२ सय मिटर सुरुङ निर्माण भइसकेको छ भने बाँकी पनि द्रुतगतिमा भइरहेको छ । मुख्य सुरुङ ४३ सय मिटर रहेकामा १६ सय मिटर सुरुङ खनिइसकिएको छ भने सहायक अटिको निर्माण कार्य पूरा भइसकेको छ । ‘पहिलाभन्दा अहिले सुरुङ निर्माण द्रुतगतिमा भइरहेको छ, अहिले पाँच ठाउँबाट सुरुङ खन्ने कार्य भइरहेको छ,’ उनले भने ।
अहिलेको सुरुङ निर्माणमा कुनै समस्या नआएमा अब ६ महिनाभित्र सुरुङ निर्माण पूरा गर्ने लक्ष्य आयोजनाको छ । ‘आयोजनामा भूवनोटजस्ता समस्या आउन सक्छन्, यदि नआएमा ६ महिनाभित्र सुरुङ निर्माण पूरा गर्न सक्छाँै,’ आयोजनामा परामर्शदाताको काम गरिरहेका नियाज अहमदले भने ।
गत २१ मंसिरमा निर्माण सम्पन्न गर्नुपर्ने सो आयोजनाका लागि चिनियाँ पक्षले थप समयको माग गरेपछि प्राधिकरणले थप आठ महिना समय थपेको थियो । तर, पछि मूल्यवृद्धिले लागतमा वृद्धि, बन्द, हडतालको समस्या देखाउँदै गत पुस २५ मा एकतर्फी सम्झौता तोडेको थियो । दुवै पक्षको विवादका कारण अन्योलमा परेको सो आयोजनाबारे गत ६ फागुनमा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि र सिनो हाइड्रो कम्पनीका प्रतिनिधिबीच काठमाडांैमा भएको वार्तामा कम्पनी पुन: काममा फर्कन तयार भएको थियो । दुवै पक्षको सहमतिमा कुलेखानी तेस्रो निर्माणका लागि ३० महिना समय थपिएको थियो । तर, अहिले दु्रतगतिमा सुरुङ निर्माण भएपछि प्राधिकरण आयोजनाको निर्धारित समयभन्दा ६ महिना अघि नै निर्माण पूरा गर्न कस्सिएको छ । आयोजना सन् ०१४ भित्र सिध्याउने लक्ष्य प्राधिरणको छ । ‘हामी बन्द, हडताल नभएमा समयमै ठेकेदारको भुक्तानी दिने व्यवस्था गरेकोले पनि हामी ६ महिना अघि नै निर्माण सम्पन्न गर्न सक्ने अवस्था छाँै,’ प्राधिकरण उत्पादन तथा निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डले भने । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो कम्पनी पनि छिटो गर्नका लागि सकारात्मक रहेको उनले बताए ।
आयोजना स्रोतका अनुसार प्रतिदिन १५ मिटर सुरुङ निर्माण भएमा पनि ६ महिना अघि नै आयोजना निर्माण असम्भव छ भने अझै आयोजना अघि बढाउनका लागि वातावरण पूर्ण रूपमा नरहेकाले समस्या छ । यसका लागि ठेकेदारलाई भुक्तानी, उचित वातावरण निर्माणका लागि माथिल्लो व्यवस्थापनको सहयोग पनि आवश्यक छ ।
आयोजना प्रमुख मल्ल आयोजना छिटो गर्नका लागि कार्ययोजना बनाउन सुरु गरिएको बताउँँछन् । ‘६ महिना अघि नै निर्माण पूरा गर्न कार्ययोजना आवश्यक छ, त्यो कार्ययोजना बनाइँदैछ,’ उनले भने, ‘ठेकेदारसँग बसेर छलफल गर्नुका साथै केही कष्ट पनि बेहोर्नुपर्ने हुन्छ, सम्भावना छ तर छिटो कार्ययोजना बनाउनु भने आवश्यक छ,’ उनले भने ।
दुई अर्ब ४३ करोडको लागतमा बन्न लागेको आयोजनाको हालसम्म एक अर्ब ५० करोडभन्दा बढी खर्च भइसकेको छ । सन् २००८ मा मकवानपुर जिल्लाको भैँसेमा निर्माण सुरु भएको आयोजनामा विवादका कारण प्राधिकरणले कुलेखानी तेस्रोमा परामर्शदाताका रूपमा काम गरिरहेको डब्लुआरसी हेड र सिल्डलाई कालोसूचीमा राखेपछि अहिले अहमदले परामर्शदाताका रूपमा काम गरिरहेका छन् । नयाँ परामर्शदाता छनोटका लागि प्राधिकरणले प्रक्रिया अघि बढाएको छ । त्यसैगरी आयोजनाको इलेक्ट्रो मेकानिकलको कार्यबारे पनि छलफल भइरहेको आयोजनाले जनाएको छ ।

Sunday, October 7, 2012

प्राधिकरणका आधा कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं, २१ असोज । कानुनी रूपमा नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिनाभित्र हरेक सरकारी कर्मचारीले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ तर नेपाल विद्युत् प्राधिकरणका आधाभन्दा बढी कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।
नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र अर्थात् २८ भदौभित्र प्राधिकरणका सबै कर्मचारीले उनीहरूको सम्पूर्ण सम्पत्ति बुझाउनुपर्ने भए पनि नबुझाएका हुन् । सम्पत्ति विवरण नबुझाएर उनीहरूले सरकारी कानुनी व्यवस्थालाई अटेर गरेका छन् ।
प्राधिकरणका अनुसार, ८ हजार २ सय ७६ प्राधिकरणका कर्मचारीमध्ये ४ हजार २ सय ७२ जनाले मात्र बुझाएका छन् । ‘प्राधिकरणका सबै कर्मचारीमध्ये आधाले मात्र बुझाए, आधाजति करिब ४ हजार २४ जनाले बुझाएका छैनन्,’ प्राधिकरण विभागीय शाखा प्रमुख होमनारायण बेलबासेले भने, ‘कानुनीरूपमा बुझाउनैपर्ने व्यवस्था छ तर बुझाउनुभएन ।’ कानुनी व्यवस्थालाई अटेर गरेपछि उनीहरू पाँच हजार जरिवानामा पर्ने भएका छन् ।
व्यक्तिगत सम्पत्ति विवरण नबुझाउनेमा तल्लो तहका कर्मचारी मात्र छैनन्, माथिल्लो अर्थात् दसौँ तहभन्दा माथिका मात्र १४ जना छन् । प्राधिकरण स्रोतका अनुसार, एघारौँ तहका गोविन्दराज खरेल, मोहनरत्न शाक्य, जगदीश्वरमान सिंह, बुद्धकृष्ण मानन्धर, बालकृष्ण श्रेष्ठ, लक्ष्मण डंगोल र कन्हैयाकुमार मानन्धरले पनि व्यक्तिगत सम्पत्ति बुझाएका छैनन् । त्यसैगरी दसौँ तहका विभूतिनाथ मिश्र, जयन्द्रमान ताम्राकार, सञ्जीवमान भण्डारी, विश्वध्वज जोशी, विश्वम्भर झा, नवराज काफ्ले र नारायणप्रसाद श्रेष्ठले पनि सम्पत्ति विवरण बुझाएनन् । प्राधिकरणले उक्त विवरण राष्ट्रिय सतर्कता केन्द्रमा उक्त पठाइसकेको छ । धैरेले आफ्नो सम्पत्ति विवरण बुझाएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतले अनुसन्धान गर्न सक्छ भनेर बुझाउन आनाकानी गर्ने गरेको प्राधिकरण स्रोतले जनायो ।
कानुनीरूपमा साठी दिनभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले सम्पत्ति विवरण नुबझाएमा पाँच हजार जरिवाना गरी अर्को ६० दिनभित्र बुझाउन लगाइने उल्लेख छ । उक्त समयभित्र पनि नबुझाएमा निज वा निजको परिवारको नाममा अवैध सम्पत्ति राखेको अनुमान गरी सम्बन्धित निकायका अधिकारीबाट छानबिन गर्न सकिने उल्लेख छ । प्राधिकरणले ४ हजार २४ कर्मचारीले व्यक्तिगत सम्पत्ति विवरण नबुझाएकाले उनीहरूको जरिवानाबाट मात्र २ करोड १ लाख २० हजार रुपियाँ राजस्व उठ्ने देखिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले व्यक्तिगत सम्पत्ति विवरण नबुझाएका कर्मचारीको हकमा प्राधिकरणलाई पत्र लेखी उक्त जरिवाना लगाउन सक्ने प्राधिकरण स्रोतले जनायो । दुई महिनाको अवधिमा बिरामी वा विशेष कारणले सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीको हकमा भने बुझाउन नसक्ने यथेष्ट प्रमाणसहित निवेदन दिएमा र त्यसको सम्बन्धित अधिकारीबाट प्रमाणित भएमा भने थप दुई महिना समय दिन सक्ने उल्लेख छ । ‘व्यक्तिगत सम्पत्ति विवरण नबुझाउने कर्मचारीको हकमा अब सतर्कता केन्द्रले जरिवाना प्रक्रिया अघि बढाउँछ, प्राधिकरणले बुझाउने र नबुझाउने सबैको विवरण पठाउने हुनाले उसलाई सजिलो पर्छ,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘बुझाउनैपर्ने व्यवस्थालाई अटेर गर्नेमाथि जरिवाना गर्नुपर्छ जसको कारणले सरकारले दुई करोड रुपियाँभन्दा बढीको त राजस्व मात्र संकलन गर्छ ।’

एक रुपियाँमै दिइयो स्वास्थ्य केन्द्र

काठमाडौं : ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाले आºनो स्वास्थ्य केन्द्र एक रुपियाँ लिएर धुलिखेल सामुदायिक अस्पताललाई हस्तान्तरण गरेको छ ।
दोलखाको किर्नेटारमा रहेको जलविद्युत् आयोजनाले निर्माण गरेको स्वास्थ्य केन्द्र सन् २०२० सम्मका लागि धुलिखेल अस्पताललाई हस्तान्तरण गरेको हो । धुलिखेल अस्पताल र आयोजनाबीच भएको सम्झौतापत्रमा सन् २०२० सम्मका लागि एक रुपियाँमा जलविद्युत् आयोजना हस्तान्तरण गरिएको उल्लेख छ । हिमाल पावर कम्पनीले खिम्ती आयोजना निर्माणका क्रममा कर्मचारी, मजदुरलगायतका लागि ०५७ देखि सञ्चालनमा ल्याएको स्वास्थ्य केन्द्र नौ महिनादेखि बन्द थियो । चार रोपनी जग्गामा रहेको अस्पतालमा फार्मेसी, बिरामी जाँच्ने, सुत्केरी गराउनेसहित १२ कोठा छन् । शुक्रबार किर्नेटारमा आयोजित कार्यक्रममा हिमाल पावर कम्पनीका महाप्रबन्धक टम क्रिस्चियनले धुलिखेल सामुदायिक अस्पतालका प्रशासकीय प्रमुख डा. राजेन्द्र कोजुलाई हस्तान्तरण गरेका थिए । धुलिखेल अस्पताल स्वास्थ्य सेवा सञ्चालनका लागि योग्य देखिएकाले स्वास्थ्य केन्द्रको जिम्मेवारी दिइएको हिमाल पावरका महाप्रबन्धक क्रिस्चियनले जानकारी दिए ।
धुलिखेल अस्पतालको १४आँै आउटरिच सेन्टरका रूपमा स्वास्थ्य केन्द्रलाई सञ्चालनमा ल्याउने अस्पतालका प्रशासकीय प्रमुख डा. कोजुले बताए । ‘दोलखा र रामेछाप जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्य सेवा दिन पाउँदा खुसी छाँै, सर्वसुलभ र प्रभावकारी रूपमा अब स्वास्थ्य सेवा पाउनेछन्,’ डा. कोजुले भने । डा. कोजुका अनुसार अब उक्त स्वास्थ्य केन्द्र किर्ने स्वास्थ्य केन्द्रको नाममा सञ्चालन हुनेछ ।
अस्पतालले रामेछाप र दोलखाका २० गाविसका १५ हजार बासिन्दालाई लक्षित सेवा अघि बढाउने र १ मेडिकल डाक्टर, १ अनमी र १ ल्याब असिस्टेन्टका साथै एम्बुलेन्स सेवासहित २४ घन्टा नै सेवा दिने जनाएको छ ।

जलविद्युतमा ६ महिने संकटकाल

काठमाडौं, २१ असोज । सरकारले आगामी हिउँदमा लोडसेडिङ घटाउन जलविद्युत्मा संकटकाल लगाएको छ । अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ लाई सक्रिय गराई जलविद्युत् क्षेत्रमा आगामी ६ महिनाका लागि सरकारले संकटकाल लगाएको हो ।
सरकारले एक साताअघि राजपत्रमा सूचना प्रकाशन गरी संकटकाल लगाएको हो । जलविद्युत् संकटकालमा जलविद्युत् आयोजना, प्रसारण लाइन, विद्युत्गृह, विद्युत् वितरण प्रणालीको निर्माण र सञ्चालनमा विरोध र अवरोध गर्न पाइँदैन । कसैल अवरोध गरे सरकारले कानुनी रूपमै सुरक्षा फोर्स परिचालन गर्न सक्नेछ । जलविद्युत् क्षेत्रसँग तोकिएका स्थानमा बाधा, अवरोध गर्नेलाई सुरक्षा फोर्स लगाएर कारबाही गर्न सकिने ऊर्जाका एक उच्च अधिकारीले बताए । ‘जलविद्युत् क्षेत्रसँग तोकिएका सबै स्थानमा बाधा, अवरोध गर्नेलाई सुरक्षा फोर्स लगाएमा नागरिक अधिकार हनन भएको मानिनेछैन, यो जलविद्युत् क्षेत्रका लागि संकटकाल नै लगाएको हो’ ती अधिकारीले भने, ‘विद्युत्लाई समेत आवश्यक सेवा सञ्चालन ऐन २०१४ भित्र ल्याएर ६ महिने सूचना जारी गरेकाले अब बाधा, अवरोध र हडताल गर्नेलाई सार्वजनिक मुद्दा लगाउन सकिन्छ ।’ विद्युत् संकटकालसँगै सबै बाधा अवरोध गर्नेहरूमाथि सुरक्षा फोर्स परिचालनका लागि बाटो खुलेको छ ।
अवरोध र बाधा भएमा गृह मन्त्रालयले अब सिधै सुरक्षा फोर्स परिचालन र कºर्युसमेत लगाउन पाउने ऊर्जा मन्त्रालयका सह–सचिव डा. रवि शर्मा अर्यालले बताए । ‘आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ को प्रावधानअनुसार अब जलविद्युत् क्षेत्रका कार्य निर्वाध रूपमा सञ्चालन र निरन्तरताका लागि सबै प्रकारको सुरक्षाको पूर्ण प्रत्याभूति दिन सक्नेछ,’ उनले भने । स्थानीयवासीको अवरोधका कारण नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको विभिन्न आयोजना अगाडि बढ्न सकेका छैनन् । यस्तै विभिन्न निर्माणाधीन जलविद्युत् आयोजनाले समेत विभिन्न बाधा अवरोध झेल्नुपरेको छ । स–साना माग राखेर स्थानीयवासी, विभिन्न समूहलगायतले आयोजना निर्माण हुन नदिएपछि आयोजनामा ढिलाइ भई विद्युत् उत्पादन बढ्न सकेको छैन । विद्युत् प्राधिकरणका साथै निजी क्षेत्रले समेत यस्ता समस्या झेल्दै आएका छन् । अब निजी क्षेत्रले समेत आवश्यक सुरक्षा व्यवस्था मागेमा सरकारले उपलब्ध गराउन सक्नेछ । पछिल्लो समयमा दोलखामा निर्माण भएर अन्तिम चरणमा पुगेको चर्नाखोला जलविद्युत् आयोजनाको निर्माणमा समेत स्थानीयवासीले अवरोध गरेका थिए ।
जलिवद्युत् क्षेत्रमा संकटकाल लगाएकोमा व्यवासायी पनि उत्साही भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष डा. सुवर्ण श्रेष्ठले सरकारको कदम राम्रो भएको बताए । ‘बेला–बेलामा गुण्डागर्दीदेखि स्थानीयवासीको अवरोधलगायत समस्या निजी क्षेत्रका आयोजनाले झेल्ने गरेका छन्,’ उनले भने, ‘संकटकाल लगाएर उचित सुरक्षा व्यवस्था खोज्नु सरकारको सकारात्मक काम हो ।’ उचित सुरक्षा व्यवस्था भएमा निजी क्षेत्रले समयमै आयोजना निर्माण गरेर विद्युत् उत्पादन गर्ने र आयोजना लागत पनि नबढ्ने उनी बताउँछन् ।
सन् २००७ मा सुरु भएर दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको नेपालकै पहिलो २२० केभीको खिम्ती–ढल्केबर प्रसारणलाइन स्थानीयको अवरोधका कारण अझै पूरा हुन सकेको छैन । सिन्धुलीमा आठवटा पोल निर्माण गर्न नदिएपछि उक्त आयोजनाको निर्माण पूरा हुन नसकेको हो । अहिले खिम्ती र भोटेकोसीमा उत्पादित विद्युत् काठमाडौं, चितवन हुँदै करिब २ सय ५० किलोमिटर पार गरी लैजानुपर्नेमा उक्त प्रसारण लाइन बनेमा ७५ किलोमिटरमै ढल्केबर पुर्‍याउन सकिनेछ । आयोजना छिटो बनेमा करिब १० मेघावाट चुहावट कम भई आधा घन्टा लोडसेडिङ घटाउन सहयोग पुग्ने ऊर्जा मन्त्रालयले जनाएको छ । १४ वर्षअघि सुरु भएको १३२ केभीको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन स्थानीयवासीको अवरोधको कारणले अझै निर्माण पूरा हुन सकेको छैन । अब यी दुवै क्षेत्रमा तत्काल सुरक्षाफौज परिचालनसमेत गरेर आगामी माघ मसान्तभित्रै निर्माण पूरा गर्ने लक्ष्य लोडसेडिङ न्यूनीकरण आयोजनामा उल्लेख छ ।
सिडिओको सरुवा
निर्माणाधीन २२० केभीको खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माणका लागि सिन्धुलीमाडीवासीले अवरोध गरेपछि सरकारले परिचालन गरेको सशस्त्र प्रहरीलाई सहयोग नगरेको आरोपमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा भएका छन् ।
सिन्धुलीमाडीमा स्थानीयवासीले अवरोध पुर्‍याएपछि सरकारले सशस्त्र प्रहरी खटाउने निर्णय गरेको थियो । तर, तत्कालीन सिडिओ वेणीमाधव ज्ञवालीले प्रहरी परिचालन गर्न आनाकानी गरेपछि उनलाई सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । उनको ठाउँमा केशवराज आचार्यलाई पठाइएको छ । सशस्त्र प्रहरी परिचालनका लागि सिडिओको आदेश चाहिनेमा विवाद रहेको भन्दै परिचालन गर्न आनाकानी गरेका थिए ।

Thursday, October 4, 2012

प्रधानमन्त्रीको ‘हावादारी’ निर्देशन कार्यान्वयन भएन

काठमाडौं, १९ असोज । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विनाकुनै आधार ऊर्जा र विद्युत् प्राधिकरणलाई लोडसेडिङ घटाउन निर्देशन दिए पनि अझै ठोस कार्ययोजना बनेको छैन । विद्युत् प्राधिकरणले हिउँदमा १९ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिरहेका बेला प्रधानमन्त्रीले भने ऊर्जा मन्त्रालय र प्राधिकरणलाई १२ घन्टामा लोडसेडिङ झार्ने ‘हावादारी’ निर्देशन दिँदै आएका छन् ।
गत भदौमा दुहवी हुँदै भारतले दिँदै आएको करिब ३० मेगावाट कटौती गरेपछि हप्ताको लोडसेडिङ ३५ घन्टाबाट ४८ घन्टा पुग्यो । वर्षामा समेत लोडसेडिङ बढेपछि आलोचित बनेका प्रधानमन्त्री भट्टराईले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई हिउँदमा १२ घन्टामा लोडसेडिङ झार्नका लागि कार्ययोजना बनाउन निर्देशन दिए ।  ऊर्जाले भारतबाट २ सय मेगावाट विद्युत् आयात, हिउँदमा हप्ताको ५ दिन मात्रै कार्यालय र मल्टिºयुल सञ्चालनलगायत समेटी लोडसेडिङ न्यूनीकरण कार्ययोजना पठायो । लगत्तै फेरि प्रधानमन्त्री भट्टराईले अर्को निर्देशन दिए, ‘लोडसेडिङ १० घन्टामा झार्नू ।’ तर, आफँै ऊर्जाको समस्या भोगिरहेका बेला भारतले नेपालले भनेजति विद्युत् दिने कुनै सम्भावना छैन । प्राधिकरणले आगामी हिउँदमा १९ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिरहेका बेला १२ घन्टामा लोडसेडिङ झार्न कुनै सम्भावना छैन । तर, प्रधानमन्त्रीले भने सस्तो लोकप्रियताका लागि लोडसेडिङ १२ घन्टामा झार्ने निर्देशन दिइरहेको अधिकारीहरू बताउँछन् ।
प्रधानमन्त्रीले लोडसेडिङ घटाउने निर्देशन दिए पनि बाधक भने आफँै बनेका छन् ।  प्राधिकरणले बनाइरहेको त्रिशूली–३ ए लाई ६० मेगावाटबाट ९० मेगावाट बनाइदिने प्रधानमन्त्री भट्टराईको आश्वासनका कारण आयोजना निर्माणमा ढिलाइ भएको छ । यता, ऊर्जा मन्त्रालयले खारेज गरेको २ सय १६ मेगावाटको माथिल्लो त्रिशूलीको लाइसेन्स पुन: त्यही कम्पनीलाई दिने प्रधानमन्त्रीको कदमले पछिल्लो समयमा लाइसेन्स होल्ड गर्नेहरूलाई सहयोग मिलेको अधिकारीहरू बताउँछन् । खोलामा झोला राख्ने प्रवृत्तिको अन्त्य गर्न सके एक हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन बढ्ने उनीहरूको दाबी छ । विज्ञहरूका अनुसार लोडसेडिङ बढ्नुमा खिम्ती–ढल्केबर प्रसारण लाइन बनाउन नसकेर बढेको चुहावट नियन्त्रण गर्न नसक्नु, गुणस्तरहीन ट्रान्सफर्मर खरिदमा देखाएको अनावश्यक हस्तक्षेप गर्नु, चुहावट घटाउन बेवास्ता गर्नुलगायत कारण छन् । तर, प्रधानमन्त्रीले यी काम गर्नुको साटो स्रस्तो लोकप्रियताका लागि केवल निर्देशन मात्रै दिँदै हिँडेको ऊर्जाका अधिकारीहरूको आरोप छ । ‘अहिले त ऊर्जा मन्त्रालय पनि प्रमको भागमा छ, लोडसेडिङ घटाउन बाधक देखिएको प्रवृत्तिकै पक्षमै प्रम देखिएपछि कसरी लोडसेडिङ घट्छ, गफ हाँक्दैमा लोडसेडिङ घट्दैन,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने । प्राधिकरण स्रोतका अनुसार प्रमले जति निर्देशन दिए पनि भारतबाट दुई सय मेगावाट तथा हेटौंडा र दुहवीको मल्टिºयुल रूपमा सञ्चालन गरेमा पनि १५ घन्टाभन्दा बढी लोडसेडिङ हुने निश्चित छ ।
प्रतियुनिट ३० रुपैयाँभन्दा महँगो पर्ने मल्टिºयुल सञ्चालन गर्न कठिन छ । प्रसारण लाइन अभावमा अहिले भारतबाट डेढ सय मेगावाटभन्दा बढी ल्याउन असम्भव छ । प्राधिकरणका अनुसार अहिले विद्युत् उत्पादनको माग सरदर एक हजार मेगावाट छ भने आगामी हिउँदसम्ममा बढेर ११ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । हिउँदमा कुलेखानी जलाशययुक्त सहित करिब तीन सय मेगावाट मात्र विद्युत् उत्पादन हुने बताइन्छ । भारतबाट दुई सय मेगावाट, मल्टिºयुल सञ्चालनलगायत गर्न सक्दा पनि १२ घन्टाभन्दा बढी नै लोडसेडिङ हुने प्राधिकरणका प्रवक्ता शेरसिंह भाट बताउँछन् ।
भारतबाट विद्युत् कटौती भएमा र मल्टिºयुल पनि चलाउन नसकेमा १९ घन्टाभन्दा बढी लोडसेडिङ हुने पक्का रहेको प्राधिकरणका अर्का अधिकारीले बताए । ‘भारतले डेढ सय मेगावाट र मल्टिºयुल चलाएमा ५० मेगावाटसहित जम्मा विद्युत् पाँच सय मेगावाट मात्र हुनेछ र आवश्यकताअनुसार प्रतिदिन थप ६ सय मेगावाट नपुग्दा १६ घन्टाभन्दा बढी लोडसेडिङ हुन्छ,’ ती अधिकारीले भने ।  बिहारमा पनि विद्युत् संकट भएका बेला भारतले विद्युत् दिन्छ भन्नु मूर्खता मात्र हुने जलस्रोत विश्लेषक रत्नसंसार श्रेष्ठको भनाइ छ । सरकारको यही प्रवृत्ति र ढर्रा रहिरहे अझै देशबाट ३० वर्ष लोडसेडिङ नहट्ने उनको तर्क छ । ‘सरकारले स्वदेशमै खपत हुने योजनालाई महत्त्व दिएर र आºना आयोजनालाई समयमै बनाउनेतिर ध्यान दिनुपर्ने तर निकासी आयोजनालाई बढी महत्त्व दिइरहेको छ,’ उनले भने ।

नेपाली प्रवद्र्धक आक्रोशित

काठमाडौं, १८ असोज । सरकारले जलविद्युत् उत्पादनको सर्भेक्षण अनुमतिपत्र दस्तुरमा २० गुणासम्म वृद्धि गरेकामा नेपाली निजी क्षेत्र र प्रवद्र्धकले आपत्ति जनाएका छन् । सरकारले नेपाली प्रवद्र्धकलाई हतोत्साही र विदेशी कम्पनीलाई प्रोत्साहन गर्ने गरी दस्तुर बढाएको भन्दै सरकारप्रति आक्रोश जनाएका हुन् ।
जलविद्युत् आयोजना नबन्नुमा दस्तुर कम नभई सरकार नै बाधक देखिएको भन्दै उनीहरूले एकैपटक धेरै दस्तुर बढाउनु सरकारी प्रतिगामी कदमको भएको बताए । सरकारले निजी क्षेत्रले लाइसेन्स ओगट्ने प्रवृत्ति बढेको भन्दै आयोजनाको अनुमतिपत्र (लाइसेन्स) दस्तुरमा भारी वृद्धि गरेको छ । एक मेगावाटभन्दा माथि पाँच मेगावाटसम्म प्रतिवर्ष एकमुष्ट ५० हजार रुपियाँ रहेकोमा बढाएर दस लाख रुपियाँ, पाँच मेगावाटभन्दा माथि एक सय मेगावाटसम्म प्रतिवर्ष प्रतिमेगावाट १० हजार रुपियाँ रहेकामा अहिले पाँचदेखि दस मेगावाटसम्म २० लाख, त्योभन्दा माथि पच्चीस मेगावाटसम्म एकमुष्ट ३० लाख, पच्चीस मेगावाटभन्दा माथि एक सय मेगावाटसम्म एकमुष्ट ४० लाख रुपियाँ पुर्‍याएको छ । त्यसैगरी, एक सय मेगावाटभन्दा माथि पाँच सय मेगावाटसम्म प्रतिवर्ष एकमुष्ट १० लाख रुपियाँ रहेकोमा ५० लाख तथा पाँच सय मेगावाटभन्दा माथि प्रतिवर्ष एकमुष्ट २० लाख रुपियाँ रहेकोमा ६० लाख पुर्‍याइएको छ । नवीकरण दस्तुर पनि उत्तिकै राख्ने गरी अनुमतिपत्र दस्तुर वृद्धि गरिएको छ ।
त्यसैगरी, विद्युत् उत्पादन, प्रसारण र वितरण अनुमतिपत्रका लागि एक मेगावाटभन्दा माथि पाँच मेगावाटसम्म एक लाख रुपियाँ रहेकोमा पाँच लाख, पाँच मेगावाटभन्दा माथि एक सय मेगावाटसम्म पाँच लाख रहेकोमा दस मेगावाटसम्म सात लाख, दस मेगावाटभन्दा माथि पच्चीस मेगावाटसम्म दस लाख रुपियाँ, पच्चीस मेगावाटभन्दा माथि एक सय मेगावाटसम्मको दस्तुर तीस लाख रुपियाँ पुर्‍याइएको छ । एक सय मेगावाटभन्दा माथि पाँच सय मेगावाटसम्म प्रतिवर्ष १० लाख रुपियाँ रहेकोमा ४० लाख तथा पाँच सय मेगावाटभन्दा माथि एक हजार मेगावाटसम्मका लागि २५ लाख र एक हजार मेगावाटभन्दा माथिको एकमुष्ट ५० लाख रुपियाँ रहेकोमा पाँच सय मेगावाटभन्दा माथिको ५० लाख रुपियाँ पुर्‍याइएको छ ।
नेपाली प्रवद्र्धकलाई ढाड सेक्ने गरी बढाइएको अनुमतिपत्र दस्तुर गलत भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का महासचिव कुमार पाण्डेले बताए । ‘आयोजनाहरू किन बनेन भनेर विश्लेषण गरिएन, नबन्नुमा सरकार बाधक छ तर ढाड सेक्ने गरी दस्तुर बढाएर सरकारले प्रतिगामी काम गर्‍यो,’ उनले भने, ‘एक मेगावाटको लाइसेन्स नेपाली प्रवद्र्धकले १० लाख रुपियाँ तिरेर लिनसक्ने अवस्था छैन, अब नेपालीको हातबाट लाइसेन्स हिँड्यो ।’ पाण्डेका अनुसार वातावरणीय अध्ययन, नवीकरणमा लाग्ने ढिलाइ, सुरक्षाको अभावलगायत सरकारी लेन्दी प्रक्रिया समयमै आयोजना बनाउन सकिएको छैन । एक्कासी शुल्क बढाउँदा विदेशी लगानीकर्तालाई समेत नराम्रो असर परेको निजी लगानीकर्ताको ठहर छ । उनीहरूका अनुसार विदेशी कम्पनीले समेत नेपालमा जलविद्युत्को नीतिमा निरन्तरता नहुने तथा स्थायित्वको अभाव शुल्क वृद्धिको कारणले गर्नेछन् र उनीहरूमा समेत निराशा बढ्नेछ । स्वदेशी लगानीकर्ताले विद्युत् आयोजना बनाउँदा स्वदेशमै पुँजी परिचालन हुने र रकमसमेत नबिदेसिएर पुन: जलविद्युत्मै लगानी गर्ने भएकाले नेपाली प्रवद्र्धकलाई दस्तुर बढाउनु गलत भएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् । ‘खिम्ती र भोटेकोसी आयोजना बनाएपछि विदेशी लगानीकर्ताले पुन: नेपालमा आयोजना बनाएनन् तर स्वदेशी लगानीकर्ताले एउटा आयोजना बनाएपछि पुन: देशमै बनाइरहेका छन्, शुल्क वृद्धिले नेपाली लगानीकर्ता निरुत्साही बनेका छन्,’ महासचिव पाण्डेले भने ।
साना जलविद्युत् आयोजनाका प्रवद्र्धकहरू त सरकारी निर्णयबाट झन आक्रोशित बनेका छन् । ‘शुल्क वृद्धिको निर्णय नेपालीलाई शोषण गर्ने र विदेशीलाई पोस्ने तथा ठूलाका लागि साना प्रवद्र्धकलाई हत्या गर्ने सरकारको गलत कदम हो,’ साना जलविद्युत् विकास संघ नेपालका अध्यक्ष हरि वैरागी दाहालले भने– ‘नेपालीविरुद्ध भएको यो षड्यन्त्रविरुद्ध सशक्त आवाज उठाउँछौँ र आन्दोलन गछौँ ।’
ऊर्जा मन्त्रालय स्रोतले भने खोलामा झोला राख्ने प्रवृत्ति बढेको र त्यसका कारणले लोडसेडिङ बढेको भन्दै जलविद्युत् अनुमतिपत्रको दस्तुरमा भारी वृद्धि गरेको जनाएको छ । ‘लाइसेन्सको किनबेच बढेको र १६ हजार मेगावाटभन्दा बढीको अनुमतिपत्र लिएर पनि थोरै उत्पादन मात्र गरेकाले त्यो रोक्नका लागि वृद्धि गरिएको हो,’ एक अधिकारीले भने । तर, निजी प्रवद्र्धक भने २७ हजार मेगावाट बराबरका आयोजना सरकारसँग भएर पनि उत्पादन थोरै हुनुको कारणबारे विश्लेषण हुनुपर्ने बताउँछन् । आयोजना अनुगमनमा फितलोपन र सरकारी निकायमा समन्वयको अभावमा विभिन्न बाधाअवरोध पन्छाउन नसकेकोलगायत कारणले सरकारले नै उचित वातावरण बनाउन नसकेका बेला शुल्क वृद्धिबारे ऊर्जा मन्त्रालयका कतिपय अधिकारी नै असन्तुष्ट छन् । ‘शुल्क वृद्धि गर्दैमा विद्युत् उत्पादन बढ्छ भन्नु गलत हो, विदेशी आएर नेपालमा धेरै आयोजना बनाउँछन् भन्नु पनि गलत हो, पहिला वातावरण बनाइदिनुपर्छ,’ ऊर्जाका एक अधिकारीले भने, ‘नियममा कडाइ गर्नुपर्छ तर शुल्क वृद्धि गर्दैमा सबै निजी क्षेत्रले बनाइहाल्छन्, नत्र विदेशी आइहाल्छन् भनेर भन्नु गलत हुन्छ ।’
शक्ति, पहुँच र आर्थिक प्रलोभनका आधारमा ऊर्जा मन्त्रालय आपैँmले खारेज गरेको माथिल्लो त्रिशुली–३ ‘ए’ को लाइसेन्स पुन: त्यही कम्पनीलाई दिएको तथा साना जलविद्युत् आयोजनाको करोडौँ रुपियाँ खेर गएको विगतको पाठअनुसार भारी शुल्क वृद्धि गरेर नेपाली प्रवद्र्धकभन्दा विदेशी प्रवद्र्धकलाई भित्र्याउँदा कमिसन पाइने हुनाले एकैपटक ५० गुणासम्म बढाएको आरोप निजी प्रवद्र्धकको छ । ‘जलविद्युत्मा लगानीमैत्री बनाउनुपर्नेमा झन् नियन्त्रणमुखी र जलविद्युत्बाट स्वदेशी लगानीकर्ता भगाउने नीति पो ल्यायो,’ एक निजी प्रवद्र्धकले आक्रोश पोखे ।

Tuesday, October 2, 2012

ट्रान्सफर्मर प्रकरण वर्कसपदेखि प्रम ढोकासम्म

२०६९ साल भदौ १४ गते बिहान १० बजे सौर्य दैनिकमा बसिरहेको बेला बाहिर तामा र भित्री आल्मुनियम भएको ट्रान्सफर्मर भेटिएको खबर आयो । त्यसपछि हत्तारिदै नेपाल विद्युत प्राधिकरणको लैनचौरस्थित वर्कसप पुग्दा त्यसको परीक्षण भईरहेको रहेछ । बाहिर र भित्र दुवै तामा हुनुपर्नेमा भित्र भने आल्मुनियम रहेछ । वर्कसपमा पत्रकार पुगेपछि प्राधिकरणबाट गएका प्रतिनिधीदेखि त्यहाँकी प्रमुख नरेन्द्रश्वरी श्रेष्ठसम्म अचम्ममा परे । कसले पत्रकार बोलायो, बाहिर निकाल भन्न समेत उनीहरूले भ्याए तर उनीहरूको बाहिर निस्कने धम्कीले डराउने अवस्था थिएन । परीक्षणका लागि लगेका तीन ट्रान्सफर्मर परीक्षणपछि सुटुक्क फर्काउने र हल्ला नगर्ने योजना उनीहरूको रहेछ । उनीहरूले प्राधिकरण केन्द्रीय कार्यालयले सबै कुरा मिलाउने बताउँदै समाचार नलेख्न पनि भने, सुरुमा गाल पर्ने भन्दै नरेन्द्रश्वरी आफँै पनि डराईरहेकी थिइन । उनलाई परीक्षण गर्दा जे देखियो, त्यही कुरा बताउनु भन्दा पनि बताइनन् र पन्छिईन तैपनि परीक्षण भईरहेकोले मैले त्यसबारे सोधेँ र पत्रकार हो भन्ने थाहा पाएपछि बताउन चाहिनन् । बारम्बार सोधिरहेपछि त्यहाँ रहेका प्राविधिकहरूले भने स्पष्ट पारे । सिन्धुपाल्चोकमा बिग्रेर ल्याएका ट्रान्सफर्मरमा समस्या देखिएपछि नयाँ तीन ट्रान्सफर्मर परीक्षणका लागि लगिएको रहेछ । सिन्धुपाल्चोकको जस्तै नयाँ ट्रान्सफर्मरहरूमा पनि बाहिर तामा र भित्र आल्मुनियमको उही बदमासी भेटियो । पछि त्यहाँ नेपाल टेलिभिजनबाट प्रशारित उर्जा कार्यक्रमकी पत्रकार धना ढकालको टोली पनि पुग्यो । तीन नयाँ ट्रान्सफर्मर परीक्षणपछि पुन: फर्काउने र यसलाई ढाकछोप गर्ने उनीहरूको प्रयास सफल भएन । नयाँ ट्रान्सफर्मर परीक्षणका लागि आएका प्राधिकरणका काठमाडौं उपत्यका सुदृढीकरण आयोजनाका प्रमुख मनोज बराललगायतको टोली बीचमै तीन ट्रान्सफर्मरलाई छाडेर भागे । चीनको हुवेई कम्पनीबाट ल्याइएका ती गुणस्तरहीन ट्रान्सफर्मको यथार्थता थाहा पाइयो । भोलिपल्ट तस्विरसहित सौर्य दैनिकमा समाचार सार्वजनिक गरेपछि गुणस्तरहीन ट्रान्सफर्मरको छानबिन र नयाँ नयाँ तथ्य सार्वजनिक हुँदै जान थाले ।
हुनत २०६७ साल पुस २२ गते प्राधिकरण तत्कालीन सञ्चालक सदस्य मुकेशराज काÏलेको संयोजकत्वमा रहेको समितिले ट्रान्सफर्मरहरू गुणस्तरहीन रहेको प्रतिवेदन दिँदै सुधारको निर्देशन दियो । त्यसपछि २०६८ साल चैत्र २५ गते प्राधिकरण सञ्चालक सदस्य डा. केपी दुलालको संयोजकत्वमा ट्रान्सफर्मरबारे छानबिन बनेको समितिले २०६४ सालपछि ल्याइएका ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो । त्यो प्रतिवेदनपछि पनि थप छानबिनका लागि प्राधिकरणका ग्राहक तथा वितरण शाखा पूर्वका महाप्रबन्धक चिरञ्जीवि शर्माको संयोजकत्वमा रहेको समितिले पनि प्रतिवेदन दिएको थियो । त्यसपछि पनि प्राधिकरण सञ्चालक मोहनराज पन्तको संयोजकत्वमा रहेको उपसमितिले गुणस्तरहीन ट्रान्सफर्मरमा संलग्नहरूको छानबिन गरिरहेको थियो । काÏले र दुलालको प्रतिवेदन नेपाली ट्रान्सफर्मर कम्पनी निकलाई फाइदा गर्ने गरी आएको आरोप लागिरहेको थियो । पन्त प्रतिवेदन तयारी पनि सुस्त गतिमा थियो तर लैनचौरको गुणस्तरहीन ट्रान्सफर्मरबारे समाचार सार्वजनिक भएपछि गुणस्तरहीन ट्रान्सफर्मरका धेरै पाटा र रहस्यहरू सार्वजनिक हुँदै गयो । त्यसले काÏले र दुलाल प्रतिवेदनमाथि ‘निक’ जोडेर लाग्ने आरोपहरू मात्र पखालिएन, पन्त प्रतिवेदन चाँडै ल्याउन पनि दबाब पर्‍यो । हुन त काÏले र दुलाल प्रतिवेदनका बारेमा समाचार त आएका थिए तर त्यसपछि त्यसको ‘फलोअप’ नहुँदा प्राधिकरणलाई अर्बांै घाटा पुर्‍याईरहेको गुणस्तरहीन ट्रान्सफर्मर प्रकरण छायाँमा परेको थियो । भदौ १५ गतेदेखि असोज १५ गतेसम्म आईपुग्दा गुणस्तरहीन ट्रान्सफर्मरका समाचार सौर्य दैनिकमा मात्र २० को हाराहारीमा आए । लैनचौरको वर्कसपबाट पत्रकार निकालेदेखि बारम्बार ट्रान्सफर्मरको समाचार लेखिरहँदा ट्रान्सफर्मर प्रकरणले साँच्चिकै ठूलो सनसनी र खैल्लाबैल्ला मच्चायो । प्राधिकरणमा ट्रान्सफर्मर प्रकरणले अरू सबै मुद्दा छायाँमा परे, अझै पनि प्राधिकरणमा यसकै चर्चा, परिचर्चा चलेको छ ।
पन्त प्रतिवेदनबाट वर्तमान कायममुकायम महेन्द्रलाल श्रेष्ठदेखि प्राधिकरणका पूर्व चार प्रमुख, दुई महाप्रबन्धक, वर्तमान तीन महाप्रबन्धक, कर्मचारीसम्म गरी झण्डै ३३ भन्दा बढी कर्मचारी मुछिए । श्रेष्ठले सफाई पाए पनि अन्य कर्मचारीसँग स्पष्टीकरण सोधेर प्रक्रिया अघि बढेको छ । ट्रान्सफर्मर प्रकरण सार्वजनिकसँगै छानबिनमा नपरेका ट्रान्सफर्मरदेखि वारेण्टी पेरियड छल्नका लागि नयाँ ट्रान्सफर्मरहरू नै लुकाइने प्रवृत्तिको पनि उजागर भयो । सबैभन्दा ठूलो कुरा त लुकाइएको र लुकाउन खोजिएको प्राधिकरणको गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणका धेरै कुरा सार्वजनिक भए । चीनको हुवेई र जेके होल्डिङ्का प्रतिनीधिहरू त दुई हजार ट्रान्सफर्मरहरू प्रतिस्थापन गरिदिन्छु भन्दै काठमाडौंसम्म आईपुगेर प्रतिवद्धता जनाए । उनीहरूले आÏनो बदमासी स्विकारे । गुणस्तरहीन ट्रान्सफर्मरमा मुछिएकाहरू आफूलाई बचाउनका लागि प्रधानमन्त्रीका ढोका ढक्ढकाउन समेत पुगे । दबाब, प्रभाव र आत्मविश्वासको कमीले प्राधिकरण सञ्चालकहरू नै ट्रान्सफर्मर प्रकरणमा बिभाजित भएका तथ्यहरू सार्वजनिक भए । परीक्षणका लागि भनेर जाने विदेशलाई घुमफिरको माध्यम बनाउने प्राधिकरणका कर्मचारीको विगत अवस्थालाई पनि यसले गम्भीर पाठ सिकायो । गुणस्तरहीन ट्रान्सफर्मर भएकोले संलग्न सबैमाथि कारबाही हुनुपर्छ भन्नेमा दुई मत कसैको छैन तर प्राधिकरण सञ्चालकले गर्न नसक्ने हो कि भन्ने संकेतहरू बढ्दै गएका छन् । अब, धेरैको प्रतिक्षा अख्तियारतिर छ । अख्तियारले पनि चासो नदिए अनियमितता र बदमासी गरिएका धेरै प्राधिकरणका मुद्दाहरूको चेपुवाले प्राधिकरण नराम्ररी थलिनेछ ।
काÏलेको प्रतिवेदन किन कार्यान्वयन गरिएन ? यस प्रश्नका उत्तरहरू अझैसम्म प्राधिकरणबाट आएको छैन तर उनको प्रतिवेदन कार्यान्वयन गरिएको भए प्राधिकरणभित्र यत्रो आगो सल्कने थिएन र बहालवाला ३० जति कर्मचारीहरू दोषीको लिस्टमा पर्नेे थिएनन् । एक दिन त अवश्य पनि गुणस्तरहीन ट्रान्सफर्मर प्रकरण सार्वजनिक हुने नै थियो । यसपटक पटक छताछुल्ल भएर भविष्यलाई धेरै सचेत गरायो । अख्तियारले २०६६ सालमा एसभीआरमार्फत ल्याएका ट्रान्सफर्मरहरू गुणस्तरहीन भएको उजुरीबारे तत्कालीन प्राधिकरणले हितेन्द्रदेव शाक्यको संयोजकत्वमा गठन गरेको समितिले सबै गुणस्तरयुक्त भएको बताएको थियो तर दुुलाल प्रतिवेदनले २०६४ सालपछिका सबै गुणस्तरहीन भएको प्रतिवेदन दियो, कसको ठीक भनेर त तर्क वितर्क मात्रै होला तर दुलालको प्रतिवेदनले पनि प्राधिकरणलाई भएको, भईरहेको र हुने अर्बांै घाटाबाट मुक्त गर्न बाटो खोलिदियो । पन्त प्रतिवेदनले पनि वर्तमान कामु निर्देशकदेखि धेरै कर्मचारीको संलग्नताको सार्वजनिक गर्‍यो । पन्त प्रतिवेदनलाई धेरै अपुरो र अस्पष्ट भएको आरोप पनि लागेको छ तर उनको नेतृत्वमा रहेको उपसमितिको हिम्मतलाई मान्नुपर्छ । दुलाल र पन्त दुवैको प्रतिवेदनले गुणस्तरहीन ट्रान्सफर्मरहरूको कारणले विगतमा प्राधिकरणले कति घाटा बेहोर्‍यो र भविष्यमा कति बेहोर्छ, ट्रान्सफर्मरमा के के प्रक्रियागत त्रुटीहरू भए र कुन ट्रान्सफर्मरमा को को, के कारणले संलग्न छन् भनेर स्पष्ट दिएको भए, अझ कारबाही प्रक्रिया अघि बढाउन सहयोग पुग्थ्यो । तैपनि चुहावट, मर्मत सम्भारलगायत कारणले ऋणमा थलिएको र बर्षांैदेखिको अनियमितता ढाकछोप भईरहेका बेला प्राधिकरणका यस्ता प्रकरण सार्वजनिक गरेर काÏले, दुलाल र पन्त प्रतिवेदनले प्राधिकरणभित्र स्याबासी बटुलेका छन् । उनीहरू धन्यवादका पात्र पनि बनेका छन् । अझ, विशेष धन्यवादको पात्र बन्न निर्दोषलाई मुक्ति र वास्तविक दोषीलाई कारबाहीको भागी बनाउन कुनै आग्रह, पुर्वाग्रहबिना उनीहरूको सक्रियता जरुरी हुन्छ । कसैको प्रभाव, दबाबको पछि नलागी प्राधिकरणको हक, हितको पछाडी लाग्नु वा सत्यताको बाटो रोज्ने बेला उनीहरूमा आएको छ । पक्ष/विपक्ष, आÏनो/अर्को भन्नेतर्फ र गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा एक नभई बिभाजित हुनु भनेको आÏनो प्रतिवेदनको अपमान हो भन्नेमा उनीहरूले बिर्सन हुँदैन । प्राधिकरणभित्रका सबै संघसंस्था र व्यक्तिहरू पनि यसमा बिभाजन नभई सत्यको पक्षमा उभिनुपर्छ । नत्र, गुणस्तरहीन ट्रान्सफर्मर प्रकरण सेलाएर प्राधिकरणभित्र अनियमितता, अस्थिरता, बदमासी र गलत परम्पराले निरन्तरता पाइरहनेछ । प्राधिकरण अनियमितता गर्ने र लुट्नेहरूको लागि सबैभन्दा उपयुक्त संस्थान हो भन्ने मान्यता सँधै र सबैका लागि स्थापित भइरहनेछ ।

बिजुली बाल्ने बेलामा शिलान्याश

मंगलटार (काभ्रे), १७ असोज । गाउँमा विद्युत् बाल्नका लागि आयोजना सुरु भएका आधारमा दुई वर्षदेखि नै गाउँ बिजुलीले झिलीमिलि हुनुपर्ने थियो । अझ ठेकेदारसँग भएको सम्झौताको आधारमा पनि गत जेठमै काभ्रेको मंगलटार गाविसको घरघरमा बिजुली बल्नुपर्ने हो । तर, बिजुली बाल्नेमा बेलामा बल्ल ग्रामीण विद्युतीकरण निर्माणको शिलान्याश भएको छ ।
०६६ मा नेपाल विद्युत् प्राधिकरणको सहयोगमा मंगलटार गाविसबासीलाई केन्द्रीय प्रसारणमार्फत बिजुली बाल्नका लागि आयोजना सुरु भएको थियो । तर, प्राधिकरणको ढिलासुस्तीका कारणले मंगलबार आयोजना शिलान्याश भएको हो । उनीहरूले भूमेचुली मंगलटार विद्युत् सहकारी संस्था लिमिटेड गठन गरेर ०६६ सालदेखि नै ग्रामीण विद्युतीकरण सुरु गरेका थिए । ‘आयोजना त ०६६ सालदेखि नै सुरु भएको हो, पहिला ठेक्कामा ढिलाइ भयो, पछि ठेकेदारसँग सम्झौता भएपछि पोललगायतमा ढिलाइ भयो,’ सहकारीका अध्यक्ष इन्द्रकुमार श्रेष्ठले भने, ‘बिजुली बाल्ने बेलामा शिलान्याश भएको छ, अब बल्ला भन्ने आशा छ ।’ विद्युतीकरणको पोल गाडेर स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्की र प्राधिकरण काठमाडौं क्षेत्रीय कार्यालयका निर्देशक जुजुभाइ रञ्जितले शिलान्याश गरेका हुन् ।
२३ जुन ०११ म एक वर्षभित्र आयोजना निर्माण पूरा गर्नेगरी रेणु निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो । प्राधिकरणले सामान उपलब्ध गराउनुपर्ने भए पनि एक महिनाअघि मात्र काठको पोल उपलब्ध गराएको र फलामे पोल, ट्रान्सफर्मर, तारलगायत सामान अझै उपलब्ध गराउन बाँकी रहेको प्रालिले जनाएको छ । ‘एक महिनाअघि मात्र हामीले पोल पायौँ, फलामे पोल पाउन बाँकी छन्, सबै सामान प्राधिकरणले उपलब्ध गराइदिए, आगामी चैतभित्र निर्माण पूरा गरिदिन्छौँ,’ रेणु सेवाका प्रतिनिधि राजुकुमार श्रेष्ठले भने । स्थानीयबासीले प्राधिकरणलाई ढिलासुस्ती नगरी तुरुन्तै सबै प्रक्रिया अघि बढाएर सर्वसाधारणको आकांक्षाअनुसार छिटो बिजुली बालिदिन आग्रह गरेका छन् ।
छिमेकी गाविसमा बत्ती बलेको हेरेर चित्त बुझाउने मंगलटार क्षेत्रका बासिन्दाले तीन वर्षअघि नै बिजुली बलिसक्ने आशा गरेका थिए तर तीन वर्षसम्म पोल गाडेको समेत देख्न नपाएपछि निराश बनेका थिए । शिलान्याशले उनीहरूमा झिनो आशा जगाएको छ । ‘चाँडै बिजुली बल्ला भन्ने आशा निराशामा परिणत भएको थियो, शिलान्याश भएपछि बल्लाकि भन्ने आशा छ, प्राधिकरणका प्रतिनिधिले समेत बालिदिने भनी गरेको प्रतिबद्धताले खुसी छाँै,’ स्थानीय समाजसेवी बज्रध्वज लामाले भने । बिपी राजमार्गबाट धेरै वर्ष पहिले मोटरबाटो पुगेको र सञ्चार सुविधाका कारण धेरैले मोबाइल चलाउने गरे पनि बिजुली नहुँदा यहाँका बासिन्दालाई समस्या परेको छ । ‘मोटरबाटोसँगै बिजुली पनि पुगेको भए गाउँको धेरै विकास भइसक्थ्यो तर अझै ढिलाइ भइरहेको छ, अब प्राधिकरणले ढिलो गर्नुहुन्न,’ स्थानीय मंगल जनविजय मावि व्यवस्थापन समितिका अध्यक्ष शंखबुद्ध लामाले भने ।
पाँच सय ११ वटा काठेपोल उपलब्ध गराइसकेको प्राधिकरणले दुई सय ३५ वटा फलामे पोल, ट्रान्सफर्मर, तारलगायत उपलब्ध गराउन बाँकी छ । फलामे पोलको त टेन्डरसमेत भइनसकेको प्राधिकरणले जनाएको छ । ‘टेन्डर प्रक्रियामा ढिलाइ, पोल अभावले आयोजना निर्माणमा केही ढिलाइ भएको हो, अब छिट्टै प्राधिकरणले पहल गर्छ, समयमै बनाउन प्राधिकरण प्रतिबद्ध छ,’ प्राधिकरणका क्षेत्रीय निर्देशक रञ्जितले भने, ‘यो मेरो विद्युतको पहिलो शिलान्याश हो, मैले आयोजनामा सबै किसिमको सहयोग गर्छु र कुनै समस्या आएमा समाधानका लागि तत्पर छु ।’
मंगलटार गाविसका सात सय ५० घरधुरी लाभान्वित हुने ग्रामीण विद्युतीकरणका लागि करिब एक करोड ९१ लाख ६२ हजार रुपियाँ खर्चको अनुमान गरिएको छ । त्यसमध्ये ३८ लाख स्थानीयले श्रमदान गर्नुपर्छ । उनीहरूले आयोजना अघि बढाउनका लागि ग्रामीण सामुदायिक विद्युत् उपभोक्ता महासंघबाट १३ लाख ४७ हजार ऋणसमेत लिएका छन् । आयोजनामा ढिलाइ भएकाले ऋणको ब्याज तिर्नुपर्दा स्थानीयले थप व्ययभारसमेत बेहोर्नु परेको छ । ‘प्राधिकरणले तत्काल टेन्डर आह्वान नगर्ने, आवश्यक सामान तत्काल उपलब्ध नराउने हो भने ऋणको ब्याजले त डुब्छौँ नै, विद्युत् बाल्ने सपना पनि टाढिन्छ,’ एक स्थानीयले गुनासो पोखे, ‘सरकारी निकायजस्तो ढिलासुस्ती प्राधिकरणमा देखियो, समुदाय ताते पनि प्राधिकरण कम तातेको हो किजस्तो देखिएको छ ।’