Tuesday, November 7, 2017

रेलमार्गका लागि स्थलगत अध्ययन गर्दै चिनियाँ टोली

    भीम गौतम   http://www.karobardaily.com/news/83161 0 + -

नेपालमा रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्न आएको चिनियाँ टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । काठमाडौं आइपुगेको उपमन्त्री झेङ जिङ नेतृत्वको नेशनल रेलवे एडमिनिस्ट्रेसनको २३ सदस्यीय टोलीले मंगलबारदेखि स्थलगत अध्ययन सुरु गरेको हो । 
जिङ र रेल विभागका प्रतिनिधिहरूको टोलीले रसुवागढीदेखि अध्ययन सुरु गरेको विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए । “चिनियाँ र नेपाली टोलीले रसुवागढीबाट अध्ययन सुरु गरेको छ, टोली बुधबार पोखरा र त्यसपछि लुम्बिनीमा समेत जान लागेको छ,” उनले भने । 
केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्न आएको टोलीले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधिसँग छलफल गरेको थियो । छलफलका क्रममा चिनियाँ पक्षले प्रस्तावित रेलमार्गको आर्थिक र प्राविधिक पक्षबारे जानकारी गराएको थियो भने विभागले नेपालमा रेलमार्ग निर्माणको योजना र भविष्यबारे चिनियाँ पक्षलाई जानकारी दिएको थियो । 
चीनको गन्सुबाट ल्हासा, तिनग्री, सिगात्सेदेखि नेपालको रसुवा हुँदै काठमाडौं–लुम्बिनी जोड्ने गरी रेलमार्ग बनाउन दुई देश सहमत भएपछि अहिले चिनियाँ पक्ष अध्ययन अघि बढाएको छ । सगरमाथाको उत्तरी मोहडाको करिब पाँच हजार मिटर उचाइमा पर्ने स्थानमा सुरुङ खनेर सो रेलमार्गलाई हिमाल वारपार गराउने योजना छ । यो सम्भव भएमा उक्त रेलमार्ग संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने ठूलो उचाइको रेलमार्ग हुनेछ । 
चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (ओबार) अन्तर्गत निर्माण अघि बढाउन लागिएको उक्त मार्गको विस्तृत अध्ययनका लागि नेपालले चिनियाँ अधिकारीहरूलाई अनुरोध गरिसकेको छ । केही महिनाअघि भएको तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको भारत भ्रमणका बेलामा पनि चिनियाँ प्रधानमन्त्रीसँग यसबारे छलफल भएको थियो । महराले यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि चिनियाँ अधिकारीहरूलाई आग्रह गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच रेलमार्गसहित यातायात र पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो ।
चीनले सन् २०२० सम्ममा नेपालको सीमासम्म उक्त रेलमार्ग जोड्ने लक्ष्य लिएको छ । त्यसपछि नेपालतर्फको रेलमार्ग निर्माणको काम अघि बढ्नेछ । अहिले नेपाल आएको चिनियाँ टोलीले प्राविधिक रुपमा अध्ययन सम्पन्न गरेपछि दुई देशको सहमतिमा डीपीआरलगायत कार्य अघि बढाउने लक्ष्य छ ।
 

No comments: