Wednesday, May 29, 2019

बजेटमा स्रोत व्यवस्थापनमै हम्मे

बुधवार, जेठ १५, २०७६
सरकारले बुधबार (आज) आर्थिक वर्ष २०७६-०७७ को बजेट सार्वजनिक गर्दैछ । दुईतिहाईको स्थिर सरकार गठनपछि दोस्रोपटक बजेट सार्वजनिक गर्न लागिएको हो । पहिलोपटकको बजेटको कार्यान्वयन निराशाजनक रहेको तथ्यांकले देखाएको बेला आउने लागेको दोस्रो बजेट अर्थतन्त्रका लागि सुधारवादी हुने अपेक्षा गरिएको छ । तर आर्थिक वर्ष २०७५-०७६ को राजस्व संकलन, स्रोत व्यवस्थापन र खर्चमा सन्तोषजनक नभएपछि स्रोत व्यवस्थापनमा समेत हम्मे देखिएको छ । 
सरकारको आर्थिक वृद्धिदरको लक्ष्य, सार्वजनिक गरेको नीति तथा कार्यक्रमका साथै यसमा समावेश योजनाहरू तथा प्राथमिकताहरूको आधारलाई हेर्दा करिब २५ खर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । तर, स्रोत व्यवस्थापनको बाँडफाँड गर्न अवस्थालाई विश्लेषण गर्दा करिब १६ खर्ब बराबरको बजेट आउने देखिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा मंगलबार बसेको स्रोत समितिको बैठकले बजेटको सिलिङ १५ खर्ब ७७ अर्ब रुपैयाँ पु-याएको छ । यसअघि १४ खर्ब ९३ अर्ब सिलिङ प्रस्ताव गरेको थियो । सिलिङअनुसार बजेट व्यवस्थापनका लागि समेत समस्या देखिएको छ ।
आगामी वर्षमा सरकारले ५ सयदेखि १ हजार रुपैयाँसम्म भत्ता बढाउने तयारी गरेको छ । १ हजार बढाएमा यसले १६ अर्ब बराबरको थप भार पर्छ । त्यसैगरी बढाउने कर्मचारीको २० देखि २५ प्रतिशत तलब भत्ता बढाउने तयारी सरकारले गरेको छ । यसले २० प्रतिशत वृद्धिले मात्र २४ अर्ब बराबरको थप भार पर्नेछ । चालू वर्षमा तलबमा मात्र १ खर्ब १७ अर्ब बराबरको खर्च हुनेछ भने सात किसिमका भत्तामा मात्र १ खर्ब १३ अर्ब खर्च हुनेछ । सांसदहरूलाई स्थानीय निर्वाचन कार्यक्रम अन्तर्गत हाल ४ करोड रहेकोमा यसलाई ५ करोड बनाउने माग उनीहरूको छ, तर सरकारले ५ करोड बनाउने तयारी छ । ५ करोड दिने निर्णयमा यसवापत झण्डै ८० अर्बभन्दा बढी बजेट आवश्यक छ । १० करोड पु-याएमा भने यसको भार १ खर्ब ६० अर्ब पुग्नेछ । पहिलो वर्ष आर्थिक समृद्धिका लागि आधार वर्ष भनेकोले सरकारले यस वर्ष ठूलो आयोजनाहरूको लागि समेत बजेट छुट्याउने अवस्था छ । यसको अलावा प्रदेश र स्थानीय तहमा समेत बजेट आवश्यक छ । १४ खर्ब ९३ अर्बको सिलिङमा स्थानीय तहलाई ८९ अर्ब ९४ करोड तथा प्रदेशका लागि ५५ अर्ब २९ करोड बराबरको वित्तीय समानीकरणमात्र प्रस्ताव गरिएको छ । सिलिङ बढेपछिको यो पनि बढ्नेछ । 
वितरणमुखी बजेट बनाउन लागेको अर्थ मन्त्रालयसँग करिब १५ खर्ब बराबरको मात्र स्रोत व्यवस्थापन हुन सक्ने देखिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलगायतका वितरणमुखी कार्यक्रममा पनि सरकारले थप रकम विनियोजन गर्न लागेको छ । चालू वर्षमा ९ खर्ब ४५ अर्बको राजस्व संकलनलाई अर्थ मन्त्रालयले मध्यवधि समीक्षामा घटाएर ८ सय ३१ अर्ब बनाएको छ । तर, हालसम्म ५ खर्ब ८५ अर्ब बराबर मात्र संकलन भएको छ । वैदेशिक सहायतातर्फ हेर्ने हो भने पनि गत फागुनसम्ममा साढे १३ अर्ब अनुदान र ९३ अर्ब ६९ करोडको ऋण प्रतिवद्धता पाएकोले आगामी वर्षका लागि धेरै बढाउन सकिने अवस्था छैन । चालू वर्षमै राजस्व संकलन कमजोर देखिएपछि स्रोत व्यवस्थापनका लागि अधिकतम बढाउँदा मात्र पनि १० खर्ब भन्दा बढीको राजस्व संकलनको लक्ष्य आगामी वर्षका लागि राख्न नसकिने अवस्था देखिएको अर्थशास्त्रीहरू बताउँछन् । त्यसैगरी चालू वर्षको विश्लेषण गर्दा ७५ अर्ब अनुदान तथा २ खर्ब ५० अर्बको ऋण लिन सक्ने अवस्था छ । त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको आन्तरिक ऋणको सीमाको आधारमा १ खर्ब ८० अर्बबराबर मात्र उठाउन सक्ने छ । चालू वर्षको आन्तरिक ऋणको बचत लगायतबाट समेत गरी साढे १५ खर्ब बराबरको स्रोत मात्र व्यवस्थापन गर्न सक्ने अवस्थामा सरकार छ ।

Tuesday, May 28, 2019

हेटौंडा–भरतपुर प्रसारणलाइन ठेक्का तोडेर १६ लाख डलर जरिवाना



मंगलबार, जेठ १४, २०७६
नेपाल विद्युत् प्राधिकरणले हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेर ठेकेदार कम्पनीलाई १६ लाख डलर जरिवाना गरेको छ । 
कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन जमानतवापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर जफत गर्नुका साथै ढिला काम गरेवापत करिब १६ लाख डलर बिलम्व जरिवाना लगाउने निर्णय गरेको हो । प्राधिकरणले यसअघि आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड (सिसीपीजी)सँगको ठेक्का तोडेको थियो । प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसीपीजीलाई कालोसूचीमा राख्ने निर्णय गरिसकेको छ । 
ठेक्का तोडेपछि कार्यकारी निर्देशक कुलमान घिसिङ, दातृ निकाय विश्व बैंकका नेपाल कार्यालयका देसीय प्रबन्धक फारिस हढाढ जर्भोससहितको टोलीले आइतबार र सोमबार मकवानपुरको हेटौंडामा पर्ने आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन् । कार्यकारी निर्देशक घिसिङले कम्पनीले निर्माण कार्य ठप्प पारी सम्झौता उल्लंघन गरेकाले ठेक्का तोडिएको जानकारी दिए ।
“साइटमा काम गर्न कुनै समस्या छैन, काममा सुधार गर्न पटक–पटक निर्देशन दियौं, तर ठेकेदार कम्पनीले हामीले दिएको निर्देशन पालना नगर्ने, गल्ती नसुधार्ने, निर्माणस्थल छोडेर कामलाई अलपत्र पार्ने काम गरेपछि ठेक्का तोडिएको हो,” उनले भने, “हामीले गरेको पत्राचारको कुनै जवाफ नदिनेलगायतका क्रियाकलाप गरी सम्झौता उल्लंघन गरयो, कम्पनीको काम सुरुबाटै सन्तोषजनक थिएन, त्यसैले ठेक्का तोडिएको हो ।” उनका अनुसार, नयाँ ठेक्कापट्टको प्रक्रिया अन्तिम चरणमा रहेकाले छिट्टै टेन्डर आह्वान हुन्छ ।
प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौंडा–भरतपुर २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माणका लागि २०६५ साल फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र १९ करोड ७३ लाख १५ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । यस खण्डमा पर्ने २२६ टावरमध्ये १६८ को जग हालिएको छ भने ११९ वटा खडा गरिएको छ । १२ किलोमिटर मात्रै तार तानिएको छ । 
आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट निर्माणका लागि नयाँ टेण्डर गरी चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । यो खण्डमा पर्ने २४६ टारमध्ये १३७ को जग हालिएको, १०१ खडा गरिएको छ । तार भने तानिएको छैन । निर्माण २०७६ को माघभित्रमा सक्ने लक्ष्य राखिएको छ । 
कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीका आयोजना प्रमुखसँग छलफल गरी तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिए । प्राधिकरणकातर्फबाट गर्नुपर्ने रुख कटान तथा निजी जग्गा प्राप्तिको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै उनले महत्वपूर्ण यस आयोजनाको कामलाई तिब्रता दिन श्रमिकको संख्या थप्न निर्देशन दिए । 
नेपालभित्रको प्रसारणलाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौंडा–भरतपुर–बर्दघाट प्रसारणलाइनको निर्माण गर्न लागिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण कर्जामा आयोजनाको निर्माण भइरहेको छ ।

पत्याएनन् विकास साझेदारले

https://www.karobardaily.com/news/development/19901
मंगलबार, जेठ १४, २०७६
अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थतन्त्रका सूचकांकहरू सकारात्मक रहेको दावी गरिरहँदा आर्थिक विकासको बलियो आधार मानिएको वैदेशिक ऋण तथा सहायताको अंश भने घट्दै गएको देखिएको छ । विकास साझेदारहरूलाई विश्वासमा लिन नसकिए यसबाट आगामी आर्थिक वर्षको स्रोत व्यवस्थापनसमेत थप कठिन हुने देखिएको छ । नेपालको आफ्नै आन्तरिक स्रोतले बजेट खर्च धान्न धौ–धौ पर्दै गइरहेको छ । अघिल्ला आर्थिक वर्षहरूमा वैदेशिक ऋण तथा सहायताको अंश बढी हुने गरे पनि दुईतिहाइको सरकारमाथि विकास खर्च गर्न नसकेको आरोप छँदैछ, त्यसमाथि विकास साझेदारहरूले पनि पत्याउन छाडेको अवस्थामा नेपालको २०३० सम्म मध्यम आयको मुलुक हुने लक्ष्य भेट्टाउन पनि कठिन देखिन्छ । विश्व बैंक तथा एसियाली विकास बैंकले आगामी आर्थिक वर्षको बजेटमा विकास सहयोग रकम वृद्धि गर्ने आश्वासन दिए पनि चालू आर्थिक वर्ष भने निराशाजनक नै देखिएको आर्थिक सर्वेक्षणमा उल्लेख तथ्यांकले देखाउँछ । फागुनसम्म १३ अर्ब ४९ करोड अनुदान र ९३ अर्ब ६९ करोड ऋण गरी कुल १ खर्ब १८ अर्ब रुपैयाँ वैदेशिक सहयोगको प्रतिबद्धता पाएको छ । तर, अघिल्लो वर्ष सरकारले १ खर्ब ५० अर्ब ८८ करोड सहयोग प्रतिबद्धता पाएको थियो । सरकारले फागुनसम्म ५० अर्ब ८४ करोड रुपैयाँ वैदेशिक अनुदान र ऋण प्रयोग पनि गरेको छ । जबकि अघिल्लो आर्थिक वर्ष करिब दोब्बर अर्थात् १ खर्ब ३१ अर्ब ५५ करोड उपयोग भएको थियो ।कुल वैदेशिक सहायता उपयोगमा बहुपक्षीय सहायताको अनुपात भने माथि छ ।  फागुनसम्म कुल सहायता उपयोगमा बहुपक्षीय ७५.५ प्रतिशत, द्विपक्षीय २० प्रतिशत र अन्य सहायताको अंश साढे ४ प्रतिशत हाराहारी छ ।बजेट संयन्त्रबाट परिचालन हुने विकास सहायताको अंश ७७.९ प्रतिशत छ । अर्थमन्त्री खतिवडाले संसदमा प्रस्तुत गरेको सर्वेक्षणअनुसार ९ खर्ब ७८ अर्ब ३५ करोड कुल ऋण रकम पुगेको छ । यसमा ३९.२ प्रतिशत आन्तरिक छ भने बाँकी ६०.८ प्रतिशत वाह्य ऋण छ । २०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी खुद सार्वजनिक ऋणको अंश प्रतिव्यक्ति ३३ हजार १ सय ७४ रुपैयाँ छ । यसअघि ३१ हजार ४ सय ९३ रुपैयाँ थियो ।
अर्थतन्त्रमा संरचनागत परिवर्तन नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान घट्दै र गैरकृषिको योगदान बढ्दै गएको देखिन्छ । अर्थमन्त्री खतिवडाले सार्वजनिक गरेको आर्थिक सर्भेक्षणअनुसार कृषिको योगदान गत आर्थिक वर्षमा २८.१ प्रतिशत रहेकोमा घटेर चालू वर्षमा २७ प्रतिशत अनुमान गरिएको छ । यस्तै, गैरकृषि क्षेत्रको योगदान गत वर्ष ७१.९ प्रतिशत रहेकोमा ७३ प्रतिशत अनुमान पुग्ने अनुमान गरिएको छ । सर्भेक्षणअनुसार जीडीपीमा सबैभन्दा बढी थोक तथा खुद्रा व्यापारको २३.१ प्रतिशत, कृषि तथा वन क्षेत्रको १९.७ प्रतिशत, रियल इस्टेट तथा व्यावसायिक सेवाको १०.४ प्रतिशत, निर्माण १०.३ प्रतिश,त उत्पादनमूलक क्षेत्रको ६.५ प्रतिशत तथा अन्यको ३१.७ प्रतिशत रहने अनुमान गरिएको छ । सर्भेक्षणले नेपालको आर्थिक वृद्धिदर ६.८ प्रतिशत रहने अनुमान गरेको छ । सर्भेक्षणले पछिल्ला वर्षमा जीडीपीमा उपभोगको अंश कम हुँदै गएको देखाएको छ । गत वर्ष ८२.२ प्रतिशत रहेकोमा चालूमा ७९.५ प्रतिशत अनुमान गरिएको छ भने उपभोग र जीडीपी अनुपात औसत ८७.६ प्रतिशत छ ।  यसमा ११.५ प्रतिशत सरकार, ६६.४ प्रतिशत निजी र १.६ प्रतिशत गैर नाफामूलक संस्थाहरूको अनुमान सर्भेक्षणमा उल्लेख छ । बचततर्फ बैक तथा वित्तीय संस्थाहरूको निक्षेपको ब्याजदर आकर्षक हुन थालेकोले बचतमा बढोत्तरी भएको सर्भेक्षणमा उल्लेख छ । गत वर्ष जीडीपीमा कुल गार्हस्थ्य बचतको अनुपात १७.८ प्रतिशत रहेकोमा चालूमा २०.०५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यस्तै, गत वर्ष कुल लगानी ३३.६ प्रतिशतले वृद्धि भएकोमा चालू वर्षमा २९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब १८ करोड पुग्ने अनुमान छ ।  लगानी र बचतको अन्तर गत वर्ष ३७.५ प्रतिशत रहेकोमा चालू वर्षमा बढेर ४१.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । चालू वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन गत वर्षको ९९८ अमेरिकी डलरबाट बढेर १०३४ अमेरिकी डलर तथा गत वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय १००५ अमेरिकी डलर रहेकोमा चालू वर्षमा बढेर १०४७ डलर पुग्ने अनुमान सर्भेक्षणले गरेको छ । 

Monday, May 27, 2019

१५ खर्बको बजेट ‘उपयुक्त’

सोमवार, जेठ १३, २०७६
आगामी आर्थिक वर्ष २०७६-०७७ को बजेटले नीतिगत फड्को मार्न सक्नुपर्ने भएपनि वितरणमुखी बनाउन लागेको भन्दै अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारले लिएको दोहोरो आर्थिक दरको लक्ष्य हासिल गर्नका लागि सरकारले नीतिगत फड्को मार्नुपर्ने भएपनि उचित व्यवस्थापनबिनै वितरणमुखी बजेटमा ध्यान केन्द्रित गरेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् । 
दुईतिहाईको सरकारपछि बनेको पहिलो बजेटको सफल कार्यान्वयन हुनसक्ने अवस्था नरहेको तथा यसमा नीतिगत फडको मार्ने गरी बजेट नल्याएपनि दोस्रोमा त्यसको आशा गरेपनि उचित व्यवस्थापन र प्रभावकारिताको अध्ययन नगरी वितरणमुखी बजेटमै ध्यान केन्द्रित गरिएको उनीहरूको भनाइ छ । 
दुईतिहाई सरकारले ‘सिग्नेचर परियोजना’को सुरुवातका साथै ठूला पूर्वाधारहरूको विशेष प्राथमिकतामा उनीहरूको जोड छ । विकास, आन्तरिक तथा बाह्य लगानीका लागि नियन्त्रणभन्दा पारदर्शी व्यवस्थापन, दोहोरो आर्थिक वृद्धिदरको लक्ष्य हासिलका ठूलोभन्दा पनि थेग्न सक्ने बजेट विनियोजन, बढी करभन्दा राजस्व संकलन तथा करको दायरालगायतमा नीतिगत फड्कोको आवश्यकता अर्थशास्त्रीहरूले देखेका छन् । “चुनाव जितेको सरकारसँग एउटा सिग्नेचर परियोजना हुनुपर्छ र त्यो सुरु गर्नुपर्छ तर अहिले सरकारले त्यस्तो तयारी गरेको देखिँदैन,” अर्थशास्त्री डा. विश्व पौडेल भन्छन्, “भविष्यसम्म भार पर्ने गरी सामाजिक सुरक्षाका भत्ताहरूको वितरणमा पुनरावलोकन गर्नुपर्छ, हुने र नहुनेहरूबीचलाई एउटैमा राखेर यस्तो वितरण गर्नुहुँदैन ।” उनी सरकारको नीति तथा कार्यक्रमले पोषण, निर्यात प्रवद्र्धन जस्ता महत्वपूर्ण विषयलाई कम प्राथमिकता दिएको बताउँछन् । 
हाल सरकारले वृद्धभत्ता ५ सयदेखि १ हजार रुपैयाँसम्म बढाउने तयारी गरेको छ । १ हजार भत्ता बढाउँदा करिब १७ अर्ब बराबरको थप भार पर्नेछ । अर्थशास्त्रीहरूले वृद्धभत्ता सुरु गरेको २५ वर्ष भएकोले यसको मोडालिटिलाई पनि पुनरावलोकन गरेर सबैलाई दिनुको सट्टा वास्तविकलाई दिनुपर्ने र सांसदहरूलाई बाँड्दै आएको रकमलाई हटाएर प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्ने उनीहरूको तर्क छ । 
चालू वर्षमा सरकारले १३ खर्ब १५ अर्ब बराबरको बजेट ल्याएकोमा राजस्वबाट ९ खर्ब ४५ अर्ब उठाउने लक्ष्य राखेको थियो तर अर्थ मन्त्रालयले मध्यावधि समीक्षामा बजेट तथा राजस्व लक्ष्य दुवै घटाएका छन् । त्यसैगरी सरकारले ३ खर्ब १४ अर्बको विकास खर्चमध्ये आइतबारसम्म ४३.३४ प्रतिशत मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । विकास खर्च नहुने पुरानै रोग चालू आर्थिक वर्षमा पनि दोहोरिएको तथा राजस्व संकलनको अवस्था पनि नाजुक भएतापनि चालू आर्थिक वर्षमा ६.८१ प्रतिशतले आर्थिक वृद्धि हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । 
अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीको विश्लेषणमा दोहोरो आर्थिक वृद्धिदरको आधारमा १६ देखि १७ खर्बको बजेट आवश्यक पर्ने देखिए पनि चालू वर्षको खर्च र राजस्व संकलन, बजेट बढाउँदा कर वृद्धि गरेर पर्ने प्रभाव लगायतका कारणले १५ खर्बसम्मको बजेट उपयुक्त हुने बताउँछन् । अहिले पनि प्रतिसयमा ३५ रुपैयाँ बजेटको चुहावट हुने गरेकोले यसलाई न्यूनीकरण गर्नुपर्ने बताउँदै उनले पुनरावलोकन, पुनर्वितरण, पुनर्मूल्य, पुनः बचत र पुनःलगानी जस्ता करका आधारभूत कुरामा ध्यान दिनुपर्ने बताए । “नीतिगत फड्को मार्ने गरि बजेट आउनुपर्छ जसले राष्ट्रिय पुँजीलाई आधार बनाएर वैदेशिक लगानीलाई सहायक पुँजीको रुपमा अगाडि बढ्उनसक्र्छ,” उनले भने । छिमेकी राष्ट्र भारतले चुनावअगाडि अस्थायी बजेट ल्याएर अघि बढेकोले भारतले पूरक बजेट ल्याउनसक्ने तथा यसले नेपालमा पनि पूरक बजेट ल्याउनुपर्ने अवस्था आउनसक्ने उनले बताए ।

Thursday, May 23, 2019

३१ खर्बका ४१ परियोजनामा ७१ वटा प्रस्ताव

https://www.karobardaily.com/news/development/19759
शुक्रवार, जेठ १०, २०७६
लगानी सम्मेलनको क्रममा लगानी बोर्डमा सोकेस गरिएका ३० सहित ४१ परियोजनामा लगानीका लागि ७१ प्रस्ताव परेको छ । चैत १५ र १६ मा काठमाडौंमा भएको लगानी सम्मेलनका क्रममा अघि सारिएका परियोजनाका लागि यो प्रस्ताव परेको हो । परियोजनाका लागि सुरुमा २० अप्रिलसम्म आवेदन दिन पाउने व्यवस्था रहेकोमा बोर्डले एक महिना थप गरेपछि सो अवधिमा यति प्रस्ताव परेका हुन् ।
 सरकारले सरकारीतर्फ ५० परियोजना शोकेस गरेकोमा २३ खर्ब बराबरका ३० का लागि ६० आवेदन तथा शोकेस नगरिएका करिब ८ खर्ब बराबरका ११ परियोजनाका लागि ११ प्रस्ताव परेको लगानी बोर्डले जनाएको छ । “शोकेस गरिएको ५० परियोजनामध्ये ३० मा ६० आवेदन तथा सोकेस नगरिएका ११ परियोजनामा ११ आवेदन परेको छ,” लगानी बोर्डका सह–सचिव एवं प्रवक्ता बलराम रिज्यालले भने, “सोकेस गरिएकामध्ये सबैभन्दा बढी चीनको २० र  सोकेस नगरिएकोमा ४ प्रस्ताव परेको छ भने नेपालकै कम्पनीले पनि सोकेस गरिएमा २० र नगरिएकोमा २ आवेदन लगानीका लागि परेको छ ।”बोर्डका अनुसार सबैभन्दा बढी प्रस्ताव निजगढ विमानस्थलमा नेपाल, दक्षिण कोरिया, चीन, भारत र स्वीजरल्याण्ड ७ वटा आवेदन परेको छ ।
त्यसैगरी तमोर जलाशयमा अमेरिका, चीन, नेपाल सिंगापुर र चीनको ६ आवेदन परेको छ । भारतीय कम्पनीले सोकेस गरिएको र नगरिएका गरी ७, कतारले ५, अमेरिकाले ४, सिंगापुरले २ तथा फिनल्याण्ड, श्रीलंका, दक्षिण कोरिया, सिंगापुर, स्वीजरल्याण्ड, फिलिपिन्स र क्यानडाका एक-एक प्रस्ताव विभिन्न परियोजनामा परेको छ ।रिंगरोड -याापिड ट्रान्जिटको लागि चीनका ३ , कृषि पूर्वाधार (बनेपा र चितवन) का लागि नेपाल र कतारका ३, धुलिखेल मेडिसिटीका लागि कतारको १, हेम्जा कृषि पूर्वाधारका लागि नेपाल, कतारका २, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरका लागि नेपाल र चीनका दुई, पश्चिमसेती जलाशयका लागि अमेरिकाको १, काठमाडौं मेट्रोका लागि चीनको १, उर्लाबारी कृषि पूर्वाधारका लागि नेपाल र कतारका २, काठमाण्डौ बाहिरी रिंगरोडका लागि चीनका ४, धुलिखेल ड्रिमल्यान्डका लागि चीनको १, पूर्व–पश्चिम विद्युतीय रेलका लागि चीनको १ प्रस्ताव परेको छ । यस्तै, गण्डकी प्राविधिक विश्वविद्यालयका लागि फिनल्याण्डका १, बुटवल फोहोर व्यवस्थापनका लागि नेपाल र चीनका २, धुलिखेल फोहोरमैलाका लागि नेपालको १, गोदावरी अत्तरिया कृषि पूर्वाधारका लागि नेपालको १, वीरेन्द्रनगर कृषि पूर्वाधारका लागि नेपाल र कतारको २ आवेदन परेको बोर्डले जनाएको छ । 
बोर्डका अनुसार कृषि पूर्वाधार पर्सागढीका लागि नेपालको १ र तिलोत्तमा कृषि पूर्वाधारका लागि नेपालका ३ कम्पनीको आवेदन परेको छ । जनकपुर फोहोर व्यवस्थापनका लागि नेपाल र श्रीलंकाका २, जानकी पुरातात्विक क्षेत्र विशेषका लागि नेपालको १, तल्लो अरुण जलविद्युतका लागि भारत, चीन र जापानका ३, नलगाढ जलविद्युत्का लागि सिंगापुरको १, सामाखुशी टोखा छहरे सडक स्तरोन्नतिका लागि चीनको १, एसआर सिक्स जलविद्युत् का लागि अमेरिकाको १, सुनकोसी–२ जलविद्युत्का लागि भारत १, सुनकोसी–३ जलविद्युतका लागि भारत  र अमेरिकाका २, तालतलैया पर्यटनका लागि नेपालको १ र पश्चिमसेती एसआर जलविद्युतका लागि नेपालको १ कम्पनीको आवेदन परेको बोर्डले जनाएको छ ।
  सोकेश नगरेका आयोजनामा  लजस्टिक बल्क टर्मिनल, ५५० मेगावाटको सोलारका लागि फिलिपिन्सको, विराटनगर महानगरपालिका फोहोर व्यवस्थापन-ऊर्जाका लागि चीनको , काठमाण्डौ स्काई ट्रेनका लागि चीनको , पानी प्रशोधन तथा फोहोर पानी प्रशोधन मेलम्ची, खोकना र भरतपुरका लागि भारतको, गोसाईकुण्ड तीर्थ केलकारका लागि नेपालको, उच्च प्रविधिको औद्योगिक पार्कका लागि चीनको, विश्व वौद्ध प्रर्दशनी पार्कका लागि चीनकै, . रेलवे लिंक धनुषा, कुरथाको लागि नेपालको, अण्डर ग्राउड केवलिङका लागि भारतको तथा  एकीकृत राष्ट्रिय कृषि पूर्वाधारका लागि क्यानडाका १-१ कम्पनीको प्रस्ताव परेको बोर्डले जनाएको छ । सम्मेलनमा ३२ खर्ब बराबरका ५० सरकारी र २७ निजी क्षेत्रका परियोजना बोर्डले शोकेस गरिएको थियो । 

Wednesday, May 22, 2019

ट्रंकलाइन प्रकरण लेखा समितिको छानबिनमा

बुधवार, जेठ ८, २०७६
ट्रंकलाइन प्रकरण लेखा समितिको छानबिनमा
१० अर्ब राजस्व हिनामिनाको आरोप
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणको ट्रंक र डेडिकेटेडलाइन प्रकरणको छानबिन अघि बढाएको छ । ट्रान्सपरेन्सी अभियान नेपालको तर्फबाट विद्युत् प्राधिकरणले दुई वर्षदेखि महसुल नउठाई १० अर्बभन्दा बढी राजस्व हिनामिना गरेको भन्दै उजुरी परेपछि लेखा समितिले छानबिन अघि बढाएको हो । 
ट्रंक र डेडिकेटेडलाइनलाई तत्कालिन विद्युत् महसुल निर्धारण आयोगले साविकको भन्दा दोब्बर महसुल उठाउने निर्णय गरे पनि त्यसको बिलिङ नगरेको भन्दै विद्युत् प्राधिकरण व्यवस्थापनको आलोचना हुँदै आएको छ । प्राधिकरणले भने विल पठाएपछि उद्योगीहरू मुद्दा मामिलामा गएकाले सबै बिल पठाउन नसकिएको बताउँदै आएको छ । विद्युत् प्राधिकरणले आफूले माग्दै नमागेको ट्रंकलाइनको दोब्बर महसुल तोकेको तथा औद्योगिक क्षेत्रको लोडसेडिङ हटे पनि त्यो कायम राखेको भन्दै यसको विरुद्धमा उद्योगीहरूसमेत लागेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स एकै ठाउँ उभिएर सम्झौता नगरेका उद्योगको पनि बिल तिर्नु परेमा प्राधिकरणलाई नै तालाचाबी बुझाउने चेतावनीसमेत दिइसकेका छन् ।
विवादित बनेको ट्रंक र डेडिकेटेड लाइनबारे मंगलबार संसद्को लेखा समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका साथै प्राधिकरणका अधिकारीलाई बोलाएर जानकारी लिएको छ । बैठकमा ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले ट्रक र डेडिकेटेडलाइनको विलिङ रकम आठै क्षेत्रीय कार्यालयको ३२ अर्ब ४५ करोड ८० लाख रहेकोमा २३ अर्ब ५५ करोड ७६ लाख भुक्तानी गरेको र ९ अर्ब ९ करोड ४० लाख उठ्न बाँकी रहेको जानकारी दिएका छन् । उनले दोब्बर महसुलसहित बिलिङ गरेपछि २३ औद्योगिक ग्राहक अदालतमा पुगेको, कतिपयको हकमा तत्काल नउठाउन अन्तरिम आदेश दिएको र कतिपयको नदिएको लगायतका कारणले वक्यौता उठाउन नसकिएको बताए । उनले लोडसेडिङ अन्त्य भएपछि कतिपय उद्योगीले महसुल घटाउन माग गरे पनि तत्कालिन अवस्थामा महसुल आयोग खारेज भइसकेको र विद्युत् नियमन आयोग गठन नभएकाले समस्या परेपछि अब भने नियमन आयोगले यसबारे थप निर्णय गर्ने बताए । उनले समयमै बिलिङ गरे नगरेको, उद्योगीहरूले तोके अनुसारभन्दा बढी लोडसेडिङको बेला विद्युत् लिए÷नलिएको लगायतबारे प्राधिकरण सञ्चालक समितिले समिति गठन गरेकाले यसले यसबारे विस्तृत छानबिन गरेर प्रतिवेदन दिने बताए ।
बिलिङ नगरेर अनियमितता ः सांसद
भ्रष्टाचार ठहरिए झुन्डिन तयार छु ः कार्यकारी निर्देशक

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुद्दाका कारणबाहेक सबैको बिलिङ गरेको भन्दै कतिपय ग्राहकलाई विद्युत् प्राधिकरण सञ्चालक समितिको निर्णय विनानै डेडिकेटेड फिडर दिएकाले त्यसको बिल पठाउन समस्या परेको बताए । वक्यौता उठाउन विद्युत् प्राधिकरण तत्पर रहेको तथा उद्योगी व्यवसायीका समस्या सम्बोधनका लागि प्राधिकरणले छिट्टै विद्युत् नियमन आयोगलाई डेडिकेटेडको शुल्क हटाएर ट्रंकलाइन र डेडिकेटेड फिडर लिने ग्राहकलाई प्रिमियम शुल्कसहितको प्रस्ताव गर्न लागेको जानकारी दिए । 
विद्युत प्राधिकरणका अनुसार आठ क्षेत्रीय कार्यालयमा डेडिकेटेड फिडरतर्फ २ सय ३९ र ट्रंकलाइनतर्फ ६९ ग्राहक छन् । ट्रंक र डेडिकेटेडको वक्यौता क्षेत्रीय कार्यालयतर्फ विराटनगरको १ अर्ब ६ करोड ५७ लाख, जनकपुरतर्फ १ अर्ब ९ करोड १५ लाख, हेटौंडातर्फ ४ अर्ब ३२ करोड ३९ लाख, काठमाडौंतर्फ १८ करोड ९१ लाख, बुटवलतर्फ १ अर्ब ३८ करोड ८८ लाख, नेपालगन्जतर्फ १ अर्ब ३ करोड २३ लाख र अत्तरियातर्फ २३ लाख वक्यौता बाँकी छ । 
बैठकमा समितिका सभापति भरत शाहले आयोगले महशुल तोके पनि सोहीअनुसार बिलिङ नभएको र वक्यौता पनि नउठाएको पाइएकाले यसबारे लेखा समितिले छलफल गरेर छानबिन समिति गठन गर्न लागेको जानकारी दिए ।
बैठकमा समितिका सदस्यहरूले ट्रंकलाइन र डेडिकेटेड लाइनको विलिङ र वक्यौता उठाउन ढिलाइ भएको भन्दैमा यसमा भ्रष्टाचार र अनियमितताको गन्ध देखिएको बताए । सदस्य राजेन्द्र केसीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ अन्त्य गरेर राम्रो काम गरे पनि ट्रंकलाइन प्रकरणमा १० अर्बभन्दा बढीको अनियमितता भएको देखिएकाले यसको छानबिन गर्न माग गरे । विद्युत् प्राधिकरणले पछिल्लो समयमा विनियावलीविपरित छुट बिल दिएको तथा नियमित रूपमा बिलिङ नगरी एकै पटक २÷३ अर्ब लगाउँदा यसले उद्योगीसमेत त्रसित भएको उनको भनाइ थियो ।
सदस्य लेखराज भट्टले लोडसेडिङको चरम समस्या रहेका बेला डेडिकेटेड दिने नीतिगत निर्णय ठीक छ कि छैन भन्नेबारे पनि छानबिन गर्नुपर्ने माग गरे । त्यो निर्णय बेठीक भएमा किन प्राधिकरण चुप बसेको हो ? भन्दै उनले प्रश्नसमेत गरे । प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ आएपछि नियमित बिलिङ नहुनुले यसमा गडबढी देखिएको उनको तर्क थियो ।
अर्का सदस्य अमनलाल मोदीले नियमित बिलिङ नहुनुले अनियमितता देखिएको भन्दै लोडसेडिङ हटाएकै कारण अनियमितता गर्न पाउनुपर्छ भनेर दम्भ नदेखाउन आग्रह गरे । कार्यकारी निर्देशकले नुवाकोटमा प्रसारणलाइनबारेको छलफलमा जनतालाई थुन्छु जस्ता कुरा बोलेर दम्भ प्रस्तुत गरेको भन्दै उनले प्रधानमन्त्रीले समेत मान्छेलाई सिधै थुन्न नसक्ने समयमा यस्तो कुरा गर्नु गलत भएको बताए । 
समितिका सदस्यहरूले उठाएको प्रश्नको उत्तर दिँदै कार्यकारी निर्देशक घिसिङले मोदीलाई “तपाईंकै निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न नदिएर मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सवस्टेसन चार्ज गर्न नसकेको” आरोप लगाए । उनले आफूमाथि जथाभावी चार्ज नलगाउन आग्रह गर्दै इमानदारीका साथ रातदिन नभनी मुलुकका लागि काम गरिरहेको व्यक्तिलाई भ्रष्टाचार गरयो भनेर आरोप नलगाउन आग्रह गरे । बीचमै मोदीले तथ्यले अनियमितता देखाएको बताएपछि आक्रोशित घिसिङले भ्रष्टाचार गरेको प्रमाणित भए झुन्डिएर मर्न तयार रहेको बताए ।

तीनै तह समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्छ

बुधवार, जेठ ८, २०७६
लामो समय सरकारी सेवामा बिताएका बालानन्द पौडेल अहिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष छन् । २०३९ सालमा लिबर्टी स्कुल कीर्तिपुरबाट शिक्षकका रूपमा आफ्नो जागिरे जीवन सुरु गरेका पौडेलसँग २०४२ देखि २०४५ सालसम्म नेपाल राष्ट्र बैंकमा काम गरेको अनुभव छ । २०४५ सालमा अधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गरेर २०६९ मा सचिवबाट अवकाश पाएका उनले स्थानीय तह पुनर्संरचना आयोगको अध्यक्षका रूपमा समेत काम गरिसकेका छन् । स्थानीय तहको पुनर्संरचनामा संलग्न उनै पौडेल दुई महिनाअघि आयोगको अध्यक्ष बनेका हुन् । नेपाल संघीयतामा प्रवेशसँगै वित्त आयोगको गठन, यसको भूमिका, यसको वित्तीय व्यवस्थापन, आयोगले अघि बढाइरहेका काम र अभ्यासलगायतमा केन्द्रित रहेर कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :
नेपाल संघीयता प्रवेशसँगै प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गरिएको छ । यसले संघीयतालाई अघि बढाउनका लागि कसरी काम गरिरहेको छ ? 
संविधान निर्माताहरूले जब राज्यशक्तिको बाँडफाँट गरेर तीन तहका संघीय एकाइ बनाउनुभयो । कामको बाँडफाँट गरेर राज्यशक्तिको अधिकार प्रयोग गर्न एकाइहरू बनाइए । संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारअन्तर्गतको कानुनहरू आफैं बनाएर त्यसको कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । पाएको अधिकारअन्र्तगत ती काम गर्नका लागि आवश्यक स्रोत–साधनको जरुरी पर्छ । कानुनले नै संघीय संरचनाहरूको बन्दोबस्त ग-यो । राजनीतिक हिसाबले पनि यो भयो । उनीहरूलाई चाहिने साधन, स्रोत र वित्तीय व्यवस्थापनका लागि एउटा संवैधानिक आयोग भयो भने तीनै तहको संघीय संरचनाबीचमा स्रोतको बाँडफाँडमा सजिलो हुन्छ भनेर यो गठन गरिएको हो ।
पहिलाको राज्यको अवस्थाभन्दा संघीयतामा गएपछिको राज्यको अवस्थामा के फरक देखिएको छ । यो कत्तिको बलियो छ ? 
निर्वाचनपछि स्थानीय तहहरूले आफूलाई जसरी बलियो बनाउँदै लैजानुपर्ने हो, त्योअनुसार काम गरिरहेकै छन् । प्रदेश तुलनात्मक हिसाबले सबै निर्वाचित भयो र प्रदेशले अलि अप्ठेरो गरेको महसुस देखिन्थ्यो तर ती कुरा अघि बढिरहेकै छन् । त्यसैले यी कुरालाई व्यवस्थित गर्नका लागि केही समय लाग्छ । तीनवटै संघीय एकाईहरूले एकआपसमा समन्वय, सहकार्य गर्नुपर्छ । अहिले हेर्दा त सकारात्मक बाटोतिर अघि बढेका छन् ।
अहिलेको अवस्थाले कति वर्षभित्र संघीयता पूर्ण रूपमा कार्यान्वयनमा जाने अवस्था देखिन्छ ? 
निरन्तर रूपमा सुधार र अभ्यास गर्दै जाने विषय हो यो । लामो समयअघि संघीयतामा गएका मुलुकहरूमा पनि कतिपय समस्या देखिन्छन् । हामीलाई के फाइदा छ भने ती मुलुकले अभ्यास गर्ने क्रममा गल्ती गरेर सिकेका पाठहरू हाम्रो लागि उपयोगी हुन्छन् । संघीयताको संक्रमण दुई–चार वर्षमा सकिन्छ जस्तो लाग्छ । कर्मचारी समायोजनको ठूलो पाटो थियो, त्यो विस्तारै अघि बढ्यो, तर पनि कर्मचारीको व्यवस्थापन भइसकेको छैन । प्रदेश र स्थानीय तहमा धेरै कर्मचारी खाली छन् । लोक सेवा आयोग गठन गर्ने, कर्मचारी भर्ना गर्ने, उनीहरूलाई तालिम प्राप्त बनाउने काम बाँकी नै छ । त्यो नभएसम्म अझै पनि कठिन देखिन्छ । हामी वर्षमा पनि कामको गति जति हुनुपर्ने हो, त्यो नहुन सक्छ । किनकि कर्मचारीको व्यवस्थापन अझै बाँकी रहन्छ । संघीयताको पूर्ण अभ्यास हुन त समय लाग्छ । ८-१० वर्षमा धेरै कुराको व्यवस्थापन गरिसक्छौं ।
प्रदेश र स्थानीय तहमा वित्तीय बाँडफाँट सन्तुलित रूपमा हुन सकेको छ कि छैन, अहिले कसरी भइरहेको छ ? 
यसलाई वित्तीय संघीयताको हिसाबले व्याख्या गर्दा यो आयोगले अन्तरसरकारी वित्त व्यवस्थापनका लागि सिफारिस गर्नुपर्ने हुन्छ । विशेषगरी समानीकरण र ससर्त अनुदानका लागि आयोगले सिफारिस गर्छ । राजस्व बाँडफाँटको पनि सिफारिस गर्छ । ऋण लिने सीमा पनि निर्धारण गरेर आयोगले सरकारलाई सिफारिस गर्छ । सबैभन्दा पहिला त संविधानले तीनवटै तहलाई दिएको कामका बारेमा स्पष्ट हुनु जरुरी छ । त्यो कामका बारेमा अझै स्पष्ट भइसकेको छैन । कामका आधारमा खर्च आवश्यकताको लेखाजोखा गर्नुपर्ने हुन्छ । त्यो काम हामीले सुरुवात गर्दैछौं । त्यसपछि संघ, प्रदेश र स्थानीय तहमा संविधानले दिएको भूमिका र राज्यले राखेका लक्ष्यहरू पूरा गर्नका लागि राज्यले तय गरेका सूचकहरूका आधारमा कति लागत लाग्छ भनेर खर्चको लेखाजोखा गर्छौ । ती संघीय एकाइहरूलाई राजस्व उठाउने जुन लक्ष्यहरू दिइएको छ, त्यो राजस्व कति उठाउन सक्छन् ? राजस्व उठाउने सम्भाव्यता के हो ? त्यसको पनि हामी लेखाजोखा गर्छौं । यी दुई कुराको लेखाजोखा गरेपछि खर्चको आवश्यकता थाहा हुन्छ । यसले खर्चको आवश्यकता र राजस्व उठाउने क्षमता कति हो भन्ने प्रस्ट हुन्छ । राजस्व उठाउन नसके उठाऊ भनौंला । खर्चको आवश्यकता र राजस्व आम्दानीबीचको फरक परिपूर्तिका लागि अन्तरसरकारी वित्त हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहमा पठाउनुपर्ने हुन्छ । त्यहाँनेर अलि बढी काम गर्नुपर्नेछ । संघको खर्च निर्धारण गर्ने आधारहरू के–के हुन् ? कसरी गरेको हो ? यसले धेरै कुरा मान्यता राख्छ । यसका आधारमा हामीले वित्तीय हस्तान्तरणका लागि सिफारिस गर्नुपर्ने हुन्छ । यसमा संघले स्थानीय र प्रदेशले स्थानीय तहलाई बाँडफाँट गर्ने व्यवस्था छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट मात्र पनि अन्तर परिपूर्ति नहुन सक्छ । खर्चको आवश्यकता बढी छ । तर राजस्व उठाउने क्षमता कम छ भने त्यहाँ अन्तर हुन्छ । अन्तरलाई ऋणको माध्यमबाट परिपूर्ति गर्नुपर्ने हुनसक्छ । तर, त्यो ऋणको सिफारिस गर्दा हामीले समष्टिगत आर्थिक अर्थात् माइक्रो इकोनोमीका आधारमा गर्नुपर्ने हुन्छ । बढी ऋण सिफारिस गर्दा आउने आर्थिक जोखिमको पक्षलाई पनि यसमा ख्याल गर्नुपर्ने हुन्छ । यसको ढाँचालाई बिगार्नु हुँदैन । कतिपय अवस्थामा ऋणले पनि खर्च आवश्यकता परिपूर्ति नहुन सक्छ । यस्तो अवस्थामा खर्चको आवश्यकतालाई पुनः परिभाषित गर्नुपर्ने हुनसक्छ । लक्ष्यहरूलाई घटाउने पनि हुनसक्छ । यसमा इडक्टिभ र डिडक्टिभ दुवै मेथडबाट विश्लेषण गर्नुपर्ने हुन्छ । खर्चको आवश्यकता र राजस्व क्षमतालाई आधार मानेर हामीले यो अघि बढाउन चाहेका छौं । आयोगसँग अहिले यसलाई व्यवस्थित रूपमा अध्ययन गर्ने समय पनि भएन । यसका लागि यसअघि आयोगसँग आवश्यक स्रोत, साधन पनि थिएन । कतिपय संविधानमा दिएको व्यवस्थाहरू र अन्तरसरकारी वित्तीय हस्तान्तरण ऐनले दिएका आधारहरू र मापदण्डको आधार मानेर तथ्यांकको उपलब्धताका आधारमा हेर्न सक्ने सूचकहरूको विचार गरेर यसको आधारमा फर्मुला बनाएर आयोगले राजस्व र समानीकरण अनुदानका लागि अर्को वर्षका लागि पनि सिफारिस गरिसकेको अवस्था भने छ । आगामी आर्थिक वर्ष ०७६-७७ भन्दा पनि ०७७-७८ का लागि यसको आधारमा सूचकहरूको विश्लेषण गरेर हामीले प्रदेश र स्थानीयमा जानुपर्ने अनुदानको अंशका बारेमा पनि हामी भन्छौं । बाँडफाँटको आधार पनि तयार गर्छौं । त्यसकारण हामीले गर्नुपर्ने काम धेरै छन् । हामी काम अघि बढाउँदैछौं ।
प्रदेश र स्थानीय तहको बजेटको बाँडफाँट आयोगले निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ, तर के अहिले अर्थ मन्त्रालयकै सिलिङका आधारमा विनियोजन भइरहेको छ ? 
ठीक हो, अनुदानको अंश कति जाने भन्ने अहिले अर्थ मन्त्रालयबाटै आएको सिलिङका आधारमा तय भएको छ । संविधानको दफा ६० को उपदफा ३ ले संघबाट प्रदेश र स्थानीय तहमा जाने अनुदानको रकम आयोगले सिफारिस गर्ने उल्लेख छ । यो आयोगले ग-यो कि गरेन भन्ने जुन कुरा छ, खर्चको आवश्यकता र राजस्व उठाउने क्षमताको आंकलन नगरीकन बाँडफाँट गर्ने रकम तय गर्न गाह्रो छ । समानीकरणका लागि छुट्ट्याएको रकमलाई आयोगको सचिवालयले नजिकको सूचकांकको आधारमा बाँडफाँटको सूत्र बनाएर सिफारिस गरेको अवस्था भने छ ।
आयोगले आन्तरिक ऋणको सीमा समग्रमा ५ प्रतिशत गर्नुभएको छ । यति नै किन गर्नुभयो ? 
ऋण लिँदा तीन-चारवटा कुरालाई हेर्नुपर्छ । समष्टिगत आर्थिक ढाँचा नखल्बलिने गरी ऋण लिनुपर्ने भन्ने सिद्धान्त छ । त्यो सिद्धान्तभित्र हामी बसेका छौं । यसरी हेर्दा हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँग ऋणको अनुपात ३० प्रतिशत बराबर छ । कतिपय अध्ययनले के देखाउँछ भने जीडीपीको ५०-६० प्रतिशतसम्म ऋण लिँदा पनि आर्थिक ढाँचा लयमै रहन्छ । नकारात्मक असर पार्दैन भन्ने छ । अहिले पनि २५-३० प्रतिशतको फिस्कल स्पेस देखिन्छ । वार्षिक हिसाबले ५ प्रतिशतको सीमा किन राख्यौं भने त्योभन्दा माथि जाने बित्तिक्कै फेरि मुद्राबजार, पुँजीबजारको अवस्थामा असर पार्न सक्छ । यसका आधारमा वार्षिक रूपमा सार्वजनिक क्षेत्रले ५ प्रतिशतसम्म जाँदा आर्थिक क्षेत्रको ढाँचालाई बिगार्दैन ।
बजेटको चाप हेरेर अर्थ मन्त्रालय आन्तरिक ऋणको सीमा ५ प्रतिशतभन्दा बढी भए उपयुक्त हुन्छ भन्ने पक्षमा थियो, तर यसलाई सम्बोधन गर्नेतिर किन लाग्नुभएन ? 
संघ, प्रदेश र स्थानीय तहले पनि आयोगलाई यसबारे भन्ने अधिकार छ । यसबारे उहाँहरूले भन्न पाउनुपर्छ र हामीले पनि सुुन्नुपर्छ । त्यो कुनै अनौठो कुरा भएन । ५ प्रतिशतभन्दा बढी जान हामीलाई किन गाह्रो भयो भने समष्टिगत आर्थिक स्थायित्व भएन भने त्यसको जोखिम अत्यन्तै महँगो हुन्छ । जटिल हुन्छ । जोखिमपूर्ण हुन्छ । कतिपय अवस्था त हाम्रो माइक्रो इकोनोमी हाम्रो वशमा मात्र छैन । हाम्रो मुलुकभन्दा बाहिर पनि छ । जस्तै खाडीमा कुनै घटना घट्दाखेरि त्यसले हाम्रो इकोनोमीमा असर पार्छ । त्यसकारण यसको जोखिम कुनै निजी संस्था, कुनै गाउँपालिकाले त्यसको कुनै आंकलन नै गर्न सक्दैन । यसको विषयमा संघीय सरकार गम्भीर हुनुपर्छ । यो कतिपय अवस्थामा संघीय सरकारको वशभन्दा पनि बाहिर हुनसक्छ । यस्तो अवस्थामा यसलाई बेवास्ता गरेर तत्कालीन आवश्यकता परिपूर्ति गर्नतिर लाग्नु पनि हुँदैन । ५ प्रतिशतसम्म जाँदा यसले त्यस्तो कुनै असर गर्दैन । अर्को पाटोबाट हेर्दाखेरि खर्च गर्ने जुन क्षमता छ, हौसिएर त हामी बजेट बनाउँछौ तर तदनुकूल खर्च गर्न सक्दैन । यसका लागि आवश्यक संयन्त्र, खर्च गर्दा र नगर्दाको जवाफदेहिता, जिम्मेवारीपन अझै निश्चित गर्न बाँकी देखिन्छ । यसकारण बजेटलाई अनावश्यक रूपमा ठूलो पार्नुभन्दा पनि बजेटमा भएका व्यवस्थाअनुसार गुणस्तर खर्च बढाउने हिसाबले गयो भने सानो बजेटको आकारबाट पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ । ऋणको सीमा निर्धारण गर्दै गर्दा यही सबैलाई विश्लेषण गरेर जीडीपीको ५ प्रतिशत नबढ्ने गरी सिफारिस गरेका छौं ।
स्थानीय तहमा बजेट बाँडफाँटदेखि खर्चमा पनि समस्या देखिएको छ । यसलाई व्यवस्थित गर्न के गर्दै हुनुहुन्छ ? 
कतिपय ठाउँमा बजेट ल्याउनुपर्छ भन्ने जानकारी नभएर पनि नल्याएको होला । कतिपयमा राजनीति खिचातानी र निर्णय प्रक्रियामा जान समस्या भएर पनि भएको होला । जेसुकै भए पनि संविधानभन्दा बाहिर गएर चल्ने अधिकार कसैलाई छैन । यदि कुनै स्थानीय तहले बजेट बनाएको छैन, खर्च गरेको छ भने त्यो असंवैधानिक हो । उसले राजस्व उठाउन र खर्च गर्न पनि मिल्दैन । यी काम कानुनअनुसार मात्र गर्न पाइन्छ । आर्थिक र विनियोजन ऐन बनाएर त्यसैबाट मात्र खर्च गर्न पाइन्छ । हामीलाई पनि सूचनामा आएको छ कि कतिपय गाउँपालिका, नगरपालिकाहरूले अहिले पनि बजेट बनाएका छैनन् । संघीय मन्त्रालय गएर कतिपय ठाउँमा बजेट नबनाए पनि खर्च गर्ने अधिकार दिनुभयो भनेर सुनेका छौं । आर्थिक ऐन र विनियोजन ऐन नबनाईकन खर्च गर्ने अनुमति दिने अधिकार यदि दिएको हो भने उनीहरूलाई पनि छैन । यदि यी दुई ऐन नबनाई खर्च गरेको वा राजस्व उठाएकोे छ भने त्यो गैरसंवैधानिक हो ।
संघ, प्रदेश र स्थानीय तहबीच कानुन निर्माण लगायतमा समन्वय नभएर आफूखुसी बनाइरहेको कुरा पनि आइरहेको छ । आयोगले यसमा कसरी भूमिका खेल्छ ? 
संघीयता भनेको समन्वयमा चल्ने व्यवस्था हो । तीन तहबीच एक–आपसमा समन्वय हुनैपर्छ । किनभने एउटै भूगोल र एकै जनालाई सरकारले शासन गर्छन् । प्रत्येक तहले शासन गरिरहेका हुन्छन् । यसको सञ्चालन, व्यवस्थापन र नियन्त्रण गर्ने काम सम्बन्धित गाउँपालिका, नगरपालिकाको गाउँ कार्यपालिका, नगर कार्यपालिकाले गर्छ भनेर कानुनमै भनिएको छ । प्रदेशभित्रको शासन सञ्चालनको काम संविधान र कानुनको अधीनमा रही मन्त्रिपरिषद्ले गर्नेछ भनिएको छ । संघमा नेपाल सरकारले गर्ने भनेको छ । तीनै तहको सञ्चालन, नियन्त्रण र निर्देशन कार्यकारीहरूले गर्छन् । यसमा कामको प्रष्टता भएन, समन्वय भएन भने धेरै अप्ठेरो हुन्छ । संघीयतमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्नुपर्ने पूर्वसर्त नै हो । हरेक तहले समन्वय गर्नैपर्छ । देशभरि हेर्ने हुनाले संघीय सरकारको भूमिका समन्वयका लागि बढी हुन्छ । कतिपय कानुन संघले बनाउनुपर्ने थियो तर बनाएन । प्रदेशले बनाए । संघले बनाएपछि बाझियो भनेपछि यसमा पनि समन्वय गर्नुपर्ने भयो । यसका लागि हामीले संक्रमणकालीन योजना पनि बनाएनौं । यसले पनि कतिपय अस्पष्टता सिर्जना ग-यो । यो संक्रमणकालीन समस्या हो भनेर लिनुपर्ने हुन्छ । तीन तहका सरकारले एक–आपसमा समन्वय गर्ने परिपाटी बसाल्नुपर्ने हुन्छ । संघीय सरकारले तीनै तहको समन्वयको परिभाषा गर्ने गरी एउटा विधेयक पनि संसद्मा प्रस्तुत गरिसकेको छ । यो आएपछि यसबारे थप प्रष्ट हुन्छ होला ।
कतिपय अवस्थामा संघअन्तर्गतका निकाय प्रदेश र स्थानीय हुन् जस्तो पनि देखिन्छ भने कतिपय अवस्थामा प्रदेश र स्थानीय तह स्वायत्त हुन् भनेर पनि व्यवहार गरेको देखिन्छ । यथार्थमा अधिकारको बाँडफाँट कसरी गरिएको छ ?
वास्तवमा एउटै भूगोल, एउटै जनतालाई सेवा दिने हो । सेवा दिने विषयवस्तु फरक छ । त्यो अन्तरसम्बन्धित छ । यसकारण कसको अधीनस्थ को हो, को होइन भन्ने कुरा गर्नुभन्दा पनि संविधानले के प्रष्ट भन्दियो भने संविधानको अनुसूची ५ को हकमा संघले संविधानअनुसार नबाझिने गरी कानुन बनाएर कार्यान्वयन गर्छ । ६ को हकमा प्रदेशसभाले कानुन बनाएर कार्यान्वयन गर्छ । ७ अनुसूचीमा गाउँसभा, नगरसभाले कानुन बनाएर कार्यान्वयन गर्छ । कानुनमै तल्लो तहले कानुन बनाउँदा माथिल्लो तहले बनाएको कानुन के छ भनेर हेर्नुपर्ने व्यवस्था गरिएको छ । स्थानीय तहले कानुन बनाउँदा संघीय र प्रदेशस्तरको त्यो विषयमा के बनाएको छ भनेर हेर्नुपर्ने हुन्छ । त्यसैगरी प्रदेशले संघको कानुनलाई हेर्नुप-यो । सम्बन्ध प्रस्ट रूपमा संविधानले परिभाषित गरिदिएको छ । यसलाई पछ्यायौ भने यो समस्या आउँदैन । संघीयतामा तीनै तह समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा अघि बढ्नुपर्छ । यसको सीमाभित्र बसेर व्याख्या गर्नुपर्ने हुन्छ ।
प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको बाँडफाँटबारे संविधानमा भएको व्यवस्थाले स्थानीय तहबीच विवाद र भेदभाव बढाउने हो कि भनेर चिन्ता बढेको छ । यसलाई कसरी व्यवस्थित गर्दै हुनुहुन्छ ? 
प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको बाँडफाँटबारेको निर्णय आयोगले छिटो गर्नुपर्नेछ । चालू आर्थिक वर्षको रोयल्टीको बाँडफाँट पनि भएको छैन । आयोगले बाँडफाँटको आधार नदिएसम्म समस्या हुन्छ । आगामी वर्षको बजेटमा खर्च गर्न मिल्ने गरी त्यसको निर्णयको प्रक्रियामा जाँदैछौं । यही छलफलमा छौं । केही निर्णय भइसकेको छैन । संविधानले त्यो प्राकृतिक स्रोतबाट प्रभावित गाउँपालिका, नगरपालिका तथा प्रदेशहरूलाई वितरण गर्ने गरी २५-२५ प्रतिशत व्यवस्था गरेको छ । प्रभावित वा प्रभाव मापन गर्ने आधारहरू के–के होलान् भनेर अध्ययन गरिरहेका छौं । कानुनले प्रभावितलाई देऊ भन्छ । अध्ययन, विश्लेषण र छलफल गरिरहेका छौं । साधनस्रोतका हिसाबले कोही धेरै धनी हुने, कोही एकदम कमजोर हुने अवस्था आउनेतर्फ सचेत भएर यसको प्रभाव र संरक्षणबारे पनि हेर्नुपर्ने हुन्छ । संरक्षणको कुरा स्थानीय मात्र होइन, देश र विश्वको परिदृश्य पनि हुन्छ । यी सबैलाई विश्लेषण गरेर आयोगले उपयुक्त निर्णय लिन्छ ।

विदेशी लगानीका लागि सुरक्षा र प्रतिफलको ग्यारेन्टी आवश्यक

बुधवार, जेठ ८, २०७६
आगामी आर्थिक वर्षको लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउनका लागि लगानी सुरक्षा र प्रतिफल ग्यारेन्टी गर्नुपर्ने विज्ञहरूले बताएका छन् । मंगलबार नेपाल आर्थिक संघले आयोजना गरेको ‘बजेटको सुधारमार्फत् लगानीको प्राप्ति’ विषयक कार्यक्रममा उनीहरूले सरकारले सरकारी लगानीसँगै निजी क्षेत्रको लगानीलाई पनि आकर्षण गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताए । 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले आयोगले बनाएको पन्ध्रौं पञ्चवर्षीय योजनामा ५५ प्रतिशत निजी क्षेत्रको योगदान रहने बताउँदै यसका लागि एफडीआई आवश्यक रहेको बताए । निजी क्षेत्रको सहकार्यबिना लक्ष्य हासिल गर्न नसकिने बताउँदै उनले लगानीका सुरक्षा र प्रतिफलको ग्यारेन्टी हुनुपर्नेमा जोड दिए । एफडीआई आए पनि खर्च गर्न नसकेका कारण विदेशीले नेपाललाई पत्याउन छोडेको बताउँदै उनले सरकारले पुँजीगत खर्चका लागि ध्यान दिनुपर्ने बताए । आगामी बजेटले लगानीमैत्री वातावरण बनाउने बताउँदै उनले गत वर्षको बजेटमा असन्तुष्टि देखिए पनि आउने वर्षको बजेट सबैलाई समेटेर आउने अपेक्षा गरिएको उनले बताए । 
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्यालले वैदेशिक लगानीले पुँजीसहित ज्ञान, सीप र जनशक्तिमा पनि सहयोग गर्ने भएकोले सरकारले लगानीलाई विशेष प्राथमिकता दिएको बताए । पूर्व अर्थमन्त्री शंकर कोइरालाले दुईतिहाइ लगानी गर्ने निजी क्षेत्रलाई साथमा लिने गरी बजेट ल्याउनुपर्ने बताउँदै वर्तमान सरकारले लगानीका लागि नीतिगत, कानुनीगत र संरचनागत सुधार गर्नु सकारात्मक भएको धारणा राखे । राजस्वले चालू खर्चमात्र धान्न सक्ने भएकोले विकास खर्चका लागि वैदेशिक लगानी पनि एउटा प्रमुख स्रोत भएको उनको भनाइ थियो । 
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले लगानीमैत्री नीति आवश्यक रहेको बताए । अष्ट्रेलियन नेशनल युनिभर्सिटीका फेलो डा. रमेश पौडेलले एफडीआई आर्थिक वृद्धिदरको इन्जिन नभई सहजकर्ता मात्र भएको बताउँदै सरकारले बजेटमा नेपाली उत्पादनलाई प्रतिष्पर्धी बनाउने गरी पूर्वाधार र कच्चा पदार्थको व्यवस्थापन, वित्तको व्यवस्थापन, व्यापारमा सहजीकरण लगायतलाई ध्यान दिनुपर्ने बताए । उनले अरु देशमा भएको भन्दा नेपालकै सगरमाथा, लुम्बिनी, पशुपति र मिथिलाको महत्वका क्षेत्र र वस्तुलाई बेच्न सक्नुपर्नेमा जोड दिए । 
राष्ट्रिय बीमा कम्पनी लिमिटेडेका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालले सीमित स्रोतको अधिकतम उपयोग गरेर आर्थिक वृद्धिदरमा बढी केन्द्रित हुनुपर्ने बताए । कार्यपत्र प्रस्तुत गर्दै आर्थिक संघका कार्यकारी निर्देशक शिवराज अधिकारीले वैदेशिक लगानीका लागि राज्यको व्यवहार महत्वपूर्ण हुने बताए ।

Tuesday, May 21, 2019

आन्तरिक ऋणको सीमा ५ प्रतिशत

मंगलबार, जेठ ७, २०७६
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय र प्रदेशसहित संघले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत आन्तरिक ऋण उठाउन पाउने गरी सीमा तोकेको छ । आगामी आर्थिक वर्ष २०७६-०७७ को बजेटको बढ्दो चापलाई थेग्न ५ प्रतिशतभन्दा बढी सीमा दिन अर्थ मन्त्रालयले वित्त आयोगसँगको छलफलमा आग्रह गरे पनि आयोगले समग्रमा ५ प्रतिशत तोकेको हो । 
आयोगका सहसचिव एवं प्रवक्ता गोपी खनालले स्थानीय र प्रदेशसहित संघले पुँजीगत खर्चका लागि ५ प्रतिशत आन्तरिक ऋण उठाउन पाउने गरी आयोगले सिफारिस गरेको जानकारी दिए । उनका अनुसार स्थानीय र प्रदेश सरकारले कुल राजस्वको १० प्रतिशतसम्म आन्तरिक ऋण उठाउन पाउनेछन् । चालू वर्षमा भने प्रदेश र स्थानीय सरकारले आन्तरिक ऋण उठाएनन् । आयोगले दिएको सिफारिसको आधारमा स्थानीय र प्रदेशले आन्तरिक ऋण नउठाएमा संघले उठाउन पाउनेछ । 
सरकारले आगामी वर्ष ४० खर्ब जीडीपी पुग्ने प्रक्षेपण गरेको छ । सो आधारमा स्थानीय र प्रदेशसहित संघले जीडीपीको ५ प्रतिशत आन्तरिक ऋण उठाउँदा २ खर्ब उठाउन सकिने तथा यसमध्ये १ खर्ब ८० अर्बमात्र संघले उठाउनेछ । संघ तथा स्थानीय तहबाट वर्षभरिमा २ खर्ब राजस्व उठ्ने र त्यसमध्ये स्थानीय र प्रदेश तहले १० प्रतिशत अर्थात् २० अर्ब आन्तरिक ऋण उठाउन सक्नेछन् । नगर विकास कोषजस्ता विभिन्न परियोजनामार्फत् जाने ऋणलाई भने सीमाभित्र नसमेटिएको आयोगले जनाएको छ । नगर विकास कोषमार्फत् मात्र वार्षिक तीन अर्ब बराबर स्थानीय तहमा जाने गरेको छ । 
अर्थ मन्त्रालयले आगामी वर्षका लागि १४ खर्ब ९३ अर्बको बजेट सिलिङ तोके पनि त्यो भन्दै डेढदेखि दुई खर्ब बढेर अर्थात् १७ खर्ब बराबरको बजेट आवश्यक रहेको अनुमान मन्त्रालयको छ । वित्त आयोगसँगको छलफलमा अर्थ मन्त्रालयका अधिकारीहरूले ५ प्रतिशतभन्दा बढी आन्तरिक ऋण उठाउनुपर्ने आवश्यकता रहेको बताए पनि आयोगले भने वित्तिय अनुशासन र तरलताको अभाव हुन नदिन सीमा बढाउन नसकिएको बताएको छ । 
चालू आर्थिक वर्षको अन्तिममा आएर सरकारले आगामी वर्षको लागि बढ्दो बजेटको भार थेग्न आन्तरिक ऋण उठाउन सुरु गरिसकेको छ । सरकारकै निर्देशनमा नेपाल राष्ट्र बैंकले ५० अर्बको विकाससहित ८६ अर्ब आन्तरिक ऋण उठाउनका लागि बोलपत्र आह्वान गरिसकेको छ । बैंकले ३१ वैशाखदेखि १५ जेठसम्म ऋणपत्र निष्काशन गर्ने समय तोकेको छ । सामाजिक सुरक्षा, कर्मचारीको तलब वृद्धि र ठूला परियोजनाहरूमा बजेट विनियोजन गर्नुपर्ने कारण आगामी वर्षका लागि सरकारलाई बजेटको बढ्दो भार पर्ने कारण आर्थिक वर्षको अन्तिममा आएर आन्तरिक ऋण उठाउनुपरेको हुन सक्ने अर्थविद्हरूको विश्लेषण छ । उनीहरूका अनुसार सबै साधारण खर्चसमेत राजस्वले धान्न नसक्ने भएकोले ऋणबाटै चलाउनुपर्ने कारण बढी आन्तरिक ऋण लिएमा बजारमा तरलता अभाव भई लगानी कम भएर उपलब्धिमा असर परी आर्थिक वृद्धिदर र जीडीपीमा असर पर्नेछ ।

Saturday, May 18, 2019

जलविद्युत्मा निजी क्षेत्रलाई ढोका थुन्दै सरकार

आइतवार, जेठ ५, २०७६
जलविद्युत्मार्फत हाल नेपालमा १ हजार ५० मेगावाट बराबरको विजुली उत्पादन भएकोमा निजी क्षेत्रको योगदानमात्रै ५ सय ५० मेगावाट छ । १०८ वर्षअघि सुरु भए पनि सरकारी क्षेत्रबाट ५ सय मेगावाट मात्र उत्पादन भएको छ भने निजी क्षेत्रबाट उत्पादन सुरु भएको २० वर्षमै यति धेरै उत्पादन हुन सकेको छ । निजी क्षेत्रसँग अहिले १५ हजार मेगावाट बराबरको सर्भे लाइसेन्स पनि छ । अध्ययन सकेर निर्माणमा गरेका आयोजनाको क्षमता ५ हजार ५ सय मेगावाट बराबर छ । तर, २ हजार ८ सय मेगावाट बराबरका आयोजनाले वित्तिय व्यवस्थापन गर्न नसकेको विद्युत् प्राधिकरणले तथ्यांकले देखाउँछ । पछिल्लो समयमा जलविद्युत् उत्पादन र विकासमा आक्रामक तरिकाले अघि बढिरहेको निजी क्षेत्र सरकारले ल्याएका नीति र देखाएको व्यवहारले संकटग्रस्त अवस्थामा पुगेका छन् । 
निजी क्षेत्रले आयोजनाका लागि लगानी जुटाउनका लागि हम्मेहम्मे परिरहेको बेला सरकारले ‘लोकप्रियता’ कालागि सरकारले ‘नेपालको पानी, जनताको लगानी’ अर्थात जनताको जलविद्युत् कार्यक्रम ल्याएर गरेको व्यवस्थाले निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धक झन संकटमा परेका छन् । सरकारी निकाय संलग्न भएर निर्माण भएका अधिकांश आयोजनाको लागत र समय दोब्बर भएका विगतका तीता उदाहरण भएपनि सरकारको ५१ प्रतिशत र जनताको ४१ प्रतिशत रहने गरी जनताको जलविद्युत् कार्यक्रम घोषणा गरियो । ३ हजार ४ सय ७९ मेगावाटका १९ आयोजना निर्माण गर्ने गरी स्वयं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएर २०७५ फागुन २ मा घोषणा गरिएको जनताको जलविद्युत् कार्यक्रमलाई हालैको सरकारको नीति तथा कार्यक्रममा पनि समावेश छ । 
२०७५ चैत २५ मा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले जनताको जलविद्युत् कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ मा जनताका जलविद्युत् कार्यक्रम अन्र्तगतका आयोजनाहरूका लागि जनताको तर्फबाट हाल्ने सेयरको १० प्रतिशत लगानीको अवसर दिने र लगानी गरेको त्यो इक्विटीको ८ प्रतिशत ब्याज दिने व्यवस्थालाई निजी प्रवद्र्धकहरूले सरकारको गलत कदमको रूपमा टिप्पणी गरेका छन् । निजी क्षेत्रले जलविद्युत् क्षेत्रमा ठूलो प्रगति गरिरहेको बेला इक्विटीमा विश्वमै नभएको इक्विटीमा ८ प्रतिशत ब्याज दिने निर्णय हुनु, निजी क्षेत्रलाई अनिवार्य क्रेडिट रेटिङको व्यवस्था गरेको धितोपत्र बोर्डले जनताको जलविद्युत्लाई आयोजनामा गर्नुनपर्ने व्यवस्था गर्नुजस्ता व्यवस्थालाई नेपाल सरकारको भेनेजुएलापथमा रूपमा विश्लेषण पनि गरिएको छ । सन् १९९८ मा सरकारले तेल उद्योगलाई सरकारीकरण गरेर समाजवादतर्फ जाने भन्दै निजी क्षेत्रलाई कमजोर बनाएपछि तेलको मुल्यमा उच्च गिरावट आएसँगै अर्थतन्त्र टाट पल्टेको थियो । 
गरिबका लागि सेवा सुविधा, स्वास्थ्य र शिक्षाका क्षेत्र निःशुल्क गराएर जनमुखी कार्यक्रम अघि बढाएको भेनेजुएलाको जस्तै पथमा वर्तमान सरकार लागेको र जनताको जलविद्युत् त्यसकै उपज भएको विश्लेषण गरिएको छ । अर्थशास्त्री डा. विश्व पौडेलको विश्लेषणमा सरकारले जलविद्युत्का निजी प्रवद्र्धकलाई दिने भनेर घोषणा गरेको प्रति मेगावाट ५० लाख, पोष्टपेड रेटलगायत नदिनुले सरकार निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकप्रति इमान्दार नरहेको देखाउने र लोकप्रियताको लागि जनताको जलविद्युत् कार्यक्रम ल्याउनुले सरकारप्रति धेरै शंका जन्माएको छ । सरकारले नै जलविद्युत् आयोजना बनाउँदा बैकहरूले निजीको सट्टा सरकारी आयोजनामा लगानी गर्ने अवस्था आउने भएकोले ऋण समेत जुटाउन गाह्रो हुने उनीहरूको विश्लेषण छ । “सरकारको नीतिको कारण निजी क्षेत्रका जलविद्युत् आयोजनाहरू इक्विटी र ऋण दुवै जुटाउन नसक्ने अवस्थामा पुगेका छन्,” प्रवद्र्धकहरू विश्लेषण गर्छन् । 
सरकारी निकायबाट जलविद्युत् क्षेत्रमा ठूलो प्रगति हुन नसकेपछि र निर्माण गरिएका आयोजनाहरू पनि अति महँगा देखिएपछि बहुदलीय प्रजातन्त्रपछि उदारीकरणको नीति अनुरूप २०४९ सालमा निजी क्षेत्रलाई जलविद्युत् लगानीका लागि खुल्ला गरिएको थियो । अहिलेको सरकारले बोलीमा निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने भनेपनि नीतिगत र व्यवहारिक रूपमा जलविद्युत् आयोजनामा निजी क्षेत्रको लागि ढोका बन्दै गर्दै जान थालेको छ । “बैकहरूले लगानी गर्न नसकेको कारण धेरै आयोजनाहरूको वित्तिय व्यवस्थापन हुन नसकेको तथा जनताबाट लगानी जुटाउन समेत समस्या परिरहेको बेला कही नभएको सरकारले आफै जलविद्युत् आयोजना बनाएर इक्विटीमा ब्याज दिन थाल्नु र निजी जलविद्युत् आयोजनाले सबै प्रक्रिया पूरा गर्न ठूलो सास्ती बेहोर्नुपर्ने अवस्थाले सरकारले निजी क्षेत्रलाई ढोका बन्द गर्दै त छैन भनेर शंका गर्ने प्रशस्त ठाउँ देखिएको छ,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष कुमार पाण्डे भन्छन्, “निजी क्षेत्रलाई रेटिङ गर्नुपर्ने, सरकारीलाई गर्नुनपर्ने व्यवस्था नपर्ने गरी भेदभाव गरिएको छ, यसले सरकार नीतिगत र व्यवहारिक दुवै रूपमा निजी क्षेत्रप्रति अनुदार देखिएको छ ।”
१० वर्षमा १५ हजार मेगावाटको लक्ष्य अनुसारको नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको लिऊ वा तिर (टेक अर पे) विद्युत् खरिद सम्झौता (पीपीए) को सीमा सकिएर लिऊ र तिर (टेक एण्ड पे) पीपीए मात्र विद्युत् प्राधिकरणले गर्न थाल्नु तथा सरकारले १५ हजारको सट्टा २५ हजार÷३० हजार पुर्याउँदा समेत जनताको जलविद्युत्, सरकारको उत्पादन कम्पनी, विद्युत् प्राधिकरण, लगानी बोर्ड लगायतमार्फत अघि बढेका आयोजनाहरूको पीपीए गर्दा निजी क्षेत्रले थप गर्न नसक्ने अवस्था सिर्जना भएको विश्लेषणसँगै प्रवद्र्धकहरू त्रसित देखिएका छन् । पछिल्लो समयमा आयोजनामा चाहिने विष्फोटक पदार्थमा सरकारकै भर पर्नु, वातावरण अध्ययन सकेपछि पनि वन जग्गा प्राप्तिमा ढिलाई हुनु, विद्युत् प्राधिकरणले प्रसारण लाइनको जिम्मा लिएपनि निर्माण ढिलाई गर्नु, स्थानीय सरकारको जलविद्युत् आयोजनालाई अवरोध गर्ने क्रम जारी रहनुलाई सरकारको निजी जलविद्युत् प्रवद्र्धकहरूलाई ढोका थुन्ने कदमको रूपमा लिएका छन् । 
जलविद्युत् प्रवद्र्धक प्रकाश दुलाल बैकहरूको लगानीयोग्य रकम सरकारले जनताको जलविद्युत्मा लगानी गर्ने अवस्था सिर्जना गर्नु र निजी क्षेत्रले लगानीका लागि योग्य रकम नहुने वातावरण सिर्जना गर्दै सरकार निजी क्षेत्रको विपक्षमा उभिएको बताउँछन् । “निजी क्षेत्रलाई सहजीकरण गर्नुको सट्टामा जनताको जलविद्युत्मा राखिएका प्रावधानदेखि अन्य प्रक्रियागत झन्झटले सरकार निजी क्षेत्रको विपक्षमा रहेको देखाउँछ,” उनी भन्छन् ।
ऊर्जा मन्त्रालयका अधिकारीहरू भने निजी क्षेत्रका जलविद्युत् आयोजनाको विपक्षमा नरहेको र सहजीकरण गरिरहेको बताउँछन् । “सरकारले जलविद्युत् क्षेत्रमा निजी क्षेत्र चाहिदैनौ भनेका छौ र माइनस पनि गरेका छैनौं,” मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले भने, “टेक अर पे मा जानका लागि मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ भने जनताको जलविद्युत् जनताको सहभागितामा अघि बढाउन लागेको छ, यसले निजी क्षेत्रलाई केही असर गर्दैन ।”
निजी क्षेत्रमा बढ्दा संकटहरू
–इक्विटीमा ब्याजको व्यवस्थाले समस्या
–सरकारीले रेटिङ गर्नुनपर्ने व्यवस्था
–बैकको ऋण र जनताको इक्विटीमै समस्या
–टेक अर पे पीपीए गर्न कठिनाई
–प्रसारणलाइनमा ढिलाई
–वन र वातावरण प्रक्रिया झन्झटिलो
–विस्फोटक पदार्थमा सरकारकै नियन्त्रण
–स्थानीय सरकारको अवरोध
≈ नीतिगत रूपमा सरकार अनुदार बन्दैछः निजी क्षेत्र
≈ निजी जलविद्युत् प्रवद्र्धकप्रति इमानदार देखिँदैनः अर्थशास्त्री≈ निजी क्षेत्रलाई माइनस गरेका छैनौं सरकार

Wednesday, May 15, 2019

संघीयतामा पनि बाँडिएन स्थानीय तहलाई रोयल्टी

https://www.karobardaily.com/news/economy/19359
बुधवार, जेठ १, २०७६
सरकारले ऐन निर्माणमा ढिलाइ र बाँडफाँडबारे स्पष्ट व्यवस्था गर्न नसक्दा संघीयता लागू भएपछि प्रदेश र स्थानीय तहले प्राकृतिक स्रोतवापत पाउनुपर्ने रोयल्टी अझै पाउन सकेका छैनन् । सरकारले ऐन निर्माणमा ढिलाइ र बाँडफाँडबारे स्पष्ट व्यवस्था गर्न नसक्दा संघीयता लागू भएपछि प्रदेश र स्थानीय तहले प्राकृतिक स्रोतवापत पाउनुपर्ने रोयल्टी अझै पाउन सकेका छैनन् । पर्वतारोहण, विद्युत्, वन, खानी तथा खनिजका साथै पानी तथा अन्य प्राकृतिक स्रोतको रोयल्टी यही अन्योलका कारण विगत ३ वर्षदेखि वितरण हुन नसकेको हो । २०७२ सालको संविधान र २०७४ मा आएको अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले प्राकृतिक स्रोतमा उठेको रोयल्टीमध्ये संघमा ५० प्रतिशत तथा प्रदेश र सम्बन्धित स्थानीय तहमा २५÷२५ प्रतिशत बाँड्ने व्यवस्था गरेको छ । तर, आर्थिक वर्ष २०७२÷०७३ पछि बाँडिएको छैन भने अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले २०७५ साउन १ गतेदेखिको बाँड्ने भने पनि अझै अन्योल देखिएको छ । चालू वर्षभरी उठेको रोयल्टी अर्को वर्षमा बाँड्ने गरिन्छ । आर्थिक वर्ष २०७१÷७२ को रोयल्टी सरकारले सम्बन्धित स्थानीय तहलाई आर्थिक वर्ष २०७२÷७३ मा वितरण गरेपछि आर्थिक वर्ष २०७२÷७३ पछि हालसम्म वितरण गरिएको छैन । २०७४ सालमा आएको अन्तरसरकाी वित्त व्यवस्थापन ऐनमा उठेको रोयल्टी विभाज्य कोषमा जम्मा गरी २०७५ साल साउन १ गतेदेखि रोयल्टी बाँडफाँड गर्ने उल्लेख छ । तर, कुन स्थानीय तहबाट कति प्राकृतिक स्रोत कुन क्षेत्रमा उठेको र कतिपय क्षेत्रमा कसरी बाँड्ने भन्ने स्पष्ट नहुँदा आगामी वर्ष बाँड्ने, नबाँड्ने अन्योल रहेको वित्त आयोगका एक अधिकारी बताउँछन् । “कुन पर्वतारोहणमा कति राजस्व उठेको वा कुन जलविद्युत्बाट उठेको भन्ने स्पष्ट छैन, कसरी बाँड्ने भन्ने सकसमा आयोग छ,” ति अधिकारीले भने, “कतिपय क्षेत्रमा त रोयल्टी कस्ले बाँड्ने भन्ने स्पष्ट छैन, मेलम्ची खानेपानीमा सरकारले लगानी गरेको छ तर वितरण काठमाडांै उपत्यका खानेपानी लिमिटेडले गर्छ, अब कसले बाँड्ने भन्ने अन्योल छ ।” मेलम्चीको रोयल्टी हेल्मो, पर्वतारोहणको नेपाल पर्वतारोहण संघ, सगरमाथाको सम्बन्धित गाउँपालिका लगायतले पनि उठाउँदै आएकोले यसमा समेत कसरी रोयल्टी उठाउने भन्ने समस्या देखिएको छ । रोयल्टी बाँडफाँडमा समस्या भएपछि आयोगले महालेखा नियन्त्रकको कार्यालयलाई रोयल्टी उठेको स्पष्ट भौचरसहितको विवरणका लागि अनुरोध गरेको छ । आयोगका सह–प्रवक्ता नवराज घिमिरे भने चालू वर्षको रोयल्टी आगामी आर्थिक वर्षमा बाँड्नुपर्ने भएकोले यसका लागि वित्त आयोगले सूत्र निर्माण गरिरहेको बताए । “चालू वर्षको रोयल्टी स्थानीय तहलाई वितरण गर्नका लागि सूत्र निर्माण गरिरहेका छांै,” उनले भने, “सूत्रको आधारमा प्रदेश र स्थानीय तहले रोयल्टी वापतको रकम पाउनेछन् ।” महालेखाका अनुसार विभाज्य कोषमा चैत मसान्तसम्म २ अर्ब २६ करोड ५१ लाख १५ हजार जम्मा भएको छ । एक आर्थिक वर्षमा नै २ अर्बभन्दा बढी हुनुपर्ने भए पनि सरकारले खर्च गरेका कारण २ अर्ब २६ करोड ५१ लाख १५ हजार बाँकी रहेको हो । वन रोयल्टीवापत ४ करोड ७३ लाख, खानी तथा खनिज रोयल्टीवापत ५५ करोड ५५ लाख, पानी तथा अन्य प्राकृतिक स्रोतवापत १ अर्ब १३ करोड ३६ लाख, पर्वतारोहरणवापत ५० करोड ९१ लाख, पदयात्रा रोयल्टीतर्फ १५ करोड १० लाख, पर्यटन सेवा शुल्कतर्फ ४१ लाख राजस्व उठेको नियन्त्रक कार्यालयले जनाएको छ । यसमध्ये संघले ५० प्रतिशत तथा प्रदेश र सम्बन्धित स्थानीय तहले २५÷२५ प्रतिशत पाउनेछ ।चालू वर्षको चैत मसान्तसम्म भने ६५ करोड ४३ लाख १८ हजार संकलन भइसकेको छ । चालू वर्षमा उठेको रकम वित्त आयोगले सूत्र बनाएर बाँड्ने भएपनि पहिला उठेको रकमबारे भने अझै अन्योल छ । स्रोतका अनुसार अर्थ मन्त्रालयले पहिलाको रकम अन्यन्त्र विनियोजन गरिसकेको छ । स्थानीय तथा प्रदेश तहका पदाधिकारीहरू पटकपटक विगतको रोयल्टीको माग गर्दै आयोग आउने भएपनि आयोगले चालू वर्षदेखिको मात्र आफूहरूले बाँड्ने भन्दै फर्काउने गरेको छ । कतिपय स्थानीय तहका पदाधिकारीहरू अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, वन मन्त्रालय, पर्यटन मन्त्रालय लगायत पुगे पनि उनीहरूले भने आयोगले बाँड्छ भन्दै देखाइदिने गरेका छन् । विगतमा कसरी बाँड्ने भन्ने अन्योलका कारण उठेको रोयल्टी वितरण गर्न कठिनाइ परेको अर्थ मन्त्रालयको भनाई छ । 

Monday, May 13, 2019

सेनाको विस्फोटक पदार्थले सुरुङको लागत सात गुणा बढी

सोमवार, बैशाख ३०, २०७६
नेपाली सेनाले विस्फोटक पदार्थ आयातमा रोक लगाएसँगै जलविद्युत््लगायत पूर्वाधार आयोजनाहरूको सुरुङ निर्माण लागत सात गुणासम्म बढ्ने भएको छ । मकवानपुरको सुनाचुरीमा रहेको इमल्सन प्लान्टको स्तरोन्नति गरेपछि सेनाले विस्फोटक पदार्थ स्वदेशमै पर्याप्त उत्पादन हुने भन्दै विगत दुई महिनादेखि आयातमा रोक लगाउँदै आएको छ । 
भारतबाट प्रतिकेजी १५० रुपैयाँका दरमा विस्फोटक पदार्थ आयात गर्नसकिने अवस्था थियो । नेपाली सेनाले उपलब्ध गराउने विस्फोटक पदार्थ प्रतिकेजी १९८ रुपैयाँ पर्ने र यसको गुणस्तरका कारण प्रतिघनमिटरका लागि १२ केजीसम्म आवश्यक पर्ने भएपछि सुरुङ निर्माणको लागत बढ्ने भएको हो । आयातित विस्फोटक पदार्थले प्रतिकेजी दुई घनमिटर विस्फोट गर्न सकिने अवस्था थियो । 
कमजोर गुणस्तर र बढी मूल्यका कारण जलविद्युत् आयोजनालगायत पूर्वाधार आयोजनाको लागत बढ्ने र यसले लागत बढ्न गइ विद्युत् विक्रीका लागि समेत समस्या हुने जलविद्युत् प्रवद्र्धकहरूले बताएका छन् । उनीहरूका अनुसार प्रतिकिलोमिटरको लागि अहिले भारतबाट आइरहेको गुणस्तरीय विस्फोटक पदार्थ उपयोग गर्दा ४ करोड रुपैयाँबराबर लाग्ने भएपनि अब भने करिब २८ करोडसम्म लाग्नेछ । प्रतिकिलोमिटर २४ करोड लागत बढ्ने देखिएपछि विकासकर्ताहरू चिन्तित बनेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष कुमार पाण्डे जलविद्युत् प्रवद्र्धकहरू स्वदेशी नै विस्फोटक पदार्थ उपयोग गर्न तयार रहे पनि भारतबाट आयातित भन्दा महँगो र आवश्यकताको हिसाबले सात गुणाभन्दा बढी देखिएकोले लागत धेरै बढ्ने देखिएको बताउँछन् । 
“भारतबाट आयात गर्दा २ केजीमा एक घनमिटर फोड्ने भएपनि नेपाली सेनाको विस्फोटक पदार्थ १२ केजी लाग्ने तथा मूल्य पनि भारतको भन्दा झण्डै प्रतिकेजी ४८ रुपैयाँ बढी भएकोले यसले आयोजनाको लागत धेरै महँगो हुने देखिएको छ,” उनले भने, “स्वदेशी उत्पादन पुग्ने भए नेपालबाटै खपत गर्न प्रवद्र्धकहरू तयार छन् तर गुणस्तरीय र तुलनात्मक रूपमा सस्तो हुनुपर्छ ।”
नेपाली सेनाले भने आफूहरूसँग पर्याप्त विस्फोटक पदार्थ रहेको तथा मे महिनाको अन्तिमसम्ममा नयाँ प्लान्टसमेत स्थापना हुने भएकोले तत्कालका लागि आयात रोकिएको र तुलनात्मक रूपमा विस्फोटक पदार्थ गुणस्तरीय रहेको दावी गरेको छ । “नेपालको महँगो भयो भनेर गुनासो आएपछि हामीले भारतका तीन कम्पनीको विष्फोटक पदार्थ परीक्षण गरेका थियौं । सुख्खा माटोमा, मेटलमा र रकमा विभिन्न परीक्षण गर्दा तीन भारतीय कम्पनीमध्ये एउटा अहिले नेपालभन्दा राम्रो छ । बाँकी दुई वटा कम्पनीको भने हामीभन्दा कम गुणस्तर रहेको पाइयो,” सेनाका सहायक रथी एवं प्रवक्ता विज्ञानदेव पाण्डेले भने । उनका अनुसार ५ वर्षअघि नेपाली प्लान्टको उत्पादन क्षमता २ सय टनमात्र रहे पनि मे अन्तिमसम्म २४ सय टन पुग्दैछ । ठूलो फेजमा ३६ सय टनसम्म उत्पादन गर्न सकिने र यसलाई दोब्बर सिफ्टमा उत्पादन गरेमा ७ हजार टनसम्म उत्पादन गर्न सकिने भएकोले नेपालको माग अनुसार पर्याप्त दिन सकिने उनको भनाई छ । 
विस्फोटक पदार्थका लागि लामो प्रक्रिया पूरा गरेर खिम्ती–२, मेवा, तल्लो इरखुवा, अपर अरुण, रसुवा लामटाङलगायतका १४ आयोजनाहरूको प्रस्ताव नेपाली सेनामा स्वीकृतिका लागि पुगेको छ । सेनाको भारतबाट ल्याएभन्दा कम गुणस्तर तथा महँगो भएपछि यी जलविद्युत् आयोजनाहरूलाई समस्या परेको जनाइएको छ । विस्फोटक पदार्थको भण्डारण र आपूर्तिको काम सेनाले गर्दै आएको र सेनाकै उपस्थितिमा विष्फोट गराउनुपर्ने भएकोले उनीहरू अहिले के गर्ने भन्ने अन्योलमा छन् । सेनाले मागेअनुसार विस्फोटक पदार्थ दिन नसकेको र भारतबाट ल्याउनका लागि लामो प्रक्रिया भएकाले ६ महिना बढी समय लाग्ने गरेको गुनासो पनि उनीहरूको छ । 

लामो प्रक्रियापछिमात्र उपलब्ध 
प्रवद्र्धकहरूका अनुसार विस्फोटक पदार्थका लागि जलविद्युत् प्रवद्र्धकले विद्युत् विकास विभागमा आवेदन दिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत गृह मन्त्रालय जाने गरेको छ । गृह मन्त्रालयले सम्बन्धित जिल्ला सुरक्षा समितिमा पठाउँछ भने त्यहाँबाट सिफारिस लिएपछि गृह मन्त्रालयले रायका लागि रक्षा मन्त्रालयमा पठाउने गरेको छ । रक्षाले नेपाली सेनालाई पठाउँछ भने सेनाको हतिहतियार तथा उपकरण शाखामार्फत पृतना, वाहिनी, सम्बन्धित गण÷गुल्मबाट पुनः ती निकाय हुँदै हतियार तथा उपकरण महाशाखामा आएपछि सैनिक सामग्री उत्पादन निर्देशनालयमा पुग्छ । निर्देशनालयले पनि स्वयम्भु बारुदखाना वा सुनाचुरी प्लान्टबाट राय आएपछि उत्पादन निर्देशानालयले पुनः उपकरण महाशाखामा पठाउँछ । त्यहाँबाट सेनाको व्यवस्था, नीति तथा योजना निर्देशानालय, बलाधिकृत विभाग हुँदै प्रधानसेनापतिबाट स्वीकृति भएपछि त्यही निकायबाट पुनः उपकरण शाखामा आएर रक्षा मन्त्रालयलाई रायसहित फर्कन्छ । रक्षामार्फत गृह आएपछि गृहले सिफारिस स्वीकृतिका लागि परराष्ट्र मन्त्रालय पठाउँछ र परराष्ट्रले भारतीय दूतावासमा पठाउँछ । दूतावासको सिफारिसपछि बल्ल भारतबाट विस्फोटक पदार्थ ल्याउने वातावरण बन्छ । यही प्रक्रिया पूर्वाधार मन्त्रालयहरूले पनि पार गर्नुपर्छ ।

आगामी आर्थिक वर्षको स्रोत सुनिश्चित गर्न आबको अन्त्यमा आन्तरिक ऋण

सोमवार, बैशाख ३०, २०७६
सरकारले आगामी आर्थिक वर्षको स्रोत सुनिश्चित गर्न चालू आर्थिक वर्षको अन्तिम समयमा आएर आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय र प्रदेशसहित संघले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशतमात्र आन्तरिक ऋण उठाउन दिने संकेतसँगै आगामी वर्षको लागि बढ्दो भार थेग्न आन्तरिक ऋण उठाउन लागिएको हो । 
राजस्व लक्ष्यभन्दा कमी भएपनि सामाजिक सुरक्षा, कर्मचारीको तलब वृद्धि र ठूला परियोजनाहरूमा बजेट विनियोजन गर्नुपर्ने कारण आगामी वर्षका लागि सरकारलाई बजेटको बढ्दो भार पर्ने कारण आर्थिक वर्षको अन्तिममा आएर आन्तरिक ऋण उठाउनुपरेको हुन सक्ने अर्थविद्हरूले विश्लेषण छ । “पुँजीगत खर्च नभएर सरकारी ढुकुटीमा थुप्रिएको, बजेट रकमान्तर गर्न सकिने अवस्था रहेको तथा बजेटभित्रका आयोजनाका लागि पहिल्यै छुट्याएको कारण आर्थिक वर्ष सिद्धिन दुई महिना बाँकी रहँदा आन्तरिक ऋण उठाउनुपर्ने थिएन,” ति अर्थविद्ले भने, “राजस्व लक्ष्यभन्दा कम देखिएकोले समग्रमा १४ खर्बभन्दा बढी बजेट छुट्याउन सक्ने अवस्था छैन तर आगामी वर्ष समृद्धिको आधार वर्ष भनेकोले धेरै परियोजनाका साथै सामाजिक सुरक्षा र कर्मचारीको तलब वृद्धिलाई लक्षित गरी रिजर्भ कोषमा राखेर आगामी वर्षको बजेटको व्यवस्थापनका लागि यस्तो गरेको हुन सक्छ ।” सरकारकै निर्देशनमा नेपाल राष्ट्र बैकले ५० अर्बको विकाससहित ८६ अर्ब आन्तरिक ऋण उठाउनका लागि बोलपत्र आह्वान गरिसकेको छ । बैकले ३१ बैशाखदेखि १५ जेठसम्म ऋणपत्र निष्कासन गर्ने समय तोकेको छ । 
सरकारले आगामी वर्ष जीडीपीको आकार ४० खर्ब पुग्ने प्रक्षेपण गरेको छ । सो आधारमा स्थानीय र प्रदेशसहित संघले जीडीपीको ५ प्रतिशत आन्तरिक ऋण उठाउँदा २ खर्ब उठाउन सकिने तथा यसमध्ये १ खर्ब ८० अर्बमात्र संघले उठाउनेछ । संघ तथा स्थानीय तहबाट वर्षभरीमा २ खर्ब राजस्व उठ्ने र त्यसमध्ये स्थानीय र प्रदेश तहले १० प्रतिशत अर्थात २० अर्ब आन्तरिक ऋण उठाउन सक्नेछन् । अर्थ मन्त्रालयले आगामी वर्षका लागि १४ खर्ब ९३ अर्बको बजेट सिलिङ तोकेपनि त्यो भन्दै डेढदेखि दुई खर्ब अर्थात १६ खर्ब बराबरको बजेट आवश्यक रहेको अनुमान मन्त्रालयको छ । 
वित्त आयोगसँगको छलफलमा अर्थ मन्त्रालयका अधिकारीहरूले ५ प्रतिशतभन्दा बढी आन्तरिक ऋण उठाउनुपर्ने आवश्यक रहेको बताए पनि आयोगका अधिकारीले भने तरलता अभाव हुने भन्दै बढाउन नसकिने संकेत गरिसकेको छ । यद्यपि आयोगले यसबारे निर्णय गरिसकेको छैन । आयोगका सहप्रवक्ता नवराज घिमिरे संघ, प्रदेश तथा स्थानीय तहको लागि आन्तरिक ऋणको सीमा तोक्नेबारे आयोगमा छलफल भइरहेको र सीमा तोक्न बाँकी रहेको बताउँछन् । स्रोतका अनुसार आयोग अध्यक्ष बालानन्द पौडेलले भने अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रक्षेपित जीडीपीको समग्र रूपमा ५ प्रतिशत भन्दा बढाउन नसकिने संकेत दिइसकेका छन् । 
चालू वर्षमा आयोगले स्थानीय र प्रदेश सरकारलाई कुल राजस्वको १० प्रतिशत र संघलाई कुल जीडीपीको ५ प्रतिशतको आन्तरिक ऋण उठाउने सीमा दिएको थियो । अर्थ मन्त्रालयले प्रदेश र स्थानीय सरकारबाहेक कुल जीडीपीको ५ प्रतिशतसम्म आन्तरिक ऋण उठाउन दिनुपर्ने बताउँनै आएपनि आयोगले त्यो भन्दा बढी गएमा बजारमा तरलता अभाव भई बैकको ब्याज दर बढेर समग्र माइक्रो इकोनोमिक इन्डिकेटर बिग्रने भएकोले आन्तरिक ऋण बढाउन नहुने बताउँदै आएको छ । पुँजी लगानीको अभाव देखिएमा यसले समग्र अर्थतन्त्रलाई असर पारी देश ऋणको पासोमा पर्न सक्ने अर्थविद्हरूले बताउँदै आएका छन् तर नेपाल हालसम्म आर्थिक रूपमा टाट पल्टेर ऋण तिर्न नसकेको अवस्था भने नभएको सरकारी अधिकारीहरू बताउँछन् । 
विकसित राष्ट्रहरूको अर्थतन्त्र ठूलो भएकोले ऋण जीडीपीमा जान सक्ने भएपनि नेपालको अर्थतन्त्र सानो तथा ४० प्रतिशतसम्म अनौपचारिक अर्थतन्त्र रहेकोले आन्तरिक ऋणको सीमा बढाउन नहुने तर्क उनीहरूको छ । सबै साधारण खर्च समेत राजस्वले धान्न नसक्ने भएकोले ऋणबाटै चलाउनुपर्ने कारण बढी आन्तरिक ऋण लिएमा बजारमा तरलता अभाव भई लगानी कम भएर उपलब्धिमा असर परी आर्थिक वृद्धिदर र जीडीपीमा असर पर्ने अर्थविद्हरूले बताउँदै आएका छन् । 
सरकारले भने एक खर्ब बराबरको भुक्तानी गर्नुपर्ने लगायतका कारण जनाउँदै आन्तरिक ऋण उठाउनुपरेको बताउँदै आएको छ । अर्थविद्हरूले भने आर्थिक वर्षको अन्तिम समयमा आएर उठाउने प्रकृया अघि बढाउनुलाई सकारात्मक मानेका छैनन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले वैदेशिक लगानी र राजस्व घट्नु तथा ठूलो रकम ठेकेदारलाई दिनका लागि आन्तरिक ऋण नउठाउनुलाई नकारात्मक नभए पनि अन्तिम समयमा आएर उठाउनुले सरकार चुकेको देखिएको बताउँछन् । “आन्तरिक उठाउन नपाइने होइन, पाइन्छ तर समयमै उठाउनुपर्दथ्यो । नियमित रूपमा नउठाएर अन्तिम समयमा उठाउनुले सरकार चुकेको भन्ने देखाउँछ,” उनी भन्छन् । 
अर्थविद डा. डिल्लीराज खनाल भने बजेटको प्रस्ताव अनुसार सरकारले आन्तरिक ऋण उठाउन सक्ने भएपनि आर्थिक वर्षको अन्तिममा अर्बौंको चेक दिने प्रवृत्ति अझै पनि कायम रहनु गलत भएको बताउँछन् । “आवश्यकता हो भने त्यो उठाउनु गलत होइन, नौ महिनाको राजस्वले समेत आन्तरिक ऋणको संकेत गरेको छ,” उनी भन्छन्, “आन्तरिक ऋण अनुत्पादक क्षेत्रमा बढी खर्च भएमा यसले अर्थतन्त्रमा असर पार्छ ।” उनी कुल जीडीपीको आन्तरिक ऋणको सीमा ५ प्रतिशतबाट माथि सक्ने भएपनि त्यो रकम उत्पादनमूलक क्षेत्रमा खर्च हुनुपर्ने र नभए यसले समस्या ल्याउने बताउँछन् । 
योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री भने ३÷३ महिनामा आन्तरिक ऋण नउठाएर असारे खर्चको भुक्तानी गर्न आन्तरिक ऋण उठाउनु गलत भएको टिप्पणी गर्छन् । “विगतमा सम्पन्न भइसकेका आयोजनाको भुक्तानीका लागि हो त भने यो रकम जनताको हातमा पुग्ला तर असारे खर्चका लागि हो भने यसले समस्या जन्माउँछ,” उनी भन्छन् । पँुजीगत खर्च नभएको तथा बजेटमा भएका परियोजनाका लागि बजेट छुट्याइसकेको र अपुग भएमा पनि रकमान्तर गर्नसक्ने अवस्था रहेपनि अन्तिम समयमा आएर आन्तरिक ऋण उठाउँदा अहिले आर्थिक अराजता ल्याउन सक्ने अर्थशास्त्री डा. विश्व पौडेलको तर्क छ । “अन्तिम समयमा आन्तरिक ऋण उठाएर त्यो रिजर्भ राखी अर्को वर्षको बजेट व्यवस्थापन गर्न खोजिएको हो भने त यसले बजारमा तरलता अभाव र भुक्तानी साईकलमा असर गरी ठूलो समस्या ल्याउन सक्छ,” उनी भन्छन् ।