बिहिवार, बैशाख १९, २०७६
बंगलादेश सरकारले नेपालबाट बिजुली किन्ने घोषणा गरे पनि त्यसका लागि नेपालका तर्फबाट हालसम्म ढिलाइ भएको पाइएको छ । ८ महिनाअघि बंगलादेशको ढाकामा भएको ऊर्जा सप्ताहमा सन् २०४० भित्र ९ हजार मेगावाट विद्युत् निर्यात गर्ने तथा नेपालका जलविद्युत् आयोजनामा लगानी गर्ने उल्लेख भए पनि नेपालका तर्फबाट भने यसका लागि हालसम्म कुनै पहल नगरेर ढिलाइ गरेको पाइएको हो ।
बंगलादेशको निजी क्षेत्रका स्वतन्त्र ऊर्जा उत्पादनकहरूको संस्था (विप्पा) को निमन्त्रणामा बंगलादेश पुगेका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को टोलीसँग बंगलादेशका अधिकारीहरूले नेपालले हालसम्म बिजुली निर्यातको सार्थक प्रयास नगरेको बताएका थिए । बंगलादेश विजुली ल्याउन कानुनी, नीतिगत तथा पूर्वाधार निर्माण गर्नुपर्ने भए पनि त्यसका लागि सार्थक प्रयास नगरेको उनीहरूको गुनासो थियो ।
इप्पान अध्यक्ष शैलेन्द्र गुरागाईको नेतृत्वमा गएको १४ सदस्यीय निजी प्रवद्र्धक टोलीले ऊर्जा र खानीमन्त्री नसरुल हमिदका साथै विद्युत् प्राधिकरण, नियमन आयोग, महशुल आयोगलगायतका ऊर्जासँग सम्बन्धित निकायका अधिकारीहरूसँग छलफल गरेका थिए । “नेपालले दुई देशबीच रहेको सचिवस्तरीय संयन्त्र, बीबीआईएन तथा दुई देशबीच भएको ऊर्जा समझदारीलाई सार्थक बनाउन हालसम्म कुनै पहलकदमी नगरेको र बंगलादेशले तत्काल लान इच्छुक भए पनि यसको प्रारम्भिक प्रक्रिया अघि नबढ्दा समस्या परेको अधिकारीले बताए,” टोलीका एक सहभागीले भने, “दुई देशका मन्त्रीस्तरमा जति सकारात्मक कुरा भए पनि कर्मचारी संयन्त्रमा प्रारम्भिक काम पनि सुरु नभएको उनीहरूको भनाइको निष्कर्ष थियो ।” इप्पान उपाध्यक्ष कुमार पाण्डेले भने बंगलादेशका अधिकारीले ऊर्जा सहकार्यको समझदारीअनुसारको आवश्यक पूर्वाधार र संयन्त्र सक्रिय नभएको गुनासो गरेको बताए । “हामी नेपालबाट तत्काल बिजुली किन्न तयार छौं, तर नेपालमा नियमन आयोग छैन, परराष्ट्र मन्त्रालयबीच छलफल गरेर व्यापारको कार्यविधि पनि बनाइएको छैन, अन्य आवश्यक पूर्वाधार बनाउनका लागि दु्रतगतिमा काम भएको छैन भनेर गुनासो उहाँहरूको थियो,” उनले भने । बंगलादेशले १११० मेगावाटको सुनकोसी दोस्रो तथा ५३६ मेगावाटको सुनकोसी दोस्रो जलविद्युत् आयोजना बनाउन इच्छा व्यक्त गरे पनि त्यो प्रक्रिया पनि अघि बढेको छैन । उनीहरूले नेपाल–भारत–बंगलादेशको जोड्ने ४०० केभीको अन्तरदेशीय प्रसारणलाइन निर्माणका साथै भारत हुँदै जाने भए पनि सोअनुसारको अघि बढाउनका लागि सार्थक पहल हुन नसकेको पनि बताएका थिए । अनारमणिदेखि सिलगुढी हुँदै बंगलादेशको चटगाउँसम्म प्रसारणलाइन बनाएमा २३ किलोमिटरमै दुई देशबीचमा प्रसारण जोडिने अवस्था छ तर यसको पनि सार्थक पहल भएको छैन । बंगलादेशका अधिकारीहरूले ढिला भए पनि छिट्टै दुई देशबीच बैठक बस्न लागेकाले केही आशा जागे पनि विगतमा भने यस गाउँमा ढिलाइ भएको गुनासो गरेका थिए ।
बंगलादेशको मागअनुसार नेपालले विद्युत् बिक्री गर्न सकेमा यसको मूल्य झन्डै बार्षिक ३६ अर्ब रूपैयाँ बराबर हुने अनुमान गरिएको छ । बंगलादेशले भारतीय कम्पनी जीमएमआरले निर्माण गरिरहेको ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली किन्ने योजना भने अन्तिम चरणमा पुगेको टोलीलाई बताएको थियो ।
No comments:
Post a Comment