Sunday, August 4, 2019

प्रसारणलाइन र बायोग्यासको प्रगति लक्ष्यभन्दा दोब्बर

सोमवार, श्रावण २०, २०७६
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ऊर्जातर्फको प्रसारणलाइन निर्माण र संस्थागत तथा सामुदायिक बायोग्यास जडानको प्रगति २ सय प्रतिशतभन्दा बढी देखिएको छ । 
ऊर्जा मन्त्रालयले तेस्रो चौमासिक एवं बार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पेश गरेको प्रतिवेदनअनुसार ऊर्जातर्फको प्रगति यति धेरै देखिएको हो । बैठकमा ऊर्जा सचिव दिनेश घिमिरेले पेश गरेको प्रगति विवरण अनुसार, अघिल्लो आर्थिक वर्ष २०७४-७५ को तुलनामा गत वर्ष २०७५-७६ मा ६६ केभी तथा सोभन्दा माथिका प्रसारणलाइनमा २ सय ४ प्रतिशत तथा बायोग्यास निर्माणमा २२६ प्रतिशत प्रगति भएको देखिएको छ । अघिल्लो वर्ष ३ हजार १ सय ८९ सर्किट किलोमिटर प्रसारणलाइनमा २४९ किलोमिटर थपिएकोमा गत वर्ष ७ सय ५७ किलोमिटर थपिएको छ । त्यसैगरी अघिल्लो वर्ष २३ मात्र संस्थागत तथा बायोग्यास जडान भएकोमा गत वर्ष ७५ थपिएर १८६ पुगेको छ । 
प्रगति प्रतिवेदनअनुसार १ हजार २० मेगावाट रहेको विद्युत् उत्पादनमा अघिल्लो वर्ष ११० मेगावाट थपिएकोमा गत वर्ष १९५ मेगावाट थपिएको छ । यो अघिल्लो वर्षको तुलनामा ७७ प्रतिशत वृद्धि भएको हो । जलविद्युत् उत्पादनतर्फ भने विद्युत् प्राधिकरणले ४८ मेगावाट मात्र थपिएको जनाएपनि वैकल्पिक ऊर्जाको तथ्यांकले यो देखाएको छ । त्यसैगरी सवस्टेशन क्षमताको प्रगति भने सबैभन्दा कम १९ प्रतिशत मात्र देखिएको छ । २१७८ एमभीए सवस्टेशन क्षमता रहेकोमा अघिल्लो वर्ष ६९८ केभीए बढेकोमा गत वर्ष ८३० एमभीए मात्र बढेको छ । विवरणअनुसार विद्युत्को पहुँचमा पनि ४० प्रतिशत प्रगति भएको छ । ३७ लाख ५० हजार घरधुरीमा विद्युत्को पहुँच पुगेकोमा अघिल्लो वर्ष ३ लाख बढेकोमा गत वर्ष ४ लाख २० हजार घरधुरीमा थपिएको छ । राष्ट्रिय प्रसारण प्रणालीको पहुँचमा पनि ६० प्रतिशतले वृद्धि भएको छ । ६५ प्रतिशत रहेको जनसंख्याको पहुँचमा अघिल्लो वर्ष ५ प्रतिशत बढेको थियो भने गत वर्ष ८ प्रतिशत बढेको छ । त्यसुैगरी प्रति व्यक्ति विद्युत् खपत १६६ किलोवाट रहेकोमा अघिल्लो वर्ष ३२ किलोघण्टा बढेको थियो भने गत वर्ष ४७ किलोवाट घण्टा बढेको प्रतिवेदनले देखाएको छ । यो ४७ प्रतिशत प्रगति हो । त्यसैगरी सौर्य, वायु र मिनि ग्रिड ऊर्जातर्फ २५६ किलोवाट रहेकोमा अघिल्लो वर्ष २ सय किलोवाट बढेकोमा गत वर्ष ४७ किलोवाट बढेर २४५ किलोवाट पुगेको छ । दोस्रो प्राथमिकतामा रहेको ३ आयोजनाको प्रगति भने ५ प्रतिशतभन्दा कम छ । 
मन्त्रालयको प्रगतिअनुसार ऊर्जातर्फ ८१ ऋर्ब ८७ करोड बजेट रहेकोमा ४८ अर्ब ५४ करोड अर्थात ५९ प्रतिशत मात्र प्रगति भएको देखिएको छ । यस्तै, चालूतर्फ ३७ प्रतिशत, पुँजीगततर्फ ६० प्रतिशत र वित्तिय व्यवथातर्फ ६१ प्रतिशत प्रगति भएको छ । बैठकमा पेश गरेको प्रगति विवरणअनुसार ३६ आयोजनामध्ये ३३ आयोजना पहिलो प्राथमिकता (पी १) मा रहेकोमा १६ आयोजनाले ८० प्रतिशत माथि, ११ ले ५० प्रतिशत माथि र ६ आयोजनाले ५० प्रतिशतभन्दा कम प्रगति गरेका छन् ।

No comments: