Saturday, May 30, 2020

ऊर्जातर्फ निजी क्षेत्रलाई नियन्त्रण गर्ने बजेट

शुक्रवार, जेठ १६, २०७७
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार सार्वजनिक गरेको आगामी वर्ष २०७७-७८ को बजेटमा ऊर्जातर्फ चालू वर्षभन्दा घटेको छ भने सिँचाइतर्फ बढेको छ । चालू वर्षको बजेटमा ऊर्जा क्षेत्रतर्फ ८३ अर्ब ४९ करोड बजेट विनियोजन भएकोमा १२ अर्ब घटेको छ भने सिँचाइतर्फ ४ अर्ब बढेको छ ।
संघ, प्रदेश र स्थानीय तहका लागि १ खर्ब ५ अर्ब ८१ करोड २४ लाख बजेट रहेकोमा संघका लागि ९९ अर्ब २९ करोड ४८ लाख छ भने प्रदेशमा ५ अर्ब ८५ करोड ७४ लाख तथा स्थानीय ६६ करोड छ । मन्त्रालयमा रहेको बजेटमध्ये ऊर्जातर्फ ७१ अर्ब ३३ करोड तथा सिँचाइतर्फ २७ अर्ब ९६ करोड छ ।
बजेटमा घरायसी साना विद्युत् उपभोक्तालाई मासिक १० युनिटसम्म खपत गर्नेलाई विद्युत् महशुल निःशुल्क तथा मासिक १५० युनिट खपत गर्नेलाई २५ प्रतिशत र २५ युनिट खपत गर्नेलाई १५ प्रतिशतले महसुल छुट दिने उल्लेख छ । त्यसैगरी खानेपानी र सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत् डिमाण्ड शुल्क मिनाहा र विद्युत् महशुलमा सहुलियत दिने व्यवस्था पनि घोषणा गरिएको छ ।
बजेटमा कोरोना महामारीको कारणले प्रभावित उत्पादनमूलक उद्योगहरूको लक डाउन अवधिभर विद्युत् डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने घोषणा पनि गरिएको छ ।, निजी क्षेत्रले डिमाण्ड शुल्क मिनाहासहित कम्तीमा २० प्रतिशत महशुल छुटको माग गरेका थिए तर अफ पिक आवरको बिजुलीको महशुलमा मात्र ५० प्रतिशत छुट दिने उल्लेख छ ।
आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोशी, ५६ मेगावाटको साञ्जेन र निजी समेत गरी १ हजार ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थप गर्ने सार्वजनिक बजेटमा उल्लेख छ । चालू वर्षमा १ हजार मेगावाट थप गर्ने लक्ष्य राखेकोमा फागुनसम्म १ सय ४ मेगावाट मात्र थप भएको थियो ।
बजेटमा झण्डै २५ हजार मेगावाट बराबरका आयोजना अघि बढाउने उल्लेख छ । नेपाल विद्युत् प्राधिकरण संस्थागत जमानीमा ६ सय ३५ मेगावाट आयोजनामा लागतको निश्चित अंश बाह्य लगानी परिचालन गरिने र यसमा चार अन्तर्राष्टिय वित्तिय संस्थाका वित्त लगानी विधिमा निर्माण गरिने उल्लेख छ ।
नेपालको पानी जनताको लगानी अभियान अन्र्तगत १०६१ मेगावाट माथिल्लो अरुण, ४ सय मेगवाटको किमाथांका अरुण, ४२६ मेगावाटको फुकेट कर्णाली, १०१ मेगावाटको तामाकोशी ५, ४५६ मेगावाटको चैनपुर सेती, १०६ मेगावाटको जगदुल्ला लगायतका जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाइने पनि बजेट तथा कार्यक्रमा उल्लेख छ । गत वर्ष पनि यही कार्यक्रम उल्लेख थियो । १२ सय मेवाको बूढीगण्डकी जलाशययुक्त, १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी, ४१७ मेगावाटको नलगाढ, ८२८ मेगावाटको उत्तरगंगा, ८६ मेगावाटको आँधीखोला र २४५ मेगावाटको नौमुरे बहुउद्देश्यीय आयोजनाको लगानी ढाँचा यकीन गरी कार्यान्वयन गरिने पनि बजेटमा उल्लेख छ । ७६२ मेगावाटको तमोर र १५६ मेगावाटको माडी जलविद्युत् आयोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा विस्तृत अध्ययन र डिजाइनको कार्य सम्पन्न गरी अघि बढाइने तथा ६४ सय मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विकास कार्य अघि बढाइने पनि बजेटमा उल्लेख छ ।
झापाको अनारमनीदेखि कञ्चनपुरको महेन्द्रनगरसम्मको तथा ढल्कबेर–मुजफपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अघि बढाइने छ । ऊर्जा मन्त्रालयका अनुसार, ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण निर्माण सम्पन्न भैसकेकोमा भुलबश सोबारे बजेटमा उल्लेख भएको हो । त्यसैगरी अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगमा अघि बढ्न लागेको लप्सीफेदी–रातमाटे–हेटौडा र लप्सीफेदी–रातमाटे–दमौली– बुटबल प्रसारण लाइन पनि अघि बढाइने पनि उल्लेख गरिएको छ । भारततर्फको बुटवल–गोरखपुर र लम्की–बरेली तथा चीनतर्फको गल्छी–केरुङ अन्दरदेशीय प्रसारण खण्डको निर्माण प्रारम्भ गरिने पनि बजेट तथा कार्यक्रममा उल्लेख छ । नदी वेसिनमा आधारित उत्तर दक्षिण प्रसारण लाइनको निर्माण सम्पन्न गरिने उल्लेख गर्दै प्रसारण लाइनका लागि ३६ अर्ब २ करोड बजेट छुट्याइएको छ ।
आगामी दुई वर्षभित्र सबै परिवारमा नवीकरणीय ऊर्जाको पहुँच पु-याई उज्यालो नेपालको अभियान सम्पन्न उल्लेख गर्दै प्रदेश २, बाग्मती, गण्डकी र प्रदेश ५ का सबै घरमा आगामी वर्ष तथा प्रदेश १, कर्णाली र सुदुरपश्चिममा आगामी दुई वर्षभित्र आधुनिक ऊर्जाको पहुँच पु-याइने पनि कार्यक्रमा उल्लेख छ । गरिब र विपन्न परिवारलाई विद्युत् जडान गर्दा निःशुल्क कनेक्सन सुविधा दिइने व्यवस्था मिलाइने भन्दै ग्रामीण विद्युत्ीकरणका लागि ४ अर्ब बजेट छुट्याएको छ ।
नेपाल विद्युत् प्राधिकरणको संस्थागत पुर्नसंरचना गरी उत्पादन, प्रसारण र वितरणको कार्य छुट्टाछुट्टै संयन्त्रबाट गर्ने व्यवस्था मिलाउने उल्लेख गर्दै काठमाडांैबाट सुरु गरिएको बिजुलीको तार भुमिगत गर्ने कामलाई निरन्तरता दिई आगामी वर्ष भक्तपुर, ललितपुर र चितवन जिल्ला लगायतका ठूला सहरमा विस्तार गरिने बजेटमा उल्लेख छ ।
विद्युत् विकासका लागि अनुमति लिई लामो समयसम्म आयोजना विकास कार्य सुरु नगर्ने आयोजनाको इजाजतपत्र रद्ध गरिने तथा प्रतिस्पर्धात्मक विधिबाट विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने व्यवस्था मिलाउने पनि बजेटमा उल्लेख छ ।
ऊर्जा बारेको बजेटलाई निजी क्षेत्रले भने सरकारले सहजीकरण गर्नुको सट्टा नियन्त्रण र नियमन गर्न खोजेको आरोप लगाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले द्वन्द्वकालको कारण रुग्ण भएका जलविद्युत् आयोजनाहरूका साथै निर्माणाधीन आयोजनाहरू रुग्ण हुने अवस्थामा पुगेको र अनुमतिपत्रि लिएर अघि बढाउन नसकेका आयोजनाहरूको कुनै सम्बोधन भएन । “निजी क्षेत्रलाई सहजीकरा गर्ने गरी आउला भनेको उल्टै नियन्त्रणमुखी र नियमन गर्ने गरी आयो, निजी क्षेत्रलाई लात हान्ने गरी आयो,” उनले भने, “प्रवद्र्धकहरूलाई दुःख दिने गरी मात्र आयो । सारै निराशाजनक छ, विद्युत्लाई कम प्राथमिकता दिइयो ।”
सिँचाइमा बजेट
बजेट तथा कार्यक्रमले समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम अन्तर्गत आगामी वर्ष तराई र भित्री मधेशका २५ जिल्लामा ५ हजार स्यालो ट्युबेल तथा २ सय ४७ डिप ट्यूवेल जडान गरी थप २२ हजार हेक्टर कृषियोग्य जमीनमा भूमिगत सिँचाइ सुविधा पु-याउन २ अर्ब ३२ करोड विनियोजन गरिएको छ ।
राष्ट्रिय गौरवको सिँचाइ आयोजना रानी जमरा कुलरिया लगायत सिक्टा, भेरी–बबई डाइभर्सन, बबई, प्रगन्ना तथा बडकापथ, वागमती, पालुङ्गटार, बृहत दाङ्ग उपत्यका लगायतका सिँचाइ आयोजनाको कार्यान्वयन गरिने उल्लेख गर्दै महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा विकास गरिने उल्लेख गर्दै त्यसका लागि १० अर्ब २५ करोड बजेट छुट्याइएको छ ।
सुनकोशी–मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल निर्माणको कार्य आगामी वर्ष शुरु गर्न २ अर्ब ४६ करोड छुट्याइएको बजेटमा पहाडी तथा हिमाली क्षेत्रका नदी छेउछाउमा रहेका कृषियोग्य जमीनमा सौर्य ऊर्जाको उपयोग गरी लिफ्ट सिँचाइ कार्यक्रम सञ्चालन गरिने तथा प्लास्टिक पोखरी निर्माण, ताल तलैया संरक्षण तथा वर्षातको पानी संकलन गरी सिँचाइ सुविधा पुर्याइने उल्लेख छ ।
महाकाली, कर्णाली, नारायणी, कमला र कोशी लगायतका ठूला नदी र अन्य जोखिमयुक्त नदी नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै बजेटमा सीमा क्षेत्रमा हुने नदी कटान र डुबानको समस्या समाधान गर्न द्विपक्षीय संयन्त्रहरूलाई क्रियाशिल बनाइने तथा नदी नियन्त्रण र पहिरो व्यवस्थापनमा बायो इञ्जिनियरिङ प्रविधिको प्रयोगमा जोड दिइने बजेटमा उल्लेख छ ।
बजेटमा ऊर्जा
मासिक १० युनिटसम्म विद्युत् महशुल निःशुल्क
उद्योगलाई लकडाउन अवधिभर डिमाण्ड शुल्क छुट
१३ सय मेगावाट विद्युत् थप
२५ हजार मेगावाट आयोजना अघि बढाउने
एमसीसी परियोजना अघि बढाइने
तीन अन्तरदेशीय प्रसारणलाइन अघि बढाइने
दुई वर्षभित्र पूर्ण विद्युतीकरण
विद्युत् प्राधिकरणको खण्डीकरण
विद्युत् खपत बढाइने
लाइसेन्स होल्ड गर्नेको अनुमतिपत्र खारेज
पीपीए प्रतिस्पर्धामा
सुनकोशी–मरिन टनेल सुरु गरिने

Wednesday, May 27, 2020

चालू वर्षको बजेटका अधिकांश ऊर्जा कार्यक्रम अधुरै

बिहिवार, जेठ १५, २०७७
चालू आर्थिक वर्ष (२०७६-७७) को बजेट तथा कार्यक्रम प्रश्तुत गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले समृद्धिको संवाहक क्षेत्र ऊर्जालाई बनाउने भन्दै धेरै लक्ष्यसहित आयोजनाको अघि बढाउने घोषणा गरेका थिए ।
तर, अधिकांश पूरा हुन सकेनन् । चैतदेखि सुरु भएको कोरोना महामारीले ऊर्जा क्षेत्रमा प्रभाव परेपनि चैत्र अगावै सम्पन्न हुने कतिपय आयोजनाहरू पुरा हुन सकेनन भने घोषणा गरिएको  लक्ष्य पनि पुरा भएनन् । चालू वर्षभित्र माथिल्लो तामाकोसी र रसुवागढी लगायतका निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माण कार्यलाई तीव्रता दिई कम्तीमा हजार मेगावाट जलविद्युत् क्षमता राष्ट्रिय प्रणालीमा थप गरिने घोषणा गरिएको थियो तर अर्थमन्त्रीले संसदमा पेश गरेको आर्थिक सर्भेक्षणले फागुनसम्ममा १ सय ४ मेगावाट उत्पादन भएको देखाएको छ । निर्माण सम्पन्न भएर परीक्षणको क्रममा रहेका आयोजनासहित चालू वर्षभित्र १ सय ५० मेगावाटको हाराहारीमा उत्पादन हुने देखिएको छ । प्राधिकरण स्रोतका अनुसार, चालू वर्षभित्र सकिने भनिएका ४५६ मेगावाटको तामाकोशी, १११ मेगावाटको रसुवागढी, ५६ मेगावाटको साञ्जेन लगायतका सम्पन्न हुने अवस्था थिएन ।
केही ठूला आयोजनाहरू सुरुवात गर्ने घोषणा पनि बजेटमा थियो तर त्यो पनि  कुनै सुरु हुन सकेनन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थ भने कोरोना महामारीको कारण लक्ष्य हासिल प्राप्ति र धेरै आयोजनाहरू अघि बढाउन कठिन भएको बताउँछन् । “कोरोना महामारीपछि अधिकांश लक्ष्य प्राप्ति र आयोजनाहरू अघि बढाउन कठिन भयो,” उनी भन्छन् । चालू वर्षको बजेटले जलविद्युत्, सौर्य, जैविक, वायु लगायतका नविकरणीय ऊर्जाको उपयोगबाट ऊर्जाको पहुँच कम भएका प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई  पूर्ण रूपमा अँध्यारोमुक्त प्रदेश घोषणा गरिने उल्लेख गरेको थियो तर त्यो योजना पनि सफल हुन सकेन ।बूढीगण्डकी आयोजनाको लागि १३ अर्ब ५७ करोड बजेट छुट्याएकोमा आधा मात्र खर्च भयो भने ठेक्का रद्ध भएकोले तनहुँ जलविद्युत् आयोजनाका लागि छुट्याएको ८ अर्ब ९० करोडमा धेरै खर्च हुन नसकेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
ऊर्जा मन्त्रालयका अनुसार, बूढीगंगा जलविद्युत् आयोजनाका लागि २ अर्ब २ करोड विनियोजन गरेपनि अध्ययनको काम पूरा भएपनि निर्माणका लागि काम अघि बढेन । प्रत्येक नेपालीलाई क्षमता अनुसारको लगानीको अवसर प्रदान गर्दै छरिएर रहेको पुँजी जलविद्युत् विकासमा परिचालन गर्न नेपालको पानी जनताको लगानी अभियान सञ्चालन गरी माथिल्लो अरुण, किमाथान्का अरुण, त्रिशूली ३बी, सान्जेन, माथिल्लो सान्जेन, फुकोट कर्णाली र किमाथांकालगायत १८ आयोजनाहरूको निर्माणबाट ३ हजार ५ सय मेगावाट क्षमताको जलविद्युत् उत्पादन प्रक्रिया अघि बढाइने बजेटमा उल्लेख छ, निर्माण अघि बढीसकेका त्रिशूली ३ बी, सान्जेन र माथिल्लो सान्जेनमा सर्वसाधारणलाई सेयरमा लैजाने गरी काम भएपनि अरुमा खास प्रगति नभएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका छन् । बजेटमा राष्ट्रसेवक कर्मचारीहरूको सेयर सहभागितामा समेत उपयुक्त आयोजना विकास गरिने उल्लेख भएपनि सोही काम पनि अघि बढेन ।
 तमोर जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरी राष्ट्रिय गौरवको आयोजनाको रूपमा कार्यान्वयन गरिने सो आयोजना अहिले लगानी बोर्ड मातहत पुगेको छ । जलविद्युत् लगानी तथा विकास कम्पनी र चीनीयाँ कम्पनीले संयुक्त रूपमा अघि बढाउने भनेपनि खास प्रगति हुन सकेन । दूधकोसी, पश्चिम सेती, कर्णाली चिसापानी, नलगाड र उत्तरगंगा लगायतका जलविद्युत् आयोजनाहरूको लगानीको ढाँचा यकिन गरी निर्माण अघि बढाइने चालू वर्षको बजेटमा उल्लेख भएपनि खासै अघि बढ्न नसकेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ । दुधकोशीमा विश्व बैकले लगानीका लागि इच्छुक देखिएपनि लगानी ढाँचा टुंगो लागेको छैन भने लगानी बोर्ड मातहत रहेको पश्चिम सेतीको पनि यस्तै अवस्था छ । १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजनालाई दक्षिण एशियाका देशहरूको सहभागितामा अघि बढाउने भनेपनि खासै प्रगति नभएको ऊर्जा मन्त्रालयका अधिकारीहरू बताउँछन् । नलगाढ जलविद्युत् आयोजनाको विस्तृत अध्ययन समेत चालू वर्षमा पुरा हुन सकेन । ऊर्जा मन्त्रालयका अनुसार, उत्तरगंगाको पनि खास कार्यक्रम अघि बढेन ।
बजेटमा नौमुरे बहुउद्देश्यीय आयोजनाको निर्माण विधि तय गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने भनिएपनि अध्ययन भईरहेको आयोजनाको कुनै निर्माा विधि हुन सकेन । मन्त्रालयका अनुसार, ठूला आयोजनाहरूलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाउने भनिएको माडी र तमोर आयोजनाहरूलाई यही मोडेलमा अघि बढाउने भनिएपनि प्रारम्भिक काम मात्र सुरु भएको र ठोस कार्यक्रम अघि बढ्न सकेको छैन । चालू वर्षमा ढल्केबार, हेटौंडा, र ईनरुवामा निर्माणाधीन सवस्टेशनहरू निर्माण सम्पन्न गरी नेपालमा पहिलो पटक ४०० केभी प्रणालीमा आधारित ढल्केबर सवस्टेशन सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ ।
ढल्केबर सवस्टेशन असारसम्म चार्ज गर्ने गरी काम अघि बढीरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ तर लक्ष्य अनुसार अन्य प्रसारण लाइन पनि सुरु हुन सकेनन् । भारत जोड्ने बुटवलदेखि गोरखपुरसम्मको अन्तरदेशीय तथा चीन जोड्दे गल्छीदेखि केरुङसम्मको अन्तरदेशीय प्रसारण लाइन निर्माण अघि बढाइने चालू वर्षमा उल्लेख छ तर दुवै अघि बढ्न सकेका छैनन् । भारत जोड्ने सो दोस्रो अन्तरदेशीय प्रसारण लाइनको लगानी ढाँचाबारे दुवै देशबीच सहमति भएपनि यसले अन्तिम रूपमा पाएको भने छैन । चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको लगानी ढाँचा समेत टुंगिएको छैन । पूर्व पश्चिम राजमार्ग र मध्य पहाडी पुष्पलाल लोकमार्गको समानान्तरमा र नदी वेसिनका आधारमा उत्तर दक्षिण प्रसारण लाईन निर्माण सुरु गरिने भएपनि अझ सुरु हुन सकेको छैन । संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा च्यालेन्ज फन्ड मार्फत नवीकरणीय ऊर्जाका बहुउपयोगी प्रविधिहरूको प्रवर्द्धन गरिने चालू वर्षको बजेटमा भनिएपनि यसको कार्यविधि समेत बन्न सकेन । आगामी वर्ष पनि पुरानैको निरन्तरताबिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०७७-०७८ को बजेटमा ऊर्जाका अधिकांश कार्यक्रम र योजनाहरूलाई निरन्तरता दिइने मन्त्रालय स्रोतले जनाएको छ ।
चालू वर्षकै सरह करिब ८३ अर्बको बजेट सिलिङ आएपनि कोरोना महामारीपछि करिब २० प्रतिशत कटौती हुने देखिएको छ । मन्त्रालयका अनुसार, चालू वर्षमा अघि बढेका करिब डेढ आयोजनाहरूको निरन्तरताका लागि बजेट आउनेछ । विद्युत् उत्पादनको क्षमता ३ हजार मेगावाट पुर्याउने, आगामी वर्षभित्र वाग्मती र गण्डकीका साथै २ र ५ प्रदेशमा तथा दुई वर्ष्भित्र १, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पूर्ण विद्युतीकरण गरि बजेट आउनेछ । नेपालको पानी जनताको लगानी अन्र्तगत माथिल्लो अरुण, तामाकोशी–५, दूधकोशी, फुकोट कर्णाली र जगदुल्ला जलविद्युत् आयोजना अध्ययन सम्पन्न गरी निर्माण सुरु गरिने गरी बजेट तथा कार्यक्रम आउने मन्त्रालय स्रोतले जनाएको छ । 
लक्ष्य-आयोजना प्रगति
१००८ मेगावाट १०४ (फागुनसम्म) 
माथिल्लो तामाकोशी पूरा भएन 
प्रदेश–२, कर्णाली र सुदूरपश्चिम अँध्यारोमुक्त पूरा भएन
१८ आयोजनाको उत्पादन प्रकृया अघि बढाइने अधिकांश बढेनन
कर्मचारीहरूको सेयर सहभागितामा आयोजना अघि बढेन
चिसापानी र पश्चिमसेतीसहित ५ को लगानी ढाँचा अघि बढेन
ढल्केबर सवस्टेशन सम्पन्न (लक्ष्य) 
बुटवल–गोरखपुर प्रसारण लाइन सुरु भएन
गल्छी–केरुङ प्रसारणलाइन सुरु भएन
च्यालेन्ज फन्डमार्फत नवीकरणीय ऊर्जा सुरु भएन
 

ऊर्जाको ठूलो लगानी सुरक्षित राख्न नसके अर्थतन्त्र ढल्छ

बुधवार, जेठ १४, २०७७
कुमार पाण्डे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष हुन् । उनी विगत २० वर्षदेखि जलविद्युत् क्षेत्रमा सक्रिय छन् । सरकारले आगामी आर्थिक वर्ष ०७७-७८ को बजेट भोलि जेठ १५ गते सार्वजनिक गर्दैछ भने जेठको पहिलो साता सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम, आगामी बजेटमा सरकारले समेट्नुपर्ने विषय र राहत प्याकेज, प्रसारण लाइनसँग सम्बन्धित अमेरिकी सरकारको मिलेनियमन च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना लगायतबारे पाण्डेसँग कारोबारकर्मी भीम गौतमले गरेको कुराकानी :

सरकारले ल्याएको नीति तथा कार्यक्रममा ऊर्जा क्षेत्रलाई कसरी समेटेको पाउनुभएको छ ?
सरकारको २०७७-०७८ नीति तथा कार्यक्रममा ऊर्जा क्षेत्रका लागि विशेष कार्यक्रम आएको देखिन्न । ठूला आयोजना बनाउने लक्ष्यहरू राखिएका छन् । अब आउँदो बजेटमा सञ्चालनमा रहेका र भविष्यमा आउने आयोजनाहरू, कोभिडको महामारीले थलिएका आयोजनाहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारको पूर्वाधार तथा आन्तरिक बजार विस्तारका लागि स्रोत कसरी जुटाइन्छ भनेर हेर्नुपर्ने हुन्छ ।
निजी क्षेत्रले दिएका सुझावहरू नीति तथा कार्यक्रममा समावेश छन् कि छैनन् ?
निजी क्षेत्रले दिएका सुझावहरू हामीले बजेट तथा मौद्रिक नीतिमा तथा कोभिडको महामारीबाट पार पाएपछि समग्र अर्थतन्त्रका लागि बन्ने कार्यक्रममा समावेश हुन्छ भन्ने आशा लिएका छौं ।
कस्तो नीति तथा कार्यक्रम ल्याउन सकेमा निजी क्षेत्रले ऊर्जा क्षेत्रको विकासमा अग्रसर हुन सक्छ ?
नीति तथा कार्यक्रमले नेपालमा उत्पादित विद्युत्बाट समग्र राष्ट्रको विकासमा ठोस टेवा दिन सक्नका लागि वातावरण बनाइदिने हो । यो भनेको हामीले आवश्यक जति विद्युत् सुलभ मूल्यमा खपत गर्ने, नेपालमा उत्पादित विद्युत्ले हाम्रा उद्योग र व्यवसाय सञ्चालन गर्ने, आयात विस्थापन गर्ने र बढी भएको विद्युत् निर्यात गर्ने वातावरण सिर्जना गर्ने हो । प्रकृति प्रदत्त जलस्रोतको अधिकतम उपयोग गरी विद्युत्को उत्पादन वृद्धिबाट देशमा पेट्रोलियम पदार्थको आयात कम गर्ने तथा विद्युत् निर्यातबाट विदेशी मुद्रा आर्जन गरी देशको व्यापारघाटा कम गर्ने नीति तथा कार्यक्रमको तर्जुमा गरिनुपथ्र्याे । यसका लागि निजी क्षेत्रलाई सहज रूपमा काम गर्ने वातावरण बनाइदिनुपर्छ ।
तपाईंहरू विद्युत् व्यापार, प्रसारणलाइन र वितरणमा समेत निजी क्षेत्रको सहभागिता हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, उत्पादनमा समेत निजी क्षेत्रले समस्या भोगिरहेका बेला यो कसरी सम्भव होला ?
विद्युत् उत्पादनमा नेपालको निजी क्षेत्रले ठूलो सफलता हासिल गरेको छ । आज निजी उत्पादकहरूले देशको आधाभन्दा बढी क्षमता उपलब्ध गराइरहेका छौं । यसबाट हामीहरूलाई धेरै कुराको ज्ञान पनि बढ्यो । तर, उत्पादन भनेको विद्युत् विकासको एक पक्षमात्र हो । अन्य अरू क्षेत्र भनेको प्रसारण, व्यापार र वितरण हुन् । यी अरू क्षेत्रको विस्तार नगरी उत्पादन मात्र बढाउन सकिन्न । तर, यी अन्य पक्षको विकास गर्ने जिम्मा पाएका निकायहरूले जुन गतिमा काम गर्न पर्ने हो सो भएन । तसर्थ निजी क्षेत्रले सरकारी निकायहरूभन्दा बढी दक्षताका साथ यी काम पनि गर्न सक्ने देखिएकाले निजी लगानीकर्ताहरू यो काम गर्न अघि सरेका हुन् । यसमा अवश्य पनि चुनौतीहरू छन् तर अन्य निकायभन्दा हामी प्रभावकारी हुन सक्छौं ।
निजी क्षेत्रले लगानी गरेका जलविद्युत् लागत बढी भयो भनेर गुनासो आइरहेको छ ? कि महँगो हुँदे गएको हो, के अन्य देशसँगको विद्युत् व्यापारका लागि प्रतिस्पर्धी हुने गरी सस्तो बनाउन सकिने अवस्था छैन ?
आज नेपालमा सबैभन्दा सस्तो विद्युत् उत्पादन स्वदेशी निजी क्षेत्रबाटै भएको छ । हामी करिब २० वर्षदेखि विद्युत् उत्पादनको काममा लागेका छौं । यो बीचमा देशमा एक दशक आन्तरिक द्वन्द्व, वर्षौंको राजनीतिक संक्रमण, भूकम्प, नाकाबन्दी, आदि सबै भोग्यौं । र, हामीले सञ्चालन गरेका आयोजनाहरूको लागत यी कारणहरूबाट प्रभावित हुँदाहुँदै पनि आज पनि रु. ३.९० प्रति युनिटसम्ममा पनि विद्युत् उपलब्ध गराइरहेका छौं । यद्यपि, यो समयमा सिमेन्ट, डन्डी, डिजेल, डलर, सबैको भाउ अत्यधिक रूपमा बढ्यो र हाम्रा केही आयोजना यो मूल्यवृद्धिको चपेटामा परे । तर, यही समयमा स्वदेशी निजी क्षेत्रबाहेकका अन्य अरू आयोजनको लागत र बन्न लागेको समय हेर्दा पनि स्वदेशी निजी क्षेत्रबाट सस्तो र छिटो विद्युत् उत्पादन भएको प्रमाणित हुन्छ । तर, नेपालमा ऊर्जाको लागत घटाई हाम्रो ऊर्जा क्षेत्रीय बजारमा प्रतिस्पर्धी बनाउन तथा हाम्रो सस्तो ऊर्जाले देशमा उद्योग, कृषि, पर्यटन, व्यापार आदि सबैको प्रवद्र्धन गर्न आवश्यक छ । ऊर्जा सस्तो बनाउन नेपाल सरकार सक्रिय हुनुपर्छ । सस्तो बनाउन प्राविधिक, आर्थिक, व्यवस्थापकीय सोचमा परिवर्तन गर्नुपर्छ । यो भनेको प्रत्येक आयोजनालाई लाभ लागतका आधारमा डिजाइन गर्नुपर्छ, बजारको विस्तार गरिनुपर्छ र लगानी गर्दा लिइने ऋणमा ब्याजदर सस्तो र स्थिर हुनुपर्छ । हाम्रो प्रशासन संयन्त्र छिटो–छरितो बन्नु आवश्यक छ । यस्ता सुधारहरूले नेपालमा उत्पादित विद्युत् सस्तो गराउन सकिन्छ ।
अहिले पनि धेरै साना जलविद्युत् आयोजनाले सावाँ–ब्याज तिर्न सकिरहेका छैनन्, जनताको सेयरको मुनाफामा धेरै टाढाको कुरा । के यसमा तपाईंहरूको हाइड्रोलोजी अध्ययन कमजोरको कारण यस्तो भएको होकि अन्य कारणहरू पनि छन् ?
पहिले नै भनेअनुसार सञ्चालनमा आएका साना आयोजनाहरू विभिन्न कारणले समस्यामा परे । तीमध्ये कतिपय देशमा आन्तरिक द्वन्द्व, राजनीतिक संक्रमण, भूकम्प, नाकाबन्दी सबैै कारकतŒव बने । त्यसैगरी बैंकको ब्याजदर पनि अनियन्त्रित भयो । यसका अलावा सुरुसुरुका कुनै आयोजनाका अध्ययन पनि कमजोर भए र भनेजति विद्युत् उत्पादन गर्न सकेनन् । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणले सम्पन्न गर्नुपर्ने प्रसारण लाइनहरू पनि सम्पन्न गर्न नसक्दा धेरै आयोजना समस्याग्रस्त भएका छन् । यी सुरुवाती आयोजनाहरू विभिन्न कारणले समस्यामा परे पनि यिनीहरूबाट हामीले धेरै पाठ र अनुभव हासिल गरेका छौं र यिनीहरूको आधारमा हामी देशमा १५ हजार मेगावाटको लक्ष्य लिएर अगाडि बढ्ने आँट गर्न सकेका हौं भन्ने कुरा बिर्सन हुँदैन । यी समस्याग्रस्त मध्ये धेरै आयोजनालाई सरकार र ने.वि.प्रा.ले थोरै मात्र राहत दिएमा यी सफल उद्योगका रूपमा सञ्चालन हुनसक्छन् ।
कोरोना महामारीपछि ऊर्जा क्षेत्रमा पनि धेरै असर परेको भनिएको छ, यसमा के–के असर परेको छ ?
कोरोना भाइरसको महामारीले विद्युत्को अध्ययन, निर्माण तथा उत्पादन गरिरहेका प्रवद्र्धकहरूलाई ठूलो जोखिमको घडीमा पु-याएको छ भने विद्युत् उत्पादनबाहेक अन्य काम प्रायः ठप्प भएको छ । विद्युत् विकास तथा उत्पादनका विभिन्न चरणमा रहेका सबै आयोजनाहरूलाई यो महामारीले असर पारेको छ । हाल विद्युत् उत्पादन गरिरहेका आयोजनाहरूले साह्रै कठिन परिस्थिातिमा कार्य क्षेत्रमा सुरक्षित वातावरण कायम गरी, अनावश्यक कर्मचारीलाई बिदा दिई, संक्रमण सकेसम्म हुन नदिने र भए पनि फैलन नदिने व्यवस्था मिलाई राष्ट्रिय प्रणालिमा विद्युत् आपूर्ति गरिरहेको अवस्था छ । वर्षायामभन्दा अगाडिको समय यी आयोजनाहरूको वार्षिक मर्मत–सम्भार गर्ने समय भएको र लकडाउनका कारणले आयोजनाका संरचनाहरू तथा मेसिन उपकरणको मर्मत हुन नसकिरहेको अवस्था छ । आयोजना पूर्ण रूपमा स्वस्थ राख्न नसक्दा यी आयोजनाहरूको आगामी वर्षको उत्पादन घट्न गई, उसै त धराशायी भइसकेका आयोजानहरू थप सङ्कटग्रस्त हुन सक्नेछन् । यसले लगानीकर्ता तथा वित्तीय संस्थाहरूमा आयोजनाप्रति थप वितृष्णा उत्पन्न हुन जाने प्रबल सम्भावना छ । अधिकांश निर्माणाधीन आयोजनाहरू नेपाल सरकारकोे लकडाउनको निर्णयपश्चात् पूर्ण रूपमा बन्द भए । त्यसको केही समयपछि नेपाल सरकारले ठूला तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरू सञ्चालन गर्न सहज बनाउने भने तापनि विस्फोटक पदार्थ, निर्माण सामग्री तथा निर्माण उपकरण तथा स्पेयर पार्ट्सको अभाव, मानवस्रोतको अभाव तथा विदेशी विशेषज्ञहरूको अभाव हुँदा आयोजनाहरूको निर्माण तथा उपकरणहरूको जडान तथा परिक्षणका कामहरू अवरुद्ध छन् । निर्माणाधीन आयोजनाहरूको निर्माण समय लम्बिँदा मूल्य वृद्धिका साथै आयोजनाका लागि लिइएको ऋणमा ब्याज बढ्न गई आयोजनाको लागत अत्याधिक रूपमा बढ्न जानेछ । आयोजना सम्पन्न गर्ने समय बढ्दा व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मितिमा आयोजना सम्पन्न नहुँदा यी आयोजनाहरूले विलम्ब शुल्क तिर्नुपर्ने तथा विद्युत् खरिद दरमा पाइने वृद्धिसमेत नपाउने जोखिम रहेको छ ।
अध्ययन तथा पुनर्निर्माणका चरणमा रहेका आयोजनाहरूमध्ये पुनर्निर्माणका काम गर्दै गरेका आयोजनाहरूले लकडाउनका कारणले समयमै अध्ययन सम्पन्न गर्न सक्ने छैनन् । यिनीहरूले सम्पन्न गर्नुपर्ने वातावरणीय अध्ययन, विद्युत् खरिद बिक्री सम्झौता, वित्तीय व्यवस्थापन, तथा विद्युत् उत्पादनको अनुमति पत्रको आवेदनजस्ता काम समयमा सम्पन्न गर्न प्राय असम्भव हुन्छ ।
निर्माणका लागि वित्तीय व्यवस्थापन गरिरहेका आयोजनाहरूले कोभिड–१९ को कारण समयमा नै वित्तीय व्यवस्थापन गर्न नसक्ने स्थिति आएको छ । कोभिड–१९ को कारणले सिर्जित अवस्थामा बैंकहरूले दीर्घकालीन लगानी गर्नुपर्ने जलविद्युत्लाई भन्दा अन्य अरू उद्योगलाई लगानीको प्राथमिकतामा पार्ने निश्चित छ । यसो हुँदा यस क्षेत्रमा ठूलो लगानी आउन धेरै कठिन छ ।
के के राहत प्याकेज ल्याउन सकियो भने कोरोनाको कारण थलिएको ऊर्जा क्षेत्रले न्याय पाउन सक्छ ?
कोभिड–१९ कै कारणले हाल अध्ययन, निर्माण वा उत्पादनका चरणमा रहेका आयोजना अवरुद्ध हुँदा यिनीहरूलाई वित्तीय स्रोत उपलब्ध गराउने बैंक तथा लाखौं लगानीकर्ताहरू पनि समस्याग्रस्त हुनेछन् । यसले अन्ततोगत्वा नेपालको अर्थतन्त्र नै धराशायी बनी देशमा ठूलो आर्थिक संकट निम्त्याउनेछ । यसर्थ यो समस्या आउनु अगावै राहतको व्यवस्थ गर्नु आवश्यक हुन्छ ।
विद्युत् उत्पादन गरिरहेका आयोजनाहरूको मर्मत सम्भार तथा मेसिनरी सामान ढुवानी गर्न सहयोग गर्नुका साथै उत्पादित बिजुलीको नियमित भुक्तानी गर्न नेपाल विद्युत् प्राधिकरणले आयोजना कम्पनीहरूलाई पेस्कीको रूपमा रकम उपलब्ध गराउनुपर्छ ।
त्यसैगरी निर्माणाधीन आयोजनाहरूको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति बिनासर्त संशोधन गरिदिने र ऋणमा अत्यधिक ब्याज बढ्न गई यी आयोजनाहरू साउँ ब्याज तिर्न नसक्ने जोखिम बढेको हुँदा लागत कम गर्न सक्दो सहुलियत ब्याजदर कायम गर्ने र केही समयका लागि विद्युत् खरिद दरमा नै केही वृद्धि गरिदिनुपर्ने हुन्छ ।
अध्ययन तथा पुनर्निर्माणका चरणमा रहेका आयोजनाहरूको सर्वेक्षण अनुमति पत्र, र सो अन्तर्गत गर्नुपर्ने वातावरया अध्ययन, विद्युत् खरिद बिक्री सम्झौता, वित्तीय व्यवस्थापन, तथा विद्युत् उत्पादनको अनुमति पत्रको आवेदन दिने समय थप गरिदिई, वित्तीय स्रोतको खोजीमा रहेका आयोजनाहरूलाई सो काम गर्न कम्ीतमा पनि दुई वर्ष थप समय उपलब्ध गराइदिनु आवश्यक हुन्छ ।
किन जलविद्युत् आयोजनाहरूलाई यतिबेला बचाउनु आवश्यक छ ? यसले देशको अर्थतन्त्रमा कसरी योगदान पु-याउन सक्छ ?
नेपालको अर्थव्यवस्थाको शीघ्र उन्नतिका लागि जलविद्युत् उत्पादन तथा निर्यातले प्रमुख भूमिका निर्वाह गर्न सक्छ । हामीले केही समयअगाडिसम्म भोगिरहेको लोडसेडिङ बिर्सन हुँदैन । यदि आज आएर हामीले कुनै पनि बहानामा जलविद्युत् आयोजनाहरूको विकासमा रोक लगायौं भने केही वर्षभित्रै फेरि भीषण लोडसेडिङको सामना गर्नुपर्छ । त्योबाट मुक्ति पाउन हामीले ठूलो मात्रामा विद्युत् आयात गर्दा अर्थतन्त्रले पनि त्यत्तिकै घाटा बेहोर्नुपर्छ । नम्बरमै कुरा गर्ने हो भने ०७५-७६ मा हामीले २ खर्ब १५ अर्ब रुपैयाँको खनिज ऊर्जाको आयात ग-यौं । त्यही वर्ष रु. २२ अर्बको विद्युत् आयात ग-यौं । तर त्यसै वर्ष हाम्रो देशको कुल निर्यात जम्मा ९७ अर्ब रुपैयाँ मात्र थियो । प्रस्ट रूपमा यो दिगो र दीर्घकालसम्म चल्न सक्ने अवस्था होइन । यसका साथै राष्ट्रको नवीकरणीय स्रोतको सदुपयोग नगरे हाम्रो वातावरणले पनि ठूलो मूल्य चुकाउनुपर्छ । यी सबै कारणले गर्दा हामीले जलविद्युत्को विकासमा रोक लगाउनु हुँदैन । जलविद्युत् नेपालको लगानीको सबैभन्दा ठूलो क्षेत्र हो र यस क्षेत्रको दु्रत विकास हुन, र देशमा विद्युत् उत्पादनमा निजी क्षेत्रको सहभागिता बढाउन सरकारको तर्फबाट थप प्रोत्साहन आवश्यक छ ।
आगामी दिनमा जलविद्युत् लगानीको अभाव हुने भन्दै चिन्ता भइरहेको छ । स्वदेशबाट र विदेशबाट लगानी बढाउनका लागि के–के गर्नुपर्ने आवश्यकता देख्नुभएको छ ?
हाल अध्ययन, पुनर्निर्माण तथा निर्माणका चरणमा रहेका आयोजनाहरूले धेरै चुनौतीको सामाना गर्नुपर्ने देखिन्छ । विशेषतः निर्माणका लागि वित्तीय स्रोत खोजिरहेकाहरूले कोभिड–१९ को कारण समयमा नै वित्तीय व्यवस्थापन गर्न नसक्ने स्थिति आएको छ । वित्तीय स्रोतको खोजीमा रहेका करिब ३ हजार मेगावाटका आयोजनाहरूलाई करिब ६ खर्ब रुपैयाँ आवश्यक पर्छ । वित्तीय बजारमा हुन सक्ने तरलताको अभावलाई ध्यानमा राखी दातृ निकायहरूसमेतको सहयोगमा एउटा कोषको सिर्जना गरी जलविद्युत् आयोजनाको निर्माणमा प्रयोग गर्न सकिन्छ । यसै क्रममा नेपाल राष्ट्र बैंकले देशका बैंक र वित्तीय संस्थाहरूलाई विगतमा रहेको व्यवस्थाअनुसार जल विद्युत् क्षेत्रमा कुल ऋणको कम्तीमा १५ प्रतिशत लगानी गराउने व्यवस्था मिलाइदिनुपर्छ । त्यसैगरी वैदेशिक लगानी बढाउन सरकारले नीतिगत रूपमा नै पहल गर्नुपर्छ । व्यावहारिक हेजिङ फन्डको व्यवस्था गर्नुपर्छ र जलविद्युत् उद्योगमा विदेशी लगानी भिœयाउने क्रममा देखिएका समस्या र जटिलताहरूलाई सरलीकरण र सहजीकरण गर्न विद्यमान कार्य पद्धति र कार्य शैलीमा नै परिवर्तन गर्नुपर्छ । यस क्षेत्रमा लगानी नआएमा सरकारको आगामी आठ वर्षमा थप ११ हजार मेगावाट विद्युत् उत्पादन गरी आफ्नै उत्पादनबाट आन्तरिक मागलाई धानेर बढी भएको बिजुली निर्यात गर्ने हाम्रो राष्ट्रिय लक्ष्य पनि अधुरो नै रहनेछ ।
सरकारले बजेट सार्वजनिक गर्दैछ, बजेटले निजी जलविद्युत्लाई कसरी सम्बोधन गरोस् भन्ने चाहानुहुुन्छ ?
नेपाल सरकारको आर्थिक वर्ष ०७७-७८ को बजेट तथा आर्थिक ऐन २०७७ मा कोभिड–१९ ले सिर्जना गरेका समस्या समाधान गर्न तथा समस्त ऊर्जा क्षेत्रले भोगिरहेका समस्याहरूको निराकरणका लागि नीतिगत तथा आर्थिक राहतको आवश्यकता छ । हामीले पहिलेदेखि नै माग्दै आएको र सरकारले प्रतिबद्धता जनाई सकेका सहुलियतहरू जस्तै समयमै व्यावसायिक उत्पादन सुरु गर्ने आयोजनाको हकमा दिइएका पोस्पेड दरलाई नियमित भुक्तानी गरिदिने, मूल्य अभिवृद्धि कर फिर्तावापतको रु. ५० प्रति मेगावाट दिने, विद्युत् खरिद दर पुनरावलोकन गर्ने, विद्युत् ऐन, २०४९ ले दिएको आयकर छुटको अवधि वृद्धि गर्ने, जलविद्युत् आयोजनाहरूलाई शून्य दरको मल्य अभिवृद्धि कर लाग्ने, निर्यातजन्य उद्योगहरूलाई दिएसरहको सुविधा जलविद्युत् उत्पादकहरूलाई दिने, जलविद्युत् आयोजना निर्माणलाई थप कर्जा योग्य रकमको व्यवस्था गरी स्थिर तथा सस्तो कर्जामा ब्याज उपलब्ध गराउने तथा जलविद्युत् आयोजनाको लागत घटाउन आवश्यक व्यवस्था गर्नका लागि माग गरेका छौं र त्यसमध्ये केही सम्बोधन हुन्छ भन्ने आश्वासन प्राप्त गरेका छौं ।
नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई नसमेटिएका भन्दै तपाईंहरूले गुनासो गरिरहेका बेला बजेटले पनि तपाईंहरूको समस्या सम्बोधन गरेन भने आगामी दिनमा ऊर्जाको अवस्था के हुने देख्नुभएको छ ?
आजको मितिमा नेपालको निजी क्षेत्रको सबैभन्दा बढी लगानी भएको क्षेत्र भनेको जलविद्युत् क्षेत्र नै हो । जलविद्युत्को अध्ययन तथा निर्माणमा १० खर्ब रुपैयाँको लगानी भइसकेको छ । यसमध्ये करिब ६ खर्ब रुपैयाँ नेपालका बैंक र वित्तीय संस्थाहरूको लगानी भइसकेको छ । ऊर्जाको ठूलो लगानी सुरक्षित राख्न नसके हाम्रो अर्थतन्त्र नै ढल्छ । यो कुरा हाम्रा नीति निर्माताहरूले राम्ररी बुझेका छन् । तसर्थ मलाई लाग्छ, यो बजेटमा र कोभिड–१९ को राहत कार्यक्रममा यो क्षेत्रमा भएको लगानी सुरक्षित राख्न आवश्यक व्यवस्था हुनेछ । सो नआएमा नेपालमा निजी लगानीमा जलविद्युत्को विकास गर्ने अध्याय समाप्त हुनुका साथै राष्ट्रले आर्थिक हिसाबले कहालीलाग्दो परिस्थितिको सामना गर्नुपर्छ र हामी भविष्यमा जलविद्युत्बाट समृद्ध बन्नुको सट्टा ऊर्जाको आयात गर्दै टाट पल्टिने राष्ट्र बन्दछौं । यो अवस्था नआओस् भन्ने कामना गर्छु ।
प्रसंग बदलौं, नेपालमा अमेरिकी सहयोगमा प्रसारणलाइन आयोजना बन्दैछ, यसले नेपालको ऊर्जा क्षेत्रमा कसरी फाइदा पुग्छ ?
अमेरिकी सरकारको अनुदानमा सञ्चालन भइरहेको एमसीसी कार्यक्रमलाई ऐतिहासिक पृष्ठभूमिमा पनि बुझ्नुपर्छ । यो कार्यक्रम नेपाल सरकारले सन् २०१४ तिर तर्जुमा गरेको हो । त्यतिखेर हामी चरम लोडसेडिङको मारबाट पिल्सिरहेका थियौं । त्यसको अन्त्य कसरी हुन्छ भन्ने अत्तोपत्तो थिएन । त्यो अवस्थामा सरकारले नेपालको विकासको मुख्य बाधक भनेको विद्युत्को अभाव नै हो भनेर देशमा दीर्घकालसम्म विद्युत् सेवा उपलब्ध हुनसक्ने हिसाबले यो कार्यक्रमका लागि अनुदान मागेको हो । प्रसारणलाइनको साथै हाम्रा सडकहरूको मर्मत–सम्भार छिटो र किफायती हुन नसक्दा पारवहनको खर्च अत्यधिक भएकाले उपभोग्य तथा निर्माण सामग्रीको मोल बढेर उपभोक्ताहरू मारमा परे त्यसैले सस्तो र छिटो तवरले सडक मरमतत गर्नका लागि नयाँ प्रविधि निम्त्याउन पनि यो कार्यक्रमले अनुदान दिएको छ । यसका अलावा नेपाल विद्युत् प्राधिकरण तथा विद्युत् नियमन आयोगको संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिमा पनि यो कार्यक्रमले आर्थिक सहयोग उपलब्ध गराउँछ । तर यो कार्यक्रमको मुख्य हिस्सा भने प्रसारणलाइनको निर्माण नै हो । यो प्रसारणलाइन हेटौंडादेखि काठमाडौं र तनहुँ हुँदै भैरहवासम्म फैलिएको छ । यो प्रसारण प्रणाली हाम्रो सबैभन्दा बढी विद्युतीय माग भएका क्षेत्रहरू तथा हालका लागि सबैभन्दा बढी बिजुली उत्पादन हुनसक्ने त्रिशूली, मस्र्याङ्दी र काली गण्डकी नदीहरूको आसपासमा रहेको छ । यो प्रसारण लाइन नभए सरकारी तथा निजी लगानीबाट उत्पादन भइरहका करिब ३५ आयोजनाको ८१५ मेगावाट तथा निर्माण अनुमति पत्र लिई काम बढाइएका करिब १ सय आयोजनाको ३ हजार १ सय मेगावाट विद्युत् उपभोक्तासम्म पु-याउन नसक्दा खेर जान्छ । यी आयोजनाहरू बिग्रँदा राष्ट्रको झन्डै ८ खरब रुपैयाँको लगानी खेर जान्छ ।
एमसीसी परियोजनालाई लिएर नेपालभित्र धेरै विरोध भइरहेको छ ? यो विरोध हुनुको कारण के देख्नुहुन्छ, यसले आगामी दिनमा यस्ता सहायतामा कस्तो असर पु-याउने देख्नुहुन्छ ?
नेपालभित्रको विरोध हामीले कुरा बुझाउन नसकेर भएको पनि हुनसक्छ । केही विरोध यो आयोजनको पृष्ठभूमि बिर्सिएर पनि भएको हुन सक्छ । मलाई लाग्छ, यी सबै कुरा राम्ररी बुझाउन सके धेरै विरोध हुँदैन । तर, जसले यसमा ठूलो षड्यन्त्र वा विदेशी सैनिक रणनीति छ भनेर त्रसित भइरहेका छन्, उहाँहरूले दस्तावेज नै केलाएर अध्ययन गर्नु आवश्यक छ । मेरो अध्ययन र बुझाइमा यो कतै छैन र यसबाट त्रसित हुनुपर्ने आवश्यकता पनि छैन । तर, जसले सबै बुझेर पनि राजनीतीकरण गरिरहेका छन्, उहाँहरूले राष्ट्रको छवि र सरकारको विश्वसनीयता बारे पनि सोच्नुपर्छ । सबै पार्टी का सरकारहरूले अपनत्व लिंदै झन्डै १० वर्ष लगाएर तयार पारिएको परियोजना एकाएक आशङ्काको भरमा रद्द गर्दा भविष्यमा नेपाल सरकारलाई अरू राष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाहरूले पत्याउलान् कि नपत्याउलान् भनेर सोच्नु आवश्यक छ । यसका साथै यो हाम्रै सरकारले आवश्यक ठानेर अनुदान मागेको आयोजनाका लागि अनुदान नलिने हो भने पछि कुन स्रोतबाट सो प्रसारणलाइन निर्माण गर्ने हो भन्ने कुरा पनि प्रस्ट हुनु आवश्यक छ, किनभने यो आयोजनाको भरमा करिब ८ खर्ब रुपैयाँ लगानी भइसकेको छ र अरू खर्बाैं रुपैयाँ लगानीको तयारीमा छ ।

Tuesday, May 26, 2020

‘विद्युत् महशुल वृद्धि उपभोक्ता र औद्योगिक ग्राहकलाई घातक’

मंगलबार, जेठ १३, २०७७
सरोकारवालाहरूले अहिलेको कोरोना महामारीको बेला विद्युत् महशुल वृद्धि हुनु उपभोक्ता र औद्योगिक ग्राहकका लागि घातक रहेको टिप्पणी गरेका छन् । सोमबार विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् महशुलबारेको प्रस्तावबारेको सार्वजनिक सुनुवाईमा सरोकारवालाहरूले यस्तो प्रतिक्रिया दिएका हुन् । अहिलेको अवस्थामा कुनै पनि हालतमा बिजुलीको भाउ बढाउन नहुने भन्दै घटाउन सुझाव दिएका छन् । प्राधिकरणले भने सेवा विस्तार, पूर्वाधार थप, कर्मचारीहरूको संख्या वृद्धिलगायतका कारणले प्राधिकरणको खर्च बढी देखिएको बताएको छ ।
प्राधिकरणले विद्युत् नियमन आयोगसमक्ष प्रस्तुत गरेको पुरानै महशुल वृद्धिको प्रस्तावको आधारमा सार्वजनिक सुनुवाई हुन लागेको हो । गार्हस्थ्य (घरेलु) २१.४३ प्रतिशतसम्म वृद्धि र १० युनिटसम्मका लागि इनर्जी शुल्कमा शत प्रतिशत घटाउने तथा औद्योगिक ग्राहकलाई १४ प्रतिशतसम्म बढाउने प्रस्ताव गरेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना महामारीको कारणले कुल ग्राहस्थ उत्पादन (जीडीपी) ४ खर्ब गुमिसकेको बताउँदै यस्तो अवस्थामा औद्योगिक क्षेत्रमा वृद्धि गर्नु घातक हुने बताए । प्रतिस्पर्धी लाभका लागि विद्युत् महशुल घटाउनु अनिवार्य रहेको बताउँदै नघटाएमा आयात बढ्ने भएपनि विद्युत्को सट्टा पेट्रोलियम पदार्थ उपयोग गर्नेतर्फ उद्योगी व्यवसायी जानुपर्ने अवस्था आउनसक्ने बताए । महशुल वृद्धिका लागि प्राधिकरणले धेरै खर्च बढ्ने देखाएको बताउँदै निजी क्षेत्र यस्तो अवस्थामा २० प्रतिशत महशुल घटाउनुपर्ने पक्षमा रहेको उल्लेख गरे ।
नेपाल उद्योग परिसंघका प्रतिनिधिले सरकारले ग्यासलाई दिइदै आएको अनुदान रकम विद्युत्लाई दिएर प्रोत्साहन गर्नुपर्ने बताउँदै विद्युत् खपत बढाउनका लागि महशुल घटाउनुपर्ने बताए । विद्युत् महशुलबारे निर्णय गर्दा औद्योगिक र ग्राहस्थ वर्गबाट हुने योगदानको विश्लेषण गरेर त्यसको आधारमा अघि बढ्नुपर्ने बताए । एक युनिट बिजुलीले एक सय रुपैयाँ जीडीपीमा योगदान गर्ने बताउँदै उनले वृद्धिको सटटा भ्याट लगाउन सकिने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले अहिलेको अवस्थामा डेडिकेटेड, ट्रंकलाइनलाई खारेज गर्नुपर्ने बताउँदै विगतमा प्राधिकरणले गलत गर्दा १० अर्बभन्दा बढी वक्यौता पुगेको बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष शैलेन्द्र गुरागाईंले पहिला उत्पादनको लागतबारे सार्वजनिक सुनुवाई भएको भए महशुलबारे निर्णय गर्न सजिलो हुने बताउँदै कालोबजारीसम्बन्धी ऐनमा २० प्रतिशतभन्दा बढाउन नपाउने भएपनि प्राधिकरणले निजी क्षेत्रबाट खरिद गरेको भन्दा दोब्बर महशुल लिईरहेको बताए ।
नेपाल धागो उद्योग संघका अध्यक्ष पवन गोल्यानले साना तथा मझौला उद्योगले बिजुलीको बढी लिने गरेको बताउँदै छिमेकी देशहरू सरहनै सस्तो बनाउनुपर्ने बताए । उनले ह्विलिङ चार्ज लिएर उत्पादकहरूले उद्योगीहरूलाई सिधै बिक्री गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए । नेपाल सिमेण्ट उद्योग संघका अध्यक्ष धु्रव थापाले प्राधिकरणले कुन सिद्धान्तको आधारमा बिजुलीको मुल्यवृद्धिको प्रस्ताव गरेको बताउँदै प्राधिकरण नाफामूलक वा सेवामूलक के हो भन्ने टुंगो लाग्नुपर्ने र एकाधिकारको सट्टा खुल्ला बजारको अवधारणामा भए सस्तो र बढी खपत हुने गरी महशुलको समायोजन हुनुपर्ने बताए । इप्पानका उपाध्यक्ष कुमार पाण्डेले विद्युत् खरिदको आधारमा विद्युत् विक्रीको व्यवस्था हुनुपर्ने बताए । प्राध्यापक अमृत नकर्मीले खपत र आम्दानी बढ्दै गएपछि घट्दै जानुपर्नेमा बढाउने प्रस्ताव गर्नु गलत भएको टिप्पणी गरे । उद्योगी भीम घिमिरेले बिजुलीको महशुल वृद्धि गर्दा यसले सरकारले अघि सारेको सम्वृद्धिको नारामा असर पर्ने बताए ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले प्राधिकरणले साधारणसभाबाट वासलत पारित नगरी सञ्चालक समितिबाट पारित गरेर प्रस्ताव गर्नु कानुनी रूपमा गलत भएको बताउँदै प्रस्तावमा उत्पादन, प्रसारण र वितरणको लागत छुट्टाछुट्टै पेश नगरिएको तथा वक्यौता नउठाई प्राधिकरण महशुल बढाउने प्रस्ताव गरिने गलत भएको टिप्पणी गरे । प्राधिकरणले उपभोक्ता वर्गका मर्का पर्ने गरी प्राधिकरणले महशुल वृद्धि गर्न लागेको बताउँदै १० अर्ब नाफा राख्नु तथा अनावश्यक खर्च देखाउनु गलत भएको उनको टिप्पणी थियो ।
विद्युत् उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीले सामुदायिक विद्युतीकरणका ग्राहकलाई १० युनिटसम्म छुट नदिनु गलत भएको बताए । पर्साका अजय अधिकारीले आत्मनिर्भर जाने बेलामा यसमा बेवास्ता गरेर महशुल वृद्धिको प्रस्ताव गर्नु गलत भएको बताए । कार्यक्रममा अन्य सरोकारावाला निकायका प्रतिनीधिहरूले खानेपानी, सिँचाइ, कृषि लगायतका क्षेत्रका लागि विद्युत् महशुलमा अझ छुट दिनुपर्ने बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुतीकरण तथा सुझावबारे उत्तर दिँदै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महामारीपूर्वको प्रस्तावबारे सुनुवाई भएको बताउँदै यसबारे थप छलफल गर्न सकिने बताए । लगानी बढाउनुपर्ने, सेवा विस्तार गर्नुपर्ने, पूर्वाधार थप गर्नुपर्ने लगायतका कारण केही खर्च बढ्ने बताउँदै थोरै मात्र महशुल वृद्धिको प्रस्ताव गर्नुपरेको बताए । नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले सुझावको आधारमा थप विश्लेषण गरेर महशुलबारे छलफल गर्ने बताए ।

Sunday, May 24, 2020

महामारीमा पनि विद्युत् महशुल बढाउँदै सरकार

https://www.karobardaily.com/news/development/32289
सोमवार, जेठ १२, २०७७
आज सार्वजनिक सुनुवाई
– उद्योगमा १४ प्रतिशतसम्म वृद्धि
–घरेलु ग्राहकलाई २१ प्रतिशतसम्म वृद्धि –सामुदायिक खानेपानीलाई भने १३ प्रतिशत घटाउने –२० प्रतिशत महशुल घटाउने मागमा निजी क्षेत्र –१० युनिटसम्म खपत गर्नेलाई इनर्जी शुल्क निःशुल्क –घरेलु ग्राहकलाई बढाउन नहुने पक्षमा उपभोक्तावादी
कोरोना महामारीले आम सर्वसाधारणदेखि अर्थतन्त्र नै थलिएको बेला सरकार भने विद्युत् महशुल वृद्धिको अन्तिम तयारीमा जुटेको छ । नेपाल विद्युत् प्राधिकरणले अघि सारेको पुरानै प्रस्तावबारे सोमबार सार्वजनिक सुनुवाई हुँदैछ ।
कोरोना महामारीपछिको अवस्थालाई दृष्टिगत गरी विद्युत् महशुलबारे नयाँ प्रस्ताव आउने अपेक्षा गरिएपनि विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगसमक्ष प्रस्तुत गरेको पुरानै महशुल वृद्धिको प्रस्तावको आधारमा सार्वजनिक सुनुवाई हुन लागेको हो । गार्हस्थ्य (घरेलु) २१.४३ प्रतिशतसम्म वृद्धि र १० युनिटसम्मका लागि इनर्जी शुल्कमा शत प्रतिशत घटाउने तथा औद्योगिक ग्राहकलाई १४ प्रतिशतसम्म बढाउने प्रस्तावसहितको अन्तिम विवरण गत फागुन १ गतेभित्र प्राधिकरणले आयोग समक्ष पेश गरेको छ ।
अन्तिम विवरण पेश गरेको ६० दिनभित्र विद्युत् महशुलबारे निर्णय गरिसक्नुपर्ने भए पनि लकडाउनको कारणले सार्वजनिक सुनुवाई स्थगित भएको थियो । लक डाउन लम्बिँदै गएपछि आयोगले यसै अवधिभित्र सार्वजनिक सुनुवाई गर्न लागेको छ । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् महशुलको प्रस्तावबारे इ–हेयरिङमार्फत सार्वजनिक सुनुवाई हुन लागेको विद्युत् नियमन आयोग प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिए । “गत फागुनपछि प्राधिकरणबाट नयाँ प्रस्ताव आएको छैन, त्यही आधारमा सार्वजनिक सुनुवाई गर्न लागेका छौं,” उनले भने, “सोमबार प्राधिकरणका कार्यकारी निर्देशकले महशुल प्रस्तावबारे प्रस्तुतीकरण दिएपछि दुई दर्जनजति सरोकारवालाहरूले यसबारे प्रतिकृया दिनेछन् भने यसमा सर्वसाधारणले पनि जुम वा फेसबुक लगायतमार्फत समेत महशुलबारे सुझाव दिन सक्नेछन् ।
नेपाल उद्योग परिसंघले हालै गरेको ऊर्जा र कृषिबारेको अन्तक्र्रियामा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूहरूले उद्योगी, व्यवसायीलाई सहुलियत दिने बताएपछि सरकारी निकायले महशुल घटाउने गरी पुरक प्रस्ताव आयोग समक्ष पेश हुने अपेक्षा गरेका थिए । तर। त्यो आइतबारसम्म प्राधिकरणले आयोगलाई पठाएको छैन । परिसंघका अध्यक्ष सतिशकुमार मोर महामारीले निजी क्षेत्र थलिएको बताउँदै आफूहरू २० प्रतिशत महशुल घटाउने पक्षमा रहेको बताउँछन् । “महामारीले उद्योग व्यवसाय धराशायी भएको अवस्थामा हामी २० प्रतिशत महशुल घटाउनुपर्छ भन्ने माग छ । उनी भन्छन्, “ऊर्जामन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले विद्युत् महशुलमा सहुलियत दिन्छौं भनेर हाम्रो कार्यक्रमा सार्वजनिक रूपमा भन्नुभएकोले हामी घट्नेमा आशावादी छौं ।”
औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य भएको दुई वर्ष नाघे पनि डेडिकेटेड फिडर र ट्रंकलाइनको महशुल अझै दोब्बर तिर्नुपरेको भन्दै सरकारसँग गुनासो गर्दै आएका छन् । प्रस्तावमा भने दोब्बर दस्तुर हटाउन प्रस्ताव भने गरिएको छ तर उद्योगीहरू डेडीकेटेड र ट्रक लाइन खारेज गर्नुका साथै विद्युत् महशुल घटाउने पक्षमा छन् । “उद्योगीहरू डेडिकेटेड र ट्रक लाइनको कारण ठूलो मारमा छन्, यसलाई खारेज गर्नुपर्छ,” नेपाल वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका भन्छन्, “अहिलेको अवस्थामा विद्युत् महशुल घटाउनुपर्छ, बढाउने होइन अनि हिउँदको चार महिना अन्य आठ महिनाजस्तै पिक, अफ पिक र नर्मल आवर अनुसारकै महशुलको व्यवस्था गर्नुपर्छ ।” साढे १० अर्ब नाफा देखाएको विद्युत् प्राधिकरणले आकस्मिक खर्चमा १ सय ४३ प्रतिशत बढाएर र ४५ प्रतिशत तलब वृद्धि हुने देखाएर महशुल बढाउन खोजेको बताउँदै खिम्ती जलविद्युत्को ५० प्रतिशत बिजुली सित्तैमा बिजुली आउने अवस्थामा यस्तो देखाउनु गलत भएको उनको टिप्पणी छ ।
हुन पनि प्राधिकरणले विद्युत् महशुल वृद्धिका लागि गत वर्षभन्दा चालू वर्षको खर्च २० अर्ब बढी हुने प्रक्षेपणसहितको विवरण आयोगमा पठाएको छ । विवरणअनुसार आर्थिक वर्ष २०७५-७६ मा प्राधिकरणको मुख्य आम्दानी ७६ अर्ब ४९ करोड ७ लाख रहेकोमा वृद्धिले चालू वर्ष २०७६-७७ मा ८४ अर्ब २२ करोड ६४ लाख पुग्ने तर खर्च भने गत वर्ष ६६ अर्ब ९९ करोड ३० लाख रहेकोमा ८६ अर्ब ६० करोड ६३ लाख पुग्नेछ । विवरणमा साढे ७ अर्ब त सञ्चालन, रोजगारदाता, प्रसारण लाइन, कर्पोरेट सञ्चालन लगायतलाई मात्र वृद्धि हुने उल्लेख गरिएको छ । डिप्रिसिएसन (ह्रासकट्टी)मा मात्र साढे ६ अर्ब बढी हुने देखाइएको अयाोगको वेभसाईटमा उल्लेख छ । गत वर्ष ४८ अर्ब ४८ करोड रहेकोमा साढे ६ अर्ब बढेर ५५ खर्ब पुग्ने, गत वर्ष रिटर्न (डिभिडेन्ट १२ करोड ५५ लाख रहेकोमा घटेर ११ करोड १० लाखमा झर्ने, अन्य आम्दानी ५ अर्ब २० करोड ५ लाखबाट ३ अर्ब २१ करोड ७० लाखमा झर्ने, विद्युत् खरिद (निजी क्षेत्र र आयात) ३८ अर्ब ९६ करोडबाट ३९ अर्ब १९ करोड पुग्ने प्रक्षेपण प्राधिकरणको छ ।
विद्युत् प्राधिकरणले प्रस्ताव गरेर प्रतिक्रियाका लागि सार्वजनिक गरिएको विवरण अनुसार, महशुल वृद्धितर्फ भने टीओटी (टाइम अफ डे) ६६ केभीमार्फत आपूर्ति गर्ने उद्योगका लागि डिमान्ड चार्जतर्फ प्रतियुनिट २४० रुपैयाँबाट २७५ अर्थात १४.५८ तथा इनर्जी चार्जतर्फ प्रति युनिट ७.५० बाट ८.५५ अर्थात १४ प्रतिशत बढाउन प्रस्ताव गरिएको छ । इनर्जी चार्जतर्फ पिक टाइमअन्तर्गत साँझ ५ देखि ११ बजेसम्म प्रतियुनिट ९.३० बाट १०.५०, अफ पिक समयमा ४.१५ लाई ५.४० र सामान्य समयमा ७.५ लाई बढाएर ८.५५ प्रस्ताव गरिएको छ । यसैगरी ३३ केभी भोल्टेजका उद्योगका लागि डिमान्ड चार्जतर्फ २५० रुपैयाँबाट २९० अर्थात १६ प्रतिशत, पिक समयमा प्रतियुनिट १०.२० बाट ११ रुपैयाँ, अफ पिक समयमा ५.२५ बाट ५.६५ र सामान्य समयमा ८.४० बाट ८.९५ रुपैयाँसम्म बढाउन प्रस्ताव गरिएको छ । प्रस्तावअनुसार, ३३ केभी भोल्टेजको कमर्सियलअन्तर्गत डिमान्ड चार्ज यथावत् राखिएको छ भने पिक समयमा ४.८८ प्रतिशत, अफ पिक समयमा ५.१९ प्रतिशत र सामान्यमा ६.५५ प्रतिशत बढाउन प्रस्ताव गरिएको छ । प्रस्तावमा सामुदायिक खानेपानीतर्फ भने ३३ केभीको मध्यम भोल्टेजमा १३.३३ तथा ११ केभीको भोल्टेजमा १६.१३ प्रतिशत घटाउने प्रस्ताव गरिएको छ । ३३ र ११ केभीतर्फको चार्जिङ स्टेशनको महशुल भने यथावत राख्न प्रस्ताव गरिएको छ ।
घरायसीतर्फ ५ एम्पेयर लिने ग्राहकलाई मात्र १० युनिटसम्मको डिमान्ड चार्ज ३० रुपैयाँलाई यथावत् राखी इनर्जी चार्जलाई निःशुल्क अर्थात शत प्रतिशथत घटाउन प्रस्ताव गरिएको छ ।
यसमा पहिला प्रति युनिट ३ रुपैयाँ थियो । त्यसैगरी १५ एम्पेयरतर्फ डिमाण्ड चार्ज ५० रुपैयाँ र इनर्जी चार्ज प्रतियुनिट ४ रुपैयाँलाई यथावत् राख्न प्रस्ताव गरिएको छ । त्यसैगरी ३० एम्पेयरको डिमान्ड चार्ज ७५ रुपैयाँ र इनर्जी चार्ज ५ रुपैयाँ तथा ६० एम्पेयरको डिमान्ड चार्ज १२५ र इनर्जी चार्ज ६ रुपैयाँलाई समेत यथावत राखिएको छ । ११ देखि २० युनिटसम्म, २१ देखि ३० युनिटसम्म ५ एम्पेयरदेखि ६० एम्पेयरसम्मको डिमान्ड चार्ज यथावत् राखे पनि इनर्जी चार्ज वृद्धिको प्रस्ताव गरिएको छ । इनर्जी शुल्कतर्फ २१ देखि ३० युनिटसम्मको ५, १५, ३० र ६० युनिटको डिमाण्ड चार्ज यथावत राखेपनि इनर्जी शुल्कमा सबैमा २१.४३ प्रतिशत वृद्धिको प्रस्ताव गरिएको छ । ४ सय युनिटभन्दा माथि खपत गर्नेको हकमा भने डिमाण्ड चार्ज एउटै राखेर इनर्जी शुल्कमा भने ११.५४ प्रतिशत घटाउने प्रस्ताव गरिएको छ । उपभोक्ता अधिकारकर्मी ज्योती बाँनिया उपभोक्ताहरूलाई विद्युत् महशुल बढाउन नहुने पक्षमा आफूहरू रहेको र त्यसै अनुसार आयोगलाई सुझाव दिने बताउँछन् ।
विद्युत् प्राधिकरणले भने आफ्नो आर्थिक स्वास्थ्य बलियो बनाउनका लागि विद्युत् महशृल वृद्धिको प्रस्ताव गरेको बताउँदै आएको छ । प्राधिकरणले समग्रमा १० प्रतिशत वृद्धिको प्रस्ताव गरेको तथा विगतमा डेडिकेटेड र ट्रंक लाइनमा लाग्दै आएको दोब्बर दस्तुर हटाइएको जनाएको छ ।

Wednesday, May 20, 2020

माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंकलाई प्रस्ताव

बिहिवार, जेठ ८, २०७७
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संखुवासभामा निर्माण हुन लागेको १ हजार ६१ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्न विश्व बैकलाई प्रस्ताव गरेको छ । बुधबार भएको भर्चुअल बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विश्व बैंकका नेपाल, श्रीलंका र माल्दिभ्स हेर्ने निर्देशक फारिस एच हाडाड जेरभोस समक्ष यस्तो प्रस्ताव गरेका हुन् ।
मन्त्री पुनले सरकारको आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रममा माथिल्लो अरुण आयोजना निर्माणलाई उच्च प्राथमिकतामा दिएको बताउँदै वित्तीय व्यवस्थापनको नेतृत्व लिइदिन विश्व बैंकसमक्ष आग्रह गरेका थिए । “विश्व बैंककै सहयोगमा भइरहेको माथिल्लो अरुणको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) अन्तिम चरणमा पुगेको छ,” उनले छलफलमा भने, “असाध्यै राम्रो आयोजना भएकाले वित्तिय व्यवस्थापनको नेतृत्व पनि लिन अनुरोध गर्छु ।” जवाफमा निर्देशक फारिसले मन्त्री पुनको प्रस्ताव विश्व बैंकको उच्च नेतृत्व तहमा पु¥याउने बचन दिएका थिए ।
सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत कम्पनी मोडेलमा माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण अघि बढाउने सैद्धान्तिक निर्णय यसअघि नै गरिसकेको छ । यसका लागि प्राधिकरणले सहायक कम्पनीको रूपमा अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी गठन गरिसकेको छ ।
आयोजनामा प्राधिकरणको ७८ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, आयोजनाका कर्मचारीको ५ प्रतिशत र अपांगता भएका नागरिकहरूको २ प्रतिशत लगानी रहने छ । माथिल्लो अरुण आयोजना निर्माणका लागि १ खर्ब ६० अर्बभन्दा बढी लागत लाग्ने अनुमान छ । विश्व बैंकले यसअघि माथिल्लो अरुणका लागि १४ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको सहुलियत ऋण दिने प्रतिबद्धता जनाइसकेको छ ।
बैठकमा मन्त्री पुनले आगामी सन् २०२२ सम्म नेपालभर पूर्ण विद्युतीकरण गरिसक्ने योजना बनाएको जानकारी दिँदै विश्व वैकलाई विद्युतीकरणका लागि आवश्यक बजेट अभाव भएकाले उक्त प्रयोजनका लागि ऋण सहयोग प्रस्ताव गरेका छन् ।
प्रदेश ३ र गण्डकीमा विश्व बैंककै सहयोगमा पूर्ण विद्युतीकरणको काम अघि बढेको तथा अन्य प्रदेशका लागिसमेत लगानी जुटिसकेको भए पनि प्रदेश–१ को कोरोना भाइरस (कोभिड–१९ महामारीको बीचमा समेत नेपाल निजी प्रवद्र्धकहरूबाट खरिद गरिएको विद्युत्को नियमित भुक्तानी मिलाइएको तर, महसुल नियमित नभएका कारण नेपाल विद्युत् प्राधिकरणको सम्भावित खराब आर्थिक स्वास्थ्य टार्ने उपाय खोजी भइरहेको भन्दै मन्त्री पुनले त्यसका लागि आर्थिक व्यवस्थापन मिलाइदिन पनि आग्रक गरेका छन् ।

Tuesday, May 19, 2020

जलविद्युत् कम्पनीलाई मर्जरमा ढोका खुल्यो

बुधवार, जेठ ७, २०७७
बैंक तथा वित्तीय संस्थाजस्तै जलविद्युत् कम्पनीहरू एक आपासमा गाभिन (मर्जर) ढोका खुला भएको छ । विद्युत् नियमन आयोगले अनुमतिप्राप्त व्यक्तिहरू तथा परियोजना गाभिने र प्राप्ति गर्नेसम्बन्धी निर्देशिका–२०७६ पारित नभएसम्मका लागि आयोग ऐनअनुसार सर्टलिष्ट (छोटो कार्यतालिका) का आधारमा मर्जरमा जान ढोका खुला गरेको छ ।
आयोगले तयार पारेको सर्टलिष्टको आधारमा विवरण बुझाएपछि मर्जरमा जान तथा एक अर्को कम्पनीलाई प्राप्त गर्न सक्नेछन् । आयोगका प्रवक्ता डा. रामप्रसाद धिताल तत्कालका लागि ऐनमै भएको व्यवस्थाअनुसार सर्टलिष्टको आधारमा मर्जर र एक अर्को कम्पनीले प्राप्त गर्नका लागि अनुमति दिइने व्यवस्था गरिएको बताउँछन् । “निर्देशिकाको मस्यौदा तयार भएको छ, यसको व्यापक रूपमा सरोकारवालाहरूसँग छलफल गरी अन्तिम रूप दिन बाँकी छ,” उनले भने, “निर्देशिका नआएसम्मका लागि जलविद्युत्को मर्जर र एक अर्को कम्पनीलाई प्राप्त गर्ने प्रक्रियालाई अघि बढाउन ऐनमै व्यवस्था भएअनुसार सर्टलिष्ट तयार पारेर आयोगले स्वीकृति दिन खुला गरेको हो ।” नियमन आयोग ऐन आएपछि मर्जरका लागि आयोगले स्वीकृति दिने व्यवस्था गरिएको छ । यस अघि कम्पनी रजिष्ट्रार कार्यालयहरूले यसको नियमन गर्दै आएको छ ।
मर्जरको व्यवस्थाले एउटै समूहको अपनत्व रहेका फरक–फरक कम्पनीहरू तथा रुग्ण रहेका आयोजनाहरू समेत एक–आपसमा गाभिन सजिलो भएको छ । मर्जरपछि जलविद्युत् कम्पनीहरू अझ नाफामूलक हुने तथा कम्पनीको सञ्चालन खर्च कम हुनेछ ।
निर्देशिकाको मस्यौदामा अनुमतिप्राप्त व्यक्ति आपसमा गाभिन चाहेमा पब्लिक लिमिटेड कम्पनीको हकमा आफ्नो साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी र प्राइभेट लिमीटेड कम्पनीको हकमा सञ्चालक समितिबाट निर्णय गरी आवश्यक सम्पूर्ण आवश्यक कागजात र अनुसूचिबमोजिम सेवा शुल्क बुझाएको सक्कल बैंक भौचरसहित आयोगसमक्ष संयुक्त निवेदन दिनुपर्ने उल्लेख छ । निर्देशिका बमोजिम प्राप्ति गर्न वा हुन चाहेमा पब्लिकले विशेष साधारणसभा र प्राइभेट कम्पनीले सञ्चालक समितिबाट निर्णय तथा अनुमतिप्राप्त व्यक्तिको परियोजना अथवा संरचनाको खरिद विक्री गर्न चाहेमा सञ्चालक समितिबाट मूल्यांकनको आधार र प्रतिवेदन अनुसारको सम्झौतापत्र अनुसार सेवा शुल्क बुझाएको बैंकको सक्कल भौचरसहित संयुक्त निवेदन दिनुपर्ने मस्यौदामा उल्लेख छ ।
अनुमतिप्राप्त व्यक्ति आपसमा गाभिने, प्राप्ति गर्ने तथा खरिद बिक्री गर्ने प्रक्रियाबारे उल्लेख भएको मस्यौदामा विगत तीन वर्षदेखि वित्तीय स्थिति खस्किँदै गएको वा कार्य सञ्चालनका लागि पुँजीकोष अपर्याप्त रहेको, उपभोक्ता हित र उपभोक्ता प्रतिको दायित्वमा प्रतिकुल प्रभाव पार्ने कार्य गरेको तथा त्यस्तो अवस्था विद्यमान रहेको, विद्युत् सेवा प्रणालीको स्थायित्व, विकास, सम्वद्र्धनको लागि प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न आवश्यक भएको, देखिएमा मर्जरका लागि आयोगले आवश्यक आदेश दिनसक्ने उल्लेख छ ।
मस्यौदामा निर्देशिका बमोजिम गाभिन, प्राप्ति गर्न तथा खरिद विक्री गर्न चाहने व्यक्तिहरूले गाभिन, प्राप्ति गर्न अथवा परियोजना वा संरचनाको खरिद बिक्री गर्नुपर्ने कारण, सम्पत्ति तथा दायित्व मूल्यांकन पद्दतिसम्बन्धी व्यवस्था, प्रक्रिया, लाग्ने समय र लागतको विवरण, सञ्चालकसम्बन्धी विवरण, सञ्चालन तथा व्यवस्थापन संरचनालगायत आवश्यक विवरणसहितको निवेदनपछि आवश्यक विवरणको आधारमा कानुनबमोजिम १५ दिनभित्र आयोगले स्वीकृति दिने व्यवस्था गरिएको छ ।
कम्पनीहरू गाभिँदा वा प्राप्ति गर्दा विद्युत् क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धाको वातावरण प्रभावित हुने वा उपभोक्ताको हित संरक्षणमा बाधा उत्पन्न हुने भएमा, एकाधिकार, अनुचित व्यापारिक लाभ वा नियन्त्रित अभ्यास कायम हुन सक्ने वा सार्वजनिक हितको विपरित हुन सक्ने देखिएमा, संरचना, वित्तीय अवस्था, कर्मचारी व्यवस्थापनमा गम्भीर असर पर्ने भएमा वा विगतमा गाभिएको तीन वर्ष नपुगेमा आयोगले मर्जर र प्राप्ति गर्न नदिने मस्यौदामा उल्लेख छ । मस्यौदामा मर्जर र प्राप्तिको प्रक्रियामा आयोगले जारी गरेका अन्य निर्देशनहरू पूरा गर्न कठिनाइ भए आवश्यकता र औचित्वको आधारमा छुट दिन सकिने, गाँभिदा समानुपातिक प्रतिनीधित्व नरहेको अवस्थामा आयोगको स्वीकृति लिएर कुनै व्यक्तिलाई सञ्चालक सरह सल्लाहकार नियुक्त गर्न पहल गर्न सकिने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ ।
तर, यो विषय पनि आयोगले नियमन गर्न थाल्यो भनेचाहिँ नयाँ विषय हो । बैंक तथा वित्तीय कम्पनीहरूमा सर्वसाधारण वा सेवाग्राहीको रकम निक्षेप रहेको हुन्छ । त्यस्ता संस्थालाई सबल बनाउनुपर्छ भनेर राष्ट्र बैंकले विभिन्न सेवासुविधा तथा छुट दिएर बैंकहरूलाई मर्जरमा लगेको छ । जलविद्युत् कम्पनीलाई पनि मर्जरमा जाँदा आयकरमा छुट, रोयल्टी मिनाहाजस्ता सुविधा दिएर मर्जरमा जान प्रोत्साहन गर्ने हो भने यसले रुग्ण भएका तथा धराशायी भएका कम्पनीलाई समेत सक्षम बनाएर सञ्चालनमा ल्याउन सहयोग गर्छ । तर, कुनै सुविधाविना नै मर्जर वा प्राप्तिमा जानेलाई निगरानी गरियो भने उल्टै झन्झटिलो बन्छ । मर्जर वा प्राप्तिमा जाँदा आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था गरिए उल्टो प्रत्युत्पादक हुन सक्छ ।

विद्युत् महशुलको निर्णय गर्न इ–हेयरिङ

 मंगलबार, जेठ ६, २०७७
विद्युत् नियमन आयोगले विद्युत् महसुल वृद्धिबारे निर्णय गर्न लकडाउनकै अवधिमा सूचना प्रविधि (इ–हेयरिङ) मार्फत सार्वजनिक सुनुवाई गर्ने भएको छ ।
कोरोना महामारीको कारण गत चैत १४, १६, १७ गते नयाँ महसुलबारे गर्न लागेको सार्वजनिक सुनुवाइ स्थगित गरेको विद्युत् नियमन आयोगले आगामी जेठ १२ गते गर्ने भएको हो ।
विद्युत् महशुलबारे तत्काल निर्णय गर्नुपर्ने भएपनि लकडाउनको अवधि लम्बिन सक्ने अवस्थालाई दृष्टिगत गरी इ–हेयरिङमार्फत सार्वजनिक सुनुवाई गरी यसबारे निर्णय गर्न लागिएको आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले आगामी जेठ १२ गते सोमबार बिहान ११ बजेदेखि ५ बजेसम्म विद्युत् महशुलबारे सुनुवाई गर्न लागिएको जानकारी दिए । “लक डाउनकै अवधिमा विद्युत् महशुलबारे निर्णय लिन सार्वजनिक सुनुवाई गर्न लागेका हौं ।” उनले भने, “जुममार्फत प्रत्यक्ष तथा फेसबुकमार्फत सबै सरोकारवालाहरुले महशुलबारे सुझाव दिन पाउने व्यवस्था गरिएको छ ।”
आयोगका अनुसार, बिहान ११ बजेदेखि १२ बजेसम्म नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महशुलबारे प्रस्तुतीकरण दिएपछि साँझ ५ बजेसम्म सरोकारवाला र उपभोक्ताहरुले प्रतिकृया र सुझाव दिन सक्नुहुनेछ ।
प्राधिकरणले १४ प्रतिशतसम्म विद्युत् महसुल वृद्धि गर्ने गरी आयोगसमक्ष प्रस्ताव गरिसकेको छ । गत फागुन १ गते प्राधिकरणको महसुल प्रस्ताव स्वीकार गरेको आयोग समक्ष ६० दिनभित्र यसबारे निर्णय गरिसक्नुपर्ने व्यवस्था छ भने यसका लागि आयोग ऐन २०७४ ले सार्वजनिक सुनुवाईलाई अनिवार्य गरेको छ । सार्वजनिक सुनुवाई नगरकै कारण विद्युत् महशुलबारे आयोगले निर्णय गर्न पाएको छैन ।
विशेष गरी डेडिकेटेड फिडरका उपभोक्ताहरुले औद्योगिक क्षेत्र लोडसेडिङ मुक्त भएपनि तत्कालीन विद्युत् महशुल निर्धारण आयोगको निर्णय अनुसार दोब्बर दस्तुर तिर्नुपर्ने अवस्था भएपछि उद्योगी व्यवसायीहरुले यसको विरोध गरिरहेका छन् भने ऊर्जा, जलस्रोत मन्त्रालयमा पनि यसको चाप बढेको छ ।
सुरुमा सबै प्रदेशमा पुगेर सार्वजनिक सुनुवाई गर्ने योजना बनाएको आयोगले कोरोनाको महामारीपछि इ–हेयरिङमार्फत गर्ने योजना बनाएको थियो । लक डाउनपछि त्यो पनि रोकिएको थियो । काठमाडौँमा मात्र इ–हेयरिङ गर्दा सबै प्रदेश र समुदायका ग्राहकको सुझाव र प्रतिकृया आउन नसक्ने भएकोले सकेसम्म सबै प्रदेशका सरोकारवालाहरुसँग जुम वा अन्य माध्यमबाट सुझाव लिएर महशुलबारे निर्णय गर्न सके अझ महशुलबारेको निर्णय परिपक्क हुने बताएपनि यसबारे आयोगभित्र छलफल हुन बाँकी छ ।

Saturday, May 16, 2020

१८ सय मेगावाट उत्पादन लक्ष्य

आइतवार, जेठ ४, २०७७
महामारीपूर्व र पछिको ऊर्जा समस्यालाई बेवास्ता
♦ उत्पादनको गलत तथ्यांक प्रस्तुत
♦ दुई वर्षभित्र शतप्रतिशतमा विद्युतीकरण
♦ एमसीसीका आयोजना पनि अघि बढाइने
♦ दूधकोसी जलाशयको निर्माण सुरु गरिने

चालू आर्थिक वर्षको लक्ष्य भेट्न नै धौधौ परेको सरकारले आगामी वर्ष २०७७-०७८ मात्र थप १६ सय १४ मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ । जबकि नेपालको जलविद्युत् उत्पादन सुरु भएको १ सय १० वर्षमा ११ सय ८१ मेगावाट उत्पादन भएको छ । 
शुक्रबार राष्ट्रपति विद्या भण्डारीद्वारासार्वजनिक नीति तथा कार्यक्रममा सरकारले आगामी वर्ष ३ हजार मेगावाट क्षमता पु¥याउने लक्ष्य राखेको हो । नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार, राष्ट्रिय विद्युत् प्रणालीको क्षमता १ हजार ३ सय ८६ मेगावाट पुगेको छ । तर यो तथ्यांक पनि गलत छ ।
विद्युत् विकास विभागको तथ्यांकअनुसार डिजेल प्लान्ट, मल्टिफ्यूल र सोलार गरी ११ सय ८१ मेगावाट मात्र उत्पादन हुन्छ । राष्ट्रपति भण्डारीले प्रश्तुत गरेको तथ्यांक गलत रहेको विभागको तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्षमा १ हजार ८ मेगावाट उत्पादन गर्ने लक्ष्य राखेपनि हालसम्म उत्पादन भने १ सय ५० मेगावाटको हाराहारीमा मात्र छ । लकडाउन नलम्बिएमा थप २ सय मेगावाट आगामी असारसम्म उत्पादन भइसक्ने नेपाल विद्युत् प्राधिकरणको प्रक्षेपण छ । 
निजी क्षेत्रलाई वेवास्ता गरेको टिप्पणी
सरकारले आगामी वर्ष २०७७-०७८ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले कोरोना महामारी पुर्व र पछि ऊर्जामा देखिएका समस्इाहरूलाई बेवास्ता गरेको टिप्पणी गरेका छन् ।  शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममले महामारी पुर्व ऊर्जा क्षेत्रमा रहेका रुग्ण जलविद्युत् आयोजनाहरूको समस्या, ब्याजदर घटाउने, वित्तिय व्यवस्थापनका लागि पुँजी, वन तथा वातावरण क्षेत्रका समस्याका साथै महामारीपछि ऊर्जा क्षेत्रमा परेको असरलाई कुनै सम्बोधन नगरेको उनीहरूको  भनाइ छ । 
नेपालमा भएको कुल जलविद्युत् उत्पादन क्षमतामध्ये ५० प्रतिशतभन्दा बढी उत्पादन गरिरहेको तथा आगामी १० वर्षसम्म पनि निरन्तर रुपमा उत्पादन गर्नका लागि २० हजार मेगावाटभन्दा बढी जलविद्युत्मा लगानी गरिरहेको निजी क्षेत्रलाई बेवास्ता गरेको उनीहरूको टिप्पणी छ । “नीति तथा कार्यक्रमले निजी जलविद्युत् प्रवद्र्धकहरूको समस्या समाधानका लागि केही नयाँ कार्यक्रम ल्याउँला भन्ने लागेको थियो तर केही पनि आएन,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईले भने, “निर्माण भैसकेका र निर्माणाधीन आयोजनारुको समस्या बारे केही आउँला भन्ने लागेको थियो ।” उनी रुग्ण जलविद्युत् आयोजनाहरू, वित्तिय व्यवस्थापन गर्न नसकेका आयोजनाहरूका साथै अध्ययनमा रहेका आयोजनाहरूलाई सम्बोधन हुने आशा गरेपनि त्यो हुन नसकेको बताए । 
करिब ३० आयोजनाहरू रुग्ण अवस्थामा पुगेपछि निजी जलविद्युत् प्रवद्र्धकले आन्दोलन समेत गरेका थिए । ऊर्जा मन्त्रालयले मागहरू सम्बोधनका लागि भन्दै प्रकृया समेत अघि बढाएको थियो तर नीति तथा कार्यक्रममा यसबारे उल्लेख छैन । 
अधिकांश पुरानै कार्यक्रम निरन्तरता
सरकारले १० वर्षमा १५ हजार मेगावाटको विद्युत् उत्पादनका लागि लक्ष्यलाई आन्तरिक खपत बढाउने, प्रसारण लाइन बढाउने, वितरण प्रणाली सुदुढ बनाउने लगायतका पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी वर्ष वाग्मती र गण्डकीका साथै २ र ५ प्रदेशमा तथा दुई वर्षभित्र १, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पूर्ण विद्युत्ीकरण गरिने, एकीकृत जलस्रोत नीति तयार गरी जलस्रोतको योजनावद्ध एवं बहुआयमिक उपयोग गरिने तथा जलविद्युत् उत्पाद वृद्धि, ऊर्जा सम्मिश्रण, ऊर्जा दक्षता वृद्धि र ऊर्जा व्यापार माध्यमबाट ऊर्जा सुरक्षा कायम गरिने नीति तथा  कार्यक्रममा उल्लेख छ । 
प्रतिव्यक्ति ऊर्जा खपत ११० किलोवाटबाट २ सय ६० किलोवाट प्रतिघटा पुगेको तथा आगामी आर्थिक वर्षको अन्त्यमा ३ सय ५० किलोवाट पुर्याउने लक्ष्य राखिएको छ । चालू वर्षमा २ सय ८७ किलोवाट पुर्याउने लक्ष्य राखिएको छ । आगामी वर्षभित्र माथिल्लो तामाकोशी जलविद्युत् निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने बूढीगण्डकी र पश्चिम सेती आयोजनाहरू अघि बढाइने उल्लेख छ । चालू वर्षभित्रै सम्पन्न हुने भनिएको माथिल्लो तामाकोशी सम्पन्न हुने सम्भावना हुने भएपनि बूढीगण्डकी र पश्चिम सेती आयोजनाहरू समस्या छ । गत वर्ष पनि यही नीति तथा कार्यक्रममा परेको थियो । नीति तथा कार्यक्रममा नेपालको पानी जनताको लगानी अन्र्तगत माथिल्लो अरुण, तामाकोशी–५, फुकोट कर्णाली र जगदुल्ला जलविद्युत् आयोजना अध्ययन सम्पन्न गरी प्रारम्भ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 
दूधकोशी जलाशययुक्त आयोजनाको निर्माण प्रारम्भ गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ तर विज्ञहरूले यति धेरै ठूला आयोजनाहरू अघि बढाउन स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको उनीहरूको टिप्पणी छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई अन्तिम रुप दिई आयोजना विकास कार्य अघि बढाउने नीति तथा कार्यक्रममा छ, गत वर्ष पनि थियो । विस्तृत प्रतिवेदनले अन्तिम २५ वर्ष अघिनै पाउनुपर्ने भएपनि हालसम्म पाउन सकेको छैन । गत वर्षको नीति तथा कार्यक्रममा पनि ४ हजार २ सय ५१ सर्किट किलोमिटर प्रसारण लाइन उल्लेख रहेको थियो भने अहिले पनि उही वाक्य छ । 

Thursday, May 14, 2020

कोठामा बस्नेलाई अस्थायी मिटर दिन छलफलः ऊर्जामन्त्री

बुधवार, बैशाख ३१, २०७७
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोठामा बस्नेहरुका लागि अस्थायी रुपमा मिटर दिनेबारे छलफल भइरहेको जानकारी दिएका छन् । घरायसी मिटर लिएका घरबेटीहरुले प्रति युनिट नेपाल विद्युत् प्राधिकरणले तोकेको मूल्यभन्दा अत्याधिक बढी १० देखि २० रुपैयाँ लिइरहेको भन्दै गुनासो आइरहेका बेला मन्त्री पुनले यस्तो बताएका हुन् । घरभाडामा बस्नेहरुले बढी बिजुली महशुल तिर्ने गुनासो आएकाले कोठामा बस्नेहरुका लागि अस्थायी मिटर दिनेबारे छलफल भइरहेको छ, यसको अध्ययन गरेर निक्यौलमा  पुग्छौं” नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार गरेको भर्चुअल अन्तरक्रियामा उनले भने,  “भाडामा बस्ने विद्यार्थी, कर्मचारी र मजदुरहरुबाट घरबेटीले आफूहरुलाई छुट  नदिएको गुनासो आएको र त्यसबारे मन्त्रालयले अनुगमन गर्छ ।” मन्त्री पुनले केही घरधनीले भाडामा बस्नेहरुसँग सरकारले लिने शुल्कभन्दा बढी असुल्ने गरेको गुनासो आएको भन्दै त्यस्तो कार्यलाई अपराधको संज्ञा समेत दिए ।
  “सरकारलाई तिरेको भन्दा भाडामा बस्नेसँग थपेर लिने प्रवृत्ति अपराध हो”, मन्त्री पुनले भने, “मन्त्रालयले यसको अनुगमन गर्छ ।” सरकारले लकडाउनका समयमा घरायसी ग्राहकलाई दिइएको २५ प्रतिशत छुट भाडामा बस्नेहरुका लागि पनि भएको स्पष्ट पार्दै मन्त्री पुनले भाडामा बस्नेहरुका लागि उक्त सुविधा दिन घरधनीहरुलाई आग्रह गरे । “घरेलु उपभोक्तालाई दिइएको २५ प्रतिशत छुट भाडामा बस्नेले पनि पाउने हो”, उनले भने, “सरकारले दिएको सुविधा घर हुनेले मात्र उपभोग गर्ने होइन, काठमाडौं र अन्य सहरी क्षेत्रमा भाडामा बस्ने लाखौं मानिसहरुका लागि पनि हो ।” मन्त्री पुनले लकडाउनका कारण विद्युत् महसुल तिर्न नसक्ने ग्राहकले आगामी जेठ पहिलो सातासम्म जरिवाना तिर्नुनपर्ने निर्णय सरकारले गरेको पनि बताए । मन्त्री पुनले कोरोना महामारी नियन्त्रणका लागि घोषित लकडाउनका कारण ऊर्जा क्षेत्रमा लगानी गरेको निजी क्षेत्रसमेत प्रभावित भएको भन्दै त्यसका लागि सरकारले राहत हुने गरी नीतिगत र व्यवहारिक निर्णय लिएको बताए ।
“सरकार निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने पक्षमा छ”, भने “त्यही भएरै ग्राहकसँग शुल्क नउठ्दा पनि निजी क्षेत्रका हाइड्रोपावरलाई नियमित भुक्तानीको व्यवस्था मिलाइएको छ, यो निरन्तर रहन्छ ।” यस्तै उनले सर्भे र जेनेरेसन अनुमति लिएका, वित्तीय व्यवस्थापन गरिसकेका र पीपीई भइसकेका निजी क्षेत्रका आयोजनाहरुको म्याद थप गरिने स्पष्ट पारे ।  “त्यस्ता आयोजनाहरुमा सहजीकरणका लागि सरकारले छिट्टै निर्णय गर्दैछ”, उनले भने, “निजी क्षेत्रले कोरोनाका कारण व्यहोरोको घाटा सेयर गर्न सरकार तयार छ ।” उनले लकडाउनका कारण आयोजनाहरुमा भएको आर्थिक क्षतिको मूल्यांकन गर्न ऊर्जा मन्त्रालय, निजी क्षेत्र तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रको समेत प्रतिनिधित्व रहने गरी सर्वपक्षीय अध्ययन कार्यदल गठन गर्ने तयारीमा आफू रहेको जानकारी दिए । “अहिल्यै कोरोना महामारी कहिलेसम्म रहन्छ र क्षति कति हुन्छ भन्न सकिने अवस्था छैन”, उनले भने, “महामारीपछि सर्वपक्षीय कार्यदल बनाएरै क्षतिको मूल्यांकन हुन्छ ।” 
बजेटमा नयाँ कार्यक्रम मन्त्री पुनले आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेटमा ‘एक प्रदेश एक ठूला आयोजना’ प्रस्ताव गरिने जानकारी दिए । उनले दूधकोसी, तामाकोशी–५, बुढीगण्डकी, सेती, नौमुरे, जगदुल्लाह, नलसिंहगढ, फुकोट पञ्चेश्वर बहुउद्देश्यीय, पश्चिम सेती, जलासयुक्त माडीलगायत आयोजना अघि बढाउने गरी बजेट निर्धारण गरिने जानकारी दिए । यस्तै ग्यास विस्थापनका लागि देशभर दुई लाख विद्युतीय चुल्हो वितरण गरिने पनि बताए । यस्तै उनले विद्युतीय उपकरणमा दिइँदै आएको छुटलाई आगामी बजेटमा पनि निरन्तरता दिइने स्पष्ट पारे ।
मन्त्री पुनले कृषि क्षेत्रका लागि राहत हुने गरी सिँचाई मिटरमा लाग्ने डिमान्ड शुल्क हटाइने जानकारी दिए । उनले सरकारले कोरोनाले ऊर्जा क्षेत्रलगायत समग्र रुपमा परेको क्षतिको ठोस मूल्यांकन गरेर राहतको प्याकेज ल्याउने स्प्ष्ट पारे । निर्माणाधिन आयोजनामा झण्डै रु दुई खर्ब बराबरको लगानी रहेको छ भने झण्डै छ खर्ब बराबरको प्रतिवद्धता प्राप्त भएको छ । ऊर्जा क्षेत्रमा परेको क्षति कसरी कम गर्न सकिन्छ भनेर प्रयास गरिरहेको उनको भनाइ छ । सरकारले विद्युत् सेवालाई अत्यावश्यक सेवामा राखेका कारण लकडाउनको समयमा पनि केही आयोजनामा निरन्तर काम भइरहेको उनको प्रष्टोक्ति छ । ऊर्जा मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरेर विद्युत् क्षेत्रमा भइरहेको निर्माणको कामलाई अत्यावश्यक रुपमा अगाडि बढाएको र केही आयोजना एकाध दिन बाहेक काम नरोकिएको जानकारी पनि दिए । सरकारको प्रयासका कारण माथिल्लो तामाकोसीलगायतका आयोजना सानो स्तरमा भएपनि निर्माणमा रहेको र अन्य निजी क्षेत्रका आयोजनामा समेत काम भइरहेको उनको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले भने झण्डै एक लाख मजदुर काम विहीन भएको जानकारी दिए ।
लकडाउनका कारण निर्माणाधिन जलविद्युत् आयोजना पूर्णरुपमा काम नहुँदा झण्डै एक लाख मजदुर प्रभावित भएका छन् । घर जान नसकेका तथा विदेशी कामदार भने आयोजना स्थलमा रहेको उहाँको भनाइ छ । लकडाउन खोलेपछि घर जान तयार भएर बसेका कामदारलाई प्रोत्साहन गरेर भएपनि काममा लगाउनुपर्ने उनको भनाइ छ । सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनामा साझा समस्या रहेको भन्दै अध्यक्ष गुरागाईले लकडाउनका कारण समस्या परेका आयोजनालाई व्याज छुट तथा अन्य नीतिगत रुपमा सम्बोधन गरी सहजीकरण गरिदिन मन्त्रालयको ध्यानकर्षण गराए । यस्तै सर्वेक्षणको प्रतिवेदन बुझाउन म्याद सकिएका तथा अन्य समस्या एवम् जटिलता परेका आयोजनाका हकमा विशेष व्यवस्था गर्नुपर्ने उनको भनाई थियो । इपानका अध्यक्ष गुरागाईले सरकारले ऊर्जा क्षेत्रमा नीतिगत एवम् कानूनी प्रबन्धमा कुनै कमजोरी नभएपनि कार्यान्वयन पाटोमा समस्या रहेको गुनासो गरे । उनले सरकारले सार्वजनिक गरेको ९९ बुँदे कार्ययोजना र दुई वर्ष पहिले सार्वजनिक भएको श्वेतपत्रलाई पूर्णरुपमा कार्यान्वयन गरिए कुनै समस्या नआउने स्पष्ट पारे । 
 उनले राजनीतिक नेतृत्वले गरेको निर्णयलाई कार्यान्वयन गर्न कर्मचारी प्रशासन तयार नभएका कारण थप जटिलता पैदा भएको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह  गरे । उनले भने, “ऊर्जा क्षेत्रमा नीति, कानुनमा कुनै समस्या छैन तर कार्यान्वयनको नै हो । कर्मचारी प्रशासनलाई कार्यान्वयनका लागि प्रभावकारी व्यवस्था गर्न लगाउनु पर्छ ।” कोरोनाका कारण समस्यामा परेको ऊर्जा क्षेत्रलाई राहत दिने गरी नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्न आग्रह गरे ।