Wednesday, September 30, 2020

असोज २२ गतेसम्म महसुल तिरे जरीवाना नलाग्ने

https://www.karobardaily.com/news/118957

आश्विन १४, २०७७ बुधबार

 नेपाल विद्युत् प्राधिकरणले आगामी असोज २२ गतेसम्म बिजुली बिल तिरे थप दस्तुर तथा जरीवाना नलगाउने भएको छ ।

मंगलबार ऊर्जा, जलश्रोत ताथ सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशकसहितको टोलीलाई बोलाएर जरीवाना नलाग्ने व्यवस्था गरेपछि प्राधिकरण व्यवस्थापनले २२ असोजसम्म महशुल नतिरेमा थप दस्तुर नलाग्ने व्यवस्था गरेको हो । विद्युत् प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार, २२ असोजसम्म तिरेमा कुनै जरीवाना लाग्ने छैन भने असोज २३ गतेदेखि ३० गतेसम्म तिरेमा थप ५ प्रतिशत दस्तुर लाग्नेछ । भदौ महिनासम्मको महशुल भुक्तानी गर्दा थप दस्तुर तिरेमा आगामी बिलमा समायोजन गर्ने पनि प्राधिकरणले जनाएको छ ।
मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर जरीवाना लिएको भए आगामी महिना बुझाउने महशुलमा समायोजन गर्न निर्देशन दिएका थिए ।
पछिल्लो समयमा महशुल तिर्न पुगेका कतिपय ग्राहकले सो अवधिमा मिटर रिडिङ नगरी बिलिङ गरेको र जरीवाना लगाएको गुनासो उपभोक्ताहरुबाट आएको थियो । प्राधिकरणका निमित्त उपकार्यकारी निर्देशक कोइरालाले असोज २२ गतेसम्म तिर्नेलाई थप जरीवाना नगर्न देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेको र सार्वजनिक सूचना समेत जारी गरिएको बताए । प्राधिकरणले ग्राहक स्वयंले मिटर रिडिङ गरेर इन्टरनेट वाइजरमा कन्जुमर डटएनइएडटओआरजीडटएन मा गई विवरण अध्यावधिक गर्न तथा प्राधिकरणको हटलाइन ११५० मा फोन गरी रिडिङ अंक टिपाएर पनि विद्युत् महशुल तिर्न सक्ने व्यवस्था गरेको छ ।
प्राधिकरणले ग्राहकले अनलाइन पेमेण्टको माध्यमबाट समेत आफ्नो खपत विवरण जानकारी लिई भुक्तानी गर्न सक्ने, कुनै कारणवेश बिल प्राप्त नभएमा मिटर रिडिङ अंक टिपाएर प्रतिलिपी बिल लिई समयमा महशुल गर्न सक्ने तथा खपतको आधारमा अग्रिम भुक्तानी गरेमा छुट सुविधा उपलब्ध गराइने पनि जनाएको छ ।

तत्काल उद्दार टोली बनाउन निर्देशन
मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत् अनियमित भए तत्काल समस्या समाधान गर्ने गरी तत्काल उद्दार टोली बनाउन प्राधिकरणलाई निर्देशन दिएका छन् ।
लकडाउनयता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत् नियमित नभए उनीहरुको पढाइ प्रभावित हुने भएकाले प्राधिकरणको मुल नेतृत्व नभएको समयमा वितरण प्रणालीमा कुनै कमजोरी आउन नदिन निर्देशन दिएका हुन् । यस्तै मन्त्री पुनले लकडाउन अवधिमा सरकारले ग्राहस्थ र औद्योगिक ग्राहकलाई दिने भनेको छुट तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन् ।

Monday, September 28, 2020

खिम्तीको अन्तरिम पीपीए दर २ रुपैयाँ

https://www.karobardaily.com/news/118656

आश्विन १२, २०७७ सोमबार

नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले खिम्ती जलविद्युत् आयोजना सम्झौता बमोजिम हस्तान्तरण नभएसम्मका लागि २ रुपैयाँ अन्तरिम विद्युत् खरिद सम्झौता (पीपीए) दरलाई स्वीकृत गरेको छ । प्रवद्र्धक हिमाल पावर कम्पनीसँगको छलफलपछिको सम्झौताको आधारमा प्राधिकरणको बोर्ड बेठकले यस्तो निर्णय गरेको हो ।
सरकार र प्रवद्र्धकबीच भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार साढे दुई महिनाअघि विद्युत् गृहको आधा स्वामित्व विद्युत् प्राधिकरणको नाममा स्वतः आइसकेको छ । तर, औपचारिक रूपमा हस्तान्तरण भने भैसकेको छैन । कोरोना लगायतका कारणले हस्तान्तरण प्रकृयामा ढिलाई भएपछि औपचारिक रूपमा हस्तान्तरण नभएसम्मका लागि अन्तरिम पीपीए दर तोकिएको विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले खिम्ती विद्युत् गृहको औपचारिक रूपमा हस्तान्तरण नभएसम्मका लागि दुई रुपैयाँ अन्तरिम पीपीए दरलाई प्राधिकरण बोर्ड बैठकले स्वीकृति गर्ने निर्णय गरेको र यसको आधारमा प्रवद्र्धक कम्पनीसँग औपचारिक रूपमा सम्झौता हुने बताए ।
“प्रवद्र्धक कम्पनी दुई रुपैयाँमा अन्तरिम समयका लागि पीपीए गर्न सहमत भसकेको छ, हामीले निर्णय ग¥यौं र अब छिट्टै औपचारिक सम्झौता हुन्छ,” उनले भने, “अबको पाँच महिनाभित्र संयुक्त उपक्रम सम्झौता (जीभीए), संयुक्त कम्पनी निर्माण, नयाँ पीपीए दर तोक्ने लगायतका सबै काम सम्पन्न गर्ने लक्ष्य छ ।” प्राधिकरणले माघभित्र औपचारिक रूपमा प्रक्रिया सम्पन्न गर्ने योजना बनाएको छ । सन् २०२० को जुलाई ११ अर्थात २०७७ सालको असार २७ गतेपछि ६० मेगावाटको खिम्ती विद्युत्् गृहको आधा स्वामित्व प्राधिकरणमा स्वतः आउने र त्योभन्दा अघिनै सबै प्रक्रिया पूरा गरेर औपचारिक रूपमा हस्तान्तरण हुनुपर्ने भए पनि कोभिड–१९ र कम्पनीका प्रवद्र्धकहरू विदेशमा रहेको उल्लेख गर्दै प्रक्रिया अघि बढाउन नसकिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीहरूले बताउँदै आएका छन् ।
समयमै हस्तान्तरण हुन नसकेपछि अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणले १.६४ पैसा अन्तरिम पीपीएका लागि प्रस्ताव पठाएको थियो भने नर्वेजियन कम्पनीले २.८४ पैसा प्रस्ताव गरेको थियो । ऊर्जा मन्त्रालयका सह–सचिव प्रवीणराज अर्याल नेतृत्वको समितिले खिम्तीको स्वामित्व हस्तान्तरण प्रक्रियाबारे दुवै निकायसँग छलफल अघि बढाएको थियो । दुवै पक्षको सहमतिको आधारमा दुई रुपैयाँ तोकिएको थियो ।
प्रवद्र्धक कम्पनीमा दुई नर्वेजियन कम्पनीका साथै बुटवल पावर कम्पनी (बीपीसी) को पनि सेयर छ । हस्तान्तरण प्रक्रियाका लागि आयोजनाको सम्पूर्ण सम्पत्तिको प्रमाणीकरणको प्रतिवेदन तयार भइसकेको छ । पीपीएको भने अझै टुंगो लागेको छैन । प्राधिकरणका अनुसार, जेभीए, संयुक्त कम्पनी निर्माण, संयुक्त नाममा अनुमतिपत्र (लाइसेन्स) लिने, नयाँ सञ्चालक समितिको बोर्ड गठन गर्ने, हाल कार्यरत कर्मचारीहरूको समायोजन तथा हस्तान्तरण गर्दाको कर निर्धारण गर्ने लगायतका काम गर्न बाँकी छ । स्वामित्व हस्तान्तरणको पूर्वतयारीका लागि उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयको कम्पनी रजिष्ट्रार कार्यालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, विद्युत्् विकास विभाग, प्राधिकरण बोर्ड हुँदै मन्त्रिपरिषद्सम्म जानुपर्ने भएकोले यसका लागि लामो प्रक्रिया लाग्छ तर प्रक्रिया सुरु भएकै छैन । अन्तरिम पीपीएपछि दुवै पक्षले बल्ल प्रक्रिया सुरु गर्छन् ।
५० वर्षका लागि हिमाल पावर कम्पनीले लिएको सो आयोजनाको सन् २००० मा उत्पादन सुरु भएको थियो । डलरमा पीपीए गरिएको आयोजनाबाट उत्पादित विद्युत्् प्रतियुनिट २१ रुपैयाँसम्म प्राधिकरणले किनिरहेको थियो तर 

४० मेगावाटको चमेलियामा निर्माण गर्न पाँच अर्ब ऋण लगानी सम्झौता

 https://www.karobardaily.com/news/118708

आश्विन १२, २०७७ सोमबार

अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।

७ अर्ब ४० करोड लगानी रहेको आयोजनाका लागि हिमालय बंैक लिमिटेडको नेतृत्वमा ७० प्रतिशत अर्थात् ५ अर्ब १८ करोड लगानी गर्ने गरी वित्तिय व्यवस्थापन भएको हो । आइतबार अपि कम्पनीका अध्यक्ष गुरु न्यौपाने र सम्बन्धित बैकका प्रतिनिधिबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
आयोजनामा हिमालयन बैंक लिमिटेड १ अर्ब २५ करोड, कर्मचारी संचय कोषले एक अर्ब, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नेपाल बंगलादेश बैंकले ७५-७५ करोड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ६० करोड लगानी गर्ने भएका छन् ।
ऋणबाहेकको ३० प्रतिशत अर्थात् २ अब २२ करोड कम्पनीले आफ्ना सेयरधनीलाई हकप्रद सेयर जारी गरी २ चरणमा रकम संकलन गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यो आयोजना निर्माणका लागि सेयरधनीबाट स्वपुँजी जुटाउनका लागि २०७५ साल असार मसान्तमा कायम चुक्ता पुँजी १ अर्ब १३ करोड ४० लाखकोे १ः०.४७ को अनुपातमा ५६ करोड ७० लाखको हकप्रद सेयर जारी गर्नका लागि मिति २०७६ साल फागुन १२ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब १९ करोड रहेको छ ।
सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई बहने चमेलिया नदीको पानी उपयोग गरेर निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो चमेलियाले अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाइपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत्गृह निर्माण गर्न लागेको छ । आगामी कात्तिक १ गतेबाट निर्माण सुरु गरेर साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
१६ किलोमिटर लामो १३२ केभी ट्रान्समिसन लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको बलाँच सबस्टेसनमा ल्याई राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्य राखेको आयोजना आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत्मध्ये ३० प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, आयोजनाको विद्युत् बिक्रिबाट प्रथम वर्ष १ अर्ब ६२ करोड आयआर्जन हुनेछ । यस आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्घि हुँदै जानेछ ।
२०६० सालमा स्थापना भएको र २०७० सालमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको अपि कम्पनीले सुदूरपश्चिमकै दार्चुलामा ८.५ मेगावाटको नौगड गाढ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७२ सालदेखि नै आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोडिसकेको छ । कम्पनीले दोस्रो आयोजनाको रूपमा सोही स्थानमा निर्माण गरेको ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत् आयोजना पनि एक वर्षअघि नै सम्पन्न भएर ग्रिडमा जोडिसकेको छ । अपि पावर कम्पनी लिमिटेडको यो तेस्रो जलविद्युत् आयोजना हो । कम्पनीले ग्रिडमा जोडिने सोलारका आयोजना पनि निर्माण गरिरहेको छ ।

Sunday, September 27, 2020

जलस्रोत नीति प्रमाणीकरणमा ढिलाई

https://www.karobardaily.com/news/118400

आश्विन ९, २०७७ शुक्रबार

मन्त्रीको झुट कि मुख्यसचिवले अड्काए ?

साउन दोस्रो साता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समीक्षा बैठकमा मन्त्री वर्षमान पुनले जलस्रोत नीति मन्त्रिपरिषद्बाट पारित भएको जानकारी दिएका थिए । नीतिसँगै कानुन निर्माणमा मन्त्रालय धेरै पछि परे पनि राष्ट्रिय महत्वका साथ लिइएको जलस्रोत नीति पारित भएको र यस क्षेत्रको विकासका लागि बाटो खुल्ने उनले बताएका थिए । त्यसपछि मन्त्रालय, जल तथा ऊर्जा आयोगका अधिकारीहरुले पनि जलस्रोत नीति पारित भएको दोहो-याएका थिए ।
बिडम्बना, मन्त्रीले घोषणा गरेको केही दिनपछि जलस्रोत नीतिमा केही मिलाउनु छ भन्दै मस्यौदा मन्त्रालय नै फर्किएर आएको छ । अहिले सिँचाइ मन्त्रालयभित्र यस सम्बन्धमा छलफल भइरहेको छ । “मन्त्रिपरिषद्बाट पारित भएको हो भने त त्यो तुरुन्तै मुख्य सचिवबाट प्रमाणित भएर आउनुपर्ने हो, तर अहिले सिँचाइ मन्त्रालयमा छलफलमै छ,” आयोगका एक अधिकारीले भने, “कि ऊर्जामन्त्रीले ढाँट्नुप¥यो कि मुख्य सचिवले प्रमाणित नगरेर अड्काउनुप-यो, अन्तिम भइसकेको नीतिको त यस्तो हालत छ, अरु कानुनको के होला ?”
मन्त्रिपरिषद् पुगेर पारित भएको भनिएको जलस्रोत नीति केही नमिलेको भन्दै मुख्य सचिवले फेरि आयोग र मन्त्रालयतिर फर्काएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता राजेन्द्र पौडेल मन्त्रिपरिषद्ले पारित गरेको नीति मुख्यसचिवले तुरुन्तै प्रमाणित गर्ने गरेको बताउँदै जलस्रोत नीतिमा केही संशोधनको आवश्यकता देखेर सम्बन्धित निकायमै पठाइएको बताए । “मुख्यसचिव कार्यालयले मन्त्री परिषदबाट पारित भइसकेको नीति तुरुन्तै प्रमाणित गर्छ, जलस्रोत नीति केही संशोधन गर्नुपर्ने भएकोले पुनः सम्बन्धित निकायमा पठाइएको छ, पारित भएको हो जस्तो लाग्दैन,” उनले भने । सिँचाई सचिव रवीन्द्रनाथ श्रेष्ठ भने जलस्रोत नीतिको मस्यौदामा केही संशोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै अघि बढ्ने बताउँछन् । आयोगका अधिकारीहरु भने पारित हुने नीतिलाई प्रमाणित नगरेर मुख्यसचिवले लामो समयसम्म झुलाउँदा ठूलो समस्या आएको बताउँछन् । उनीहरु मुख्य सचिवले अड्काएकै कारण जलस्रोत नीति आउन नसकेको र दुई महिना अघिदेखि मन्त्रालयमा घुमिरहेको बताउँछन् ।
पटकपटक मन्त्रिपरिषद् पुगेर फर्किएको सो जलस्रोत नीति बनाउन सुरु गरेको २० वर्ष नाघिसकेको छ । बल्ल मन्त्रिपरिषद् पुगेर स्वीकृत भएको भनिएको नीतिले कहिले मूर्त रूप पाउने हो त्यो भने अझै अनिश्चित छ ।


Thursday, September 24, 2020

५० प्रतिशत साना मझौला उद्योग बन्द हुने अवस्थामा

 https://www.karobardaily.com/news/118298

 आश्विन ८, २०७७ बिहीबार

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले कोभिडका कारण ५० प्रतिशत लघु, साना तथा मझौला उद्योगहरू बन्द हुने अवस्थामा पुगेको जनााएको छ । गत मे २५ देखि १० जुनसम्मको अवधिमा जापान सरकारको सहयोगमा आईएफसीले गरेको अध्ययनले कोभिडको बढ्दो जोखिमले अहिलेको अवस्थामा धेरै साना तथा मझौला उद्योग बन्द हुने देखाएको हो । प्रतिवेदनमा यस्ता उद्योगहरूले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदन दिएको तथा १७ लाख ५० हजारलाई रोजगारी दिएको जनाइएको छ । कोभिडका कारण यसमा ठूलो गिरावट आउने प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा ९ लाख २३ हजार ३ सय ५६ फार्म रहेको र त्यसमध्ये आधामात्र दर्ता रहेको उल्लेख गर्दै बुधबार सार्वजनिक कोभिड–१९ नेपाल बिजनेस पल्स सर्भेमा ५ सय ४१ फर्मको नमूना रूपमा अध्ययन गरेको उल्लेख छ । सर्भे गरिएका कम्पनीहरूमा ८३ प्रतिशत पुरुष र १७ प्रतिशत महिलाले नेतृत्व गरेका कम्पनी छन् । अध्ययनले ४६ प्रतिशत अस्थायी रूपमा बन्द, ३५ प्रतिशत आंशीक खुल्ला र १३ प्रतिशतमात्र पूर्ण खुला रहेको उल्लेख छ । त्यसैगरी ८३ प्रतिशत फर्मको व्यापार घटेको र ४ प्रतिशतको मात्र बढेको उल्लेख गर्दै प्रतिवेदनमा माइक्रो, स्मल र मिडियम उद्योगमा काम गर्ने समय, नगद प्रवाह, माग तथा वित्तीय उपलब्धताजस्ता कारणले घटेको उल्लेख गरिएको छ । प्रतिवेदनमा ८० प्रतिशतभन्दा बढी व्यवसायहरूमा बिक्रीको गिरावटबाट ग्रस्त भएको, उनीहरूले विनातलब वा विदाको बिदा वा आफ्नो कर्मचारीहरूको घण्टा वा ज्याला घटाउने जस्ता उपायहरू गरेको उल्लेख छ ।
प्रतिवेदनमा कोभिडको महामारीले परम्परागत बिक्रीलाई छाडेर साना तथा मझौला उद्योगहरूले इन्टरनेट, सोसियल मिडिया वा डिजिटल प्लेटफर्मको प्रयोग बढेको र व्यापारका लागि उपयोग गरिरहेको उल्लेख छ । आईएफसीको सल्लाहकार सेवाहरूका लागि दक्षिण एसियाका प्रबन्धक रोल्फ बहरन्टले कोभिडको कारणले साना व्यवसायहरूले गम्भीर समस्या भोगिरहेको प्रतिवेदनले देखाएको उल्लेख गर्दै साना व्यवसायहरूले अर्थतन्त्रमा मुख्य भूमिका खेलेको र यसको कारण नेपालको व्यापार वृद्धि, रोजगारी सिर्जना र राजस्वमा समेत योगदान दिइरहेको बताए । प्रतिवेदनले अध्ययन गरेका व्यवसायहरूमा २५ प्रतिशत कर्मचारीलाई बिदा दिएको, २७ प्रतिशतले कार्य समय घटाएको तथा १२ प्रतिशत कम तलबमा राखिएको उल्लेख छ ।
आईएफसी नेपाल, बंगलादेश र भुटानका देशीय प्रबन्धक वेन्टी वर्नरले महामारीले नेपालको अर्थतन्त्रमा ठूलो चोट पु¥याएको बताउँदै गत वर्षको तुलनामा साना तथा मझौला उद्योगहरूको व्यापार ८३ प्रतिशतले घटेकोले अहिलेको निष्कर्षले आगामी दिनमा व्यवसाय पुनरुत्थानमा सहयोग पुग्ने बताइन् । विश्व बैंक माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फारिस हदादले सर्भेक्षणको परिणामले आर्थिक सुधारमा योगदान पु¥याउन सक्ने क्षमताको सुधारका लागि महत्वपूर्ण सहयोग गर्ने बताउँदै यस्तो अवस्थाको अन्त्यका लागि विश्व सबैकले सरकार र निजी क्षेत्रसँग मिलेर कृषि, पर्यटन र वित्तीय क्षेत्र लगायतका लघु, साना तथा मझौला उद्योगहहरूलाई सहयोग सहायताका लागि परियोजनाहरू तयार पारेको जानकारी दिए । प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा आईएफसीले लघु, साना तथा मझौला उद्योगहरूका लागि हालै एनएमबि बैंकमार्फत २५ मिलियन डलर सहायता गरेको पनि जानकारी दिइएको थियो ।

Wednesday, September 23, 2020

ढुक्क हुनुस्, अब लोडसेडिङ हुँदैन

https://www.karobardaily.com/news/118280 

चारवर्षे कार्यकाल सकेर कुलमान घिसिङ बाहिरिएपछि अहिले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशक छन्– लेखनाथ कोइराला । ३२ वर्षदेखि विद्युत् प्राधिकरणमा कार्यरत उनी विद्युत् प्राधिकरणको अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक हुन् । विद्युत् प्राधिकरण नाफामा जानुमा नेतृत्वका हिसाबले कुलमानको जति भूमिका छ, त्यत्तिकै भूमिका कोइरालाको पनि छ । तर, प्राधिकरणभित्र लो स्टाटसमा बसेर काम गर्ने उनी प्राधिकरणको आर्थिक मामिलामा इमानदार र व्यवस्थापनमा काबिल मानिन्छन् । कुलमान बाहिरिएपछि फेरि मुलुकमा लोडसेडिङ हुने हो कि भन्ने चिन्ता भइरहेका बेला उनी अब नहुने ठोकुवा गर्छन् । हाल प्राधिकरणमा निमित्त रहेका कोइरालासँग विद्युत् प्राधिकरण फाइदामा जानुको कारण, यसका लागि भएका प्रयासलगायतबारे कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :

तपाईं नेपाल विद्युत् प्राधिकरणको अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशकपछि अहिले कामु कार्यकारी निर्देशक हुनुभएको छ । विद्युत् प्राधिकरण अहिले नाफामा गएको छ । यो कसरी सम्भव भयो ?
नाफामा जानुका कारणहरू धेरै छन् । चुहावट धेरै घट्यो । अहिले भारतबाट सस्तोमा हामीले बिजुली किनेका छौं । स्वदेशी उत्पादन पनि बढेको छ । विद्युत् खरिद सस्तो भएको, चुहावट घटेको, खर्च नियन्त्रण गरेको र अरू आम्दानी पनि बढ्दै गएको छ । बिजुली बिक्रीबाहेकका अन्य आम्दानीहरू बढ्दै जाँदा हामीलाई धेरै सहज भएको छ । यसकारण हामी नाफामा गएका हौं । आर्थिक विवरणहरू हेर्ने हो भने पनि यस वर्ष ६८ अर्ब आम्दानी विद्युत् बिक्रीबाट भएको छ । अन्य विविध आम्दानी मात्र ९ अर्ब भएको छ । करिब ७८ अर्ब हाम्रो आम्दानी भएको छ । त्योभन्दा ११ अर्ब कम मात्र खर्च भएको छ । ६७ अर्बजति मात्र खर्च छ । हाम्रो खर्चमा सबैभन्दा बढी विद्युत् खरिद नै हो । बिजुली सस्तिएका कारण कम खर्च भएको छ । विद्युत् प्राधिकरण आफ्नै आम्दानी पनि बढेको छ । त्रिशूली–३ लगायतका जलविद्युत् आयोजनाको उत्पादन पनि थपियो । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले उत्पादन गरेर थप आम्दानी भयो ।

विगतको भन्दा कसरी चुहावट र खर्च नियन्त्रण गर्न सम्भव भयो ?
चुहावट घटाउने लक्ष्यसहित कार्ययोजना अघि बढायौं । सबै वितरण केन्द्रहरूसँग कार्यसम्पादन सम्झौता पनि गरेका छौं । सम्झौताअनुसार नै वितरण केन्द्रका प्रमुखहरूले चुहावट घटाउन सफल भएका छन् । हामीले धेरै लगानी गरेर सबस्टेसनहरू निर्माण भएर चार्ज भएका छन् । यसकारण पनि प्राविधिक चुहावट घट्दै गएको छ । चुहावटको अनुगमन पनि धेरै भएको छ । हामीले आन्तरिक रूपमा समेत प्राधिकरणको खर्चमा न्यूनीकरण गर्दै लग्यौं । यसले पनि आम्दानी बढाएर नाफा बढाउन सहयोग ग-यो ।

विद्युत् प्राधिकरणले महँगोमा विद्युत् खरिद गरिरहेको खिम्ती जलविद्युत् केन्द्रको ५० प्रतिशत हिस्सा विद्युत् प्राधिकरणमा स्वतः आइसकेको छ, तर यसलाई आधिकारिक रूपमा ल्याउन सकेका छैनौं । यसमा के समस्या भएको हो ?
खिम्तीको स्वामित्व ल्याउनका लागि कुनै समस्या छैन । अहिले बिजुली पनि लिइरहेका छौं । उनीहरूसँग मौखिक रूपमा सहमति भएर विद्युत् लिइरहेका छौं । कोरोनापछिको अवस्थाले आयोजनाको स्वामित्व औपचारिक रूपमा ल्याउन समय मात्र लागेको हो । तत्कालका लागि अन्तरिम व्यवस्थापन भइसकेको छ । अन्तरिम रूपमा प्रतियुनिट २ रुपैयाँमा पीपीए भएको छ । विद्युत् प्राधिकरणले निर्णय पनि गरिसकेको छ । उनीहरूका तर्फबाट पनि भइसकेको छ । खालि दुवै पक्षले माइनुट गरेर अन्तिम रूप दिन बाँकी छ । एक÷दुई दिनमा टुङ्गिन्छ होला । यसलाई अन्तिम रूप दिन त केही समय लाग्छ । नर्वेजियन कम्पनीका प्रतिनिधिहरू पनि नेपाल आउन सकेका छैनन्, त्यसकारण वार्ता अघि बढ्न सकेको छैन । हामीले अहिले भर्चुअल बैठक त गरिरहेका छौं, तर सम्झौताका लागि केही समय लाग्नेछ । भेटेर हामी बैठक गरेपछि यसलाई अन्तिम रूप दिन्छौं पनि । यसका लागि दुई–तीन महिना लाग्छ । यसमा कुनै किसिमको समस्या छैन । वार्ता पनि सौहार्दपूर्ण तरिकाले अघि बढेको छ । अहिलेको अन्तरिम पीपीए पछिका लागि आधार पनि बन्छ ।

डलरमा पीपीए गरिरहेको खिम्ती आएपछि त प्राधिकरणको आर्थिक अवस्था अझ बलियो हुन्छ भन्छन् नि ?
सम्झौताअनुसार डलर पीपीए सक्किसक्यो । यो फन्ड लोडसेडिङ किसिमको पीपीए थियो । पहिला डलरमा पीपीए गरेकाले धेरै भार परे पनि अबको वर्षमा धेरै फाइदा हुन्छ । सस्तो रूपमा पीपीए नेपालीमा भएर ५० प्रतिशत प्राधिकरणको स्वामित्वमा आउनेबित्तिकै यसले धेरै फाइदा पुग्छ । प्राधिकरणका लागि यो बिजुलीको पैसा पहिला नै तिरेजस्तै हो । अब अरू आयोजनाभन्दा धेरै सस्तो पर्छ । यसले अबको दिनमा विद्युत् प्राधिकरणको वित्तीय अवस्थामा धेरै सुधार गर्छ । पहिलाको तुलनामा अब ५० प्रतिशतभन्दा कम लान्छ ।

पछिल्लो समयमा विद्युत् प्राधिकरण लगानीकर्ताजस्तै देखिन्छ । प्राधिकरणले सबै सहायक कम्पनीहरू बनाएर लगानी गर्दै अघि बढ्न थालेको छ । आफ्नै आयोजना कम छन्, यसले आगामी दिनमा प्राधिकरणको वित्तीय अवस्था कस्तो हुने देख्नुहुन्छ ?
प्राधिकरणले सहायक कम्पनीमार्फत ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र सहायक कम्पनी चिलिमेमार्फत विभिन्न आयोजनाको निर्माणकार्य अघि बढाएको छ । यसमा लगानी गरेको छ । सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्दा प्राधिकरणले पीपीए पनि गर्नुपर्छ । कम्पनी मोडलमा आयोजना बनाउँदा छिटो निर्माण हुन्छ भन्ने एउटा महत्वपूर्ण कुरा छ । अर्को आयोजना बनाउँदा जनतालाई सेयर दिन पनि सकिन्छ । प्राधिकरण आफैंले बनाएको आयोजनामा त दिन सक्दैन । कम्पनी मोडेलमा बनाउँदा सेयर दिन पनि सकियो । निर्णय प्रक्रिया पनि यसमा छिटो हुन्छ । कार्यान्वयन पनि छिटो हुन्छ । यो सकारात्मक नै हो जस्तो लाग्छ । जहाँसम्म आर्थिक अवस्थामा सुधारको कुरा छ, तामाकोसी चालू वर्षमै सम्पन्न हुन्छ । चिलिमेका एक-दुई आयोजना पनि चालू वर्षको अन्तिमसम्म आउन सक्छन् । तामाकोसी आएपछि पनि ऊर्जाको खपत बढ्छ नै भन्ने हाम्रो अनुमान छ । तामाकोसीको पीपीए दर पनि कम छ । विद्युत् प्राधिकरणको वित्तीय अवस्थामा यसले धेरै सुधारचाहिँ गर्छ । प्राधिकरण अझै फाइदामा जान्छ । खिम्तीको पनि स्वामित्व आएको छ । यसले झन् प्राधिकरणको फाइदा बढाउँछ ।

प्राधिकरणले झन्डै ४ वर्षअघि मुलुकलाई लोडसेडिङ अन्त्य गरेको थियो । अहिले फेरि लोडसेडिङ हुने भनेर हल्ला सुरु भएको छ । के फेरि लोडसेडिङ हुने अवस्था छ र ?
कुनै पनि हालतमा अब मुलुकमा लोडसेडिङ हुँदैन । हाम्रो उत्पादन राम्रो छ । निजी क्षेत्रहरूबाट उत्पादन आउने क्रम छ । चालू वर्षमा १३ सय मेगावाट थप उत्पादन हुने भन्ने छ । लक्ष्यअनुसार सबै नआए पनि ४ सय ५६ मेगावाटको तामाकोसीलगायतका केही आयोजनाहरू आउँछन् । सबै सम्पन्न नभए पनि निजी क्षेत्रका धेरै आयोजनाहरू आउँछन् । जुनसम्मका लागि भारतसँग विद्युत् खरिदका लागि सम्झौता पनि भइसकेको छ । त्यो ऊर्जा पनि हामी लिन सक्छौं । अहिलेको अवस्थामा हाम्रो माग पनि धेरै बढेको छैन । हामी आगामी हिउँदमा समेत मागअनुसारको विद्युत् आपूर्ति गर्न सक्छौं । लोडसेडिङ हुने कुनै पनि कारण छैन, हुँदैन । ढुक्क हुनुस्, मुलुकमा अब लोडसेडिङ हुँदैन ।

उसो भए ढुक्क भए हुन्छ, के हामीले हिउँदमा लोडसेडिङ नहुने गरी तयारी अघि बढाइसकेका छौं ?
हो, हामीले हिउँदमा लोडसेडिङ नहुने गरी सबै काम अघि बढाइसकेका छौं । भारतसँग सम्झौता गरिसकिएको छ । निजी क्षेत्रका प्रवद्र्धकहरू पनि छिटोभन्दा छिटो आयोजना सक्न लागेका छन् । उनीहरूलाई जति छिटो आयो, त्यति फाइदा हुन्छ । पैसा पाउने हो । विद्युत् प्राधिकरणका सहायक कम्पनीहरूले निर्माण गरिरहेका आयोजनाहरूमध्ये केही आउने अवस्था छ ।

पछिल्लो समयमा विद्युत् प्राधिकरण लोडसेडिङ अन्त्य गर्ने र नाफामा जाने संस्थाका रूपमा परिचित छ, उसो भए यसको निरन्तरतामा पनि अब कुनै समस्या छैन ?
निरन्तरता मात्र होइन, अब विद्युत् प्राधिकरणको अवस्था अझै राम्रो हुन्छ । यसका लागि आधार बनिसकेको छ । योभन्दा खराब हुने स्थिति छैन र हामी जाँदैनौं पनि । हाम्रो उत्पादन, वितरण र प्रसारण राम्रो भएर जान्छ । अब नाफा पनि बढी हुन्छ । डेडिकेटेड फिडरको दोब्बर दस्तुर हटाएर पनि हामीले नाफा गर्छांै भन्ने विश्वास छ । उद्योग, व्यापार, व्यवसाय चल्नेबित्तिकै हाम्रो बिजुली त खपत भइहाल्छ । हामीले जति बिजुली बढी बेच्छौ, त्यति नाफा हुने हो । हामीले सस्तोमा बिजुली किन्ने भनेर भारतसँग सम्झौता पनि गरिसकेका छौं । गत वर्षको अन्तिमतिर हाम्रो खपत घटी भएर केही घाटा बेहोर्नु प¥यो । यदि त्यो अवस्था आएको थिएन भने ११ अर्बभन्दा बढी नाफा गर्न सक्थ्यौं । अहिले त्यस्तो सम्भावना छैन । खपत पनि बढ्दै गएको छ । तामाकोसी आउनेबित्तिकै धेरै सुधार हुन्छ । खिम्ती त आइसक्यो । खिम्तीमा मात्र महिनाको ४०÷५० करोड तिर्नुपथ्र्याे, त्यसमा त आधाभन्दा बढी घट्ने भइसक्यो ।

अहिले विद्युत् प्राधिकरणको खण्डीकरणको कुरा पनि उठेको छ । उत्पादन, प्रसारण, वितरणलाई छुट्टाछुट्टै गर्दा कतै प्राधिकरण नै नरहने हो कि भन्ने चिन्ता पनि प्रकट भइरहेको छ । यसबारे के भन्नुहुन्छ ?
प्राधिकरणलाई कस्तो बनाउने भन्ने त सरकारको नीतिको कुरा हो । खण्डीकरण भनेको प्राधिकरणकै मातहतमा रहने गरी गर्ने भनेको हो । उत्पादन, प्रसारण, वितरण भने पनि प्राधिकरण नै हो । ती सबै सरकारी स्वामित्वमै हुन्छन्, पब्लिकमा जाँदैनन् । अरू देशको अभ्यासका आधारमा पनि के भन्न सकिन्छ भने एउटा होल्डिङ कम्पनी हुन्छ । त्यो कम्पनी प्राधिकरण हो । त्यसमा उत्पादन, प्रसारण, वितरण कम्पनी रहन्छन् । हामी त्यही मोडेलमा जाँदैछौं । यसको मूल नियन्त्रण र व्यवस्थापन प्राधिकरणबाटै हुन्छ ।

पछिल्लो समयमा निजी क्षेत्रका प्रवद्र्धकहरूले विद्युत् प्राधिकरणले बिजुली नकिन्ने भयो भनेर चिन्ता प्रकट गरिरहेका छन् । उनीहरूले लिऊ वा तिर (टेक अर पे) भन्दा प्राधिकरण लिऊ र तिर (टेक एन्ड पे) मा विद्युत् खरिद सम्झौता (पीपीए) गरिरहेकाले समस्या भइरहेको भनिरहेका छन् । यसबारे के भन्नुहुन्छ ?
विद्युत् प्राधिकरणले पीपीए गरिसकेको हकमा नकिन्ने भन्ने कुरा हुँदैन । सम्झौता भइसकेको त किन्छ । नेपालमा बिजुली बढी हुँदा भारतमा बेच्ने र यहाँ कम हुँदा नेपालले किन्ने कुरामा सम्झौता पनि छिट्टै हुँदैछ । नेपालको बिजुली भारतको डे हेड बजारमा जाने कुरा पनि छ । यसका लागि नेपाल सरकारबाट स्वीकृत भइसकेको छ । भारत सरकारबाट पनि स्वीकृति हुने चरणमा छ । यो अन्तिम अवस्थामा छ । त्यसपछि भारतको बजारमा पनि नेपालको बिजुलीको पहुँच हुन्छ । किनबेच गर्न सक्छौं । यसकारण पनि निजी प्रवद्र्धकहरूका लागि कुनै जोखिम छैन जस्तो लाग्छ ।

हामीले भारतलाई बिजुली बेच्ने कुरा गरिरहेका छौं, तर व्यापारिक रूपमा त सुरु भएको छैन नि ! आदानप्रदानलाई नै हामीले व्यापार भनिरहेका छौं, होइन र ?
आदानप्रदानअन्तर्गत नेपालको बिजुली भारत त गरिरहेको छ, तर व्यापारिक रूपमा गएको छैन । जाने प्रक्रियामा छ । चालू वर्षमा व्यापारिक रूपमा सुरु हुने आशा गरेका छौं । आगामी वर्षामा बिजुली खेर जान्छ भनेर चिन्ता गरिरहनुपर्छ जस्तो लाग्दैन । डे हेड बजारमा जाने हुनाले यसले यस चिन्तालाई दूर गराउँछ जस्तो लाग्छ । यसका लागि सरकारले सम्झौता गरेर अघि बढिसकेकाले भारत सरकारले स्वीकृति दिनासाथ अघि बढ्छ जस्तो लाग्छ ।

नेपालको बिजुली लागत महँगो भएकाले भारतको बजारमा जान समस्या छ भनिन्छ, कसरी सहज जान सक्ला र ?
ऊर्जालाई भण्डारण गर्न सकिँदैन । पहिले त हामी घरेलु आवश्यकता पूर्ति गर्छौं । हामी आन्तरिक खपत पनि स्वदेशभित्र बढाउँछौं । ग्याँसको सट्टा इन्डक्सन चुलो, विद्युतीय सवारी साधनको प्रवद्र्धनमा लागेका छौं । उद्योगहरू पनि बढ्दै जान्छन् । कोरोना महामारीका कारणले मात्र हो, नत्र हाम्रो माग बढ्दै जान्थ्यो । केही खुकुलो भएसँगै विद्युत्को माग बढ्न पनि थालिसकेको छ । खपत बढ्दै जाने हुनाले दुई–तीन वर्षलाई समस्या छ जस्तो लाग्दैन । त्यसपछि लागत कम घट्दै जाने हुनाले हामीलाई बाह्य बजारमा जान त्यति समस्या हुन्छ जस्तो लाग्दैन ।

विद्युत् आदानप्रदानका लागि अहिले त प्रसारणलाइन निर्माणकै समस्या छ भनिन्छ, यसमा के देख्नुहुन्छ ? यसमा केही पहल भइरहेको छ ?
विभिन्न करिडोरहरूमा प्रसारणलाइनका आयोजनाहरू बनिरहेका छन् । केहीमा समस्या पनि छ । तथापि ती पनि अघि बढ्ने प्रक्रियामै छन् । कोभिडका कारण केही समस्या परे पनि आयोजनाहरू रोकिएकै त छैनन् । क्रमिक रूपमा ती पूरा हुन्छन् । विद्युत् प्राधिकरणले कुनै समस्या आएमा हाम्रो तहबाट गर्ने काम गरिरहेका छौं । कतिपय सरकारलाई सहजीकरणका लागि भनेका छौं, उहाँहरूबाट पनि भइरहेको छ ।

Tuesday, September 22, 2020

जलविद्युत् १०% मात्र महिला

https://www.karobardaily.com/news/118198

आश्विन ७, २०७७ बुधबार

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को एक प्रतिवेदनले नेपालका जलविद्युत् आयोजनाहरूमा १० प्रतिशतमात्र महिला रोजगार रहेको देखाएको छ । मंगलबार वेबिनारमार्फत सार्वजनिक प्रतिवेदनले जलविद्युत् आयोजनाहरू निर्माण गर्ने क्रम बढ्दै गए पनि जलविद्युत् आयोजनामा अर्धदक्ष र दक्ष दुवैमा अत्यन्तै कम रहेको उल्लेख गर्दै १० प्रतिशत मात्र रहेको देखाएको हो ।
अष्ट्रेलिया, जापान र नर्वे सरकारको साझेदारीमा आईएफसीले २० जलविद्युत् कम्पनीहरूलाई छनोट गरी नेपालमा जलविद्युत् क्षेत्रमा लैंगिक विविधता र समानताका लागि व्यावसायिक घटनाको विषयमा सो प्रतिवेदनमा विश्लेषण गरेको छ । आईएफसी नेपाल, बंगलादेश र भुटानकी देशीय प्रबन्धक वेन्डी वेर्नरले नेपालको जनसंख्यामध्ये आधाभन्दा बढी महिला भए पनि नेपालको जलविद्युत् क्षेत्रमा १० प्रतिशत महिला मात्र रोजगारमा रहेको बताइन् । कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका उपाध्यक्ष आशिष गर्गले प्रतिवेदनले जलविद्युत् क्षेत्रमा महिलाको सहभागिता र सक्रियता बढाउनुपर्ने देखिएको बताउँदै जलविद्युत् प्रवद्र्धक कम्पनीहरूमा महिलाको सहभागिता अनिवार्य गर्नुपर्ने देखिएको बताए
प्रतिवेदनअनुसार २० जलविद्युत् कम्पनीमा १ हजार ५ सय ३५ ले रोजगारी पाएकोमा त्यसमध्ये १ सय ५५ अर्थात १० प्रतिशतमात्र महिला छन् । ति कम्पनीको कार्यकारी पदमा १ सय ५५ जना रहेकोमा १३ मात्र अर्थात ८ प्रतिशत मात्र महिला छन् । प्रतिवेदन अनुसार, ६ सय २५ प्राविधिक पद रहेकोमा ५ प्रतिशत अर्थात ३५ जना महिला तथा १ सय ३२ बोर्ड सदस्यमध्ये ९ प्रतिशत अर्थात १२ जना मात्र महिला छन् । प्रतिवेदनले प्रशासन र मानव शंसोधनतर्फ भने २२ प्रतिशत, वित्तिय÷लेखातर्फ २० प्रतिशत महिला रहेको देखाएको छ । प्रतिवेदन अनुसार, २० कम्पनीमध्ये ५ कम्पनीको नेतृत्व महिलाले लिएको तथा वातावरण सामाजिकतर्फ ८ प्रतिशत महिला छन् तर जनसम्पर्कतर्फ भने सबैभन्दा बढी २५ प्रतिशत महिला छन् । २० कम्पनीले जम्मा ४ जनालाई मात्र जनसम्पर्कतर्फ रोजगदारी दिएको छ ।
प्रतिवेदनले कर्पोरेट स्तरमा लैंगिक समानता र समान व्यवहारको नीति अबलम्बन गर्न, लंगिक भेदभाव अन्त्यका लागि जनचेतना जगाउनुपर्ने, नेतृत्व र सञ्चार तालिमको अवसर सिर्जना गर्न, बोर्डको प्रतिनिधित्व विविधीकरण गर्न सुझाव दिएको छ । त्यसैगरी परियोजनामा कर्पोरेट नीति अबलम्बन गर्न, लैंगिक विज्ञ र महिला कर्मचारीलाई फिल्ड व्यवस्था गर्न, सीप विकास तालिम सञ्चालन गर्न तथा समुदायस्तरमा लैंगिक सहभागिता बढाउन विभिन्न औजारहरू प्रयोग गर्न, महिला सहभागिताको व्यसाय प्रवद्र्धन गर्न तथा आवश्यक सीपमूलक तालिम अघि बढाउन सुझाव दिएको छ ।

Monday, September 21, 2020

पञ्चेश्वरको डीपीआर मस्यौदाले नै मनायो रजत वर्ष

https://www.karobardaily.com/news/117971

आश्विन ५, २०७७ सोमबार

पञ्चेश्वर आयोजनाको पहिचान भएको ६५ वर्ष र आयोजना अघि बढाउने भनेर विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको नै २५ वर्ष पुग्यो । नेपाल र भारत दुवै मुलुकले संयुक्त रूपमा निर्माण गर्न लागिएको पञ्चेश्वरको डीपीआर वर्षको आधारमा रजत जयन्तीमा प्रवेश ग-यो । तर बिडम्बना यो अझै टुंगिएको छैन ।
डीपीआरअनुसार ६ हजार ४ सय ८० मेगावाट क्षमता रहेको बहुउद्देश्यीय सो आयोजनाको विगत पल्टाउने हो भने मानव जीवनको एउटा पुस्ताजत्तिकै लामो इतिहास छ । सन् १९५६ मा भारतको केन्द्रीय जल आयोगद्वारा पहिलोपटक पञ्चेश्वर आयोजनाको पहिचान गरेपछि यसको विकासका लागि सन् १९७८ मा नेपाल–भारत दुवै पक्षको सहभागितामा ‘ज्वाइन्ट गु्रप अफ एक्सपर्ट’ गठन गरिएको थियो भने सन् १९८८ मा नेपाल सरकारद्वारा पश्चेश्वर बहुद्देश्यीय आयोजना कार्यालय स्थापना गरेको थियो । सन् १९९१ म पञ्चेश्वर कन्सोर्टमद्वारा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको प्रतिवेदन तयार तथा सन् १९९५ मा नेपालद्वारा पञ्चेश्वरको डीपीआर तयार गरिएको थियो । त्यो डीपीआर तयार भएको २५ वर्षपछि पनि अझै टुंगिएको छैन । त्यसपछि पञ्चेश्वर आयोजना अघि बढाउनका लागि प्रयास नभएका भने होइनन् ।
सन् १९९६ मा नेपाल–भारतबीच शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वरसहित एकीकृत महाकाली सन्धि, सन् २००९ मा नेपाल–भारत संयुक्त जलस्रोत समितिको सचिवस्तरीय बैठकबाट प्राधिकरण गठनको निर्णय, सन् २०१४ मा पञ्चेश्वर विकास प्राधिकरण स्थापना, सन् २०१४ मा गभर्निङ काउन्सिलको बैठकबाट भारतको सरकारी कम्पनी बापकोसलाई संयुक्त डीपीआर तयार गर्न दिने निर्णय, सन् २०१६ मा बापकोसद्वारा आयोजनाको डीपीआर मस्यौदा तयार लगायतका पञ्चेश्वर विकासका लागि भएका केही महत्वपूर्ण घटनाक्रम हुन् । पञ्चेश्वर विकासका प्राधिकरण गठन भएको ६ वर्ष तथा दुवै पक्षले डीपीआरको संयुक्त चार वर्षभित्र पुगिसक्दा पनि यसले अन्तिम रूप पाउन सकेको छैन । सन् १९९५ मै ६ महिनाभित्र टुंग्याउने भनिएको डीपीआर मस्यौदा टुंग्याउने समयावधि एक महिनाभित्र टुंग्याउनेसम्म पुग्यो ।
डीपीआर टुंग्याउनका लागि दुवै देशका विज्ञहरू सम्मिलित समूह बनाएको पनि चार वर्ष पुग्न लागिसक्यो तर अझै कहिले टुंगिने हो अन्योल नै छ । प्राधिकरणका सहायक प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी चटौत डीपीआरलाई अन्तिम रूप दिनका लागि बस्नुपर्ने विज्ञ समूहको बैठक कोरोनापछिको परिस्थितीको कारण बस्न नसकेको बताउँछन् । “डेढ वर्षअघि विज्ञ समूहको बैठक बसेको थियो, कोरोना अघिसम्म बस्ने योजना थियो तर बस्न सकेन, फेरि कोसिस गर्दैछौं,” उनले भने, “डीपीआरले अन्तिम रूप पाएपछि मात्र आयोजना अघि बढ्ने भएकोले यसमा दुवै पक्षको सहमतिको डीपीआर तयार गर्नुपर्ने छ, यसमा ढिलाई भएको छ ।” उनका अनुसार नेपालले डीपीआरको मस्यौदा तयार पारेको २५ वर्ष र दुवै देशले संयुक्त रूपमा तयार पारेको चार वर्ष पुगिसकेको छ तर टुंगो लागिसकेको छैन ।
डीपीआरमा उठेका करिब ५ सय ६५ मुद्दामध्ये ४ सय ४५ टुंगिएर एक सय मुद्दा टुंग्याउन बाँकी छन् । अन्यभन्दा पनि यसमा पानी बाँडफाँड सबैभन्दा पेचिलो विषय बनेको छ । भारतीय परामर्शदाता कम्पनी वाकपोसले तयार पारेको डीपीआरको मस्यौदामा फरक मत राख्दै नेपालले पानीको बाँडफाँडलाई सन्तुलित र न्यायोचित हुनुपर्ने बताउँदै आएको छ । तल्लो शारदा नहरमा भारतले उपभोग गरिरहेको पानीलाई घटाएरमात्र बाँकी पानी आधाआधा गर्नुपर्ने भारतीय अधिकारीहरूको भनाइ रहे पनि नेपालले भने यसलाई इन्कार गर्दै आएको छ । सन् १९९५ मा गरेको अध्ययनले पञ्चेश्वरको क्षमता ६ हजार ४ सय ८० मेगावाट रहेकोमा माथिल्लो तटमा पाँच प्रतिशत पानी छाड्दा यसको क्षमता ५ हजार ५ सय मेगावाट हुन आउने सन् २००३ को अध्ययनले देखिएको थियो । तर, अहिले भारतीय परामर्शदाता वापकोसको अध्ययनले पञ्चेश्वरको क्षमता ४ हजार ८ सय मेगावाट र २ सय ४० मेगावाटको रिरेगुलेटेड ड्यामबाट विद्युत् उत्पादन हुने देखाएको छ । पञ्चेश्वर उच्च बाँध तथा सो आयोजनाभन्दा २५ किमि तल रूपालीगाड रि–रेगुलेटिङ दुवै बाँध आयोजनाको जम्मा लगानी ३ सय ३६ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

Sunday, September 20, 2020

माथिल्लो कर्णालीको पीपीए दर निर्धारण

https://www.karobardaily.com/news/117879
आश्विन ४, २०७७ आईतबार
मूल्यवृद्धि नहुने दरः ५.८२२५ (सेन्ट)
मूल्यवृद्धि हुने दरः १.०२७५ (सेन्ट)
प्रसारण शुल्क र लस (नेपाल): ०.२५०० (सेन्ट)
प्रसारण शुल्क र चुहावट (भारत): ०.५६०० (सेन्ट)
एनभीभीएन ट्रेडिङ मार्जिनः ०.०५७२ (सेन्ट)

बंगलादेशले लगानी बोर्डलाई पठायो पीपीए सुनिश्चितता पत्र

भारतीय लगानीमा निर्मांण हुन लागेको नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत्् आयोजनाको बिजुली खरिद गर्नका लागि वंगलादेशले सुनिश्चितता पत्र पठाएको छ । जीएमआर अपर कर्णाली हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको नौ सय मेगावाटमध्ये ५ सय मेगावाट खरिद गर्ने गरी वंगलादेश पावर डेभलपमेण्ट बोर्डले लगानी बोर्डलाई सुनिश्चिताको पत्र पठाएको हो । पत्रमा प्रसारण शुल्क, चुहावट र ट्रेडिङ मार्जिनसहित प्रति युनिट ७.७१७२ सेन्ट अर्थात नेपाली रुपैयाँमा करिब ८.४८ पैसा विद्युत् खरिद सम्झौता (पीपीए) हुने उल्लेख छ ।
बोर्डले लगानी बोर्डलाई पठाएको पत्रअनुसार ५ सय मेगावाटमध्ये ८५ प्रतिशत मूल्यवृद्धि नहुने प्रतियुनिट ५.८२२५ सेन्ट र १५ प्रतिशत मूल्यवृद्धि हुने दर प्रतियुनिट १.०२७५ सेन्टमा बंगलादेशले खरिद गर्ने छ । १५ प्रतिशत भने डलरको भाउ वृद्धि हुँदा दर पनि बढ्नेछ । त्यसैगरी प्रसारण शुल्क र लस (नेपाल–भारत बोर्डर) को प्रति युनिट ०.२५०० सेन्ट, भारततर्फको प्रसारण शुल्क प्रतियुनिट ०.३६०० सेन्ट, प्रसारण चुहावटवापत प्रतियुनिट ०.२००० सेन्ट र एनभीभीएन ट्रेडिङ मार्जिनवापत प्रतियुनिट ०.०५७२ सेन्ट पाउनेछन् ।
बंगलादेशको बोर्डले लगानी बोर्डलाई लेखेको पत्रमा कोरोना महामारीको कारण पीपीएमा हस्ताक्षर गर्न आउन नसकिएको र महामारीको समस्या न्यून भएपछि नेपाल आएर गर्ने उल्लेख गरेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले जनाएको छ । लगानी बोर्डका प्रवक्ता धर्मेन्द्र मिश्र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले बोर्डलाई पत्र पठाएको र आफ्नो प्रगति विवरणमा समेत वंगलादेश पीपीएका लागि तयार भएको बताए ।
नेपाललाई निःशुल्क दिने १०८ मेगावाट बाहेक ७९२ मेगावाट विद्युत्् निर्यातका लागि भारतलाई बिक्री गर्नेछ । यसमध्ये भारतमा बिक्रीका लागि नेसनल विद्युत्् व्यापार निगम (एनभीभीएन) सँग समझदारी गरेको जीएमआरले सन् २०१७ को अप्रिलमा वंगलादेशका प्रधानमन्त्रीको उपस्थितमा बोर्डसँग सम्झौता गरेको थियो भने सन् २०१८ को डिसेम्बारमा विस्तृत महसुल प्रस्ताव गरेर पीपीए दरका लागि नेगोसिएसन अघि बढाएको थियो । बंगलादेशसँग पीपीए गरेपछि बाँकी रहेको २९२ मेगावाट बिजुली भारतका विभिन्न कम्पनीसँग विक्रीका लागि पहल अघि बढाउने कम्पनीले जनाएको छ ।
आयोजनाका अनुसार १ खर्ब ५० अर्ब लागत अनुमान गरिएको आयोजनाको एक खर्ब बराबरको ऋण र करिब ५० अर्ब स्वँपुजी (इक्विटी) आवश्यक पर्छ । आयोजनाको लागि लगानी जुटाउन नसक्ने भन्दै आलोचना भइरहेको बेला जीएमआरले बंगलादेशले बिजुली किन्ने ग्यारेण्टी गरेकोले कुनै समस्या नभएको बताउँदै आएको छ । सन् २००८ सालमा खुला प्रतिस्पर्धामार्फत विद्युत्को सर्भे अनुमतिपत्र (लाइसेन्स) लिएको सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) नेपाल सरकारसँग गरिसकेको आयोजनालाई विदेशी निजी क्षेत्रको लगानी रहेको सबैभन्दा ठूलो आयोजनाको रूपमा हेरिएको छ । २७ प्रतिशत इक्विटी र १२ प्रतिशत निःशुल्क ऊर्जा दिने गरी सम्झौता भएको आयोजनाबाट इक्विटी, निःशुल्क, राजस्वलगायत गरी २५ बर्षमा ४ अर्ब ५० करोड पाउनेछ । डलरमै पाउने हुनाले यो रकम अझ बढ्नसक्ने आयोजनाका अधिकारीहरू बताउँछन् । आयोजनाले स्थानीयवासीको विद्युतीकरणका लागि दुई मेगावाटको छुट्टै जलविद्युत्् आयोजना समेत निर्माण गर्न लागेको छ । आयोजनाका लागि आवश्यक बोर्डरसम्मको ९९ किलोमिटरको प्रशारण लाइनको आयोजनासमेत अघि बढाएको छ ।
आयोजनाका लागि सरकारी २७३ हेक्टरसहित ३२२ हेक्टर आवश्यक पर्ने देखिएको छ । अन्र्तराष्ट्रिय वित्त निगम (आईएफसी) को स्टयाण्डर्ड अनुसारको पुनस्र्थापना कार्ययोजना (-याप) बनाएर लगानी बोर्डबाट स्वीकृत गरिसकेको आयोजनाले नेपाल इन्डष्ट्रियल वेनेफिट प्लान र डिजाष्टर म्यानेजमेण्ट प्लानसमेत बनाइसकेको छ ।

Tuesday, September 15, 2020

आर्थिक वृद्धि १.५ प्रतिशतमात्रः एडीबी

https://www.karobardaily.com/news/117585

 भाद्र ३१, २०७७ बुधबार

एसियाली विकास बैंक (एडीबी)ले सन् २०२१ अर्थात चालू आर्थिक वर्ष (२०७७-७८)मा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ । कोभिड– १९ को पारेको प्रभावसँगै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको हो । एडीबीको फ्ल्लागसीप प्रकाशन एशियन डेभलपमेन्ट आउटलुक २०२० अपडेटअनुसार चालू आर्थिक वर्षमा ६.४ प्रतिशतको आर्थिक वृद्धिदर अनुमान गरेकोमा कोभिडपछिको अवस्थाले धेरै कम हुने देखाएको हो ।
गत आर्थिक वर्षमा ५.३ प्रतिशत अनुमान गरेकोमा २.३ प्रतिशतमा खुम्चिएको थियो । नेपालको प्रमुख व्यापाकि साझेदार छिमेकी मुलुक भारतमा अपेक्षित तीव्र गति आर्थिक मन्दीले नेपालको वृद्धिको सम्भावनालाई रोक्ने बताउँदै एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले लामो समयको लकडाउनका कारण आर्थिक गतिविधि कम भएर यस्तो अवस्था आएको बताए ।
मंगलबार नै सार्वजनिक भएको नेपाल माइक्रो इकोनोमिक अपडेटले भने सामान्य मनसुनपछि धानको उत्पादन बढ्ने अवस्था देखिएको उल्लेख गरेको छ । तर, प्रतिवेदनले औद्योगिक उत्पादनमा संकुचन र निर्माण क्षेत्रमा भएको ढिलाइ, सेवा क्षेत्रमा आउने सुस्त व्यापार तथा अन्तर्राष्ट्रिय उडानमा आउने कमीको कारण आर्थिक वृद्धिदर खुम्चिने उल्लेख गरिएको छ ।
सन् २०२१ मा उन्नत अर्थतन्त्रमा ढिलाइ भएको आर्थिक सुधारले विप्रेषण आप्रवाहलाई कम गर्ने तथा आप्रवासी कामदारहरूको रोजगारीको सम्भावनालाई कम गर्ने तथा व्यवसायहरू सामान्य अवस्थामा आउन समय लाग्ने, बैंकहरूको लगानीवापतको साँवा, ब्याजमा हुने ढिलाई लगायतका कारण आर्थिक वृद्धिदरमा असर पर्ने एडीबीले जनाएको छ ।
एडीबीका अनुसार सन् २०२१ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने प्रक्षेपण छ । सन् २०२० मा अर्थात अघिल्लो बर्ष २.२ प्रतिशत अनुमान गरेकोमा माइनल शुन्य दशमलब ७ प्रतिशतमा झरेको थियो । दक्षिण एसियामा सर्वाधिक ठूलो संकुचन माल्दिभ्सको अर्थतन्त्रमा भएको छ । पर्यटनमा आश्रित भएका कारण सन् २०२० मा माल्दिभ्सको अर्थतन्त्र २०.५ प्रतिशतले संकुचित भएको प्रतिवेदनमा उल्लेख छ ।

लोडसेडिङ अन्त्य, नाफामा प्राधिकरण

https://www.karobardaily.com/news/117572 

भाद्र ३१, २०७७ बुधबार

पूरा गर्न सकेनन्

  • माथिल्लो तामाकोसी निर्माण सम्पन्न
  • देशलाई विद्युत्मा आत्मनिर्भर
  • उपत्यकालाई तार र पोलरहित
  • स्मार्ट मिटर र ग्रीड स्वचालित प्रणाली
  • डिजिटल प्राधिकरण बनाउने
  • खिम्तीको पीपीए दर तोक्ने

आगामी चुनौती

  • प्राप्त उपलब्धिलाई संस्थागत गर्नु
  • उत्पादित विद्युत्को बजार व्यवस्थापन
  • विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि
  • नयाँ विद्युत् ऐनअनुसार संस्थागत पुनर्संरचना
  • लगानीकर्ताभन्दा विकासकर्ता बन्नु

कुलमान कार्यकालका उपलब्धि

चार वर्षअघि २०७३ भदौ २९ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेका कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर मंगलबार बिदा भए । चार वर्षअघि तीन दिनको समयावधि राखेर गरिएको आन्तरिक प्रतिस्पर्धामा ८ जनामध्येबाट कार्यकारी निर्देशकमा छनोट भएपछि उनीविरुद्ध तत्कालीन तीन उपकार्यकारी निर्देशकले मुद्दा नै दायर गरेका थिए । तत्कालीन अवस्थामा ११ औं तहमा रहेका र राहुघाट जलविद्युत् आयोजनाका प्रमुख रहेका कुलमानको नियुक्तिपछिको प्राधिकरणको आन्तरिक वातावरण राम्रो थिएन तर चार वर्षमा उनले प्राधिकरणभित्र मात्र होइन, सर्वसाधारणमाझ पनि वाहवाही कमाएर उनी बिदा भए ।
चार वर्षे कार्यकाल सकिएपछि पनि निरन्तरता पाउने अपेक्षा स्वयं उनीमा पनि थियो भने सर्वसाधारण त दबाबमै उत्रिएका थिए । भोलि सरकारले उनलाई पुनर्नियुक्ति गर्छ कि गर्दैन, त्यो त हेर्न बाँकीनै छ । तर, उनले चार वर्षे कार्यकालमा आफूलाई सफल सावित गरेर बिदा भए । सबैभन्दा ठूलो त झण्डै १३ वर्षदेखि नेपालमा चरम समस्याको रूपमा रहेको लोडसेडिङ अन्त्य गरे भने झण्डै ३४ अर्ब घाटामा पुगेको प्राधिकरणलाई नाफामा पु-याए । नेपालमा २०६५ सालमा सबैभन्दा बढी दैनिक १८ घण्टा लोडसेडिङ थियो भने उनी कार्यकारी निर्देशक हुँदा ६ घण्टा दैनिक लोडसेडिङ थियो । उनकै कार्यकालमा सक्नुपर्ने ४५६ मेगावाटको माथिल्लो तामाकोशीको आयोजनाबाट विद्युत् उत्पादन, ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारण लाइनको पूर्ण क्षमतामा सञ्चालन तथा संघीय संरचनामा विद्युत् प्राधिकरणको विस्तार भने पुरा हुन सकेनन् ।
वर्षभरीमा सबैभन्दा बढी विद्युत् माग हुने तिहारको लक्ष्मीपूजाका दिन कुशल व्यवस्थापन एवं प्रभावकारी प्रणाली संचालनमार्फत परीक्षणको रूपमा मुलकभरी निरन्तर विद्युत् आपूर्ति गरेर २०७३ को लक्ष्मीपूजाको दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो नेपालतर्फ डोर्याएका उनले वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरेका थिए । “मैले जिम्मेवारी सम्हाल्दा लोडसेडिङको अन्धकारले मुलुक अक्रान्त थियो । वर्षात्को समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ बेहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो,” उनले बिदाइ मन्तव्यमा भने, “मुलुकबाट लोडसेडिङलाई इतिहासमा बिलय गराइदिएका छौं, ‘उज्यालो नेपाल अभियान’ बाट जनताले नियमित विद्युत् आपूर्ति मात्रै पाएका छन् ।”
प्राधिकरणको तथ्यांकअनुसार आव २०७२-७३ सम्ममा संचित घाटा .३४ अर्ब ६१ करोड पुगेको थियो भने सोही वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी थियो । पहिलो आर्थिक वर्षमानै प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भएको स्मरण गर्दै उनले बिदाई कार्यक्रममा भने, “दोस्रो वर्ष २ अर्ब ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायौं, चौथो वर्षमा नाफा बढेर ११ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । कुनै वेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नुपर्ने अवस्थामा पुगेको प्राधिकरण सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउन सफल भएका छौं ।” ऋणात्मक रहेको संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । चार वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ संचित नोक्सानी रहेकोमा आव ०७६-७७मा प्राधिकरणले सम्पूर्ण संचित नोक्सानीलाई शून्यमा झारी करिब ५ अर्ब रूपैयाँ नाफामा लैजान सफल भएको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उनका अनुसार ४ वर्षअघि प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई घटाएर अहिले १५.२७ प्रतिशतमा झारिएको छ । देशभरका करिब ८६ प्रतिशत जनताले ग्रीडको विद्युत्मा पहुँच पाएका छन् र अफ ग्रीडसहित करिब ९० प्रतिशत जनताले विद्युत् उर्जामा पहँुच प्राप्त गरेका छन् । चार वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १३०.७८ युनिट मात्रै रहेकोमा अहिले बढेर २६० युनिट पुगेको उनले तथ्यांक प्रश्तुत गरे ।
भूमिगत तार विछ्याई काठमाडौ उपत्यकालाई तार र पोलरहित वनाउन, स्मार्ट मिटर जडान गर्ने, ग्रीडलाई स्वचालित गर्ने आदि कार्यको थालनी भएको बताउँदै उनले लामो समयदेखि रुग्ण भएर वसेका माथिल्लो त्रिशूली ३ ए, चमेलिया र कुलेखानी ३ आयोजनाहरू सम्पन्न भएको उनले बताए । चार वर्षे कार्यकालमा आफूले माथिल्लो तामाकोसीसहित चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतका आयोजनाहरू सम्पन्न गर्ने, ढल्केबरमा ४०० केभी सबस्टेसन चार्ज गर्ने, देशलाई विद्युत्मा आत्मनिर्भर वनाउदै निर्यात गर्ने, काठमाडौ उपत्यकालाई तार र पोल रहित वनाउने, स्मार्ट मिटर र ग्रीड स्वचालित प्रणाली देशभरी लागू गर्ने र देशभरका शतप्रतिशत जनतालाई विद्युत्मा पहुँच पु-याउने, डिजिटल एनईए बनाउने कार्य पूरा गर्न नसकेको पनि उनले स्वीकार गरेका छन् । यस अविधमा उनले खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत स्वामित्व स्वतः आइसके पनि यसमा भविष्यका लागि महत्वपूर्ण मानिएको विद्युत् खरिद सम्झौता (पीपीए) दर टुंग्याउन सकेनन् । कोरोना महामारीको अवस्थाले यो पूरा हुन हुन नसकेको हो ।
घिसिङको अनुभवमा आगामी दिनहरूमा आहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पहिलो चुनौती छ भने उत्पादित विद्युत्को वजार व्यवस्थापन दोस्रो चुनौतीको रूपमा रहेको छ । विद्युत आपूर्ति नियमितता र गुणस्तर वृद्धि गर्नु तेस्रो चुनौती रहेको बताउँदै उनले बिदाई कार्यक्रममा भने, “संघीय संरचना र नयाँ विद्युत् ऐन अनुसार संस्थागत पुनर्संरचना गरी प्रभावकारी संचालनमा ल्याउनू चौथोे चुनौती रहको छ ।” यसबाहेक आयोजनाविहीन बन्दै गएको प्राधिकरण आफैले नयाँ नयाँ आयोजना सुरु गरेर अघि बढाउनुपर्ने चुनौती अर्को छ । हाल प्राधिकरणले आफैले सेयर लगानी गरेर कम्पनीमार्फत आयोजनाहरू निर्माण गरिरहेको छ भने कम्पनीमार्फत अघि बढेका आयोजनाहरूलाई जनताको जलविद्युत् अन्तर्गत आवद्ध गरेपछि प्राधिकरण आफैले आयोजना निर्माण गर्ने गरेको लामो इतिहासको अन्त्य हुने अवस्था सिर्जना हुन लागेको छ । अहिले विस्तारै प्राधिकरण लगानीकर्ताको रूपमा अघि बढेको छ भने विकासकर्ता हुन सकेको छैन, अब भने प्राधिकरण विकासकर्ता बढी र लगानीकर्ता कम हुनुपर्ने आवश्यकता देखिएको छ ।
बिदाई कार्यक्रममा आफूले चार वर्षमा हासिल गरेको उपलब्धिको फेहरिस्त सुनाउँदै आर्थिक वर्ष २०७२÷७३ मा ३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणको २०७६-७७ मा ७७ अर्ब ८० करोड पुगेको तथा प्रसारणलाइनतर्फ ४ वर्षअघिसम्म ६६ के.भी. र सोभन्दामाथिका प्रसारणलाइन लम्बाई २९११ सर्किट किलोमिटर(किमी) रहेकोमा अहिले ४७ प्रतिशतले बढेर ४२७५.२ सर्किट किमी र चार वर्षअघि ग्रीड सवस्टेसनहरूको क्षमता करिव २२२३ एमभीए रहेकोमा अहिले ८७ प्रतिशतले बढेर ४१६०.७ एमभीए पुगेको उल्लेख गरेका छन् ।

कुलमानको कार्यकाल सकियो

https://www.karobardaily.com/news/117333

भाद्र २९, २०७७ सोमबार

 चार वर्ष अघि २९ भदौमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङको कार्यकाल सकिएको छ । लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका घिसिङको कार्यकाल आइतबारदेखि सकिएको हो । लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका घिसिङलाई कार्यकारी निर्देशकका लागि निरन्तरताका लागि जनदबाब बढेको थियो तर आइतबारसम्म सरकारले उनलाई दोहो¥याउने वा अर्कै व्यक्तिलाई नियुक्त गर्ने भन्ने बारेमा कुनै निर्णय गरेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिएको जानकारी दिए । “उहाँको कार्यकाल सकिएको छ, अब नयाँ प्रक्रिया अनुसार कार्यकारी निर्देशक छनोट हुनेछ,” सचिव घिमिरेले भने, “हालसम्म कसैलाई प्राधिकरणको निमित्त दिइएको छैन, सोमबार (आज) मन्त्रालयले आवश्यकता अनुसार तोक्छ ।”

सोमबारदेखि प्राधिकरणको नेतृत्व खाली भएकोले कसैलाई निमित्त दिनुपर्ने भए पनि आइतबार साँझसम्म दिइएको छैन । मन्त्रालयले भने सोमबार बिहान निमित्त दिने तयारी गरेको छ । निमित्तका लागि प्राधिकरणका उपकार्यकारी निर्देशकहरू पहिलो नम्बरमा रहेका हितेन्द्रदेव शाक्य, दोस्रो नम्बरमा रहेका लेखनाथ कोइराला र तेस्रो नम्बरमा रहेका हरराज न्यौपाने प्रतिस्पर्धामा छन् । सोमबार बस्ने मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई नै पुनः नियुक्ति गर्ने चर्चा चलेपनि आइतबारसम्म भने यसबारे मन्त्रालयबाट कुनै प्रस्ताव गइसकेको छैन । “आइतबारसम्म घिसिङलाई पुनर्नियुक्तिका लागि प्रस्ताव गइसकेको छैन, सोमबार के हुन सक्छ भनेर भन्न सक्ने अवस्था छैन,” मन्त्रालयका एक अधिकारीले भने, “मन्त्रालयले प्राधिकरणका पहिलो नम्बरमा रहेका उपकार्यकारी निर्देशक शाक्यलाई बोलाएर छलफल गरेपनि पत्र भने दिईसकेको छैन ।”
सरकारले २०७३ भदौ २९ गते ४ वर्षका लागि नियुक्त गरेको थियो । चार वर्षअघिको लक्ष्मी पूजाको दिनदेखि सर्वसाधारणको घरमा रहेको लोडसेडिङ र २०७५ साल बैशाखदेखि औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ अन्त्य गरेर उनी लोकप्रियताको शिखर चढेका थिए ।

Sunday, September 13, 2020

जलविद्युत् आयोजनाको लाइसेन्स अवधि थपिँदै

https://www.karobardaily.com/news/117229#.X12oVT-oGX8.twitter

भाद्र २८, २०७७ आईतबार

सरकारले कोरोना महामारीपछिको जलविद्युत् क्षेमा परेको असरलाई दृष्टिगत गरी आयोजनाहरूको अनुमतिपत्र (लाइसेन्स) को अवधि थप्ने प्रक्रिया अघि बढाएको छ । लकडाउन र निषेधाज्ञाको अवधि कहिलेसम्म जान्छ भन्ने एकिन नभएको कारणले कुन जलविद्युत् आयोजनाहरूको अवधि कहिलेसम्म थप्ने भन्ने अस्पष्टता रहेकोमा पछिल्लो समयमा निषेधाज्ञालाई खुकुलो पारेसँगै प्रक्रिया अघि बढाएको हो ।

साउन १९ मा विद्युत् विकास विभागले जलविद्युत् आयोजनाहरूको लाइसेन्स नवीकरणको लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । तर यही अन्योलका कारण हालसम्म निर्णय गरिसकेको छैन । मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रवीणराज अर्यालले आयोजनाहरूको नवीकरण अवधि थपका लागि छलफल गरिरहेको र एक हप्ताभित्र टुंगिने बताए । “मन्त्रालयमा छलफल भइरहेको छ, कति समयसम्म दिने भन्ने टुंगो लागिसकेको छैन, निषेधाज्ञा कहिलेसम्म जान्छ भन्ने अनिश्चितताले समस्या थियो, अब खुकुलो भएकोले धेरै सहज भएको छ,” उनले भने । उनी केही विषय मन्त्रिपरिषद्मा लैजानुपर्ने र केही ऐन कानुनमा परिवर्तन गर्नुपर्ने बताउँछन् । तर, निजी क्षेत्रका प्रवद्र्धकहरूले भने लकडाउन सुरु भएदेखि नै आफूहरूले मन्त्री, सचिव र विद्युत् विकास विभागका महानिर्देशकलाई भेटेर धेरै पटक अनुनय विनय गरे पनि हालसम्म कुनै निर्णय नभएकोमा असन्तुष्टि पोखेका छन् । “हामीले लकडाउन सुरु भएदेखि निरन्तर रूपमा मन्त्री, सचिव, महानिर्देशकलाई भेटेर पटक पटक अनुनय विनय गरिसक्यौं, उहाँहरूले गर्ने आश्वासन पनि दिनुभयो,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाई भन्छन्, “हालसम्म निर्णय भएको छैन, प्रतिक्षामै छौ, यसले गर्दा ठूलो अन्योल बढेको छ ।” उनी कोरोनाले कारण धेरै आयोजनाको अध्ययन र निर्माण कार्य पछाडि धकेलिएकोले दुई वर्ष एकमुष्ट रूपमा समय थपका लागि अनुरोध गरिएको बताउँछन् ।
विद्युत् विकास विभागले १९ साउनमा ७ साउनसम्म विवरण समावेश गरी पठाएको विवरण अनुसार, २ हजार २ सय ५० मेगावाटका ४९ आयोजनाको अनुमतिपत्रको अवधि समय थप गर्नुपर्ने देखिएको छ तर त्यसपछि आयोजनाहरूको संख्या थपिएको हुन सक्ने विभागको भनाइ छ । विभागका महानिर्देशक नवीनराज सिंह मन्त्रालयमा प्रस्ताव गइसकेको र यसमा मन्त्री, सचिव सकारात्मक देखिएकोले छिट्टै निर्णय हुने बताउँछन् । विभागका अनुसार सर्भेक्षण अनुमतिपत्रको अवधिभित्रै नवीकरणका लागि दरखास्त दिनुपर्ने भएपनि त्यसका लागि निवेदन र आवश्यक शुल्क बुझाउन निजी प्रवद्र्धकहरूले असम्भव भएकोले यसको अवधि थप गर्नुपर्ने देखिएको छ । विद्युत् ऐन, नियमावली र अनुमतिपत्र सम्बन्धी व्यवस्थाले सर्भेक्षण अनुमतिपत्र अवधिभित्रै उसले सर्भेक्षण सम्पन्न गरेन भने रितपुर्वक दरखास्त दिनुपर्छ भन्ने व्यवस्था छ ।
कतिपय विकासकर्ताको अध्ययन सम्पन्न भइसके पनि लकडाउनको कारणले पैसा झिक्न नपाएर विद्युत् उत्पादनका लागि दरखास्त हाल्न पाएका छैनन् । विद्युत् उत्पादन अनुमतिपत्र जारी गर्ने बेलामा दुई वर्षभित्र वित्तीय व्यवस्थापन तथा पीपीए गर्नुपर्ने सर्तमा दिने गरिएको र तेस्रो वर्षका लागि दुई वर्षभित्रै नवीकरण गर्नुपर्ने भएपनि त्यसका लागि दरखास्त दिन समस्या समेत परेको छ । दुई वर्षभित्र वित्तीय व्यवस्थापनको दिने गरेकोमा लकलाउनका कारणले उसले त्यसको म्याद थप गर्न नपाएको तथा ६-७ महिना कामनै गर्न नसकेकोले थप हुने एक वर्ष अपुग हुने भएकोले यसका लागि के गर्ने भन्ने विषय पनि विभागको प्रस्ताव छ ।
कसैको दुई वर्ष वितेर तेस्रो वर्ष चलिरहेको तथा वित्तीय व्यवस्थापनको अन्तिम चरणमा पुगेको भएपनि विषय परिस्थितिको कारणले थप समस्या आएकोले के गर्ने भन्ने प्रस्ताव पनि विभागले पठाएको छ । यसबारे निर्णय भएपछि कति समयभित्र नवीकरण तथा थप समयका लागि निवेदन दिनुपर्ने, कति समयसम्म थप गर्न सक्ने लगायतका विषय टुंगिनेछन् । स्रोतका अनुसार आवश्यकताको आधारमा बढीमा एक वर्षसम्म थप्ने गरी प्रक्रिया अघि बढेपनि निजी प्रवद्र्धकहरूले दुई वर्षसम्म थप्ने बताउँदै आएका छन् ।

Tuesday, September 8, 2020

जलविद्युत् नीति कार्यान्वयनमा सामन्ती प्रवृत्ति कायमै छ

https://www.karobardaily.com/news/116900

भाद्र २४, २०७७ बुधबार

कृष्ण आचार्य स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका नवनिर्वाचित अध्यक्ष हुन् । सरकारले जलविद्युत्मा निजी क्षेत्रको सहभागिता गराउन थालेको साढे दुई दशक नाघिसकेको छ, तर निजी प्रवद्र्धकहरूले अझै पनि सरकारले यस क्षेत्रलाई प्राथमिकतामा नराखेको र सहजीकरण पनि नगरेको बताइरहेका छन् । साढे १३ सय मेगावाट कुल क्षमतामध्ये करिब ६० प्रतिशत निजी क्षेत्रको हिस्सा रहे पनि निर्माणाधीन र निर्माणमा जान लागेका तथा निर्माण सम्पन्न भए पनि विभिन्न कारणले रुग्ण भएका आयोजनाहरूलाई सरकारले उचित सहजीकरण नगर्दा तथा अन्तरसरकारी निकाय समन्वय नहुँदा निजी क्षेत्रले ठूलो सास्ती भोग्नुपरेको उनीहरूको तर्क छ । आन्तरिक खपत नबढ्दा र बेच्नका लागि बाह्य बजारको सुनिश्चित नहुँदा पछिल्लो समयमा बिजुली खेर जाने भय बढेको छ । इप्पानले निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूको हितका लागि चाल्न सक्ने कदम, विद्युत् उत्पादन, खपत र व्यापार, जलविद्युत्मा देखिएका समस्या, यसको समाधान तथा जलविद्युत्मार्फत नेपालले गर्न सक्ने आर्थिक समृद्धिबारे इप्पान अध्यक्ष कृष्ण आचार्यसँग कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :

तपाईं भर्खर निजी क्षेत्रका जलविद्युत्हरूको संस्था (इप्पान) को अध्यक्ष बन्नुभएको छ । सरकारले तत्काल सम्बोधन गर्नुपर्ने के–कस्ता मुद्दाहरू देख्नुभयो, यसका लागि के गर्दै हुनुहुन्छ ?
पहिलो कुरा त हाम्रा केही उद्योग रुग्ण अवस्थामा पुगेका छन् । ती उद्योगहरूको संरक्षण गर्दै रुग्ण हुनबाट जोगाउनुपर्नेछ । यो मुद्दाको सम्बोधनका लागि हामीले ऊर्जा मन्त्रालयमा गएर भेटेका छौं, लिखित रूपमै अनुरोध गरेका छौं । ऊर्जा मन्त्रालयले बनाएको समितिमा बसेर त्यहाँबाट निर्णय गरी अहिले उद्योग मन्त्रालयमा पठाएको अवस्था छ । विशेष गरी ब्याजमा दिने सहुलियतका बारेमा त्यो प्रतिवेदनमा उल्लेख छ । यसबारे राष्ट्र बैंकबाट कुरा आयो भने सरकारले रुग्ण घोषणा गरेमा सहुलियतमा ब्याज दिन मिल्ने कुरा आएको छ । पहिलो त उद्योग मन्त्रालयले रुग्ण घोषणा गरिदिओस् भन्ने छ । यसका लागि उद्योग मन्त्रालय पुगेको छ । रुग्ण घोषणा गरेर ब्याजमा सहुलियतलगायत सरकारले दिने सबै सुविधा देओस् भन्ने छ । यसको प्रक्रियामा हामी छौं । रुग्णबाहेक पनि जलविद्युत् क्षेत्रमा धेरै समस्या छन् । अन्य उद्योगहरूमा भन्दा यसमा सबैभन्दा धेरै समस्या छन् । यसको सामना हामीले गर्नुपर्छ । निर्माणमा गएका आयोजनाहरू हेर्ने हो भने पनि धेरै समस्या छन् । सम्पन्न भइसकेका आयोजनाहरूमा पनि समस्यै छन् । निर्माणमा प्रवेश गर्न लागेका आयोजनाहरूमा पनि समस्या छ । मलाई आश्चर्य के लागिरहेको छ भने जुनसुकै देशको पनि अर्थतन्त्रको विकासका निमित्त ऊर्जा भनेको पहिलो सर्त हो । नेपालको लागि मात्र होइन, संसारका लागि हो । त्यो देशको समृद्धिका लागि पहिलो आवश्यकता भनेकै ऊर्जा हो । ऊर्जाको प्राप्ति विभिन्न मुलुकमा विभिन्न तरिकाले हुन्छ । हाम्रो देशमा सबैभन्दा राम्रो र भरपर्दो जलविद्युत् नै छ । अन्य देशमा कोइला, डिजेल, ग्यासलगायत धेरैबाट गरेका छन् । तर स्वच्छ ऊर्जाका रूपमा लिइने जलविद्युत् विकासका लागि जेजति हुनुपर्ने हा,े जति सहुलियत, सुविधा र संरक्षण गर्नुपर्ने हो, त्यो पछिल्लो चरणमा भइरहेको छैन । इप्पानमा आएपछि मैले के महसुस गरें भने यसको लगानीको आवश्यकता र महŒव कम भएको महसुस गरें । जलविद्युत्मा लगानी गर्ने लगानीकर्ता भनेको अन्य उद्योगधन्दाका व्यापारीजस्तै होइनन् । राष्ट्र निर्माणमा सहभागी हुने व्यवसायीहरू हुन् । उदाहरणका रूपमा के हे¥यांै भने कुनै उद्योगधन्दा सञ्चालन गरेको छ भने छोरा, नातिसम्मका लागि हुन्छ । एकपटक उद्योग स्थापना गरेपछि अन्य दायित्व भनेको कर, राजस्व तिर्नेबाहेक केही हुँदैन । तर, जलविद्युत् आयोजनामा के छ भने सुरुदेखि नै राज्य जहाँ पुगेको छैन, त्यहाँको बाटो, स्कुल, स्वास्थ्य केन्द्र बनाउने लगायत अन्य सामाजिक काम गर्ने काम गर्छौं । गाउँमा विकास जलविद्युत् आयोजनाले लिएर जान्छ । अधिकांश जलविद्युत् आयोजनाहरू दूरदराजमा हुन्छन्, जहाँ सरकार पुगेको हुँदैन । तर, अर्को महत्वपूर्ण पक्ष के छ भने निश्चित अवधिपछि सरकारलाई हस्तान्तरण गर्छौं । अहिलेको कानुनअनुसार ३० वर्षपछि हामीले सरकारलाई बझाउनुपर्ने हुन्छ । नयाँ विधेयक अघि बढाएको छ, त्यसमा कम्तीमा ५० वर्ष पु-याउनुपर्छ भनेर हामीले माग गरिरहेका छौं । सरकारका लागि हामी विकासकर्ताले जलविद्युत् आयोजना बनाउने हो । तर, सरकारबाट आउने सुविधा, सहजीकरण भएको छैन । हाम्रो लागि मुख्य तालुकदार अफिस नेपाल विद्युत् प्राधिकरण हो । विद्युत् खरिद सम्झौता (पीपीए) का लागि एकमात्र किन्ने निकाय प्राधिकरण हो । पीपीए गर्दाको सर्त पनि एकोहोरो खालका छन् । अधिकांश प्राधिकरणको हितका खालका मात्र छन् । यसमा पनि सर्तहरू प्राधिकरणबाट पालना पनि भइरहेको छैन । लाइन लस, प्रसारणलाइनलगायतको कुरा आउँछ । उत्पादन घोषणाअनुसार भएन भने जरिवाना गर्ने व्यवस्था पनि छ । हामीले उत्पादन गरेको बिजुली प्राधिकरणले नकिनेको अवस्थामा केही नपाउने र दिन नसके जरिवाना तिर्नुपर्ने व्यवस्था छ । समयमै उत्पादन हुन नसक्नु प्राकृतिक कारण, खोलामा पानी बहावका कारण र प्रसारणलाइनको व्यवस्थापन नहुने कारणले पनि समयमै बनाउन नसक्ने अवस्था रहन्छ । भनेको बेलामा प्रसारणलाइन निर्माण नहुनु अर्को समस्याका रूपमा रहेको छ । यसका कारणले उत्पादन खेर जाने गरेको छ । कैयौं ठाउँमा त प्रसारणलाइनको गुणस्तर कमजोर छ । बेलाबेलामा समस्या आउने गर्छ । यति धेरै समस्या छन् कि हामीले सरकारलाई, प्राधिकरणलाई बुझाउन लागिरहेका छौं । सरकारले के बुझ्नुपर्छ भने जलविद्युत् क्षेत्र भनेको राष्ट्र निर्माणका लागि अत्यावश्यक कुरा हो ।

तपाईंले सरकारले जलविद्युत् क्षेत्रलाई खासै महत्व दिइएन भन्नुभयो, सरकारका बजेट तथा कार्यक्रम, राष्ट्रिय योजना आयोगका पञ्चवर्षीय र दीर्घकालीन लक्ष्यहरूमा महत्व दिएको देखिन्छ । मन्त्रीदेखि सरकारका प्रतिनिधिहरूले पनि जलविद्युत्मा कुनै समस्या हुँदैन र सहजीकरण गर्छु भनिरहेका छन् । यति भन्दाभन्दै पनि तपाईंहरू जलविद्युत्मा समस्या छ भनिरहनुभएको छ । सरकारले बुझेन कि तपाईंहरूले बुझाउन सक्नुभएन ?
सरकारले बुझेको छैन त भन्न मिल्दैन । जुनसुकै देशको पनि विकासको पहिलो सर्त ऊर्जा हो । तर, अहिले पनि जम्मा ऊर्जा खपतको ५÷६ प्रतिशत हिस्सा मात्र जलविद्युत्को छ । अहिले पनि परम्परागत ऊर्जामा हाम्रो निर्भरता बढी छ । हामी विदेशबाट आएको ग्यास, इन्धनमा निर्भर छौं । जलविद्युत्को विकास गर्ने अथाह सम्भावना छ । हामी हजारौं मेगावाट उत्पादन गर्न सक्छौं । ४३ हजार मेगावाट पटक–पटक भन्दै आएका छौं । त्योभन्दा बढी उत्पादन गर्न सक्छांै पनि भनिरहेका छौं । यसो हुँदाहुँदै पनि नीतिगत भन्दा पनि कार्यान्वयन पक्ष कमजोर भयो । नीतिगतभन्दा योजना आयोग, मन्त्रालयले त्यो कुरा ल्याएको छ, बजेटमा छ । पार्टीहरूले चुनाव लड्दा पनि भनेका छन् । नीतिमा सबैले उल्लेख गरेका छन्, छोडेका छैनन् तर कार्यान्वयन पक्ष सहयोगी रहेन । मनोविज्ञान कस्तो रह्यो भने जलविद्युत् नीति कार्यान्वयनमा सामन्ती प्रवृत्ति कायमै छ । आफ्नो अधिकार आफंैले प्रयोग गर्ने, अरूलाई सहभागिता जनाउन नदिने र अरूको अधिकारको ख्याल नगर्ने परिपाटी रह्यो । त्यो प्रवृत्तिबाट हामी मुक्त भएका छैनौं । ऊर्जा, वन, वातावरण, भूमिसुधार, नियमन आयोग, विद्युत् प्राधिकरणलगायतका सबै मन्त्रालय-निकायले अरू निकायसँग कुनै समन्वय नगर्ने । विकासभन्दा पनि अधिकारको प्रयोग कसरी गर्ने भन्नेमा बढी चासो रह्यो । खुला गरिदिऊँ, छुट दिऊँ, सुविधा दिऊँ भन्दा पनि नियन्त्रण कसरी गरौं भन्ने भावनाले काम ग-यो । नीति र ऐनमा भन्दा पनि कार्यान्वयन पक्षमा प्रवृत्तिका कारणले हामीले बढी दुःख पाएका छौं ।

ऊर्जा उपयोगको तथ्य हेर्ने हो भने अहिले पनि धेरै परम्परागत ऊर्जामै निर्भरता छ । अर्कातिर बिजुली खेर जाने हो भने प्राधिकरणदेखि सबै क्षेत्रभित्र चिन्ताको विषय बनेको छ । पछिल्लो पीपीएमा कडाइ पनि गरेको छ । लिऊ वा तिर (टेक अर पे) भन्दा लिऊ र तिर (टेक एन्ड पे) पीपीए प्राधिकरणले गर्न लागेको छ । एकातिर परम्परागत ऊर्जाको उपयोग, अर्कातिर आधुनिक ऊर्जा खेर जाने चिन्ता । यी विरोधाभासपूर्ण कुरा यस क्षेत्रमा किन भइरहेको छ ?
यसमा कस्तो देखियो भने कसले अधिकार प्रयोग बढी गर्ने समस्याका रूपमा रहेको छ । दुईतिहाई सरकारको घोषणापत्रमा तीन वर्षभित्र विद्युत् सवारीहरूको प्रवद्र्धन गरी उपत्यकामा विद्युतीय सवारी साधन वृद्धि गर्ने कुरा उल्लेख छ । प्रधानमन्त्री स्वयंले पनि विद्युतीय बसमा चढेर शुभारम्भ गर्दै विद्युतीय सवारी साधनको युगमा नेपाल प्रवेश ग-यो भने भन्नुभयो । ठाउँठाउँमा चार्जिङ स्टेसन बनाउने कुरा पनि आए । विद्युतीय चुलो प्रवद्र्धनको कुरा पनि आयो, तर बजेट आउँदा के आयो भने विद्युतीय सवारी साधन र विद्युतीय चुलोको कर बढाउने कुरा पो आयो । यसले के देखाइरहेको छ भने हामीले घोषणा गरेको नीति र कार्यान्वयनमा विरोधाभासपूर्ण कुरा छन् । अहिले पनि हामीले अर्बौं रुपैयाँको ग्यास ल्याइरहेका छौं, अर्बौंको इन्धन ल्याइरहेका छौं । त्यसलाई विस्थापित गर्नतिर जानुभन्दा पनि तत्काल आउने राजस्वलाई मात्र सरकारले हे¥यो, दीर्घकालीन हेरेन । हामी अहिले लोडसेडिङ हट्यो भनेर दंग परेका छौं । हामी बत्ती बाल्ने कुराबाट मुक्त भयौं । अन्य व्यापारिक प्रयोजनको खपतमा त हामीले कुरा गरेका छैनौं । अझै पनि कतिपय उद्योगधन्दालाई उनीहरूले माग गरेअनुसारको बिजुली दिन सकेका छैनौं । सयौं मेगावाट विद्युत् खपत गर्ने उद्योगहरूलाई प्रोत्साहन दिएर अघि बढ्नुपर्छ । सामान्य कुरा इडक्सन चुलोलाई प्रतिष्ठापन गर्ने कुरामा पनि हामी अलमलिएका छौं । विद्युतीय सवारी साधनको प्रवद्र्धनमा हामी अलमलिएका छौं । अहिलेको अवस्थामा बिजुली खेर जान्छ भनेर कोकोहोलो मच्चाउनु आवश्यक छैन । हामीले स्वदेशकै उत्पादन पूर्ति गर्नसक्ने हो भने यसका लागि सहुलियत त दिनुपर्छ । छिमेकी भारतमै प्रतिव्यक्ति खपत १४-१५ सय युनिट छ । चीनमा ५ हजार नाघिसक्यो । हामी बल्ल साढे दुई सयको हाराहारीमा पुगेका छौं । यसकारण खपतलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता छ । अब उत्पादन र खपत दुवैको महत्व हुन्छ । पहिले लोडसेडिङ भएका बेला उत्पादनको महत्व बढी थियो, अब खपततिर पनि विशेष ध्यान दिनुपर्छ । सरकार, विद्युत् प्राधिकरण यसमा लाग्नुप-यो । हामी निजी क्षेत्र पनि त्यसमा लागिरहेका छौं । उत्पादनमा अहिले पनि निजी क्षेत्र उत्साहित भएर लागेको छ । हामीले करिब १० खर्बको लगानी गरिसकेका छौं । ९-१० खर्ब लगानीको तयारीमा छौं । यसका लागि पहिलो चरणमा उत्पादित बिजुली स्वदेशमै खपत गराउने अनि निर्यातको कुरा गरौंला । निर्यातको पनि प्र्रशस्त सम्भावना छ । हामीले भारत र बंगलादेशसँग कुरा गरिरहेका छौं । त्यहाँ जाने वातावरण बनाउनेतिर लाग्नुप-यो । यसमा सरकार र सरोकारवाला निकाय सबै लाग्नुप-यो । निजी क्षेत्रले प्रयास पनि गरेको छ । सरकारले निजी क्षेत्रलाई अनुमति दिने हो भने हामी व्यापारका लागि पहल गर्छौं । यसका लागि तयार छौं भनेर हामीले कम्पनी पनि खडा गरेका छौं । भारत र बंगलादेशमा पुगेर हामीले सरोकारवालाहरूसँग कुरा पनि गरेर आयौं । उनीहरू इच्छुक पनि छन्, तर हामी अलमलिएका छौं । यसबाट हामीले चाँडै छुट्कारा पाउनु जरुरी छ । परिस्थितिले नै धकेल्दै लगेको छ । गर्दिनँ भन्दा पनि नगरिनहुने, सुखै नपाउने अवस्था सिर्जना भएको छ । आशा गरांै, स्वदेशमै खपत गराउने कुरामा पनि हामी सफल हुन्छौं, विदेशमा निर्यात गर्न पनि सफल हुन्छौं ।

तीन वर्षदेखि आन्तरिक खपत बढ्न सकेको छैन । यदि भविष्यमा आन्तरिक खपत पनि बढाउन नसक्ने र बाह्य बजारमा पनि प्रवेश गर्न नसक्ने हो भने खर्बौंको लगानी त डुब्ने अवस्था आउँछ । यसले लगानीकर्ताहरूमा कस्तो अवस्था सिर्जना गर्ने देख्नुभएको छ ?
अब हामी बाध्यात्मक अवस्थामा पुगिसक्यौं । आन्तरिक खपत नबढाइनहुने र बाह्य बजार पनि प्रवेश नगरिनहुने अवस्थामा पुग्न लागेका छौं । हामी उत्पादन त गर्छौं–गछौं । लगानी भएर अघि बढिसकेको छ । उत्पादन हुन्छ–हुन्छ, तर यसको एकमात्र विकल्प खपत बढाउने हो । यसका लागि सरकारले विभिन्न किसिमका सहुलियतपूर्ण कार्यक्रम ल्याउनुपर्छ । पहिलो त विद्युतीय सवारी साधन र चुलोमा सहुलियत दिनैपर्छ । अहिले रातिको बिजुली खेर जाने भन्ने कुरा आइरहेको छ । रातिको समयमा २५÷५० प्रतिशत छुट दिएर चलाउने भन्नेबित्तिक्कै धेरै औद्योगिक प्रतिष्ठान रात्रि समयमा सञ्चालन हुन्छन् । गार्हस्थ्य उत्पादनमा पनि राति छुट दिने व्यवस्था गर्नुभयो भने थुप्रै काम रातिको समयमा हुन सक्छ । उपलब्धता बढ्यो भने उपयोगिता पनि बढ्छ । यति भन्दाभन्दै पनि नीतिगत रूपमै यसलाई अघि बढाउनुपर्छ । विद्युतीय चुलो त निःशुल्क बाँड्न सकिन्छ । कुनै गाउँमा गएर ऊर्जामन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले उद्घाटन पनि गर्नुभएको हो, तर त्यो अघि बढेन । निरन्तरता दिनुप¥यो नि । अर्को, बिजुली सस्तो दिन सकियो भने ठूला–ठूला उद्योग स्थापना र सञ्चालन हुन सक्छन् । उनीहरूलाई सरकारले प्रोत्साहन दिनुपर्छ । बिजुली सस्तो दिन सक्ने हो भने त तराई क्षेत्रमा भारतका धेरै उद्योग आउन सक्छन् । यसका लागि सरकारले स्पष्ट नीति ल्याएर कार्यान्वयन गर्नुपर्छ । नीतिहरू छन्, तर कार्यान्वयन पक्ष एकदम फितलो छ । कार्यान्वयनमा बेवास्ता गरेका कारण यो समस्या आएको हो । परिस्थितिले यस्तो धकेल्दै लगेको छ कि नगरी हुँदै हुँदैन । सरकारले गर्ला तर खपत बढाउने बाध्यतात्मक परिस्थिति आइसक्यो ।

पछिल्लो समयमा धेरै जलविद्युत् आयोजना अघि बढेका छन् तर प्रसारणलाइनको समस्या छ । धेरै प्रसारणलाइन आयोजनाहरू अघि बढेका छन् तर पूर्ण भएका छैनन् । विवाद पनि देखिन्छ । एमसीसीलाई पनि यसमा राखेर हेर्न सकिन्छ । प्रसारणलाइन राजमार्गबिना त विद्युत् आदानप्रदान हुन सक्दैन, तर अभावमा बिजुली खेर गइरहेको छ । समयमै निर्माण नहुनुको कारण के देख्नुहुन्छ ?
सबैभन्दा कमजोर पक्ष त कार्यान्वयन नै हो । नबनाइकन भएको छैन, तर जिम्मा लिने पक्षको कार्यान्वयन फितलो छ । नीति आयो तर कार्यान्वयन भएन । अवरोधहरू के हो भनेर पहिचान गरी समस्या समाधान गर्नुपर्ने हो । कतिपय स्थानमा स्थानीय समस्या पनि छ । एउटा रूख काट्नका लागि महिनौं लाग्ने अवस्था छ । सरकारी निकाय वन मन्त्रालयले नै महिनांै रोकेको अवस्था छ । अवरोध भएमा हटाएर सरकारी निकायबीच सामञ्जयता कायम गरी कार्यान्वयन हुनुपर्छ । अब प्रसारणलाइन निर्माणका लागि युद्धस्तरमा अघि बढ्नैपर्छ । विगतमा सरकारले ऊर्जा संकटकाल घोषणा ग¥यो । यो घोषणापछि अन्य नियम–कानुन निष्क्रियजस्तै हुनेछन् र युद्धस्तरमा काम हुने सोचेका थियौं, तर व्यवहारमा त्यस्तो भएन । अब पनि त्यही बाटोमा नजाने हो भने साना–साना अवरोधहरूले ठूला–ठूला क्षति भएका छन् । यस्ता समस्या समाधान गर्नुपर्छ, अवरोधहरू हटाउनुपर्छ । सरकार कडाइका साथ कार्यान्वयन गर्न लाग्नुपर्छ । अन्तरमन्त्रालय समस्या तुरुन्तै समाधान हुनुप¥यो । एकद्वार प्रणाली भन्न थालेको कति वर्ष भइसक्यो । मैले पञ्चायत कालदेखि सुनिरहेको छु । मैले सुन्न थालेको पनि ५० वर्ष हुन लाग्यो । यो हरेक पटक कुरा आउँछ, तर कार्यान्वयन हुँदैन । यो क्षेत्रमा एकद्वार प्रणाली आएर कार्यान्वयनमा सहजता ल्याउनुपर्छ । एमसीसीका बारेमा हाम्रो कुरा के छ भने जुन प्रसारणलाइन निर्माण हुन लागेको छ, त्यो आवश्यकता छ । एमसीसी वा अन्य जुन फन्डबाट भए पनि बनाउनुपर्छ । जतिसक्दो चाँडो अन्तरदेशीय प्रसारण बनाउनैपर्छ । विवाद भएर त्यहाँबाट हुन नसकेमा अन्यत्रबाट पनि बनाउनुपर्छ । व्यापार गर्दैछौं भने त्यसमा प्रसारणलाइन राजमार्गको जरुरी छ । ती मात्र होइन, अन्य प्रसारणलाइनहरू पनि समयमै निर्माण गर्नुपर्छ । सहजताका साथ कार्यान्वयन भएन भने कडाइका साथ कार्यान्वयन गर्नुपर्छ ।

उत्पादन, वितरण, पीपीए जुनसुकै कुरा गर्दा पनि अहिले एकल निकाय छ । कतै एकल निकाय मात्र हुँदा कार्यान्वयन कमजोर भएको त होइन ? यसमा अरू पनि कारण केही देख्नुहुन्छ ?
एउटा कुरा के छ भने विद्युत् किन्ने एउटै मात्र क्रेता छ । उसले एकल आफ्नो फाइदाका लागि काम गर्छ । मूल्यवृद्धि मात्र ५÷६ चोटि गरिसक्यो । तर, किन्ने मूल्य भने पीपीए गरिदेखि नै एकपटक मात्र बढायो । समयसापेक्ष पीपीए दर पनि बढ्नुपर्छ । उपभोक्तालाई महसुल वृद्धिका बेला पनि दरमा परिमार्जन गर्नुपर्छ भन्ने हाम्रो माग छ । जलविद्युत् निजी प्रवद्र्धकसँगै बैंकहरूको झन्डै ७० प्रतिशत लगानी हुन्छ । बैंकहरूको ब्याजदर थपघट भइरहन्छ । सम्झौता गरेको भन्दा धेरै बढ्दै जान्छ, तर पीपीए दर एउटै हुन्छ । हामीले बैंकको ऋण नतिरेसम्मका लागि सिंगल डिजिटमा ब्याजदर हुनुपर्छ भनेका छौं । यो अवधि पनि कम्तीमा २० वर्ष गर्नुपर्छ । यो गर्न सकिएमा लगानीकर्तालाई लाभांश दिन सक्ने अवस्था रहन्छ । एकातिर पीपीए दर कम छ । प्रतिस्पर्धाका लागि विद्युत् किन्ने निकाय धेरै हुनुपर्छ । यसो हुँदा लगानीकर्ताले जुनसुकै ठाउँमा बेच्न पाउँथे भने उपभोक्ताले पनि किन्न पाउँथे । अन्य देशहरूमा विद्युत् किन्ने निकाय आठ–नौवटा छन् । नेपालमा एउटै छ, ऊ पनि हैकम चलाउने खालको छ । पीपीए दोहोरो सम्झौता भने पनि उसकै हैकम चल्छ । किन्ने मात्र होइन, वितरण गर्नेसमेत अन्य कम्पनी आउनुपर्छ भन्ने मलाई लाग्छ ।

तपाईंहरूले भनेका सबै समस्याको समाधान सरकारले ग-यो, आन्तरिक खपत पनि धेरै बढ्यो र बिजुली व्यापारका लागि पनि खुला भयो अर्थात् सबै वातावरण उत्साहजनक भयो भने नेपालमा आर्थिक समृद्धि ल्याउनका लागि जलविद्युत्ले कस्तो योगदान दिने देख्नुभएको छ ?
यसमा कल्पना गर्नुपर्छ । विद्युत् उत्पादन धेरै हुन्छ, खपत धेरै हुन्छ । बिजुलीका रेलहरू चल्छन् । विद्युतीय सवारी साधनहरू चल्छन् । नयाँ–नयाँ उद्योगहरू आउँछन् । पर्यटन, कृषिको विकास हुन्छ । साना तथा मझौला उद्योग फस्टाउँछन् । जीवनस्तर उच्च हुन्छ । धूलो, धूवाँ नहुनेबित्तिकै वातावरण स्वच्छ हुन्छ । ऊर्जा सबै विकासका लागि आवश्यक भएकाले यसले समृद्धिका लागि ठूलो योगदान दिन्छ । यसबाट हुने फाइदा त अथाह नै छ । वर्णन गरेर साध्य छैन । हरेक क्षेत्रलाई यसले समृद्ध बनाउँछ । ऊर्जा त राष्ट्रको पहिलो शक्ति हो । यसकारण सरकारले उच्च महत्व दिएर विकास र सहजीकरण गर्नुपर्छ । सबै निकायलाई इमानदारी र कडाइका साथ काम गर्नुपर्छ ।

Monday, September 7, 2020

आरओआर आयोजनाको सीमा बढाइदै


 भाद्र २२, २०७७ सोमबार

https://www.karobardaily.com/news/116609

एक वर्षदेखि बन्द पीपीए

सरकारले १० वर्षभित्र १५ हजार मेगावाटको लक्ष्यअनुसार नदी प्रवाहमा आधारित (आरओआर) को माथिल्लो सीमा ३५ प्रतिशत अर्थात ५ हजार २ सय ५० मेगावाट पूरा भएको एक वर्ष नाघिसकेको छ । २०७२ सालमा १० वर्षमा १० हजारको मेगावाट लक्ष्यलाई परिमार्जन गरी १५ हजार बनाएपछिको सीमा बढाइएको थियो तर त्यो सीमा पनि पूरा भएको कारण निजी प्रवद्र्धकहरूले एक वर्षदेखि विद्युत् खरिद सम्झौता (पीपीए) गर्न पाएका छैनन् ।
कतिपय आयोजनाहरूले लिऊ वा तिर (टेक अर पे) मा सीमा पुगेको भन्दै बन्द गरिएपछि वाध्य भएर टेक एण्ड पे (लिऊ र तिर) मा पीपीए गरिरहेका छन् भने केही आयोजनाहरू टेक अर पे पीपीए कुरिरहेका छन् । तर निजी क्षेत्रका प्रवद्र्धकहरूले सरकारले पीपीए रोकेर लगानीलाई निरुत्साहित बनाउन खोजेको भन्दै असन्तुष्ट समेत जनाईरहेका छन् । निरन्तर रूपमा टेक अर पे पीपीए खुलाउन निजी क्षेत्रले माग गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आरओआर पीपीएको सीमा बढाउन प्रक्रिया अघि बढाएको छ । “निजी क्षेत्रको मागको आधारमा आरओआर पीपीएको सीमा बढाउनका लागि छलफल अघि बढाएका छौं,” मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रवीणराज अर्यालले भने, “हाम्रो १० वर्षभित्र ५० प्रतिशत जलाशययुक्त आयोजनाको सीमा राखेका थियौ, त्यो उत्पादन हुन नसक्ने देखिएकोले त्यसलाई घटाएर कसरी आरओआरको सीमा बढाउन सकिन्छ भनेर छलफल गरिररहेका छौं ।”
मन्त्रालयले पिकिङ आरओआर (अर्धजलाशय) मा रहेको ३० प्रतिशत अर्थात ४५ सय मेगावाटको अधिकत्तम सीमा छ भने जलाशययुक्त आयोजनाको अधिकत्तम सीमा ३५ प्रतिशत अर्थात ५२५० मेगावाटको सीमा बनाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, पीपीएका लागि निवेदन दिएका जलविद्युत् आयोजनाहरूको क्षमता ५२ सय मेगावाट छ भने १७ सय मेगावाट बराबरका आयोजना कनेक्सन एग्रिमेन्ट गरिसकेका छन् । यीमध्ये अधिकांश आरओआर प्रकृतिको आयोजना छन् । हालसम्म पिकिङ आरओआर भएका आयोजनाको क्षमता एक हजार मेगावाट भने जलाशयको भने १४० मेगावाटको तनहुँ हाइड्रो मात्र छ ।
दुई वर्षअघिको सरकारको बजेट तथा कार्यक्रममा १० वर्षभित्र १५ हजार मेगावाट घोषणा गरेकोमा ८ वर्ष बाँकी रहेपनि कुनै पनि जलाशययुक्त आयोजनाहरूको निर्माण कार्य अघि बढ्ने अवस्था नरहेकोले जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकता दिएको मन्त्रालयले त्यसबाट पछाडी हटेर तत्कालका लागि आरओआरको सीमा बढाउन लागेको छ । हालै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का नव निर्वाचित अध्यक्ष कृष्ण आचार्यसहितको नयाँ कार्य समितिसँगको भेटघाटमा ऊर्जा मन्त्री पुनले निजी क्षेत्रले उत्पादन गरेको बिजुली सरकारले किन्ने बताउँदै खेर जान नदिने बताएका थिए । उनले आरओआरको सीमा बढाउने पनि बताएका थिए । “हामीसँगको भेटमा ऊर्जा मन्त्रीज्यूले आरओआरको सीमा बढाउने र निजी क्षेत्रले उत्पादन गरेका सबै बिजुली सरकारले किन्ने प्रतिवद्धता जनाएको छ,” इप्पान अध्यक्ष आचार्यले भने, “छिट्टै सीमा बढेर टेक अर पे पीपीएले निरन्तरता पाउने छ भन्नेमा हामी पूर्ण रूपमा आशावादी छौं ।”
सरकारले सीमा नबढाएर यी सबै आयोजनाहरूले टेक एण्ड पे मा पीपीए गर्नुपर्ने बाध्यता हुने र यसो गर्दा जलविद्युत् आयोजनामा कुनै पनि बैंकहरूले आयोजनामा लगानी नगर्ने कारण वित्तीय व्यवस्थापन हुन नसकी आयोजना बन्न नसक्ने निजी प्रवद्र्धकहरूले बताउँदै आएका छन् । इनर्जी टेबलमा १० प्रतिशतसम्म इनर्जी खरिद नगर्ने सर्त राख्ने, टेक एण्ड पेमा लैजाने भन्दै उनीहरूले यही अवस्थामा जलविद्युत्मा लगानी नहुने र यो जलविद्युत् क्षेत्रका लागि दुर्भाग्य हुने उनीहरूको तर्क छ । सरकारले सीमा बढाएपनि त्यसले आफूहरूको माग अझै सम्बोधन गर्न नसक्ने उनीहरूले बताउँदै आएका छन् । अहिलेनै पीपीएको आवेदन दिएका र लाइनमा रहेका आयोजनाहरूलाई मात्र सम्बोधन गर्न पनि अहिले ३५ प्रतिशत रहेको सीमालाई बढाएर ५० प्रतिशत बनाउँदा पनि नपुग्ने भएकोले कि यसलाई दोब्बर बनाउनुपर्ने कि लक्ष्यनै बढाउनुपर्ने उनीहरूको भनाई छ । इप्पानका पुर्व उपाध्यक्ष कुमार पाण्डे अहिलेको सीमालाई ५० प्रतिशत पु-याउँदा पनि पीपीएको समस्या सम्बोधन गर्न नसक्ने र दोब्बर पु¥याउन जलाशय र अर्ध जलाशय दुवैको सीमा घटाएर अहिलेलाई कम्तीमा दोब्बर पु¥याउनुपर्ने बताउँछन् ।
पछिल्लो समयमा छिमेकी मुलुकहरूमा विद्युत्् व्यापार लगायतका धेरै अवसरहरू आएको भन्दै सरकारका अधिकारीहरूले एक वर्षदेखिनै सीमा बढाउने बताउँदै आएपनि बल्ल छलफल अघि बढाएको छ । मन्त्री पुनले भने स्वदेशी तथा विदेशी लगानीकर्ताहरूसँग भएका अधिकांश भेटघाटमा जलविद्युत्का लागि ठूलो बजार रहेको भन्दै नेपालमा लगानी गर्नका लागि आग्रह गरिरहेका छन् । ऊर्जामन्त्री पुनले सरकारले जति पनि बिजुली किन्ने बताइरहँदा पीपीए गर्ने वातावरण नबने सबै किसिमका लगानीमा ठूलो प्रभाव पर्ने र निजी क्षेत्रले हालसम्म गरेको लगानी जोखिममा पर्ने उनीहरूको बुझाई छ ।

Saturday, September 5, 2020

बैंकका आयोजनाको प्रतिस्पर्धाबाट अनुमतिपत्र

https://www.karobardaily.com/news/91854

भाद्र १९, २०७७ शुक्रबार

विद्युत् विकास विभागले सरकारको आयोजना बैंकमा रहेका आयोजनाहरूलाई प्रतिस्पर्धाबाट अनुमतिपत्र (लाइसेन्स) लिन सहज बनाएको छ । विद्युत् विकास विभागले विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिकाको पहिलो संशोधन गर्दै लाइसेन्स लिन सहज बनाएको हो ।

पहिलेको निर्देशिकामा प्रतिस्पर्धाको आधारमा दिने उल्लेख गरेपनि यसका आधारहरू तय नगरेकोमा संशोधित निर्देशिकामा भने आधारहरू तय गरेको छ । विगतमा एकमुष्ट रुपमा अग्रिम भुक्तानी गरेर मात्र लाइसेन्स लिने व्यवस्था रहेकोमा अग्रिम शुल्क (अप फ्रण्ट फि) वा निश्चित समयावधिमा वार्षिक किस्ताबन्दी रुपमा भुक्तानी (एन्यूटी बेशिस) वा निःशुल्क ऊर्जा (फ्री इनर्जी) वा मन्त्रालयले निर्णय गरी तय गरेको अन्य विधिबाट हुने उल्लेख छ ।
पहिलाको व्यवस्थाले अधिकांश निजी क्षेत्रले एममुष्ट मूल्यांकन गरिएको रकम बुझाउन नसक्ने अवस्था रहेपनि यसले आयोजना बैंकमा रहेका आयोजनाहरूको लाइसेन्स लिन धेरै सहज भएको छ । विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले विगतको निर्देशिकामा प्रतिस्पर्धाका आधारहरू नरहेको यसलाई थप स्पष्ट पारेर सहज बनाएको बताए । “अब यस्ता आयोजनाहरू लिन चाहाने प्रवद्र्धकहरूलाई धेरै सजिलो भएको छ, लिँदा लाग्ने शुल्क समेत किस्ताबन्दीमा तिर्न पाउने भएका छन्,” उनी भन्छन् ।
आयोजना बैंकमा सम्भाव्यता अध्ययन सकिएको १ सय ७० मेगावाट बराबरका ११ आयोजना तथा लाइसेन्स खारेज भएका ३ हजार ३ सय १७ मेगावाटका १ सय २७ आयोजनाहरू छन् । ती आयोजनाहरूबारे स्पष्ट आधार नभएको कारणले प्रतिस्पर्धामा जान सकेका थिएनन् । यसैगरी निर्देशिकाले विद्युत् खरिद सम्झौता (पीपीए) भएपछि वित्तिय व्यवस्थापनका लागि दुई बर्ष तोकी सशर्त विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरिएकोमा तोकिएको समयभित्र कार्य सम्पन्न गर्न थप एक बर्ष थप्न सकिने व्यवस्था गरिएको छ । पहिलाको निर्देशिकाले तीन बर्षसम्म वित्तिय व्यवस्थापन गर्न नसकेमा खारेज हुने भएपनि अहिलेको निर्देशिकामा भने प्रवद्र्धकहरूले वित्तिय व्यवस्थापनका लागि थप समय मागेमा ६ महिनादेखि दुई वर्षसम्म थप गर्न सकिने उल्लेख छ ।
त्यसैगरी एउटै सर्वेक्षण क्षेत्रभित्र एउटै जलस्रोत उपयोग गरी एउटै प्रवद्र्धकले बाँध क्षेत्र (हेड वक्र्स) देखि टेलरेससम्म वातावरण फ्लो उपयोग गर्ने वा अत्याधिक हेडलाई ब्रेक गर्ने वा नदीको दुवै किनारामा विद्युत् गृह राख्ने प्रयोजनका लागि एकभन्दा बढी विद्युत् गृह निर्माण गरी जलविद्युत् उत्पादन हुने भएमा प्रत्येक गृहका लागि छुट्टाछुट्टै लाइसेन्स लिनुनपर्ने व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी विद्युत् उत्पादन अनुमतिपत्र जारी भएका आयोजनाको विद्युत् गृहबाट उत्पादित विद्युत् प्रसारण गर्ने प्रयोजनका लागि सोही आयोजनाका लागि प्रवद्र्धकले माग गरेमा विद्युत् प्रसारण अनुमतिपत्रका लागि जारी गर्दा आर्थिक क्षमतासम्बन्धी थप विवरण पेश गर्नु नपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ । निर्देशिकामा काबु शाकिरको अवस्थाबारे सम्बोधन गर्दै महामारी, बाढी पहिरो, भुकम्प, आगजनी जस्ता प्राकृतिक तथा विपद्जन्य घटना वा परिस्थितीलाई सम्बोधन समेत गरिएको छ । विभागले कोरोना महामारी एकपटकको समस्या भएकोले यसलाई सम्बोधन गर्नका लागि भने छुट्टै योजना बनाई ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा पठाएको र यसमा मन्त्रालय सकारात्मक भएकोले छिट्टै निर्णय भई कोरोनाका कारण असर परेका आयोजनाहरूले राहत पाउने महानिर्देशक सिंहले बताए ।