Saturday, February 27, 2021

नेपाललाई विकासशिल मुलुकमा स्तरोन्नति गर्न सिफारिस


https://www.karobardaily.com/news/130270 फाल्गुन १६, २०७७ आईतबार

युक्त राष्ट्रसंघको विकास नीति समिति (सिडिपी)ले नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुक (डीसी)मा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।
संयुक्त राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार, सिडिपीले नेपाललाई सन् २०२६ अर्थात पाँच वर्षको तयारीको समय दिई स्तरोन्नतिको सिफारिस गरेको हो । सीडीपीले नेपालसहित वंगलादेश र लाओसलाई समेत डीसीका लागि सिफारिस गरेको छ । सीडीपीले गरेको सिफारिसलाई संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषदले अनुमोदित गरेपछि संयुक्त राष्ट्र संघको साधारणसभाले यसलाई घोषणा गर्नेछ ।
एडीसीबाट डीसीमा स्तरोउन्नतिका लागि तीनमध्ये दुई योग्यता भए पुग्छ । कुल राष्ट्रिय आय (जीएनआई) मा नेपालको योग्यता अझै नपुगेपनि मानव सम्पत्ति सुचांक (एचएआई) र आर्थिक तथा वातावरणीय जोखिम सुचांक (इभीआई) मा भने पुगेको छ । राष्ट्रिय योजना आयोगका अनुसार, स्तरोन्नतिका लागि मानव सम्पत्ति ६६ अंक भए पुग्नेमा हाल ७२ पुगेको छ भने आर्थिक जोखिम सूचकांक ३२ भन्दा कम हुनुपर्नेमा अहिले २४ छ । यसरी प्राविधिकरूपमा नेपाल स्तरोन्नतिका लागी योग्य भइसके पनि प्रतिव्यक्ति आयमा भने पछाडि छ । प्रतिव्यक्ति आय १२ सय डलर पुग्नुपर्ने भए पनि हाल १ हजार ४ सय मात्र छ । दुई सुचांकमा भने सन् २०१५ र २०१८ मा योग्य थियो । गत माघको अन्तिम साता योजना आयोगको बैठकले एलडीसीबाट डीसीमा जाने निर्णय गरेको थियो । प्रति व्यक्ति आयमा योग्यता नपुगेपनि ग्रेस पेरियड पाउने र दुई बर्षभित्रै पुर्याउने घोषणा गर्दै आयोगले जाने निर्णय गरेको जनाएको छ । स्तरोउन्नतिपछिको तयारीका लागि सामान्यताया तीन बर्षको समय दिने भएपनि कोभिड–१९ को कारण नेपालले पाँच बर्ष पाएको छ ।
तीन बर्ष अघि समेत तत्कालीन राष्ट्रिय योजना आयोगले भने प्राविधिक योग्यता पुगेपनि तत्काल स्तरोन्नतिका लागि समय उपयुक्र्त छैन भनेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई सल्लाह दिएको थियो । स्तरोन्नतिको मिति सार्न नेपाल उद्योग वाणिज्य महासंघलगायत निजी क्षेत्रका प्रतिनिधिले आग्रह गरेका थिए । ६ बर्ष अघिनै दुई सुचांकमा योग्य भएपनि त्यो बेलादेखि कुल राष्ट्रिय आयमा अझै नेपालको योग्यता पुगेको छैन ।

योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल स्तरोउन्नतिका लागि नेपाल योग्य भैसकेको र दुई बर्षभित्र आयमा समेत योग्य हुने बताउँदै पाँच बर्षको समय दिइएकोले यसका लागि तयारी अघि बढाउने बताउँछन् । ‘पाँच बर्ष तयारीका लागि समय दिइएको छ । यसका लागि रणनीति बनाउँछौ ।’–उनी भन्छन्–‘ पाँच बर्षपछि कुन कुन क्षेत्रमा प्रभाव पार्न सक्छ, त्यो हेरेर हाम्रा योजनाहरु बनाउँछौ, पुर्व तयारीहरु अघि बढ्छन् ।’
स्तरोउन्नति भएपछि नेपाललाई फाइदा र वेफाइदा दुवै हुन्छ । स्तरोउन्नतिले एकातिर सरकारले विकासका लागि संयुक्त राष्ट्र संघका सामु गरेको प्रतिवद्धताको कार्यान्वयन र नेपालप्रति अन्र्तराष्ट्रिय सोच र धारणामा सकारात्मक परिवर्तन भई वैदेशिक सहायता भित्रिने वातावरण बन्नेछ भने अर्कोतिर यसको कारण नयाँ अवसर र सम्भावनाको खोजी भई लगानी आकर्षणसहित सहुलियतपूर्ण ऋण लिनका लागि सहज र आत्मनिर्भर अर्थतन्त्रको विकास हुने अपेक्षा गरिएको छ । अर्थशास्त्री डा. विश्व पौडेल स्तरोउन्नतिले समग्र रुपमा नेपाललाई फाइदा हुने बताउँछन् । ‘केही साना साना कुरामा सहुलियत गुम्ने हो । केही भ्रमणहरु, राष्ट्र संघका केही कोषहरुमा असर पर्न सक्छ । क्यानडा र युरोपमा गर्ने निर्यातमा असर पर्न सक्छ तर समग्रमा फाइदा धेरै छ । यसले मनौवैज्ञानिक रुपमा सकारात्मक प्रभाव पार्छ ।’–उनी भन्छन्–‘अबको व्यापारको भविष्य द्धिपपक्षीय र क्षेत्रीय व्यापारको सौदाबाजी (नेगोशेसन) मा छ । नेपालको धेरै जशो व्यापार भारतसँग छ । स्तरोउन्नतिले यसमा फरक पर्दैन । धेरै देशसँग हामीले द्धिपक्षीय व्यापार सम्झौता गरिसकेका छौ । क्यानडा, बेलायत, युरोप लगायतका देशसँग गर्यो भने ती देशको निर्यात व्यापारमा पनि फरक पर्दैन । यी देशसँग पनि अहिलेकै सुविधा लिने गरी रिनेगोशेसन गर्न सक्छौ ।’
उनी संसारमा गरिब देश भएर बस्नुमा कुनै इज्जत नहुने बताउँदै यसले नेपालबारे सकारात्मक धारणा वृद्धि हुने बताउँछन् । स्तरोन्नतिपछि भन्साररहित व्यापार बन्द, सहुलियत ऋण प्राप्त नहुने, अनुदान प्रप्त नहुने, एसडीसी राष्ट्रलाई विकसित राष्ट्रले दिने कुल आयको ०.७० प्रतिशत ओडीए रकम तथा प्राविधिक सहायता गुम्नुका साथै सरकारलाई विदेश अध्ययनका लागि पाउन छात्रवृत्ति र फेलोशिप पनि गुम्ने अवस्था आउन सक्नेछ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा स्तरोउन्नति गर्दा अहिले पाउँदै आएको केही सुविधा कटौती हुने तथा नेपालको लागत धेरै भएकोले निर्यातमूलक उद्योगमा असर पर्न सक्ने बताउँछन् । ‘डीसीमा नजाँदा केही वस्तुमा फाइदा पाएका थियौ, त्यो गुम्छ, निर्यातका भन्सारसहित सुविधा पाएका थियौ । कपी राइटमा पनि धेरै सुविधा पाएका थियौ । मेडिकल उद्योगहरु धेरै फष्टाएका थिए । धेरै औषधीहरु हामीले बनाउन पाउँदैनौ ।’–उनी भन्छन्–‘ देशमा कष्ट अफ डुईङ बिजनेश हामीकहाँ धेरै छ । निर्यातका लागि अब बेफाइदाजनक हुन सक्छ । पाँच बर्षभित्र हामीले हामीलाई प्रतिष्पर्धी बनाउन सक्नुपर्छ । यसमा अहिले अलि हतारो भयोकि भन्ने मात्र हो । पहिला त आधारभूत रुपमा लागत घटाउनुपर्ने थियो, दक्षता ल्याउनुपर्ने थियो । यसमा अब सरकारले तत्दारुकता देखाउनुपर्छ ।’ विज्ञहरुले भने लागत घटाउन नसक्नु हाम्रै कारण भएकोले नेपालकै प्रयास जरुरी रहेको बताउँछन् ।

Friday, February 26, 2021

स्वदेशी बैंकबाटै एक सय मेगावाटको आयोजनामा ऋण लगानी

https://www.karobardaily.com/news/130167 

 फाल्गुन १४, २०७७ शुक्रबार

एक सय मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ ।
गोरखा र चितवनको दोसाधस्थित त्रिशूली नदीमा ब्ल्यू इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाका लागि ऋण लगानी सम्झौता भएसँगै लगानी जुटेको हो । स्वदेशी बैंक तथा वित्तीय संस्थाहरुबाटै ऋण लगानी जुटेका एक सय मेगावाटभन्दा माथिका कम आयोजनामध्ये निजी क्षेत्रबाट प्रवद्र्धित सुपर त्रिशूली पनि एक ठूलो आयोजना हो । यसअघि १६० मेगावाटको निजी क्षेत्र प्रवद्र्धित एक आयोजनाले हालै लगानी जुटाएको थियो ।
सराफ समूहको समेत लगानी रहेको ब्ल्यू इनर्जीमा नेपाल इनभेष्टमेन्ट बैंकको अगुवाईमा ७ बैंकले ऋण लगानी गर्न प्रतिबद्धता जनाएका छन् । आयोजनामा आयोजनाको प्रवद्र्धक कम्पनीका कार्यकारी निर्देशक बरुण सराफ र बैंकहरूका प्रतिनीधिहरुबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । सरफ समूहको २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनामा पनि लगानी छ ।
१६ अर्ब २४ करोड ६६ लाख रुपैयाँ कुल लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत अर्थात १२ अर्ब १८ करोड ४९ लाख ऋण नेपाल इन्भेष्टमेन्टसहित कुमारी, ग्लोबल आइएमई, एभरेष्ट बैंक, हिमालयन, नेपाल एसबीआई र नबिल बैंकले ऋण लगानी गर्दैछन् ।
आयोजनामा प्रवद्र्धक कम्पनीले २५ प्रतिशत ४ अर्ब ६ करोड १६ लाख रुपैयाँ स्वपुँजी (इक्वेटी) लगानी गर्दैछन् । आयोजनाका अनुसार, ४९८ गिगावाट आवर बार्षिक विद्युत उत्पादन गर्ने आयोजनाबाट ७० प्रतिशत वर्षा र ३० प्रतिशत हिउँदमा उत्पादन हुनेछ ।
निर्माणका लागि सिभिल तथा हाइड्रो मेकानिकलतर्फको ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै आयोजनाले सन् २०२१ के नोभेम्बरसम्ममा मुख्य निर्माणको कार्य सुरु गरिने र चार बर्षभित्र पूरा गरिने लक्ष्य राखिएको छ । आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भइसककेको छ ।
आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत् मार्किचोक सबस्टेसनमा लगेर जोडिनेछ । कम्पनीका अनुसार, सबस्टेसनसम्म आवश्यक १८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन निर्मण गरी सवस्टेनमा जोडिनेछ ।

सुनकोसी मरिनको सुरुङ खन्ने तयारी

 https://www.karobardaily.com/news/130170

फाल्गुन १४, २०७७ शुक्रबार

बीएममार्फत खन्न चैत्र पहिलो सातादेखिनै तयारी
राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ ।
भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनामा जस्तै टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत् सुरुङ निर्माण हुन लागेको आयोजनाको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले पाएको हो । १४ कम्पनी बोलपत्रमा सहभागी भएकोमा प्राविधिकरुपमा योग्य छानिएका चारमध्ये सबैभन्दा कम १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा चिनियाँ कम्पनीले पाएको आयोजनाले जनाएको छ । २७ महिनाभित्र १३.३ किलोमिटर सुरुङ सम्पन्न गर्ने गरी कम कबोल गरेको चिनियाँ कम्पनीलाई निर्माणको ठेक्का दिइएको आयोजना निर्देशक सुशील आचार्यले जानकारी दिए । “निर्माणको ठेक्का कम्पनीलाई दिइसकिएको छ, सुरुङसँगै यस सम्बन्धित काम पनि सोही कम्पनीले गर्नेछ, आगामी चैत्र पहिलो सातादेखि यसका लागि पूर्व तयारीका काम सुरु गर्न लागिएको छ” उनले भने, “मुख्य सुरुङको टीबीएममार्फतको निर्माण कार्य भने एक वर्षपछि सुरु हुनेछ, यसमा ५.५ मिटर ब्यास (मोटाइ) भएको सुरुङ बन्नेछ, पाँच वर्षभित्र पूरै आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।” आयोजनाका अनुसार, भेरी बबईमा ४.२ मिटर ब्यास भएको सुरुङ टीबीएममार्फत निर्माण भएकोमा यो त्योभन्दा यो आयोजना ठूलो हो ।
आयोजनाका अनुसार, ३१ मेगावाट विद्युत्समेत उत्पादन हुने सो बहुउद्देश्यीय आयोजनाबाट बाग्मती सिँचाइ आयोजनाको सिँचाइ प्रणालीको सदुपयोग र विस्तार गरी बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरी योजना पु¥याउने योजना छ । सिन्धुली जिल्लाको खुर्कोट क्षेत्रस्थित सुनकोसी नदीमा बाँध बाँधेर ६७ घनमिटर प्रतिसेकेन्ड पानीलाई सुरुङमार्फत मरिन नदीमा मिसाइने योजना छ । आयोजनाबाट तराई क्षेत्रमा भरपर्दो रुपमा सिँचाइको व्यवस्था भई उत्पादन वृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सुरुङबोहकका हेडवर्कस, विद्युत् गृह, सर्ज–पोडलगायतका सिभिल संरचनाहरुको विस्तृत इन्जिनियरिङ डिजाइन (डीईडी) सम्पन्न भएको र चालु वर्षको अन्त्यसम्ममा निर्माण सुरु गर्ने लक्ष्य राखिएको आयोजना निर्देशक आचार्यले जानकारी दिए ।
आयोजनाले सामाजिक विकास कार्यक्रमअन्र्तगत सुनकोसी मरिन बहुउद्देश्यीय आयोजनाले सामाजिक दायित्व तथा वातावरणीय सुधारका कार्यक्रमहरु सञ्चालन गर्नेछ । यसअन्तर्गत हेडवर्कसको डुबान क्षेत्र र मरिन नदीमा निर्माण हुने विद्युत् क्षेत्रमा सडक, सिँचाइ कुलो, लिफ्ट सिँचाइ, नदी नियन्त्रण, खानेपानी, विद्यालय सुधार सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने योजना रहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार, आयोजनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित समुदायमा विभिन्न सीप विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रमसमेत सञ्चालन हुनेछन् ।

Wednesday, February 24, 2021

विद्युत् खेर जान नदिने गरी तयारी अघि बढाएका छौं

https://www.karobardaily.com/news/129990?fbclid=IwAR3H3lCtjQ9KFPfv6KvbQd1DKXF_K2IY2124u0REx0whWNQIMCZ6YAZE-zw

 फाल्गुन १२, २०७७ बुधबार

टोपबहादुर रायमाझी हालै फेरि ऊर्जा तथा जलस्रोत तथा सिँचाइमन्त्री भएका छन् । पाँच वर्षअघि पनि उनी ऊर्जामन्त्री थिए । पाँच वर्षअघि उनकै नेतृत्वमा निर्माण भएको ९९ बुँदे ऊर्जा संकट निवारण कार्ययोजनामा एक वर्षभित्र आधारभूत रूपमा लोडसेडिङ अन्त्य गर्ने उल्लेख थियो भने १० वर्षभित्र १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखिएको थियो । २०७५ सालमा फेरि १० वर्षभित्र १५ हजार मेगावाटको लक्ष्य सार्वजनिक गरिएको थियो । ९९ बुँदे कार्ययोजनालाई जग मानेर जलविद्युत् क्षेत्रको विकास भइरहेको मन्त्री रायमाझीको दाबी छ । ९९ बुँदे कार्ययोजना, लोडसेडिङ, विद्युत् खपत वृद्धि र निर्यात, डेडिकेटेड फिडरबारेको विवाद, निजी क्षेत्रलाई सरकारले गरिरहेको सहजीकरणलगायतबारे कारोबारका लागि भीम गौतम र दीपेन्द्र थापाले गरेको कुराकानीको सार :

पाँच वर्षअघि ऊर्जामन्त्री हुँदा ९९ बुँदे कार्ययोजना ल्याउनुभएको थियो । १० वर्षमा १० हजार मेगावाटसहित ऊर्जा संकटकाल कार्ययोजना ल्याउनुभएको थियो । पाँच वर्षपछि फेरि मन्त्री बनेर आउँदा त्यो ९९ बुँदे कार्ययोजना कहाँ पुगेको रहेछ ?
पाँच वर्षअघि म ऊर्जामन्त्री हुँदा १२ घण्टादेखि १८ घण्टासम्म लोडसेडिङ थियो । देशलाई लोडसेडिङबाट कसरी मुक्त गराउने उद्देश्यले ऊर्जा संकट निवारण कार्ययोजना बनाएका थियौं । करिब तीन–चार महिना लगाएर कार्ययोजना तयार भएको थियो । त्यो निर्माण भएपछि जलविद्युत् क्षेत्रमै ठूलो परिवर्तन आयो । एक प्रकारको झोलामा खोला लिएर हिँड्ने परिपाटी थियो । झोलामा लिएर हिँडेपछि विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने र स्वदेशी, विदेशी लगानीकर्ता खोज्दै हिँड्ने अवस्था थियो । जलविद्युत् उत्पादनमा काम नगर्ने अवस्था थियो । आयोजना बनाउने भन्दा पनि झोलामा खोला राखेर व्यापार चलिरहेको थियो । त्यसपछि हामीले बनाएको कार्ययोजनाले यसलाई अन्त्य गरिदियो । जलविद्युत् आयोजनाहरूले तीव्रता पाए । म पाँच वर्षपछि अहिले ऊर्जा मन्त्रालयमै आउँदा उत्पादन मुखामुख आइरहेको छ । धेरै सम्पन्न हुने प्रक्रियामा छन्, तर जुन गतिमा उत्पादन हुनुपर्ने हो त्यसमा सुस्तता देखिन्छ । तर, हामी विद्युत्मा आत्मनिर्भर हुने अवस्था नजिक पुगिसकेका छौं । त्यो बेला कार्ययोजना बनाउँदा नै हामीले के भनेका थियौं भने एक वर्षभित्र आधारभूत रूपमा लोडसेडिङ अन्त्य हुनेछ भनेका थियौं । लोडसेडिङ अन्त्य गर्ने योजना पूरा भयो । ९९ बँुदे जुन कार्यदिशा बन्यो, त्यसको कार्यान्वयनमा जाँदा लोडसेडिङ अन्त्य भएको हो । पाँच वर्षपछि म मन्त्री हुँदा नयाँ सम्भावना र चुनौती देखिरहेको छु । उत्पादन त हुन्छ, अब त्यसलाई कसरी खपत र निर्यात गर्ने भन्ने चुनौती छ ।

९९ बुँदे कार्ययोजनाले एक वर्षभित्र आधारभूत रूपमा लोडसेडिङ अन्त्य गर्ने भनिएको थियो । अहिले पनि लोडसेडिङ अन्त्य कसले गरेको भनेर जस लिने प्रतिस्पर्धा चलिरहेको छ । यसमा तपाईंको दाबी के छ ?
यसमा मलाई कुनै दाबा गर्नु छैन । प्रचार चाहने प्रकृतिको मान्छे म होइन । हामीले देशका लागि, जनताका लागि र विकासका लागि काम गर्ने हो । हामीले हाम्रो कर्तव्य पूरा गर्ने हो । ९९ बुँदे जुन कार्ययोजना बन्यो, त्यसलाई सबैले बेसलाइन बनाउनुभयो । मपछि जनार्दन शर्मा मन्त्री हुनुभयो, कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक बन्नुभयो । घिसिङलाई मूल्यांकन गरेर प्रस्ताव गर्ने व्यक्ति मै हुँ । ९९ बुँदे कार्ययोजनाको सदस्य पनि उहाँ हुनुहुन्थ्यो । उहाँहरूले पनि राम्रो काम गर्नुभयो । हामीले बनाएको ९९ बुँदे कार्ययोजनालाई टेकेर यसलाई गति दिनुभयो । त्यसकै जगमा हामी यहाँ आइपुगेका छौं । यसमा हामीलाई दाबा गर्नुपर्ने छैन । कुनै प्रचारमा आउनु छैन ।

कार्ययोजनामा १० वर्षभित्र १० हजार मेगावाट बनाएका थियौं । पाँच वर्ष बित्दा पनि १४ सय मेगावाटको हाराहारीमा छ । ५० प्रतिशत जलाशययुक्त आयोजना भनेका थियौं, त्यो पनि अघि बढेको छैन । अझै कतिपय प्रावधानहरू अघि बढेका छैनन्, यसबारे तपाईं के भन्नुहुन्छ ?
जुन उद्देश्यका साथ ९९ बुँदे योजना बनायौं, कार्यान्वयन जुन गतिमा हुनुपर्ने हो, यो गतिमा नगएको भने हो । यसमा कमी त रह्यो । यसकारण १० वर्षे लक्ष्य पूरा गर्न अप्ठेरो भइरहेको छ । अहिले हिउँदमा हेर्ने हो भने १४ सय मेगावाटको माग छ, तर हामीसँग ७ मेगावाट मात्र उत्पादन रहेकाले अर्को ७ सय भारतबाट आयात गरिरहेका छौं । आगामी दिनमा माथिल्लो तामाकोसीलगायतका केही आयोजनाहरू छिटोभन्दा छिटो सम्पन्न हुने अवस्थामा छन् । अरू सानातिना आयोजनाहरू सम्पन्न भइसकेपछि हामी हाम्रै देशको विद्युत्बाट आत्मनिर्भर हुने अवस्थामा पुग्छौं । उत्पादन बढ्छ नै ।

उत्पादन बढाउने कुरा त गरिरहेका छौं, तर कार्यान्वयन भएर उत्पादनको अवस्था सन्तोषजनक छैन, योजना त धेरै आउँछन् तर कसरी कार्यान्वयन हुँदैनन् । तपाईं आफूलाई एक्सनमा जाने मन्त्रीका रूपमा चिनाउनुहुन्छ, कसरी अघि बढ्नुहुन्छ ?
ठूला योजनाका साथ हामी अघि बढ्दै छौं । उत्पादनमा ढिलासुस्ती छ । यसलाई अन्त्य गर्न नीतिगत व्यवस्था गरिसकेका छौं । अनुमतिपत्र (लाइसेन्स) र पीपीए गर्दा समयावधि तोकिएको हुन्छ । सो समयावधिभित्र विकासकर्ताले काम गरेमा पुरस्कृत गर्ने र नगरेमा जरिवाना गर्ने योजना बनाएका छौं । यो त हाम्रो ९९ बुँदामा छँदै छ नि । यसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । जलविद्युत् आयोजना निर्माणको काम कुनै पनि बहानामा ढिलासुस्ती गर्न पाइँदैन । यसो गरेमा कार्यान्वयनको समस्या हल हुन्छ । बीचमा जुन ढिलासुस्ती भयो यसले पूरा गर्न अप्ठेरो परेको छ । सरकार र निजी क्षेत्र जसले आयोजनाहरू बनाइरहेका छन्, ती आयोजनाहरूको भौतिक अनुगमन गर्दैछौं । समयमै काम नगर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिएका छौं । अब हामीलाई खपतकै समस्या छ । कर्णाली, कोसीलगायतका नदी बेसिनहरू छन्, जहाँ विद्युत् आयोजनाहरू छन्, त्यहाँ प्रसारणलाइन निर्माण गर्दैछौं । नदी बेसिनमा बन्ने आयोजनाहरूको अध्ययन गरी प्रसारणलाइन बनाउने योजना बनाएका छौं । पूर्व–पश्चिम प्रसारणलाइन मात्र होइन, अन्तरदेशीय प्रसारणलाइन बनाउनका लागि अघि बढेका छौं । ४० देखि ५० वर्षको ऊर्जालाई धान्ने किसिमको संरचना बनाउनुपर्ने आवश्यकता छ । प्राविधिक रूपमा स्तरीय किसिमको प्रसारणलाइन बनाउनुपर्ने छ । अन्तरदेशीय प्रसारणलाइन बनाउँदा पनि विद्युत् व्यापारलाई ख्याल गरेर बनाउनुपर्नेछ । चाहे भारत, चीन, बंगलादेश, पाकिस्तान, म्यानमार जहाँ बिजुली निर्यात पनि उपयोगी हुने संरचना बनाउनुपर्ने आवश्यकता छ ।

तपाईंले ठूला प्रसारणलाइन संरचनाको कुरा गर्दा वर्तमान त भयावह अवस्था छ नि ! हालै प्रधानमन्त्रीले उद्घाटन गरेको सबस्टेसनको कुरा गर्दा भारतबाट ४ सय केभीमा विद्युत् ल्याएर २२०÷१३२ केभीमा झारेर नेपालमा वितरण गर्नुपर्ने अवस्था छ । सबै प्रसारणलाइनको अवस्था दयनीय छ । यस्तो भयावह समस्यालाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन ४ सय केभीमा बनाइसक्यौं । सबस्टेसन पनि बनिसक्यो । अन्य क्षेत्रबाट पनि प्रसारणलाइन बनिरहेका छन् । अहिले हामी विद्युत् आयात र निर्यात गर्न सक्ने अवस्थामा छौं । ठूलो परिमाणको ऊर्जालाई धान्ने किसिमको संरचनालाई मध्यनजर गरेर अरू अन्तरदेशीय प्रसारणलाइन पनि बनाउँदै छौं । यसअनुसार हामी तीव्र गतिमा अघि बढ्छौं ।

आजको दिनमा विद्युत्को खपत प्राधिकरणको प्रक्षेपणअनुसार २२-२३ सय मेगावाट पुग्नुपर्ने थियो । १४ सय मेगावाटको हाराहारीमा छ । वर्षामा बिजुली खेर जाने कुरा पनि आइरहेको छ । तत्कालीन अवस्थामा खपत बढाउनका लागि मन्त्रालयले कस्तो रणनीति लिँदै छ ?
खपत बढाउनेबारे हामीले अध्ययन गरिरहेका छौं । नेपाली नागरिकलाई विद्युत् खपत बढाउनका लागि एक किसिमको प्रवद्र्धन आवश्यक छ । विद्युत् उत्पादन बढेसँगै यो सस्तो पनि हुँदै जान्छ । यसले पनि खपत बढाउँछ । जनताको क्रयशक्ति बढाएर खपत बढाउने गरी अघि बढेका छौं । ठूला–ठूला उद्योगहरूमा विद्युत् खपत बढाउने योजना छ । ठूला–ठूला उद्योगहरूको मागलाई पनि हामीले पूरा गर्छौं । उद्योगहरूमा मात्र १ हजार मेगावाट बराबर खपत गराउन सक्छौं भन्ने हामीलाई लागेको छ । अहिले इन्धनबाट चल्ने गाडीहरू छन्, यसलाई विस्थापन गरेर बिजुलीबाट चल्ने बनाउँदै छौं । खाना पकाउनका लागि ग्यासको सट्टा अहिले सस्तो पर्ने गरी बिजुलीको उपयोग बढाउँदै छौं । घरघरमा कपडा धुनेलगायतका धेरै कामका लागि विद्युतीय उपकरणहरूको उपयोगमार्फत खपत बढाउन सक्ने अवस्था छ । यसो गर्दा देशभित्र धेरै बिजुलीको खपत गर्न सक्ने सम्भावना म देख्छु । आगामी २०-२५ वर्षमा ४० हजार मेगावाट बिजुली उत्पादन गर्ने भनेका छौं । त्यो सबै खपत त हुँदैन । त्यो बेला विशाल र बढी विद्युत् खपत गर्न सक्ने मुलुकहरूमा बिजुली निर्यात गर्नैपर्छ । यी सबैलाई मध्यनजर राखेर योजना बनाउन हामी गृहकार्य गरिरहेका छौं ।

गत वर्षाको रातको समयमा २ सय मेगावाट खेर गएको प्राधिकरणले बताएको थियो । आगामी वर्षामा साढे ५ सय मेगावाट खेर जाने प्रक्षेपण छ, तर सरकार व्यापारका लागि के गरिरहेको छ भनेर प्रश्न उठिरहेको छ । विद्युत् व्यापारका लागि छिमेकी राष्ट्रसँग ढोका बन्द भएको भन्दै चर्चा चलिरहेका बेला तपाईं ले उच्चस्तरबाट वार्ताका लागि के पहल गरिरहनुभएको छ ?
सरकारले देशभित्र र देशबाहिर विद्युत् खपत गर्ने दीर्घकालीन र अल्पकालीन कार्ययोजनासहित अघि बढ्ने रणनीति लिएका छौं । हामी भारत, चीन, पाकिस्तान र बंगलादेशसँग उच्चस्तरीय छलफल र गृहकार्य गरिरहेका छौं । व्यापारका लागि छलफल चलिरहेकाले विद्युत् खेर जाने सम्भावना छैन । विद्युत् खेर जान नदिने गरी तयारी अघि बढाएका छौं । यसका लागि हामीसँग पर्याप्त उपाय छन् । यसका लागि आन्तरिक खपत बढाउनैपर्छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट अहिले ७ सय मेगावाट आयात गरेका छौं, यसलाई घटाउन पनि सकिन्छ । अर्काे कुरा, बढी भएको खण्डमा त्यही लाइनबाट निर्यात गर्न सकिन्छ । लिन र दिन सकिने भएकाले गर्दा यो समस्या आउँछ जस्तो मलाई लाग्दैन ।

पछिल्लो समयमा लाइनको बक्यौता १६ अर्ब रुपैयाँ नाघिसकेको छ । यसमा उद्योगी–व्यवसायी र प्राधिकरणबाट फरक विचार र धारणा आएका छन् । यसको समाधन कसरी गर्दै हुनुहुन्छ ।
दुवैतर्फको भन्ने कुरा छैन । वास्तविक कुरा जहिले पनि एउटै हुन्छ । म पाँच वर्षअघि मन्त्री हुँदा यस्तो समस्या थिएन । पछि डेडिकेटेड र ट्रंकलाइन वितरण भयो । यसमा बक्यौता पनि बढेको छ । हाल आएर यो समस्या थुपार्नुपर्ने समस्या होइन, किन अहिले आएर समस्या भयो, म आफंै आश्चर्य चकित छु । विद्युत् प्राधिकरणको नाफा कागजमा मात्र देखायौं । यो कागजमा मात्र सीमित रहेको छ । प्राधिकरणको नाफा कागजमा मात्र छ, व्यवहारमा छैन । यसलाई नगदमा परिणत गर्नुपर्छ । यो के कारणले उठाइएन, किन उठाउन सकिएन, पहिले नै उठाएको भए समस्या हुने थिएन । यसमा विवाद गर्नु जरुरी छैन, उठाउनुपर्नेमा विवाद र दुविधा छैन, समाधानको उपाय भनेको के कारणले उठेन भनेर समस्याको पहिचान गर्दै छौं । जहाँसम्म कसरी उठाउन सकिन्छ भन्ने छ, सर्वाेच्च अदालतको फैसला, मन्त्रिपरिषद्को निर्णय र विद्युत् नियमन आयोगको निर्णय आदिलाई आधार मानेर कोरोना संकट अवस्थालाई मध्यनजर गर्दै उठाउनेतिर जान्छौं ।

ठूला आयोजनाहरूले गति लिन सकेको छैनन् ? लगानी बोर्डमा पनि तपाईं भएको नाताले ठूला आयोजना कसरी अघि बढाउन सकिन्छ भन्ने लागेको छ ?
नेपालका ठूला आयोजनालाई अगाडि बढाउनका लागि देशको आन्तरिक स्रोत नै सक्षम छ । कार्यान्वयन र कार्यप्रगति भने ढिलाइ भइरहेको छ, यो भनेको देशको राजनीतिक अस्थिरता र स्थायी सरकार नहुँदाको समस्या हो । ठूला आयोजनाहरूलाई समयसीमामा कार्य सम्पन्न गर्न सकिएन भने देशले आर्थिक रूपमा ठूलो क्षति बेहोर्नुपर्छ । सरकार यसतर्फ सजग र जानकार छ । ठूला आयोजनाहरूको सूक्ष्म अध्ययन गरेर कार्ययोजनासहित अगाडि बढाउनुपर्छ । माथिल्लो ३५ अर्बको आयोजना, करिब ८० अर्ब रुपैयाँ लागतमा पुगेको छ । यस्तो खालको कार्य र कार्यप्रगति, ढिलासुस्तीमाथि गम्भीर समीक्षा हुनु जरुरी छ । मैले अब समयसीमामै काम सक्न निर्देशन दिएको छु । आयोजना प्रमुखले ढिलाइको पुष्टि गर्नुपर्छ, नभए आर्थिक र भौतिक रूपमा भएको क्षति नै सम्बन्धित व्यक्तिले बेहोर्नुपर्छ । पटक–पटक समय थप गर्ने परिपाटी अब हुनु हुन्न । अपर तामाकोसी वैशाख ३ गतेभित्र सम्पन्न गर्न भनेको छु, त्यो बेलासम्म हुनैपर्छ ।

ठूला आयोजनाहरूमा किन सधैं यस्तो विवाद र झमेला हुने गरेको हो, तपाईंको अनुभव के छ ?
ठूला आयोजनामा हुने विवाद र ढिलाइबारे मन्त्रालयले अध्ययन गरिरहेको छ । यसबारे हामी गम्भीर रूपमा समीक्षा गर्दैछौं । यसको ठोस नतिजा आएपछि मन्त्रालय कार्ययोजनासहित चिरफार गरेर अगाडि बढ्नेछ ।

बेलाबेलामा निजी क्षेत्र र सरकारबीचमा सम्बन्ध चिसो देखिन्छ । निजी क्षेत्रले सरकारले सहजीकरण नगरेको बताइरहेको हुन्छ । किन समन्वयको अभाव भएको हो ? निजी क्षेत्रप्रति मन्त्रालयको धारणा कस्तो हुनुपर्छ ?
सरकार र निजी क्षेत्रबीच केही तालमेल नमिलेको अवस्था छ । दुवै पक्षले तोकिएको जिम्मेवारी पूरा गर्नुपर्छ । जिम्मेवारी पूरा भएको अवस्थामा पुरस्कृत र नभएको अवस्थामा कारबाही गर्नुपर्छ । यसमा सरकारको दृष्टिकोण स्पष्ट छ । निजी क्षेत्रलाई प्रोत्साहित नै गर्नुपर्छ । यसमा लगानी सुनिश्चित गर्ने वातावरण सरकारले बनाउनुपर्छ र त्यो बन्छ पनि । आर्थिक समृद्धिको मेरुदण्ड निजी क्षेत्र भएकाले गर्दा आन्तरिक र बाह्य लगानीलाई सरकारले जहिले पनि सहजीकरण गर्दै लगानीतर्फ प्रोत्साहन गर्नेछ ।

तपाईं मन्त्री भएपछि आगामी दिनमा जलविद्युत् क्षेत्रले कस्तो छलाङ मारेको देख्न पाइएला ?
मन्त्रालयले कार्य सम्पादनमा बढी जोड दिँदै समृद्धिको जग स्थापित गर्नेछ । २०७२ मा एक वर्षभित्र लोडसेडिङ गर्न भन्ने योजना आयो । त्यो पूरा ग-यौं । ढल्केवर–मुजफ्फरपुर प्रसारणलाइन ९ वर्षदेखि प्रगति हुन सकेको थिएन । ढल्केबर–सिन्धुलीमा ६ ट्रान्मिसन लाइन, ढल्केबार–हेटांैडा ट्रान्समिसन लाइन वनको कारण रोकिएको थियो । धेरै आयोजनाहरू विभिन्न कारणले लड्किरहेका थिए । अहिले एक्सन लिएर समयमै आयोजना बनाउन कस्सिएका छौं । भरतपुर–बर्दघाट ट्रान्समिसन लाइन दुम्किबासको समस्या समाधान गर्दैछौं । अरूमा पनि अघि बढेको छ । अब ठूला आयोजना रोकिँदैनन्, लड्किँदैनन् ।

अब विगतमा जस्तो आयोजनाहरू लड्किँदैनन् भन्नेमा विश्वस्त हुनुहुन्छ ?
ठूला आयोजना, प्रसारणलाइन लगायतलाई लड्किन दिँदैनौं । हामी एक्सनमा जान्छौं । यसको परिणाम छिट्टै तपाईंले देख्नुहुन्छ ।

Tuesday, February 16, 2021

विद्युत् व्यापारमा ‘कालो बादल’

https://www.karobardaily.com/news/129236

 फाल्गुन ५, २०७७ बुधबार

न प्रतिस्पर्धी, न बजारसम्म पहुँच, न बेच्ने संयन्त्र नै
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सार्वजनिक गरेको सरकारको तीन वर्षे कार्यकालको प्रगतिमा उल्लेख गरेझैँ चालू आर्थिक वर्षमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् र तोकिएका आयोजना बने भने नेपालको उत्पादन क्षमता २ हजार ३ सय मेगावाट पुग्नेछ । नेपाल विद्युत् प्राधिकरणको प्रक्षेपणकै आधारलाई हेर्ने हो भने माग १ हजार ५५० मेगावाटमात्र पुग्ने अनुमान छ भने चालू वर्षको हालसम्म पाँच आयोजनाबाट २९ मेगावाट उत्पादन भएकोमा आगामी असारसम्म थप २३ आयोजना सम्पन्न भएर ७९६ मेगावाट थप हुनेछ ।
चालू वर्षमा एक हजार मेगावाट थप हुने लक्ष्य राखेको प्राधिकरणलाई त्यसलाई घटाएर ८२८ मेगावाट बनाएको छ र प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको भनाइको आधारमा यी आयोजनाहरू सबै नआए पनि माथिल्लो तामाकोशी निर्माण सम्पन्न भएमा कम्तीमा क्षमता २ हजार १ सय मेगावाट पुग्ने देखिएको छ । आगामी ६ महिनाभित्र आन्तरिक विद्युत् खपतमा तत्काल ठूलै चमत्कार हुने अवस्था नदेखिएकोले आगामी वर्षाको समयमा ५५० मेगावाटसम्म खेर जाने सक्ने प्राधिकरणकै तथ्यांकले देखाउँछ । गत वर्षायाममा रातिको समयमा २५० मेगावाटसम्म बिजुली खेर गएको प्राधिकरणले जानकारी दिएको थियो ।
आन्तरिक खपत तत्काल नबढ्ने हुँदा नेपालको बिजुली खेर जाने नदिने एउटै उपाय भनेको भारतमा बिजुली व्यापार नै हो । यसका लागि चार सय केभीको ढल्केबर सवस्टेशन र ढल्केबर–मुज्जफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन अर्थात पूर्वाधार पनि तयार छ, यद्यपि सीमासम्म पुग्नका लागि प्रसारण लाइनको अवस्था भने अझै कमजोर छ । तर, बिजुली व्यापारका लागि जताततै कालो बादल नै लागेको दुई देशबीच व्यापारका लागि भएका प्रयासहरूले संकेत देखिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पूर्वउपाध्यक्ष कुमार पाण्डेको विश्लेषणमा नेपालले भारतीय बजारमा प्रतिस्पर्धा गरेर र सौदाबाजी गरेर (नेगोशिएसन) गरेर बेच्न सक्छ तर नेपालको बिजुली न प्रतिस्पर्धी छ, न हालसम्म बिजुली बेच्नका लागि पहुँच पाएको छ । न बेच्नका लागि दलाल (एजेण्ट) को कुनै संयन्त्रनै छ । हुन नेपाल सरकारले विद्युत् प्राधिकरणलाई नोडल एजेन्सीको रूपमा तोकेको छ । तर प्रधानमन्त्री, मन्त्री लगायतका उच्च राजनीतिक तहबाटै विशेष वार्ता नभईकन तत्काल भारतसँग बिजुली व्यापारको सम्भावना पनि छैन ।
नेपाल र भारतबीच विद्युत् व्यापारका लागि प्रयास नै नभएका भने होइनन् । सन् २०१४ मा नेपाल र भारतबीच विद्युत्् व्यापार सम्झौता (पीटीए) भएपछि भारतले सन् २०१६ मा अन्तरदेशीय व्यापार निर्देशिका ल्याएको थियो भने २०१८ मा अन्तिम रूप दिएको थियो । व्यापारका लागि आवश्यक कडक्ट अफ बिजनेस रुल (सीबीआर) आवश्यक हुन्छ । तर, हालसम्म त्यो नआउँदा भारतीय बजारमा बिजुली व्यापार गर्न बाटो बन्द छ । विद्युत् व्यापारका लागि दोस्रो बाटो भनेको भारतमा क्रेता खोजेर पावर सेल एग्रिमेन्ट (पीसीए) हो । भारतले विद्युत् व्यापारका लागि एनभीभीएनलाई नोडल एजेन्सीको रूपमा तोकेको छ तर बेच्नका लागि दलाल (एजेन्ट) संयन्त्र नहुँदा र सरकारले उचित सौदाबाजी (नेगोसिएसन) गर्न नसक्दा त्यो बाटो पनि बन्द छ । तेस्रो भनेको प्रतिस्पर्धामार्फत हो । करिब एक महिना अघि विद्युत् प्राधिकरणले प्रतिस्पर्धामा भाग पनि लिएको थियो तर असफल भयो । एनभीभीएनमार्फत बीएसपीएस राजधानी पावर लिमीटेड दिल्लीमा वितरण गर्ने गरी आह्वान गरिएको प्रतिस्पर्धामा आगामी जुनदेखि सेक्टेम्बरसम्म चार महिनाको लागि २५ मेगावाट दिने गरी प्रस्ताव गरेको थियो ।
विद्युत् प्राधिकरणले भारतबाट आयात गरिएकै विद्युत् खरिद सम्झौता (पीपीए) दर ४.१८ भारतीय रुपैयाँमा प्रस्ताव गरेकोमा असफल भएको हो । ३ देखि ३.२५ सम्म प्रस्ताव परेको थियो तर नेपालको बिजुली महँगो देखिएको थियो । प्राधिकरणले निजी क्षेत्रबाट सरदर ७.४५ रुपैयाँ किन्ने गरेको छ भने ग्राहकलाई ९.७० पैसा सरदरमा बेच्ने गरेको छ । पूर्वउपाध्यक्ष पाण्डे पनि प्रतिस्पर्धामा सहभागी हुन नेपालको भाऊ महँगो भएको, दीर्घकालीन रूपमा बिजुली दिने क्षमता नभएको, बेच्नका लागि एजण्ट कम्पनी र संयन्त्र नभएको र व्यापारको लागि अनुमतिपत्र दिने व्यवस्था नभएको बताउँछन् । “खुल्ला बजारमा जान सीबीआर आईसकेको छैन, बिजुली पनि प्रतिस्पर्धी छैन, कानुन पनि छैन, संयन्त्र पनि छैन, तत्काल त बिजुली बेच्ने वातावरणनै बनिसकेको छैन,” उनी भन्छन् ।
विद्युत् व्यापारका लागि निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूले नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) गठन गरेर भारत र बंगलादेशमा बिजुली बेच्ने प्रयास गरेका थिए । इप्पान आवद्ध उनीहरूले निजी क्षेत्रले करिब १७ हजार मेगावाट विद्युत् छिमेकी राष्ट्र भारत र वंगलादेशमा बेच्ने सक्ने भन्दै दुवै देशमा पुगेर छलफल नै गरे । नेपेक्सले ५२९ मेगावाट बराबरका पाँच आयोजनाबाट उत्पादित बिजुली भारतमा निर्यातका लागि स्वीकृति प्राप्तिका लागि विद्युत् विकासका लागि निवेदन नै दिइसकेको छ । कानुन अभावकै कारण विद्युत्् व्यापारका लागि उनीहरूले अनुमतिपत्र भने पाएका छैनन् । प्रस्तावित विद्युत्् विधेयकमा बिजुली व्यापारबारे उल्लेख भए पनि संसद विघटनसँगै यसमा झन अन्योल थपिएको छ ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भने बिजुली व्यापारका लागि एनभीभीएन, पीटीसीसँग छलफल अघि बढाइएको बताउँछन् । “मेरो प्रयास पूर्ण रूपमा बिजुली बजार व्यवस्थापनमा हुन्छ, तर कति बिजुली कहिले बढी हुन्छ भन्ने ऐकिन नभएकोले बजार व्यवस्थापनमा समस्या परेको छ,” उनी भन्छन्, “प्रक्षेपणअनुसार नै बिजुली आएमा र बिजुली बिक्री गर्न नसकेमा खेर जाने अवस्था आउन सक्छ तर माथिल्लो तामाकोशीको पहिलो युनिट आएपछि बिजुलीको बजारका लागि कसिन्छांै ।”
बिजुली व्यापार भएर पनि प्रसारणलाइनको अभावको समस्या भने अझै छ । ढल्केबर–मुज्जफ्फरपुरबाट तत्काल एक हजार मेगावाटसम्म विद्युत् निर्यात हुन सक्छ तर ढल्केबरसम्म पु¥याउने प्रसारणलाइनको भने समस्या छ । प्रसारणलाइनको ठूलो सञ्जाल बन्ने अमेरिकी सहयोगको ३१२ किलोमिटर लामो आयोजना अन्योलमा छ भने ४ सय केभीका न्यू हेटौंडा र न्यू इनरुवा सवस्टेसन तथा चार सय केभीको न्यू हेटौंडा–इनरुवा–ढल्केबर प्रसारणलाइन पनि सम्पन्न हुन बाँकी छ । विभिन्न आयोजनाहरूबाट ती प्रसारण लाइनसम्म पु-याउन राजमार्ग पनि साँघुरो रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । अर्कोतर्फ बिजुली उत्पादनको लागत बढ्दै छ । पहिला प्रतिमेगावाट १५ करोडमा बन्ने भनिए पनि अहिले २० करोडभन्दा बढी नाघेको निजी क्षेत्रका प्रवद्र्धकहरू बताउँछन् ।
सरकारले २०८५ भित्र १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ भने आगामी तीन वर्षभित्र तीन हजार मेगावाटको लक्ष्य राखेको छ । पीपीए भएर वित्तीय व्यवस्थापन हुन बाँकी, पीपीएको लागि आवेदन दिएका तथा आयोजनाको अध्ययनको चरणमा रहेका आयोजनाहरूको क्षमता २४ हजार मेगावाट छ । बिजुली व्यापार हुन सक्ने अवस्था नआएमा यी सबै आयोजनाहरू संकटमा पर्छन् । बिजुली व्यापारको सुनिश्चित नभएमा अर्बौको बिजुली मात्र खेर जादैन, निर्माणाधीन आयोजनामा जोखिममा पर्ने, विदेशी लगानी आउन नसक्ने, प्राधिकरणले प्रसारण लाइन निर्माणमा ढिलाइ गरी र पीपीएमा विभिन्न सर्तहरू राखेर बिजुली किन्नका लागि अलमल गर्दा स्वदेशी लगानीकर्ताहरूमा त्रसित हुने तथा यसबाट मुलुककै अर्थतन्त्रमा गम्भीर असर पर्ने र बिजुलीमार्फत आर्थिक सम्वृद्धि प्राप्त गर्ने सरकारको घोषणामाथिनै प्रश्न चिन्ह उभिने विश्लेषकहरू बताउँछन् ।

उनीहरूका अनुसार, पछिल्लो समयमा दुई देशबीचको सम्बन्ध बलियो हुन नसकेकोले व्यापारका लागि प्रधानमन्त्री र मन्त्रीस्तरबाट विशेष वार्ता हुनुपर्ने, आन्तरिक खपत बढाउने विशेष योजना ल्याउनुपर्ने, जलविद्युत् आयोजनाहरूको लागत घटाउनका लागि विशेष प्रयास अघि बढाउनुपर्ने, बिजुली खेर जान नदिन हाइड्रोजन प्रणालीमा तत्काल जानुपर्ने र बिजुली किन्ने ग्यारेण्टीसहित ठूलो लगानी गरिरहेका निजी लगानीकर्ताका लागि विशेष व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।
माथिल्लो तामाकोशी आएपछिको अवस्थामा मात्र ५५० मेगावाट बिजुली खेर गएमा यसबाट अर्बौ घाटा विद्युत् प्राधिकरणले बेहोर्नुपर्छ, त्यो समय आउन ६ महिना पनि बाँकी छैन ।
विद्युत् प्राधिकरणभित्र पानी खेर फाल्ने कि सस्तोमा बिजुली दिने छलफल पनि चलिरहेको छ । सस्तोमा बिजुली दिएर खपत बढाउन सकिन्छ कि भनेर पनि छलफल भइरहेको छ, तर १५ हजार मेगावाटका आयोजनाहरूमा लगानी गरिरहेका र लगानी गर्ने योजनामा रहेका निजी क्षेत्र भने बिजुलीको बजारको अनिश्चितताले निराश छन् । सरकारले बिजुली खपत बढाउन नसक्दा, बेच्नका लागि सार्थक पहल नगर्दा र निजी क्षेत्रले बेच्छुभन्दा पनि नदिँदाको अवस्थाले निजी क्षेत्रमा लगानी डुब्ने जोखिमतासँगै निराशा बढेको उनीहरूको तर्क छ ।

व्यापार नहुँदाको खतरा
बिजुली खेर जाने
निर्माणाधीन आयोजना जोखिममा
विदेशी लगानी आउन नसक्ने
स्वदेशी लगानीकर्तामा त्रास
अर्थतन्त्रमा गम्भीर असर
आर्थिक समृद्धिमाथि नै प्रश्नचिन्ह

वैकल्पिक बाटो
व्यापारका लागि प्रधानमन्त्रीस्तरबाटै वार्ता
आन्तरिक खपत बढाउने विशेष योजना
जलविद्युत् आयोजनाहरूको लागत घटाउने
हाइड्रोजन प्रणालीमा तत्काल जाने
निजी लगानीकर्ताका लागि विशेष व्यवस्थापन

नेपाली बिजुली कसरी सस्तो बनाउने ?
हरेक क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको बेला बिजुलीको लागतमा पनि प्रतिस्पर्धा हुनुपर्ने हो तर नेपालमा अवस्था उल्टो छ । प्रतिमेगावाट १५ करोडको लागत २० करोड पुगेको छ । तथ्यांकहरले सरकार र निजी क्षेत्र दुवैले बनाउने आयोजनाहरू महँगा भएका छन् । विद्युत् प्राधिकरणले निर्माण गरेको ३० मेगावाट चमेलिया जलविद्युत् आयोजनाको लागत प्रतिमेगावाट ५५ करोड पुगेको थियो भने प्राधिकरणकै सहायक कम्पनीमार्फत निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशीको लागत पनि प्रति मेगावाट १२ करोडभन्दा ननाघ्ने अनुमान गरेकोमा २० करोड अर्थात निर्माण अवधिको ब्याजसहित ४९ अर्बमा सम्पन्न हुने लक्ष्य राखिएको आयोजना कोभिड, नाकाबन्दी, भूकम्प लगायतको कारण एक खर्ब पुग्ने अनुमान छ ।
निजी क्षेत्रका आयोजनाहरूको लागत पनि महँगो छ ।
निर्माण सामग्री र उपकरण महंगिदै जानु, विकासकर्ता आफैंले बाटो, सडक लगायतका सामाजिक विकास गर्नुपर्ने, डलरको भाउ चुलिनु लगायतलाई यसको कारणको रूपमा विश्लेषण गर्छन् । पूर्वउपाध्यक्ष पाण्डे भने लागत घटाउनु विकासकर्ताको पहिलो जिम्मेवारी भएपनि सरकारले सहजीकरण नगर्दा र सामाजिक काममा सीमित विकासकर्ताले लगानी गर्नुपर्दा समस्या रहेको बताउँछन् ।
वर्षामा समेत अधिकत्तम बिजुली निकाल्न सक्ने गरी हालको क्यू ४५ डिजाइन गर्नुपर्ने व्यवस्था हटाएमा, पूर्वाधारको लागत परियोजनामा नजोडी सरकारले बेहोर्ने व्यवस्था गरेमा, खानेपानी, सडक, स्वास्थ्य चौकी लगायतका सामाजिक कामको जिम्मेवारी निजी लगानीकर्तालाई थोपर्ने अवस्था अन्त्य भएमा, सरकारले आफ्ना प्रकृयाहरू हुने ढिलाईको अन्त्य गरेमा, महँगिदो निर्माण सामग्री र उपकरणहरूलाई सस्तो बनाउने व्यवस्था गरेमा लागत घट्न सक्छ । यस्तै, प्रतिवद्धताअनुसार प्रतिमेगावाट ५० लाखको भ्याट छुट दिने निर्णय कार्यान्वयन गरेमा, विद्युत् नियमन आयोगले आयोजनाको क्षमताको आधारमा पीपीएको व्यवस्था गरेमा तथा बिजुली खेर गएर आउने सक्ने चरम संकटलाई मध्यनजर राखी सरकारले विशेष आर्थिक सहुलियतको प्याकेज ल्याएमा मात्र लागत घट्न सक्ने उनको विश्लेषण छ ।

Monday, February 15, 2021

सबै परियोजना सरकारकै कोषबाट बनाउन स्रोत पुग्दैन

https://www.karobardaily.com/news/129082 

फाल्गुन ३, २०७७ सोमबार

पूर्वाधार परियोजनामा लगानी गर्ने उद्देश्यसहित नेपाल सरकारको समेत लगानीमा इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनमा आएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, बैंकले अपेक्षाअनुसार भूमिका खेल्न नसकेको भन्दै आलोचना हुन थालेको छ । बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा बैंक सञ्चालनका लागि आवश्यक आन्तरिक नीति, नियम र कार्यविधि बनाउन एक वर्ष लागेको र पछिल्लो वर्ष कोभिड प्रभावले गर्दा बैंकले गरेको कामको प्रतिफल नदेखिएको दाबी गर्छन् । बैंकले जलविद्युत्, सडक, केवलकार, सुरुङमार्गलगायतका पूर्वाधार निर्माणका लागि १२ अर्ब ऋण सम्झौता गरिसकेको र ११ अर्बका आयोजनाहरू पाइपलाइनमा रहेको उनले जानकारी दिए । बैंकले स्थानीय तहहरूसँग सहकार्यमा सार्वजनिक, निजी, साझेदारी मोडलमा १० करोडसम्ममा साना पूर्वाधारमा समेत लगानी गर्न सक्ने बाटो खुला भएको र अब केही वर्षमै यसको परिणाम देखिने उनले दाबी गरे । विद्युत् नियमन आयोग, लगानी बोर्डलगायतका संघसंस्थामा रही पूर्वाधार निर्माणको क्षेत्रमा काम गरेका खतिवडासँग नेपालमा पूर्वाधार लगानीका सम्भावना र चुनौतीबारे कारोबारकर्मी भीम गौतम र यादव हुमागाईंले गरेको कुराकानीको सार :

कोभिड–१९ का असर समग्र अर्थतन्त्रमा नै असर परेको छ । ऋण लगानीका लागि आयोजनाहरू खोज्दै गरेको इन्फ्रास्ट्रक्चर बैंकको व्यवसायमा कस्तो असर गरेको छ र आगामी अवस्थालाई कसरी विश्लेषण गरेको छ ?
पूर्वाधार क्षेत्रमा कोभिडको असर दुई किसिमको छ । सञ्चालनमा रहेका आयोजनाहरूमा कोभिड र लकडाउनका कारण निर्माण सामग्री तथा कामदारको अभावले काम रोकिँदा समय ढिला त भयो नै । समय बढेपछि आयोजनाको लागत पनि बढ्यो । त्यसको असर बिस्तारै देखिन्छ । केही परियोजनाहरू असार–साउनबाट थोरै मात्रामा भए पनि काम सुरु गरियो । अर्को पक्ष कोभिडपछि ब्याजदर तुलनात्मक रूपमा घट्यो । एक त नीतिगत रूपमै सरकारले राहत दियो भने अर्को ब्याजदर घटेका कारणले केही राहत भयो । समानान्तर रूपमा हेर्दा आयोजनाहरूमा जुन किसिमको असर पर्छ भनेर अनुमान गरिएको थियो, त्यो असर समग्रमा परेको छैन ।
आगामी दिनमा निफ्राले व्यवसाय विस्तारका लागि दुई प्रकारका बजार हेरेको छ । एकथरी व्यवसायीहरू जो आफैं परियोजनाको प्रस्ताव लिएर बैंकमा आउनुहुन्छ, त्यसमा जलविद्युत् क्षेत्रका धेरै हुनुहुन्छ । यसबाहेक टेलिकम, प्रविधि, पर्यटन र सेवामूलक क्षेत्रमा प्रस्ताव आउने गरेको छ । साधारण सेयर जारी गर्नुअघि सर्वसाधारणलाई पूर्वाधार विकास बैंकबारे त्यति धेरै थाहा थिएन । आईपीओले गर्दा बजारमा एक तहको मार्केटिङ भयो । आईपीओअघि बैंकबारे धेरैलाई थाहै थिएन । अहिले दिनहुँ दुई–तीन जना ग्राहकहरू आयोजनाको प्रस्ताव बोकेर बैंकमै आइपुग्नुहुन्छ ।
यो बैंकमार्फत ठूला परियोजनामा र पूर्वाधार विकासमा लगानी गर्नुपर्छ भन्ने सरकार र नियामक निकायको सोच हो । नत्र छुट्टै संस्थाको परिकल्पनाको अर्थ हुँदैन । अहिले हामीले आयोजनाको छनोट र संरचना निर्माणमा सार्वजनिक क्षेत्रको सहभागिता बढाउँदै लगेका छौं । यसमा औद्योगिक पूर्वाधार क्षेत्र निर्माणका लागि काम गरिरहेका छौं । सार्वजनिक निजी साझेदारीमा सडक पूर्वाधारमा नमुना लगानी गर्न खोजिरहेका छन् । आईटी, टेलिकम पूर्वाधारमा पनि जान खोजेका छौं । अर्को, हामीले सम्भावना देखेको जलविद्युत्को स्टोरेज प्रोजेक्ट हो, जुन सुक्खा मौसमका लागि आवश्यक छ । यसका लागि ठूलै लगानी आवश्यक हुन्छ । यसमा बैंकले पनि तत्परता लिनुपर्छ भनेर नै हामी काम गरिरहेका छौं । बैंकले पूर्ण रूपमा लगानी गर्ने होइन, सुरुवात गर्ने र यसमा बैंकको पनि सहभागी हुनुपर्छ भन्ने नै हो ।
कोभिडले हामीलाई सिकाएको पाठ स्वास्थ्य क्षेत्रमा लगानी बढाउन आवश्यक छ । यो काठमाडौंमा मात्र नभई देशैभरि आवश्यक छ । सातै प्रदेशमा ठूलो १ सय बेडभन्दा माथिको हस्पिटल पूर्वाधार लगानी गर्न सकिन्छ कि भनेर सार्वजनिक संस्था र तीनै तहका सरकारसँग छलफल अगाडि बढाएका छौं । कतिपय ठाउँमा त जग्गासमेत खोजिसकेका छौं, अब यसलाई संरचना कसरी गर्ने, जसले गर्दा त्यो आयोजना निजी क्षेत्रबाट बन्दा पनि चल्ने होस् भन्ने विषयमा छलफल गरिरहेका छौं । अर्को क्षेत्र भनेको हामीले ग्रामीण पूर्वाधार विकासका लागि भनेर नगरपालिकाहरूसँग छलफल भइरहेको छ । धेरै पूर्वाधारका विषयहरू जस्तै ढल तथा खानेपानी, सरसफाइ, स्मार्टसिटीजस्ता विषयमा स्याटेलाइट सिटीजस्ता विषयहरू छन् । पाँच–छवटा क्षेत्रमा एक–दुईवटा परियोजनाहरूलाई परीक्षणका रूपमा सुरु गर्ने भनेर हामी लागिरहेका छौं । जति निजी क्षेत्रसँग मिलेर आयोजनामा काम गर्न सकिन्छ, सार्वजनिक क्षेत्रको सहभागितामा काम गर्न सजिलो छैन, तर हामीले समानान्तर रूपमा लैजानुपर्छ ।

ठूला आयोजनामा लगानी गर्नकै लागि बैंकलाई एउटा आयोजनामा ३० करोडभन्दा कम ऋण प्रवाह गर्न नपाउने सिलिङ तोकिएको थियो । तर, तपाईंहरूले यसलाई घटाउन लबिङ गर्नुको कारण के हो ?
म सीईओका रूपमा काम गर्न थालेपछि राष्ट्र बैंकका उच्च अधिकारीलाई बैंकका बारेमा प्रस्तुतीकरण गरेको पनि थिएँ । जसमा किन सीमा घटाउने भन्ने विषयमा सहमत गराएरै नयाँ निर्देशन जारी भएको हो । हामीले काम गर्ने एउटा क्षेत्र सार्वजनिक पूर्वाधार निर्माण हो । जस्तो नगरपालिकाका फोहोरमैला व्यवस्थापनका प्रोजेक्ट ३०–३५ करोडको परियोजनामा हामीले गर्ने लगानी त १५–२० करोड होला, यो अवस्थामा हामीले कसरी लगानी गर्ने ? एकातिर सार्वजनिक निजी साझेदारीमा निजी क्षेत्र लगानी गर्न तयार तर सीमाका कारण हामीले लगानी गर्न पाइरहेका थिएनौं । राष्ट्र बैंकको नयाँ निर्देशनमा कृषि, स्वास्थ्य, ढल निकास, फोहोरमैला व्यवस्थापनका क्षेत्रमा स्थानीय सरकारका परियोजनामा सार्वजनिक निजी साझेदारी मोडलका आयोजनामा लगानी गर्न खोजेका हौं । हामीले कुनै एउटा निजी सिमेन्ट कम्पनीलाई १० करोड लगानी गर्न दिनुहोस् भनेर मागेका होइनौं ।
राष्ट्र बैंकमा छलफलका क्रममा किन सीमा घटाउनुप-यो भन्ने कुरा उठेको थियो । सार्वजनिक निजी साझेदारी आयोजना सानोबाट सिक्दै ठूलोमा जाने हो । साना आयोजना नै यस मोडलमा नआएपछि ठूलो आयोजनामा कसरी आउँछन् । यस विषयमा राष्ट्र बैंकका अधिकारीहरू पनि सहमत भएपछि नै निर्देशन आएको हो ।

बैंकको अधिकांश स्रोत बैंकहरूको मुद्दती निक्षेप थुप्रिएर बसेको छ । हालै मुद्दती निक्षेप राख्न पाउने समयावधि पनि थप भयो । बैंकले लगानी गर्न नसकेर यो सुविधा खोजेको हो ?
कुनै पनि ठूलो आयोजनामा ऋण सम्झौता भएपछि पनि लगानी हुनका लागि केही समय लाग्छ । आज कुनै आयोजनाका लागि ऋण लगानी सम्झौता भयो भने मैले दायित्व लिएँ । उसले लगानी गर्नुपर्ने पुँजी लगानी गरेपछि बैंकको स्रोत उपयोग गर्ने हो । बैंकले सम्झौता गरेपछि स्रोत त रहनैप¥यो । स्रोतलाई बैंकले तरलताका रूपमा राखेर सम्झौताअनुसार लगानी गर्दै जाने हो । कोभिडलगायतका विभिन्न कारणले सम्झौताअनुसार लगानी नभएको हो । चार वर्षको लगानी सम्झौता गरिएको छ भने त्यसमा अर्को एक डेढ वर्ष ढिला भइरहेको हुन सक्छ । त्यो पुँजीलाई मैले मुद्दती निक्षेपमा नराखी राष्ट्र बैंकमा मात्र थन्क्याउने हो भने पैसाको मूल्यहीन भयो । अब आईपीओमार्फत उठेको रकम पनि फिक्समै जान्छ । बैंकले मुद्दती निक्षेपमा राख्दा पनि बजारमा पैसा त गएको छ नि । बैंकले १२ अर्बका लागि पाइपलाइनका आयोजनासँग छलफल गरेको छ । ११ अर्बको सम्झौता भइसक्यो । अब समानान्तर रूपमा फन्ड पनि बढाउँदै जाने, लगानी पनि गर्दै जाने हो । यो नै पूर्वाधार लगानीको चक्र हो । एउटा चक्र पूरा भएपछि हाम्रो फन्डलाई मुद्दती निक्षेपमा थन्क्याएर राख्नु पर्दैन ।

सुरुमा दिएको दुई वर्षको समयमा किन काम गर्न सक्नु भएन त ?
पछिल्लो एक वर्ष कोभिडका कारण काम गर्न सकेनौं । पहिलो वर्ष नीतिगत व्यवस्था गर्दैमा समय गयो । संस्था जन्मिनेबित्तिकै दौडन सक्दैन । धेरै नीतिगत व्यवस्थाहरू गर्नप-यो । कोभिडले गर्दा जुन अपेक्षाअनुसार अघि बढ्न सकिएन । त्यसैले हामीले राष्ट्र बैंकमा सहुलियत माग्दा पनि पनि थप दुई वर्षका लागि मात्र माग्यौं । अब अरू कुनै समस्या आएन भने दुई वर्षपछि मुद्दतीमा निक्षेप थन्क्याएर बस्नुपर्ने अवस्थामा हुँदैनौं ।

बैंकले लगानीका लागि स्रोत कसरी जुटाउँदै छ ?
पूर्वाधार विकास बैंकलाई लामो अवधिको स्रोत आवश्यक हुन्छ । त्यसका लागि लामो अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय बन्ड जारी गर्दै छौं । टिपल्ल ए रेटिङ प्राप्त, लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने गरी ग्रिन बन्ड जारी गर्दैछौं । अर्को ५ अर्बको स्थानीय बन्ड पनि जारी गर्दै छौं । यसका लागि अन्तिम स्वीकृतिका लागि पर्खेर बसेका छौं । कोषको लागत उच्च भए पनि, एकैपटक सातौं खुड्किला चढ्छु भनेर हुँदैन, एकदुई¬–तीनचार गरेर नै अघि बढ्ने हो । पूर्वाधार विकासमा धेरै अघि बढेका देशहरूले पनि सुरुमा बन्ड नबिकेर धेरै वर्ष लागेको थियो । सुरुमा महँगोमा बन्ड जारी गरेका थिए । विस्तारै उनीहरूको विश्वसनीयता बढ्दै गयो । मूल्य पनि घट्दै गयो ।

अहिलेसम्म देशको रेटिङ पनि भएको छैन । यो अवस्थामा अन्तर्राष्ट्रिय बजारबाट पुँजी ल्याउन के–कस्तो समस्या छ ?
देशको रेटिङका लागि अर्थले काम गरिरहेको छ । तर, मुख्य समस्या हामीसँग बास्केट अफ प्रोजेक्ट छैन । बैंकमा राख्नका लागि फन्ड ल्याउने त हैन । जस्तै, ग्रिन बन्ड नै भनौं, ग्रिन इनर्जीको बास्केट हुनुप¥यो । पर्यटनको बन्ड जारी गर्नका लागि पर्यटनका आयोजना नै हुनुप¥यो नि । अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि नेपाल नयाँ ठाउँ भएकाले उनीहरू कस्ट्रक्सन जोखिम लिन चाहँदैनन् । उनीहरू रेडी डु गो प्रोजेक्टको अपेक्षा गर्छन् । हामीले हामी मात्र हेरिरा’छौं, उनीहरूका लागि त अन्तर्राष्ट्रिय बजार खुला छ । पूर्वाधार क्षेत्रका लागि सबै देशमा लगानी आवश्यक छ । त्यसैले बास्केट अफ प्रोजेक्ट, अन्तर्राष्ट्रिय स्तरका मापदण्ड पूरा गरी ‘रेडी टु गो अवस्थामा हुनुपर्छ । फन्ड र हाम्रो आयोजनाको आवश्यकता मिलिरहेको छैन । हेजिङ र करेन्सी रिक्सका कारण पुँजीको लागत बढिरहेकै छ, जसका कारण विदेशी पुँजी ल्याएर यहाँ लगानी गर्न जोखिम नै छ ।

अन्तर्राष्ट्रिय लगानीकर्ताको नजरमा हाम्रो बजारको विश्वसनीयता कस्तो पाउनुहुन्छ ?
हाम्रो फिजिबल मार्केट हो । अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आफ्नो देश छोडेर अर्को देशमा लगानी गर्नका लागि कि त ठूलो बजार हुनुप¥यो कि त्यहाँको स्रोतसाधन अत्यधिक हुनुप-यो या क्षेत्रीय बजार हुनुप¥यो । हाम्रो बजार वा क्षेत्रीय बजार ठूलो होइन । तर हाइड्रो, पर्यटनमा स्रोतसाधन राम्रो भएकाले हामीकहाँ आउने लगानी यही क्षेत्रमा हो । अहिले सेवामूलक व्यवसायमा स–सानो लगानी आउनुको कारण भनेको त्यसका लागि हाम्रो बजार उपयुक्त छ भन्ने नै हो ।

पूर्वाधार विकासका आयोजना सरकार या दातृ निकायले बनाउने हो भन्ने बुझाइ भएको देशमा बैंकबाट ऋण लिएर पूर्वाधार बनाउने मोडल सफल होला र ?
बैंकको उद्देश्य पनि यही हो । सबै आयोजना सरकारकै कोषबाट बनाउन स्रोत पुग्दैन । उसले पनि विभिन्न ठाउँबाट सहयोग लिइरहेको अवस्था छ । कमर्सियल ब्लेडिङ (मिश्रित) भन्छौं । निजी क्षेत्रसँग स्रोतसाधन छ, तर त्यो निश्चित क्षेत्रमा जान सक्ने अवस्था छैन । प्रोजेक्ट फिजिबल छैन । कमर्सियल बेन्डी हुन सक्यो भने ५० प्रतिशत सरकारको बजेटबाट, ५० प्रतिशत आयोजनाको आयसँग जोडेर लगानी गर्न सक्छ । सडक आयोजना, सञ्चालन र मर्मतसम्भारका लागिसमेत यो मोडलमा आयोजना राम्रो हुन्छ । आयोजनाहरूमा केही विषयहरूका ब्लेन्डेड फाइनान्स गर्न सकिन्छ ।
नेपालजस्तो देशलाई सजिलो भनेको अन्तर्राष्ट्रिय रूपमा सफल भएको मोडललाई आफूअनुकूल प्रयोग गर्न सक्छौं । अहिले पूर्ण रूपमा सरकारले लगानी गरेको आयोजनामा राजस्व आयको सम्भाव्यता छ भने १०–१५ प्रतिशत ब्लेन्ड गर्न सकिन्छ । सरकारको पनि सजिलो भयो, प्रोजेक्टको पाइपलाइन पनि राम्रो हुन्छ ।
नर्थ साउथ कोरिडोर २२० केभी प्रसारणलाइनजस्ता आयोजनामा व्यापारिक रूपमै लगानी गर्न सम्भाव्य छन् । सरकारले त्यसमा पूर्ण लगानी गर्न पर्दैन । सरकारले निजी क्षेत्रले गर्दा प्रोजेक्ट नै असफल भयो भने म जिम्मेवारी लिन्छु भने पुग्छ । सरकारले इम्पिसिट एरेन्जमेन्ट मात्र गरिदिने हो भने कस्ट अफ फन्ड पनि कम हुन्छ । सुरुमै आयोजना असफल हुन्छ भनेर जाने होइन । हामीले फास्ट ट्र्याकमा पनि गरेको इम्पिसिट ग्यारेन्टी मात्र हो । जुन देशमा धेरै सार्वजनिक पूर्वाधार निर्माण भएको छ त्यहाँ सरकारको इम्पिसिट नै महत्वपूर्ण हुन्छ ।

पूर्वाधार निर्माणको जिम्मेवारी सरकारकै हो भन्ने पनि बुझाइ छ नि ?
सरकारसँग नै समन्वयमा जाने हो । फरक–फरक निकायलाई यसबारेमा बुझाइरहेका छौं । अर्थमन्त्रालय आफैंले कमर्सियल ब्लेडेड गराउन सक्छ । जस्तो कुनै मन्त्रालयले कुनै आयोजनाका लागि बजेट माग गर्दा अर्थले यो लागतमध्ये केही प्रतिशत ब्लेडिङमा जाऊ, भएन भने मात्र म पूरा बजेट दिन्छु भन्न सक्छ नि । कुनै पूर्वाधार एकैपटक पूर्ण रूपमा निजी क्षेत्रबाट बन्छ भन्नेमा हामीलाई पनि विश्वास छैन ।

यसमा स्थानीय तहहरूबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
कतिपय नगरपालिकाका नेतृत्व सक्रिय हुनुहुन्छ । उनीहरूमा विकासको भोक छ । कतिपय नगरपालिकाको मेयर आफंै पनि बैंकमा आउनुभएको छ । कतिपय नगरपालिकाले कसरी लगानी जुटाउन सकिन्छ भने सल्लाह लिन आउनुहुन्छ । केही पालिकाहरूका प्रोजेक्टसँग सम्झौता पनि हुँदैछ । हामी तीनै तहका सरकारसँग काम गरिरहेका छौं ।

ठूला आयोजनाहरूमा बैंकहरूले करोडौं लगानी गरेका छन् । तर ती आयोजनाको संस्थागत सुशासनका कारण बैंकहरूको लगानी पनि जोखिममा परिरहेको छ । यसबारेमा बैंकले के गर्दैछ ?
हामीले आयोजनाको छनोटदेखि त्यसको अनुगमन गर्नेसम्मको एउटा टिम बनाएर काम गरिरहेका छौं । एउटा रेगुलर को–अर्निनेसन गर्ने टिम, अर्को विज्ञ समूहको टिम र अर्को उच्च प्राविधिक ज्ञान भएको टिम बनाएर तीन तहमा काम गरिरहेका छौं । यसबाट बैंक र सम्बन्धित आयोजना सबैलाई फाइदा हुन्छ । अहिले बैंकहरूलाई ठूलो लगानी गरेका हाइड्रो, सिमेन्ट, पर्यटनमा लगानी कसरी प्रयोग भइरहेको छ, यसको गुणस्तर कस्तो छ भन्ने थाहा छैन, जबकि ती आयोजनामा लगानी त ८० प्रतिशतसम्म बैंककै छ । त्यसैले हाम्रो लगानी भएका आयोजनामा समस्या नहोस् भनेर आयोजनाको अनुगमन गर्न सकिने गरी हामी प्राविधिक क्षमतासमेतसँगै विकास गर्दैछौं ।

नेपालका बैंक तथा वित्तीय संस्थासँग छोटो अवधिको स्रोत भएकाले ठूला र दीर्घकालीन प्रकृतिका आयोजनाहरूले छिटोछिटो परिवर्तन हुने ब्याजदरको जोखिम बेहोरिरहेका छन् । ब्याजदरसम्बन्धी समस्यालाई बैंकले कसरी व्यवस्थापन गर्छ ?
हाम्रो मुख्य उद्देश्य नै आयोजनाहरूको ब्याजदर जोखिमलाई कम गर्ने नै हो । अहिले नै निश्चित ब्याजदरमा अफर गरिरहेका छौं । हामीले पनि लामो अवधिको स्रोत खोज्ने हो । बैंकको सञ्चालन लागत कम छ, स्प्रेड धेरै राख्नुपरेको छैन । राष्ट्र बैंकले ३ प्रतिशत भनेको छ, प्रोजेक्ट हेरेर त्योभन्दा कम स्प्रेडमा लगानी गर्न सक्छौं ।

हालै आईपीओ जारी भएपछि धेरै लगानीकर्ता भएको पब्लिक कम्पनी बनेको छ । लगानीकर्ताको प्रतिफलको अपेक्षालाई कसरी सम्बोधन गर्नुहुन्छ ?
बैंकको उद्देश्य र प्रकृतिअनुसार लामो अवधिको स्रोत लामो अवधिको आयोजनामा गर्ने भएकाले प्रतिफल समय लाग्छ । पूर्वाधार विकासका आयोजनामा बैंकले गर्ने लगानीबाट अप्रत्यक्ष रूपमा तिनै लगानीकर्ता लाभान्वित हुन्छन् नै । अर्कातर्फ अहिले पनि केही न केही आम्दानी त भइरहेकै छ । त्यसैले लगानीकर्ताहरू रित्तो हात हुनुपर्ने अवस्था हुँदैन ।


विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक शाक्यद्वारा पदबहाली

https://www.karobardaily.com/news/129036

 फाल्गुन ३, २०७७ सोमबार

बिजुली बजार खोज्ने काम प्रमुख प्राथमिकता’

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् । गत २६ कात्तिकदेखि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका उनलाई मन्त्रिपरिषद्को गत माघ २६ गतेको बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेपछि आइतबार उनले पदबहाली गरेका हुन् । उनी कार्यकारी निर्देशकको रुपमा पदबहाली गर्ने १७ औं व्यक्ति हुन् ।
पदबहालीपछि आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण तथा विस्तार र मुलुकभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि बजार खोज्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताए । “आगामी चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत पाँच सय युनिट पु¥याउने, संस्थागत विकास योजनालाई अध्यावधीक गरी कार्यान्वयन गर्ने, निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माण सम्पन्न गर्ने र दूधकोसी, माथिल्लो अरुणजस्ता रुपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाइने छ” उनले भने, “विद्युत् चुहावट नियन्त्रण, विश्वसनीय विद्युत् वितरण प्रणालीका लागि प्रणालीको सुदृणीकरण तथा विस्तारका कामहरु प्राथमिकताका साथ अगाडि बढ्ने छन् ।”
‘लेऊ या तिर’ (टेक अर पे) को सर्त राखी विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरिएका जलविद्युत् आयोजनाको वर्खाको विद्युत् बिक्री चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले आन्तरिक रुपमा खपत बढाउने र बढी भएको विद्युत् बिक्रीका लागि छिमेकी मुलुकसँगको व्यापार आफ्नो उच्च प्राथमिकता रहेको बताए । “विद्युत् आपूर्तिका लागि पर्याप्त विद्युत् छ, पुरानो संरचना बदल्न तथा नयाँ सुरु गर्न एकातर्फ स्रोतको अभाव छ भने अर्कोतर्फ स्थानीयको अवरोधले चुनौती थपिदिएको छ, यस्ता चुनौतीलाई समाना गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत प्रणालीलाई अत्याधुनिक तथा स्वचालित बनाइने छ ।” उनले भने ।
कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले आन्तरिम रुपमा खपत गरेर बढी भएको विद्युत्को बिक्री व्यवस्थापन नै प्राधिकरणका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताए । “विश्वसनीय विद्युत् आपूर्ति, चुहावट नियन्त्रण, मुलुकलाई पूर्ण रुपमा विद्युत्ीकरण गर्नु पनि चुनौतीपूर्ण देखिएको छ” उनले भने, “यस्ता चुनौतीको सामना गर्न कार्ययोजनाका साथ अगाडि बढ्नु पर्छ ।”

Tuesday, February 9, 2021

स्थिर सरकारले तेस्रो वर्ष पनि घटायो बजेटको आकार

https://www.karobardaily.com/news/128610

 माघ २८, २०७७ बुधबार

बजेट मध्यावधि समीक्षा
सरकारले चालू आर्थिक वर्ष (२०७७-७८) को अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्दै १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेटको आकार १ खर्ब ३० अर्बले घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोडमा झारेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान गरिएको र सो रकम कुल विनियोजनको ९१.१९ प्रतिशत रहेको जानकारी दिए । उनले प्रतिनिधिसभा सदस्य निर्वाचन खर्च, कोभिड–१९ विरुद्धको खोप खर्च, अनिवार्य दायित्व, पूर्वसहमति दिइएका ठूला आयोजनाको सम्भावित दायित्वलाई मध्यनजार गरी अनुमान गरिएको जानकारी दिए ।
२०७४ मा प्रतिनिधि सभाको निर्वाचन भएसँगै मुलुकमा आएको स्थिर सरकारले बजेटको आकार घटाएको यो तेस्रोपटक हो । आर्थिक वर्ष २०७५-७६ र २०७६-७७ मा समेत सरकारले यसैगरी बजेटको आकार घटाएको थियो । चालू वर्षमा कोभिडको कारणको प्रभाव रहे पनि अघिल्लो वर्षमा भने यस्तो ठूलो समस्या पनि थिएन । यसले बजेट निर्माणकै क्रममा समस्या रहेको देखाएको छ । अर्थ मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०७६-०७७ मा लक्ष्यअनुसार खर्च गर्न नसक्ने भएपछि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लखको बजेटको अकार घटाएर १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँ कायम गरेको थियो । त्यतिबेला कुल बिनियोजित बजेटको १०.४ प्रतिशत घटाइएको थियो ।
आर्थिक वर्ष ०७५-७६ को १३ खर्ब १५ अर्ब बजेट रहेकोमा संशोधन गरी ११ खर्ब ९९ अर्ब झारिएको थियो । यो बजेटको कुल विनियोजित रकमको ९१.२ प्रतिशत हो । चालू वर्षको संशोधित अनुमानअनुसार चालू खर्च ९ खर्ब १४ अर्ब अर्थात कूल विनियोजित बजेटको ९६.४० प्रतिशत, पुँजीगत खर्च २ खर्ब ८३ अर्ब अर्थात कूल बजेटको ८०.२० र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ अर्थात कूल विनियोजनको ८५ प्रतिशत कायम गरी शंसोधन गरेको छ । मन्त्रालयले राजस्व र आन्तरिक ऋणमार्फत १० खर्ब ७४ अर्ब, विदेशी अनुदानबाट ३५ अर्ब, वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब उठाइने लक्ष्य राखेको छ । अर्थमन्त्री पौडेलले अर्थतन्त्र चलायमान भएसँगै पुरानो लयमा फर्कन लागेको बताए । अर्थसचिव शिशिरकुमार ढुंगानाले सरकारले अनुत्पादक खर्च कटौती गरेर चुनावी खर्च जोहो गर्ने गरी अघि बढेको बताए ।
आर्थिक वर्ष २०७६-७७ मा सुरुमा चालूतर्फको बजेट ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा शंसोधन गरेर बजेट ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख रुपैयाँ कायम गरिएको थियो भने सुरुमा पुँजीगततर्फको बजेट ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ बजेट १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको थियो तर शंसोधन गरी पुँजीगततर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५४ अर्ब ५९ करोड १ लाख रुपैयाँ कायम गरिएको छ ।
आर्थिक वर्ष २०७५-७६ मा भने चालूतर्फ ८ खर्ब ४५ अर्ब रुपैयाँ विनियोजन भएकोमा यसलाई घटाएर सात खर्ब ९८ अर्ब रुपैयाँ र पुँजीगत खर्चतर्फ विनियोजित तीन खर्ब १३ अर्ब रुपैयाँमध्ये दुई खर्ब ६५ अर्ब रुपैयाँ मात्र खर्च हुने संशोधन गरिएको थियो ।

निर्वाचन आयोगलाई सात अर्ब
अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई सात अर्ब रुपैयाँ उपलब्ध गराउने सुनिश्चितता दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चितता गरिएको जानकारी दिए । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ मा निर्वाचन गर्ने घोषणा गरेका थिए । यद्यपि संसद् विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ ।

Monday, February 8, 2021

दिगो विकासका अधिकांश लक्ष्यमा नेपाललाई सफलता

https://www.karobardaily.com/news/128430 

माघ २६, २०७७ सोमबार

हजार मेगावाट विद्युत् उत्पादन कम, खपत भने बढ्यो
सरकारले प्रतिवद्धता जनाएको दिगो विकास लक्ष्य (एसडीजी) मा नेपाल सरकारले सफलता प्राप्त गरेको हो । सन् २०१५ मा संयुक्त राष्ट्र संघले साझा एजेण्डा बनाएर विश्वमै सुरु गरेका १७ लक्ष्यमध्ये नेपालका लागि उपयोगी १६ लक्ष्यमध्ये ११ लक्ष्यमा सफलता प्राप्त गरेको हो । पाँच लक्ष्यमा भने सफलता हासिल गर्न सकेन ।
दिगो विकास लक्ष्य प्रगति समीक्षा २०१६–२०१९ प्रतिवेदन र दिगो विकास लक्ष्य स्थानीयकरण स्रोत पुस्तिका २०२० अनुसार, स्वस्थ र समृद्ध जीवन, गुणस्तरीय शिक्षा, खानेपानी र सरसफाई, उद्योग प्रवद्र्धन र पूर्वाधार र लक्ष्यमा साझेदारीमा लक्ष्य हासिल गर्न सकेन । उद्योग प्रवद्र्धन र पूर्वाधारमध्ये उद्योग प्रवद्र्धनमा भने लक्ष्य हासिल गरेको छ ।
आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा दिगो विकास लक्ष्य कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष डा पुष्पराज कँडेल र राष्ट्रिय सभाको विधायन समितिका सदस्य डा. बिमला राई पौड्यालले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार स्वच्छ ऊर्जातर्फ विद्युत् खपत प्रतिव्यक्ति सन् २०१५ मा ८० युनिट रहेकोमा २३० युनिट पु-याउने लक्ष्य राखिएको थियो भने २६० युनिट पुगेको छ तर जलविद्युत्को जडित क्षमता ७८२ मेगावाटबाट २३ सय १ मेगावाटको लक्ष्य राखेकोमा १२ सय ५० मेगावाट मात्र पुगेको छ । झण्डै एक हजार मेगावाट कम विद्युत् उत्पादन भएको तथ्यांकले देखाएको छ । तथ्यांकले विद्युत्को पहुँच ८८ प्रतिशमात पुगेको, खाना पकाउन र कोठा तातो राख्नका लागि एलपी ग्याँस प्रयोग गर्ने जनसंख्या १८ प्रतिशतबाट २६.६ प्रतिशत पुगेको तथा कूल अन्तिम ऊर्जा खपतमा नवीकरणीय ऊर्जाको हिस्सता ११.९ प्रतिशतबाट २२.१ प्रतिशत पु¥याउने लक्ष्य राखेकोमा ५ प्रतिशतमा झरेको देखाएको छ ।
यसैगरी मर्यादित काम र आर्थिक वृद्धितर्फ प्रतिव्यक्ति वास्तविक कूल गार्हस्थ्य उत्पादन वृद्धिदर सन् २०१५ मा २.३ प्रतिशत रहेकोमा सन् २०१९ मा ३.६ प्रतिशत पु-याउने लक्ष्य राखेकोमा ५.६ प्रतिशत पुगेको छ भने प्रति व्यक्ति जीडीपी दर पनि १.६ प्रतिशतबाट ७ प्रतिशत पुगेको छ । वृद्धि बेरोजगारी दर प्रतिशत १५ देखि ५९ बर्ष उमेका २७.८ प्रतिशत रहेकोमा २३.१ प्रतिशतमा झार्ने लक्ष्य राखेकोमा अझै घटेर १९.६ प्रतिशत भएको छ भने पर्यटन क्षेत्रबाट जीडीपीमा पुगेको योगदान २.६ प्रतिशतबाट ४ प्रतिशत पु-याउने लक्ष्य राखेकोमा २.७ प्रतिशतमा सीमित हुन पुगेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीका अनुसार, उद्योग प्रवद्र्धन र पूर्वाधारमार्फत जीडीपीमा उद्योग क्षेत्रको हिस्सा १५ प्रतिशत रहेकोमा त्यसलाई १७.७ प्रतिशत पु-याउने लक्ष्य राखेकोमा १४.४७ प्रतिशत मात्र हासिल भएको छ भने ठूला उद्योगहरूको कूल रोजगारीमा दिएको अनुपात ६.६६ प्रतिशतबाट ८.३ प्रतिशत पु¥याउने लक्ष्य राखेकोमा बढेर १५.१ प्रतिशत पुगेको छ । मोबाइल नेटवर्कमा समेटिएको जनसंख्या ९४.५ प्रतिशत रहेकोमा ९६ प्रतिशत लक्ष्य राखेकोमा बढेर १३७.५५ प्रतिशत पुगेको छ । सडक घनत्व किलोमिट ०.५५ प्रतिशत रहेकोमा १.३ प्रतिशत लक्ष्य राखेमा ०.६३ प्रतिशत मात्र भएको छ । कूल उपभोगमा तल्लो ४० प्रतिशतको हिस्सा १८.७ प्रतिशत रहेकोमा १७.४ प्रतिशत झार्ने लक्ष्य राखिएकोेमा वृद्धि भई २५.७ प्रतिशत पुगेको छ भने कूल आयमा तल्लो ४० प्रतिशत जनसंख्याको हिस्सा ११.९ प्रतिशत रहेकोमा १३.६ प्रतिशतको लक्ष्यमा २०.४ प्रतिशत पुगेको छ । कूल ऊर्जा फोसिल फ्यूलको खपत गर्ने प्रतिशत १२.५ प्रतिशत रहेकोमा १३.२ पु-याउने लक्ष्य राखिएकोमा १५.५ प्रतिशत पुगेको छ । भ्रष्टाचारका बारेमा विगत १२ महिनाको जनधारणाको अंक सन् २०१५ मा २९ प्रतिशत रहेकोमा २१ प्रतिशतमा झार्ने लक्ष्य राखिएको थियो तर घटेर १० प्रतिशतमा झरेको छ ।
जीडीपीमा सन् २०१५ मा कूल सरकारी राजस्वको प्रतिशत १९.१ रहेकोमो २२ प्रतिशत लक्ष्य लक्ष्यमा वृद्धि २४.८ प्रतिशत पुगेको छ भने कूल बजेटको आधिकारिक विकास सहायता १५.१ प्रतिशत रहेकोमा १५.८ प्रतिशत पु-याउने लक्ष्य राखिएको छ तर ११.२ प्रतिशत हासिल भएको छ भने जीडीपी अनुपातमा प्रत्यक्ष वैदेशिक लगानी ४.८ प्रतिशत रहेको र लक्ष्यमा ७.३ प्रतिशत रहेकोमा ६.२ प्रतिशत मात्र छ ।
गरिबी अन्त्यतर्फ सन् २०१५ मा ३६ प्रतिशत रहेकोमा सन् २०१९ सम्म २८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेकोमा १५ प्रतिशतमा झरेको छ भने २०१५ मा बहुआयमिक गरिबीतर्फ ४४.२ प्रतिशत रहेकोमा ३५.२ प्रतिशत झाने लक्ष्य लक्ष्यमा २८.६ प्रतिशत छ । त्यसैगरी सामाजिक सुरक्षा बजेट खर्च ११ प्रतिशत रहेकोमा १२.१ प्रतिशत पु¥याउन लक्ष्य राखे पनि ११.७ प्रतिशत मात्र हासिल भएको छ ।
भोकमरी तथा कुपोषणको अन्त्य अन्र्तगत पाँच वर्षमुनिका कम तौल हुने बच्चाहरूको प्रतिशत सन् २०१५ मा ३०.१ प्रतिशत रहेकोमा सन् २०१९ मा २० प्रतिशत झार्ने लक्ष्य राखेकोमा अझै २४.३ प्रतिशत रहेको देखाएको छ । त्यसैगरी प्रजनन उमेर समूहका महिलाहरूमा रक्त अल्पताको स्थिति ३५ प्रतिशत रहेकोमा २६ प्रतिशत झार्ने लक्ष्य रहेकोमा बढेर ४०.८ प्रतिशत पुगेको छ । ५ बर्ष मुनिका बालबालिकाहरूमा रक्त अल्पताको स्थितीतर्फ भने ४६ प्रतिशतबाट ३३ प्रतिशत झार्ने लक्ष्य राखेमा ५२.७ प्रतिशत पुगेको छ ।
त्यसैगरी स्वस्थ र समृद्ध जीवनर्फत प्रति लाखमा सन् २०१५ मा २५८ रहेकोमा १ सय २५ झार्ने लक्ष्य राखेकोमा २३९ पुगेको छ । त्यसैगरी पाँच बर्ष मुनिका बाल मृत्युदर प्रति हजारमा ३८ रहेकोमा सन् २०१९ मा २८ रहेकोमा २८ नै प्रगति भएको छ । नवजात शिशु मृत्युदरतर्फ प्रति हजार २३ रहेकोमा १६ मा आएको छ । सन् २०१९ सम्मको लक्ष्य भने १८ थियो ।
गुणस्तरीय शिक्षातर्फ प्राथमिक तहको खुद भर्ना दर ८६.६ प्रतिशत रहेकोमा ९८ प्रतिशत पु¥याउने लक्ष्य राखेकोमा ९७.२ प्रतिशत मात्र भएको छ । प्राविधिक र व्यवसायिक क्षेत्रमा तालिम प्राप्त जनसंख्या २५ प्रतिशतबाट ३८ प्रतिशत पु¥याउने लक्ष्य राखेकोमा ३१ प्रतिशत मात्र प्रगति हासिल भएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै उपाध्यक्ष कँडेल सन् २०१९ सम्मको प्रगति मिश्रित रहेको र बाँकी लक्ष्य हासिल गर्न नेपाल सरकारले सम्पूर्ण समाज अवधारणा अनुरूप सबै क्षेत्रको स्वामित्वमा यसलाई कार्यान्वयन गर्ने बताए । बिधायन समितिका सदस्य डा. बिमला राई पौड्यालले एसडीजी हासिल गर्नका लागि सबैको सहकार्य हुनुपर्ने बताइन् ।
राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी लगायतले नेपालले सन् २०१६ देखि २०१९ सम्ममा दिगो विकास लक्ष्य कार्यान्वयनका क्रममा लागू गरेका नीति, रणनीति तथा कार्यक्रमहरूबारे चर्चा गरेका थिए ।

Thursday, February 4, 2021

निर्वाचन खर्च ३५ अर्ब हुने अनुमान

https://www.karobardaily.com/news/128137

 माघ २२, २०७७ बिहीबार

निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि तत्काल ७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ निकासाका लागि माग गरेको छ । वैशाख १७ र २७ गतेका लागि निर्धारित निर्वाचन कार्यक्रमका लागि आयोगले यो रकम माग गरेको हो । अर्थविद् तथा जानकारहरूका अनुसार यसपटकको निर्वाचनका लागि कूल ३५ अर्बसम्म खर्च हुने देखिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७७ अनुसार निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने बताउँदै आयोगले बुधबार अर्थ मन्त्रालयसँग तत्काल सात अर्ब माग गरेको हो । आयोगले यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि निर्वाचन र यसमा लाग्ने खर्चबारे छलफल गरेको थियो । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचनका लागि आवश्यक ७ अर्ब ७ करोड ९४ लाख बराबरको रकम निकासाका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको जानकारी दिए । “यो रकम चुनावी प्रयोजनका लागि मात्र हो, यसमा सुरक्षातर्फको छैन,” उनले भने । आयोगले विगत निर्वाचनमा प्रयोग भएर हाल मौज्दातमा रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधनहरू मर्मत गरी प्रयोग गरिने भएकोले नयाँ सामग्री, उपकरण र सवारीसाधन खरिद गर्ने गरी बजेट नमागिएको जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि करिब १० अर्ब रकम आवश्यक पर्ने अनुमान गरिएको छ, तर यसबारे टुंगो लागिसकेको छैन । गृह मन्त्रालयका सह–सचिव चक्रबहादुर बूढाले निर्वाचनमा लाग्ने खर्चबारे छलफल भइरहेको बताए ।
आयोगले भने महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नुपरेको हुँदा विगतका निर्वाचनमा भएको खर्चभन्दा मितव्ययी हुनेगरी कोभिडको आवश्यक स्वास्थ्य सतर्कता समेतलाई ध्यान दिई निर्वाचन सञ्चालन कार्यविधि तयार गरिएको जनाएको छ । आयोगका अनुसार कोभिड १९ को कारण आवश्यक सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार बजेट प्रस्ताव गरिएको छ ।
२०७४ मा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि सुरक्षासहित २० अर्ब रुपैयाँ खर्च भएको थियो । एकिन तथ्यांक नभए पनि त्यो बेला उम्मेदवारहरूले ५० अर्बभन्दा बढी खर्च गरेको अनुमान गरिएको थियो । २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा ७ अर्ब ५० करोड खर्च भएको थियो २०५६ को संसदीय चुनावमा २ अर्ब ७५ करोड खर्च भएको थियो । अर्थविद् डा. चन्द्रमणि अधिकारी आगामी चुनावमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३० अर्बभन्दा बढी खर्च हुने र यसले मूल्यवृद्धि बढ्नुका साथै स्वास्थ्य सेवा र विकास निर्माण प्रभावित हुने बताउँछन् । “निर्वाचन आयोगले मागेकोले मात्र पुग्दैन, अहिले ७ अर्ब मागेको छ, पछि कम्तीमा १०-१५ प्रतिशत थपिन्छ, सुरक्षा निकाय, इन्धन लगायतका साथै अनय सरकारी निकायबाट हुने खर्च गरी ३० देखि ३५ अर्ब हाराहारीमा खर्च हुन्छ,” उनी भन्छन्, “यसले एकातिर मुल्यवृद्धि हुन्छ भने अर्कोतिर चुनावका लागि आवश्यक रकम जुटाउनका लागि विकास खर्चमा कटौती हुन्छ, कोभिडविरुद्धको खोप ल्याउन पनि यसले प्रभावित पार्छ, निर्वाचनको कारण सरकार स्रोत व्यवस्थापनको दबाबमा देखिन्छ ।” उनका अनुसार, पार्टी र उम्मेदवारहरूले गर्ने खर्च अर्को २० अर्बभन्दा बढी हुने तथा समग्रमा चुनावमा ५० अर्बभन्दा बढीको खर्चमध्ये ७० प्रतिशतभन्दा बढी निर्वाचन सामग्री, खाद्यान्न, इन्धन लगायत आयातमा विदेशिनेछ ।
२०७४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष नपुग्दै संसद् विघठन गरेर चुनाव घोषणा गरेका थिए । यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाबारे अहिले बहस भइरहेको छ । संसद् पुनस्र्थापना भएमा भने तत्काल चुनाव हुनेछैन ।

Tuesday, February 2, 2021

वर्षामा १५ अर्बको ६ सय मेगावाट बिजुली खेर जाँदै

https://www.karobardaily.com/news/128062

 माघ २१, २०७७ बुधबार

नेपाल विद्युत् प्राधिकरणले चालू वर्ष २०७७-७८ भित्र ८२५ मेगावाट विद्युत् थप हुने प्रक्षेपण गरेको छ । विद्युत् प्राधिकरणले चालू वर्षभित्र एक हजार मेगावाट थप हुने लक्ष्य राखेकोमा यसमा पुनर्विचार गर्दै २३ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर यति धेरै क्षमता बढ्ने प्रक्षेपण गरेको हो ।
विद्युत् प्राधिकरणकै तथ्यांकलाई हेर्ने हो भने हाल १३ सय ६० मेगावाट क्षमता रहेकोमा चालू वर्षभित्र उत्पादन थपिएर २३ सय मेगावाट पुग्नेछ तर प्राधिकरणकै प्रक्षेपणअनुसार माग भने बढीमा १५ सय ५० मेगावाटको हाराहारीमा मात्र हुनेछ । आगामी वर्षा सिजनमा प्राधिकरणकै माग र आपूर्तिको अवस्थालाई हेर्ने हो भने १ सय ६ सय मेगावाटको कुलेखानी जलाशयबाहेकलाई विश्लेषण गर्दा पनि ६ सय मेगावाट खेर जाने अवस्था सिर्जना भएको छ । तर, प्राधिकरणले भने ५ सय ५० मेगावाटसम्म खेर जानसक्ने आकलन गरेको छ ।
प्राधिकरणले वर्षाको रात्रिकालिन समयमा २ सयदेखि २ सय ५० मेगावाटसम्म बिजुली खेर गएको उल्लेख गरेको थियो । अहिले हिउँदमा भारतबाट ६ सय मेगावाटको हाराहारीमा आयात गरिरहेको विद्युत् प्राधिरकरणले भने आगामी वर्षाको रातिको समयमा भने खेर फाल्नुपर्ने अवस्था सिर्जना भएको छ । तत्काल बिजुली व्यापारका विशेष पहल नभए र प्रक्षेपणअनुसार उत्पादन र माग भएमा यस्तो अवस्था आउने देखिएको हो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चालू वर्षमा कति बिजुली उत्पादन हुन्छ भन्ने एकिन नभएकोले बजारको खोजीमा प्राधिकरण अलमलमा परेको बताउँछन् । “चालू वर्षको ६ महिनामा ३० मेगावाट मात्र उत्पादन भएको छ, ७ सय मेगावाट थप हुने अपेक्षा छ तर यसको ग्यारेण्टी छैन,” उनी भन्छन्, “माथिल्लो तामाकोशीको पहिलो युनिट चैत्रमा आएपछि हामी बिजुलीको लागि बजार खोज्न सुरु गर्छौ, बिजुली क्रेतालाई हामीले बिजुली दिने ग्यारेण्टी गर्नुपर्छ तर अहिलेसम्म प्रक्षेपण अनुसार उत्पादन हुने नहुने कुरामा अलमलमै छौ ।” उनी प्रक्षेपणअनुसार नै बिजुली आएमा र बिजुली बिक्री गर्न नसकेमा खेर जाने अवस्था आउने सक्ने भने स्वीकार्छन् । “बिजुली आउने ग्यारेण्टीपछि हामी भारतीय बजारमा बोलपत्र आह्वान गरेपछि बेच्नका लागि सहभागी हुन्छौं, आदानप्रदानका लागि पनि प्रयास अघि बढाउँछौं,” उनी भन्छन् ।
विज्ञहरूका अनुसार एक मेगावाटले वर्षामा ०.९० प्रतिशत र हिउँदमा ०.३३ प्रतिशत उत्पादन गर्ने सरदर हिसाब गर्दा पनि आगामी वर्षामा ६ सय मेगावाट बराबर खेर जाँदा प्रतियुनिट ६ रुपैयाँ सरदर मान्दा मात्र पनि साढे १५ अर्ब रुपैयाँ बराबरको बिजुली खेर जान्छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) उपाध्यक्ष आशिष गर्ग त अझ चालू वर्षमा एक हजार मेगावाट विद्युत् थप हुने प्रक्षेपण पूरा भएमा वर्षाको समयमा पिक आवरमा मात्र १ हजार मेगावाट र अफ पिक आवर (राति) को समयमा १५ सय मेगावाट खेर जाने बताउँछन् । “सरकाले एकातिर खपत प्रक्षेपण गलत ग¥यो भने अर्कोतिर खपत बढाउन कुनै हतार र नीतिगत हस्तक्षेप गरेन, बरु विद्युतीय गाडी प्रवद्र्धनलाई दुरुत्साहित गरियो, भारत निर्यातका लागि प्रयाप्त तयारी, क्षमता र इच्छाशक्ति पनि देखाउन सकेन,” उनी भन्छन्, “न सरकारले बिजुली खपत बढाउन सक्यो, न पूर्वाधार भएर बेच्न सक्ने वातावरण बनाएको छ, निजी क्षेत्रले बेच्छुभन्दा पनि दिएन, अहिले अर्बौंको बिजुली खेर जाने अवस्था सिर्जना भएको छ, सरकारको नीतिमै कमजोर देखियो ।” उनी बिजुलीको खपत बढाउन देशभित्रै बिजुलीको सवारी साधन बढाउनेदेखि चार्जिङ स्टेशन बनाउने र उद्योग व्यवसाय बढाउने गरी सार्थक नीतिगत हस्तक्षेप गर्नुपर्ने र बिजुली बेच्नका लागि प्रयास गर्नुपर्ने बताउँछन् ।
विद्युत् प्राधिकरणका अनुसार, हाल १४५० मेगावाट बराबरको माग रहेकोमा हाल विद्युत् प्राधिकरणले ४९३ मेगावाट र निजी क्षेत्रबाट २ सय ७३ मेगावाट उत्पादन गरिरहेको छ भने अरु बिजुली भारतबाट आयात भइरहेको छ । प्राधिकरणका अनुसार भारतबाट आयात बिजुली ७ सय मेगावाटको हाराहारीमा छ । विद्युत् प्राधिकरणको प्रक्षेपण हेर्ने हो भने चालू वर्षमै २ हजार २ सय मेगावाट छ भने लगानी बोर्ड र जल तथा ऊर्जा आयोगकोे प्रक्षेपण ३ हजार मेगावाट छ । तर, विद्युत्को माग धेरै कम छ भने तत्काल बढ्ने अवस्था पनि छैन ।
विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले त गत वर्षामै आगामी वर्षको वर्षामा रातिको समयमा ६ सय मेगावाटभन्दा बढी खेर जाने बताएका थिए, तर हालसम्म सार्थक पहल भएको छैन ।
विद्युत्् व्यापारका लागि निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूले नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) गठन गरेर भारत र बंगलादेशमा बिजुली बेच्ने प्रयास सुरु गरेका छन् । इप्पान आवद्ध उनीहरूले निजी क्षेत्रले करिब १७ हजार मेगावाट विद्युत् छिमेकी राष्ट्र भारत र वंगलादेशमा बेच्ने सक्ने भन्दै दुवै देशमा पुगेर छलफल नै गरे । नेपेक्सले ५२९ मेगावाट बराबरका पाँच आयोजनाबाट उत्पादित बिजुली भारतमा निर्यातका लागि स्वीकृति प्राप्तिका लागि विद्युत् विकासका लागि निवेदन नै दिइसकेको छ । विद्युत् व्यापारका लागि उनीहरूले अनुमतिपत्र भने पाएका छैनन् । प्रस्तावित विद्युत् विधेयकमा बिजुली व्यापारबारे उल्लेख भए पनि संसद विघटनसँगै यसमा झन अन्योल थपिएको छ । १३ वर्ष अघिदेखि भारतसँग इनर्जी बैकिङको प्रयास भए पनि त्यो सफल भएको छैन । नेपाल र भारतबीच २०७१ भदौमा ऊर्जा व्यापार सम्झौता (पीटीए) मा सम्झौता पनि पूर्ण कार्यान्वयनमा आएको छैन ।


प्रतिव्यक्ति आय दुई वर्षभित्रै १४ सय डलर पुर्याउने दाबी

https://www.karobardaily.com/news/127955 

माघ २०, २०७७ मंगलबार

राष्ट्रिय योजना आयोगले आउँदो दुई वर्षभित्र विकासोन्मुख र आगामी २३ वर्षमा उच्चआय भएको मुलुक बन्ने लक्ष्यसहितको अवधारणा पारित गरेको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले २०७९ मा अतिकम विकसित राष्ट्र (एसडीसी)बाट विकासोन्मुख राष्ट्र (डीसी) मा स्तरोन्नति हुने तथा २१०० भित्र उच्च आय भएको मुलुक बनाउनेसहित अवधारणापत्र पारित गरेको हो ।
हाल नेपालको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलरमात्र छ । आयोगका सदस्य एवं प्रवक्ता मीनबहादुर शाहीले एलडीसीबाट डीसीमा स्तरोन्नति हुन दुई वर्षभित्र प्रतिव्यक्ति आय १ हजार ४ सय डलर तथा २१०० सालमा १२ हजार एक सय डलर पु-याएर उच्च आयस्तरको विकसित मुलुकमा रूपान्तरण गर्ने गरी दीर्घकालीन सोचको मार्गचित्र तयार पारिएको जानकारी दिए ।
एलडीसीबाट डीसीमा स्तरोन्नति हुनका लागि तीन सूचकांकमध्ये नेपाल दुई सूचकांकमा योग्य भइसकेको छ । स्तरोन्नतिका लागि मानव सम्पत्ति ६६ अंक भए पुग्नेमा हाल ७२ पुगेको छ भने आर्थिक जोखिम सूचकांक ३२ भन्दा कम हुनुपर्नेमा अहिले २४ छ । यसरी प्राविधिकरूपमा नेपाल स्तरोन्नतिका लागी योग्य भइसके पनि प्रतिव्यक्ति आयमा भने पछाडि छ । प्रतिव्यक्ति आय १२ सय डलर पुग्नुपर्ने भए पनि हाल १ हजार ४ सय मात्र छ ।
आयोगले समुन्नत, स्वाधिन र समाजवादउन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएको सुखी नागरिक बसोवास गर्ने मुलुकको रूपमा विकास र रुपान्तरण गर्ने सोचसहित अवधारणापत्रमा समृद्ध नेपालः सुखी नेपालीको दीर्घकालिन लक्ष्य, उद्देश्य र सूचकहरू हासिल गर्न तीन चरणको विकास अवधिलाई अगाडि सारिएको छ । पहिलो पन्ध्रौं योजनाको अवधिमा समृद्धि र सुखको आधार निर्माण, दोस्रो सोह्रौं र सत्रौं योजना अवधिमा समृद्धि र सुखको तीव्रता र यही अवधिमा दीगो विकास लक्ष्यको प्राप्ति तथा तेस्रो अठारौं र उन्नाइसौं योजना अवधिमा समृद्धि र सुखको दिगोपना हासिल गर्ने अवधारणापत्रमा उल्लेख छ ।
अवधारणाले दिगो विकास लक्ष्य प्राप्ति र समुन्नत राष्ट्रमा रूपान्तरण, कोभिड–१९ प्रभावित अर्थतन्त्रको पुनरोत्थान र रूपान्तरण एवं वित्तीय संघीयता र प्रदेश तथा स्थानीय तहबाट आर्थिक समृद्धिको आधार निर्माण यस अवधारणाका आवश्यकता र मार्गदर्शक सिद्धान्तको रुपमा राखिएको छ । कृषि, उद्योग र सेवाको क्षेत्रलाई परिस्कृत र आधुनिकिकरण गर्दै अर्थतन्त्रको संरचनात्मक रुपान्तरण गरिने अवधारणापत्रमा उल्लेख छ । बैठकमा आयोग अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सामाजिक न्यायसहित समृद्ध नेपाल र सुखी नेपालीको यात्राले गति प्रारम्भ गरिसकेको र दीर्घकालिन सोचले निर्धारण गरेका राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकहरू हासिल गर्न सबै पक्षले इमानका साथ काम गर्नुपर्ने बताए ।
दीर्घकालिन सोचको प्राप्तिका लागि दशवटा राष्ट्रिय लक्ष्य निर्धारण गरिएको छ । समृद्ध नेपालतर्फ चार वटा र सुखी नेपालीतर्फ छ वटा रहेको आयोगले जनाएको छ । समृद्धतर्फ उच्च र समतामूलक राष्ट्रिय आय, मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तरआवद्धता एवं उच्च र दिगो उत्पादन तथा उत्पादकत्व एवं सुखतर्फ परिस्कृत तथा मर्यादित जीवन, सुरक्षित, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरण, सुशासन, सवल लोकतन्त्र एवं राष्ट्रिय एकता, सुरक्षा र सम्माननिर्धारण गरिएको आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले जानकारी दिए ।
आयोगका अनुसार, राष्ट्रिय लक्ष्य र गन्तव्य प्राप्तिको मापन गर्न दशवटा लक्ष्य र ७६ वटा खण्डिकृत सूचकहरू निर्धारण गरिएको छ । ८ वटा दीर्घकालीन राष्ट्रिय रणनीति, ९ वटा रूपान्तरणका संवाहक र ८ वटा सहयोगी क्षेत्रहरूको पहिचान गरिएको छ । राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकहरूलाई दीर्घकालिन सोचले खण्डिकृत रूपमा उल्लेख गरिएको अवधारणाका प्रमुख लक्ष्यहरूमा आर्थिक वृद्धि दर १०.५ प्रतिशत पु¥याउने, गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष) शून्य बनाउने, बहुआयामिक गरिबीका रेखामुनि रहेको जनसंख्या ३ प्रतिशतमा झार्ने, सम्पत्तिमा आधारित गिनी गुणक ०.२५ प्रतिशत श्रम सहभागितामा दर (१५ वर्ष माथि) ७२ प्रतिशत पु-याउने लक्ष्य राखिएको छ ।
त्यसैगरी रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ७० प्रतिशत, जलविद्युत् तथा नवीकरणीय उर्जा उत्पादन (जडित क्षमता) ४० हजार मेगावाट पु-याउने र विद्युत्मा पहुँच परिवार एक सय प्रतिशत पु-याउने ३० मिनेटको दूरीमा यातायात पहुँच भएको परिवार ९९ प्रतिशत, राष्ट्रिय र प्रादेशिक लोकमार्ग ३६ हजार किलोमिटर, इन्टरनेट प्रयोगकर्ता कूल जनसंख्यामा शतप्रतिशत, अपेक्षित आयु ८० वर्ष, मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) २० जना, पाँचवर्ष मुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ८ जना, साक्षरता दर (१५ वर्षमाथि) ९९ प्रतिशत, उच्चमध्यम स्तरको खानेपानी सुविधा पुगेको जनसंख्या ९५ प्रतिशत र आधारभूत सामाजिक सुरक्षामा आवद्ध जनसंख्या शतप्रतिशत पु-याउने लक्ष्य राखिएको छ । लैंगिक विकास सूचकांक १ मा पु¥याउने, मानव विकास सूचकांक ०.७६० पु-याउने प्रमुख लक्ष्य दीर्घकालिन सोचको अवधारणामा समेटिएको छ ।


सरकारका लक्ष्यहरू
आर्थिक वृद्धि १०.५ प्रतिशत

निरपेक्ष गरिबी शून्य बनाउने
बहुआयामिक गरिबी ३ प्रतिशत
ऊर्जा उत्पादन ४० हजार मेगावाट
विद्युत्मा पहुँच शतप्रतिशत
यातायात पहुँच ९९ प्रतिशत
इन्टरनेट प्रयोगकर्ता शतप्रतिशत
खानेपानी सुविधा ९५ प्रतिशत
स्रोतः राष्ट्रिय योजना आयोग

अरुण तेस्रोको प्रसारणलाइन निर्माण सुरु

https://www.karobardaily.com/news/127382 

माघ १४, २०७७ बुधबार

पालतर्फ २१७ र भारततर्फ १६ किलोमिटर
नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् भारत निर्यातका लागि प्रसारणलाइन निर्माणको कार्य सुरु भएको छ । आयोजना निर्माण भइरहेको संखुवासभाको दिदिङदेखि भारतको सीतामणिसम्मको २ सय ३३ किलोमिटर डबल सर्किटको ४ सय केभीको प्रसारणलाइनको निर्माण कार्य सुरु भएको हो । प्रसारणलाइनअन्तर्गत डिडिङदेखि नेपाल–भारतको सीमा बथनाहसम्मको २ सय १७ किलोमिटर र बथानाहदेखि सीतामणिसम्म १६ किलोमिटर पूर्वाधार निर्माण हुनेछ ।
ढल्केबर सबस्टेसनको निर्माण सुरु गरेसँगै प्रसारणलाइनको निर्माण कार्य सुरु भएको आयोजनाले जनाएको छ । दुई टावर, दुई कन्डक्टर र एक सबस्टेसन गरी पाँच प्याकेज बनाएर प्रसारणलाइन निर्माण अघि बढाइएको र यसका लागि निर्माण कम्पनी छनोट गरिसकेको आयोजनाको प्रवद्र्धक अरुण तेस्रो हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । “सन् २०२२ को जुलाईमा सम्पन्न गर्ने गरी आयोजनाको काम सुरु भएको छ, सवस्टेशनको जग्गा प्राप्ति भइसकेको छ भने प्रसारणलाइन निर्माण गर्ने क्षेत्रहरूको जग्गा प्राप्ति र प्रक्रिया अघि बढेको छ,” उनले भने । महोत्तरी, उदयपुर, संखुवासभा, भोजपुर, खोटाङ, सिरहा र धनुषा जिल्लाका टावर जाने क्षेत्रहरूमा जग्गा प्राप्ति, मुआब्जा निर्धारणलगायत काम अघि बढेको आयोजनाले जनाएको छ । सन् २०११ मा गरिएको सर्भेअनुसार निर्माण गर्दा उदयपुरको कटारी क्षेत्रमा धेरै घर विस्थापित हुने भएपछि ४८ टावर सार्नुपर्ने देखिएको पनि आयोजनाले जनाएको छ ।
प्रसारणलाइनका लागि अगष्ट २०१९ मा भारत सरकारले १९ अर्ब ७७ करोड ८८ लाख रुपैयाँ बराबर अर्थात १२ अर्ब ३६ करोड १३ करोड भारु लगानीका लागि स्वीकृति दिइसकेको छ भने नेपाल सरकारले पनि डिसेम्बर २०१९ मा प्रसारणलाइनको अनुमतिपत्र समेत दिइसकेको छ । आयोजनाअन्तर्गत सात जिल्लामा ५०१ टावर बन्नेछन् । आयोजनाका अनुसार दिदिङदेखि उदयपुरसम्म ९३ किलोमिटर र उदयपुरदेखि सीमासम्म १ सय २३ किलोमिटर प्रसारणलाइन बन्नेछ । १० महिनाअघि प्रसारणलाइन निर्माणका लागि निर्माण व्यवसायी कम्पनी छनोट भएपनि कोभिडको कारणले ढिलाइ भएको आयोजनाले जनाएको छ ।
संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै प्रसारणलाइन सीमा हुँदै ढल्केबरसम्म लैजाने योजना भए पनि आयोजनाले यसलाई संशोधन गरेर सीतामणि लैजाने योजना बनाएको छ । पहिला मुज्जफ्फरपुर पु¥याउन एक सय किलोमिटर प्रसारणलाइन भए पनि अब सीतामणिसम्म पुफ्याउन १६ किलोमिटर प्रसारणलाइन भए पुग्छ । आयोजनाबाट उत्पादित विद्युत् ढल्केबरबाट मुज्जफ्फरपुर हुँदै भारत निर्यात गर्ने योजना छ ।
सन् २००८ मा खुला प्रतिस्पर्धामार्फत अनुमतिपत्र लिएको अरुण तेस्रोको सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । सम्झौता अनुसार, नेपालले पाउने २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट विद्युत् ढल्केवरस्थित ४०० केभी प्रसारणलाइनमार्फत पाउनेछ । एक खर्ब २० अर्ब लागत अनुमान गरिएको आयोजना सन् २०२० भित्र सम्पन्न गर्ने लक्ष्य छ । प्रसारणलाइन निर्माण केही ढिलाइ भए पनि आयोजना सम्पन्न हुने मितिमै सम्पन्न गर्ने गरी आयोजनाको निर्माण कार्य दु्रतगतिमा अघि बढेको आयोजनाले जनाएको छ ।