https://www.karobardaily.com/news/129036
फाल्गुन ३, २०७७ सोमबार
बिजुली बजार खोज्ने काम प्रमुख प्राथमिकता’
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् । गत २६ कात्तिकदेखि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका उनलाई मन्त्रिपरिषद्को गत माघ २६ गतेको बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेपछि आइतबार उनले पदबहाली गरेका हुन् । उनी कार्यकारी निर्देशकको रुपमा पदबहाली गर्ने १७ औं व्यक्ति हुन् ।
पदबहालीपछि आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण तथा विस्तार र मुलुकभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि बजार खोज्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताए । “आगामी चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत पाँच सय युनिट पु¥याउने, संस्थागत विकास योजनालाई अध्यावधीक गरी कार्यान्वयन गर्ने, निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माण सम्पन्न गर्ने र दूधकोसी, माथिल्लो अरुणजस्ता रुपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाइने छ” उनले भने, “विद्युत् चुहावट नियन्त्रण, विश्वसनीय विद्युत् वितरण प्रणालीका लागि प्रणालीको सुदृणीकरण तथा विस्तारका कामहरु प्राथमिकताका साथ अगाडि बढ्ने छन् ।”
‘लेऊ या तिर’ (टेक अर पे) को सर्त राखी विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरिएका जलविद्युत् आयोजनाको वर्खाको विद्युत् बिक्री चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले आन्तरिक रुपमा खपत बढाउने र बढी भएको विद्युत् बिक्रीका लागि छिमेकी मुलुकसँगको व्यापार आफ्नो उच्च प्राथमिकता रहेको बताए । “विद्युत् आपूर्तिका लागि पर्याप्त विद्युत् छ, पुरानो संरचना बदल्न तथा नयाँ सुरु गर्न एकातर्फ स्रोतको अभाव छ भने अर्कोतर्फ स्थानीयको अवरोधले चुनौती थपिदिएको छ, यस्ता चुनौतीलाई समाना गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत प्रणालीलाई अत्याधुनिक तथा स्वचालित बनाइने छ ।” उनले भने ।
कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले आन्तरिम रुपमा खपत गरेर बढी भएको विद्युत्को बिक्री व्यवस्थापन नै प्राधिकरणका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताए । “विश्वसनीय विद्युत् आपूर्ति, चुहावट नियन्त्रण, मुलुकलाई पूर्ण रुपमा विद्युत्ीकरण गर्नु पनि चुनौतीपूर्ण देखिएको छ” उनले भने, “यस्ता चुनौतीको सामना गर्न कार्ययोजनाका साथ अगाडि बढ्नु पर्छ ।”
No comments:
Post a Comment