Thursday, September 30, 2021

दसैंअघि नै विद्युत महशुल समायोजनको तयारी

https://www.karobardaily.com/news/159868

 आश्विन १५, २०७८ शुक्रबार

एउटै सार्वजनिक सुनुवाइमार्फत देशभर एउटै दर
–अधिकांशको विद्युत महशुल घटाउन माग
–प्राधिकरणलई मर्का नपर्ने निर्णय गर्ने आयोगको भनाइ
–ग्राहकलाई बेवास्ता गरेको उपभोक्ताकर्मीको आरोप


विद्युत नियमन आयोगले दसैंअघि नै विद्युत महशुल समायोजन गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल वृद्धिका लागि आयोगमा प्रस्ताव गरेकोमा बिहीबार सार्वजनिक सुनुवाइ गरेको आयोगले तत्काल समायोजन गर्ने भएको हो ।
आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले सार्वजनिक सुनुवाइ सकिएकोले यसक्रममा आएका र अन्य माध्यमबाट आएका सबै सुझाव र प्रतिकृयालाई विश्लेषण गरेर दसैंअघि नै विद्युत महशुलबारे निर्णय गरिसक्ने जानकारी दिए । अधिकांश सरोकारवालाहरुको विद्युतको महशुल नघटाउने गरी सल्लाह, सुझाव र प्रतिक्रिया आएको बताउँदै उनले आयोग प्राधिकरणलाई अत्यावश्यक खर्चलाई समेत ध्यान दिई मर्का नपर्ने गरी महशुल समायोजनको पक्षमा रहेको बताए ।
मुलुक संघीयतामा गएको ६ वर्ष बितिसकेको तथा आयोगले देशभरकै लागि विद्युत महशुल दर निर्धारण गर्नुपर्ने भएकोले विगतदेखि नै सबै प्रदेशमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने र प्रदेश अनुसार महशुल दर तोक्नुपर्ने आवाज उठ्दै आएको छ । तर अघिल्लो वर्ष कोभिड–१९ को कारणले भौतिक रुपमा गर्न नसकेको बताएको आयोगले यस वर्ष पनि विगतजस्तै एउटै सार्वजनिक सुनुवाइ र एकै महशुल दरमा निर्णय गर्ने योजना बनाएको छ । छिमेकी राष्ट्र भारतमा भने प्रत्येक राज्यहरुको महशुल दर फरक फरक छ । अध्यक्ष सिंह सार्वजनिक सुनुवाइमा सबै सरोकारवालाहरुलाई आमन्त्रण गरेकोले उनीहरुले देशकै प्रतिनीधित्व गर्ने तथा प्रदेशतहमा प्राधिकरणका संरचनाहरु समेत नभएकोले तत्काल प्रदेशपिच्छे महशुल दर तोक्न नसकिने बताउँछन् ।
बिहीबारको सार्वजनिक सुनुवाइमा अधिकांशले महशुल घटाउनुपर्ने सुझाव दिएका थिए । उद्योगी–व्यवसायीले बढाउन प्रस्ताव गरिएको डिमाण्ड चार्ज घटाउनुपर्ने सल्लाह दिएका थिए भने उपभोक्ताकर्मी लगायतका सरोकारवालाहरुले सर्वसाधारणका लागि अझै महशुल दर घटाउनुपर्ने बताएका थिए । २० युनिटसम्म खपत गर्ने ग्राहकलाई निःशुल्क ऊर्जा दिने प्रस्ताव सकारात्मक भएको प्रतिक्रिया दिएका अधिकांशले यसको सेवा शुल्क पनि घटाउनुपर्ने माग गरेका थिए ।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले प्राधिकरणले प्रस्ताव गरेको महशुल कार्यान्वयन गर्न नसक्ने खालको भएको बताउँदै प्राविधिक चुहावट र सञ्चालन गर्नसक्ने गरी महसुल दर तय हुनुपर्ने बताए ।
उद्योगी तथा व्यवसायीले पप्रति केभीए १०० बराबरको डिमाण्ड शुल्क बढाएको भन्दै यसलाई हटाउन माग गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंका पूर्व अध्यक्ष पशुपति मुरारका, महासंघ उपाध्यक्ष रामचन्द्र संघाई, नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष सतिशकुमार मोर र परिसंघ ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले औद्योगिक क्षेत्रका ग्राहकलाईे डिमाण्ड शुल्क बढाउन गरिएको प्रस्ताव गलत भएको बताए ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा खेर जाने बिजुलीको अधिकतम उपभोग गर्न उद्योगी तथा व्यवसायीलाई अनुरोध गरे । रातको समयमा प्रयोग गरिने बिजुलीको महशुल समेत कम हुने र कम बिजुली प्रयोग भएको अवस्थामा मात्रै डिमाण्ड शुल्क बढी पर्ने भएकाले बढीभन्दा बढी बिजुली खपत होओस् भन्ने ध्येयले मात्रै सात प्रतिशत मात्रै बढाइएको उनको तर्क थियो ।

विद्युत महशुल बढाउन प्राधिकरणद्धारा २६ अर्ब खर्च बढ्ने प्रक्षेपण

https://www.karobardaily.com/news/159758

 आश्विन १४, २०७८ बिहीबार

विद्युत महशुल वृद्धिका लागि नेपाल विद्युत प्राधिकरणले एक वर्षमै २६ अर्ब खर्च बढ्ने प्रक्षेपणसहितको प्रस्ताव विद्युत नियमन आयोगमा पठाएको छ । तर, आयोगले खर्च बढ्ने क्षेत्रहरुबारेको विवरण अस्पष्ट भएको भन्दै प्राधिकरणलाई यसको औचित्य पुष्टि गर्न पत्राचार गरेको छ ।
प्राधिकरणको आर्थिक वर्ष २०७६/०७७ मा ७६ अर्ब ८५ करोड वार्षिक खर्च रहेकोमा २६ अर्ब बढेर ९२ अर्ब ६४ करोड ६५ हजार पुग्ने प्रक्षेपणसहितको प्रस्ताव आयोगमा पठाएको छ । छिमेकी राष्ट्र भारत र चीनको भन्दा महँगो महशुल रहेको नेपालमा प्राधिकरणले पठाएको बढी खर्चको विवरणलाई महशुल समायोजनका लागि ‘बार्गेनिङ’को रुपमा हेरिएको छ । आयोगले आज बिहीबार विद्युत महशुलबारे सरोकारवालाहरुसँग सुझावका लागि भर्चुअल रुपमा सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत आयोजना गरेको छ । सार्वजनिक सुनुवाइपछि महशुल समायोजन प्रक्रिया अघि बढ्नेछ ।
प्रस्तावमा गत वर्ष विद्युत खरिद खर्च ४१ अर्ब ४६ करोड ७ लाख रहेकोमा चालु वर्षमा ५० अर्ब ४१ करोड ८४ लाख पुग्ने र ९४ करोड ५६ लाख रहेको प्लान्ट सञ्चालन खर्च १ अर्ब ३० करोड ७१ लाख पुग्ने प्रक्षेपण गरिएको छ । यसैगरी ४९ करोड ४ लाख रहेकोमा प्रसारण लाइनको खर्च ६७ करोड ७९ लाख पुग्ने, वितरणको लाइनको ३ अर्ब ४५ करोड ९८ लाख रहेकोमा ४ अर्ब ७८ करोड २२ लाख, डिप्रेसन ५ अर्ब ७५ करोड रहेकोमा ६ अर्ब ५० करोड हुने तथा कर्मचारीको खर्च १० अर्ब १९ करोड ८१ लाख रहेकोमा १२ अर्ब २६ करोड ६२ लाख पुग्ने प्रक्षेपण गरिएको छ ।
आयोगले भने प्राधिकरणले गरेको प्रस्तावमा केही अस्पष्टता रहेको तथा केही विवरणहरु बाझिएको भन्दै १८ बुँदाबारे थप औचित्य पुष्टि गर्न तथा १ बुँदामा अघिल्लो वर्ष महशुल वृद्धि गर्दाको निर्णय कार्यान्वयन भए–नभएको जानकारी मागेको छ । आयोगका सदस्य एवं प्रवक्ता डा. रामप्रसाद धितालले प्राधिकरणको प्रस्तावमा केही अस्पष्टता देखिएको भन्दै थप स्पष्टताका लागि पत्र पठाएको जानकारी दिए । वार्षिक २६ खर्च बढी हुने देखिएकोले त्यसबारे पनि जानकारी दिइएको उनले बताए ।
प्राधिकरणलाई आयोगले गरेको पत्राचारमा आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ को अनुमानित विद्युत बिक्री युनिट तुलना गर्दा पछिल्लो चार वर्षको औसत वार्षिक वृद्धि दरभन्दा निकै उच्च दरले हुने अनुमान गरेकोले यसको पुष्ट्याइँ गर्न तथा वार्षिक सञ्चालन, प्रसारणलाइन/नेटवर्क, वितरण/नेटवर्कमा पछिल्लो चार वर्षको औसत वार्षिक वृद्धि दरभन्दा निकै उच्च ३८.२२ प्रतिशतका दरले वृद्धि हुने अनुमान देखिएकोले सम्पूर्ण खर्चको यथार्थपरक र प्रक्षेपित विवरण पेश गर्न पनि भनिएको छ ।
कर्मचारीको खर्च पछिल्लो चार वर्षको वार्षिक आर्थिक वृद्धिदरभन्दा अधिक दरले वृद्धि हुने गरी अनुमान गरिएको देखिएकोले उक्त खर्च बढाउनुपर्ने औचित्य देखाउन, कर्पोरेट अफिस सम्बन्धित खर्च अघिल्लो वर्षको भन्दा दोब्बर वृद्धि हुने हुनाले यसको औचित्यसहितको विवरण पेश गर्न पनि पत्रमा भनिएको छ ।
स्रोत तथा ऊर्जाको उपयोग तालिकामा उल्लेख गरिएको विद्युत निर्यातको परिमाण तथा निवेदनको साथ गरिएका अन्य विवरणमा उल्लेख गरिएको सोही परिमाण बाझिएकोले कुन विवरण सही हो, सोको स्पष्टीकरणकसहित विस्तृत विवरण दिन तथा चालु वर्षमा आयोजनाको व्यापारिक उत्पादन सुरु हुनुभन्दा अगाडि परीक्षणको अवधिमा विद्युत आयोजनाबाट प्राधिकरणलाई प्राप्त हुने निःशुल्क विद्युतको अनुमानित परिमाण र आम्दानी विवरण पेश गर्न पनि पत्रमा भनिएको छ ।
पहिले महशुलको निर्धारण गर्दा गरेको निर्णयको आधारमा कार्यालयको कर्मचारी खर्च कटौती र वितरण स्वचालित कार्यलाई बढावा दिन हासिल गरेको प्रगति, गत वर्ष उत्पादन, प्रसारण र वितरणमा भएका पुँजीगत लगानी सम्बन्धी विवरण तथा प्रसारण चुहावट ४.०५ प्रतिशत र वितरण चुहावट १०.४५ प्रतिशतमा झार्ने लक्ष्य पूरा नहुनुको कारणका साथै घर बहालमा बस्ने बहालवालाले नै मिटर वा सबमिटर लिन सक्ने व्यवस्था गर्ने सम्बन्धमा अध्ययन गरी महशुल निर्धारणका लागि निवेदन दिनुअगाडि नै सो सम्बन्धमा आयोगसमक्ष पेश गर्नु भनी निर्देशन दिएकोमा सो सम्बन्धमा आयोगमा कुनै पत्राचार नभएकोले त्यसको प्रगति पेश गर्न पनि आयोगले प्राधिकरणलाई पत्राचार गरेको छ ।

Wednesday, September 29, 2021

पूर्वाधार आयोजना नीतिगत अस्थिरताले समस्याग्रस्त छन्

https://www.karobardaily.com/news/159618

 आश्विन १३, २०७८ बुधबार

देवेन्द्र कार्की हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव छन् । दोलखामा जन्मिएका र स्ट्रक्चरल इन्जिनियरिङमा रूसबाट स्नातकोत्तर गरेका उनले लामो समयसम्म भौतिक पूर्वाधार क्षेत्रमै बिताए । सरकारी सेवा सुरु गर्नुअघि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा काम गरेका उनी २५ वर्षदेखि सरकारी सेवामा छन् । २०७४ सालमा जेठमा सचिव भएपछि भने उनी धेरै निकाय पुगे । १० महिना भौतिक पूर्वाधार मन्त्रालयको सचिवपछि १३ महिना जल तथा ऊर्जा आयोगमा, फेरि १७ महिना भौतिक पूर्वाधार मन्त्रालय, नेपाल ट्रस्ट कार्यालयमा चार महिना र सतर्कर्ता केन्द्रमा दुई महिना सचिव भएका कार्की पाँच महिनादेखि ऊर्जासचिव छन् । सचिव कार्कीले नेपालको समग्र पूर्वाधार क्षेत्र, ऊर्जाको उत्पादन, खपत र व्यापारको अवस्थाका साथै यस क्षेत्रको समग्र विकासमा मन्त्रालयले चाल्न लागेका कदमबारे कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :

हुन त ऊर्जा पनि पूर्वाधार नै हो, तर लामो समयसम्म तपाईंले भौतिक पूर्वाधार क्षेत्रमै काम गर्नुभयो । ऊर्जा र भौतिक पूर्वाधारमा के फरक पाउनुभयो ?
दुवै पूर्वाधारकै क्षेत्र हुन् तर भौतिक पूर्वाधार क्षेत्र पूर्णतया सरकारी स्वामित्वमा जस्तै छ । यसमा निजी क्षेत्रको लगानी खासै छैन । यातायाततिर भने निजी लगानी छ, तर सडक, रेलमा निजी क्षेत्रको लगानी छैन । सरकारी नै छ । फास्टट्र्याक निजी लगानीमा गर्ने हो कि भन्ने थियो, त्यो पनि सरकारी लगानीमा निर्माण भइरहेको छ । ऊर्जा क्षेत्रमा भने सरकारीसँगसँगै सरकार र नागरिकको लगानी रहेका सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलका साथै निजी क्षेत्रका लगानीका छन् । ऊर्जामा निजी क्षेत्रको लगानी प्रशस्त छ । भौतिकमा सरकारी मात्र थियो, यहाँ निजी पनि छ । ऊर्जामा निजी क्षेत्रलाई सहजीकरण र समन्वय गर्नुपर्ने अवस्था छ ।

अन्य देशहरूले भौतिक पूर्वाधारमा पनि निजी क्षेत्रले लगानी गरेर सञ्चालनमा छन् । नेपालमा भौतिक पूर्वाधारमा किन निजी क्षेत्र आउन सकेन जस्तो लाग्छ ?
निजी क्षेत्र भौतिक पूर्वाधारमा आउनका लागि लगानीअनुसारको प्रतिफल हुनुपर्छ । हाम्रोमा साइजको कारणले त्यस्ता सम्भाव्य आयोजनाहरू छैनन् । सडककै कुरा गर्ने हो भने फास्टट्र्याक त्यति सम्भाव्य आयोजना होइन । यसमा न्यून परिपूर्ति कोष (भीजीएफ) का कुराहरू छन् । यो कोष दिएमा त लगानीका लागि सम्भाव्य होलान् । यस्ता परियोजनाहरूमा सरकारले लगानी गरेमा निजी क्षेत्रले पनि लगानी गर्न सक्ने अवस्था छ । यता जलविद्युत् आयोजनामा त आठ–नौं वर्षमा लगानी फिर्ता हुन्छ । जहाँसम्म भीजीएफ दिने कुरा छ, यसमा निजी क्षेत्र आउनै डराउँछन् । फास्टट्र्याक दिने भनेर सूचना निकालेको पनि हो ।

ऊर्जाको कुरा गर्दा सरकारी अनुभव ११० वर्ष र निजीको अनुभव दुई दशकको छ । छोटो अवधिमै निजी क्षेत्रले धेरै उत्पादन बढाएको छ । कतिपयले त निजी क्षेत्रले बढी उत्पादन भयो भनेर यसलाई अब विस्तारै नियन्त्रण गर्छु भनेका तर्कहरू पनि सुनिन्छन् । के नियन्त्रण सम्भव छ त ?
नियन्त्रण त आवश्यक छैन । खुला बजारमा नियन्त्रण गर्ने भन्ने कुरा राम्रो होइन । सहजीकरण र नियमन गर्ने हो । सरकारको नीतिअनुसार खुला बजार, खुला अर्थतन्त्र, लगानी गर्न दिने, ल्याउने दिने हो । निजी क्षेत्र पनि प्रतिफल नआए त आउँदैन पनि । विद्युत् विधेयक पनि प्रस्ताव गरेर संसद्मा छ । पहिला लगानी गरेअनुसारको उत्पादनले पुग्थ्यो होला, तर बीचमा आएर बिजुलीको अभाव भयो । त्यतिबेला कहालीलाग्दो लोडसेडिङ हटाउनका लागि यसलाई कसरी सम्बोधन गर्ने भनेर सरकारले सहज नीति पनि ल्यायो । विद्युत् खरिद सम्झौता (पीपीए) मै पुनरावलोकन भयो । पोस्पेड दरलगायतका अन्य छुटका कुरा ल्याइए । बोलेका कुराहरू अझै पूरा गर्न सकिएको छैन होला । यति हुँदाहुँदै पनि सरकारले धेरै उदार भएर निजी क्षेत्रलाई आकर्षण गर्ने नीति ल्याएको हो । एक हदसम्म त्यो उदार नीति राम्रो होला, तर अब त यसमा पुनरावलोकन गर्नु जरुरी छ । अहिले नै दरका कुराहरू पुनरावलोकन गर्नु जरुरी होला । केही निजी क्षेत्रलाई पुगेको छैन, सरकारले सहजीकरण गरी छोडिदिनुपर्ने भएमा छोडिदिनु पनि पर्छ । केही कुरा बढी गएको छ भने यसमा एउटा सीमारेखाभित्र त राख्नैपर्छ । अहिले नै विद्युत् खपत वृद्धि नगर्ने हो भने निजी क्षेत्रले बनाउँदै जाने र प्राधिकरणले किन्न नसक्ने अवस्था सिर्जना हुन्छ । प्राधिकरण किन्ने र व्यापार गर्ने एकल संस्था छ । कि व्यापार गर्न खुला छुट दिनुपर्छ । विद्युत् विधेयकमा अहिले यो प्रस्ताव गरिएको छ । पीपीए र व्यापार गर्न खुला रूपमा दिनुपर्छ । अनि खपतको कुरा अघि बढ्छ । अबको अवस्थामा प्राधिकरणले मात्र पीपीए गरेर खपत गर्ने कुरा गाह्रो बन्दै गएको छ । अहिले झन्डै सात हजार मेगावाटको पीपीए भएको छ । अहिलेको खपत १५-१६ सय मेगावाट छ । योसँगै प्रसारण र वितरण लाइनका कुरा छन् । वर्तमान अवस्थामा वितरण प्रणाली राम्रो बनाएर ५ सयदेखि १ हजार मेगावाट थप खपत गर्न सकिएला । यसकारण अहिले भएको नीतिमा परिवर्तन गर्नैपर्छ । प्राधिकरणले किन्ने, बेच्नेलगायतका सबै काम गर्छु भन्दा अहिलेको अवस्थामा राम्रो नहोला । निश्चित मापदण्ड बनाएर विद्युत् व्यापार कम्पनी स्थापना गर्न दिनुपर्छ । उहाँहरूले पीपीए गरेर निजी क्षेत्रलाई सहजीकरण गर्न सक्नुहुन्छ ।

तपार्इंले विद्युत् व्यापार निजी क्षेत्रलाई दिने कुरा गर्नुभयो । प्राधिकरणको खण्डीकरणको कुरा गरेको पनि एक दशक नाघिसक्यो । तर विडम्बना, विद्युत् विकास विभागले अनुमतिपत्र दिइरहेको छ, तर प्राधिकरणले नदी प्रवाहमा आधारित (आरओआर)को हकमा पीपीए रोकेको छ । यो त एकअर्कामा विरोधाभासपूर्ण भएन र ?
यसमा नैतिक प्रश्न आउँछ । सरकारको एउटा निकायले अनुमतिपत्र दिने, अर्को एउटै मात्र निकाय, पीपीए नगर्ने । धेरै पीपीए नगरेको कुरा सबैलाई थाहा नै छ । अनुमतिपत्रका लागि निवेदन आएका आयै छन् । अनुमतिपत्र पनि आरओआर, अर्धजलाशय र जलाशयको छ । २०८५ सालसम्म ८५ हजार मेगावाट बनाउने भनेका छौं । यसमा ३५ प्रतिशत आरओआरको छ । त्यो कोटा सकिएको छ तर अर्धजलाशययुक्त र जलाशययुक्तको छ । पीपीए रोकिएको छैन तर, यसमा आकर्षण र प्रतिफल कम होला । यसमा निजी क्षेत्र त्यति लागेको छैन । यो कुरा निजी क्षेत्रले नबुझेको पक्कै होइन होला । अनुमतिपत्र दिँदा नै पीपीएको ग्यारेन्टी त गरिएको हुँदैन, यद्यपि नैतिकताको प्रश्न उठ्छ । आरओआरको सकियो भने अरूमा किन नजाने त ? आरओआर पीपीएबारे हामीले छलफल गरिरहेका छौं । पूर्णतया रोकिएको म मान्दिनँ, तर यो चाहिने-नचाहिने समीक्षा गरिरहेका छौं । एकातिर बिजुली खेर जाने अवस्था छ, अर्कातिर हाम्रो सीमा पनि पुगिसकेको छ । प्रसारण र वितरण लाइनका मुद्दा पनि छन् । भइरहेको बिजुली लिन नसकेर क्षतिपूर्ति दिनुपर्ने अवस्था पनि छ । यसलाई पुनःसमीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता भने छ ।

सरकारले अनुमतिपत्र पनि दिइरहेको छ, उत्पादनमा पनि जोड दिइरहेको छ तर यसको तुलनामा खपत वृद्धिको अवस्था कमजोर छ । यसले यस क्षेत्रको लगानी त जोखिममा पर्दै गएको देखाउँछ नि ?
उत्पादन भनेको ऊर्जा मन्त्रालयको कार्यक्षेत्र हो । खपत भनेको अन्तरमन्त्रालय अर्थात् सबैको क्षेत्र हो । विद्युतीय यातायातमार्फत खपत वृद्धि गर्नुप-यो भन्ने कुरा भौतिक मन्त्रालयअन्तर्गत पर्छ । विद्युतीय सामानमा भन्सार छुटको कुरा अर्थ मन्त्रालयअन्तर्गत पर्छन् । उद्योगधन्दा र उत्पादनमा छुट दिएर खपत बढाउने कुरा उद्योग मन्त्रालयअन्तर्गत पर्छन् । उत्पादन, वितरण र प्रसारणमा ऊर्जा मन्त्रालय मात्र जिम्मेवार छ । यसमा अन्य निकायको सहयोग त आवश्यक हुन्छ, तर मुख्य दायित्व ऊर्जाकै हुन्छ । सरकारका सबै निकाय मिलेर खपत बढाउने हो । हामी हाम्रो क्षेत्रबाट लागिरहेकै छौं । हाम्रा मुख्य काम त प्रसारण र वितरण लाइनमै सुधार गर्ने हो । बिजुलीको भाउ घटाउने हो । यसका लागि सस्तो बिजुली उत्पादन गर्नुप-यो । हाम्रो बिजुली केही न केही महँगो नै छ । अहिले पनि ग्यासको चुलोमा खाना पकाउनु र बिजुलीबाट खाना पकाउँदा यसको तुलना त हुन्छ । बिजुलीको लागत कसरी घटाउने भन्ने कुरा मुख्य छ । अहिले त महँगो नै छ । यसका लागि पीपीए दर पनि पुनरावलोकन गर्नुपर्छ । यसमा योजनाहरूलाई सस्तो बनाउनुपर्छ । यसमा भ्याटदेखि आयकर छुटसम्मका कुरा आउलान् । यसपछि घरायसी खपत वृद्धि होला । यी सबै कुरा जेलिएको छ, अन्तरसम्बन्धित छन् । सबै मिलेर अघि बढे खपत बढ्छ नै । जीवनस्तरमा प्रगति हुँदै जाँदा यो स्वाभाविक रूपमा वृद्धि हुँदै जान्छ । वृद्धि हुँदैन भन्ने होइन । उत्पादनअनुसार खपत बढाउनुपर्ने चुनौती भने हामीलाई छ ।

बिजुली महँगो छ भन्नुभयो, जति ठूला आयोजना निर्माण ग-यो, त्यति नै बिजुली सस्तो हुनुपर्ने हो तर पहिला प्रतिमेगावाट १५ करोड थियो, अहिले २० करोड छ । यो किन उल्टो गति देखिएको हो ?
बंगलादेशको तुलनामा त छैन, तर अरू देशको तुलनामा हेर्दा महँगो छ । १५ करोडबाट २० करोड हुँदा यसमा मूल्यवृद्धि भयो होला, कर बढ्यो । यी कुराहरू पनि होलान् । कतिपय आयोजनाहरूलाई अधिकतम रूपमा उपयोग पनि गर्न सकिएन होला । एउटा क्षमताको आयोजनाले अर्को क्षमताको आयोजनालाई मारिरहेको हुन्छ । यसको कारण पनि लागत बढेको हो, तर समग्रमा भन्दा हाम्रा आयोजनाहरू महँगा नै छन् । यसलाई पुनरावलोकन गरेर जानुपर्छ । जलविद्युत् आयोजनाहरूको लागत घटाउनैपर्छ, यसमा हामी जानैपर्छ ।

लागतलगायतको नियमन गर्नका लागि नियमन आयोग नै छ । यसतर्फ ध्यान दिनुपर्ने होइन र ?
नियमन आयोगको आफ्नै कानुन, नियम छ । कानुनद्वारा स्थापित स्यायत्त संस्था हो । उनीहरूका थुप्रै काम छन् । ग्रिड कोड निर्माणदेखि महसुलको पुनरावलोकनसम्मका अधिकार क्षेत्र आयोगको छ । उहाँहरूले यसमा काम गरिरहनुभएको छ, तर यसमा चुस्तता, दुरुस्तता र सक्रियता आवश्यक देखिएको छ । गर्नुपर्ने कामहरू धेरै बाँकी छन् । ग्रिड कोड, वितरण कोड बनाउनदेखि उपभोक्ताको सुरक्षा, लागत घटाउने कुराहरू, भरपर्दो बिजुली व्यवस्थापनका कुरालगायत उहाँको अधिकार क्षेत्रभित्र पर्छ । नियमन आयोगको ऐन पढ्ने हो भने धेरै अधिकार दिइएको छ । उहाँहरू काम गर्न स्वायत्त पनि हुनुहुन्छ । तर यी क्षेत्रमा जुन गतिमा र जति योगदान दिनुपर्ने थियो, यसमा कमी भएको महसुस गरेको छु । यसमा भन्न अप्ठेरो लाग्दैन । समयमै उहाँहरूले काम गरिदिने हो भने लागत घटाउने र खपत वृद्धिदेखि यी सबै कुरामा काम अघि बढ्थ्यो, तर नगरेकै चाहिँ होइन । अलि ढिलाइ भएको महसुस हुन्छ ।

विद्युत् व्यापारको कुरा गर्दा सात वर्ष भारतसँग ऊर्जा व्यापार सम्झौता भएको थियो । त्यसपछि भारतले अन्तरदेशीय व्यापार निर्देशिका पनि जारी गरिसक्यो, तर नेपालतर्फ हेर्दा त न कानुन छ, न निर्देशिका । विद्युत् व्यापार सबैभन्दा बढी नेपाललाई जरुरी भएको बेला किन यस्ता कुरामा सरकार कमजोर देखियो ?
व्यापार गर्न अहिलेको व्यवस्थाले रोकेको छैन । विशेष निर्णय गरेर पनि व्यापार गर्ने अधिकार दिइएको छ । मन्त्रिपरिषद, मन्त्रीस्तरीय र प्राधिकरण बोर्डबाट निर्णय गरेका छौं । दुई देशबीच विद्युत् व्यापार गर्न सिद्धान्ततः कुनै तगारो छैन । भारतबाट हामीले किनिरहेका छौं । भारतीय खुला बजारमा नेपालको बिजुली प्रवेश पनि पाइसकेको छ । तर, दीर्घकालीन रूपमा सरकार–सरकार वार्ता गरेर लामो समयसम्मको सम्झौता भएन भने गाह्रो हुन्छ । यसका लागि हामीले छलफल अघि बढाएका छौं । तत्कालका लागि वर्षामा बढी हुने बिजुली बेच्नका लागि बिहार सरकारसँग हिउँदमा लिने र वर्षामा पठाउने गरी अल्पकालीन समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ । यो तत्कालको समस्या समाधान भयो, तर दीर्घकालका लागि सरकार–सरकार वार्ता गरेर सम्झौता गर्नुपर्ने हुन्छ । यसका लागि भारत र बंगलादेशसँग संयुक्त कार्यकारिणी समिति (जीएससी) को बैठक भइरहन्छ । बंगलादेशसँग हालै भएको थियो । बंगलादेश नेपालको बिजुली किन्न तयार छ । भारत हुँदै बिजुली जाने हुनाले त्रिदेशीय विद्युत् व्यापारका लागि हामीले प्रस्ताव पनि गरेका छौं । भारत र बंगलादेशसँग व्यापार गर्न सकियो भने पीपीएका समस्या पनि समाधान हुन्छन् । सिद्धान्ततः भारत पनि नेपालको बिजुली किन्न तयार छ । केही प्राविधिक समस्या छन्, ती समाधान हुन्छन् ।

प्रसारण लाइनको कुरा गर्दा अधिकांश ठूला प्रसारण लाइनका आयोजनाहरूमा समस्या छन् । प्रसारण लाइनकै अभावमा पनि बिजुली खेर गइरहेको छ । पछिल्लो समयमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले बनाउने प्रसारण लाइन पनि विवादमा छ । किन प्रसारण लाइन निर्माणको अवस्था कमजोर छ ?
प्रसारण लाइन मात्रभन्दा पनि समग्र पूर्वाधारकै कुरा गर्दा ठेक्कापट्टा व्यवस्थापनको कुरा अलि समस्याग्रस्त छ । हतारमा ठेक्कापट्टा लगाउने चलन थियो । अहिले त सार्वजनिक खरिद ऐनले तयारीबिना ठेक्कापट्टा गराउन रोकेको छ । जग्गा प्राप्ति, वातावरण प्रभाव मूल्यांकन (ईआईए) लगायत सकिएपछि मात्र लगाउन पाइन्छ । विगत एक-डेढ वर्षदेखि यो समस्या छैन । अगाडिका ठेक्कापट्टामा समस्या छ । यो गलत नियतले भन्दा पनि आशावादी भएर लगाइएको हो । काम होस् भनेरै लगाइएको हो । ठेक्कापट्टा लगाउन आठ–नौ महिना लाग्छ, त्यो अवधिमा काम गर्न सकिन्छ भनेर गरेका थियौं । तर, सडक र ऊर्जामा फरक छ । सडक जग्गा नजिक गयो भने जग्गाको मूल्य बढ्छ । यसमा धेरै विवाद हुँदैन, तर सडक जग्गा छोएर मात्र जाओस्, अरूको धेरै जाओस् भन्ने प्रवृत्ति त हुन्छ नै । प्रसारण लाइनमा टावरको जग्गामा मात्र पूर्ण क्षतिपूर्ति दिएर जग्गा नै लिन्छौं तर लाइनमा त सीमित प्रतिशतमात्र क्षतिपूर्ति दिने हो । त्यसकारण जग्गा दिन गाह्रो मान्ने र सर्वसाधारणको पनि बढी माग हुन्छ । यसमा समस्या थियो, जनतासँगै छलफल गरेर समाधान गरेर जाने हो । खिम्ती–ढल्केबरको पाठ नै हामीलाई काफी छ । अन्य ठूला प्रसारण आयोजनाहरूमा समस्या छ । ढिलै भए पनि कोसी कोरिडोर सकियो, सोलु कोरिडोरमा केही समस्या छन् । उदयपुरमा समस्या छ । जनतालाई मर्का पर्ने गरी हामीले काम गरेका छैनौं, तर काहींकाहीं अवाञ्छित गतिविधि हुन्छन् । यति हुँदाहुँदै पनि जनताको जायज माग सम्बोधन गरेर जानुको विकल्प छैन । विगतमा देखिएका समस्याहरूको पाठबाट आगामी बन्ने प्रसारण लाइनमा समस्या आउँछन् जस्तो लाग्दैन । स्पष्ट निर्देशिका पनि तयार भइसकेको छ । क्षतिपूर्ति दिनेमा पनि समस्या छ । ठाउँअनुसार फरक छ । यसलाई एकरूपता ल्याउनुपर्ने अवस्था छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एउटा कार्यदल बनाएको छ, यसले मस्यौदा पनि बनाएको छ तर कानुनी रूपमै सम्बोधन गर्ने गरी अघि बढेको छ । यसमा कानुनी प्रश्न उठेकाले ऐनकै रूप दिने काम अघि बढेको छ । यसपछि अधिकांश समस्या नीतिगत रूपमै समाधान हुन्छन् ।

एमसीसीको अनुदानमा बन्न लागेका सडक र प्रसारण लाइन परियोजनामा विवाद छ । धेरैले यो अमेरिकी सरकारले छनोट गरेका परियोजना भनेर आरोप लगाइरहेका छन् । एमसीसीले भने सरकारले छानेको परियोजनामा अनुदान दिन लागेको बताएको छ । तपाईं भौतिक पूर्वाधार मन्त्रालयमा पनि लामो बसेको अनुभवले यी परियोजनालाई कसरी हेर्नुहुन्छ ?
एमसीसीकै बारेमा त मलाई केही भन्नु छैन । यो संसद्ले पारित गर्ने हो । पारित गरेमा एउटा हुन्छ, नगरे अर्को हुन्छ । तर, एमसीसीअन्तर्गत अघि बढ्न लागेका दुवै परियोजनाहरू महत्वपूर्ण छन् । एमसीसी आएमा यसमार्फत नै बन्ला, तर आएन भने पनि सरकारको आफ्नै स्रोत वा कतैबाट सहायता लिएर बनाउनैपर्छ । हाम्रो लागि यी महत्वपूर्ण आयोजना हुन् । हामीले छानेको र हामीलाई आवश्यक परियोजना हो । विद्युत् आदानप्रदान तथा प्रसारण लाइन नेटवर्कका लागि अति आवश्यक र हामीले नै छानेको आयोजना हो । यसका लागि स्रोत कहाँबाट ल्याउने भन्ने कुरा हो ।

ढल्केबर–मुजफपुर अन्तरदेशीय प्रसारण लाइनको ढाँचामा हामी २५ वर्षका लागि एकल क्यापासिटी बुकिङ गरेर बुटवल–गोखरपुर बनाउँदैछौं । अन्य नौ अन्तरदेशीय प्रसारण लाइनमा छौं । यही वित्तीय मोडेलमा जाने हो भने देशले आर्थिक रूपमा थेग्न नसक्ने कुरा आएको छ । यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
सबै अन्तरदेशीय प्रसारण लाइन यही मोडालिटीमा जाँदैनौं । ढल्केबर–मुजफपुर बनाउनैपर्ने बाध्यता थियो, बनायौं । अहिले यो पूर्ण क्षमतामा चलाउन सकेका छैनौं । यसको विकल्पका रूपमा चाहिने भएकाले बुटवल–गोरखपुर बनाउनैपर्छ । भारतमा बिजुली व्यापार गर्नका लागि चाहिन्छ नै । सबै बुक गर्दा पनि हाम्रो योजनाअनुसार जाने हो भने घाटा हुँदैन । हाम्रो लगानी डुब्दैन । यही मोडेलमा अन्यमा जानुपर्छ भन्ने छैन ।

अहिले ठूला पूर्वाधार आयोजनाहरू विवाद र अवरोधमा छन् । देशको अर्थतन्त्रलाई योगदान पु-याउने यस्ता आयोजनाहरूलाई जनतासँग साक्षात्कार गराएर बिनाअवरोध सरकारले निर्माण किन गर्न सकेन ?
हामी पूर्वाधार नीतिअनुसार नै काम गर्दैनौं । सरकार परिवर्तन भएपछि प्राथमिकता परिवर्तन हुन्छन् । जुन हुनु हुँदैनथ्यो । पूर्वाधार गुरुयोजना बनाएर त्यसको प्राथमिकता निर्धारण गरी हिँड्नुपर्ने थियो, तर हिँडेनौं । हुन त केही त छ, तर एउटा सरकारको प्राथमिकता एउटा, अर्को सरकारको अर्को हुन्छ । सुरु भएका आयोजनाहरूमा केही लगानी भइसकेको हुन्छ तर सरकार परिवर्तनपछि यसमा परिवर्तन भैहाल्छ । पूर्वाधार आयोजना नीतिगत अस्थिरताले समस्याग्रस्त छन् । बिजुलीकै कुरा गरौं, हामीलाई जलाशययुक्त आयोजना बनाउनुपर्छ । कति ठाउँमा बनाउने, त्यसको प्राथमिकता निर्धारण खोइ ? बूढीगण्डकी, माडी जलाशय, उत्तरगंगा, तमोर, दूधकोशी, नलगाढ, सेतीलगायतका सबै प्राथमिकतामा छन्, तर कुन पछि के गर्ने स्पष्ट छैन । सबैमा हात हालिरहेका छौं । बूढीगण्डकीमा ३६-३७ अर्ब मुआब्जा बाँडिसक्यौं, दूधकोसीको सूचना निकालिसक्यौं । सडकको अवस्था पनि यही छ । उत्तर–दक्षिणको कुरा जोड्ने कुरा गर्नुहुन्छ भने जुन क्षेत्रका नेता, मन्त्री आउनुभयो, त्यहीं नै चाइना जोड्ने कोरिडोरको आयोजनाले प्राथमिकता पाउँछ । सबै त गुरुयोजना बनाएर त्यसमै चल्नुपर्ने हो, यसमा नीतिगत अस्थिरता भयो । यसमा राजनीतिज्ञलाई मात्र दोष दिएर हुँदैन, हामी कर्मचारीहरू पनि दोषी छौं । हामीले पनि कडाइका साथ यो गर्नु हुँदैन भनेर भन्न नसकेकै हो । यसलाई स्वीकार गर्नुपर्छ । हामीसँग लगानी गर्ने सीमित स्रोतसाधन भएकाले यसलाई अधिकतम उपयोग गर्नुपर्छ । चुनाव केन्द्रित राजनीति भयो, कर्मचारीतन्त्र पनि चुप लाग्यो ।

छुट्ट्याइएको बजेटमा पनि विकास खर्च कमजोर छ भनिन्छ, अर्थतन्त्रमा ठूलो योगदान दिने पूर्वाधारमा किन खर्च हुन सक्दैन ?
विकास खर्च कमजोरी भयो भनेर म मान्दिनँ । प्रतिशत हेर्दा होला, तर खर्च हुने ठाउँमा बजेट राख्नुप-यो नि । म भौतिक पूर्वाधार मन्त्रालयमा हुँदा १ साउनमै २६ अर्ब बजेट चाहिँदैन भनेर अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई लेखेर दिएको थिएँ । त्यो २६ अर्ब किन राखिएको ? जहाँ खर्च नै हुँदैन, त्यहाँ किन राखिन्छ ? बजेट बढी देखाउन राखिएको हो कि, त्यो अर्थशास्त्र म बुझ्दिनँ तर एक-डेढ वर्षपछि मात्र ठेक्का लाग्ने आयोजनाहरूमा पनि चालू वर्षमै राखिने, के गर्ने ? यो वर्ष बल्ल ठेक्का हुने मुग्लिङ–नारायणगढमा अघिल्लो वर्षमै अर्बौं बजेट राखिएको थियो । गत वैशाखमा ऊर्जामा आउँदा चाहिँदैन भन्दाभन्दै १८ अर्ब राखियो । तपार्इंहरूले के भन्नुहुन्छ, ऊर्जामा ७० अर्ब थियो, खर्च नहुने भयो तर म ५२ अर्बको आधारमा गणना गर्छु । क्षेत्रगत मन्त्रालयलाई बाँडफाँड गर्न नदिएर जथाभावी बजेट राखिन्छ । अर्थ मन्त्रालय र आयोगले क्षेत्रगत मन्त्रालयलाई निश्चित बजेट दिएर बाँडफाँड गर्न लगाउनुप-यो नि । मेरो प्राथमिकतामा राख्न पाउनुप-यो नि । विकास खर्चको कुरा गर्दा विकासे मन्त्रालयकै आफ्नै पीडा छ । उनीहरू स्वतन्त्र छैनन् । यति हुँदाहुँदै पनि केही कमी–कमजोरी त होलान् । संघीयतामा गएपछि पनि सानातिना आयोजनाहरू मन्त्रालयमै छन् । हुन त अहिले १४ सय काटिएको सुनिएको छ । प्रविधिको व्यवस्था गरेर सम्बन्धित मन्त्रालयलाई बजेटको योजना बनाएर दिए विकास खर्च बढी हाल्छ । सम्बन्धित मन्त्रालयलाई प्राथमिकता र बजेट बाँडफाँटमा स्वतन्त्रता दिनुपर्छ ।

Monday, September 27, 2021

दुई हजार मेगावाटसम्मका जलाशय र अर्धजलाशय आयोजनालाई विशेष सहुलियत

https://www.karobardaily.com/news/159323 

आश्विन ११, २०७८ सोमबार

सरकारले प्रतिस्थापन विधेयकमार्फत २०८२ चैतसम्म अर्थात् सन् २०२४ सम्म वित्तीय व्यवस्थापन गर्ने दुई हजार मेगावाट बराबरका दुई सय मेगावाट माथिका जलाशययुक्त तथा अर्धजलाशययुक्त आयोजनालाई विशेष सहुलियतको घोषणा गरेको छ । चरम लोडसेडिङको समस्यापछि २०६७ सालमा २०७१ चैतभित्र व्यापारिक उत्पादन गर्ने नदी प्रवाहमा आधारित आयोजनालाई पनि पोस्टपेड विद्युत खरिद सम्झौता (पीपीए) दिने निर्णय गरेको सरकारले आगामी चार वर्षभित्र वित्तीय व्यवस्था गरिसक्ने तथा २०९० भित्र व्यापारिक उत्पादन गर्ने जलाशय र अर्धजलाशययुक्त आयोजनालाई विशेष सहुलियतको घोषणा गरेको हो ।
वर्षामा रातिको समयमा दैनिक चार सय मेगावाट विद्युत खेर गइरहेको नेपाल विद्युत प्राधिकरणको दाबी छ । तर गत हिउँदमा भने भारतबाट ८ सय मेगावाटसम्म आयात गरेको थियो । हाल १ हजार ५ सय मेगावाट बराबरको विद्युत उत्पादन क्षमता भए पनि कुलेखानी प्रथम, द्धितीय र तृतीय अर्थात ११४ मेगावाट मात्र जलाशययुक्त आयोजना भएकोले हिउँदमा एक तिहाई मात्र उत्पादन हुने भएकोले भारतको भर पर्नुपर्ने अवस्था छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटुवालले अर्धजलाशय र जलायशयुक्त आयोजनालाई विशेष सहुलियत दिएको बताए । “हिउँद र वर्षाको माग र आपूर्तिबीचको सन्तुलन कायम गर्नका लागि जलाशय र अर्धजलाशययुक्त आयोजनालाई विशेष सहुलियत दिने गरी ऊर्जा मन्त्रालय अघि बढेको छ । बजेटमा पनि यो आइसकेको छ,” उनले भने । अर्ध जलाशययुक्त आयोजनाहरुमा पछिल्लो समयमा निजी क्षेत्रको सहभागितामा वृद्धि हुँदै जान थालेको तथा जलाशययुक्त आयोजनाको वित्तीय प्रारुप समेत परिवर्तन गरेर बाँध, विद्युत गृह, सुरुङ लगायतका संरचनाहरु छुट्टाछुट्टै बनाउन सक्ने गरी बजेटले व्यवस्था गरेकोले यसलाई सहजीकरण गरी निजी क्षेत्रलाई समेत आकर्षण गर्ने गरी विशेष सहुलियत दिन लागिएको उनको भनाइ छ ।
मन्त्रालयका अनुसार, ऊर्जा बिक्री रकमको १० प्रतिशतका दरले हुन आउने रकम हेजिङ शुल्क तोकिने तथा आयोजना सम्बन्धी सबै खरिदहरुमा विस्तृत इन्जिनियरिङ डिजाइन प्रतिवेदनमा उल्लिखित परिमाणसम्मका निर्माण सामग्रीहरु, मेशिनरी, उपकरण (स्थानीय तथा आयात) र सबै बीमा सम्बन्धी शुल्कहरु सहित आयोजना व्यापारिक रुपमा सञ्चालनमा नआएसम्म १ प्रतिशतको दरले मूल्य अभिवृद्धि कर लिइने र सो पश्चात १३ प्रतिशतको दरले नै मूल्यअभिवृद्धि कर लागू हुने गरी सुविधा दिइएको छ ।
२०९० सम्म आयोजना व्यापारिक रुपमा सञ्चालनमा आउन सकेमा पहिलो १५ वर्षसम्म आयकर पूरै छुट र त्यसपछिको पछिल्लो ६ वर्षको आयकरमा ५०% सहुलियत दिइने र जग्गा प्राप्ति, वनको जग्गा सट्टापट्टा गर्ने एवं आयोजनामा पर्ने वन क्षेत्र कटानी गर्ने व्यवस्थालाई थप सरलीकरण गरिने, सरकारी जग्गा सहुलियत दरमा लिजमा उपलब्ध गराइने पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, आर्थिक हिसाबले सम्भाव्य भएको तर वित्तीय रुपमा सम्भाव्य नदेखिएको आयोजनाको हकमा नेपाल सरकारले कार्यविधि तय गरी विज्ञ कार्यदलको सिफारिसमा न्यून परिपूरक कोष (भायाविलिटी ग्याप फन्डिङ) मार्फत अनुदान वा सहुलियतपूर्ण ऋण उपलब्ध गराइने तथा वैदेशिक ऋणमा बनाइने आयोजनाको हकमा १० वर्षमा नबढ्ने गरी वैदेशिक ऋण भुक्तान नभएसम्मको लागि विद्युत खरिद बिक्री दर वैदेशिक मुद्रामा तय गरिने गरी अर्धजलाशययुक्त र जलाशययुक्त आयोजनालाई सुविधा दिन लागिएको छ ।
विद्युत उत्पादनको अनुमतिपत्र लिई वित्तीय व्यवस्थापन सम्पन्न आयोजनालाई अधिकतम ५ वटासम्म सवारी साधन विशेष किसिमको भन्सार शुल्क १ प्रतिशतको दरमा आयात गर्न पाउने र यसमा अन्य कर तथा अन्तःशुल्क नलाग्ने, स्वःलगानीमा प्रतिफल दर १७% मा नबढ्ने गरी विद्युत खरिद दरमा वार्षिक वृद्धिदर ४% रहने गरी बढीमा ५ पटकसम्म वृद्धि गरिने तथा आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा पु¥याउन बनाइने आवश्यक संरचनाको खर्चको केही अंश कार्यविधि बनाई नेपाल सरकारले व्यहोर्ने लगायतका सुविधा पनि ती आयोजनाहरुलाई दिइने मन्त्रालयको प्रस्ताव छ ।

Sunday, September 26, 2021

माथिल्लो अरुण तत्काल अघि बढाउन स्थानीयबासी तयार

https://www.karobardaily.com/news/158791

 आश्विन ७, २०७८ बिहीबार

संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचान भएको एक हजार ६१ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजना तत्काल अघि बढाउने पक्षमा स्थानीयबासी देखिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँंचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बुधबार आयोजनाको स्थलगत अवलोकनमा गएको अर्थ मन्त्रालय, विश्व बैंकका प्रतिनिधि सम्मिलित उच्चस्तरीय टोलीलाई स्थानीयबासीहरूले आयोजनाको जतिसक्दो छिट्टो निर्माण सुरु गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन् ।
माथिल्लो अरुण जलविद्युत् आयोजना प्रभावित सरोकार मञ्चका अध्यक्ष लादर भोटेले आफ्नो भूगोगलबाट बनेको पानीबाट उत्पादित बिजुली बाल्न आतुर रहेकाले आयोजनाको निर्माण जतिसक्दो छिट्टो सुरु गर्नुपर्ने बताए । “आयोजना बन्न लागेकोमा खुसी छौं, आयोजनासँगै सडक निर्माण हुने भएकाले गाडी चढ्न पाउने छौं, विद्यालय तथा स्वास्थ्य क्षेत्रको सुधार हुनेछ,” भोटेले भने, “आयोजनाको अनुगमन गर्ने र हेरेर जाने मात्रै हैन वास्तविक रूपमै निर्माण सुरु गर्नु प¥यो, स्थानीय रूपमा हुने अवरोध हटाएर आयोजना सफल बनाउन तयार छौं ।”
मन्त्री भुसालले आयोजनाको अहिले भइरहेको विस्तृत अध्ययनलाई जतिसक्दो छिट्टो सक्ने र लगानी स्वरुप टुंगो लगाएर निर्माण सुरु गर्ने जानकारी दिइन् । “आयोजना चर्चामा आउने तर दशकौंसम्म निर्माण नुहने अवस्था छ, यसको अन्त्य गरी माथिल्लो अरुण स्थानीय जनताले लाभ पाउने गरी निर्माण गर्न हरसम्भव प्रयास गरिरहेका छौं,” उनले भनिन् ।
सरकारले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाको रूपमा अगाडि बढाउने बताएको छ । “जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चार अंकको जडित क्षमता भएको माथिल्लो अरुण प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो आयोजना हो । आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर र विश्व बैक, युरोपेली लगानी बैंकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ । आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहने छ ।
विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत एक अर्ब ३८ करोड अमेरिकी डलर (करिब एक खर्ब ६१ अर्ब रुपैयाँ) रहेको छ । कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ । आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो ।
आयोजनाका लागि आवश्यक पर्ने निजी जग्गा यस वर्षबाट अधिग्रहण र करिब २४ किलोमिटर पहुँच सडक निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनालाई आवश्यक पर्ने १८० हेक्टर जग्गामध्ये १२० हेक्टर अधिग्रहण गर्नु पर्नेछ । आयोजनाबाट २५ घरपरिवार विस्थापित हुनेछन् ।
सन् २०२२ मा सबै अध्ययन सक्ने र २०२३ भित्र ठेकेदारलाई निर्माणका लागि आयोजनास्थलमा परिचालन गरिसक्ने योजनाका साथ काम भइरहेको छ । आयोजनाको निर्माण सन् २०३० भित्र सक्ने लक्ष्य राखिएको छ । विश्व बैंकको एक करोड ३१ लाख डलर सहुलियतपूर्ण ऋणमा आयोजनाको विस्तृत अध्ययन भइरहेको छ ।
ऊर्जामन्त्री भुसाल नेतृत्वको टोलीमा ऊर्जासचिव देवेन्द्र कार्की, अर्थसचिव मधुकुमार मरासिनी, विद्युत् विकास विभागका महानिर्देशक सन्दीपकुमार देव, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैंकका उपाध्यक्ष हार्टविग सोफर, कार्यकारी निर्देशक मोहम्मद हसन अहमदलगायत सहभागी थिए ।

Wednesday, September 15, 2021

सुनकोशी तेस्रो आयोजना निर्माणको प्रस्ताव बंगलादेशलाई

https://www.karobardaily.com/news/157552 

भाद्र ३०, २०७८ बुधबार

नेपालले बंगलादेशलाई ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव गरेको छ । मंगलबार बसेको नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकले सुनकोशी तेस्रो बंगलादेशलाई निर्माण गर्न दिने प्रस्ताव अनुमोदन गरेको हो ।
सोमबार बसेको सहसचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेडब्लूसी) को बैठकले सुनकोशी तेस्रो र ६ सय मेगावाटको खिम्ती शिवालय जलविद्युत आयोजना निर्माणका लागि बंगलादेशलाई प्रस्ताव गरेको थियो । भर्चुअल बैठकको नेतृत्व नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र बंगलादेशको तर्फबाट शक्ति, ऊर्जा र खनिज मन्त्रालयको विकासतर्फका सचिव मोहमद हबिबुर रहमानले नेतृत्व गरेका थिए । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटुवालले पाँच जलविद्युत आयोजनमध्ये पहिलो चरणमा सुनकोशी तेस्रोको अघि बढाउने गरी आगामी डिसेम्बरमा दुवै पक्षबाट भ्रमण गर्ने सहमति भएको जानकारी दिए ।
सन् २०१८ मा दुई देशबीच ऊर्जामा सहकार्यको सम्झौता भएपछि बंगलादेशले नेपालसँग एउटा परियोजना निर्माण गर्ने बताउँदै प्रस्ताव गर्न आग्रह गर्दै आएको थियो । काभ्रे र रामेछापको दोसाँधमा निर्माण हुने सुनकोशी–तेस्रो जलविद्युतको पूर्वसम्भाव्यता अध्ययन सन् १९८३ मै गरेको थियो भने जाइकाले नै जलाशययुक्त आयोजनाहरुको विकास क्षेत्रहरुमध्येबाट उत्कृष्ट छनोट गर्दा मध्यमाञ्चल विकास क्षेत्रबाट यो आयोजना छनोट गरेको थियो । लोडसेन्टर काठमाडौँ बाट ७० किलोमिटर दुरीमा रहेको आयोजनाबाट उत्पादित बिजुली काठमाडांैका साथै ढल्केबरसम्म लैजान सकिने हुनाले यसलाई राम्रो आयोजनाको रुपमा लिइएको छ । विद्युत विकास विभागले अध्ययन गरिरहेको सो आयोजनाको अध्ययन अन्तिम चरणमा पुगेको छ ।
यसैगरी बैठकमा नेपालबाट बंगलादेशमा विद्युत व्यापार गर्ने आवश्यक तयारीका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकेको छ । बैठकमा सहभागी एक अधिकारीका अनुसार, हाल बंगलादेशले पीटीसीमार्फत दुई सय मेगावाट बिजुली आयात गरिरहेकोमा नेपालबाट पीटीसी र पीटीसीबाट बंगलादेश आयात गर्ने वा दुई देशबीच भारतसँग कूटनीतिक पहल गरी नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय बैठकमार्फत डेडिकेटेड प्रसारण लाइन निर्माण गरी अघि बढाउने दुई विकल्पबारे छलफल भएको छ । विद्युत व्यापारबारे नेपाल विद्युत प्राधिकरण तथा बंगलादेश पावर डेभलपमेण्ट बोर्डबीच यसका कानुनी, खरिद लगायतमा विषयमा छलफल अघि बढाउनेछन् ।
बैठकको क्रममा नवीकरणीय ऊर्जाको प्रवद्र्धन, सोलार होम सिस्टम र ऊर्जा दक्षता क्षेत्रमा नेपालको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बंगलादेशको दिगो र नवीकरण ऊर्जा विकास प्राधिकरण (एसआरईडीए) बीच प्रविधि तथा सीप आदानप्रदान गर्ने सम्बन्धमा सहमति भएको मन्त्रालयले जनाएको छ । साथै दुई देशबीच आ–आफ्नो ऊर्जा क्षेत्रमा विद्यमान विशेषज्ञताका आधारमा जनशक्तिको क्षमता अभिवृद्धि गर्न, अनुभव आदानप्रदान गर्न उपयुक्त कार्यक्रम सञ्चालन गर्ने र आवश्यकताअनुसार समझदारी गर्ने सहमति समेत भएको मन्त्रालयले जनाएको छ ।


Sunday, September 12, 2021

इपीसीएफ व्यवस्थाले बूढीगण्डकीसँगको समझदारी खारेजी अन्योलमा

https://www.karobardaily.com/news/157112

 भाद्र २७, २०७८ आईतबार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले इन्जिनियरिङ खरिद निर्माण लगानी (इपीसीएफ) सम्बन्धी कानुनी व्यवस्था नभएको भन्दै बूढीगण्डकी जलाशययुक्त आयोजनासँगको समझदारी खारेजीको तयारी गरिरहेको छ ।
हालसम्म इपीसीएफ सम्बन्धी कानुन व्यवस्था नभएको भन्दै कानुन मन्त्रालय र अर्थ मन्त्रालयबाट प्राप्त सुझावपछि १२ सय मेगावाटको बूढीगण्डकी निर्माणबारे चिनियाँ कम्पनी गेजुवासँग तीन वर्ष अघि भएको समझदारी खारेजीको तयारी गरेको हो ।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला कानुन मन्त्रालयले ओलीकै चासोमा समझदारी भएकोले खारेजी गर्न नसक्ने ठहरसहित मन्त्रालयमै प्रकृया रोकिएमो फेरि ऊर्जा मन्त्री पम्झा भुसालकहाँ खारेजीको फाइल पुगेको छ । स्वदेशी लगानीमै निर्माण गर्ने गरी यसको प्रकृया अघि बढाइएको छ ।
हालै ऊर्जा मन्त्री भुसालले यो सार्वजनिक पनि गरेकी थिइन तर तर अर्थमन्त्री जर्नाद्धन शर्माले शुक्रबार सार्वजनिक गरेको प्रतिस्थापन ठूला पूर्वाधार आयोजनामा इपीसीएफ विधि अपनाउने उल्लेख गरेपछि बूढीगण्डकी निर्माणको प्रकृयामा पुनः अन्योलमा पर्ने देखिएको छ । चार वर्षअघि प्रारम्भिक सम्झौता गरेपनि परियोजना अघि बढाउने नबढाउने भन्ने टुंगो लागेको छैन भने समझदारी गरेको चिनियाँ कम्पनीले ठोस काम अघि बढाउन सकेको छैन ।
“चिनियाँ कम्पनीले केही काम गरेको छैन, ऊसँग भएको समझदारी अन्त्य गर्नका लागि मन्त्रीकहाँ फाइल पुगेको छ, तर अझै निर्णय भएको छैन” ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, “चीनसँगको समझदारी अन्त्य गर्न पनि कठिन छ, विगत तीन वर्षदेखि चिनियाँ कम्पनीले पनि काम गरेको छैन, कानुन र अर्थ मन्त्रालयको रायपछि हामी समझदारी खारेजीको प्रकृयामा छौं तर, नयाँ बजेटको व्यवस्थाले झन अन्योलता बढाएको छ ।”
प्रतिष्थापन विधेयकले भने सुरुङ मार्ग, विद्युत् प्रसारण लाइन, विमानस्थल तथा नयाँ प्रविधिमा आधारित अन्य यातायात पूर्वाधार, जलविद्युत् आयोजना, ठूला अस्पताल, विश्वविद्यालयलगायत ठूला पूर्वाधारमा निर्माणमा निजी क्षेत्रले इन्जिनियरिङ खरिद निर्माण लगानी (ईपिसिएफ) विधिबाट निर्माण गर्न सक्ने व्यवस्था गर्नसक्ने व्यवस्था गरेको छ । एक्सप्रेस रोड, सुरुङमार्ग, दु्रत मार्ग, फ्लाईओभर जस्ता पूर्वाधार निर्माण तथा सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीति लिएको उल्लेख गर्दै विधेयकमा पूर्वाधार विकासका लागि पूर्वाधार वण्ड, ब्लेण्डेड फाइनान्स जस्ता नयाँ वित्तीय उपकरणहरु सुरुवात गरिने उल्लेख छ ।
२ सय मेगावाटभन्दा माथिका जलाशययुक्त तथा अर्ध जलाशयुुक्त आयोजनाका लागि छुट सुविधा र सहुलियत दिई लगानी आकर्षित गर्ने प्रबन्ध मिलाइने उल्लेख गर्दै बजेटमा जलस्रोतको बहुउपयोगका लागि नयाँ योजनाहरु तयार गर्दा जलविद्युत् उत्पादन क्षमता, सिँचाइको सम्भाव्यता र खानेपानीको स्रोतको पहिला गर्न एकीकृत नक्सांकन तयार गरिने उल्लेख छ ।

बुटवल–गोरखपुर प्रसारणलाइनको लगानी सम्झौता

https://www.karobardaily.com/news/157134

 भाद्र २७, २०७८ आईतबार

डेढ वर्ष ढिलो गरी नेपाल र भारतबीच विद्युत व्यापारका लागि निर्माण गर्ने भनिएको ४ सय केभीको बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि लगानी सम्झौता भएको छ ।
दुई वर्षअघिको असोजमा बसेको ऊर्जा व्यापार सम्झौता (पीटीए) अन्तर्गत गठित सचिवस्तरीय कार्यकारिणी समिति (जेएससी) को बैठकले लगानीको ढाँचामा सहमति गरेर ६ महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्ने भने पनि बल्ल प्रसारणलाइनमा लगानीबारे सम्झौता भएको हो । नेपाल विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरसेन अफ इन्डिया लिमीटेडबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएसँगै अब संयुक्त कम्पनी स्थापनाका लागि बाटो खुलेको छ । भारतको राजधानी नयाँ दिल्लीमा भएको कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिडका तर्फका कार्यकारी निर्देशक वाइ के दीक्षितले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
संयुक्त कम्पनी स्थापनाका लागि दुवै देश सहमत भएपनि लगानीका लागि सम्बन्धित सरकारको तर्फबाट गर्ने निर्णयमा भने ढिलाइ भएको थियो । मन्त्रिपरिषद्को १९ साउनको बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत सेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो । हालसम्म नेपाल सरकारले अर्को देशमा गएर यस्ता कार्यमा लगानी नगरेकोले सरकारले यसमा लगानी गर्नेबारे निर्णय गर्न लामो समय लगाएको थियो ।
बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको लम्बाइ १ सय ४० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ २० किलोमिटर पर्छ भने भारतर्फ एक सय किलोमिटर पर्छ । प्राधिकरणका अनुसार, सो अन्तरदेशीय प्रशारणलाइनमा भारततर्फ १२० किलोमिटरका लागि सन् २०१६ को अध्ययनले ५ अर्ब १५ करोड भारतीय रुपैयाँ लाग्ने देखाएको छ । त्यसैगरी नेपालतर्फको २० किलोमिटर प्रशारणलाइनका लागि भने २ अर्ब ५ करोड भारतीय रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ ।
नेपाल खण्डको प्रसारणलाइन नेपाल आफैंले र भारतर्फको प्राधिकरण र पावर ग्रिडको ५०÷५० प्रतिशत सेयर स्वामित्वमा स्थापना हुने कम्पनीले निर्माण गर्ने छन् । ८० प्रतिशत ऋण लिएर निर्माण गर्न लागिएको भारतर्फको खण्डका लागि नेपालले स्वपुँजीवापत एक अर्ब बराबरको लगानी गर्न लागेको छ । प्रसारणलाइन तीनदेखि साढे तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइने प्राधिकरणले जनाएको छ ।
सम्झौतामा हस्ताक्षरपछि प्रसारणलाइनअन्तर्गत भारतर्फको खण्ड निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको ५०÷५० प्रतिशत संस्थापक सेयर रहने गरी संयुक्त कम्पनी स्थापना गर्न बाटो खुलेको कार्यकारी निर्देशिक घिसिङले जानकारी दिए । “दुई मुलुकबीचका सचिव र सहसचिव स्तरीय संयन्त्रका बैठकले भारतर्फको खण्ड प्राधिकरण र पावर ग्रिडको संयुक्त लगानी रहने गरी कम्पनी स्थापना गर्ने र त्यसैमार्फत निर्माण गर्ने सहमति भएता पनि मन्त्रिपरिषद्बाट स्वीकृति नपाउँदा संयुक्त लगानी तथा सेयरहोल्डर सम्झौता हुन सकेको थिएन,” घिसिङले भने, “मन्त्रिपरिषदको स्वीकृतिमा सम्झौतामा हस्ताक्षर भएसँगै प्रवन्ध पत्र, नियमावली तयार गरी कम्पनी स्थापना गर्न र प्रसारण सेवा सम्झौताका लागि अगाडि बढ्न बाटो खुलेको छ ।”
प्रसारणलाइनले करिब २ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्ने प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । “अहिले सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रसारणलाइनले भन्दा बुटवल–गोरखपुर प्रसारणलाइनले झण्डै डबल क्षमतामा विद्युत प्रवाह गर्न सक्छ, यो प्रसारणलाइन दुई मुलुकबीचको विद्युत व्यापारका लागि लाइफ लाइन हुने छ,” अधिकारीले भने ।
पहिलो ढल्केबर–मुजफरपुर जस्तै दोस्रो अन्तरदेशीय प्रसारणलाइनमा पनि २५ वर्षसम्मको एकल क्यापासिटी बुकिङ नेपालले गर्न नेपाल सहमत भइसकेको छ । २५ वर्षपछि भारततर्फको प्रसारणलाइनमा नेपालको पनि लगानी भएकोले त्यो लाइन कसरी सञ्चालन हुन्छ भने अझै अन्योल भने अझै कायम छ ।

Saturday, September 11, 2021

घरायसी ग्राहकलाई हिउँद र वर्षाको विद्युतमा फरक महशुल

https://www.karobardaily.com/news/156859 

भाद्र २५, २०७८ शुक्रबार

२० युनिटसम्म घरायसी र सामुदायिकलाई निःशुल्क
–सिँचाइमा विशेष छुट

–उद्योगको न्यूनत्तम शुल्कमा वृद्धि
–अफ पिक समयको दर कम
–छुटबाट सवा खर्ब घाटा


नेपाल विद्युत प्राधिकरणले पहिलोपटक घरायसी ग्राहकलाई हिउँद र वर्षाको विद्युत महशुलमा फरक–फरक प्रस्ताव गरेको छ । बर्खायाममा खेर गइरहेको बिजुलीको उपयोग बढाउने उद्देश्यसहित वर्षामा सस्तो हुने गरी प्राधिकरणले विद्युत नियमन आयोगलाई विद्युत महशुलको प्रस्ताव गरेको हो ।
गार्हस्थ वर्गले गाउँमा व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइनका लागि चार सय युनिटसम्म खपतमा प्रतियुनिट ११.५० र चार सय युनिटमाथि १२ रुपैयाँ रहेकोमा अब वर्षामा प्रति युनिट १०.५० र हिउँदमा ११.५० रुपैयाँ प्रस्ताव गरिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।
प्राधिकरणले आयोगमा गरेको प्रस्तावमा २० युनिटसम्मलाई निःशुल्कका साथै सिँचाइका लागि हालको महशुल घटाइएको छ भने औद्योगिक ग्राहकलाई न्यूनत्तम शुल्क बढाइसकेको छ । महशुल घटाउँदा २० युनिटसम्म र सिँचाइका लागि गरी सवा खर्बबराबर घाटा लाग्ने अनुमान प्राधिकरणको छ । आयोगका सदस्य एवं प्रवक्ता डा. रामप्रसाद धितालले विद्युत प्राधिकरणबाट प्रस्ताव आएको र यसको वित्तीय विश्लेषण भइरहेको जानकारी दिए ।
१० युनिटम्म विद्युत उपयोग गर्ने घरायसी वर्गका ५ एम्पियरमार्फत लाइन लिने उपभोक्तालाई न्यूनतम शुल्क निःशुल्क रहेकोमा प्राधिकरणले २० युनिटसम्मका लागि निःशुल्क दिने प्रस्ताव गरेको छ । तर यस्ता ग्राहकले ऊर्जा शुल्क भने तिर्नुपर्छ । ऊर्जा शुल्क प्रति युनिट ३ रुपैयाँ छ । यसबाट २२ लाख ग्राहक लाभान्वित हुने र प्राधिकरणले ७५ करोड बराबर घाटा बेहोर्नुपर्ने प्राधिकरणको वित्तीय विश्लेषणमा उल्लेख छ । प्राधिकरणले २० युनिटसम्म खपत गर्ने सामुदायिक थोक ग्राहकको मशहुल दरमा समेत परिमार्जन गरी न्यूनतम शुल्कलाई निःशुल्क गर्न प्रस्ताव गरेको छ ।
गार्हस्थ वर्गले १५१ युनिटभन्दा बढी खपत गर्दा प्रति युनिट १० रुपैयाँ रहेकोमा ९.५० रुपैयाँ तथा ४ सय युनिटभन्दा माथिका ग्राहकको लागि प्रतियुनिट १२ रुपैयाँ रहेकोमा ११ रुपैयाँ प्रस्ताव गरिएको छ । विद्युतीय चुल्हो तथा विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि प्राधिकरणले यस्तो प्रस्ताव गरेको जनाएको छ । घरायसी तल्लो वर्गको २३०/४०० भोल्ट बिजुली उपयोग गर्ने ग्राहकको हकमा सिँचाइका लागि पानी तान्न हाल प्रति युनिट ४.३० रहेकोमा घटाएर २.२५ रुपैयाँ, ३३ केभीका ग्राहकका लागि पानी तान्न ४.८० रुपैयाँ रहेकोमा २.५० रुपैयाँ तथा ११ केभीका ग्राहकका लागि ४.९० रुपैयाँ रहेकोमा घटाएर २.६० रुपैयाँ कायम राख्न प्रस्ताव गरिएको छ । यसले कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट प्राधिकरणले करिब ५६ करोड घाटा हुने अनुमान गरेको छ ।
प्राधिकरणले औद्योगिक ग्राहकको हकमा न्यूनत्तम शुल्क वृद्धिको प्रस्ताव गरेको छ भने अफ पिक समयको विद्युत महशुल दर घटाउने प्रस्ताव गरेको छ । रात्री समय अर्थात् राती ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि १३२ केभीको ग्राहकको हाल प्रति युनिट ४.६५ रुपैयाँ रहेकोमा घटाएर ४ रुपैयाँ, ६६ केभीमा ४.७५ रुपैयाँ रहेकोमा ४.०५ रुपैयाँ र ३३ केभीमा ३.१५ रुपैयाँबाट घटाएर ३ रुपैयाँ प्रस्ताव गरिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । सबै औद्योगिक ग्राहकको न्यूनतम शुल्क भने एक सय रुपैयाँ बढाउने प्रस्ताव गरिएको छ ।
विद्युत प्राधिकरणले घरायसी ग्राहकको महशुल घटाउँदा तथा औद्योगिकको न्यूनतम शुल्क बढाउँदा समग्रमा खासै महशुल नबढ्ने बताए पनि आयोगले भने यसको वित्तीय विश्लेषण भइरहेको जनाएको छ । “अहिले प्राधिकरणको प्रस्ताव अनुसार वित्तीय विश्लेषण भइरहेको छ, यो विश्लेषणपछि सुझावका लागि प्राधिकरणको प्रस्ताव सार्वजनिक गर्छौं,” आयोगका प्रवक्ता डा. धितालले भने, “सार्वजनिक सुनुवाई सकेर सबैको सल्लाह सुझावको आधारमा महशुलबारे निर्णय गर्छौ ।”
अघिल्लो वर्षको १ असारमा विद्युत नियमन आयोगले समग्रमा १० प्रतिशत विद्युत महशुल घटाएको थियो । गत वर्ष आयोगले दोब्बर महशुल कायम गरिएको ट्रंकलाइन र डेडिकेटेड फिडर नै खारेज गरिदिएको थियो ।


पञ्चेश्वर प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा भेटुवाल

https://www.karobardaily.com/news/156900 

भाद्र २५, २०७८ शुक्रबार

मधु भेटुवाल

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना,

प्रमुख कार्यकारी अधिकृत

बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन नेपाल र भारत दुवैले संयुक्त रूपमा गठन गरेको पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मधु भेटुवाल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को बैठकले तीन वर्षका लागि नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सहसचिव समेत रहेका भेटुवाललाई नियुक्त गरेको हो । प्रत्येक तीन वर्षमा सीईओ परिवर्तन हुने गरेकोमा अघिल्लो कार्यकालमा भारतको तर्फबाट सीईओ रहेको र आगामी वर्षका लागि नेपालबाट नियुक्त गर्नुपर्ने दुई देशबीचको गर्भेनिङ काउन्सिलले गरेको व्यवस्थाअनुसार भेटुवाललाई सरकारले नियुक्त गरेको छ ।
पञ्चेश्वर प्राधिकरणको कार्यकारी समितिमा भारतको तर्फबाट सहायक सीईओ रहने गरेकोमा भारत सरकारले केन्द्रीय जलस्रोत आयोगका जीके अग्रवाललाई गरिसकेको छ । समितिमा नेपाल र भारतको तर्फबाट ३÷३ जना कार्यकारी निर्देशक रहने व्यवस्था गरिएको छ ।
त्यसैगरी प्राधिकरणको कार्यकारी निर्देशकहरूमा कानुनतर्फ पुष्कर सापकोटा र वातावरणतर्फ रामगोपाल खर्बुजा र प्रशासनतर्फबाट बाबुराम भण्डारीलाई नियुक्ति गर्ने निर्णय गरेको ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहेका नवनियुक्त सीईओ भेटुवालले जानकारी दिए । भारतको तर्फबाट भने जलस्रोत आयोगमा कार्यरत सीमर शुक्ला प्राविधिकतर्फ, एचएस स्याङगर अर्थतर्फ र एसके सिन्हा पुनर्बास तथा पुनर्बासतर्फ कार्यकारी निर्देशक नियुक्त भएका छन् ।
२०५२ साल माघमा नेपाल र भारतबीच महाकाली सन्धिको क्रममा ६ महिनाभित्रै डीपीआर टुंगो लगाउने उल्लेख भए पनि पुनः २०७१ सालमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको थियो तर हालसम्म पूरा भएको छैन । दुई देशबीच पानी बाँडफाँटलगायतका विषयमा अझै विवाद छ । ७ वर्षअघि पञ्चेश्वर विकास प्राधिकरण गठन गठन गर्ने निर्णय गर्दै दुवै देशले परियोजना अघि बढाउनका लागि महेन्द्रनगरमा कार्यालय स्थापना गर्ने निर्णय गरेका थिए तर बितेको तीन वर्षमा नेपालतर्फबाट नियुक्त भएका सहायक सीईओ चिरञ्जीवी चटौतलगायतको टीम महेन्द्रनगरमै बसे पनि भारतीय पक्ष भने कोही स्थायी रूपमा बस्न आएन । तीन वर्षको अवधिमा एक पटकमात्र कार्यकारी समितिको बैठक बसेको तथा तीन वर्षमा विज्ञहरूको बैठक तीन पटकमात्र बसेको छ तर प्रत्येक वर्षको दुईपटक कम्तीमा बैठक बस्नुपर्ने व्यवस्था प्रावधान राखिएको भए पनि बैठक बस्नै कठिन रहेको प्राधिकरणका एक अधिकारी बताउँछन् ।
विकास प्राधिकरणका अनुसार, ६४ सय ८० मेगावाट विद्युत् उत्पादन गरिने लक्ष्य राखिएकोमा नेपालले आधा अर्थात् ३२ सय ४० मेगावाट विद्युत् पाउनेछ ।

Thursday, September 9, 2021

लगानी बोर्डको रणनीतिक र व्यापारिक योजना सार्वजनिक

https://www.karobardaily.com/news/156680

 भाद्र २४, २०७८ बिहीबार

लगानी बोर्डले पाँच वर्षे रणनीतिक योजनाका लागि साढे दुई अर्ब रुपैयाँ आवश्यक परेको उल्लेख गर्दै यसबाट १३ खर्ब लगानी भित्र्याउन सक्ने लक्ष्य सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष शेरबहादुर देउवाले बोर्डको १० औं वार्षिकोत्सवका अवसरमा बुधबार सार्वजनिक गरेको सन् २०२५/०२६ सम्मको रणनीतिक तथा व्यापारिक योजनामा यो लक्ष्य उल्लेख छ । १ अर्ब ३९ करोड परियोजना विकास र व्यवस्थापन, ४३ करोड लगानी प्रवद्र्धन, ४९ करोड संस्थागत विकास र ५ करोड समन्वय, सहकार्य र साझेदारीका आवश्यक हुने बोर्डको प्रक्षेपण छ ।
२ अर्ब ३८ करोडको रणनीतिक योजनाबाट पाँच वर्षमा १० बिलियन डलर अर्थात् १३ खर्ब लगानी भित्र्याउने योजना बोर्डको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मार्फत ८ खर्ब लगानी भित्र्याउने योजना अघि सारेको बोर्डले एक लाख रोजगारी सिर्जना गर्ने, लगानीका लागि वातावरण निर्माण गर्ने तथा बोर्डलाई पीपीपी सेन्टरको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । बोर्डले प्रत्येक वर्ष आफूले गर्ने स्पष्ट कार्ययोजना निर्माण गर्दै यस अवधिमा ठूला पूर्वाधार विकासमा लगानी गर्नुपर्ने अध्यक्ष देउवाले बताए । बोर्डका अनुसार विगत १० वर्षमा ८ खर्ब ३३ करोड लगानी स्वीकृत भएको छ भने २७ परियोजना लगानी स्वीकृत, २ लगानी सम्मेलन, ७ समझदारी, २ प्रोजेक्ट इभेस्टमेन्ट सम्झौता (पीआईए) र २ आयोजना विकास सम्झौता (पीडीए) भएको छ ।

लगानीको वातावरण बनाउँछांै : प्रधानमन्त्री
बोर्डको कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि सरकारले उचित वातावरण बनाउने बताए । लगानीलाई सरकारले स्वागत गर्ने बताउँदै उनले यसका लागि आवश्यक नीतिगत परिवर्तन र मार्गचित्रका लागि सरकार तयार रहेको बताए । पूर्वाधार निर्माणका लागि लगानीको अभाव रहेको बताउँदै उनले सबै राजनीतिक दलहरु आर्थिक समृृद्धिको पक्षमा एकमत भएकोले यसले राम्रो सन्देश जाने धारणा राखे ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई झन्झट नहुने गरी उचित वातावरण बनाउने बताए । लगानीसम्बन्धी धेरै कानुन बने पनि कार्यान्वयनमा समस्या रहेको बताउँदै उनले लगानीका लागि विश्वासको वातावरण आवश्यक रहेकोले यसका लागि काम गर्नुपर्नेमा जोड दिए ।
नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले नेपालका लागि दर्विलो हरित पूर्वाधारको आवश्यकता रहेको बताइन् । नेपालमा ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलजका अध्यक्ष नन्दलाल शर्माले आफूहरुले नेपालमा १५ सय मेगावाटको दुई आयोजना निर्माण गरिरहेको बताउँदै नेपालमा लगानी आकर्षण गर्न सडक पूर्वाधारमा सुधार, सरकारी निकायको प्रकृयामा सरलीकरण, वित्तीय संस्थाहरुको अवस्था सुधार, व्यावसायिक वातावरणमा सुधार तथा जग्गा प्राप्तिलाई सरलीकृत गर्नुपर्ने बताए ।
पीपीपीका लागि विश्व संगठनका अध्यक्ष जिआद हायकले लगानीमा देखिएको अभावको अवस्था पुर्न पीपीपी महत्वपूर्ण हुने बताए । विश्व बैंकका पूर्वाधारतर्फका क्षेत्रीय निर्देशक गुआजे चेनले पूर्वाधार, ऊर्जा लगायतका क्षेत्रमा लगानी बढाउनु आवश्यक रहेको बताउँदै पूर्वाधारका क्षेत्रमा निजी क्षेत्रको लगानीलाई आकर्षण गर्नुपर्ने बताए ।

‘पूर्वाधार विकासमा पीपीपी र हरित लगानी’
लगानी बोर्डको १०औं वार्षिकोत्सवको अवसरमा दिगो पूर्वाधार विकास तथा सार्वजनिक निजी साझेदारी अवधारणामार्फत पूर्वाधार विकासका अवसर र चुनौतीबारे भएका दुई बेग्लाबेग्लै सत्रमा यसका लागि पीपीपी र हरित लगानीको आवश्यकतामा जोड दिइएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको अध्यक्षतामा भएको ‘नेपालमा दिगो पूर्वाधारको विकास’ विषयमा पहिलो सत्रमा विज्ञहरुले यस्तो बताएका हुन् ।
पहिलो सत्रमा एसियाली पूर्वाधार लगानी बैंकका पूर्वाधार लगानी विकास महानिर्देशक रजत मिश्रले विशेष सम्बोधन गरेका थिए भने काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, अन्तर्राष्ट्रिय वित्त निगम–विश्व बैंकका आवासीय प्रतिनिधि बबाकर शेदिख, बेलायती दूतावासस्थित दिगो विकासका प्रमुख एवं उपनिर्देशक हेइदी ताभाकोली र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालमा वातावरणीय दृष्टिकोणले दिगो पूर्वाधार विकास हुनुपर्नेमा जोड दिए ।
यसैगरी अर्थ सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा सम्पन्न ‘नेपालको आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारीको विकास र व्यवस्थापन’ विषयक दोस्रो सत्रमा पूर्वाधारको लगानीको अभाव पूर्ति गर्न पीपीपी महत्वपूर्ण औजार भएको बताए ।

१० वर्षको लक्ष्य
१० बिलियन डलर अर्थात् १३ खर्ब लगानी
पीपीपीमार्फत १० खर्ब
एक लाख रोजगारी सिर्जना
लगानीका लागि वातावरण निर्माण
बोर्डलाई पीपीपी सेन्टरको रुपमा विकास

पछिल्ला १० वर्षको प्रगति
आठ खर्ब ३३ करोड लगानी स्वीकृत
२७ परियोजना
दुई लगानी सम्मेलन
सात एमओयू
दुई प्रोजेक्ट इभेस्टमेन्ट सम्झौता
दुई पीडीए

Wednesday, September 8, 2021

एमसीसी राष्ट्रघाती छँदै छैन, नेपालकै हितमा छ

 https://www.karobardaily.com/news/156558भाद्र २३, २०७८ बुधबार

डा. शंकर शर्मा अमेरिकाका लागि नेपालका पूर्वराजदूतका साथै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । लामो समयसम्म सरकारी सेवामा रहेर योजना र कूटनीति दुवै क्षेत्रमा अनुभव बटुलिसकेका उनको पहिचान अर्थशास्त्री, कूटनीतिज्ञ र योजनाकारको रूपमा समेत छ । सरकारले अमेरिकी अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रक्रिया अघि बढाउने संकेत देखाउँदै यसबारे ‘विवादित’ भनिएका बुँदाहरूबारे एमसीसीसँग स्पष्टताका लागि पत्रसमेत पठाइसकेको छ । एमसीसीको सहयोगमा गत वर्षको असारदेखि ऊर्जा र सडक परियोजना अघि बढाउने तयारी गरे पनि सम्झौता संसद्बाट अनुमोदन नभएपछि रोकिएको हो । तत्कालीन नेकपा सरकारभित्रको विवादका कारणले अघि बढ्न नसकेको संसद्बाट अनुमोदन गर्ने प्रक्रिया कांग्रेस नेतृत्वको अहिलेको सरकार आएपछि अघि बढेको छ, यद्यपि यसबारे पछिल्लो समयमा विवाद छ । एमसीसी परियोजना र यसमा देखिएका विवाद र नेपालले लिन सक्ने फाइदाबारे कारोबारकर्मी भीम गौतमले अमेरिकाका लागि नेपालका पूर्वराजदूत एवं योजना आयोगका पूर्वउपाध्यक्ष डा. शर्मासँग गरेको कुराकानीको सार :

अहिले एमसीसी परियोजनाबारे नेपालमा विवाद छ, किन यसलाई बढी विवादित बनाइयो ? यो अनुदान सहायता नेपालमा आवश्यक हो कि होइन ?
पहिलो कुरा त नेपाललाई आवश्यकता नहुने कुरै भएन । हामी आफैंले पहल गरेर यो अघि बढेको हो । सहस्राब्दी लक्ष्य, जुन सन् २०१५ का लागि तयार गरिएको थियो, संयुक्त राष्ट्र संघ, विश्व बैंकलगायतले अल्पविकसित राष्ट्रहरूलाई स्रोत पुग्दैन, हामीले त लक्ष्य त राख्यौं तर ती देशहरूका लागि स्रोतसाधनको पनि व्यवस्था गर्नुपर्छ भनेर धेरै देशहरूले यसमा सहयोग गर्न थाले । त्यसमाथि पनि अमेरिकाको धेरै नै आलोचना भइरहेको थियो, किनभने उसले दिने सहयोग कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अत्यन्तै न्यून थियो । अहिले पनि छ । यसकारण उनीहरूले ठूलो रकम एमसीसी परियोजनाका लागि राखे । गरिबी निवारण र आर्थिक वृद्धिका लागि यो परियोजना अघि बढाउनुपर्छ भनेर सन् २००४ मा तय गरे । हामीले पनि यसका लागि चासो देखायौं । सन् २०११ मा अमेरिकाका लागि राजदूत हुँदा मैले नै पत्र पाएको हो । सन् २०११ को डिसेम्बरको बोर्डले उनीहरूले ल तिमीहरूका लागि ढोका खुल्यो भनेर पत्र पठाएको थियो । त्यसमा नेपाललाई छानिएकोमा बधाईसमेत दिएको थियो । उनीहरूले नेपाललाई के आवश्यकता छ भनेर समिति बनाउनुप-यो भनेर पनि भनेका थिए । म नेपाल सरकारमा लामो समयसम्म काम गरेको हुनाले मैले अर्थ मन्त्रालयलाई पत्र लेखें । अर्थ मन्त्रालयले आफ्नो एउटा समिति पनि बनायो । त्यो नेपालीको समिति र परामर्शदाताहरू भएर नेपालको विकासका प्रमुख बाधकहरू केके भन्ने कुराहरू पहिचान गरेर प्रतिवेदन दियो । नेपालमा त्यो बेला बिजुलीको समस्या प्रमुख थियो । त्यो बेला धेरै लोडसेडिङ थियो । त्यसपछि हाम्रो पूर्वाधारमा समस्या देखियो । त्यो बेलामा सरकारले सफ्टभन्दा पूर्वाधार क्षेत्रमा बढी सहयोग चाहियो भन्न थालेका थियौं । नेपालले बनाएको समितिले सडक र विद्युत्को परियोजना पहिचान ग¥यो । बिजुलीमा मुख्य त प्रसारण लाइन नै देखियो । उत्पादन त धेरै निजी क्षेत्रले नै गर्छ भन्ने सरकारको नीति पनि हो । अहिले त हामीसँग निर्यात गर्ने क्षमता पनि बनिसक्यो । देशव्यापी रूपमा प्रसारण लाइनको नेटवर्क बन्ने र निर्यातका लागि पनि सहयोग पुग्ने भनेर प्रसारण लाइन परियोजना बनाउने तय भयो । नयाँ प्रविधिसहितको आठ लेनको बाटो बनाउने पनि टुंगो लाग्यो । हाम्रो सरकारले नै पहिचान गरेर हाम्रै आवश्यकताका आधारमा हाम्रा परियोजनाहरू अगाडि ल्याइएको हो । नेपालको विकासका लागि भारत, चीन, अमेरिका, बेलायत, युरोपियन देशको चासो छ । बढी विवाद भनेको एमसीसी संसद्बाट अनुमोदन गर्नुप¥यो भनेर भनेकै कारणले आएको हो । संसद्बाटै किन गर्नुप¥यो भनेर सबैले आफ्ना–आफ्ना धारणा राख्न थाले । यस्ता परियोजनाहरू कसरी र कसले गर्छ भन्ने धेरै नेपालीलाई ज्ञान दिएन । अर्थ मन्त्रालयले सम्झौता गथ्र्याे, कसैले पनि यो पढ्दैनथ्यो पनि । मन्त्रिपरिषद्बाट पारित हुन्थ्यो । संसद्बाट पारित गर्नुपर्ने भएकाले धेरै मानिसले चासो लिए । चासो लिनेहरूले पुराना कुनै सम्झौताहरू हेरेनन् । एमसीसीको सम्झौताले के भन्छ भने अन्तर्राष्ट्रिय कानुनबमोजिम लागू हुन्छ भनेको छ । धेरैले के नेपालको कानुन लागू नभई किन अन्तर्राष्ट्रिय कानुन लागू हुने भनियो भनेर पनि भने । किन संसद्बाट अनुमोदन गर्नुप¥यो भने । सरकारले गरिरहेका पुराना सम्झौताहरूलाई हेर्ने हो भने के देखिन्छ भने जापानको अनुदान सहायताले के भन्छ भने यो अनुदानमा जापानकै कानुन लागू हुन्छ भन्छ । हामीले यहीअनुसार सम्झौतामा सही गरेका छौं । ईयूका लगानीकर्ता बैंकहरूले जुनसुकै देशमा भए पनि लकजम्बरको ल लागू हुन्छ भनेर सम्झौता गर्ने गर्छन् । विश्व बैंक र एसियाली विकास बैंकले अन्तर्राष्ट्रिय ल लागू हुने भनेर भनेको हुन्छ । दुवैले कुनै सम्झौता गर्दा सन्धिबमोजिम नै हुन्छ भनेर यस्ता सम्झौतामा हामी सहमत भइसकेका छौं । यो पनि अन्तर्राष्ट्रिय कानुनले नै तय गर्छ । अरुण तेस्रोजस्तो निजी क्षेत्रले लगानी गर्ने आयोजनालाई समेत इङ्ल्यान्ड र वेल्स कानुनबमोजिम हुन्छ भनिएको छ । नेपालको कानुनले होइन । यसकारण एमसीसीमा पनि अन्तर्राष्ट्रिय कानुन भनेको हो । संसद्बाट किन अनुमोदन गर्नुप¥यो भनेको हो भने पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने भनिएको छ, अहिले भएको सम्झौता पनि सन्धिसम्बन्धी ऐन, २०४७ बमोजिम नै छ, तर नेपालले कथम्कदाचित प्रदेश वा अन्य निकायबाट अरू कानुनहरू बनाउनुप¥यो भने फेरि पाँच वर्षभित्र नयाँ कानुनअनुसार पूरा गर्न त सम्भव हुँदैन । संसद्बाट अनुमोदन भयो भने यो कानुनसरह भइहाल्यो । अरू बाधा–अड्चनहरू आउँदैन भनेर पाँच वर्षभित्रै सकाउने उद्देश्यसहित गरिएको हो ।

दुई देशबीच यस्ता ठूला पूर्वाधार आयोजनाको लगानीका सम्झौताहरू संसद्मा लैजानु भनेको सर्वसाधारण जनतादेखि सबैका लागि जानकारी हुने हुनाले झन् यो त पारदर्शी प्रक्रिया होइन र ? किन बढी नै संसद्मा लगिएको भनेर आलोचना भएको हो जस्तो लाग्छ ?
संसद्मा ठूला पूर्वाधार आयोजनाहरूको सम्झौता लग्नु भनेको पारदर्शिताको उदाहरण नै हो । जसले विरोध गरिरहनुभएको छ, उहाँहरूले विभिन्न देशहरूसँग, ईयूसँग, निजी क्षेत्रले गरेको, विश्व बैंक, एसियाली विकास बैंकसँग नेपालले गरेका सम्झौता हेर्नुभएको रै’नछ कि जस्तो लाग्यो । मेरो विचारमा संसद्मा लागू त धेरै राम्रो, पारदर्शिताको कुरा हो । यसले गर्दा धेरै सर्वसाधारणलाई थाहा पनि भयो नि, हामी कसरी सम्झौता गर्दा रहेछौं भनेर । यति मात्र होइन, यो सम्झौतामा कानुन मन्त्रालय, अर्थ मन्त्रालयल गायतका अधिकारीहरू सहभागी हुनुहुन्छ । नेपाली कांग्रेस, एमाले, माओवादी पार्टीका मन्त्री र राजनीतिकस्तरमा धेरै नेताहरूको एमसीसी ल्याउने प्रक्रियामा सहभागिता भएर बधाई पनि खानुभएको छ । अगाडि बढाउन सहयोग पनि गर्नुभयो । यसमा मलाई के लाग्छ भने बुझाइकै कमी हो कि ? धेरैले यसमा अमेरिकी कानुन लाग्ने भनेर विरोध गरेका छन्, यो त हुँदै होइन । यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुने हो । यसमा खालि के भनिएको हो भने अमेरिकाको हितप्रतिकूल कार्य गर्न नपाइने भनिएको हो । मैले नै पैसा दिनु, मेरै विरुद्ध खनिनु हुँदैन भन्नु त अस्वाभाविक पनि नहोला ।

कुनै पनि देशले कुनै पनि देशलाई यस्ता किसिमका सहायता दिँदा केही न केही स्वार्थ त हुन्छ नै । यसबारे के भन्नुहुन्छ ?
अमेरिकाको नेपालप्रतिको स्वार्थ भारत र चीनको जस्तो सीमा छोएको देश नभएकाले त्यस्तो त छैन, तर अमेरिका विश्वकै सुपर पावर देश हो । उसको चाहना धेरै देश मसँगै रहून्, मेरो विरुद्ध नजाऊन् भन्ने हुन्छ । यो अमेरिकाको मात्र होइन, जुनसुकै देशको पनि रहिरहन्छ । बेलायत, युरोपियन युनियन सबै देशको हुन्छ । हरेक देशको स्वार्थ अन्य देशका लागि विकास, कूटनीति र निर्भरताबारेमा स्वार्थ हुन्छ । विकासको कारणले कुनै पनि देशको त्यो देशमा प्रभाव रहिरहन्छ । विकास भनेको कूटनीति अर्थात् विदेश नीतिको एउटा मुख्य अंग नै हो ।

धेरैले एमसीसीलाई आईपीएस (इन्डो प्यासेफिक रणनीति) को अंग भन्दै यसको विरोध गरिरहेका छन् ? के यो सम्झौता नेपालका लागि राष्ट्रघाती नै छ त, देशलाई असर पर्ने नै छ त ?
कुनै पनि हालतमा एमसीसी सम्झौता राष्ट्रघाती छैन । गम्भीर असर पार्ने खालको पनि छैन । उदाहरणका लागि भारतका लागि बिजुली निकासी गर्नुप¥यो भने भारतलाई एउटा प्रसारण लाइन मात्र भएर पुग्दैन, अर्को पनि खोज्छ । उसलाई अर्को पनि चाहिन्छ । एउटा प्रसारण लाइन बिग्रियो भने ठूलो असर गर्छ । एमसीसी परियोजना त हाम्रो देशले बनाएको प्रसारण लाइन गुरुयोजनाको एउटा अंक मात्र हो । यो त पूर्वाधार र बाटोघाटाको कुरा मात्र भयो । भारत र चीनको धेरै चासो भएको देश नेपालमा अमेरिका आएर ठूलो चासो दिएको जस्तो पनि लाग्दैन । कुनै सम्झौता र एमसीसीको कानुनमा आईपीएसको अंग भनेर कहींकतै छैन ।

बाहिर राष्ट्रघाती नै भनेर चर्चा–परिचर्चा छ । राष्ट्रहितकै पक्षमा छ भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ ?

एमसीसी राष्ट्रघाती छँदै छैन, राष्ट्रहितकै पक्षमा छ । केही नेताहरूले यो नीतिगत कुरालाई अर्थ मन्त्रालय, कानुन मन्त्रालयका अधिकारीहरूलाई सोध्नुको सट्टा नबुझीकन छताछुल्ल मिडियामा ल्याएको हुनाले यो विवाद देखिएको हो । जनतालाई पनि यसको प्रभाव परेको हो । राजनीतिक दलका नेताहरूले पनि यसको अवस्थाबारे बुझेर बोलिदिएको भए हुन्थ्यो । यस्ता कुराहरू त वैदेशिक नीतिका गम्भीर मुद्दाहरू हुन् । पहिला त आफैंभित्र बुझ्नुप¥यो । अर्थ मन्त्रालय वा कानुन मन्त्रालयमा गएर बुझ्नुप¥यो । अर्थ मन्त्रालयमा यो एमसीसी अघि बढाउने क्रममा सबै मुख्य पार्टीका अर्थमन्त्री भइसक्नुभयो । उहाँहरूले सबै सही र प्रतिबद्धता जनाउनुभएको छ । सबैभन्दा पहिला त बुझ्नुप¥यो । यो सम्झौता नेपालको स्वाधीनतामाथि धक्का नलाग्ने र नेपालको संविधानभन्दा माथि नहुने भनेर उसले लेखेर पनि दिएको छ । २०४७ सालको सन्धि ऐनले पनि यसलाई जोड दिएको छ । संविधानभन्दा माथि त सम्झौता ऐन हुन नै सक्दैन । अहिले नेपाल सरकारले एमसीसीलाई विभिन्न ११ बुँदामा स्पष्ट हुन पत्र काटेको छ, यसले स्पष्ट बनाउँछ भन्ने लाग्छ ।

सर्वसाधारण मात्र होइन, बुद्धिजीवी, पूर्वाधार विज्ञहरू पनि यसको विरुद्धमा छन् । के एमसीसीलाई बढी नै राजनीतीकरण गर्न खोजिएको हो कि, यसको आवश्यकता थिएन भन्ने तपाईंको कुरा हो ?
ठूला–ठूला नेताहरूले एमसीसीबारे भनिदिएपछि त्यसको प्रभाव परेको हो । अर्को कुरा, मिडियाले यसलाई नकारात्मक तरिकाले हे¥यो भने हेडलाइन धेरै बिक्ने भयो । यसलाई उद्देश्यसँग जोडेर हेर्नुपर्छ । यसको केस्रा–केस्रा केलाउनुप¥यो र यसलाई पुराना सम्झौताहरू कसरी गरेका रहेछौं भनेर हेर्नुपर्छ होला ।

नेपालले पछिल्लो समयमा सफ्टवेयरभन्दा हार्डवेयरको सहायता खोजिरहेका छौं । अमेरिकाले तालिम, गोष्ठी, सेमिनार, वकालतलगायतका सफ्टवेयरमा भएका लगानीको विरोध त भएको छैन ? पूर्वाधारलगायतका हार्डवेयर सहायतामा किन विरोध भइरहेको जस्तो लाग्छ ?
सफ्टवेयरमा हेर्ने हो भने अमेरिकाले झन्डै सय मिलियन डलर सहयोग गरिरहेको छ । बेलायतले पनि प्रत्येक वर्ष यति नै दिन्छ । यो अधिकांश सफ्ट क्षेत्रमा गएको हुनाले मानिसहरूले वास्ता गर्दैनन् । हार्डवेयरमा लगानी ल्याउनु भनेको हाम्रो देशको सफलता पनि हो । अमेरिका, युरोपियन युनियनहरूले हार्ड वेयर पूर्वाधारमा हत्तपत्त सहायता दिँदैनन् । निजी क्षेत्रलाई सहभागी गराएर विकास सम्भव छ भन्ने उनीहरूको धारणा छ । सुशासन, शिक्षा, स्वास्थ्यलगायतमा सहायता बढी चाहिन्छ भन्ने छ । तर, हाम्रो कस्ट अफ डुइङ बिजनेस उच्च छ, यसको मुख्य कारण पूर्वाधार हो । लामो विश्लेषण गरेर विज्ञहरूसहितको समूहले बनाएको हो, तर त्यसमा संलग्न अहिले कोही बोलेको देखेको छैन । यसकारणले हार्डवेयरमा सहायता ल्याउन सक्नु नै ठूलो कुरा हो । एमसीसी जस्तो यति ठूलो परियोजनामा नेपालमा आउनु अझै ठूलो कुरा हो । अलि विश्लेषण गरेर ११ वटा प्रश्नको उत्तर आएपछि अघि बढाउनुपर्छ भन्ने मेरो कुरा हो ।

भविष्यसम्म फाइदा पुग्न र आर्थिक रूपमा ठूलो फड्को मार्ने खालका एमसीसीलगायतका परियोजनाहरूमा किन परियोजना छनोटको क्रममा सहभागी भएका विज्ञ र बुद्धिजीवीहरू नै बोल्न चाहँदैनन् ?
एमसीसीलाई यस्तो राजनीतीकरण गरेकै कारण एमसीसी अघि बढाउनका लागि बुद्धिजीवी र विज्ञहरूले बोलेका छैनन् । उद्देश्यगत र आलोचनात्मक ढंगले एमसीसीको कुरा उठाउनुपर्छ । यसले सरकारलाई ठूलो सहयोग पु-याउँछ । कतिपयले राजनीति प्रेरित भएर पनि बोल्ने गरेका छन् । यस्ता परियोजनाहरूको फाइदा त धेरै छ तर सुधारका पक्षहरूलाई पनि देखाइदिनुहुन्छ । प्राथमिकीकरण पनि गर्नुप¥यो, तर जसले बोल्नुपर्ने हो, उहाँहरू बोल्नुहुन्न । ठूला पूर्वाधार परियोजनाहरूबारे बुद्धिजीवी, विज्ञ नबोल्नु देशका लागि घाटा हो ।

यस्ता ठूला परियोजनामा नेपालमा विवाद देखिएपछि अब आउन लागेका विदेशी लगानीकर्ताको आकर्षण घट्ने अवस्था देख्नुहुन्छ, हुन्न ?
एमसीसी अघि नबढ्दा नेपाललाई मात्र होइन, अमेरिकालाई पनि घाटा हुन्छ । यसले नेपाल र अमेरिकाबीचको सम्बन्धमा पनि समस्या आउँछ । कसैले विदेशी लगानी गर्न चाह्यो भने कतै एमसीसीजस्तो हुने होइन त भनेर बारम्बार प्रश्न उठाइरहन्छन् । विदेशी लगानीकर्तालाई विश्वासमा लिन गाह्रो हुन्छ । एमसीसी फेल भयो भने के कारणले फेल भयो भनेर स्पष्ट पार्नुपर्ने हुन्छ । कहाँ समस्या प¥यो भने बेलायत, फ्रान्सलगायतका देशको इन्डो प्यासिफिक रणनीतिलाई पनि त्यही आँखाले हेर्छ । यसमा आफ्ना–आफ्ना चासो हुन्छन् तर एमसीसीले सुशासन, आर्थिक समृद्धि र स्थायित्वको कुरा गरेको छ । इन्डो प्यासेफिक रणनीति भनेको छुट्टै कुरा हो । यसलाई सकारात्मक र नकारात्मक दुवै मान्ने देशहरू पनि छन् । अमेरिकासँग राम्रो सम्बन्ध भएका देशहरूले क्वार्क पनि बनाएका छन् । कसैले यसले अस्थिरता निम्त्याउँछ भनेका पनि छन् । यसमा हाम्रो कुनै सम्बन्ध छैन । खालि एमसीसी परियोजना आर्थिक समृद्धिसँग जोडिएको हुनाले नेपालका लागि महŒवपूर्ण छ । यसमा अर्को कुरा, यो अनुदान सहायता लिनका लागि कुनै कुनै सर्त र सम्झौताहरूमा हस्ताक्षर गर्नु पर्दैन । अर्को एमसीसी परियोजना राम्रो नलागेमा ३० दिनभित्र अफिस बन्द गरेर जाऊ भनेर नेपालले भन्न सक्छ । हामीलाई तिम्रो पैसा चाहिँदैन, आफैं बनाउन सक्छु भनेर सरकारले जहिले पनि भन्न सक्छ । हाम्रो लागि यो राम्रो विकल्प पनि छ ।

अमेरिकाले अनुदानवापत करिब ५५ अर्ब रुपैयाँ एमसीसी परियोजनामा सहायता दिँदै छ । कतिले यति पैसा त हामी आफैं जुटाउन सकिहाल्छौं नि भनेर पनि भनिरहेका छन् । के नेपाल आफैंले लगानीको सम्भावना छ कि छैन, परियोजना भनेपछि के फाइदा हुन्छ र भन्ने पनि छन् । के भन्नुहुन्छ ?
मेलम्ची परियोजना नै हेर्नुस् न, ३ सय ७१ मिलियन डलरको परियोजना हो । यसमा धेरै बढेर गयो, तयार गर्न लामो समय लाग्यो, तर एमसीसी ठ्याक्कै पाँच वर्षमा सकिने परियोजना हो । अहिले बजेटमै खर्च नभएको कुरा हेर्नुभयो भने धेरै देखिन्छ । वर्षको जम्मा विकास खर्च ३ खर्ब मात्र हो । खर्च धेरै भएकै छैन, त्यसको तुलनामा त यो ठूलो रकम हो नि । हामीसँग अर्को ५५ अर्ब छ भने अर्को पूर्वाधार परियोजनामा लगाउन सक्छौं । यो परियोजनाले जे निर्माणमा सहायता गर्छ, यो त एक प्रकारको पुँजी निर्माण नै हो । यस्तो राम्रो सहायतालाई हामीले उपयोग गर्नुपर्छ । यसमार्फत निर्माण हुने प्रसारण लाइन र सडकले देशलाई ठूलो सहायता पुग्न सक्छ । हामी आफैंले निर्माण गर्छौं भन्नु त राम्रो हो, तर अरू धेरै परियोजनाहरूमा पनि लगानी आवश्यक छ । कहींकतैबाट त ल्याउनैपर्छ । अनुदानको रूपमा आएको रकम त उपयोग गर्नु नै धेरै फाइदा हुन्छ । यसमा ऋणको भार त हुँदैन । अर्को कुरा, हाम्रो पूर्वाधार लगानीका लागि आवश्यक रकम अपुग पनि छ । कुल जीडीपीको ८ देखि १३ प्रतिशतसम्म लगानी अपुग छ भनेर विश्व बैंकले प्रतिवेदन नै सार्वजनिक गरेको छ । हाम्रो डुइङ बिजनेसको अवरोधका रूपमा यसलाई देखाइएको छ । पूर्वाधार विकासको आवश्यकता र अपुगतालाई हेरेरै सरकारले हार्डवेयरमा जोड दिएको हो ।

Tuesday, September 7, 2021

पाँच वर्षभित्र १३ खर्ब लगानी भित्र्याउने लक्ष्य

https://www.karobardaily.com/news/156340 

भाद्र २२, २०७८ मंगलबार

१० वर्षअघि स्थापना भएको लगानी बोर्डले आगामी ५ वर्षभित्र १० बिलियन डलर अर्थात् १३ खर्ब रुपैयाँबराबरको लगानी भित्र्याउने लक्ष्यसहितको रणनीतिक योजना बनाएको छ ।
‘लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी’ मूल नाराका साथ दशौं वार्षिकोत्सवको अवसरमा बुधबार बोर्डले सार्वजनिक गर्न लागेको पाँच वर्षे रणनीतिमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मार्फत ८ खर्बसहित १३ खर्ब लगानी भित्र्याउने गरी योजना बनाएको हो ।
‘पाँच वर्षभित्र १० बिलियन डलर लगानी स्वीकृति गर्ने गरी रणनीति तयार गरेका छौं,’ बोर्डका सहप्रवक्ता रमेश अधिकारीले भने, ‘लगानी बोर्डलाई उत्कृष्ट केन्द्र बनाउने र विभिन्न परियोजनामार्फत एक लाख रोजगारी सिर्जना गर्ने लगायत विषय रणनीतिमा छन् ।’
ऊर्जा, यातायात, कृषि, सूचना प्रविधिमा परियोजना अघि बढाउने लक्ष्य राखिएको रणनीतिमा १५ वटा ठूला परियोजनामा सम्झौता गर्ने उल्लेख छ । यसका लागि बोर्डले परियोजना चक्र, विदेशमा रहेका दूतावासहरुको समन्वयमा लगानीकर्तामाझ पुग्ने, एकपटक नेपालमा लगानी गर्न आएकाहरुलाई पुनः फर्काउने, संघ, प्रदेश र स्थानीय सरकारबीच साझेदारी र समन्वय वृद्धि गर्ने तथा बोर्डको संस्थागत सुधारमार्फत सेवामा एकद्धार प्रणाली लगायतलाई बलियो बनाउने योजना छ ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको उपस्थितिमा हुन लागेको वार्षिकोत्सव कार्यक्रममा रणनीतिक योजनाका साथै नेपाल इन्भेस्टमेन्ट गाइड २०२१ र कफी टेबल बुक समेत सार्वजनिक गर्ने कार्यक्रम छ ।
उद्घाटनपछि दिगो पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारी लगानीका सम्भावनामा केन्द्रित भई दुईवटा छलफल सत्रहरु सञ्चालन हुने बोर्डले जनाएको छ । कोभिड–१९ महामारीपछिको आर्थिक अवस्था तथा जलवायु परिवर्तनको विश्व परिदृश्यमा सरकारले दिगो पूर्वाधार विकासमा जोड दिइरहेको सन्दर्भमा ’नेपालमा दिगो पूर्वाधारको विकास’ विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको अध्यक्षतामा पहिलो सत्र तथा अर्थ सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा ‘नेपालको आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारीको विकास र व्यवस्थापन’ विषयमा दोस्रो सत्र सञ्चालन हुने कार्यक्रम छ ।