Sunday, September 12, 2021

बुटवल–गोरखपुर प्रसारणलाइनको लगानी सम्झौता

https://www.karobardaily.com/news/157134

 भाद्र २७, २०७८ आईतबार

डेढ वर्ष ढिलो गरी नेपाल र भारतबीच विद्युत व्यापारका लागि निर्माण गर्ने भनिएको ४ सय केभीको बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि लगानी सम्झौता भएको छ ।
दुई वर्षअघिको असोजमा बसेको ऊर्जा व्यापार सम्झौता (पीटीए) अन्तर्गत गठित सचिवस्तरीय कार्यकारिणी समिति (जेएससी) को बैठकले लगानीको ढाँचामा सहमति गरेर ६ महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्ने भने पनि बल्ल प्रसारणलाइनमा लगानीबारे सम्झौता भएको हो । नेपाल विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरसेन अफ इन्डिया लिमीटेडबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएसँगै अब संयुक्त कम्पनी स्थापनाका लागि बाटो खुलेको छ । भारतको राजधानी नयाँ दिल्लीमा भएको कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिडका तर्फका कार्यकारी निर्देशक वाइ के दीक्षितले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
संयुक्त कम्पनी स्थापनाका लागि दुवै देश सहमत भएपनि लगानीका लागि सम्बन्धित सरकारको तर्फबाट गर्ने निर्णयमा भने ढिलाइ भएको थियो । मन्त्रिपरिषद्को १९ साउनको बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत सेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो । हालसम्म नेपाल सरकारले अर्को देशमा गएर यस्ता कार्यमा लगानी नगरेकोले सरकारले यसमा लगानी गर्नेबारे निर्णय गर्न लामो समय लगाएको थियो ।
बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको लम्बाइ १ सय ४० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ २० किलोमिटर पर्छ भने भारतर्फ एक सय किलोमिटर पर्छ । प्राधिकरणका अनुसार, सो अन्तरदेशीय प्रशारणलाइनमा भारततर्फ १२० किलोमिटरका लागि सन् २०१६ को अध्ययनले ५ अर्ब १५ करोड भारतीय रुपैयाँ लाग्ने देखाएको छ । त्यसैगरी नेपालतर्फको २० किलोमिटर प्रशारणलाइनका लागि भने २ अर्ब ५ करोड भारतीय रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ ।
नेपाल खण्डको प्रसारणलाइन नेपाल आफैंले र भारतर्फको प्राधिकरण र पावर ग्रिडको ५०÷५० प्रतिशत सेयर स्वामित्वमा स्थापना हुने कम्पनीले निर्माण गर्ने छन् । ८० प्रतिशत ऋण लिएर निर्माण गर्न लागिएको भारतर्फको खण्डका लागि नेपालले स्वपुँजीवापत एक अर्ब बराबरको लगानी गर्न लागेको छ । प्रसारणलाइन तीनदेखि साढे तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइने प्राधिकरणले जनाएको छ ।
सम्झौतामा हस्ताक्षरपछि प्रसारणलाइनअन्तर्गत भारतर्फको खण्ड निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको ५०÷५० प्रतिशत संस्थापक सेयर रहने गरी संयुक्त कम्पनी स्थापना गर्न बाटो खुलेको कार्यकारी निर्देशिक घिसिङले जानकारी दिए । “दुई मुलुकबीचका सचिव र सहसचिव स्तरीय संयन्त्रका बैठकले भारतर्फको खण्ड प्राधिकरण र पावर ग्रिडको संयुक्त लगानी रहने गरी कम्पनी स्थापना गर्ने र त्यसैमार्फत निर्माण गर्ने सहमति भएता पनि मन्त्रिपरिषद्बाट स्वीकृति नपाउँदा संयुक्त लगानी तथा सेयरहोल्डर सम्झौता हुन सकेको थिएन,” घिसिङले भने, “मन्त्रिपरिषदको स्वीकृतिमा सम्झौतामा हस्ताक्षर भएसँगै प्रवन्ध पत्र, नियमावली तयार गरी कम्पनी स्थापना गर्न र प्रसारण सेवा सम्झौताका लागि अगाडि बढ्न बाटो खुलेको छ ।”
प्रसारणलाइनले करिब २ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्ने प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । “अहिले सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रसारणलाइनले भन्दा बुटवल–गोरखपुर प्रसारणलाइनले झण्डै डबल क्षमतामा विद्युत प्रवाह गर्न सक्छ, यो प्रसारणलाइन दुई मुलुकबीचको विद्युत व्यापारका लागि लाइफ लाइन हुने छ,” अधिकारीले भने ।
पहिलो ढल्केबर–मुजफरपुर जस्तै दोस्रो अन्तरदेशीय प्रसारणलाइनमा पनि २५ वर्षसम्मको एकल क्यापासिटी बुकिङ नेपालले गर्न नेपाल सहमत भइसकेको छ । २५ वर्षपछि भारततर्फको प्रसारणलाइनमा नेपालको पनि लगानी भएकोले त्यो लाइन कसरी सञ्चालन हुन्छ भने अझै अन्योल भने अझै कायम छ ।

No comments: