https://www.karobardaily.com/news/162669
कार्तिक १४, २०७८ आईतबार
अमेरिकाको अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) ले नेपालमा नौ अर्ब लगानी गर्ने भएको छ । अमेरिकाको विकास बैंक डीएफसीले पहिलो पटक साना तथा मझौला उद्योगका लागि ७५ मिलियन डलर अर्थात ८ अर्ब ९२ करोड बराबरको लगानी गर्न लागेको हो ।
अमेरिकी सरकारले भारतको सहयोगमा दक्षिण एशियाको भारतमा पहिलो पटक शुक्रबार सम्पन्न दुई दिने इण्डो–प्यासिफिक बिजनेस फोरम २०२१ मा नेपाललाई लक्षित गरी निजी क्षेत्रको सहभागितालाई सहभागी गराएर साना तथा मझौला उद्योगका लागि निजी स्वपुँजी कोषको लागि लगानी गर्न लागिएको जानकारी दिइएको थियो ।
फोरममा युएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएड) ले दक्षिण एशियाली क्षेत्रीय ऊर्जा साझेदारी (सारेप) परियोजनाको लागि ५ अर्ब ८२ करोड अर्थात ४९ मिलियन डलर लगानी गर्न लागेको पनि घोषणा गरिएको थियो । सारेप परियोजनाअन्र्तगत नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंकामा आर्थिक सुरक्षाका लागि ऊर्जाको पहुँच उपलब्धता, सुरक्षा, भरपर्दो र दिगोपना वृद्धिका कार्यक्रम सञ्चालन गरिने योजना छ ।
खुला, अन्तर सम्बन्धित, लचिलो र सुरक्षित इण्डो–प्यासेफिक क्षेत्रको विकासमा जोड दिने उद्देश्यसहित आयोजित फोरम कोभिडपछिको पुनरुत्थानका साथै अर्थतन्त्र, ऊर्जा, सूचना प्रविधि, जलवायु परिवर्तनलगायतका विषयमा केन्द्रित भएको थियो । भर्चुअल रुपमा आयोजित कार्यक्रममा विश्वरका २ हजार ३ सय व्यापारी, व्यवसायीका साथै सरकारी प्रतिनिधिहरु सहभागी थिए ।
फोरममा एरिजेनाले भारतको तमिल नाडुमा सौर्य ऊर्जा (सोलार) का लागि करिब ८१ अर्ब अर्थात ६८४ मिलियन डलर तथा डीएफसीले महिला नेतृत्वको व्यवसाय र खाद्य सुरक्षाका लागि ५० मिलियन डलर अर्थात ६ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो ।
फोरममा कोलको कारण विश्वमा बढ्दै गएको ऊर्जा संकट समाधनका लागि संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिइएको थियो । जलवायु परिवर्तनको असरलाई दृष्टिगत गरी स्वच्छ ऊर्जाका परियोजनामा लगानी बढाउनुपर्नेमा जोड दिइएको थियो ।
No comments:
Post a Comment