Wednesday, November 24, 2021

विद्युत खपत कसरी बढाउने ?

https://www.karobardaily.com/news/165181

 मंसिर ८, २०७८ बुधबार

नेपाल विद्युत प्राधिकरणले दिउँसो दुई सय मेगावाटसम्म तथा रातिको समयमा पाँच सय मेगावाटसम्म विद्युत खेर गएको सार्वजनिक गरेपछि अहिले सरोकारवाला निकायका लागि विद्युत खपत वृद्धि सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ । १० वर्षअघिसम्म उत्पादन कम भएकै कारणले उत्पादनमा बढी केन्द्रित रहे पनि अहिले उत्पादन भएर पनि खपत नहुँदा खेर जाने अवस्था आएको हो । उत्पादनका लागि धेरै योजनाहरू ल्याएको सरकारले खपत वृद्धिका लागि भने खासै योजना ल्याउन सकेन । हाल नेपालमा विद्युत उत्पादन क्षमता दुई हजार मेगावाट पुगिसकेको छ भने चालू वर्षमा एक हजार थप हुने विद्युत् प्राधिकरणको प्रक्षेपण छ । हिउँदमा त उत्पादन कम हुने हुनाले खपतको समस्या हुँदैन, तर आगामी वर्षादेखि ठूलो परिमाणमा विद्युत खेर जाने अवस्था छ । विद्युत प्राधिकरणको मागको प्रक्षेपणभन्दा धेरै कम भइरहे पनि हालसम्म खपत वृद्धिबारे सरकार र प्राधिकरण दुवैले ठोस योजना बनाउन सकेको छैन । तत्कालका लागि विद्युतीय चुलो र विद्युत सवारी साधनमार्फत खपत वृद्धि गर्न सकिन्छ भने दीर्घकालीन रूपमा उद्योग–व्यवसायका साथै रेललगायतमा समेत खपत वृद्धि गर्न सक्ने सम्भावना छ । हिउँद लागेपछि विद्युत खपतका लागि ध्यान नदिने र वर्षा लागेर खेर जान थालेपछि खपतको चिन्ता बढी गर्ने प्रवृत्ति नेपालमा छ । विद्युत खपत वृद्धिका लागि हाल भइरहेको प्रयास र आगामी दिनमा गर्नुपर्ने पहलबारे सरोकारवाला निकायसँग कारोबारले गरेको कुराकानीको सार :

सबै मन्त्रालयको सामूहिक प्रयास खाँचो छ
मधु भेटुवाल
सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

ऊर्जा खपत बढाउनका लागि ऊर्जा मन्त्रालयले नीतिगत रूपमा पहल गर्ने कुरा भयो । विद्युतीय सवारी साधन प्रवद्र्धन, चार्जिङ स्टेसन, विद्युत चुलोलगायतलाई प्रवद्र्धन गर्न नीतिगत रूपमा गर्नुपर्ने निर्णय मन्त्रालयले गर्ने हो । अर्को अन्तरमन्त्रालय समन्वयको कुरा पनि मन्त्रालयले गर्छ । उद्योग मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायतले पनि विद्युत खपत बढाउने कार्ययोजना ल्याउनुपर्छ । मागबमोजिम नेपाल विद्युत प्राधिकरणले पनि भरपर्दो आपूर्ति दिनुपर्छ । माग छ, विद्युत छ तर प्रणाली छैन र दिन सकिरहेका छैनौं । प्रणाली निर्माणमा अवरोध पनि छ । यो अवरोध हटाउनका लागि सबै मन्त्रालय, राजनीतिक दलहरूलगायतको भूमिका पनि महत्वपूर्ण हुन्छ । मेरो निश्चित भोटलाई बचाउने भन्दा पनि भरपर्दो बिजुली मेरो सबै जनतासमक्ष पु¥याउनुपर्छ भन्ने मान्यताका साथ राजनीतिक दलहरूले सहयोगको भावना राख्नुपर्छ । प्राधिकरण सक्रिय भएर ग्राहक खोज्न हिँड्नुपर्छ । ग्राहक आइदियोस भन्ने होइन कि लक्षित ग्राहकसम्म पुग्ने र यसका लागि प्रसारण र वितरण लाइन बनाएर पु-याउनेतर्फ सक्रिय भएर प्राधिकरण लाग्नुपर्छ । अर्थ मन्त्रालय पनि विद्युत खपत गर्ने मेसिन, उपकरणहरूमा सहुलियत दिने तथा इन्धन खर्च हुने उपकरण, मेसिनमा बढी चार्ज लगाउने काममा लाग्नुपर्छ । ग्यासलाई दिइरहेको अनुदान घटाएर विद्युतीय खपत गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ ।
ऊर्जा खपत वृद्धिका लागि सबै मन्त्रालयको भूमिका हुन्छ, ऊर्जा मन्त्रालयले मात्र गरेर हुँदैन । सरोकारवाला निकायले विद्युत खपत बढाउने अभियानमा र फोसिय फ्युललाई निरुत्साहित गर्नेतिर लाग्नुपर्छ । विद्युत खपत वृद्धिका लागि आन्तरिक रूपमा छलफल गरिरहेका छौं । ऊर्जामन्त्री, सचिव, विद्युत प्राधिकरणका अधिकारीलगायत बसेर पनि पटक–पटक छलफल गरेका छौं । राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पदाधिकारीलगायतसँग बसेर पनि छलफल गरिरहेका छौं । एउटा कुरा त मन्त्रालयले चेतना जगाइरहेको पनि छ । आपूर्ति गरेर मात्र माग बढ्छ भन्ने कुरा पनि होइन रहेछ । यो जनताको क्रयशक्तिदेखि गुणस्तरीय उपलब्धतासँग समेत जोडिने रहेछ । विद्युत खपत वृद्धिका लागि थप विद्युतीकरण पनि आवश्यक छ । अझै सात प्रतिशत जनता बिजुलीबाट वञ्चित छन् । अहिलेको वितरण प्रणाली त्यति भरपर्दो छैन । यसलाई बलियो बनाउने, ट्रान्सफर्मरहरू थप्ने काम गर्नुपर्छ, ताकि उपभोक्ताले खोजेको समयमा र परिमाणमा बिजुली दिन सकौं । बढी खपत गर्नेलाई सस्तो गर्नुपर्छ भन्ने मन्त्रालयको धारणा थियो । तदनुकूल विद्युत नियमन आयोगले जारी गरेको महसुलमा पनि बढी खपत गर्ने ग्राहकलाई सस्तो दिने हिसाबले निर्धारण पनि गरिएको छ । अहिले खपत वृद्धिका लागि धेरै प्रयास भइरहेका छन्, तर यो पर्याप्त भने छैन । ऊर्जा मन्त्रालय एक्लैले खपत बढाउन नसक्ने भएकाले सबै मन्त्रालयको सामूहिक प्रयास खाँचो छ । यसका लागि कार्यदल बनाउनेबारे छलफल भइरहेको छ । राज्यमन्त्री श्रेष्ठ, मुख्य सचिव र सबै मन्त्रालयहरूका सचिवहरूको छलफलमा कार्यदल बनाउने कुरा भएको छ ।

खपत बढाउन प्राधिकरणले योजना बनाइरहेको छ
मनोज सिलवाल
उपकार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण, ग्राहक तथा वितरण निर्देशनालय

विद्युत खपत बढाउनका लागि नेपाल विद्युत प्राधिकरणले तीनवटा क्षेत्रमा काम गरिरहेको छ । पहिलो त घरायसी क्षेत्रमा कसरी बिजुली खपत बढाउने भन्ने हो । घरायसी खपत बढाउनका लागि सबैभन्दा मुख्य कुरा भनेको विद्युतीय चुलोको प्रवद्र्धन गर्नु नै हो । अर्को, बढीभन्दा बढी विद्युतीय उपकरणहरू उपभोक्ताले उपयोग गरून् भन्ने हो । यसमा नेपाल सरकारले पनि काम गरिरहेको छ । यसका लागि विद्युतीय उपकरणहरूमा सरकारले विभिन्न भन्सार छुटहरू दिइरहेको छ । घरायसीपछि हामीले लक्षित गरेको क्षेत्र भनेको औद्योगिक क्षेत्र हो । औद्योगिक क्षेत्रमा विद्युतीय उपकरणहरू ल्याउँदा भन्सार छुटको व्यवस्था गरेको छ । हामीले औद्योगिक क्षेत्रमा विद्युत दिनका लागि यसको प्रक्रियामा सरलीकृत गरेका छौं । बढीभन्दा बढी औद्योगिक क्षेत्रमा आवश्यक पूर्वाधारहरू बनाइरहेका छौं । तेस्रो विद्युत खपतका लागि काम गरिरहेको क्षेत्र भनेको सिँचाइ हो । बृहत् सिँचाइको योजना बनाउँदै छौं । अर्को भनेको विद्युत खपत बढाउनका लागि चार्जिङ स्टेसनहरू पनि बनाइरहेका छौं । चार्जिङ स्टेसन र सिँचाइ किन महत्वपूर्ण छ भने इन्डक्सन चुलोले बिहान–बेलुकामा मात्र माग बढाउँछ । त्यो लोडलाई सिँचाइ र चार्जिङ स्टेसनमा बढाउन खोजेका छौं । चार्जिङ स्टेसन र सिँचाइ पनि अफ पिकमा पनि चलाउन सकिन्छ । सिँचाइ र चार्जिङ स्टेसनमा रातिको समयमा वा दिउँसोको पनि चार्ज गर्न सकिन्छ । दिउँसोमा हाम्रो अफिसको लोड पनि हुन्छ । लोड कर्भ पनि स्मुथ चाहिन्छ । प्राधिकरणले मागलाई पनि सन्तुलन गर्नुपर्ने अवस्था छ । त्यो हिसाबले काम गरिरहेका छौं । सबैभन्दा महत्वपूर्ण कुरा जबसम्म आपूर्ति निरन्तर र भरपर्दो हुँदैन, त्यतिबेलासम्म हामीले गरेका प्रयास सार्थक हुँदैनन् । त्यसकारण विद्युत आपूर्ति भरपर्दो र निरन्तर दिन सकिन्छ भनेर हाम्रो महŒवपूर्ण समय खर्च गरिरहेका छौं । चार्जिङ स्टेसनमा प्राधिकरणले व्यापार गर्ने होइन, खालि यसको प्रवद्र्धन गर्ने मात्र हो । ५० ठाउँमा हामीले चार्जिङ स्टेसनको काम सुरु गरिसकेका छौं । यसलाई प्रवद्र्धन गर्न प्राधिकरणले विद्युत वितरण विनियावलीमा पनि केही परिवर्तन गदैछौं । प्राधिकरणले दुई सय केभीएसम्मको ट्रान्सफर्मर आफैंले राखिदिन लागेका छौं । प्राधिकरणले चार्जिङ स्टेसन गरेर व्यापार गर्ने होइन, यसका लागि अन्य क्षेत्रलाई सहयोग गर्ने हो ।
अहिले धेरै घरायसी ग्राहकले पाँच एम्पियरको लाइन लिइरहेका छन् । कसैले यसमा क्षमता स्तरोन्नति गर्न चाहन्छ भने हामीले निःशुल्क गर्ने व्यवस्था गरेका छौं । क्षमता बढाउन शुल्क लाग्दैन । अर्को कुरा, ५ एम्पियरले इन्डक्सन चुलो चल्दै चल्दैन भन्ने होइन । यसमा ६ एम्पियरसम्म धान्ने राखिएको हुन्छ । यो एमसीबी २ घण्टासम्म बढी लोडमा पनि चलाउन सकिन्छ । लामो समय भने लचाउन सकिँदैन । इन्डक्सनको लोड भनेको अधिकतम २ किलोवाट मात्र हो । यसकारण ५ एम्पियरले चल्दै, नचल्ने होइन । क्षमता अभिवृद्धिका लागि हामीले प्रेरित गरिरहेका छौं । खपत वृद्धिका लागि प्राधिकरणले योजना बनाइरहेको पनि छ । हामी योजनासहित आउँछौं । हामीले जनचेतना अभिवृद्धि गर्ने हो । यसका लागि काम गर्ने अन्य धेरै निकायहरू छन् । प्राधिकरणले अर्को गर्ने भनेको निरन्तर रूपमा भरपर्दो बिजुली दिन्छौं भनेर उपभोक्तालाई विश्वास दिलाउने हो ।

ग्यासमा दिइएको अनुदान तुरुन्तै हटाउनुपर्छ
गणेश कार्की
उपाध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

खपत बढाउनका लागि सबैभन्दा पहिला त विद्युतीय चुलोकै प्रवद्र्धन गर्नुपर्छ । यसका लागि अहिले सबैभन्दा पहिला त जुन ग्यासलाई अनुदान दिइएको छ, त्यो सरकारले तुरुन्तै हटाउनुपर्छ । अहिले करिब ७ सय अनुदान दिइएको छ । यो गरेमा ग्यासको मूल्य कम्तीमा २२÷२३ सय पुग्छ । यो महँगो हुन्छ । विद्युतीय चुलोबाट १ हजारमै पकाउन सकिन्छ । बरु विद्युतीय चुलोलाई सरकारले अनुदान दिनुपर्छ । यसपछि बाध्य भएर बिजुली खपत बढाउन बाध्य हुन्छन् । अहिले त ग्यास सजिलो र सस्तो भनेर विद्युतीय चुलोतिर उपभोक्ता गइरहेका छैनन् । सरकारले ग्यासको अनुदान हटाएर बिजुलीबाट खाना पकाउँदा धेरै सस्तो हुन्छ भनेर भनिरहँदा यसका लागि आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ ।
अर्को भनेको विद्युतीय सवारी साधनको प्रवद्र्धन नै हो, तर अहिले भएका विद्युतीय सवारी साधनहरू काठमाडौँमै बढ्दै गए । काठमाडौंबाहिर जानका लागि चार्जिङ स्टेसनहरू भएनन्, छिटो चार्जिङ स्टेसनहरू ठाउँठाउँमा राखिदिनुपर्छ । यसमा ढिलाइ भइरहेको छ । विद्युतीय चुलो र चार्जिङ स्टेसनबाट तुरुन्तै खपत बढाउन सकिन्छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, अस्पताल, कलेज, होस्टलहरूमा रहेको ग्यासलाई हटाएर विद्युतीय चुलो पु¥याउनका लागि पहल गर्नुपर्छ । नेपाली सेना र प्रहरीहरूकोमा त विद्युत पनि अलि भरपर्दो हुन्छ । कतिपयले डेडिकेटेड फिडर पनि राखेका छन् । त्यहाँ नेपाल विद्युत प्राधिकरण पुग्नुपर्छ । यी क्षेत्रमा आजैदेखि सुरु ग¥यो भने ६ महिना-वर्ष दिनमा थुप्रै माग बढाउन सकिन्छ । नभए अहिलेकै अवस्थाले खपत बढ्ने अवस्था देखिएन । धेरैले विद्युतीय चुलोलाई विश्वसनीय रूपमा लिएका छैनन् । सरकारले निश्चित ठाउँहरूमा बलजफ्ती (फोर्सफुल्ली) रूपमा विद्युतीय चुलो प्रयोगलाई बढाउनैपर्छ । सरकारले सेना, प्रहरीको ब्यारेकमा त गर्न सक्छिन् । आधा अस्पताल, होस्टल आदिमा पनि फोर्सफुल्ली गर्न सकिन्छ । यसका लागि सरकारले अनुदान दिनुपर्छ । यसो गर्न सकेमा धेरै ग्यास उपयोग गर्नेले बिजुली उपयोग गर्न थालिहाल्छन् । अहिले बिजुलीबाट खाना पकाउँदा सस्तो र किफायती हुन्छ भन्ने ज्ञान जनतामा छैन । यो ज्ञान दिन सकिएको छैन । ठूला–ठूला मान्छेहरूले विद्युतीय चुलो प्रयोग गरौं भनेर भाषण त गरिरहेका छन् तर उनीहरूले प्रयोग गरिरहेका छैनन् । यसका लागि बढीभन्दा बढी विज्ञापन गरेर घरघरमा विद्युतीय चुलोबारे थाहा दिनुपर्छ । सबै जनतामा चेतना पुग्नुपर्छ । अहिले त चेतना नै भएन । फाइभ स्टार होटलमा काम गरेर त जनतालाई थाहा हुँदैन । सबै टिभी, रेडियो, पत्रपत्रिकामार्फत विद्युत् खपत गरौं, आत्मनिर्भर बनौं भनेर विज्ञापन गर्नुपर्छ, कार्यक्रम गर्नुपर्छ ।
अरू उद्योगधन्दालगायतमा विद्युत खपत वृद्धि गर्न समय लाग्न सक्छ । उद्योगहरूमा पनि विद्युतको माग त बढ्दो छ, धेरैले मागिरहेका पनि छन् । रेल सञ्चालन विद्युतमार्फत भन्ने कुरा आइरहेको छ । यो दीर्घकालीन लक्ष्यका कुरा भए ।

खपत बढाउन मध्यम वर्गको महसुल घटाउनैपर्छ
नारायण ज्ञवाली
अध्यक्ष, राष्ट्रिय सामुदायिक विद्युत महासंघ नेपाल

विद्युत खपतका लागि अल्पकालीनभन्दा दीर्घकालीन सुविधामा ध्यान दिनुपर्छ । यसमा महसुलदेखि विद्युतीय उपकरणहरू छुटसम्मका कुरा हुन्छन् । विद्युत खपत वृद्धिका लागि विद्युतीय चुलोको प्रवद्र्धन आवश्यक छ, तर यसले बिहान बेलुका मात्र खपत बढाउँछ । दिनभरको खपत बढाउन वैकल्पिक व्यवस्था गर्नुपर्छ । घरमा प्रयोग गरिने विद्युतीकरण उपकरणहरू बढाउनुपर्छ । बासिङ मेसिन, फ्रिजलगायतको प्रयोग बढाउनुपर्छ । अनि महसुल खपत वृद्धि हुन सक्ने खालको हुनुपर्छ । अहिलेको महसुल मध्यम वर्गका लागि ठीक छैन । निम्न वर्गलाई २० युनिटसम्म निःशुल्क बिजुली भनिएको छ अनि ठूलालाई पनि प्रतियुनिट १ रुपैयाँ घटाइएको छ तर मध्यम वर्गका लागि महसुल घटाइएको छैन । १५ एम्पियर राख्दा प्रतियुनिट ४ रुपैयाँ छ । विद्युतीय चुलो प्रयोग गर्नका लागि ५ एम्पियरबाट १५ एम्पियरलाई निःशुल्क दिने प्राधिकरणको कुरा भने सकारात्मक छ । १ देखि २० एउटा स्ल्याब, २० देखि ३० अर्को छ, ३० देखि ५० अर्को छ, ५० देखि सयसम्म अर्को स्ल्याब छ । स्लाब धेरै छन् । निःशुल्कबाहेकको स्ल्याब एउटै हुनुपर्छ । अहिले धेरै फरक–फरक छ । मध्यम वर्गले खाना पकाउने भनेको २१ देखि १ सय युनिटसम्म हो । खपत बढाउन मध्यम वर्गको महसुल घटाउनैपर्छ ।
विद्युतीय चुलो मुख्य औजार हो । घरायसी उपकरणहरू उपयोग गर्दा राहत हुने महसुल हुनुपर्छ । खपत वृद्धिका लागि कृषिमा आधारित सिँचाइको व्यवस्था छ । अहिले यसको महसुल घटाइएको छ । विशेषगरी तराईमा सिँचाइका लागि अर्को पूर्वाधार तयार गर्नुपर्दैन । साना सिँचाइका लागि घरमा बिजुली गएपछि चलाउन सकिन्छ । ठूला सिँचाइ आयोजनाको कुरा नगरौं । भइरहेको बिजुलीबाट साना सिँचाइमा जान सकिन्छ ।
एउटा अध्ययनले के देखाएको छ भने काठमाडौँमा बिजुलीबाट खाना पकाउँदा ४५ प्रतिशत सस्तो छ भने गाउँमा भने ५० प्रतिशत सस्तो हुन्छ । तर, यसका लागि जति शक्ति चाहिन्छ पाक्नका लागि त्यतिमात्र खपत गर्ने हुनुपर्छ अर्थात् पकाउँदा ऊर्जा किफायतीलाई पनि ध्यान दिनुपर्छ । सामुदायिक विद्युतीकरण महासंघले तीन वर्षअघिदेखि नै विद्युतीय चुलो राष्ट्रिय अभियान भनेर सुरु गरेको छ । ऊर्जामन्त्री वर्षमान पुन हुँदा उद्घाटन भएको थियो । यही अभियानअन्तर्गत सामुदायिक विद्युतीकरण भएका विभिन्न ग्रामीण क्षेत्रमा वितरण भइरहेको छ । काभ्रे, धादिङ, चितवनलगायतका जिल्लामा वितरण गरिसकेको छ भने नवलपुर, तनहुँ, गोर्खा, दोलखा, रामेछाप र सिन्धुलीमा वितरण हुँदै छ । हालसम्म २५ सय वितरण गरिसकेका छौं । १० हजारलाई वितरण गर्दै छौं । सरकारले तराईमा गुइँठा विस्थापित गर्नका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत पनि वितरण गरिरहेको छ । अभियानकै रूपमा यसलाई अघि बढाउनुपर्ने आवश्यकता छ । अभियानकै रूपमा अघि बढ्दा यसमा उपभोक्ताहरूको अपनत्व बढाउनुपर्छ । विद्युतीय चुलो किन्दा भाँडाकुँडा उपहार दिनुपर्छ । हामीले विद्युतीय चुलो उपयोग गर्नेलाई ६ महिनाको महसुल निःशुल्क, वायरिङ निःशुल्क, पाँच लिटरको प्रेसर कुकर उपहारजस्ता कार्यक्रम ग¥यौं । अहिले त विद्युतीय चुलो वितरण र यसको उपयोगमा पनि जोड दिनुपर्छ ।

Wednesday, November 17, 2021

प्रधानमन्त्रीकै प्रश्नः भारतले बिजुली किनिदिएन भने के गर्ने ?

https://www.karobardaily.com/news/164395

 मंसिर १, २०७८ बुधबार

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले बिजुली नकिनेमा के गर्ने भनेर प्रश्न गरेका छन् ।
दैनिक पाँच सय मेगावाटसम्म बिजुली खेर गइरहेको र यसका लागि सरकारले खपत वृद्धि र विद्युत व्यापार गर्न नसकेको भन्दै सरकारको आलोचन भइरहेको बेला प्रधानमन्त्री आफैंले भारतले बिजुली नकिनेमा के गर्ने भनेर प्रश्न गरेका हुन् । सरकारले नै खपत वृद्धि र विद्युत व्यापारका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने बेलामा स्वयं प्रधानमन्त्री देउवा आफैंले प्रश्न र स्पष्ट योजना नभनी खपत बढाउनुपर्छ भनेपछि यसको काम कसले गर्ने भनेर अन्योलता सिर्जना गरेको छ ।
भारतले आफंैले ठूला आयोजनाहरु निर्माण गर्न लागेकोले भारतको भर नपरी स्वदेशी खपत वृद्धिमा लाग्नुपर्ने उनको भनाइ थियो । “काठमाडौं उपत्यकामा यस्तो प्रदुषण छ, यहाँ लगायत देशभर विद्युतीय सवारी, विद्युतीय चुलोको प्रवद्र्धन गरेर खपत बढाउनुपर्छ, यसका लागि सरकार आवश्यकता अनुसारको सहुलियत प्रदान गर्न तयार छ ।” उनले भने ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को वार्षिक उत्सवको अवसरमा प्रधानमन्त्री देउवाले पेट्रोलियम पदार्थको खपत घटाएर स्वच्छ ऊर्जाको विकास गर्नुपर्ने र नेपाललाई विश्वकै नमुना र नेतृत्व गर्ने देश बनाउनुपर्ने बताए । उनले कोप–२६ मा नेपालले सन् २०४५ भित्र कार्बन उत्सर्जन शुन्यमा झार्ने प्रतिवद्धता जनाइसकेको बताउँदै जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्झा भुसालले व्यक्तिगत र सामुहिक रुपमा विद्युत व्यापारका लागि ढोका खुल्ने बताउँदै यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताइन् । ऐन, नियमभित्र रहेर कुनै संस्था वा व्यक्ति आएमा विद्युत व्यापार गर्ने अनुमति दिन सकिने उनको भनाइ थियो । मन्त्री भुषालले स्वदेशमा खपत गरेर बढी हुने बिजुली बिक्री गर्नुपर्ने अवस्था आउने बताउँदै विद्युत निर्यात गर्नुपर्ने परेछ भनेर आफूले मन्त्रालय आएपछि थाहा पाएको बताइन् ।
उद्घाटनपछिको विद्युत व्यापारबारेको सत्रमा उनले नेपालको बिजुली महंगो भएकोले यसलाई घटाउनुपर्ने बताइन् । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भने विद्युत बिक्री गरेर देश धनी नहुने बताउँदै स्वदेशीमै खपत बढाउनुपर्ने बताएकी थिइन् ।
वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सन् २०३० भित्र वन क्षेत्रलाई ४५ प्रतिशत पुर्याउन कोप २६ मा नेपालले प्रतिवद्धता जनाएको बताउँदै स्वच्छ ऊर्जा उत्पादनमा विशेष जोड दिनुपर्ने बताए ।
इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले देशबाट लोडसेडिङ अन्त्य गर्न निजी क्षेत्रले ठूलो योगदान रहेको बताउँदै अहिले पनि जलविद्युत विकासका लागि ७ मन्त्रालय, २३ विभाग र दुई सय टेबुलमा पुग्नुपर्ने झन्झटिलो अवस्था रहेको बताए ।
कार्यक्रममा ऊर्जा ज्योति सम्मान स्वर्गीय हरिवैरागी दाहाललाई प्रदान गर्नुका साथै इपानका पूर्व अध्यक्षहरु सन्दीप शाह, डा. सुवर्णदास श्रेष्ठ, खड्गबहादुर विष्ट र शैलेन्द्र गुरागाईका साथै निजी प्रवद्र्धक कृष्णप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा इपानले आगामी अप्रिल १ देखि ३ सम्म हिमालय हाइड्रो एक्पो–२०२२ आयोजना गर्न लागेको जानकारी दिइएको थियो ।
कार्यक्रममा दिइएको जानकारी अनुसार, हालसम्म २०३८ मेगावाट बराबरको उत्पादन क्षमता नेपालमा रहेकोमा प्राधिकरणबाट ६४७ मेगावाट, यसका सहायक कम्पनीबाट ४७८ मेगावाट र निजी क्षेत्रबाट ९१३ मेगावाट उत्पादन भएको छ ।


‘प्राधिकरणले बिजुलीको बजारीकरण गर्न सकेन’
नेपालको हरित ऊर्जाको बजार र आगामी कार्यदिशा विषयक सत्रमा विज्ञहरुले नेपालका लागि बिजुली खपतको सम्भावना रहेको बताउँदै यसका लागि खपत वृद्धिको योजना अघि बढाउनुपर्ने बताए ।
विद्युतीय चुलो, सवारी साधन, उद्योग व्यवसायलगायतका क्षेत्रमा समेत बिद्युत खपतको प्रशस्त सम्भावना भएपनि नेपाल विद्युत प्राधिकरणले बिजुली बजार खोज्न नसकेको उनीहरुको भनाइ थियो । ऊर्जा विज्ञ अमृतमान नकर्मीले प्राधिकरणले भएको बिजुलीको बजारीकरण गर्न नसकेको र बढी खपत भएमा ट्रान्फर्मर पड्ने डरमा प्राधिकरण रहेको बताए । “विद्युतीय चुल्होबाट थप दुई हजार मेगावाट, विद्युतीय सवारी साधनबाट थप एक हजार, उद्योगबाट थप एक हजार मेगावाट खपत वृद्धि गर्न सकिन्छ” इपान उपाध्यक्ष आशिष गर्गले भने, “तीन महिनामा प्राधिकरणले ५ अर्बको ६ सय मेगावाट बिजुली खेर गएको तथ्यांक सार्वजनिक गरेको छ तर खपत वृद्धिका लागि सरकारले स्पष्ट योजना ल्याउन सकेको छैन ।”
विद्युत नियमन आयोगका सदस्य डा. रामप्रसाद धितालले खपत वृद्धि र विद्युत व्यापार दुवैको सम्भावना भएको बताउँदै आयोगले खपत वृद्धिका लागि महशुल घटाएको र व्यापारका लागि आवश्यक नीति नियम निर्माण गरिरहेको बताए । विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीप थिकेले विद्युत खपत वृद्धिका लागि आवशयक पूर्वाधार बनाउन १२ सय मिलियन अर्थात झण्डै डेढ खर्ब लगानी आवश्यक रहेको बताए ।
इपानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईले १५ हजार मेगावाटको उत्पादन लक्ष्य राख्ने सरकारले लक्ष्य पुर्तिका लागि ३० हजार मेगावाटको उत्पादन सुरु गर्नुपर्नेमा विद्युत खरिद सम्झौता (पीपीए) रोक्नु नहुने बताउँदै जलविद्युत विकासका लागि नियमन आयोगले नियमन नभइ सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताए । नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले भने आयोगले निजी क्षेत्रहरुको सहजीकरणका लागि भूमिका खेलिरहेको बताउँदै विद्युत खपत वृद्धिका लागि महशुलमा समायोजन र व्यापारका लागि आयोग सहजीकरण गर्न तयार रहेको बताए ।

Tuesday, November 16, 2021

जलविद्युतमा आन्तरिक स्रोतले पुग्दैन, विदेशी लगानी आवश्यक छ

https://www.karobardaily.com/news/164388

 मंसिर १, २०७८ बुधबार

अर्जुनकुमार गौतम जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत हुन् । २०६८ सालमा स्थापना भएको कम्पनी जलविद्युत् क्षेत्रमा लगानीका लागि स्थापना भएको संस्था हो, तर विविध कारणले गर्दा पूर्ण रूपमा लगानी गर्न सकेको छैन । २० अर्बबराबरको वित्तीय स्रोत भएको कम्पनीले झन्डै ६० प्रतिशत रकम लगानी नगरी बैंकको मुद्दतीमा बचत गरेको छ । यसकारण लगानी नगरी बैंकमा बचत राखेर लगानीकर्ताहरूलाई मुनाफा बाँडिरहेको भनेर कम्पनीमाथि आरोप लाग्ने गरेको छ । १० वर्ष बितिसक्दा पनि नेपाल राष्ट्र बैंकले प्रत्यक्ष लगानी गर्न स्वीकृति नदिएको र अन्य वित्तीय संस्थासँग सहवित्तीयकरणमार्फत लगानी गर्नुपर्ने कारण उद्देश्यअनुरूप प्रगति हासिल गर्न नसकेको गौतम स्विकार्छन् । कर्मचारी सञ्चय कोषको ३० वर्षको अनुभव रहेका तथा हालै कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका चार्टर्ड एकाउन्टेन्ट गौतमसँग कम्पनीको १० वर्षको अनुभव र असफलता, नेपालमा जलविद्युत् लगानीको सम्भावना र पुँजी निर्माण, कम्पनीमा लगानी गर्नेहरूको सुरक्षा र कम्पनीको भविष्यको उद्देश्यबारे कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :

जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) स्थापना भएको एक दशक बितिसकेको छ । तपाईं तेस्रो प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । कम्पनी स्थापनाको लक्ष्यअनुसारको काम गर्न सके-नसकेको बारे तपाईंको विश्लेषण के छ ?
कम्पनी स्थापना भएको १० वर्ष पूरा भयो । गत २७ असारमा १० औं वार्षिकोत्सव पनि मनायौं । कम्पनीले आफ्नो उद्देश्य पूरा ग¥यो कि गरेन भन्ने मूल्यांकन गर्ने यो उपयुक्त अवसर पनि हो । २०६८ सालमा स्थापना हुँदाको अवस्थामा ऊर्जाको ठूलो संकट थियो । लगानीका लागि पर्याप्त स्रोतहरूको उपलब्धता थिएन । बैंकहरूको लगानी गर्ने क्षमता अत्यन्त न्यून थियो । यो अवस्थामा एउटा ठूलो पुँजी भएको संस्था स्थापना गरेर जलविद्युत् आयोजनाहरूको लगानीलाई व्यवस्थित गर्न सरकारकै पहलमा यो कम्पनी स्थापना भएको हो । त्यो सन्दर्भलाई अहिले आएर मूल्यांकन गर्दा हामीले अपेक्षाअनुसारको उपलब्धि हासिल गर्न नसकेकै हो । यद्यपि यसले जलविद्युत्को क्षेत्रमा लगानी गर्नका लागि केही आधारशिलाहरू निर्माण गरिसकेको छ । अबका दिनमा हिजोको अनुभवलाई लिँदै अगाडि बढ्न सकियो भने कम्पनी उद्देश्य पूर्ति गर्नमा सफल हुन्छ ।

एचआईडीसीएलले निर्माण गरेको चारवर्षे रणनीतिपत्रमै कम्पनीको व्यवसाय र लगानीमा सुस्त प्रगति भएको भनेर स्विकार्नुभएको छ । जे उद्देश्य थियो, त्यसैमा कमजोर भएकै हो कम्पनी ?
हो, उद्देश्य पूरा गर्नमा कमजोरी भएकै हो । १० वर्षको अवधिमा लगानीका सन्दर्भमा जे गर्नुपर्ने थियो, त्यो भएन । एउटा पुँजी लगानी गर्ने स्थापना भएको कम्पनीले जलविद्युत् क्षेत्रमा एक-डेढ अर्ब लगानी गरिसक्नुपथ्र्यो । विभिन्न स्रोतबाट पैसा संकलन गर्नुपथ्र्याे । प्रबन्धपत्रले त्यो म्यान्डेट पनि दिएको छ । स्थापनाको उद्देश्यअनुसार काम गर्न नसकिएकै हो । असार मसान्तसम्मकै तथ्यांक हेर्ने हो भने २० अर्बको वासलात छ । यसको झन्डै ६० प्रतिशत रकम बैंकमै छ । हामीले परिकल्पना गरेअनुसारको काम गर्न नसकेकै हो । अब सकिएन भनेर बस्ने होइन कि हामीले त्यो किन गर्न सकेनौं, त्यसका बाधकहरू केके हुन् भनेर पहिचान गरी अघि बढ्ने हो भने गर्न सक्छौं । ऊर्जा क्षेत्रमा अझै धेरै लगानीको माग छ । यसलाई पूरा गर्नका लागि विभिन्न रणनीतिहरू अघि बढाएर हामीले काम गर्नुपर्छ । यसो गर्न सकेमा कम्पनी स्थापनाको उद्देश्य पूर्ति गर्न सकिन्छ ।

केके त्यस्ता बाधक र अवरोधकहरू रहेछन्, जसले कम्पनीलाई स्थापनाको उद्देश्यअनुरूप हिँड्न दिएन । के तपाईं ती सबै अवरोधक हटाएर अघि बढ्न सक्ने अवस्थामा हुनुहुन्छ ?
कम्पनी स्थापना भएपछि त्यसका केही संरचना, कानुन र विधिविधानहरू बन्नुपर्ने तथा यसअनुसार जनशक्तिको आपूर्ति गर्नुपर्ने थियो, हाम्रो आन्तरिक क्षमता अभिवृद्धिमा पनि हामी कमजोर भएकै हो । १० वर्षमा जुन आन्तरिक संरचना बनेको छ, त्यो संरचना पर्याप्त होइन । आन्तरिक रूपमा हामीले हाम्रो संरचना बनाउन पनि नसकेकै हो । जब हामी स्रोत परिचालन र लगानीको कुरा गर्छौं, त्यो बेला केन्द्रीय बैंकको प्रावधान र दायराको कुरा आउँछ । कम्पनीको प्रबन्धपत्रले स्पष्ट रूपमा यी कामहरू गर्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर गर्ने भनेर भनेको छ । यसले हामी राष्ट्र बैंकको दायरामा हो भन्ने स्पष्ट देखिन्छ । तर, कम्पनी वाफियाभन्दा केही फरक तरिकाले अघि बढ्ने संस्था हुनाले बैंकले पनि त्यति नियमनमा नराखेको तथा हामी पनि राष्ट्र बैंकको नियमनमा जान नचाहेको हो कि भन्ने एउटा पक्ष छ । अर्को पक्ष के छ भने २०६९ सालमा राष्ट्र बैंकले कम्पनीलाई ऋण लगानी गर्ने स्वीकृति प्रदान ग-यो । ऋण लगानी असुलीको नीतिगत व्यवस्था नभएसम्मका लागि बैंकहरूको सह–वित्तीयकरणमा सहभागी भएर मात्र लगानी गर्ने भने भनियो । यसको कारण हामीले प्रत्यक्ष कुनै जलविद्युत् आयोजनाहरूमा लगानी गर्न पाएनौं । सेयरमा लगानी गर्न छुट छ तर यसको धेरै कार्यक्षेत्र हुँदैन । हामीले ऋण लगानी बढाउनैपर्छ । राष्ट्र बैंकले दिएको म्यान्डेट हाम्रो लागि सबैभन्दा ठूलो बाधक हो । सह–वित्तीयकरणमा मात्र लगानी गर्ने व्यवस्था नहटाएसम्म हामी ऋणको क्षेत्रमा धेरै प्रगति गर्न सक्दैनौं । त्यो बेला असुलीका लागि कानुनी व्यवस्था नभएसम्मका लागि भनिएको थियो, त्यसकारण हामीले त्यो बेला यसका लागि कानुनी व्यवस्था गर्नुपथ्र्यो, भएन । त्यो बनाएर ऋण लगानीको बाटो खुलाउनका लागि राष्ट्र बैंकमा जानुपथ्र्याे । राष्ट्र बैंकले यो बुझेर लगानीका लागि मार्गप्रशस्त गरिदिनुपथ्र्यो, त्यो हुन सकेन । त्यो बेला ऋण लगानीको व्यवस्था गरेर २० अर्बमा चार–पाँच गुणा थपेर १ खर्ब पु¥याउनुपथ्र्यो । त्यो भएको भए हामीले हाम्रा लगानीकर्तालाई अपेक्षित प्रतिफल पाउने थियौं । सेयरमा मात्र लगानी गरेर त्योअनुसारको प्रतिफल दिन सकिँदैन । सबैभन्दा ठूलो कमजोरी भनेकै यही भयो ।

धेरैले जलविद्युत् क्षेत्रमा लगानी गर्न स्थापना भएको कम्पनी बैंकमा राखेको ब्याजले प्रतिफल बाँडिरहेको छ भनेर आरोप लगाउने गरेका छन् । यो आरोप त सत्य नै रहेछ नि ?
त्यो आरोप होइन, यथार्थ हो । आजको दिनमा हाम्रो ६० प्रतिशत मुद्दती निक्षेपमै दर्ता भएको छ । यो भनेको हाम्रो लागि पृष्ठपोषण पनि हो । यसले लगानी वृद्धि गर भनिरहेको पनि छ । मैले यसलाई सकारात्मक रूपमा लिएको छु ।

ऋण लगानी गर्न स्थापना भएको कम्पनी उद्देश्यबाहिर गएर आफैं जलविद्युत्को विकास गर्न लाग्यो भनेर पनि आरोप लाग्ने गरेको छ । यसलाई विश्लेषण गरेर कम्पनीको भविष्य के हुन्छ भनेर प्रश्न पनि आइरहेको छ, यसबारे के भन्नुहुन्छ ?
कम्पनीको भविष्यबारे धेरै चिन्ता गर्नु पर्दैन । विश्वमा हेर्दा पनि यस्ता लगानी गर्ने संस्था छन् । भारतमै हेर्ने हो भने पावर फाइनान्स कर्पोरेसन छ । हाम्रो कम्पनीको मोडलमै स्थापना भएको छ । यसले दुईवटा सहायक कम्पनी स्थापना गरेको छ भने १५ वटा एसोसिएटेड कम्पनी छन् । उसले सहायक कम्पनी र एसोसिएटेड कम्पनीमार्फत पनि लगानी गर्दो रहेछ, संयुक्त उपक्रममा पनि लगानी गर्दो रहेछ । हाम्रो देशमा पनि त्यही मोडल हो । हामीलाई सरकारले वित्तीय संस्था भनेको सन्दर्भमा विकासको काममा हाम्रो भूमिका कम गरेर वित्तीय व्यवस्थापनमै बढी केन्द्रित हुनुपर्छ । यसमा कुनै द्विविधा छैन । अहिले हामीसँग भएका भनेको दुईवटा सहायक कम्पनी हुन् । रेमिट र सिम्बुया रेमिटमार्फत दुईवटा आयोजना अघि बढेका छन् । त्योबाहेक अब कम्पनी छुट्टै विकास गर्ने गरी अनुमतिपत्र लिने काममा हामी लाग्दैनौं । वित्तीय संस्थाको रूपमा सरकारले मान्यता दिएको छ । सहायक कम्पनीबाहेक १० वटा आयोजनामा सहवित्तीयकरणमार्फत लगानी गरेका छौं भने निजी क्षेत्रले प्रवद्र्धन गरेर दुईवटा आयोजनामा पनि सेयर लगानी गरेका छौं । यस्तै एनईए इन्जिनियरिङ, विद्युत् उत्पादन कम्पनीलगायतका ऊर्जासँग सम्बन्धित क्षेत्रमा पनि लगानी गरेका छौं ।

रेमिट्यान्सको पैसा जलविद्युत्मा भनेर एकपटक खुब चर्चा पनि भयो । तर, कम्पनीले अघि बढाउनका लागि दुई आयोजनाको अवस्था आशाजनक देखिएन, किन यी आयोजनाहरू सुस्त भए ?
अलिकति सुस्त भएकै हुन्, तर जलविद्युत् आयोजनाको पूर्वतयारीहरू, पूर्वसम्भावना अध्ययन, सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययनका लगि लामो समय लाग्छ । कम्तीमा चार–पाँच वर्ष लाग्ने रहेछ । जति गर्दा पनि यो समय घटाउन नसकिने रहेछ । त्योबाहेक पनि विभिन्न कानुनी प्रक्रियाहरू पूरा गर्नुपर्ने अवस्था हुन्छ । वातावरण अध्ययन, अनुमतिपत्र लिने, जग्गा प्राप्ति, विद्युत् खरिद सम्झौता (पीपीए) गर्नुपर्ने, वित्तीय व्यवस्थापन गर्नुपर्नेलगायतका काम गर्नुपर्छ । हामीले आयोजनाको परिकल्पना गरेर अघि बढाई निर्माणको चरणमा पु¥याउन चार–पाँच वर्ष लाग्ने रहेछ । निजी क्षेत्रमा पनि धेरै समय लागेको देखिएको छ । लगभग अध्ययनको चरण सकिसकेका छौं । यदि समयमै पीपीए भयो भने दुई आयोजना एक वर्षभित्रै सुरु गर्छौं । आयोजना सुरु भए पनि रेमिट्यान्सको रकम उपयोग गरेर आयोजना बनाउने योजना पूरा हुन्छ । यसका लागि हामीले एउटा योजना बनाउँछौं । वैदेशिक रोजगारीमा गएका नेपालीले कमाएको रेमिट्यान्सको रकम कसरी जलविद्युत् लगानी गराउने भनेर स्पष्ट योजना बनाएर अघि बढ्छौं ।

कम्पनीले चार वर्षको रणनीति योजना बनाएर सेयर र ऋण गरी डेढ खर्ब लगानीको योजना बनाउनुभएको छ । कम्पनीको विगतको प्रगति त राम्रो छैन, कसरी सम्भव हुन्छ भन्ने देख्नुहुन्छ ?
रणनीतिमा लक्ष्यसँगै यसलाई पूरा गर्ने रणनीति पनि यसमा छ । अब सरकार र विद्युत् प्राधिकरणले प्राथमिकतामा राखेका वा विद्युत् उत्पादन कम्पनीले प्राथमिकतामा राखेका ठूला परियोजनाहरू, जसलाई ठूलो वित्तीय स्रोत आवश्यक पर्छ, प्रत्यक्ष लगानीका लागि म्यान्डेट प्राप्त भयो भने सजिलै १०-१२ अर्ब लगानी गर्न सक्छौं । सरकारले अघि बढाएका ठूला चार–पाँच आयोजनाहरू भए भने लगानीका लागि पर्याप्त हुन्छ । यसका लागि पैसा जुटाउन सकिन्छ । आन्तरिक स्रोत जुटाउनका लागि पावर बन्ड गर्ने म्यान्डेट छ । कतिपय संस्थानहरूको बैंकको मुद्दती निक्षेपमा थन्किएका पैसाहरू छन्, कम्पनीमार्फत उपयोग गर्न सक्छौं । यतिले पनि नपुगेमा विदेशी लगानीकर्तामार्फत लगानी गर्न सक्छौं । गैरआवासीय नेपालीमार्फत पनि लगानी गर्न सक्छौं । वित्तीय स्रोत परिचालनका लागि विभिन्न सम्भावनाहरू छन् । यसमा हामी गृहकार्य गर्छौं र विभिन्न निकायहरूसँग सहकार्य गर्छौं ।

तपाईंले पुँजी निर्माणको कुरा गर्नुभयो । यसका लागि विदेशी लगानी र स्वदेशी लगानी दुवैका सम्भावनाहरू छन्, तर पर्याप्त लगानी जुटाउन सकिएको छैन । यसका अवरोधहरू केके होलान् ? तपाईंले कसरी जुटाउनुहुन्छ ?
विदेशी लगानीको कुरा गर्दा धेरै लामो प्रक्रिया छ । त्यो पाटो छ । अन्तर्राष्ट्रिय अभ्यास के छ भने विदेशबाट आउने लगानीहरू एचआईडीसीएलजस्तै संस्थामार्फत भिœयाउने गरिन्छ । भारत र बंगलादेशमा पनि यस्तै अभ्यास छ । त्यहाँको अनुभवलाई हामीले उपयोग गर्न सक्छौं । सरकारले दातृ निकायको ऋणलाई ऊर्जाको क्षेत्रमा उपयोग गर्छ भने त्यो हाम्रो कम्पनीमार्फत उपयोग गर्न सकिन्छ । एउटा विदेशी लगानी ल्याउने बाटो हो यो । आन्तरिक लगानी जुटाउने कुरा गर्दा नेपाल राष्ट्र बैंकले प्रत्येक बैंकलाई १० प्रतिशत कर्जा ऊर्जाको क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । सबै बैंकहरूसँग त्यो प्रकारको लगानी गर्ने क्षमता नहोला । ती बैंकहरूले हाम्रो कम्पनीमार्फत लगानी ग¥यो वा कम्पनीले जारी गरेको पावर बन्डमा लगानी ग¥यो भने ऊर्जामा गरेको लगानी मान्य हुने भनेर राष्ट्र बैंकले एउटा प्रावधान राखिदियो भने त्यो पैसा ऊर्जाको लगानीका लागि उपयोग गर्न सक्छौं । यसकारण स्रोतहरूको खाँचो होइन, आन्तरिक स्रोत परिचालन गर्ने धेरै सम्भावनाहरू छन् । समस्या भनेको के हो भने के व्यवसाय गर्ने, कहाँ लगानी गर्ने र राज्यले यो संस्थालाई कसरी उपयोग गर्ने भन्नेमै समस्या छ ।

विदेशी लगानीबारे दुई थरी भनाइ छ । सरकारमा रहेकाहरू चाहिन्छ भन्छन्, तर नागरिकमाझ सबै स्वदेशी लगानीमै बनाउन सकिन्छ भन्ने सोच छ । सेयर खुल्दा देखिएको व्यापक सहभागिताले आन्तरिक रूपमै सक्षम छौं भन्ने पनि देखिन्छ । जलविद्युत्मा लगानी गर्ने कम्पनीको हिसाबमा के स्वदेशी लगानी नै पर्याप्त भएर विदेशी लगानी आवश्यक छैन भन्न सक्ने अवस्था छ ?
यसलाई सामान्य तथ्यबाट पुष्टि गर्न सकिन्छ । सबै नेपालीको पैसा कुनै न कुनै रूपमा बैंकमा छ । आजको दिन हेर्दा ४५ खर्ब बैंकहरूमा जम्मा छ । यसमा १० प्रतिशत मात्र ऊर्जाको क्षेत्रमा लगानी गर्ने हो भने साढे ४ खर्ब उपयोग गर्न सक्ने भयौं । सरकारले राखेको १५ हजार मेगावाटको लक्ष्य प्राप्ति गर्न यो स्रोत पर्याप्त हुँदैन । सरकारले लक्ष्य राखेअनुसार नै जलविद्युत् विकास गर्ने हो भने विदेशी लगानीलाई प्रोत्साहित गर्नैपर्छ । जलविद्युत् विकासका लागि आन्तरिक स्रोतले पुग्दैन, विदेशी लगानी पनि आवश्यक छ ।

सेयरमा ६५ प्रतिशतसम्म र ऋणमा ४५ प्रतिशतसम्म लगानी गर्ने कम्पनीको लक्ष्य छ । यति धेरै प्रतिशतसम्म लगानी गर्दा के जोखिम हुँदैन र ?
आयोजनामा सेयरमा लगानी गर्दा पक्का पनि बढी जोखिम हुन्छ । ऋण लगानीमा कम जोखिम हुन्छ । यो भनेको पोर्टफोलियो व्यवस्थापनको टुल्स हो । ऋण लगानी ग¥यौं भने यसबाट आउने प्रतिफल करिब ९ प्रतिशत हो । व्यवस्थापन र सरकारलाई बुझाउने रकम कटाएर ५-५.५ प्रतिशतभन्दा बढी प्रतिफल हुँदै हुँदैन । योभन्दा बढी प्रतिफल लगानीकर्तालाई दिन सक्दैनौं । तर सेयर लगानीबाट १४-१५ प्रतिशतसम्म मुनाफा दिन सकिन्छ । यसमा सरदर गर्दा १० प्रतिशतसम्म प्रतिफल दिन सकिन्छ भन्ने हाम्रो रणनीति योजनाको लक्ष्य छ । दीर्घकालसम्म कम्पनीका लागि लगानीकर्तालाई कम्तीमा १० प्रतिशत वार्षिक प्रतिफल दिनुपर्छ भन्ने हाम्रो मान्यता छ । यसका लागि केही जोखिम लिएर स्वपुँजी वित्तीय लगानी बढाउनुपर्छ । कम जोखिम रहेको ऋणलाई एउटा साइजमा राख्नुपर्छ । यो खालको पोर्टफोलियो व्यवस्थापन गर्न पायौं भने हामीले १० प्रतिशत प्रतिफल दिन सक्छौं । यसकारण हामीले यति प्रतिशतदेखि यति प्रतिशतसम्म लगानी गर्ने भनेका हौं ।

अहिले बढेको सेयर लगानी गर्ने प्रवृत्तिलाई सकारात्मक नै मानौं । तर, प्रतिफल दिने हिसाबले अझै पनि धेरै आयोजनाहरूको अवस्था दयनीय छ । भोलिका दिन यसबारे पक्कै पनि उनीहरूले थाहा पाउँछन् । अहिले बढेको उत्साहलाई निरुत्साहित हुन नदिन के गर्नुपर्ने अवस्था देख्नुहुन्छ ?
सुरुमा अनुमान गरेको लागत र समयमा बढोत्तरी हुने एउटा पाटो आयोजनामा छ । दोस्रो पाटो भनेको अनुमान गरेअनुसारको ऊर्जा नहुने अवस्था छ । यी दुईवटा जलविद्युत् क्षेत्रमा देखिएका समस्या हुन् । यसले निश्चित रूपमा पनि सेयर धनीको प्रतिफलमा असर गर्छ । एकातिर लागत बढ्यो भने यसको असर ऋण लगानीकर्तालाई पर्दैन, सेयर लगानीकर्तालाई पर्छ । राजस्व घट्यो भने पनि त्यसको असर सेयर लगानीकर्तालाई नै हो । सेयर लगानी भनेको अलि जोखिम नै हुन्छ । तथापि मैले २२ प्रतिशत, २५ प्रतिशत प्रतिफल पाइन्छ भनिनँ । मार्जिन राखेर खराब परिदृश्यमा पनि १० प्रतिशत न्यूनतम प्रतिफल भनेको हुँ । अहिलेको पीपीए दर र लागत हेर्दा सामान्यतया १२ देखि १६ प्रतिशतसम्म प्रतिफल पाउन सक्छौं । कतिपय आयोजनामा ऋण तिरिसकेपछि २५-२६ प्रतिशत पनि हुन सक्छ ।

कम्पनीले सेयर र ऋण लगानी गर्ने हो । यसमा प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा नेपालीको लगानी छ । जनताको लगानी सुरक्षाका लागि आयोजनाको सुशासनलाई तपाईंले कसरी विश्लेषण गर्नुहुन्छ ? तपाईंको लगानी सुरक्षित हुन्छ भन्ने आधार तपाईंले के दिन सक्नुहुन्छ ?
सेयर लगानी गर्दा तीन–चारवटा पक्षलाई हेर्नैपर्छ । पहिलो कुरा, आयोजनाको व्यवस्थापन पक्ष, उसको अनुभव, विगतको इतिहास वा स्वपुँजी लगानीको क्षमतालगायतको विश्लेषण गर्नैपर्छ । दोस्रो कुरा, आयोजना अध्ययनको कुन चरणमा छ, कसरी अध्ययन भइरहेको छ अर्थात् अध्ययन विश्वसनीय छ कि छैन भनेर हेर्नुपर्छ । आयोजनाको गुणस्तरता, सुशासन र लागत विश्वसनीय नभएसम्म सेयरमा लगानी गर्नु हुँदैन । कम्पनीले पनि लगानी गर्दा प्रमुख सर्तको रूपमा यी कुरालाई राखेर लगानी गर्छ । हामीले लगानी गरेका आयोजनाहरूको यी तीनवटा कुराको राम्रै अध्ययन भएर लगानी गरिएको छ, यसकारण कम जोखिम छ भन्न सक्छौं ।

तपाईं कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएको ६ महिना पुगेको छ । विगतमा यो कम्पनीले उद्देश्यअनुरूप काम गर्न सकेन भनेर तपाईंले स्विकारिसक्नुभएको छ । तपाईंले छोडेर जाँदा कम्पनीलाई कुन अवस्थामा पु-याउला भन्ने सोच्नुभएको छ ?
अहिले कम्पनीको २० अर्बको पुँजी कोष छ । अरू स्रोतहरूबाट जुटाएर यसको चार गुणाभन्दा बढी स्रोत परिचालन गरी अबको चार वर्षपछि कम्तीमा १ खर्ब २० अर्बको हाराहारीमा पु-याउन सकिन्छ भन्ने विश्वास छ ।

तीन वर्षपछि बल्ल होङ्शी सिमेन्टमा बिजुली

https://www.karobardaily.com/news/164145?fbclid=IwAR3O1yACkARlwdWH7_axXMJkLYmUpysNDVzjY4y3WLi5flLA0qB1b4vRMBY 

कार्तिक २९, २०७८ सोमबार

माग गरेको तीन वर्षपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ ।
उद्योग सञ्चालनका लागि ५० मेगावाट बिजुली आवश्यक रहेकोमा बल्ल ३० मेगावाट पुगेको हो । नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सवस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबार रातीबाट विद्युत आपूर्ति दिएको जनाएको छ ।
वर्षामा नेपालको बिजुली खेर गइरहेको भएपनि वितरण लाइन बनाउन नसक्दा नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत आपूर्ति गरिरहेको थियो । यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ ।
उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै विद्युत दिइएको प्राधिकरणले जनाएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति लिएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिएको हो ।
कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधजस्ता धेरै समस्या कारण प्रसारण लाइनको निर्माण अझै नसकिए पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत दिन सकिएको बताए । उनका अनुसार, होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति दिइएको हो ।
प्राधिकरणका अनुसार, बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई विद्युत दिइएको छ । “मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत बढाउन ठूला उद्योगहरुले मागेजति विद्युत दिँदैछौ, गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सवस्टेसनहरुको क्षमता बढाउने, सदृढीकरण गर्नेलगायतका काम अभियानकै रुपमा चलाइएको छ, यसको नतिजा छिट्टै देखिने छ”, घिसिङले भने, “ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने छौं ।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पु¥याउने घोषणा अनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण केभी प्रसारण लाइनको निर्माण पूर्णरुपमा सम्पन्न हुन सकेको छैन ।सरकारको लगानीमा ४० लाख अमेरिकी डलर लगानीमा आर्थिक वर्ष २०७३÷०७४ मा आयोजनाको सुरु गरिएपछि भएको अवरोधले ढिलाई भएको छ ।

Wednesday, November 3, 2021

चार वर्षअघि सम्पन्न हुनुपर्ने मध्यभोटेकोसीको काम बल्ल ७५ प्रतिशत

https://www.karobardaily.com/news/162853  

कार्तिक १५, २०७८ सोमबार

चार वर्षअघि सम्पन्न हुनुपर्ने सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण बल्ल ७५ प्रतिशत पूरा भएको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीले निर्माण गरिरहेको सो परियोजनाको काम बल्ल ७५ प्रतिशत पूरा भएको हो । प्रवद्र्धक कम्पनी मिडिल भोटेकोसी जलविद्युत कम्पनीले विद्युत प्राधिकरणसँग २८ कात्तिक २०६८ मा गरेको विद्युत खरिद सम्झौता (पीपीए) मा १ असार २०७४ मा व्यापारिक उत्पादन गर्ने गरी हस्ताक्षर भएको थियो ।
फेरि व्यापारिक उत्पादन गर्ने समय तालिकामा परिवर्तन गरेर २८ चैत्र २०७६ तोकिएको थियो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाको प्रवद्र्धक मध्यभोटेकोसी जलविद्युत कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकसहितको टोलीले शनिबार निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी गर्ने क्रममा भने कम्पनीले पुस २०७९ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिएको थियो ।
कम्पनीले भने साउन २०७१ मा आएको जुरे पहिरो, वैशाख २०७२ को विनाशकारी महाभूकम्प, असोज २०७२ देखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, असार २०७३ मा भोटेकोसी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरोको र कोभिड–१९को महामारीको चपेटामा आयोजना परेको जनाएको छ । प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार, बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण बर्खा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युतगृह भवन निर्माण आगामी पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।
आयोजनास्थल पुगेको टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरू र परामर्शदातासँग छलफल गरी २०७९ को पुसभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ ।
कार्यकारी निर्देशक घिसिङले प्राकृतिक प्रकोपको चपेटामा परेर करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङको बाहेक अन्य संरचनाको निर्माण प्रगति उत्साहजनक देखिएको बताए । “आयोजना प्रभावित तथा मुलुकभरका नेपाली नागरिकले महँंगो व्याजदरमा ऋण काढेर भए पनि सेयर खरिद गरी आयोजनामा लगानी गरेका छन्, निर्माणमा ढिलाइ हुँदा आयोजानको लागत बढिरहेको छ भने विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी गुम्दा लगानीकर्ताले प्रतिफल पाउन सकिरहेका छैनन्,” घिसिङले भने ।
प्राधिकरणका उपकार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष न्यौपानेले आयोजनाको निर्माण विशिष्ट अवस्थामा प्रवेश गरेको उल्लेख गर्दै बाँकी रहेका काम सम्पन्न गर्ने एकीकृत तालिका बनाएर अगाडि बढ्नु पर्ने बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले अहिलेको गतिमा काम भए तोकिएको समयमा आयोजना निर्माण सम्पन्न हुने देखिएको बताए ।
ठेकेदार कम्पनीका प्रतिनिधिले जनशक्ति तथा उपकरणहरू बढाएर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरू आयोजनास्थलमा ल्याइसकेको छ । गत वर्ष भोटेकोसी नदीमा आएको बाढी स्टोरमा पसेर उपकरणमा क्षति पु¥याएको थियो ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।
कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीमध्येमा नेपाल विद्युत प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिको १, सिन्धु इन्भेस्टमेन्ट कम्पनी प्रालिको १ र सिन्धु भोटेकोसी हाइड्रोपावर लिको १ सेयर रहेको छ ।
४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० र सर्वसाधारणको १५ प्रतिशत स्वपुँजीमा लगानी छ । कम्पनीले साधारण सेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् । आयोजनाबाट वार्षिकरूपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।

भारतीय सहायताका दुई आयोजनालाई बिजुली निर्यातको अनुमति

https://www.karobardaily.com/news/163078

 कार्तिक १७, २०७८ बुधबार

भारतले आफ्नो सहायतामा निर्माण भएका दुई जलविद्युत आयोजनाबाट उत्पादित ३९ मेगावाट बिजुली निर्यातका लागि अनुमति दिएको छ । १ मे २०२१ बाट नेपालले ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतीय ऊर्जा एक्सचेन्ज मार्केट (आईआईएक्स) बाट ३५० मेगावाटसम्म आयात गर्न अनुमति दिएको भारतले निर्यातका लागि भने बल्ल अनुमति दिएको हो ।
नेपाल विद्युत प्राधिकरणले गत जुलाईमा माथिल्लो तामाकोशी, मस्र्याङ्दी र भोटेकोशी तथा गत सेप्टेम्बरमा त्रिशुली र देवीघाट जलविद्युत गृहबाट उत्पादित बिजुली निर्यातका लागि भारतसँग अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । तीन आयोजनाको अनुमति आउन ढिलाइ भएपछि मात्र त्रिशुली र देवीघाटको अनुमतिका लागि पठाएको थियो । प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहले मात्र निर्यात अनुमति पाएका छन् । दुवै भारतीय सहायतामा निर्माण भएका हुन् ।
भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केट (आईआईएक्स)मा विद्युत बिक्री गर्न अनुमति दिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले ४५६ मेगाावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी, ४५ मेगावाटको भोटेकोशीका साथै त्रिशुली र देवीघाट गरी ६०९ मेगावाट बराबरको बिजुली निर्यातका लागि विद्युत प्राधिकरणले भारत सरकारसँग अनुमति मागेको थियो । तर त्रिशुली र देवीघाट जलविद्युतबाट उत्पादन हुने ३९ मेगावाटको मात्र अनुमति पाएको हो । “हामीले पाँच आयोजनाका लागि स्वीकृति मागेका थियौं, दुई वटा पाएका छौं । अरु पनि पाउने प्रकृयामा छौं,” विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, “हामीले मागे अनुसार अनुमति पाएका भएपनि अहिलेकै क्षमताले ६ सय मेगावाट नै दिन सक्ने अवस्था छैन । यसका लागि २० देखि २५ प्रतिशतसम्म मार्जिन हुनुपर्छ ।” प्राधिकरणका अनुसार मंगलबार राति १२ बजेदेखि सुरु भएको निर्यात गर्ने बिजुलीको मूल्य न्यूनतम १.६० भारतीय रुपैयाँ अर्थात २.५६ नेपाली रुपैयाँ, अधिकतम ४.६८ भारतीय रुपैयाँ अर्थात् ७.४८ नेपाली रुपैयाँ तथा सरदरमा २.७१ भारतीय रुपैयाँ अर्थात् ४.३३ नेपाली रुपैयाँ छ । १५-१५ मिनेटमा बिजुली दर फरक फरक हुने र प्रत्येक दिन प्रतिष्पर्धामार्फत बिजुली बिक्री गर्नुपर्ने कारण दरमा तलमाथि भने भइरहने प्राधिकरणले जनाएको छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार माग कम भएका कारण दिउँदो २ सय मेगावाट र रातिको समयमा पाँच सय मेगावाटसम्म खेर गइरहेको छ । खेर जाने बिजुलीलाई बेच्ने गरी वर्षाअघि नै प्राधिकरणले अनुमतिका लागि अनुरोध गरे पनि वर्षा सकिन लागेको बेलामा बल्ल अनुमति पाएको हो । अब एक महिनापछि भने भारतबाट नेपालले बिजुली खरिद गर्नुपर्ने कारण निर्यातको सम्भावना भने छैन । तर प्राधिकरणका अधिकारीहरु अहिले खुला भएपछि अर्को वर्षामा भने बिजुली बेच्न सहज हुने बताउँछन् ।
पहिलो अन्तरदेशीय प्रसारण लाइनमार्फत निर्यातको अनुमति पाएसँगै यसलाई नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको रुपमा लिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताइन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताए । नेपाल–भारतबीचको विद्युत व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत भारतीय बजारमा निर्यात शुरु भएसँगै नेपालका जलविद्युत विकासको ठूलो ढोका खुलेको छ ।

तिहार र हिउँदमा पनि लोडसेडिङ हुँदैन : घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहार र हिउँदमा पनि लोडसेडिङ नहुने बताएका छन् । पछिल्लो समय भारतमा कोल अभावको कारण बढेको ऊर्जा संकटको कारणले आगामी दिनमा बिजुली आयात हुन नसक्दा लोडसेडिङ हुने हो कि भनेर आशंका बढिरहेको बेला उनले लोडसेडिङ नहुने स्पष्ट पारेका हुन् । “विगतमा तिहारमा सबैभन्दा बढी माग हुन्थ्यो, अहिले त्यो परिवर्तन भएको छ । तिहारमा १५ सय मेगावाट माग हुन्छ, त्यो स्वदेशी उत्पादनबाटै पूरा हुन्छ,” उनले भने, “हिउँदमा पनि ४५६ मेगावाटको पिकिङ आयोजना तामाकोशीबाट उत्पादन भइसकेको छ, कुलेखानी जलाशय पनि पूर्ण भरिएको छ र सञ्चालनमा रहेको तथा अन्य केही आयोजनाहरु थ्प भएको छ । भारतबाट पनि नपुग बिजुली ल्याउन समस्या छैन ।”

बिजुलीको महशुल घटाउँदैछौं : ऊर्जामन्त्री

https://www.karobardaily.com/news/163086 

कार्तिक १७, २०७८ बुधबार

स्थापना भएको २५ वर्षमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट मात्र ३६ लाख घरधुरी लाभान्वित भएका छन् ।
मंगलबार काठमाडौंमा आयोजना गरेको रजत जयन्ती अवसरमा दिइएको जानकारी अनुसार २५ वर्षको अवधिमा नवीकरणीय ऊर्जाका प्रविधिमार्फत यति धेरै लाभान्वित भएका हुन् । केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले सरकार र विभिन्न विकास साझेदारको संयुक्त सहयोगमा तथा निजी क्षेत्र र स्थानीय सरकारसँगको सहकार्यमा सञ्चालित विभिन्न कार्यक्रममार्फत लघुजलविद्युत, सुधारिएको चुलो, सौर्य, वायोग्याँसलगायतका नवीकरणीय ऊर्जामार्फत ३६ लाख लाभाविन्त भएको जानकारी दिए ।
उनका अनुसार, लघुजलविद्युतमार्फत ३६ मेगावाट विद्युत उत्पादनमार्फत् २ लाख ४७ हजार घरधुरीले विद्युतीकरणको सेवा पाएका छन् भने ९ लाख ६१ हजार घरेलु सौर्य विद्युत प्रणाली र १६ लाख सुधारिएको चुलो जडान हुनुका साथै ११ हजार पानी घट्टको सुधार भएको छ ।
सहरीे क्षेत्रबाट निस्कने जैविक फोहोर, पोल्ट्रीफार्मबाट निस्कने सुली र गाईफार्मबाट निस्कने गोबरलगायतको प्रयोग ३ सय ४४ ठूलासहित ४ लाख ३३ हजार वायोग्यास प्लान्ट जडान भएको पनि केन्द्रले जनाएको छ ।
सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, सर्पदंश उपचार केन्द्र, वर्थिङ सेन्टरजस्ता संस्थामा कम्प्युटर तथा स्वास्थ्यसम्बन्धी उपकरण सञ्चालन गर्न देशभर झण्डै २ हजार ८ सय संस्थागत सौर्यऊर्जा प्रणाली जडान भएको तथा २ हजार ४ सयभन्दा बढी खानेपानी र सिँंचाइका लागि प्रयोग हुने पानी तान्ने सौर्यपम्प जडान भएको पनि उनले जानकारी दिए ।
रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ऊर्जामन्त्री पम्झा भुसालले नवीकरणीय ऊर्जाका प्रविधिमार्फत सबै जनतालाई दुई वर्षभित्र विद्युत पहुँच पु¥याउने बताइन् । २० युनिटसम्मको ऊर्जा सरकारले जनतलाई सित्तैमा दिएको जानकारी दिँदै उनले सरकारले विजुलीको महशुल घटाउँदै जाने रणनीति अपनाएको जानकारी दिए ।
उनका अनुसार, सिँचाइका लागि सरकारले निःशुल्क महशुलको व्यवस्थापन गर्न लागेको छ भने खपत बढाउनका लागि विद्युतीय गाडीको भन्सारलाई शून्य बनाउने लक्ष्यसहित अघि बढेको छ । उनले विद्युत व्यापारमा निजी क्षेत्रलाई संलग्न गराउनका लागि कार्यदल बनाएको जानकारीसमेत दिइन् । ऊर्जासचिव देवेन्द्र कार्कीले नवीकरणीय ऊर्जालाई सरकारले विशेष महत्व दिएको बताउँदै प्रवद्र्धन केन्द्रबारे सरकारले छुट्टै विधेयक बनाएर अघि बढेको जानकारी दिए ।
नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले दिगो ऊर्जाको पहुँच वृद्धि र स्वच्छ ऊर्जाको विकासका लागि बेलायत सरकारले नेपाल सरकारलाई सहयोग गरिरहेको बताइन् । नेपाल नवीकरणीय ऊर्जा ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले पछिल्लो समयमा केन्द्रले निजी क्षेत्रका प्रवद्र्धकहरूलाई परियोजनाहरूमा सहभागी गराउन छोडेको बताउँदै निजी क्षेत्रलाई केन्द्रले साथमा लिएर अघि बढ्नुपर्ने बताए ।
रजत जयन्तीको अवसर पारेर नवीकरणीय ऊर्जा क्षेत्रमा कार्यरत संघसंस्था तथा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । वीरगन्ज महानगरपालिकाको हस्क पावर नेपाल प्रालि, काठमाडौं महानगरपालिकाको घाम पावर नेपाल प्रालि र काठमाडौंको पृसु इलेक्ट्रोनिक्स प्रालिलाई सम्मान गरिएको थियो ।