https://www.karobardaily.com/news/162853
कार्तिक १५, २०७८ सोमबार
चार वर्षअघि सम्पन्न हुनुपर्ने सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण बल्ल ७५ प्रतिशत पूरा भएको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीले निर्माण गरिरहेको सो परियोजनाको काम बल्ल ७५ प्रतिशत पूरा भएको हो । प्रवद्र्धक कम्पनी मिडिल भोटेकोसी जलविद्युत कम्पनीले विद्युत प्राधिकरणसँग २८ कात्तिक २०६८ मा गरेको विद्युत खरिद सम्झौता (पीपीए) मा १ असार २०७४ मा व्यापारिक उत्पादन गर्ने गरी हस्ताक्षर भएको थियो ।
फेरि व्यापारिक उत्पादन गर्ने समय तालिकामा परिवर्तन गरेर २८ चैत्र २०७६ तोकिएको थियो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाको प्रवद्र्धक मध्यभोटेकोसी जलविद्युत कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकसहितको टोलीले शनिबार निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी गर्ने क्रममा भने कम्पनीले पुस २०७९ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिएको थियो ।
कम्पनीले भने साउन २०७१ मा आएको जुरे पहिरो, वैशाख २०७२ को विनाशकारी महाभूकम्प, असोज २०७२ देखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, असार २०७३ मा भोटेकोसी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरोको र कोभिड–१९को महामारीको चपेटामा आयोजना परेको जनाएको छ । प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार, बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण बर्खा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युतगृह भवन निर्माण आगामी पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।
आयोजनास्थल पुगेको टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरू र परामर्शदातासँग छलफल गरी २०७९ को पुसभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ ।
कार्यकारी निर्देशक घिसिङले प्राकृतिक प्रकोपको चपेटामा परेर करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङको बाहेक अन्य संरचनाको निर्माण प्रगति उत्साहजनक देखिएको बताए । “आयोजना प्रभावित तथा मुलुकभरका नेपाली नागरिकले महँंगो व्याजदरमा ऋण काढेर भए पनि सेयर खरिद गरी आयोजनामा लगानी गरेका छन्, निर्माणमा ढिलाइ हुँदा आयोजानको लागत बढिरहेको छ भने विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी गुम्दा लगानीकर्ताले प्रतिफल पाउन सकिरहेका छैनन्,” घिसिङले भने ।
प्राधिकरणका उपकार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष न्यौपानेले आयोजनाको निर्माण विशिष्ट अवस्थामा प्रवेश गरेको उल्लेख गर्दै बाँकी रहेका काम सम्पन्न गर्ने एकीकृत तालिका बनाएर अगाडि बढ्नु पर्ने बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले अहिलेको गतिमा काम भए तोकिएको समयमा आयोजना निर्माण सम्पन्न हुने देखिएको बताए ।
ठेकेदार कम्पनीका प्रतिनिधिले जनशक्ति तथा उपकरणहरू बढाएर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरू आयोजनास्थलमा ल्याइसकेको छ । गत वर्ष भोटेकोसी नदीमा आएको बाढी स्टोरमा पसेर उपकरणमा क्षति पु¥याएको थियो ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।
कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीमध्येमा नेपाल विद्युत प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिको १, सिन्धु इन्भेस्टमेन्ट कम्पनी प्रालिको १ र सिन्धु भोटेकोसी हाइड्रोपावर लिको १ सेयर रहेको छ ।
४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० र सर्वसाधारणको १५ प्रतिशत स्वपुँजीमा लगानी छ । कम्पनीले साधारण सेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् । आयोजनाबाट वार्षिकरूपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।
No comments:
Post a Comment