Monday, December 27, 2021

विद्युत प्राधिकरणको सहायक कम्पनीलाई विद्युत व्यापारको अनुमति

https://www.karobardaily.com/news/168927 

पुस ११, २०७८ आईतबार

सरकारले विद्युत व्यापारका लागि नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी नेपाल ऊर्जा व्यापार कम्पनी (एनपीटीसी) लाई अनुमति दिएको छ ।
२०७४ सालमा विद्युत प्राधिकरणले सहायक कम्पनीको एनपीटीसी गठन गरे पनि सरकारले यसलाई व्यापारको इजाजत दिएको थिएन तर मन्त्रिपरिषद्ले विद्युत व्यापारका लागि बल्ल स्वीकृति दिएको हो । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनुमति दिएको बताइन् ।
इन्फ्रास्टक्चर बैंक (निफ्रा) तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले समेत विद्युत व्यापार अनुमतिका लागि ऊर्जा मन्त्रालयमा निवेदन दिएका छन् तर हालसम्म स्वीकृति पाएका छैनन् । मन्त्री भुसाल भने निजी क्षेत्रलाई समेत चाँडै अनुमतिपत्र दिइने बताउँछिन् ।
चार र्षअघि विद्युत प्राधिरणले मन्त्रालयमा निवेदन दिए पनि यसमा कानुनी व्यवस्था नभएको भन्दै हालसम्म अनुमतिपत्र दिएको थिए । प्रस्तावित विद्युत विधेयकमा भने विद्युत व्यापारका लागि निजी क्षेत्रलगायतलाई अनुमति दिन सकिने उल्लेख छ तर यो हाल संसद्मा विचाराधीन छ ।
विद्युत प्राधिकरणले दुई महिनाअघि मात्र ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति पाएर भारत निर्यात गरिरहेको थियो भने गत वर्ष भारतबाट ८ सय मेगावाटसम्म आयात गरेको थियो । चालू वर्षको हिउँदमा ५ सय मेगावाटसम्म आयात गर्ने लक्ष्य छ । हाल विद्युत प्राधिकरणलाई भारतीय पक्षले आधिकारिक निकाय (डिजिटनरी अर्थोरिटी) रूपमा विद्युत आयात निर्यातका लागि स्वीकृति दिएको छ । ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार, विद्युत प्राधिकरणको सहायक कम्पनीले अनुमतिपत्र पाए पनि भारत पक्षबाट प्राधिकरणको सहायक कम्पनीलाई समेत व्यापारका लागि आधिकारिक निकायको रूपमा स्वीकृति नदिएसम्म तत्काल विद्युत व्यापारको सम्भावना भने छैन । सहायक कम्पनीको संरचना, हाल विद्युत प्राधिकरणले गरिरहेको विद्युत व्यापार सम्झौता (पीपीए) को व्यवस्थापन कसरी हुने, भारतीय पक्षले एक वटालाई विद्युत व्यापारका लागि आधिकारिक निकाय मानेकाले प्राधिकरणको सहायक कम्पनीसहित अन्यलाई व्यापारमा कसरी समावेश गर्ने भन्ने अन्योल छ ।

पौने तीन प्रतिशत चुहावट घट्यो


https://www.karobardaily.com/news/169045

पुस १२, २०७८ सोमबार

नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०७८/०७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको छ ।
नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।
कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो । गत आवको चार महिनाको तुलनामा यस वर्ष वितरणतर्फको चुहावट २.७७ प्रतिशत विन्दुले कम हो । प्राधिकरणले चालू आवमा विद्युत चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
आव २०७२/०७३ मा २५.७८ प्रतिशत विद्युत चुहावटलाई घटाएर प्राधिकरणले आव २०७६/०७७ मा १५.२५ प्रतिशतमा झारेको थियो । तर, आव २०७७/०७८ मा चुहावट १.९१ प्रतिशत विन्दुले बढेर १७.१८ प्रतिशत पुगेको थियो ।
कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रूपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए । उद्योगहरूमा विद्युत आपूर्ति बढेको र चुहावट नियन्त्रण अभियानलाई अझै सशक्त तथा प्रभावकारी बनाएर चालू आवका लागि राखिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम अगाडि बढाइएको घिसिङले बताए । “गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइएको छ,” उनले भने, “चोरी नियन्त्रण गर्दा कति ठाउँमा हाम्रा कर्मचारीमाथि आक्रमण भएको छ, यस्तो अवस्थामा पनि वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएका छौं ।”
काठमाडौं उपत्यकामा जाडोमा र तराई क्षेत्रमा गर्मीमा चुहावट बढ्ने उल्लेख गर्दै घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर चालिएको अभियानलाई अझै सशत्त र प्रभावकारी बनाएर चालू आवको लक्ष्य हासिल गरिने बताए ।
प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवाप्रवाह सुधारमा केन्द्रित रहेर प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरू र मातहतका वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्नेछ ।

Saturday, December 18, 2021

सरकारको प्रतिबद्धतापछि तत्काललाई पछि हट्यो अमेरिका

https://www.karobardaily.com/news/167968 

पुस २, २०७८ शुक्रबार

नेपाल सरकारले संसद्बाट अनुमोदनका लागि प्रतिवद्धता जनाएसँगै नेपाललाई दिने सहायतालाई निरन्तरता दिने कि नदिनेबारेको निर्णयबाट केही समयका लागि अमेरिका पछि हटेको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को मंगलबार त्रैमासिक बोर्ड बैठकमा यसबारे एजेण्डा राखे पनि सरकार भने पछि हटेको हो ।
एमसीसीमार्फत पाँच सय मिलियन डलर अर्थात् करिब ५५ अर्ब रुपैयाँ अनुदानमा नेपालमा सडक र प्रसारण लाइन निर्माण हुन लागेको छ । चार वर्षअघि भएको कम्प्याक्ट सम्झौता र सरकारको प्रतिवद्धता अनुसार सबै प्रक्रिया पूरा गरेर डेढ वर्ष अघि अर्थात २०७७ असार १६ गतेदेखि एमसीसी परियोजना सुरु गर्ने लक्ष्य राखे पनि हालसम्म संसद्बाट अनुमोदन नहुँदा काम अघि बढ्न सकेको छैन । गत वर्ष संसद्बाट अनुमोदन हुने आशासहित अमेरिकी र एमसीसीका प्रतिनिधिहरुले नेपाल भ्रमण गरे पनि अनुमोदन नगरेपछि एमसीसी बोर्डमा यसलाई निरन्तरता दिने–नदिनेबारे स्पष्ट निर्णय गर्न दबाब परेको थियो । “सरकारले अनुमोदन गर्ने प्रतिवद्धता पटक पटक जनाए पनि नगरेपछि लामो समयसम्म अमेरिका पर्खने सक्ने भएपछि बोर्डमाथि यसबारे स्पष्ट निर्णय गर्न दबाब परेको थियो । तर सरकारले संसद्बाट अनुमोदन गर्ने प्रतिवद्धता जनाएसँगै बोर्ड तत्कालका लागि पछि हटेको छ,” एमसीसी सम्बद्ध स्रोतले भन्यो, “अमेरिका लामो समयसम्म कुर्न सक्दैन भनेर अमेरिकी प्रतिनिधिहरुले भनिसकेका छन्, सायद फेरि सुरु भएको संसद् अधिवेशनबाट अनुमोदन गर्ने आशा गरेका छौं ।” उनका अनुसार, लामो समयसम्म कुर्न नसक्ने भन्दै निश्चित समय सीमा तोकेर अनुमोदनको लागि अघि बढाउने वा तत्काल पत्र लेखेर स्पष्टता नआएमा निरन्तरता नदिने लगायतका विकल्पबारे पनि छलफल भए पनि तत्कालका लागि बोर्ड यसबारेको निर्णयबाट पछि हटेर पर्ख र हेरको अवस्थामा छ ।
एमसीसीले बुधबार जारी गरेको प्रेष विज्ञप्तिमा निकट भविष्यमै संसद्बाट अनुमोदन गर्ने प्रतिवद्धता जारी गरेको र बैठकमा यसको प्रगतिबारे छलफल गरेको जनाएको छ ।
एमसीसी बोर्ड बैठककै दिन नेपालमा संसद् आह्वान गरिएको थियो तर प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गरेपछि यसबारे कुनै प्रस्ताव केही पेश भएन । तर यही ६ पुसमा संसद्मा पेश गर्न सरकारले पहल अघि बढाएको छ । विगतमा हालका प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सभामुखले संसद्मा टेबल गर्न नदिएको भनेर सार्वजनिक रुपमा टिप्पणी गरेका थिए । प्रधानमन्त्री देउवाले भने सरकारका एक मन्त्रीलाई सभामुखसँग परामर्श गरी सहज वातावरण बनाउन जिम्मेवारी दिएका छन् । एमसीसी पारित गर्नेबारे सत्ता गठनबन्धन माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरुले भने विरोध गरिरहेका छन् ।
ऊर्जा पूर्वाधार तथा सडक स्तरोन्नतिका लागि अमेरिकाले ५० करोड अर्थात् करिब ५५ अर्ब रुपैयाँ र नेपालको १३ करोड डलर अर्थात् १५ अर्ब ९६ करोड रुपैयाँ राखेर ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ भदौ २९ गते एमसीसी परियोजनामा नेपाल र अमेरिकाबीच कम्प्याक्ट सम्झौता भएको थियो । नेपालमा हालसम्म परियोजनाका लागि आएको यो अनुदान नै सबैभन्दा बढी हो । परियोजनाअन्तर्गत ४ सय केभीको ३१२ किलोमिटर प्रशारण लाइन तथा तीन उच्च सवस्टेशनका साथै ७७ किलोमिटर सडकको मर्मत हुनेछ ।
परियोजना अघि बढाउनका लागि विद्युत् प्रसारण आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा घोषणा गर्नुपर्ने र विद्युत नियमन आयोगको गठनका लागि कानुनी बाटो खुलाउनुपर्ने, नेपालको बुटवलबाट भारतको गोरखपुर सीमापार प्रसारण लाइन निर्माणका लागि भारत सरकारसँग सहमतिमा योजना तर्जुमा गर्नुपर्ने लगायतका सर्त पूरा भैसकेको छ भने कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदन हुन मात्र बाँकी छ ।

Thursday, December 16, 2021

लागत घटाएर नेपालको बिजुली बिक्रीयोग्य बनाउनैपर्छ

https://www.karobardaily.com/news/167822

 पुस १, २०७८ बिहीबार

डा. शंकर शर्मा भारतका लागि प्रस्तावित राजदूत हुन् । उनी अमेरिकाका लागि नेपालका पूर्वराजदूतका साथै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । लामो समयसम्म सरकारी सेवामा रहेर योजना र कूटनीति दुवै क्षेत्रमा अनुभव बटुलिसकेका उनको पहिचान अर्थशास्त्री, कूटनीतिज्ञ र योजनाकारको रूपमा समेत छ । पछिल्लो समयमा नेपाल विद्युत् प्राधिकरणले बिजुली खेर गइरहेको बताइरहे पनि नेपालले भारतसँग दीर्घकालीन रूपमा ऊर्जा व्यापार गर्न सकेको छैन । भारतले सन् २०३० भित्र फोहोर ऊर्जा (डर्टी इनर्जी) को रूपमा चिनिने कोइलाको उत्पादनलाई आधा झार्ने योजना बनाएको छ भने नेपालसँग स्वच्छ ऊर्जाको रूपमा लिइने जलविद्युतको प्रचुर सम्भावना छ । नेपालको आन्तरिक बजार, बाह्य बजारको रूपमा चिनिने भारत र बंगलादेशसँगको विद्युत व्यापारको सम्भावना र यसका लागि आवश्यक पूर्वाधार निर्माणका साथै समृद्ध नेपालको लक्ष्य हासिल गर्नका लागि नेपालले गरिरहेको पहल र यसमा सुधार्नुपर्ने पक्षबारे कारोबारकर्मी भीम गौतमले डा. शर्मासँग गरेको कुराकानीको सार :

पछिल्लो समयमा नेपालमा बिजुली खेर गएको भनेर चिन्ता प्रकट भइरहेको छ । के नेपाल आन्तरिक खपत गर्न नसक्ने अवस्थामा पुगेको हो ?
नेपालमा आन्तरिक खपतको सम्भावना धेरै छ । नेपालको प्रतिव्यक्ति ऊर्जा खपत र भारतको तुलना गर्दा -६ गुणाले धेरै देखिन्छ । चीनसँग अझ धेरै छ । हामी भारतसरह पुग्न धेरै खपत गर्नुपर्छ भन्ने देखाउँछ । अर्को कुरा, अहिलेको अवस्थामा कोप–२६ मा नेपालले प्रतिबद्धता जनाएर आएको छ । नयाँ–नयाँ विद्युतीय सवारी साधनलगायतका नयाँ–नयाँ प्रविधि आएको छ । त्यो सस्तो छ । भन्सार सुविधा छ । युरोप र अमेरिकामा फोसिल फ्युलबाट चढ्ने सवारी साधन घटाइँदै छ । नेपालको खपतको अवस्था, वातावरणप्रतिको प्रतिबद्धता, विकासको स्तरले गर्दा पनि हाम्रो एकदम धेरै खपत वृद्धि गर्नुपर्ने देखिन्छ । अहिले त व्यापारघाटा धेरै बढेको छ । शोधनान्तर अवस्थामा समस्या छ । विप्रेषण पनि घटेको छ । यसको कारणले पनि वस्तु वा सेवाको निर्यात गर्नुपर्नेछ । बिजुली पनि यही किसिमको छ । नेपालमा जलविद्युतको सम्भावना धेरै छ । यसलाई निर्यात गर्ने अनि पर्यटनलाई व्यापक बनाउने, यी कुरालाई अघि बढाएर लिएर जानुपर्ने अवस्था छ । हामीले एउटा घरायसी खपत वृद्धि र अहिलेको अवस्थालाई व्यापार गर्न पनि जान्नुपर्छ । खपत वृद्धि र विद्युत निर्यात दुवै रणनीतिका साथ नेपाल अघि बढ्नुपर्छ । आसियानले पनि अन्तरदेशीय ग्रिडको कुरा गरिरहेको छ । बंगलादेशले पनि नेपालमा बिजुली खरिदको कुरा गरिरहेको छ । यसमा हाम्रो राम्रो उपस्थिति देखाउनुपर्छ ।

विद्युत व्यापारको कुरा गर्ने कुरामा दुईमत छैन । तपार्इं भारतका लागि प्रस्तावित राजदूत पनि हुनुहुन्छ, भारतमा बिजुली जाने सम्भावना के देख्नुहुन्छ ?
भारतको अवस्थाले पनि दुई देशबीच विद्युत व्यापार हुनुपर्छ भन्ने देखाउँछ । भारतमा ६० प्रतिशत कोइला छ भने सन् २०३० भित्र ५० प्रतिशत ऊर्जा नवीकरण ऊर्जाबाट उपलब्ध गराउने भनेर भारतले कोपमा प्रतिबद्धता जनाएको छ । अर्को, सन् २०७० कार्बन उत्सर्जन शून्यमा झार्ने भनेको छ । अर्को भनेको कोइलाको भाउ बढेको र नपाएको कारणले भारतमा ठूलो अभाव देख्यो । पछिल्लो समयमा बिजुली अभाव देखियो । सन् २०४२ सम्म थप ५० हजार मेगावाट बिजुली अभाव हुने देखिएको छ । यो त नवीकरणीय ऊर्जाबाटै देखियो । हालै हेर्दा छोटो अवधिका लागि प्रतियुनिट २८ रुपैयाँसम्म आईसीमा पनि किनेको थियो । यसले पनि नेपालबाट भारतले बिजुली किन्न सक्ने अवस्था देखिन्छ । नेपालमा त पछिल्लो दिउँसो २ सय मेगावाट र रातीको समयमा ५ सय मेगावाटसम्म विद्युत बिक्री गर्न सकिन्छ । हाम्रो देशमा ८३ हजार मेगावाटको जलविद्युत् उत्पादन हुने अवस्था छ, अझ हेर्दा थप उत्पादन हुन सक्छ । आगामी तीन वर्षमा ५ हजार मेगावाट उत्पादन हुन सक्ने अवस्था छ । हामीसँग बिजुली प्रशस्त हुने, भारतलाई आवश्यक हुने देखिएको तथा सन् २०१४ मा भारतका प्रधानमन्त्री मोदीले नेपालमा भ्रमणमा आउँदा नेपालमा बिजुली बनाऊ, किन्छौं भनेर भन्नुभएको थियो । उहाँले नेपालका लागि आर्थिक समृद्धिको आधार बिजुली भनेको र किनिदिने पनि वचन पनि दिनुभएको थियो । भारतलाई बिजुली आवश्यक रहेको तथा नेपालमा उपलब्ध भएको अवस्थाले पनि बिजुली बिक्रीको सम्भावना छ । भारतले ३९ मेगावाट बिजुली किनेर त्यसको सुरुवातसमेत गरिसकेको छ । यसकारण पनि भारतले नेपालको बिजुली किन्छ भन्नेमा म आशावादी छु ।

अहिले नेपालले बेचेको बिजुली भनेको भारतीय सहायताका आयोजनाबाट उत्पादित बिजुली हो । यसले भारतको संलग्नता भएको बिजुली मात्र किन्छ भन्ने सन्देश दिएको छ । नेपालमा बिजुली व्यापारका लागि तपाईंको थप पहल के हुन्छ ?
भारतीय राजदूतको रूपमा मेरो नियुक्त हुन बाँकी छ । त्यसपछि एउटा रणनीति त छँदै छ । अहिले भारतले बनाएको निर्देशिकामा आधारित भएर मात्र छलफल गर्दा राम्रो हुन्छ । निर्देशिका हेर्दा भारतका छिमेकी देशहरू छन्, ऊर्जा सम्झौता नभएका देशका लगानी भएका आयोजनाबाहेकसँग बिजुली नकिन्ने र सम्झौता भएका देशहरूसँग किन्छु भनेको छ । यसले के संकेत गर्छ भने कुनै–कुनै देशको लिन्न, यो देखिन्छ । सार्कस्तरीय पावर ग्रिड बनाउने र ऊर्जा आदानप्रदान गर्ने सम्झौता गरेको छ । सन् २०१४ मा ऊर्जा व्यापार सम्झौता भएको छ । सरकार–सरकार सम्झौता जहिले पनि गर्न सक्छौं । निर्देशिका आएको तथा विभिन्न सम्झौताका साथै अहिलेको अवस्थाले पनि ऊर्जा व्यापार हुन्छ भन्नेमा ढुक्क छौं ।

अहिले ३९ मेगावाट बिजुली व्यापार भएको पनि छोटो अवधिको लागि हो । जबसम्म दीर्घकालीन रूपमा ऊर्जा व्यापार हुँदैन, त्यो दिगो हुँदैन । यसका लागि के पहल आवश्यक देख्नुहुन्छ ?
अहिले भइरहेका सम्झौतालाई कार्यान्वयन कसरी गर्ने ? यसमा लगानी पनि बढाउनुप-यो । लगानी बढाउँदा अहिले भनिरहेको अपर तामाकोसी, अपर भोटेकोसी, मस्याङ्दीलगायतका सम्भाव्य आयोजनाबाट निर्यातको कुरा अघि बढाउन सकिन्छ । बाँकी कुरामा भारत र अन्य क्षेत्रबाट लगानी आउला, अनि दीर्घकालीन ऊर्जा व्यापारमा जान सक्छौं । यसका लागि दीर्घकालीन विद्युत व्यापार सम्झौता (पीपीए) गरौं । यसले गर्दा मूल्य पनि बढ्छ, यसबाट नेपालले पाउने फाइदा बढ्छ । यसको सुनिश्चितता छ । यसको विकल्प पनि बाँकी छ । अहिले त ३९ मेगावाट सुरुवाती मात्र हो । ढोका खुलेको मात्र हो । गर्न बाँकी धेरै छ । यसका लागि राष्ट्रिय रणनीति बनाउनुपर्छ । भारतका साथै बंगलादेशसँग पनि हाम्रो प्रक्रिया अघि बढेकाले यसमा विद्युत व्यापारका लागि पहल गर्नुपर्छ ।

पछिल्लो समयमा निजी प्रवद्र्धकहरूले नेपाल र भारतबीच निजी क्षेत्रहरूबीच बिजुली आदानप्रदान गर्न सकिन्छ भनेर भनिरहेका छन् । दुवै देशका निजी क्षेत्रहरूले एक–आपासमा बिजुली व्यापारको सम्भावना कति देख्नुहुन्छ ?
यसबारे अध्ययन त गर्नुपर्छ । सरकारले निजी क्षेत्रलाई व्यापारका लागि दिइसकेको छैन । विद्युत व्यापारका लागि अहिले नेपाल विद्युत प्राधिकरणकै आधिकारिक निकायको रूपमा अधिकार दिइएको छ । दुई वर्षपछि ५ हजार मेगावाट उत्पादन गर्र्दै छौं, यसमा अधिकांश उत्पादन निजी क्षेत्रकै हुन्छ । निजी क्षेत्रको उत्पादन बढ्दै गयो र बिजुलीको मूल्य पनि प्रतिस्पर्धी भयो भने तथा विद्युत् प्राधिकरण र निजी क्षेत्रका प्रवद्र्धकहरूबीच छलफल भएर अघि बढ्यो भने विद्युत व्यापारलाई विविधीकरण गर्न सकिन्छ । विद्युत व्यापार निजी क्षेत्रलाई नदिने भन्ने कुरा त आउँदैन ।

लागतको कुरा गर्दा नेपालको बिजुली महँगो नै देखिन्छ, बिक्रीयोग्य बनाउन नेपालमा बिजुलीको लागत घटाउन के गर्नुपर्ला ?
पहिलो कुरा त लागत घटाउनका लागि निजी क्षेत्रले, विद्युत प्राधिकरणले गरिरहेको छ, योभन्दा पनि अघि बढेर कम लागतका आयोजनाहरूको निर्माण सुरु गर्नुपर्छ । स्वतन्त्र रूपमा जसले जुन आयोजनाहरू लिने भन्दा पनि लागतको कम भएको आयोजनाको निर्माण मात्र गर्न सकिन्छ । भारतले पनि प्रतिएक मेगावाटलाई एक करोड अनुदान दिने गरेको छ, यसमा दिन सक्छौं कि सक्दैनौं भन्ने पनि छ । तर सडक, प्रसारण लाइनलगायतका आवश्यक पूर्वाधारहरू सरकारले बनाउनुपर्छ । अनि जग्गा लिने र मुआब्जा दिने कुरामा सरकार अघि बढ्नुपर्छ । अहिले अर्थमन्त्रीले पनि जग्गा लिने कुरा भन्झटिलो भनेर भनिरहनु भएको छ । यसमा नयाँ मोडालिटीमा जानुपर्छ । यस्तो मोडालिटी भारत, थाइल्यान्डलगायतका धेरै देशमा छ । यो मोडालिटी हामीले प्रयोग गर्न सक्छौं । अहिले एक लाख पर्ने जग्गा, परियोजना सुरु हुने भएपछि १०-१५ लाख पुग्छ । यो कुरालाई बजारलाई बिग्रन नदिने गरी सरकारले काम गर्नुपर्छ । सडक, प्रसारण लाइनको काम सरकारले दिनुपर्छ । यसमा कि सरकारले समयमै बनाइदिनुपर्छ वा प्रवद्र्धकहरूलाई यसवापतको रकम दिनुपर्छ । लागत घटाएर नेपालको बिजुलीलाई बिक्रीयोग्य त बनाउनैपर्छ ।

अब प्रसारणलाइन पूर्वाधारको कुरा गरौं । विद्युत व्यापारको कुरा गर्दा अहिले एउटा अन्तरदेशीय प्रसारणलाइन छ । तपाईंको विचारमा अब नेपालमा कस्ता पूर्वाधार आवश्यक छ, जसले बिजुली आदानप्रदानमा सहयोग गरोस् ?
विद्युत प्राधिकरणले राष्ट्रिय रूपमै प्रसारणलाइन निर्माण गरिरहेको छ । यसमा पहिला हामी चुकेका थियौं । पहिला प्रसारण लाइनको पूर्वाधार नबनाउँदा एकातिर उत्पादन भएको बिजुली खेर गइरहेको छ, अर्कातिर लोडसेडिङ हुने सम्भावना छ । पहिलो त राष्ट्रिय रूपमै प्रसारणलाइन बनाउनुपर्छ । दोस्रो कुरा, ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारणलाइन त बन्यो । अर्को भनेको बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन हो । यसमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पनि एउटा भाग छ । यसलाई जसरी भए पनि पूरा गर्नैपर्छ । तेस्रो भनेको बंगलादेशसँगको व्यापारका लागि भारत र बंगलादेशलाई काम लाग्ने गरी पूर्वतिरबाट सीधै जोडिने प्रसारण लाइनलाई प्राथमिकता दिनुपर्छ । यी तीन काम अन्तरदेशीय व्यापारका लागि महŒवपूर्ण छ । अर्को पक्ष भनेको भारतसँग सम्झौताको कुराले पनि धेरै निर्धारण गर्छ । अन्तरदेशीय प्रसारण लाइनको योजना पनि बनिसकेको छ । कहिले बनाउने भन्ने कुरा त आवश्यकताको आधारमा बनाउँदै जाने हो ।

हालसम्म एउटा अन्तरदेशीय प्रसारणलाइन मात्र बनेको छ, अरू बन्न सकेको छैन । यसमा नेपाल ढिला भइसकेको छ । बुटवल–गोरखपुर त एमसीसीसा जोडिएको पनि छ तर यसमा पनि ढिलाइ भएको छ । अरू पनि अघि बढ्न सकेका छैनन् । भारतले कोइला घटाउने भनिरहेको छ, बिजुली बेच्नुपर्ने नेपाल पूर्वाधार निर्माणमा सुस्त भइरहेका छौं, यसलाई कसरी तीव्रता दिन सकिन्छ ?
अन्तरदेशीय प्रसारण लाइनहरू तीव्रताका साथ बनाउनुपर्छ । प्रसारण लाइनको कुरा त नेपालतिर हामीले बनाउने हो । बुटवल–गोरखपुरमा पनि नेपालतर्फ मात्र बनाउने हो । यी प्रसारण लाइन त आन्तरिक खपतका लागि पनि उपयोग गर्न सकिन्छ । यसमा जसरी प्रसारणलाइन निर्माणको योजना बनाइएको छ, यसमा प्राथमिकता दिएर क्रमशः अघि बढाउनुपर्छ । यसले गर्दा अन्तरदेशीय व्यापारलाई सहयोग हुन्छ । घरायासी प्रयोजनका लागि पनि यो हुन्छ । यी प्रसारण लाइनहरू अति आवश्यक हुन् र तुरुन्तै बनाउनुपर्ने आवश्यकता पनि छ । यसमा ढिलाइ भइसकेको छ । भारततर्फ धेरै बनाउन सक्यौं, बंगलादेशको पनि लगानी आउन लाग्यो भने बिजुली व्यापारका लागि पनि सजिलो हुन्छ । अहिले यूपी, बिहार सबैतिर बिजुली आवश्यक देखिएको छ । बुटबल–गोरखपुरलाई तुरुन्तै अघि बढाउनुपर्ने आवश्यकता छ ।

३ सय १२ किलोमिटरको राष्ट्रिय राजमार्ग बन्ने एमसीसी सहयोगको प्रसारणलाइन अत्यन्त विवादमा छ । किन ठूला पूर्वाधारहरूमा विवाद भइरहेको छ ?
नेपालमा एकातिर शोधनान्तर स्थितिको यस्तो समस्या भइरहेको छ । रेमिट्यान्स घट्दो छ । प्रसारणलाइन र सडकमा पूरै लगानी गरिने यति धेरै ५ सय ५० मिलियन डलरको सहयोग छोड्ने कुरा हुँदैन । पक्कै पनि संसद्को अधिवेशनले यसलाई विचार गर्छ होला । हाम्रो अवसर भनेको भारतसँग पनि, चीनसँग पनि, अमेरिकासँग पनि र पश्चिमा देशहरूसँग पनि जुन सहयोग लिन्छौं, त्यसको अधिकतम उपयोग गर्न सक्नुपर्छ । पछिल्लो समयमा जलवायु परिवर्तनसँग सम्बन्धित युरोपियन देशहरूको सहयोग आउन लागेको छ । हामीले जलवायुसँग यी परियोजनाहरूलाई जोड्नुपर्छ । जोड्न पनि सजिलो छ । हामीले धेरै कुरा विद्युतीकरणसँग पनि जोडिरहेका छौं । पछिल्लो समयमा हाम्रो वनजंगलको क्षेत्र बढिरहेको छ । युरोपसँग यस्ता सहायतालाई जोड्न हामीलाई गाह्रो भएन नि ! यी कुरालाई ध्यान दिएर रणनीतिक रूपमै अमेरिका, युरोप, भारत, चीनसँग कसरी सहयोग बढाउन सक्छौं, त्यहाँको चलायमान बजारलाई कसरी उपयोग गर्न सक्छौं भन्ने कुरा अध्ययन गर्नुपर्छ । त्यसबाट फाइदा लिन सक्नुपर्छ ।

तपाईंसँग अर्थतन्त्र र योजना अघि बढाउने निकायमा बसेर काम गरेको लामो अनुभव छ । समृद्ध नेपालको कुरा पनि गरिरहेका छौं । धनी बनाउने सपना पनि देखिरहेका छौं, तर नेपालमा अझै पनि ठूला पूर्वाधार बनेका छैनन् । अघि बढेका योजनामा पनि समस्या छ । कस्ता र कसरी योजना अघि बढाउन सकेमा हामीले भन्दै आएको समृद्ध नेपाल बन्न सक्छ भन्ने तपाईंलाई लाग्छ ?
हामीले गरेका प्राथमिकताभित्र पनि प्राथमिकीकरण आवश्यक छ । यहाँ धेरै क्षेत्रका कार्यक्रमहरू छन् । यसले स्रोतहरू पनि माग गर्छ । यहाँ दिगो विकास लक्ष्यको पनि कुरा गरेका छौं । नेपालको स्तरोन्नति भएपछि गर्नुपर्ने कुरा पनि गरेका छौं । पूर्वाधारमा कमजोर भएकाले यसमा जोड दिनुपर्ने कुरा पनि गरेका छौं । यसभित्र पनि आर्थिक वृद्धिदर तीव्र हुने, असमानता घटाउने किमिसका अवसरहरू के–के छन्, तिनीहरूलाई जोड दिनुपर्छ । उदाहरणका लागि सन् १९९० मा उदारीकरणको कुरा ल्यायौं । त्यसपछि उत्पादनको लागि र आवतजावतको लागत घटाउनुपर्ने भनेर ड्राइपोर्टको कुरा ल्यायौं । दु्रतमार्गको कुरा ल्यायौं । विमानस्थलहरूको कुरा ल्यायौं । तर, ती पूर्वाधारहरू बन्न लामो समय लाग्यो । विशेष आर्थिक क्षेत्रको कुरा ल्यायांै, त्यो बन्न सकेको छैन । समस्या के हो भने एकपटक रणनीति तयार गरिसकेपछि त्यसको कुनै कारण हुन्छ, त्यससँग जोड्नुपर्छ । यसलाई प्राथमिकता दिएर सक्नुपर्छ । यसमा हामी धेरै कमजोर भयौं ।

नेपालसँग लक्ष्य र योजना त छ तर कार्यान्वयन कमजोर देखिन्छ । नेपाल यसमा कहाँनेर चुकिरहेको छ ?
हामीसँग लक्ष्य र योजना छ तर कार्यान्वयन भएन । कार्यान्वयन गर्नुपर्ने कुरामै पनि प्राथमिकता दिनुपर्ने थियो । सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई, सचिवहरूलाई यसमा जिम्मेवारी बनाउनुपर्छ । नत्र अन्तरमन्त्रालय समन्वय एकदम गाह्रो हुने रहेछ । नौ महिनाकै लागि मन्त्री बनाए पनि यस अवधिभित्र यो परियोजनाको यति काम हुनुप¥यो भनेर स्पष्ट तोक्नुपर्छ । कर्मचारीहरू त धेरै सरुवा हुने गर्छन्, उनीहरू जोखिम मोल्न पनि चाहँदैनन्, उनीहरूले नेतृत्व लिने र छिटो–छिटो निर्णय गर्दैनन् । राजनीतिक नेतृत्वले नै आफ्नो परिधिभित्रको कामको नेतृत्व गर्छ तर राजनीतिज्ञहरू परिधि (ट्र्याक) बाहिरको कुरा छिटो निर्णय गर्न खोज्छन् । तर, जुन प्राथमिकताका कुराहरू छन्, जहाँ जोखिम छ, त्यहाँ हटाइदिने र गर्छु भनेको प्राथमिकता छ, त्यसमा पनि दत्तचित्त भएर काम ग¥यो भने थोरै समयमा धेरै उपलब्धि हासिल गर्न सकिन्छ । प्राथमिकताका कुरामा दत्तचित्त भएर ३०÷४० प्रतिशत काम गर्न सकियो भने मात्र पनि कम समयमा धेरै प्रगति गर्न सक्छौं, अघि बढ्न सक्छौं ।

Wednesday, December 15, 2021

बंगलादेश निजी क्षेत्रसँग सिधै बिजुली किन्न तयारः ऊर्जा राज्यमन्त्री

https://www.karobardaily.com/news/167735

 मंसिर २९, २०७८ बुधबार

गलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालका निजी क्षेत्रबाट सिधै बिजुली किन्न तयार रहेको बताएका छन् ।
बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्नसमेत बंगलादेश तयार रहेको बताएका हुन् । आगामी वर्षादेखि नै हाल खेर गइरहेको बिजुली खरिद गर्न पनि तयार रहेको उनको उनको भनाइ थियो ।
नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा पाँच सय मेगावाट विद्युत खेर गएको थियो तर नेपालले सिधै बंगलादेशसँग विद्युत व्यापार गर्न सक्ने अवस्था छैन । नेपाल र बंगलादेशको सिमाना नजोडिएको तथा भारत हुँदै लैजानुपर्ने कारण यस्तो भएको हो ।
सन् २०४० भित्र बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिजुली नेपालबाट वंगलादेश लैजाने योजना बनाएको छ भने भारतीय कम्पनी जीएमआरले निर्माण गरिरहेको ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजनाको बिजुली बंगलादेश बेच्नका लागि पीपीएको अन्तिम तयारीमा जीएमआर छ । यसका लागि बंगलादेशले आशयपत्र भने जारी गरिसकेको छ ।
परिसंघको टोलीसँगको भेटमा राज्यमन्त्री हमिदले बंगलादेश नेपालको बिजुली खरिद गर्नका लागि नेपालबाट विद्युत आयातका लागि प्रसारण लाइनको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्नुपर्ने बताउँदै यसका लागि बंगलादेश तयार रहेको बताए ।
जनवरी २०२२ बाट यस विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्चभित्रमा काम सम्पन्न गर्ने प्रतिबद्धता पनि उनको थियो । “मार्चमा म नेपाल भ्रमण गरेर यो विषय टुंगो लगाउनेछु,” उनले भने ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले निजी क्षेत्रले अनुमति लिएका १६ हजार मेगावाट बराबरका आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बेच्न सक्ने भन्दै बंगलादेश ऊर्जा विकास बोर्डलाई जानकारी पनि गराएका छन् । मन्त्री हमिदले नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग सिधै पीपीए गराउनका लागि पनि पहल गर्ने बताए ।
भारतले अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत व्यापारको ढोका खुलेको उनको भनाइ छ । “यो कार्यविधिले अन्तरदेशीय विद्युत व्यापारमा नियमन र कानुनी संयन्त्रसम्बन्धी द्विविधाको अन्त्य गरेको छ ।
नेपालको बिजुलीको सम्भाव्य बजार भारत भए पनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत व्यापारमा आशावादी भएको छ,” उनले भने । उनका अनुसार, बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ र अबको चार वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने योजना बंगलादेशको छ ।
भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युतमा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न आग्रह गरेका थिए । नेपालका निजी क्षेत्रसँग सिधै पीपीए गरेर विद्युत खरिद गर्न पनि राज्यमन्त्रीसँग अनुरोध गरेका थिए ।
परिसंघको पूर्वाधार समितिका सभापति एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका उपाध्यक्ष आशीष गर्गले नेपालमा विद्युत उत्पादन र विद्युत खपतको अवस्थाबारे प्रस्तुतीकरण दिएका थिए ।
ढाकामा भएको भेटमा परिसंघका अध्यक्ष अग्रवालसहित पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे एवं राष्ट्रिय परिषद् सदस्यहरू लक्ष्मीप्रसाद सुवेदी, भीमप्रसाद घिमिरे, द्विराज शर्मा र चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, नेपाली राजदूतावास ढाकाका कार्यबाहक राजदूत कुमार राई, परिसंघका महानिर्देशक यादवप्रसाद पौडेल र निर्देशक सविन मिश्रसहितको टोली सहभागी थियो ।


बढ्दो विद्युत् उत्पादनसँगै खपत बढाउने जोहो

https://www.karobardaily.com/news/167714

मंसिर २९, २०७८ बुधबार

एउटा अध्ययनले के देखाएको छ भने काठमाडौँमा बिजुलीबाट खाना पकाउँदा ४५ प्रतिशत सस्तो छ भने गाउँमा भने ५० प्रतिशत सस्तो हुन्छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थाको ऊर्जा अध्ययन केन्द्रका ऊर्जा प्रणाली योजना तथा विश्लेषणका संयोजक प्रा.डा. अमृतमान नकर्मीका अनुसार ५ जना परिवारका लागि मासिक रूपमा मटीतेलबाट खाना पकाउनका लागि १९ सय २० र ग्यासबाट १६ सय ५० रुपैयाँ खर्च हुन्छ भने विद्युतीय चुलोबाट १ हजार मात्र लाग्छ ।
जल तथा ऊर्जा आयोगका अनुसार, नेपालमा सानाठूला गरी ६ हजारभन्दा बढी नदीनाला छन् भने यहाँबाट २ सय २५ मिलियन क्युबिक मिटर पानी बहन्छ । पानी प्रशस्त भए पनि यो पानीबाट नेपालमा कति बिजुली उत्पादन हुन्छ भनेर सरकारले आधिकारिक रूपमा अध्ययन गरेको छैन । तर, स्वर्गीय हरिमान श्रेष्ठले आफ्नो थेसिसका लागि गरेको अध्ययनले ८३ हजार मेगावाटबराबरको उत्पादन क्षमता रहेको र ४४ हजार मेगावाटबराबरको व्यापारिक उत्पादन हुने उल्लेख गरेका छन् । यसलाई नै सरकारले आधिकारिक मान्दै आएको छ । जल तथा ऊर्जा आयोगले भने नेपालको विद्युत् उत्पादनको क्षमताबारे अध्ययन गरिरहेको छ भने नदी बेसिनका आधारमा अध्ययन पनि गरिरहेको छ ।
इन्जिनियर खिमानन्द कँडेलले प्रकाशन गरेको नेपाल जलविद्युत् उत्पादनसम्बन्धी पुस्तकमा क्यू २० मा निर्माण गर्दा १ लाख ५० हजार मेगावाटसम्म र क्यू ४० मा निर्माण गर्दा ५५ हजार मेगावाट तथा औसतमा ८० हजार मेगावाटसम्म उत्पादन हुन सक्ने उल्लेख गरेको छ । हाइड्रो सोलुसनले एक विदेशी विश्वविद्यालयसँग गरेको अध्ययनमा नेपालको अधिकतम पानीको उपयोग गर्दा २ लाख मेगावाटसम्म उत्पादन हुने देखिएको जलविद्युत् विश्लेषण ज्ञानेन्द्रलाल प्रधान बताउँछन् ।
नेपालमा जलविद्युत् उत्पादनको प्रशस्त सम्भावना भए पनि उत्पादन भने २ हजार मेगावाटको हाराहारीमा छ । तीन वर्षअघि सरकारले १० वर्षभित्र १५ हजार मेगावाट उत्पादनको लक्ष्य राखेको छ, तर २ हजार मेगावाटको हाराहारीमा उत्पादन हुनेबित्तिकै विद्युत् खपत कसरी गर्ने भनेर नेपाल विद्युत् प्राधिकरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ठूलो टाउको दुखाइको विषय बनेको छ । खपत वृद्धिको अवस्था कमजोर रहेपछि एक महिनाअघि मुख्य सचिवको बैठकले उत्पादन अनुमतिपत्र दिन रोक्ने निर्णयसमेत गरेको थियो तर यसको निजी क्षेत्रबाट व्यापक आलोचना भएपछि यस निर्णयलाई सच्याएर खपत वृद्धि योजना बनाउने उल्लेख गरिएको छ । १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राख्ने र बजेटमार्फत घोषणा गर्ने सरकारले २ हजार मेगावाट उत्पादन नहुँदै नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पीपीए) गर्न रोक्नु र विद्युत् विकास विभागले अनुमतिपत्र (लाइसेन्स) जारी गर्न कडाइ गर्नुलाई विडम्बनाको रूपमा निजी क्षेत्रले लिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईं त २ हजार मेगावाट उत्पादन हुनेवित्तिक्कै सरकार तर्सिएको रूपमा टिप्पणी गर्छन् । १५ हजार मेगावाटको लक्ष्य लिने सरकारले ३० हजार मेगावाटबराबरका लाइसेन्स जारी गरेर उत्पादन वृद्धि गर्नमा लाग्नुपर्नेमा खपत वृद्धिका लागि प्रयास नगरी यसरी विद्युत् प्राधिकरण तर्संदा निजी क्षेत्रको अर्बौं लगानी डुब्ने उनको तर्क छ ।

खपत कम र उत्पादन बढ्दो
नेपाल विद्युत् प्राधिकरणले २०७६ सालमा गरेको प्रक्षेपणअनुसार सन् २०१९-२०२० अर्थात् आर्थिक वर्ष २०७६-०७७ मा विद्युत्को माग २ हजार २ सय २५ मेगावाट, सन् २०२०-०२१ अर्थात् २०७७-०७८ मा २ हजार ६ सय ३८ मेगावाट तथा चालू वर्षमा ३ हजार ६२ मेगावाट हुनुपर्ने थियो, तर प्रक्षेपणअनुसार खपत नबढेपछि यसलाई घटाइएको छ । प्राधिकरणले गत वर्ष १ हजार ५ सय २४ मेगावाट र चालू वर्षमा १ हजार ६ सय ७१ मेगावाट विद्युत् माग हुने प्रक्षेपण गरेको छ । त्यसपछिका वर्षहरूमा भने क्रमशः १ हजार ८ सय ३९ मेगावाट र २ हजार ३१ मेगावाट विद्युत्को माग पुग्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले चालू वर्षमा २ हजार २ सय ३६ मेगावाट तथा अर्को वर्ष ३ हजार ३ सय ३९ मेगावाट उत्पादन पुग्ने अनुमान छ । त्यसपछिको वर्षमा भने उत्पादन ४ हजार ६ सय ८७ मेगावाट विद्युत् उत्पादन पुग्नेछ ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएको वर्षाको समयमा ५ सय मेगावाटसम्म बिजुली खेर गएको बताएका छन् भने चालू वर्षको वर्षामा झन्डै ८ सय मेगावाट तथा त्यसपछिको वर्षमा करिब १५ सय र त्यसपछिको वर्षमा २ हजार ५ सय मेगावाटसम्म विद्युत् खेर जाने अनुमान गरिएको छ । विद्युत् खेर जाने तथ्यांकले स्पष्ट देखाए पनि स्वदेशमै खपत बढाउन र छिमेकी राष्ट्र भारतमा बिक्री गर्नका लागि सरकार र विद्युत् प्राधिकरणले गरेको प्रयास भने सार्थक देखिएको छैन ।

खपत वृद्धि कसरी ?
हालै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) को वार्षिक उत्सवका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले बिजुली नकिनेमा के गर्ने भनेर प्रश्न गरे । दैनिक ५ सय मेगावाटसम्म बिजुली खेर गइरहेको र यसका लागि सरकारले खपत वृद्धि र विद्युत् व्यापार गर्न नसकेको भन्दै सरकारको आलोचन भइरहेका बेला प्रधानमन्त्री आफैंले भारतले बिजुली नकिनेमा के गर्ने भनेर प्रश्न गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुषालले पनि बारम्बार स्वदेशमै खपत बढाउनुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएकी छिन् । सरकारले नै खपत वृद्धि र विद्युत् व्यापारका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने बेलामा स्वयं प्रधानमन्त्री र मन्त्रीले स्पष्ट योजना ल्याउनुपर्नेमा नल्याई बढाउनुपर्ने मात्र भनिरहेका छन् । यसले खपत वृद्धिका लागि कसले योजना ल्याउने भनेर प्रश्न उठिरहेको छ । केही दिनअघि ऊर्जा मन्त्री भुषालले नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीलाई बोलाएर ग्यासको सट्टा विद्युतीय चुलो उपयोग गर्नेबारे छलफल गरेकी पनि थिइन्, तर अहिलेको उत्पादनको प्रक्षेपणका आधारमा यतिले बिजुली खेर जानबाट जोगिने अवस्था भने छैन तर यसले खपत वृद्धि गर्न भने योगदान दिन्छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का उपाध्यक्ष गणेश कार्की नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, अस्पताल, कलेज, होस्टलहरूमा रहेको ग्यासलाई हटाएर विद्युतीय चुलो पु-याउनका लागि पहल गर्नुपर्ने बताउँछन् । “खपत बढाउनका लागि सबैभन्दा पहिला त विद्युतीय चुलोकै प्रवद्र्धन गर्नुपर्छ । यसका लागि अहिले सबैभन्दा पहिला त जुन ग्यासलाई अनुदान दिइएको छ, त्यो सरकारले तुरुन्तै हटाउनुपर्छ,” उनी भन्छन्, “विद्युतीय चुलो र चार्जिङ स्टेसनबाट तुरुन्तै खपत बढाउन सकिन्छ । काठमाडौंबाहिर जानका लागि चार्जिङ स्टेसनहरू भएनन्, छिटो चार्जिङ स्टेसनहरू ठाउँठाउँमा राखिदिनुपर्छ । यसमा ढिलाइ भइरहेको छ ।” उनको विचारमा विद्युतीय चुलो प्रयोग गरौं भनेर भाषण गरेर मात्र पुग्दैन, सरकारले निश्चित ठाउँहरूमा बलजफ्ती (फोर्सफुल्ली) रूपमा विद्युतीय चुलो प्रयोगलाई बढाउनैपर्छ भने अहिले बिजुलीबाट खाना पकाउँदा सस्तो र किफायती हुन्छ भन्ने ज्ञान जनतामा छैन ।
विद्युत् खपतका लागि अल्पकालीनभन्दा दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने र यसमा महसुलदेखि विद्युतीय उपकरणहरूमा भन्सार छुटसम्मको व्यवस्था हुनुपर्ने राष्ट्रिय सामुदायिक विद्युत् महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवाली बताउँछन्, “अहिलेको महसुल मध्यम वर्गका लागि ठीक छैन । निम्न वर्गलाई २० युनिटसम्म निःशुल्क बिजुली भनिएको छ अनि ठूलालाई पनि प्रतियुनिट १ रुपैयाँ घटाइएको छ तर मध्यम वर्गका लागि महसुल घटाइएको छैन ।”
नेपाल विद्युत् नियमन आयोगले १ देखि २० एउटा स्ल्याब, २० देखि ३० अर्को छ, ३० देखि ५० अर्को छ, ५० देखि सयसम्म अर्को स्ल्याब छ । स्लाब धेरै छन् । निःशुल्कबाहेकको स्ल्याब एउटै हुनुपर्ने र मध्यम वर्गले खाना पकाउने भनेको २१ देखि १ सय युनिटसम्मको खपत बढाउन मध्यम वर्गको महसुल घटाउनुपर्ने उनको तर्क छ । सामुदायिक विद्युतीकरण महासंघले तीन वर्षअघिदेखि नै विद्युतीय चुलो राष्ट्रिय अभियान भनेर सुरु गरेको छ । यही अभियानअन्तर्गत सामुदायिक विद्युतीकरण भएका विभिन्न ग्रामीण क्षेत्रमा वितरण भइरहेको छ । काभ्रे, धादिङ, चितवनलगायतका जिल्लामा वितरण गरिसकेको छ भने नवलपुर, तनहुँ, गोर्खा, दोलखा, रामेछाप र सिन्धुलीमा १० हजार वितरण गर्ने योजना छ । वितरण गर्दै छ । महासंघका अनुसार, हालसम्म २५ सय वितरण गरिसकेका छौं । सरकारले तराईमा गुइँठा विस्थापित गर्नका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत पनि वितरण गरिरहेको छ ।
एउटा अध्ययनले के देखाएको छ भने काठमाडौँमा बिजुलीबाट खाना पकाउँदा ४५ प्रतिशत सस्तो छ भने गाउँमा भने ५० प्रतिशत सस्तो हुन्छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थाको ऊर्जा अध्ययन केन्द्रका ऊर्जा प्रणाली योजना तथा विश्लेषणका संयोजक प्रा.डा. अमृतमान नकर्मीका अनुसार ५ जना परिवारका लागि मासिक रूपमा मटीतेलबाट खाना पकाउनका लागि १९ सय २० र ग्यासबाट १६ सय ५० रुपैयाँ खर्च हुन्छ भने विद्युतीय चुलोबाट १ हजार मात्र लाग्छ । तथ्यांकअनुसार, नेपालमा आवश्यक ऊर्जामध्ये ६६ प्रतिशतले परम्परागत ऊर्जाको उपयोग हुन्छ भने बाँकी ३४ प्रतिशतले आधुनिक ऊर्जाको उपयोग गर्छन् । यसमा पनि २१ प्रतिशत पेट्रोलियम र ७ प्रतिशत कोल छ भने ५ प्रतिशत विद्युत् र १ प्रतिशत नवीकरणीय ऊर्जा छ ।
चरम लोडसेडिङको समस्या भएपछि विद्युत् प्राधिकरणले विद्युत् खपत कम गर्नका लागि किफायती चिमदेखि उपकरणसम्म प्रयोग गर्न अभिप्रेरित गर्ने गरी अभियानै सञ्चालन गरेको थियो । गण्डकको बाँध बिग्रेपछि दैनिक १८ घण्टासम्म र पछिल्लो समयमा दैनिक ७ घण्टासम्म झरेको लोडसेडिङ त अन्त्य भयो, उत्पादन पनि बढ्यो तर अहिले फेरि खपत सबैभन्दा ठूलो चुनौती बनेको छ । पहिला लोडसेडिङ अन्त्य गर्नका लागि ठूलो कसरत गरेको विद्युत् प्राधिकरणले खपत वृद्धिका लागि हालसम्म विशेष कार्यक्रम भने ल्याउन सकेको छैन । ६ वर्षअघि ऊर्जा खपत कम गर्नका लागि सीएफललगायतका खरिदको प्रस्ताव मन्त्रिपरिषद्सम्म पुगेको थियो भने विद्युत् प्राधिकरणले यसको व्यापार गर्ने÷नगर्ने भनेर विवाद भएको थियो । अहिले त प्राधिकरण र ऊर्जा मन्त्रालयले यसबारे पहलसमेत गरेको छैन । अहिले प्रधानमन्त्री र ऊर्जा मन्त्रीले बारम्बार स्वदेशमै खपत वृद्धि गर्नका लागि आवश्यक योजना बनाउनुपर्ने बताइरहेका छन्, तर प्राधिकरणले र मन्त्रालयले यसको ठोस प्रयास अघि बढाउन सकेको छैन । खपत वृद्धिका लागि सबैले चासो दिए पनि काम भने अझै गरेका छैनन् । विद्युत् उपभोक्ता महासंघका अध्यक्ष ज्ञवाली अभियान नै बनाएर खपत वृद्धिको लागि अघि बढाउनुपर्ने बताउँछन् । “विद्युत् खपत वृद्धिका लागि विशेष अभियान नै आवश्यक छ, यसका लागि सबैको सामूहिक प्रयास गर्नुपर्छ,”–उनी भन्छन् ।
हाल वार्षिक रूपमा नेपालीको प्रतिव्यक्ति विद्युत् खपत २ सय ६० युनिट मात्र छ । विक्रम संवद २०८५ भित्र १५ सय युनिट पु¥याउने लक्ष्य राखेको पनि छ तर अवस्था भने दयनीय छ । दक्षिण एसिया र छिमेकी देशभन्दा धेरै कम मात्र प्रतिव्यक्ति विद्युत् खपत छ । इन्टरनेसनल इनर्जी एसोसिएसनका अनुसार भारतको ९ सय ८७ युनिट र चीनको ५ हजार १ सय २५ युनिट प्रतिव्यक्ति विद्युत् खपत छ भने श्रीलंकाको ६ सय ८५, पाकिस्तानको ५ सय ३८ र बंगलादेशको ५ सय २ युनिट छ ।

विद्युत् व्यापारमा समस्या
सरकारले विद्युत् खपतका लागि ठूलै छलाङ मार्ने गरी नीति र योजना नल्याएमा तत्काल स्वदेशी विद्युत् खपत वृद्धि हुने अवस्था नदेखिएकाले बिजुली खेर जाने अर्को विषय भनेको विद्युत् व्यापार हो । विद्युत् व्यापारका लागि सरकारले प्रयास नगरेको होइन । सन् २०१४ मा नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौता (पीटीए) भएको थियो भने विद्युत् आदानप्रदानका लागि पहिलो अन्तरदेशीय ढल्केबर–मुजफपुर प्रसारण लाइन निर्माण पनि भइसकेको छ । सन् २०३५ भित्र ११ वटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गरी २४ हजार ५ सय मेगावाटसम्म बिजुली निर्यात गर्न सकिने गरी विद्युत् प्राधिकरण गुरुयोजना बनाएको छ पनि छ, तर विद्युत् निर्यातको अवस्था सन्तोषजनक छैन ।
गत वर्षा सुरु हुने बेलामै प्राधिकरणले विद्युत् खेर जान नदिनकै लागि भारतसमक्ष प्रस्ताव नगरेको होइन । तर, वर्षा सकेर हिउँद आउने बेलामा बल्ल दुईवटा आयोजनामा मात्र निर्यात अनुमति पाएको छ । १ मे २०२१ बाट नेपालले ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतीय ऊर्जा एक्सचेन्ज मार्केट (आईआईएक्स) बाट ३५० मेगावाटसम्म आयात गर्न अनुमति दिएको भारतले निर्यातका लागि भने भारतीय सहायताका दुई आयोजनालाई मात्र निर्यातको अनुमति दिएको हो । प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहले मात्र निर्यात अनुमति पाएका छन् ।
प्राधिकरणले ४ सय ५६ मेगाावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी, ४५ मेगावाटको भोटेकोसीका साथै त्रिशूली र देवीघाट गरी ६ सय ९ मेगावाटबराबरको बिजुली निर्यातका लागि विद्युत् प्राधिकरणले भारत सरकारसँग अनुमति मागेको थियो । विद्युत् प्राधिकरणले गत जुलाईमा माथिल्लो तामाकोसी, मस्र्याङ्दी र भोटेकोशी तथा गत सेप्टेम्बरमा त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट उत्पादित बिजुली निर्यातका लागि भारतसँग अनुमतिका लागि प्रस्ताव पेस गरेको थियो । ती आयोजनाको अनुमति आउन ढिलाइ भएपछि मात्र त्रिशूली र देवीघाटको अनुमतिका लागि पठाएको थियो ।
पहिलो अन्तरदेशीय प्रसारण लाइनमार्फत निर्यातको अनुमति पाएसँगै यसलाई नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको रूपमा लिइएको छ, तर भारतीय सहायताका आयोजनालाई मात्र निर्यात अनुमतिको व्यवस्था गरिएकाले यसलाई गम्भीरताका साथ हेरिएको छ । भविष्यमा पनि भारतले आफ्नो सहायताका आयोजनाबाट मात्र विद्युत् खरिद गर्ने स्वीकृति दिएमा नेपालले समस्या भने भोग्ने छ । तर इपानका उपाध्यक्ष आशिष गर्ग भने सरकारले जलविद्युत् प्रवद्र्धकहरूले गठन गरेको कम्पनीलाई विद्युत् आदानप्रदानका लागि अनुमतिपत्र दिएमा आफूहरूले भारतमा बजार खोज्ने र विद्युत् व्यापारमा समस्या नहुने बताउँछन्, तर सरकारले कानुन नभएको देखाउँदै अनुमति दिएको छैन । मन्त्रालयले संसद्मा पेस गरेको विद्युत् विधेयकमा विद्युत् व्यापारसम्बन्धी व्यवस्था भए पनि सो हालसम्म पारित हुन सकेको छैन ।
विद्युत् निर्यातका लागि सरकारले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका आवश्यक छ तर नेपालले हालसम्म बनाएको छैन । भारत सरकारले भने सन् २०१६ मै नेपाललगायतका छिमेकी देशहरूका लागि अन्तरदेशीय व्यापार निर्देशिका बनाएको थियो भने सन् २०१८ मा सबै देशहरूको प्रतिक्रिया लिएर पूरा गरेको थियो । भारतले विद्युत् व्यापारका लागि आवश्यक अन्य नियमावली पनि बनाइसकेको छ, तर नेपालले पीटीए गरेको सात वर्ष पुगिसक्दा पनि बनाउन सकेको छैन । विद्युत् नियमन आयोगका सदस्य एवं प्रवक्ता डा. रामप्रसाद धिताल भने आयोगले अन्तरदेशीय निर्देशिका बनाइरहेको र यसलाई छिट्टै टुंगोमा पु¥याउने बताउँछन् ।

सम्भव छ विद्युत् खपत वृद्धि
नेपालमा विद्युत् खपत वृद्धिको सम्भावना भने छ । इपान उपाध्यक्ष आशिष गर्ग सरकारले उचित वातावरण बनाए र नीति ल्याएमा तीन वर्षमा ५ मेगावाट विद्युत् खपत वृद्धि गर्न सक्ने बताउँछन् । उनका अनुसार, विद्युतीय इन्डक्सन चुलोमा भन्सार दर शून्यमा झारेमा र अनुदानको व्यवस्था गरेमा २ हजार मेगावाट, विद्युतीय सवारी साधनमा आयात कर घटाएमा १ हजार मेगावाट तथा उद्योग व्यवसायले माग गरेअनुसार आपूर्तिको व्यवस्था गरेमा थप २ हजार मेगावाट खपत बढाउन सकिन्छ । तर, सरकारको तथ्यांक अनुसार ११ लाख सवारी साधन रहेकोमा विद्युत् सवारी साधन १ प्रतिशत पनि छैन भने विद्युत् प्राधिकरणले ५० चार्जिङ स्टेसन निर्माण सुरु गरे पनि अझै पूरा भएको छैन । तीन वर्षअघिदेखि चार्जिङ स्टेसनदेखि निर्माणको पहल सुरु भएको थियो । विद्युत् प्राधिकरण ग्राहक तथा वितरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल प्राधिकरणले निजी क्षेत्रलाई अभिप्रेरित गर्न मात्र चार्जिङ स्टेसन बनाइरहेको र यसमा निजी क्षेत्रमा आउनुपर्ने बताउँछन् ।

के गर्दै छ सरकार ?
ऊर्जा खपत बढाउनका लागि नीतिगत निकाय ऊर्जा मन्त्रालय हो । विद्युतीय सवारी साधन प्रवद्र्धन, चार्जिङ स्टेसन, विद्युत् चुलोलगायतलाई प्रवद्र्धन गर्नका लागि नीतिगत निर्णयले ठूलो असर पार्छ । विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने मुख्य जिम्मेवारी निकाय मन्त्रालय भएकाले यसको नेतृत्व मन्त्रालयले गर्नुपर्छ र सबै निकायबीच समन्वय गर्नुपर्ने हुन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव एवं प्रवक्ता मधु भेटुवाल ऊर्जामात्र तातेर खपत वृद्धि गराउन नसक्ने बताउँदै यसका लागि उद्योग मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायतले पनि विद्युत् खपत बढाउने कार्ययोजना ल्याउनुपर्ने बताउँछन् । “मागबमोजिम नेपाल विद्युत् प्राधिकरणले पनि भरपर्दो आपूर्ति दिनुपर्छ । माग छ, विद्युत् छ तर प्रणाली छैन र दिन सकिरहेका छैनौं । प्रणाली निर्माणमा अवरोध पनि छ । यो अवरोध हटाउनका लागि सबै मन्त्रालय, राजनीतिक दलहरूलगायतको भूमिका पनि महŒवपूर्ण हुन्छ,” उनी भन्छन्, “प्राधिकरण सक्रिय भएर ग्राहक खोज्न हिँड्नुपर्छ । ग्राहक आइदियोस भन्ने होइन । अर्थमन्त्रालय पनि विद्युत् खपत गर्ने मेसिन, उपकरणहरूमा सहुलियत दिने तथा इन्धन खर्च हुने उपकरण, मेसिनमा बढी चार्ज लगाउने काममा लाग्नुपर्छ ।” उनका अनुसार, विद्युत् खपत वृद्धिका लागि ऊर्जामन्त्री, सचिव, विद्युत् प्राधिकरणका अधिकारीलगायतले पटक–पटक आन्तरिक छलफल भइरहेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पदाधिकारीलगायतसँग बसेर पनि छलफल भई यसका लागि कार्यदल बनाउने हो कि भन्ने भएको छ ।
विद्युत् प्राधिकरणले भने विद्युत् खपत वृद्धिका लागि योजना बनाइरहेको बताएको छ । विद्युत् प्राधिकरण, ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक सिलवाल खपत वृद्धिका लागि प्राधिकरणले योजना बनाइरहेको बताउँछन् । उनका अनुसार प्राधिकरणले अहिले पहिलो त घरायसी, विद्युतीय उपकरणहरू र औद्योगिक क्षेत्रमा खपत वृद्धि कसरी गर्ने भनेर लागिरहेको छ ।
विद्युतीय उपकरणहरूमा सरकारले विभिन्न भन्सार छुटहरू दिइरहेको र हाल अधिकांशले पाँच एम्पियरको लाइन लिइरहेकोमा यसलाई वृद्धि गरी १५ एम्पियर बनाउँदा निःशुल्क रूपमा गर्ने व्यवस्था पनि प्राधिकरणले बनाइरहेको उनी बताउँछन् । प्राधिकरणले ५० ठाउँमा हामीले चार्जिङ स्टेसनको काम सुरु गरिरहेको छ ।
वर्षामा विद्युत् खेर गए पनि हिउँदमा भने अझै नेपाल भारतमै निर्भर हुने अवस्था छ । गत वर्षको हिउँदमा विद्युत् प्राधिकरणले ८ सय मेगावाटसम्म आयात गरेको थियो र चालू वर्षमा बढी ५ सय मेगावाटसम्म मात्र आयात गर्ने प्रक्षेपण प्राधिकरणको छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण भएपछि चालू वर्षमा आयात घट्ने अनुमान प्राधिकरणले गरेको हो । हालसम्म ६० मेगावाटको कुलेखानी पहिलो, ३२ मेगावाटको कुलेखानी दोस्रो र १४ मेगावाटको कुलेखानी तेस्रो गरी १ सय ६ मेगावाट मात्र जलाशययुक्त आयोजना छ । १ सय ४० मेगावाटको जलाशययुक्त तनहुँ हाइड्रो पनि निर्माणाधीन छ । १२ सय मेगावाटको बूढीगण्डकी, ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशययुक्तलगायतका आयोजनाहरूको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) भएर निर्माण अघि बढ्न सकेका छैनन् । जलाशययुक्त ठूला आयोजना नबनेसम्म नेपाल हिउँदमा अझै पनि भारतकै भर पर्नुपर्ने अवस्था छ । तर, ठूला जलाशययुक्त आयोजनाहरू बूढीगण्डकी, पश्चिम सेतीलगायतका आयोजनाहरू अघि बढ्न सकेका छैनन् । कम्तीमा एउटा ठूलो जलाशययुक्त आयोजना निर्माण नभएसम्म नेपालमा बिजुलीमा पूर्ण आत्मनिर्भर बन्न सक्ने अवस्था अझै नभएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार हिउँद र वर्षाबीचको सन्तुलन कायम गर्न जलाशययुक्त आयोजना बन्नुपर्ने भए पनि सरकारले यसलाई उच्च प्राथमिकता दिएर निर्माण सुरु गरेको छैन । एकातिर सरकारले हिउँदमा भारतबाट आउने आयातलाई घटाउने र अर्कातिर वर्षामा खेर जाने बिजुलीलाई खपत गर्ने वातावरण बनाउनुपर्ने तर्क उनीहरूको छ । वर्षामा बिजुली खेर गएपछि चिन्तित बनेको विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय हिउँदमा आउन लागेसँगै विद्युत् खपत वृद्धि योजना हराउन थालेको छ । विज्ञहरू फेरि बिजुली खेर जान सुरु गरेपछि विद्युत् खपत वृद्धिको चिन्ता गर्ने परिपाटी नै खपत वृद्धिका लागि मुख्य बाधक र चुनौती रहेको उनीहरूको तर्क छ ।

जलविद्युत् आयोजनाहरू क्षमता (मेगावाट) आयोजना संख्या

Wednesday, December 8, 2021

दुई हजार मेगावाट खपतका लागि पूर्वाधार बनाउँदै प्राधिकरण

 https://www.karobardaily.com/news/166499

मंसिर २०, २०७८ सोमबार

नेपाल विद्युत प्राधिकरणले प्रदेश–२ को बारा–पर्साका औद्योगिक क्षेत्रमा दुई हजार मेगावाट बिजुली खपत गर्ने गरी पूर्वाधार बनाउने भएको छ । उत्पादित विद्युत मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं. २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाउन लागिएको हो ।
प्राधिकरणका अनुसार बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी प्राधिकरणले व्यापक रुपमा विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको छ । सञ्चालनमा रहेका सबस्टेसन र उद्योगहरुको भ्रमण गरेपछि कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुलाई अहिलेकै पूर्वाधारबाट २ सय मेगावाटसम्म थप विद्युत दिन सकिने बताउँदै थप दुई हजार मेगावाट खपत गर्ने गरी पूर्वाधार निर्माण गर्न लागेको जानकारी दिए । “यस वर्षको बर्खामा मुलुकभित्र उत्पादित विद्युत खपत गर्न नसकी झण्डै आठ सय मेगावाट खेर गयो । यसको मूल्य करिब ५ अर्ब रुपैयाँ हो । यस्तो अवस्था आउनु नेपालसँग विद्युत छ भन्ने अवसर पनि हो । अब वार्षिक रुपमा करिब एक हजार मेगावाट प्रणालीमा थपिँदै छ,” उनले भने, “विद्युत खपत बढाउन तत्काल गर्न सकिने काम, त्यसपछि १ वर्ष, २ वर्ष, ५ वर्ष र १० वर्षभित्रमा आउने मागलाई पूरा गर्ने गरी पूर्वाधार संरचना बनाउन लागेका छौं ।”
प्राधिकरणले मुख्य रुपमा उद्योगहरुलाई मागेजति भरपर्दो र गुणस्तरीय विद्युत दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको छ । प्राधिकरणले तराई क्षेत्रमा विद्युत लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै ४ सय केभी प्रसारण लाइन निर्माणको अवधारणा अगाडि बढाएको छ ।
सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगहरुको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको छ । काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झण्डै दोब्बर हुने भएकोले उद्योगहरुलाई थप विद्युत आपूर्ति दिन सकिने छ । निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सब स्टेसन बनाउन लागिएको छ ।
प्राधिकरणले विद्युत खपत बढाउने अल्पकालीन योजना अन्तर्गत सिमरा, परवानीपुर क्षेत्रमा सञ्चालित उद्योगहरुलाई तत्काल दुई सय मेगावाट विद्युत उपलब्ध गराउन समेत लागेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले शनिबार बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुको अनुगमन भ्रमण र उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया गरी विद्युत मागको हालको अवस्था र भविष्यको अवश्यकताका विषयमा जानकारी समेत लिएका थिए । उनले वीरगञ्ज उद्योग वाणिज्य संघ र जीतपुर नगर उद्योग वाणिज्य संघका पदाधिकारीसँग छुट्टाछुट्टै अन्तरक्रिया पनि गरेका थिए ।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले विद्युत महसुल महँगो भएकोले सस्तो बनाउन, कम भोल्टेज तथा ट्रिपिङलगायतको समस्या समाधान गरी विद्युत आपूर्ति सुधार गर्न, प्रसारण तथा वितरण प्रणालीको विस्तारमा लगानी बढाउन माग गरेृका थिए ।

दुई सय मेगावाट थप बिजुली
बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुलाई तत्काल दुई सय मेगावाटसम्म थप विद्युत दिन सक्ने देखिएको छ । अशोक स्टीललाई थप २०.५ मेगावाटको लोड स्वीकृत भएको छ । उद्योगले हाल १६ एमभीए क्षमताको ट्रान्सफर्मर राखेकोले सोही क्षमता अनुसार विद्युत दिन सकिने छ । ट्रान्सफर्मर थप गरेपछि उद्योगले मागेजति विद्युत दिन सकिने छ ।
जगदम्बा स्टीलले ३० मेगावाट थप माग गरेको छ । उद्योगलाई दुई महिनाभित्रमा विद्युत आपूर्ति दिन सकिने छ । जगदम्बा इन्टरप्राइजेजको ३० मेगावाटका लागि कनेक्सन सम्झौता गर्न लागिएको छ । सम्झौता भएपछि उद्योगलाई विद्युत उपलब्ध गराइने छ ।
हिमाल आइरनलाई १३२ केभी लाइनबाट विद्युत आपूर्ति लिने गरी ३० मेगावाट लोड स्वीकृत भइसकेको प्राधिकरणले जनाएको छ । उद्योगले आफ्नोतर्फ लाइन बनाएपछि परवानीपुर सबस्टेसनबाट तत्काल विद्युत दिन सकिने छ । नारायणी इस्पातलाई २०.५ मेगावाट विद्युत आपूर्तिका लागि ग्रिड प्रभाव अध्ययन (जिआइएस) भइरहेको छ । बाराको सियरामा निर्माण हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज)लाई तत्काल विद्युत दिन सकिने छ । सेजमा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी लाइन विस्तार तथा सबस्टेसन निर्माण गर्न लागिएको छ ।

स्वस्थ प्रतिस्पर्धासहितको निर्माण व्यवसाय

https://www.karobardaily.com/news/166869

 प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार

आज बुधबार निर्माण दिवस हो । नेपाल निर्माण व्यवसायी महासंघलगायतका संघसंस्थाले विभिन्न कार्यक्रमसहित यो दिवस मनाउँदै छ । कोभिडको प्रभाव पूर्ण रूपमा अन्त्य नभइसकेकाले प्रभातफेरी, रक्तदानलगायतका कार्यक्रमसहित महासंघले दिवस मनाउन लागेको छ । नेपालमा झन्डै १७ हजारभन्दा बढी निर्माण व्यवसायी आबद्ध छन् भने सरकारी, विकास साझेदार र निजी क्षेत्रका गरी यी निर्माण व्यवसायीहरूले वार्षिक रूपमा ८ खर्ब रुपैयाँभन्दा बढीको काम गर्दै आएका छन् । सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्ने घोषणा गरिसकेको छ । अधिकांश विकास आयोजनाहरूको काम निर्माणमा ढिलाइ भएको भन्दै निर्माण व्यवसायीहरूलाई समेत आलोचना भइरहेकोमा निर्माण व्यवसायीहरू भने यही नियमावलीको प्रावधानको कारणले समयमै र गुणस्तरीय काम गर्नका लागि समस्या परेको बताउँछन् । निर्माण व्यवसायको क्षेत्रमा स्वच्छ प्रतिस्पर्धाको वातावरण गर्नुपर्ने, अति न्यूनमा ठेक्का लिने परिपाटी अन्त्य गर्नुपर्ने, एउटा निर्माण कम्पनीले तीनवटाभन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था गर्नुपर्ने, स्थानीय तहबाट वितरण भइरहेको निर्माण व्यवसायीको इजाजतपत्रलाई राजनीतिक पहुँचभन्दा पनि व्यवस्थित गर्नुपर्नेलगायतका माग उनीहरूको छ । अहिले निर्माण व्यवसायीको अवस्था, चुनौतीहरू र समस्या तथा समाधानका लागि सरकारले गर्नुपर्ने पहलबारे निर्माण व्यवसायीसँग कारोबारले गरेको कुराकानीका सार :

निर्माण क्षेत्रमा नगद प्रवाहको कमीले काम गर्न समस्या छ
रवि सिंह
अध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ

विभिन्न सरकारी, दातृ निकाय र निजी क्षेत्रबाट गरेर अहिले निर्माण व्यवसायीहरूले वार्षिक ८ खर्बबराबरको निर्माणको काम हुन्छ । चैत मसान्तसम्मका लागि करिब ४ हजार परियोजनाको निर्माणको कामको म्याद थप भएको छ । चैतभित्रमा यसको ७५ प्रतिशत काम सम्पन्न हुने आशा गरेका छौं । कतिपय कामहरू यो चैत मसान्तभित्र सकिँदैन । सम्पन्न नहुने आयोजनाहरूको हकमा प्राविधिक पुस्ट्याइँको आधारमा म्याद थप गर्नु आवश्यक छ । कतिपय ठूला पुलका काममा एक सिजनमा एकातिर नदी थुनेर अर्कोतिर गर्नुपर्ने हुन्छ । यस्ता जटिल कामहरू थपिएकाले समयभित्र गर्न गाह्रो हुन्छ । ६ महिनाको कार्य प्रगतिका आधारमा समय थप गर्नुपर्छ भन्ने हाम्रो माग छ । पहिलो कोभिडका लागि ६ महिना र दोस्रो कोभिडका लागि थप ६ महिना समय दिएको छ । अहिले निर्माण भइरहेका आयोजनाहरूको दोस्रो म्याद थपबारे भाषागत रूपमा स्पष्ट नलेखिएको सम्बन्धित कार्यालयहरूको भनाइ छ । यदि कुनै कार्यालयले म्याद थप गरेको छैन भने सरकारले यसलाई स्पष्ट निर्देशन दिनु आवश्यक छ । तर, सरकारले निर्माणका लागि अवधि थप गरेर राम्रो काम गरेको छ । यसले कम्पनीलाई काम गर्ने अवसर जुरेको छ । फेरि कोभिडको नयाँ भेरियन्ट आएको जुन कुरा छ, यसको असर पर्न नदिन सरकारले पूर्ण रूपमा तयारी गर्नुपर्छ । अहिले खोप लगाउने कुरा सरकारले अघि बढाएको छ, त्यो स्वागतयोग्य छ ।
पछिल्लो समयमा निर्माण क्षेत्रमा नगद प्रवाहको समस्या छ । यसको कारण काममा चलायमान गराउने पैसा छैन । अहिले सरकारले सार्वजनिक खरिद नियमावलीको संशोधन गर्न लागेको छ । सकारात्मक रूपले सरकारले यसमा परिवर्तन गरेर निर्माणको काम अघि बढाउने सक्ने वातावरण बनाइदिनुपर्छ । खरिद नियमावलीमा भएको समस्याकै कारण सरकार आलोचित भएको छ । निर्माण कम्पनीले पनि काम गर्न नसकेको अवस्था छ । खरिद नियमावली संशोधन गर्दा एउटा कम्पनीले एकपटकमा तीनवटाभन्दा बढी काम लिन नपाउने व्यवस्था गरिदिनुप¥यो भनेर हामीले भनिरहेका छौं । त्यो भइदियो भने अहिले भइरहेको जुन बेथिति छ, त्यसको सम्बोधन हुन्छ । ५ प्रतिशत धरौटी रकम सरकारले बजेटमै व्यवस्था गरेर दिने भन्ने व्यवस्था गरेको छ, त्यसको कार्यान्वयन भयो, अझ शतप्रतिशत दिने व्यवस्था गरियो भने अहिलेको तरलता समस्या समाधानमा केही सहयोग पुग्छ । यसले निर्माण कार्य पनि अघि बढ्छ । पछिल्लो समयमा विभिन्न वस्तुहरूको मूल्य उच्च भएको छ । डन्डीको मूल्य मात्र ७९ रुपैयाँबाट १ सय ६ पुगेको छ । सरकारले छुट दिएपछि झन् मूल्य कम हुन्छ भन्ने आकलन थियो, तर कार्टेलिङ भएर यस्तो भएको थियो । अहिले भने ८१ रुपैयाँमै आएको छ । हाम्रो चलन के छ भने लगानीका आधारमा मूल्य निर्धारण नगरी कार्टेलिङका आधारमा गर्ने गरिएको छ । अभाव देखाएर गर्ने गरिएको छ । यसमा सरकारले अंकुश लगाउने गरी अघि बढ्नुपर्छ । यसमा स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्छ ।

पाँच करोडसम्मका काम स्थानीय तहका निर्माण व्यवसायीलाई दिनुपर्छ
निकोलस पाण्डे
वरिष्ठ उपाध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ

निर्माण क्षेत्रको स्थिति पहिलाभन्दा राम्रो छैन । अस्वस्थ प्रतिस्पर्धा छ, जसका कारणले गुणस्तरको काम हुन सक्दैन । नेपालमा जति पनि पूर्वाधारहरू बनेका छन् र बनिरहेका छन्, ती त्यति गुणस्तरीय बन्न सकेका छैनन् । यसको प्रमुख कारण यही अस्वस्थ प्रतिस्पर्धा नै हो । यी समस्या समाधान भएमा अन्य त समाधान हुने खालका छन् । बल्ल–बल्ल संयुक्त राष्ट्रसंघले नेपाललाई स्तरोन्नति गर्ने मुलुक बनाउन स्वीकृति दिएको छ । यसको कारण नेपालमा अब गुणस्तरीय पूर्वाधारहरूको विकास गर्नुपर्नेछ । यसकारण हामीले खरिद नियमावलीमै स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरण बनाउनुपर्छ । यसो गर्न सकेमा देशले पनि प्रगति गर्छ, निर्माण क्षेत्रले पनि प्रगति गर्छ र समग्र राष्ट्रको पनि प्रगति हुन्छ ।
हामी निर्माण व्यवसायीहरूको संख्या १७ हजारभन्दा धेरै छ । देश संघीयतामा गइसकेपछि स्थानीय तहले पनि निर्माण इजाजतपत्र बाँडिरहेको छ । पूर्वमा गएर पश्चिमको मान्छेले टेन्डर हालेर प्रमुख जिल्ला अधिकारी, स्थानीय अधिकारीले खोज्दा निर्माण व्यवसायी नभेटिरहेको अवस्था छ । सानो–सानो ५ करोडसम्मका कामहरू त्यही स्थानीय तहमा रहेका निर्माण व्यवसायीलाई दिनुपर्छ, दियो भने प्रतिस्पर्धा पनि कम हुन्छ । उसले धेरै कममा हाल्दैन । उसले गुणस्तरीय काम पनि गर्छ । समयमै काम पनि गर्छ । समयमै गरेन भने समाजमा आफ्नै साथीभाइबीच अपहेलित हुन्छ र यही कारण काम गर्न प्रोत्साहन पनि मिल्छ । काम गर्छ ।
निर्माण व्यवसायीहरूको वर्गीकरण हुन्छ, कतै कामअनुसार हुन्छ, कतै अनुभव र प्रमाणपत्रका आधारमा वर्गीकरण हुन्छ । कुनै ठाउँमा कारोबारको आधारमा हुन्छ । यसको कारण वर्गीकरण भयो भने ठूला कम्पनी साना काममा लाग्दैनन् । यस्तो हुँदा व्यावसायिक निर्माण व्यवसायीले यस्तो काम गर्छन् । राम्रो प्रतिस्पर्धात्मक ढंगले काम हुन्छ भन्ने हाम्रो ठम्याइ हो । काम, अनुभव, प्रमाणपत्र र कारोबारका आधारमा क, ख, ग, घ वर्गमा वर्गीकरण गरेपछि अस्वस्थ प्रतिस्पर्धामा नियन्त्रण आउँछ ।
सरकारले बिडिङ क्यापासिटीको अवधारणा लागू गरेको छ । क्षमताअनुसारको मात्र काम हाल्न पाउने व्यवस्था गरिएको छ । यो व्यवस्था कार्यान्वयन गर्न अनुगमन गर्ने संस्था नभएको कारणले समस्या भएको छ । यो संस्था छिटोभन्दा छिटो खडा गरिदिनुपर्छ । ताकि आफ्नो क्षमताअनुसार मात्र काम गरून् । यसो गर्दा क्षमताभन्दा बढी काम लिन मिल्दैन । जस्तै ‘क’ वर्गको एउटा निर्माण व्यवसायीले २० करोडभन्दा तलको काम कहिल्यै गर्दैन । उसले ५ करोडको काममा पनि अरूलाई आफ्नो फर्म दिएर टेन्डर हाल्छ । यसले समयमै काम गर्नका लागि पनि सहयोग पुग्छ । अस्वस्थ प्रतिस्पर्धाले धेरै कममा बिड गर्दा समयमै काम गर्नदेखि धेरै समस्या परिरहेका छन् ।

अत्यधिक बढेको बिमा शुल्क नघटे आन्दोलनमा जान बाध्य हुन्छौं
रोशन दाहाल
महासचिव, नेपाल निर्माण व्यवसायी महासंघ

हामीले बारम्बार उठाउँदै आएको सार्वजनिक खरिद नियमावलीमा केही संशोधन भएको अवस्था छ । अझै पनि कम बिडिङ गर्ने समस्या छ । यसको समाधान गर्नुपर्नेछ । एउटै व्यवसायीले धेरै काम ओगट्ने प्रवृत्ति छ । यसलाई रोक्नुपर्नेछ । समयमै काम नहुनुको कारण खोतल्नुपर्नेछ । समयमै सम्पन्न गर्ने गरी अघि बढ्नुपर्नेछ । गुणस्तरीय काम कसरी गर्न सकिन्छ भनेर लाग्नुपर्ने अवस्था छ । नीतिगत कुरामा यी कुराहरूलाई सम्बोधन गर्नका लागि राज्यले सार्वजनिक खरिद ऐन र नियमावलीमा रहेका विभिन्न अप्ठेराहरूलाई समाधान गरिदिनुपर्छ भनेर महासंघले निरन्तर रूपमा आवाज उठाइरहेको छ । निरन्तर सरकारसँग संवादमा छ । महासंघले समयसापेक्ष रूपमा विभिन्न सुझावहरू पनि दिइरहेको छ । ऐन, नियम सुधार्नका लागि बुँदागत रूपमा पनि दिएको छ । निर्माण व्यवसायीका साना र ठूलाका समस्याहरू छन् । पहिलो त धेरै काम नपाउनु र पाए पनि धेरै घटीमा गर्नुपर्ने बाध्यता छ । यसपछि समयमै काम सम्पन्न नहुने समस्या छ । सार्वजनिक नियमावली संशोधन भएर हामीले उठाउँदै आएका मागहरू सम्बोधन भएमा यसले गुणस्तरीय काम गर्नमा सघाउ पुग्छ ।
केही समयअघि निर्माणका कामका लागि राज्यले म्याद थप गरिदिएको छ । कोभिडको कारणले थप गरिदिनुप-यो भनेर हामीले माग गरेका थियांै । गएको भदौमा नेपाल सरकारले निर्णय गरेर चैत मसान्तसम्मका लागि म्याद थप गरिदिएको छ । यसको कारणले धेरै निर्माण व्यवसायीको म्याद थप भएर काम अघि बढेको छ । म्याद थप त भयो तर भुक्तानीको समस्या अहिले चरम रूपमा आएको छ । समयमै भुक्तानी नपाउँदा साइडमा गएर खट्न सकेका छैनन् । सरकारले चाँडोभन्दा चाँडो भुक्तानीको व्यवस्था गरिदेओस् । समयमै काम सम्पन्न गर्न हामी तयार छौं ।
अर्को भनेको हरेक निर्माण कार्यमा बिमा गर्नुपर्ने हुन्छ । अहिले नयाँ व्यवस्था ल्याइएको छ । उदाहरणको रूपमा भन्नुपर्दा विगतमा १ सय रुपैयाँमा हुने बिमा ५ सय रुपैयाँ पु¥याइएको छ । यसमा पनि राज्यले हेरिदिनुपर्ने हुन्छ । सरकारले दिएको ठेक्का त बिमा गरिएको हुन्छ, त्यहाँ समस्या छैन तर निर्माण कम्पनीले हेभी उपकरणका साथै कर्मचारी र श्रमिकहरूको बिमा गर्नुपर्ने हुन्छ । बढेको कारण धेरै तिर्नुपर्ने अवस्था छ । यसले समस्या सिर्जना गरेको छ । राज्यले यस्तो समस्याको समाधान गरिदिनुपर्छ । बिमा समितिलगायत सबै बिमा गर्ने कम्पनीहरू मिलेर अहिले कार्टेलिङ गरिएको छ । निर्माण क्षेत्रको बिमा पुरानै दरमा फर्काउनुपर्छ र काम गर्ने वातावरण निर्माण गर्नुपर्छ । अत्यधिक बढेको बिमा शुल्क नघटेमा निर्माण व्यवसायी महासंघ आन्दोलनमा जान बाध्य हुन्छ । हामी आन्दोलनको तयारीमा छौं ।
अर्को समस्या भनेको अहिले स्थानीय निकायले इजाजतपत्र बाँडिरहेको छ, यसले जिल्ला–जिल्लामा भयावहको अवस्था सिर्जना गरिदिएको छ । प्राविधिक ज्ञान, सीप नभएको तथा यन्त्र–उपकरण नभएका व्यक्तिहरूलाई राजनीतिक पहुँचको आधारमा इजाजतपत्र वितरण गरिदिनुका कारण समस्या आएको छ । यसले गुणस्तरीयतामा समस्या आएको छ । यसमा राज्यले विशेष ध्यान दिनु आवश्यक छ ।

Thursday, December 2, 2021

रसुवागढी र साञ्जेन छिटो बनाउन ताकेता

https://www.karobardaily.com/news/165823

 मंसिर १४, २०७८ मंगलबार

तीन वर्षअघि नै सम्पन्न गर्नुपर्ने १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजना छिटो निर्माण सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरणले ताकेता गरेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीले पनि सहायक कम्पनी बनाएर निर्माण सुरु भएका तीन वटै आयोजनाको छिटो काम गर्न प्राधिकरणले ताकेता गरेको हो ।
१ माघ २०७५ मा सम्पन्न गर्ने गरी रसुवागढीले विद्युत प्राधिकरणसँग २८ कात्तिक २०६८ मा विद्युत खरिद सम्झौता (पीपीए) गरेको थियो । त्यसैगरी १ माघ २०७५ मा सम्पन्न हुने गरी ४२.५ मेगावाटको साञ्जेन १९ मंसिर २०६८ तथा १४.८ मेगावाटको अपर साञ्जेन पनि २३ असोज २०६८ मा पीपीए गरेको थियो । तर तीनवटै आयोजना सम्पन्न भएका छैनन् । चालु वर्षभित्रै तीनवटै आयोजनाहरु सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत समावेश गरिएका यी आयोजनाहरुमा सर्वसाधारणको पनि लगानी छ । भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बाढीपहिरो, कोभिड–१९को महामारी लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको आयोजनाहरुले जनाएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमनमार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरु, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिट्टो सम्पन्न गर्न निर्देशन दिएका छन् । “मुख्य सिभिल संरचनाहरुको निर्माण सम्पन्न भइसकेका छन्, सर्वसाधारणको पनि लगानी रहेको आयोजनाहरुको निर्माण यथासक्य छिट्टो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ,” घिसिङले भने, “बाँकी रहेका कामहरु समानान्तर रुपमा अगाडि बढाएर ७-८ महिनाभित्रमा सम्पन्न गर्नुपर्छ ।”
माथिल्लो साञ्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।
माथिल्लो साञ्जेनको क्यासकेडको रुपमा रहेको साञ्जेनको सुरुङ, सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ । विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । साञ्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।
दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरुको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरु चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिकहरु मंगलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकहरुले उपकरणहरु जडान सुरु गर्ने छन् । प्रसारण लाइनको टावरहरु निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकीे छ ।
रसुवागढी जलविद्युत आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो । इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।
तीन वटै आयोजनाहरुको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ । चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिशूली थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाहरको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।

ऊर्जा मन्त्रीद्वारा तनहुँ जलविद्युत समयमै बनाउन निर्देशन

https://www.karobardaily.com/news/165892 

मंसिर १४, २०७८ मंगलबार

ऊर्जा जलस्रोत तथा सिंँचाइमन्त्री पम्फा भुसालले निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएकी छन् ।
नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गर्न सोमबार आयोजनास्थल पुगेकी मन्त्री भुसालले यस्तो निर्देशन दिएकी हुन् । १५ असार २०७५ सालमा विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) हुँदा ३० चैत २०८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा फेरि असार २०८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर फेरि आयोजनाको व्यापारिक उत्पादन सरेर असार २०८३ मा पुगेको छ ।
मन्त्री भुसालले सरकारी तहबाट निर्माण भइरहेको जलाशययुक्त आयोजनाको काममा विलम्ब नगरी तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताइन । “कुलेखानीबाहेक सञ्चालमा रहेका सबै आयोजना नदीको बहाबमा आधारित भएकाले हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत आयात गर्नुपर्ने र बर्खामा खपत गर्न नसकी खेर फाल्नु पर्ने अवस्था छ,” भुसालले भनिन्, “यस्तो अवस्था अन्त्यका लागि रणनीतिक महत्वको जलाशययुक्त तनहुँ आयोजनाको निर्माण स्रोत, साधन, स्थानीय समस्यालगायतका कारणले ढिलाइ हुनु हुँदैन, तोकिएकै समय र लागतका सम्पन्न गर्नुपर्छ ।”
उनले आयोजनाको जलाशय बनेपछि यस क्षेत्रलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिने र त्यसबाटे स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने बताइन् । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति, बेहोरिएको समस्यालगायतका विषयमा जानकारी गराएका थिए ।
आयोजनाको पहिलो प्याकेजका निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जेभी० सँगकोे ठेक्का सम्झौता १४ भदौ २०७८ बाट कार्यान्वयनमा आएको छ । सोङ्ग दा–कालिका जेभीले आफ्नो कार्यालय, श्रमिक आवास सुविधा, मोबाइल क्रसर प्लान्ट स्थापना गरी नदी फर्काउने कार्य सुरु गरेको छ ।
आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ, मुख्य पहुँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युतगृह खनिरहेको छ । सर्जट्यांंकतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न गरेको छ ।
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणकार्य भइरहेको छ । अहिलेसम्म ३० वटा टावरको जग हाल्ने कार्य सम्पन्न भई आठवटा टावर ठडाइएको छ ।