Wednesday, December 15, 2021

बंगलादेश निजी क्षेत्रसँग सिधै बिजुली किन्न तयारः ऊर्जा राज्यमन्त्री

https://www.karobardaily.com/news/167735

 मंसिर २९, २०७८ बुधबार

गलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालका निजी क्षेत्रबाट सिधै बिजुली किन्न तयार रहेको बताएका छन् ।
बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्नसमेत बंगलादेश तयार रहेको बताएका हुन् । आगामी वर्षादेखि नै हाल खेर गइरहेको बिजुली खरिद गर्न पनि तयार रहेको उनको उनको भनाइ थियो ।
नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा पाँच सय मेगावाट विद्युत खेर गएको थियो तर नेपालले सिधै बंगलादेशसँग विद्युत व्यापार गर्न सक्ने अवस्था छैन । नेपाल र बंगलादेशको सिमाना नजोडिएको तथा भारत हुँदै लैजानुपर्ने कारण यस्तो भएको हो ।
सन् २०४० भित्र बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिजुली नेपालबाट वंगलादेश लैजाने योजना बनाएको छ भने भारतीय कम्पनी जीएमआरले निर्माण गरिरहेको ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजनाको बिजुली बंगलादेश बेच्नका लागि पीपीएको अन्तिम तयारीमा जीएमआर छ । यसका लागि बंगलादेशले आशयपत्र भने जारी गरिसकेको छ ।
परिसंघको टोलीसँगको भेटमा राज्यमन्त्री हमिदले बंगलादेश नेपालको बिजुली खरिद गर्नका लागि नेपालबाट विद्युत आयातका लागि प्रसारण लाइनको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्नुपर्ने बताउँदै यसका लागि बंगलादेश तयार रहेको बताए ।
जनवरी २०२२ बाट यस विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्चभित्रमा काम सम्पन्न गर्ने प्रतिबद्धता पनि उनको थियो । “मार्चमा म नेपाल भ्रमण गरेर यो विषय टुंगो लगाउनेछु,” उनले भने ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले निजी क्षेत्रले अनुमति लिएका १६ हजार मेगावाट बराबरका आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बेच्न सक्ने भन्दै बंगलादेश ऊर्जा विकास बोर्डलाई जानकारी पनि गराएका छन् । मन्त्री हमिदले नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग सिधै पीपीए गराउनका लागि पनि पहल गर्ने बताए ।
भारतले अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत व्यापारको ढोका खुलेको उनको भनाइ छ । “यो कार्यविधिले अन्तरदेशीय विद्युत व्यापारमा नियमन र कानुनी संयन्त्रसम्बन्धी द्विविधाको अन्त्य गरेको छ ।
नेपालको बिजुलीको सम्भाव्य बजार भारत भए पनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत व्यापारमा आशावादी भएको छ,” उनले भने । उनका अनुसार, बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ र अबको चार वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने योजना बंगलादेशको छ ।
भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युतमा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न आग्रह गरेका थिए । नेपालका निजी क्षेत्रसँग सिधै पीपीए गरेर विद्युत खरिद गर्न पनि राज्यमन्त्रीसँग अनुरोध गरेका थिए ।
परिसंघको पूर्वाधार समितिका सभापति एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका उपाध्यक्ष आशीष गर्गले नेपालमा विद्युत उत्पादन र विद्युत खपतको अवस्थाबारे प्रस्तुतीकरण दिएका थिए ।
ढाकामा भएको भेटमा परिसंघका अध्यक्ष अग्रवालसहित पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे एवं राष्ट्रिय परिषद् सदस्यहरू लक्ष्मीप्रसाद सुवेदी, भीमप्रसाद घिमिरे, द्विराज शर्मा र चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, नेपाली राजदूतावास ढाकाका कार्यबाहक राजदूत कुमार राई, परिसंघका महानिर्देशक यादवप्रसाद पौडेल र निर्देशक सविन मिश्रसहितको टोली सहभागी थियो ।


No comments: