Tuesday, August 21, 2012

काभ्रेमा पत्रकारिताका ती दिन र इन्द्रावती

२०५४ सालमा आत्मा विकास माविबाट एसएलसी पास गरेर काठमाडौंमा आउँदा मसँग मुख्य दुई ठूला चुनौती थिए–एउटा परिवारको आर्थिक अवस्था दयनीय भएकोले सहयोग गर्नु र अर्को उच्च शिक्षा जसरीनि अध्ययन गर्नु । दिनभरि काम गरेर राती उच्च शिक्षा लिनकै लागि म आरआर कलेजतिर लम्के । एक त आरआर हामीजस्ता विद्यार्थीका लागि एकदम सस्तो थियो भने अर्को राती पनि पढ्न पाइन्थ्यो । पहिलो दिन एक साथीसँग चिनजान भएपछि उनले भने– म त पत्रकारिता पढ्न लागेको, तपाईनि । मलाई पत्रकारिताबारे थाहा थिएन । मैले सोधेपछि उनले भने–‘रेडियोमा बोल्ने, पत्रपत्रिकामा लेख्ने र टेलिभिजनमा समाचार भन्नका लागि पत्रकारिता पढ्नुपर्छ ।’ रेडियो सुन्दा र टेलिभिजन हेर्दा कसरी बोल्ने होला भनेर मनभित्र खुब खुल्दुल्ली थियो । ढुंखर्कको गोर्खाली गाउँको घरमा रेडियो सुन्दा पटक पटक यसरी बोल्न पाए त भनेर कल्पना गर्थे । भोलिपल्ट पत्रकारिता पढ्ने निष्कर्षमा पुगे । गरिबीकै कारणले त्यती बेला भोगेका दुःख, संघर्ष र पीडा सम्झँदा अहिले पनि रुन मन लाग्छ । प्रत्येक राती साढे नौ बजे आरआर कलेजबाट सिंहदरबार, बबरमहल, बाग्मतीको किराना हुँदै हिडेर शंखमुल पुग्नुपरेका, खानकै लागि सामान्य काम गर्नुपरेका धेरै दर्दनाक कथाहरु अहिले पनि मनभित्र खेलिरहन्छन् । तर धेरै अग्रजहरुले दुःख गरेपछि सुख पाइन्छ भन्थे, त्यही कुरालाई सम्झेर धेरै दुःख गरे । पत्रकारिता पढ्ने साथीहरुकै संगतमा काठमाडौंमा बस्दा जागिर खाँदै गतिविधि साप्ताहिक, सगरमाथा साप्ताहिक, हिम शिखर मासिक, बेला बेलामा कान्तिपुर साप्ताहिक, कोपिला लगायत थुप्रै पत्रपत्रिकामा समाचार पठाएँ र पत्रकारितालाई सिक्दै, निखार्दै लगे । २०५५ साल देखिनै काभ्रेबाट प्रकाशित काभ्रेपोष्ट साप्ताहिकमा लेख र समाचार लेख्न थालिसकेको थिएँ । २०५७ सालको अन्त्यतिर काभ्रेमा रेडियो नेपालको संवाददाता खाली भन्ने थाहा पाएपछि सिंहदरबार पुगे र रेडियोमा कसरी बोल्छन होला भनेर कल्पना गर्ने मेरा लागि रेडियामै बोल्ने अवसर मिल्यो । त्यसपछि रेडियो नेपालको काभ्रे संवाददाता भएर काभ्रे फर्किएँ । पहिला काभ्रेपोष्टमा सामान्य समाचार र लेख लेख्ने भएपनि त्यसपछि भने काभ्रेको पत्रकारिताका लागि मेरो निरन्तर यात्रा अगाडी बढ्यो ।
    रेडियो नेपालको संवाददाता भएर आफू बाँच्नु र परिवारलाई बचाउनु कम्ती चुनौती थिएन तर जसरी पनि बिहान बेलुकाको छाक रेडियोमै काम गरेर टार्नु मेरो लागि वाध्यता थियो । भएभरको शक्ति मैले समाचार संकलनमै खर्च गर्न थाले । पत्रकारिता पढेको मेरो लागि समाचार लेख्न समस्या थिएन । महिनाको २० हजारसम्म रेडियो नेपालबाट हात पारे तर अहिले पछिल्लो समयमा महिनाको दुई हजारभन्दा कम लिएको अनुभव पनि मसँग छ । रेडियो नेपालले मलाई काभ्रेका गाउँगाउँमा पत्रकारको रुपमा चिनाईदियो । डाँडापारीदेखि कोशीपारीका धेरै गाउँसम्म पुग्दा भीम गौतम भन्ने वित्तिक्कै धेरैले मलाई चिनेको र माया गरेको अनुभव अझै ताजा छन् । बढी सक्रिय भएकाले नै हुनुपर्छ, मलाई २०५९ सालतिर काभ्रेबाट पहिलो दैनिकको रुपमा पुर्वीय दर्पण प्रकाशित गर्दा काम गर्ने अवसर दिइयो र मैले खुशी भएर काम सुरु गरे । त्यसपछि मैले रासस काभ्रेको संवाददाता र नेपाल वान टेलिभिजनको संवाददाताको रुपमा पनि काम गरे । २०६१ सालमा शाही घोषणापछि पूर्वीय दर्पण दैनिक र नेपाल वान बन्द भयो भने रासस पहिल्यै  विविध कारणले छोडिसकेको थिए भने रेडियो नेपालबाट हात धुनुपर्ने अवस्था आयो । आर्थिक कठिनाईकै कारणले तीन÷चार मिडियामा काम गरेको मेरो लागि सबैबाट जागिर गएपछि बाँच्ने चुनौती फेरि फर्केर आयो । त्यसपछि ‘स्वतन्त्र समाचार सेवा’मा समाचार पठाउने थाले । त्यतिबेला मैले मध्यमार्ग साप्ताहिक, चेष्टा साप्ताहिक, हटलाइन साप्ताहिक, नवसंकेत साप्ताहिक लगायतमा पनि केही समय लोकतन्त्रको पक्षमा समाचार र लेखहरु लेखेको थिएँ । केही समयपछि इमेज च्यानल काभ्रेको संवादाता भएँ । पहिला सञ्जीवनी साप्ताहिक र पछि दैनिकमा पनि करिब दुई बर्ष काम गरे । सञ्जीवनी छोडेको लगत्तै राजधानी दैनिकमा काम सुरु गरे । जनआन्दोलन २०६२÷०६३ को सफलतापछि फेरि रेडियो नेपालमा पुर्नस्थापना भयो । त्यसपछि म आफै सम्पादक रहेको इन्द्रावती साप्ताहिक प्रकाशन सुरु गरियो । झण्डै साढे दुई बर्ष इन्द्रावतीमा सक्रिय भएपछि अघिल्लो बर्षको बैशाखदेखि पुनः सुनकोशी साप्ताहिकको सम्पादकको रुपमा काम गरे । करिब ६ महिनादेखि इमेज च्यानल, रेडियो नेपाल र राजधानी दैनिकको संवाददाता छोडेर अहिले काठमाडौमा ‘हाइड्रो’ विट लिएर सौर्य दैनिकमा पत्रकारिता गरिरहेको छु । पहिला काठमाडौमा त्यसपछि १० बर्षभन्दा बढी काभ्रेमा र पुनः काठमाडौमा पत्रकारिता गर्दाका धेरै नयाँ तीतामीठा अनुभव मैले संगालेको छु । एउटा मनले भन्छ–काठमाडौमै बसेर पत्रकारिता गरिरहेको भएँ जिन्दगीमा धेरै प्रगति  गर्ने रहेछु, अर्को मनले भन्छ–काभ्रेमा पत्रकारिता गरेर धेरै अनुभव र कुरा सिके, काभ्रेको विकासमा सहयोग पुर्याउने प्रयास गरे । काभं्रेमै बसेर पत्रकारिता गर्दा वा काठमाडौंमा बसेर पत्रकारिता गरेको भए–मेरो व्यक्तिगत जीवनमा कस्तो फरक आउँथ्यो, त्यो मेरो मनभित्र बहश चलिरहेको छ । आर्थिक रुपमा भने काठमाडौबाट काभ्रे पत्रकारिताका लागि जाँदा वा काभ्रेबाट पत्रकारिताकै लागि पुनः काठमाडौंमा फर्कदा म उही नांगो छु अर्थात आर्थिक रुपमा उही बाँच्नका लागि ठूलो र्सघर्ष गर्नुपर्ने अवस्थामा छु तर काभ्रेको पत्रकारिता गर्दा धेरै उत्तरचढाव, दुःखसुख, मेरा लागि जिन्दगीको पाठ बनेको छ । जसले मेरो जिन्दगीमा कहिल्यै नविर्सने छाप छोडेको छ ।
    बढी सक्रिय भएर होस् वा ढंग नपुगेर होस वा पत्रकारिताका अग्रजहरुले खोजेको सम्मान दिन नसकेर होस् वा साच्चीकै पत्रकारिता गरेर बाँच्नेका लागि बोल्नुपर्छ भनेर श्रमजीवी पत्रकारहरुको नेतृत्वका लागि इच्छा देखाउँदा होस्, कुनै न कुनै रुपमा काभ्रेली पत्रकारितामा मैले आफूलाई आलोचना र चर्चाको पात्रको रुपमा उभ्याए जस्तो लाग्छ । विभिन्न कोण र अवस्थाको कारणले काभ्रेली पत्रकारिता गर्दाका ती दिनमा सबैभन्दा बढी आलोचित हुनुपरेका थुप्रै उदाहरणहरु म सँग छन् भने सबै पार्टी, समुदाय, क्षेत्र लगायतले सबैभन्दा माया पाएका अनुभवहरु पनि छन् । समाचार संकलनका लागि काभ्रेका सबै ८७ गाविस र तीन नगरपालिकामा पुगेर धेरै नयाँ समाचारहरु खोज्ने अवसर मिल्यो । चाहे पत्रकारहरु विरलै पुग्ने डाँडापारी क्षेत्रहरु होस् वा कोशीपारीको विकट नार्गेगगर्चेनै होस् वा बनेपा नजिक भएर पनि कमै पुग्ने देवीटार होस् । विकटका र खोजी गरेर लेखेका समाचारहरुको प्रभाव पर्छ भन्ने धेरै उदाहरणहरु छन् । ती उदाहरणहरुको चर्चा गर्दा लामै हुन्छ । जनआन्दोलनबारे पुस्तक लेखेको मेरो ‘काभ्रेमा पत्रकारिताले गरेको परिवर्तन’ र ‘डाँडापारीतिर बरालिँदा’ भन्ने पुस्तक लेख्ने धोको थियो र अझै छ तर वाध्यतावश फेरि बढारिदै पत्रकारिताकै लागि काठमाडौ आईपुग्नुपर्यो । केही आधार, तथ्य र तथ्यांक त मैले संकलन गरिसकेको छु तर पुस्तक लेख्नका लाथि थप अध्ययन, अनुसन्धान र भ्रमण गर्नका लागि पुनः डाँडापारी र पत्रकारिताले गरेका परिवर्तनका उदाहरणीय क्षेत्रसम्म पुग्नुपर्छ तर काठमाडौमा पत्रकारितामार्फत बाँच्नका लागि काममा घोटिरहेको मेरो लागि अहिले तत्काल त्यो काम गर्न असम्भव छ किनकि फेरि काभ्रेबाट काठमाडौ फर्कदा आर्थिक रुपमा एसएलसी पास गरेर काठमाडौमा पढ्न आउँदाको अवस्थामा फर्केको छु । बाँच्नका लागि फेरि भएभरको शक्ति लगाएर संघर्ष गर्नुपर्ने यात्रामा म लम्किरहेको छु ।
    इन्द्रावती साप्ताहिकले आफ्नो यात्रामा इट्टा थपिरहँदा संस्थापक सम्पादकको नाताले केही इन्द्रावतीको अतित पल्टाउनैपर्छ । २०५७ सालको अन्त्यतिर रेडियो नेपालको संवाददाता भएर काम गर्दादेखिनै काभ्रेका धेरै मुद्दाहरु हामी पत्रकारहरुले उठाउन सकेका थिएनौ । राष्ट्रिय पत्रपत्रिका, रेडियो र टेलिभिजनहरुमा कमै मुद्दाहरु उठ्ने गर्दथे । साँच्चीकै काभ्रेका स्थानीय मुद्दाहरु उठाउनका लागि काभ्रेलीनै पत्रपत्रिका हुनुपर्छ भन्ने निष्कर्ष मैले त्यतिबेला धेरै अग्रज पत्रकारहरुसँगको सल्लाहबाट पत्ता लगाए । केही पत्रपत्रिका निस्किएका थिए तर बढी राजनीतिक केन्द्रित ती पत्रिकाहरुले बढी काठमाडौका र थोरै काभ्रेका मुद्दाहरु मात्र उठाउँथे । पुर्वीय दर्पण दैनिकमा मैले काम गर्दा मैले धेरै प्रयास गरे, धेरै मुद्दाहरु पनि उठे तर जनशक्तिको अभावले सोचेजस्तो भएन । पछि सञ्जीवनी साप्ताहिक र दैनिकमा पनि त्यो प्रयासलाई निरन्तरता दिए तर टिमभित्र सबै आफैले भनेको हुने कुरा सम्भव थिएन । बिहान ६ नबज्दै राजधानी काठमाडौका सबै राष्ट्रिय पत्रपत्रिका आउने काभ्रेमा काभ्रे र आसपासका क्षेत्रका मात्रै समाचार सम्प्रेषण गर्ने गरी पत्रिका प्रकाशन गर्ने धोको बल्ल इन्द्रावती साप्ताहिक प्रकाशनपछि मात्र पुरा भयो । ‘कपी एण्ड पेष्ट’ को सट्टा सम्पादकीय, लेखरचना, समाचारदेखि सबै सामग्री काभ्रे र आसपासका क्षेत्रकै लेख्नु अठोट पनि कम चुनौतीपूर्ण थिएन, धेरैले पत्याएका पनि थिएनन् तर सम्भव रहेछ भन्ने  देखाइयो । पत्रकारिताको विद्यार्थीको नाताले पत्रिकालाई सत्य, तथ्य, निष्पक्ष र सन्तुलित बनाउने तथा स्थानीय मुद्दाहरु मात्र उठाउने मेरो धोको पुरा गर्नका लागि मैले इन्द्रावती साप्ताहिकमा रहेसम्म अथक प्रयास गरे । काठमाडौका ठूला ठूला नेताहरुले खोकेको, डकारेको र उल्टी गरेको समाचार इन्द्रावतीका लागि कहिल्यै समाचार भएनन् । डाँडापारीमा मोटरबाटो नपुगेको, कोशीपारीमा कफि खेती फष्टाएको, विद्यालयमा भवन नभएर चौरमा पढिरहेको, विकास निर्माणमा अनियमितता र भ्रष्टाचार मौलाएको, तिमालमा खानेपानीको चरम समस्या भोगिरहेको, काभ्रेको सहकारी देशकै पहिलो सहकारी भएका जस्ता धेरै लुकेका, लुकाइएका, पत्ता नलागेका, धेरैको आँखा नपुगेका समाचार इन्द्रावतीले सार्वजनिक गर्यो । विगतका ती अंकहरु पल्टाएर हेर्दा अहिले पनि म रोमाञ्चित हुन्छु । साँच्चीकै काभ्रेली मुद्दा उठाउने एक मात्र सफल र निष्पक्ष पत्रकारिता गर्ने पत्रिका इन्द्रावती बनाउने मेरो प्रयास त अधुरै रह्यो तर त्यतिबेला इन्द्रावतीले उठाएका मुद्दाहरु फर्केर हेर्दा गर्व लाग्छ । अहिले पत्रिकाको काभ्रेलीमाझमा कस्तो अवस्था छ, मैले विश्लेषण गरेको छैन र कसैलाई सोधेको पनि छैन । राजनीतिक दलका नेताहरुको भाषण र दाउपेचलाई मात्र मुख्य समाचार बनाउने गलत परम्पराको अन्त्यका लागि इन्द्रावतीले पहिलो सुरुवात गर्यो भनेर भन्दा त घमण्डीपनता हुन्छ, किनकि पहिला पनि स्थानीय मुद्दाहरुलाई काभ्रेका केही पत्रपत्रिकाले बेला बेलामा मुख्य समाचार बनाउन सुरु गरिसकेका थिए तर इन्द्रावतीले ढोका खोल्यो भन्न सक्ने प्रशस्त ठाउँ छन् ।
नढाँटीकनभन्दा इन्द्रावतीको व्यवस्थापनसँग नेताको परिवार, नेता र कार्यकर्ता जोडिएका थिए तर त्यो प्रत्यक्ष प्रभाव इन्द्रावतीमा पर्न मैले दिइन । बरु म आलोचित बने तर राजनीति घुस्न दिइन । पटक पटक नेताहरुले नारायणजी लगायतलाई आफ्नो पक्षमा लेख्न दबाब दिँदा भीमले मान्दैन भनेर भन्नुपरेका थुप्रै प्रसंगहरु अहिले पनि म सम्झन्छु । एउटा पार्टी वा व्यक्तिको पक्षमा लेख्दा अर्को पार्टी र व्यक्तिहरुले गर्ने आलोचनाले पत्रकारको शिर कहिल्यै नउठ्ने गरी निहुरिन्छ र त्यसले पत्रकारलाई साझा बनाउन सक्दैन । शत प्रतिशत कसैले निष्पक्ष गर्न त सक्दैन तर अधिकत्तम प्रयास गर्नुपर्छ, त्यो प्रयास इन्द्रावतीमा भएको थियो विभिन्न चुनौतीका बाबाजूद पनि ।
 इन्द्रावतीप्रति मेरा आग्रह र पुर्वाग्राह हुन सक्छन् तर यो संस्था हो, निरन्तर चल्नुपर्छ र चल्छ । इन्द्रावतीको सफल भए मेरो नाम पनि कतै कतै जोडिन्छ होला । इन्द्रावतीले पहिलाकै जस्तै स्वतन्त्र, निष्पक्ष होस् र स्थानीय मुद्दा उठाउनेमा काभ्रेको अग्रणी पत्रिका होस् भन्ने मेरो अहिलेको इन्द्रावती टिमबाट अपेक्षा छ । इन्द्रावतीले सही गति लिएमा इन्द्रावतीलाई निरन्तर बगाउनका लागि हातमा हात र काँधमा काँध थाप्नेहरु धेरै हुन्छन्, जन्मन्छन् र इन्द्रावतीले पनि जन्माउँदै जान्छ । त्यसमा इन्द्रावती नचुकोस् ।

No comments: