Monday, July 30, 2018

३० नगरपालिकामा फोहोरबाट ऊर्जा

http://karobardaily.com/news/development/8478
मंगलबार, श्रावण १५, २०७५
नगरपालिकाहरूमा फोहोर व्यवस्थापनको मुद्दा चुनौतीका रूपमा देखिएको बेला विभिन्न ३० नगरपालिकामा “फोहोरबाट ऊर्जा” उत्पादनका ठूला बायोग्याँस परियोजना सुरु गरिएको छ । नगरपालिकाहरूमा फोहोर व्यवस्थापनको मुद्दा चुनौतीका रूपमा देखिएको बेला विभिन्न ३० नगरपालिकामा “फोहोरबाट ऊर्जा” उत्पादनका ठूला बायोग्याँस परियोजना सुरु गरिएको छ ।
 ४२ वटा नगरपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग फोहोरबाट ऊर्जा उत्पादनका आयोजना अघि बढाउन माग आएकोमा ३० नगरपालिकासँग केन्द्रले समझदारी गरेर सुरुवात गरिएको हो । विश्व बैकसमेतको सहयोगमा केन्द्रले नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमअन्तर्गत नगरपालिकासँग समन्वयका साथै छुट्टै निजी क्षेत्रसँगको सहकार्यमा ठूला बायोग्याँस परियोजना अघि बढाउन लागिएको केन्द्रले जनाएको छ । “४२ नगरपालिकाबाट वायोग्याँस परियोजनाका लागि माग आएकोमा ३० सँग सम्झौता भइसकेको छ, अन्य अध्ययनको चरणमा छन्,” वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले भने, “अबको दुई÷तीन वर्षमा ठूला बायोग्याँसका परियोजना बन्दैछन ।”केन्द्रले दुई वर्षअघि गरेको अध्ययनले तत्कालीन ५८ नगरपालिकामा दैनिक ११ सय टन जैविक फोहारमार्फत बार्षिक ७ लाख ३० हजार एलपी ग्याँस बराबर उत्पादन हुने देखाएको थियो । “अध्ययनले देखाएको आधारमा के भन्न सकिन्छ भने ठूला बायोग्याँसका परियोजनामार्फत ग्याँसको आत्मनिर्भरतालाई अन्त्य गर्न सकिन्छ,” केन्द्रका कार्यकारी निर्देशक धिताल भन्छन्, “बायोग्याँसमार्फत नै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको घरघरमा ग्याँस पु”याउने योजना स्वदेशी उत्पादनमै सफल पार्न सकिन्छ, विराटनगरमा यसको परीक्षण हुँदैछ ।”सम्झौता भएकामध्ये २३ नगरपालिकाको फोहोर व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सकिएको छ । विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न बाँकी रहेपनि प्रारम्भिक प्रतिवेदनले २३ नगरपालिकाबाट ५ सय २ टन जैविक फोहोरमार्फत दैनिक १ हजार ४ सिलिण्डर ग्याँस उत्पादन हुने देखिएको छ । आगामी डेढ वर्ष अर्थात २०१९ को डिसेम्बरभित्र भने डीपीआर भईरहेका ७ नगरपालिकाबाट २ सय ५ टन जैविक फोहोरमार्फत दैनिक ४ सय १० सिलिण्डर ग्याँस उत्पादन गर्ने लक्ष्य छ । केन्द्रका वायोग्याँसतर्फका व्यावसायिक विकास अधिकृत दीपक पौडेलका अनुसार, प्रति टनबाट २ वटा बराबर एलपीजी ग्याँस उत्पादन हुन्छ । पौडेलको तथ्यांकलाई आधार मान्दा आगामी डेढ वर्षभित्रै धरान, इटहरी, धनगढी, घोराही, भरतपुर, बेसीसहर र हेटौडा नगरपालिकाबाट मात्र सात बार्षिक १ लाख ३५ हजार बराबरका एलपीजी सिलिण्डरका लागि ग्याँस उत्पादन हुनेछ । हाल भारतबाट आईरहेको यति बराबरको ग्याँस विस्थापनका साथै साढे १८ करोड रूपैयाँ बराबरको ग्याँस आयात विष्थापन हुनेछ । केन्द्रका अनुसार धरानमा दैनिक ३० टन, इटहरीमा ३० टन, धनगढीमा ३० टन, भरतपुरमा ४० टन, बेसीसहरमा ५ टन र हेटौडामा २० टन फोहोर संकलन गरी ग्याँस उत्पादन हुनेछ । यसमध्ये धरान नगरपालिकामा फोहोरबाट ऊर्जा उत्पादन परियोजना सुरु भैसकेको छ भने इटहरी, धनगढी र घोराहीमा डीपीआर तयार भएर यसको पुनरावलोकन भईरहेको र अन्यमा डीपीआर तयार भइरहेको अधिकारी पौडेलले जानकारी दिए । 
सात नगरपालिकामा भने लगानीकर्ता छनोट भइसकेका छन् । सम्भाव्यता अध्ययन भैसकेका १६ नगरपालिकामा भने लगानीकर्ता छनोटको कार्य भईरहेको केन्द्रले जनाएको छ । केन्द्रको तथ्यांकको आधारमा ७ नगरपालिकासहित २३ नगरपालिकाबाट दैनिक ५ सय २ टन जैविक फोहोरमार्फत दैनिक १ हजार ४ एलपीजी बराबरको ग्याँस र वार्षिक साढे तीन लाख बराबर ग्याँस उत्पादन हुनेछ । डीपीआरले उपयुक्र्त देखाएमा ३ वर्षभित्र पूरा हुने यी परियोजनाबाट मात्र बार्षिक यति धेरै ग्याँस विष्थापनका साथै ४८ करोड रुपैयाँ बराबरको ग्याँस विस्थापन हुनेछ । ग्यासमा छिमेकी राष्ट्रप्रतिको निर्भरता अन्त्य गर्न बायोग्याँस उत्पादन परियोजनाहरूले न्यूनीकरण गर्दै लैजाने लक्ष्य छ । नगरपालिकाहरूसँग समन्वयका साथै व्यवसायिक रूपमै समेत डेढ वर्षभित्र ३ सय ५० परियोजनाहरू सम्पन्न गर्ने लक्ष्य केन्द्रको छ । १० नगरपालिकाका साथै अन्य ३ सय ४० कमर्सियल (व्यावसायिक) परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य केन्द्रको छ । केन्द्रले परियोजना निर्माणका लागि करिब ४० प्रतिशत बराबर अनुदान समेत दिने गरेको छ । केन्द्र आफैले वीरगञ्ज, जनकपुर, बुटबल, सिद्धार्थनगर र सूर्यविनायक नगरपालिकामा भने परियोजना अघि बढाउन लागेको छ । फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाले बहुआयमिक फाइदा पुर्याउने भएकोले यसलाई विशेष प्राथमिकता दिएर अघि बढेको केन्द्र बायोग्याँस शाखा कार्यक्रम प्रमुख प्रकाश अर्याल बताउँछन् । “यसले फोहोरको कारणले निम्तिएको सामाजिक समस्यासँगै ग्याँस आयातमा न्यूनीकरणमा समेत ठूलो सहयोग गर्छ ।”–उनी भन्छन् । नवलपरासीको इन्भीपावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले निर्माण गरेको वायोग्याँस परियोजनाबाट उत्पादित ग्याँस आतातितभन्दा सस्तो, १५ प्रतिशत बढी हिटिङ पावर (ताप शक्ति) भएको हुने देखिएको छ । 
टेकुमा बायोग्याँसको परियोजना अलपत्रएक महिनादेखि काठमाण्डौको फोहोर उठाउन नसकेर काठमाडौं महानगरपालिकाको व्यापक आलोचना भइरहेका बेला टेकुमा निर्माण गरिएको भएको बायोग्याँस परियोजना अलपत्र परेको छ । महानगरपालिका र युरोपियन युनियनको संयुक्त सहयोगमा चार वर्षअघि निर्माण भएको नेपालको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्ट बन्दै भएको तीन वर्ष नाघिसकेको छ । दैनिक ३ टन फोहोर, ४ सय ५० घनमिटर ग्याँस र यसमार्फत ३२ किलोवाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको प्लान्ट बन्द भएपछि फोहोर व्यवस्थापनमा समस्या परेको छ । “काठमाण्डौमा दैनिक तीन टन फोहोर व्यवस्थापन एकदम थोरै हो तर १ करोड ८० लाखभन्दा बढी लगानीमा निर्माण गरेको परियोजना अलपत्र पर्नु दुखद हो,”–महानगरपालिकाका एक कर्मचारीले भने ।ग्याँस परियोजना अलपत्र परेपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले चार दिनअघि प्लान्ट सञ्चालनका लागि सहयोग गर्ने आशयसहित पत्रसमेत पठाएको छ । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले पठाएको पत्रमा केन्द्रले आफ्नो अनुभवको आधारमा प्लान्ट सञ्चालनका लागि सञ्चालन र व्यवस्थापनका साथै प्राविधिक, आर्थिक र प्रवद्र्धनात्मक रूपमा महानगरपालिकासँग सहकार्य गर्न तयार रहेको उल्लेख छ । 

Sunday, July 29, 2018

तनहुँ जलविद्युत्को ठेकेदार कम्पनी छनोट


http://karobardaily.com/news/development/8366
शुक्रवार, श्रावण ११, २०७५
काठमाडौं-तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन १४० मेगावाट तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माणकार्यका लागि निर्माण कम्पनी छनोट गरिएको छ । 
आयोजनाको नदी फर्काउने, बा“धलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सीएमसी र आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका कामका लागि सबैभन्दा कम बोलकबोल गर्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको हो । सीएमसी कम्पनीसँग प्रोभिजनल सम र मूल्य अभिवृद्धि करसहित २० अर्ब ६४ करोड ५२ लाखमा तथा सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र मूल्य अभिवृद्धि कर बाहेकसहित ३ अर्ब ८३ करोड १४ लाखमा खरिद सम्झौता हुने आयोजनाले जनाएको छ । 
तनहुँ हाइड्रोपावर लिमिटेडले ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । दुवै कम्पनीले ८ साउनमा पत्र बुझिसकेका छन् । पत्र बुझेको २८ दिनभित्र कम्पनीहरूले कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउनु पर्ने तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदिपकुमार थिकेले बताए । “खरिद सम्झौता भएको दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माणकार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ,” उनले भने । तनहुँ हाइड्रोपावर लिमिटेडले १९ माघ २०७३ मा पहिलो र दोस्रो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका कम्पनीलाई बोलपत्र प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीमध्ये दुईवटाले बोलपत्र पेस गरेका थिए । 
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि २८ असारमा बोलपत्र आह्वान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । 
प्रशारण लाईन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसहित आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको आयोजनामध्ये एसियाली विकास बैंक (एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन भइसकेको छ । यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

साताको १ घण्टा उपभोक्तासँग ऊर्जामन्त्री

http://karobardaily.com/news/country/8365
शुक्रवार, श्रावण ११, २०७५
काठमाडौं-प्रत्येक साताको शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हटलाइनमार्फत उपभोक्तासँग प्रत्यक्ष कुराकानी गर्ने भएका छन् । 
झण्डै एक वर्ष अघिदेखि ऊर्जा क्षेत्र मन्त्रालय र यसको मातहतका नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागलगायतका सेवाबारे उपभोक्ताको गुनासो सुन्नका लागि हटलाइन सेवा सुरु गरेकोमा प्रत्येक शुक्रबार मन्त्री आफंैले उपभोक्तासँग कुरा गर्न लागेका हुन् । आगामी शुक्रबार अर्थात् १८ साउनदेखि प्रत्येक शुक्रबार १२ बजेदेखि १ बजेसम्म उपभोक्ताको गुनासो तथा जिज्ञासाबारे ऊर्जामन्त्री पुनले हटलाइनमार्फत साक्षत्कार कार्यक्रम गर्न लागेको मन्त्रीको सचिवालले जनाएको छ । “हटलाइन सेवा सुरु भएको एक वर्ष पुग्न लागे पनि प्रभावकारी नभएकाले ऊर्जा क्षेत्रमा जनताका गुनासा सुन्न र त्यसको समाधानका लागि मन्त्रीज्यूले प्रत्येक शुक्रबार १२ बजेदेखि १ बजेसम्म हटलाइनमार्फत प्रत्यक्ष कुराकानी गर्न लाग्नुभएको हो,” मन्त्रीका प्रेस संयोजक रोशन खड्काले भने, “यसबाट उपभोक्तालाई प्रभावकारी रूपमा सेवा प्रदान गर्नका लागि सहयोग पुग्छ, गुनासोको आधारमा त्यसको सम्बोधन गर्ने र समाधान भएपछि सम्बन्धित गुनासोकर्तालाई समेत जानकारी दिने गरी हटलाइनलाई प्रभावकारी बनाउन लागिएको छ ।”
मन्त्रालयका अनुसार, शुक्रबार ऊर्जामन्त्रीसँग निःशुल्क हटलाइन नम्बर ११५१ का साथै ०१–४२००६४१-४२ मा प्रत्यक्ष कुराकानी गर्न पाउने व्यवस्था गरिएको छ । उपभोक्ताले विद्युत् सेवाका साथै सिँचाइ र वैकल्पिक ऊर्जाबारे समेत गुनासो र जिज्ञासा राख्न पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । विशेषगरी मिटर नपाएको, पोलको व्यवस्था नभएको, विद्युत् चुहावट भएको, लो भोल्टेजको कुरा बिजुलीमा समस्या आएको, ट्रान्सफर्मरमा समस्या आएको, समयमै विद्युतीकरण हुन नसकेको लगायतका गुनासो गर्दै आएका छन् । 
१५ भदौ २०७४ देखि सञ्चालनमा ल्याइएको हटलाइनमा सेवाका लागि १२ कर्मचारीको व्यवस्था गरिए पनि हाल ५ कर्मचारीमात्र छन् । हाल गुनासो आएपछि कर्मचारीहरूले विद्युत् प्राधिकरणलगायतका सम्बन्धित निकायलाई जानकारी दिएर त्यहाँमार्फत कारबाही भएपछि सम्बन्धित गुनासो कर्तालाई जानकारी दिने गरेका छन् । गुनासो सम्बोधनका क्रममा लामो समय लाग्ने गरेको र यसकै कारण पछिल्लो समयमा गुनासो गर्नेको संख्या घट्दै गएपछि प्रत्यक्ष रूपमा मन्त्री स्वयंले उपभोक्तासँग साक्षात्कार गरेर प्रभावकारी बनाउने लक्ष्य मन्त्रालयको छ ।

Wednesday, July 25, 2018

दु्रत गतिमा प्रसारणलाइन बनाउन 'कोर्स करेक्सन' जरुरी

बुधवार, श्रावण ९, २०७५
डा. नेत्र ज्ञवाली
प्रमुख कार्यकारी अधिकृत,
राष्ट्रिय ग्रिड कम्पनी
डा. नेत्र ज्ञवाली राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । सरकारले २०६८ सालमै ग्रिड कम्पनी स्थापनाको प्रक्रिया अघि बढाए पनि पाँच वर्षपछि मात्र गठन भएको कम्पनी विगत डेढ वर्षदेखि प्रसारणलाइन निर्माणमा सक्रिय छ । १५ वर्ष ऊर्जा इन्जिनियरिङबारे पुल्चोक इन्जिनियरिङ कलेजमा प्राध्यापन गरेका ज्ञवालीसँग कलेजमा ऊर्जा इन्जिनियरिङ विभागको संयोजक, प्रमुखलगायत भएर काम गरेको अनुभव छ । नेपाल जलविद्युत् र प्रसारणलाइनको विकास विषयमा विद्यावारिधि गरेका ज्ञवालीले विद्यावारिधि र स्नातकोत्तर जापानको क्योटो विश्वविद्यालयबाट पूरा गरेका थिए । जलविद्युत् उत्पादन बढ्दै गए पनि प्रसारणलाइनको निर्माणमा ढिलाइ भएपछि वर्षामा बिजुली खेर जाने गरेको तथा दु्रत गतिमा प्रसारणलाइन निर्माण नभए आगामी दिनमा धेरै विकासकर्ताले निर्माण गरेका आयोजनाहरूबाट उत्पादित बिजुली प्रसारण गर्न नसकिने भन्दै चिन्ता प्रकट भइरहेको छ । जलविद्युत् र प्रसारणलाइनलाई बराबर प्राथमिकता र महत्व दिनुपर्ने भए पनि प्रसारणलाइनको निर्माणमा सरकारले चासो नदिएको भन्दै आवाज उठिरहेका बेला कम्पनीले हालै सन् २०४० सम्मलाई लक्ष्य गरी गुरुयोजना बनाएको छ । सन् २०४० सम्म ४० हजार मेगावाट विद्युत् उत्पादन हुने र सोका लागि ६ हजार ८ सय किलोमिटर प्रसारणलाइन निर्माण गर्ने गरी गुरुयोजना तयार भएको छ । कम्पनीले निर्माण गरेको प्रसारणलाइन गुरुयोजना, नेपालको प्रसारणको विकासक्रम र यसका समस्या, आगामी बाटोलगायतबारे कारोबारकर्मी भीम गौतमले डा. ज्ञवालीसँग गरेको कुराकानीको सार :
सरकारले राष्ट्रिय प्रसारण कम्पनी बनाएको डेढ वर्ष नाघेको छ । नेपालको प्रसारणलाइनको क्षेत्रमा कम्पनीले कस्तो योजना अघि बढाइरहेको छ ? 
प्रसारणलाइन निर्माणका लागि अत्यावश्यक मानिएको विस्तृत योजना नै थिएन । हाम्रो मुख्य काम भनेको सरकारले ५ वर्ष, १० वर्ष र २० वर्षमा उत्पादन गर्ने भनेको विद्युत्का लागि प्रसारणलाइन निर्माण गर्ने हो । यसका लागि योजना नै आवश्यक थियो । यसकै आधारमा कहाँ–कहाँ लाइन बनाउने र विकास गर्ने भन्ने हो । यसका लागि गुरुयोजना निर्माण गरेका छौं भने केही प्रसारणलाइनको अध्ययनको काम अघि बढेका छन् । 

प्रसारणलाइन गुरुयोजना त बन्यो, तर गुरुयोजनाअनुसारका काम अघि बढाउनका लागि कसरी अघि बढ्दै हुनुहुन्छ ?
नेपाल सरकारको विद्युत् उत्पादन गर्ने योजना र लक्ष्यमा आधारित भएर गुरुयोजना निर्माण भएको हो । सरकारले लक्ष्य राखेको दोहोरो अंकको आर्थिक वृद्धिदरका लागि आवश्यक विद्युत् विकास गर्ने गरी उत्पादन योजना बनेको छ । यसका लागि नभइनहुने कुरा भनेको प्रसारणलाइन हो । प्रसारणलाइन कस्ता बनाउने, प्रत्येक जलविद्युत् उत्पादकहरूका लागि उत्पादन गरेको बिजुलीको कस्तो राजमार्ग बनाइदिने र कसरी उत्पादित विद्युत् उपभोक्तासम्म पुराउने भन्ने कुरालाई दृष्टिगत गरी यो निर्माण गरिएको छ । प्राविधिक रूपमा भन्नुपर्दा ४० हजार मेगावाट विद्युुत्का लागि जुन प्रसारणलाइन राजमार्ग आवश्यक छ, ४ सय केभी, २ सय २० केभी र १ सय ३२ केभी गरी ६ हजार ८ सय किलोमिटर लाइन निर्माण गर्ने र यसका लागि आवश्यक करिब ६ खर्ब बराबरको लागत लाग्ने गरी गुरुयोजनामा तयार भएको छ । 
कुनै न कुनै स्थानबाट हामीले कोर्स करेक्सन त गर्नैपर्छ । अहिले जुन अवस्थामा छ, त्यही अवस्थामा अघि बढिरहने हो भने त हामी कुनै ठाउँमा पुग्न सक्दैनौं ।

प्रसारण कम्पनीले कुन–कुन आयोजना कसरी अघि बढाउँदै छ ? 
अहिले हामीले बढाउन लागेको भनेको सेती करिडोरका आयोजनाहरू हुन् । त्यो भनेको चैनपुरदेखि पश्चिम सेती हुँदै दोधारासम्मको आयोजना छ । त्यसैगरी कर्णाली करिडोरको भाग छ । कर्णाली करिडोर भनेको मुगु कर्णाली, फुकोट कर्णालीदेखि लिएर कैलालीसम्मको एउटा भाग भयो । अर्को भनेको भेरी करिडोरको पाटो छ, त्यो भनेको सानो र ठूलो भेरी नदीमा जोडिने जलविद्युत् आयोजनाहरू छन्, त्यसलाई आवश्यक लाइनहरू भए । पूर्वमा जहाँ–जहाँ केही उत्पादन आयोजनाहरू विकासकर्ताहरूले बनाउँदैछन्, जहाँ प्रसारणको समस्या भयो भनिरहेका छन्, उनीहरूको मागअनुरूप २०/३० किलोमिटरका प्रसारणलाइनहरू पनि हामीले हेरेका छौं । एउटा तमोर करिडोर, अर्को मेवा करिडोर छ । अरुण करिडोरको किमाथांकादेखि अरुण तेस्रोको खाँदबारीसम्मको भाग छ । यी आयोजनाहरू अघि बढाउन काम गरिरहेका छौं । 

प्रसारणलाइन कम्पनीले स्थापनापछि सफल रूपमा काम गर्न सकेन भन्ने आरोप त तपाईंहरूमाथि लागिरहेको छ, के भन्नुहुन्छ ?
 कम्पनीको काम गर्न सुरु भएको डेढ वर्ष मात्र भयो । तीन–चार महिना एउटै व्यक्तिले सञ्चालन गर्नुपर्यो । अफिस व्यवस्थापनदेखि कर्मचारीको व्यवस्थासमेत गर्नुपर्ने अवस्था थियो । यस्तो अवस्थाबाट गुज्रनुपरेको थियो । आठ–दस महिना कर्मचारीको नियुक्ति, अफिस व्यवस्थापन र अन्य काममा लाग्नुपर्यो । सीमित जनशक्ति हुँदाहुँदै पनि आफ्नो काम अघि बढायौं । त्योमध्ये कर्णाली करिडोरको निर्माण पनि हो । यसको परामर्शदाता छनोट भएर अध्ययनको काम अघि बढेको छ । १५/१६ महिनापछि यसको प्रतिवेदन आउँछ र तत्कालै निर्माणको चरणमा जान्छ । अर्को महत्वपूर्ण कुरा भनेको प्रसारणलाइनको गुरुयोजना निर्माण नै हो । यो एकदम जरुरी थियो । ऊर्जा मन्त्रालयले श्वेतपत्र जारी ग¥यो । यो वर्षमा यति विद्युत् उत्पादन गर्ने भनेर लक्ष्यसहित सार्वजनिक गरियो, तर यसलाई सहयोग गर्ने प्रसारणलाइनबारे केही योजना थिएन । १० वर्षमा १० हजार मेगावाट, १० वर्षमा १५ हजार मेगावाट बनाउने र २० वर्षमा ४० हजार मेगावाट बनाउने हो भने त्यसका लागि प्रसारणलाइनको योजना खोइ त भन्दा हामीसँग जवाफ थिएन । यति उत्पादन गर्ने हो भने प्रसारणलाइनको स्वरूप यस्तो हुन्छ है वा विकासकर्ताहरूलाई यो–यो लाइनबाट तिमीहरूले उत्पादन गरेको बिजुली जोड्छौं है भनेर हबहरू बनाउने महत्वपूर्ण काम भएको छ । योलगायत अन्य आयोजनाहरू, जुन अध्ययनका क्रममा छन्, कसरी वैकल्पिक प्रतिस्पर्धामा गएर सिधै बनाउन सकिन्छ भनेर सोचिरहेका छौं । भित्र धेरै कुरा भइरहेका हुन्छन्, उपलब्धि देखिएका हुँदैनन् । एउटा कामको उपलब्धि हासिल गर्न विभिन्न अवस्थाबाट गुज्रनुपर्ने भएको भएर नदेखिएको होला । हामी लागिपरेका छौं ।  

विगतको प्रसारणलाइन निर्माणको इतिहास हेर्ने हो भने सन्तोषजनक छैन । निर्माणका लागि ठूलो समस्या देखिएको छ । गुरुयोजनाले यति धेरै लामो र लगानी गरेर प्रसारणलाइनको निर्माण गर्ने भनेको छ, कसरी सम्भव छ ?
 कुनै न कुनै स्थानबाट हामीले कोर्स करेक्सन त गर्नैपर्छ । अहिले जुन अवस्थामा छ, त्यही अवस्थामा अघि बढिरहने हो भने त हामी कुनै ठाउँमा पुग्न सक्दैनौं । पुगे पनि गतिशील हुँदैन । अहिले सरकारले जुन उत्पादनमा संकल्प गरेको छ, त्यो संकल्प पूरा गर्न प्रसारण गुरुयोजना बनायौं । यो गुरुयोजनाको प्राथमिकताका आधारमा विभिन्न परियोजना तोक्छौं । ती परियोजनाहरूलाई स्वदेशी लगानी, विदेशी लगानीमा, कुनै–कुनै क्षेत्रमा निजी क्षेत्रको लगानीमा पनि यसलाई विकास गर्नुपर्ने हुन्छ । यसको विकासको मोडलका लागिसमेत गृहकार्य गरिरहेका छौं । कसरी दु्रत गतिमा बनाउन सकिन्छ भन्ने नै छ । यसका लागि ठेक्कापट्टाको मुद्दा भयो, वातावरणसम्बन्धी मुद्दा भयो, अरू प्राविधिक कुरा भयो । कसरी दु्रत गतिमा गर्न सकिन्छ भन्ने नै गृहकार्य भइरहेको छ । 
नीतिगत रूपमा प्रसारणलाइन, सिँचाइ, मोटरबाटोलगायत सबै जग्गाका लागि वैज्ञानिक रूपमा वर्गीकरण गर्नुपर्छ र वर्गीकरणअनुसार क्षतिपूर्ति वा मुआब्जाको दर निर्धारण गर्नुपर्छ ।
अहिले वातावरण, ठेक्कापट्टालगायतका समस्या भइरहेको र एउटा प्रसारणलाइन बनाउनका लागि १०/१२ वर्ष लागिरहेका बेला यी प्रक्रियागत समस्याहरू समाधान गरेर प्रसारणलाइन निर्माणलाई दु्रत गतिमा लाने बाटो के देख्नुभएको छ ?
पहिलो त, विद्यमान संरचना र प्रक्रियाबाट छिटो गर्ने प्रयास गर्नुपर्छ । सबै कुरामा अवरोध मात्र पुराएको छ भन्ने होइन । धेरै कुरा राम्रा छन् । केही कुराले अघि बढाउन समस्या देखिएका पनि छन् । केही समस्यामध्ये प्राविधिक समस्या पनि छ । प्रसारणलाइन परियोजना अघि बढाउनका लागि सम्भाव्यता अध्ययन, विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) लगायत बनाउनुपर्छ, उच्च भोल्टेजका परियोजना अघि बढाउने कुरा भइरहेको छ । यसलाई अध्ययन, विश्लेषण गर्ने जनशक्ति तयार भइनसकेको कारणले गर्दा अझै केही वर्ष विदेशी परामर्शदाताको सहयोग लिनुपर्ने आवश्यकता छ । जुन कुरा आन्तरिक जनशक्तिले ६/१० महिनामा गर्न सक्थ्यौं, त्यसलाई विदेशी परामर्शदाताको सहयोगमा गर्न त्यसको छनोट गर्ने प्रक्रिया नै लामो लाग्छ । 
यसको अन्त्यका लागि हाम्रो क्षमता अभिवृद्धि गर्नुपर्ने र परिपक्व अवस्थामा लैजानुपर्ने अवस्था समस्याका रूपमा देखिएको छ । अर्को समस्याको कुरा गर्दा, हाम्रो सामाजिकतर्फ कुरा गर्दा जुन जग्गा अधिग्रहणको कुरा छ, बाटो र प्रसारणलाइन उस्तै–उस्तै कुरा हुन । बाटो घरको अगाडि पार्न सबै लाग्छन् तर सबैलाई चाहिने प्रसारणलाइन सकेसम्म नजिक नआउन् भन्ने चाहन्छन् । अरूकै जग्गामा पोल गाडियोस् भन्ने मान्छेको चाहना छ । हुन त प्रसारणलाइनको केही वरपर घर बनाउन नपाइने भन्ने व्यवस्था छ । यसको कारणले किनबेच पनि हुँदैन । बैंकसँग कारोबार गर्न नमिल्ने जस्ता कुरा पनि छन् । यीमध्ये कतिपय कुरा त यथार्थ पनि छन् तर केही कुरामा भय पनि फैलाइएको छ । अर्को, जग्गाको क्षतिपूर्तिको कुरा छ, यसलाई वैज्ञानिक तरिकाले सुधार गर्नुपर्ने जरुरी छ । अन्तर्राष्ट्रिय मापदण्डहरू के–के छन् भने विश्लेषण गरी सम्बन्धित जग्गाधनीहरूलाई पनि विश्वासमा लिएर यसको बृहत् समाधान निकाल्नुपर्ने आवश्यकता छ । जग्गाको वर्गीकरण पनि वैज्ञानिक तरिकाले गर्नु जरुरी छ । खेतीयोग्य, घडेरी, वन, पर्ती जग्गा हुन्छन्, यी जग्गाको प्रकृतिअनुसार राज्यस्तरबाट मूल्य निर्धारण गरेमा अधिग्रहण गर्न सजिलो हुन्थ्यो । अहिले त पर्ती जग्गा अधिग्रहण गर्ने भएपछि एकाएक खेतीयोग्य जमिन बनिदिन्छ । स्थानीयवासी र अन्यबाट समेत कसरी बढी फाइदा लिने भन्ने हुन्छ । नीतिगत रूपमा प्रसारणलाइन, सिँचाइ, मोटरबाटोलगायत सबै जग्गाका लागि वैज्ञानिक रूपमा वर्गीकरण गर्नुपर्छ र वर्गीकरणअनुसार क्षतिपूर्ति वा मुआब्जाको दर निर्धारण गर्नुपर्छ । यस्तो नीति निर्माण र कार्यान्वयन सरकारी पक्षबाट भयो र सोअनुसार निर्देशन भयो भने प्रसारणलाइन विकास दु्रत गतिमा गर्न सक्ने अवस्था आउँछ । सार्वजनिक खरिदका कुरा छन्, वनजंगलका कुरा छन्, हरेक कुरा बहसको कुरा छ । 

लक्ष्य निर्धारण गरेअनुसारको उपलब्धि हासिल गर्न कार्यान्वयन र बहस सुरु भएका छन् कि छैनन् ?
 अहिले सरकारबाट जग्गा अधिग्रहण र क्षतिपूर्तिका लागि कार्यदल बनाइएको छ । राष्ट्रिय योजना आयोगको अग्रसरता बनाइएको भन्ने थाहा पाएको छु । यसमा ऊर्जा, सिँचाइलगायतका सबै सरोकारवाला निकाय राखेर अग्रसरता लिइएको छ । हेरौं, यसले के निकास दिन्छ । अन्यमा पनि प्रक्रिया अघि बढ्दैछन् । 

सीमित उत्पादन भएको नेपालमा वर्षामा प्रसारणलाइन अभावमा विद्युत् खेर गइरहेको सार्वजनिक भइरहेका छन् । प्रसारणलाइन निर्माणको काम त्यति सहज पनि देखिएको छैन । समयमै र आवश्यकताअनुसार कसरी प्रसारणलाइन बनाउन सकिन्छ त ?
 वर्षामा बिजुली खेर गएको कुरा त अहिले धेरै हदसम्म कम छ जस्तो लाग्छ, तर पनि केही वर्षभित्र महत्वपूर्ण प्रसारणलाइन बनाउन सकेनौं भने यो अवस्था नआउला भन्न सकिँदैन । सोलु, कोसी करिडोरको जुन भाग छ, यी ठाउँमा केही वर्षमा सम्पन्न हुन सकेन भने विद्युत् खेर जाने अवस्था छ । अब दु्रत गतिमा प्रसारणलाइन बनाउन कोर्स करेक्सन जरुरी छ; अर्थात् विद्यमान नीति र प्रक्रियाभित्र रहेर पनि धेरै काम गर्न सकिन्छ । प्राथमिकताप्राप्त परियोजनाहरूलाई छिटो विकास गर्नका लागि लगानी जुटाउने र निर्माण गर्ने कुरा छ, यसमा के छ भने लगानीको भागमा अहिले नेपाल सरकारबाट जुन नियमित रूपमा आउनेछ, त्यहींबाटै हुँदै आएको हो । यसकै आधारमा अघि बढ्ने हो भने लक्ष्य पूरा गर्न गाह्रो छ । यसका लागि स्वदेशी, विदेशी, दातृलगायत जताबाट हुन्छ, सबै विकल्प खुला राखेर लगानी ल्याउनु र विकास गर्नु जरुरी छ । 

अहिले प्रसारण कम्पनी प्रसारण विकासमा संलग्न छ । के अब प्रसारणलाइन अभावकै कारण विद्युत् खेर गयो भन्ने सुन्नु पर्दैन ?को–को सहभागी भए प्रसारणलाइनले गति लेला ? आशा गरौं, सुन्नु नपर्ला । प्रसारणलाइन निर्माणका लागि अहिले देखिएका जुन मुद्दाहरू छन्, त्यसलाई सम्बोधन गर्नुपर्छ । जहाँ समस्या छ, त्यहींबाट सुरु गर्ने हो । मुख्य समस्या त प्राविधिक क्षमता वृद्धि नै हो । यो हाम्रो हातमा छ । यसका लागि जनशक्ति विकास गर्दैछौं । हरेक प्राविधिक, खरिदलगायत प्रसारणलाइनसँग सम्बन्धित क्षेत्रको विकासका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि कोसिस गरिरहेका छौं । अर्को, जुन वन र जग्गा अधिग्रहणको भाग हो । वनको कुरामा राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाहरूका लागि लचक हुनुपर्ने अवस्था छ, यसलाई अघि बढाएर जानुपर्छ । तेस्रो भाग भनेको लगानी भयो, यसमा स्वदेशी, विदेशी र अरू सबै विकल्प खुला राख्नु जरुरी छ । लगानी, वन–जग्गा अधिग्रहण र प्राविधिक क्षमता अभिवृद्धिलाई सँगसँगै लैजाँदा निश्चय पनि तोकेको समयमा प्रसारणलाइनको विकास गर्न सक्छौं । यसका लागि हामी लागेका छौं । 
हाम्रो त यति धेरै काम छ कि निर्माणको चरणसम्म कुनै द्वन्द्व आउलाजस्तो लाग्दैन । कुन–कुन प्रसारणलाइन कसले बनाउने भनेर समन्वय गरी अघि बढेका छौं ।
तीन वर्षअघि नेपाल विद्युत् प्राधिकरणले पनि गुरुयोजना सार्वजनिक गरेको थियो । अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि सार्वजनिक गरेको छ । दुवै गुरुयोजनाबीच समन्वय छ कि छैन ? 
ऊर्जा मन्त्रालयले बनाएको गुरुयोजनाले विगतमा बनाएका सबै गुरुयोजनालाई समेटेको छ । उद्देश्यमा फरकपन छैन । प्राथमिकतामा पनि विचलन भएको होइन । अहिले बनाएको गुरुयोजना पहिला बनाएको गुरुयोजनाको परिष्कृत रूप हो भन्ने बुझ्नुपर्छ । 

अहिले नेपाल विद्युत् प्राधिकरणले पनि प्रसारणलाइन बनाइरहेको छ, प्रसारण कम्पनी पनि निर्माणका लागि अघि बढेको छ । सरकारका दुई निकायबीच कसरी समन्वय हुन्छ ? एकीकृत रूपमा अघि बढ्न नसके त सरकारी निकायबीचमै समस्या होला नि ? 
नेपालमा प्रसारणलाइन निर्माण गर्नुपर्ने आयोजनाहरू धेरै छन् । ६ हजार ८ सय किलोमिटर प्रसारण निर्माण गर्नु छ । अहिले ८/१० प्रतिशत मात्र निर्माण सम्पन्न गरेका छौं । केही वर्षसम्म प्राधिकरणले पनि प्रसारणलाइन बनाउँदै गर्छ, हामी पनि बनाउँछौं । जसले आ–आफ्नो क्षेत्रबाट जति बनाउन सक्छ, बनाउनु जरुरी छ । काम थोरै, गर्ने मान्छे धेरै भए द्वन्द्व आउँथ्यो । हाम्रो त यति धेरै काम छ कि निर्माणको चरणसम्म कुनै द्वन्द्व आउलाजस्तो लाग्दैन । कुन–कुन प्रसारणलाइन कसले बनाउने भनेर समन्वय गरी अघि बढेका छौं । 
हाम्रो अहिलेको फोकस भनेको २ सय २० केभी र यसभन्दा माथिका आयोजनाहरू नै हुन् । २ सय २० केभी र यसभन्दा माथिका आयोजनाहरू अघि बढाउन कम्पनीले योजना बनाइरहेको छ ।
कतै कार्य क्षेत्र त विवाद हुँदैन, प्राधिकरण र कम्पनीले कस्ता कस्ता प्रसारणलाइन बनाउँछ ? 
प्राधिकरणसँग अहिले पहिल्यै प्रतिबद्धता जनाएका र अघि बढेका परियोजनाहरू छन् । आन्तरिक रूपमा अघि बढाएका आयोजनाहरू पनि धेरै छन् । यी अघि बढ्छन् । प्राधिकरणमा भएका योजनाहरूले पुग्दैन, अरू धेरै परियोजनाहरू बनाउनुपर्छ । त्यसकारण यो कम्पनी स्थापना भएको हो । हाम्रो कम्पनीले केही प्रसारणलाइन निर्माण र विकास गर्ने गरी अघि बढेको छ । हाम्रो अहिलेको फोकस भनेको २ सय २० केभी र यसभन्दा माथिका आयोजनाहरू नै हुन् । २ सय २० केभी र यसभन्दा माथिका आयोजनाहरू अघि बढाउन कम्पनीले योजना बनाइरहेको छ । परियोजनाहरू निर्माणपछि सञ्चालनको कुरा आउँछ, सरकारले प्रसारणलाइनको वर्गीकरण गरेर ग्रिड सञ्चालनको कुरा अघि बढ्छ । राष्ट्रको एउटै ग्रिड हुन्छ । त्योभन्दा कमका प्राधिकरण वा अन्य निकायबाट सञ्चालन हुँदै जान्छ । 

अहिले जुन प्रसारणलाइन निर्माण गर्ने निकाय विद्युत् प्राधिकरण, कम्पनीलगायत छ, के अब भविष्यमा प्रसारणलाइन निर्माण र ग्रिड सञ्चालन गर्ने निकाय एउटै हुन्छ ?
 प्रसारणलाइन विकास गर्ने निकाय दुई वा दुईभन्दा बढी हुन सक्छन्, तर ग्रिड सञ्चालन गर्ने निकाय एउटै हुन्छ । राष्ट्रको एउटा ग्रिड कम्पनी हुन्छ । त्यो कम्पनीले त्यो ग्रिडको स्वामित्व लिन्छ । ट्रान्समिसन सिस्टम अप्रेसन (टीएसओ) को काम ग्रिड कम्पनी बन्छ र गर्छ । सरकारले ऊर्जा क्षेत्रको सुधारका लागि जुन कम्पनीहरू खोल्यो, यो प्रसारण कम्पनीको काम नै नेपालका लागि आवश्यक पर्ने  प्रसारण निर्माण गर्ने, मर्मत गर्ने, सञ्चालन र आवश्यकता पर्दा विस्तार गर्ने हो । दीर्घकालीन रूपमा यसको काम यही हो, तर यहाँ पुग्न एकैपटक सकिँदैन । क्रमशः विकास गर्दै जाने हो । अहिले पनि धेरै काम भइरहेको छ । अहिले भएको विकास र प्रक्रिया छ, यसलाई बलियो बनाउँदै त्यो बाटोसम्म पुग्ने हो । त्यो बाटोमा पुग्नका लागि हामी सबै सहायक हौं ।

सर्भे लाइसेन्समा वनको अड्को

बुधवार, श्रावण ९, २०७५
प्रक्रिया भन्झटिलो बनाइयोः निजी प्रवद्र्धक
♦समयसापेक्ष सुधारको पक्षमा छौः वन
सरकारले आउँदो १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरेपनि सर्भे अनुमतिपत्र (लाइसेन्स) का लागि वन तथा वातावरण मन्त्रालयको स्वीकृति लिनै ठूलो समस्याको रूपमा देखिएको छ । 
जलविद्युत् आयोजनामा सहजीकरण गर्ने नीति कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले ‘जलविद्युत् आयोजना अनुमतिपत्र निर्देशिका २०७३’ जारी गरी राष्ट्रिय निकुञ्ज, आरक्ष संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र पर्ने आयोजनाको हकमा तत्कालीन वन तथा भूसंरक्षण मन्त्रालयको सहमतिपत्रपछि मात्र दिने व्यवस्था हटाएको थियो । तर, तत्कालीन वनमन्त्री विक्रम पाण्डेले संरक्षित क्षेत्रका जलविद्युत् आयोजनाले सर्भे लाइसेन्सका लागि वन मन्त्रालयबाट सहमति लिनुपर्ने व्यवस्था गरेपछि जलविद्युत् आयोजनाको अनुमतिपत्र लिननै लामो समय लाग्ने र झन्झटिलो देखिएको हो । 
जलविद्युत् आयोजनाको सर्भे लाइसेन्सका लागि विद्युत् विकास विभागमा निवेदन दिएर त्यहाँबाट वन तथा वातावरण मन्त्रालयमा गएर त्यहाँबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायतको अनुमतिपत्र लिएर फेरि अध्ययनका लागि सर्भे लाइसेन्स लिनुपर्ने व्यवस्था भन्झटिलो भन्दै हटाइएको थियो । तर, फेरि गत माघमा वन मन्त्री पाण्डेले मन्त्रीस्तरको निर्णयबाट गत ९ माघमा संरक्षित क्षेत्रका जलविद्युत् आयोजनाहरूको सम्भाव्यता तथा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सहमति प्रदान गर्ने प्रक्रिया अनुसारै गर्ने निर्णय गरेका थिए । 
विद्युत् विकास विभागले जलविद्युत् आयोजनाको लाइसेन्स लिनका लागि लामो समय लागेपछि सरकारले उच्च प्राथमिकता दिएको जलविद्युत् आयोजनाहरूको हकमा संरक्षित क्षेत्रमा रहेको जलविद्युत्मा पछि वातावरण प्रभाव अध्ययनको क्रममा वन तथा वातावरण मन्त्रालयसँग समन्वय गर्नुपर्ने भएकोले सुरुमै सहमति लिने प्रक्रिया हटाएको थियो । फेरि वन मन्त्रालयले थपेपछि विभागले शंसोधित निर्देशिका अनुसार सर्भे लाइसेन्स दिइएका आयोजनाहरूको फाइल विभागनै फर्केको थियो । 
वन तथा वातावरण मन्त्रालयले सहमति लिनुपर्ने व्यवस्थापछि विद्युत् विकास विभागले सर्भे लाइसेन्स दिईसकेका दुई दर्जन आयोजनाले फेरि मन्त्रालयबाट सहमति लिनुपर्ने व्यवस्था हुँदा जलविद्युत्का विकासकर्ताहरू समस्यामा परेका छन् । समस्यामा पर्नेमा निजी प्रवद्र्धकहरूका साथै उत्पादन कम्पनी र नेपाल विद्युत् प्राधिकरणका आयोजनाहरू समेत छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका उपाध्यक्ष कुमार पाण्डे सर्भे लाइसेन्सका लागि समेत एकभन्दा बढी निकायसँग सहमति लिनुपर्ने र लामो समय लाग्ने गरी बनेको व्यवस्था र प्रक्रिया गलत भएको बताउँछन् । “जलविद्युत् आयोजनाको अध्ययनको लागि लिइने सर्भे लाइसेन्सका लागि पनि विभागले मात्र दिएर नपुग्ने, वन तथा वातावरण मन्त्रालयबाट समेत स्वीकृति लिनुपर्ने व्यवस्था गलत छ,” उनी भन्छन्, “१० बर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य राख्ने अनि सर्भे लाइसेन्सदेखिनै झन्झटिलो प्रक्रिया बनाउने, यो मिलेको छैन, सरकारले सहजीकरण गर्नुपर्छ ।” विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह वन तथा वातावरण मन्त्रालयको सहमति लिनुपर्ने भएपछि लामो समय नलगाइ तुरुन्तै दिने व्यवस्था गर्नुपर्ने बताउँछन् दिने व्यवस्था गर्नुपर्ने बताउँछन् । 
“पछि वातावरणीय अध्ययनको क्रममा वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरेर काम गर्ने भएकोले यसबारे अध्ययननै सुरु नगरी वन तथा वातावरण मन्त्रालयमा सहमति लिनुपर्ने व्यवस्थाले लाइसेन्स दिनका लागि समस्या परेको छ,” उनले भने, “प्रक्रिया पूरा गर्न लामो समय नलाग्ने गरी व्यवस्था गरेमा सहमतिका लागि पठाउन समस्या हुँदैनथ्यो तर अहिले समस्या छ ।” वन तथा वातावरण मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेल भने संरक्षित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाहरूको लाइसेन्स प्रक्रियालाई छोट्याउनका लागि प्रयास भइरहेको बताउँछन् । उनले वन तथा वातावरण मन्त्रालयले वातावरणीय अध्ययनलाई सहजीकरण गर्नका लागि वातावरण संरक्षण ऐन समयसापेक्ष बनाउन लागेको जानकारी दिएका छन् ।

Monday, July 23, 2018

एक वर्षभित्र कमला बेसिनको जलस्रोत रणनीति

http://karobardaily.com/news/development/8155
सोमवार, श्रावण ७, २०७५
एक वर्षभित्र कमला बेसिन विकास रणनीति तयार हुने भएको छ । कमला बेसिनको जलस्रोत योजना तथा व्यवस्थापनलाई दृष्टिगत गरी एक वर्षभित्र बेसिनको रणनीति तयार हुने भएको हो । एक वर्षभित्र कमला बेसिन विकास रणनीति तयार हुने भएको छ । कमला बेसिनको जलस्रोत योजना तथा व्यवस्थापनलाई दृष्टिगत गरी एक वर्षभित्र बेसिनको रणनीति तयार हुने भएको हो । जल तथा ऊर्जा आयोगको सचिवालयले र द कमनवेल्थ साइनटिफिक एण्ड इण्डसट्रिज रिसर्च अर्गनाइजेशन (अष्ट्रेलिया)को सहयोगमा एकीकृत बेसिन व्यवस्थापनसम्बन्धी सहकार्यअन्तर्गत रणनीति तयार गर्न लागिएको हो । परामर्शदाता जलस्रोत विकास संस्था र पोलिसी इन्टरपे्रनर्स इनकर्पोरेटले अध्ययन गरिरहेको रणनीति २०७६ सालको जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
२०७६ को जेठ मसान्तभित्र बेसिनको गर्नेगरी अध्ययन अघि बढेको ऊर्जा आयोग सचिवालयका सिनियर डिभिजनल इन्जिनियर डा. महेश्वर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आयोगले आगामी तीन वर्षभित्र सबै नदी बेसिनको अध्ययन गरिसक्ने लक्ष्य राखेको छ ।कमला बेसिनको जलस्रोत योजना तथा व्यवस्थापनलाई सुधार र सुरक्षित बनाई बेसिनका प्रभावित जनसंख्याको जीवन र जीपिकोपार्जनमा सहयोग गर्ने उद्देश्यसहित सुरु भएको रणनीति योजना निर्माणअन्तर्गत यस क्षेत्रमा लामो समयदेखि चलिरहेको चुरे जंगलको फडानी  र निकासीका साथै वालुवा र ढुंगाको अनियन्त्रित निकासी लगायतका कारणले भएको विनास रोक्नका लागि थप सहयोग गर्ने विश्वास लिइएको छ । बढ्दो बाढीका घटनाहरूले पार्ने असरको कारण निम्तिएको तनावको सामना गर्नका लागि कमजोर क्षमता देखिएका विशेष गरी गरिब, कमजोर र सीमान्तकृत प्रभावित समुदायहरूलाई लक्षित गरेर निर्माण गर्न लागेको यो योजना तर्जुमा भएपछि कृषिमा आधारित आर्थिक आधारका योजनाका साथै व्यवसायिक गतिविधिहरूको वृद्धि हुने आशा राखिएको छ । समुदायको जीवन र जीविकोपार्जनमा सहयोगका लागि यस अध्ययनले रणनीतिक र योजना तर्जुमा गर्ने लक्ष्य राखिएको ईपीआईका सौमिन्द्र न्यौपानेले जानकारी दिए ।
सरोकारवाला निकाय र प्रतिनिधिहरूको सहभागितामा निर्माण हुन लागेको कमला बेसिनको जलस्रोत योजना तथा व्यवस्थापन अन्र्तगत मुख्यगरी जीवन र पर्यावरणीय गुणस्तर सुधार गर्ने, सर्वसाधारण उपभोक्ताहरूलाई गुणस्तरीय र उपयोगी खानेपानी व्यवस्थापनमा सुधार लगायतमा विषयमा केन्द्रित भएर अध्ययन हुने जलस्रोत विकास संस्थाका उपाध्यक्ष एवं जलस्रोत विज्ञ सोमनाथ पौडेलले जानकारी दिए । रणनीति अन्र्तगत  जलस्रोतको उपयोगहरूको नियमहरू निर्माण गर्नुका साथै महिला र पुरुषमा समानता, कमजोर र सीमान्तकृत प्रभावितहरूको निर्णय प्रकृयामा अभिवृद्धि गर्ने लक्ष्य छ । अध्ययन अन्र्तगतसरोकारवालाहरूको सहभागितामा योजना तर्जुमा, तथ्यांक संकलन र यसको परिदृष्य मुल्यांकनको समीक्षा गर्ने, बेसिनको लक्ष्य र मार्ग दिशाहरूको पहिचान गर्ने र बेसिन विकास रणनीति तयार गरिनेछ । कमला बेसिनमा पानीको कारण कृषि, जीविकोपार्जन र बसाईसराई, भुमि र सिञ्चाई, खानेपानी स्वास्थ्य र सरसफाई, भुसंरक्षण, जल उत्पन्न प्रकोप लगायतका मुद्दामा अवसर, चुनौती र अवको मार्गबारे समेत अध्ययन गर्ने लक्ष्य राखिएको छ ।
रणनीति तयार गर्नका लागि कमला बेसिनमा पर्ने सिन्धुली, उदयपुर, धनुषा र सिरहाका कमला नदीबाट प्रभावित स्थानीय निकायका जनप्रतिनीधि तथा सरोकारवालाहरूसँग सुझाव लिने कार्य समेत जारी रहेको । जलस्रोत विकास संस्थाका सदस्य एवं अध्ययन समूहका सदस्य बशिष्ठ अधिकारीले जानकारी दिए । उनका अनुसार, आर्थिक, सामाजिक र वातावरणीय विकासमा आधारित हुन अघि बढेको छ । प्रारम्भिक अध्ययनका अनुसार, १ सय ५० किलोमिटर क्षेत्रफल रहेको कमला बेसिनभित्र ५४ प्रतिशत जंगल, २६ प्रतिशत खेतीयोग्य जमीन, ५ प्रतिशत बगर, १ प्रतिशत बसोबास क्षेत्र रहेको देखिएको छ । 

Sunday, July 22, 2018

आठ जलविद्युत् आयोजनालाई 'पोष्टपेड रेट'

http://karobardaily.com/news/development/8106
आइतवार, श्रावण ६, २०७५
अर्थ मन्त्रालयले ५० करोड निकासा गरेपछि आठ जलविद्युत् आयोजनाले पोष्टपेड दर पाउने भएका छन् । २०६८ सालमा तत्कालीन सरकारले २०७१ सालसम्म निर्माण सम्पन्न हुने आयोजनालाई पोष्टपेड दर दिने निर्णय गरेकोमा सो अवधिमा निर्माण सम्पन्न १५ आयोजनामध्ये ८ आयोजनाले चार वर्षको पोष्टपेड दर पाउने भएका हुन् । 
२०६८ सालमा ऊर्जा मन्त्रालयले निजी जलविद्युत् कम्पनीले उत्पादन गरेका जलविद्युत् आयोजनाको विद्युत् खरिद दर (पीपीए) वर्षामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँ दिने निर्णय गरेपछि सो अवधिभन्दा केहीअघि निर्माण सम्पन्न आयोजनाले आफूलाई पोष्टपेड दर दिन माग गरेका थिए । ती आयोजनाले प्रति युनिट वर्षामा ४ र हिउँदमा ७ रुपैयाँ पाउँदै आएको र सो दरमा विद्युत् उत्पादन गर्न असम्भव भएको भन्दै निजी प्रवद्र्धकहरूले नयाँ पोष्टपेड दर मागेका थिए । “सरकारले गरेको निर्णय कार्यान्वयनका लागि हामीले ऊर्जा र अर्थ मन्त्रालयसँग बारम्बार आवाज उठाउँदै आएका थियौं, अहिले आएर बल्ल पाउने अवस्था सिर्जना भएको छ,” इप्पान उपाध्यक्ष कुमार पाण्डेले भने, “सरकारले प्रतिवद्धता जनाए अनुसार सबै आयोजनाहरूलाई यस्तो दर दिनुपर्छ, यसले निजी क्षेत्रलाई जलविद्युत् उत्पादनका लागि अझ उत्साहित बनाउँछ ।”
२०७१ सालदेखि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले पोष्टपेड दर दिनका लागि प्रत्येक वर्ष माग गर्दै आएको र ऊर्जा मन्त्रालयले दिने बताउँदै आएपनि आर्थिक वर्ष २०७४-०७५ को अन्तिम समयमा आएर बल्ल आठ आयोजनाहरूले पाउने भएका छन् । अर्थ मन्त्रालयले ५० करोड निकासा गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ३२ असारमा विद्युत् प्राधिकरणलाई पत्र लेख्दै ८ आयोजनाको आर्थिक वर्ष २०७१-०७२ देखि २०७४-०७५ सम्मको पोष्टपेड रेट पत्र लेखेको थियो । यसअघिका सबै अर्थ मन्त्री र ऊर्जामन्त्री पोष्टपेड रेट दिनका लागि रहेको बताउँदै आएपनि अर्थमन्त्री डा. युवराज खतिवडा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अएपछि कार्यान्वयनमा आउने भएकाले निजी क्षेत्र खुसी देखिएका छन् । 
ऊर्जा मन्त्रालयका अनुसार रुरु हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित ५ मेगावाटको अपर हुग्दी खोला जलविद्युत्ले ४ करोड ९८ लाख, भैरवकुण्ड जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको भैरवकुण्डले १ करोड १० लाख, आधीशक्ति पावर कम्पनीद्वारा प्रवद्र्धित ५ मेगावाटको तादीखोलाले ६ करोड र युनाइटेड मोदी कम्पनीद्वारा प्रवद्र्धित १० मेगावाटको लोअर मोदी १३ करोड पोष्टपेड दरवापत रकम पाउने भएका छन् । त्यसैगरी मैलुङखोला जलविद्युत् कम्पनीले निर्माण गरेको ५ मेगावाटको मैलुङ खोलाले ६ करोड १७ लाख, लाफिङवुद्ध कम्पनीले निर्माण गरेका ३.६ मेगावाटका दुई मिडिल चाकु र लोअर चाकुले १ करोड ९० लाख, राधी कम्पनीले निर्माण गरेको ४.४ मेगावाटको राधीखोलाले ६ करोड ५० लाख तथा सानिमा माई जलविद्युत् कम्पनीले निर्माण गरेको २२ मेगावाटको माईखोलाले १० करोड ३५ लाख रुपैयाँ बराबरको थप पोष्टपेड दरवापत पाउने भएका छन् । प्राधिकरणको खातामा अर्थ, ऊर्जा हुँदै रकम निकासा भैसकेकोले छिट्टै वितरण हुने प्राधिकरणले जनाएको छ । बाँकी पोष्टपेड रेट दिनुपर्ने आयोजनालाई कसरी दिने टुंगो लागेको छैन । केही जलविद्युत् प्रवद्र्धकहरूले भने आफूहरूले नपाएको भन्दै असन्तुष्टि जनाएका छन्

Thursday, July 19, 2018

कार्यान्वयनको पहिलो दिनमै बजेटविरुद्ध सरकार

http://karobardaily.com/news/development/8013
 बिहिवार, श्रावण ३, २०७५
आर्थिक बर्ष २०७५-०७६ बजेटमा सरकारले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको थियो । तर, बजेट कार्यान्वयन सुरु भएको पहिलो दिन अर्थात १ साउनमै आफ्नो बजेटविरुद्ध सरकारले निर्णय गरेको छ । 
६ वर्षअघि तत्कालीन ऊर्जा मन्त्रालय र चाइना थ्री–गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेष्टमेन्ट कर्पोरेसनबीच आयोजना अघि बढाउन भएको सम्झौता प्रक्रियागत र औपचारिक रूपमा रद्द नगरी सार्वजनिक बजेटमा स्वदेशी लगानीमा नै बनाउने निर्णय गरेको सरकारले सो निर्णय उल्टाएको हो । मंगलबार लगानी बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा तथा बोर्डका उपाध्यक्ष एवं अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितमा बोर्ड बैठकले स्वदेशी लगानीमा बनाउने निर्णयलाई लत्याएर पुनः चिनियाँ कम्पनीलाई दिने गरी प्रक्रिया अघि बढाएको हो । 
बैठकले चिनियाँ कम्पनीले उठाएका केही सर्तहरूबारे ऊर्जा र अर्थ मन्त्रालयको समन्वयमा दुई महिनाभित्र टुंग्याउन निर्देशन दिएको थियो तर बजेटमा भने स्वदेशी लगानीमा बनाउने उल्लेख गरेको थियो । सरकारले सार्वजनिक गरेर संसदबाट पारित बजेटलाई कानुन सरह मानिन्छ तर सरकारले यसलाई संशोधनसमेत नगरी बोर्ड बैठकमार्फत चिनियाँ कम्पनीसँगै प्रक्रिया अघि बढाउने निर्णय भएको छ । पूर्व मुख्यसचिव विमल कोइराला सार्वजनिक गरिएको बजेट कानुनसरह हुने भएकोले यसलाई संशोधन गर्न मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्ने बताउँछन् । “सामान्यतया बजेटमा उल्लेख गरेको कुरा कानुनसरह हो, त्यस अनुसारनै अघि बढ्नुपर्छ,” उनले भने, “मन्त्रिपरिषद्को निर्णयबिना यसलाई संशोधन र यसविरुद्ध निर्णय गर्न पाइँदैन, गर्नैपरे मन्त्रिपरिषद्ले निर्णय गरेपछि सार्वजनिक गर्नुपर्छ ।” 
आयोजना अघि बढाउनका लागि नेपाल विद्युत् प्राधिकरणका केही प्रावधान सुधार गर्नका लागि पत्र पठाएपछि लगानी बोर्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन गरी एउटा प्रतिवेदन दिएको थियो । तर, प्रतिवेदनबारे कुनै निर्णय नगरी र चिनियाँ कम्पनीसँग सम्झौता रद्द नगरी १५ जेठमा सरकारले सार्वजनिक गरेको बजेटमा भने पश्चिम सेती स्वदेशी लगानीमा बनाउने उल्लेख छ । बोर्डले समिति गठन गरेको र यसको प्रतिवेदन आइसकेको अवस्थामा सरकारले प्रतिवेदनमाथि कारवाहीसमेत अघि नबढाइ तथा चिनियाँ कम्पनीसँगको सम्झौता रद्द नै नगरी बजेटमै स्वदेशी लगानीमा बनाउने गरी सार्वजनिक गर्नुलाई सरकारको अपरिपक्व कदम भन्दै आलोचना भएको थियो । त्यसलगत्तै चिनियाँ विदेश मन्त्रालयले विज्ञप्तिनै जारी गरेर पश्चिम सेतीबारे सरकारसँग नेगोसिएसन चलिरहेको उल्लेख गरेको थियो भने त्यसलगत्तै चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले पश्चिम सेती आयोजनाबारे चिनियाँ कम्पनीसँग भएको सम्झौता कायमै रहेको बताएका थिए । सम्झौता रद्द नगरी कसरी सरकारले स्वदेशी लगानीमा बनाउने निर्णण गरेको भन्दै यसप्रति सरकारको आलोचनासमेत भएको थियो ।
२०६८ फागुनमा ऊर्जा मन्त्रालय र कर्पोरेसनबीच भएको सम्झौतामा ६ महिनाभित्र अध्ययन सकेर एक बर्षभित्र संयुक्त उपक्रम (जेभीए) गर्ने उल्लेख रहेकोमा २०७३ माघ ३ मा मात्र प्रारम्भिक जेभीए थियो । जेभीए भएपछि विद्युत् प्राधिकरणको २५ प्रतिशत र कम्पनीको ७५ प्रतिशत रहने गरी संयुक्त कम्पनी गठन हुनुपर्ने भएपनि हालसम्म बनेको छैन । पछिल्लो समयमा समयमा चिनियाँ कम्पनीले हाल विद्युत् प्राधिकरणले जलाशययुक्त आयोजनाले हिउँदमा ३५ प्रतिशत ऊर्जा उत्पादन नगरेमा जलाशयुक्त आयोजनामा लागि तोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) नपाउने तथा डलरमा पीपीए गर्दा १० बर्षसम्म मात्र भुक्तानी दिने व्यवस्थाले ७५० मेगावाटमै बनाउन नसकिने भएकोले यसलाई ६ सय मेगावाटमा क्षमता घटाउनुपर्ने लगायतका केही बुँदासहित बोर्डलाई पत्र लेखेको थियो । सोहीअनुसार प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा रहेको समितिले चिनियाँ कम्पनीले समयमै नबनाएकोले सु्झावको पहिलो नम्बरमा सम्झौता खारेज गरेर बास्केटमा ल्याई सरकारले बनाउने र अन्य सुझावमा एकपटक अन्तिम मौका दिने लगायतका सुझाव दिएको थियो । 
पौने २ खर्ब लागतमा निर्माण गर्न लागिएको आयोजना १७ बर्षसम्म स्मेक कम्पनीले अनुमतिपत्र लिएर निर्माण नगरेपछि खारेज गरिएको थियो । खारेज गरेपछि प्रतिस्पर्धामार्फत बनाउनका लागि प्रयास भएपछि ५ वर्षअघि सरकारले चिनियाँ कम्पनीलाई अनुमतिपत्र दिएको थियो । अपारदर्शी ढंगले अनुमतिपत्र दिएको भन्दै लामो समयसम्म यसमा विवाद समेत भएको थियो । लामो समयसम्म चिनियाँ कम्पनीले पश्चिमसेतीको काम अघि नबढाएपछि सुदुरपश्चिमवासीले स्वदेशी लगानीमा बनाउन माग गरेका थिए ।

Wednesday, July 18, 2018

वर्षभरिको लक्ष्य ८५०, उत्पादन १०४ मेगावाट

बुधवार, श्रावण २, २०७५
विद्युत् विकास विभागमार्फत २६ हजार २ सय ६८ मेगावाट बराबरका ५ सय १६ जलविद्युत् आयोजनाले अनुमतिपत्र (लाइसेन्स) पाएका छन् । ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजनाबाट नेपालको जलविद्युत् इतिहास सुरु भएर हालसम्म १ हजार ६१ मेगावाट मात्र विद्युत् उत्पादन भए पनि लाइसेन्स लिएका जलविद्युत् आयोजनाको संख्या र क्षमता यति धेरै रहेको हो । १ सय ७ वर्षको जलविद्युत् इतिहासमा उत्पादन बल्ल १ हजार मेगावाटमात्र नाघेकोमा हाल यति धेरै आयोजना सर्भेक्षण, उत्पादन लगायतका विभिन्न चरणमा हुनुलाई जलविद्युत् क्षेत्रमा सुन्दर भविष्यको रूपमा हेरिएको छ । विद्युत् विकास विभागमार्फत २६ हजार २ सय ६८ मेगावाट बराबरका ५ सय १६ जलविद्युत् आयोजनाले अनुमतिपत्र (लाइसेन्स) पाएका छन् । ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजनाबाट नेपालको जलविद्युत् इतिहास सुरु भएर हालसम्म १ हजार ६१ मेगावाट मात्र विद्युत् उत्पादन भए पनि लाइसेन्स लिएका जलविद्युत् आयोजनाको संख्या र क्षमता यति धेरै रहेको हो ।
१ सय ७ वर्षको जलविद्युत् इतिहासमा उत्पादन बल्ल १ हजार मेगावाटमात्र नाघेकोमा हाल यति धेरै आयोजना सर्भेक्षण, उत्पादन लगायतका विभिन्न चरणमा हुनुलाई जलविद्युत् क्षेत्रमा सुन्दर भविष्यको रूपमा हेरिएको छ । विद्युत् विकास विभागका अनुसार, १८ हजार २ सय ८ मेगावाट बराबरका ३ सय ११ जलविद्युत् आयोजनाले विद्युत् उत्पादनको सर्भेक्षण अनुमतिपत्र पाएका छन् भने ४ हजार ९ सय ७८ मेगावाट बराबरका १ सय ७८ आयोजनाले विद्युत् उत्पादनको अनुमतिपत्र पाएका छन् ।
त्यसैगरी ३ हजार ८२ मेगावाट बराबरका २७ आयोजनाले सर्भेक्षण सकेर उ्रत्पादनको अनुमतिपत्र पाउनका लागि आवेदन दिएका छन् । मंगलबार आयोजना विद्युत् विकास विभागको २५ औ रजत जयन्तीमा दिइएको जानकारी अनुसार, सर्भेक्षण अनुमतिपत्रका लागि ९ सय ८ मेगावाट बराबरको आवेदन परेको छ । विभागका महानिर्देशक नवीनराज सिंहले जलविद्युत् अनुमतिपत्रको व्यवस्थापनलाई सहज र सरल बनाएको बताउँदै विभाग जलविद्युत् प्रवद्र्धकहरूलाई सहजीकरण गर्न तयार रहेको बताए । “पछिल्लो समयमा जलविद्युत् आयोजनाहरूको लाइसेन्स लिनेको संख्या बढेको छ, विभागले यसमा सहजीकरण गरेको छ,” उनले भने ।
 २५ हजार मेगावाटलाई अनुमतिपत्रः मन्त्रीऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गरिछाड्ने बताउँदै यसका लागि २५ हजार मेगावाट बराबरका आयोजनालाई अनुमतिपत्र दिने बताए । “प्रसारण लाइनको गुरुयोजना निर्माण गरेर र जलविद्युत् आयोजनामा स्पष्ट रणनीति योजनाका साथ सरकार अघि बढेको छ,” उनले विभागको रजत जयन्तीमा भने, “अब एक हजार मेगावाट उत्पादन पु-याउन १ सय ७ वर्ष कुर्नुपर्दैन, १० वर्षभित्र १५ हजार मेगावाट उत्पादन गर्छौं ।”राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले सरकारले अघि बढाएको हरेक घर, ऊर्जा घरको नारालाई अघि बढाएको बताउँदै ऊर्जा विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । ऊर्जाका विविधीकरण र ऊर्जा प्रणालीलाई क्षेत्रीय रूपमा जोड्नेगरी सरकारले आफ्नो गृहकार्य अघि बढाएको बताए । कार्यक्रममा मन्त्री पुन र सदस्य ओलीले आर्थिक वर्ष २०७४-०७५ मा विद्युत् उत्पादन गर्ने १५ जलविद्युत् प्रवद्र्धकका साथै विभाग र ऊर्जा मन्त्रालयका पूर्वसचिवहरू, सह–सचिवहरू, महानिर्देशक, उमहानिर्देशक लगायतका कर्मचारीहरूलाई सम्मान गरेका थिए ।
 ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्यायले ऊर्जा क्षेत्रका कायम गर्नका लागि धेरै निकायहरू खडा भएको बताउँदै यसको विकास लागि एउटै निकायको खाँचो रहेको बताए । मन्त्रालयका अर्का सचिव डा. सञ्जय शर्माले ऊर्जाको विकासका लागि सरकारले अनुसन्धान र विकास केन्द्र बनाउनुपर्ने बताउँदै वहुउद्देश्यीय आयोजना अघि बढाउन र सम्भाव्यता अध्ययनको पुनरावालेकन गर्न विभागको क्षमता अभिवृद्धि गर्नुका साथै लगानी प्रवद्र्धनको वातावरण बनाउन विभाग अघि बढ्नुपर्ने बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले कुनै बेला वर्षभरिका २.४ मेगावाटको एउटा मात्र जलविद्युत् आयोजनाहरू निर्माण भएको सरकारले सार्वजनिक गर्ने बजेटमा उल्लेख हुने लाजमर्दो अवस्था रहेको बताउँदै अहिले निजी क्षेत्रबाट मात्र बर्सेनि दर्जनभन्दा बढी उत्पादन हुनुले जलविद्युत्को भविष्य सुन्दर देखिएको बताए । सरकारले स्वदेशी लगानीकर्तालाई प्रोत्साहन दिएर अघि बढ्न सके बढी विद्युत् उत्पादन भएर यसमार्फत देशमा आर्थिक सम्वृद्धि हुन सक्ने बताए । 
वर्षभरिको उत्पादन १०४ मेगावाटराष्ट्रिय योजना आयोगले तयार पारेको त्रिवर्षीय योजनामा आर्थिक वर्ष २०७४-०७५ भित्र ८ सय ५० मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको थियो भने नेपाल विद्युत् प्राधिकरणले २ सय ५० मेगावाट बराबरको लक्ष्य राखेको थियो । तर, गत वर्ष १ सय ४ मेगावाटमात्र विद्युत् उत्पादन भएको छ । गत वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेपनि सम्पन्न भएन भने निजी क्षेत्रका केही आयोजनाहरू पनि सम्पन्न भएनन् ।
आर्थिक वर्ष २०७३-०७४ मा आयोजनाको त्रिवर्षीय लक्ष्यमा २ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेपनि १ सय १६ मेगावाट विद्युत् उत्पादन भएको थियो । विद्युत् विभागका अनुसार विद्युत् प्राधिकरण प्रवद्र्धक रहेको ३० मेगावाटको चमेलियाबाहेक निजी क्षेत्रबाट मन्दकिनी हाइड्रोपावर प्रवद्र्धक रहेको ४ मेगावाटको सर्दिखोला, सिवानी हाइड्रोपावर प्रवद्र्धक रहेको ४.९५ मेगावाटको फावाखोला र माउण्ट कैलाश इनर्जी प्रवद्र्धक रहेको १३.६० मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । यसैगरी, सिक्लेस हाइड्रोपावर प्रवद्र्धक रहेको १३ मेगावाटको मदक्यु खोला, पन्चकन्या हाइड्रो पावर प्रवद्र्धक रहेको ६.१० मेगावाट अप्पर माईसी, ईलाम दिव्यश्वरी हाइड्रो पावर प्रवद्र्धक रहेको ४ मेगावाटको सभखोला, पुवाखोला १ हाइड्रोपावर प्रवद्र्धक रहेको ४ मेगावाटको पुवाखोला १ र गर्ज्याङ उपत्यका हाइड्रोपावर प्रवद्र्धक रहेको २.८३ मेगावाटको चाके खोला र युनियन हाइड्रोपावर प्रवद्र्धक रहेको ३ मेगावाटको मिदिम जलविद्युत् आयोजना गत वर्ष सम्पन्न भएका छन् ।
 मोलुङ हाइड्रोपावर प्रवद्र्धक रहेको ७ मेगावाटको मोलुङ, हिमाल दोलखा हाइड्रोपावर प्रवद्र्धक रहेको ८ मेगावाटको माइसाना क्यासकेड, भोलुङ इनर्जी प्रवद्र्धक रहेको ३.७५ मेगावाटको द्धारी खोला, द्रोणन्चल हाइड्रोपावर प्रवर्द्धक रहेको ०.६० मेगावाटको ढुंगे जीरी तथा सिउरी भुमे माइक्रो हाइड्रो प्रवर्द्धक रहेको ०.२३ मेगावाटको सिउरी भुमे जलविद्युत् आयोजना पनि गत वर्ष सम्पन्न भएको छ । योजना आयोगले भने चालु वर्षमा चार सय मेगावाट बराबरका आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । 
अनुमतिपत्र            मेगावाट
दरखास्त सर्भेक्षण         ९०८
सर्भेक्षण                १८२०८  
दरखास्त उत्पादन         ३०८२  
उत्पादन                ४९७८ 
सञ्चालन                १०६१ 
स्रोतः विद्युत् विकास विभाग

नारायणी–कोसी–गंगा नदी हुँदै बंगलादेशसम्म जल यातायात

http://karobardaily.com/news/country/7995
बुधवार, श्रावण २, २०७५
नेपालमा जल यातायात नारायणी र कोसीमार्फत गंगा नदीबाट भारतको हल्दिया हुँदै बंगलादेश र अन्य मुलुकसँग जोडिने प्रचुर सम्भावना रहेकोमा नेपाल र भारतीय अधिकारीहरू सहमत भएका छन् । 
आइतबार र सोमबार जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेल्वासे र भारतीय अन्तर्देशीय जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रवीर पाण्डे नेतृत्वको टोलीबीच काठमाडौँमा भएको छलफलमा दुवै पक्ष सहमत भएका हुन् । नेपालको नारायणी र कोसीमार्फत गंगा नदी हुँदै बंगलादेशसम्म जल यातायात पुराउन सकिने र यसबाट उल्लेखनीय आर्थिक विकासमा सहयोग पुग्ने कुरामा दुवै पक्ष सहमत देखिएको ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेल्वासेले जानकारी दिए । 
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा दुई देशबीचको जल यातायातको सम्भावना रहेको उल्लेख भएकोमा यसबारे थप छलफल गर्नका लागि भारतीय टोली नेपाल आएको थियो । छलफलमा जल यातायातका विभिन्न आयाम तथा सम्भावनाको सम्बन्धमा छलफल भएको थियो । छलफलको क्रममा नेपाली टोलीको तर्फबाट नेपालमा जल यातायातको सम्भावना र हालसम्मका गतिविधि सम्बन्धमा प्रस्तुति गरिएको थियो भने भारतीय पक्षले जलमार्ग सम्बन्धमा विशेषगरी जलमार्ग विकास परिमार्जनअन्तर्गतको कलकताबाट वाराणासीसम्मको १४ सय किलोमिटर लम्बाइमा भइरहेको जल यातायातसम्बन्धी गतिविधि तथा नेपालका नारायणी तथा कोसी नदीमा जल यातायातको सम्भावना तथा गतिविधि सम्बन्धी गरेको थियो । 
वार्तामा नेपाली तथा भारतीय पक्षबाट यससम्बन्धी काम कारबाही तुरुन्त अगाडि बढाउन दुवै पक्षबाट आ–आफ्नो तर्फको प्राविधिक टोली गठन गरी यथाशीघ्र अघि बढाउने गरी अघि बढ्न सहमत भएका छन् । छलफलमा दुवै पक्षलाई सुविधा हुने समय छनोट गरी नेपाली प्राविधिक टोलीबाट भारतको गंगा नदीको हाल निर्माणाधीन कोलकता हल्दियास्थित वाराणसी जलमार्ग खण्डको अध्ययन भ्रमण गर्ने तथा यससम्बन्धी थप अनुभव हासिल गर्ने तथा भारतीय पक्षको विशेषज्ञ सम्मिलित प्राविधिक टोलीबाट नेपालतर्फ कोसी तथा नारायणी नदीमा जल यातायातको स्थलगत अध्ययन गरी दुवै पक्षबीच छलफल गर्ने सहमति भएको सहसचिव बेल्वासेले जानकारी दिए । उनका अनुसार दुवै टोलीको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा दुवैपक्ष बीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ । 
नेपाल तथा भारतबीच जल यातायात विकासको विधि र मोडालिटिका साथै भारतीय पक्षबाट नेपाललाई आवश्यक पर्ने जनशक्तिलाई तालिम तथा संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक पर्ने सहयोग गर्न सकिने लगायतमा छलफल भएको थियो ।

पश्चिम सेती चिनियाँ कम्पनीलाई नै

http://karobardaily.com/news/development/7952
बुधवार, श्रावण २, २०७५
बजेटमा पश्चिम सेती जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरिए पनि प्रधानमन्त्री नेतृत्वको लगानी बोर्ड चिनियाँ कम्पनीलाई नै दिन लचिलो देखिएको छ । मंगलबार बसेको बैठकले चिनियाँ कम्पनीले उठाएका केही सर्तबारे ऊर्जा र अर्थ मन्त्रालयको समन्वयमा दुई महिनाभित्र टुंग्याउने निर्णय गरेको छ । सरकारले बजेटमा स्वदेशी लगानीमा नै बनाउने निर्णय गरेपछि चिनियाँ विदेश मन्त्रालयले आयोजनाको अनुमतिपत्र कम्पनीसँगै रहेको जिकिर गरेको थियो । 
आयोजना अघि बढाउन विद्युत् प्राधिकरणका केही प्रावधान सुधार हुनुपर्ने शर्त राखेपछि लगानी बोर्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन गरी एउटा प्रतिवेदन दिएको थियो । तर, यसबारे लगानी बोर्डले कुनै निर्णय नगरी बजेटमा स्वदेशी लगानीमा बनाउने उल्लेख थियो । वैठकले खुला प्रतिस्पर्धामार्फत काठमाडौंको फोहोर व्यवस्थापनका लागि छनोट भएको कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय पनि गरेको छ ।
यसका लागि लगानी बोर्डलाई अख्तियारी दिएको छ । काठमाडौं महानगरपालिकासहित १० नगरपालिकाको फोहोर व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय खुला प्रतिस्पर्धामार्फत छनोट भएको नेपवेष्ट र लगानी बोर्डबीच गत फागुनमा प्रारम्भिक पीडीए भएको थियो । बैठकले नेपालको सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि २० करोड अमेरिकी डलर वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।

Tuesday, July 17, 2018

लागू नहुँदै धितोपत्र बोर्डको निर्देशिका संशोधन

http://karobardaily.com/news/economy/7915
मंगलबार, श्रावण १, २०७५
धितोपत्र बोर्डले लागू नहुँदै सूचीकृत संगठित संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७४ संशोधन गरेको छ । 
धितोपत्र बोर्डले कर्मचारी, लेखा परीक्षक, सल्लाहकार, कार्यकारी प्रमुख, बिमा सर्भेयर, बिमा दलाल, बिमा अभिकर्ता वा तेस्रो सहजकर्ता तथा एउटा कम्पनीमा कार्यरत सञ्चालक कुनै कम्पनीको अध्यक्ष वा सञ्चालक हुन नपाउने व्यवस्थासँगै धेरै मन्त्रालयका सचिव, सरकारी संस्थाका प्रमुख र प्रतिनिधिहरू कम्पनीहरूमा अध्यक्ष वा निर्देशक रहेकोमा यसलाई संशोधन गरी बस्न पाउने व्यवस्था गरिएको हो । निर्देशिका कार्यान्वयन भएमा १ साउन २०७५ देखि उनीहरूले पदबाट राजीनामा दिनुपर्ने भए पनि धितोपत्र बोर्डले एक दिनअघि अर्थात् सोमबार निर्देशिका संशोधन गरेर सरकारले नियुक्त नगरेका कर्मचारीको हकमा बस्न पाउने व्यवस्था गरिएको छ । “पहिलोपटक निर्देशिका ल्याएकोले यसमा कडा गरेका छैनौ, सरोकारवालासँगको छलफलपछि सोमबार शंसोधन गरिएको छ,” धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरिले भने । 
सञ्चालकले अन्य कुनै पनि संस्थाको तलबी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्नु हुँदैन भन्ने व्यवस्था रहेकोमा यसलाई संशोधन गरी सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचीकृत संस्थाको सञ्चालक, तलबी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्न नहुने तथा सरकारले नियुक्त गरेका कर्मचारीको हकमा यो व्यवस्था लागू नगरिने गरी संशोधन गरिएको छ । कुनै संस्थाको सहायक कम्पनी भएमा त्यस्तो सहायक कम्पनीमा मुख्य कम्पनीमा मुख्य संस्थाको प्रतिनिधिको रूपमा सञ्चालक नियुक्त गर्न सकिने व्यवस्थासमेत निर्देशिकाले गरेको छ । यसअघिको निर्देशिकामा बस्न नपाइने व्यवस्था थियो । बोर्डले निर्देशिका परिपालन भए नभएकोबारे प्रतिवेदन तयार पारेर सञ्चालक समितिबाट स्वीकृत तथा लेखा परीक्षकबाट प्रमाणित गराएर सो प्रतिवेदन संस्थाको वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने, कुनै सूचीकृत संस्थाबाट पारिश्रमिक र अन्य सुविधा प्राप्त हुने गरी पदमा बहाल रहेको व्यक्ति अर्को सूचीकृत संस्थाबाट पारिश्रमिक र अन्य सुविधा पाउने गरी नियुक्त हुन नसक्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्ति गर्दा प्रचलित कानुनबमोजिम गर्नुपर्ने गरी बोर्डले निर्देशिका संशोधन गरेको छ । 
संस्थामा सञ्चालकको संयोजकत्वमा एक लेखा परीक्षण समिति गठन गर्नपर्ने, खरिद प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन प्रत्येक संस्थाले खरिद विनियमावली/कार्यविधि बनाई लागू गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । त्यसैगरी धितोपत्रको मूल्यमा असर पर्नसक्ने संवेदनशील निर्णय नियमित रूपमा सार्वजनिक गर्नुपर्ने, सञ्चालक समितिमा एकाघर परिवार बसोबास गरी आएका वा छुट्टाभिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा वा आफूले पालन पोषण गर्नुपर्ने दाजुभाइ तथा दिदी बहिनीबाट एकभन्दा बढी सञ्चालक नियुक्त भएको अवस्थामा सो सम्बन्धमा वार्षिक प्रतिवेदनमा उल्लेख गर्नुपर्ने तथा पाँच हजार कित्तासम्म सेयर लगानी गर्ने तथा चुक्ता पुँजी पाँच लाख रकम लगानी गर्ने लगानीकर्तालाई साना लगानीकर्ता भन्ने व्यवस्था रहेकोमा संशोधन गरी चुक्तापुँजीमा ५० हजार रुपैयाँ लगानी गर्ने लगानीकर्तालाई साना लगानीकर्ता भन्ने लगायतका संशोधन बोर्डले निर्देशिकामा गरेको छ ।

बल्ल बन्यो २२० केभीको पहिलो सबस्टेसन

http://karobardaily.com/news/development/7903
मंगलबार, श्रावण १, २०७५
भारतसँग विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको २२० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भएको छ । शनिबार र आइतबार १६० केभीएका दुई ट्रान्सफर्मरमा चार्ज भएसँगै नेपालको २२० केभीको सबस्टेसनको निर्माण सम्पन्न भएको छ । यो नै नेपालको सबैभन्दा ठूलो सबस्टेसन हो । हाल १८ वटा १३२-३३ केभीका १८ र ६६ केभीका ७ सबस्टेसन मात्र निर्माण सम्पन्न भएका  छन् । भारतसँग विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको २२० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भएको छ । शनिबार र आइतबार १६० केभीएका दुई ट्रान्सफर्मरमा चार्ज भएसँगै नेपालको २२० केभीको सबस्टेसनको निर्माण सम्पन्न भएको छ । 
यो नै नेपालको सबैभन्दा ठूलो सबस्टेसन हो । हाल १८ वटा १३२-३३ केभीका १८ र ६६ केभीका ७ सबस्टेसन मात्र निर्माण सम्पन्न भएका  छन् । “ढल्केबर हालसम्म विद्युत् प्राधिकरण सबस्टेसनको संरचनामध्ये सबैभन्दा ठूलो हो,” नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, “यो निर्माणसँगै अब भारतसँग आफ्नै सबस्टेसनबाट साढे २ मेगावाटसम्म विद्युत् आयात गर्न सहज भएको छ ।” तीन वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने आयोजनाको काम समयमै नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का सम्झौता तोडेर भारतीय कम्पनीलाई दिइएको थियो । 
समयमै सबस्टेसन नबन्दा विद्युत् प्राधिकरणले अस्थायी ट्रान्सफर्मर राखेर ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रशारण लाइनमार्फत हिउँदमा १४५ मेगावाटसम्म विद्युत् आयात गर्दै आएको छ । अस्थायी ट्रान्सफर्मर राखेवापत नेपालले बार्षिक एक करोडभन्दा बढी तिर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणले सबस्टेसन निर्माण गर्न २०७१ जेठ २९ गते चीनको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।
करिब ८५ प्रतिशत निर्माण पूरा भएपछि विविध बहानामा चिनियाँ कम्पनीले काम रोक्दै आएको थियो । निर्माण अवधि प्रभावित हुने भएपछि प्राधिकरणले २०७४ असोज ६ गते चिनियासँग सम्झौता रद्द गरी बाँकी काम पूरा गर्न भारतको टेलमस र इम्को कम्पनीलाई जिम्मा दिइएको थियो । 
दुवै ट्रान्सफर्मर चार्ज भएको जानकारी दिँदै नेपाल भारत विद्युत् प्रशारण तथा व्यापार आयोजनाका प्रमुख राधेश्याम महतोले १२ दिनभित्र सबस्टेसनसँग ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रशारणलाइन लगायत जोडिने लगायतका अन्य काम सम्पन्न हुने जानकारी दिए । “२२० केभी सबस्टेसनसँग प्रशारणलाइन जोड्न बाँकी छ, अब करिब १२ दिनभित्र सो काम सकिन्छ, त्यसपछि मात्र २२० केभीको सबस्टेसनको काम पुरा भएको मान्न सकिन्छ” उनले भने ।
प्राधिकरणले २२० केभी सबस्टेसनलाई ४ सय केभी क्षमता वृद्धि गर्न समेत लागेको छ । हाललाई भने ४ सय केभी ढल्केबर–मुजफ्फरपुुर अन्तरदेशीय प्रसारण लाइन २२० केभीमा चार्ज गरिने योजना छ ।

Saturday, July 14, 2018

सरकारी कर्मचारी कम्पनीका सञ्चालक बन्न नपाउने

आइतवार, असार ३१, २०७५http://karobardaily.com/news/country/7814
काठमाडौं-ऊर्जा सचिव अनुपकुमार उपाध्याय जलविद्युत् लगानी तथा विकास कम्पनी, उत्पादन र राष्ट्रिय ग्रीड कम्पनीको अध्यक्ष छन् । तर, साउन १ गतेदेखि उनले सो पदबाट राजीनामा दिनुपर्नेछ । सचिव उपाध्यायमात्र होइन, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ दूरसञ्चार कम्पनीको अध्यक्ष छन् भने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चिलिमे, माथिल्लो तामाकोसीका साथै प्राधिकरणले निर्माण गरेका एक दर्जन कम्पनीको अध्यक्ष छन् । उनले पनि साउनदेखि यी पदबाट राजीनामा दिनुपर्नेछ ।
धितोपत्र बोर्डले कर्मचारी, लेखापरीक्षक, सल्लाहकार, कार्यकारी प्रमुख, बिमा सर्भेयर, बिमा दलाल, बिमा अभिकर्ता वा तेस्रो सहजकर्ता तथा एउटा कम्पनीमा कार्यरत सञ्चालक कुनै कम्पनीको अध्यक्ष वा सञ्चालक हुन नपाउने व्यवस्थासँगै यस्तो अवस्था सिर्जना भएको हो । 
आर्थिक बर्ष २०७५/०७६ को १ साउनदेखि लागू हुने गरी धितोपत्र बोर्डले ल्याएको सूचीकृत संगठित संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७४ को दफा १४ को उपदफा ५ मा ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल अन्य कुनै संस्थाका लेखा परीक्षक, सल्लाहकार, कार्यकारी प्रमुख, कर्मचारी, बिमा सर्भेयर, बिमा दलाल, बिमा अभिकर्ता वा तेस्रो पक्ष सहजकर्ता भई कार्य गर्न पाउने छैन’ भन्ने उल्लेख छ । यो व्यवस्थाअनुसार अब कुनै पनि व्यक्ति दुईतिर बस्न पाइदैन । अहिले सरकार र सरकारी संस्थानले गठन गरेका कम्पनी र सहायक कम्पनीहरूमा अधिकांश सञ्चालक ती मन्त्रालय वा संस्थानका प्रमुख तथा कर्मचारी छन् । 
बढी सेयर रहेका अधिकांश सरकारी मन्त्रालय, संस्थान र अन्य निजी क्षेत्रमा पनि हाल एउटै व्यक्ति विभिन्न कम्पनी सञ्चालक र अध्यक्ष, निर्देशक रहँदै आएका छन् । “२०७५ साउन १ गतेदेखि लागू हुनेगरी धितोपत्र बोर्डले ल्याएको निर्देशिकाअनुसार अब कर्मचारी कुनै कम्पनीको सञ्चालक समितिमा बस्न पाउँदैनन्,” धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरिले भने, “संस्थागत प्रतिनिधित्व हुने ठाउँमा यो व्यवस्था राख्दा समस्या आउने गुनासो आएकोले यसबारे आज आइतबार छलफल गर्दैछौं, आवश्यक परेमा यसको संशोधन पनि गर्न सकिनेछ ।” उनका अनुसार विद्यमान व्यवस्थापनले भने कुनै पनि कर्मचारी कुनै पनि कम्पनीको सञ्चालक समितिमा बस्न पाइँदैन । यो व्यवस्था लागू भएमा सरकारको शतप्रतिशत स्वामित्वमा रहेको कम्पनीमा को अध्यक्षदेखि सञ्चालक राख्ने समस्या देखापर्छ भने निजी क्षेत्रले गठन गरेको कुनै कम्पनीले गठन गरेको सहायक कम्पनीको सञ्चालक चयनमा समेत समस्या पर्नेछ । बजारलाई व्यवस्थित, पारदर्शी तथा जवाफदेही बनाउने हेतुले निर्देशिका ल्याइएको धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की बताउँछन् ।
जलविद्युत् प्रवद्र्धकको असन्तुष्टि
जलविद्युत् प्रवद्र्धकहरूले भने बोर्डले ल्याएको सूचीकृत संगठित संस्थागत सुशासनसम्बन्धी निर्देशिकाप्रति असन्तुष्टि जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले निर्देशिकाले बजारमा रहेका अनेकौं असहजतालाई सहज पार्ने तथा अस्पष्टतालाई स्पष्ट पार्ने जमर्को गरेपनि जलविद्युत् उत्पादक कम्पनीहरूको लागि केही जटिलता तथा अस्पष्टता थपेको भन्दै असन्तुष्टि जनाएको हो । “निर्देशिकामा गरिएका केही व्यवस्थाले जलविद्युत् आयोजनामा लगानी गर्नका समस्या निम्त्याउँछ, आफैंले खोलेको सहायक कम्पनीमा निर्देशक बन्न नपाउँदा समस्या हुनसक्छ,” इप्पान अध्यक्ष शैलेन्द्र गुरागाईले भने । उपाध्यक्ष कुमार पाण्डे पनि निर्देशिकाले जलविद्युत् लगानीकर्तालाई निरुत्साहित हुने बताउँछन् । तर, धितोपत्र बोर्डका निर्देशक मुक्तिनाथ श्रेष्ठ जलविद्युत् क्षेत्रबाट यसमा केही सुझाव आएको र अप्ठेरो भएमा पुनरावलोकन गर्न सकिने बताउँछन् ।

Wednesday, July 11, 2018

जलविद्युत्मा वातावरण अध्ययन झन् लम्ब्याइँदै

बुधवार, असार २७, २०७५
पुस्तिकाका प्रावधान थप झन्झटिला
“१० वर्षभित्र १५ हजार मेगावाट विद्युत् र जलविद्युत्मार्फत आर्थिक समृद्धिको नारा अघि सारेको सरकारले नै आफ्नो लक्ष्यविपरीत जलविद्युत् आयोजनाको वातावरण अध्ययन प्रभाव अध्ययन प्रक्रिया लम्ब्याउने प्रावधान अघि सारेको छ । “१० वर्षभित्र १५ हजार मेगावाट विद्युत् र जलविद्युत्मार्फत आर्थिक समृद्धिको नारा अघि सारेको सरकारले नै आफ्नो लक्ष्यविपरीत जलविद्युत् आयोजनाको वातावरण अध्ययन प्रभाव अध्ययन प्रक्रिया लम्ब्याउने प्रावधान अघि सारेको छ । जलविद्युत्मा वातावरण अध्ययन प्रक्रियाको स्वीकृतिका लागि लामो समय लाग्ने गरेको र यसले जलविद्युत् आयोजनाको विकासमा असर पारेको भन्दै आलोचना भइरहेका बेला वन तथा वातावरण मन्त्रालयले पहिलाको प्रक्रियाभन्दा दोब्बर समय लाग्ने गरी जलविद्युत् पर्यावरण प्रभाव मूल्यांकन पुस्तिका (म्यानुयल) निर्माणमार्फत यस्तो प्रावधान अघि सारेको हो । पुस्तिकामा हालको रहेको वातावरण प्रभाव मूल्यांकन (ईआईए) को प्रक्रिया, समय र लागत दोब्बरभन्दा बढी लाग्ने गरी मस्यौदा तयार गरिएको छ । 

मूल्यांकन पुस्तिका तयार भएर वन तथा वातावरण मन्त्रिस्तरीय निर्णयबाट पारित गर्ने गरी यो अन्तिम चरणमा पुगेको छ । पुस्तिका पारित भएमा हाल सबै प्रक्रिया पूरा गरेर ईआईए पारित गर्न औसतमा दुई वर्ष लाग्ने गरेकोमा कम्तीमा चार वर्ष लाग्ने र जलविद्युत् आयोजनाको लागत समेत बढ्ने वातावरण विज्ञहरू बताउँछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनः र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् तथा पूर्वाधार विकासमा आयोजनामा रुख कटानी तथा ईआईएमा देखिएको समस्या समाधान गर्ने सार्वजनिक घोषणा गरेको एक महिनामात्रै पुगेको छ । तर, एक्कासी यस्तो प्रावधानसहित पुस्तिका पारित गर्ने अन्तिम तयारीमा पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । विश्व बैंकको सहयोगमा अर्थ र वन तथा वातावरण मन्त्रालयले तयार पारिएको पुस्तिकामा अधिकांश प्रावधान नेपाली अभ्यास र अनुभवभन्दा पनि अमेरिकालगायतका विकसित र अफ्रिकन मुलुकहरूको समावेश गरिएको छ । अर्थ मन्त्रालयले पुस्तिका छिटो पारित गर्न दबाब दिईरहेको मन्त्रालय स्रोतले जनाएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष शैलेन्द्र गुरागाईं जलविद्युत् आयोजनाहरूले थेग्न नसक्ने गरी प्रावधान राख्न लागेको जानकारी आएको बताउँछन् । “आयोजना बनाउन होइन रोक्नका लागि सहजीकरण गर्ने गरी प्रावधान आउन लागेका छन्, आयोजनाले थेग्न नसक्ने गरी प्रावधान राखिएको देखिएको छ,” उनी भन्छन्, “स्थानीय वन, तहदेखि केन्द्रका अधिकांश मन्त्रालयसँग स्वीकृति लिने गरी प्रक्रिया लम्बिँदा १५ हजार मेगावाट विद्युत् बनाउने योजना सरकारले कसरी पूरा गर्ला, आश्चर्य लागेको छ ।” तर वन तथा वातावरण मन्त्रालयका सह–सचिव एवं प्रवक्ता धनञ्जय पौडेल भने ईआईएलाई वातावरण संरक्षण समेतलाई ध्यान दिइ समयसापेक्ष बनाउन लागेको बताउँछन् । “ईआईएलाई वातावरण संरक्षणलाई समेत ध्यान दिई समय सापेक्ष बनाउन लागिएको हो,” उनी भन्छन् । प्राप्त पुस्तिकाअनुसार, हाल ईआईएका लागि विस्तृत स्थलगत कार्यको काम वर्षमा जुनसुकै बेला पनि एक पटक गरे पुग्नेमा अहिले मनसुन, मनसुनपूर्व, मनसुनपश्चात र हिउँदमा गर्ने गरी चारपटक गर्नुपर्ने प्रावधान राखिएको छ । जसको कारणले पहिलाभन्दा दोब्बर समयका साथै चार गुणा बढी मानवीय स्रोतको उपयोग गर्नुपर्ने अवस्था आएको छ । आवश्यकताको आधारमा जलविद्युत्का विभिन्न पारामिटर (परिमिति) को सार्वजनिक चासो र विज्ञहरूको फिल्ड भ्रमणको आधारमा गर्ने विद्यमान व्यवस्था रहेकोमा नयाँ पुस्तिकामा सबै अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तोकिएका अधिकांश पारामिटर विकसित राष्ट्रहरूमा लागू गरिएका हुन् । भौतिक र रासानिक वातावरणतर्फ हाइड्रोलोजी तथा स्ट्रिम फ्लोज, वालुवा, वायु गुणस्तर र हल्लाको स्तर लगायतका नौ, जैविक पर्यावतरणतर्फ इको सिष्टम लगायतका तीन, सामाजिक–आर्थिक वातावरणतर्फ सामुदायिक स्तर, आर्थिक र रोजगारी अवसर लगायतका ११, सांस्कृति सम्पदातर्फ सांस्कृतिक सम्पत्तिलगायतका चार पारामिटरका साथै वातावरण प्रवाह पारामिटर उल्लेख गरिएका छन् । केही व्यस्त सहर र बजार क्षेत्रमा वायु प्रदुषण लगायतका कतिपय प्रावधानबारे अध्ययन गर्नुपर्ने भएपनि सबै ठाउँमा यस्ता प्रावधानहरू राख्दा यसले अध्ययनका लागि बढी समय लगाउने विज्ञहरूको भनाइ छ ।

नदी स्वास्थ्य मूल्यांकनका लागि नेपालमै नेपाल वायोटिक इस्कोर र गंगा रिभर सिष्टम वायोटिक स्कोर विधि भएपनि पुस्तिकामा अमेरिकी संस्था स्मिथसोनियमको प्रावधान उल्लेख छ, जुन नेपालसँग सान्र्दभिक नभएको विज्ञहरूको तर्क छ । पुस्तिकामा उल्लेख भए सामाजिक तथा आर्थिक सर्भेक्षण फाराममा नेपालको भुगोलमा रहेको वनस्पति र प्रजातीभन्दा अफ्रिका लगायतका देशमा पाइने सिनट्स, दावा, माहोग्यानी, केसाभा, आक्रोबा लगायत उल्लेख छन् । जुन, नेपालमा पाइँदैन भने त्यो फर्म सार्वजनिक रूपमा भर्नुपर्ने व्यवस्था गरिएको छ । “वन तथा वातावरण मन्त्रालयले तयार पारेको भनेपनि पुस्तिकामा रहेका अधिकांश प्रावधानहरू नेपालीभन्दा पनि कुनै विदेशी मुलुकको नक्कल गरेको र हाम्रो देशको सन्र्दभमा असान्दर्भिक देखिन्छन्,” एक वातावरण विज्ञले भने, “यसले नेपालको जलविद्युत् विकासलाई धेरै पछाडि धकेल्छ ।”पहिला ८ भागमा छुट्टाछुट्टै रूपमा पुस्तिका भएपनि सबैलाई समेट्ने गरी मन्त्रालयले एउटा पुस्तिका बनाउन लाग्नु सकारात्मक भएपनि अधिकांश स्वदेशीभन्दा पनि विदेशीलाई मिल्ने प्रावधानसहित आउन थालेपछि जलविद्युत् क्षेत्रका विकासकर्ताहरू भने प्रक्रिया झन झन्झटिलो बनने भन्दै त्रसित बनेका छन् ।

बूढीगण्डकीमा १५ प्रतिशतसम्म मुआब्जा वृद्धि गर्न माग

मंगलबार, असार २६, २०७५
बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जा निर्धारण गर्दाको निर्णयभन्दा १५ प्रतिशतसम्म मुआब्जा वृद्धि गर्न माग गरेको छ । 
बुधबार विज्ञप्ति जारी गर्दै समितिले मुआब्जा निर्धारण गर्दाको निर्णयअनुसार ५ रोपनीमात्रै जग्गा हुनेलाई १५ प्रतिशत र १० रोपनी जग्गा हुनेलाई १० प्रतिशत मुआब्जा बढाएर दिने व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेको हो ।
समितिका अध्यक्ष हरेराम ढकालद्वारा सोमबार जारी विज्ञप्तिमा मुआब्जा वितरणमा ढिलाइ भई डुबानवासी मर्कामा पर्ने भएकाले मुआब्जा रकममा वार्षिक मूल्यवृद्धि समायोजन गरेर वितरण गर्न पनि माग गरिएको छ । मुआब्जा समितिले घरबस्ती भएको र सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा प्रतिरोपनी ७ लाख ७३ हजार तोके पनि हाल त्यस्ता जग्गाको मुआब्जा अब्बल, दोयम, सिम र चाहार वर्गीकरणकै आधारमा वितरण गरेर बूढीगण्डकी आयोजना वातावरण, पुनर्वास तथा पुनःस्थापना इकाईले ठगेको आरोप लगाउँदै जग्गालाई मुआब्जा समितिले तोकेअनुसार नै घर बस्ती र सहायक मोटरबाटोले छोएको जग्गाकै रूपमा मुआब्जा वितरण गर्न, मुआब्जा तोक्न बाँकी गोरखाको आरुघाट र आर्खेत तथा धादिङको आरुघाट र खहरे बजारको तत्काल मुआब्जा दररेट सार्वजनिक गर्न तथा सरकारलाई दिएको जग्गामा लगाइएको पुँजीगत लाभकर हटाउन पनि माग गरेको छ । 
डुबान क्षेत्रका भूमिहीन र सुकुम्वासीलाई पनि बसोबास गरिरहेको जग्गाको मुआब्जा दिने निर्णय मन्त्रिपरिषद्ले गरिसके पनि त्यसको कार्यान्वयनमा उदासिनता देखिएको भन्दै विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयनका लागि तत्काल मापदण्ड बनाएर काम सुरु गर्न तथा जग्गा रोक्का गर्दा र मुआब्जा वितरणका क्रममा डुबान क्षेत्रका बासिन्दाले दर्ता गराएको गुनासोको तत्काल सुनुवाइ गर्न पनि माग गरेको छ । 

पदाधिकारी चयनको बाटो खुल्यो

http://karobardaily.com/news/development/7633
मंगलबार, असार २६, २०७५
ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको नेपाल विद्युत् नियमन आयोग गठन प्रक्रियाअघि बढाउनका लागि बनाइएको नियमावली मन्त्रिपरिषद्बाट पारित भएको छ । ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको नेपाल विद्युत् नियमन आयोग गठन प्रक्रियाअघि बढाउनका लागि बनाइएको नियमावली मन्त्रिपरिषद्बाट पारित भएको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयले एक महिनाअघि पेस गरे पनि मन्त्रिपरिषद्को आर्थिक समितिमा गएकोमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेको हो । नियमावली पारित भएसँगै नियमन आयोगको पदाधिकारी चयन गर्नका लागि बाटो खुलेको छ । 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले मन्त्रिपरिषद्को निर्णय ऊर्जा मन्त्रालय नआइसकेको बताउँदै निर्णय भएर आएपछि पदाधिकारी चयनको प्रक्रिया अघि बढ्ने बताए । नियमन आयोगको ऐनमा ऊर्जासचिव नेतृत्वको तीन सदस्यीय समितिले पदाधिकारी चयन गर्नेछ । आयोग अध्यक्ष हुन सरकारको सचिव वा अर्थशास्त्र, विज्ञान, राजनीतिशास्त्र, वाणिज्यशास्त्रमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा २५ वर्षको अनुभव तथा सदस्यका लागि उल्लेखित विषयमा स्नातकोत्तर गरी सम्बन्धित विषयमा १५ वर्ष अनुभव हासिल गरेको हुनुपर्ने योग्यता तोकिएको छ । 
आयोगमा एक अध्यक्ष र चारजना सदस्य रहनेछन् । पदाधिकारी चयन नहुँदा ७ महिनाअघि स्वतः निष्कृय रहेको आयोग सक्रिय हुन सकेको छैन । प्रतिनिधिसभा संसद्ले २०७४ साउन २७ गते विद्युत् नियमन आयोग ऐन पारित भएकोमा राष्ट्रपतिबाट लालमोहर लगाएको ९१ दिनपछि अर्थात् २० मंसिर २०७४ देखि स्वतः सकृय भएको थियो ।  उत्पादन, वितरण र प्रशारणमा रहेको विद्युत् प्राधिकरणको एकाधिकार तथा ऊर्जा मन्त्रालयका कतिपय अधिकारसमेत जाने भएकाले आयोगलाई ऊर्जा क्षेत्रमा महत्वका साथ हेरिएको छ । आयोग गठन भएर सक्रिय भएपछि विद्युत् महशुलको कामसमेत आयोगले गर्नेछ । आयोग सक्रिय भएलगत्तै विद्युत् महशुलका लागि गठित विद्युत् महशुल निर्धारण आयोग स्वतः निष्कृय भइसकेको छ ।