Tuesday, July 30, 2019

८८ अर्बमा ५ सय किमि प्रसारण

मंगलबार, श्रावण १४, २०७६
राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले ११ हजार ५ सय ८० मेगावाट बराबर विद्युत् प्रसारण गर्नका लागि ६ आयोजना अघि बढाउने भएको छ । आगामी पाँच वर्षभित्र अर्थात २०२५ फेब्रुअरीभित्र निर्माण सम्पन्न गर्ने गरी कर्णाली, सेती, भेरी, अरुण र तमोर कोरिडोरमा ६ प्रसारणलाइन निर्माणको आयोजना कम्पनीले अघि बढाएको हो । 
कम्पनीले तयार पारेको पाँच वर्षे योजनामा ८७ अर्ब ८५ करोड रुपैयाँ लागत बराबरका ४ सय ९८ किलोमिटर लामो प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य छ । “ग्रीड कम्पनीले पाँच वर्षभित्र ६ प्रसारण लाइन आयोजना निर्माण गर्ने गरी पाँच वर्षे योजना अघि बढाएको छ,” ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.नेत्र ज्ञवालीले भने । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले ११ हजार ५ सय ८० मेगावाट बराबर विद्युत् प्रसारण गर्नका लागि ६ आयोजना अघि बढाउने भएको छ । आगामी पाँच वर्षभित्र अर्थात २०२५ फेब्रुअरीभित्र निर्माण सम्पन्न गर्ने गरी कर्णाली, सेती, भेरी, अरुण र तमोर कोरिडोरमा ६ प्रसारणलाइन निर्माणको आयोजना कम्पनीले अघि बढाएको हो ।
कम्पनीले तयार पारेको पाँच वर्षे योजनामा ८७ अर्ब ८५ करोड रुपैयाँ लागत बराबरका ४ सय ९८ किलोमिटर लामो प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य छ । “ग्रीड कम्पनीले पाँच वर्षभित्र ६ प्रसारण लाइन आयोजना निर्माण गर्ने गरी पाँच वर्षे योजना अघि बढाएको छ,” ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.नेत्र ज्ञवालीले भने । कम्पनीले अघि बढाउन लागेका आयोजनाहरू अध्ययनको चरणमा छन् भने २०२१ सुरु गरिसक्ने लक्ष्य कम्पनीको छ । कम्पनीका अनुसार, ५ हजार मेगावाट विद्युत् आदानप्रदान गर्नसक्ने करिब २२ अर्ब बराबरको १३० किलोमिटर लामो ४ सय केभीको फुकोट–कर्मदेव प्रसारणलाइन निर्माण गर्ने योजना छ । 
हाल अध्ययनमा रहेको सो प्रसारणलाइन बनेपछि ४२० मेगावाटको फुकोट कर्णाली, ४२० मेगावाटको तिला–१, ४२० मेगावाटको तिला–२ र ६८८ मेगावाटको वेतन कर्णाली लगायतका आयोजनाहरूबाट उत्पादित विद्युत् प्रसारणमा सहयोग पुग्ने अपेक्षा कम्पनीको छ । कम्पनीले सेती नदीमा निर्माण हुन लागेका ७५० मेगावाटको पश्चिम सेती, २१० मेगावाटको चैनपुर सेती लगायतका १२ सय मेगावाट बराबरका आयोजनाको विद्युत् प्रसारणका लागि १७० किलोमिटर लामो ४ सय केभीको १९ अर्ब लागत बरारबको बझाङ–अत्तरिया प्रसारण निर्माण गर्ने लक्ष्य राखेको छ । भेरी नदीमा निर्माण हुन लागेका ४१० मेगावाटको नलगाढ, ६१७ मेगावाट बराबरको भेरी–१, २५६ मेगावाट बराबरको भेरी–२ लगायतका ३ हजार मेगावाट बराबरका जलविद्युत् आयोजनाको विद्युत् प्रसारण गर्नका लागि ११० किलोमिटर लामो ४ सय केभीको ३४ अर्ब ८४ करोड लागत बराबरको त्रिवेणी मैनतारा प्रसारण लाइन आयोजना निर्माा अघि बढाउन लागिएको कम्पनीले जनाएको छ ।
 अरुण नदीमा निर्माण हुन लागेका ४३४ मेगावाटको किमाथांका अरुण, ३३५ मेगावाटको अपर अरुण लगायतका १५ सय मेगावाट बराबरका विद्युत् प्रसारणका  लागि ४ सय केभीको ३८ किलोमिटरको ५ अर्ब ५७ करोड लागत बराबरको किमाथांका–शितलपाटी प्रसारणलाइन पनि कम्पनीले अघि बढाउन लागेको छ । 
तमोर नदीमा निर्माण हुन लागेका १५५ मेगावाटको सुपर तमोर, १०१ मेगावाटको तमोर मेवा लगायतका जलविद्युत् आयोजनाबाट उत्पादित ७ सय मेगावाट बराबर विद्युत् प्रसारणका लागि २५ किलोमिटरको ४ अर्ब ४६ करोड बराबरको २२० केभी तमोर–ढुंगेसाँघु तथा मेवा तमोर नदीमा निर्माण हुने ४९ मेगावाटको मध्यम मेवा, २८ मेगावाट बराबरको अपर मेवा, २३ मेगावाटको सिवा खोला लगायतका १८० मेगावाट बराबरको विद्युत् प्रसारण गर्ने गरी २५ किलोमिटरको २ अर्ब लागत बराबरको १३२ केभीको मेवा–ढुंगेसाँघु प्रसारण लाइन आयोजनाको प्रसारण लाइन निर्माण गर्ने लक्ष्य कम्पनीले राखेको छ । 
कम्पनीले विभिन्न वित्तिय संस्थासँग ऋण लिएर प्रसारणलाइन आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ ।

Thursday, July 25, 2019

बूढीगण्डकीलाई मन्त्रालयकै मातहतमा ल्याउन प्रस्ताव

 बिहिवार, श्रावण ९, २०७६
बूढीगण्डकी जलविद्युत् आयोजनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयभित्रकै आयोजनाको रूपमा विकास गर्न प्रस्ताव गरिएको छ । । बहुचर्चित १२ सय मेगावाटको यो आयोजना कुन मोडलमा निर्माण गर्ने भन्ने विषयमा लामो समयदेखि बहस र विवाद छ । 
बूढीगण्डकी आयोजनाको थप आवश्यक अध्ययन, मुआब्जा निर्धारणका साथै पुनर्वास, पुनस्र्थापनालगायतका काम अघि बढाउनका लागि मन्त्रालयभित्रै बूढीगण्डकी आयोजना खडा गरेर अघि बढ्न प्रस्ताव गरिएको हो । गत असोजमा मन्त्रिपरिषद्ले चिनियाँ कम्पनी चाइना गेजुवा गु्रप कर्पोरेसन (सीजीजीसी) लाई इन्जिनियरिङ, प्रक्युरमेण्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्स (ईपीसीएफ) मोडेलमा वार्ता गरी आयोजना अघि बढाउने निर्णय गरे पनि हालसम्म उपयुक्त मोडेल बनिसकेको छैन । चिनियाँ कम्पनीसँगको छलफलले अन्तिम रूप नपाएको तथा थप गर्नुपर्ने काम समेत हुन नसकेपछि मन्त्रालयकै तर्फबाट बूढीगण्डकीका लागि फोकस पर्सन तोकिएका दीलिप सडौलाले मन्त्रालयभित्रै आयोजना खडा गरेर अघि बढ्न प्रस्तावसहितको प्रतिवेदन तयार गरेका हुन् । बाँकी मुआब्जा निर्धारण, पुनर्वास तथा पुनस्र्थापनाको सम्भाव्यता अध्ययन, तल्लो तटीय फाइदाको अध्ययन लगायतका काम गरी बूढीगण्डकी आयोजना अघि बढाउनका लागि प्रस्ताव तयार गरिएको उनले जानकारी दिए । “बूढीगण्डकीलाई मन्त्रालयभित्रैको आयोजनाको रूपमा अघि बढाउन प्रस्ताव तयार गरेर ऊर्जासचिवसमक्ष प्रतिवेदन बुझाइएको छ,” उनले भने, “आयोजना निर्माणको काम अघि बढाउनका लागि प्रस्ताव तयार भएको छ, यसपछि आयोजनाको मोडालिटी अध्ययन लगायतका काम पनि अघि बढ्छन् ।”
गत असोजमा मन्त्रिपरिषद्ले आवश्यक वार्ता गरेर बूढीगण्डकी आयोजना अघि बढाउने निर्णय गरेपनि हालसम्म खासै प्रगति भने भएको छैन । चार वर्षअघि फ्रान्सको ट्र्याकबेल कम्पनीले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेपनि हालसम्म आयोजनाको निर्माण कार्य अघि भने बढेको छैन । आयोजना अघि बढाउनका लागि टेण्डर डकुमेन्ट समेत तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन पनि स्वीकृत भइसकेको छ । डीपीआरले आयोजनाको लागत २ खर्ब ५९ अर्ब उल्लेख गरेपनि चारसम्ममा डलरको भाउ वृद्धिका साथै अन्य थप दायित्वको कारण लागत करिब ३ खर्ब पुगेको अनुमान गरिएको छ । 
आयोजनाबाट ५८ हजार १५३ रोपनी डुबान हुनेमा २४ सय रोपनी बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गर्न बाँकी छ भने करिब १० रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी छ । करिब ४६ हजार रोपनी जग्गाका लागि २५ अर्ब मुनाफा भने बाँडिसकेको छ । त्यैगरी घर, गोठ, फलफूल, विरुवा लगायतको मुआब्जा निर्धारण र वितरण दुवै गर्न बाँकी छ । 
१० वर्षअघि तत्कालीन सरकारले बूढीगण्डकी जलविद्युत् विकास समितिमार्फत आयोजना निर्माण गर्ने भनेर गठन गरेपनि पछि विकास समिति खारेज गरिएको थियो । चार वर्षअघि सोही चिनियाँ कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिएपछि फेरि तीन वर्षअघि सरकारले स्वदेशी लगानीमा बनाउने भन्दै चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरेको थियो भने गत असोजमा फेरि सरकारले सोही चिनियाँ कम्पनीलाई दिएको थियो ।

Wednesday, July 24, 2019

नेपालको समृद्धिका लागि बिजुली बेच्नु आवश्यक

बुधवार, श्रावण ८, २०७६
प्रबलराज अधिकारी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको विद्युत् व्यापार कम्पनीका प्रबन्ध निर्देशक हुन् । विद्युत् व्यापारलाई व्यवस्थित बनाउन दुई वर्षअघि गठन भएको कम्पनीले देखिने गरी काम भने सुरु गरिसकेको छैन । नीतिगत व्यवस्था नहुँदाको कारण कम्पनी अघि बढ्न सकेको छैन, तर अधिकारी संरचनादेखि व्यापारिक योजना निर्माणसम्म कम्पनी अघि बढेको बताउँछन् । नागपुर युनिभर्सिटीबाट इलेक्ट्रिक इन्जिनियरिङमा स्नातक गरेका काभ्रेको मंगलटारमा जन्मिएका अधिकारी नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता पनि हुन् । पुल्चोक क्याम्पसबाट उच्च अंक ल्याएर स्नातकोत्तर उत्तीर्ण गरेका तथा नेपालको पावर सिस्टमबारे अध्ययन गरेका अधिकारीसँग वितरण तथा ग्राहक सेवा र जलविद्युत् उत्पादनमा काम गरेको अनुभव छ । २२ वर्षदेखि विद्युत् प्राधिकरणमा कार्यरत अधिकारी ऊर्जा व्यापारमा विशेष दक्खल राख्छन् । प्राधिकरणको विद्युत् व्यापार महाशाखाका प्रमुखसमेत रहेका विद्युत् व्यापार कम्पनीका प्रबन्ध निर्देशक अधिकारीसँग कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :
नेपाल विद्युत् प्राधिकरणले ऊर्जा व्यापार प्रयोजनका लागि व्यापार कम्पनी स्थापना गरेको छ, तर यसका लागि कम्पनी खासै सक्रिय भएको देखिँदैन, किन ? 
जब हामीले व्यापार कम्पनी दर्ता ग-यौं यसलाई तुरुन्तै सञ्चालन गर्ने योजना थियो, तर यसमा केही नीतिगत तहमा केही नपुगेकाले अघि बढ्न सकेको छैन । हाम्रो विद्युत् ऐनमा व्यापारसम्बन्धी विषय नसमेटिएका कारण हामीलाई अपरेसन गर्न अप्ठेरो परेको छ । ऐन– २०४९ मा उत्पादन, वितरण र प्रशारणको अनुमतिपत्र जारी गर्ने व्यवस्था छ, तर व्यापारबारे उल्लेख छ । यसको अनुमतिपत्रबारे मौन छ । जुन अहिले विद्युत् नियमन आयोग ऐनले व्यापार अनुमतिपत्र अनिवार्य भनेको छ । अनुमतिपत्र जारी गर्ने व्यवस्था नभएकाले ऊर्जा व्यापार कम्पनी सञ्चालन गर्न नसकिएको हो । यसको संरचना, बजारमा काम गर्छ, घरेलु वा क्रस बोर्डरमा कसरी काम गर्छ भने अहिले विद्युत् प्राधिकरणले गरेको ६ हजार मेगावाटको विद्युत् खरिद सम्झौता (पीपीए) अवस्था के हुने ? ती पीपीए के कम्पनीमा सरेर जान्छ ? जस्ता मुद्दा छन् । ती त विद्युत् प्राधिकरणसँगै रहन्छन् । हामीले विश्व बैंकको सहयोगमा व्यापारिक योजना बनाइरहेका छौं । यसको अन्तिम चरणमा पुगेका छौं । एक महिनाभित्र बनिसक्छ । यसबारे नेपाल सरकारसँग पनि विद्यमान ऐनको व्याख्या गरेर व्यापार अनुमतिपत्रको व्यवस्थालाई फुकाउन सकिन्छ वा नयाँ बन्न लागेको विद्युत् ऐनमा यसलाई समावेश गर्नुपर्ने हो भनेर छलफल गरिरहेका छौं । यो समाधान हुने बित्तिकै विद्युत् व्यापार कम्पनीले काम थाल्नेछ ।
बिजुली बेच्ने र धनी बन्ने चर्चा लामो समयदेखि चलिरहेको छ, तर विडम्बना कानुन नै रहेन छ । किन यस्तो अवस्था सिर्जना भएको हो ? 
कानुन नै छैन भन्न त मिल्दैन । कानुनमा विद्युत् खरिद र बिक्री गर्ने व्यवस्था छ । दुवैलाई समेट्ने एकीकृत परिभाषा भने छैन । कानुनमा अनुमतिपत्र जारी गर्ने व्यवस्था नभएको हो । त्यो बेला त यसको आवश्यकता थिएन । विद्युत् प्राधिकरणलाई खरिद र बिक्री दुवै गर्ने अधिकार थियो, अरू कम्पनीहरूको कल्पना गरिएको थियो । निजी क्षेत्रबाट वा भारतबाट विद्युत् खरिद गर्ने अधिकार प्राधिकरणलाई दिइएको छ । व्यापार अनुमतिपत्रका लागि कानुन मौन रहेको भए पनि अहिले विद्युत् नियमन आयोग आएपछि यसअन्तर्गत रहेर विद्युत् प्राधिकरण वा नयाँ कम्पनीले काम गर्छ । अनुमतिपत्र जारी गर्ने अवस्था नहुनु भनेको गतिविधिलाई निस्तेज गरिएको होइन, खालि विद्युत् व्यापारका लागि कसरी जानुपर्छ भनेर रणनीतिक व्यवस्था नभएको हो ।
योजनाका रूपमा त भारतसँग मात्र ११ अन्तरदेशीय प्रसारणलाइन बनाएर २०३५ भित्र २४ हजार ५ सय मेगावाट बिजुली बेच्ने पनि छ । के हामी आन्तरिक रूपमै रुमल्लिएर, अल्झिएर त्यो योजना अघि बढ्न नसकेको हो ? 
प्रसारणलाइन गुरुयोजनाको कुरा गर्दा प्रसारण संरचना त बनाउनै प-यो । उच्च भोल्टेजका प्रसारणलाइनहरू बनाउन नसकेमा, प्रसारणलाइन क्षमता बढाउन नसकेमा विभिन्न बेसिनहरूमा रहेका जलविद्युत् आयोजनाहरूको विद्युत् बोर्डर र त्योभन्दा पारि छिमेकी देशमा पु-याउने त कुरै भएन । विद्युत् विदेशतिर व्यापार गर्ने मात्र होइन, आवश्यक पर्दा उताको यता र बढी हुँदा यताको उता पठाउने हो । विद्युत्को विषय आवश्यक पर्दा आदानप्रदान भन्दा पनि यो आर्थिक विषयसँग पनि जोडिएको छ । यदि हाम्रै देशमा कुनै आयोजना सञ्चालन गर्दा महँगो पर्छ र छिमेकी देशहरूबाट सस्तोमा खरिद गर्न सक्छौं भने विद्युत् पर्याप्त हुँदाहुँदै व्यापार गर्नुपर्ने हुन्छ, जहाँसम्म गुरुयोजनामा जुन अन्तरदेशीय प्रसारणलाइनहरूको पहिचान गरियो भन्ने छ, यो गतिशील अवस्थामा अघि बढेको छ । जुन ६ वटा कोरिडोरमा ११ प्रसारणलाइनको परिकल्पना गरिएको छ, पहिलो ढल्केबर–मुजफपुर निर्माण भए पनि गुरुयोजनाअनुसार ४ सय केभीमा चार्ज भएको छैन । आगामी डिसेम्बरसम्ममा पूर्ण क्षमतामा सञ्चालन हुन्छ । विद्युत् माग र सञ्चालनको हिसाब गर्दा अर्को प्रसारणलाइनको आवश्यकता परिरहेको छ । ढल्केबर–मुजफपुरको क्षमता १ हजार मेगावाट मात्र छ । त्यत्रो विद्युत् भारततर्फ वा आवश्यकता पर्दा नेपाल ल्याउनुपर्दा ऊर्जा सुरक्षाको विषय पनि महत्वपूर्ण हुन्छ । बाढीपहिरो आउँदा नेपालका विद्युत् उत्पादन केन्द्र बन्द भयो, त्यतिबेला ग्रिड कनेक्टेड छ भने भारतबाट पनि ल्याउनुपर्छ । हामीले अहिले दुई देशबीच ग्रिड सिक्रोनाइजेसनको कुरा गरिरहेका छौं । यसमा पर्याप्त ध्यान नदिए एउटा सबस्टेसन बिग्रेमा सिस्टममा समस्या आउन सक्छ । विद्युत् सेवालाई भरपर्दो बनाउन, ग्रिड स्थायित्व बनाउन, बिना प्राविधिक समस्या ल्याउन पनि ग्रिड सिक्रोनाइजेसनको कुरा गरिएको हो । भारत वा अन्य देशमा विद्युत् व्यापारको कुरा गरिरहँदा पहिला स्वदेशी खपत नै बढाउने हो । नेपालको प्रतिव्यक्ति खपत संसारकै कमभित्र पर्छ । प्रतिव्यक्ति २ सय युनिटको हाराहारीमा मात्र छ । यो खपत बढाए पनि सिजनल रूपमा बढी भएमा व्यापार गर्ने हो । यसको भण्डारण गर्न नसकिने हुनाले व्यापार गर्नैपर्छ । केही समयअघि बाढीपहिरोले हाम्रो विद्युत्को माग १२ सय रहेकोमा ६ सय मेगावाटमा झरेपछि बढी भएको बिजुली पठायौं । आवश्यकताका आधारमा नेपाल र भारतका विभिन्न राज्यबीच विद्युत् आदानप्रदान गरिरहेका छौं । जब हामी विद्युत् व्यापारमा जान्छौं, त्यो पछि हामीले कबुल गरेको विद्युत् दिनैपर्छ । दिएनौं भने त जरिवाना तिर्नुपर्छ । लाइन नभएको बहाना बनाएर नदिने कुरा गर्नु हुँदैन । यसका लागि ग्रिडको स्थायित्व आवश्यक पर्छ । यसका लागि हामीले दोस्रो बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माण अघि बढाएका छौं । यसको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भैसकेको छ । यसको क्षमता पहिलो अन्तरदेशीय प्रसारणलाइनभन्दा दोब्बर छ । यसको कार्यान्वयन र लगानी कार्यविधि कस्तो हुने भनेर दुई देशका सम्बन्धित निकायबीच छलफल चलिरहेको छ । आशा छ, आउँदो नेपाल र भारत सचिवस्तरीय बैठकबाट यसको टुंगो लाग्छ । जुन बेला पहिलो बनायौं, त्यो बेला हामीसँग धेरै आयोजना थिएनन्, अहिले त ३ हजार मेगावाट निर्माणाधीन अवस्थामा छन् । करिब ६ हजार मेगावाट विद्युत् निजी क्षेत्रबाट ढिलोमा ५ वर्षभित्र आइसक्नेछन् । उनीहरू अहिले पीपीएको प्रतीक्षामा छन् । दोस्रोसँगै न्युदुबही–गुडिया र लम्की–बरेली अन्तरदेशीय प्रसारणलाइन अघि बढाउन लागेका छौं । यसका लागि पोखरामा भएको सचिवस्तरीय बैठकले संयुक्त प्राविधिक समितिलाई यसको अध्ययन गर्ने जिम्मा दिएको छ । ११ वटा अन्तरदेशीय प्रसारणलाइन क्रमशः निर्माण हुँदै जाने हो । नेपालमा विभिन्न समयमा बन्ने जलविद्युत् आयोजनाको आधारमा प्रसारणलाइन बन्छ ।
माग र आपूर्ति प्रक्षेपणको विवरण विश्लेषण पनि प्राधिकरणसँग छ । यसलाई हेर्दा नेपालले भारतलाई कति बिजुली बेच्ने सम्भावना देख्नुहुन्छ ? 
ऊर्जा मन्त्रालयले १० वर्षमा १० हजार मेगावाट स्वदेशी खपत तथा ५ हजार मेगावाट व्यापारका लागि उत्पादन गर्ने नीति छ । यथार्थतामा नीतिमा आएको भन्दा बढी बिजुली व्यापारको सम्भावना छ । हामीले कुल गार्हस्थ उत्पादन (जीडीपी) को आधारमा ९.२ प्रतिशतलाई मानेर एउटा मागको प्रक्षेपण गरेका छौं, तर नेपालमा भनेको जस्तो नीतिगत हस्तक्षेप र प्रगति भएको छैन । हामीले विधुतीय सवारी साधनको कुरा गरिरहेका छौं । अहिलेकै अवस्था हेर्ने हो भने लोड बढिरहेको छैन । अहिले लोड १२-१३ सय मेगावाट मात्र छ । वर्षको ८ देखि १० प्रतिशत वृद्धि हुन्छ भनेर अनुमान गर्छौं, तर विद्युत् उत्पादन जुन बढिरहेको छ, आशालाग्दो अवस्था छ । माग त्योअनुसार बढ्न सकेको छैन । खोला, नदीमा जाने हो भने धेरै जलविद्युत् आयोजनाहरू निर्माण भइरहेका छन् । लोड बढाउन नसकेमा त लिऊ वा तिर (टेक अर पे) मा पीपीए गरेकाले अप्ठेरो अवस्था आउँछ । यस्तो अवस्थामा अन्तरदेशीय बजार आवश्यक पर्छ । नेपालको आर्थिक समृद्धिका लागि पनि बिजुली बेच्नु आवश्यक छ । नेपाल जलविद्युत्मा धनी छ, प्रशस्त सम्भावना छ । भारत सौर्य ऊर्जा (सोलार) निर्माणमा गइरहेको छ । यसले त भारतको ग्रिडमा चुनौती मात्र थप्छ । भारतको ग्रिडलाई स्थायित्व दिन पनि नेपाल, भुटानजस्ता देशमा जलविद्युत् चाहिएको छ । ग्रिड स्थायित्वको हिसाबले भारत नेपालबाट विद्युत् किन्ने बाध्यात्मक अवस्थामा छ ।
भारतलाई नेपालले कति बिजुली बेच्न सक्छ र यसबाट नेपालको आर्थिक विकासमा कति सहयोग पुग्छ भनेर विश्लेषण गर्न सक्ने अवस्था छ ? 
विश्लेषण गर्न सकिन्छ । सिजनल रूपमा बिजुली बेच्ने कुरा त हाम्रो लामै समय लाउला । वर्षामा लोड कम छ । अहिले निर्माण भइरहेका आयोजनाहरू हेर्दा वर्षामा खपत हुने सम्भावना पनि छैन । पहिलो १० वर्षभित्र करिब ७ हजार मेगावाट बिजुली वर्षामा बेच्ने अवस्था आउन सक्ने प्रक्षेपण देखिन्छ । हिउँदामा सन् २०२७-०२८ सम्म पनि अभावमै रहन्छौं । आयात गर्नुपर्ने हुन्छ । लोड बढाउन नसके त त्यो १० हजार आन्तरिक खपत गर्ने भनेको बिजुली पनि अर्को देशमा पठाउनुपर्ने हुनसक्छ । नीतिगत हस्तक्षेप त केही होला । विद्युतीय सवारी साधन आउने, ग्यास विस्थापन गर्ने कुरा आएका छन् । मुलुक औद्योगीकरणमा जानुपर्ने अवस्था पनि छ । बढी हुने बिजुलीको हकमा पनि छिमेकी देशको बजारमा त्यो बिजुली बेच्नका लागि उच्च मूल्य रह्यो भने त त्यो अघि बढाउनु चुनौतीपूर्ण छ । यसको लागत महत्वपूर्ण हुन्छ । अहिले सम्भावना नरहेको भने होइन । हामीले माथिल्लो तामाकोसीको बिजुली वर्षामा ढल्केबर–मुजफपुरमार्फत भारत बजारमा लैजाने कुरा छ, त्यो महसुल हेर्दा उपयुक्त छ । प्रतियुनिट ५ रुपैयाँमा त्यो बिजुली बेच्न सक्ने अवस्था छ । वर्षाको त प्रतियुनिट ४.८० मात्र छ भने केही वर्ष ३ प्रतिशतले वृद्धि त हुन्छ तर बेच्न सकिने अवस्था छ । उत्पादन लागत हेर्दा वर्षाको बिजुली भारतीय बजारमा बेच्नका लागि योग्य नै छ । प्रतियुनिट ५ रुपैयाँसम्म बेच्न सकिने अवस्था छ । अब नियमन आयोगले आफ्नो निर्देशिकाको मस्यौदा तयार गरेको छ, यसले प्रत्येक आयोजनाको लागत अनुसार हुने भएकाले अब त बजारमा प्रतिस्पर्धा गर्ने गरी उत्पादन हुने अवस्था पनि छ नि । पहिलाभन्दा कम दरमा बिजुली आउँछ भन्ने यसले देखाउँछ । ६ हजार मेगावाट पीपीए गरिसकेकाले अब प्राधिकरण पनि महसुलमा पनि प्रतिस्पर्धा गर्ने अघि बढ्छ नि । यसका आधारमा खरिद हुन्छ । प्राधिकरणले पीपीए गरिसकेका आयोजनाहरूको हकमा समेत प्रतियुनिट वर्षामा ४.८० र हिउँदमा ८.४० भए पनि लेखापरीक्षणको विवरण हेरेमा १७ प्रतिशतभन्दा बढी प्रतिफल देखिएमा दर घटने अवस्था छ । यस्तो अवस्था हुँदा नेपालको बिजुली बिक्रीका लागि प्रतिस्पर्धी हुन्छ । अर्को वर्षामा जुन दर कम छ, त्यो बेला नेपालमा कम माग तथा क्षेत्रीय बजारमा बढी माग भएकाले पनि विद्युत् व्यापारमा सहज छ । नेपाल भारतजस्तो गर्मी मुलुक पनि होइन, त्यसकारण माग कम हुन्छ । हामीलाई कस्तो अवसर छ भने नेपालमा बढी उत्पादन हुने बेलामा भारत र बंगलादेशमा उच्च माग हुन्छ । गर्मी र कृषि उत्पादनका लागि बढी विद्युत् खपत हुन्छ । अझ नेपालको विद्युत् मूल्य केही बढी भयो भने पनि नेपालको बिजुली किन बिक्रीयोग्य हुन्छ भने भारतको ग्रिडलाई स्थायित्व दिन पनि हाम्रो बिजुली भारतलाई चाहिएको छ । सोलार र वायु ऊर्जा उत्पादन बढ्दै गएकोले ग्रिड स्थायित्वको ठूलो चुनौती उनीहरूसँग छ । उनीहरू नेपालको बिजुली किन्नैपर्ने बाध्यात्मक अवस्थामा छन् । नकिनेमा उनीहरूलाई ठूलो अप्ठेरो छ । उनीहरूको ऊर्जाको स्रोत तापीय पनि हो । वातावरणको दृष्टिकोणले पनि त्यो घटाउँदै जानुपर्ने अवस्था छ । सोलार र हावाबाट आउने बिजुलीको निरन्तरताको सम्भावना भरपर्दो छैन । मौसम र अन्य कारणले समस्या आउन सक्छ । बिजुलीको भाउ नेपालले घटाउँदै जानुपर्ने अवस्था छ, तर बिक्री हुन्न भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । जलविद्युत् केही महँगो भए पनि ग्रिड स्थायित्वका हिसाबले नेपालको बिजुली बिक्रीयोग्य छ ।
नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौता (पीटीए) भएको छ । दुई देशबीच ग्रिड सिक्रोनाइजको कुरा पनि अघि बढाएका छौं । यति हुँदाहुँदै पनि के नीतिगत र प्राविधिक रूपमा हामी भारतलाई बिजुली बेच्न हामी तयार भएका छौं ? 
दुई देशबीच भएको पीटीएले त विद्युत् व्यापारका लागि खुल्ला पहुँच भएको छ । सजिलैसँग ग्रिड उपलब्ध हुनेछ । खरिद र बिक्री गर्नेलाई खुला पहुँच दिएको छ । यसपछि भारतले क्रस बोर्डर पावर ट्रेडिङ निर्देशिका जारी ग-यो । पहिलो मस्यौदामा विद्युत् किन्नका लागि स्वपुँजी (इक्वेटी) ५० प्रतिशत हुनुपर्ने लगायत व्यवस्था थियो । यसका केही प्रावधान पीटीए विरोधी पनि देखिएका थिए । यसलाई फेरि सम्बोधन गरी गत डिसेम्बरमा नेपालको प्रतिक्रियालाई पनि समेटेर निर्वाध रूपमा बिजुली किनबेच हुनसक्ने व्यवस्था गरिएको छ । तेस्रो मुलुकसँगको व्यापारका लागि पनि बाटो खुला गरेको छ । भारतको विद्यमान संरचना प्रयोग गरेर वा त्रिदेशीय सम्झौता गरेर पनि बिजुली बेच्नका लागि खुल्ला गरिएको छ । भारतले छिमेकी देशहरूसँग विद्युत् व्यापारका लागि अन्तरदेशीय व्यापार निर्देशिका बनायो, यसका लागि कार्यविधि र नियमनको व्यवस्था गरेको छ, तर नेपालले त अन्तरदेशीय व्यापार निर्देशिका बनाएको छैन । भारतसँगको निर्देशिकासँग मिल्ने गरी नेपालले बनाउनुपर्छ । भारतले विद्युत् व्यापारका लागि आधिकारिक निकाय तोकेको छ । नेपालले तोकेको छैन । खाली ढल्केबर–मुजफपुरमा भने विद्युत् प्राधिकरणलाई जिम्मा दिएको छ । तर पनि नेपालले यसका लागि आवश्यक नीति बनाउँदै छ । भर्खर विद्युत् नियमन आयोग आएको छ । अब विद्युत् व्यापारका लागि नियमन आयोगले तयार गर्छ । पहिला त लोडसेडिङले थला परेकोले अरु काम छायामा थिए । अब सबै अघि बढ्छन् । जहाँसम्म ग्रिड सिक्रोनाइजेसनको कुरा छ, भारतले यसका लागि प्रतिवेदन तयार पारेर हालै भारतमा भएको बैठकले यसको स्वीकृति गरिसकेको छ । यसको लागत विस्तृत रूपमा आउन बाँकी छ । भारतीय पक्षलाई यसका लागि पत्राचार गरिसकेका छौं । नेपालका मुख्य सबस्टेसनहरूमा विशेष सुरक्षा प्रणाली जडान, सञ्चार प्रणाली विकास गर्ने कुरा छ । यसमा हट कम्युनिकेसन हुनुपर्छ । भारप्रेषण केन्द्रले यसका लागि काम अघि बढाइसकेको छ । चालू वर्षभित्रै सिक्रोनाइजेसनको काम सुरु हुन्छ ।
विद्युत् व्यापारको यति कुरा गरिरहँदा भारतबाट हिउँद र वर्षा दुवैमा भारतबाट विद्युत् आयात गरिरहेका छौँ किन ? 
यो क्षणिकका लागि मात्र आयात गर्ने हो । हाम्रा धेरै आयोजनाहरू बन्दै छन्, उत्पादन हुँदैछ । विस्तार उत्पादन बढेसँगै हामीले विद्युत् निर्यात गर्ने हो । यसको वातावरण बन्दै छ । अहिले बिरामी भएकाले खाली औषधी मात्र ल्याएका हौं । स्थायी रूपमा नेपालले विद्युत् आयात गरिरहँदैन । अब निर्यात गर्नेतर्फ पनि अग्रसर हुन्छ ।

सबै आयोजनाको आर्थिक विश्लेषण गर्नै कठिन

https://www.karobardaily.com/news/development/22167
मंगलबार, श्रावण ७, २०७६
विद्युत् नियमन आयोगले सार्वजनिक गरेको आयोगबाट सम्पादन गर्नुपर्ने कार्यसम्बन्धी निर्देशिकाको मस्यौदामा अब हुने विद्युत् खरिद सम्झौता (पीपीए) का लागि प्रत्येक आयोजनाको विश्लेषण गर्ने उल्लेख छ । तर, आयोगको वर्तमान जनशक्ति र सरकार संरचनाको कारण विश्लेषण गर्न भने कठिन देखिएको छ । 
मस्यौदामा आयोगले विद्युत् खरिद–बिक्री दर निर्धारणका लागि १४ आधार तोकेको भएपनि वर्तमान संरचना र आपसी समन्वयको अभावको कारणले यस्तो कठिनाइ देखिएको हो । नेपाल विद्युत् प्राधिकरणले अब हुने पीपीएको दर आयोगले तोक्ने र सो आधारमा मात्र प्रक्रिया अघि बढाउने बताउँदै आएको छ । तर, आयोगसँग न जनशक्ति छ, न त्यसका लागि सरोकारवाला निकायबीच समन्वय छ । आयोगले अघि बढाउन लागेको कष्ट प्लसमा पीपीए निर्धारणका लागि थप स्पष्ट मापदण्डका साथै सबै निकायबीच एकीकृत रुपमा विश्लेषण आवश्यक पर्छ तर आयोग यसका लागि सक्षम भने भैसकेको छैन । आयोगका अध्यक्ष जनशक्ति हाल आर्थिक विश्लेषणका लागि जनशक्ति नभएपनि भविष्यमा व्यवस्था गरिने तथा हालसम्म विद्युत् प्राधिकरणबाट पीपीए स्वीकृति नआएकोले आउँदासम्म व्यवस्था भइसक्ने बताउँछन् । “पीपीएका लागि प्राधिकरणबाट प्रस्ताव आएपछि सोही आधारमा विश्लेषण गरेर खरिद–विक्री दर निर्धारण गर्न सक्छौ, जनशक्ति पनि व्यवस्था हुँदै जान्छ,” उनले भने । 
निजी क्षेत्रका प्रवद्र्धकहरू भने विद्युत् प्राधिकरणले मागको प्रक्षेपणभन्दा बढी पीपीए गरिसकेको अवस्थामा अब आयोगले गर्न संरचनागत व्यवस्थानै भैनसकेको बताउँछन् । “कष्ट प्लसमा पीपीए गर्न भारतजस्तै बलियो सरकार, ऊर्जा मन्त्रालय, ग्रीड, कम्पनी, रेगुलेटर हुनुपर्छ, यहाँ त उच्च संरचना र अभ्यास पनि छैन,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागार्इं भन्छन्, “संरचना नबनिसकेको अवस्थामा भारतको नक्कल गर्न खोजिएको छ, नेपालको अहिलेको अवस्थामा व्यावहारिक छैन ।”
आवश्यकभन्दा बढी पीपीए गरिसकेको अवस्थामा थप बिजुली कुनै उद्योगधन्दा वा अन्तरदेशीय व्यापारका लागि उपयोग हुने भएकोले आयोगले दर निर्धारण गर्नुको कुनै अर्थ नभएको उनीहरूको टिप्पणी छ । 
मस्यौदामा आयोगले विद्यत् खरिद बिक्री दर निर्धारण तथा पीपीएको सहमति गरेपछि मात्र अन्तिम हस्ताक्षर हुने उल्लेख छ । मस्यौदामा परियोजनाको लागत, स्वःपुँजी तथा ऋणको अनुपात, ऋणको स्रोत तथा ब्याज, ऋणको साँवा ब्याजको भुक्तानी प्रक्रिया, निर्माण वा सञ्चालनमा प्राप्त हुने अनुदान, ह्रासकट्टी वा अग्रिम ह्रासकट्टी, लगानी प्रतिफल, साधारण खर्च, सञ्चालन खर्च, मर्मत सम्भार खर्च, कार्य सञ्चालन खर्च, राजस्व कर तथा अन्य सेवा शुल्क, अतिरिक्त पुँजीकरण, सरकारका नीति तथा नियमहरूका आधारमा खरिद बिक्री दर तय हुने उल्लेख छ । मस्यौदामा आवश्यक कागजपत्रसहित निवेदन आएको ६० दिनभित्र सहमति प्रदान गरिने उल्लेख छ । 
नियमन आयोगको व्यवस्थाअनुसार अब विद्युत् प्राधिकरणमा प्रवद्र्धकले पीपीएका लागि निवेदन दिएपछि त्यसको आधारमा प्राधिकरणका सर्तसहितको विवरण आयोगमा पेश गर्छ भने आयोगले आर्थिक विश्लेषण गरी पीपीए दर तोकी प्राधिकरणलाई पठाउने छ । त्यसको आधारमा मात्र प्राधिकरणले पीपीए गर्नेछ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी नियमन आयोग ऐनको आधारमा प्राधिकरणले पीपीएको निवेदनको आधारमा पीपीएको मस्यौदा आयोगमा पठाएर र आयोगबाट स्वीकृति दिएपछि मात्र पीपीए गर्ने बताउँछन् । “आयोगलाई आवश्यक सम्पूर्ण विवरणहरू दिएर प्राधिकरणले सक्दो सहयोग गर्छ, आयोगले निर्धारण गरेको दरको आधारमा प्रवद्र्धकसँग पीपीए गर्छ,” उनी भन्छन् । 
अधिकांश आकर्षक र नजिकका आयोजनाहरू अघि बढीसकेको तथा सरकारले अन्य देशमा विद्युत् विक्री गर्ने योजना बनाएकोले आयोगलाई आर्थिक विश्लेषण गरेर निर्धारण गर्न कठिन रहेको जलविद्युत् क्षेत्रका जानकारहरूले बताउँदै आएका छन् । “आयोगलाई आर्थिक विश्लेषण गरेर दर निर्धारण गर्न कठिन छ, टाढा र कम आकर्षक आयोजनाहरू मात्र बाँकी रहेकोले छिमेकी राष्ट्रहरूसँग व्यापार गर्ने गरी दर कायम गर्न समेत कठिन छ,” उनीहरू भन्छन्, “तत्काल आयोगले विश्लेषण गरेर पीपीए निर्धारण गर्न सम्भव छैन, प्रवद्र्धकहरूले पठाएको लागतलाई विश्लेषण गर्ने तागत आयोगसँग छैन ।”
प्रतिस्पर्धाबाट छनोट आयोजनाको हकमा प्रतिस्पर्धा गराउँदा अवलम्बन गरेका विधि तथा स्थानीय तहको अनुमतिमा स्थानीय स्तरमा बन्ने एक सय किलोवाट भन्दा साना आयोजनाको हकमा विद्युत् खरिदबिक्री दर निर्धारण गर्ने मस्यौदामा उल्लेख छ । मस्यौदामा वितरण अनुमति प्राप्त व्यक्तिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विद्युत् मागको प्रक्षेपणका आधारमा विद्युत् खरिद योजना तयार गर्नुपर्ने, वितरण अनुमति प्राप्त व्यक्ति हरेक आर्थिक वर्षको प्रथम चैमासिक अवधिभित्र उपभोक्ताको वर्गीकरणसहित तीन वर्षको माग र उत्पादन हुने विद्युत्को प्रक्षेपण गरी पुग–अपुगका आधारमा सो व्यवस्थापन योजना उपलब्ध लगायत उल्लेख छ । 
व्यवस्थापन योजना तथा माग र आपुर्तिको विश्लेषण गरेर आयोगलाई दिँदा तत्कालको अवस्थामा समस्या देखिएको छ । विद्युत् प्राधिकरणले आगामी तीन बर्षभित्र तीन हजार मेगावाट मात्र माग पुग्ने उल्लेख गरेको छ । ठूला उद्योगधन्दासहित विद्युत् खपत बढी हुन नसकेमा अहिलेकै पीपीए भएका आयोजनाहरूको विद्युत् व्यवस्थापनको समस्या पनि जटिल हुने अवस्था छ । अन्य देशमा विक्री गर्नका लागि हाल तुलनात्मक रुपमा नेपालको बिजुली महँगो भएकोले घटाउनुपर्ने अवस्था भने छ ।

Thursday, July 18, 2019

लक्ष्य ४६७ मेगावाट उत्पादन भने ७८ मात्र

बिहिवार, श्रावण २, २०७६
सरकारले आर्थिक वर्ष २०७५-७६ मा २८ आयोजना सम्पन्न गरेर ४ सय ६७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो तर उत्पादन भने ७८ मेगावाटमा सीमित भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र निजी क्षेत्रबाट ८ जलविद्युत् आयोजना सम्पन्न भइ यति विद्युत् उत्पादन भएको हो । विद्युत् प्राधिकरणको तथ्यांकले यतिधेरै विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि समयमै सम्पन्न हुन नसक्ने देखेपछि यसलाई संशोधन गरेर १७८ मेगावाटमा झारेको थियो । तर त्यो लक्ष्यसमेत पूरा भएन । 
विद्युत् प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारी भने निजी क्षेत्रका ८ आोजनामार्फत ४८ मेगावाट गत वर्ष उत्पादन भएको बताउँछन् । उनका अनुसार, निजी क्षेत्रबाट २२ मेगावाटको वागमती खोला साना, ८.८ मेगावाटको रुदीखोला ए, ७.८ मेगावाटको सुपर माई, ५ मेगावाटको पिखुवाखोला, ३.३३ मेगावाटको कपडीगाढ, ०.१० मेगावाटको मिदिमखोला र ०.०९ मेगावाटको सोवुवा खोला तथा ०.९६ मेगावाटको विष्णुप्रिया सोलार आयोजना निर्माण सम्पन्न भई ग्रीडमा जोडिएका थिए । निर्माणाधीन ६० मेगावाटको माथिल्लो त्रिशूलीको एक युनिट अर्थात ३० मेगावाट पनि केन्द्रीय ग्रीडमा जोडिएको विद्युत् प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक सुनिल ढुंगेलले जानकारी दिए । 
२०७२ फागुनमा सरकारले ल्याएको ऊर्जा संकटकाल कार्ययोजनामा १० वर्षभित्र १० हजार मेगावाट र तीन वर्षभित्र ३ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर, तीन वर्षको तथ्यांक हेर्ने हो भने २ सय ९८ मेगावाट उत्पादन भएको छ । एक वर्षअघि फेरि सरकारले १० वर्षभित्र १५ हजार मेगावाट निर्माण गर्ने लक्ष्य सार्वजनिक गरेको छ । सो अनुसार अबको आगामी दुई वर्षभित्र सो लक्ष्य भेटाउन २९ सय २२ मेगावाट उत्पादन गर्नुपर्ने हुन्छ । सरकारी अधिकारीहरूले दुई वर्षभित्र लक्ष्य पूरा हुने अवस्था रहेको बताए पनि विगत तीन वर्षभित्रको तथ्यांक भने निराशजनक छ । विद्युत् प्राधिकरणले संशोधन गरेको लक्ष्य पनि हासिल हुन सकेको देखिँदैन । आर्थिक वर्ष २०७३-०७४ मा संशोधित लक्ष्य २०० सय मेगावाट रहेकोमा उत्पादन भने ११६ तथा २०७४-०७५ मा २५० लक्ष्य रहेकोमा १०४ मेगावाट उत्पादन भएको छ । आगामी आर्थिक वर्ष २०७६-७७ मा भने ११०० मेगावाट उत्पादन हुने लक्ष्य राखिएको छ । विद्युत् प्राधिकरणको लक्ष्यअनुसार वर्ष २०७६ भित्र ४० जलविद्युत् आयोजना निर्माण हुँदैछन् ।
विद्युत् प्राधिकरणका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६० मेगावाटको त्रिशुली ३ ए, १४ मेगावाटको कुलेखानी तेस्रो लगायतका आयोजना नयाँ वर्ष्भित्र सम्पन्न हुँदैछन् । यीबाहेक ४२ मेगावाटको मिस्त्रीखोला, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ए, ८२ मेगावाटको लोआर सोलुखोला, ८६ मेगावाटको सोलुखोला दूधकोसी, ३७.६ मेगावाटको काबेली–ए, ३४ मेगावाटको आँखुखोला लगायतका आयोजना पनि नयाँ वर्षभित्र सम्पन्न हुने सूचिमा प्राधिकरणले राखेको छ । 
२०७५ सालमै निर्माण सम्पन्न हुनुपर्ने २५ मेगावाटको काबेली बी ए, ३६ मेगावाट माथिल्लो बलेफी ए, २५ मेगावाटको दरवाङ म्याग्दी, १०२ मेगावाटको मध्यभोटेकोसी तथा ५७.३ मेगावाटको अपर र अपर साञ्जेन जलविद्युत् आयोजना पनि २०७६ सालमै सम्पन्न हुने अवस्था देखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हालसम्म सबैभन्दा बढी विद्युत् उत्पादन २०५९ सालमा १५१.५ मेगावाट उत्पादन भएको थियो ।
सो वर्ष १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजना विद्युत् प्राधिकरणमार्फत निर्माण सम्पन्न भएको थियो । चालू वर्षभित्र हालसम्मकै सबैभन्दा बढी उत्पादन हुने अपेक्षा प्राधिकरणको छ । हुन त ५ सय किलोवाटको फर्पिङ जलविद्युत्बाट सुरु भएको विद्युत् उत्पादनको इतिहास १ सय ७ वर्ष लामो छ । वि.सं. १९६८ सालमा नेपालमा विद्युत् उत्पादन भएको सुरु भएको जलविद्युत् उत्पादन हालसम्म आइपुग्दा ११ सय मेगावाटको हाराहारीमा पुगेको छ ।  

वर्ष           संशोधित लक्ष्य              उत्पादन  
                (मेगावाट) 
२०७३-७४        २००                      ११६
२०७४-७५        २५०                      १०४ 
२०७५-७६        १७८                       ७८
२०७६-७७        ११००                      –

Tuesday, July 16, 2019

पाँच प्रसारणलाइन र ६ सवस्टेसन डुबानमा

https://www.karobardaily.com/news/development/21902
सोमवार, असार ३०, २०७६
तीन दिनदेखि परेको अविरल वर्षाले देशभरका विभिन्न विद्युत् उत्पादन केन्द्र, वितरण लाइन र प्रसारणलाइन क्षतिग्रस्त भएका छन् । प्रारम्भिक तथ्यांकअनुसार बाढीपहिरोको कारण करिब ६० मेगावाट बराबरका चार जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार पाँचवटा प्रसारणलाइन क्षतिग्रस्त भएका छन् भने र ६ सवस्टेशन डुबानमा परेका छन् । गौर, यदुपौवा, जलेश्वर गौर, कटारी लगायतका ६ सवस्टेशन डुबानमा पर्दा त्यो क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । यस्तै, काबेली, लाहेन्द्रखोला, ढल्केबर, मनकामना क्षेत्रमा रहेका पाँच प्रसारण लाइनका टावरको क्षति भएको छ । “अहिले प्रारम्भिक जानकारी आएको हुनाले एकिन अवस्था छैन,” उनले भने, “विद्युत्को खपत मात्र ४० प्रतिशत घटेकोले धेरै क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या आएको भन्न सकिन्छ ।”अविरल वर्षाले नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका विद्युत् उत्पादन केन्द्रमा उत्पादनमै समस्या हुने गरी क्षति नपुगे पनि निजी क्षेत्रले निर्माण गरेका केही आयोजनाहरूको उत्पादन अवरुद्ध भएको छ । ललितपुरस्थित २२ मेगावाटको वाग्मती र कास्कीस्थित २५ मेगावाटको मादी विद्युत् केन्द्रमा क्षति पुगेको छ । त्यसैगरी विद्युत् प्राधिकरणको ३३ केभीको लाइन बाढीले क्षतविक्षत भएपछि ७ मेगावाटको मोलुङ खोलाको उत्पादन बन्द भएको केन्द्रका महाप्रबन्धक शरद बस्स्यालले जानकारी दिए । केही दिनअघि सिन्धुपाल्चोकस्थित चाकु खोलाको इन्टेक बगाउँदा मध्य र तल्लो चालुकको साढे ६ मेगावाटको विद्युत् उत्पादन बन्द भएको छ । प्राधिकरणका अनुसार बाढीपहिरोबाट देशका अधिकांश ग्रामीण क्षेत्रका वितरण प्रणाली अवरुद्ध भएको छ । ग्रामीण क्षेत्रमा जाने वितरण लाइनका धेरै पोल क्षतिग्रस्त हुँदा धेरै गाउँ अन्धकारमय बनेका छन् । हालसम्म सबै वितरण केन्द्रबाट ऐकिन विवरण आउन नसकेपनि अधिकांश ग्रामीण क्षेत्रका साथै पूर्वी र मध्य भागका विद्युतीय संरचनालाई क्षति पु-याएको छ । यही कारण शुक्रबार विद्युत् प्राधिकरणको माग करिब १२ सय मेगावाट रहेकोमा घटेर ६ सय मेगावाटमा आएपनि आइतबारसम्म मर्मत सम्भारपछि थप ३ सय मेगावाट बराबरको खपत बढेको छ । मोरङको उर्लाबारी, रंगेलीको महादेवा, विराटनगरको निमुवा, जलेश्वर लगायतका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ भने दुहबी ग्रिड सबस्टेसनको स्वीचयार्ड पानीले डुबाएको छ । धरान–धनकुटा–संखुवासभा ३३ केभी लाइनमा समस्या आउँदा धनकुटा, संखुवासभालगायत केही स्थानमा  विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरणले जनाएको छ । लहान, मिर्चैया, कन्चनपुर, राजविराज,, मलंगवा  लगायतका केही विद्युत् केन्द्र अन्र्तगतका क्षेत्रमा आंशिक विद्युत् आपूर्ति बन्द भएको छ । त्यसैगरी गाइघाट–दिक्तेल ३३ केभी लाइनको टावर बगाउँदा उदयपुरको काँडाघारी सबस्टेसन बन्द भएको छ । गाइघाट–बुइपा लाइन अवरुद्ध हुदा ओखलढुङ्गामा केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ । त्यसैगरी काभ्रे, सिन्धुली, दोलखा, रामेछाप, गौरलगायत क्षेत्रमा आंशिक रुपमा विद्युत् अवरुद्ध भएको छ । 

निजी क्षेत्रले सिधै उद्योग वा संस्थालाई बिजुली बेच्न पाउने

https://www.karobardaily.com/news/development/21943
मंगलबार, असार ३१, २०७६
निजी जलविद्युत् प्रवद्र्धकहरूले उद्योग, संस्था, व्यक्ति वा समुदायलाई सिधै बिजुली बिक्री गर्न पाउने भएका छन् । विद्युत् नियमन आयोगले सार्वजनिक गरेको आयोगबाट सम्पादन गर्नुपर्ने कार्यसम्बन्धी निर्देशिकाको मस्यौदामा निजी क्षेत्रले आयोगको सहमतिमा सिधै बिजुली बिक्री गर्न पाउने उल्लेख छ ।हाल निजी प्रवद्र्धकहरूले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् खरिद सम्झौता (पीपीए) गरी बिक्री गर्दै आएका छन् । मस्यौदामा विद्युत् बिक्रीकर्ता र विद्युत् खपत गर्ने उद्योग वा संस्था वा व्यक्ति वा समुदायले आयोजनाको सहमति लिई आपसी समझदारीमा विद्युत्को खरिद बिक्री दर निर्धारण गर्न सक्ने उल्लेख छ । आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले मस्यौदामा उल्लेखित व्यवस्थाले जलविद्युत् उत्पादकले आयोगको सहमतिमा दर तय गरेर विद्युत् प्राधिकरणविना सिधै कुनै उद्योग, संस्था, व्यक्ति वा समुदायलाई विद्युत् बिक्री गर्नका लागि बाटो खुलेको बताए । हाल विद्युत् प्राधिकरणले मात्र वितरण गर्दै आएकोमा निजी क्षेत्रले समेत कुनै उद्योग, संस्था वा समुदायमा विद्युत् वितरणका लागि बाटो खुला गरे पनि निजी क्षेत्रले विद्युत् वितरणका आवश्यक पर्ने विद्युत् भण्डारणका साथै प्रसारण र वितरणलाइनको उपयोगमा भने चुनौती छ । हालसम्म विद्युत् प्राधिकरणसँग मात्र संरचना भएकाले त्यो संरचना उपयोग गर्दा लाग्ने शुल्क उल्लेख गरिएको छैन । मस्यौदामा आयोगले विद्युत् खरिद बिक्री दर निर्धारणका लागि १४ आधार तोकेको छ । मस्यौदामा आयोगले विद्यत् खरिद बिक्री दर निर्धारण तथा पीपीएको सहमति गरेपछि मात्र अन्तिम हस्ताक्षर हुने उल्लेख छ । मस्यौदामा परियोजनाको लागत, स्वःपुँजी तथा ऋणको अनुपात, ऋणको स्रोत तथा ब्याज, ऋणको साँवा ब्याजको भुक्तानी प्रक्रिया, निर्माण वा सञ्चालनमा प्राप्त हुने अनुदान, ह्रासकट्टी वा अग्रीम ह्रासकट्टी, लगानी प्रतिफल, साधारण खर्च, सञ्चालन खर्च, मर्मत सम्भार खर्च, कार्य सञ्चालन खर्च, राजस्व कर तथा अन्य सेवा शुल्क, अतिरिक्त पुँजीकरण, सरकारका नीति तथा नियमहरूका आधारमा खरिद बिक्री दर तय हुने उल्लेख छ । मस्यौदामा आवश्यक कागजपत्रसहित निवेदन आएको ६० दिनभित्र सहमति प्रदान गरिने उल्लेख छ । हाल विद्युत् प्राधिकरणले प्रतियुनिट वर्षामा ४.८० र हिउँदमा ८.४० रूपैयाँमा पीपीए गर्दै आएकोमा मस्यौदाको व्यवस्थाअनुसार प्रत्येक आयोजनाको दर फरक फरक हुनेछ ।मस्यौदाले हाल विद्युत् विकास विभागले ग्रिड कनेक्सन वा सम्बन्धित निकायको आशयपत्रका आधारमा पीपीए गरी उत्पादन अनुमतिपत्र दिँदै आएकोमा मस्यौदाले उत्पादन अनुमतिपत्रपछि मात्र पीपीए हुने, प्राधिकरणले पीपीएबारे विश्लेषणसहित आयोगमा स्वीकृतिका लागि दिएपछि मात्र पीपीएको सम्झौता हुने व्यवस्था गरेको छ ।कानुनतः आयोग २०७४ साल मंसिरदेखि नै सकृय भएसँगै पीपीए दर तोक्ने अधिकार आयोगको भए पनि मस्यौदाले भने आयोग पदाधिकारी चयन हुनुपूर्व भएका सबै पीपीएको दर सोही कायम हुने उल्लेख गरेको छ । कानुनीरूपमा सकृय भएपछि प्राधिकरणले गर्ने पीपीएबारे अन्योल थियो । तर ती सम्झौतामा समेत नयाँ विद्युत् खरिद दर निर्धारण वा संशोधन गर्नुपरेमा भने आयोगको स्वीकृति लिनुपर्ने मस्यौदामा उल्लेख छ । आगामी वर्षदेखि ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको पीपीए संशोधन गर्नुपर्ने प्रावधान रहेकाले सो कार्य गर्न भने अब आयोगको स्वीकृति लिनुपर्नेछ । आयोगका अध्यक्ष डिल्ली सिंह मस्यौदा तयार भएर प्रतिक्रियाका लागि सार्वजनिक गरिएको र सबैको प्रतिक्रियाका आधारमा अन्तिम रूप दिई पीपीएका लागि आवश्यक विश्लेषण गरी आयोगले स्वीकृति दिँदै जाने बताउँछन् ।प्रतिस्पर्धाबाट छनोट आयोजनाको हकमा प्रतिस्पर्धा गराउँदा अवलम्बन गरेका विधि तथा स्थानीय तहको अनुमतिमा स्थानीय स्तरमा बन्ने एक सय किलोवाट भन्दा साना आयोजनाको हकमा विद्युत् खरिद बिक्री दर निर्धारण गर्ने मस्यौदामा उल्लेख छ । मस्यौदामा वितरण अनुमति प्राप्त व्यक्तिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विद्युत् मागको प्रक्षेपणका आधारमा विद्युत् खरिद योजना तयार गर्नुपर्ने, वितरण अनुमति प्राप्त व्यक्ति हरेक आर्थिक वर्षको प्रथम चैमासिक अवधिभित्र उपभोक्ताको वर्गीकरणसहित तीन वर्षको माग र उत्पादन हुने विद्युत्को प्रक्षेपण गरी पुग–अपुगका आधारमा सो व्यवस्थापन योजना उपलब्ध हुने, उपभोक्ताले बुझाउने नयाँ महशूल दर आयोगले निर्धारण नगरेसम्म हाल कायम रहेको महशूललाई निरन्तरता दिने, नयाँ महशूलका लागि वितरण अनुमति प्राप्त व्यक्तिले नियमावलीको आधारमा आयोगमा निवेदन दिनुपर्ने उल्लेख छ । हाल विद्युत् प्राधिकरण आफैंले प्रसारण र वितरण चुहावटको अनुगमन गर्दै आएकोमा मस्यौदामा स्वतन्त्र विज्ञ समूहबाट गर्नुपर्ने, सो समूहले तयार पारेको प्रतिवेदनसहित उत्पादन र प्रसारणको मर्मत सम्भारसम्बन्धी बार्षिक कार्ययोजना प्रत्येक वर्ष सकिएको ६ महिनाभित्र आयोग समक्ष पेश गर्नुपर्ने, काबुबाहिरको परिस्थिवाहेक विद्युत् आपूर्तिमा लगातार तीन घण्टा भन्दा बढी अवरोध हुने अवस्था सिर्जना भएमा उपभोक्तालाई जानकारी गराउनुपर्ने उल्लेख छ । अनुमति प्राप्त व्यक्तिले उत्पादन, प्रसारण, वितरण वा व्यापार क्षेत्रको फरक फरक लेखा राख्नुपर्ने, वार्षिक साधारणसभापूर्व आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन र साधारणसभाका छलफलका विषय आयोग समक्ष पेश गर्नुपर्ने मस्यौदामा उल्लेख छ । आयोगले एक सय किलोवाटदेखि एक मेगावाटसम्म एक लाख, एक मेगावाटदेखि एक हजार मेगावाटसम्म प्रतिमेगावाट १० हजार र एक हजार मेगावाटभन्दा माथिका आयोजनाबाट एकमुष्ट २० लाख रुपैयाँ सेवा शुल्क लिने प्रस्ताव पनि गरेको छ ।

Thursday, July 11, 2019

भारतसँग ग्रीड सिंक्रोनाइज गर्न आठ सवस्टेसनमा विशेष सुरक्षा प्रणाली

शुक्रवार, असार २७, २०७६
नेपाल र भारतबीचमा ग्रीड सिंक्रोनाइजका लागि नेपालका आठ सवस्टेसनमा विशेष सुरक्षा प्रणाली (एसपीएस) जडान गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) बीच भारतस्थित भएको बैठकले एसपीएस कार्यान्वयन प्रतिवेदन स्वीकृत गरेसँगै ग्रीड सिंक्रोनाइजका लागि आठ स्थानमा यस्तो प्रणाली जडान हुने भएको हो । बैठकले ग्रीड सिंक्रोनाइजका लागि एसपीएसलाई पूर्वसर्तको रूपमा लिइन्छ । विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार बैठकबाट स्वीकृत कार्यान्वयन प्रतिवेदनअनुसार ग्रीड सिंक्रोनाइजका लागि पूर्वसर्तको रूपमा लिइने एसपीएस नेपालका आठ सवस्टेसनमा जडान गरिनेछ ।  नेपालका ढल्केवर, चपुर, हेटौडा, भरतपुर, बुटबल, लमही, भक्तपुर र कामना सवस्टेसनमा ग्रीड सिंक्रोनाइजका लागि एसपीएससहित कम्युनिष्टकेसन सिष्टम जडान गरिने प्राधिकरणले जनाएको छ । ऊर्जा व्यापार सम्झौता (पीटीए)बाट गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को बैठकले दुई देशबीचको अन्तरदेशीय प्रसारण लाइनको ग्रीड सिंक्रोनाइज गर्न नेपालका प्रतिक्रियाहरूलाई समेत समावेश गरेर त्यसलाई अन्तिम रूप दिन विषयमा सहमति भएको थियो । यसलाई कार्यान्वयन गर्न भारतको पावर ग्रीड कम्पनी र पावर सिष्टम अपरेसन कर्पोरेसनका विज्ञहरूको टोलीले नेपालमा गत सेक्टेम्बरमा नेपालका मुख्य मुख्य सवस्टेसनहरूमा तथा भारत प्रेषण केन्द्रमा भ्रमण गरी प्राविधिक प्रतिवेदन तयार गरेको थियो भने यसमा नेपालका प्रतिक्रियाहरू समेत समावेश गरेर अन्तिम रूप दिइएको थियो ।    प्रतिवेदनअनुसार नेपालको भार प्रेषण केन्द्र र भारतको राष्ट्रिय भारप्रेषण केन्द्रबीचमा सिधै हटलाइन डाटा र भ्याइस कम्युनिकेसनका साथै दुई ग्रीड सिंक्रोनाइज (एउटै) भएर अपरेसन हुने भएपछि अपरेसनल इस्युमा छलफल गर्नका लागि सिच्यूचाटारमा भीडीयो कन्फरेसन्स सुविधा जडान हुनेछ । एसपीएसहित यी उपकरणहरू जडान भएपछि मात्र ग्रीड सिंक्रोनाइज हुनेछ । प्रतिवेदनअनुसार वार्षिक रूपमा मर्मतलगायतमा लाइन जाँदा दुवै पक्षले स्वीकृत गरेर मात्र गर्नुपर्ने लगायतमा बुँदामा समेत बैठकमा सहमति भएको छ । सबै उपकरणहरूका लागि लाग्ने लगानीबारे भने टुंगो लागिसकेको छैन । बैठकले एक महिनाभित्र कुल लाग्ने लगानीको समेत टुंगो लगाउने सहमति भएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित बैठकमा नेपालको तर्फबाट प्राधिकरणका बज्रभुषण चौधरी, जगदिशश्वर मानसिंह र प्रवल अधिकारी तथा ऊर्जा मन्त्रालयका सागर गौतम सहभागी भएका थिए ।अगष्ट १६ तारिखमा नेपालको पहिलो ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइन २२० केभीमा चार्ज भएको थियो । आगामी डिसेम्बरसम्ममा ढल्केबर सवस्टेसन ४ सय केभीमा चार्ज हुनेछ । प्राधिकरणका अनुसार ४००÷२२० केभीका तीन वटा ३१५÷३१५ एमभीएका ट्रान्सफर्मर ढल्केबर सवस्टेसनमा जडान हुनेछन् । डिसेम्बरमा ४०० केभीमा चार्ज भएपछि त्यसलाई आवश्यकता अनुसार अपडेट  गर्नुपर्नेछ । सिंक्रोनाइजसँगै दोस्रो बुटबल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन समेत जोडिएको छ । एउटामात्र प्रशारण लाइन हुँदा समस्या आएमा विद्युत् आदानप्रदामा समस्या आउने भएकोले भारत पक्षले दोस्रो बुटबल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन निर्माणमा दुवै देशले जोड दिँदै आएका छन् । एकपटक भारत–वंगलादेशको विद्युत् प्रणालीमा समस्या आएपछि वंगलादेश पूर्ण रूपमा अन्धकारण भएको थियो तर विज्ञहरू नेपाल र भारत तथा भारत र वंगलादेशबीचको अन्तरदेशीय प्रसारण लाइनको प्रणाली फरक फरक भएकोले त्यस्तो समस्या नआउने बताउँछन् । विज्ञका अनुसार, वंगलादेश र भारतबीचको अन्तरदेशीय प्रशारण लाइनको एचभीएसी छ भने भारत वेरामपुर र वंगलादेशको भेरामारा जोड्ने एचभीडीसीमा रहेको छ । सिंक्रोनाइज भएपछि नेपालमा भएको फल्टले भारत र भारतको फल्टले नेपालको प्रणालीको प्रणाली ध्वस्त हुने समस्यालाई सम्बोधन गर्ने गरी एसपीएस जडान गर्ने भएकोले त्यस्तो समस्या आउने र समस्या आएमा एउटा सानो एरियामा मात्र आउने उनीहरूको भनाइ छ ।
 
के हो ग्रीड सिंक्रोनाइज ?

विद्युत् आदानप्रदानका लागि नेपाल र भारतबीच एउटै सिष्टम हुने प्रणाली नै ग्रीड सिंक्रोनाइज हो । ग्रीड सिंक्रोनाइजपछि हाल नेपालले भारतबाट विभिन्न नाका हुँदै विद्युत् आयात गर्ने गरेकोमा एउटै र एकीकृत हुनेछ । हाल टुक्रा–टुक्रामा रहेको विद्युत्् प्रणाली सिंक्रोनाइज भएपछि सन्तुलित रूपमा माग र आपूर्ति प्रणाली सञ्चालनका लागि सहज हुनेछ । प्राधिकरणका अनुसार नेपाल र भारतको केन्द्रीय ग्रीडबीच सिंक्रोनाइज हुन विशेष सुरक्षा प्रणाली (एसपीएस) तथा प्राधिकरण भारप्रेषण केन्द्र (एलडीसी)बीच प्रत्यक्ष सञ्चार प्रणाली जडान हुनुपर्छ भने तथ्यांक र आवाज (भ्वाइस) कम्युनिकेसन पनि जोडिनुपर्ने छ । 

बुटवल–गोरखपुर प्रसारणलाइनमा अलमल


https://www.karobardaily.com/news/development/21780
बिहिवार, असार २६, २०७६
सरकारले अघि बढाउन लागेको दोस्रो अन्तरदेशीय बुटवल–गोरखपुर प्रसारण लाइनको मोडालिटी (प्रारूप) बारेमा अलमल देखिएको छ । अन्तरदेशीय प्रसारणलाइन बनाउनका लागि दुवै  देशबीच सहमति भए पनि नेपाल र भारतबीच कुन मोडालिटीमा बनाउने भन्नेमै अलमल देखिएको हो । विगत तीन वर्षदेखि दुवै देशबीच मोडालिटी निर्माणका लागि बैठक र छलफल अघि बढेको छ । नेपालले ऊर्जा व्यापार सम्झौता (पीटीए)मा गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को बैठकले मोडालिटीको टुंगो लगाउने जिम्मा जेएससीले नेपाल विद्युत् प्राधिकरण (एनईए) र भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए)लाई दिएको छ । मंगलबार भारतमा एनईए र सीईएबीच भएको बैठकमा मोडालिटीबारे छलफल भएको र यसको अन्तिम टुंगो भने जेएससीले लगाउने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । “विकल्पहरूको बारेमा छलफल भयो, कुन मोडालिटीमा जाने भने टुंगो भने जेएससीले लगाउने हो,” उनले भने, “अबको एक महिनाभित्र बस्ने जेएससी बैठकले मोडालिटीलाई अन्तिम रूप दिन्छ ।”विद्युत् प्राधिकरण र भारतको सीईएले मोडोलिटी ल्याउने र आगामी जेएससी बैठकले अन्तिम रूप दिने जेएससीको अपेक्षा छ । बैठकमा भएको छलफलको आधारमा विकल्पहरूको प्राथमिकीकरण गरी एनईए र सीईएले जेएससीमा यसबारे प्रस्ताव राख्नेछन् । बैठकमा नेपालले केही वर्षपछि भारतमा विद्युत् निर्यात गर्ने अवस्था देखिएकोले सात वर्ष नेपालले एकल बुकिङ गर्ने र त्यसपछि संयुक्त रूपमा गर्ने, शतप्रतिशत इक्विटीमा बनाउने वा ढल्केबर–मुज्जफरपुर मोडालिटीलाई सुधारेर निर्माण गर्ने लगायतबारे छलफल भएको थियो । नेपाल पहिलो अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफपुर अन्तरदेशीय प्रसारण लाइनमा रहेको नेपालतर्फको २५ वर्षको एकल बुकिङ छ । अमेरिकाको मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) ले नेपालको ऊर्जा र सडक निर्माणका लागि दिएको ५२ अर्बको अनुदानमार्फत अघि बढ्नका लागि एउटा सर्तको रूपमा न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनलाई सुनिश्चिततालाई एक प्रावधानको रूपमा राखिएको छ । एमसीसीले प्रशारणलाइनतर्फ लप्सीफेदीदेखि दमौलीसम्मको ३ सय किलोमिटर र दमौलीदेखि नेपाल–भारतको सीमा नजिक सुनवलसम्म २३ किलोमिटर ४ सय केभीको प्रसारण लाइन निर्माण गर्ने योजना छ  एमसीसीको सहयोगमा निर्माण प्रशारण लाइन सरकारले प्रस्ताव गरेको न्यू बुटवलदेखि गोरखपुरसम्मको दोस्रो अन्तरदेशीय प्रसारणसँग जोडिनेछ । एमसीसीले आफ्ना परियोजनासेक्टेम्बर २०१९ देखि सबै प्रक्रिया पूरा गरेर सुरु गर्ने लक्ष्य राखेको छ तर दोस्रो अन्तरदेशीय प्रसारण लाइनको सुनिश्चितता नहुँदा परियोजनाको लक्षित समयमा असर पर्ने देखिएको छ । यसकारण पनि एमसीसीको मोडालिटी छिटो टुंग्याउनुपर्ने दबाब परेको छ । प्राधिकरणका अनुसार सो अन्तरदेशीय प्रसारण लाइनमा भारततर्फ १२० किलोमिर तथा नेपालतर्फ २० किलोमिटर प्रसारण लाइन बनाउनुपर्छ भने नेपालतर्फ २ अर्ब ५ करोड भारतीय रूपैयाँ तथा भारततर्फ ५ अर्ब १५ करोड भारतीय रूपैयाँ लाग्ने सन् २०१६ को अध्ययनले देखाएको छ । प्रसारण लाइनको लगानी मोडालिटी पनि यसको टुंगो लागिसकेको छैन । 

Tuesday, July 9, 2019

जलविद्युत् लगानी कम्पनी अब कोष प्रबन्धक !

मंगलबार, असार २४, २०७६
ऊर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्रालयले जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)लाई जनताको जलविद्युत् कार्यक्रमको कोष प्रबन्धक (फण्ड म्यानेजर) को जिम्मा दिने निर्णय गरेको छ । जलविद्युत् आयोजनामा लगानी जुटाउन गठन गरिएको संस्थालाई फण्ड म्यानेजरको जिम्मा दिन लागिएको हो । कोषले स्थापनाको लक्ष्यअनुसार काम नगरेको भन्दै आलोचना भइरहेका बेला सरकारले अर्कै जिम्मेवारी दिन लागेको हो । 
ऊर्जामन्त्री वर्षमान पुनको संयोजकत्वमा रहेको कार्यक्रम कार्यान्वयन तथा समन्वय समितिको चौथो बैठकले फण्ड म्यानेजरको जिम्मेवारी एचआईडीसीएललाई दिने निर्णय गरेको हो । मन्त्रालयका सहसचिवत्रय प्रवीणराज अर्याल, तोयानाथ अधिकारी र नवीनराज सिंहका साथै अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखाका सहसचिव तोयम राय, विद्युत् विकास विभागका महानिर्देशक मधु भेटुवाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेललगायत सदस्य रहेको संलग्न समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ७ खर्ब बराबरको ३५ सय मेगावाटको जलविद्युत् आयोजना सरकारले अघि बढाउन लागेको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी रहने आयोजनामा २ खर्ब १० अर्ब इक्विटी लगानीमा हुनेमा त्यसको ४९ प्रतिशत अर्थात करिब १ खर्ब जनताको लगानी हुनेछ । जनताको जलविद्युत् कार्यक्रमको कार्यविधिमा सेयर रकमको व्यवस्थापनका लागि सम्बन्धित आयोजनाको आवश्यक नपर्ने भएमा सम्बन्धित कम्पनीले मन्त्रालयको स्वीकृति लिइ त्यस्तो रकम कुनै बैक वा वित्तीय संस्था वा सरकारको स्वामित्वमा रहेको एचआईडीसिएलाई व्यवस्थापनको जिम्मा दिने सकिने उल्लेख छ । ऊर्जा मन्त्रालयका प्रवक्ता अर्यालले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत कोष व्यवस्थापनको जिम्मा एचआईडीसिएललाई दिने निर्णय गरेको जानकारी दिए । “जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत जनताबाट लगानी व्यवस्थापनको जिम्मेवारी एचआईडीसीएललाई दिइएको छ, जनताबाट पैसा उठाउने लगायतका काम त्यो निकायबाट हुन्छ,” उनले भने । मन्त्रालय स्रोतका अनुसार, समन्वय समितिले निर्णय गरेकोले अब एचआईडीसीएलले स्वीकृतिका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ । बैंकर अनलराज भट्टराई भने सरकारले निर्णय गरेपछि एचआईडीसीएलले संक्रमणकालीन अवस्थामा कोष प्रबन्धकको जिम्मेवारी लिनसक्ने बताउँछन् । 
एचआईडीसीएलले जलविद्युत् लगानी तथा विकासका लागि विभिन्न आयोजनाहरूमा लगानी गर्नुका साथै स्वपुँजी (इक्विटी) लगानी गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविलाल पोखरेल राष्ट्र बैंकसँग कोष व्यवस्थापनको लागि स्वीकृति लिइएको र निर्णयपछि कार्यविधि बनाएर कोष व्यवस्थापन गर्ने बताए । “अब कार्यविधि बनाएर कम्पनीले कोष प्रबन्धकको भूमिका पनि निर्वाह गर्नेछ,” उनले भने ।

Monday, July 8, 2019

पूर्णरूपमा स्वायत्त भएको देखिने गरी आयोगले काम गर्छ

बुधवार, असार १८, २०७६
डेढ महिनाअघि मात्र लामो समयदेखि नेपालको जलविद्युत् क्षेत्रको नियमनका लागि आवश्यक ठानिएको नेपाल विद्युत् नियमन आयोगको पदाधिकारी नियुक्त भएका छन् । २०६५ सालमै नियमन आयोगको मस्यौदा बनेपछि २०७४ साउनमा संसद्बाट पारित भएर १९ भदौमा राष्ट्रपतिबाट प्रमाणीकरण भएर २० मंसिर २०७४ देखि कानुनी रूपमा स्वतः सक्रिय भएको थियो, तर सरकारले आयोगका पदाधिकारी नियुक्तिमा ढिलाइ ग-यो । पदाधिकारी नहुँदा कानुनी रूपमा सक्रिय भएर पनि काममा पूर्ण निष्क्रिय देखिएको आयोगलाई आफ्ना क्षेत्राधिकारभित्रका नीति–निर्देशिका बनाउनका लागि भ्याइनभ्याइ छ । विद्युत् विकास विभागमा लामो समय काम गरेर अवकाश पाएर आयोगको अध्यक्ष बनेका दिल्लीबहादुर सिंहसहित सदस्यहरू यसमा व्यस्त छन्, तर विद्युत् खरिद सम्झौता (पीपीए), सेयर निष्कासनका लागि स्वीकृतिलगायतमा भने आयोगले ढिलाइ गरेको भन्दै आलोचना पनि भएको छ । बल्ल आयोगले विद्युत्सम्बन्धी कम्पनीको सेयर निष्कासनसम्बन्धी निर्देशिका–२०७६ भने ल्याएको छ । आयोगले अघि बढाउन लागेको काम, यसको स्वायत्त, पीपीए र सेयर निष्कासन स्वीकृतिमा भएको ढिलाइलगायतबारे विद्युत् विकास विभागका पूर्वमहानिर्देशक समेत रहेका आयोगका अध्यक्ष सिंहसँग कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :
विद्युत् नियमन आयोगको अध्यक्ष भएपछिको यो अवधिमा नियमन आयोगको भूमिकालाई कसरी लिनुभएको छ ? 
नियमन आयोगको भूमिका अत्यन्तै गहन छ । जलविद्युत् क्षेत्र भनेको मुलुकको सबैभन्दा ठूलो क्षेत्र हो । यसमा धेरै सरोकारवाला हुनुहुन्छ । ऊर्जा मन्त्रालय छ, विद्युत् विकास विभाग छ, निजी क्षेत्र छ । उपभोक्ता, बैंक, धितोपत्र बोर्ड छ । नेपाल विद्युत् प्राधिकरण त सबैभन्दा महत्वपूर्ण सरोकार भइहाल्यो । बुटवल पावर कम्पनी (बीपीसी) पनि छ । यी सबै निकायलाई एकै छातामुनि राखेर नियमन गर्नुपर्ने काम अत्यन्तै गहन जिम्मेवारी हो । यसका लागि हामी अघि बढेका छौं ।
नियमन आयोग आयो तर काम गर्न सकेन भनेर आलोचना भइरहेको छ । के नियमन आयोग सुस्त नै भएको हो त ? 
सुस्त होइन, अत्यन्तै गतिमा दौडिरहेका छौं । नियमन आयोगका पदाधिकारी नियुक्त भएको ६ हप्ता भयो । आउँदा हामीसँग टेबल, कुर्सी, कोठा केही थिएन । विद्युत् विकास विभागसँग मागेर उनीहरूले दिएको कोठामा बसेका छौं । आयोगसँग जनशक्ति पनि छैन । अहिले पनि जनशक्ति त आंशिकसहित ११ जनामात्र भएको अवस्था छ । यस अवधिमा पनि हामीले धेरै काम गरिसक्यौं । हामी आफैंले तत्कालका लागि अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट (ओएनएम) सर्भे गरेर मन्त्रालय पठाएका छौं । यो प्रक्रिया अघि बढाएको छ । यसका लागि वास्तविक ओएनएम सर्भेका लागि विज्ञ नियुक्त गरिसकेका छौं । उहाँहरूले ओएनएम सर्भे गरेपछि ऐनमा भएका धेरै काम, कर्तव्य र अधिकारलाई सफलतापूर्वक अघि बढाउन कति कर्मचारी चाहिन्छ, अर्गनोग्राम के चाहिन्छ, त्यो सबै चिज विज्ञहरूले दिनुहुन्छ । त्यो दिएपछि हामीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाउँछौं । त्यहाँबाट संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जान्छ । अर्थ मन्त्रालयको सहमति लिएपछि मात्र हाम्रो वास्तविक संरचना बन्छ । त्यो काम गरिसकेका छांै भने अर्कातिर सेयर निष्कासन सम्बन्धमा धेरै निवेदन परिरहेका छन् । यसको निर्देशिका अघि बढेको छ । त्यसैगरी विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धी निर्देशिका पनि बनाउने क्रममा छौं । अहिले सरोकारवालासँगको परामर्शमा छौं । ग्रिड बनाउने सम्बन्धमा पनि काम सुरु गरिसकेका छौं । उपभोक्ता संरक्षणका लागि के–कस्तो गर्न सकिन्छ भन्ने स्कोपिङ गरिरहेका छौं । यी सबै काम भइरहेका छन् । हामीले प्राप्त स्रोतका आधारमा दु्रत गतिमा काम गरिरहेका छौं ।
नियमन आयोग आएपछि झन् पीपीए नै रोकियो भनेर तपाईंहरूमाथि आरोप लागेको छ, के आयोगले रोकेको हो त ? 
त्यो गलत आरोप हो । नबुझेर लगाएको हो । नेपाल सरकारले १० वर्षमा १० हजार मेगावाट आन्तरिक खपत तथा ५ हजार मेगावाट बाह्य व्यापारका लागि भनेर कार्यक्रम बनाएको छ । यसमा हामीले छिटो गर्नेतर्फ लाग्ने हो नि । ढिलो गर्ने त कुरै भएन । पीपीए गर्ने नियमन आयोगले होइन, विद्युत् प्राधिकरणले हो । विद्युत् प्राधिकरणले पीपीए गर्नुअघि कनेक्सन एग्रिमेन्ट गर्छ । त्यसपछि पीपीए गर्नका लागि सबै विवरण मागेर विश्लेषण गरी त्यसका आधारमा सम्झौता गर्छ । त्यो सम्झौता भइसकेपछि त्यो विवरण हामीकहाँ पठाएपछि हामीले त्यसमा सहमति दिने हो । पीपीए हामीले गर्ने होइन, सहमति मात्र दिने हो । यसबारे विद्युत् प्राधिकरणसँग कुराकानी भइसकेको छ । उहाँहरूले पीपीए स्वीकृतिका लागि पठाउँछु पनि भन्नुभएको छ । हामीले पीपीए रोकेको कदापि होइन । हामीले पीपीए रोक्ने पनि होइन, गर्ने पनि होइन । विद्युत् प्राधिकरणले दिएको सिफारिसका आधारमा सहमति दिने हो । त्यो दिन हामी समक्ष छौं । जुन बेला आउँछ, दिन्छौं ।
के नियमन आयोगको काम अन्तिम चरणमा स्वीकृति मात्र दिने हो र ? त्यसको लागतलगायतका आर्थिक सूचकांकहरूको विश्लेषण त आयोगले गर्नुपर्ने होला, तर अन्तिममा मात्र स्वीकृति दिँदा त आयोगको जिम्मेवारीअनुसार हुन्छ र ? 
यो कुरा होइन । विद्युत् प्राधिकरणले सम्पूर्ण चिज विश्लेषण गरेर आयोगलाई दिन्छ । सबै विश्लेषण दिएपछि स्वीकृति गर्ने क्रममा ठीक छ भने ठीक छ र ठीक छैन भने ठीक छैन, यसमा सुधार गर्नुपर्छ भनेर पठाउँछौं । यो हिसाब–किताबमा स्वीकृति दिने वा यसमा संशोधन के गर्नुपर्ने हो, त्यो हामी गर्छौं ।
अहिले निजी क्षेत्रले विद्युत् व्यापारको कुरा गरिरहेको छ । कतिपयले विद्युत् प्राधिकरणभित्र रहेको एकाधिकार अन्त्यका लागि आयोगको भूमिका ठूलो हुन्छ भनिरहेका छन् । जलविद्युत् क्षेत्रमा खुला र प्रतिस्पर्धी वातावरण बनाउने आयोगको भूमिकालाई कसरी कार्यान्वयन गर्नुहुन्छ ? 
विद्युत् प्राधिकरणको एकाधिकार मात्र छ त नभनौं । बीपीसीले पनि वितरणको क्षेत्रमा काम गरेको छ । ३० वर्षअघिसम्म पूर्वाञ्चल, मध्यमाञ्चललगायतका पाँच–सातवटा कर्पोरेसन थिए । त्यो बेलाभन्दा अहिले ८-१० गुणा बढी विद्युत् उत्पादन भइसकेको छ । विद्युत् उत्पादन, वितरण, प्रसारण र व्यापारमा कुनै खेलाडी आएर गर्छौं भन्छन्, भने उनीहरूलाई स्वागत गरिन्छ । अझ व्यापारमा कुनै खेलाडी आउँछन् भने त्यसमा स्वागत नगर्ने कुरै छैन । प्रतिस्पर्धा हुने वातावरणमा सहयोग गर्नेछौं ।
अहिले नियमन आयोगलाई विद्युत् महसुल निर्धारण गर्ने अधिकार दिइएको छ । पछिल्लो समयमा विद्युत् प्राधिकरणले दिएको ट्रक लाइन र डेडिकेटेड लाइनको महसुलबारे ठूलो विवाद छ । ९ अर्ब बराबरको सो बक्यौता उठ्न सकेको छैन । महसुल घटाउन नसक्नुको कारण आयोगलाई देखाइने गरेको छ । प्राधिकरणका उपभोक्ता व्यापारी–व्यवसायीले यसको मिनाहा गर्नुपर्ने माग पनि उठाइरहेका छन् । यसलाई कसरी हेर्नुभएको छ ? 
अहिले ट्रक लाइन र डेडिकेटेड फिडर लिने कम्पनी, उद्योगहरूबीच छलफल, वार्ता र जुहारी चलिरहेको छ । कुनै कम्पनी अदालतमा पनि गएको परिस्थिति छ । उहाँहरूले अदालतबाट जे निर्णय आउँछ, त्यो मान्नुपर्ने अवस्था छ । अदालतमा नगएकाहरू पनि विद्युत् प्राधिकरणसँग छलफलमा रहेकाले हामीकहाँ कोही पनि त्यो मुद्दा लिएर आउनुभएको छैन । उहाँहरू आउनुभयो भने यसबारे सम्बन्धित सरोकारवाला छलफल गरेर यसको समाधान गर्छौं ।
नियमन आयोगले मिनाहा गर्न सक्छ कि सक्दैन ? 
सक्छ कि सक्दैन भन्ने कुरा नगरौँ । जुन बेला त्यो केस विभागमा आउँछ, त्यति बेला हेरौंला । अहिले नआएको परिस्थितिमा यस्तो होला, नहोला भनेर बोल्नु राम्रो होइन । अझ यो मुद्दा त अदालतमा गएको छ, यसबारे बोल्दा उचित हुँदैन । अदालतभन्दा माथि हामी होइनौं । प्राधिकरण पनि होइन । यसमा बोलिनहालौं ।

नियमन आयोगसँग जलविद्युत् क्षेत्रका सबै सरोकारवालालाई नियमन गर्ने अधिकार छ, तर आयोग कत्तिको स्वायत्त ढंगले अघि बढ्न सक्छ भनेर प्रश्न उठ्ने गरेको छ ? 
स्वायत्त संस्था भनेरै गठन गरिएको हो । स्वायत्त हुँदाहुँदै पनि कुनै कुरा अघि बढाउँदा सम्पूर्ण सरोकारवालासँग छलफल, अन्तक्र्रिया र परामर्श लिन्छौं । सकिन्छ भने मत ऐक्यताबद्ध भएर र सकिँदैन भने विधिको शासनअनुसार हामी अगाडि बढ्छौं ।

आयोगले स्वायत्त रूपमा काम गर्न नसक्ने तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको छायामा पर्ने भन्दै बेलाबेलामा यसबारे बहस पनि चल्ने गरेको छ । आफ्नो स्वायत्ततालाई कति जोगाउन सक्ला आयोगले ? 
ऊर्जा मन्त्रालय यो देशको ऊर्जा क्षेत्र हाँक्ने महत्वपूर्ण निकाय हो । ऊर्जा मन्त्रालयले १० वर्षे, २० वर्षे ल्याउनेदेखि सबै काम उसैले गर्छ । ऊसँग पनि सहमति, सहकार्य नगरेर एक्लै घोडा दौडाउँछु भन्ने कुरा त भएन नि । ऊर्जा मन्त्रालय मात्र होइन, विद्युत् प्राधिकरण, निजी क्षेत्र, जल तथा ऊर्जा आयोगलगायत सबै सरोकारवाला निकायसँग मिलेर सहकार्य गर्छौं नै । सहकार्य ग-यो भन्दैमा छायामा प-यो वा उज्यालोमा प-यो भन्ने कुरा हुँदैन नि !
अहिले नियमन आयोगको कार्यालय विद्युत् विकास विभागमा छ । यहीं बसेर अन्तर्वार्ता लिइरहेको छु । विभाग नियमन आयोगले नियमन गर्ने धेरैमध्ये एउटा निकाय हो । यहीं बसेर नियमन आयोगले कत्तिको स्वायत्त काम गर्न सक्ला ? 
यो सही कुरा हो । यो कुरा पहिलो दिनदेखि नै आएको पनि हो । जाने कहाँ त ? बाटोमा हाजिर गर्ने कुरा त भएन । त्यो बेलामा विद्युत् विकास विभागमा दुई–तीनवटा कोठा खाली रहेछ । यहीं बसेर काम सुरु ग-यौं, तर हामीले टेन्डर निकालिसकेका छौं । भवन प्राप्त हुनेबित्तिक्कै विभागबाट बाहिर जान्छौं । अहिले पनि स्वायत्त त छौं तर अझ पूर्णरूपमा स्वायत्त भएको देखिने गरी हामी काम गर्छौं, व्यवस्थित पनि हुन्छौं ।

अहिले आर्थिक रूपमा समस्या समाधानका लागि ऊर्जा मन्त्रालयलाई गुहार्नुपरेको छ । यसमा पनि कसरी स्वायत्त भएर काम गर्न सक्नहुन्छ ?
यो वर्षका लागि केही रकम अर्थ मन्त्रालयबाट उपलब्ध भएको छ । सुरुको वर्ष हुनाले अन्य उपाय पनि छैन । अर्को आर्थिक वर्ष ०७६-७७ का लागि पनि केही सामान्य रकम प्राप्त भएको छ । त्यसपछि विद्युत् नियमन आयोग ऐनले निर्देशित गरेअनुसार सेवा दिएवापत निश्चित रकम उठाउन पाउँछौं । त्यो विषयमा सोचेका छैनौं । त्यो हाम्रो सांगठनिक संरचना निर्माण भएपछि मात्र तय हुन्छ । त्यो संरचनाले मात्र हाम्रो आर्थिक कारोबारको अवस्था स्पष्ट पार्छ । कति जनशक्ति, कस्तो अफिसलगायतका सबै विश्लेषण गरेर त्यो अनुसारको फी उठाउने काम हुन्छ । त्यसपछि हामी सम्पूर्ण दृष्टिकोणले स्वायत्त हुन्छौं ।

तपाईंले विद्युत् विकास विभागको पूर्वमहानिर्देशकको भूमिकासमेत निर्वाह गरिसक्नुभएकाले नियमन आयोग आएपछिको जलविद्युत् क्षेत्रमा पहिलाको तुलनामा के फरक हुन्छ ?
यसमा आवश्यकताको सिद्धान्त महत्वपूर्ण हुन्छ । हामी ऊर्जामा आत्मनिर्भर हुनुपर्छ । यसको सुरक्षालाई उच्च महत्व दिनुपर्छ । अहिले पनि ४० प्रतिशतको हाराहारीमा भारतबाट विद्युत् आयात गरिरहेका छौं । हिउँदको बेलामा त भारतबाट ६८-६९ प्रतिशतसम्म आयात हुन्छ । यो भनेको १६ घण्टादेखि २० घण्टासम्मको लोडसेडिङको माग धान्ने बिजुली हो । यो चिजलाई कायम राख्ने हो कि यो चिजलाई निवारण, हामीले जस्तोसुकै परिस्थितिमा पनि अर्थात् आन्तरिक वा बाह्य स्रोत वा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा गएर होस्, सरकारले गरेर होस् वा निजी क्षेत्रले गरेर होस्, विद्युत् उत्पादन धेरै बढाउनु प-यो । यस्तो अवस्थामा आयोगले गर्ने भनेको पोलिसिङ हो, पुलिसिङ गर्ने होइन । यसका लागि हामी सहजीकरणको काम गर्छौं, उत्प्रेरकको काम गर्छौं । जुनसुकै मान्छे वा सरोकारवाला होस्, सबैंका लागि काम गर्छौं । ऊर्जा क्षेत्रको दु्रततर विकासका लागि सहजीकरण गर्छौं । सहजीकरणसँग नियमनको काम पनि आयोगले गर्छ । नियमनलाई त आयोगले छोड्ने कुरा भएन । नियमनको काम गर्ने भनेर पुलिसको जस्तो मात्र काम गर्ने होइन, हामी सहजीकरण पनि गर्छौं । ऊर्जा क्षेत्रको विकास हुनुपर्छ । विद्युत् विकास विभागको महानिर्देशकको कुरा जुन अनुभव हासिल गरेको थिएँ, यसलाई उपयोग गरेर हामी अघि बढ्छौं । यसले गर्दा ऊर्जा क्षेत्रको समग्र विकास अघि बढ्छ । विद्युत् क्षेत्र अघि बढेपछि धेरै काम हुन्छ । लोडसेडिङ मात्र अन्त्य हुँदा पनि आर्थिक वृद्धिदर ३.५ प्रतिशतबाट बढेर दोब्बर भयो । प्रशस्त र सस्तो बिजुली भयो भने सम्पूर्ण क्षेत्र अघि बढ्छ । विशेषगरी व्यापारिक र उद्योग क्षेत्रको प्रगति बढ्दै जान्छ ।
जलविद्युत् क्षेत्रमा अहिले पनि आफैं रेफ्री र आफैँ खेलाडी छन् । यसले समस्या पनि ल्याएको छ । यसमा राम्रा र नराम्रा दुवै अनुभव पनि छन् । लागतमा पनि समस्या देखिएको छ । अब जलविद्युत् क्षेत्रको परिदृश्य कस्तो देखिन पाइन्छ ?
भर्टिकल इन्ट्रिगेटेड इस्टिच्युसन भन्ने संकेत गरेर विद्युत् प्राधिकरण भन्न खोज्नुभएको होला । विद्युत् प्राधिकरण आफैँले पनि आफूलाई पुनर्संरचना गर्दैछ । उत्पादन, वितरण, प्रशारण र इन्जिनियरिङमा कम्पनीहरू खोल्ने क्रम अघि बढेको छ । उसले कम्पनीमार्फत योजना र वितरण पनि अघि बढाउन लागेको छ । ऊर्जा मन्त्रालय र विद्युत् विकास विभागले अध्ययन र अनुमतिपत्र (लाइसेन्स) दिन काम पनि गरिरहेका छन् । लगानी बोर्डले पनि ठूला आयोजना लगानी ल्याउनेदेखि अन्य सहजीकरणको काम गरिरहेको छ । जल तथा ऊर्जा आयोगले नीति नियम बनाउन सहयोग गरेर थिंक ट्यांकका रूपमा काम गरिरहेको छ । निजी क्षेत्रले शुद्ध रूपमा आयोजनाहरू निर्माण गरिरहेका छन् । सबैमा समन्वय गर्ने, नियमन गर्ने, दोहोरोकरण (डुब्लिकेसन) नहुने गरी गर्ने काम नियमन आयोगले गर्छ । सबैले आफ्नो बाटो हिँड्दाखेरि आफ्नो लेन समातेर हिँड्यो भने त कुनै समस्या हुँदैन । बाटोमा पनि आफ्नो लेनमा हिँड्यो भने त दुर्घटना हुँदैन । अर्काको लेनमा ओभरटेक ग-यो भने दुर्घटना हुने हो । जलविद्युत् क्षेत्रमा दुर्घटना नहुने गरी नियमन र सहजीकरण गर्ने काम आयोगले गर्छ । यो काम गरेर विद्युत् क्षेत्रलाई अघि बढाउने काम हामी गर्छौं ।

बिजुली बिक्री गर्न न कानुन, न निर्देशिका

योजना भने आगामी वर्षदेखि नै बेच्ने
सोमवार, असार २३, २०७६
नेपाल र भारतबीच २०७१ भदौमा ऊर्जा व्यापार सम्झौता (पीटीए) मा सम्झौता भयो । २२ वर्षदेखि दुई देशबीच पीटीए भए पनि संसद्बाट पारित नभएपछि यो सम्झौता लागू गर्ने कानुनी आधार थिएन । पीटीएकै आधारमा दुई देशबीच सचिवस्तरीय र सह–सचिवस्तरीय समिति गठन भएर यसका लागि व्यापारबारे छलफल गर्ने बैठक जारी नै छ । भारत सरकारले सन् २०१६ मै अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका ल्याएर नीतिगत रूपमा समेत पीटीए अघि बढाउने जमर्को ग-यो । निर्देशिकामा केही प्रावधान पीटीएविपरीत भएको उल्लेख गर्दै सम्बन्धित देशले प्रतिक्रिया पठाएपछि सन् २०१८ डिसेम्बरमा केही बुँदा सच्चाएर व्यापारका लागि सहज पनि बनाएको छ । 
सन् २०१६ को जुन अर्थात तीन वर्षअघि नेपाल र भारतका संयुक्त प्राविधिक समूहले अन्तरदेशीय प्रसारण लाइनको गुरुयोजना बनायो । गुरुयोजनामा सन् २०३५ अर्थात आगामी २४ हजार ५ सय मेगावाट बिजुली बेच्ने र यसका लागि ११ अन्तरदेशीय प्रसारणलाइन निर्माण बनाउने योजना छ । गुरुयोजनाअघि नै निर्माण सुरु भएको दुई देश जोड्ने ढल्केबर–मुन्जफ्फपुर अन्तरदेशीय प्रसारणलाइन निर्माण सम्पन्न भए पनि अन्य कुनै सुरु भएका छैनन् । बुटबल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनको मोडालिटीबारे अझै टुंगो नलागेको निर्माण सुरु भएको छैन । भारततिर मात्र होइन, चीनतिर पनि अन्तरदेशीय प्रसारणलाइनको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्ने गरी सरकारले चीन सरकारसँग समझदारी गरिसकेको छ । काम अघि नबढे पनि चीनतर्फ पनि विद्युत् आदानप्रदान गर्ने योजना सरकारको छ । 
यस्तै, १० महिनाअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनः समेत सहभागी भएको ऊर्जा सप्ताहको क्रममा वंगलादेशको विद्युत् मन्त्रालयले सार्वजनिक गरेको योजनामा नेपालबाट सन् २०४० भित्र ९ हजार मेगावाट बिजुली किन्ने उल्लेख छ । एक वर्षअघि वंगलादेशसँग ऊर्जा सहकार्यबारे समझदारी पनि सरकारले गरिसकेको छ । हालै बंगलादेशमा भएको दुई देशबीचको ऊर्जा संयन्त्रको बैठकमा पनि विद्युत् निर्यातबारे छलफल भएको थियो । 
यस्तै, सन् २०१९ पछि नेपालको बिजुली खेर जाने भन्दै नेपाल र भारतबीच इनर्जी बैकिङ अघि बढाउने गरी छलफल अघि बढ्यो । यसमा समझदारी पनि भयो । यसका लागि आवश्यक प्राविधिक व्यवस्थापन गर्ने क्रम अघि बढेको छ । देशबीचको प्रणाली सिङ्क्रोनाइज गर्नुपर्ने, ग्रीड कोडमा एकरूपता ल्याउनुपर्ने, प्राविधिक रूपमा स्पेश प्रोटेक्सन सिष्टम (एसपीएस) बनाउनुपर्ने, प्रणाली प्रणालीमा एकरूपता ल्याउनुपर्ने लगायतका काम भने भएका छैनन् । 
यस्तै, जलविद्युत्सँग सम्बन्धित निजी क्षेत्रले करिब १७ हजार मेगावाट विद्युत् छिमेकी राष्ट्र भारत र वंगलादेशमा बेच्न प्रयास थालेका छन् । भारत र बंगलादेश पुगेर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) आवद्ध उनीहरूले दुवै देश पुगेर त्यहाँ सरकारी निकायसँग पनि छलफल गरिसकेका छन् । अझ उनीहरूले विद्युत् व्यापारका लागि निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूले नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) गठन समेत गरिसकेका छन् । नेपेक्सले ५ सय २९ मेगावाट बराबरका पाँच आयोजनाबाट उत्पादित बिजुली भारतमा निर्यातका लागि स्वीकृति प्राप्तिका लागि नेपेक्सले विभागमा आवेदन समेत दिईसकेको छ । 
माथिका तथ्यहरूले के देखाउँछ भने नेपालले छिमेकी राष्ट्रहरूसँग विद्युत् व्यापारका लागि धेरै पहलकदमी अघि बढाएको छ । हुन पनि विद्युत् प्राधिकरणको तथ्यांकले २५ सय मेगावाट बराबरका आयोजना निर्माणाधीन छन् भने तीन हजार मेगावाट विद्युत् खरिद सम्झौता (पीपीए) को चरणमा छन् । झण्डै १८ हजार मेगावाट बराबरका आयोजनाहरू अध्ययनको चरणमा छन् । ठूला उद्योग र कलकारखाना नभएकै कारण अहिले जम्मा १३ सय मेगावाटको हाराहारीमा रहेको विद्युत्को माग छ । उत्पादन पनि ११ सय मेगावाटको हाराहारीमा पुग्न लागेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण हुनेवित्तिकै वर्षामा बिजुली खेर जाने अवस्था आउने देखिएको छ । यस्तो अवस्थामा बिजुली व्यापार गर्नुको विकल्प नेपालसँग छैन तर विद्युत् व्यापारका लागि न सरकारसँग नीति छ, न निर्देशिका नै । बिनानीति नै प्रधानमन्त्रीदेखि मन्त्री हुँदै सचिवसम्मले विद्युत् व्यापार गर्ने गफ गरिरहेकै छन् ।
विद्युत् ऐन २०४९ को दफा २२ मा सरकारसँग सम्झौता गरी विदेशमा विद्युत् निर्यात गर्न सकिने त उल्लेख छ । तर, यसले विद्युत् व्यापारको कल्पना गरेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव एवं प्रवक्ता प्रवीणराज अर्याल ऐनमा विद्युत् व्यापार भन्ने शब्द नभएको र आगामी विद्युत् ऐनमा त्यसलाई समेट्ने बताउँछन् । विद्युत् व्यापारका लागि सरकारले आधिकारिक तोकिएको निकाय आवश्यक भए पनि हालसम्म नतोकिएको उनी बताउँछन् । “भारतमात्र होइन, क्षेत्रीय रूपमै विद्युत् व्यापार गर्ने कुरा छन्, यसका लागि प्रयास पनि सुरु भएको छ,” उनी भन्छन्, “नयाँ विद्युत् ऐनले विद्युत् व्यापारका लागि धेरै कुरा समेट्छ, विद्युत् प्राधिकरणले पनि व्यापार कम्पनी स्थापना गरिसकेको छ ।” निजी क्षेत्रका ४-५ आयोजनाले विद्युत् निर्यातका लागि आवेदन दिएपनि भारतको बिजुली बजार तत्कालका लागि सबैका लागि खुल्ला हुन नसक्ने र भविष्यमा पनि उनीहरूको सम्भावना रहेको बताउँदै तत्काल निजी क्षेत्रले विजुली बेच्ने अवस्था न्यून रहेको बताउँछन् । २०६५ सालमै विद्युत् ऐनको मस्यौदा बनेपछि हालसम्म यो कानुनको रूपमा आउन सकेको छैन भने विद्युत् व्यापारका लागि प्राधिकरणले निर्माण गरेको व्यापार कम्पनी पनि अघि बढ्न सकेको छैन । सह–सचिव अर्याल बिजुली बेच्ने प्रक्रिया सुरुवाती चरणमै रहेको र क्रमशः आवश्यक कानुन र संरचना बन्दै जाने बताउँछन् । 
भारतले छिमेकी राष्ट्रहरूसँग विद्युत् व्यापारका लागि निर्देशिका बनाएपनि नेपालले हालसम्म यसबारे कुनै पहलनै सुरु गरेको छैन । विज्ञहरूको विश्लेषणमा अन्तरदेशीय व्यापारका लागि संरचनागत, नीतिगत र प्राविधिक व्यवस्थापनसहित लगानी र लागतको चुनौती टड्कारो रूपमा देखिएको छ । हालसम्म एउटा अन्तरदेशीय प्रसारणलाइनमात्र छ भने बाँकीको काम सुरु भएकै छैन । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अधिकारले भारतले बनाएको निर्देशिकाले व्यापारका लागि ढोका खुलेको बताएपनि निर्देशिका र यसलाई कार्यान्वयन गर्नका लागि ल्याइएको नियमनबीच तादम्यता देखिदैन । 
निर्देशिकामा भारत सरकारको सहमति लिएर नयाँ लाइन बनाउन सकिने उल्लेख भएपनि भारतको केन्द्रीय विद्युत् नियमन आयोगले ल्याएको नियमनको व्यवस्थामा यसबारे उल्लेख छैन । सरकारले भारतसँग सहमति लिएर सिधै वंगलादेश जाने डेडीकेटेड लाइन बनाएर बिजुली बेच्ने भनेपनि नियमन आयोगमा उल्लेख नभएपछि भारत हुँदै संरचना बनाएर तेस्रो देशमा बिजुली बेच्न कठिन छ । बिजुली बेच्नका लागि द्विपक्षीय र बहुपक्षीयबीच प्राविधिकसँगै व्यापार नीतिमा पनि एकरूपता हुनुपर्छ तर यसबारे पहल सुरु भैसकेको छैन । नेपालमा हालै गठन भएको विद्युत् नियमन आयोगले विद्युत् व्यापारका लागि कम्पनी खडा गर्नका लागि स्वीकृति दिन सक्ने व्यवस्था भएपनि हालसम्म नियमन आयोगले यसबारे पहलनै सुरु गरेको छैन । अर्कोतर्फ विद्युत् उत्पादन र प्रसारणको सम्भावना भएपनि कसरी बनाउने भन्ने मोडालिटी अझै प्रष्ट छैन । 
दुई सरकारबीच विद्युत् व्यापारका लागि राजनीतिक रूपमा पहल हुनुपर्ने भए पनि यसबारे पनि सार्थक पहल हुन नसकेको ऊर्जा मन्त्रालयका अधिकारीहरू बताउँछन् । “विद्युत् व्यापारका लागि हल्ला र छलफल त धेरै भएका छन् तर मुख्य कुरा त कानुन नै छैन, यसका लागि खासै पहलै भएको छ,” ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, “पहिला कानुन भएपछि त्यसपछि आवश्यक अनुसार नियम, निर्देशिका नियमन बनाउने हो, अहिले हल्ला मात्र भएको छ ।”
सरकारी स्तरबाट विद्युत् व्यापारका लागि सार्थक पहल नभएपछि निजी क्षेत्र यसका लागि सक्रिय भएको छ तर सरकारको स्वीकृतिविना निजी क्षेत्रले पनि बेच्ने सम्भावना छैन । उनीहरूले नेपेक्स गठन गरेर सार्थक प्रयास पनि थालिसकेका छन् । तर, उनीहरूलाई सरकारी अधिकारी सकारात्मक नभएसम्म बिजुली बेच्न असम्भव छ । इप्पानका महासचिव आशिष गर्ग धेरै निजी क्षेत्रका जलविद्युत् आयोजनाहरू निर्माणाधीन भएकोले विद्युत् व्यापारका लागि सरकारले नीति बनाउनुपर्ने र निजी क्षेत्रलाई खुला गर्नुपर्ने बताउँछन् । “भारत सरकारले निर्देशिका र नियमनको व्यवस्था गरिसकेकोले नेपालले पनि बनाउनुपर्ने र निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्छ,” उनी भन्छन्, “कम्तीमा पनि सरकारले निर्यातका लागि भनेर अनुमतिपत्र दिइएका आयोजनाहरूलाई भारतमा व्यापार गर्नका लागि ढोका खोलिदिनुपर्छ, माथिल्लो कर्णाली, अरुण तेस्रोमा दिए जस्तो निर्यातको सुविधा अन्य आयोजनाहरूले पनि आउनुपर्छ ।”

तनहुँ जलविद्युत्को बाँध बनाउन चार कम्पनीको बोलपत्र

https://www.karobardaily.com/news/development/21683
सोमवार, असार २३, २०७६
१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे बा“ध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका ४ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आइतबार ४ कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन् । १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे बा“ध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका ४ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आइतबार ४ कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन् । दातृ निकाय एसियाली बिकास बैंक (एडीबी)को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र पेश गर्ने कम्पनीहरुमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनाम÷कालिका कन्ट्रक्सन,नेपाल जेभी रहेको आयोजनाले जनाएको छ । कम्पनीहरुले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्यांकन गरी सारभूत रुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताए । “प्राविधिक बोलपत्रको मूल्यांकन आगामी भदौको दोस्रो साता (अगस्ट २०१९) भित्रमा सम्पन्न गरी सहमतिका लागि एडीबीमा पठाउँछौं, एडीबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्नेछौं,” उनले भने, “कात्तिकको दोस्रो साता (अक्टोवर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यववसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको छ ।”पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तराष्ट्रिय टेण्डर आव्हान गरेको थियो । सुरुमा बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएकोमा बोलपत्र पेश गर्न इच्छुक कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थप गरिएको थियो । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नु पर्ने छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एसियाली विकास बैक (एडीबी) र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुने छ ।