Tuesday, July 16, 2019

पाँच प्रसारणलाइन र ६ सवस्टेसन डुबानमा

https://www.karobardaily.com/news/development/21902
सोमवार, असार ३०, २०७६
तीन दिनदेखि परेको अविरल वर्षाले देशभरका विभिन्न विद्युत् उत्पादन केन्द्र, वितरण लाइन र प्रसारणलाइन क्षतिग्रस्त भएका छन् । प्रारम्भिक तथ्यांकअनुसार बाढीपहिरोको कारण करिब ६० मेगावाट बराबरका चार जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार पाँचवटा प्रसारणलाइन क्षतिग्रस्त भएका छन् भने र ६ सवस्टेशन डुबानमा परेका छन् । गौर, यदुपौवा, जलेश्वर गौर, कटारी लगायतका ६ सवस्टेशन डुबानमा पर्दा त्यो क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । यस्तै, काबेली, लाहेन्द्रखोला, ढल्केबर, मनकामना क्षेत्रमा रहेका पाँच प्रसारण लाइनका टावरको क्षति भएको छ । “अहिले प्रारम्भिक जानकारी आएको हुनाले एकिन अवस्था छैन,” उनले भने, “विद्युत्को खपत मात्र ४० प्रतिशत घटेकोले धेरै क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या आएको भन्न सकिन्छ ।”अविरल वर्षाले नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका विद्युत् उत्पादन केन्द्रमा उत्पादनमै समस्या हुने गरी क्षति नपुगे पनि निजी क्षेत्रले निर्माण गरेका केही आयोजनाहरूको उत्पादन अवरुद्ध भएको छ । ललितपुरस्थित २२ मेगावाटको वाग्मती र कास्कीस्थित २५ मेगावाटको मादी विद्युत् केन्द्रमा क्षति पुगेको छ । त्यसैगरी विद्युत् प्राधिकरणको ३३ केभीको लाइन बाढीले क्षतविक्षत भएपछि ७ मेगावाटको मोलुङ खोलाको उत्पादन बन्द भएको केन्द्रका महाप्रबन्धक शरद बस्स्यालले जानकारी दिए । केही दिनअघि सिन्धुपाल्चोकस्थित चाकु खोलाको इन्टेक बगाउँदा मध्य र तल्लो चालुकको साढे ६ मेगावाटको विद्युत् उत्पादन बन्द भएको छ । प्राधिकरणका अनुसार बाढीपहिरोबाट देशका अधिकांश ग्रामीण क्षेत्रका वितरण प्रणाली अवरुद्ध भएको छ । ग्रामीण क्षेत्रमा जाने वितरण लाइनका धेरै पोल क्षतिग्रस्त हुँदा धेरै गाउँ अन्धकारमय बनेका छन् । हालसम्म सबै वितरण केन्द्रबाट ऐकिन विवरण आउन नसकेपनि अधिकांश ग्रामीण क्षेत्रका साथै पूर्वी र मध्य भागका विद्युतीय संरचनालाई क्षति पु-याएको छ । यही कारण शुक्रबार विद्युत् प्राधिकरणको माग करिब १२ सय मेगावाट रहेकोमा घटेर ६ सय मेगावाटमा आएपनि आइतबारसम्म मर्मत सम्भारपछि थप ३ सय मेगावाट बराबरको खपत बढेको छ । मोरङको उर्लाबारी, रंगेलीको महादेवा, विराटनगरको निमुवा, जलेश्वर लगायतका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ भने दुहबी ग्रिड सबस्टेसनको स्वीचयार्ड पानीले डुबाएको छ । धरान–धनकुटा–संखुवासभा ३३ केभी लाइनमा समस्या आउँदा धनकुटा, संखुवासभालगायत केही स्थानमा  विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरणले जनाएको छ । लहान, मिर्चैया, कन्चनपुर, राजविराज,, मलंगवा  लगायतका केही विद्युत् केन्द्र अन्र्तगतका क्षेत्रमा आंशिक विद्युत् आपूर्ति बन्द भएको छ । त्यसैगरी गाइघाट–दिक्तेल ३३ केभी लाइनको टावर बगाउँदा उदयपुरको काँडाघारी सबस्टेसन बन्द भएको छ । गाइघाट–बुइपा लाइन अवरुद्ध हुदा ओखलढुङ्गामा केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ । त्यसैगरी काभ्रे, सिन्धुली, दोलखा, रामेछाप, गौरलगायत क्षेत्रमा आंशिक रुपमा विद्युत् अवरुद्ध भएको छ । 

No comments: