Thursday, October 31, 2019

नवीकरणीय ऊर्जाको नीति बनाउँदै प्रदेश–२

बिहिवार, कार्तिक १४, २०७६
प्रदेश–२ को सरकारले नवीकरणीय ऊर्जासम्बन्धी नीति बनाउने प्रक्रिया अघि बढाएको छ । मुलुक संघीय संरचना गएपछि एक मेगावाटसम्मको ऊर्जा व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई दिए पनि प्रदेश सरकारलाई हालसम्म नतोकेपछि प्रदेश–२ सरकारले नवीकरणीय ऊर्जाबारे नीति निर्माण अघि बढाएको हो ।
दुई सय मेगावाटसम्मको नवीकरणीय ऊर्जाको व्यवस्थापनको लागि प्रदेश सरकारले संसदमा विद्येयक पेश गरिसकेको भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनालले जानकारी दिए । “नवीकरणीय ऊर्जालाई व्यवस्थित रुपमा विकास गर्नका लागि प्रदेश सरकारले नीति बनाउँदैछ, यसका लागि प्रदेश सभामा विधेयकसमेत पठाइसकेका छौं,” उनले भने, “यसबारे आगामी प्रदेशसभाको बैठकमा छलफल हुनेछ ।”
सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाएर निजी क्षेत्रलाई समेत आकर्षण गर्ने योजना प्रदेश सरकारको छ । नवीकरणीय ऊर्जा विकासका लागि सरकारले जग्गा उपलब्ध गराएर निजी क्षेत्रलाई आकर्षण गर्ने लक्ष्य राखेको छ । प्रदेश सरकारले नयाँ लगानीकर्ता आकर्षण गर्नका लागि २० वर्षसम्म कर छुट, लिजमा जग्गा व्यवस्थापन, अनुमतिपत्र (लाइसेन्स) छोटो अवधिमै दिने व्यवस्था गरिसकेको बताउँदै प्रदेश–२ को नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि पीपीपी मोडेलमा अघि बढाउने गरी नीति ल्याउन लागेको बताउँछन् ।
प्रदेश–२ का प्रत्येक जिल्लामा २५ मेगावाट सम्मको सौर्य (सोलार) ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने गरी यसको अध्ययन पनि सरकारले गरिरहेको छ भने यसलाई व्यवस्थित गर्न विद्येयकमा विद्युत् बोर्डको परिकल्पना पनि गरिएको छ । प्रदेश–२ मा जलविद्युत् उत्पादनको सम्भावना न्यून भएकोले सबैभन्दा बढी सोलार र वायोग्याँस प्रविधिका साथै सुधारिएको चुल्होलाई प्रदेश सरकारले विशेष महत्व दिएको छ । प्रदेश–२ का धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा र सप्तरी जिल्लाबाट दुई सय मेगावाट उत्पादन गर्ने लक्ष्य सरकारले राखेको हो ।
मन्त्रालयका सचिव पुष्करनाथ घिमिरेका अनुसार, प्रदेश सरकारले नवीकरणीय ऊर्जा विकासका लागि चार करोड छुट्याएपनि ज्ञान, सीप र प्रविधिबारे जानकार नभएकोले खर्च गर्न नसकेको र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका साथै डीएफआईडीको सहयोगमा नवीकरणीय ऊर्जाको व्यवस्थित विकास अघि बढाइएको छ । “नीतिगत रुपमै व्यवस्था गरेर नवीकरणीय ऊर्जाको विकास गर्ने लक्ष्य छ, नीति नभएको र यसका लागि आवश्यक प्राविधिक तथा अन्य सहयोग नपाएकोले छुट्याएको बजेट खर्च हुन सकेको छैन, नीति आएपछि लक्ष्यअनुसार काम अघि बढ्छ,” उनी भन्छन् ।
प्रदेश सरकारले प्रदेश–२ का लागि आवश्यक विद्युत् नवीकरणीय ऊर्जामार्फत उत्पादन गर्ने लक्ष्य त राखेको छ तर यसलाई कसरी व्यवस्थित गर्ने भन्ने अझै अन्योल छ । कुन दरमा लगानीकर्ताहरूसँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने, ग्रीड व्यवस्थापन कसरी गर्ने, लागतमा प्रतिस्पर्धा कसरी गराउने लगायतका अन्योल भने प्रदेश सरकारमा देखिएको छ । केन्द्रीय सरकारले हालसम्म विद्युत् ऐन ल्याउन नसकेको, क्षेत्रात्रिकार पनि स्पष्ट नपारेको कारण पनि अन्योल बढेको उनीहरू बताउँछन् ।

 
दुई सय मेगावाट उत्पादन लक्ष्य
छुट्टै विद्युत् बोर्डको परिकल्पना
पीपीपी मोडेलमा अघि बढाइने
पीपीए कसरी गर्ने भन्ने अन्योल
नीतिको अभावमा चार करोड खर्च हुन सके

Wednesday, October 30, 2019

डुइङ बिजनेस इन्डेक्समा नेपालको सुधार

शुक्रवार, कार्तिक ८, २०७६
विश्व बैंकले सार्वजनिक गरेको ‘डुइङ बिजनेस इन्डेक्स २०२०’ मा नेपालको अवस्था सुधारिएको छ । सन् २०१९ मा तेस्रोबाट चौथो स्थानमा झरेको नेपालको सहज व्यावसायिक वातावरण फेरि तेस्रो स्थानमा उक्लिएर अवस्था सुधारिएको हो ।  विश्व बैंकले सार्वजनिक गरेको ‘डुइङ बिजनेस इन्डेक्स २०२०’ मा नेपालको अवस्था सुधारिएको छ । सन् २०१९ मा तेस्रोबाट चौथो स्थानमा झरेको नेपालको सहज व्यावसायिक वातावरण फेरि तेस्रो स्थानमा उक्लिएर अवस्था सुधारिएको हो ।
 सहज व्यवसायका लागि सन् २०१९ मा सार्वजनिक प्रतिवेदनमा ११० औं स्थानमा रहेको नेपालले १६ अंक सुधार गर्दै ९४ औं स्थानमा उक्लिन सकेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । बैंकले सन् २०१८ को मे महिनादेखि सन् २०१९ मे सम्मको अध्ययनका आधारमा इन्डेक्स सार्वजनिक गरेको जनाएको छ । डुइङ बिजनेस इन्डेक्समा प्राप्त अंकहरूका आधारमा कुनैपनि देशको अर्थतन्त्रमा सुधार आएको नआएको, विदेशी लगानी आकर्षित गर्ने वातावरण भए नभएको मापन गरिँदै आएको छ। यो विश्वका १ सय ९० देशको समग्र अध्ययनमा आधारित रहेको पनि विश्व बैंकले जनाएको छ ।सन् २०१८ मा विश्वको १०५ औंं स्थानमा रहेको नेपालको अवस्था खस्किएर ११० औं स्थानमा पुगेको थियो भने दक्षिण एसियाली राष्ट्रहरूमा रहेको तेस्रो स्थानबाट झरेर चौथो स्थानमा पुगेको थियो ।
प्रतिवेदनले नेपालको अवस्था फेरि दक्षिण एशियाभित्र सुधारिएर तेस्रो स्थानमा उक्लिएको छ । प्रतिवेदनले नेपाल व्यवसायका लागि दक्षिण एशियाभित्रको भारत र भुटानपछिको तेस्रो सहज मुलुक हो । सार्वजनिक प्रतिवेदनअनुसार भारत विश्वको ६३ औं स्थान र भुटान ८९ औं स्थानमा छ भने नेपालपछि श्रीलंका ९९ औं, पाकिस्तान १०८ औं, माल्दिभ्स १४७ औं, बंगलादेश १६८ औं र अफगानिस्तान १७३ औं स्थानमा छन् । प्रतिवेदनअनुसार भारतले १५ अंकले सुधारेको छ भने भुटान ८ अंकले र श्रीलंका एक अंकले झरेको छ ।
सन् २०१९ को तुलनामा बंगलादेश ८ अंकका साथ सुधारिएको छ भने अफगानिस्तान ५ अंक र माल्दिभ्सको ८ अंकले झरेको छ भने पाकिस्तानको भने २८ अंकले सुधारिएको छ । व्यापार गर्नका लागि सजिलो अवस्था भने दक्षिण एशियामा सबैभन्दा राम्रो अवस्था भारतको छ । प्रतिवेदनअनुसार प्रति एक सय स्कोरमा भारतको ७१ अंक छ भने भुटानको ६६ अंक, नेपालको ६३.२ अंक, श्रीलंकाको ६१.८ अंक, पाकिस्तानको ६१ अंक, माल्दिभ्सको ५३.३ अंक, वंगलादेशको ४५ अंक र अफगानिस्थानको ४४.१ अंक  छ ।  रिफर्मतर्फ भने पाकिस्तानले ६, भारत र नेपालले ४÷४ र वंगलादेशले ३  सुधारिएका छन् भने अन्य देशको रिफर्म शून्य छ । नेपालले गरेका सुधारहरूमा कुनैपनि निर्माण अघिका प्रक्रियाहरूलाई सहज र कम खर्चिलो बनाउन निर्माण अनुमतिहरूको शुल्क तिर्ने र अनलाइनमार्फतनै सवमिसन गर्ने, कर्जा प्रणाली तथा त्यसबारे बृहद सूचना दिने संयन्त्र र पहुँच स्थापित गरेको, नेपालले वीरगंजमा भारतसँग एकीकृत भन्सार चेक पोष्ट सुरु गरेर निर्यात आयातको ब्यापारका लागि समय र लागतलाई समेत न्यून गर्न सघाएको तथा  ब्यापार सम्झौताहरू सहज बनाएको उल्लेख छ । रोजगारदाता कम्पनीहरूले कर्मचारीको सामाजिक सुरक्षा प्रबन्ध गरी व्यवसाय सुरुवात गर्न गाह्रो बनाएको तथा नेपालमा सम्पत्ति दर्ता बढी महँगो रहेकोमा यसमा सुधार गर्न नसकेको प्रतिवेदनले देखाएको छ ।
विज्ञहरूले भने अवस्थामा सुधार आउनु राम्रो भएपनि व्यवसायी मैत्री आर्थिक सुधारलाई थप विस्तारित र गहिरो बनाउँदै लैजानुपर्ने औंल्याएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले १० सुुचांकमध्ये ५ मा सुधार, ३ मा गिरावट र २ मा स्थिर देखिएको बताउँदै व्यवसायीमैत्री आर्थिक सुधारलाई थप विस्तारित र गहिरो बनाउँदै लैजानुपर्ने बताए ।
चार बर्ष अघि १४२ औं स्थानमा रहेको भारत ६३ औं स्थानमा आईसकेको पनि उनले उल्लेख गरे । प्रतिवेदनमा डुइडङ विजनेश सर्वाधिक सुधार गर्नेमा चीन, भारत, पाकिस्तान लगायतका देशहरू छन् । सबैभन्दा बढी व्यवसाय गर्नका लागि सहज वातावरण भएको देशमा न्यूजल्याण्डको ८६.८ छ भने सबैभन्दा खराब देशमा सोमालियको २० अंकभार छ ।
डुइङ बिजनेस इडेक्समा सार्क राष्ट्र
भारत ६३
भुटान ८९
नेपाल ९४श्रीलंका ९९
पाकिस्तान १०८
माल्दिभ्स १४७
बंगलादेश १६८
अफगानिस्तान १७३
स्रोतः विश्व बैंक

Thursday, October 24, 2019

माथिल्लो अरुणको लागत प्रतिमेगावाट ११ करोडमात्र

बिहिवार, कार्तिक ७, २०७६
विद्युत् विकास विभागले १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । सस्तो र आकर्षक आयोजनाको रुपमा लिइने माथिल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडले पाएको हो ।
 विभागले एक सय मेगावाटमाथिका १३ हजार ४ सय ८ मेगावाटका ३६ आयोजनालाई सर्वेक्षण अनुमतिपत्र दिएकोमा विद्युत् उत्पादन कम्पनीले पाएको १९०२ मेगावाटको मुगु कर्णाली जलाशयपछिको यो दोस्रो ठूलो क्षमताको आयोजना हो । ६ वर्षअघि सो आयोजनालाई अध्ययनका लागि तत्कालीन मन्त्री परिषदले विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो ।
तत्कालीन अवस्थामा मन्त्रालयले अरु कम्पनीलाई नै अनुमतिपत्र दिन थालेपछि तत्कालीन मुख्यसचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका लीलामणि पौडेलले सञ्चालक समितिबाट पारित गरी मन्त्री परिषदबाट पारित समेत गराएका थिए । विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजनाको विस्तृत अध्ययन भइरहेको र संखुवासभामा निर्माण हुन लागेको आयोजनाले दुई वर्षका लागि सर्वेक्षण अनुमतिपत्र पाएको छ । सरकारले यसअघि नै माथिल्लो अरुण आकर्षक आयोजना भएकाले जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत सर्वसाधारणलाइ पनि सेयरमा लगानी गर्न दिएर निर्माण गर्ने घोषणा गरिसकेको छ ।
ऊर्जामन्त्री वर्षमान पुनले अघि सारेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत माथिल्लो अरुणलाई समेटिएपछि माथिल्लो अरुण जलविद्युत् आयोजनामा सर्वसाधारणको पनि सेयर रहने गरी मन्त्रिपरिषद् बैठकले आयोजना प्राधिकरणको सहायक कम्पनीमार्फत कम्पनी मोडलमा निर्माण गर्न सहमति दिइसकेको छ । आयोजनाको लागत भने प्रति मेगावाट ११ करोड ३१ लाख मात्र भएकोले यसलाई सबैभन्दा सस्तो आयोजनाको रूपमा लिइएको छ ।सरकारले फागुन ०६९ मा आफ्नो स्वामित्वमा रहने गरि प्राधिकरण मार्फत आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । यही निर्णयका कारण कम्पनीले आयोजनाको सर्वे लाइसेन्स पाउन सकिरहेको थिएन । कम्पनीले ०७३ को चैतमा लाइसेन्सका लागि विद्युत् विकास विभागमा आवेदन दिएको थियो ।
 आगामी फागुनभित्रमा विस्तृत परियायोजना प्रतिवेदन र टेण्डर डकुमेन्ट तयार गरिसक्ने लक्ष्य राखिएको छ । आयोजनाको निर्माण २०८३ को पुसभित्र  सक्ने लक्ष्य तय गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाको रुपमा अगाडि बढाइने बताए । ‘ प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो यस आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयरका साथै  विश्व बैक, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी संचय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ,उनले भने । उनका अनुसार, निर्माण पूर्वका सम्पूर्ण तयारी पूरा गरी एक वर्षभित्रमा निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भईरहेको छ । आयोजनामा  विश्व बैंकले ५० करोडसम्म लगानी गर्न सक्ने प्रतिबद्धता जनाइसकेको छ ।
 विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक करिब १ अर्ब २० करोड अमेरिकी डलर (करिब १ खर्ब २० अर्ब रुपैयाँ)  छ । कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ ।  आयोजनाबाट वार्षिक रुपमा ४ अर्ब ४७ करोड ८० लाख युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । कुल वार्षिक ऊर्जामध्ये २८ प्रतिशत हिउँदमा उत्पादन हुने छ । माथिल्लो अरुण भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रोभन्दा माथि पर्छ । आयोजनाको बाँधस्थल भोटखोला गाउँपालिका–२ चेपुवामा पर्छ ।
विद्युत् गृह सोही गाउँपालिकाको वडा नं ४ चोमराङमा रहने छ ।  आयोजनाले २ किलोमिटर सुरुङ, एउटा पुलसहितको २२ किलोमिटर पहुँच सडक बनाउनुपर्छ । परामर्शदाता कम्पनीले सडकको डिजाइन प्रतिबेदन बुझाइसकेको र यसको पुनरावलोकन भइरहेको आयोजना प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । निर्माणका लागि ठेकेदार कम्पनी छनोटको लागि पूर्वयोग्यताको प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए । आयोजना निर्माण स्थलमा नदीको वार्षिक बहाव दर उच्च रहेको र उच्च हिमाली क्षेत्रमा रहेका कारण खेतीयोग्य जमिन, मानव वस्ती कम भएकाले वातावरणीय प्रभाव कम पर्ने छ । प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ ।  माथिल्लो अरुणबाट उत्पादित विद्युत् ४० किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खाँदबारी नगरपालिकाको सित्तलपाटीमा रहने सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । 
माथिल्लो अरुण आयोजनाका लागि दबाब समूह बनाएर स्थानीयबासीहरूले सरकारलाई विगत ७ वर्षदेखि दबाब दिँदै आएपनि बल्ल अघि बढ्न लागेको हो । प्राधिकरणले नै सन् १९९१ मा आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । मंसिरमा ऊर्जा सम्मेलन काठमाडौमा आगामी मंसिरको ५ र ६ गते ऊर्जा सम्मेलन (पावर समिट) हुने भएको छ । विद्युत् व्यापार र बजार प्रवद्र्धनका साथै लगानीको वातावरा निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इपान) ले पावरिङ द एसिया सेन्चुरी मुख्य नारासहित सम्मेलन गर्न लागेको हो । सम्मेलनमा नेपाल, भारत, वंगलादेश, चीन, नेदरल्याण्ड र नर्वेका साथै दातृ निकाय, विभिन्न देशका कम्पनीसहित ७ सय ५० जनाको सहभागीतामा सम्मेलन आयोजना गर्न लागेको इप्पानका अध्यक्ष शेलेन्द्र गुरागाईले जानकारी दिए ।
 प्रधानमन्त्रीले उद्घाटन गर्ने सम्मेलनमा दुई दिनसम्म ऊर्जा क्षेत्रको समग्र पक्षका साथै लगानीकर्ताहरूबीच बैठक समेत गर्ने कार्यक्रम  रहेको इपानका उपाध्यक्ष कुमार पाण्डेले जानकारी दिए । भारत र वंगलादेशका मन्त्री समेत सहभागी हुने भएकोल विद्युत् व्यापार र बजारका लागि सम्मेलन उपयोगी हुने विश्वास लिइएको छ । इपानका महासचिव आशिष गर्गका अनुसार, सम्मेलनमा पहिलोपटक भारतबाट सबैभन्दा बढी १ सय र वंगलादेशबाट ५० प्रतिनीधि सहभागी हुन लागेका छन् । 

Wednesday, October 23, 2019

अमेरिकी अनुदानको सडक आयोजना अब पूर्वपश्चिम राजमार्गमा

बुधवार, कार्तिक ६, २०७६
अमेरिकी सरकारको अनुदानमा सहायतामा निर्माण हुन लागेका सडक परियोजनाअन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्गको मर्मत सम्भार हुने भएको छ । पहिला मेची, कोशी, सगरमाथा, रत्न र त्रिभुवन राजमार्गको ३०५ किलोमिटर सडक मर्मत सम्भार गर्ने सार्वजनिक गरेकोमा आर्थिक रूपमा सम्भाव्यता नदेखिएपछि महेन्द्र राजमार्गमा २७ किलोमिटर नमुना (पाइलोटिङ) सहित १२७ किलोमिटर मर्मत सम्भार हुन लागेको हो ।
नेपाल सरकार र अमेरिकी सरकारको तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौताबमोजिम मिलेनियम च्यालेन्स कम्प्याक्टको कार्यान्वयन आगामीे असार १६ गतेदेखिमात्र सुरु गर्ने सार्वजनिक भइसकेको छ ।
सडक र ऊर्जाका लागि ५ सय मिलियन डलर अर्थात करिब ५५ अर्ब अनुदान दिएकोमा सडकतर्फ ५ करोड २२ लाख ८५ हजार डलर सडकतर्फ बजेट छ । नेपालमा पहिलोपटक फूल डेफ्थ रिक्लाईमेसन (एफडीआर) प्रविधिमा सडक मर्मत गर्न लागिएकोले यसलाई नेपाल सडक पूर्वाधारको क्षेत्रमा उच्च महत्वका साथ हेरिएको छ ।
पहिला प्रस्तावित गरिएको क्षेत्रमा कम गाडी चल्ने तथा नयाँ प्रविधिको लागि उपयोग गरेर बढाउन लागेको सडकको प्रति किलोमिटर लागत ५ करोडभन्दा बढी देखिएपछि परियोजनाले विकल्प खोजेको हो । सरकारसँग विकल्प मागेकोमा महेन्द्र राजमार्ग प्रस्ताव गरेपछि २७ किलोमिटर नमुना रूपमा तथा बाँकी एक सय किलोमिटर सडक मर्मत गर्न लागेको परियोजना कार्यान्वयनका लागि गठित मिलेनियमन च्यालेन्ज एकाउन्ट नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए । “सरकारबाट आएको प्रस्तावकै आधारमा २७ किलोमिटरसहित महेन्द्र राजमार्गमा १२७ किलोमिटर सडक मर्मत सम्भार गर्न लागेका छौं,” उनले भने, “पहिला धेरै ठाउँ छनोट गरेका थियौं । जुन प्रविधि र पैसा खर्च गर्दैछौं, प्रतिकिलोमिटरको हिसाबले सम्भाव्य नदेखिएपछि महेन्द्र राजमार्गमा मर्मत सम्भार गर्न लागेका हौँ ।”
महेन्द्र राजमार्गको चन्द्रौटादेखि भालुवाङ क्रस गरेर लमही, यहाँबाट पश्चिम जाँदा शिव खोलासम्मको क्षेत्रमा सडक मर्मत हुन लागेको छ । यसअघि परियोजनाअन्तर्गत मेची राजमार्गको चारआलीदेखि फिदिमसम्मको १३० किलोमिटर, कोशी राजमार्गको धरानदेखि बसन्तपुरसम्मको ८८ किलोमिटर, सगरमाथा राजमार्गको लहानदेखि गाईघाटसम्मको २६ किलोमिटर, रत्न राजमार्गको अमेलियादेखि तुलसीपुरसम्मको ३८ किलोमिटर र त्रिभुवन लोकपथको हेटौंडादेखि भीमफेदीसम्मको २२ किलोमिटर सडक मर्मत सम्भार हुन लागेको छ । महेन्द्र राजमार्ग फराकिलो भएकोले बजेटको आधारमा नमुनासहित १२७ किलोमिटर मात्र बनाउन लागिएको छ ।
नयाँ प्रविधिअन्तर्गत निर्माण हुन लागेको सडक मर्मत आयोजनाअन्तर्गत सडक कति बिग्रेको छ, कति उप्पड खाप्पड भएको छ, यो हेर्नका लागि फलिङ इन डेफ्क्टोमिटर भन्ने उपकरण एमसीएले मगाईसकेको छ । एक हजार किलोमिटर हेर्ने सडकको वास्तविक अवस्थाको तथ्यांक यसले पत्ता लगाउनेछ । विज्ञहरूका अनुसार, नयाँ प्रविधिको मेसिनले सडकलाई पूरै ३० सेन्टिमिटरदेखि खनेर त्यसमा चाहिने मिक्स्चरको प्रशोधन गरेर पिच गर्ने काम परियोजना अन्तर्गत हुन्छ । मेसिन हिँड्दै जाँदा रोड पिच हुँदै जाने यो नयाँ प्रविधिले निर्माण गरेको सडक तीव्र गतिमा सडक कुदाउन मिल्छ भने कम्तीमा २० बर्षसम्म सजिलै टिक्नेछ ।
ऊर्जा र सडक परियोजनाका लागि अमेरिकी सरकारबाट सो आयोजनाका लागि ५० करोड डलर अनुदान प्राप्त भएको छ भने यसमा नेपाल सरकारले १३ करोड अमेरिकी डलर बारबर थप गर्नेछ । निर्माण सुरु भएपछि ५ बर्षभित्र पूरा नभएमा पनि बाँकी रकम फिर्ता जानेछ । यसकारण यो परियोजनालाई नेपाल अघि बढाउन लागेको नमुना परियोजनाको रूपमा समेत हेरिएको छ

नेपाल र अष्ट्रियाबीच ऊर्जामा सहकार्य गर्ने समझदारी


बुधवार, कार्तिक ६, २०७६https://www.karobardaily.com/news/development/25355
नेपाल र अष्ट्रियाबीच उर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । नेपाल र अष्ट्रियाबीच गठित उर्जा संयन्त्रको पहिलो सचिवस्तरिय बैठकमा दुवै देशबीच उर्जा क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो । समझदारीपत्रमा नेपालको तर्फबाट उर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्याल र अष्ट्रियाबाट सल्लाहकार सोन्जा स्टीलरले हस्ताक्षर गरेको ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।
काठमाडौंमा सोमबार बसेको संयन्त्रको पहिलो बैठकमा नेपालका तर्फबाट उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे र अष्ट्रियाकातर्फबाट यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर सहभागी थिए ।

संयन्त्रको पहिलो बैठकमा ६ सय ३५ मेगावटको दुध कोशी र १ सय मेगावाटको तामाकोशी–५ जलविद्युत् आयोजनामा आवश्यक लगानी सहयोग गर्ने र अन्य जलविद्युत आयोजनाहरुको हकमा समेत भविष्यमा सहकार्य गर्ने सहमती भएको उर्जा मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले बताए । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको क्षमता अभिवृद्धिको लागि समेत प्राविधिक सहयोग गर्ने समझदारी बनेको छ ।

नेपाल र अष्ट्रियाबीच जलविद्युत् पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा गत जेठ ८ मा हस्ताक्षर भएको थियो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा समकक्षी एन्दे्रइस रेइकार्डसँग सो सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्ने उक्त सहमतीमा उल्लेख थियो । त्यसका साथै परियोजनाको पहिचान गरेर संयुक्त कार्य समुह बनाएर काम गर्ने समझदारी समेत भएको छ ।
समझादरी अनुसार उर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने छ ।
मन्त्री पुनले उर्जा मन्त्रालयको कार्यभार सम्हालेसँगै चीन, बंगलादेश र अष्ट्रियासँग उर्जा समझदारीमा हस्ताक्षर भइसकेको प्रेस संयोजक खड्काले जानकारी दिए ।
यसैगरी अष्ट्रियाको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री पुनसँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा सल्लाहकार सोन्जा स्टीलरले नेपालको जलविद्युत् क्षेत्रका दुई परियोजनामा थप लगानी गर्न दुवै पक्षको सहमत भएको जानकारी दिएकी थिइ
न्

Monday, October 21, 2019

विश्वकै अग्लो स्थानमा गल्फ प्रतियोगिता

सोमवार, कार्तिक ४, २०७६
लुक्ला (सोलुखुम्बु)- विकास राणा पेशाले पाइलट र हवाई उडड्यन व्यवसायी हुन् । तर, आइतबार विश्वकै सबैभन्दा बढी उचाइमा भएको गल्फ प्रतियोगितामा पहिलोपटक टीअफ गरे ।
बाह्रखरीको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ’ अन्तर्गत विश्वमै पहिलोपटक सबैभन्दा अग्लो स्थान कोङ्देमा भएको प्रतियोगितामा समिट एयरका सञ्चालक राणाले पहिलो टीएफ गरेका हुन् । ४२ सय ५० मिटर उचाइमा भएको यो प्रतियोगितालाई गल्फमा ‘रेकर्ड ब्रेक’ को रुपमा लिइएको छ । बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानका अनुसार भारतको ३९ सय ६० मिटरमा भएको गल्फ प्रतियोगिता हालसम्मको सबैभन्दा उच्च स्थानमा भएको प्रतियोगिताले विश्व रेकर्ड रहेकोमा यसलाई भने विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रकै कोङ्देमा भएको प्रतियोगिताले तोडेको छ । बाह्रखरीले सो प्रतियोगितालाई विश्व रेडर्कमा कायम गर्नका लागि प्रक्रिया अघि बढाउने जनाएको छ ।
विश्व रेकर्ड कायम गर्ने प्रतियोगिताको पहिलो टीअफ गर्ने मौका भएका राणाले आफ्नो लागि अविस्मरणीय खेल भएको बताए । “हिमाली क्षेत्रमा आएर यसरी गल्फ खेलमा रमाउँदाको क्षण मेरा लागि जीवनकै अविस्मरणीय क्षण बन्यो । मैले प्रतियोगिताको पहिलो टीअफ गर्ने मौका पाएँ,” लामो समयदेखि गल्फर रहेका उनले भने, “प्रतियोगिता आयोजना गर्नु नै हामी खेलाडीको लागि एतिहासिक क्षण हो ।”
प्रतियोगिताको पहिलो महिलाको रुपमा प्रतियोगितामा सहभागी भएकी कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजकी निर्देशक रेखा घिमिरेले पनि कोङ्देको खेललाई जीवनभर भुल्न नसकिने अवसरको रुपमा विश्लेषण गरिन् । प्रतिकूल मौसम भए पनि आइतबार पुगेकामध्ये बैंकर आरती राणाले गल्फ खेल्दा एउटा नयाँ खालको ऊर्जा आएको र जीवनभर भुल्न नसकिने क्षण भएको बताइन् ।
३० वर्षदेखि गल्फ खेल्दै आएका प्रहरीका पूर्व एसएसपी राजेन्द्र श्रेष्ठले हिमालको फेदमा खेलेर इतिहास रचेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनुलाई नयाँ अनुभव बताए ।
कोङ्देमा भएको खराब मौसमपछि ३८ सय ८० मिटर उचाइमा रहेको स्याङ्बोचेमा पनि प्रतियोगी सहभागी भएका थिए । वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, पूर्व सांसद राजीवविक्रम शाह, व्यवसायी आनन्द बतास लगायतले स्याङ्बोचेमा पुगेर गल्फ प्रतियोगितामा सहभागी भएका थिए । खराब मौसमका कारण ४० भन्दा बढी सहभागी भने प्रतियोगितामा काठमाडौंबाटै आउन सकेनन् । प्रतिष्ठित व्यापारीहरु विनोद चौधरी, रविभक्त श्रेष्ठ लगायत भने लुक्ला पुगेर पनि कोङ्देमा पुग्न सकेनन् । “बाह्रखरीले गरेको यस कार्यक्रमले रेकर्ड ब्रेक गरेकोमा खुसी छु । यसले नेपाल र गल्फको प्रचारप्रसारका लागि ठूलो योगदान दिएको छ,” व्यापारी चौधरीले भने ।
नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको भए पनि खराब मौसमका कारण हुन सकेन । ६५ जनाभन्दा बढी आइतबार हेलिकप्टरबाट कोङ्दे जाने योजना थियो । प्रतियोगितामा एक दर्जनभन्दा बढी विदेशी पत्रकारहरु समेत सहभागी हुन लागेका थिए तर अधिकांश कोङ्दे पुग्न सकेनन् ।
बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेका अनुसार प्रतियोगिता दुई चरणमा हुनेछ । बाँकी खेल आगामी शनिबारका दिन काठमाडौंको गोकर्ण सफारी रिसोर्टमा हुनेछन् । जहाँ बाँकी रहेका १७ होल खेलाइनेछ ।
दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने उनले बताए । “एनसेल बाह्रखरी गल्फ नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो गल्फ प्रतियोगिता भएकाले ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हो,” उनले भने, “नेपालको पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको हो ।”
प्रतियोगिताको नाम ‘एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेस्ट गल्फ २०१९’ रहेको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल इयर २०२० को सहकार्यमा गरिएको हो । प्रतियोगिताको मुख्य प्रायोजक एनसेल रहेको छ भने भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन् । थाई इन्टरनेसनल एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज पार्टनर रहेका छन् भने ग्लोबल आईएमई बैङ्क प्रतियोगिताको बैङ्किङ पार्टनर तथा टाटा मोटर्स भेहिकल तथा होल–ईन–वान पार्टनर रहेको छ ।

Sunday, October 20, 2019

उत्पादन प्रतिस्पर्धी र अनिवार्य विद्युत् व्यापार

https://www.karobardaily.com/news/development/25208 
आइतवार, कार्तिक ३, २०७६
अन्तरदेशीय प्रसारण सहमतिपछि नेपाललाई दबाब
नेपाल र भारतबीच दोस्रो अन्तरदेशीय बुटवल–गोरखपुर प्रसारणलाइन निर्माण गर्नेमा दुवै देश सहमत भएसँगै नेपालको विद्युत् उत्पादनलाई प्रतिष्पर्धी र विद्युत् व्यापार गर्नैपर्ने सकारात्मक दबाब बढेको छ । ऊर्जा व्यापार सम्झौता (पीटीए)मा गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को मंगलबार बसेको बैठकले वित्तीय व्यवस्थापनको ढाँचा (मोडालिटी) टुंग्याएसँगै यसमा दबाब बढेको हो ।
बैठकमा सहभागी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणकै जस्तै बुटबल–गोरखपूर अन्तरदेशीय प्रसारणलाइनको एकल बुकिङ विद्युत् प्राधिकरणले लिएको छ ।
यसले उक्त प्रसारणलाइनमा विद्युत् प्राधिकरणको एकल अधिन छ हुन्छ तर त्यसवापत मासिक रूपमा कम्तीमा २५ करोड अर्थात बार्षिक ३ अर्ब रुपैयाँ बराबर तिर्नुपर्छ । एक हजार मेगावाट विद्युत् आदानप्रदान गर्न सक्ने ढल्केबर–मुजफपुर अन्तरदेशीय प्रसारणलाइनमा एकल बुकिङ गरेवापत विद्युत् प्राधिकरणले वार्षिक १ अर्ब ८ करोड रुपैयाँ तिरिरहेको छ । विद्युत् प्राधिकरणका अधिकारीहरूका अनुसार, प्रसारणलाइनवापत विद्युत् प्राधिकरणले मासिक रूपमा कम्तीमा २५ करोड तिर्नुपर्नेछ । ढल्केबर–मुजफपुर अन्तरदेशीय प्रसारणलाइनको विद्युत् आदानप्रदान गर्ने क्षमता १ हजार मेगावाट बराबर छ भने बुटबल–गोरखपूरको तीन हजार मेगावाट छ ।
दुई देशबीचमा ६ महिनाभित्र संयुक्त कम्पनी बनपछि प्रसारण तीन वर्षभित्र सम्पन्न गर्ने भनिएको छ । तीन वर्षभित्र प्रसारणलाइन सम्पन्न भएपछि विद्युत् प्राधिकरणले त्यो प्रसारणलाइनको एकल क्यापासिटी बुकिङ गरेकोले ढल्केबरभन्दा वार्षिक रूपमा तीन तेब्बर बढी तिर्नुपर्छ । प्रसारणलाइन सम्पन्न भएपछि सो प्रसारणलाइनबाट विद्युत् आदानप्रदान गर्न नसकिएमा वार्षिक रूपमा तीन अर्ब रुपैयाँ तिर्नैपर्छ । यसले विद्युत् व्यापारका लागि मात्र दबाब मात्र दिएको छैन, विद्युत् उत्पादनलाई प्रतिस्पर्धी बनाउनका लागि पनि दबाब दिएको छ । अहिले पनि भारतको भन्दा नेपालको विद्युत् महँगो छ ।
भारतमा सरदर विद्युत् प्रति युनिट लागत ३ देखि ५ रुपैयाँ छ भने नेपालमा ८ देखि १० रुपैयाँ छ । प्रतियुनिट लागत नघटाएसम्म नेपालबाट भारतमा विद्युत् निर्यातको सम्भावना छैन भने निर्यात गर्न नसके प्रसारणलाइनको लागि एकल बुकिङ गरेवापत प्रति वर्ष ३ अर्ब र २५ वर्षमा कम्तीमा ७५ अर्ब रुपैयाँ तिर्नुपर्ने हुन्छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका उपाध्यक्ष कुमार पाण्डेको विश्लेषणमा अन्तरदेशीय प्रसारणलाइनको सहमतिले विद्युत् उत्पादनको लागत घटाएर प्रतिष्पर्धी बनाउन अर्थात लो कष्ट, हाई क्यावटीको विजुली उत्पादन गर्न, अर्ध जलाशय, जलाशय लगायतका आयोजना छिटोभन्दा छिटो जलविद्युत् आयोजना बनाउन, आयोजना निर्माणमा सहजीकरण गर्न तथा विद्युत् व्यापारका लागि सबै किसिमको ढोका खुल्ला गर्नका लागि दबाब दिएको छ ।
“नेपाल सधै विजुलीको आयातमुखी राष्ट्र बनिरहेको छ, अब निर्यातमुखी राष्ट्र बन्नका लागि सहमतिले दबाब दिएको छ,” उनी भन्छन्, “प्रसारणलाइन बनेपछि विद्युत् आदानप्रदान गर्न नसकेमा यसले विद्युत् प्राधिकरण त टाट पल्टन्छनै, अरु यसका सरोकारवाला पनि टाट पल्टन्छन् ।” बिजुली सस्तो बनाउनका लागि सरकारले नीतिगत रूपमै हस्तक्षेप गर्नका लागि सबैभन्दा ठूलो दबाब सहमतिले दिएको उनको तर्क छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सह–सचिव एवं प्रवक्ता प्रवीणराज अर्याल भने भोलि विजुली आदानप्रदान गर्न सकिन्छकि सकिदैन भन्नुभन्दा पनि प्रसारणलाइन आवश्यक रहेकोले यसलाई अघि बढाइएको बताउँछन् ।
“पहिला त प्रसारणलाइन बन्नुप¥यो, त्यो बनेपछि मात्र पैसाको कुरा आउँछ, बिजुली ल्याउँदा, लैजाँदा पनि कुनै कुनैलाई तिर्नैपर्दथ्यो ।”। बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सह–सचिव एवं प्रवक्ता प्रवीणराज अर्याल भन्छन् “यसले विद्युत् आदानप्रदानका लागि ढाको खोलिदिन्छ ।”
अमेरिकी सरकारले नेपालको ऊर्जा र सडक मर्मतका लागि दिन लागेको ५ सय मिलियन डलरको अनुदानमा समेत बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणको निर्माणको सुनिश्चिततालाई सर्तको रूपमा लिइएको छ । सहमतिले यो आयोजना अघि बढाउनका लागि पनि सकारात्मक बाटो बनाएको छ । यति धेरै अनुदान सहयोगमा बन्न लागेको ठूलो प्रसारणलाइन बनेपछि यसबाट उत्पादित विद्युत् भारतसम्म पुर्याउने गरी अघि बढ्दा यसले विद्युत् व्यापारका लागि थप सहयोग गरेको पनि छ ।
प्राधिकरणका अनुसार सो अन्तरदेशीय प्रसारणलाइनमा भारततर्फ १२० किलोमिटर तथा नेपालतर्फ २० किलोमिटर प्रसारणलाइन बनाउनुपर्छ भने नेपालतर्फ २ अर्ब ५ करोड भारतीय रुपैयाँ तथा भारततर्फ ५ अर्ब १५ करोड भारतीय रुपैयाँ लाग्ने सन् २०१६ को अध्ययनले देखाएको छ । बैठकमा सहभागी मन्त्रालयका सह–सचिव एवं प्रवक्ता प्रवीणराज अर्यालका अनुसार, भारतफर्तको प्रसारणलाइनको स्वँपुजीतर्फ दुवै देशको ५०-५० प्रतिशत सेयर रहनेछ भने नेपालतर्फ भने नेपाल आफैले बनाउनेछ ।

Wednesday, October 16, 2019

बुटवल–गोरखपुर प्रशारणलाइनमा सहमति

https://www.karobardaily.com/news/development/25129
बुधवार, आश्विन २९, २०७६
नेपाल र भारतबीच दोस्रो अन्तरदेशीय बुटवल–गोरखपुर प्रशारणलाइन निर्माणमा सहमति जुटेको छ । ऊर्जा व्यापार सम्झौता (पीटीए)मा गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को मंगलबार बसेको बैठकले वित्तिय व्यवस्थापनको ढाँचा (मोडालिटी) टुंग्याएसँगै आयोजना अघि बढाउन सहमति जुटेको हो । अन्तरदेशीय प्रसारणलाइन बनाउनका लागि दुवै  देशबीच सहमति भए पनि नेपाल र भारतबीच कुन ढाँचामा बनाउने भन्नेमै लामो समयदेखि दुई देशबीच छलफल हुँदै आएको थियो  भने मोडालिटीको टुंगो लगाउने जिम्मा जेएससीले नेपाल विद्युत् प्राधिकरण (एनईए) र भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए)लाई दिएपनि स्पष्ट मोडालिटी तय हुन सकेको थिएन ।  अमेरिकी सरकारले नेपालको ऊर्जा र सडक मर्मतका लागि दिन लागेको ५ सय मिलियन डलरको अनुदानमा समेत बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारणको निर्माणको सुनिश्चिततालाई सर्तको रुपमा लिइएको छ ।
 बैठकले गरेको निर्णय अनुसार, न्यू बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइन निर्माण पनि पहिलो अन्तरदेशीय प्रशारणलाइन ढल्केबर–मुज्जफ्फरपुर मोडलमै बनाउन दुवै देश सहमत भएका छन् । बैठकमा सहभागी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार दोस्रो अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि संयुक्त कम्पनी बन्नेछ भने कम्पनीमा दुवै देशले स्वँपुजीमार्फत ५०-५० प्रतिशत लगानी गर्नेछन् । “८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटी रहने प्रशारणलाइन आयोजनाको इक्विटीमा ५०-५० प्रतिशत रहने गरी सहमति जुटेको छ,” उनले भने, “अहिले २५ वर्षसम्मको एकल क्यापासिटी बुकिङ नेपालले गर्ने सहमति भएको छ, यसबारे दुई देशबीच हुन् ट्रान्समिसन सर्भिल एग्रिमेन्टमा उल्लेख हुन्छ,” यसअघि एनईए र भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए)बीच भएका बैठकमा भने नेपालले सात वर्षसम्म एकल बुकिङ गर्ने, त्यसपछि संयुक्त गर्नुपर्ने नेपालले प्रस्ताव गर्दै आएको थियो भने भारतीय पक्षले २५ वर्षसम्मै एकल बुकिङ गर्नुपर्ने प्रस्ताव गर्दै आएको थियो ।
 नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको तर्फबाट त्यहाँका ऊर्जासचिव एससी गर्गले नेतृत्व गरेको बैठकले ६ महिनाभित्र संयुक्त कम्पनी खोल्ने सहमति पनि भएको छ । दुवै देशले निर्माण सुरु भएको तीन वर्षभित्र प्रशारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छन् ।
बैठकले दुई देशबीचबीच ऊर्जाको एक्सचेन्ज मार्केटबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने, भारतले सार्वजनिक गरेको अन्तरदेशीय व्यापार निर्देशिकामा इनर्जी बैकिङको नीति समावेश गर्ने तथा नेपाल, भारत र वंगलादेशबीच ऊर्जा क्षेत्रको सहकार्यका लागि संयुक्त बैठक बस्ने लगायतका निर्णय गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । प्राधिकरणका अनुसार सो अन्तरदेशीय प्रशारणलाइनमा भारततर्फ १२० किलोमिर तथा नेपालतर्फ २० किलोमिटर प्रशारणलाइन बनाउनुपर्छ भने नेपालतर्फ २ अर्ब ५ करोड भारतीय रुपैयाँ तथा भारततर्फ ५ अर्ब १५ करोड भारतीय रुपैयाँ लाग्ने सन् २०१६ को अध्ययनले देखाएको छ । 

Tuesday, October 15, 2019

नेपाल–चीनबीचको समझदारी कार्यान्वयन गर्न कार्ययोजना

मंगलबार, आश्विन २८, २०७६
सरकारले नेपाल र चीनबीच भएका २० बुँदे समझदारी कार्यान्वयन गर्न कार्ययोजना निर्माण गर्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमणको क्रममा भएका समझदारी कार्यान्वयनका लागि कार्ययोजना निर्माण गर्ने हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशबीच भएका समझदारीलाई निरन्तर रूपमा फलोअप गर्ने गरी समयवद्ध रूपमा कार्यान्वयनका लागि कार्ययोजना निर्माण गर्ने जानकारी दिए । “समझदारीलाई कार्यान्वयन गर्न विभिन्न संयन्त्रहरू छन् । परराष्ट्र सचिव र चिनियाँ राजदूतको एउटा संयन्त्र छ, अर्थसचिव र राजदूत रहेको अर्को संयन्त्र छ । मन्त्रालय–मन्त्रालयबीचमा पनि संयन्त्र छन्,” उनले कारोबारसँग भने, “समझदारी कार्यान्ज्वयनका लागि निरन्तर फलोअप हुन्छ, यसको एक्सन प्लान पनि बन्छ र समयवद्ध रूपमा कार्यान्वयन गर्ने गरी समय तालिका पनि बनाउँछौ ।” उनका अनुसार छिट्टै कार्ययोजना निर्माण अघि बढ्नेछ ।
दुई देशबीच चीन–नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन, सुरुङ निर्माण, दुई देशीय संयन्त्र निर्माण, अपराध सीमा, विपद जोखिम न्यूनीकरण लगायतमा समझदारी भएको छ । दुई देशबीच सीमा व्यवस्थापन प्रणाली, शासन क्षमता अभिवृद्धिमा समन्वय तथा आदानप्रदान, अपराधिक विषयहरूमा पारस्परिक कानूनी सहायता, दुई देशबीच सगरमाथा÷झुमुलाङ्मा संरक्षण समन्वय, लगानी एवं उत्पादनशील क्षमताका प्रमुख आयोजनाहरू प्रबद्र्धन गर्ने लगायतका समझदारी भएको छ । सबै समझदारीहरूलाई तदारुकताका साथ कार्यान्वयनमा लैजाने उनेले बताए ।
राष्ट्रपति सीको भ्रमणले नेपालका लागि चीनको भरोसायोग्य सहयोगमा एउटा विश्वासको वातावरण बनेको बताउँदै नेपालले भूपरिवेष्ठित कारणले सिर्जित समस्या वाध्यतालाई अन्त्य गर्नका लागि राष्ट्रपतिले भूजडित बनाउन र व्यापक कनेक्टिभीटी बढाउनका लागि चीनको साथ रहने प्रतिवद्धताका नेपालका लागि ठूलो उपलब्धि भएको उनको टिप्पणी थियो । भ्रमण वर्ष २०२० लाई सघाउने, लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउनुका साथै नेपालमा लगानी भित्र्याउनका रनेपालको व्यापार घाटा न्यूनीकरणबारे चिनियाँ पक्षले गरेको प्रतिवद्धता नेपालका लागि ठूलो उपलब्धि भएको परराष्ट्र मन्त्री ज्ञवालीको टिप्पणी छ ।
चीनसँग भएका अधिकांश समझदारीका अधिकाशं विषय नीति र रणनीतिसँग जोडिएकोले यसको कार्यान्वयनलाई उच्च महत्वका साथ हेरिएको छ । २३ वर्षपछि भएको चिनियाँ उच्चस्तरीय भ्रमणको क्रममा भएका समझदारी कार्यान्वयन गरेर सरकारले चिनियाँ सरकारको विश्वास हासिल गर्नुपर्नेमा विज्ञहरूले जोड दिँदै आएका छन् ।

Monday, October 14, 2019

पूर्वाधार परियोजनामा कम प्राथमिकता

सोमवार, आश्विन २७, २०७६
नेपाल र चीनबीच दुई देशबीच सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन र सुरुङ निर्माणसहित २० बुँदे समझदारी भएको छ । सरकारले एक दर्जनभन्दा बढी पूर्वाधार परियोजनाको लागि प्रस्ताव गरे पनि द्विपपक्षीय वार्तापछि यी दुई परियोजनासहित अन्य आर्थिक, दुईदेशीय संयन्त्र निर्माण, अपराध सीमा, विपद जोखिम न्यूनीकरण लगायतमा समझदारी भएको हो ।
 द्विवपक्षीय वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी ओली नेतृत्वमा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीसहित तथा सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूतलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी उपस्थितिमा भएको वार्तापछि आयोजित विशेष कार्यक्रममा दुबै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतलेसमझदारीपत्र आदानप्रदान गरेका थिए । वार्तापछि पूर्वसम्भाव्यता अध्ययन भइसकेको रेल्वेको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी भएको हो । करिब एक वर्षअघि चीनको ‘नेशनल रेल्वे अथोरिटीले’ केरुङकाठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । यही प्रतिवेदनका आधारमा सम्भाव्यता अध्ययन र र लगानीको ढाँचाका सम्बन्धमा द्विपक्षीय वार्ता भए पनि सम्भाव्यता अध्ययनबारे समझदारी भएको हो ।
करिब ७२ किलोमिटर लामो केरुङ–काठमाडौं रेलमार्गको लागत करिब ३ खर्ब र निर्माणका लागि  ८ वर्ष लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । प्रधानमन्त्री केपी ओलीले २०७३ असार ५ देखि १० गतेसम्म गरेको चीनको औपचारिक भ्रमणका क्रममा सो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएसँगै यसको प्रारम्भिक अध्ययन अघि बढाइएको थियो । त्यसैगरी, नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास समन्वय एजेन्सीबीच सुरुङ निर्माणमा सहकार्य सम्वन्धमा पनि समझदारी भएको छ ।
सरकारले टोखा–छहरे सुरुङमार्ग हुँदै रसुवागढीसम्म सडक निर्माणका लागि समेत नेपालले वार्तामा उठाएको थियो । दुई देशबीच नेपालको काठमाडौं उपत्यकामा चिनीया सहयोगका महानगर खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि माइन्यूट अफ मिटिङ  पनि भएको छ । यीबाहेक वार्ताको क्रममा सरकारले गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणबारे पनि प्रस्ताव गरेको थियो । तर, यसबारे खासै कुनै समझदारी हुन सकेन । नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन ५ हजार मेगावाट बराबरको विद्युत् आदानप्रदान गर्ने गरी नेपाल–चीन अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने गरी अध्ययन अघि बढेको छ । 
नेपालतर्फ ४ सय केभी तथा चीनतर्फ ५ सय केभीको डबल सर्किटको सो प्रसारण लाइन दुई वर्ष अघिको प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा अघि बढाउने सहमति भएको थियो । द्विपक्षीय छलफलमा आयोजनालाई सरकारसरकार (जीटूजी) मा निर्माणका लागि प्रस्ताव गरेको थियो तर यसको ढाँचाबारे पनि कुनै समझदारी भएन ।
 द्विपक्षीय वार्तामा रसुवागढीकेरुङ सडक र पुरानो नाका तातोपानी–काठमाडौं सडक स्तरोन्नति, उत्तर–दक्षिण जोड्ने विराटनगर–कीमाथांका–कोशी करिडोर,  भैरहवा–कोरला–कालीगण्डकी करिडोर र नेपालगञ्ज–हुम्ला (हिल्सा)कर्णाली करिडोरका साथै पूर्वपश्चिम रेलमार्गको लागि सहुलियत ऋणबारे नेपालले प्रस्ताव गरे पनि यसबारे ठोस निर्णय हुन सकेन । द्विपक्षीय वार्तापछि सीमा व्यवस्थापन प्रणालीबारे नेपाल र जन गणतन्त्र चीनका सरकारहरूबीचको सम्झौता भने भएको छ । त्यसैगरी शासन क्षमता अभिवृद्विमा समन्वय तथा आदानप्रदान सम्बन्धी नेपाल र जनगणतन्त्र चीनका सरकारहरू बीच समझदारी भएको छ भने अपराधिक विषयहरूमा पारस्परिक कानुनी सहायताबारे नेपाल र जनगणतन्त्र चीनबीचको सन्धिबारे पनि सम्झौता भएको छ ।
त्यसैगरी दुई देशबीच सगरमाथा-झुमुलाङमा संरक्षण समन्वय र  नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास आयोगबीच लगानी एवं उत्पादनशील क्षमताका प्रमुख आयोजनाहरू प्रबद्र्धन गर्नेसम्बन्धी समझदारी भएको छ । छेङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्नका लागि एक्सचेन्ज अफ नोटका साथै काठमाडौं महानगरपालिका र चीनको नान्जिङ सहरबीच र नेपालको बुटवल उपमहनगरपालिका सहर र चीनको सियान सहरबीच भगीनी सहरको सम्बन्ध स्थापना गर्नेसम्बन्धी समझदारी भएको छ ।
त्यसैगरी नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्परागत चिनियाँ ओखतीको राष्ट्रिय प्रशासनबीच परम्परागत औषधिको समन्वय, नेपालको गृह मन्त्रालय र चीनको आपतकालीन व्यवस्था मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिक्रियाका साथै नेपालको महान्यायधिवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्यूरेटरबीच साझेदारीका विषयमा पनि समझदारी भएको छ ।
 दुई देशबीच नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्यूसियस इन्स्टिच्यूटबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्यूसियस इन्स्टिच्युट स्थापना गर्ने,  व्यापारमा संयुक्त कार्य समुहको स्थापनाका विषयमा नेपालको उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय तथा चीनको वाणिज्य मन्त्रालय, नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी समन्वय कार्यसमूहको स्थापनासम्बन्धी समझदारीसमेत भएको छ । 
त्यसैगरी नेपालको कृषि विभाग र चीनको भन्सार प्रशासनबीच नेपालबाट चीनमा अमिला फलको निर्यातका लागि वनश्पती स्वास्थ्यका मापदण्डहरूको प्रोटोकल, नेपालमा चीनको सहयोगमा निर्मित भूकम्प मापन संयन्त्रसम्वन्धी परियोजनाको हस्तान्तरण प्रमाणपत्र र सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरणका लागि एक्सचेन्ज अफ लेटरसम्बन्धी पनि सम्झौता भएको छ । 
 
दुई जलाशय जलविद्युत् निर्माणको सम्झौता
चिनियाँ राष्ट्रपति सी चिनफिङका नेपालको दुई दिवसीय राजकीय भ्रमणको अवसर पारेर दुई जलाशययुक्त आयोजनाहरूको निर्माणका लागि समझदारी भएको छ । नेपालको सरकारी स्वामित्वमा रहेको जलविद्युत् लगानी तथा विकास कम्पनी र चीनीयाँ सरकारी स्वामित्वको पावर चाइनाबीच सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडेलमा दुई जलाशययुक्त आयोजना निर्माण गर्ने समझदारी भएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार, ऊर्जा जलश्रोत  तथा सिँचाइमन्त्री वर्षमान पुनः सचिव दिनेश घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका साथै पावर चाइनाका प्रतिनीधिको उपस्थितीमा ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना र १५६ मेगावाट क्षमताको माडी खोला जलाशयुक्त आयोजना निर्माण गर्ने विषयमा समझदारी भएको हो ।
स्पेशल पर्पस भेइकल (एसपीभी) गठन गरी दुवै आयोजनाहरू अघि बढ्नेछन् । तमोरको वित्तीय ढाँचा टुंगो लाग्ने बाँकी भएपनि माडी जलविद्युत् आयोजनामा भने ७४ प्रतिशत पावर चाइनाले र २६ प्रतिशत जलविद्युत् कम्पनीले लगानी गर्ने छ भने ऋण व्यवथापन पावर चाइनाले गर्नेछ । गत चैत्रमा भएको लगानी सम्मेलनको क्रममा तमोर जलाशययुक्त आयोजना निर्माणका लागि कम्पनी र पावर चाइनाले संयुक्त प्रस्ताव समेत गरेका थिए ।
तमोरमा ६ विदेशी कम्पनीले चासो देखाएपनि गत साउन १६ गते बसेको लगानी बोर्ड बैठकले एचआईडीसीएल तथा पावर चाइना संयुक्त तथा कतारको नेब्रस पावर होल्डिङ्स र जापानको फुजी इलेक्ट्रिक कम्पनी लिमिटेड संयुक्तलाई छनोट गरी लगानी बोर्डले प्रस्ताव आह्वान गरेको थियो । २१ दिनभित्र दुवै कम्पनीसँग प्रस्ताव गरे पनि एचआईडीसीएल र चिनियाँ कम्पनीले मात्र प्रस्ताव पेश गरेका थिए । 

Saturday, October 12, 2019

सरकारविरुद्ध निजी जलविद्युत् प्रवद्र्धक आन्दोलनमा

बिहिवार, आश्विन १६, २०७६
जलविद्युत्का निजी प्रवद्र्धकहरुले सरकारविरुद्ध आन्दोलन घोषणा गरेका छन् । सरकारले पूर्व प्रतिवद्धता कार्यान्वयन नगर्दा साना जलविद्युत् आयोजनाहरुको रुग्ण अवस्थामा पुगेको भन्दै उनीहरुले बुधबार आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । भ्याटवापत प्रतिमेगावाट ५० लाख दिने तथा २०७१ सालसम्ममा निर्माण सम्पन्न हुने जलविद्युत् आोजनाहरुलाई पोष्टपेड दर दिने लगायतका निर्णय कार्य नगरेको उनीहरुको आरोप छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले घोषणा गरेको आन्दोलनको कार्यक्रममा प्रधानमन्त्री गुहार्नेदेखि माग पूरा नभएमा सरकारलाई २५ जलविद्युत् आयोजनाको चाबी बुझाउनेसम्म छन् । घोषित कार्यक्रममा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माग पूरा नभएमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समक्ष कार्तिक १ गते रुग्ण २५ जलविद्युत् आयोजनाले चाबी बुझाउने, विद्युत् नियमन आयोग, विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणमा एक घण्टा धर्ना दिने, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ समक्ष समस्या र समाधानका सम्बन्धमा छलफल गर्ने, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका सभापति समक्ष समस्या र समाधानका सम्बन्धमा छलफल गर्ने लगायतका कार्यक्रम छन् ।
त्यसैगरी, सरकारका अर्थमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, नेपाल राष्ट्र बैकका गर्भनर, विद्युत् नियमन आयोगका अध्यक्ष, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, विद्युत् विकास विभागका महानिर्देशक समक्ष समस्या र समाधान सम्बन्धमा छलफल गर्ने, आयोजना स्थलमा आफ्ना मागहरुसहितको कालो ब्यानर राख्ने र माग नभएसम्म कालोपटी बाँधेर काम गर्ने लगायत समेत आन्दोलनको कार्यक्रम समेटिएको छलगायत समेत आन्दोलनको कार्यक्रम समेटिएको छ । रुग्ण जलविद्युत् आयोजनाहरुको समस्या समाधानका लागि निजी प्रवद्र्धकहरुले पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराइसकेका छन् ।
इप्पानका उपाध्यक्ष कुमार पाण्डेले आफ्ना मागहरुलाई सरकारले उचित ध्यान नदिएको कारणले वाध्य भएर आन्दोलन गर्नुपरेको बताए । “रुग्ण जलविद्युत् आयोजनाहरुको समस्या समाधान गर्न सरकारले तदारुकता नदेखाए यसले यसले लगानीकर्तासँगै बैकहरुमा समेत असर गरी देशकै अर्थतन्त्रको क्षेत्रमा नकारात्मक प्रभाव पार्छ,” उनले भने, “सरकार माग सम्बोधन गर्न गम्भीर बन्नुपर्छ ।”
रुग्ण जलविद्युत् आयोजना समन्वय समिति, इप्पानका संयोजक सुर्यप्रसाद अधिकारीले ४ वटा जलविद्युत् आयोजनाको लिलामीका लागि बैकहरुले सूचना जारी गरिसकेको बताउँदै अन्य जलविद्युत् आयोजनाहरुको हविगत पनि उस्तै रहेको बताए । जलविद्युत् प्रवद्धकहरु आङटावा शेर्पा, विजयमान शेरचन, प्रकाश दुलाल लगायतले सरकारले पूर्व प्रतिवद्धता कार्यान्वयन गर्नुपर्ने र नगरेमा यसले ठूलो समस्या ल्याउने बताए ।
आयोजना सम्पन्न भए पनि समयमै प्रसारण लाइन नबनेको कारण विद्युत् खेर गएको, बैकमा चर्को ब्याज तिर्नुपरेको, ११ र ३३ केभीबाट विद्युत् आउटेज हुँदा उत्पादन कम भएको, विद्युत् खरिद सम्झौता (पीपीए) दरमा भेदभाव गरेको लगायतका समस्या उनीहरुले देखाएका छन् । यही कारण ६६ आयोजनाहरु जीर्ण हुने अवस्थामा पुगेर ती आयोजनाहरुमा लगानी रहेको ५२ अर्ब जोखिममा परेका उनीहरुको दाबी छ । ५६० मेगावाट क्षमताका ८३ आयोजना मध्ये ६६ मेगावाट क्षमताका २० ओटा रुग्ण अवस्थामा, ८० मेगावाटका १८ आयोजना नाजुक तथा १३४ मेगावाटका २८ आयोजनाहरु कमजोर अवस्थामा पुगेको उनीहरुको ठहर छ ।
ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले जलविद्युत्मा लगानीको वातावरण खस्किँदो गएको बताउँदै सरकारको गलत नीतिले जलविद्युत् प्रवद्र्धकहरु आत्महत्याको मोडमा पुगेको बताए । अर्का ऊर्जा उद्यमी गुरु न्यौपानेले सरकारले पनि जनताको जलविद्युत्को नाममा निजी क्षेत्रको जस्तै पैसा उठाउन थालेपछि निजी क्षेत्र वनारस जानुपर्ने अवस्था सिर्जना हुन लागेको दाबी गरे ।

Wednesday, October 2, 2019

एमसीसीका आयोजनाको सफलताले सकारात्मक सन्देश दिन्छ

बुधवार, आश्विन १५, २०७६
अमेरिकी मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ऊर्जा र सडक आयोजनाका लागि ५ सय मिलियन डलर अनुदान दिने गरी सम्झौता भैसकेको छ । नेपालमा आएको सहायतामध्ये अनुदानमा यो सबैभन्दा बढी हो । आयोजना अन्र्तगत ३१८ किलोमिटर प्रसारण लाइन तथा १२७ किलोमिटर सडक मर्मत गर्ने योजना छ । आगामी २०७७ साल असारदेखि निर्माण सुरु हुन लागेका आयोजना पाँच बर्षभित्र सम्पन्न गर्नैपर्ने वाध्यता छ । सम्पन्न गर्न नसके स्वत पैसा फिर्ता जाने दुई सरकारबीचको सम्झौतामा उल्लेख छ । यसको कार्यान्वयनका लागि मिलिनियन च्यालेन्ज एकाउण्ट (एमसीए) नेपाल गठन भैसकेको छ । एमसीएका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट समयमै आयोजना सुरु गर्ने गरी तीव्र गतिमा तयारी अघि बढाईरहेको बताउँछन् । लामो समयदेखि जलविद्युत क्षेत्रमा संलग्न रहेका तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का पुर्व अध्यक्ष समेत रहेका कार्यकारी निर्देशक विष्टसँग कारोबारकर्मी भीम गौतमले गरेको संक्षिप्त कुराकानीः
मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) ले नेपालमा अघि बढाउन लागेको ऊर्जा र सडक आयोजनाको अवस्था कस्तो छ ?अहिले प्रसारणलाइन र सडक मर्मत आयोजना अघि बढाउन लागिएको छ । प्रसारण लाइनतर्फ तीनवटा सबस्टेसन छ । नुवाकोटको रातमाटेमा झण्डै चार सय रोपनी जग्गामा सबस्टेसन निर्माण हुँदैछ । सो क्षेत्रको जग्गा अधिग्रहणको कार्य सुरु गरिसकेका छौँ । जग्गा प्राप्ति ऐन अनुसारको प्रक्रिया अघि बढेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एउटा मूल्य निर्धारण समिति हुन्छ । प्राविधिक पक्षमा यसको डिजाइनको जिम्मा परामर्शदातालाई लगाइएकोमा यसको प्रारम्भिक मस्यौदा आएको छ । यो छलफलको चरणमा छ । डिजाइनको काम एक-डेढ महिनामा सम्पन्न हुनुपर्छ । डिजाइन सकिएपछि टेण्डर डकुमेन्ट निर्माण हुन्छ । यो पनि सँगसँगै निर्माण अघि बढेको छ । अर्को प्रसारण लाइनको वातावरणको पक्षको कुरा छ, विद्युत् प्राधिकरण र अन्यले नेपालमा बनाएको प्रसारण लाइनमा प्रारम्भिक वातावरण परीक्षण (आईईई) गरे पुग्थ्यो तर हाम्रो योजनामा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को गुणस्तर अनुसार अन्तर्राष्ट्रिय मापदण्डमा जानुपर्ने भएर यसको बृहत् वातावरणीय प्रभाव अध्ययन (ईआईए) अघि बढाएको छ । यसका केही प्रतिवेदन आइसकेका छन् । केही आउन बाँकी छन्, पूर्ण अबको एक सातामा आइसक्छ । यसपछि यसमा सरोकारवाला निकायको आवश्यक सुझाव र प्रतिक्रियापछि यसले पूर्णता ग्रहण गर्छ । यसपालि पानी परेर पनि फिल्डमा जान गाह्रो भयो । तिहार र छठपछि सहज हुने हुनाले हामी त्यसपछि सार्वजनिक सुुनुवाइमा जान्छौं । प्रभावित स्थानीय निकाय सबै ठाउँमा सार्वजनिक सुनुवाइ हुन्छ । सार्वजनिक सुनुवाइबाट आएको प्रतिकृया र सुझावको आधारमा ईआईएलाई अन्तिम रूप दिएर विद्युत् विकास विभाग हुँदै वातावरण मन्त्रालयलाई स्वीकृतिका लागि पठाउँछौ । आगामी मंसिरसम्म सबै प्रक्रिया पूरा गरेर टेण्डरमा जान्छ र ३-४ महिना कन्ट्याक्टरलाई बिड गर्नका लागि समय दिन्छौं । २०७७ साल असार १७ गते अर्थात् २०२० को जुनसम्म निर्माणमा जानुपर्ने हो, त्यसका लागि एकदम संवेदनशील भएर लागेका छौँ ।
सडकतिरको जहाँसम्मको कुरा छ, नयाँ प्रविधिको उपयोग गरेर सडक निर्माण गर्न लागेका छौं । सडकको छनोट भइसकेको छ । त्यो सडकको कार्य क्षेत्र के हो त्यसको कन्ट्याक्टरले गर्नुपर्ने के हो हो भनेर पहिचानका लागि हामी परामर्शदाता छनोटको प्रक्रियामा छौं । केही महिनामा परामर्शदाता छनोट भएपछि त्यसको डिजाइन गरेपछि बल्ल कन्ट्याक्टर छनोट गर्ने हो । इन्ट्री इन्ट्रो फोर्स को योजनाअनुसार नै निर्माण अघि बढ्ने हुनाले त्यसका लागि लागेका छौं । सडक कति बिग्रेको छ, कति उप्पड खाप्पड भएको छ, यो हेर्नका लागि फलिङ इन डेफ्क्टोमिटर भन्ने उपकरण मगाएका छौं । त्यसले नेपालमा एक हजार किलोमिटर हेर्छ । सडकको वास्तविक अवस्थाको तथ्यांक यसले देखाउँछ । निश्चित क्षेत्रमा ल्याब टेष्ट गर्नुपर्ने हुन्छ, यसका लागि पनि मेसिनहरू मगाइरहेका छौं । सडक र ऊर्जा दुवैका आयोजना एकैपटक निर्माणमा लैजाने योजना छ ।
प्रसारणलाइन र सडक योजना कसरी बनाउँदैछौ ?प्रसारण लाइनको अनलाइन सर्भे गरिसक्यौं । शंखरापुरको नेपाल विद्युत् प्राधिकरणको लप्सीफेदीमा सबस्टेसन छ । बाह्रबिसे हुँदै काठमाडौं आउने चार सय केभीको प्रसारणलाइन यहाँ जोडिन्छ । लप्सीफेदीसम्म मात्र आउने त्यो आयोजनासँग हामी जोडिन्छौ । शिवपुरी हुँदै लिखु खोला पारिको सिन्धुपाल्चोक हुँदै नुवाकोट छिरेर रातमाटे पुग्छ । रातमाटेबाट दुईवटा लाइन छुटिन्छ । एउटा हेटौंडासम्म पु-याउँछौं । ढल्केबरबाट आउने प्रसारणलाइन त हामीले हेटौंडासम्म पु-याएका थियौं । अर्को लाइन रातमाटेबाट दमौली हुँदै न्यू बुटबल पुग्छ । न्यू बुटबलमा प्राधिकरणले सबस्टेसन बनाउन जग्गा किनिसकेको छ । न्यू बुटबलबाट फेरि २३ किलोमिटर परको नेपालको सीमासम्म प्रसारणलाइन पुग्छ । सबै गर्दा प्रसारणलाइन ३१८ किलोमिटर आएको छ । सबस्टेसनमा हामीले जग्गा अधिग्रहण गरी किनेर बनाउने भनेको रातमाटे मात्र हो । लप्सीफेदीको प्राधिकरणकै हो । दमौलीको किन्ने प्रक्रियामा छ, हेटौंडा र बुटवलमा किनिसकेको छ ।
सडक आयोजना चाहिँ नयाँ हुनसक्छ । पहिला धेरै ठाउँ छनोट गरेका थियौं । अहिले आएर जुन प्रविधि र पैसा खर्च गर्दैछौँ, प्रतिकिलोमिटरको हिसाबले सम्भाव्य भएन कि भनेर अध्ययनले देखाएकोले सरकारलाई महेन्द्र राजमार्गको निश्चित क्षेत्र हामीलाई देऊ भनेर भन्यौं । पहिला कोसी र मेची मार्गमा बनाउने कुरा थियो । यहाँ ट्राफिक कम चल्ने भएकाले त्यति सम्भाव्य देखिएन । महेन्द्र राजमार्गमा २७ किलोमिटर नमुना (पाइलोटिङ) का लागि मागेका छौं । एक सय किलोमिटर अर्को मागेका छौं । चन्द्रौटादेखि भालुवाङ क्रस गरेर लमही, यहाँबाट पश्चिम जाँदा शिव खोला छ, त्यहाँबाट बाँके वन्यजन्तु आरक्षण पुग्दासम्मको क्षेत्रका लागि हो । वन्यजन्तु आरक्षण क्षेत्रमा हामी छिर्दैनौं ।
 सडकमा नयाँ प्रविधिको उपयोग गर्न लागेको बताउनुभएको छ, यो कस्तो प्रविधि हो ?
हुन त म यसको विज्ञ होइन तर यसमा के गर्ने हो भने नयाँ प्रविधिको मेसिनले सडकलाई पूरै ३० सेन्टिमिटरदेखि खनेर त्यसमा चाहिने मिक्स्चरको प्रशोधन गरेर पिच गर्ने हो । मेसिन हिँड्दै जाँदा रोड पिच हुँदै जान्छ । लामो मेसिन हुन्छ, निरन्तर रूपमा सडक बन्दै जान्छ । एक सय किलोमिटर त केही होइन, यो त एउटा परीक्षणमात्र हो । यसबाट सडक विभागले पनि सिक्छ । यो १५-२० वर्ष केही नहुने सडक बन्छ । यस्तो सडकमा गाडी तीव्र गतिमा कुदाउन सकिन्छ । मर्मत खर्च पनि धेरै जोगिन्छ ।
आयोजनाको वित्तीय व्यवस्थापन कसरी हुँदैछ र आयोजना निर्माण सम्पन्न भएपछि यसबाट कसरी नेपालले फाइदा लिन सक्छ ?अमेरिकी सरकारले ५०० सय मिलियन डलर अनुदान दिने सम्झौता गरेको छ । १३० मिलियन डलर नेपाल सरकारको यसमा थप हुन्छ । दुवै जोडेर नेपाली करिब ७० अर्ब जति यसमा लगानी हुँदैछ । यो नेपालका लागि धेरै लगानी भएका आयोजनामध्ये एक हो । सबैभन्दा बढी अनुदानमा निर्माण हुन लागेको यही होला । दुवै सरकारले अघि बढाउन लागेको भए पनि यसमा नेपालको सार्वजनिक खरिद ऐन लागू हुँदैन । यसमा एमसीसीको आफ्नै खरिदलगायतका निर्देशिकाहरु छन् । त्यसअनुसार नै ठेक्का व्यवस्थापन, कर्मचारी छनोट, सामानहरू किन्ने लगायतका काम त्यही कार्यक्रमको खरिद निर्देशिका अनुसार नै हुन्छ । अरुभन्दा भिन्नता यसमा भने त्यो छ । इन्ट्री इन्ट्रो फोर्सअनुसार पाँच वर्षभित्र सम्पन्न हुनुपर्छ । सकिएन भने अमेरिकी सरकारले थप पैसा दिँदैन । पाँच वर्षभित्र ऊर्जा र सडक आयोजना सम्पन्न गर्नुपर्ने बाध्यता छ । अहिलेसम्मको प्रगति हेर्दा राम्रो भइरहेको छ । म एमसीए नेपालमा सात महिना भयो । एमसीसी भन्ने सुनेको त धेरै भयो तर यसले गति समातेको धेरै भएको छैन । अहिलेको प्रगतिबाट म सन्तुष्ट छु ।
जहाँसम्म फाइदाको कुरा छ, यसमा सडक त एकदम सानो मात्र छ । यसमा १० प्रतिशत बजेट पनि छैन । सडक खाली नयाँ प्रविधि ल्याउने र सिकाउने मात्र छ । मुख्य त प्रसारणलाइन र सबस्टेसनमा हो । सुनकोसीदेखि मस्र्याङ्दी, त्रिशूली र कालिगण्डकी लगायतका चारवटा मुख्य नदीहरूको यसबाट बिजुली प्रसारण हुन्छ । काठमाडौँ लगायतका सबै लोड सेन्टरमा यसले बिजुली लैजान्छ । अर्को बढी भएको बिजुलीलाई यसले भारतमा बिजुली बेच्नका लागि पनि यो प्रसारण लाइनले सहयोग गर्छ । यसको क्षमता ३९ सय मेगावाट हो । त्यति सबै त लोड हुँदैन तर यसले तीन हजार मेगावाट बोक्छ । नेपालमा अहिले १०-११ मेगावाट छ भने एउटै लाइनले ३ हजार मेगावाट बोक्छ । ढल्केबर मुजफपुरभन्दा तेब्बर छ । यसबाट २ करोड ३० लाख मान्छे लाभान्वित हुन्छन् । सडकको ९-१० लाखले मात्र फाइदा लिन्छन् । आर्थिक प्रतिफल १०-१५ प्रतिशत छ । यो नेपाल सरकारलाई सिधै जान्छ ।
३ हजार मेगावाट विद्युत् कारोबार गर्दा यसले नेपालको अर्थतन्त्रमा कस्तो योगदान देला ?
आर्थिक प्रतिफल त निकालिएको छ । यसको बहुपक्षीय फाइदाको कुरा पनि छ । अर्थतन्त्र अन्य क्षेत्रमा पनि यसले सकारात्मक प्रभाव पार्छ । यो प्रसारणलाइन अघि बढाउनका लागि अध्ययन गर्दा प्रतिव्यक्ति खपत १७० युनिट थियो, यो बनेपछि ५ सय युनिट पुग्ने अपेक्षा गरिएको छ । अहिलेको भन्दा तेब्बर वृद्धि हुन्छ । नेपालको अहिले त २४० युनिट पुगेको भनिएको छ । यसको आधारमा दोब्बर पुग्छ । नाकाबन्दीपछि सुरक्षालाई सरकारले विशेष ध्यान दिएको छ । १० वर्षमा १० हजार-१५ हजार मेगावाटको लक्ष्य अघि सारिएको छ । अहिले सारिएको १५ हजार मेगावाटको लक्ष्यलाई विशेष रूपमा सरकारले अघि बढाएको देखिन्छ । लोड सेन्टरसम्म विद्युत् पु-याउनुका साथै विद्युत् खपत बढाउनका लागि विद्युतीय सवारी साधानमा जोड दिनुपर्छ । यदि विद्युत् खपत बढाउन सकियो भने अब बन्ने प्रसारण लाइनले अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) कति बढ्छ भनेर हामीले हेरेका भने छैनौ । पहुँच र आर्थिक प्रतिफलमात्र हेरेका छौं । सबस्टेसनको क्षमता प्राधिकरणले पठाइरहेको छ । यो आयोजनाले ठाउँठाउँमा बिजुली पु-याउन धेरै सहयोग गर्छ । चार्जिङ स्टेसनहरू खुल्न सक्छन् । यो त हाम्रो क्षेत्र परेन तर कम्तीमा प्रसारणलाइन र सबस्टेसन छैन भन्ने अवस्था रहँदैन । बढी आर्थिक गतिविधि भएका क्षेत्रमा यसले योगदान दिन्छ ।
एमसीसीका आयोजनाहरु अघि बढाउने क्रममा केही सर्तहरू थिए । कति पूरा भए, कति पूरा हुन बाँकी छन् ?हाम्रो सर्तमध्ये विद्युत् नियमन आयोगको गठन भइसकेको छ । राष्ट्रिय गौरवको आयोजना घोषणा पनि भइसकेको छ । आयोजना कार्यान्वयन सम्झौता भइसकेको छ । जग्गा प्राप्ति र जंगल फडानीका लागि ईआईए गर्नुपर्ने भएकाले समय लाग्छ, यो हुँदैछ । अर्को भारतसँग अन्तरदेशीय प्रसारणलाइन निर्माणको सुनिश्चितताको कुरा छ, यसको प्रारुप गत वर्षकै जुनमा बनिसक्नुपर्ने हो । संयुक्त समितिको बैठक वर्षमा दुई पटक बस्छ । पोखरामा बसेको बैठकमा यसको मोडलमा सहमति भएन । जुन अघि भारतमा चुनाव भएकाले र नयाँ सरकार आएकाले जुनमा टुंगो नलागेको हो । अब अक्टोबरमा यसको टुंगो लाग्छ । अर्को सर्त भनेको जुन दुई देशबीच भएको कम्प्याक्ट सम्झौता छ, त्यसलाई अनुमोदन गर्नुपर्नेछ । वर्षे अधिवेशनमा संसद्मा टेबुल गर्ने भनिएको थियो । त्यो टेबुल भएन ।

अन्तरदेशीय प्रसारणलाइन र कम्प्याक्ट सम्झौताको अनुमोदनमा ढिलाइ भयो भने आयोजना अघि बढाउनका लागि समस्या पर्छ कि पर्दैन ?सम्झौतालाई संसद्ले अनुमोदन गरेन भने आयोजना नै अघि बढ्दैन । तर अहिले खाली ढिलाइ भयो भन्ने हो । हिउँदे संसद्मा भयो भने समयमै आयोजना अघि बढ्छ । भएन भने त्यति नै बेला कुरा गरौंला । दुईवटा संसद अधिवेशनमा पनि अनुमोदन भएन भने त सरकारको प्रतिबद्धता यसमा देखिँदैन नि ।

सर्तबारे पनि सरकारकै दलका सांसदहरूको पनि असन्तुष्टि देखिएको छ नि ?हुन त यसबारे कसैको अडान त देखिँदैन । जुनमै अन्तरदेशीय प्रसारणको टुंगो लागिसकेको भए त संसद्मा जाँदा यसबारे थाहा भइसक्थ्यो । त्यो सिक्वेन्स मिल्थ्यो । उल्टो पर्न गएपछि अरुको सर्तमा किन हस्ताक्षर गर्ने भन्ने प्रश्न त उठेको हो । तर यो अन्तरदेशीय प्रसारणलाइन धेरै अघि संयुक्त प्राविधिक समितिले अध्ययन गरिसकेको आयोजना हो । विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ तर यसको वित्तीय व्यवस्थापन कसरी भन्नेमा मात्र अड्किएको हो । कहीं कहीं मैले पनि भारतको सर्त राखेर कसरी अनुमोदन गर्नु भनेर प्रश्न उठेको सुनेको थिएँ । एमसीसीले अघि बढाउन लागेको आयोजनामा नेपाललाई कुनै घाटा छैन । यो त पूर्ण अनुदान हो । केही सर्त छैन । पाँच वर्षमा सम्पन्न गरेर बुझाउने मात्र हो । अनुमोदन किन गर्नुपर्ने रहेछ भने स्थानीय सरकारले परिवर्तन गर्ने कानुनले आयोजना निर्माणमा बाधा गर्ने रहेछन् । संसदले अनुमोदन गरे त कानुनभन्दा माथि भयो नि भनेर गरिएको हो । यसले पाँच वर्षभित्रै निर्माण सम्पन्न गर्न वातावरण बनाउँछ । सबै राजनीतिक दलहरूको साझा पनि हुन्छ । कम्प्याक्टको आयोजनाको सबै कुरा अमेरिकाको संसद् कंग्रेसबाट अनुमोदन भएको छ ।
 पछिल्लो समयमा अमेरिका इण्डो प्यासिफिक रणनीतिले एमसीसीको आयोजनामा असर गर्ने हो कि भन्ने चिन्ता प्रकट हुँदै आएको छ । यसबारे के भन्नुहुन्छ ?यो इण्डोप्यासिफिक रणनीति निर्माण पूर्वको आयोजना हो । अगाडि यसको लेनदेन त खासै छैन । मलाई लाग्दैन, यसमा कुनै सम्बन्ध छ । अमेरिकी सरकारको भएकाले यसलाई जोडेर हेरेका छन् । यसको इण्डोप्यासिफिकसँग कुनै सम्बन्ध छैन । यो शुद्ध प्राविधिक आयोजना हो । पूर्वाधारको आयोजनामात्र यसमा छ । यसलाई कसैसँग जोडेर विवादित बनाउनु हुँदैन । विगतमा पनि ठूला ठूला आयोजना डिले गरेका छौं । नेपालको संसद् र सांसदले नेपालको ठूलो आयोजना हो भनेर अनुमोदन गरी नमुना र सफल आयोजना बनाउनका लागि आवश्यक भूमिका खेल्नुपर्छ । यस्ता आयोजनालाई विवादमा तान्नु हुन्न, बरु अरुले जानी नजानी भन्दा पनि होइन, होइन भनेर अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।
पाँच वर्षभित्र आयोजना सकिएपछि नेपालका लागि यसले के छोडेर जाला ?५ सय मिलियन डलरका आयोजनाहरू नेपालमा बनिरहेका छन् । ठूलो कुरा होइन । जुन मोडेलले हामी काम गरिरहेका छौं । यसमा गुणस्तरलाई उच्च महत्व दिएका छौँ । यसको खरिद प्रक्रियामा पूर्ण स्वायत्त निकाय सहभागी छ । यसमा पारदर्शिता छ । पाँच वर्षभित्र सम्पन्न गर्ने गरी तीव्र गतिमा निर्माण अघि बढाउन लागिएको छ । विश्व गुणस्तरको ईआईए, प्रसारण लाइनका साथै नेपालको जलविद्युत्लाई, सडकलाई, निजी क्षेत्रलाई, नेपालको आर्थिक विकासको परिकल्पनालाई यसले यस्तो सहयोग गर्छ कि भविष्यमा सबैले राष्ट्रिय प्राथमिकताका आयोजना कम्प्याक्टको जस्तै गर्नुपर्छ भनेर भन्छन् । पाँच वर्षभित्रै सिध्याउने भनेको त ठूलो कुरा हो नि । हाम्रा लथालिंग भएका परियोजनालाई हेर्ने हो भने धेरै राम्रो हुन्छ । अमेरिकी सहायताको आयोजना समयमै बनाउन सके नेपालका लागि आयोजनालाई पनि अक्सिजन दिन्छ । व्यापारिक समुदायमा पनि राम्रो सन्देश जान्छ । नेपाल लगानीको लागि उपयुक्त देश भन्ने सन्देश जानु भनेको धेरै सकारात्मक हो । नेपालका दातृ निकायहरू विश्व बैक, एसियाली विकास बैक, डीएफआईडी लगायतलाई पनि नेपालको नमुना परियोजनालाई मोडेल देखाउन पनि सहयोग पुग्छ । ५ वर्षमा ३१८ किलोमिटर प्रसारणलाइन, ३२ वटा स्थानीय निकाय र ९८ वटा वडाका जनतासँग परामर्श गरेर समयमै आयोजना बनायो भने यसले विश्वभर सकारात्मक सन्देश दिन्छ । हामीले नेपालमा २५-२६ वर्षसम्म आयोजना सम्पन्न नभएको देखेका छौं । एमसीसीका आयोजनाको सफलताले विश्वभर नेपालबारे सकारात्मक सन्देश पु-याउँछ । विश्वको ठूलो देश अमेरिकाको असल सम्बन्धका लागि यो आयोजना सबैका लागि उदाहरण पनि बन्छ ।

Tuesday, October 1, 2019

अमेरिकी अनुदानका आयोजना कार्यान्वयनका लागि सम्झौता

मंगलबार, आश्विन १४, २०७६
अमेरिकी सरकारको सहायतामा निर्माण हुन लागेका ऊर्जा र सडक आयोजना कार्यान्वयनका लागि सम्झौता भएको छ । २०७७ असार १६ गतेदेखि निर्माण सुरु गर्ने लक्ष्य राखिएको आयोजना कार्यान्वयनका लागि नेपाल सरकार र अमेरिकी सरकारबीच आयोजना कार्यान्वयनका लागि सोमबार सम्झौता भएको हो ।
आयोजना अघि बढाउनका लागि सरकारले पूरा गर्ने सर्तमध्ये आयोजना कार्यान्वयन सम्झौता पनि एक हो । अमेरिकी सरकारको सहायतामा निर्माण हुन लागेका ऊर्जा र सडक आयोजना कार्यान्वयनका लागि सम्झौता भएको छ । २०७७ असार १६ गतेदेखि निर्माण सुरु गर्ने लक्ष्य राखिएको आयोजना कार्यान्वयनका लागि नेपाल सरकार र अमेरिकी सरकारबीच आयोजना कार्यान्वयनका लागि सोमबार सम्झौता भएको हो । आयोजना अघि बढाउनका लागि सरकारले पूरा गर्ने सर्तमध्ये आयोजना कार्यान्वयन सम्झौता पनि एक हो । 
सम्झौतामा सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडा  र अमेरिकी सरकारको तर्फबाट मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अपरेसनका उपाध्यक्ष एन्थोनी बेलचरबीच हस्ताक्षर भएको छ ।
अर्थसचिव राजन खनाल र मन्त्रालयको वैदेशिक महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा आयोजना कार्यान्वयनका लागि गठित मिलिनियम च्यालेन्ज एकाउण्ट नेपालका कार्यकारी निर्देशक खड्बहादुर विष्टको उपस्थितिमा भएको सम्झौतामा ३० जुन २०२० अर्थात २०७७ साल असार १६ गतेदेखि आयोजना सुरु गर्नेदेखि पाँच वर्षसम्म सम्पन्न हुने गरी विस्तृत योजना उल्लेख छ । नेपालमा आर्थिक वृद्धिमार्फत गरिबी निवारणको लक्ष्य राखेर सुशासन र आर्थिक स्वतन्त्रतालाई बलियो बनाउने र लगानी बढाउन सहयोग गर्ने उद्देश्यले अघि बढाएको आयोजनामार्फत विद्युत्को उपयोग बढाउने, व्यापारमा सहजीकरण गर्ने र सडकको रणनीतिको गुणस्तर वृद्धि लगायतका लक्ष्य राखिएको छ ।
ऊर्जा र सडक परियोजनाका लागि अमेरिकी सरकारबाट सो आयोजनाका लागि ५० करोड डलर अनुदान प्राप्त भएको छ भने यसमा नेपाल सरकारले १३ करोड अमेरिकी डलरबारबर थप गरेको छ ।
नेपालमा हालसम्म परियोजनाका लागि आएको यो अनुदान नै सबैभन्दा बढी हो । आयोजनाअन्तर्गत ४ सय केभीको ३१८ किलोमिटर प्रशारण लाइन तथा तीन उच्च सवस्टेसनका साथै ३०५ किलोमिटर सडकको मर्मत हुनेछ । प्रसारण आयोजना आयोजनातर्फ आर्थिक प्रतिफल १२ प्रतिशत छ भने आयोजनाबाट ५० लाख ३९ हजार घरधुरी तथा झण्डै २ करोड जनसंख्या लाभान्वित हुने आयोजनाको लक्ष्य छ । त्यसैगरी सडक मर्मत आयोजनामा आर्थिक प्रतिफल २९ प्रतिशत छ भने यसबाट २ लाख ५ हजार घरधुरी र ९ लाख २५ हजार घरधुरी लाभान्वित हुनेछन् । आगामी नौ महिनामा समेत सबै तयारी पूरा गरेर परियोजना सुरु नगरेमा आएको अनुदान फिर्ता जानेछ भने निर्माण सुरु भएपछि ५ बर्षभित्र पूरा नभएमा पनि बाँकी रकम फिर्ता जानेछ ।
परियोजना स्रोतका अनुसार असारपछि म्याद थप हुने अवस्थासमेत छैन । परियोजना अघि बढाउनका लागि आयोजना कार्यान्वयन सम्झौतासहित विद्युत् प्रसारण आयोजनालाइ राष्ट्रिय गौरवका आयोजनाका रूपमा घोषणा गर्नुपर्ने र विद्युत् नियमन आयोगको गठनका लागि कानुनी बाटो खुलाउनुपर्ने सर्त पूरा भएको छ । तर, कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदन,  नेपालको बुटवलबाट भारतको गोरखपुर सीमापार प्रसारण लाइन निर्माणका लागि भारत सरकारसँग सहमतिमा योजना तर्जुमा गर्नुपर्ने र वातावरणीय प्रभाव मूल्यांकन (ईआए) स्वीकृति तथा जग्गा अधिग्रहण, रुख कटानी सन्दर्भमा पर्याप्त प्रगतिसहित सवै आयोजना निर्माण क्षेत्रमा पहुँच हुनुपर्ने पूर्व सर्तहरू पूरा हुन बाँकी छन् । यी सबै नेपाल सरकारको तर्फबाट पूरा गर्नुपर्ने सर्तहरू हुन् ।
कम्प्याक्ट सम्झौता संसद्बाट अनुमोदन हुनुपर्ने भएपनि बल्ल संसद पुगेको छ भने अन्तरदेशीय प्रशारण लाइनको मोडालिटी पूरा भइसकेको छैन । वर्षे अधिवेशनमा संसदबाट अनुमोदन हुने अपेक्षा गरिए पनि अनुमोदन भएन तर आगामी हिउँदमा अनुमोदन हुने अपेक्षा राखिएको छ ।