Monday, October 21, 2019

विश्वकै अग्लो स्थानमा गल्फ प्रतियोगिता

सोमवार, कार्तिक ४, २०७६
लुक्ला (सोलुखुम्बु)- विकास राणा पेशाले पाइलट र हवाई उडड्यन व्यवसायी हुन् । तर, आइतबार विश्वकै सबैभन्दा बढी उचाइमा भएको गल्फ प्रतियोगितामा पहिलोपटक टीअफ गरे ।
बाह्रखरीको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ’ अन्तर्गत विश्वमै पहिलोपटक सबैभन्दा अग्लो स्थान कोङ्देमा भएको प्रतियोगितामा समिट एयरका सञ्चालक राणाले पहिलो टीएफ गरेका हुन् । ४२ सय ५० मिटर उचाइमा भएको यो प्रतियोगितालाई गल्फमा ‘रेकर्ड ब्रेक’ को रुपमा लिइएको छ । बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानका अनुसार भारतको ३९ सय ६० मिटरमा भएको गल्फ प्रतियोगिता हालसम्मको सबैभन्दा उच्च स्थानमा भएको प्रतियोगिताले विश्व रेकर्ड रहेकोमा यसलाई भने विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रकै कोङ्देमा भएको प्रतियोगिताले तोडेको छ । बाह्रखरीले सो प्रतियोगितालाई विश्व रेडर्कमा कायम गर्नका लागि प्रक्रिया अघि बढाउने जनाएको छ ।
विश्व रेकर्ड कायम गर्ने प्रतियोगिताको पहिलो टीअफ गर्ने मौका भएका राणाले आफ्नो लागि अविस्मरणीय खेल भएको बताए । “हिमाली क्षेत्रमा आएर यसरी गल्फ खेलमा रमाउँदाको क्षण मेरा लागि जीवनकै अविस्मरणीय क्षण बन्यो । मैले प्रतियोगिताको पहिलो टीअफ गर्ने मौका पाएँ,” लामो समयदेखि गल्फर रहेका उनले भने, “प्रतियोगिता आयोजना गर्नु नै हामी खेलाडीको लागि एतिहासिक क्षण हो ।”
प्रतियोगिताको पहिलो महिलाको रुपमा प्रतियोगितामा सहभागी भएकी कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजकी निर्देशक रेखा घिमिरेले पनि कोङ्देको खेललाई जीवनभर भुल्न नसकिने अवसरको रुपमा विश्लेषण गरिन् । प्रतिकूल मौसम भए पनि आइतबार पुगेकामध्ये बैंकर आरती राणाले गल्फ खेल्दा एउटा नयाँ खालको ऊर्जा आएको र जीवनभर भुल्न नसकिने क्षण भएको बताइन् ।
३० वर्षदेखि गल्फ खेल्दै आएका प्रहरीका पूर्व एसएसपी राजेन्द्र श्रेष्ठले हिमालको फेदमा खेलेर इतिहास रचेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनुलाई नयाँ अनुभव बताए ।
कोङ्देमा भएको खराब मौसमपछि ३८ सय ८० मिटर उचाइमा रहेको स्याङ्बोचेमा पनि प्रतियोगी सहभागी भएका थिए । वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, पूर्व सांसद राजीवविक्रम शाह, व्यवसायी आनन्द बतास लगायतले स्याङ्बोचेमा पुगेर गल्फ प्रतियोगितामा सहभागी भएका थिए । खराब मौसमका कारण ४० भन्दा बढी सहभागी भने प्रतियोगितामा काठमाडौंबाटै आउन सकेनन् । प्रतिष्ठित व्यापारीहरु विनोद चौधरी, रविभक्त श्रेष्ठ लगायत भने लुक्ला पुगेर पनि कोङ्देमा पुग्न सकेनन् । “बाह्रखरीले गरेको यस कार्यक्रमले रेकर्ड ब्रेक गरेकोमा खुसी छु । यसले नेपाल र गल्फको प्रचारप्रसारका लागि ठूलो योगदान दिएको छ,” व्यापारी चौधरीले भने ।
नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको भए पनि खराब मौसमका कारण हुन सकेन । ६५ जनाभन्दा बढी आइतबार हेलिकप्टरबाट कोङ्दे जाने योजना थियो । प्रतियोगितामा एक दर्जनभन्दा बढी विदेशी पत्रकारहरु समेत सहभागी हुन लागेका थिए तर अधिकांश कोङ्दे पुग्न सकेनन् ।
बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेका अनुसार प्रतियोगिता दुई चरणमा हुनेछ । बाँकी खेल आगामी शनिबारका दिन काठमाडौंको गोकर्ण सफारी रिसोर्टमा हुनेछन् । जहाँ बाँकी रहेका १७ होल खेलाइनेछ ।
दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने उनले बताए । “एनसेल बाह्रखरी गल्फ नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो गल्फ प्रतियोगिता भएकाले ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हो,” उनले भने, “नेपालको पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको हो ।”
प्रतियोगिताको नाम ‘एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेस्ट गल्फ २०१९’ रहेको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल इयर २०२० को सहकार्यमा गरिएको हो । प्रतियोगिताको मुख्य प्रायोजक एनसेल रहेको छ भने भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन् । थाई इन्टरनेसनल एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज पार्टनर रहेका छन् भने ग्लोबल आईएमई बैङ्क प्रतियोगिताको बैङ्किङ पार्टनर तथा टाटा मोटर्स भेहिकल तथा होल–ईन–वान पार्टनर रहेको छ ।

No comments: