Thursday, October 22, 2020

बन्यो नेपालकै ठूलो सबस्टेसन

https://www.karobardaily.com/news/120585

कार्तिक ७, २०७७ शुक्रबार

 भारतसँग विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइन अन्तर्गतको ढल्केबर सवस्टेशनको निर्माण पूरा भएको छ । मुलुकभित्रको सबैभन्दा ठूलो र ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सो सबस्टेसनको निर्माण पूरा भएको हो । नेपाल–भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेको ढल्केबार मुजफ्फरपुर लाइन तयार भएर १३२ र २२० केभीमा चार्ज भए पनि पूर्ण क्षमतामा सञ्चालनका लागि ढल्केबर सवस्टेशनको काम पूरा हुन सकेको थिएन । दुई वर्षअघि २२० केभीमा चार्ज भए पनि बल्ल ४ सय केभीमा चार्ज हुनसक्ने गरी सवस्टेशन पूरा भएको छ । सवस्टेशन पूरा भएपछि बुधबार राति तीन ट्रान्सफर्मरमध्ये एक चार्ज गरिएको छ भने दुई टान्सफर्मर र एउटा रिक्याक्टर चार्ज गर्न अझै बाँकी छ । विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले नेपालकै हालसम्ममै ठूलो र पहिलो ४ सय केभीको सवस्टेसनको निर्माण कार्य पूरा भइ तीनमध्ये एक ट्रान्सफर्मरको चार्ज गरिसकेको बताए । “ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइनअन्तर्गतको चार सय केभीको ढल्केबर सवस्टेशन पूरा भएको छ, तीनमध्ये एक ट्रान्सफर्मर चार्ज भएको छ, बाँकी दुई दसैंपछि परीक्षण हुनेछ,” उनले भने, “भारततर्फको मुजफ्फरपुरमा केही काम बाँकी रहेकोले पूर्ण रूपमा चार्ज भने नोभेम्बर १० अर्थात तिहारअघि सम्पन्न हुनेछ, त्यसपछि सवस्टेशन पूर्ण क्षमतामा चार्ज हुनेछ ।”

नोभेम्बर ६ देखि १० सम्म भारतर्फको मुज्जफरपुरमा २२० केभीको टावरबाट ४ सय केभीको टावरमा चार्जका लागि काम पूरा हुने प्राधिकरणले जनाएको छ । बुधबार राति नेपाल विद्युत् प्राधिकरणले भारततर्फको ४ सय केभीबाट ढल्केबर सवस्टेशनको ४ सय केभीमै चार्ज गर्नुपर्ने भए पनि भारततर्फ पूरा हुन बाँकी भएकोले नेपालतर्फको २२० केभीबाट ४ सय केभीमा लोड चार्ज गरिएको थियो । मुजफ्फरपुरको एउटा टावरमा पानी जम्मा भएको तथा हाल त्यो क्षेत्रमा चुनाव रहेकोले दसैंपछि पाँच दिन सटडाउन गरेर त्यो काम पूरा गरेपछि लोडसहित चार सय केभीमा चार्ज हुनेछ । गतअसारमै चार्ज गरिसक्ने लक्ष्य राखिए पनि लामो समयदेखि केरुङमा हाइभोल्टेज टेष्टिड. किट अड्किएको कारण परीक्षण चार्ज हुन सकेको थिएन । पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि निर्माण गएिको ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)प्रविधियुक्त स्वचालित ढल्केबर सबस्टेसन ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन हाल भने २२० केभीमा सञ्चालनमा छ ।
विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाका अनुसार, ३ सय ४५ एमभीएका तीन थान ट्रान्सफर्मर जडित सो सवस्टेशनको क्षमता ९४५ एमभीए छ । करिब १२०० मेगावाट विद्युत् शक्ति प्रसारण क्षमता भएको यस लाइनबाट करिब एक हजार मेगावाट विद्युत आदानप्रदान गर्न सकिन्छ । 
सबस्टेसन निर्माण भारतीय  भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरेको हो । सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब रुपैयाँ लगानी रहेको सो सबस्टेसन निर्माणका लागि ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो । 
सवस्टेशनको निर्माणसँगसँगै २२० केभीको खिम्ती–ढल्केबर दोस्रो सर्किट प्रसारण लाइनको निर्माण पूरा भएको प्राधिकरणले जनाएको छ । यो सम्पन्न भएसँगै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ भने सवस्टेशन चार्ज भएपछि मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिनेछ । दोस्रो सर्किट र सवस्टेशन चार्ज हुन नसकेमा आगामी पुसभित्र निर्माण सम्पन्न गर्न लागेको आयोजनाबाट उत्पादित बिजुली प्रसारण लाइनको अभावमा खेर जाने होकि भन्ने चिन्ता भने अन्त्य भएको छ । प्राधिकरण प्रवक्ता अब आगामी पुसदेखि उत्पादन गरिने तामाकोशीको बिजुली ४ सय केभीमा सवस्टेशन चाज भएपछि निर्यात गर्न सकिने बताउँछन् । 

No comments: