Sunday, November 25, 2012

कमिसनखोर प्रवृत्तिले लोडसेडिङ बढ्दो

विजयमान शेरचन, संयोजक, लोडसेडिङ न्यूनीकरणका लागि दबाब समूह
देशमा लोडसेडिङको समस्या बढ्दै जाँदा, लोडसेडिङ न्यूनीकरणका लागि तपाईंकै नेतृत्वमा बनाएको दबाब समूहको सक्रियता घट्दै छ, किन ?
जलविद्युत् क्षेत्रमा सक्रिय व्यक्तिहरूको समान धारणा छैन । कोही इपानको पछाडि, कोही साना जलविद्युत् संघको पछाडि र कोही नेपाल उद्योग वाणिज्य संघको ऊर्जा समितिको पछाडि लागिरहेका थिए र छन् । दुई वर्ष अघि लोडसेडिङको भयावह अवस्था आएपछि तीनै समूहलाई समेटेर लोडसेडिङ न्यूनीकरणको लागि दबाब समूह निर्माण गरिएको हो । त्यो बेलामा दबाब समूह पनि सक्रिय थियो । त्यो बेलामा दबाबपछि अर्थ र ऊर्जामन्त्री भरतमोहन अधिकारी लाचार भएर वाध्य भएर ऊर्जा संकटकाल घोषणासहितको जलविद्युत् उत्पादन गर्ने र लोडसेडिङ घटाउने कार्यक्रम ल्याउनुभयो । त्यो लागू गर्न नपाउँदै अर्को सरकार आयो । त्यो अभियानले सरकारमा सतर्कता उत्पन्न भयो । तर, पछिल्लो समयमा लोडसेडिङ न्यूनीकरणका लागि दबाब अभियान निष्क्रिय भएको म स्वीकार्छु । बारम्बार सरकार परिवर्तन भइरहने, सरकार पिच्छे नै नीति परिवर्तन भइरहनेलगायतका कारणले समस्या आयो । निजी क्षेत्र त प्रताडित हुनुपर्‍यो । यहीकारण निजी क्षेत्र पीडित भएका छन् । निजी क्षेत्र पनि विभक्त छन् । यस्तो बेलामा निजी क्षेत्र एक हुनुपर्ने हो तर यहीकारण दबाब समूह सक्रिय हुन नसकेको हो ।
जलस्रोत सम्भाव्यतामा धनी नेपाल, उत्पादनमा सबैभन्दा गरिब हुनुको मुख्य कारण के छ ?
नेपालमा जलविद्युत् विकासको योजनाको संयन्त्र नै छैन । विद्युत् आयोजना यसरी क्रमवद्ध रूपमा कार्यान्वयन गर्छौं भन्ने निकायनै नभएको अवस्था छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू के के हुन्, ती योजना अगाडि बढाउनुपर्ने हो, यसलाई अघि बढाउने र नीति बनाउने काम त जल तथा ऊर्जा आयोगको हो तर विडम्बना आयोग निष्क्रिय बनाइएको छ । ऊर्जा आयोग त अहिले कुनै सचिव, सह–सचिव वा कर्मचारीलाई दण्ड दिनु परे आयोग पठाउने गरिएको छ ।  जलविद्युत् उत्पादनलाई टेवा दिने संस्था नेपाल विद्युत् प्राधिकरण हो । तर, यो प्राधिकरण यति जर्जर अवस्थामा छ कि जसको सात अर्बको घाटा नै छ । गत वर्ष मात्र सरकारले २७ अर्ब अवलेखन गरिदिएको छ । प्राधिकरणमा १० हजार कर्मचारी छन् । ती कर्मचारीमध्ये कसले के गरेको छ भन्ने कसैलाई थाहा छैन । तलब, भत्ता, सुविधा भने दिइरहेको छ । चुहावट झन्डै २८ प्रतिशत छ । घटाउनका लागि सार्थक प्रयास गरेका छैनन् । जम्मा जडित ६ सय मेगावाटको उत्पादनमा पनि पूर्णरूपमा उत्पादन भएको छैन । प्राधिकरणको अहिलेको स्वरूपले जलविद्युत् विकासमा नेतृत्व दिन सक्दैन । यसकारण, प्राधिकरणलाई विखण्डन गर्नुपर्छ । उत्पादन, प्रशारण लाइन, वितरण र व्यापार गर्ने छुट्टै निकाय हुनुपर्छ । जसले व्यापारको सिलसिलामा हिउँदमा भारतसँग किन्ने र वर्षामा बेच्न सकोस् । वातावरणीय अध्ययनको स्वीकृतिका लागि मात्र डेढ वर्ष लगाउनुपर्ने अवस्था छ । अर्को प्रशारण लाइन निर्माण नभएसम्म लोडसेडिङ हट्न नसक्ने निश्चित छ । यो पनि सुस्तगतिमा छ । अझ मुख्य कुरा त जलविद्युत्को विकास कसरी गर्ने भन्नेमै खोट छ । ०४९ सालमा विद्युत् ऐन आउँदा राम्रो नियतका साथ आएको हो । निजी क्षेत्रलाई जलविद्युत् क्षेत्रमा सहभागी गराउने कुरा राम्रो हो, मूलभूत लक्ष्य राम्रो थियो तर कार्यान्वयन एकदम गलत भयो । जो आए पनि लाइसेन्स दिन थालियो । लाइसेन्स अनुसार काम गर्न सक्छ कि सक्दैन भनेर हेरिएन । आयोजना निर्माण हुँदा के के समस्या आउन सक्छन् भनेर र त्यो समाधान हुन्छ कि हुन्न भनेर पनि कसैले हेरेन । त्यसैले १६ हजार लाइसेन्स बाँडियो, अहिले कुनै खोला बाँकी छैनन् तर उत्पादन हुन सकेन । हचुवाको भरमा लाइसेन्स बाँड्नु सबैभन्दा ठूलो भूल भयो । जलविद्युत्को विकासका लागि जलाधार विकासको आधारमा विकास गर्नुपर्छ । कोसी, कर्णाली, गण्डकीलगायतका हरेक जलाधारमा कति उत्पादन क्षमता छ र त्यो अनुसारको योजना गरी अघि बढाउनु पर्दथ्यो । अर्को समस्या भनेको नेपालमा रहेको आर्थिक तरलता पनि हो । बंैकबाट लगानी पाउन कठिन छ । पुँजीको समस्या समाधान गर्न सरकारले जलविद्युत्लाई प्राथमिकता क्षेत्र घोषणा गर्नुपर्छ, यसमा अनिवार्य रूपमा बंैकले निर्वाह रूपमा लगानी र सहुलियत दरमा व्याज दिने व्यवस्था गर्नुपर्छ । अहिले सरकारले अर्को गल्ती के गरेको छ भने जलविद्युत्मा लगानी गर्नका लागि कम्पनी खडा गरेको छ, त्यसको अवधारणा गलत छ । त्यसले बंैकको रूपमा काम नगरी दातृ संस्थाबाट सहुलियत दरमा लगानी ल्याएर कमर्सियल बैंकमार्फत जलस्रोत क्षेत्रमा लगानी गर्नुपर्छ । त्यो छैन । अहिले २५ मेगावाटभन्दा माथिका आयोजनामा मात्र लगानी गर्ने भनेको छ । निजी क्षेत्रले त्यो कम्पनीबाट फाइदा लिन सक्ने अवस्था छैन ।
विद्युत् ऐन आएपछिका सरकारमा नेतृत्व गर्नेहरूको गैरजिम्मेवारीले यस्तो अवस्था आएको भन्न सकिन्छ ?
सरकारमा नेतृत्व गर्नेहरूको गैरजिम्मेवारीले लोडसेडिङ समस्या भयावह भएको हो । यहाँ नीति एकातिर छ, मन्त्री, सचिवले अर्को काम गरिरहेका छन् । जलस्रोत क्षेत्रमा नेतृत्व गर्नेहरूको मनपरि छ । हरेक मन्त्रीले नयाँ नीति ल्याउने र लागू गरिरहेका छन् । त्यसले गर्दा नीतिमा स्थिरता भएन र लगानी गर्नका लागि डराउने वातावरण बन्यो ।
जलस्रोत सम्हालेका मन्त्री, नेताहरूले जलस्रोत विकासलाई मागिखाने भाँडो बनाए भन्न खोज्नुभएको हो ?
जलस्रोत विकासको नाममा यसलाई मागिखाने भाँडो बनाएको सत्य हो । यहीकारण जलस्रोतको विकास हुन सकेन र लोडसेडिङको भयावह अवस्था आएको हो । जलस्रोत विकास र लोडसेडिङको कुनै मतलब छैन, यसको नाममा पैसा कसरी कमाउने भन्ने चिन्ता बढी छ । यसको ज्वलन्त उदाहरण हालसालैको थर्मल प्लान्ट किन्ने निर्णय हेरे पुग्छ । पहिला कुरा चले पनि अहिले कार्यान्वयन हुन लागेको छ । सरकारले ८० मेगावाटको थर्मल प्लान्ट राख्दै छ । यो कसको हितमा हो ? यसबाट विद्युत् उत्पादन गर्दा कम्तीमा ३५ रुपियाँ पर्छ । यो पैसा कसले तिर्न सक्छ ? पहिलाकै हेटाँैडा र दुहबी का प्लान्ट थन्किएर बसेका छन् किन ? यसलाई थेग्न नसक्ने मूल्य छ । फेरि ८० मेगावाट थप्नु भनेको के हो ? यो लोडसेडिङ न्यूनीकरण गर्छु भनेर होइन, यो म कमिसन खान्छु भन्ने मात्र हो ।
ऊर्जामा कमिसनखोरी प्रवृत्तिले लोडसेडिङ बढ्दै गएको भन्न सकिन्छ ?
एकदम सही हो । ऊर्जामा कमिसनखोर प्रवृत्ति बढेकाले लोडसेडिङ बढ्दै गएको छ । अहिले भएका लाइसेन्सहरू समेत खोसेर आफ्ना आसेपासेलाई दिने प्रवृत्ति झाँगिएको छ, अभियान चलेको छ । कुनै देशको अर्थतन्त्र जुन बेला बलियो हुन्छ, जब लगानीकर्ता स्वदेशी हुन्छन् । स्वदेशीलाई प्राथमिकता दिनुपर्छ तर यसमा हद हुन्छ । १०/१५ मेगावाटका आयोजना स्वदेशीलाई नै दिनुपर्छ । स्वदेशीलाई दिँदा निश्चितता र कम खर्चमा बन्छ । प्राधिकरणकै लागतको हिसाब गर्ने हो भने काली गण्डकीमा चार हजार र मध्यमस्याङदीमा ६ हजार डलर प्रति किलोवाट लगानी छ । चमेलियामा त त्यो भन्दा पनि बढ्ने भइसकेको छ । यो किन भइरहेको छ भने घुसखोरीको कारणले भइरहेको छ । त्यही आयोजना निजी क्षेत्रले बनाउँदा करिब दुई हजार प्रति किलोवाटमा बन्छ । त्यो भन्दा बढी भयो भने सबै सर्तक हुन्छन् । निजी क्षेत्रलाई बाइपास गरेर यो देशमा जलस्रोत विकास हुँदैन । अर्को कुरा निजी क्षेत्रले सबै कुरा गर्न नसक्ने भएकाले ठुल्ठूला आयोजना बनाउन सक्दैन । त्यसकारण विदेशी सहयोग पनि लिनुपर्छ । अर्को कुरा ठुल्ठूला जलाशययुक्त आयोजना निर्माण सम्पन्न नभएसम्म लोडसेडिङ घट्दैन । अहिले लोडसेडिङ हुनुको कारण एउटा मात्र जलाशय हुनु पनि हो ।
निजी क्षेत्रलाई त लाइसेन्स ओगटे र उत्पादन गरेन भनेर सरकारी निकायले आरोप लगाउने गरेको छ नि ?
लाइसेन्स दिने प्रक्रिया नै गलत गरियो । लाइसेन्स आवेदनपछि त्यसको लगानी क्षमता, अवस्था, सम्भाव्यता आदिको आधारमा दिनुपर्दथ्यो । त्यो हेरिएन । जुन ठाउँमा प्रशारण लाइन छैन, त्यहाँ विद्युत् उत्पादन त गर्न सकिँदैन । त्यो सबै किन हेरिएन ? लाइसेन्स हातमा परे पनि कार्यान्वयनका लागि कुनै पुर्वाधार भएन ।
जलविद्युत्मा सरकारी, निजी, स्थानीयवासी, राजनीति दललगायतबाट बाधा अवरोध आएको भनिन्छ, कसले के कमजोरी सुधार्नुपर्छ र कस्तो वातावरण जलविद्युत् विकासका लागि आवश्यक छ ?
सबैभन्दा पहिला त सबैको साझा नीति हुनुपर्‍यो । सबै दल, सरकार र क्षेत्रबीच जलविद्युत् साझा एजेन्डा बन्नुपर्‍यो । यो प्राथमिकतामा पर्नुपर्‍यो । यसमा राजनीतिक द्विविधा हुनुहुन्न । दोस्रो स्थानीय पुँजीलाई आयोजनामा उपयोग र सहभागिता गराउनुपर्‍यो । विदेशी पुँजी त आउँछन् तर स्थानीय पुँजीको परिचालन आवश्यक छ । त्यसका लागि निश्चित वातावरण पनि हुनुपर्‍यो । हामी भारतबाट प्रति युनिट ११ रुपियाँ तिरेर विद्युत् किन्न तयार छौँ, कम्तीमा ३५ रुपियाँ तिरेर थर्मल प्लान्ट राख्न तयार छौँ भने स्वदेशी लगानीलाई चार रुपियाँबाट बढाएर ६ रुपियाँ किन दिन सक्दैनाँै । त्यो तिर पनि विचार गर्नुपर्छ । यसमा मुख्य कुरा पुँजीको हुन्छ । राष्ट्र बंैकले कमर्सियल बंैकहरूले यति रकम जलविद्युत्मा लगानी गर्नै पर्छ भनेर व्यवस्था गर्नुपर्छ । सरल ब्याजमा लगानी गर्नुपर्छ । यसो गरे भने प्रत्येक वर्ष बढ्ने विद्युत्को माग पूर्तिमा सहज हुन्छ र ठूलो आयोजना आएपछि लोडसेडिङ घट्न सक्छ । साना तथा मझौला आयोजनालाई निजी क्षेत्रबाट बनाउन प्रोत्साहन गर्नुपर्छ । त्यसका लागि राजनीतिक वातावरण, पिपिए राम्रो हुने, सरल ब्याजदरमा ऋणको व्यवस्था पाउनुपर्छ । अर्को कुरा ठूला आयोजनाका लागि विदेशीलाई पनि बाटो रोक्नु हुन्न । भुटानले किन जलविद्युत्मा सफलता हासिल गर्‍यो, त्यसबाट पाठ नेपालले सिक्नुपर्छ । भारतसँग नेपाललाई जलविद्युत् विकासमा ठूलो अवसर पनि छ । वर्षामा खेर जाने विद्युत्लाई भारतलाई बेच्ने र हिउँदमा नेपालले किन्ने मात्र गर्नुपर्छ । एक आपसमा बेच्ने भएकाले मूल्यको कुरै भएन । अहिले विद्युत् आदानप्रदानका लागि एउटा मात्र क्रस बोर्डर ट्रासमिसन लाइन निर्माण भइरहेकाले थप दुई बनाउनु आवश्यक छ ।
तपाईंकै नेतृत्वमा रहेको दबाब समूह निष्क्रिय भइरहँदा र लोडसेडिङको चरम समस्या बढ्दै जाँदा यसलाई सक्रिय बनाउनुपर्छ जस्तो लागेको छैन ?
जलविद्युत् क्षेत्रलाई हेर्ने तीन निजी क्षेत्र विभाजित छन् । सुरुवातमा इपान भोटेकोसी र खिम्तीको स्वार्थका लागि बनेको संस्था हो । नर्वेजियन र अमेरिकनहरूको स्वार्थका लागि बनेको संस्था हो । अहिले पनि उनीहरूको स्वरूप परिवर्तन भएको छैन । उनीहरू अहिले पनि विदेशीको हितमा वकालत गरिरहेका छन् । अर्को छ, म आपैँm कार्यकारी सदस्य भएको साना जलविद्युत् संघ पनि त्यति फष्टाउन सकेको छैन । अर्को म आपैँm कार्यकारी सदस्य रहेको उद्योग वाणिज्य महासंघको ऊर्जा समितिले पनि निजी क्षेत्रको पीर मर्कालाई बुझ्न सकेको छैन । दुई वर्ष अघि सबैलाई एउटै समूहमा ल्याएर दबाब समूह बनाएको हो । त्यो गर्न अहिले मेरो पनि धैर्य छैन । सबै यति फाटिसकेका छन् कि एक ठाउँमा ल्याउन गाह्रो छ ।
स्वार्थको कारणले निजी क्षेत्रहरू लोडसेडिङ न्यूनीकरणदेखि जलविद्युत् क्षेत्रको विकासका लागि आवश्यक सरसल्लाह, सुझाव र दबाब दिन फेलर भए ?
लोडसेडिङ न्यूनीकरणमा निजी क्षेत्र फेलर छन् । उनीहरूले एकमत भएर दबाब, सल्लाह, सुझाव दिन सकेका छैनन् । यसको ज्वलन्त उदाहरणको रूपमा हालै सरकारले बढाएको विद्युत् लाइसेन्सको शुल्कवृद्धिलाई हेरे पुग्छ । सरकारले तीन सय गुणा बढाइदियो । झोलामा खोला भयो भन्ने आरोपमा लाइसेन्स खोस्न बढाइदियो । कुनै पनि सरकारले गर्न नहुने अवैधानिक काम गरियो । यस्तो निजी क्षेत्रलाई ठूलो समस्या सिर्जना गर्ने नीति आउँदा पनि यी तीन संस्था चुप लागेर बसेका छन् । यसबाट नै यी संस्थाको सक्रियता देखिन्छ ।
अहिले सरकारले जलविद्युत्लाई कम महत्त्व दिएर डिजेल प्लान्टको कुरा गरिरहेको छ, तपाईंलाई के लाग्छ, यो सम्भव छ ?
यसले यति धेरै प्रदुषण गर्छ कि यसका यन्त्र कहाँ राख्ने भन्ने नै समस्या छ, वातावरण अध्ययन गर्ने भए थाहा भइहाल्छ । ८० मेगावाटको डिजेल प्लान्ट कसले राख्न दिन्छ ? अहिले दुहबी र हेटौँटाको मल्टिफ्युल चलाउन नसक्ने अनि ८० मेगावाट थपेर कसरी चल्छ ? सरकारले प्रति युनिट २५/३० रुपियाँ घाटा सहेर चलाउन सक्छ र ? सक्दैन । यो कमिसनका लागि हो, सायद किन्छ होला तर चल्यो भने प्राधिकरण पनि धराशायी हुन्छ र आयल निगम पनि धराशयी हुन्छ, टाट पल्टिन्छ  किनभने सरकारले पैसा तिर्न सक्दैन ।
महँगो डिजेल प्लान्टभन्दा जलविद्युत्लाई सरकारले किन कम महत्त्व दिएको होला ?
सरकारको निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति होस् न, हरेक वर्ष २/३ सय मेगावाट विद्युत् उत्पादन थप गर्न सक्ने वातावरण बन्न सक्छ । यो वातावरण सरकारले सिर्जना गरोस् न, वातावरण नभएर जलविद्युत् उत्पादन बढ्न नसकेको हो । पिपिए गरेर धेरै आयोजनाहरू बसिरहेका छन्, त्यसको कारण भनेकै वातावरणको अभाव हो । लोडसेडिङको समाधान डिजेल प्लान्ट र थर्मल प्लान्टले हुन सक्दैन, निजी क्षेत्रलाई प्रोत्साहन र जलविद्युत् क्षेत्रलाई विकास गर्ने निश्चित वातावरण हुनुपर्छ ।

1 comment:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन