Wednesday, February 27, 2013

पिडिए कुर्दै माथिल्लो कर्णाली आयोजना

-भीम गौतम

Karnali_Riverकाठमाडौं, १७ फागुन । नेपालले आयोजना विकास सम्झौता (पिडिए) गरेमा सन् २०२० भित्रै ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने भारतीय कम्पनी जिएमआर एनर्जी लिमिटेडले जनाएको छ ।
आफूहरू पिडिएको प्रतीक्षामा रहेको जनाउँदै जिएआरले नेपालको लगानी बोर्डले पिडिए गरिदिए दुई वर्षभित्र निर्माण सुरु गरेर सात वर्षभित्र पूरा गर्न जनाएको हो । ‘हामी पिडिएको प्रतीक्षामा छौँ, नेपाल सरकारले पिडिए गरेको दुई वर्षभित्र वित्तीय व्यवस्थापनलगायत कार्य सक्छौँ,’ जिएमआरका पावर बिजिनेज डेप्लप्मेन्टका एसोसिएट उपाध्यक्ष राजीव मिश्रले भने, ‘कुनै बाधा अवरोध नआएमा सुरु गरेको ६६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।’
लगानी बोर्डले भने फागुनको पहिलो साता नै पिडिए गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा नेगोसिएसन समिति गठन गरेको छ । समितिले विज्ञहरूसमेत सहभागी गराएर छिट्टै वार्ता गर्न लागेको जनाएको छ । ‘दुई हप्ताभित्र माथिल्लो कर्णालीको प्रवद्र्धक जिएआरसँग नेगोशेसन सुरु हुन्छ,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले भने, ‘छिट्टै नेगोसिएसन सिध्याएर आयोजना अघि बढाउनका लागि वातावरण बनाउँछौँ ।’ मिश्रले बोर्डले प्रस्तावित गरेको पिडिए मोडेलमा सुझाव दिइएको र दुवै पक्षबीचको नेगोसिएसनपछि मात्र टुंगिने बताए ।
आयोजनाका अनुसार सन् २००८ देखि सुरु भएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), सार्वजनिक सुनुवाइलगायत कार्य सकिएको छ । सुर्खेत, दैलेख र अछाम जिल्लाको दोसाँधमा निर्माण हुन लागेको आयोजनाको लागत एक खर्ब १४ अर्बको अनुमान गरिएको छ । त्यसमा नेपालले २७ प्रतिशत इक्वेटी र १२ प्रतिशत नि:शुल्क ऊर्जा पाउनेछ ।
आयोजनाले स्थानीय क्षेत्रमा स्वास्थ्य, महिला, पूर्वाधार, सूचना प्रविधिलगायतमा सहयोग गर्दै आएको छ । तर, उक्त आयोजना भारत निर्यात गर्ने उद्देश्यले बनाउन लागिएकोलगायत आरोप लगाउँदै विरोध पनि जनाउँदै आएका छन् । नेकपा–माओवादी ले आयोजनालाई राष्ट्रघाती घोषणा गर्दै कुनै पनि हालतमा बनाउन नदिने बताउँदै आएको छ भने सरकारले आयोजना निर्माणका लागि सुरक्षाको व्यवस्था गर्ने निर्णय गरिसकेको छ ।
नेपालमा लोडसेडिङको चरम समस्या भोगिरहेको बेला भारत निर्यात गर्ने गरी आयोजना बनाउन नहुने भन्दै केही स्थानीयवासी र राजनीति दलहरूले विरोध गरे पनि जिएमआरले भने नेपालले चाहेमा आफूहरू नेपालमै विद्युत् बिक्री गर्न तयार रहेको जनाएका छन् । आर्थिक पत्रकार समाज (सेजन) को नेतृत्वमा गएको टोलीसँग नयाँ दिल्लीमा भएको भेटमा उपाध्यक्ष मिश्रले भने, ‘हामीले आयोजना बनाउन सुरु गरेर राष्ट्रघाती केही काम गरेका छैनौँ, हामी लगानी गर्न गएका हौँ, बरु स्थानीय क्षेत्रमा विकासका धेरै ढोकाहरू खुलेका छन्,’ उनले थपे, ‘नेपालले चाहेमा नेपाल र तिब्बतले चाहेमा तिब्बतलाई समेत हामी बिजुली बेच्न तयार छौँ ।’ राष्ट्रघाती भन्दै अवरोध गरेकोमा भने उनले चिन्ता प्रकट गर्दै विनाअवरोध निर्माण गर्न दिएमा समयमै आयोजना बनिसक्ने प्रतिबद्धता जनाए ।
नेपालका केही राजनीतिक दलका कार्यकर्ताले आयोजनामा अवरोध गरेकोमा भने जिएमआरका अधिकारीहरूले गुनासो गरेका थिए । ‘हामीले भारतमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बनायौँ, यो ३० वर्षका लागि हो,’ ती अधिकारीले भने, ‘३० वर्षपछि भारत सरकारलाई नै हस्तान्तरण गर्ने हो, नेपालमा बन्ने आयोजना पनि त्यही हुन्, ३० वर्षपछि फिर्ता गर्ने हो, प्रतिस्पर्धाका आधारमा नेपाललाई नि:शुल्क इनर्जीसमेत दिएका छौँ तर बारम्बार अवरोध आउनु चिन्ताको विषय हो,’ उनले भने । जलविद्युत् आयोजना बनाउन नदिएर ऊर्जा संकट रहे पनि सरकारले स्थानीयबासीलाई अवरोध नगर्ने वातावरणको निर्माण र उचित सुरक्षा दिन सकेको छैन । यसैगरी, जिएमआरले ६०० सय मेगावाटको माथिल्लो मस्र्याङ्दी आयोजनाको पनि पिडिए कुरिरहेको जनाएको छ ।

१५ दिनभित्र पिपिए गर्न अल्टिमेटम

-भीम गौतम

काठमाडौं, १७ फागुन । सुपर सिक्सका नामले चिनिने ६ वटा आयोजनाका प्रवद्र्धकले १५ दिनभित्र विद्युत् खरिद सम्झौता (पिपिए) नगरे आयोजना फिर्ता गर्ने चेतावनी दिएका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका सुपर सिक्सका प्रवद्र्धकहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित भएको छफलमा नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पिपिए नगरेको भन्दै यस्तो चेतावनी दिएका हुन् । ‘हामीले प्रधानमन्त्रीलाई १५ दिनभित्र पिपिए नगरे आयोजनाको अनुमतिपत्र फिर्ता गरेर क्षतिपूर्ति माग्ने चेतावनी दियौँ,’ सुपर सिक्सका संयोजक विजयमान शेरचनले भने, ‘प्रधानमन्त्रीले आवेशमा नआउन अनुरोध गर्दै फागुन २४ गतेभित्र पिपिए गरिदिने वचन दिएका छन् ।’
शेरचनका अनुसार बालुवाटारमा प्रधानमन्त्रीका साथ मुख्यसचिव, ऊर्जा, अर्थ र प्राधिकरणका प्रतिनिधिबीच छलफल भएको थियो । आठ महिनाअघि ऊर्जा सचिव हरिराम कोइरालाले प्राधिकरणलाई १५ दिनभित्र सुपर सिक्सको पिपिए गर्न निर्देशन दिए पनि अहिलेसम्म हुन सकेको छैन । आयोजनाको पिपिए नभएपछि प्रवद्र्धकहरू पिपिएका लागि प्राधिकरणदेखि प्रधानमन्त्रीसम्म धाउँदै आएका थिए ।
भारतीय एक्जिम बैंकबाट आउनुपर्ने ऋण प्राप्त नभएको र प्रसारण लाइन निर्माण अघि बढाउन नसकिएको भन्दै प्राधिकरणले पिपिए अघि बढाएको छैन । कोसी र सोलु करिडोरमा प्रस्तावित प्रसारण लाइन निर्माण अघि बढाउन नसकेपछि पिपिएलगायत काम हुन सकेको छैन । प्रवद्र्धकले पिपिए गर्न नसक्दा वित्तीय व्यवस्थापनलगायतका कार्य अघि बढाउन सकेका छैनन् ।
बुधबारको छलफलमा मुख्यसचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष लीलामणि पौडेल र अर्थसचिव शान्तराज सुवेदीले एक्जिम बैंकबाट ऋण आउन ढिलाइ भएको बताएका थिए । प्रधानमन्त्रीले भने प्रसारण लाइन अघि बढाउँदै गर्न र ६ आयोजनासँग भने फागुन २४ भित्रै पिपिए गर्न निर्देशन दिएका थिए । प्राधिकरणका प्रवक्ता शेरसिंह भाटले सुपर सिक्सको पिपिए प्राधिकरण बोर्डमा पेस गरिएको जानकारी दिएका थिए ।
आयोजना सम्पन्न गर्ने बेला पिपिएका लागि दौडिनुपर्ने अवस्था रहेको शेरचनले बताए । ‘आयोजना सम्पन्न गर्ने बेला न पिपिए भएको छ न त प्रसारण लाइन बनाउने चालचुल छ,’ उनले भने, ‘सरकारले प्रवद्र्धकहरूलाई यसरी झुलाउन नमिल्ने हो । लोडसेडिङ भएको मुलुकमा आयोजना बनाउँछु, पिपिए गरिदिऊ भनेर हारगुहार गर्नुपर्ने अवस्था छ ।’
१६ मेगावाटको दोलखाको सिँगटी, २४.१ दोलखाकै खारे, २३.५ मेगावाटको सोलु, ८२ मेगावाटको तल्लो सोलु, संखुवासभाको १४.९ मेगावाटको माया र ताप्लेजुङको ५० मेगावाटको मेवाखोला जलविद्युत् आयोजना पिपिएको पर्खाइमा छन् ।
अर्थले बजेट दिए कोसी र सोलु करिडोरमा प्रसारण लाइनको काम थाल्ने लक्ष्य प्राधिकरणको रहे पनि एक्जिमबाट ऋण आउन ढिलाइ भएपछि काम अघि बढ्न सकेको छैन । सरकारले मायाखोला आयोजनालाई २०७४ माघ, मेवाखोलाका लागि २०७५ माघ र सोलु करिडोरमा २०७२ को पुससम्ममा १ सय ३२ केभी क्षमताको प्रसारणलाइन बनाउने विषयमा सहमति गरिसकेको छ । एक्जिमले भने प्रसारण लाइनका लागि नेपालले मागेको २५० मिलियन डलर दिने प्रक्रियामा रहेको जनाएको छ । ‘हामी प्रसारण लाइनका लागि ऋण दिने तयारीमा छौँ,’ एक्जिम बैंक नयाँदिल्लीका प्रतिनिधि श्रीराम सुब्रम्यानियमले भने ।

विद्युत् प्राधिकरणले माथिल्लो अरुणको अनुमती पायो

-भीम गौतम

upper-arunकाठमाडौं, १६ फागुन । सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजनाको अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिने निर्णय गरेको छ ।
ऊर्जा मन्त्रालयले प्रतिस्पर्धामार्फत दिने प्रक्रिया अघि बढाइरहेको बेला प्राधिकरण सञ्चालक समिति अध्यक्षमा मुख्यसचिव लीलामणि पौडेल र कार्यकारी निर्देशकमा रामेश्वर यादव आएपछि सञ्चालक समितिले अरुणको अनुमतिपत्र लिने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा पुन: प्रक्रिया अघि बढाएपछि अघिल्लो सरकारले प्रतिस्पर्धामार्फत अघि बढाउने निर्णयलाई उल्टाउँदै प्राधिकरणलाई अनुमतिपत्र दिने निर्णय गरिएको हो ।
मन्त्रिपरिषद्ले प्राधिकरणलाई दिने निर्णय गरेकोले अब दुई महिनाभित्रै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) लगायतका अन्य अध्ययन गर्नका लागि बोलपत्र आह्वान गर्न लागिएको कार्यकारी निर्देशक यादवले जानकारी दिए । ‘दुई महिनाभित्रै डिपीआरका साथै आन्तरिक पूर्वाधार निर्माणलगायतका लागि परामर्शदाता नियुक्तिका लागि बोलपत्र नियुक्तिका लागि मैले प्राधिकरणमा हाइड्रोलिक डिजाइन महाशाखाका प्रबन्धक विश्वध्वज जोशीलाई निर्देशन दिएको छु ।’ उनले भने ।
पटकपटक विद्युत् विकास विभागमा अनुमतिपत्रका लागि निवेदन दिएको भए पनि प्राधिकरणले अनुमतिपत्र पाउन सकेको थिएन । अघिल्ला ऊर्जा मन्त्री गोकर्ण विष्टले १० मेगावाटभन्दा माथिका आयोजना प्रतिस्पर्धामार्फत दिने निर्णय अघि बढाएपछि पनि प्राधिकरणले पटकपटक निवेदन दिएको थियो । प्राधिकरणले नै सन् १९९१ मा सम्भाब्यता अध्ययन गरिसकेको उक्त आयोजनाको लागि पहिलो पटक तीन वर्ष अघि अनुमतिपत्र मागेको थियो तर अहिलेसम्म पाउन सकेको थिएन । ऊर्जा मन्त्रालयको प्रस्तावमा सरकारले उक्त आयोजनाका लागि अघिल्लो वर्ष चार करोड रुपियाँ छुट्याए पनि अनुमतिपत्र नपाएपछि त्यो रकम खर्चसमेत भएन ।
सरकारले निर्णय गरे पनि अनुमतिपत्र विद्युत् विकास विभागबाट पाउन भने बाँकी छ । ‘प्राधिकरण सञ्चालक समितिको बैठकले निर्णय गरेरै अनुमतिपत्रका लागि निवेदन दिइए पनि अब भने छिट्टै पाउने अवस्थामा पुगेको छ ।’– माथिल्लो अरुण जलविद्युत् आयोजनाको अध्ययनमा सक्रिय प्राधिकरणका जोशीले भने– ‘नेपाल आपैँmले यो आयोजना निर्माण गर्ने अवस्था छ, तुलनात्मक रूपमा अरू आयोजनाभन्दा सस्तो र निर्माणका लागि सजिलो आयोजना पनि हो ।’
प्राधिकरणका अनुसार, उक्त आयोजना निर्माण गर्दा कम डुबान क्षेत्र पर्छ भने अध्ययनको आधारमा हालसम्मकै सबैभन्दा सस्तो आयोजनामध्ये एक हो । तीन सय ३५ मेघावाटको उक्त आयोजनाको लागत पाँच सय ३४ मिलियन डलर पर्छ भने पर युनिट २.७४ रुपियाँ मात्र पर्छ । आयोजनाको क्षमतालाई बढाएर सात सय मेघावाटसम्म पुर्‍याउन सकिने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
सस्तो र नेपाली लगानीकर्ताहरूले बनाउन सक्ने आयोजना भए पनि विद्युत् विकास विभागमाथि कमिसनको भरमा प्रतिस्पर्धाको आधारमा विदेशी लगानीकर्तालाई दिने षडयन्त्र भइरहेको आरोप लागेको थियो । मुलुकभित्रकै प्राधिकरण, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा संस्थानलगायतसँग समन्वय गरेर आयोजना निर्माण गर्न सकिने भन्दै प्राधिकरणका कर्मचारीहरूले समेत अनुमतिपत्र पाउनुपर्ने माग गर्दै आएका थिए । तीन वर्ष यता उनीहरूले तत्कालीन प्रधानमन्त्रीहरू, ऊर्जा मन्त्रीहरू, ऊर्जा सचिवहरूलाई पनि भेटेर र पत्र पठाएर माथिल्लो अरुण नेपाली लगानीकर्ताबाटै र प्राधिकरमार्फत नै बनाउन आग्रह गरे पनि अनुमतिपत्र पाउन सकेका थिएनन् तर मुख्यसचिव पौडेलले आयोजनाको फाइदा बुझेर निर्णय गराउन सक्रिय भूमिका खेलेपछि प्राधिकरणले पाएको हो ।
संखुवासभामा बन्न लागेको आयोजना क्षेत्रका बासिन्दाले छिटो आयोजना बनाउन माथिल्लो अरुण सरोकार मञ्चसमेत गठन गरेर आयोजना स्वदेशी लगानीमा बनाउनका लागि दबाब दिँदै आएका छन् ।

लगानीको वातावरण पर्खंदै भारत

-भीम गौतम

Indian flagनयाँदिल्ली, १५ फागुन । नेपालमा लगानी गर्न उपयुक्त वातावरण पर्खिरहेको भारतीय अधिकारीले बताएका छन् । जलविद्युत्, उद्योग, पर्यटन, कृषि, पूर्वाधारलगायतमा लगानी गर्न इच्छुक भए पनि उचित वातावरण नबन्दा लगानी बढाउन अप्ठ्यारो परेको भन्दै भारत सही समयको खोजीमा रहेको हो । लगानीमैत्री वातावरणको प्रतीक्षामा रहेको भन्दै भारतले उचित वातावरण बनाउन नेपाल सरकारसँग आग्रह गरेको छ ।
भारतीय दूतावास र भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की) को सहयोगमा नेपाली आर्थिक पत्रकारसँगको कार्यक्रममा उनीहरूले सबै क्षेत्रमा लगानी गर्नका लागि भारत तत्पर रहे पनि त्यसको वातावरण नेपालले बनाउनुपर्ने बताए । ‘भारत आºनो छिमेकी राष्ट्र नेपालमा लगानी गर्न इच्छुक छ, विभिन्न आयोजनामा लगानी पनि गरिरहेको छ तर लगानी गरेअनुसारको काम अघि बढाउन समस्या देखिएको छ,’ भारतीय विदेश मन्त्रालयका सहसचिव प्रभातकुमारले भने । लगानीका लागि भारत सरकार र यहाँका निजी कम्पनी तयार छन् तर नेपालले वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । लगानीमैत्री वातावरण्ँ र नीतिगत स्थायित्वको प्रत्याभूति दिलाएको अवस्थामा जलविद्युत्, कृषि, स्वास्थ्य, सूचना प्रविधि, पर्यटनलगायतमा लगानी गर्न भारतीय लगानीकर्ता इच्छुक रहेको जानकारी उनले दिए । नेपालमा जलविद्युत् विकासको अधिकतम सम्भावना भए पनि लामो समयदेखि विभिन्न समूहको अवरोधलगायत समस्या झेलिरहेको गुनासो उनीहरूले व्यक्त गरे । भारतीय बजारको प्रचुर सम्भावनालाई ध्यानमा राखी छिटोभन्दा छिटो धेरैभन्दा धेरै जलविद्युत् उत्पादनको वातावरण बनाउन ढिलो नगर्न उनले नेपाललाई सुझाव दिए । ‘जलविद्युत्को सम्भावनालाई मात्र बनाएर नेपाल बस्नुहुँदैन, जलवायु परिवर्तनको रºतारलाई बुझेर लगानीको वातावरण पनि बनाउनुपर्छ,’ उनले भने । उनले भारतसँगको द्विपक्षीय व्यापारमा रहेका सबै अवरोध हटाउन सरकार तयार रहेको उनको भनाइ थियो ।
भारत सरकारले महाकाली, सप्तकोसीलगायत आयोजनामा सहयोग गरे पनि उल्लेखनीय प्रगति हुन नसकेको तथा निजी क्षेत्रबाट लगानी गरिएका माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्दी, अरुण तेस्रोलगायत आयोजनाले पनि विभिन्न समस्या भोगिरहेको भन्दै गुनासो गरेका थिए । भारतीय उद्योग मन्त्रालयका सहसचिव अरविन्द मेहताले भारतीयका निजी लगानीकर्ता तथा सरकारले सहयोग गरेका आयोजनामा धेरै समस्या देखिएको बताउँदै उचित वातावरण बनाउन सल्लाह दिए । ‘नेपालले चाहेमा र उचित वातावरण बनाएमा भारतले धेरै क्षेत्रमा सहयोग गर्न सक्छ, खाली लगानी आउनुपर्‍यो भन्दा पनि वातावरण ठूलो कुरा हो,’ उनले भने, ‘खाली जलविद्युत् आयोजनाहरू देखाएर त्यसलाई बार्गेनिङको प्वाइन्ट बनाउनुभन्दा पनि आयोजना समयमै बनाउन नदिँदा नेपालले व्यहोरिरहेको घाटाको लेखाजोखा गर्नुपर्छ ।’
नेपालस्थित फिक्कीका आवासीय प्रतिनिधि कनिष्कदास गुप्ताले नेपालमा थप लगानी विस्तारमा भारतीय उद्योगी अनुकूल वातावरण कुरिरहेको र उचित वातावरण बनेमा लगानीलाई अभियानकै रूपमा अघि बढाउने बताउँछन् । एक्जिम बैंक नयाँदिल्लीका श्रीराम सुव्रमानियमले नेपालमा लगानी गर्न इच्छुक भए पनि अहिलेसम्म ३५० मिलियन डलर मात्र माग आएको जानकारी दिए । ‘नेपालले माग गरेमा हामी सहुलियतमा ऋण दिन तयार छाँै, त्यसका लागि नेपालले आयोजनासहित आउनुपर्‍यो,’ उनले भने । भारत सरकारको महानगर टेलिफोन निगम लिमिटेड (एमटिएनएल) का अध्यक्ष एवं प्रबन्ध–निर्देशक एके गर्गले नेपालमा सूचना प्रविधिको विकासका लागि थप १० अर्ब लगानी गर्न तयार रहेको र त्यसका लागि आºनो कम्पनी एकीकृत दूरसञ्चार अनुमतिपत्रको प्रतीक्षामा रहेको बताए ।

Monday, February 25, 2013

विकास समिति गठनमा सरकारको ‘निरंकुश” संशोधन

भीम गौतम

काठमाडौं, १४ फागुन । सरकारले बूढीगण्डकी र नलसिङ गाड जलविद्युत् विकास समितिका कार्यकारी निर्देशक हटाएर अध्यक्षलाई कार्यकारी अधिकार दिने निर्णय गरेको छ ।
६ सय मेगावाटको बूढीगण्डकी तथा चार सय मेगावाटको नलसिङ गाड विकास समिति गठन आदेश ०६९ लाई संशोधन गरी अध्यक्षलाई कार्यकारी अधिकार दिने सरकारले ‘निरंकुश’ निर्णय गरेको हो । कार्यकारी अध्यक्षसहित चार जनाको बहुमत पुग्ने गरी पहिला विकास समिति गठन आदेशलाई सरकारले आफ्नो पार्टी निकटका व्यक्तिहरूको मनोमानी चल्ने गरी सरकारले ‘निरंकुश’ संशोधन गर्ने निर्णय गरेको हो । संशोधनपछि सात जना रहेको विकास समितिमा सरकारले नियुक्त गरेका ती व्यक्तिसहित चार जनाले बहुमतको आधारमा जस्तो सुकै निर्णय गर्न सक्नेछन् भने सरकारको यो निर्णयसँगै महत्त्वपूर्ण विकास समितिलाई पार्टीको भर्तीकेन्द्र बनाउनसमेत सजिलो भएको छ । ऊर्जा मन्त्रालयका अधिकारीहरूले भने यो संशोधनलाई सरकारको निरंकुश निर्णयको संज्ञा दिएका छन् । ‘विकास समितिमा ११ जना सदस्य रहने व्यवस्था भएकोमा हाल घटाएर ७ जनामा झारिएको छ । र, सात जनामा सरकारका सम्बन्धित मन्त्रीले तीन विज्ञसहित चार जना नियुक्त गर्न पाउने अधिकार दिइनु सरासर सरकारको निरंकुश निर्णय हो ।’ ती अधिकारीले भने, ‘अब नयाँ संशोधन अनुसार कार्यकारी अध्यक्षले बहुमतको आधारमा सजिलै मनोमानी निर्णय गर्न सक्नेछन् ।’
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हस्तक्षेपमा कार्यकारी निर्देशकहरू हटाएर उनीहरूको अधिकारसहित दिने गरी उनले नियुक्त गरेका दुई पार्टी निकट व्यक्तिलाई कार्यकारी अधिकार दिने गरी संशोधन गरिएको ऊर्जा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ऊर्जा मन्त्रालयसमेत सम्हालेका प्रमले पार्टी निकटका लक्ष्मीप्रसाद देवकोटालाई बूढीगण्डकी विकास समितिको अध्यक्ष र शेरबहादुर शाहीलाई नलसिंह गाड विकास समितिको अध्यक्ष नियुक्त गरिसकेका छन् । विकास समिति गठन गरेर सरकारको पार्टी निकटलाई अध्यक्ष बनाउँदा राजनीति हस्तक्षेप बढेर जलविद्युत् आयोजना समयमै नबन्ने भन्दै विरोध जनाए पनि अध्यक्ष बनाएका प्रमले कार्यकारी निर्देशकलाई हटाएर कार्यकारी अधिकारसमेत अध्यक्षलाई दिने गरी मन्त्रिपरिषद्बाट निर्णय गराएका हुन् । अध्यक्षलाई कार्यकारी निर्देशक बनाउने मन्त्रिपरिषद्मा विवादपछि पूर्वाधार समितिमा पुगेकोमा उक्त निर्णय एक हप्ताअघि भएको र उक्त निर्णय राजपत्रमा प्रकाशित हुन लागेको ती अधिकारीले जानकारी दिए । बूढीगण्डकीमा ऊर्जा मन्त्रालयका सह–सचिव श्रीरञ्जन लाकौल र नलसिङ गाडमा मन्त्रालयकै सह–सचिव मोतिबहादुर कुँवर कार्यकारी निर्देशक थिए । दुवैलाई हटाएर मन्त्रिपरिषद्ले तीन जना जलस्रोत विज्ञ तथा १/१ जना अर्थ र ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि सदस्य रहने नयाँ संशोधन गरिएको हो । संशोधनमा पहिला रहेका कानुन, वन र वातावरण मन्त्रालयका प्रतिनिधिहरू समितिका सदस्यबाट हटाइएका छन् । ‘पहिला जलविद्युत् विकास गर्न समन्वय गर्नुपर्ने सबै निकायका व्यक्तिहरूलाई राखिएको थियो तर पछि विज्ञहरूको नाममा आफ्नो पार्टी निकटलाई नियुक्त गर्न सकिने भएकोले अधिकार सम्पन्न अध्यक्ष र तीन विज्ञसहित सात जनाको मात्र समिति गठन गर्ने संशोधन गरियो ।’, ऊर्जाका अधिकारीले भने ।
अध्यक्षलाई कार्यकारी अध्यक्ष बनाएपछि उनले राज्यमन्त्री सरहको सुविधा पाउनेछन् भने कर्मचारी राख्नेदेखि आयोजनाको सबै काममा उनको अधिकार रहनेछ । ‘एक हप्ताअघि मन्त्रिपरिषद्को पूर्वाधार समितिको निर्णय मन्त्रालय आइपुगेको छ ।’, ती अधिकारीले थपे, ‘सन् २०२० भित्र बूढीगण्डकी जलाशय आयोजना बनाएर लोडसेडिङ अन्त्य हुने सम्भावना पनि छैन, राजनीति भर्ती आयोजना बनाएपछि विवाद बढेर समयमै काम नहुने निश्चित छ ।’
अहिले बूढीगण्डकी जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु गरिएको छ भने नलसिङ गाडमा थप अध्ययन अघि बढाउन लागिएको छ । प्राधिकरणका अधिकारीहरूले दुवै आयोजना विकास समितिमार्फत अघि बढाउन नहुने बताउँदै आए पनि प्रमको हस्तक्षेपमा विकास समिति गठन गरेर आफू निकटका व्यक्तिहरूलाई अध्यक्ष बनाइएको छ । मेलम्ची विकास समितिमार्फत बनाउँदा समय र लागत दुवै बढेको भन्दै प्राधिकरण र जलस्रोत विज्ञहरूले विरोध गरे पनि सरकार विकास समिति बनाएर अघि बढेको छ ।
जलस्रोत उपयोगमा जोड
काठमाडौं : जलस्रोत विज्ञहरूले जलस्रोत उपयोग र स्रोत व्यवस्थापनमा नेपाल अग्रसर हुनुपर्ने बताएका छन् ।
नेपालले महाकाली, गण्डक, कोसीलगायतका सन्धी–महासन्धी गरे पनि त्यसबाट समुचित फाइदा लिन नसकेको बताए । जलस्रोत विकास संस्थाद्वारा आयोजित सूर्यनाथ उपाध्यायद्वारा लिखित अन्तर्राष्ट्रिय जलस्रोत कानुन र नेपाल–भारत समन्वयसम्बन्धी पुस्तकबारेको समीक्षामा उनीहरूले भारतसँग सम्झौता गर्दा र त्यसपछिको फाइदा बाँडफाँडमा नेपाल पक्षको भूमिका कमजोर रहेको बताए । कुनै सन्धी सम्झौता गर्दा वा सेयर बाँडफाँडबारे निर्णय गर्दा नेपाल पक्षले गर्ने तयारी तथा निर्णय कमजोरीको कारणले नेपाल–भारत जलस्रोत मुद्दा सधैँ विवादमा पर्दै आएको बताए । कार्यक्रममा नेपाल कानुन आयोगका सचिव राजेन्द्र किशोर क्षेत्री, जलस्रोत क्षेत्रका विज्ञहरू डा. अमर पन्त, रत्नेश्वरलाल श्रेष्ठ, शान्तबहादुर पुनलगायतले जलस्रोतका कानुन र उपयोगिताबारे चर्चा गरेका थिए ।

Saturday, February 23, 2013

जलविद्युत्को साझा रणनीति निर्माणमा ढिलाइ


काठमाडौं, १३ फागुन । ऊर्जा संकट गहिरिँदै र जलविद्युत् उत्पादनका लागि चुनौती थपिँदै गएको बेला निजी क्षेत्रले सुरु गरको जलविद्युत्को साझा रणनीति निर्माणमा ढिलाइ भएको छ ।
मस्यौदा तयार गरेर मुख्य राजनीतिक दललाई पठाइए पनि उनीहरूले प्राथमिकतामा राखेर सल्लाह, सुझाव दिन ढिलाइ गरेपछि साझा रणनीति निर्माणमा ढिलाइ भएको हो । १४ फेब्रुअरीमा अन्तिम मस्यौदा तयार गर्ने लक्ष्य भए पनि राजनीतिक दलहरूको व्यस्तताका कारणले ढिलाइ भएको नेपाल उद्योग वाणिज्य महासंघका ऊर्जा समिति संयोजक ज्ञानेन्द्रलाल प्रधानले जानकारी दिए ।
जलविद्युत् आयोजना निर्माणमा समस्यामाथि समस्या थपिँदै गएपछि र जलविद्युत् निर्माणलाई साझा अभियानका रूपमा सरकारले विकास गर्न सार्थक प्रयास नगरेपछि निजी क्षेत्रको साझा संस्था महासंघले रणनीति बनाउन पहल सुरु गरेको थियो । महासंघले डेढ वर्ष अघिदेखि जलविद्युत्को साझा रणनीति बनाउन थाले पनि महासंघले ०१२ फेब्रुअरीमा ऊर्जा विशेषज्ञ रोगर जिललाई परामर्शदाताका रूपमा नियुक्त गरेपछि उनले नेपालका लागि जलविद्युत् विकास रणनीतिबारे मस्यौदासमेत तयार गरिसकेका छन् ।
उक्त मस्यौदा अहिले थप छलफल तथा प्रतिक्रियाका लागि राजनीतिक दल, ऊर्जासँग सम्बन्धित सरकारी र गैह्रसरकारी निकाय, जलविद्युत् लगानीकर्तालगायतलाई पठाइएको छ । महासंघ स्रोतका अनुसार लोडसेडिङ बढेकोमा विरोध गर्ने र त्यसका लागि चिन्ता देखाउने अधिकांश राजनीतिक दलहरूले मस्यौदाबारे आफ्ना सल्लाह, सुझाव दिन भने गम्भीर बनेका छैनन् ।
१४ फेब्रुअरीभित्र सबै दलसहित सरोकारवालाको सल्लाह सुझावसहित मस्यौदा फाइनल सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भए पनि महासंघले आगामी अप्रिलको दोस्रो साता हुने साधारणसभामा सार्वजनिक गर्ने लक्ष्य राखेको छ । ‘हामीले साधारणसभामा मुख्य राजनीतिक दलका प्रतिनिधि बोलाएर जलविद्युत् साझा रणनीतिमा हस्ताक्षर गरेर सार्वजनिक गर्दै छौँ,’ सभापति प्रधानले भने ।
जलविद्युत् क्षेत्रको विकासबारे राजनीतिक दलहरूको फरकफरक विचार तथा त्यो विचारका आधारमा समर्थन र विरोध गर्ने प्रवृत्तिका कारण जलविद्युत् आयोजना समयमै निर्माण नभएर लोडसेडिङको समस्या बढ्दै गएको छ । ऊर्जा संकट हटाउनका लागि सबै पक्षबीच साझा सहमति उठ्नुपर्ने आवाज सार्वजनिक भए पनि सरकारी निकायबाट सार्थक पहल नगरिरहेको बेला महासंघले प्रयास गरेको हो । यद्यपि, दलहरू गम्भीर नदेखिएको महासंघका एक अधिकारीले जानकारी दिए । ‘५ वर्षदेखि ऊर्जा संकट बढ्दो छ, उत्पादनका लागि धेरै चुनौती छन्, सरकारले बनाउनुपर्ने हो बनाएन तर लोडसेडिङप्रति चिन्तित हुने दलहरूले खासै वास्ता गरेनन्,’ ती अधिकारीले भने ।
महासंघले ऊर्जा मन्त्रालयलगायत ऊर्जासँग सम्बन्धित सरकारी र गैह्रसरकारी संघ/संस्थासँग छलफलसमेत गरेर मस्यौदा तयार पारेको हो । वर्तमान र भविष्यका लागि समेत नेपालको विकासका लागि जलविद्युत् पिल्लर भएकाले जलविद्युत्बारे साझा रणनीतिको प्रयास गरिएको महासंघले जनाएको छ ।
मस्यौदामा अल्पकालीन र दीर्घकालीन ऊर्जा संकट समाधानका लागि गर्नुपर्ने प्रयास गर्नुपर्नेमा जोड दिइएको छ । जलविद्युत्को विकासका लागि नेसनल इलेक्ट्रिसिटी रेगुलर, नेसनल पावर सिस्टम अपरेटर एन्ड प्लानर, ट्रान्समिसन डिभलमेन्ट एन्ड म्यानेजमेन्ट इन्टिटी, नेसनल जेनेरेसन इन्टिटी, ड्रिस्ट्रिब्युसन एन्ड रिटेल सप्लाई इन्टिटीलगायत संयन्त्र निर्माणका लागि जोड दिँदै मस्यौदामा आयोजनाको सहजीकरणका लागि विदेशी तथा स्वदेशीलाई खुला जलविद्युत् व्यापारका लागि वातावरण निर्माण गर्न, सरकारी प्रक्रियाका लागि एकद्वार प्रणाली बनाउन, जलविद्युत् आयोजना निर्माणका लागि ऋण दिने व्यवस्था गर्नेलगायत विषय समेटिएको छ । त्यसैगरी मस्यौदामा जलविद्युत् विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग गर्ने गरी उच्चस्तरीय टाक्स फोर्स निर्माण गर्न तथा यसमा सरकार र लगानीकर्ताको प्रतिनिधित्व गर्न भनिएको छ ।
मस्यौदाले जलविद्युत् नीतिको पुनरावलोकन गर्न, जलविद्युत्मा सार्वजनिक नीति साझेदारी (पिपिपी) मोडल अघि बढाउन, लगानीकर्ता र व्यापार आदानप्रदानका लागि खुला गर्न, जलविद्युत् आयोजनाको निर्माण तथा नीतिका लागि सबै दलबीच साझा धारणाको विकास गर्न, जलविद्युत् नीति स्थितरताका लागि पहल गर्न जोड दिएको छ । मस्यौदाले तत्कालीन समस्या समाधानका लागि प्रसारण लाइन निर्माण गरी भारतबाट विद्युत् आयातलाई जोड दिएको छ ।

सुरक्षा प्रत्याभुती गराउन भारतीय अधिकारीको जोड

-भीम गौतम
Indiaनयाँ दिल्ली, १२ फागुन। वाह्य लगानीलाई आकर्षित गर्न नेपालले करमा सुहलियत र लगानि सुरक्षाको प्रत्याभुती गराउनुपर्नेमा भारतीय अधिकारीहरुले जोड दिएका छन्। भारत भ्रमणमा रहेको नेपाल आर्थिक पत्रकार समाज सेजनको प्रतिनिधिमण्डसँगको अन्तर्क्रियामा भारतीय विदेश मन्त्रालयका सहसचिव प्रभात कुमारले नेपालले भारतीय लगानीकर्ताहरुलाई आकर्षित गर्न निश्चित अवधीका लागि कर छुट दिनुपर्ने बताए । लगानी मैत्री वातावरण र नीतिगत स्थायित्वको प्रत्याभुती दिलाएको अवस्थामा जलविद्युत, कृषी, स्वास्थ्य, सूचना प्रविधि, बैङकिङ, पर्यटन तथा शिक्षा क्षेत्रमा लगानी गर्ने भारतीय लगानीकर्ताहरु इच्छुक रहेको उनले बताए ।
नेपालमा जलविद्युतको क्षेत्रमा लामोसमयदेखि राजनीतक गतिरोध कायम रहेको जनाउँदै त्यसलाई अन्त्य गर्न सहसचिव कुमारले सुझाव दिए । नेपालको जलविद्युतको सबै सम्भावनाहरुको अधिकतम उत्पादन गर्दा पनि भारतीय बजारको माग पुरा गर्न नसक्ने जानकारी दिदै उनले आउने दिनमा नविकरणीय उर्जाको क्षेत्रमा पनि काम गर्न सुझाव दिए । भारत सरकार यस क्षेत्रमा पनि नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको उनले बताए । नेपालको बिकास प्रयासमा हरतरहले सहयोग गर्न भारत तयार रहेको भन्दै उनले भारतीय बजारको प्रचुर सम्भावनालाई मध्यनजर गरी छिटो भन्दा छिटो धेरै भन्दा धेरै जलविद्युत उत्पादन गर्ने वातावरण बनाउन नेपाल सरकारले ढीलो गर्न नहुने बताए ।
हाल भारतमा कुल मागको दश प्रतिशत विद्युत अपुग रहेको जनाउँदै उनले भारतले पनि लोडसेडिङको मार खेपिरहेको जानकारी दिए। त्यसो हुँदा नेपालमा उत्पादन भएको विजुलीले भारतमा सजिलै बजार पाउने उनको भनाइ छ। नेपाल भारत विद्युत व्यापारका लागि सीमापार प्रसारण लाइन निर्माणमा भारत सरकारले सहयोग गरिरहेको उनले जानकारी दिए । आगामी पाच वर्षमा भारत आफैले दश हजार मेगावाट विद्युत उत्पादन गरिसक्ने जानकारी दिदै उनले भने,  “त्यस अवस्थामा भारतलाई नेपालबाट आयातीत बिजुली आवश्यक नपर्न पनि सक्छ।”
आर्थिक पत्रकारहरुको अर्को अन्तर्क्रियामा भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयका सहसचिव अरविन्द मेहताले नेपालसँग विद्युत खरीद सम्झौता गर्न भारत तयार रहेको बताए। उनले भने ”तर त्यसका लागि नेपालले सो सम्झौताको खाका प्रस्तुत गरेमा काम अगाडी बढाउन सकिन्छ।” मेहताले नेपाल सरकारलाई जलविदयुतको विषयलाई नेपालको विकासमा प्रयोग गर्ने गरि नीतिगत क्षेत्रमा काम गर्न आग्रह पनि गरे । उनले भने ”भुटानले जलविद्युत क्षेत्रको विकास गरेर देशको आर्थिक बृद्धीमा काम गर्दा नेपालले पनि लाभ लिन सक्ने उहाँको भनाइ थियो।”
कार्यक्रममा नेपालस्थित भारतीय दुतावासका द्धितीय वाणिज्य सचिव सञ्जिव भाटीयाले नेपाल र भारतबीच द्धिपक्षीय व्यापार विस्तार तथा लगानी अभिबृद्धीका लागि भारतीय दुतावासले सहयोगीको भुमिका निर्वाह गरिरहेको बताए। भाटीयाले नेपालले माग गरिरहेको विशाखापट्टनम वन्दरगाह प्रयोगमा दिन भारतीय पक्ष तयार रहेको तर नेपाली पक्षबाट समयमा प्रस्ताव आउन नसकेको बताए ।

Tuesday, February 19, 2013

बूढीगण्डकी आयोजनाको डिपिआर सुरु

भीम गौतम

budiganakiकाठमाडौं, ८ फागुन । राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको ६ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनाको विस्तृत परियोजना अध्ययन (डिपिआर) सुरु भएको छ ।
आयोजना निर्माणस्थल धादिङ र गोर्खाको दोसाँधमा पुगेर रामर्शदाता ट्राकबेल इन्जिनियरिङ फ्रान्सले डिपिआर सुरु गरेको नेपाल विद्युत् प्राधिकरण बूढीगण्डकी आयोजनाका निर्देशक लीलानाथ भट्टराईले जानकारी दिए । उनका अनुसार परामर्शदाताको सम्झौताअनुसार अबको ३० महिनाभित्र डिपिआर पूरा हुनेछ ।
१५ जनवरीदेखि सुरु गर्ने लक्ष्य राखिएको आयोजनाको डिपिआर ढिला गरी सुरु भएको हो । फ्रान्समा बूढीगण्डकी आयोजनाका लागि छुट्टै युनिट खोलिसकेको बूढीगण्डकी आयोजनाको परामर्शदाताले काठमाडांैको थापाथलीको कविमार्गमा सम्पर्क कार्यालय खोलिसकेको छ । प्राधिकरण र परामर्शदाताबीच भएको परामर्श सेवा खरिद बिक्रीसम्बन्धी सम्झौता पत्रअनुसार गत जनवरी १५ देखि डिपिआर निर्माण सुरु हुनुपर्ने भए पनि परामर्शदाताले बंैक ग्यारेन्टी ल्याउन ढिला गरेको तथा अर्थ मन्त्रालय समयमै बजेट दिन नसकेको कारणले अग्रिम भुक्तानी दिन नसकेर डिपिआर सुरु गर्न ढिलाइ भएको हो ।
सम्झौतापत्रमा जुलाई ०१५ भित्र अर्थात् ३० महिनाभित्र डिपिआर सम्पन्न गर्ने उल्लेख थियो । आयोजनाको परामर्शदाता छनोटका लागि मात्रै करिब १५ महिना लागेको सो आयोजनामा अब भने द्रुतगतिमा काम अघि बढ्ने प्राधिकरणले जनाएको छ । पछिल्लो समयमा सरकारले बूढीगण्डकी आयोजना विकास समितिअन्तर्गत गर्ने निर्णय गरेपछि र परामर्शदातासँग प्राधिकरणले सम्झौता गरिसकेकाले कसले डिपिआर अगाडि बढाउने भन्ने विवाद भए पनि प्राधिकरणले गर्ने टुंगो भने लागेको छ । उक्त कारण समेत बूढीगण्डकीको डिपिआर कार्यतालिका प्रभावित भएको हो । कार्यतालिका प्रभावित नहुने गरी अध्ययन पूरा गर्ने लक्ष्य राखिएको र उक्तअनुसार नै परामर्शदातालाई अनुरोध गरिरहेको प्राधिकरणले जनाएको छ ।
परामर्शदातासँग भएको सम्झौताअनुसार आयोजनाको स्थलगत अन्वेषण सम्पन्न गरी सम्भाव्यता अध्ययन, वातावरणीय असर मूल्यांकन, सामाजिक अध्ययन र पुन:स्थापनको कार्य योजना र विस्तृत इन्जिनियरिङ डिजाइनसहित पूर्ण टेन्डर डकुमेन्ट तयार हुनेछ । परामर्शदाताले अध्ययन पूरा गरेको समयभित्रै आयोजनाको निर्माण कार्य अघि बढाउन आवश्यक लगानीदेखि सबै जुटाएर आठ वर्षभित्र पूरा गर्ने लक्ष्य सरकारको छ । डिपिआरसँगै आयोजना निर्माणमा जाने गरी सरकारले अन्य पूर्वाधार, वित्तीय व्यवस्थापन, अधिग्रहण, पुन:स्थापनालगायत कार्यलाई सँगसँगै अगाडि बढाइने जनाए पनि सरकारले नयाँ बजेटमा विकास समितिबारे उल्लेख नभएपछि र त्यसका लागि बजेट अभाव रहे पनि अघि बढाउन समस्या परेको छ । ‘विकास समिति गठन गरिएको छ तर विकास समितिका लागि बजेट पनि छैन, बल्ल कार्यालय मात्र खोलेको सुनेका छौँ, ३० महिनाभित्र पुन:स्थापनालगायत सबै कार्य नसकेमा आठ वर्षभित्र पूरा गर्न कठिन छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘बरु आवश्यक दक्ष जनशक्ति भएको प्राधिकरणलाई दिएको भए आठ वर्षमा बन्न सक्थ्यो र लोडसेडिङ समस्या समाधान गर्न सहयोग पुग्थ्यो ।’
जलाशययुक्त आयोजनाको अभावमा लोडसेडिङको समस्या बढिरहेको बेला काठमाडौंबाट सबैभन्दा ६० किलोमिटर नजिकमा उक्त आयोजना पर्छ । करिब एक खर्बको लागतमा बन्ने आयोजना सन् ०२० मै निर्माण सम्पन्न गरेमा सबैभन्दा ठूलो जलाशययुक्त आयोजना हुनेछ भने यसले नेपालको ऊर्जा संकट समाधानमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । आयोजना सार्वजनिक नीति साझेदारी
(पिपिपी) मोडलमा अघि बढाउनेबारे गृहकार्य सुरु गरिए पनि टुंगो लागेको छैन ।
परामर्शदातासँग भएको सम्झौताअनुसार आयोजनाको स्थलगत अन्वेषण सम्पन्न गरी सम्भाव्यता अध्ययन, वातावरणीय असर मूल्यांकन, सामाजिक अध्ययन र पुन:स्थापनको कार्य योजना र विस्तृत इन्जिनियरिङ डिजाइनसहित पूर्ण टेन्डर डकुमेन्ट तयार हुनेछ । जलाशययुक्त आयोजनाको अभावमा लोडसेडिङको समस्या बढिरहेको बेला काठमाडौंबाट सबैभन्दा ६० किलोमिटर नजिकमा उक्त आयोजना पर्छ । करिब एक खर्बको लागतमा निर्माण हुने उक्त आयोजना सन् ०२० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Sunday, February 17, 2013

साना जलविद्युत्मा मापदण्डको निर्देशन

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले साना जलविद्युत् आयोजनालाई लिजमा दिनका लागि मापदण्ड बनाउन प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ ।
प्राधिकरणको आइतबार बसेको बैठकले साना जलविद्युत् आयोजनालाई लिजमा दिन सकिने निर्णय गर्दै त्यसका लागि निश्चित मापदण्ड बनाउन निर्देशन दिएको हो । प्राधिकरणले बनाएका २२ साना जलविद्युत् आयोजनामध्ये मर्मत, सम्भार तथा जीर्णोद्धार गर्न नसक्दा आधा बन्द अवस्थामा छन् । क्षमताको आधारमा उत्पादन कम तथा मर्मत, सम्भार र सञ्चालन खर्चबापत वर्षको करिब १० करोड रुपियाँभन्दा बढी घाटामा छन् । विगत ५ वर्षदेखि साना जलविद्युत् आयोजनालाई समुदायमा वा कुनै निजी क्षेत्रलाई लिजमा दिने प्रक्रिया अघि बढाइए पनि अझै पूरा भएको छैन । हालसम्म ती आयोजना कसरी दिने भनेर प्राधिकरणले मापदण्ड बनाउन सकेको छैन ।
आइतबारको बैठकमा भने प्राधिकरण सञ्चालक समितिले त्यसका लागि लिजको मापदण्ड बनाउनका लागि प्राधिकरण व्यवस्थापनलाई जिम्मा दिएको हो । लिजमा दिएर प्राधिकरणले ती आयोजनाबाट उत्पादित बिजुली किन्ने जनाएको छ । बाग्लुङ, अछाम, बैतडी, रामेछाप, ओखलढुंगा, तेह्रथुम, डोटी लगायतका जिल्लामा यस्ता साना जलविद्युत् आयोजना छन् । कतिपय आयोजना बन्द भइसके पनि यसबारे प्राधिकरणले स्पष्ट निर्णय गर्दा प्राधिकरणले त्यहाँ कार्यरत कर्मचारीलाई भने पाल्नुपर्ने अवस्था छ ।
त्यसैगरी प्राधिकरण सञ्चालक समितिले सोलु कोरिडोरको प्रसारण लाइन निर्माणको प्रस्तावबारे छलफल गर्न प्राधिकरण सञ्चालकद्वय डम्बरबहादुर नेपाली र मोहनराज पन्तसहित रहेको समिति गठन गरिएको छ ।

अध्याँरो गाउँमा नवीकरणीय ज्योति

-भीम गौतम

14‘कहिल्यै बिजुली नपुगेको विकट गाउँका चाहुरिएको अनुहारमा उज्याँलोले खुसीको धर्सा देखिँदा बडो आनन्द आउने रहेछ,’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. गोविन्दराज पोखरेल नवीकरण ऊर्जाको प्रभाव बारे भन्दै थिए, ‘ सुविधा सम्पन्न सहर लोडसेडिङले अध्याँरो भइरहेको बेला उज्याला गाउँका संख्या बढेको छ ।’
औपचारिक रूपमा नवीकरण ऊर्जा विस्तार सुरु भएको २० वर्ष नाघेको छैन । तर, उज्यालो देख्न सहर पुग्नैपर्ने बाध्यताबाट गाउँले मुक्ति पाएको छ । सन् १९५० को दशकमा बायोग्यास सुरु भएको थियो भने ०१९ सालमा गोदावरीमा सबैभन्दा सानो लघुजलविद्युत् बनेको थियो । पोखरीमाथि बत्ती बालेर बत्तीमा झुम्मिएका किरा पोखरीमा खस्ने र ती किरा माछाका लागि आहार हुने गर्थे । पञ्चायतकालमा कृषि विकास बैंकमार्फत अनुदान दिएर केही क्षेत्रमा नवीकरण ऊर्जा प्रणाली पुगे पनि ०५३ सालमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको स्थापनासँगै यसले व्यापकता पायो । ०५३ साल अघिसम्म एक प्रतिशत पनि नवीकरण ऊर्जाको पहुँच नभएको नेपालको ग्रामीण क्षेत्रका १४ प्रतिशत घरधुरीमा नवीकरणीय ऊर्जा प्रविधि पुगेको छ । यसले गाउँका वृद्धवृद्धामा विशेष खुसीयाली ल्याएको हो जसले गाउँमा बिजुली देख्न पाइएला भन्ने कल्पनासम्म पनि गरेका थिएनन् । नवीकरण ऊर्जा अति विकट गाउँ पुग्यो र उज्यालोसँगै धेरै विकासका ढोका खोलिदियो ।
नवीकरण ऊर्जाको विकास र विस्तारसँग प्युठान जिल्लाको विकट सरपुरकोटका डा. पोखरेलको योगदान पनि जोडिएको छ । २० वर्षदेखि ऊर्जा र १४ वर्षदेखि नवीकरणीय ऊर्जाका क्षेत्रमा योगदान दिएका
पोखरेलको विगत पनि टुकीको भरमा चलेको थियो । दु:खका साथ पढेको सम्झेर यी मेकानिकल इन्जिनियरले नवीकरणीय ऊर्जामा मास्टर र पिचएडी गरे । सात वर्ष त केन्द्रको कार्यकारी निर्देशकका रूपमा नवीकरण ऊर्जा विस्तारको नेतृत्व गरेका अहिले उनी अहिले खुला प्रतिस्पर्धाद्वारा छानिएर केन्द्रको नेतृत्व गरिरहेका छन् । पुल्चोक इन्जिनियर कलेजको प्रमुखसमेत भइसकेका पोखरेलले पाकिस्तान, बंगलादेश, इन्डोनेसियालगायत मुलुकमा नवीकरणीय ऊर्जा विशेषज्ञका रूपमा काम गरेका छन् । विदेशको काम छोडेर उनी केन्द्रको कार्यकारी निर्देशक बन्न आएका थिए । ‘नवीकरणीय ऊर्जा अन्धकारले सिर्जना गर्ने दु:ख हटाउने सबैभन्दा उपयुक्त प्रविधि हो, अधिकांश विकासबाट वञ्चित लाखौँ जनताको उज्यालोमा बस्ने सपनासँग यो जोडिएको छ,’ उनले नवीकरण ऊर्जा विस्तारको सपना सुनाए, ‘विदेशको जागिर छोडेर नवीकरणीय ऊर्जा क्षेत्रमा केही गराँै भनेरै देश फर्केको हुँ । अध्याँरोमा बसेर उज्यालोका लागि भौतारिएका विकट गाउँका कुना कन्दरासम्म नवीकरणीय ऊर्जाको उज्यालो पुर्‍याउनका लागि म कँस्सिएको छु ।’
केन्द्रका अनुसार अहिले तीन लाख घरधुरीमा लघु जलविद्युत् र चार लाख घरधुरीमा सोलार पुगिसकेको छ । ती घरधुरीमा कहिल्यै लोडसेडिङ हुँदैन । तीन लाख घरधुरीमा बायोग्यास तथा ६ लाख ५० हजार घरधुरीमा सुधारिएको चुल्हो पुगेको छ । सन् २०१७ भित्र सबै घरधुरीमा सुधारिएको चुल्हो पुर्‍याएर घरलाई धुवाँमुक्त घोषणा गर्ने सरकारले सार्वजनिक रूपमै जनाइसकेको छ । पाँच वर्षभित्र ६ लाख घरधुरीमा सोलार, एक लाख ३० हजार घरधुरीमा बायोग्याँस, सात सय ५० सोलार ड्रायर, २५ मेगावाट विद्युत् उत्पादन अर्थात् एक लाख ५० हजार घरधुरीमा लघु जलविद्युत्, चार हजार सुधारिएका घट्ट तथा एक हजार पाँच सय ५० वटा खानेपानी, अस्पताल र स्कुललगायतमा संस्थागत सोलार बनाउन लागिएको छ । सुधारिएको चुल्हो कार्यक्रमअन्तर्गत ३५ हजार फलामे चुल्हो निर्माण गर्ने लक्ष्य छ ।
मोटरबाटो, अस्पताल, सञ्चारलगायतका सुविधा नपुगेको गाउँ नवीकरणीय ऊर्जाले झिलिमिली भएको छ । बिजुलीको उज्यालो थाहा नपाएका, नेदेखेका तथा सहर बिजुलीले झलमल्ल हुन्छ रे † भनेर सुनेका गाउँलेका लागि नविकरणीय ऊर्जाले गाउँको मुहार फेरेको छ । अहिले त ऊर्जा पुगेका ती गाउँलेहरू उल्टो भन्न थालेका छन्, ‘सधैँ उज्यालोमा बस्नु छ भने सहर छोडेर गाउँ आऊँ, यहाँ लोडसेडिङ छैन ।’ नवीकरणीय ऊर्जाले विकट गाउँमा उज्यालो मात्र दिएको छैन, नयाँ प्रविधि र विकास पनि भित्र्याएको छ । ‘अध्याँरो गाउँ झलमल्ल भएको छ । मर्ने बेलामा बिजुली देख्न पाइयो भन्ने धेरै वृद्धवृद्धा देखेको छु । नविकरणीय ऊर्जासँग उनीहरूको खुसी र समाजको विकास जोडिएको छ,’ डा. पोखरेलले भने, ‘लघु जलविद्युत् पुगेको ठाउँमा त इमेल इन्टरनेट नै चलेको छ, जसले गाउँलाई विश्वसँग जोडेको छ । सहर धाउनुपर्ने बाध्यता मेटेको छ । एफएम रेडियो र स्वास्थ्य केन्द्र चलेका छन्, बायोग्यास र सुधारिएको चुल्होका कारण जंगल जोगिएको छ, महिला तथा वृद्धवृद्धालाई श्वासप्रश्वासलगायत रोगबाट टाढा गराएको छ ।’ आँखा पिरो बनाएर पढ्नुपर्ने वाध्यताको अन्त्यले ल्याएको खुसीयाली गाउँका बालबालिकामा प्रष्ट देखिन्छ ।
विद्युत्ीय ऊर्जा वितरणमा जलविद्युत् प्रभावकारी हो भन्नेमा दुई मत छैन । तर, नवीकरणीय ऊर्जा जलविद्युत्को सबैभन्दा महत्त्वपूर्ण ‘ब्याकअप’ हो । दैनिक १२ घन्टा लोडसेडिङ भइरहेको बेला ‘व्याकअप’को रूपमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तार जरुरी भए पनि यसका लागि सरकारले ठोस कार्यक्रम ल्याउन सकेको छैन । जलविद्युत् आयोजना बिग्रिएमा समाधानका लागि नवीकरणीय ऊर्जालगायतका अन्य स्रोतहरूको सँगसँगै विकास गर्नुपर्ने धारणा उनको छ । अझ नेपालजस्तो जलविद्युत्को विकासमा ढिलाइ भइरहेको मुलुकको लागि नवीकरणीय ऊर्जाको आवश्यकता प्रतिदिन बढीरहेको छ ।
समुदायको सक्रियतामा निर्माण गरिने कारणले गाउँगाउँमा नवीकरणीय ऊर्जा सफल भएको छ । यही कारण नर्वेजियन, डेनिस, जर्मन, संयुक्त अधिराज्य, युएनडिपी, विश्व बैंक, एसियाली विकास बैंक, नेदरल्यान्डलगायतले यस अभियानमा सहयोग गरेका छन् । ‘जलवायु परिवर्तन र यसको कारण पानीको स्रोत सुक्दै गएकाले जलविद्युत्को ‘व्याकअप’का लागि नवीकरणीय ऊर्जा विस्तार गर्नुपर्ने अवस्था छ ।
पोखरेलका अनुसार नवीकरणीय ऊर्जाका कारण विकासको सामाजिक विभेद अन्त्य भएको छ । सहर र गाउँ, धनी र गरिबबीचको विभेद हटाएर विकासमा समानता दिने नवीकरणीय ऊर्जाका कारण पाँच सयभन्दा बढी साना उद्योगधन्दा सञ्चालन भएर ३० हजारभन्दा बढीले प्रत्यक्ष रोजगार पाएका छन् । यद्यपि, अहिले १४ प्रतिशत घरधुरीसम्म मात्र नवीकरणीय ऊर्जाको हिस्सा पुगेको छ । अझै उज्यालो देख्ने सपना बन्दै बसेका गाउँ धेरै छन् । संयुक्त राष्ट्र संघको आह्वान अनुसार सन् २०३० भित्र नवीकरणीय ऊर्जाको हिस्सा ५० प्रतिशत पुर्‍याउने लक्ष्य छ जसअनुसार सरकारले योजना निर्माण गरिरहेको छ ।
नेपाल तुलनात्मक रूपमा नवीकरणीय ऊर्जाका लागि उदार मानिन्छ । ‘बंगलादेश, पाकिस्तानलगायत देशभन्दा नवीकरण ऊर्जामा नेपाल उदार देखिन्छ,’ पोखरेल भन्छन्, ‘नवीकरणीय ऊर्जाको प्रविधिको मोडालिटी पनि यहाँ दिगो खालको छ ।’ उनका अनुसार बायोग्यासको मोडालिटी अफ्रिका तथा एसियाका २१ राष्ट्रमा अनुशरण गरिरहेको छ ।

Saturday, February 16, 2013

कुलेखानीमा परामर्शदाता नियुक्तिको चलखेल

-भीम गौतम

kulekhaneeकाठमाडौं, ६ फागुन । निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनालाई आर्थिक भार पर्ने गरी नयाँ परामर्शदाता नियुक्तिको चलखेल सुरु भएको छ ।
स्वदेशीले नै परामर्शदाताका रूपमा काम गर्नसक्ने अवस्था रहे पनि आर्थिक भार पर्ने गरी अर्को परामर्शदाता नियुक्तिको चलखेल सुरु भएको हो । विवादका कारण प्राधिकरणले परामर्शदाताका रूपमा काम गरिरहेको डब्लुआरसी हेड र सिल्डलाई कालोसूचीमा राखेपछि प्राधिकरणकै पूर्वकर्मचारी नियाज अहमदसहितको टोलीले परामर्शदाताको काम गरिरहेको छ । प्राधिकरणका अनुसार पहिलाको परामर्शदाता भएको बेला प्रतिमहिना ५० मिटर मात्र सुरुङ खनिएको भए पनि नियाजको नेतृत्वमा अहिले प्रतिमहिना सरदर १७० मिटरभन्दा बढी खनिएको छ ।
२००८ को अप्रिलदेखि ०११ डिसेम्बरसम्म डब्लुआरसी र सिल्डले परामर्शदाताको काम गर्दा परामर्शदाताका लागि करिब ७ करोड खर्च भएको थियो भने १६ मार्च ०१२ देखि नियाज अहमदले काम गर्दा करिब ३५ लाख रुपियाँ मात्र खर्च भएको थियो । प्राधिकरणका अनुसार परार्शदाता राख्दा करिब १७ सय मिटर मात्र सुरुङ खनिएको थियो भने अहमदले परामर्शदाताको नेतृत्व गरेपछि ११ महिनामै एक हजार मिटर सुरुङ खनिसकिएको छ । स्वदेशी परामर्शदाताका रूपमा नियाजलाई राखेर आवश्यकपर्दा ‘कन्याक्ट परामर्शदाता’ ल्याएर काम गरेमा थोरै रकम खर्च हुने भए पनि अहिले थप २२ करोड रुपियाँको आर्थिक भार पर्ने गरी परामर्शदाता नियुक्तिका लागि चलखेल भइरहेको प्राधिकरणका एक उच्चअधिकारीले जानकारी दिए । ‘नेपाली परामर्शदाताले सन्तोषजनक काम गरिरहेको बेलामा पनि उनलाई हटाएर सबै परामर्शदाताको नियुक्ति गर्न लागिएको छ, यो आयोजनाको आर्थिक भार बढाउने चलखेल मात्र हो,’ प्राधिकरणका एक उच्चअधिकारीले भने, ‘कुनै विशेष समस्यामा विदेशी परामर्शदाताको पनि आवश्यक पर्नसक्छ, त्योबेला निश्चित समयका लागि परामार्शदाता ल्याउँदा राम्रो हुन्छ, त्यो गरेमा २० करोड रुपियाँ जति आर्थिक भार घट्छ ।’
प्छिल्लो समयमा मुख्यसचिव एवं
प्राधिकरण सञ्चालक समिति अध्यक्ष लीलामणि पौडेलले जलविद्युत्सहित सबै आयोजनामा विदेशी परामर्शदाता राख्दा रकम बिदेसिने भएकोले स्वदेशी परामर्शदाता राख्नका लागि निर्देशन दिने गरेका छन् तर उनै अध्यक्ष भएको प्राधिकरणमा भने स्वदेशी परामर्शदाताले सन्तोषजनक कार्य गरिरहेको बेला विदेशी परामर्शदाता राख्न चलखेल भइरहेको छ । मुख्यसचिव पौडेलले पहिला विदेशी परामर्शदाता राख्ने सम्झौता भएबाहेक आयोजनाको हकमा स्वदेशी परामर्शदातालाई नै विशेष जोड दिइने बताए । ‘कुलेखानी तेस्रोमा मैले अवस्था बुझ्नुपर्छ तर मेरो जोड स्वदेशी परामर्शदाता राख्नेमै हुन्छ,’ उनले भने ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पनि स्वदेशी परामर्शदाता अहमदको नेतृत्वको परामर्शदाता टोलीले सन्तोषजनक कार्य गरिरहेकाले त्यसको म्याद थप गर्दै परामर्शदाताका रूपमा काम गरिरहेको तर अर्को नयाँ परामर्शदाता राख्नेबारे तत्काल नयाँ प्रक्रिया अघि नबढिसकेको बताउँछन् । प्राधिकरण स्रोतका अनुसार अहिले नयाँ परामर्शदाता नियुक्तिका लागि प्राधिकरणका केही अधिकारी तथा माथिल्लो निकायबाट दबाब सुरु गरिएको छ । ‘बरु अहमदको परामर्शदाता टोलीमा जनशक्ति थपेर उनलाई परामर्शदाताको कामका लागि पूर्णसक्षम बनाउनुपर्छ, नयाँ ल्याउनका लागि प्रक्रिया अघि बढाउँदा अहिलेको दु्रतगतिमा कम भई काम प्रभावित हुन्छ,’ प्राधिकरणका ती अधिकारीले भने, ‘आर्थिक चलखेलको आधारमा अहिले परामर्शदाता नियुक्तिका लागि प्राधिकरणभित्र दबाब बढ्न थालेको छ, प्राधिकरण अध्यक्ष यसमा गम्भीर हुनुपर्छ ।’ परामर्शदाता नियुक्ति गर्नका लागि सबै प्रक्रिया पुर्‍याउँदा ५ महिनाभन्दा बढी लाग्ने र त्यो बेलासम्म ब्रेक थ्रु भइसक्ने भएकोले नयाँ परामर्शदाता नियुक्ति गर्नुले ठूलो आर्थिक भार मात्र बेहोर्ने उनको तर्क छ । पहिला नयाँ परामर्शदाता नियुक्ति गर्न लाग्दा अख्तियारमा उजुरी परेको थियो भने अहिले फेरि पुरानै राखेर चलखेल गरेको भन्दे अर्को उजुरी परेको छ । नयाँ परामर्शदाता राख्दा पर्ने यस्ता उजुरीले थप समस्या ल्याउन भएकाले प्राधिकरण सञ्चालक समितिले दक्ष जनशक्तिसहित अहमदलाई जिम्मा दिएमा सबैभन्दा उपयुक्र्त तर्क प्राधिकरणका केही अधिकारी गर्छन् ।
आयोजना प्रमुख मधुसूदनप्रताप मल्लका अनुसार ५ महिनाभित्र ब्रेक थु्र गर्ने गरी प्रतिदिन १२/१५ मिटर सुरुङ निर्माण भइरहेको छ । ४२ सय मिटर सुरुङमध्ये १६ सय मिटर मात्र बाँकी छ । हालै मल्लकै नेतृत्वमा रहेको समितिले सम्भव भएसम्म छिट्टै विदेशी परामर्शदाता, त्यो नभए स्वदेशी तथा त्यो पनि सम्भव नभए अहिले अस्थायी रूपमा काम गरिरहेका अहमदको टोलीलाई पूर्णअधिकार र जनशक्ति दिएर परामर्शदाता छिटो नियुक्ति गर्न सुझाव दिएको छ ।
प्राधिकरण स्रोतका अनुसार परामर्शदाताको काम गरिरहेका अहमदलाई मासिक एक लाख ३५ हजार रुपियाँ दिइएको छ तर विदेशी परामर्शदाता एकजना मात्र ल्याए पनि मासिक खर्च कम्तीमा ४० हजार डलर दिनुपर्छ । सन् २००८ मा मकवानपुर जिल्लाको भैँसेमा निर्माण सुरु भएको १४ मेगावाट क्षमताको सो आयोजना तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो । पहिला दुई अर्ब ४३ करोड र पछि थपिएर तीन अर्ब २५ करोड पुगेको छ भनेसन् ०१४ को अगस्टसम्म समय पनि लम्बिएको छ ।

अर्थले पैसा नदिए लोडसेडिङ बढ्ने

-भीम गौतम

artha-mantralayaकाठमाडौं, ४ फागुन । लोडसेडिङ १२ घन्टामा सीमित गराउनका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जुनसुकै सहयोग गर्न तयार रहेको बताए पनि अर्थ मन्त्रालयले बजेट नदिएपछि लोडसेडिङ बढाउने तयारी सुरु भएको छ । पटक–पटक पत्र पठाएर भारतबाट आयात हुँदाको फरक तथा डिजेलबापतको पनि फरक रकम दिन माग गरे पनि अर्थले बेवास्ता गरेपछि नेपाल विद्युत्् प्राधिकरणले लोडसेडिङ बढाउने तयारी गरेको हो ।
लोडसेडिङ न्यूनीकरण कार्ययोजना ०६९ मा स्पष्ट फरक रकम दिने उल्लेख भए पनि स्वयं प्रधानमन्त्री भट्टराई र मुख्यसचिव एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष लीलामणि पौडेलले अर्थलाई रकम दिन पटक–पटक निर्देशन दिए पनि अर्थले अटेर गरेपछि प्राधिकरणले छिट्टै रकम नदिए लोडसेडिङ बढाउने तयारी गरिएको प्राधिकरण उच्च स्रोतले जानकारी दियो । ‘कि सरकारको प्रतिबद्धताअनुसार अर्थले पैसा दिनुपर्‍यो, महिनौँदेखि झुलाएर राखेको छ, दिन्न भनेको दिन डिजेल प्लान्ट र मल्टिफ्युल काम चलाएर लोडसेडिङको बढाउनुको विकल्प छैन,’ ती अधिकारीले भने, ‘नीतिगत रूपमै बेहोर्ने उल्लेख भए पनि नदिएमा प्राधिकरणले सधैँ घाटा बेहोर्न सक्दैन ।’
प्राधिकरणका अनुसार, साउनपछि मात्र प्राधिकरणले भारतलाई फरक रकम मात्र २९ करोड तिर्न बाँकी छ । गत वर्षको २ अर्ब २६ करोड फरक पनि अहिलेसम्म सरकारले दिएको छैन । प्राधिकरणलाई डिजेल र मल्टिफ्युल प्लान्ट सञ्चालनका लागि १८ करोड दिएपछि थप करिब १२ करोड खर्च भइसकेको छ । अर्थले पैसा नदिएपछि भारतलाई फरक रकम दिन प्राधिकरणलाई हम्मेहम्मे परेको छ भने बेला बेलामा डिजेल प्लान्टको अभावमा प्लान्ट बन्दसमेत हुने गरेका छन् । रकम अभावको कारणले प्राधिकरणभित्रका कतिपय आयोजनाको मर्मत, सम्भारसमेत प्राधिकरणले गर्न सकेको छैन ।
भारतबाट दैनिक करिब १४० मेगावाट विद्युत्् नेपाल आयात गर्ने गरिएको छ । प्रतियुनिट ८ दशमलव १६ पैसामा भारतबाट प्राधिकरणले विद्युत्् किन्दै आएको छ । भारतबाट ल्याएको विद्युत््मा करिब २५ प्रतिशत चुहावट छ । गत वर्ष प्राधिकरणले १ अर्ब ५ करोड युनिट विद्युत् किनेको थियो ।
अर्थले पैसा नदिएपछि अहिले प्राधिकरणले आफ्नो खर्चबाट भारतलाई तथा प्लान्टका लागि पेट्रोलियम पदार्थ किन्नका लागि रकम खर्च गरिरहेको छ । प्राधिकरण स्रोतका अनुसार माथिल्लो तामाकोसीमा सेयर हाल्नेलगायत कार्य गर्न प्राधिकरणलाई समस्या परेको छ । अर्थले पैसा नदिएर प्लान्ट सञ्चालन नभएमा दैनिक पुन: १४ घन्टा लोडसेडिङ हुनेछ भने भारतबाट पनि विद्युत् कटौती गर्नुपर्ने अवस्था आएमा लोडसेडिङ कम्तीमा १६ घन्टा पुग्नेछ ।
अहिले विद्युत्को माग करिब एक हजार मेगावाट छ भने ५६० मेगावाट अभाव छ । जसको कारणले दैनिक १२ घन्टा लोडसेडिङ भइरहेको छ । प्रम भट्टराईले १२ घन्टाभन्दा बढी लोडसेडिङ नबढाउन निर्देशन दिएर फरक रकम सरकारले उपलब्ध गराउने बताए पनि नदिएपछि प्राधिकरणका कर्मचारी संघ/संगठनले रकम तुरुन्त दिनुपर्ने माग गर्दै आएका छन् तर अर्थले पैसा दिन ढिलाइ गरेको छ ।

Thursday, February 14, 2013

चार जलविद्युत आयोजनासँग पीडीए वार्ता

-भीम गौतम

काठमाडौं, ३ फागुन । लगानी बोर्डले चार ठूला जलविद्युत परियोजनासँग परियोजना विकास सम्झौता (पीडीए) बारे औपचारिक वार्ता गर्ने निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बोर्डको बैठकले चार जलविद्युत आयोजनाका तीन प्रवद्धक कम्पनीसँग पीडीएका लागि औपचारिक वार्ता गर्ने निर्णय गरेको हो । ६५० मेगावाटको तामाकोसी ३, ९०० मेगावाटको अरुण ३ र माथिल्लो कर्णाली तथा ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाका प्रवद्र्धकसँग गरिने पीडीए वार्ता गरिन लागिएको हो । बोर्डले तयार गरेको पीडीए मोडलको आधारमा उनीहरुसँग थप वार्ता गरिने बोर्डका कार्यकारी निर्देशक राधेश पन्तले जानकारी दिए । भारतको जीआरएम कम्पनीले माथिल्लो कर्णाली र मस्याङदी तथा भारतको सतलज कम्पनीले अरुण–३ र नर्वेजियन कम्पनी एसएन पावरले तामाकोशी–३ बनाउन लागेका छन् ।
उनका अनुसार बोर्डले चारै आयोजनासँग वार्ता अघि बढाउनका लागि संयोजन तथा निर्देशन दिने गरी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोकजत्वमा मुख्य सचिव लीलामणि पौडेल र कार्यकारी अधिकृत पन्त गरेको समिति समेत गठन गरिएको छ । बोर्ड बैठकले चारै आयोजनासँग पीडीएको नेगोशेसन गर्नका छुट्टै प्राविधिक, अर्थ र कानुनी विज्ञहरुसहित सम्मिलिन समिति गठन गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । ‘दुई हप्ताभित्रै चार ठूला आयोजनाहरुसँग पीडीए नेगोशेसनका लागि समिति गठन गर्ने छ र त्यसले छुट्टाछुट्टै रुपमा ती आयोजनाका पदाधिकारीहरुसँग वार्ता गर्नेछ,’ उनले भने ।
परियोजना विकासकर्ता कम्पनीहरूको सुझावको आधारमा बनाइएको पीडीए मोडलको आधारमा गर्न गर्ने वार्तामा नेपालले पाउने फाइदाबारे बढी जोड दिइने बोर्डले जनाएको छ । बोर्ड बैठकमा प्रधानमन्त्री भट्टराईले चार वटै जलविद्युत आयोजनालाई द्रूत गतिमा अघि बढाउन औपचारिक वार्ता गर्न बाटो खुलेको बताए । ‘सरकारलाई राजस्व प्राप्त हुने, स्थानीय समुदायहरूलाई फाइदा पुग्ने, नेपाली उद्योग तथा सेवाक्षेत्रलाई अधिकतम लाभ हुने, हजारौं नेपालीलाई रोजगारी प्राप्त हुने र उर्जा संकट समाधान गर्ने जस्ता विषयमा अधिकतम हित हुने गरी सम्झौतालाई निष्कर्षमा पु¥याउने मूल उद्देश्यबाट विचलित हुने छैनौं,’ उनले भने । राजस्व (रोयल्टी) र कर तिर्नेबाहेक, यी चार परियोजनामध्ये अरुण ३ ले २१.९% बिजुली नेपाललाई निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेको छ भने माथिल्लो कर्णालीले १२% निःशुल्क बिजुली र २७% निःशुल्क शेयर (इक्विटी) प्रदान गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।
चार ठूला जलविद्युत आयोजनाको पीडीए नेगोशेसनका लागि औपचारिक वार्ता गर्ने निर्णय गरेको बोर्डले काठमाडौं उपत्यका मेट्रो रेलको डीपीआर निर्माण, फोहार मैला व्यवस्थापन, रासायिनिक मल कारखानाको स्थापना तथा अफ्रिकाको प्रसिद्ध डाङगोटे कम्पनीको झण्डै आठ सय मिलियन डलरको लागतमा नेपालको पूर्व र पश्चिम क्षेत्रमा स्थापना गर्न लागिएको ठूला दुई सिमेन्ट कारखाना स्थापना अघि बढाउने निर्णय गरेको छ । विज्ञ सहितको ६ सदस्यीय स्थलगत प्रमाणीकरण टोली गठन गरी फोहरमैला व्यवस्थापन परियोजनाको कार्य अगाडि बढाउने र नेपालमा रासायनिक मल कारखानाको लागि सम्भाव्यता अध्ययन गर्ने कार्यादेश समेत बोर्डले स्वीकृत गरेको छ । बोर्डका कार्यकारी अधिकृत पन्तको संयोजकत्वमा उद्योग विभाग, खानी तथा भूगर्भ विभागका महानिर्देशकहरु सदस्य रहेको एक समिति गठन गरी एकद्धार प्रणालीमार्फत सिमेन्ट कारखाना स्थापनाका लागि सहजीकरण गर्र्ने निर्णय समेत गरेको छ ।

Wednesday, February 13, 2013

कार्यालय खाली गरेर हरिदासको प्रवचनमा विद्युत् प्राधिकरणका उच्च अधिकृत

भीम गौतम

काठमाडौं, २ फागुन । सरकारले तोकेअनुसार कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हो । तर, मंगलबार Haridasतीन बजेपछि नेपाल विद्युत् प्राधिकरण पुग्दा अधिकांश उच्च कर्मचारी कार्यकक्षमा थिएनन् ।
सबैजना एकैचोटि कहाँ गए भनी खोजी गर्दा थाहा भयो, उनीहरू कार्यालय ‘बंक’ गरेर स्वामी हरिदासको प्रवचन सुन्न गएका रहेछन् । प्राधिकरणको नामसमेत जोडेर सेवापयोगी आध्यात्मिक प्रवचन व्यवस्थापन समितिले हरिदासको प्रवचन आयोजना गरेको हो । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित प्रवचन सुन्न प्राधिकरणका अधिकांश उच्च कर्मचारी पुगेका थिए । ‘प्राधिकरण कर्मचारीहरूकै प्रयासमा’ आयोजना गरिएको कार्यक्रममा कार्यकारी निर्देशक तथा महाप्रबन्धकसँग १/१ हजार चन्दा उठाइएको थियो ।
मुख्यसचिव एवं प्राधिकरणका अध्यक्ष लीलामणि पौडेलसमेत कार्यालय समयमा प्रवचन सुन्न पुगेका थिए । प्राधिकरणको उच्च व्यवस्थापन आफैँ प्रवचन कार्यक्रमका लागि भिडेको थियो । केही निमन्त्रणा पत्र प्राधिकरणमार्फत लेखिएको थियो भने अन्य पत्रहरूमा प्राधिकरणकै लोगो भएको खाम प्रयोग गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादव, प्रशासनका उपकार्यकारी निर्देशक बद्रीनाथ रोक्का तथा प्राधिकरणका महाप्रबन्धकहरू क्रमश: उत्पादन सञ्चालन तथा सम्भारका महेन्द्रलाल श्रेष्ठ, ग्राहक तथा वितरण शाखा पश्चिमका उपेन्द्रदेव भट्ट, पूर्वका चिरञ्जीवी शर्मा, प्रशारण तथा प्रणाली सञ्चालनका राजेश्वरमान सुल्पिया र इन्जिनियरिङका वीरेन्द्र पाठकका साथै अधिकांश निर्देशकहरू प्रवचनमा सहभागी थिए । उपकार्यकारी निर्देशकद्वय लवबहादुर घिमिरे र ईश्वरीप्रसाद खतिवडा तथा महाप्रबन्धकद्वय ग्रिड विकासका गणेशप्रसाद राज र उत्पादन निर्माणका रामचन्द्र पाण्डे भने प्रवचनमा सहभागी नरहेको स्रोतले जनाएको छ ।
अधिकांश हाकिमहरू प्रवचनतिर लागेपछि बाँकी रहेका कतिपय कर्मचारीसमेत कार्यालयबाट बाहिरिएर विद्युतीय हाजिरीका लागि साँझ मात्र कार्यालय फर्किएका थिए । अधिकांश कर्मचारी कार्यालयमा नभएपछि सेवाग्राही प्रभावित भए । ‘म कार्यकारी निर्देशकसँग विद्युत्को पोलबारे गुनासो गर्न आएको थिएँ तर उहाँ कार्यालयमा भेटिनुभएन, अन्य महाप्रबन्धकहरू पनि भेट्न खोज्दा अधिकांश बाहिर भनियो,’ बानेश्वरका वीरेन्द्र श्रेष्ठले भने, ‘पछि कर्मचारीहरूलाई सोध्दा पो हाकिमसाहेबहरू हरिदासजीको प्रवचन सुन्न जानुभएको छ भन्ने थाहा भयो ।’ कार्यकारी निर्देशक तथा महाप्रबन्धकहरूलाई भेट्न गएका सेवाग्राही त्यसै फर्कनुपरेको थियो ।
मुलुकमा दैनिक १२ घन्टा लोडसेडिङ भइरहेकोमा आलोचना खेपिरहेको तथा विद्युत् उत्पादन, वितरण तथा प्रसारण लाइन तीनवटै कामको बोझले व्यस्त बनेको प्राधिकरणका उच्च कर्मचारीले मंगलबार झन्डै तीन घन्टा प्रवचन सुन्न भ्याए । सर्वसाधारण तथा सेवाग्राहीले आफ्नो गुनासो सुनाउन भेट्नै मुस्किल पर्ने उनीहरूले साढे दुईदेखि साढे ५ बजेसम्म प्रवचनमा बिताएका थिए ।
दिउँसो साढे दुई बजेदेखि कार्यक्रम सुरु हुने भनिए पनि साढे तीन बजेदेखि सुरु भएको कार्यक्रम दुई घन्टा चलेको थियो । ‘नैतिक मूल्य र मान्यतालाई समाजमा पुन:स्थापित गर्दै बेचैनीरहित जीवन जिउनका लागि आध्यात्मिक चिन्तन आवश्यक रहेको’ भन्दै कर्मचारीहरूलाई बोलाइएको थियो । प्रवचनको उद्घाटन मुख्यसचिव पौडेलले गरेका थिए । प्रवचनमा हरिदासले प्राधिकरणभित्र बढेको घुसखोरी प्रवृत्तिले लोडसेडिङ बढेको भन्दै घुसको कीर्तिमान नराखी राम्रो काम गरेर नाम कमाउन भनेका थिए ।

Tuesday, February 12, 2013

एनआरएनले ४२ मेगावाटको जलविद्युत आयोजना बनाउने

सौर्य समाचार
काठमाडौं, २९ माघ ।  गैरआवासीय नेपालीहरुको संगठन एनआरएनले ४२ मेगावाटका जलविद्युत आयोजना बनाउने भएको छ ।
एक सय मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने घोषणा गरेको एनआरएनले पहिलो चरणमा ४२ मेगावाटको आयोजना बनाउन लागेको एनआरएन युकेका अध्यक्ष कुल आचार्यले जानकारी दिए । ‘एक सय मेगावाटको जलविद्युत आयोजना बनाउने लक्ष्य रहेकोमा पहिलो चरणमा ४२ मेगावाटको आयोजना बनाउन लागेका छौ ।’–सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा उनले भने–‘ जलविद्युत योजनाको छनोट भने अन्तिम चरणमा पुगेको छ, छिट्टै सम्झौतापत्रमा हस्ताक्षर हुन्छ ।’
 सामुहिक लगानीको लागि एनआरएनले पा“च अर्व बरावरको एनआरएन इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएकोमा एक अर्ब बराबरको रकम संकलन भएको उनले जानकारी दिए । उनका अनुसार, हालसम्म ७५३ जनाले एक अर्ब बराबर रकम लगानी गरिसकेका छन् भने रकम संकलन जारी छ । ‘छिट्टै एनआरएनको अन्र्तराष्ट्रिय समन्वय समितिले जलविद्युत आयोजनाको घोषणा गर्नेछ, यसका लागि अहिले प्राविधिक टिमले काम गरिरहेको छ ।’–उनले भने । गैरआवासीय नेपालीहरुले सामुहिक रुपमा पहिलो पटक लगानी गर्न लागेकोले सकारात्मक हुन आग्रह गर्दै उनले जलविद्युतमा एनआरएनको पहिलो प्राथमिकता भएको बताए ।
    एनआरएन यूकेका सल्लाहकार पशुपति भण्डारीले युके नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न तयार रहेपनि त्यसका लागि उपयुक्र्त वातावरण नभएको बताए । एनआरएन जापानका यमलाल ढकालले १२१ जना एनआरएनले जापानबाट संयुक्त लगानी कोÈमा लगानी गरेको जानकारी दिए ।
    सेजनका अध्यÔ प्रदिप चापागाईले एनआरएनका सामुहिक लगानीको परिणाम नेपालमा देखिनुपर्ने बताए ।

Monday, February 11, 2013

६ आयोजनाको अनुमतिपत्र खारेज

-भीम गौतम

काठमाडौं, २९ माघ । ऊर्जा मन्त्रालयले एक हप्ताभित्र एक सय ४० मेगावाटका जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गरेको छ । १४०.६८ मेगावाट बराबरका ६ आयोजनाको विद्युत् अनुमतिपत्र खारेज गरिएको विद्युत् विकास विभागका वरिष्ठ इन्जिनियर एवं सूचना अधिकारी गोकर्णराज पन्तले जानकारी दिए ।
विभागले तोकेको शुल्क तिरेर अनुमतिपत्र नवीकरण नगरेको र मागेको विवरण नदिएको भन्दै ती जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गरेको हो । विभागका अनुसार दिनबन्धु अग्रवाल प्रवद्र्धक रहेको ६१.२ मेगावाटको माथिल्लो म्याग्दी, युनाइटेड हाइड्रो पावर कम्पनी प्रवद्र्धक रहेको ५.९८ मेगावाटको माथिल्लो सिवान खोला, सनराइज हाइड्रो पावर प्रालि प्रवद्र्धक रहेको ३२ मेगावाटको म्याग्दी खोला र पायनियर हाइड्रो प्रालि प्रवद्र्धक रहेको ४.५ मेगावाटको माथिल्लो बडीगाड कोल्टी जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गरिएको छ । त्यसैगरी त्रिपुरा इनर्जी प्रालि प्रवद्र्धक रहेको ५ मेगावाटको माथिल्लो नौगढ तथा हाइड्रो भिजन कम्पनी प्रवद्र्धक रहेको ३२ मेगावाटको छत्तीसगढ जलविद्युत् आयोजनाका अनुमतिपत्र पनि खारेजीमा परेको छ ।
ऊर्जा सचिव हरिराम कोइरालाले ती लाइसेन्स खारेज गर्ने निर्णय गरेका हुन् । माघ पहिलो सातायता मात्र २० वटा आयोजनाका करिब ७ सय ५० मेगावाट बराबरका आयोजनाको लाइसेन्स खारेज भइसकेको छ । विभागमा महानिर्देशकका रूपमा अनुपकुमार उपाध्याय आएपछि अनुमतिपत्र ओगटेर बसेका तथा विभागले माग गरेका प्रतिवेदन नबुझाउने जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न थालिएको हो ।
बढेको शुल्क तिरेर र समयममै विवरण बुझाएर नवीकरण गर्नका लागि पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि अटेर नगरेकोले लाइसेन्स खारेज गरिएको विभागले जनाएको छ । निजी क्षेत्रका प्रवद्र्धकले झोला खोलामा परेको र सरकारले खोला झोलामा राखेर ओगटेको विवाद चलिरहेको बेला विभागले लाइसेन्स खारेजीलाई तीव्रता दिएको हो । विभागले आयोजना निर्माणका लागि आवश्यक पूर्वतयारी नगरी अनुमतिपत्र मात्र ओगटेर बसेका प्रवद्र्धक विभागको यो कदमछि हच्चिएका छन् । ‘पहिलाभन्दा अहिले नियमअनुसार काम नगर्ने जलविद्युत् आयोजनाका अनुमतिपत्र भटाभट खारेज हुन थालेका छन्, यसले वास्तविक प्रवद्र्धकलाई सजिलो पार्छ भने झोलामा खोला ओगट्नेलाई निरुत्साहित बनाउँछ,’ विभागका एक अधिकारीले भने ।
दुई कर्मचारी निलम्बित
नेपाल विद्युत् प्राधिकरणले विद्युत् अनियमितता गरेको आरोपमा दुई कर्मचारीलाई निलम्बन गरेको छ । प्राधिकरण ग्राहक तथा वितरण शाखा पूर्वअन्तर्गतको कुलेश्वर शाखा प्रमुख श्याम यादव र सहायक प्रबन्धक वीरेन्द्रकुमार झालाई निलम्बन गरिएको हो ।
प्राधिकरण सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा रहेको समितिले अनियमितता गरेको ठहर गर्दै निलम्बन गर्न सिफारिस गरेपछि प्राधिकरणले उनीहरूलाई सात दिने निलम्बन गरिएको हो ।
सोल्टिमोडको ग्रान्ड होटेल सिटिपिटी बन्दी गर्ने क्रममा अनियमितता गरेको आरोप उनीहरूमाथि लागेको छ । थप अनुसन्धानका लागि भन्दै सातदिने निलम्बन गरिएको प्राधिकरणले जनाएको छ । बोर्डको निर्देशनपछि कार्यकारी निर्देशक रामेश्वर यादवले ग्राहक तथा वितरण शाखापूर्वका महाप्रबन्धक चिरञ्जीवी शर्मालाई निर्देशन दिएपछि दुवै जनालाई शुक्रबार निलम्बनपत्र थमाइएको थियो ।

एडिबीलाई दुई आयोजना अध्ययन गर्न दिइने

काठमाडौं : ११ सय मेगावाटको सुनकोसी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त आयोजनाको अध्ययन गर्न एसियाली विकास बंैक (एडिबी) लाई दिने सहमति भएको छ । आइतबार एडिबीका प्रतिनिधिसँगको छलफलमा ऊर्जा मन्त्रालय अध्ययन गर्न दिनका लागि सकारात्मक देखिएको हो । दुई जलाशययुक्त आयोजनाको सम्भाव्यता र डिटेल इन्जिनियरिङ गर्नका लागि एडिबीले प्रस्ताव गरेको थियो । छलफलमा ऊर्जासचिव हरिराम कोइरालाले आफूहरू आयोजनाको अध्ययन अगाडि बढाउनका लागि एडिबीलाई दिन तयार रहेको बताएका थिए । एडिबीले ऊर्जा मन्त्रालयसँग ठूला आयोजना लगानी गर्न इच्छा देखाएपछि मन्त्रालयले दुई आयोजनाको प्रस्ताव गरेको थियो । अध्ययनका लागि चाहिने २० मिलियन डलर एडिबी आफँैले र बाँकी १० मिलियन डलर खोज्ने प्रतिबद्धतासमेत छलफलमा जनाएको छ ।
अर्थ मन्त्रालयले एडिबीले दिन लागेको ऋण स्वीकार गरेमा दुई जलाशययुक्त आयोजनाको अध्ययन अघि बढ्नेछ । तर, आयोजनाको अध्ययन ऋण लिएरभन्दा पनि अनुदानबाट गर्नुपर्नेमा अर्थ मन्त्रालयले जोड दिँदै आएको छ । यी दुवै आयोजनाको अध्ययनका लागि एडिबीले अनुदान दिनुपर्नेमा जोड दिए पनि यसबारे निर्णय भने भइसकेको छैन ।
ऊर्जाका अधिकारीले भने देशमा लोडसेडिङको समस्या भइरहेको बेला स्वदेशी खपतमै बनाउनुपर्ने र त्यसका लागि एडिबीले सहयोग गर्नुपर्ने प्रस्तावसमेत छलफलमा राखेका थिए ।

Thursday, February 7, 2013

जलाशययुक्त आयोजनाको छुट्टै विद्युत् महसुल

-भीम गौतम

काठमाडौं, २६ माघ । मुलुकले लोडसेडिङको चरम समस्या भोगिरहेको बेला जलाशययुक्त विद्युत् आयोजनाको लागि छुट्टै महसुल सिफारिस गरिएको छ ।
ऊर्जा मन्त्रालयले विद्युत् विकास विभागका सुपरिटेन्डेन्टिङ इन्जिनियर केशवध्वज अधिकारीको संयोजकत्वको कार्यदलले जलाशययुक्त आयोजनाको महसुल निर्धारण गरी मन्त्रालयलाई सिफारिस गरेको हो । गत मंसिर २२ गते मन्त्रालयले आधारहरू निर्धारण गरी जलाशय जलविद्युत् तथा नवीकरणीय उर्जा आयोजनाहरूको विद्युत् महसुल निर्धारण गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले उक्त प्रतिवेदन बुधबारनै उर्जा सचिव हरेराम कोइरालालाई बुझाएको छ ।
तत्काल जलाशययुक्त आयोजना निर्माणको सम्भावना नभएकाले सन् ०१८ सम्ममा आउनसक्ने आधार मानी समितिले महसुल सिफारिस गरेको छ । सिफारिस अनुसार, सुख्या याम अर्थात् हिउँदमा प्रतियुनिट १० रुपियाँ ६० पैसा तथा वर्षाको पिक आवरमा प्रतियुनिट सात रुपियाँ ८८ पैसा र पिक आवरबाहेकको समयमा प्रतियुनिट दुई रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी प्राधिकरणले टेक एण्ड पेको आधारमा वर्षाको अफ पिक आवरमा प्रतियुनिट पाँच रुपियाँ ७३ पैसामा खरिद गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ । मंसिर १५ देखि जेठ १५ गतेसम्मलाई सुख्या याम मानिएको छ भने वर्षाको बिहान ३ घण्टा र बेलुकाको ३ घण्टालाई मात्र पिक आवर मानिएको छ । ‘नेपालमा विद्युत् उत्पादन कम र माग बढी हुने सुख्या याममा बढी विद्युत् उत्पादन होस् तथा वर्षामा छिमेकी राष्ट्र भारतमा समेत विद्युत् बिक्री गर्न सकियोस् भनेर उक्त महसुलका लागि सिफारिस गरिएको हो ।’ कार्यदलका एक सदस्यले भने, ‘उक्त महसुल नीजि क्षेत्र र विदेशी लगानीकर्ताले पाउनेछन् ।’ नेपाल विद्युत् प्राधिकरणले अहिले रन अफ दर रिभरमा आधारित जलविद्युत आयोजनाहरूबाट उत्पादिन विद्युत्लाई हिउँदमा आठ रुपियाँ ४० पैसा र वर्षामा चार रुपियाँ ८० पैसा दिँदै आएको छ । विद्युत् महसुल निर्धारण आयोगले अफ सिजको महसुल निर्धारण नगरेसम्म उक्त प्रतिवेदन ऊर्जा मन्त्रालयबाट पारित गरेमा प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए) गर्न सक्नेछ ।
कार्यदलका अनुसार, छिमेकी राष्ट्रहरूमा जलाशयुक्त आयोजना निर्माणको क्रममा भइरहेका अभ्यास र अनुभव, आधारलगायतको विश्लेषण तथा नेपालको उर्जा स्थितिलाई अध्ययन गरेर उक्त सिफारिस गरिएको हो । समितिले फर्निस, डिजेल प्लान्ट आदिको आधारमा लाग्ने विद्युत् उत्पादनको लागतलाई समेत विश्लेषण गरेको थियो । अब जलाशययुक्त आयोजनाहरूको विद्युत् खरिद सम्झौता (पिपिए) यहि सिफारिसका आधारमा तोकिनेछ ।
अहिले सात सय ५० मेगावाटको पश्चिमसेती, ६ सय मेगावाटको बूढीगण्डकी, चार सय मेगावाटको नौस्यालगाड, एक सय ४० मेगावाटको माथिल्लो सेती, तीन सय मेगावाटको उत्तरगंगालगायतका जलाशयुक्त आयोजना निर्माणको चरणमा अघि बढेका छन् ।
त्यसैगरी कार्यदलले नवीकरण उर्जाका लागि समेत जलाशययुक्त आयोजना सरहको पीपीए दिन सकिने सिफारिस गरिएको छ । अन्य आधारमा गर्नु पर्दाको हकमा भने त्यसका लागि छिमेकी मुलुकहरूको क्यापिटल लागतलगायतका आधार बनाइ छुट्टै कार्यदल बनाएर निर्धारण गर्न समेत भनेको छ । अधिकारी संयोजक रहेको कार्यदलमा विभागबाट मधु भेटुवाल र सुवर्ण श्रेष्ठ, प्राधिकरणको तर्फबाट शेरसिंह भाट र अनिलराज भण्डारी, मन्त्रालयको तर्फबाट श्यामकिशोर यादव र विद्युत् महसुल निर्धारण आयोगबाट नूतन शर्मा तथा आमन्त्रित सदस्यका रूपमा मनदेवी श्रेष्ठ पनि थिए ।

Wednesday, February 6, 2013

माथिल्लो तामाकोसीको सेयर निष्काशन

-सौर्य समाचार

काठमाडौं, २४ माघ । स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर निष्काशन हुने भएको छ । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रो लिमिटेडको सेयर निष्काशन तथा बिक्रीप्रबन्ध सेवाका लागि नागरिक लगानी कोषसँग सम्झौता भएपछि आयोजनाको सेयर निष्काशन हुने भएको हो ।
सेयर निष्काशनका लागि मंगलबार आयोजनाका निमित्त प्रमुख विज्ञान श्रेष्ठ र नागरिक लगानी कोषका कार्यकारी प्रमुख ऋषिराज गौतमबीच सम्झौता भयो । सम्झौताअनुसार चालु आर्थिक वर्ष ०६९/७० भित्रै पहिलो चरणमा ३ अर्ब ६० करोड ६ लाख रुपियाँबराबरको सेयर निष्काशन गरिनेछ । जसअनुसार कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका लागि १७.२८ प्रतिशत, दोलखावासी तथा कम्पनीका लागि १० प्रतिशत तथा प्राधिकरण र कर्जाप्रवाह गर्ने संस्थाका कर्मचारीहरूलाई ६.७२ प्रतिशत सेयर निष्काशन गरिनेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख रुपियाँबराबरको सेयर निष्काशन गरिनेछ । आगामी जेठसम्म पहिलो चरणको सेयर निष्काशन गरिसक्ने तामाकोसी आयोजनाले जनाएको छ ।
३५ अर्ब २९ करोड रुपियाँमध्ये ३० प्रतिशत रकम सेयर पुँजीबाट र ७० प्रतिशत ऋणबाट बनाउन लागिएको आयोजनामा कर्मचारी सञ्चय कोषको १० अर्ब ऋण र डिबेन्चर दुई अर्ब, नेपाल टेलिकमको ६ अर्ब, राष्ट्रिय बिमा संस्थानको २ अर्ब, नागरिक लगानी कोषको २ अर्ब तथा नपुग ११ अर्ब ८ करोड रुपियाँ सरकारको ऋण लगानी हुनेछ । त्यसैगरी, सेयर पुँजीतर्फ प्राधिकरणको ४१ प्रतिशत, टेलिकमको ६ प्रतिशत, संस्थान र कोषको २/२ प्रतिशत, दोलखावासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत तथा बाँकी सञ्चयकोषका सञ्चयकर्ता, कर्जा प्रवाह गर्ने संस्था तथा कम्पनी र विद्युत् प्राधिकरणका कर्मचारीहरूको सेयर रहनेछ । २०६७ साल मंसिर २१ गते ऋणसम्झौतामा कम्पनीको सेयर निष्काशन तथा बिक्रीप्रबन्धको कार्य कोषलाई दिने सहमति भएको थियो ।
०७१ सालको चैत्रसम्म कार्यसम्पन्न गरी ०७२ जेठदेखि पहिलो युनिटबाट र उक्त वर्षभित्र ६ युनिटमै विद्युत् उत्पादन गरिसक्ने लक्ष्य छ । आयोजनाको १६ किलोमिटर सुरुङमध्ये करिब ८ किलोमिटर सम्पन्न भइसकेको छ । १० अर्ब ५० करोड रुपियाँ खर्च भइसकेको आयोजनाको अहिलेसम्म करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

सोलारको अध्ययन गर्न मात्र दिइने

-सौर्य समाचार

काठमाडौं, २४ माघ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकले चिनियाँ कम्पनीलाई ३० सोलारको सम्भाव्यता अध्ययन गर्न मात्र दिइने निर्णय गरेको छ ।
गत असोजको अन्तिम साता सोलारबाट ३० मेगावाट विद्युत् उत्पादन गर्ने उद्देश्यसहित प्राधिकरण र चीनको एक कम्पनीबीच सम्झौता भए पनि प्राधिकरण बैठकले अध्ययन गर्न मात्र दिइने निर्णय गरेको हो । मंगलबार भएको बैठकमा प्राधिकरण र चीनको कम्पनी हुनान सोलार इनर्जी टेक्नोलोजी लिमिटेडबीच संयुक्त विकास सम्झौता (जिडिए) गर्न प्रस्ताव गरेकोमा प्राधिकरणले तीन महिनाका लागि अध्ययन मात्र गर्न दिने निर्णय गरेको प्राधिकरण स्रोतले जानकारी दियो । स्रोतका अनुसार प्रस्तावमा निर्माण, ठाउँको छनोटलगायत बारे उल्लेख थियो तर बैठकले तीन महिनाभित्र सम्भाव्यता अध्ययन गर्न मात्र दिने निर्णय गरेको हो । ऊर्जा सचिव हरिराम कोइरालाको दबाबमा प्राधिकरण केही पदाधिकारीको विरोध हुँदाहुँदै तत्कालीन अवस्थामा प्राधिकरण र उक्त कम्पनीबीच सम्झौता भएको थियो । उनीहरूले प्राधिकरणको तालिम केन्द्र रहेको खरिपाटीलगायतको ठाउँ उपलब्ध गराउन प्रस्ताव गरिएकोमा त्यसलाई अस्वीकृत गर्दै थप सम्भाव्यता अध्ययन मात्र गर्न दिने निर्णय गरिएको हो ।
सोलार पावर स्टेसन निर्माण गर्ने उद्देश्यले भएको असोज अन्तिम साता भएको सम्झौतामा प्राधिकरणको तर्फबाट कायममुकाम निर्देशक महेन्द्रलाल श्रेष्ठ र कम्पनीको तर्फबाट ज्याओ मिङले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार चिनियाँ कम्पनीले चार महिनाभित्र सोलार आयोजनाको सम्भाव्यता अध्ययन सक्ने उल्लेख भए पनि बल्ल जिडिए प्रस्तावमा सम्भाव्यता अध्ययन गर्न मात्र दिने निर्णय गरिएको हो । ३० महिनाभित्र सोलार आयोजना नै बनाउने उल्लेख भए पनि सम्भाव्यता अध्ययन गर्न मात्र दिइने भएपछि कम्पनीले आयोजना अघि बढाउने/नबढाउनेबारे अन्योल छ । ‘सम्झौता र त्यसपछि आएको जिडिएमा केही बदमासी देखिएकाले उही कम्पनीलाई नै बनाउन दिनुभन्दा सम्भाव्यता अध्ययन मात्र दिने निर्णय भएको हो,’ प्राधिकरण स्रोतले भन्यो । सम्झौताका बेला प्रारम्भिक रूपमा ९२ प्रतिशत चिनियाँ कम्पनी र ८ प्रतिशत प्राधिकरणले हाल्ने दुवै पक्षबीचमा छलफल भएको थियो ।
त्यसैगरी, प्राधिकरण बैठकले ८७ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन चिनियाँ कम्पनीलाई ठेक्का दिने तथा त्यसका लागि चिनियाँ कम्पनी टिबिइएले ऋण लगानी जुटाउनेबारेको प्रस्तावसमेत पुनर्विचार गर्ने र थप छलफल गर्ने निर्णय गरेको छ । उक्त प्रस्ताव बैठकमा राखेपछि मुख्यसचिव एवं प्राधिकरण अध्यक्ष लीलामणि पौडेलसहित बहुमत सञ्चालक सदस्यले ठेक्का दिन नहुने बताएका थिए । उक्त निर्णय फिर्ता लिनुपर्ने माग उनीहरूको थियो । चिनियाँ कम्पनीलाई इपिसी मोडेलमा दिने प्रस्ताव अघि बढाए पनि त्यसलाई समेत उनीहरूले अस्वीकार गरेका थिए ।

Tuesday, February 5, 2013

राहुघाट समस्या समाधान गर्न समिति

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको निर्माणमा समस्या देखिएपछि समाधानका लागि समिति गठन गरिएको छ ।
प्राधिकरणको सोमबार बसेको सञ्चालक समिति बैठकले सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा समिति गठन गरिएको हो । एक्जिम बैंकको सहयोगमा प्राधिकरणले बनाउन लागेको उक्त आयोजनाको सिभिल ठेकेदार कम्पनीले २० महिनाअघि भएको सम्झौताअनुसार गर्न नसक्दै भन्दै थप ५० प्रतिशत रकम वृद्धि गर्नुपर्ने माग गरेपछि आयोजना समस्यामा पर्दै आएको छ । भारतीय ठेकेदार कम्पनी आइभिआरसिएल लिमिटेडको उक्त मागबारे प्राधिकरण बोर्ड बैठकमा प्रस्ताव लाने प्रतिबद्धतापछि आयोजनाको काम सुचारु भएको थियो । कम्पनीले प्राधिकरणलाई पत्र लेख्दै ५० प्रतिशत थप गर्न माग गरेको थियो । लिमिटेडसँग ४ नोभेम्बर २०१० सम्झौता भएकोमा एक्जिम बैंकले भारतीय परामर्शदाताका रूपमा वाप्कोस लिमिटेडसँग २० फेब्रुअरी २०१२ मा ठेक्का सम्झौता कार्यावन्यनको स्वीकृतिमा ढिलाइ गरेको थियो । गत फागुनमा वाप्कोससँग सम्झौता भए पनि एक्जिम बैंकले गत भदौमा मात्र सम्झौता कार्यावन्यनको स्वीकृति दिएको थियो । स्वीकृतिपछि थप अध्ययन गरेर परामर्शदाताले वर्क अडर दिइसकेको छ । तर, विवादका कारणले समस्या देखिँदै आएको छ ।
०६८ साल फागुन महिनामा सुरु गरेर ४२ महिनाभित्र सिध्याउने लक्ष्य राखिएको आयोजना बल्ल सुरु भएको छ । उक्त आयोजना सुरु हुन नसक्दा आयोजनाको कार्यतालिका प्रभावित भइसकेको छ । ०७२ सालको जेठभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिए पनि आयोजना सुरु नहुँदै विवादका कारणले ढिलाइ भएपछि आयोजनाको लागत र समय दुवै बढ्ने निश्चित भएको छ । (सौस)

तामाकोसीमाथि तगारो

-भीम गौतम

Bhim-Gautamस्वदेशी लगानीमै निर्माण भइरहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नेपालकै गौरवपूर्ण आयोजना हो । एक सय एक वर्षको इतिहासमा स्वदेशी लगानीमै निर्माण भइरहेको ठूलो आयोजनाको नाताले यो आयोजनाको सफलता र असफलताको पछाडि भविष्यका जलविद्युत् लगानी जोडिएको छ । कुनै जलविद्युत् आयोजना बनाउनका लागि विदेशी ऋण र लगानीकर्ताको मुख ताक्नुपर्छ भन्ने स्थापित मान्यतालाई विस्थापित गर्नका लागि माथिल्लो तामाकोसी समयमै बन्न सकेमा नेपालका लागि ठूलो उदाहरण बन्न सक्छ । एक सय ४४ मेगावाटको कालीगण्डकी आयोजनाभन्दा ठूलो जलविद्युत् आयोजना नेपालमा नभइरहेको बेला र कुनै पनि जलविद्युत् आयोजना तोकिएको समयमै बन्न नसकिरहेको बेला तोकिएकै समयमा आयोजना बनाउनु आपैँmमा चुनौतीपूर्ण छ । तर, निर्धारित सन् २०१५ को मेभित्रै तामाकोसी आयोजना बन्न सकेमा स्वदेशी लगानीकर्ताहरूमा थप जलविद्युत् आयोजना निर्माणका लागि उत्प्रेरणा जाग्नेछ भने विदेशीसामु नेपाली आपैँmले पनि जलविद्युत् बनाउन सक्छन् भन्ने उदाहरण दिने आयोजना यही माथिल्लो तामाकोसी बन्नेछ । नेपाल विद्युत् प्राधिकरणबाट बनिरहेका अधिकांश आयोजनाको लागत र समय दुवै लम्बिरहेको बेला सार्वजनिक नीति साझेदारी (पिपिपी) मोडेलमा बनिरहेको यो आयोजनाको सफलतासँग सरकार, निजी क्षेत्र, स्थानीय समुदायलगायतको प्रतिष्ठा जोडिएको छ । यो समयमै सम्पन्न गरेर तथा ठेकेदार कम्पनीदेखि परामर्शदाता, लगानीकर्ता, प्राविधिक हुँदै कामदारसम्म नै नेपाली जनशक्ति प्रयोग गरेर अर्को ठूलो आयोजना नेपालले बनाउनुपर्छ । ठूला आयोजनाका लागि विदेशीको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्ने बेला पनि यही हो । कुलेखानी तेस्रो जलविद्युत् आयोजनामा पहिलोका परामर्शदाता संस्था बाहिरिएर नेपाली परामर्शदाताले सन्तोषजनक काम गरिरहेको उदाहरणबाट अब परामर्शदाताको रूपमा विदेशी नै ल्याउनुपर्छ भन्ने भ्रमबाट सरकारी निकाय टाढा हुँदै जान लागेको छ । एक सय वर्षभन्दा लामो इतिहासमा सात सय मेगावाट पनि जलविद्युत् उत्पादन गर्न नसकेको मुलुकको लागि जलविद्युत् उत्पादन बढाएर लाजमर्दो अवस्थाबाट मुक्ति पाउनका लागि ढिलाइ भइरहेको छ ।
अहिले माथिल्लो तामाकोसी आयोजनाको निर्माण कार्य द्रुतगतिमा अघि बढिरहेको छ । प्रगतिको गति पनि सन्तोषजनक छ । नेपालकै लागि नमुना जलविद्युत् आयोजनाको रूपमा लिइने तामाकोसीको प्रगतिबाट नेपालीले शिर झुकाउनुपर्ने अवस्था छैन तर प्रगतिको गतिमा बारम्बार तगारा र अवरोध आउने क्रम भने रोकिएको छैन । पछिल्लो समयमा फेरि तामाकोसीमाथि हस्तक्षेप सुरु भएको छ । प्राधिकरणसहित कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थानका साथै सर्वसाधारणको लगानीमा निर्माण भइरहेको आयोजना प्रवद्र्धक माथिल्लो तामाकोसी कम्पनी स्वायत्त संस्था हो तर कहिले प्राधिकरण बोर्डबाट त कहिले ऊर्जा मन्त्रालयबाट तामाकोसीमाथि अनावश्यक हस्तक्षेप हुने गरेको छ । असुरक्षा, पेट्रोलियम पदार्थको अभावलगायतका समस्या पनि पूर्ण रूपमा अन्त्य भइसकेको छैन । अघिल्लो वर्षको फागुनमा अधिकार क्षेत्र नाघेर तत्कालीन प्राधिकरण बोर्डले मन्त्रालयका तत्कालीन सह–सचिव अर्जुन कार्कीलाई कम्पनी सञ्चालक सदस्य एवं प्राधिकरणका निर्देशक सुनील ढुंगेललाई तामाकोसीको प्रमुख बनाएपछि विवाद लम्बिएको थियो । एक त माथिल्लो तामाकोसीको बोर्डमा प्राधिकरणलगायत यी संस्थाका प्रतिनिधिबाहेक ऊर्जा वा अरू मन्त्रालयका प्रतिनिधि सदस्य बन्न पाउँदैनन् । अर्को कुरा आयोजनाको प्रमुख छान्ने जिम्मा तामाकोसीको बोर्डको हुन्छ । व्यक्ति सक्षम वा असक्षम भन्दा पनि विधि र प्रक्रिया ठूलो कुरा हो । प्राधिकरण बोर्डले विधि र प्रक्रिया मिचेपछि त्यो निर्णय फिर्ता लिन वाध्य भएको थियो । जसको कारण झन्डै तीन महिना आयोजनाको काम द्रुतगतिमा अघि बढ्न सकेको थिएन । पछिल्लो समयमा फेरि ऊर्जा मन्त्रालयले आफ्नो अधिकार क्षेत्र नाघेर त्यही हस्तक्षेप दोहार्‍याएको छ । ऊर्जा मन्त्रालयको तर्फबाट ऊर्जासचिव हरिराम कोइरालाले आफ्नो अधिकार क्षेत्र नाघेर आयोजनाका निमित्त आयोजना प्रमुख विज्ञान श्रेष्ठसँग स्पष्टीकरण लिएका छन् । त्यतिबेला पनि कोइरालाले आफू प्राधिकरण बोर्ड अध्यक्ष हुँदा उनले उक्त निर्णय गराउँदा आयोजनाको काम नै प्रभावित हुन पुगेको थियो । उनले त्यसो गर्नुको पछाडि धेरै रहस्य छन् । जे रहस्य भए पनि हस्तक्षेपको क्रमलाई बढाउँदा त्यसले आयोजनाको कामलाई प्रभावित बनाउने र समयमै आयोजना नबन्ने भने पक्का छ ।
प्राधिकरण ऊर्जा मन्त्रालयको एउटा निकाय भएको र माथिल्लो तामाकोसीमा प्राधिकरणको लगानी रहेको तथा सरकारले माथिल्लो तामाकोसीलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको नाताले त्यसप्रतिको जिम्मेवारी ऊर्जाको पनि छ तर द्रुतगतिमा भइरहेको कामलाई अझ द्रुतगतिमा लैजानका लागि होस्टेमा हैसे गर्ने काम ऊर्जा मन्त्रालयको हो । गौरवको आयोजनालाई गौरवपूर्ण बनाउनका लागि सहयोग गर्नुपर्ने बेलामा हस्तक्षेप गर्न थालेपछि त्यो आयोजना सबैले गर्व गर्ने खालको हुने अवस्थामा रहन्न । माथिल्लो तामाकोसीभित्र केही गलत भएका भए र त्यसको प्रमाण ऊर्जा मन्त्रालयले पाएको भए ऊर्जाले आफ्नो निकाय प्राधिकरणका कार्यकारी निर्देशक तामाकोसी बोर्डको अध्यक्ष भएको नाताले उनीमार्फत स्पष्टीकरणका लागि निर्देशन दिने हो । आयोजना प्रमुख श्रेष्ठसँग माथिल्लो तामाकोसी कम्पनीको सञ्चालक समितिले मात्र स्पष्टीकरण लिन सक्छ । यसमा नगई आयोजना प्रमुखसँग स्पष्टीकरण सोध्ने र मन्त्रालयमा बोलाएर अनावश्यक कर्मचारीहरूलाई तनाव दिने कार्यले आयोजनामा भइरहेको सहज र निर्माणको तीव्रगतिलाई रोक्न सक्छ । अझ प्रधानमन्त्री आपैँmले माथिल्लो तामाकोसी आयोजना सरकारद्वारा घोषित गौरवपूर्ण आयोजना भएकोले कुनै अभाव हुन नदिने र समयमै बनाउनका लागि सबै किसिमको सहजीकरण गर्ने उद्घोष भइरहेको बेला प्रतिबद्धता विपरीत तामाकोसीमाथि माथिल्लो निकाय र तहबाट एकपछि अर्को गरी हस्तक्षेप हुनु र त्यसमा प्रधानमन्त्रीकै वरिपरिका व्यक्तिहरूको संलग्नताको गन्ध आउनुले सुखद सन्देश दिँदैन । माथिल्लो तामाकोसीलाई सबै किसिमका बाधा, अवरोध र हस्तक्षेपबाट मुक्त गर्नुपर्छ । त्यसका लागि प्रधानमन्त्रीदेखि ऊर्जा, प्राधिकरण, तामाकोसी कम्पनी, कर्मचारीलगायतले हस्तक्षेपकारी होइन, सहयोगी भूमिका खेल्नुपर्छ । अनावश्यक हस्तक्षेपलाई आयोजनालाई समयमै बन्न नदिने षडयन्त्रको रूपमा लिन सकिन्छ ।
अर्को कुरा आयोजनाभित्र विकृति र विसंगति भए, गलत क्रियाकलाप गरेर आयोजनालाई असर पुर्‍याउने कार्यहरू भइरहेको भए, त्यसबारे ऊर्जाले प्राधिकरणका कार्यकारी निर्देशकमार्फत निर्देशन वा आवश्यक जानकारी लिएर त्यसको आधारमा प्रक्रिया विधिवत रूपमै अघि बढाउनुपर्छ । स्वदेशी लगानीमा बनेको आयोजनाको नाताले माथिल्लो तामाकोसी सबैभन्दा पारदर्शी तथा नियम, कानुन र विधिमा चलेको आयोजनाको रूपमा विकास गरिनुपर्छ, नकि कसैको स्वार्थ पूर्ति गर्ने थलोका रूपमा । तामाकोसीमा अनियमितता, भ्रष्टाचार हुनु भनेको राष्ट्रिय गौरवपूर्ण आयोजनाको वेइज्जतीको कुरा हो । कर्मचारी, व्यवस्थापनदेखि कम्पनीसम्म भ्रष्टाचारको जालोबाट टाढा रहनुपर्छ । नेपालका लागि नमूना भएको नाताले आयोजनाको विकासक्रमदेखि अपनाइएको मोडल भविष्यका लागि उपयोग योग्य बन्ने भएकोले यो आयोजना निर्माण नेपालको जलस्रोत इतिहासमा महत्त्वपूर्ण हुने निश्चित छ । अहिलेसम्म विदेशी परामर्शदाता र ठेकेदार ल्याएर आयोजना निर्माण भइरहेकोले प्रति मेगावाट बराबर कति पर्छ भन्ने एकिन तथ्यांक आउन सकेको छैन । प्रति मेगावाट १५ करोड लाग्ने अनुमान मात्र गरिन्छ । माथिल्लो तामाकोसी समयमै बन्न सकेमा एउटा आयोजना निर्माणका लागि कति रकम पर्ने रहेछ भनेर यथार्थ विवरण पनि सार्वजनिक हुने निश्चित छ । जहाँसम्म माथिल्लो तामाकोसीमा व्यवस्थापन समूह राख्ने कुरा छ, यसमा भने गम्भीर हुनुपर्ने आवश्यकता छ । तामाकोसीको प्रगति प्रतिशत ५० पुग्न लागिसकेको र अहिलेसम्म व्यवस्थापन टिमविना नै द्रुतगतिमा अघि बढिरहेकोले करोडाँै रुपियाँमा फेरि व्यवस्थापन टिम आवश्यक छ कि छैन ? समीक्षा हुनुपर्छ ।

त्रिशूली–३ ‘ए’ को क्षमतावृद्धि प्राधिकरण बोर्डको जिम्मामा

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको क्षमता बढाउने जिम्मा प्राधिकरण बोर्डमा आइपुगेको छ । गत १९ पुसमा मन्त्रिपरिषद्ले क्षमता बढाउने सैद्धान्तिक सहमति दिएकोमा त्यसविरुद्ध २३ पुसमा सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश दिनुपर्ने फैसला गरेपछि अब बढाउने जिम्मा प्राधिकरणमै आइपुगेको हो ।
लामो समयदेखि आयोजनाको क्षमता बढाउने/नबढाउने विवाद रहँदै आएकोमा आयोजनाको क्षमता ६० मेगावाटबाट ९० मेगावाट पुर्‍याउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको थियो तर प्राधिकरण बोर्ड बैठकले निर्णय गरिसकेको छैन । बढाउने निर्णय प्राधिकरण बोर्डबाट कार्यान्वयन नभइसकेको जनाउँदै अदालतले अधिवक्ता लोकनाथ चापागाईंले रिट हालेका थिए ।
सिभिल र इलेक्ट्रिमेकानिकलको कामको ठेक्का लिएको चाइना गेजुवा ग्रुप अफ कम्पनीले क्षमता बढाउँदा नेपालले ठूलो फाइदा लिन सक्ने भन्दै क्षमता बढाउन लबिङ गरेपछि मन्त्रिपरिषद्ले उक्त सहमति दिएको थियो । प्राधिकरण अधिकारीका अनुसार प्राधिकरण बोर्डले पारित नगरी क्षमता वृद्धि असम्भव छ । मन्त्रिपरिषद्ले क्षमता बढाउन सैद्धान्तिक सहमति दिएपछि प्राधिकरणका पाँच कर्मचारी संगठनले क्षमता बढाउन नहुने भन्दै आन्दोलन गरिरहेका छन् । प्राधिकरणका केही अध्ययनले समेत आयोजनाको क्षमता बढाउँदा उपयुक्त हुने प्रतिवेदन दिएको थियो भने केही अध्ययनले अहिलेको अवस्थामा क्षमता बढाउन नहुने प्रतिवेदन दिएका थिए ।

बिजोग अवस्थामा प्राधिकरणको केन्द्रीय वर्कसप

-भीम गौतम

हैटौंडा, २३ माघ । नेपाल विद्युत् प्राधिकरणको बेवास्ताका कारण प्राधिकरणको केन्द्रीय वर्कसप हेटौंडा विजोग अवस्थामा पुगेको छ ।
जनशक्ति र आधुनिक उपकरणको अभावमा केन्द्रीय वर्कसप बिजोग अवस्थामा पुगेको हो । अधिकांश उपकरण बिग्रने अवस्थामा पुगेपछि आधुनिकीकरण गर्नेतर्फ प्राधिकरण गम्भीर बनेको छैन । वर्कसपका अनुसार ट्रान्सफर्मर, पावर ट्रान्सफर्मरलगायतको मर्मतका साथै सामान्य परीक्षण मात्र हुने उक्त वर्कसपलाई आधुनिकीकरण गर्नेतर्फ प्राधिकरणले चासो दिएको छैन भने २६ जना दक्ष र अदक्ष प्राविधिक चाहिने वर्कसपमा जम्मा ३ जना मात्र प्राविधिक जनशक्ति छन् । ज्यालादारीमा वर्कसपले १२ जना अन्य सहयोगीलाई राखेर मर्मत गर्नेलाई अघि बढाएको छ । वर्कसपका अनुसार शम्भु बर्तौला, दर्जबहादुर पाख्रिन र वीरबहादुर थापा दरबन्दीमा वर्कसपमा काम गर्छन् । दक्ष जनशक्तिको अभावमा कतिपय उपकरण उपयोगमा नआएर खिया लागेर बिग्रने अवस्थामा पुगेका छन् । ‘जनशक्तिदेखि आधुनिक उपकरणहरूको अभाव छ, अहिले त केन्द्रीय वर्कसपको भौतिक पूर्वाधार भएर पनि बिजोग अवस्थामा चलाउनुपर्ने अवस्था छ,’ वर्कसप प्रमुख नरहरि ढकालले थपे, ‘चार बिघा जग्गा छ तर क्षमताअनुसार उपयोग हुन सकेको छैन ।’
प्राधिकरणका विभिन्न शाखामार्फत ट्रान्सफर्मरलगायत विद्युत् उपकरण मर्मतका लागि करोडौँ खर्च हुने गरेको छ भने २०६४ सालपछि ल्याएका अर्बौं रुपियाँका करिब ५ हजार ट्रान्सफर्मरहरू गुणस्तरहीन भएपछि त्यसबापत् नै प्राधिकरणले बर्सेनि दुई अर्बभन्दा बढीको घाटा बेहोरिएको छ । केन्द्रीय वर्कसपमा विदेशबाट ल्याएका ट्रान्सफर्मरहरूको परीक्षण गर्ने क्षमता केन्द्रीय वर्कसपसँग छैन । दुई वर्षअघि तत्कालीन प्राधिकरण सञ्चालक सदस्य मुकेश काफ्ले ट्रान्सफर्मरबारे दिएको प्रतिवेदनमा केन्द्रीय वर्कसपलाई ट्रान्सफर्मरसमेत परीक्षण गर्ने सुविधा सम्पन्न र आधुनिक वर्कसपका रूपमा विकास गर्नका लागि प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको थियो तर त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन ।
०६७ सालको फागुनमै उक्त निर्देशन दिइए पनि प्राधिकरणले अहिले बल्ल केही उपकरणहरू किन्नका लागि टेन्डर डकुमेन्ट बनाइरहेको प्राधिकरणले जनाएको छ । यही आर्थिक वर्षमा ट्रान्सफर्मर टेस्टिङ ल्याब स्थापनाका लागि प्राधिकरणले ५ करोड छुट्याए पनि ७ महिना बितिसक्दा पनि टेन्डर डकुमेन्टसमेत तयार हुन सकेको छैन । डकुमेन्ट बनाउनुपर्ने शाखामा रहेका राष्ट्रभूषण प्रधानले केही काम गरे पनि उनी गएपछि आएका सन्तोष झाले डकुमेन्ट बनाउन सकेका छैनन् । उक्त शाखामा इलेक्ट्रिक इन्जिनियरको व्यवस्था गर्नुपर्ने भए पनि सोर्सफोर्सको आधारमा मेकानिकल इन्जिनियर झालाई पठाइएपछि डकुमेन्ट तयार हुन नसकेको र पहिला टेन्डर डकुमेन्ट बनाउने कार्यको प्रगतिसमेत प्रधानले नदिँदा समस्या परेको प्राधिकरण स्रोतले बतायो । गत वर्षभरिमा ४ सय १४ ट्रान्सफर्मरहरू मर्मत गरेको केन्द्रीय वर्कसपले साउनपछि ६० वटा ट्रान्सफर्मर मर्मत गरिसकेको छ । ‘पूर्णरूपमा जनशक्ति हुने हो भने केन्द्रीय वर्कसपले देशभरिबाट आएका ट्रान्सफर्मरहरू मर्मत गर्नसक्छ,’ प्रमुख ढकालले भने, ‘धेरै समयदेखि आवश्यकता राखेर प्राधिकरणसँग माग भने गरिसकेका छौँ ।’
केन्द्रीय वर्कसपमा विराटनगर, हेटौंडा, बुटबललगायत क्षेत्रबाट मात्र मर्मतका लागि ट्रान्सफर्मरलगायत आउने गरेका छन् । हेटौंडाबाहेक काठमाडौंको लैनचौरमा वर्कसप छ । लैनचौरमा आवश्यक जनशक्ति भए पनि केन्द्रीय वर्कसपमा भने जनशक्तिको अभाव नै छ । पाँच विकास क्षेत्रमा एक/एक वर्कसप स्थापना गर्नुपर्ने आवश्यकता भए पनि केन्द्रीय वर्कसपलाई नै व्यवस्थित गर्न नसकेको प्राधिकरणले अन्य क्षेत्रमा खोल्नेबारे चासो दिएको छैन । यही कारण पूर्णरूपमा बिग्रेपछि मर्मतका लागि आउने कारणले प्राधिकरणले करोडौँ घाटा व्यहोरिरहे पनि पाँच विकास क्षेत्रमा राख्नसके पूर्णरूपमा नबिग्रँदै मर्मत गर्न सक्ने अवस्था रहनसक्ने वर्कसपले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले केन्द्रीय वर्कसपलाई सुविधा सम्पन्न बनाउन लागिएको जानकारी दिए । ‘केन्द्रीय वर्कसपलाई व्यवस्थित बनाउन प्राधिकरण अघि बढेको छ, त्यसलाई बनाउँछौँ,’ उनले भने ।

Sunday, February 3, 2013

बूढीगण्डकीको परामर्शदाता कार्यालय राजधानीमा

-सौर्य समाचार
काठमाडौं, २१ माघ । राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको ६ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना परामर्शदाताले काठमाडांैमा कार्यालय खोलेको छ । बूढीगण्डकी आयोजनाको विस्तृत प्रतिवेदन (डिपिआर) का लागि नेपाल विद्युत् प्राधिकरणले छनोट गरेको परामर्शदाता ट्राकबेल इन्जिनियरिङ फ्रान्सले आफ्नो कार्यालय काठमाडांैस्थित थापाथलीमा खोलेको हो ।
आयोजनाका अनुसार परामर्शदाताले पेरिसको आफ्नो केन्द्रीय कार्यालयमा बूढीगण्डकीको छुट्टै युनिट खोल्नुका साथै आयोजनास्थल धादिङ र गोर्खा जिल्लाको दोसाँधमा समेत साइट अफिस खोल्न लागेको छ । डिपिआर सुरु गर्ने उद्देश्यसका साथ परामर्शदाताको टोली फेब्रुअरीको दोस्रो साता नेपाल आउन लागेको आयोजनाका निर्देशक लीलानाथ भट्टराईले जानकारी दिए ।
प्राधिकरण र परामर्शदाताबीच भएको परामर्श सेवा खरिद बिक्रीसम्बन्धी सम्झौतापत्र अनुसार गत जनवरी १५ गतेदेखि डिपिआर निर्माण सुरु हुनुपर्ने भए पनि परामर्शदाताले बैंक ग्यारेन्टी नल्याएकाले अग्रिम भुक्तानी दिन प्राधिकरणले सकेको छैन भने विगतमा अर्थ मन्त्रालयले अग्रिम भुक्तानीबापत दिनुपर्ने १२ करोड ढिलाइ गरेपछि परामर्शदातालाई पत्र लेख्न पनि ढिलाइ भएको छ । आयोजनाले छिट्टै अग्रिम भुक्तानी दिएर डिपिआर सुरु गर्ने जनाएको छ ।
सम्झौतापत्रमा जुलाई ०१५ भित्र अर्थात् ३० महिनाभित्र डिपिआर सम्पन्न गर्ने उल्लेख भए पनि समयमै सुरु नहुँदा आयोजनाको कार्यतालिका प्रभावित भइसकेको छ । आयोजनाको परामर्शदाता छनोटका लागि मात्र झन्डै १५ महिना लागेको थियो ।
परामर्शदातासँग भएको सम्झौताअनुसार आयोजनाको स्थलगत अन्वेषण सम्पन्न गरी सम्भाव्यता अध्ययन, वातावरणीय असर मूल्यांकन, सामाजिक अध्ययन र पुन:स्थापनको कार्य योजना र विस्तृत इन्जिनियरिङ डिजाइनसहित पूर्ण टेन्डर डकुमेन्ट तयार हुनेछ । जलाशययुक्त आयोजनाको अभावमा लोडसेडिङको समस्या बढिरहेको बेला काठमाडौंबाट ६० किलोमिटर नजिक पर्दछ यो आयोजना । करिब एक खर्बको लागतमा निर्माण हुने उक्त आयोजना सन् ०२० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Saturday, February 2, 2013

ऊर्जासचिवद्वारा तामाकोसीमा हस्तक्षेप प्रयास

-भीम गौतम
काठमाडौ, १९ माघ । नेपालकै गौरवपूर्ण आयोजनाका रूपमा लिइने माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ऊर्जा मन्त्रालयले फेरि हस्तक्षेप सुरु गरेको छ । ऊर्जासचिव हरिराम कोइरालाले आºनो अधिकारक्षेत्र नाघेर आयोजनाका निमित्त आयोजना प्रमुख विज्ञान श्रेष्ठसँग स्पष्टीकरण सोध्नुका साथै आयोजनामा अनावश्यक हस्तक्षेप गरेका हुन् ।
यसअघि गत फागुनमा पनि कोइरालाले प्राधिकरणको बोर्ड बैठकमार्फत ऊर्जा मन्त्रालयका तत्कालीन सह–सचिव अर्जुन कार्कीलाई सञ्चालक सदस्य र प्राधिकरणका निर्देशक सुनील ढुंगेललाई आयोजना प्रमुख बनाएपछि विवादका कारण झन्डै तीन महिना आयोजनाको काम प्रभावित भएको थियो । पछि प्राधिकरणले निर्णय फिर्ता लिएपछि आयोजनाको काम दु्रतगतिमा अघि बढिरहेको छ ।
स्वदेशी लगानीमा निर्माण भएको नेपालकै पहिलो र ठूलो ४५६ मेगावाटको उक्त आयोजना निर्वाध अघि बढिरहेका बेला ऊर्जासचिव कोइरालाले आºनो स्वार्थपूर्तिका लागि हस्तक्षेप सुरु गरेका हुन् । यसमा प्रधानमन्त्रीपत्नी हिसिला यमीको समेत स्वार्थ जोडिएको ऊर्जा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
‘आयोजना प्रमुख परिवर्तन गर्नुका साथै आयोजनालाई आºनो तजबिजमा चलाउनका लागि ऊर्जासचिव सक्रिय भएका छन्,’ ऊर्जा स्रोतले भन्यो, ‘प्राधिकरणका केही व्यक्तिको उक्साहटमा र आºनो नियन्त्रणभित्र आयोजनाको काम अघि बढाउन यमीको स्वार्थमा उनी सक्रिय भएका हुन् ।’
आयोजनामा अनावश्यक हस्तक्षेप बढ्न थालेपछि केही दिनअघि आयोजनासम्बद्ध एक कर्मचारीले फेसबुकमा हस्तक्षेपको विरोध जनाएका थिए । उनले फेसबुकमा लेखेका थिए, ‘नेपालको ब्युरोक्रेसीलाई प्रोजेक्ट होइन, पैसा चाहिएको छ, त्यो तामाकोसीबाट सम्भव छैन ।’ पछि तीव्र दबाबपछि उनले सो स्ट्याटस हटाए ।
बिहीबार मन्त्रालयमा भएको समीक्षामा ऊर्जासचिव कोइरालाले नियमित प्रगति प्रतिवेदन नदिएको, क्लेमलगायतबारे समेत मन्त्रालयमा जानकारी नदिएको भन्दै आयोजना प्रमुखलगायत कर्मचारीलाई थर्काएका थिए । समीक्षा बैठकमा सहभागीका अनुसार त्यसपछि अपर तामाकोसी कम्पनीका सञ्चालक सदस्यसमेत रहेका कर्मचारी सञ्चय कोषका प्रमुख कृष्ण आचार्यले ऊर्जासचिव कोइरालालाई कम्पनी स्वायत्त भएकाले ऊर्जा मन्त्रालय वा प्राधिकरणको युनिट नठान्न र अनावश्यक हस्तक्षेप नगर्न भनेका थिए । पहिला विरोधमा उत्रिएका सचिव कोइरालाले अन्त्यमा यु–टर्न हुँदै तामाकोसीको प्रगति सन्तोषजनक रहेको बताए ।
आयोजनाका अनुसार प्रत्येक साता आयोजनाको प्रगति प्रतिवेदन ऊर्जा मन्त्रालयमा बुझाउने गरिएको छ । ‘ऊर्जा सचिवले फेरि आयोजनामा हस्तक्षेपको पुनरावृत्ति गर्न खोजिरहेका छन्, यो आयोजनालाई समयमै बन्न नदिने षड्यन्त्र मात्र हो,’ स्रोतले भन्यो ।
आयोजना स्रोतका अनुसार उनले फेरि आयोजना प्रमुख परिवर्तन गर्नुका साथै मन्त्रालयको नियन्त्रण रहनेगरी निर्देशन र हस्तक्षेप गर्न खोजेका छन् । ‘ऊर्जासचिवले आयोजनाका निमित्त प्रमुखलाई स्पष्टीकरण सोध्ने अधिकार छैन, स्वायत्त कम्पनी भएकाले माथिल्लो तामाकोसीका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले मात्र स्पष्टीकरण सोध्न सक्छन्,’ आयोजना स्रोतले भन्यो ।
आयोजना स्रोतका अनुसार सचिवले माघ ४ र ८ गते दुईपटक ऊर्जा मन्त्रालयका शाखा अधिकृत पार्वती अर्यालमार्फत स्पष्टीकरण सोध्न लगाएका थिए । सन् २०१५ को मेभित्र सिध्याउने लक्ष्य राखिएको आयोजनाको १६ किलोमिटर सुरुङमध्ये करिब ८ किलोमिटर सम्पन्न भइसकेको छ । आयोजनामा प्रत्येक दिन २५ मिटर सुरुङ खन्ने कार्य भइरहेको छ । पहिलो चौमासिकमा ९३ प्रतिशत मात्र हासिल गरेको आयोजनाको अहिलेको प्रगति ९८ प्रतिशत छ । २०१४ को डिसेम्बरभित्र सुरुङ निर्माण सक्ने आयोजनाको लक्ष्य रहेको निमित्त आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । आयोजनामा सञ्चय कोषको १० अर्ब, टेलिकमले ६ अर्ब तथा लगानी कोष र बिमा संस्थानले २/२ अर्ब लगानी गर्दै छन् भने बाँकी ११ अर्ब ८ करोड प्राधिकरणले लगानी गर्दै छ ।

६ सय मेगावाटको विद्युत् लाइसेन्स खारेज

-भीम गौतम
काठमाडौं, १९ माघ । ऊर्जा मन्त्रालयले दश दिनभित्र ६ सय १० मेगावाटका जलविद्युत् आयोजनाको लाइसेन्स
खारेज गरेको छ । ऊर्जा सचिव हरिराम कोइरालाले ती लाइसेन्स खारेज गर्ने निर्णय गरेका हुन् ।
लाइसेन्स नवीकरण शुल्क र विद्युत् विकास विभागले मागेको विवरण समयभित्र नबुझाएको भन्दै १४ वटा जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गरिएको विद्युत् विकास विभागका वरिष्ठ इन्जिनियर गोकर्णराज पन्थले जानकारी दिए ।
पन्थका अनुसार माघ ९ देखि बिहीबारसम्म ६ सय ११ मेगावाट क्षमताका विद्युत् आयोजनाको लाइसेन्स खारेज गरिएको छ । ३० मेगावाटको सिन्धुपाल्चोकको न्यासिम खोला, ३.२ मेगावाटको काभ्रेको दाप्चा रोसी, ३ मेगावाटको इलामको पुवा झोत्रेलगायत केही आयोजनाबाहेक अधिकांश बढेको शुल्क नतिरेको कारणले खारेजीमा परेका हुन् । यी आयोजनालाई विभागले ३५ दिने सूचना जारी गरी प्रगति विवरण मागेको थियो तर कुनैले पनि बुझाएनन् ।
२१० मेगावाटको फलकोट कर्णाली, १२१ मेगावाटको डोल्पाको ठूलीभेरी, लमजुङको ८६ मेगावाटको मादी सिटी र ५० मेगावाटको मनाङको नारखोला जलविद्युत् आयोजनाको लाइसेन्स पनि मन्त्रालयले खारेज गरेको छ । विभागका अनुसार कास्कीको ३८ मेगावाटको माथिल्लो मादी शून्य, ८.६ मेगावाटको गोर्खाको चेपेखोला, ५ मेगावाटको सोलुखुम्बुको सिसा खोला, २० मेगावाटको तल्लो चमेलिया, ४ मेगावाटको माथिल्लो मोलुङ, ३.६ मेगावाटको मादी खोला र ३० मेगावाटको ठूलीभेरी जलविद्युत् आयोजनाको अनुमतिपत्र पनि मन्त्रालयले खारेज गरेको हो । न्यासिम खोला र दाप्चा रोसीको विद्युत् अनुमतिपत्रको दरखास्त खारेज गरिए पनि तीबाहेकका आयोजनाको उत्पादनको सर्भेक्षण अनुमतिपत्र खारेज गरिएको हो ।
बढेको शुल्क तिरेर र समयममै विवरण बुझाएर नवीकरण गर्नका लागि पटकपटक सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेकाले लाइसेन्स खारेज गरिएको विभागका महानिर्देशक अनुपकुमार उपाध्यायले जानकारी दिए । ‘पटकपटक विभागले मागेको विवरण दिन र शुल्क बढेको तिरेर नवीकरण गर्न सूचना निकाल्दा पनि नआउने आयोजनाको लाइसेन्स खारेज गरिएको हो,’ उपाध्यायले भने ।
निजी क्षेत्रका प्रवद्र्धकहरुले आफ्नो झोला खोलामा परेको र सरकारले खोला झोलामा राखेर ओगटेको विवाद चलिरहेका बेला विभागले लाइसेन्स खारेजीलाई तीव्रता दिएको हो ।
खारेजीमा परेका केही ठूला आयोजना
नाम क्षमता (मेगावाट)
फुलकोट कर्णाली २१०
ठूली भेरी १२१
न्यासिम खोला ३०
ठूली भेरी ३०
तल्लो चमेलिया २०
नारखोला ५०
मादीसिटी ८६