Monday, September 25, 2017

बूढीगण्डकी सम्झौता खारेज गर्न संसद्को निर्देशन

    भीम गौतम   http://www.karobardaily.com/news/82589 + -

समाचार प्रतिनिधि तस्विर

स्वदेशी लगानीमा निर्माण गर्न सकिने निष्कर्ष

काठमाडौः संसद्को कृषि तथा जलस्रोत र अर्थ समितिको सोमबार बसेको संयुक्त बैठकले १२ सय मेगावाटको बूढीगण्डकी आयोजना अघि बढाउन चिनियाँ कम्पनीसँग सम्झौता तत्काल खारेज गर्न निर्देशन दिएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजनाबारे मन्त्रिपरिषद् र ऊर्जा मन्त्रालयबाट भएका निर्णय प्रचलित कानुनको विरुद्धमा रहेको र बिनाप्रतिस्पर्धा दिइएको भन्दै सम्झौता खारेज गर्न निर्देशन दिएको हो । 
२०७४ जेठ ९ मा तत्कालीन मन्त्रिपरिषद्ले चिनियाँ कम्पनी चाइना गेजुवा गु्रप कर्पोरेसन (सीजीजीसी)सँग इन्जिनियरिङ, खरिद, निर्माण र लगानी (इपीसीएफ) मोडलमा अघि बढाउन सैद्धान्तिक स्वीकृति दिएको थियो भने २० जेठमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा आफैंले हस्ताक्षर गरेर चिनियाँ कम्पनीसँग सम्झौता गरेका थिए । साउनको ३१ मा उक्त सम्झौतालाई मन्त्रिपरिषद्ले समेत अनुमोदन गरिसकेको छ । 
सम्झौताको सर्वत्र आलोचना भएपछि संसदको कृषि तथा जलस्रोत, अर्थ र सार्वजनिक लेखा समितिले छानबिन गरिरहेकोमा सोमबार कृषि र अर्थ समितिले खारेज गर्न निर्देशन दिएको हो ।
कृषि समितिका सभापति मोहन बरालले  बूढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धमा मन्त्रिपरिषद् र ऊर्जा मन्त्रालयबाट भएका निर्णय नेपालको प्रचलित नियम कानुनसम्मत नदेखिएको, सार्वजनिक खरिद ऐनलाई उल्लघन गरेको, खुला प्रतिस्पर्धा नगराएको र नेपालमा जलविद्युत् क्षेत्रमा बदनाम रहेको चिनियाँ गेजुवा ग्रुप कम्पनीसँग हचुवाको भरमा समझदारी  गरिएको कारण यो प्रक्रिया तत्काल खारेज गर्न निर्देशन दिइएको जानकारी दिए । 
वैठकमा ऊर्जा राज्यमन्त्रीबाट बूढीगण्डकी जलविद्युत् आयोजना नेपालले आफ्नै बजेटबाट निर्माण गर्नसक्ने तथा अर्थ मन्त्रालयको तर्फबाट आयोजना सम्पन्न गर्नसक्ने गरी स्रोतको व्यवस्था गर्नसकिने अभिव्यक्ति आएको पृष्ठभूमीमा नेपालले नेपाली जनताको सहभागिता र नेतृत्वमा यो आयोजना यथाशीघ्र निर्माण गर्ने गरी अगाडि बढाउन निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठ र अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारीले स्वदेशी लगानीमै आयोजना बनाउन सकिने अवस्था रहेको बताएका थिए भने ऊर्जा मन्त्रालयका निमित्त सचिव दिनेश घिमिरेले स्वदेशी पुँजीले मात्र निर्माण असम्भव देखिएको इपीसीएफ मोडेलमा निर्माणका लागि चिनियाँ कम्पनीलाई दिइएको जानकारी दिएका थिए । 
मुआब्जा वितरण कार्यलाई निरन्तरता दिन तथा मुअब्जा वितरण कार्यलाई सहजता  दिनका लागि सो क्षेत्रका नागरिकलाई मुआब्जाको सट्टा सेयर दिने व्यवस्थाका लागि समेत बैठकले निर्देशन दिने निर्णय गरेको छ ।
“वैठकमा जलस्रोत तथा अर्थ दुवै समितिका सांसदहरूले बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिएकोमा समर्थन गर्नुभएन,” सभापति बरालले भने, “स्वदेशी लगानीमा बढाउन सकिने सबैको निष्कर्ष रह्यो ।” बैठकमा अर्थ समितिका सभापति प्रकाश ज्वालाले नेपालमा साना जलविद्युत् आयोजना बनाउन नसक्ने कम्पनीलाई ठूला आयोजना बनाउने जिम्मा दिनु गलत भएको भन्दै प्रतिष्पर्धाको आधारमा दिनुपर्ने बताएका थिए ।
बैठकमा बोल्ने अधिकांश सांसदले चिनियाँ कम्पनीलाई गलत तरिकाले बूढीगण्डकी दिइएको उल्लेख गर्दै तत्काल खारेज गरी स्वदेशी लगानीमा बनाउनुपर्ने बताएका थिए । सांसद कमला पन्तले सम्झौता गरिएको कम्पनीले आयोजना निर्माण गर्न नसक्ने भन्दै आयोजना निर्माणस्थलमा उक्त कम्पनीलाई छिर्न नदिने चेतावनी दिएकी थिइन् । उनले निर्माणस्थलमा चिनियाँ कम्पनी छिरेमा खुट्टा भाँचिने पनि बताइन् । 
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा अघि बढेको, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा सम्झौता भएको र अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा मन्त्रिपरिषद्बाट अनुमोदन भएको बूढीगण्डकी सम्झौतामा प्रमुख दलका प्रमुख नेताहरू मौन रहेको आरोप लागिरहेको छ । तर, संसदका विभिन्न समितिमा रहेका ती पार्टी निकटका सांसदहरू भने खुलेरै यसको विरोधमा छन् । 

त्रिशुली थ्री–ए को ऋण अवधि थप

     भीम गौतम   http://www.karobardaily.com/news/825470 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौ :चीनको आयात–निर्यात (एक्जिम) बैंकले निर्माणाधीन माथिल्लो त्रिशुली थ्री–ए जलविद्युत् आयोजनाको ऋण अवधि साढे ४ वर्ष थपेको छ । जुन २०१६ मा एक्जिम बैकको ऋण अवधि सकिएकोमा बल्ल एक्जिम बैकले ऋण अवधि थपेको हो ।
अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशिक समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्यालले त्रिशुली थ्री–ए को ऋण अवधि साढे चार वर्ष थपिएको जानकारी दिए । 
नेपाल विद्युत् प्राधिकरणले एक्जिम बंैकको सहयोगमा निर्माण गरिरहेको ६० मेगावाटको यो आयोजनाका लागि ऋणको अवधि नाघ्दा आयोजना निर्माणमा अन्योल बढेको थियो । ऋण अवधि सकिनुअघि नै प्राधिकरणले ऊर्जा र अर्थ मन्त्रालय हुँदै ऋणको म्याद थप्नका लागि अनुरोध गरेको थियो ।
“ऋण अवधि विस्तार नगर्दा आयोजना निर्माणमा अन्योल बढेको थियो,” त्रिशुली थ्री–एका आयोजना प्रमुख फणिन्द्र जोशीले भने, “अब आयोजना निर्माणको काम अघि बढाउन सहज भएको छ ।” ऋण अवधि नथप्दा ठेकेदार कम्पनीहरूलाई समयमै भुक्तानी दिन नसकेर आयोजना निर्माण सुस्त भएको थियो । यसैगरी समयमै भुक्तानी गर्न नसक्दा चिनियाँ ठेकेदार कम्पनी सीडब्ल्यूईले निर्माण गरिरहेको प्रसारण लाइनको काम सुस्त गतिमा अघि बढेको आयोजनाले जनाएको छ । 
भूकम्प लगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको भन्दै विद्युत् प्राधिकरणले ऋणको अवधि समेत थप्नका लागि अनुरोध गरेको थियो । अर्थ मन्त्रालयले एक्जिम बैंकलाई पाँच वर्षका लागि म्याद थप्न अनुरोध गरेकोमा एक्जिम बैकले भने साढे चार वर्षको लागि थपेको हो । आयोजनाका अनुसार करिब १५ करोड रुपैयाँ ठेकेदार कम्पनीलाई दिन बाँकी छ ।
काठमाडौसँग जोड्ने ४५ किलोमिटर लामो प्रसाारण लाइनका लागि आवश्यक सामान र उपकरणहरू ल्याउनका लागि भन्दै ठेकेदार कम्पनीले पटकपटक भुक्तानी मागे पनि आयोजनाले दिन सकेको छैन भने सिभिलतर्फको ठेकेदार कम्पनीले आयोजनाको निर्माण कार्यमा सुस्तता ल्याएको छ ।
प्राधिकरणले सिभिल ठेकेदारको म्याद २० अप्रिल २०१९ सम्म थपिसकेको छ । हाल क्याम्प लगायतका पूर्वाधार निर्माण गरिरहेको आयोजनाको ४ हजार ७६ मिटर सुरुङ निर्माण भने सम्पन्न भइसकेको छ ।  पटकपटक म्याद थप्दै आएको आयोजनाले अप्रिल २०१९ भित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । 
एक्जिम बैंकले ७ सय ९४ आरएमबी अर्थात करिब साढे १२ अर्ब लगानीको प्रतिवद्धता गरेको थियो भने प्रसाारणलाइनका लागि करिब ५० प्रतिशत ऋण दिइसकेको छ । कम्पनीले ५० प्रतिशत अझै लगानी गर्न बाँकी छ । भूकम्पले आयोजनाको पहुँच सडकका साथै बाँधमा ठूलो क्षति पु¥याएपछि आयोजनाको काम झण्डै डेढ वर्ष ढिला भएको थियो ।  आयोजनाको प्रवेशमार्ग खुलाउन र बाँधको दायाँ र बाँया दुवैतर्फको ठूलो पहिरो व्यवस्थापनको जिम्मा सरकारले नेपाली सेनलााई दिएको थियो । 
२०७३ असार १५ गतेसम्म अर्थात २०१६ को जुन ३० सम्म सम्पन्न हुनेगरी आयोजनाको दोस्रो पटक म्याद थपिएकोमा फेरि तेस्रोपटक थपिएको छ । चीनको आर्थिक सहयोगमा तथा सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माणको ठेकेदार चिनियाँ कम्पनीनै रहेको आयोजना सन् २०११ मा ३५ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।
यसपछि २६ महिना म्याद थपेर ०७३ असार १५ मा सम्पन्न गर्ने म्याद थपिएको थियो । नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

Saturday, September 23, 2017

धरहरा पुनर्निर्माणबाट टेलिकमले हात झिक्यो

     भीम गौतम   http://www.karobardaily.com/news/82509 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं : २९ महिनाअघि भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको जिम्मा लिएको नेपाल टेलिकमले पुनर्निर्माणबाट हात झिकेको छ । 
१६ महिनाअघि अर्थात् २९ असार २०७३ मा मन्त्रिपरिषद्को निर्णयपछि पुनर्निर्माणको जिम्मा लिएको टेलिकमले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेख्दै पुनर्निर्माणबाट हात झिकेको हो । धरहरा पुनर्निर्माण व्यावसायिक रूपमा निर्माण गर्ने पक्षमा रहेको टेलिकमको योजनालाई पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागले अस्वीकार गर्दै पुरातात्विक रूपमा पहिलाकै स्वरुपमा बनाउनुपर्ने बताएका थिए ।
“धराहरा पुनर्निर्माणबाट टेलिकमले हात झिकेको छ, अब प्राधिकरणले कसरी अघि बढाउने भनेर छलफल अघि बढाउँछ ।” पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुसालले भने, “कमर्सियल रूपमा धरहरा बनाउने योजना टेलिकमको थियो तर पुरातत्व विभाग र प्राधिकरणले पुरातात्विक ढंगले बनाउनुपर्छ भन्नेमा थियो, उसको र हाम्रो सोच मिलेन ।”
१६ महिनाअघि टेलिकमलाई जिम्मा दिएपछि हालसम्म कुन ढाँचामा बनाउने भन्ने अन्योलताको कारणले धराहरणको पुनर्निर्माणअघि बढ्न सकेको छैन । धराहरा पुनर्निर्माणमा ढिलाइ भएपछि २३ भदौमा प्राधिकरणले यसबारे आधिकारिक धारणा पेस गर्न पत्राचार गरेको थियो ।
पत्रको उत्तर दिँदै टेलिकमले पुरातत्व विभागको नक्साको आधारमा अघि बढाउँदा समस्या हुने भन्दै टेलिकमले धरहरा पुनर्निर्माणका लागि दिने भनेको एक अर्ब रुपैयाँ सहयोग भने यथावत रहेको उल्लेख गरेको छ । करिब ४ अर्बको लागत अनुमान गरिएको धरहरा पुनर्निर्माणको काम हालसम्म पनि सुरु नहुँदा अन्योलता बढेको छ । टेलिकमले भने धरहराभित्र व्यावसायिक मल बनाउने गरी ७ अर्ब लगानी प्रस्ताव गरेको थियो । तर यसलाई प्राधिकरणले अस्वीकार गरेको थियो । 
मन्त्रिपरिषद्ले निर्णय गरेकाले धरहरा पुनर्निर्माणबाट टेलिकमले हात झिकेकाले यसबारे मन्त्रिपरिषद्मा जानकारी दिएर पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि प्रक्रियाअघि बढाउने प्रवक्ता भुसालले बताए । 
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले वि.सं १८८२ सालमा सुन्धारास्थित बागदरबारछेउ आफ्नो र महारानी त्रिपुरासुन्दरीदेवीका नाममा दुई धरहरा निर्माण गरेकोमा वि.सं १९९० सालको भूकम्पमा भीमसेनका नामको धरहरा जगैदेखि भत्किएको थियो । अर्को महारानीको नामको धरहरा पनि चिरा परेपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले पुनर्निर्माण गराएका थिए । 

पानीसँगै बगेर जान्छ ६० अर्बको बालुवा

     भीम गौतम  http://www.karobardaily.com/news/82519 0 + -

समाचार प्रतिनिधि तस्विर
असोजः नेपालबाट बर्सेनि ६० अर्ब रुपैयाँभन्दा बढी मूल्यको बालुवा बगेर जाने गरेको पाइएको छ । पूर्वाधार विकासका लागि बालुवा लगायतका निर्माण सामग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिवर्ष २ अर्ब २५ करोड क्यूबिक मिटर बालुवा बग्ने गरेको एक अध्ययनले देखाएको छ । बजार मूल्यअनुसार यो परिमाणको बालुवालाई ६० अर्ब रुपैयाँ पर्दछ । 
अध्ययनले एक लिटर पानी बग्दा सरदर २ सय ४० मिलिग्राम बालुवा बगेर जाने र नेपालबाट भारत जाने पानीको आधारमा बर्सेनि ३२ करोड ७२ लाख ७२ हजार क्यूबिक मिटर बालुवा बगेर जाने गरेको देखाएको छ ।
“अध्ययनले वार्षिक रूपमा ६० अर्ब रुपैयाँभन्दा बढीको बालुवा नेपालबाट बगेर भारत जाने पानीसँगै बग्ने देखिएको छ,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले भने, “धेरै जलविद्युत् आयोजना र पानी बग्ने क्षेत्रमा सामान्य पूर्वाधारहरू बनाउने हो भने पानीसँगै बगेर जाने बालुवालाई रोक्न सकिन्छ ।”
पानी बग्ने नदीहरूमा ग्राभेल ट्राप, कट अप ड्याम, वाल लगायतका सामान्य पूर्वाधारहरू निर्माण गर्न सकेमा बगेर जाने बालुवाहरू रोक्न सकिने उनले बताए । उनका अनुसार बगेर जाने सबै पानीको उपयोग मात्र गरे पनि २ लाख ५० हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सकिने अवस्था छ । 
रिभर फल्स हाइड्रोपावर कम्पनीमा कार्यरत इन्जिनियर लभमणि कोइरालाले नारायणी नदीको पानी बहाव र यसको आधारमा बगेर जाने बालुवालाई आधार मानेर तयार पारेका अध्ययनमा यस नदीबाट मात्र बर्सेनि ५० अर्ब ६६ लाख क्यूबिक मिटर र तीन मुख्य नदीबाट मात्र १ अर्ब ५२ करोड क्यूबिक मिटर पानी बगेर जाने देखाएको छ ।
नेपालमा रहेका साना र ठूला नदी गरी ६ हजार नदी रहेको र ती नदीबाट भारततर्फ बर्सेनि बगेर जाने २ खर्ब २५ अर्ब क्यूबिक मिटर पानीबाट मात्र ५० लाख ट्रक बराबरको बालुवा खेर जाने इन्जिनियर कोइराला बताउँछन् । “एक लिटर पानी वग्दा सरदर २ सय ४० मिलिग्राम बालुवा बगेर जाने गर्छ, यसको आधारमा पनि यति धेरै ट्रक बालुवा पानीसँगै बगेर गइरहेको छ,” उनले भने, “सरकारका विभिन्न निकायहरूले गरेको अध्ययनलाई आधार मानेर पानीसँगै जाने टोटल सिडिमेन्ट्स पत्ता लगाइएको हो ।”
तथ्यांकअनुसार नेपालबाट भारततर्फ पानीसँगै प्रतिवर्ष ५४ अर्ब किलोग्राम बालुवा वगेर जान्छ । जलविद्युत् लगायतका पूर्वाधार निर्माणका लागि बालुवा अभाव भइरहेको बेला सरकारले वातावरण बिग्रन्छ भनेर बालुवा उत्खनन गर्न नदिँदा एकातिर ६० अर्बभन्दा बढीको बालुवा बगेर गईरहेको छ भने बालुवा अभाव हुँदा विदेशबाट आयात समेत गर्नु परिरहेको छ ।
वातावरणमा असर नगर्ने गरी उचित व्यवस्थापन गरेर बालुवा उत्खनन गर्न सकेमा भारतमा निर्यातको सम्भावना पनि देखिएको छ तर अहिले भने अभाव देखिएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि बालुवा अभाव समेत समस्याको रूपमा देखिएको छ । 
निर्माण सामग्रीको रूपमा बालुवा व्यवस्थापनमा ठूलो समस्या भइरहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन बताउँछन् । महासंघका निवर्तमान अध्यक्ष तथा स्वच्छन्द निर्माण सेवाका संचालक जयराम लामिछाने हाल वार्षिक १७ करोड घनमिटर बालुवा खपत भइरहेको बताउँछन् । काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा भने बालुवाको मूल्य अस्वभाविक रहेको उनी बताउँछन् ।
हाल प्रति घनफिट १ सय ५० घनफिट मूल्य हुनु नेपालको निर्माण लागत बढी हुनु नै रहेको उनको भनाइ छ । वातावरणको कारण देखाउँदै नेपालका नदीबाट बालुवा निकाल्न नदिँदा यस्तो अवस्था आएको भन्दै उनले कोशी, गण्डकी, कर्णाली र महाकालीबाट मात्र वार्षिक २ अर्ब घनमिटर बगेर जाने दावी गरे ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार, बर्सेनि भारतबाट मात्र ३ करोड रुपैयाँ बराबरको बालुवा आयात भइरहेको छ । सरकारको तथ्यांकले भारतबाट वार्षिक तीन करोड रुपैयाँभन्दा बढी बालुवा आयात भएको देखिए पनि त्योभन्दा कयौं गुणा बढी आयात भइरहको व्यवसायीहरू बताउँछन् । 
 

Thursday, September 21, 2017

चिलिमेलाई ५८५ मेगावाटको लाइसेन्स

   भीम गौतम  http://www.karobardaily.com/news/82468 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं: चिलिमे जलविद्युत् कम्पनीले ५ सय ८५ मेगावाट करनकका दुई जलविद्युत् आयोजनाको सर्भे अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।
कम्पनीले पाँच जलविद्युत् आयोजनाका लागि ऊर्जा मन्त्रालयमा आवेदन दिएकोमा मन्त्रालयले करिब ७५ अर्ब रुपैयाँको लागतमा बन्न लागेका ४ सय २० मेगावाटको बूढीगण्डकी प्रोक र १ सय ६५ मेगावाटको सेती नदी–३ को सर्भे लाइसेन्स दिएको छ । चिलिमे कम्पनीका प्रमुख कार्यकारी अधिकृत दामोदरभक्त श्रेष्ठले ऊर्जा मन्त्रालयले दुई जलविद्युत् आयोजनाको सर्भे लाइसेन्स दिएको पुष्टि गरे । 
“दुई जलविद्युत् आयोजनाका लागि अनुमतिपत्र पाएका छौं, जसमध्ये बूढीगण्डकी प्रोकको लागत करिब ५० अर्ब र सेतीनदीको २५ अर्ब रुपैयाँ रहेको छ,” श्रेष्ठले भने । उनका अनुसार सहायक कम्पनी निर्माण गरेर निर्माण गरिने आयोजनामा चिमिलेको ३० देखि ४० प्रतिशतसम्म इक्वीटी (सेयर) पुँजी लगानी हुनेछ । यसको आधारमा दुई आयोजनामा मात्र चिलिमेले ८ अर्बभन्दा बढी लगानी गर्नेछ । 
  • बूढीगण्डकी प्रोक र सेती नदीको सर्भे लाइसेन्स
  • दुई आयोजनाको लागत ७५ अर्ब
  • चिलिमेले मात्र ८ अर्ब लगानी गर्दै
चिलिमे जलविद्युत् कम्पनीले बूढीगण्डकी प्रोक र सेती नदीबाहेक २ सय ७० मेगावाटको बूढीगण्डकी स्यार तथा ४६ र ४८ मेगावाटका दुई दूधकोसी जलविद्युत् आयोजनाको सर्भे अनुमतिपत्रको लागि आवेदन दिएको छ । बूढीगण्डकी र सेतीनदी जलविद्युत् आयोजनाको दुई वर्षको अवधिको लागि सर्भे लाइसेन्स चिलिमे कम्पनीलाई दिइएको र अन्य प्रकृयामा रहेको विद्युत् विकास विभागका सूचना अधिकारी बाबुराज अधिकारीले जानकारी दिए ।
२२ बर्ष अघि २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना स्वदेशी लगानी निर्माण सुरु गरेर पूरा गरेको चिलिमे जलविद्युत् कम्पनीले १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी र ५७ मेगावाटको साञ्जेन गरी २ सय ७० मेगावाटका तीन आयोजना निर्माण गरिरहेको छ ।
निर्माणाधीन तीन आयोजना ५० अर्बभन्दा बढीको लगानीमा निर्माण हुन लागेकोमा स्वँपुजी (इक्वीटी) मात्र साढे १६ अर्ब रुपैयाँबराबर छ । कम्पनीले अहिले १ सय ११ मेगावाटको रसुवागढीको ६ अर्ब ८४ करोड इक्वीटीमध्ये ३३ प्रतिशत तथा १ सय २ मेगावाटको मध्यभोटेकोसीको ६ अर्ब र साढे ४२ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेनको ३ अर्ब ६५ करोड इक्वीटीमध्ये ३८ प्रतिशत लगानी गर्न लागेको छ । 

Monday, September 18, 2017

जलाशययुक्त क्षेत्रमा ठूला पूर्वाधार निर्माणमा रोक

     भीम गौतम    http://www.karobardaily.com/news/824130 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौ: सरकारले जलाशययुक्त जलविद्युत् आयोजना निर्माण हुने र भइरहेका क्षेत्रमा अन्य ठूला पूर्वाधार निर्माणमा रोक लगाउने तयारी गरेको छ ।
सरकारी समन्वयको अभावमा जथाभावी रूपमा पूर्वाधार बनाउँदा सम्भावित ठूला जलविद्युत् आयोजनाहरू जोखिममा परिरहेका छन् । सोही तथ्यलाई मनन गर्दै राष्ट्रिय योजना आयोगले जलाशययुक्त आयोजना क्षेत्रभित्र पर्ने अन्य पूर्वाधार विकास आयोजनाहरू सञ्चालनसम्बन्धी मापदण्ड–२०७४ तयार गरेर यस्तो रोक लगाउने प्रस्ताव गरेको हो । 
सम्भावित ठूला जलाशययुक्त जलविद्युत् आयोजनाहरूको पहिचान भए पनि अन्य सरकारी निकायहरूबाटै ती क्षेत्रमा सडक, पुल, सहर, मठमन्दिर, गुम्बा, चैत्य जस्ता पूर्वाधार निर्माण भइरहेको र निर्माणका लागि अनुमति दिइरहेको बेला आयोगले तयार पारेको प्रतिवेदनमा कुनै पनि किसिमका ठूला पूर्वाधारहरू बनाउन नपाइने उल्लेख छ ।
समन्वय अभावले वीपी राजमार्ग सुनकोशी नदी किनारामा बनाउँदा १ हजार १ सय १० मेगावाटको सुनकोशी दोस्रो, अरनिको राजमार्गको कारण ५ सय ३६ मेगावाटको सुनकोशी तेस्रो, चैनपुरमा बस्ती बसाउने योजनाको कारण ४ सय ५४ मेगावाटको चैनपुर सेती लगायतका ठूला आयोजनाहरू निर्माणमा समस्या परेपछि ऊर्जा मन्त्रालयले यसबारे प्रक्रिया अघि बढाएको थियो । 
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय समस्या समाधान विकास समितिमा मन्त्रालयले जलाशययुक्त आयोजनाहरूमा देखिएको समस्याबारे छलफल गरेपछि योजना आयोगमार्फत यसबारे अध्ययन गर्ने गरी समिति निर्माण गरिएको थियो ।
आयोगका सदस्य डा. अरविन्दकुमार मिश्रको संयोजकत्वमा गठित समितिले तयार पारेर निर्णयका लागि मन्त्रिपरिषद्मा पेश गरेको मापदण्डमा ६ किसिमका जलाशययुक्त आयोजनाहरूको पहिचान तथा प्राथमिकीकरण गरेको छ ।
आयोग सदस्य डा. मिश्रले ठूला जलाशययुक्त आयोजना निर्माण हुने क्षेत्रहरूलाई प्राथमिकीकरण गरेर अन्य ठूला पूर्वाधारहरू निर्माणमा रोक लगाउने गरी मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको जानकारी दिए ।
“समन्वयको अभावमा ठूलाठूला जलाशययुक्त आयोजनाहरू निर्माण हुने क्षेत्रमा सडक लगायतका अन्य ठूला पूर्वाधारहरू बनिरहेको र बन्ने अवस्था देखिएपछि अहिले स्पष्ट मापदण्ड बनाइएको छ,” उनले भने, “यो मन्त्रिपरिषद्बाट पारित भएसँगै लागू हुने सो मापदण्ड कार्यान्वयनमा आएपछि नेपालको समृद्धिसँगै जोडिएका ठूला जलाशययुक्त आयोजनाहरू निर्माणमा धेरै सहज हुनेछ ।”
मापदण्डले ६० हजार मेगावाटभन्दा बढी क्षमताका ५७ जलाशययुक्त आयोजनाहरूलाई वर्गीकरण गरेर प्राथमिकीकरण गरेको छ । मापदण्डमा अध्ययन पूरा भइ निर्माणमा प्रवेश गरेका १९ हजार ५ सय ९७ मेगावाटका ७ तथा आगामी १० वर्षभित्र निर्माण जाने गरी विस्तृत सम्भाव्यता सम्पन्न गरेका र हुँदै गरेका ३२ हजार ९ सय ९८ मेगावाटका ३२ जलाशयुक्त आयोजनाहरूलाई पहिलो र दोस्रो प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी १० वर्षपश्चात निर्माणमा जाने गरी विस्तृत सम्भावयता अध्ययन सम्पन्न भएका वा हुँदै गरेका १ हजार ६ सय ५३ मेगावाटका ५ र नदी बेसिन गुरुयोजना तथा अध्ययनबाट पहिचान मात्र भएका ६ हजार ९ सय ३८ मेगावाटका ५ जलाशययुक्त आयोजनाहरूलाई तेस्रो र चौथो प्राथमिकतामा राखिएको छ । त्यसैगरी कर्णाली चिसापानी, पञ्चेश्वर तथा सप्तकोशी बहुउद्देश्यीय जस्ता द्विपक्षीय वा बहुपक्षीय तथा भविष्यमा पहिचान हुने जलाशययुक्त आयोजनाहरूलाई समेत प्राथमिकतामा राखिएको छ । 
अध्ययन पूरा भइ निर्माणमा चरणमा रहेका जलाशययुक्त आयोजनाहरूको क्षेत्रभित्र राष्ट्रिय राजमार्ग, सहायक मार्ग, विशेष उद्देश्यका सडकहरूसहित केन्द्रीय सडक प्रणाली, नयाँ शहर वा वस्ती विकास, आवास वा भवन निर्माणका साथै  जिल्ला, गाउँ, कृषि, प्रमुख घोडेटो, गोरेटो सडक र वृहत, ठूला, मझौला, साना र परम्परागत सिँचाइलगायतका आयोजनाहरूको तर्जुमाको चरण वा सुरु अध्ययनकै चरणदेखि नै निर्माणमा रोक लगाउन मापदण्डमा प्रस्ताव गरिएको छ ।
१० वर्षभित्र निर्माण जाने जलाशययुक्त आयोजनाहरूमा समेत स्थानीय सडक प्रणाली अन्तर्गतका प्रमुख÷गाउँ, घोडेटो÷गोरेटो, साना र परम्परागत सिँचाइबाहेक अन्य ठूला पूर्वाधार निर्माणमा रोक लगाइएको छ । त्यसैगरी द्विपक्षीय र वहुपक्षीय रूपमा अघि बढाउन लागिएका  र नदी बेसिन तथा अध्ययनहरूबाट पहिचान भएका जलाशययुक्त आयोजनाहरूको हकमा समेत स्थानीय सडक, सिँचाइ र आर्थिक वर्ष २०७२/०७३ सम्म निर्माण सम्झौता भैसकेका भौतिक पूर्वाधारका विकास आयोजनाबाहेक अन्यलाई निर्माणमा रोक लगाउन प्रस्ताव गरिएको छ ।
भविष्यमा पहिचान हुने जलाशययुक्त आयोजनाहरूको अध्ययन गर्दा भने सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढाउने पर्ने उल्लेख गर्दै हाललाई भने बन्देज लगाइएको छैन । विशेष परिस्थितिबाहेक जलाशययुक्त आयोजनाको निर्माण सुरु भएपश्चात आयोजनाको संरचनास्थल तथा जलाशयमा पानी संकलन सुरु गरिने मितिले दुई बर्ष अघिदेखि यस क्षेत्रमा पूर्वाधार तथा आयोजनाहरूको मर्मत सम्भारको कार्यमा समेत मापदण्डले रोक लगाएको छ । तर, स्थानीय प्रकृतिका र पछि अन्यत्र स्थानान्तरण गर्न मिल्ने प्रकारका संरचनाहरू निर्माणमा भने रोक लगाइएको छैन ।  
पूर्वाधार क्षेत्रमा देखिएको दोहोरोपना हटाउन र समन्वय गर्न तयार पारेको मापदण्डले यसका लागि ऊर्जा हेर्ने राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा, सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयका सचिव सदस्य तथा आयोगका सहसचिव सदस्यसचिव रहेको समिति समेत गठन गर्न प्रस्ताव गरिएको छ ।
नेपालको पानीको अधिकतम उपयोग गरेमा दुई लाख मेगावाटसम्म विद्युत् नेपालमा उत्पादन हुन सक्ने प्रक्षेपण गरिरहेको बेला उत्पादन हुन सक्ने क्षेत्रहरूमा अन्य ठूला पूर्वाधारहरू निर्माण हुन थालेपछि विद्युत् उत्पादनको क्षमता घटेर जाने भन्दै चिन्ता व्यक्त गरिरहेको बेला आयोगले तयार पारेको मापदण्ड धेरै सहयोग हुने आशा ऊर्जा क्षेत्रका विज्ञहरूले गरेका छन् । 
    

Sunday, September 17, 2017

चिलिमेले साढे ९ सय मेगावाट बनाउँदै

     भीम गौतम    http://www.karobardaily.com/news/82380 + -

समाचार प्रतिनिधि तस्विर
रसुवाः स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गर्दा असम्भव भनेर आलोचना खेपेको चिलिमे जलविद्युत् कम्पनीले ९ सय ४९ मेगावाटको पाँच आयोजना बनाउन प्रक्रिया अघि बढाएको छ ।
२२ वर्षअघि २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढाउँदा विदेशी लगानी र परामर्शदाताबिना असम्भव भन्दै आलोचना गरिएको थियो । तर, त्यही चिलिमे कम्पनीले एकैपटक यति धेरै क्षमताका जलविद्युत् आयोजना निर्माणको लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
हाल २ सय ७० मेगावाटको तीन आयोजना निर्माण गरिरहेको चिमिलेले फेरि पाँच आयोजना निर्माणको प्रयास गर्नुलाई स्वदेशी लगानीमा चिलिमेको चमत्कारको रूपमा हेरिएको छ । चिलिमे जलविद्युत् कम्पनीले २ सय ७० मेगावाटको बुढीगण्डकी स्यार, ४ सय २० मेगावाटको बुढीगण्डकी प्रोक, १ सय ६५ मेगावाटको सेती नदी–३ तथा ४६ र ४८ मेगावाटका दुई दुधकोशी जलविद्युत् आयोजनाको सर्भे अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिएको छ ।
“चिलिमे अब ठूला आयोजना निर्माणका लागि अघि बढेको छ,” चिलिमे कम्पनीका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, “२२ मेगावाटबाट सुरु गरेको चिलिमेले ठूला आयोजना निर्माणका लागि अघि बढ्नुलाई जलविद्युत् क्षेत्रमा एउटा चमत्कारको रूपमा लिन सकिन्छ ।”
कम्पनीका सचिव नारायण आचार्यका अनुसार, गत वैशाखदेखि डेढ महिना अघिसम्मको अवधिमा पाँचै आयोजनाको सर्भे लाइसेन्सका लागि चिलिमेले विद्युत् विभागमा आवेदन दिएको थियो । हालसम्म चिमिलेले सर्भे लाइसेन्स भने पाएको छैन ।
विद्युत् विभागका सूचना अधिकारी बाबुराज अधिकारीले चिलिमेले पाँच जलविद्युत् आयोजना लाइसेन्सका लागि आवेदन दिएको र लाइसेन्स दिने प्रक्रियामा रहेको बताए । “बुढीगण्डकी प्रोकको सर्भे लाइसेन्स दिन ऊर्जा मन्त्रालयमा फाइल गइसकेको छ, अन्य आयोजनाहरू लाइसेन्स दिने प्रक्रियामा छौं,” उनले भने । प्रोकले गत वैशाखमा विभागमा आवेदन दिएको थियो । विभाग स्रोतका अनुसार, दूधकोसीका दुवै आयोजनाको अध्ययन विभागले गरिरहेको भन्दै चिलिमे कम्पनीलाई नदिने भएको छ । 
स्वदेशी लगानीमा जलविद्युत् आयोजना असम्भव बताइरहेका बेला पहिलोपटक २२ मेगावाटको आयोजना बनाएर सफलता पाएको चिलिमेले निर्माणाधीन तीन आयोजना ५० अर्बभन्दा बढीको लगानीमा निर्माण हुन लागेकोमा स्वँपुजी (इक्वीटी) मात्र साढे १६ अर्ब बराबर छ ।
कम्पनीले अहिले १ सय ११ मेगावाटको रसुवागढीको ६ अर्ब ८४ करोड इक्वीटीमध्ये ३३ प्रतिशत तथा १ सय २ मेगावाटको मध्यभोटेकोसीको ६ अर्ब र साढे ४२ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेनको ३ अर्ब ६५ करोड इक्वीटीमध्ये ३८ प्रतिशत लगानी गर्न लागेको छ । 
विभागमा आवेदन दिएका ९ सय ४९ आयोजनाको लागत करिब १ खर्ब ४२ अर्ब अनुमान गरिएको छ । त्योमध्ये ८४ अर्ब इक्वेटी लगानी हुनेछ । कुल २ अर्ब ५२ करोडको लागतमा बनेको चिलिमे आयोजनामा रहेको ७७ अर्ब इक्वीटीमध्ये साढे ३८ अर्ब विद्युत् प्राधिकरणले सहायक कम्पनीको रूपमा चिलिमे गठन गर्दा लगानी गरेको थियो ।
चिलिमे कम्पनी स्थापनामा सक्रिय भएर २०५२ सालदेखि २०६४ सालसम्म प्रमुखको भुमिका खेलका डा. डम्बरबहादुर नेपाली चिलिमेले अहिलेको ठूलो आयोजना निर्माण गर्न सक्नुलाई ठूलो उपलब्धिको रूपमा लिन्छन् । “चिलिमे जलविद्युत् आयोजना बनाउँछु भन्दा धेरैले मलाई विदेशी परामर्शदाता र लगानीबिना पनि आयोजना बन्छ भनेर मलाई बारम्बार गिज्याइरहेका थिए, कसैले पत्याएकै थिएनन्,” डा. नेपालीले भने, “कतिले त हेपेर मलाई चिलिमे चिलिमे भनेर पनि बोलाउँथे, बौलायो पनि भन्थे तर, यसले स्वदेशी लगानी, स्वदेशी परामर्शदाता र इन्जिनियरको सहभागितामा बनाउँछु भन्ने इगो बढ्यो ।”
उनी सुरुमा त लगानी जुट्न गाह्रो हुन्छ भन्ने भएपनि सम्पन्नै गरेर छोडेको र त्यसले नेपालमा पनि स्वदेशी लगानीमा जलविद्युत् उत्पादन गर्न सकिन्छ भनेर ठूलो पाठ सिकाएको बताउँछन् । “स्वदेशी लगानीमा जलविद्युत् बनाउन सकिन्छ भनेर चिलिमेले नेपालमा चमत्कारै गरेर देखायो, अहिले ठूलाठूला आयोजना निर्माण गर्न हिम्मत गरेको छ,” उनी भन्छन्, “चिलिमेलपछि जलविद्युत्मा स्वदेशी निजी प्रवद्र्धकहरूलाई समेत लगानीका लागि उचित वातावरण बन्यो ।”
ऋणबाहेक प्राधिकरणको ५१ प्रतिशत, प्राधिकरणका कर्मचारीको २५ प्रतिशत र २४ प्रतिशत स्थानीयबासीको सेयर रहनेगरी प्रस्ताव गरिएको थियो । एक पटक उद्योगपति विनोद चौैधरीले आफूले मोदी बनाउन लागेको भन्दै त्यसमा ४० प्रतिशत सेयर हाल्न विद्युत् प्राधिकरणलाई प्रस्ताव गरेपछि र नेपाल इन्जिनियर्स एसोसियनले गरेको एउटा कार्यक्रममा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा जलविद्युत् आयोजना बनाउन सकिनेबारे छलफल भएपछि प्राधिकरणले कम्पनीमार्फत जलविद्युत् बनाउन सक्ने निष्कर्षमा त्यतिबेला डा. नेपालीको समूह पुगेको थियो । 

एनआरएनए अध्यक्षमा भवन भट्टको उम्मेदवारी

    भीम गौतम  0 + -


समाचार प्रतिनिधि तस्विर
काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन् २०१७—२०१९ को कार्यकालका लागि आफू अध्यक्षको उम्मेदवार हुने औपचारिक जानकारी दिएका हुन् । टीबीआई समूहका अध्यक्ष भट्ट यसअघि संघमा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यक्ष निर्वाचित भएर आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् । 
कार्यक्रममा भट्टले वैदेशिक रोजगारीमा रहेका नेपालीको बिमाका लागि ‘एनआरएन वैदेशिक रोजगार आपतकालीन कोष’को रकम परिचालन गर्न सकिने जनाए । यस्तै, महिला फोरमलाई सशक्त बनाउने एवं नयाँ लगानीकर्ताका लागि स्टार्टअप फन्डको व्यवस्था गर्ने योजना उनले अघि सारेका छन् । हाल एनआरएनए वैदेशिक रोजगार कोषमा करिब २ करोड ५० लाख रूपैयाँ रहेको छ ।
भट्टले वर्तमान नेतृत्वले अघि बढाएका लाप्राक नमूना बस्ती, एनआरएनए भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड तथा सामूहिक लगानीलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए ।एनआरएनएलाई सबैको साझा र पवित्र मन्दिरको रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका भट्टले ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ विगत १४ वर्षदेखि समृद्ध नेपालको सपना साकार पार्न आफू लागिपरेकाले एनआरएनएको नेतृत्वका लागि आफ्नो दावी अत्यन्त स्वभाविक रहेको बताए ।
भट्टले आफ्ना एजेण्डाहरू पछि सार्वजनिक गर्ने भन्दै प्रारम्भिक अवधारणा मात्र सार्वजनिक गरेका छन् । कार्यक्रममा उनले हरेक राष्ट्रिय समन्वय परिषद (एनसीसी)मार्फत एक विशेष परियोजनाको परिकल्पना गरिएको उल्लेख गर्दै सामाजिक उद्यमशीलतालाई प्रवद्र्धन गरी महिला तथा युवाको सहभागिता बढाउने योजना पनि सार्वजनिक गरेका छन् ।
एजेन्डाहरू
  • स्मार्ट एनआरएन
  • विदेशमा रहेका नेपालीको बिमा
  • महिला फोरमलाई सशक्त 
  • स्टार्टअप फन्डको व्यवस्था 
  • हरेक एनसीसीमार्फत एक विशेष परियोजना
  • उद्यमशीलतामा महिला र युवाको सहभागिता
  • भिजन ट्वान्टी–ट्वान्टी एण्ड बियोन्डको निरन्तरता
  • वैदेशिक रोजगार कोषको विस्तार 
“अध्यक्ष उम्मेदवारको रूपमा आगामी कार्यकालका लागि केही नयाँ एजेन्डाहरू पनि तयार गरेको छु,” उनले भने, “विदेशमा रहेका नेपालीको हितका लागि सरकारसँग छलफल गरेर हामीले श्रम सहचारी राख्ने लगायतका काममा योगदान दिँदै आएका छौ, अब कामदारहरूको बिमालाई समेत विशेष जोड दिन लागेका छौं ।” 
एनआरएनएका हाल ७७ मुलुकमा राष्ट्रिय समन्वय परिषद (एनसीसी) रहेको छ । गैरआवासीय नेपालीको सामूहिक लगानी नेपाल भिœयाउन पनि वैदेशिक रोजगार कोषलाई अझ विस्तार गर्न आफूले जोड दिने भट्टले कार्यक्रममा जानकारी दिए । भट्ट नेतृत्वको टीबीआई समूहले जापान र नेपालसहित युरोवमा पनि आफ्नो व्यावसायिक दायरा विस्तार गरिसकेको छ ।
जापानमा रेष्टुराँ र रिसोर्ट व्यवसायमा ख्याती कमाएको टीबीआईले युरोपमा पनि होटल एवं रेष्टुराँ व्यवसाय सञ्चालन गरिरहेको छ भने नेपालमा होटल, ब्रुअरी, सञ्चार, एयरलाइन्स, शिक्षा, अटोमोबाइललगायतका क्षेत्रमा लगानी रहेको छ । http://www.karobardaily.com/news/82360

Friday, September 15, 2017

स्वायत्त निकायमा ऊर्जामन्त्रीको हस्तक्षेप

    भीम गौतम   http://www.karobardaily.com/news/82269 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौःऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले साउन २९ मा ऊर्जा मन्त्रालयमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णय सुनाए । ऊर्जा मन्त्रालय अन्तर्गतको निकाय भए पनि प्राधिकरण सञ्चालक समिति अध्यक्ष उनी होइनन् ।
विगतमा मन्त्री अध्यक्ष हुने भए पनि अहिले ऊर्जासचिव छन् । तर उनले ऊर्जासचिव एवं प्राधिकरण अध्यक्ष अनुपकुमार उपाध्यायसमक्ष बोर्डले गरेको बाढीको कारण भएको क्षति संकलन र पुनस्र्थापनाका लागि खटाइएको टोलीबारे जानकारी दिएका थिए । 
–मन्त्री शाहीले भदौ ५ मा उनले प्राधिकरणले सुरु गर्न लागेको बिजुलीको बिल अनलाइनमार्फत भुक्तानी गर्नसक्ने सेवाको शुभारम्भ ऊर्जा मन्त्रालयमै गरे । उपत्यकामै रहेका सम्बन्धित वितरण केन्द्रमै पुगेर सेवाको शुभारम्भ गर्ने अवस्था हुँदाहुँदै उनले मन्त्रालयमै बसेर त्यसको शुभारम्भ गरेका थिए । यस्तै, प्राधिकरणको मोबाइल एप्सको पनि उनले मन्त्रालयमै बसेर शुभारम्भ गरेका थिए । 
–ऊर्जासचिव अध्यक्ष रहेको प्राधिकरणले विद्युत्् महशुल निर्धारण आयोगसमक्ष उद्योगधन्दामा २० प्रतिशतसम्म मूल्यवृद्धि गर्नेगरी प्रस्ताव ग¥यो । तर, ऊर्जामन्त्री शाहीले विद्युत्् महशुल नबढाउने घोषणा गरे । अहिलेको अवस्थामा विद्युत् महशुल बढाउन समस्या भए पनि मन्त्रीको हैसियतले घटाउँछु वा बढाउँछु भन्नु कानुनतः मिल्दैन । उनले प्राधिकरणलाई महशुल प्रस्ताव फिर्ता गर्न निर्देशन भने दिन सक्छन् ।
मन्त्रीलाई महशुल नबढाउनका लागि आएको नेपाल उद्योग परिसंघको टोलीलाई उनले नबढाउने ठोकुवा गरिदिए भने नेपाल उद्योग वाणिज्य महासंघको टोली त मन्त्रीले बढाउन नदिएको भन्दै धन्यवाद ज्ञापनको लागि मन्त्रालयनै पुग्यो । 
माथिका उदाहरण स्वायत्त निकायको रूपमा गठित प्राधिकरण र महशुल आयोगमा मन्त्रीले गर्न थालेका हस्तक्षेपका पछिल्ला कडी हुन् । पछिल्लो समयमा उनले सार्वजनिक कार्यक्रममा समेत सिधै आफूले विद्युत् प्राधिकरणमा काममा हस्तक्षेप गर्नसक्ने बताउन थालेका छन् ।
ऊर्जामन्त्रीले हस्तक्षेप गर्दा बढी राजनीतिकरण हुने र यसको कारण प्रभावकारी रूपमा काम गर्न नसक्ने उल्लेख गर्दै प्राधिकरणलाई स्वायत्त निकायको रूपमा गठन गरिएको हो । तर, पछिल्लो समयमा स्वतन्त्र रूपमा काम गर्न दिनुको सट्टा हस्तक्षेप गर्ने क्रम बढेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने मन्त्रीले प्राधिकरण बोर्ड बैठकको निर्णय सार्वजनिक गर्नुलाई सामान्य मान्छन् । “ऊर्जा मन्त्रालय अन्र्तगतको निकाय भएकोले मन्त्रीले प्राधिकरण बोर्ड बैठकको निर्णय सार्वजनिक गर्नु सामान्य नै हो,” उनी भन्छन्, “विद्युत् महशुलको सवालमा भने अहिले पनि भारतबाट आयातित बिजुली प्रतियुनिट ११ रूपैयाँ पर्ने भए पनि उद्योगलाई ९ रूपैयाँ सरदरमा दिएर दुई रूपैयाँ प्रतियुनिट घाटा पर्नुपर्ने अवस्था छ ।”
उनका अनुसार माथिल्लो तामाकोसी निर्माण सम्पन्न भएपछि महशुल घटाउनसक्ने अवस्था रहे पनि अहिले भने बढाउनुपर्ने अवस्था छ । प्राधिकरणका अनुसार भारतबाट आयातित बिजुलीको झण्डै ३ अर्ब मूल्यान्तर रकम सरकारले प्राधिकरणलाई दिएको छैन । 
स्वायत्त निकायको रूपमा गठन भएको प्राधिकरणमा ऊर्जामन्त्री, ऊर्जा राज्यमन्त्री वा सरकारले तोकेको व्यक्ति प्राधिकरण सञ्चालक समिति अध्यक्ष हुने व्यवस्था छ । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक अजितनारायण सिंह थापा प्राधिकरण स्वायत्त निकाय भएकोले मन्त्रीले हस्तक्षेप गर्न नहुने बताउँछन् ।
“म कार्यकारी निर्देशक हुँदा मन्त्रीनै प्राधिकरण सञ्चालक समिति अध्यक्ष भएको बेलामा पनि बोर्डका एजेण्डाबाहेकमा चासो हुँदैनथ्यो,” उनले भने, “अहिले सचिव अध्यक्ष भएको बेला ऊर्जा मन्त्रीको रोल निर्देशन दिने मात्र हुन्छ, अरु हुँदैन ।” प्राधिकरणका अधिकारीहरू भने पछिल्लो १५ वर्षमा अर्जुन कार्कीबाहेकका सबै कार्यकारी निर्देशकको ८० प्रतिशत समय ऊर्जा मन्त्रालयमा बित्नुका साथै मन्त्रालयका मन्त्री, सचिव र सहसचिवहरूले बोलाएरै अधिकांश समय दिनुपर्दा प्राधिकरणको काम, कारबाही प्रभावित भइरहेको बताउँछन् । 
विद्युत् महशुल निर्धारण आयोगका अध्यक्ष जगत भुषालसमेत आयोग स्वायत्त निकाय रहेको बताउँछन् । “आयोग स्वायत्त निकाय हो, यसपटक विद्युत् प्राधिकरणले प्रस्ताव गरे अनुसार महशुल बढ्ने अवस्था थिएन,” उनले भने, “तर, घटाउने नबढाउनेबारे मन्त्रीले भन्नुभन्दा पनि प्राधिकरणलाई प्रस्ताव फिर्ता लिन निर्देशन दिन भने सक्छन्, आयोगलाई प्रत्यक्ष प्रभावित पार्न सक्दैनन् ।” 
ऐनमै स्पष्ट रूपमा विद्युत् प्राधिकरण र आयोग स्वायत्त निकायको रूपमा रहेका छन् । मन्त्रीहरूले ती निकायमा सल्लाह, सुझाव र सरकारले दिने कार्यक्रमबारे प्रभावकारी रूपमा कार्यन्वयनका लागि निर्देशन दिने हो तर पछिल्लो समयमा प्राधिकरणमा हस्तक्षेप बढ्दै गएको छ । ऊर्जामन्त्री शाही भने विद्युत् प्राधिकरण स्वायत्त निकाय नभएको बताउँछन् । “विद्युत् प्राधिकरण स्वायत्त निकाय होइन ।
ऊर्जा मन्त्रालयको मातहतमा रहेको एउटा निकाय नै हो,” उनले भने, “यसलाई विद्युत् व्यापार गर्नका लागि जिम्मेवारी दिइएको छ । विद्युत् प्राधिकरण ऊर्जा मन्त्रालय अन्र्तगत रहने हुनाले स्वायत्त हुनै सक्दैन । यसलाई सुधार गर्नका लागि ऊर्जा मन्त्री वा आवश्यकता पर्दा प्रधानमन्त्रीले समेत बोलाउन सक्नुहुन्छ ।” 

Saturday, September 9, 2017

वर्षैभरि ९ सय २५ मेगावाट उत्पादन गरिने

r     भीम गौतम   http://www.karobardaily.com/news/82184 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौंः पञ्चेश्वर वहुउद्देश्यीय आयोजनाबाट वर्षभरी ९ सय २५ मेगावाट बिजुली (फर्म पावर) उत्पादन हुनेगरी अघि बढ्न नेपाल र भारत सहमत भएका छन् ।
पञ्चेश्वर विकास प्राधिकरण (पीडीए) गभर्निङ बडीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिन गठन गरेको विज्ञहरूको दिल्लीमा भएको बैठकमा वर्षैभरि सो क्षमता बराबरको फर्म पावर उत्पादन गर्न सहमत भएका हुन् । महाकाली सम्झौताको आधारमा कुल उत्पादन हुने विद्युत्मध्ये नेपालले ५० प्रतिशत अर्थात ४ सय ६२.५ मेगावाट पाउनेछ । 
पानी बाँडफाँटको विषय टुंगो लाग्न नसके पनि बैठकले  वैठकमा सन् १९६२ देखि सन् २०१२ सम्मको ५० वर्षको हाइड्रोलोजी सेरिज डाटामा सहमति हुँदै फर्म इनर्जीको टुंगो लगाएको बैठकमा सहभागी ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले जानकारी दिए ।
“सन् १९९५ मा प्रस्तावित डीपीआरमा ६ हजार ४ सय ८० मेगावाट जडित क्षमता र ९ सय ७० मेगावाट फर्म पावर रहेकोमा १७ बर्षको तथ्यांक विश्लेषणको आधारमा करिब ५ हजार मेगावाट जडित क्षमता र ९ सय २५ मेगावाट फर्म इनर्जीमा सहमत भएका छौं,” उनले भने, “हालै काठमाडौमा भएको विज्ञ समूहको बैठकमा नेपालले हाइड्रोलोजी डाटामा असहमति जनाएकोमा त्यसमा सहमति जुटेको छ, यसले १० हजार गिगावाट आवरभन्दा बढी इनर्जी उत्पादन हुने देखिएको छ ।” विज्ञहरूको पहिलो बैठक भदौ पहिलो साता काठमाडौंमा भएको थियो ।
सहसचिव घिमिरेका अनुसार लोड फ्याक्टर २० प्रतिशत मानेमा ४८ सय मेगावाट र १६ प्रतिशत मानेमा ५३ सय मेगावाट जडित क्षमता पुग्नेछ भने विस्तृत डिजाइनको आधारमा जडित र फर्म पावर थपघट हुन सक्नेछ । 
नेपालको तर्फबाट जल तथा ऊर्जा आयोग (वेक्स) सचिवालयका सचिव मधुसूदन अधिकारी र भारतको तर्फबाट केन्द्रीय जल आयोगका अध्यक्ष नरेन्द्र कुमारले नेतृत्व गरेको विज्ञ समूहको बैठकमा शारादा व्यारेजमा उपयोग गरेको पानीको हिस्साबारे भने बैठकले टुंगो लगाउन सकेन ।
भारतले शारादा ब्यारेजमार्फत पाइरहेको पानीको भोगचलन वर्तमान अवस्थामा पनि पाउनुपर्ने गरी अग्राधिकार कायम गर्न माग गर्दै आएको छ । नेपालले भने यसलाई अस्वीकार गर्दे आएको छ ।
नेपालले शारदा ब्यारेजबाट भारतले उपयोग गरिरहेको पानी पञ्चेश्वर परियोजनामार्फत उपयोग गर्दा जलविद्युत्को क्षमता कम हुने भन्दै नेपालले पाउनुपर्ने ४६२.५ फर्म पावर अनिवार्य पाउनुपर्ने र घटेको इनर्जी भारतले बेहोर्नुपर्ने गरी प्रस्ताव समेत गरेको थियो तर भारतीय पक्ष यसमा सहमति भएन ।
“नेपालले पाउने फर्म पावरमा नघट्ने गरी र घटेको पावर भारतले बेहोर्नुपर्ने गरी पानी उपयोगको कुरा अघि बढाएपनि यसको टुंगो लाग्न सकेन,” ऊर्जा मन्त्रालयका सहसचिव घिमिरेले भने, “डीपीआरका अधिकांश प्राविधिक कुरा मिलेपनि यो नमिल्दा टुंगो लाग्न सकेको छैन ।” पानीको बाँडफाँड नमिलेसम्म आयोजनाको लागत तथा अन्य फाइदाबारे टुंगो नलाग्ने उनी बताउँछन् । 
बैठकमा पञ्चेश्वर जलाशय बनेपछि पनि भारतले वर्षाद्मा पनि पानी चाहिने र यसो गर्दा जलाशय नभरिने बताउँदै नेपालले पाउनपर्ने फर्म पावर पाउनुपर्ने तर्क नेपाली अधिकारीले राखेका थिए । बैठकको प्राविधिक समूहका विभिन्न समूह र उपसमूह गठन गरेर सहमतिको प्रयास गरिएको थियो ।
आयोजनामा लगानी हुने रकममध्ये ७५ प्रतिशत जलविद्युत्मा हुने र त्यसको ३७.५ प्रतिशत नेपालले लगानी गर्ने र बाँकी सबै भारतले लगानी गर्नुपर्ने नेपालले प्रस्ताव गर्दै आएको छ ।
आयोजनाको अनुमानित लागत ३ सय ३६ अर्ब रूपैयाँ रहेको छ । पानी बाँडफाँडको कुरा नमिलेपछि लागतबारे समेत टुंगो लागिसकेको छैन । पञ्चेश्वर आयोजनामार्फत नेपालतर्फ कैलाली र कञ्चनपुर गरी कुल ९३ हजार हेक्टर तथा भारततर्फ १६ लाख हेक्टर जमिन सिञ्चित हुने अध्ययनले देखाएको छ । 
२०५२ सालमा महाकाली सम्झौता भएपछि १९ वर्षपछि मात्र २०७१ सालको साउनमा पञ्चेश्वरको डीपीआर ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको थियो । तर, हालसम्म डीपीआरले अन्तिम रूप पाएको छैन ।
हालै भएको प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले जारी गरेको ४६ बुँदे संयुक्त विज्ञप्तिमा एक महिनाभित्र डीपीआर टुंग्याउने उल्लेख छ ।
दिल्ली बैठकमा जानुअघि विज्ञ समूहले प्रधानमन्त्री देउवालाई भेटेर डीपीआरमा नेपालले उठाउन लागेको मुद्दा र अडानबारे जानकारी दिएका थिए । उनले नेपालको हित हुने विषयमा मात्र सम्झौता गर्न निर्देशन दिएका थिए । 

Thursday, September 7, 2017

ऊर्जामा देशलाई आत्मनिर्भर बनाउनैपर्छ

   कारोबार संवाददाता   http://www.karobardaily.com/news/821730 + -

महेन्द्रबहादुर शाही ऊर्जामन्त्री
माओवादी सशस्त्र युद्धमा होमिएका र माओवादी सेनाको कुनै समूहको नेतृत्व गरेका महेन्द्रबहादुर शाही अहिले ऊर्जामन्त्री छन् । कालिकोटबाट प्रत्यक्ष निर्वाचित शाही आफूले ऊर्जाक्षेत्रको समग्र अवस्था सुधारका लागि प्रयत्न गरिरहेको बताउँछन् ।
लोडसेडिङ न्यूनीकरणका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउने तरखरमा रहेका ऊर्जामन्त्री शाही ऊर्जा विकासका लागि कर्मचारीतन्त्र र राजनीतिबीच सन्तुलन कायम हुनुपर्ने बताउँछन् । विद्युत् प्राधिकरणलाई नाफामा लैजानदेखि समग्र समग्र ऊर्जाक्षेत्रको सुधार गर्नेसम्मको योजना आफ्नो रहेको बताउने मन्त्री शाहीसँग कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :
ऊर्जामन्त्री भएपछि ऊर्जाक्षेत्रलाई कसरी बुझ्नुभएको छ ? 
ऊर्जाक्षेत्रको समस्या हाम्रा लागि नौलो कुरा होइन । यस क्षेत्रका समस्या सबैलाई थाहा छ । यी हामी सबैले भोगेका समस्या नै हुन् । यस कारण ऊर्जाक्षेत्रको समस्याबारे कोही अनभिज्ञ छैनन् । अहिलेको मुख्य समस्या भनेको ऊर्जाको व्यवस्थापन कसरी गर्ने भन्ने नै हो ।
बाहिर बसेर हेरेको ऊर्जा मन्त्रालय र ऊर्जामन्त्रीका रूपमा नेतृत्व गरेर बस्दाको ऊर्जा मन्त्रालयमा के फरक रहेछ ? 
मैले बाहिरबाट ऊर्जा मन्त्रालयका बारेमा जसरी सोचिरहेको थिएँ, अहिले हेर्दा काम गर्नका लागि केही जटिलता छन् । भित्र आएपछि अलि बढी नै समस्या रै’छन् जस्ता लाग्यो । जसले नेतृत्व लिएको छ, यसको काम गर्ने दायित्व जोसँग छ, त्यो भनेको नेपाल विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालयलगायतका विभिन्न विभाग, कम्पनी छन् । यसको कार्यशैलीमै सबैभन्दा ठूलो समस्या छ ।
कर्मचारीभित्र देखिएको हिजोको कार्यशैली जे छ, त्यो नै मुख्य समस्या हो । लामो समयदेखि धेरै कर्मचारी यहीं हुनुहुन्छ । समस्या बुझ्ने सवालमा उहाँहरूलाई उस्तै–उस्तै लाग्छ । पटक–पटक ऊर्जा सचिव, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायतसँग सल्लाह गर्दा मैले तपार्इंहरूले मन्त्रालयलाई खासै फरक देख्नुभएको थिएन होला भनें ।
तपाईंहरूले प्रत्येक दिन देखिरहनुभएको ढोका, कुर्सी, टेबुल उही भएपछि सामान्य लाग्नु स्वाभाविक हो, तर मैले झ्याप्पै आउँदा धेरै कुरा देखें । सिँढी चढ्दादेखि भित्रसम्म धेरै फोहोर देखें । सबैले यसमा परिवर्तन गर्न पनि लगाए । नयाँ त हुँदो रहेछ नि ! मैले भन्न खोजेको के भने कर्मचारीमा परम्परागत सोच देखें । यस्तो अवस्थामा यो क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउन सकिँदैन ।
ऊर्जाक्षेत्रमा गुणात्मक सोच, परिवर्र्तन ल्याउन खोजेको छु । यो गुणात्मक परिवर्तन ल्याउनका लागि, हिजोको सोचमा परिवर्तन ल्याउनका लागि अन्तरविरोध देखिएको छ । उहाँहरूको आफ्नै परम्परागत गति छ । गुणात्मक परिवर्तन गर्न सक्ने कर्मचारीतन्त्र आवश्यक छ ।
तपाईंले भनिरहनुभएको छ, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व गर्ने गरी मन्त्रालयमा दुई सत्ता छन् । यस्तो दुई सत्ता हुँदा काम गर्न अप्ठेरो परिरहेको हो ? के दुवै सँगसँगै अघि बढ्न सक्दैनन् ? 
यसमा निश्चित अन्तरविरोध छ । यसमा विपरीत तŒवहरू छन् । हामी विपरीतहरूको एकत्व खोजिरहेका छांै । एकत्व भनेको विभिन्न मोडलमा हुने हो । अमेरिका, भारत अर्थात् विभिन्न देशका अलग–अलग मोडल छन् ।
हाम्रो देशमा पनि अलग मोडल छ । कति बेला प्रशासन र कति बेला राजनीति बढी सक्रिय हुने भन्ने छैन । एकले अर्कालाई हस्तक्षेप गर्नु हुँदैन । एकले अर्कालाई सहयोग गर्नुपर्छ । शक्ति सन्तुलन हुनुपर्छ । यस्तो भयो भने प्रतिफल राम्रो निकाल्न सकिन्छ । कतिपय ठाउँमा राजनीति हाबी हुने, कर्मचारीतन्त्र कमजोर देखिने, कतिपय ठाउँमा कर्मचारीतन्त्र हाबी हुने, राजनीति कमजोर हुने देखिएको छ । यी दुवै खतरा नेपालमा छ । ऊर्जामा पनि यही छ । यसलाई सन्तुलन कायम गर्नु अहिलेको आवश्यकता हो ।
हामीले ऊर्जाक्षेत्रमा काम गर्ने जुन योजना बनाएका छौं, यसको कार्यान्वयनका लागि दुवै पक्षको सक्रियता जरुरी छ । यो भएन भने एउटै कुरालाई दसांै पटक भनिरहनुपर्ने अवस्था आउँछ । एउटा कुरा गर्न दस पटक भन्नुपर्ने त होइन नि ! भन्दा नमान्नु भनेको त परम्परागत सोचले काम गरेको हो । परम्परागत कार्यशैलीले काम गरेको हो । यसले के देखाउँछ भने कर्मचारीतन्त्रमा पुरानो सोच हाबी छ । कर्मचारीतन्त्र भनेको त स्थायी सत्ता हो । राजनीतिक सत्ता भनेको अस्थायी हो । मुख्यतः स्थायी सत्ता नै बढी सक्रिय हुनुपर्छ ।
अस्थायीले त कहिलेकाहीं हस्तक्षेप गर्न सक्छ । गलत निर्णय पनि गराउन सक्छ । स्थायी सत्ताले त गलत निर्णय गर्न नदिने, गलत कार्य गर्न नदिने अनि सही कामका लागि निरन्तर लागेर राम्रो सभ्यता र मोडल देखाउने हो । तर, जागिरे मानसिकता बढी देखिएको छ । तलब र भत्ता कहाँबाट आउने भन्नेमा बढी चिन्ता देखिएको छ । राजनीतिक नेताले भनेपछि मात्र काम गर्ने हो भन्ने चिन्तन र सोच छ ।
आफैं स्वविवेकले केही न केही नयाँ काम गर्नुपर्छ है, नयाँ निर्णय गर्नुपर्छ है, यसले राष्ट्रको हित गर्छ है भन्ने सोचबाट विमुख रहनु हुँदैन । यस्तो सोच नहुनु अहिलेको मुख्य समस्या रहेछ भन्ने जीवन्त अनुभव म आफू मन्त्री भएपछि देखें । 
मन्त्री हुनेबित्तिक्कै नयाँ योजना सार्वजनिक गर्छु भनेर श्वेतपत्र जारी पनि गर्नुभयो, यसको कार्यान्वयनको अवस्था कस्तो देख्नुभएको छ ? 
ऊर्जाका योजना कार्यान्वयन गर्न धेरै जटिलता छ, तर केही त कार्यान्वयन गर्दै पनि आइरहेका छौं । मैले दुई÷तीनवटा कुरालाई बढी जोड दिएको छु । एउटा भनेको प्रशासनिक सुधार हो । यो भनेको आफ्नो आत्मगत क्षमता अभिवृद्धि गर्ने हो ।
इच्छाशक्ति पैदा गर्ने कुरा हो । काम गर्दा गति पैदा गर्ने कुरा हो । यो आवश्यक छ । दोस्रो आवश्यकता भनेको अहिलेको विद्युत्मा रहेको गुणस्तरीयता कायम गर्नु हो । अहिले गुणस्तरहीनताको अवस्था छ । गुणस्तरीय विद्युत् आपूर्ति गर्नु अहिलेको आवश्यकता हो । तेस्रो, घाटा रहेको संस्थानलाई नाफामा लैजानु अहिलेको आवश्यकता हो ।
यति व्यवस्थापन गरेर मात्र हुँदैन, ऊर्जा उत्पादनमा पनि आत्मनिर्भर हुनु जरुरी छ । ऊर्जामा देशलाई आत्मनिर्भर बनाउनैपर्छ । अब भारतबाट आयातित बिजुलीबाट होइन, हाम्रो लागि चाहिने विद्युत् तत्काल उत्पादन गर्नका लागि केन्द्रित हुनुपर्छ । अहिले निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरूलाई तुरुन्तै कार्यान्वयनमा लगेर समयमै निर्माण गर्नुपर्छ ।
यसमा सरकार र निजी क्षेत्र दुवैले गरेका कामलाई बढी जोड दिनुपर्छ । अलि बढी दबाब दिँदा चाँडो निर्माण गर्न सकिने कति छन्, त्यसलाई पनि ध्यान दिनुपर्छ । नयाँ–नयाँ आयोजनाहरू पनि सुरु गर्नुपर्छ । भएका आयोजनाहरूबाट बढीभन्दा बढी विद्युत् उत्पादनमा जोड दिनुपर्छ । अहिले विज्ञान र प्रविधिमा ठूलो विकास हुँदाहुँदै पनि हामी पुरानै प्रणालीमा छौं भने यसलाई सम्पूर्ण रूपमा नयाँ प्रणालीमा लैजानु अहिलेको आवश्यकता हो ।
अर्को कुरा, आगामी हिउँदमा उद्योगधन्दामा समेत लोडसेडिङ अन्त्य गर्ने गरी मन्त्रालयले विभिन्न योजना बनाइरहेको छ । यो चुनौतीपूर्ण काम हो, तर हामीलाई के विश्वास छ भने आगामी हिउँदमा सर्वसाधारणमा त लोडसेडिङमुक्त हुने नै छैन, उद्योगधन्दामा पनि लोडसेडिङ हुनेछैन । यसका लागि ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरणलगायतका निकाय सक्रिय भएर लागेका छौं ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पनि धेरै सक्रिय हुनुभएको छ । लोडसेडिङको तत्कालीन समस्या समाधानको कुरा भयो यो । दीर्घकालीन रूपमा ऊर्जामा आत्मनिर्भर हुने गरी ठूला–ठूला आयोजनाहरू अघि बढाउने योजना हाम्रो छ । 
घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफामा लैजाने तपाईंको योजना छ, तर तपाईंले अहिले विद्युत् प्राधिकरणले प्रस्ताव गरेको विद्युत् महसुल बढाउन दिन्न पनि भनिरहनुभएको छ । कसरी प्राधिकरणलाई नाफामा लैजान सक्नुहुन्छ ? 
यदि मलाई साँच्चिकै काम गर्न दिने हो भने र मेरो गतिलाई पछ्याउने हो भने अहिलेको मूल्यलाई अझ घटाएर विद्युत् प्राधिकरणलाई नाफा हुने वातावरण बनाउन सक्छु । यो प्रकारको कार्ययोजना मसँग छ । 
तपाईंसँगको समूह अर्थात् ऊर्जा सचिव, प्राधिकरण कार्यकारी निर्देशकलगायतका समूह छ । यो समूहबीच आपसी सम्बन्ध सुमधुर छ पनि भनिन्छ । यस्तो अवस्थामा महसुल घटाउने र विद्युत् प्राधिकरणलाई नाफामा लैजान सक्ने के–के आधार छन् ? 
सबैभन्दा पहिलो त विद्युत् प्राधिकरणको आम्दानीको १/१ रुपैयाँको हिसाबकिताब हुनुपर्छ । १ पैसाको पनि अर्थ हुन्छ । आयोजनाहरूमा प्रयोग हुने सामग्रीको उचित प्रयोग र मूल्य हुनुपर्छ । दुरुपयोग हुनु हुँदैन । अहिले सामग्रीको उचित प्रयोग र सुरक्षा भएको छैन ।
अहिले त विद्युतीय सामग्री फुटे, तार खसे, बिग्रिए कसैलाई मतलब छैन । पोल भाँचिए पनि चिन्ता छैन । अहिले सरकारी संस्थान नफस्टाउनु र निजी क्षेत्र फस्टाउनुको कारण भनेकै समुचित उपयोग र सुरक्षा हो । भारतकै मात्र हेर्ने हो भने पनि विद्युत् व्यापार गर्ने कम्पनीहरूले कमभन्दा कम मूल्यमा विद्युत् दिएका छन् । यसमा प्रतिस्पर्धा छ । अहिले नेपालमा हेर्ने हो भने धेरै निजी निकाय फाइदामा छन् ।
निजी निकायहरूको फाइदामा जाने सेवा त्यही हो । सबैले गुणस्तरीय सेवा दिएका छन् तर सबै सरकारी संस्थान घाटामा जानुको कारण के हो ? दर नबढाउँदैमा संस्था घाटामा जाने होइन । यसलाई पारदर्शी बनाउनुप¥यो । अहिले पारदर्शीता छैन । अर्को कुरा, विद्युत् सेवाको गुणस्तर बढाउन सकियो भने चुहावट घटाउन सकिन्छ । यो गर्न सकियो भने धेरै कुरामा खर्च कटौती गर्न सकिन्छ ।
मैले के देखिसकेको छु भने पारदर्शिता बढाउन सकियो भने फाइदा नै फाइदा छ । अहिले मेरो फोकस स्मार्ट मिटर, स्मार्ट ग्रिडलगायतमा छ । अनलाइन सिस्टममा जान लागेका छौं । यो गर्नेबित्तिक्कै धेरै कुरामा नियन्त्रण हुन्छ । गुणस्तर मापन गर्ने निकाय मन्त्रालयमा खडा गर्दै छौं । कुनै सामान परिवर्तन गर्नुपरेमा यसले परीक्षण गरेर मात्र गर्नेछ । मितव्ययिता गर्ने हाम्रो लक्ष्य छ । 
पछिल्लो समयमा ऊर्जामन्त्री र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढ्दै गएको भनिन्छ, के भएको हो ? 
यो कुरा सो¥है आना गलत हो । यसबारे मैले स्पष्ट पारिसकेको छु । यसमा कुनै सत्यता छैन । यो आवश्यक र जरुरी कुरा पनि होइन । कुनै मुद्दामा विवाद भयो भने पो यस्तो हुन सक्ने अवस्था रहन्छ । आजसम्म कुनै विवाद छैन । विवाद गर्नुपर्ने कुनै मुद्दा छैन । विवाद भयो भन्नु हावादारी कुरा मात्र हो । यो कसैले फैलाएको भ्रम मात्र हो । 
विद्युत् प्राधिकरणले गर्नुपर्ने कतिपय पत्रकार सम्मेलन प्राधिकरणलाई बेवास्ता गरेर मन्त्री आफैंले गर्न लागेको गुनासो आइरहेको छ । प्राधिकरण बोर्ड बैठकको निर्णय मन्त्रीबाटै ऊर्जा मन्त्रालयमा सार्वजनिक हुन थाल्यो भन्न थालिएको छ । के विद्युत् प्राधिकरणको स्वायत्तामाथिको हस्तक्षेप होइन र ? यसलाई के भन्नुहुन्छ ? 
विद्युत् प्राधिकरण स्वायत्त निकाय होइन । ऊर्जा मन्त्रालयको मातहतमा रहेको एउटा निकाय नै हो । यसलाई विद्युत् व्यापार गर्न जिम्मेवारी दिइएको छ । विद्युत् प्राधिकरण ऊर्जा मन्त्रालयअन्तर्गत रहने हुनाले स्वायत्त हुनै सक्दैन । यसलाई सुधार गर्नका लागि ऊर्जामन्त्री वा आवश्यकता पर्दा प्रधानमन्त्रीले समेत बोलाउन सक्नुहुन्छ । आवश्यकता पर्दा ऊर्जा मन्त्रालयमा बोलाउन सकिन्छ । 
ऊर्जामन्त्रीद्वारा जारी श्वेतपत्रका भावी मार्गचित्रमा समावेश मुख्य–मुख्य बुँदाहरू
  • ‘राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकाश दशकसम्बन्धी अवधारणापत्र, २०७२’ र ‘नेपालको पानी जनताको लगानी, २०७३’ का कार्यक्रमहरूको कार्यान्वयनलाई निरन्तरता दिइनेछ ।
  • विद्युत् नियमन आयोग ऐनको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
  • पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउन पहल गरिनेछ । 
  • ‘नेपालको पानी जनताको लगानी’ अन्तर्गत आकर्षक जलविद्युत् आयोजनामा नेपाली जनता, राष्ट्रिय पुँजीपति, नेपाली सेना, नेपाल प्रहरी, निजामती तथा संघ–संस्थानका कर्मचारी, मजदुर तथा विदेशमा बस्ने नेपालीहरूबाट लगानीको सुनिश्चितता गरिनेछ, साथसाथै जलविद्युत् लगानी तथा विकास कम्पनीमार्फत वैदेशिक लगानी भिœयाइ सरकारी तथा निजी आयोजनाहरूलाई आवश्यक पुँजीको व्यवस्था गरिनेछ । 
  • नेपाल विद्युत् प्राधिकरणबाट निर्माण भैरहेका चमेलिया, त्रिशूली–३ ए, कुलेखानी तेस्रो तथा प्राधिकरणका सहायक कम्पनीबाट निर्माणाधीन अपर तामाकोसी, रसुवागढी, मध्यभोटेकोसी र सान्जेनजस्ता आयोजनाहरूलाई छिटो सम्पन्न गर्न विशेष पहल गरिनेछ ।
  • निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनाहरूलाई समयमै सम्पन्न गराउन आवश्यक सहयोग एवं सहजीकरण गरिनेछ ।
  • फुकोट कर्णाली जलविद्युत् आयोजनामा कर्णालीका स्थानीय जनता तथा निजामतीलगायतका सार्वजनिक सेवामा रहेका कर्मचारीको सेयर लगानीको सुनिश्चितता गरिनेछ । नगद लगानी गर्न नसक्ने जनतालाई श्रममार्फत सेयर लगानी गर्ने व्यवस्था मिलाइनेछ ।
  • ठूला तथा बहुउद्देशीय आयोजनाको निर्माण गर्न इन्जिनियरिङ, प्रक्रुमेन्ट, कन्ट्रक्सन फाइनान्सिङ (ईपीसी) तथा तथा ब्युल्ड एन्ड ट्रान्सफर (बीटी) को अवधारणा खुला गर्न नीतिगत व्यवस्था गरिनेछ । 
  • ०७४/७५ भित्र सम्पन्न हुने आयोजनालाई समयमै सम्पन्न गर्न विशेष पहल गरिनेछ । 
  • चिनी तथा अन्य उद्योगबाट निस्कने बगासलगायत बायोमास उपयोग गरी सह–उत्पादन गरिने विद्युत्को प्रवद्र्धन गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ ।
  • विद्युत् खरिद–बिक्रीलाई सहज बनाउन समयानुकूल हुने गरी प्रक्रियालाई सरलीकरण गरिनेछ । 
  • गुणस्तरीय तथा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन, ऊर्जा सुरक्षाको सुनिश्चितता गर्न तथा विद्युत्मा आत्मनिर्भर हुन दीर्घकालीन रणनीति तयार गरिनेछ ।
  • विद्युत् उत्पादन कम्पनी, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, इन्जिनियरिङ कम्पनी, नेपाल पावर ट्रेड कम्पनीलगायतका कम्पनीहरूलाई साधन–स्रोत सम्पन्न बनाई प्रभावकारी रूपमा अगाडि बढाइनेछ ।
  • विद्युत् माग व्यवस्थापन तथा लोडसेडिङ निराकरणका लागि अल्पकालीन रूपमा भारतबाट आयातित विद्युत्, स्वदेशको सौर्य तथा बायोमासबाट उत्पादित विद्युत, रन अफ रिभर जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् आदिको उचित सम्मिश्रण तय गरी कार्यान्वयन गरिनेछ । यसका लागि विशेष गरी सहरी तथा ग्रामीण इलाकाका ग्राहकहरूलाई नेट मिटरिङको व्यवस्था गरी सौर्य ऊर्जालाई प्रवद्र्धन गरिनेछ । 
  • आव ०७५÷७६ को मध्यसम्ममा माथिल्लो तामाकोसी, निजी क्षेत्रबाट उत्पादन हुने जलविद्युत् र राष्ट्रिय ग्रिडमा आबद्ध हुने सौर्य विद्युत्समेतबाट कुल ६ सय मेगावाट प्रणालीमा थप गरिनेछ ।
  • पूर्वदेखि पश्चिमसम्म तराई र मध्य पहाडमा ४ सय केभी प्रसारण लाइन, न्यू बुटवल–गोरखपुर तथा गल्छी–केरुङ क्रसबोर्डर ४ सय केभी प्रसारण लाइन, कर्णाली, सेती, भेरीलगायतका नदी बेसिनमा ४ सय केभी प्रसारणलाइनलाई आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी योजना अगाडि बढाइनेछ । यी प्रसारणलाइन निर्माण सम्पन्न भएपश्चात् विद्युत् आयात–निर्यात, इनर्जी बैंकिङ तथा पावर ह्विलिङ गर्नका लागि सहज हुनेछ । 
  • प्राधिकरणको एक मात्र भारप्रेषण केन्द्रलाई स्तरोन्नति तथा विस्तार गरी क्षेत्रीय भारप्रेषण केन्द्रसमेत स्थापना गरिनेछ । विद्युत् व्यापारका लागि अल्पकालीन तथा दीर्घकालीन संरचना तयार गरिनेछ । 
  • विद्युत् आपूर्ति सहज गर्न वितरण प्रणालीलाई सुदृढीकरण गरी सबस्टेसनको ट्रान्सफर्मर, डिस्ट्रिब्युसन ट्रान्सफर्मर, फिडर तथा वितरण लाइनहरूको क्षमता वृद्धि गरिनेछ ।
  • आपूर्ति गरिने विद्युत्को गुणस्तर कायम गर्न भोल्टेज, फ्रिक्वेन्सी तथा पावर फ्याक्टरलाई तोकिएको स्तरमा कायम राख्ने उपायहरू अवलम्बन गरिनेछ ।
  • भरपर्दो विद्युत्का लागि ट्रान्समिसन तथा डिस्ट्रिब्युसन लाइनहरूको मर्मत गरी चुस्त–दुरुस्त राखिनेछ ।
  • देशका सबै जिल्लामा केन्द्रीय प्रसारणलाइन पु¥याउन विशेष पहल गरिनेछ, एक वर्षभित्र कर्णाली अञ्चललाई राष्ट्रिय प्रसारणलाइनसँग जोडिनेछ । केन्द्रीय प्रसारणलाइन नपुग्ने स्थानमा चालू अवस्थामा रहेका साना जलविद्युत् आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गरिनेछ ।
  • सहज, सुरक्षित र आधुनिक सेवाप्रदान गर्नका लागि अनलाइन पेमेन्ट, रिचार्ज कार्ड पेमेन्ट तथा एनि ब्रान्च पेमेन्ट सेवा देशभरि क्रमशः लागू गरिनेछ । यसका साथै स्मार्ट मिटर र स्मार्ट ग्रिडलाई काठमाडौं हुँदै क्रमशः अन्य ठाउँमा लागू गर्दै लगिनेछ । हाल औद्योगिक तथा व्यापारिक ग्राहकहरूमा लागू गरिएको टाइम अफ डे ट्यारिफलाई क्रमशः गार्हस्थ्य वर्गका ग्राहकहरूमा पनि लागू गरिनेछ । 
  • विद्युत् वितरण कार्यलाई प्रभावकारी बनाई चुहावटमा कमी ल्याउन प्रयास गरिनेछ । यसका साथै विद्युत् चोरीलाई दण्डित गर्न आवश्यक व्यवस्था गरी विद्युत् चुहावट नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ । 
  • विद्युत् उपभोग गरी लामो समयसम्म वक्यौदा राख्ने ग्राहकको निश्चित समय तोकी वक्यौदा चुक्ता गर्न अनुरोध गरिनेछ । तोकिएको समयभित्र वक्यौदा चुक्ता नगर्ने ग्राहकको विद्युत् आपूर्ति बन्द गरिनेछ । 
  • ग्राहकलाई सम्मानपूर्वक व्यवहार गर्ने तथा विद्युत्सम्बन्धी गुनासो व्यवस्थापनलाई उचित ध्यान पु¥याइनेछ ।
  • संविधानबमोजिम विद्युत्क्षेत्रको प्रादेशिक र स्थानीय तहमा प्रशासनिक तथा संस्थागत संरचना स्थापना गरिनेछ । 
  • जलविद्युत् उत्पादन, प्रसारण तथा वितरण आयोजनाहरूमा आइपर्ने बाधा–व्यवधान हटाउन आवश्यक आदेश, निर्देशन र समन्वयका लागि मन्त्रालयमा एक हटलाइन डेस्क स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।
  • प्राधिकरणको वित्तीय अवस्था सुदृढ गर्नका लागि सञ्चालन खर्चमा न्यूनीकरण, स्व–उत्पादन वृद्धि, प्राविधिक एवं अप्राविधिक चुहावट घटाउँदै विद्युत्को बिक्री परिमाण बढाउनुका साथै उपलब्ध स्रोतको परिचालन गरी थप आयआर्जन गरिनेछ । 
  • आगामी ५ देखि १० वर्षभित्र करिब १२ हजार मेगावाटसम्मको विद्युत् खपत गर्न सक्ने गरी तराईलगायतका प्रमुख शहरी क्षेत्रहरूमा औद्योगिक करिडोर एवं वितरण प्रणालीको विस्तार गर्ने योजना अगाडि बढाइनेछ । त्यस्तै वितरण प्रणालीलाई आधुनिकीकरण गरी सुरक्षित र गुणस्तरयुक्त विद्युत् आपूर्ति गर्न काठमाडौंलगायतका प्रमुख सहरहरूमा वितरण प्रणाली भूमिगत गरिनेछ ।
  • आगामी दिनमा प्राधिकरणले विद्युत् माग व्यवस्थापन तथा ऊर्जा दक्षता कार्यक्रममा विशेष जोड दिनेछ । ऊर्जा दक्षता भएका लिडचिम, पंखा, क्यापासिटर बैंक, पानी तान्ने मोटरलगायतका उपकरणहरूको प्रयोगमा व्यापकता ल्याई ऊर्जाको उच्च माग व्यवस्थापन गरिनेछ । 
  • नेपाल विद्युत् प्राधिकरणसँग मुलुकभर रहेको सञ्चार नेटवर्क तथा जग्गाजमिनको समुचित उपयोगबाट प्राधिकरणले उल्लेख्य आम्दानी गर्न सक्ने देखिन्छ । अप्टिकल फाइवरको विस्तार गरी भाडामा दिने, प्राधिकरणको जग्गामा व्यावसायिक भवनहरू निर्माण गर्ने, मौजुदा ट्रान्सफर्मर वर्कसपहरूलाई नयाँ ट्रान्सफर्मर उत्पादन गर्न सक्ने गरी विस्तार तथा स्तरोन्नति गर्नेलगायतका व्यावसायिक क्रियाकलापहरू प्राधिकरणमार्फत अगाडि बढाइनेछ ।
  • विद्युत् प्राधिकरणको उत्पादन, प्रसारण एवं वितरण संरचनाहरू मानवीय क्षति कमभन्दा कम हुने गरी सुरक्षित बनाउन प्रणाली सुदृढीकरण एवं सुधारका कार्यक्रमहरू व्यापक रूपमा अगाडि बढाइनेछ । प्राधिकरणले दिने हरेक सेवामा मानवीय सुरक्षालाई प्रमुख प्राथमिकता दिइनेछ ।
  • आयोजनाहरूको प्रभावकारी कार्यान्वयन तथा सञ्चालनका लागि प्राधिकरणमा कार्यरत कर्मचारीहरूलाई उपयुक्त तालिम प्रदान गरी निजहरूको क्षमता अभिवृद्धि गरिनेछ । भक्तपुरस्थित तालिम केन्द्रको पुनर्संरचना एवं स्तरोन्नती गरी अन्तर्राष्ट्रिय संस्थाहरूसँगको समेत समन्वयमा अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट तालिम केन्द्रको रूपमा विकास गरिनेछ ।
  • ठेक्का सम्झौता गरी तोकेको समयभित्र निर्माण तथा अध्ययन सम्पन्न नगर्ने निर्माण व्यवसायी तथा परामर्शदाता कम्पनीहरूसँगको ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा समेत सूचीकृत गरिनेछ ।
  • स्लगहरु ः
  • कर्मचारीमा परम्परागत सोच देखें । यस्तो अवस्थामा यो क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउन सकिँदैन ।
  • कतिपय ठाउँमा राजनीति हाबी हुने, कर्मचारीतन्त्र कमजोर देखिने, कतिपय ठाउँमा कर्मचारीतन्त्र हाबी हुने, राजनीति कमजोर हुने देखिएको छ । यी दुवै खतरा नेपालमा छ ।
  • आगामी हिउँदमा उद्योगधन्दामा समेत लोडसेडिङ अन्त्य गर्ने गरी मन्त्रालयले विभिन्न योजना बनाइरहेको छ ।
  • अहिलेको मूल्यलाई अझ घटाएर विद्युत् प्राधिकरणलाई नाफा हुने वातावरण बनाउन सक्छु ।

अस्तव्यस्त विद्युत् प्रणाली एकीकृत गर्न सर्भे

    भीम गौतम   http://www.karobardaily.com/news/82148 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौ : नेपाल विद्युत् प्राधिकरणसँग हाल मुलुकभर कति ट्रान्सफर्मर, पोल र तार छन् अनि अनि माग र आपूर्तिको अवस्था छ के भन्ने एकीकृत विवरण छैन ।
अस्तव्यस्त रहेको यो विद्युत् प्रणालीमा समस्या आएपछि र तत्काल कुन माग भएपछि मात्र यसको सम्बोधन हुने गरेको छ तर बल्ल विद्युत् प्राधिकरणले यसबारे सर्भे सुरु गरेको छ । 
विद्युत्को उत्पादन, वितरण र प्रसारण प्रणालीलाई एकीकृत गरेर जियोग्राफिकल इन्फरमेसन सिष्टम (जीआईएस)मार्फत प्राधिकरणले गुगल 
म्याप निर्माणका लागि सर्भे सुरु गरेको हो । मुलुकभरकै एकीकृत तथ्यांक संकलन गर्ने गरी सुरु भएको सर्भे अन्र्तगत नमूना रूपमा विद्युत् प्राधिकरणको जोरपाटी वितरण केन्द्रमा सुरु गरिएको छ ।
“विद्युत् क्षेत्रमा ट्रान्सफर्मर, पोल, तार,  र यसको क्षमताको अवस्थाबारे विस्तृत रूपमा जानकारी लिएर यसलाई गुगल म्याप सहज रूपमा उपलब्ध गराउने गरी सर्भे सुरु भएको छ,” विद्युत् प्राधिकरण जीआईए स्मार्ट ग्रीड परियोजनाका प्रमुख लक्ष्मण मण्डलले भने, “यो सर्भे सम्पन्न भएपछि सबै विवरण गुगल एप्सबाट हेर्न सकिनेछ ।” उनका अनुसार अहिले विद्युत् वितरण प्रणाली अन्र्तगत ग्राहक संख्या, लाइनहरू, ट्रान्सफर्मरहरू र यसको क्षमता, प्रसारण लाइन, पोलहरूको अवस्था लगायतबारे सर्भे गर्न लागेको छ । 
सर्भेपछि कुन क्षेत्रमा कति ग्राहक, कति विद्युत् माग, ट्रान्सफर्मरको क्षमताको अवस्था, वितरण लाइन र पोल लगायतबारे विस्तृत रूपमा जानकारी हुनेछ । सर्भेले मिटरको आवश्यकता र तत्काल समाधान गर्न सकिने सूचनादेखि प्राधिकरणमा सबैभन्दा ठूलो समस्याको रूपमा देखिएको चुहावट नियन्त्रणमा समेत सहयोग पुग्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
हालसम्म विद्युत् प्राधिकरणसँग ग्राहक र उनीहरूको आवश्यकताबारेको स्पष्ट जानकारी हुने कुनै तथ्य, तथ्यांक छैन भने ग्राहकले माग गरेपछि लाइनहरू वितरण गर्ने र ‘ओभर लोड’ भएपछि मात्र ट्रान्सफर्मरहरू परिवर्तन गर्ने गरिएको छ । गुगल म्याप तयार गरेपछि ट्रान्सफर्मर जल्ने समस्यामा न्यूनीकरण हुनुका साथै लाइन बिग्रेमा समेत तुरुन्तै कारण पत्ता लाग्नेछ । 
प्राधिकरणका अनुसार हाल जीआईएसमार्फत विराटनगर, रंगेली, इटहरी, दुहबी, राजविराज, लहान, जनकपुर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका साथै काठमाडौका कुलेश्वर, वानेश्वर, पुल्चोक, ठिमी लगायतका क्षेत्रमा गुगल म्याप बनाउने कार्य अघि बढेको छ । दुई वर्षभित्र सम्पूर्ण विद्युत् प्रणालीको जानकारी दिने गरी सर्भेमार्फत म्याप तयार गरिने प्रमुख मण्डलले जानकारी दिए । 
गुगल म्याप तयारीका लागि जीआईएस सफ्टवेयर र सर्भे एप्सका लागि करिब १ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । जीआईएस सफ्टवेयरका लागि मात्र १ करोड २० लाख लाग्ने अनुमान छ  ।
यस्तो एप्स विद्युत् प्राधिकरण सूचना प्रविधि विभागका अमरेशकुमार झाले बनाएको र यो उपयोगी हुने प्राधिकरणका अधिकारीहरू बताउँछन् । सर्भे सकिएपछि पोलदेखि वितरण केन्द्रका संकेत नम्बरसम्मको विस्तृत जानकारी एकीकृत रूपमा हेर्न सकिन्छ भने यसले तत्काल कुनै समस्या देखिएमा र क्षमता वृद्धि गर्नुपरेमा विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयले गुगल म्यापमार्फत तुरुन्तै थाहा पाएर समस्या समाधान गर्न सक्ने अपेक्षा गरिएको छ ।