Saturday, September 23, 2017

धरहरा पुनर्निर्माणबाट टेलिकमले हात झिक्यो

     भीम गौतम   http://www.karobardaily.com/news/82509 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं : २९ महिनाअघि भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको जिम्मा लिएको नेपाल टेलिकमले पुनर्निर्माणबाट हात झिकेको छ । 
१६ महिनाअघि अर्थात् २९ असार २०७३ मा मन्त्रिपरिषद्को निर्णयपछि पुनर्निर्माणको जिम्मा लिएको टेलिकमले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेख्दै पुनर्निर्माणबाट हात झिकेको हो । धरहरा पुनर्निर्माण व्यावसायिक रूपमा निर्माण गर्ने पक्षमा रहेको टेलिकमको योजनालाई पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागले अस्वीकार गर्दै पुरातात्विक रूपमा पहिलाकै स्वरुपमा बनाउनुपर्ने बताएका थिए ।
“धराहरा पुनर्निर्माणबाट टेलिकमले हात झिकेको छ, अब प्राधिकरणले कसरी अघि बढाउने भनेर छलफल अघि बढाउँछ ।” पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुसालले भने, “कमर्सियल रूपमा धरहरा बनाउने योजना टेलिकमको थियो तर पुरातत्व विभाग र प्राधिकरणले पुरातात्विक ढंगले बनाउनुपर्छ भन्नेमा थियो, उसको र हाम्रो सोच मिलेन ।”
१६ महिनाअघि टेलिकमलाई जिम्मा दिएपछि हालसम्म कुन ढाँचामा बनाउने भन्ने अन्योलताको कारणले धराहरणको पुनर्निर्माणअघि बढ्न सकेको छैन । धराहरा पुनर्निर्माणमा ढिलाइ भएपछि २३ भदौमा प्राधिकरणले यसबारे आधिकारिक धारणा पेस गर्न पत्राचार गरेको थियो ।
पत्रको उत्तर दिँदै टेलिकमले पुरातत्व विभागको नक्साको आधारमा अघि बढाउँदा समस्या हुने भन्दै टेलिकमले धरहरा पुनर्निर्माणका लागि दिने भनेको एक अर्ब रुपैयाँ सहयोग भने यथावत रहेको उल्लेख गरेको छ । करिब ४ अर्बको लागत अनुमान गरिएको धरहरा पुनर्निर्माणको काम हालसम्म पनि सुरु नहुँदा अन्योलता बढेको छ । टेलिकमले भने धरहराभित्र व्यावसायिक मल बनाउने गरी ७ अर्ब लगानी प्रस्ताव गरेको थियो । तर यसलाई प्राधिकरणले अस्वीकार गरेको थियो । 
मन्त्रिपरिषद्ले निर्णय गरेकाले धरहरा पुनर्निर्माणबाट टेलिकमले हात झिकेकाले यसबारे मन्त्रिपरिषद्मा जानकारी दिएर पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि प्रक्रियाअघि बढाउने प्रवक्ता भुसालले बताए । 
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले वि.सं १८८२ सालमा सुन्धारास्थित बागदरबारछेउ आफ्नो र महारानी त्रिपुरासुन्दरीदेवीका नाममा दुई धरहरा निर्माण गरेकोमा वि.सं १९९० सालको भूकम्पमा भीमसेनका नामको धरहरा जगैदेखि भत्किएको थियो । अर्को महारानीको नामको धरहरा पनि चिरा परेपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले पुनर्निर्माण गराएका थिए । 

No comments: