Sunday, September 17, 2017

एनआरएनए अध्यक्षमा भवन भट्टको उम्मेदवारी

    भीम गौतम  0 + -


समाचार प्रतिनिधि तस्विर
काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन् २०१७—२०१९ को कार्यकालका लागि आफू अध्यक्षको उम्मेदवार हुने औपचारिक जानकारी दिएका हुन् । टीबीआई समूहका अध्यक्ष भट्ट यसअघि संघमा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यक्ष निर्वाचित भएर आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् । 
कार्यक्रममा भट्टले वैदेशिक रोजगारीमा रहेका नेपालीको बिमाका लागि ‘एनआरएन वैदेशिक रोजगार आपतकालीन कोष’को रकम परिचालन गर्न सकिने जनाए । यस्तै, महिला फोरमलाई सशक्त बनाउने एवं नयाँ लगानीकर्ताका लागि स्टार्टअप फन्डको व्यवस्था गर्ने योजना उनले अघि सारेका छन् । हाल एनआरएनए वैदेशिक रोजगार कोषमा करिब २ करोड ५० लाख रूपैयाँ रहेको छ ।
भट्टले वर्तमान नेतृत्वले अघि बढाएका लाप्राक नमूना बस्ती, एनआरएनए भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड तथा सामूहिक लगानीलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए ।एनआरएनएलाई सबैको साझा र पवित्र मन्दिरको रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका भट्टले ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ विगत १४ वर्षदेखि समृद्ध नेपालको सपना साकार पार्न आफू लागिपरेकाले एनआरएनएको नेतृत्वका लागि आफ्नो दावी अत्यन्त स्वभाविक रहेको बताए ।
भट्टले आफ्ना एजेण्डाहरू पछि सार्वजनिक गर्ने भन्दै प्रारम्भिक अवधारणा मात्र सार्वजनिक गरेका छन् । कार्यक्रममा उनले हरेक राष्ट्रिय समन्वय परिषद (एनसीसी)मार्फत एक विशेष परियोजनाको परिकल्पना गरिएको उल्लेख गर्दै सामाजिक उद्यमशीलतालाई प्रवद्र्धन गरी महिला तथा युवाको सहभागिता बढाउने योजना पनि सार्वजनिक गरेका छन् ।
एजेन्डाहरू
  • स्मार्ट एनआरएन
  • विदेशमा रहेका नेपालीको बिमा
  • महिला फोरमलाई सशक्त 
  • स्टार्टअप फन्डको व्यवस्था 
  • हरेक एनसीसीमार्फत एक विशेष परियोजना
  • उद्यमशीलतामा महिला र युवाको सहभागिता
  • भिजन ट्वान्टी–ट्वान्टी एण्ड बियोन्डको निरन्तरता
  • वैदेशिक रोजगार कोषको विस्तार 
“अध्यक्ष उम्मेदवारको रूपमा आगामी कार्यकालका लागि केही नयाँ एजेन्डाहरू पनि तयार गरेको छु,” उनले भने, “विदेशमा रहेका नेपालीको हितका लागि सरकारसँग छलफल गरेर हामीले श्रम सहचारी राख्ने लगायतका काममा योगदान दिँदै आएका छौ, अब कामदारहरूको बिमालाई समेत विशेष जोड दिन लागेका छौं ।” 
एनआरएनएका हाल ७७ मुलुकमा राष्ट्रिय समन्वय परिषद (एनसीसी) रहेको छ । गैरआवासीय नेपालीको सामूहिक लगानी नेपाल भिœयाउन पनि वैदेशिक रोजगार कोषलाई अझ विस्तार गर्न आफूले जोड दिने भट्टले कार्यक्रममा जानकारी दिए । भट्ट नेतृत्वको टीबीआई समूहले जापान र नेपालसहित युरोवमा पनि आफ्नो व्यावसायिक दायरा विस्तार गरिसकेको छ ।
जापानमा रेष्टुराँ र रिसोर्ट व्यवसायमा ख्याती कमाएको टीबीआईले युरोपमा पनि होटल एवं रेष्टुराँ व्यवसाय सञ्चालन गरिरहेको छ भने नेपालमा होटल, ब्रुअरी, सञ्चार, एयरलाइन्स, शिक्षा, अटोमोबाइललगायतका क्षेत्रमा लगानी रहेको छ । http://www.karobardaily.com/news/82360

No comments: