Monday, September 4, 2017

सिमेन्ट उद्योगमा ३७ अर्ब लगानी सम्झौता

    भीम गौतम   http://www.karobardaily.com/news/820470 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौंः चिनियाँ र नेपाली कम्पनीको संयुक्त लगानीमा स्थापना हुन लागेको सिमेन्ट उद्योग स्थापनाका लागि पौने ३७ अर्ब रुपैयाँ बराबरको परियोजना लगानी सम्झौता (पीआईए) भएको छ  । मुलुकको सिमेन्ट उद्योगमा सबैभन्दा ठूलो लगानी मानिएको होङ्सी शिवम् सिमेन्ट उद्योगमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी हुनेछ ।
लगानी बोर्डले होङ्सीलाई दुई वर्षअघि लगानीका लागि अनुमति दिएको थियो भने गत साउन दोस्रो साता प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले पीआईए मस्यौदालाई स्वीकृत गरेको थियो । नेपालमा निजी क्षेत्रको लगानीलाई व्यवस्थित गर्नेगरी गरिएको यो प्रकृतिको सम्झौता पहिलो हो । कारखाना स्थापनाका लागि आइतबार पीआईए सम्पन्न भएको हो ।
अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि चिनीयाँ राजदूत यू होङको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र प्रवद्र्धक होङ्सी शिवम् सिमेन्ट प्रालिका निर्देशक एवं महाप्रबन्धक लाई वेईपेङ्बीच सम्झौता सम्पन्न भएको हो ।
कारखानामा चीनको होङ्सी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङको ७० प्रतिशत र नेपाली शिवम् सिमेन्टको ३० प्रतिशत लगानी रहनेछ । 
नवलपरासीको बेणीमनिपुर गाविसस्थित बेलुवामा निर्माण हुने होङ्सी शिवम् सिमेन्ट उद्योगले यसका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा स्थापना गर्ने जनाएको छ ।
कारखानाले कारखानाले ओपीसी (ढलानमा प्रयोग हुने सिमेन्ट) र पीपीसी ( प्लास्टर र गारोमा प्रयोग हुने) सिमेन्ट उत्पादन गर्ने बोर्डले जनाएको छ । सिमेन्ट कारखानाले सन् २०१८ भित्र उत्पादन गरिसक्ने लक्ष्य र।ाखेको कारखानाले पहिलो २ वर्षभित्र दैनिक ६ हजार टन र ४ वर्षभित्र दैनिक १२ हजार टन उत्पादन गर्नेछ ।
प्रतिदिन १२ हजार टन र वार्षिक ४३ लाख ८० हजार टन क्लिंकर र सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको यो उद्योगबाट ओपीसी सिमेन्ट ९ लाख २० हजार टन र पीपीसी सिमेन्ट १३ लाख ८० हजार टन उत्पादन हुनेछ । पूर्ण सञ्चालनमा आएपछि वार्षिक १२ अर्ब बराबरको राजस्व तिर्ने अनुमान गरिएको छ भने दुई हजारले प्रत्यक्ष रोजगार पाउनेछन् ।
नेपाली बजारको मागमध्ये ३५ प्रतिशत होङ्सी शिवम सिमेन्टले पूरा गर्न सक्ने कारखानाको दाबी छ । नवलपरासीमा सिमेन्ट उद्योगको स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । बोर्डले कारखाना स्थापना हुने क्षेत्रमा पहुँच मार्ग र प्रसारणलाइन पु¥याउनका लागि सहज वातावरण बनाउने जनाएको छ ।
सरकारले कारखाना स्थापनाका लागि लगानीको सुरक्षाको प्रत्याभुति दिँदै सहजीकरण गर्ने प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । कारखानाले बजारमा उच्च गुणस्तरको सिमेन्ट उपलव्ध गराउनुका साथै  नेपालमा गुणस्तरीय सिमेन्टका लागि प्रतिस्पर्धा समेत सिर्जना गर्न सहयोग पुग्ने आशा गरिएको छ । कार्यक्रममा अर्थमन्त्री कार्कीले कारखाना उत्पादनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलब्ध गराउने बताए । 

No comments: