Thursday, November 22, 2018

नदी बेसिनको व्यवस्थापनमै अनभिज्ञ छन् स्थानीय तह

बिहिवार, मंसिर ६, २०७५
लहान (सिरहा)-आफ्नो क्षेत्रको नदी व्यवस्थापनबारे स्थानीय तह अनभिज्ञ देखिएका छन् । 
संघीयतामा गएपछि नदीको व्यवस्थापन संघ, प्रदेश र स्थानीय सरकारले गर्ने उल्लेख भए पनि स्थानीय तह भने आफ्नो नदीको व्यवस्थापन कसरी गर्ने भनेर अनभिज्ञ देखिएका हुन् । कमला नदी बेसिनबाट प्रभावित सिरहाका चार नगरपालिकाका जनप्रतिनिधिले नदी व्यवस्थापन सबैभन्दा ठूलो समस्याको रूपमा देखिएको भए पनि यसबारे कुनै एकीकृत र व्यवस्थित योजना नभएको बताए । नेपाल सरकार जल तथा ऊर्जा आयोगको सचिवालयको लागि अष्ट्रेलियन सरकारको द कमन वेल्थ साइटिफिक एण्ड इडष्ट्रिज रिचर्ज अर्गनाइजेसन (सीएसआईआरओ) को सहयोगमा जलस्रोत विकास संस्था र पीइआईले निर्माण गर्न लागेको कमला नदी बेसिनको एकीकृत रणनीति निर्माणबारेको अध्ययनको क्रममा सिरहाको लहानमा गरेको छलफलमा उनीहरूले हालसम्म एकीकृत रूपमा व्यवस्थित गर्ने योजना नभएको बताए । सिरहा नगरपालिका प्रमुख अशेश्वर यादव, मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादव, कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डल र करजना नगरपालिकाका उपप्रमुख ज्ञानु श्रेष्ठले हालसम्म पानीको बहुउपयोगबारे स्पष्ट नीति नभएको बताउँदै यसको उपयोग र व्यवस्थापनका लागि साझा रूपमा साझेदारी गरी योजना बनाउन तयार रहेको बताए । “पानीको उपयोग धेरै क्षेत्रमा गर्न सकिन्छ तर अहिले कृषिका लागि मात्र सोचिएको छ, यसबारे एकीकृत रूपमा पानी उपयोगको योजना बनाएका छैनौ,” कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलले भने, “खानेपानी, सिँचाइ, कृषिदेखि विद्युतीकरणसम्मका लागि पानीको उपयोग गर्नुपर्छ ।” हालसम्म यसरबारे नीति नबनाएकोे बताउँदै करजना नगरपालिका उपप्रमुख ज्ञानु श्रेष्ठले योजना निर्माणका लागि सरकार र अनुभव प्राप्त संस्थाहरूको सल्लाह र समन्वय आवश्यक रहेको बताउँदै यसको कार्यान्वयनका लागि सबै नगरपालिकाले साझा रणनीति बनाउनुपर्ने बताइन् । 
कमला बेसिनको नदीको पानी बाँडफाँड, उपयोग र व्यवस्थापनका लागि साझा योजना बनाउनुपर्नेमा जोड दिँदै उनीहरूले नदीका कारण भएको बाढी, भू–क्षयलगायतका समस्या समाधानसँगै खानेपानी, सिँचाइ, जलविद्युत्, उद्योग, कृषि, पशुपालन लगायतका पानीको बहुउपयोगका लागि बजेटको साझेदारीसहित एकीकृत योजना निर्माण र प्राथमिकीकरणका लागि सहकार्य आवश्यक रहेको बताए । 
कार्यशालामा नेपाल सरकारका पूर्वसचिव एवं जलस्रोत विकास संस्थाका उपाध्यक्ष सोमनाथ पौडेलले सिरहा, धनुषा, उदयपुर र सिन्धुली जिल्लाका प्रभावित स्थानीय तहको प्रत्यक्ष सहभागितामा नदी बेसिनको एकीकृत रणनीति निर्माण गर्न लागेको जानकारी दिए । ऊर्जा मन्त्रालयका पूर्वसह–सचिव केशवध्वज अधिकारीले देशभरिका नदी बेसिनको योजना निर्माणको क्रममा नमुना रूपमा कमला बेसिनको विकास रणनीति निर्माण भइरहेको जानकारी दिए । जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इन्जिनियर डा. महेश्वर श्रेष्ठले सरकारले नदी बेसिनको योजना, नीति र रणनीति निर्माण गर्न लागेको जानकारी दिँदै निर्माण हुन लागेको एकीकृत जलस्रोत नीतिका लागि कमला बेसिनको अध्ययनको निष्कर्ष सहयोगी हुने बताए । अध्ययन सिँचाइ, खानेपानी र जलविद्युत्को प्राथमिकीकरणका लागि सहयोगी हुने उनको भनाइ थियो । वन तथा भू–संरक्षण विभाग सहायक भू–संरक्षण अधिकृत पासाङ तामाङले कोसी बृहत् जलाधारअन्तर्गत कमला बेसिनको जलाधार संरक्षणका लागि सिरहामा जलाधार व्यवस्थापन कार्यालय स्थापना भइसकेको र यस क्षेत्रमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरिने बताए । 
कार्यशालामा प्रभावित समुदाय, स्थानीय तह तथा राष्ट्रिय तहमा सरोकारवाला, नीति निर्मातालगायतसँग छलफल गरी एकीकृत रणनीतिका मुख्य लक्ष्यका रूपमा जल उत्पन्न प्रकोप जोखिम न्यूनीकरण तथा जीविकोपार्जनमा टेवा पुर्याउनका लागि चुरे तथा यसका प्राकृतिक स्रोतरुको दिगो व्यवस्थापन, जीविकोपार्जन, जीवनस्तर तथा आर्थिक वृद्धिका लागि जल उत्पन्न प्रकोपको न्यूनीकरण, जलस्रोत उपलब्धता प्रयोग र बाँडफाँडमा सुधार तथा स्थानीय आर्थिक समृद्धि र जीविकोपार्जन सुरक्षाका लागि व्यावसायिक तथा वैज्ञानिक कृषि प्रणालीको विकासलगायतको प्रस्ताव गरिएको थियो । 
कमला बेसिन विकास रणनीति तयार गर्ने उद्देश्यले २०७४ सालको कात्तिक अन्तिम साता अर्थात् १४ नोभेम्बर २०१७ देखि सुरु भएको यो रणनीति विकास योजना तर्जुमा २०७६ को जेठ मसान्त अर्थात् १४ जुन २०१९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

No comments: