बुधवार, चैत्र २०, २०७५
बारा-आइतबार साँझ फिटा–६ गौछीटोलका मञ्जुआयल मिया खातुन घरमै बसिरहेका थिए । एक्कासी हावा हुरीसहितको भुमरी आयो । उनको घरमात्र उडाएन । घरभित्र रहेका १८ वर्षीया सपनाम खातुन र १२ वर्षीया रुबी खातुनलाई सधँैका लागि चुँडेर लग्यो । “यसरी हावा हुरीसहितको भुमरी आयो की, भएका साना झुपडी पनि १०-१५ सेकेण्डमै उडाएर लग्यो,’ उनले त्यो दिनको पीडा सम्झँदै भने, “दुई छोरी गुमायौं, चार जना अस्पतालमा उपचार गर्दैछन् ।”
भुमरीपछि न उनीसँग घर छ, न कुनै सम्पत्ति न अन्नपात नै । मंगलबारसम्म उनको झुपडीसम्म त्रिपाल समेत पुगेको छैन । सोमबारको रात यत्रतत्र छरिएको भत्किएका घर, सम्पत्ति, सामान र उजाड वस्ती हेरेर बिताएका फेटावासी मंगलबार विभिन्न दाताहरुले आफ्नो गाउँमा ल्याएर दिएको खाना खाँदै थिए । कारोबारकर्मी त्यहाँ पुग्दा उनले भने, “गरिबका झुपडी नै भुमरीको तारो बन्दा रहेछन्, गरिबमाथि यस्तो प्रहार भयो, गाउँभरीका सबै गरिबका सबै झुपडी क्षणभरमै सखाप भए ।”
खाटमुनि छिरेर बल्ल बल्ल बाँचेका सोही गाउँका अमिर खानको पीडा पनि उस्तै छ । “बाँच्न त बाँचियो तर आफ्नो भन्ने केही रहेन, अन्नपात सबै सखाप भयो,” स्थानीय हसमद दिन अन्सारीले पीडा पोखे, “अब भविष्यमा कसरी बाँच्नु, भुमरीले पनि गरिबमाथि नै प्रहार गर्दो रहेछ ।” स्थानीय रिजबाबुर अन्सारी, जमिर खानलगायत धेरै परिवारहरुमा भूमरीको बज्रपातले ठूलो पीडा जन्माइदिएको छ । “गरिब नभइदिएको भए यो झुपडी घर बनाउनुपर्ने थिएन, गाउँकै पक्की घर केही भएन, हाम्रो केही रहेन,” जमिरले भने ।भुमरीपछि न उनीसँग घर छ, न कुनै सम्पत्ति न अन्नपात नै । मंगलबारसम्म उनको झुपडीसम्म त्रिपाल समेत पुगेको छैन । सोमबारको रात यत्रतत्र छरिएको भत्किएका घर, सम्पत्ति, सामान र उजाड वस्ती हेरेर बिताएका फेटावासी मंगलबार विभिन्न दाताहरुले आफ्नो गाउँमा ल्याएर दिएको खाना खाँदै थिए । कारोबारकर्मी त्यहाँ पुग्दा उनले भने, “गरिबका झुपडी नै भुमरीको तारो बन्दा रहेछन्, गरिबमाथि यस्तो प्रहार भयो, गाउँभरीका सबै गरिबका सबै झुपडी क्षणभरमै सखाप भए ।”
आइतबार साँझ ७ बजेतिर गएको भुमरीले बारा र पर्साका धेरै गाउँमा झुपडी घर ध्वस्त भए । यसबाट सबैभन्दा बढी पीडित गरिबीको रेखामुनि रहेका अधिकांश परे । इटाले बनाएका सामान्य कच्चीघर कुनै पनि बाँकी नरहेको हसमद बताउँछन् । कच्ची घरमात्र होइन, भुमरीले स्थानीय गाउँमा भएका अधिकांश रुख पनि जराबाटै उखेलिए भने अधिकांश बिजुली पोल, खानेपानीको कल भत्किए । खाद्यान्न र अन्नबालीलाई पनि पूर्ण रुपमा नष्ट गरिदियो । भुमरीपछि गाउँमा अहिले न खाद्यान्न छ, न खानेपानी, न बिजुली, न गाँस, न बाँस, न लाउने कपडा अनि न कुनै बाली नै । बालबालिकामा ठूलो त्रास फैलिएको छ । फिटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादपीडित सबैलाई खाद्यान्नदेखि गाँसबाँस व्यवस्थाका लागि सरकारी र अन्य गैरसरकारी निकायसँग समन्वय गरी अघि बढिरहेको बताउँछन् ।
भुमरीपछि बारा र पर्सामात्र होइन, देशभरिबाट उनीहरुका लागि राहत वितरण सुरु भएको छ । अधिकांश सडकको छेऊ र नजिक पुगेपनि भित्री गाउँसम्म नपुग्दा पीडितहरुले तीन दिन बित्दा पनि ठूलो पीडामा बाँच्नुपरेको छ ।
राहत वितरण सुरु
बाराको हुरीप्रभावित बस्तीमा सोमबार दिउँसोदेखि मंगलबार दिनभर देशभरका विभिन्न संघ संस्थाले राहत सामग्री ल्याउन थालेका छन् । मंगलबार बारा–पर्सा–रौतहटबाहेक देशका विभिन्न जिल्लाबाट संघसंस्थाले राहत सामग्री ल्याउने क्रम व्यापक बनेको छ । स्थानीय प्रशासन र जनप्रतिनिधिबीच समन्वय नहुँदा राहत सामग्री लिएर आएकाहरु अन्योलमा परेका छन् ।
धुर्मुसले करिब ४ सय बढी परिवारलाई त्रिपाल र चामल र चाउचाउ लिएर पुगे । यद्यपि उनले त्यहाँको अस्तव्यस्तता देखेर बाँड्न भने सकेनन् । स्थानीय जनप्रतिनिधिलाई जिम्मा लगाएर उनी फर्किए । यस्तै, नगर उद्योग वााणिज्य संघ सिमराले पनि करिब डेढ लाख बराबरको खाद्यान्न गाउँमा आफँैले बाँडेर फर्कियो । त्यसैगरी सिमराका स्थानीय युवाले पनि राहत सामग्री आफँैले बाँडेर आएका छन् । प्रहरी–सेनाले बुधबारदेखि त्रिपालको घर बनाउने र भग्नावशेष व्यवस्थापन गर्ने काममा जुटेपछि राहत सामग्री अलपत्रमा पर्न थालेको फेटा गाउँपालिका, पुरैनीयाका तुफानी आलमले बताए ।
नेकपाले मृतकलाई ५ लाख, नेपाली काग्रेसले २५ लाख, कांग्रेस उपसभापति विमलेन्द्र निधिले १० लाख, राष्ट्रिय जनता पार्टीले ५ लाख सहयोगको घोषणा गरेका छन् । यस्तै, तिलोत्तमा नगरपालिका, रुपन्देहीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले एक दिन बराबरको तलब भत्ताबाट ४ लाख रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने भएका छन् । नेपथ्य समूह र नेपालयले पनि हावाहुरी प्रभावितकालागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । कलैया, हेटौंडा, वीरगञ्जलगायतका स्थानमा पनि राहत संकलन सुरु भएको छ ।
राहतलिएर आएका दर्जनौं सवारी साधन दिनभर धटनास्थल वरपर अन्योलमा परेको देखिन्छ । त्रिपाल नपुगेर हजारांै विस्थापित खुला आकाशमा रात बिताएका छन् भने घटनास्थल वरपर शौचालय नहुँदा दुर्गन्ध बढेर महामारी फैलने खतरा बढेको छ । करिब ५ हजार परिवारका सदस्यहरु क्षणभरमै आफ्नो घर सपनामा जस्तैगरी हावाले उडाएपछि खुला आकासमुनी रात बिताइरहेका छन् । हावाहुरीले बाराको फेटा गाउँपालिका नराम्ररी प्रभावित भएको छ । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनललगायत भने प्रभावित क्षेत्रमा खटेका छन् । मन्त्री सोनलले हेलिकोप्टर चढेर राहत नहुने भन्दै पाल, ब्लांकेटलगायत आवश्यक सामग्री पठाउन केन्द्र सरकारसँग माग गरेका छन् । न्यूनतम ५ हजार परिवारलाई पाल चाहिने उनको भनाइ छ ।
भीम गौतम-प्रकाश लम्साल
No comments:
Post a Comment