Thursday, May 27, 2021

बिजुली बिक्रीको अनुमति दिन निजी क्षेत्रको माग

https://www.karobardaily.com/news/140131 

जेष्ठ १३, २०७८ बिहीबार

राम्रा नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नेपालको बिजुलीको खपत बढाउन नसकिएको र अन्तर्राष्ट्रिय रूपमा समेत व्यापार गर्न नसकिएको यस क्षेत्रका जानकार तथा सरोकारवालाले टिप्पणी गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट विषयक अन्तरक्रियामा सहभागीले कार्यान्वयन हुने गरी आगामी आर्थिक वर्षको बजेट तयार गर्न सरकारलाई सुझावसमेत दिए ।
कार्यक्रममा सहभागीले देशभित्रै विद्युत् खपत बढाउने गरी नीति, योजना र कार्यक्रम जरुरी रहेको भन्दै बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्री गर्ने गरी योजना र त्यसको प्रभावकारी कार्यान्वयन जरुरी रहेकोमा जोड दिए । आन्तरिक रूपमा बिजुली खपत बढाउनका लागि विद्युतीय सवारीको प्रयोगमा बढावा दिनुपर्ने, घरायसी रूपमा खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुल्होको प्रयोग तथा उद्योग तथा व्यवसायमा सहज रूपमा बिजुली प्रयोग गर्न पाउने वातावरण बनाउनुपर्ने उनीहरूको भनाइ थियो ।
सरकारले केही नीतिगत सुधार गरेर प्रसारण प्रणालीमा सुधार गर्ने हो भने तत्कालै पाँच सय मेगावाट उद्योग प्रतिष्ठानले लिनसक्ने अवस्था छ । यस्तै, ब्लेड उद्योगलाई सहजीकरण गर्न सकिए तत्काल नै दुई सय मेगावाट खपत हुनसक्ने उनीहरूको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले आन्तरिक रूपमा बिजुलीको माग बढ्न नसक्नुका तथ्य र कारणको खोजी गर्नुपर्ने बताए ।
झण्डै १७ हजार मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा रहेको भन्दै उनले वितरण प्रणालीलाई राम्रो बनाइएको खण्डमा खपत वृद्धि हुने धारणा राखे ।
यस्तै विद्युतीय सवारी साधनलाई बढावा दिँदै विशेष आर्थिक क्षेत्र घोषणा भएका स्थानमा सहजीकरण गर्दै उद्योगी व्यवसायीलाई थप केही राहत तथा अनुदान दिएर भए पनि अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । सिमेन्ट कारखाना, स्टिल कारखानाले बिजुली मागे पनि दिन नसकिएको अवस्थालाई मध्यनजर गरेर काम गर्न सकिएको खण्डमा तत्काल नै पाँच सय मेगावाटसम्म सहजै रूपमा माग बढ्न सक्ने उनको भनाइ छ ।
विद्युतीय सवारी साधनका लागि केही समय पहिले मात्रै ५० वटा चार्जिङ स्टेसनको कामसमेत अगाडि बढेको र एलपी गयासको विस्थापनका लागि भने ठोस कार्ययोजना सहितको कार्यक्रम जरुरी रहेको उनले बताए । बढी विद्युत् खपत गर्नेलाई कम महसुल लिने नीति जरुरी रहेको तथा वर्षाको समयको बिजुलीको पनि महसुल कम गर्ने गर्नुपर्ने सहसचिव भेटवालको भनाइ छ । उनले जलाशययुक्त आयोजनालाई ५० वर्ष, अर्धजलाशयुक्त आयोजनालाई ४० वर्षको अनुमति दिने प्रक्रियामा र अन्यलाई पनि सोही अनुसारको व्यवस्था गर्न लागिएको जानकारी दिए ।
विद्युत् नियमन आयोगका सदस्य डा. रामप्रसाद धितालले मूल्य घटाएर मात्रै बिजुलीको खपत बढ्छ भन्ने मान्यता राख्नुभन्दा पनि त्यसको विविधीकरणमा जोड दिनुपर्ने बताए । उनले अन्तरदेशीय बिजुली व्यापारका लागि केही नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता महसुस भएको भन्दै त्यसका लागि सरकारले स्पष्ट दिशानिर्देशन गर्नुपर्ने सुझाव दिए । उनले नोडल एजेन्सी तोक्नेदेखि खुल्ला र स्वतन्त्र रुपमा विद्युत् आदान प्रदान गर्ने संयन्त्र, त्यसको शुल्क तथा अन्य कानुनी प्रबन्धको बारेमा समेत आयोगका तर्फबाट पनि पहल भइरहेको जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको समग्र ऊर्जा क्षेत्रको विकासका लागि प्राधिकरणको तर्फबाट गर्नुपर्ने सबै काममा सहजीकरण गर्न आफूहरू प्रयन्तशील रहेको बताए । उनले प्राधिकरणले आमउपभोक्ताको हित हेर्दै समन्वयात्मक रूपमा काम गरिरहेको र उद्योगी व्यवसायीको मागलाई समेत सम्बोधन गर्न प्रयत्नशील रहेको बताए ।
उनले उद्योेगीलाई प्राधिकरणले उपलब्ध गराउने बिजुलीमा थोरै डिमान्ड चार्ज बढाएर इनर्जी शुल्कमा केही छुट दिँदामात्रै पनि माग बढ्ने अवस्था रहेको जानकारी दिए । कार्यकारी निर्देशक शाक्यले आन्तरिक रूपमा सिँचाइमा २५० गिगावाट घण्टा र विद्युतीय सवारीमा २५०० गिगावाट घण्टा बराबरको माग बढाउन सकिने अवस्था रहेको तथ्य पेस गरेका थिए । उनले प्रसारणलाइन निर्माणमा देखिएको समस्या समाधानका लागि ‘राइट अफ वे’ मा परेका जनतालाई सेयर दिने नीति बनाउन सकेको खण्डमा कुनै पनि समस्या नहुने स्पष्ट पारे ।
ऊर्जा क्षेत्रका जानकार ज्ञानेन्द्रलाल प्रधानले बिजुलीको बजार जताततै विस्तारित भएको खण्डमा त्यसैको खोजीमा लाग्नुभन्दा उत्पादन बढाउनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए । उनले केही नीतिगत परिवर्तन, प्रसारण प्रणालीको विकास तथा विस्तार गर्ने हो भने तत्काल नै २५ अर्ब बराबरको आन्तरिक बजार स्वदेशमा नै तयार हुने बताए ।
भारत, बंगलादेशजस्ता मुलुकका लागि नेपालको ऊर्जा जरुरी रहेको भन्दै उनले त्यसका लागि संयन्त्र खडा गर्ने र अत्यावश्यक काम गर्नुपर्नेमा जोड दिए । सुनखानी र पेट्रोल खानीले बजार खोज्नु नपरेजस्तै नेपालको ऊर्जाले बजार नपाइएला कि भन्ने चिन्ता गर्नु नपर्ने उनको जोड छ ।
उद्योग वाणिज्य महासंघको ऊर्जा समितिका सभापति गोपाल खनालले भौतिक पूर्वाधारको विकास र विस्तारमा जोड दिएमात्रै सरकारी तथा निजी क्षेत्रको पहल सार्थक हुने बताए ।
एउटा सरकारी निकायले भनेको कुरा अर्को निकायले नमान्ने अवस्थाको पनि अन्त्य गरिनुपर्ने र एकद्वार नीतिमार्फत काम हुने वातावरण तयार पार्नुपर्नेमा स्वतन्त्र ऊर्जा उद्यमीहरूको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्ण आचार्यले जोड दिए । उनले निर्देशनमुखी सरकारी प्रशासनका कारण काम हुन नसकेको भन्दै प्रक्रियामा अल्झने कि काम पनि गर्ने भन्नेबारेमा स्पष्ट हुनुपर्ने बताए । उनले बिजुली उत्पादन बढाउनका लागि क्यू ४० को प्रणाली हटाउनुपर्ने धारणा राखे । आगामी आवको बजेटले जग्गा प्राप्तिको समस्या, वन क्षेत्रको समस्या तथा अन्य प्रक्रियागत झन्झट हटाउनेतर्फ स्पष्ट व्यवस्था हुनुपर्ने उनको माग छ ।
व्यवसायी भरत खत्रीले व्यापारिक उद्योग तथा व्यवसायीलाई विद्युत्को मूल्य असाध्यै महंगो भएको भन्दै त्यसलाई समसामयिक परिवर्तन गर्न आग्रह गरे । उनले बढी खपत गर्नेलाई कम महसुल लिने प्रणालीको व्यवस्था गर्न तथा प्रसारण तथा वितरण प्रणालीको सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

बक्समा
व्यापारिक प्रतिस्पर्धाका लागि सबैलाई अनुमति दिन्छौ ः भेटवाल
सरकारले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ । सेजनले आयोजना गरेको श्रव्य दृश्य अन्तरक्रियामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिन लागिएको बताए ।
नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत् व्यापार कम्पनीलाई अनुमति दिन अस्वीकार गर्दै आएको सरकारले सो कम्पनीलाई पनि अनुमति दिन लागेको हो । सहसचिव भेटवालले भने, “जुन प्रक्रियाबाट निफ्रालाई अनुमति दिइन्छ । त्यसैगरी अन्य कम्पनीलाई पनि अनुमति दिइन्छ ।” ऊर्जा उद्यमीहरूको लगानीमा विद्युत् व्यापार कम्पनी स्थापना गरेका छन् । यस्तै प्राधिकरणले समेत विद्युत् व्यापारका लागि छुट्टै कम्पनी सथापना गरेको छ ।
सहसचिव भेटवालले प्रतिस्पर्धी रूपमा विद्युत् व्यापारका लागि प्रक्रिया पुगेर आएका आवेदनलाई अनुमति दिइने बताए ।

Wednesday, May 26, 2021

उज्यालो खोज्नेका लागि सधैं बजेटकै पिरलो

 https://www.karobardaily.com/news/140016

जेष्ठ १३, २०७८ बिहीबार

जुम्लाको विकट तिला गाउँपालिका–७ पोखरेका परिमल रोकायालाई आफ्नै घरमा झिलिमिलि बलेको बिजुली हेर्ने औधी इच्छा छ । सदरमुकाम र अन्य गाउँमा जाँदा देखेको बिजुली गाउँघरमै आइदिए कस्तो खुशी हुन्थेँ होला भनेर उनी कल्पना गर्छन् । तर न उनको गाउँमा बिजुली छ, न मोटरबाटो नै । उनी मात्र होइन, पोखरेका अधिकांश बासिन्दाले मोबाइल चार्ज गर्न समेत आकाशको घाम हेर्नुपर्छ । ‘२१ औं शताब्दीमा पनि उज्यालोमा बस्ने पाइएको छैन, देशमा गणतन्त्र त आयो तर हामी विकटका जनतालाई उज्यालो आएन,’ रोकाया भन्छन्, ‘गाउँमा कहिँ कतै सोलार त छ तर मोबाइल चार्ज गर्नका लागि पनि आकाशतिर घाम लाग्छ कि लाग्दैन भनेर हेर्नुपर्छ ।’
जुम्लामा मात्र होइन, सिंहदरबाट साढे दुई घण्टामा पुग्ने मकवानपुरको वकैया–१० को अवस्था पनि उस्तै छ । २०५८ सालमा विद्युतीकरणका लागि प्रकृया अघि बढाउँदा मकवापुरको वकैया–१० का धुवाकोटका नरमान लामा २८ वर्षका थिए । अहिले उनी ४८ वर्ष पुगेका छन् तर बिजुली पुगेको छैन । ‘हाम्रो घर काठमाडौंबाट दुई घण्टामै पुगिन्छ तर बाग्मती पारी बिजुलीले झिलिझिलि छ, त्यही हेरेर कहिले आउला र बिजुली बालौंला भनेर वर्षौदेखि बसिरहेका छौं,’ उनी भन्छन्, ‘२० वर्ष अघि गाउँपालिकाले विद्युतीकरणका लागि भनेर १० लाख छुट्याएको थियो तर पहलकदमी भएन, तार त टाँगिएको छ तर कहिले बल्छ थाहा छैन, सधै बजेट कम भन्ने मात्र सुनिन्छ ।’ गाउँपालिका उपाध्यक्ष सरला बोलखे भने आफूहरु जनप्रतिनिधिको रुमपा आउँदा गाउँपालिकामा बिजुली नभएपनि तीन वर्षको अवधिमा धेर वडामा बलिसकेको र आगामी वर्षभित्र बिजुली पुगिसक्ने बताउँछिन् । ‘अहिले पनि बजेट तीन करोड जति छ तर सधै बजेट कम भयो भनिन्छ, हामीले त पहल गरिरहेका छौं,’ उनी भन्छिन् ।
अधिकांश विकट गाउँमा बजेट अभाव नै अहिलेसम्म बिजुली नपुग्नुको कारक बनेको छ । काभ्रेको कर्णालीको रुपमा चिनिने डाँडापारीको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा दुर्गममा ठूला परियोजना र बजेट ल्याउनै गाह्रो हुने बताउँछन् । ‘हाम्रो गाउँमा विद्युत प्राधिकरणको केन्द्रीय ग्रिड पुगेको छैन, केही ठाउँमा वैकल्पिक ऊर्जा त त्यो पूर्ण रुपमा भरपर्दो छैन, टुकी जिन्दगी नै चलिरहेको छ,’ उनले भने, ‘प्रत्येक वर्ष खर्बको बजेट सुनिन्छ तर अध्यारो चाहिने जनताका लागि भने करोड पनि आइपुग्दैन ।’ आफ्नो गाउँपालिकाको बुढाखानीको ३० घरधुरीमा मात्र हालसम्म केन्द्रीय ग्रीडबाट बिजुली बलेको र एशियाली विकास बैकको सहयोगमा हाल विद्युतीकरण अघि बढेपनि काम ढिला हुँदा कहिलेसम्म घरमा उज्यालो आउँछ भन्नेमा अन्योलता नै रहेको बताउँछन् ।
२०७३ सालदेखिनै लोडसेडिङमुक्त घोषणा गरिएपनि उज्यालो नै नदेख्ने गाउँ अझै धेरै छन् । नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार, गत असारसम्म ११ नगरपालिका र ८३ नगरपालिका अझै ग्रीड जोडिएको छैन । यसमा पनि यसमध्ये ११ नगरपालिका र ५३ गाउँपालिका कर्णाली र सुदूरपश्चिम प्रदेशका रहेको विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, जुम्ला, कालीकोट, मुगु, डोल्पा र हुम्ला जिल्लामा ग्रीड नै पुगेको छैन । कर्णालीमा बल्ल ३२ प्रतिशतमा बिजुली पुगेको छ भने सुदूरपश्चिममा ६५ प्रतिशतमा पुगेको छ । लुम्बिनी प्रदेशको अन्य सबै जिल्लामा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भएपनि रुकुम पूर्वमा २० प्रतिशत र रोल्पामा ४५ प्रतिशत मात्र विद्युतीकरण भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत २५ लाख घरधुरी बराबर करिब ७ प्रतिशतमा बिजुली पुगेको तथ्यांक छ तर ती सबै घरधुरीमा सोलार, लघु जलविद्युत पूर्ण सञ्चालनमा आएका छैनन् । कति आयोजना रुग्ण अवस्थामा छन् भन्ने एकिन तथ्यांक भने केन्द्रसँग छैन । केन्द्रका निर्देशक नवराज ढकाल यसबारे अध्ययन भइरहेको बताउँछन् ।
५४ लाख घरधुरीमध्ये करिब ५० लाख घरधुरीमा पुगेको छ भने २ करोड ९१ लाख जनसंख्यामध्ये २ करोड ५६ लाख जनसंख्यामा मात्र बिजुली पुगेको छ । प्रतिशतको आधारमा भने ८८ प्रतिशत छ । अझै १२ प्रतिशतमा केन्द्रीय ग्रीड पुग्न सकेको छैन ।
सरकारले अँध्यारोमा रहेका सर्वसाधारणलाई उज्यालो दिन्छु भन्न थालेको भन्ने धेरै वर्ष भैसक्यो । २०५५÷०५६ सालमा पनि सबैलाई उज्यालो पु¥याउने घोषणा गरेको सरकारले जलस्रोत नीति २०५८ ग्रामीण विद्युतीकरणमार्फत सबैलाई बिजुली दिने घोषणा गरेको थियो । जनआन्दोलन सफल भएपछिको पहिलो सरकारले २०६४ सालमा १० वर्षभित्र सबैलाई बिजुली पु¥याउने घोषणा गरेको थियो । आर्थिक वर्ष २०७५÷२०७६आगामी तीन वर्षभित्र सबै नेपालीको घरमा आधुनिक ऊर्जा र पाँच वर्षभित्र सबै घरपरिवारलाई माग बमोजिमको विद्युत उपलब्ध गराउन जलविद्युत र सबै प्रकारका नवीकरणीय ऊजाको विकास गरिने घोषणा बजेटमै गरिएको थियो । अब तीन वर्ष पुरा हुन करिब डेढ महिना मात्र बाँकी छ । गत वर्ष बजेटमा पनि जलविद्युत, सोर्य, जैविक र वायु लगायतका नवीकरणीय ऊर्जाको उपयोगबाट ऊर्जाको पहुँच कम भएका प्रदेश–२, कर्णाली र सुदुरपश्चिम प्रदेशलाई पूर्ण रुपमा अध्यारोमुक्त प्रदेश घोषणा गरिने उल्लेख थियो तर दुवै प्रदेशमा अझै धेरै विद्युतीकरणबाट बञ्चित छन् ।
चालु बजेटमा पनि आगामी दुई वर्षभित्र सबै परिवारमा नवीकरणीय ऊर्जाको पहुँच पुर्याई उज्यालो नेपालको अभियान सम्पन्न गरिने उल्लेख गरिएको छ । सो अनुसार आगामी वर्षभित्र विद्युतीकरण गरिसक्ने लक्ष्य राखिएको छ । नेपाल इनर्जी फाउण्डेसनका अध्यक्ष डिल्ली घिमिरे २०५५ सालदेखि नै सबै घरमा बिजुली पुर्याउने घोषणा गरेको सरकारले २०७२ सालको नयाँ संविधानमा मौलिक हक अन्र्तगत वातावरणीय अधिकारतर्फ राखिएपनि हालसम्म विद्युत प्राधिकरणको संरचना केन्द्रीकृत भएको र स्थानीय निकायसँग मिलेर विद्युतीकरण गर्न संस्थागत संरचनानै नबनाएको बताउँछन् । ‘बजेटको घोषणामा मात्र भनेर भएननि, यसलाई व्यवहारिक रुपमा विद्युतीकरण गर्न स्थानीय तहमा संस्थागत संरचना र कानुननै बनेनन्, संविधानमै भएको व्यवस्था अनुसार सीमान्तकृत, विपन्न र गरिबलाई ऊर्जाको पहुँच पु¥याउने, उनीहरुको क्रयशक्ति वृद्धि गरी उपयोग बढाउने कुरामा सरकारी निकायको चासो नै देखिएन ।’ आगामी वर्षभित्र सबैलाई विद्युतीकरण गर्न अहिलेको गतिले असम्भव रहेको उनको भनाई छ । कर्णाली प्रदेशका विद्युत प्राधिकरणका प्रमुख सुरेन्द्रप्रसाद अग्रहरी हालसम्म १६ लाख घरधुरीमध्ये ३२ प्रतिशतमा मात्र बिजुली पुगेको तथा यसका लागि १० अर्ब थप लागत आवश्यक देखिएको बताउँदै आगामी वर्षभित्र सडक अभाव लगायतका व्यवहारिक कारण सबै स्थानीय तहमा बिजुली पु-याउन कठिन रहेको बताउँछन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्की भने आगामी वर्षभित्र सबैमा बिजुली पु-याउने लक्ष्य अनुसार सरकार अघि बढेको र यो पूरा गर्ने बताउँछन् । ‘अलि अलि बजेटको समस्या छ, अर्थ मन्त्रालयले दिन्छु भनेकोले लक्ष्य अनुसार नै पूरा गर्न सक्छौं,’ उनले भने ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भने अर्थ मन्त्रालयले बजेट दिएमा २०७९÷०८० सम्म पूर्ण विद्युतीकरण गर्न सकिने दाबी गर्छन् । चालु वर्षभित्र ३४ मा पूर्ण विद्युतीकरण र अर्को वर्ष थप ४३ जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने प्राधिकरणको लक्ष्य छ । हालसम्म २७ जिल्लामा भने पूर्ण विद्युतीकरण भैसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, सबैलाई पूर्ण विद्युतीकरण गर्नका लागि १४ अर्ब आवश्यक देखिएको छ ।
चालु वर्षको अधिकांश बजेट खर्च गरिसकेको प्राधिकरणले चालु वर्षमै थप ५ अर्ब मागेको छ तर ऊर्जा मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गैसकेपनि हालसम्म दिएको छैन । ‘चालु वर्षभित्र थप ५ अर्ब दिएमा हामी यसको खरिद प्रकृया अघि बढाउन सक्छौ र अर्को वर्षभित्र लक्ष्य अनुसार पूर्ण विद्युतीकरण हुन सक्छ,’ विद्युत प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने भन्छन्, ‘चालु वर्षभित्र नदिएमा आगामी वर्षभित्र पूर्ण विद्युतीकरण गर्न कठिन हुन्छ ।’
तीन वर्ष अघि राष्ट्रिय योजना आयोगको लागि प्राधिकरण अन्र्तगत एनईए इन्जिनियरिङ कम्पनीले तयार गरेको लागत अनुमानमा पूर्ण विद्युतीकरण हुन बाँकी ७२४ स्थानीय निकायलाई बिजुली पु-याउन २ खर्ब आवश्यक रहेको औंल्याएको थियो । १ खर्ब ४८ अर्ब १३ करोड उत्पादन तथा बाँकी ५६ अर्ब वितरण र प्रसारणको लागि आवश्यक रहेको उक्त प्रतिवेदनमा उल्लेख छ तर सरकारले पछिल्लो समयमा विद्युतीकरणको बजेट भने घटाईरहेको छ । आर्थिक वर्ष २०७५-०७६ मा ५ अर्ब बजेट विनियोजन गरेकोमा गत वर्ष घटाएर साढे चार अर्बमा झारेको थियो भने चालु वर्षमा अझै घटाएर चार अर्बमा झारेको छ । ‘बजेटमा जनतालाई उज्यालो बनाउने भनेर उदारतापूर्वक घोषणा गरेको देखिन्छ तर व्यवहारमा झन बजेट घट्दैछ, कसरी अँध्यारोमा रहेकाहरुले आगामी वर्षभित्र बिजुली पाउँलान, कठिननै छ,’ इनर्जी फाउण्डेसनका अध्यक्ष घिमिरे भन्छन् ।

Saturday, May 22, 2021

अन्तरदेशीय विद्युत् व्यापारमा हात हाल्दै निफ्रा बैंक

 जेष्ठ ७, २०७८ शुक्रबार

प्रतिस्पर्धी बन्न रोकेका छैनौ : ऊर्जा मन्त्रालय
–स्वागतयोग्य तर भेदभाव गरियो : निजी क्षेत्र
–हामीलाई पन्छाएर निजीलाई पोस्न खोजियो : प्राधिकरण


केही महिनाअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र ऊर्जा मन्त्री टोपबहादुर रायमाझी समक्ष विद्युत् व्यापार सम्बन्धी प्रस्तुतीकरण दिए ।
बढ्दो विद्युत् उत्पादनसँगै वर्षामा बिजुली खेर जाने भन्दै चिन्ता प्रकट भइरहेको बेला ठूला पूर्वाधार र उद्योगहरूमा लगानी गर्न स्थापना भएको निफ्राले भारत र बंगलादेशका समेत लगानीकर्ताहरुको संलग्नतामा पावर ट्रेडिङ कम्पनी (पीटीसी) नेपाल गठन गरेर विद्युत् व्यापार गर्ने योजना खतिवडाले प्रधानमन्त्रीसहित सबैलाई सुनाए । प्रधानमन्त्रीबाट ग्रिन सिग्नल पाएपछि पीटीसी नेपाल निर्माणको प्रकृयासँगै विद्युत् व्यापारको स्पष्ट अवधारणासहित निफ्राले ऊर्जा मन्त्रालयमा व्यापारको अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन समेत दिइसकेको छ । वर्तमान विद्युत् ऐनमा विद्युत् व्यापारका लागि अनुमतिपत्र दिने व्यवस्था नभएको र संसदमा विचाराधीन विद्युत् ऐन तत्काल पारित नभएपछि अहिले मन्त्रीपरिषद्बाट निर्णय गरेर मन्त्री परिषदबाट पारित गर्ने योजनामा निफ्रा छ । ऊर्जा मन्त्रालयले समेत सेयर हाल्ने योजनासहित कम्पनी गठन प्रकृया अघि बढेको छ ।
यो प्रकृया अघि बढेपछि निजी क्षेत्रले प्राधिकरणको एकाधिकार अन्त्यका लागि गठन प्रकृया स्वागतयोग्य बताउँदै आफूहरुले पनि विद्युत् व्यापारका लागि कम्पनी गठन गरी ऊर्जा मन्त्रालयमा अनुमतिपत्रका लागि पत्र लेख्दा नदिई भेदभाव गरेकोमा भने आपत्ति प्रकट गरेको छ । पीटीसी नेपाल गठन प्रकृया अघि बढेपछि प्राधिकरणभित्र भने विरोध सुरु भएको छ । प्राधिकरणका कर्मचारी संगठनहरु युनियन, संघ र परिषदले संयुक्त विज्ञप्ति जारी गरेर यसबाट लामो इतिहास बोकेको प्राधिकरणको अस्तित्व सकिने भन्दै विरोध जनाएका छन् ।
प्रमुख कार्यकारी अधिकृत खतिवडा भने नयाँ कम्पनी दर्ताबाट विद्युत् प्राधिकरणको व्यापारमा कुनै असर नगर्ने बताउँछन् । ‘निफ्राले विद्युत् उत्पादन, प्रसारण र व्यापारको लगानी र व्यवस्थापन गर्न खोजेका छौ, कुनै निश्चित क्षेत्र लिएर हामीले त्यो काम गर्दैछौं । यसले विद्युत् प्राधिकरणको व्यवसायमा कुनै असर गर्दैन, बरु सहज हुन्छ,’ उनले भने, ‘तत्कालीन अवस्थामा हामीले सेती, कर्णाली र भेरी कोरिडोरमा निर्माण भईरहेका करिब ४ हजार ५ सय मेगावाटका आयोजनाहरुको लगानीसहित बजार व्यवस्थापनका लागि कम्पनी निर्माण गर्न लागेका हौं ।’ विद्युत् व्यापारमा पनि बहुप्रतिष्पर्धी निकाय आवश्यक हुने भएकोले र बैंकले समेत ठूलो पूर्वाधार निर्माणमा लगानी गर्न लागेकोले विद्युत् व्यापार गर्ने भारत र वंगलादेशको समेत सहभागितामा कम्पनी निर्माण गर्न लागेकोले यसलाई कुनै समूहसँग जोडेर व्याख्या गर्न नहुने बताउँछन् ।
यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडाले हाल निफ्राको अध्यक्ष रहेका अनुज अग्रवालको विशाल गु्रपलाई फाइदा हुने गरी चकलेटको कर घटाएको र त्यो समूहले ल्याएका विद्युतीय सवारी साधनको फाइदा पुग्ने गरी कर बढाएकोले त्यही कनेक्सन अनुसार संसदमा विद्युत् ऐन लगेर पारित गर्न पहल नगर्ने सरकारले मन्त्रीपरिषदबाट कम्पनी खडा गर्न लागेको भन्दै यसमा स्वार्थको टकराव (कन्फिल्क्ट अफ इन्ट्रेस्ट) रहेको भन्दै विरोध पनि भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले भने आफूहरु नै विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य गर्नुपर्ने बताउँदै आएकोमा निफ्राले गरेको पहल स्वागतयोग्य भएपनि आफूहरुलाई अनुमतिपत्र दिन नमिल्ने भनेर पत्र पठाउने ऊर्जा मन्त्रालयले प्रकृया अघि बढाउनु आश्चर्यजनक भएको बताएका छन् । ‘हामीले नै विद्युत् किनबेचमा प्राधिकरणको एकाधिकार अन्त्य हुनुपर्छ भनेका हौं । अहिले निफ्राले प्रकृया अघि बढाएकोमा स्वागत नै गर्छौं । तर हामीले माग्दा मन्त्रालयले किन नदिएको भन्नेमा हाम्रो गम्भीर आपत्ति छ,’ इपान अध्यक्ष कृष्ण आचार्य भन्छन् ।
इपानका पूर्वअध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका सदस्य शैलेन्द्र गुरागाई निफ्राले अघि बढाएकोमा खुशी भएपनि आफूहरुको प्रयासलाई अघि बढाउन नदिएकोमा आश्चर्य चकित परेको बताउँछन् । ‘विद्युत् प्राधिकरणले हालसम्म ६ हजार मेगावाटभन्दा बढीको विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छैन, ३५ हजारको हाराहारीमा सरकारले लाइसेन्स दिइसकेको छ, प्राधिकरणले विद्युत् पनि नकिन्ने, अरुलाई पनि किन्न नदिने, यो गलत गरिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा निफ्राले अघि बढाएको कुरा खुशीलाग्दो छ तर इपानले कम्पनी गठन गर्दा पनि नदिनु तर अहिले अघि बढ्दाको अवस्था पनि आश्चर्यजनक लागेको हो ।’
विद्युत् व्यापारका लागि कम्पनी दर्ताको प्रकृया अघि बढाएको निकाय निफ्रा पहिलो होइन । विद्युत् प्राधिकरणले सहायक कम्पनीको रुपमा पावर ट्रेडिङ कम्पनी दर्ता गरिसकेको छ भने निजी क्षेत्रले पनि कम्पनी दर्ता गरिसकेका छन् तर दुवैले व्यापारको अनुमति भने पाएका छैनन् । ऊर्जा मन्त्रालयले वर्तमान कानुनमा विद्युत् व्यापारका लागि अनुमतिपत्रका लागि व्यवस्था नभएको भन्दै निजी क्षेत्रको कम्पनीलाई भने अनुमति दिन नसक्ने पत्र नै पठाएको थियो । निफ्राले भने प्रधानमन्त्री समेतलाई सहमत गराएर विद्युत् कम्पनी प्रकृया अघि बढाएको छ । निफ्राले गठन गर्ने पीटीसी नेपालमा निफ्राको १५ प्रतिशत, भारत र बंगलादेशका कम्पनीको ३६ प्रतिशत, निजी क्षेत्र र वित्तिय संस्थाहरुको २० देखि ३० प्रतिशत, सर्वसाधारणको १० प्रतिशतसहित ऊर्जा मन्त्रालयको १० प्रतिशत र विद्युत् प्राधिकरणको १० प्रतिशत छ ।
ऊर्जा मन्त्रालयले भने १० प्रतिशत बराबरको १० करोडको सेयरका लागि आवश्यक स्वीकृति लिन अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको छ तर अर्थले निर्णय गरिसकेको छैन । ‘ऊर्जा मन्त्रालयका प्रस्ताव आएको हो, मन्त्रालयबाट हाल्नुपर्ने १० प्रतिशत सेयरका लागि अर्थ मन्त्रालयमा पत्राचार गरेका छौं,’ ऊर्जा मन्त्रालयका सह–सचिव प्रवक्ता मधु भेटुवालले भने, ‘ऊर्जा मन्त्रालय जलविद्युत्का क्षेत्रमा बहुप्रतिष्पर्धी हुनुपर्छ भन्ने पक्षमा छ, प्रस्तावित विद्युत् ऐनमा पनि त्यो प्रावधान राखिएको छ, प्रतिष्पर्धामा हामीले रोकेका छैनौं ।’ उनी व्यापार अनुमतिपत्र प्रदानका लागि तत्काल विद्युत् ऐन संसदबाट पारित हुनुपर्ने वा मन्त्री परिषदमा लगेर निर्णय गर्ने दुई विकल्प रहेको बताउँछन् ।
विद्युत् प्राधिकरणभित्र सरकारी कम्पनीको रुपमा स्थापना हुन लागेको आफ्नो कम्पनीलाई अनुमतिपत्र नदिएर निजी क्षेत्रलाई दिन लागेको भन्दै ठूलो विरोध भएको छ तर निफ्राले विद्युत् प्राधिकरणलाई समेत १० प्रतिशत छुट्याएको छ । सुरुमा जलविद्युत् विकास तथा लगानी कम्पनीलाई १० प्रतिशत सेयर दिने प्रस्ताव निफ्राले गरेपनि प्रधानमन्त्री स्वयंले प्राधिकरणलाई दिनुपर्ने बताएपनि यसलाई परिवर्तन गरिएको थियो । प्राधिकरणलाई भने निफ्राले सेयरका लागि कुनै पत्राचार गरेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक प्राधिकरण हितेन्द्रेव शाक्य विद्युत् व्यापार कम्पनी स्थापनाका लागि निफ्राले कुनै पत्र नपठाएको र आफ्नो निकायको पनि सेयर कम्पनीमा रहनेबारे कुनै जानकारी नभएको बताउँछन् ।
प्राधिकरणभित्र भने पहुँचको आधारमा प्राधिकरणको गठित व्यापार कम्पनीलाई समेत असर गर्ने गरी प्राधिकरणलाई समेत धराशायी बनाउने गरी निफ्राले व्यापार कम्पनी स्थापना गर्न लागेको भन्दै विरोध भएको छ । प्राधिकरणका एक अधिकारीले पहिलो गठित व्यापार कम्पनी सञ्चालनमा नआउँदै विद्युत् उत्पादन क्षमता एकदम कम रहेको मुलुकमा अर्को कम्पनी खडा गर्नका लागि पहुँचको दुरुपयोग गर्नु गलत भएको र व्यापारका लागि प्राधिकरणको संरचना प्रयोग गर्नुपर्ने भएकोले सफल नहुने बताउँछन् । ‘प्राधिकरणलाई कानुन छैन भनेर पन्छाउने, निजीलाई पोस्ने काम गर्नु भएन नि,’ उनले भने । निफ्राले भने आफ्नै प्रसारण लाइन लगायतका संरचना बनाएर विद्युत् व्यापार गर्ने योजना बनाएको छ । ऊर्जा मन्त्रालयका एक अधिकारी भने प्राधिकरणको पुर्नसंरचना गरी उत्पादन, वितरण, प्रसारण र व्यापारको खण्डीकरणको प्रकृयामा रहेको र प्रतिष्पर्धी संस्थाहरु धेरै बनाउुनपर्ने अवस्थाको कारण निफ्राको पहल गलत नभएको बताए । ‘भारतमा त धेरै निजी क्षेत्रका विद्युत् व्यापार कम्पनी छन्, यसलाई गलत भन्न हुँदैन । विगतमा किन प्राधिकरण र निजी क्षेत्रको व्यापार कम्पनीलाई मन्त्री परिषदमा लैजान प्रयास भएन, त्यो त थाहा भएन,’ ती अधिकारी भन्छन्, ‘अहिले निफ्राले बनाउने कम्पनी मन्त्री परिषदबाट लगेर निर्णय गराएपछि अन्य कम्पनीको लागि पनि बाटो खुल्छ ।’

Wednesday, May 19, 2021

जलविद्युत् निर्माणमा क्यू ४५ को डिजाइन कहिलेसम्म ?

 https://www.karobardaily.com/news/139073

जेष्ठ ५, २०७८ बुधबार

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले अहिले नेपाल विद्युत् प्राधिकरणले लागू गरिरहेको क्यू ४५ को डिजाइनलाई क्यू २० मा झार्नुपर्ने माग गरिरहेको छ । विद्युत् प्राधिकरणको क्यू ४५ मा डिजाइन गर्नुपर्ने व्यवस्थाका कारण वर्षाको समयमा पानी भएर पनि बिजुली उत्पादन नगरी खेर फाल्नुपर्ने अवस्था छ । निजी क्षेत्रले संसारमा कहीं नभएको डिजाइन डिस्चार्जको व्यवस्था नेपालमा गरेको र यसको कारणले जलविद्युत् उत्पादनको लागत बढेर छिमेकी देशका बजारमा समेत जान समस्या भइरहेको जनाएको छ ।
विद्युत् प्राधिकरणले भने प्रणाली सन्तुलनका लागि क्यू ४५ लागू गर्नुपरेको बताउँदै आएको छ । सरकारले पनि नेपालको बिजुली बजार सानो भएकाले र प्रणाली जलविद्युत् उत्पादनमा निर्भर रहेकाले सन्तुलनका लागि यो आवश्यकता रहेको बताउँदै आएको छ । सरकारी निकायको भने क्यू डिजाइन खुला राख्दा वर्षामा उत्पादन हुने बढी बिजुलीको जोखिम निजी क्षेत्रले लिएमा यसमा जान समस्या नहुने बताएको छ, तर यसबारे ठोस निर्णय भएको छैन । निजी क्षेत्रले भने हाल विद्युत् व्यापार र खरिदका लागि एउटै निकाय प्राधिकरणको एकाधिकार रहेको र सरकारले निजी क्षेत्रलाई खुला गरे बढी हुने बिजुली व्यापारका लागि तयार रहेको बताउँदै आएका छन् । छिमेकी राष्ट्रको बजार उपलब्ध नहुँदाको अवस्थामा क्यू ४५ को व्यवस्था स्वाभाविक भए पनि भारत, बंगलादेशले नेपालबाट बिजुली लानका लागि यसको पूर्वाधार तथा अन्य नीतिगत व्यवस्था भइसकेकाले क्यू ४५ को व्यवस्था अन्त्य गर्नुपर्ने निजी क्षेत्रको भनाइ छ । सरकारले ८३ हजार मेगावाट नेपालको क्षमता र ४४ हजार व्यापारिक उत्पादन हुने उल्लेख गरेकोमा क्यू खुला गरेमा १ लाख ५ हजार मेगावाटसम्म व्यापार उत्पादन हुने बताउँदै आएका छन् । सरकारले आगामी वर्ष ०७८-७९ को बजेट ल्याउन लागेको तथा विद्युत् खपत र व्यापारका लागि छिमेकी मुलुकहरूको बजारसमेत खुला भएको अवस्थामा के क्यू ४५ को व्यवस्था ठीक छ त, यसलाई सुधार्न आवश्यक छ कि छैन ? लगायतका विषयमा कारोबारकर्मीले सरोकारवाला निकायका प्रतिनिधिसँग गरेको कुराकानीको सार :

निजी क्षेत्रले जोखिम लिएमा डिजाइन खुकुलो बनाउन सकिन्छ
मधु भेटुवाल
सहसचिव एवं प्रवक्ता, ऊर्जा मन्त्रालय

जलविद्युत् निर्माण गर्दा क्यू भनेको डिजाइन डिस्चार्ज कति लिने भन्ने हो । कतिमा बनाउँदा बढी उत्पादन हुन्छ भन्ने हो । नेपालको विद्युत्को बजार हे-यो भने अहिलेको क्यू डिजाइन कम हुन्छ । नेपालको बजार हेर्दा प्रणालीका लागि उपलब्धता बढी हुने बिजुली चाहिन्छ । भारतीय बजारमा जान्छांै भन्ने हो भने डिजाइन डिस्चार्ज अलि बढी हुँदा पनि हुन्छ । यो भनेको वर्षभरिका उपलब्ध हुने समय कम भए पनि हुन्छ । भारतमा कम भए पनि हुन्छ, त्यहाँको प्रणाली त हाइब्रिड छ । कोल, सोलार, पम्पस्टोरेज, जलविद्युत्लगायतका सबै किसिमको ऊर्जा उपलब्ध छ ।
हाम्रो घरेलु बजार हे¥यो भने सबै जलविद्युत् मात्र छ । यो सन्दर्भमा डिजाइन डिस्चार्ज हेर्दा बढी उपलब्धता हुने खोज्छांै । यसकारण विद्युत् व्यापारको कुरा छ, अहिले भारतले यसबारे निर्देशिका, कार्यविधि पनि बनाइसकेको छ । यसका लागि लिंक गर्ने पूर्वाधारहरू पनि बन्दै छ । ढल्केबर मुजफपुर बन्दै छ । पाँचवटा अन्तरदेशीय प्रसारणलाइन बनाउन खोज्दै छौं । यसलाई विश्लेषण गरेर अहिलेको क्यूबारे रहेको व्यवस्थालाई खुकुलो बनाउन पाए हुन्थ्यो भन्ने निजी क्षेत्रको भनाइ हो । भारतीय बजारलाई हे-यो भने यो बेठीक पनि होइन । खपत गराउन स्वदेशी बजारमा नसकिने र भारतीय बजार लान सके ठीकै भयो । भारतमा लान नसक्ने हो भने नेपालको बजारले धान्दैन । निजी क्षेत्रले परियोजनाको लागत कम गर्ने हिसाबमा र ऊर्जा बढी उत्पादन गर्ने हिसाबमा भन्नु स्वाभाविक पनि हो । तर, यसको सबै जोखिम नेपाल विद्युत् प्राधिकरणले मात्र लिनुपर्ने हो भने त गाह्रो भयो । कि निश्चित ऊर्जासम्म प्राधिकरणले किनिदिने र बाँकी भारतीय बजारमा जाने हुँदा यसको निजी क्षेत्रले जोखिम लिनुप-यो । सबै जोखिम प्राधिकरणले लिने गरी त गाह्रो होला कि ? निजी क्षेत्रले जोखिम लिएमा डिस्चार्ज डिजाइन खुकुलो बनाउन सकिन्छ । निजी क्षेत्रले जोखिम त लिनैपर्छ ।
हिउँदमा त धेरै कम ऊर्जा उत्पादन हुन्छ । यो भनेको वर्षामा आउने बढी बिजुलीको कुरा हो । वर्षामा बढी उत्पादन हुने हुनाले भारतीय बजारमा लैजान सक्नुपर्छ । वर्षामा भारतीय बजारमा बिजुलीको माग पनि बढी हुन्छ । वर्षामा हामीले पठाउन सक्यौं भने बढी बिजुली पठाउन सकिन्छ भन्ने कुरा सही पनि हो । यसमा समस्या भनेको आउने जोखिम कसले लिने भन्ने हो । निजी क्षेत्रले विद्युत् प्राधिकरणले किन्न सक्ने किनेर बाँकी रहेको बिजुली भारतीय बजारमा बेच्छौं भनेर आफैं जोखिम लिए भने त भैगो नि । विद्युत् प्राधिकरणले स्वदेशी बजारका आधारमा जोखिम मोल्न सक्ने अवस्था छैन । त्यसकारण प्राधिकरणले बनाएका कतिपय आयोजनाहरू क्यू ६०-७० मा बनाएका छन् । निजी क्षेत्रले जोखिम लिएर बेच्छौं भने त क्यू ३०-२५ मा जाँदा पनि केही फरक पर्दैन । मुख्य कुरा उत्पादन भएको बिजुली खपत गर्ने हो ।

निर्यातको सपना देख्छौं तर उत्पादनमा नियन्त्रण गर्दैछौं
कृष्ण आचार्य
अध्यक्ष, इपान

निजी क्षेत्र क्यू ४५, क्यू ४० होइन, क्यू २० हुनुपर्छ भन्नेमा छौं । पानी खेर फालेर काम छैन । लाओसकै उदाहरण लिऔं न । लाओसमा सन् २००८ मा ६० मेगावाट थियो । १० वर्षभित्र उनीहरूले ७ हजार मेगावाट बनाए । उनीहरूले निर्यातबाट कमाउनेमध्ये २० प्रतिशत बिजुली निर्यातबाटै कमाउँछन् । नेपालमा भने बिजुली थप्ने, विकास गर्ने भन्दा पनि केही न केही गरेर नियन्त्रण गर्ने भन्ने छ । क्यू २० सम्म झार्नुपर्छ भन्ने हाम्रो भनाइ हो । यसको कारणले निर्माण लागत घट्छ । वर्षाको बिजुली अधिकतम खपत र निर्यात गर्न पनि सक्छौं । निर्यातको सपना देख्छौं, उत्पादनमा नियन्त्रण गर्दैछौं । हामीले ऊर्जा मन्त्रालयसँगको प्रत्येक छलफलमा यही भनिरहेका छौं कि क्यू २० मा ल्याउनुपर्छ भनेर । उहाँहरूसँग कुरा गर्दा तपाईंहरूले भनेको त ठीकै हो, तर भन्नुहुन्छ । उहाँहरू यसबारे स्पष्ट नै हुनुहुन्न । सरकारी निकायमा बसेका मान्छेहरू कहाँ हामी जाँदै छांै, हामी कहाँ पुग्न लागेका छौं, थाहा छैन । नारामा १० हजार, १५ हजार मेगावाट उत्पादन गर्ने पनि भयो, तर यसलाई प्राप्त गर्ने कसरी भन्ने कुरामा उहाँहरू अन्योलमा हुनुहुन्छ । जलविद्युत् निर्माणका लागि सबै किसिमको वातावरण त बनाइदिनुप¥यो नि !
उहाँहरूको कुरा बढी भएको बिजुली खपत गर्न सकिँदैन भन्ने हो भने निजी क्षेत्रलाई त्यसको जिम्मा दिइयोस् न । हामीलाई व्यापार गर्न दिइयोस् । किन विद्युत् प्राधिकरण मात्रै ? अरू व्यापार गर्ने निकायलाई दिइयोस् । हामी काम गरेर देखाउँछौं । सरकारले सहजीकरण गर्ने हो, नियन्त्रण गर्ने होइन नि । संसारभरि सरकारको काम सहजीकरण गर्ने हो, समन्वय र सहयोग गरिदिने हो । नेपालमा कसरी नियन्त्रण गर्ने भन्ने छ । नियन्त्रणमुखी कामले गर्दा कुनै पनि काम भनेका बेला हुँदैनन् । जलविद्युत् मात्र होइन, अन्य क्षेत्रमा पनि त्यस्तै छ । लक्ष्य त निर्धारण गर्छौं, तर कार्यान्वयन गर्दैनौं । सरकार आफंैले ल्याएको बजेटसमेत कार्यान्वयन हुँदैन ।
इपानले आगामी बजेटमा समेत क्यू हटाउनेलगायतका विभिन्न सुझावहरू सरकारलाई दिएका छौं । अर्थ, ऊर्जा मन्त्रालय पठाएका छौं । सरकारले पनि के बुझ्नुपर्छ भने नेपालको आर्थिक समृद्धि गर्ने अरू धेरै कुरा होलान् । तर मुख्यतः जलविद्युत् र पर्यटन नै हो । जलविद्युत् त हामी खर्बौंको निर्यात गर्न सक्छौं । यसका लागि सरकारले सहजीकरण गर्नुपर्छ । बिजुली बेच्न भारत र बंगलादेश त नजिकै छन् नि । उनीहरूलाई आवश्यकता पनि छ । यसका लागि हाम्रो पहल भएन । ऊर्जा मन्त्रालयमा विद्युत् बिक्री गर्नका लागि एउटा अलग्गै शक्तिशाली सचिवस्तरकै संयन्त्र बनाउनुपर्छ । अहिले त कस्तो अवस्था छ भने स्वदेशी माग नै धान्न सकेका छैनौं । हिउँदमा धेरै बिजुली आयात गर्नुपर्ने अवस्था छ । सुन्दा त १५ हजार मेगावाट भनियो, नेपालको पानी जनताको लगानी भनेर प्रधानमन्त्रीले समेत सेयर हाल्नुभयो, तर खोइ ती कहाँ गए ? यो नारा र क्षणिक मात्र भयो । हुरी आएर गएको जस्तो भयो । यसका लागि सरकारको दीर्घकालीन योजना र कार्यक्रम हुनुपर्छ । यसलाई सहायता गर्ने नीति र कार्यक्रम आउनुप-यो । हाम्रो त नियन्त्रणमुखी छ । ऐनलाई नियम, नियमलाई विनियावलीले खारेज गर्ने खालको छ । मैले त भन्दै आएको छु । क्यू २० मा उत्पादन गरेर ५० वर्ष निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्छ ।

क्यू ४५ कै डिजाइनमा रहने हो भने बिजुली उत्पादन नगरे हुन्छ
ज्ञानेन्द्रलाल प्रधान
ऊर्जाविद्

जलविद्युत् भनेको विश्वमै आफूलाई परिष्कृत गरेर आफ्नो क्षमता पूरापूर उपयोग गरेको क्षेत्र हो । यो एकदम नयाँ प्रविधि पनि होइन, नेपालकै हेर्ने हो भने १ सय १० वर्षदेखिका जलविद्युत् केन्द्र चलिरहेका छन् । खाली प्रविधिमा के फरक आयो भने यसको प्रयोगमा मात्र आयो । उत्पादनमा खास परिवर्तन आएन, विश्वका विकसित राष्ट्रमा यसको दक्षता धेरै भयो । यसकारण जलविद्युत्मा धेरै नयाँ कुरा सोच्नुभन्दा पनि विगतको सफलतालाई पछ्याए मात्र पुग्छ । संसारमा कहीं पनि जलविद्युत् आयोजनाले बा¥है महिना एकै परिमाणमा उत्पादन निकाल्दैन । यो सिजनअनुसार हुन्छ । हो, कुनै बेला नेपालमा नेपाली बिजुली बजार सानो थियो । भारतमा बिजुली जाने सम्भावना पनि थिएन । त्यो बेला हाम्रो बजारअनुसारको व्यवस्थापन गर्नुपथ्र्यो । ४ सय ५६ मेगावाटको तामाकोसीले हिउँदमा ९० मेगावाट निकालेर त काम लागेन । हामीकहाँ नदी प्रवाहमा आधारित (आरओआर) आयोजना धेरै थिए । पहिला वर्षामा कम निकाल, ताकि हिउँद र वर्षाबीचमा धेरै फरकता नआओस् भन्ने थियो, धेरै खेर जान्थ्यो । यो अवस्था सकिएको धेरै वर्ष भइसक्यो । हाम्रो उत्पादन क्षमता झन्डै १५ सय मेगावाट पुगिसकेको छ । भारत लैजान सक्ने गरी ढल्केबर मुजफपुर निर्माण भइसकेको छ, गोरखपुरको कुरा चलिरहेको छ । १० हजार मेगावाट बिजुली नेपालसँग किन्न तयार छौं भनेर बंगलादेश आइरहेको अवस्था छ । यस्तो अवस्थामा वर्षाको विद्युत् केन्द्रलाई सानो बनाएर हिउँदको नजिक बनाउनुपर्ने कुनै अवस्था छैन । अझै पनि क्यू ४५ लाई निरन्तरता दिँदाखेरि करिब अढाइ गुणाले बिजुली कम गरिरहेको अवस्था छ । अहिले नौ सय मेगावाटमा अरुण तेस्रो बनिरहेको छ । हामीले क्यू ४५ भनेको भए त ३ सय मेगावाट हुन्थ्यो नि त । कति महँगो पथ्र्यो । यही अवस्थामा जाने हो भने हाम्रो क्षमता ८३ हजार मेगावाट पनि पुग्दैन । क्यू ४५ मा जाने हो भने त हाम्रो बिजुली ३० हजार मेगावाटमा सीमित हुन्छ । क्यू ४५ कै कारणले बिजुली महँगो भयो । यसैले भारतमा गत वर्ष बिक्री गर्न पनि सकेनौं । भारतमा बिजुली बेच्नका लागि कसरी सबैभन्दा सस्तो बनाउने भन्ने त हुनुप¥यो । क्यू ४५ भन्ने बेकारको कुरा छ, यसलाई निकालेर अधिकतम उत्पादन गर्ने गरी दिनुप¥यो । क्यू २०÷२५ को हाराहारीमा ल्याउनुपर्छ । यसो गर्दा उत्पादन दोब्बर हुन्छ भने लागत थप १५ प्रतिशत भए पुग्छ । अहिले त निजी क्षेत्रले २० करोड प्रतिमेगावाट र प्राधिकरणको २५÷३० करोड छ । भारतमा किन सस्तो छ भन्दा अधिकतम उत्पादन गर्न सकिन्छ । क्यू ४५ मै रहने हो नेपालमा बिजुली उत्पादन नगरे हुन्छ । योभन्दा धेरै सस्तो आयातित ऊर्जा हुन्छ । भारतको हुन्छ । हामीभन्दा सस्तो ग्यास हुन जान्छ । यथा अवस्थामा नेपालको बिजुली कहिल्यै सस्तो हुन सक्दैन । पानी खेर जान नदिई अधिकतम उत्पादन गर्ने हो भने हामीले अध्ययन गरेका थियौं, १ लाख ५ हजार मेगावाट व्यापारिक उत्पादन हुन्छ । हाइड्रो सोलुसन र जर्मनीको विश्वविद्यालयबाट गरेको अध्ययनले यो देखाएको हो । लागत १४ करोडभन्दा बढी कुनै जाँदैन । बिजुलीको लागत २५ प्रतिशत कम आउँछ । भारतको बजारमा पनि नेपालको बिजुली प्रतिस्पर्धा गर्न सक्छ । विद्युत् नियमन आयोगले पनि क्यूलाई खुला गरिसकेको छ, तर समस्या कहाँ प¥यो भने अहिले त एकल खरिदकर्ता छ । उसले पनि किनिदिनुप-यो नि । कि निजी क्षेत्रलाई पनि व्यापार गर्न दिनुप¥यो । हामी त्यसका लागि तयार छौं ।

प्रणाली सन्तुलनका लागि क्यू ४५ लागू गरिएको भन्नु कुतर्क मात्र हो
शैलेन्द्र गुरागाईं
सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

क्यू ४५ हटाउने कुरा नीतिगत रूपमा गर्नुपर्ने कुरा हो । सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्नु राम्रो हुन्छ । क्यू ४५ लाई खुला गरेर कुनै पनि डिजाइनमा गर्न सक्ने गरी गरिदियो भने बिजुली सस्तो हुन्छ । अहिले प्रतिमेगावाट २०-२२ करोडभन्दा घटीमा बनिरहेको छैन । एकैपटक बिजुली धेरै सस्तो हुनसक्छ । प्रतिमेगावाट लागत पनि धेरै सस्तो हुन्छ । प्रतियुनिट बिजुली पनि सस्तो हुन्छ । अहिले हामीले हामीलाई घाटा पर्ने काम गरिरहेका छौं । कहिले क्यू ६०, कहिले क्यू ४५, कहिले ४० भनेर उत्पादन हुने क्षमता मारिरहेका छौं । सरकार र विद्युत् प्राधिकरणले यसमा एकदम नियन्त्रण गर्न मन छ भने क्यू ४५ भन्दा माथिको किनोस्, तर बाँकी पनि बेच्न देओस् । जुनसुकै डिजाइनमा पनि बनाउन सक्ने भनेर भनिदियो भने राज्यलाई रोयल्टी पनि धेरै उठ्छ । प्रतियुनिट र मेगावाट बिजुली पनि सस्तो पर्छ । यसले स्रोतको पनि अधिकतम उपयोग हुन्छ । क्यू ४५ गर्दा ३० प्रतिशत बिजुली उत्पादनको स्रोत मरिरहेको छ । अहिले सञ्चालनमा आएका १५ सय मेगावाट र निर्माणमा रहेका ४ हजार मेगावाट जुन छन्, यिनमा अरू थप २ हजार मेगावाट थपिन सक्थ्यो ।
क्यू हटाएर खुला गर्दा बिजुली बेच्न पनि सस्तो पथ्र्याे । भारतमा जलविद्युत्को मूल्य प्रतियुनिट ५ देखि ६ रुपैयाँको हाराहारीमा छ । क्यू खुला गर्नेबित्तिकै त्योभन्दा सस्तोमा बिजुली बेच्न सक्छौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका आयोजनाहरूलाई पनि अधिकतम गर्न सक्ने गरी नीति आउनुपर्छ । बजेट भनेको आर्थिक ऐन हो, यो कुनै ऐनभन्दा माथि हुन्छ । यहाँ सबै क्षेत्रलाई समेट्ने गरी नीति तथा कार्यक्रम आउने हो । बजेटमा सम्बोधन भएमा यसलाई प्राधिकरणले पनि मान्नुपर्ने अवस्था आउँछ । बजेटमा सम्बोधन गर्नु उपयुक्त हुन्छ ।
प्रणाली सन्तुलनका लागि क्यू ४५ लागू गरिएको भन्नु कुतर्क मात्र हो । यो तर्क होइन । संसारका सबै देशमा मिल्ने, नेपालमा नमिल्ने भन्ने कुरा नालायकीपनको नमुना हो । नसक्ने जति निजी क्षेत्रलाई दिनु, यसको व्यवस्थापन गर्न निजी क्षेत्र तयार छ ।

एमसीसी प्रभावितलाई १४ अर्ब

https://www.karobardaily.com/news/139056

 जेष्ठ ५, २०७८ बुधबार

सरकारले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत निर्माण गर्न लागेको प्रसारणलाइन आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको छ ।
सत्तारुढ दलभित्रको आन्तरिक खिचातानीबाट संसद्बाट एमसीसी पारित नभएर त्यसको निर्माण कार्य सुरु हुन नसके पनि पूर्वतयारीको रूपमा लिइएको ईआईए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको हो । अर्थ मन्त्रालयको मातहतमा रहेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)द्वारा एमसीसी हुने अनुदान र सरकारको लगानीबाट कार्यान्वयन गरिने विद्युत् प्रसारण आयोजनाको ईआईए प्रकृया २ वर्षअघि जुन २०१८ मा सुरु गरेको थियो भने स्वीकृतिका लागि मार्च २०२० मा विद्युत् विकास विभागमा निवेदन दिएको थियो ।
प्रसारणलाइन र सबस्टेसनहरूको निर्माणका लागि हाल भइरहेको पूर्वतयारी कार्यको एक प्रमुख अंश रहेको र एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गर्नुपूर्व पूरा गर्नुपर्ने कार्यस्थलमा पहुँचसम्बन्धी पूर्वशर्त हासिल गर्ने सन्दर्भमा यो उपलब्धि एउटा महत्वपूर्ण कोसेढुंगा भएको एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए । “ईआईए एक महत्वपूर्ण कोसेढुंगा हो, अर्काे महत्वपूर्ण कोसेढुंगा यस सम्झौताको संसदीय अनुमोदन हुनेछ ।”
नेपालको प्रचलित कानुुनअनुसार विस्तृत रूपमा तयार गरिएको ईआईए प्रतिवेदन नेपालको वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ को अधीनमा रही स्वीकृत गरिएको एमसीए नेपालले जनाएको छ । यस क्रममा तथ्यांक संकलन तथा विश्लेषणका लागि सघन कार्यविधि अपनाइनुका साथै आयोजना कार्यान्वयन गरिने १० वटा जिल्लाका ३० वटै गाउँपालिका तथा नगरपालिकामा अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको पनि एमसीए नेपालले जनाएको छ ।
स्वीकृत ईआईए प्रतिवेदनअनुसार, परियोजनाले भौतिक, वातावरणीय तथा सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा पारेको प्रभाव न्यूनीकरणका लागि प्रभावित क्षेत्रका १३ अर्ब ७३ करोड खर्च गर्नेछ । यो जग्गा प्राप्ति र जीवीकोपार्जनका लागि करिब ८ अर्बसहित परियोजनाले वातावरण प्रभाव न्यूनीकरण र पारेको सकारात्मक प्रभावको प्रवद्र्धनका लागि हो । त्यसैगरी ठूला जलविद्युत् परियोजनाले कुल लागतको ०.७५ प्रतिशत स्थानीय समुदायका लागि खर्च गर्नुपर्ने व्यवस्थाअनुसार परियोजनाले प्रसारण लाइनको ३९८ मिलियन डलरको कुल लागतको आधारमा न्यूनतम रूपमा थप ३४ करोड ४५ लाख रुपैयाँ खर्च गर्दैछ । “जग्गा प्राप्तिसहित भौतिक, वातावरणीय तथा सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा पारेको प्रभाव न्यूनीकरणका लागि प्रभावित क्षेत्रमा १३ अर्ब ७३ करोड र एमसीए साझेदारी कार्यक्रमअन्तर्गत थप ३४ करोड ४५ लाख प्रभावित क्षेत्रमा खर्च गर्दैछौं,” एमसीए नेपालका वातावरण, स्वास्थ्य र सुरक्षाका गुणस्तर व्यवस्थापक श्याम उपाध्यायले भने, “यी कार्यक्रम परियोजनाबाट प्रभावित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका १० जिल्लाका ३० गाउँपालिका र नगरपालिकाका बासिन्दामा पारेको प्रभाव न्यूनीकरण र जीवीकोपार्जनका लागि खर्च हुन्छ ।”
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुसार जग्गा प्राप्ति, पुनर्बास, जीवीकोपार्जन तथा वातावरण प्रभाव न्यूनीकरणका कार्यक्रम अघि बढाइएको उनले जानकारी दिए । एमसीए नेपालका अनुसार, साझेदारी कार्यक्रमअन्तर्गत विद्युत् पहुँच वृद्धि, ट्रान्सफर्मर, वितरण लाइनको स्तरोन्नति लगायतका विद्युत्को भरपर्दो सेवा तथा बिजुलीमार्फत उत्पादन वृद्धिलगायतका कार्यक्रम हुनेछन् ।
नेपाल सरकारद्वारा पहिचान गरिएका नेपालको विकासका प्रमुख दुई अवरोधको सम्बोधनका लागि प्रस्ताव गरिएका दुईवटा आयोजना सञ्चालनका लागि सरकार तथा अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पाेरेसनबीच एमसीसी नेपाल कम्प्याक्टमा २०७४ साल भदौ २९ गते हस्ताक्षर गरिएको थियो । परियोजनामा एमसीसीले ५ सय मिलियन डलर अनुदानको रूपमा उपलब्ध गराउने छ भने सरकारले १३० मिलियन डलर खर्च गर्नेछ । दुई आयोजनामध्ये राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरिएको विद्युत् प्रसारण आयोजनाले करिब ३१४ किमि लामो ४०० केभी क्षमताको विद्युत् प्रसारणलाइन तथा तीनवटा ४०० केभी क्षमताका सबस्टेसन निर्माण गर्नेछ । यसैगरी सडक मर्मत आयोजनाले नेपालका सडकको मर्मतसम्भार गर्नुका साथै नेपालमा सडक मर्मतसम्बन्धी नयाँ प्रविधि प्रयोग गर्नेछ ।

Sunday, May 16, 2021

प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

https://www.karobardaily.com/news/138607 

जेष्ठ २, २०७८ आईतबार

बाग्मतीको योगदान एक तिहाई
– कर्णालीको पाँच प्रतिशतभन्दा कम
–लुम्बिनीको एक प्रतिशतमा स्थिर
– प्रदेश–२ को ४३ अर्ब घट्ने


राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षमा सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सकारात्मक हुने उल्लेख गर्दै अनुमानसहित विवरण सार्वजनिक गरेपनि निषेधाज्ञाका कारण पूरा नहुने भएको छ ।
गत वर्षको लकडाउनपछि आर्थिक गतिविधिमा सुधार आएको र १५ दिन मात्र निषेधाज्ञा हुने आंकलनसहित चालू वर्षमा आर्थिक वृद्धिदर बढ्ने अनुमान विभागले सार्वजनिक गरेपनि निषेधाज्ञा अवधि बढ्दै जाने अवस्थासँगै अनुमान पूरा नहुने भएको हो । सरकारले चालू वर्षमा जीडीपी ४२ खर्ब ६६ अर्ब पुग्ने र आर्थिक वृद्धिदर ४ दशमलब शून्य १ प्रतिशत हुने अनुमान गर्दै त्यसकै आधारमा सातै प्रदेशले चालू वर्षमा जीडीपीमा गर्ने योजना सार्वजनिक गरेको छ । गत वर्ष सात प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक थियो । तथ्यांक विभागका निर्देशक इश्वरी भण्डारी राष्ट्रिय रुपमा सार्वजनिक गरिएको जीडीपी र आर्थिक वृद्धिदरको आधारमा प्रदेशको पनि विवरण सार्वजनिक गरिउको बताउँदै बदलिँदो परिस्थितीले यसमा प्रभाव पार्न सक्ने बताउँछन् । ‘१५ दिनभन्दा बढी निषेधाज्ञा हुँदैन भन्ने आधारमा जीडीपी र आर्थिक वृद्धिदरको अनुमान गरेका थियौं र यो अवधि बढ्ने देखिएपछि यसले असर त निश्चित नै गछर्,’ उनले भने ।
२१ आर्थिक कृयाकलापलाई १८ कृयाकलापमा समावेश गरी नौ महिनाको आधारमा प्रस्तुत विवरण अनुसार प्रदेशहरुमध्ये जीडीपीमा सबैभन्दा बढी योगदान बाग्मती प्रदेशको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको छ । विभागका अनुसार, चालू वर्षमा सबैभन्दा बढी वाग्मती प्रदेशको जीडीपी आकारमा आधारमा १ खर्ब ५४ अर्ब बढ्दैछ भने प्रदेश २ को ४३ अर्ब घट्ने अनुमान छ । प्रतिशतको आधारमा भने विगत तीन वर्षदेखि लुम्बिनी प्रदेशको योगदान स्थिर १४ प्रतिशत छ । निर्देशक भण्डारी अन्य क्षेत्रको आर्थिक वृद्धिसँगै लुम्बिनी प्रदेश अघि बढेकोले स्थिर हुन सक्ने बताउँछन् ।
उत्पादन उपभोक्ताको मूल्यमा आर्थिक वर्ष २०७५÷०७६ मा जीडीपीमा १४ खर्ब ६२ अर्ब अर्थात ३७.९ प्रतिशत योगदान गरेको वाग्मती प्रदेशले चालू वर्षमा सबैभन्दा बढी १६ खर्ब ८ अर्ब अर्थात ३७.७ प्रतिशत योगदान दिने अनुमान छ । गत वर्ष जीडीपीमा १४ खर्ब ५४ अर्ब अर्थात ३७.२ प्रतिशत योगदान थियो । विभागका अनुसार, गत वर्ष ३.६ प्रतिशत ऋणात्मक रहेको बाग्मती प्रदेशको चालू वर्षमा सुधार आई ४.७ प्रतिशत हुने अनुमान गरिएको छ ।
बाग्मतीपछि जीडीपीमा सबैभन्दा धेरै योगदान प्रदेश–१ बाट हुने अनुमान विभागको छ । २०७५÷०७६ ५ खर्ब ९९ अर्ब अर्थत १५.५ प्रतिशत योगदान गरेको सो प्रदेशले गत वर्ष ६ खर्ब १२ अर्ब अर्थात १५.६ प्रतिशत गरेकोमा चालू वर्षमा ६ खर्ब ६४ अर्ब अर्थात १५.६ प्रतिशत योगदान गर्ने अनुमान छ । गत वर्ष १.२ प्रतिशत ऋणात्मक रहेकोमा वृद्धिदर सुधार आई ३.६ प्रतिशत कायम हुने अनुमान विभागको छ ।
विभागले प्रदेश–१ पछि लुम्बिनी प्रदेशको सबैभन्दा बढी योगदान हुने अनुमान गरेको छ । २०७५÷०७६ ५ खर्ब ४० अर्ब अर्थात १४ प्रतिशत योगदान गरेको लुम्बिनीले गत वर्ष पनि ५ खर्ब ५० अर्ब अर्थात (१४.० प्रतिशतनै योगदान दिएको विभागले जनाएको छ । चालू वर्षमा पनि जीडीपीको आधारमा केही वृद्धि ५ खर्ब ९६ अर्ब अर्थात प्रतिशतमा समान १४.० प्रतिशत योगदान रहने विभागको अनुमान छ । गत वर्ष १.८ प्रतिशत ऋणात्मक रहेको आर्थिक वृद्धिदर भने यस वर्षमा सुधार आई ३.९ प्रतिशत कायम हुने विभागको अनुमान छ ।
विभागका अनुसार, २०७५÷०७६ ५ खर्ब ०३ अर्ब अर्थात १३ प्रतिशत योगदान गरेको प्रदेश–२ ले गत वर्ष ५ खर्ब ६२ अर्ब अर्थात १३.३ प्रतिशत जीडीपीमा योगदान गरेको थियो । चालू वर्षमा भने जीडीपीको आकार घटेर ५ खर्ब १९ अर्ब हुने र वृद्धिदर पनि झिनो घटेर १३.२ प्रतिशत कायम हुने विभागको अनुमान छ । गत वर्ष १.६ प्रतिशत ऋणात्मक रहेको आर्थिक वृद्धिदर यस वर्ष सुधार भई ३.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
यसैगरी २०७५÷०७६ ३ खर्ब ४० अर्ब अर्थात ८.८ प्रतिशत योदान दिएको गण्डकी प्रदेशले गत वर्ष ३ खर्ब ४४ अर्ब अर्थात ८.८ प्रतिशतनै योगदान दिएको विभागले जनाएको छ । चालू वर्ष ३ खर्ब ७२ अर्ब अर्थात ८.७ प्रतिशत जीडीपीमा योगदान दिने अनुमान गरेको गण्डकीको गत वर्ष १.७ प्रतिशत ऋणात्मक रहेकोमा आर्थिक वृद्धिदर सुधार भएर ३.६ प्रतिशत पुग्ने अनुमान विभागको छ ।
चालू वर्षमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको योगदान जीडीपमिा ४ प्रतिशत रहने विभागको अनुमान छ । विभागका अनुसार, चालू वर्ष १ खर्ब ७२ अर्ब योगदान रहने अनुमान गरेको कर्णालीको २०७५÷०७६ १ खर्ब ५१ अर्ब अर्थात ३.९ प्रतिशत तथा गत वर्ष १ खर्ब ६१ अर्ब अर्थात ४.१ प्रतिशत योगदान थियो । गत वर्ष सकारात्मक ०.७ प्रतिशत आर्थिक वृद्धिदर रहेको यस प्रदेशको चालू वर्षमा भने बढेर ३.६ प्रतिशत पुग्ने अनुमान छ ।
२०७५÷०७६ २ खर्ब ६० अर्ब अर्थात ६.८ प्रतिशत योगदान रहेको सुदूरपश्चिम प्रदेशले गत वर्ष २ खर्ब ७४ अर्ब अर्थात ७.० प्रतिशत जीडीपीमा योगदान गरेकोमा चालू वर्ष २ खर्ब ९४ अर्ब अर्थात ६.९ प्रतिशत योगदान रहने अनुमान विभागको छ । विभागका अनुसार, गत वर्ष सकारात्मक ०.६ प्रतिशत आर्थिक वृद्धिदर रहेको यस प्रदेशको यस वर्षमा सुधार आई ३.४ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने अनुमान छ ।


प्रदेश आर्थिक वृद्धिदर (प्रतिशतमा)
बाग्मती ४.७
प्रदेश–१ ३.६
लुम्बिनी ३.९
प्रदेश–२ ३.६
गण्डकी ३.६
कर्णाली ३.६
सुदूरपश्चिम ३.४
स्रोतः राष्ट्रिय तथ्यांक विभाग

प्रदेश जीडीपी (खर्बमा)
बाग्मती १६.०८
प्रदेश–१ ६.६४
लुम्बिनी ५.९६
प्रदेश–२ ५.६२
गण्डकी ३.७२
कर्णाली १.७२
सुदूरपश्चिम २.९४
स्रोतः राष्ट्रिय तथ्यांक विभाग

Saturday, May 15, 2021

एडीबीले स्वच्छ ऊर्जा प्रवद्र्धन गर्ने

https://www.karobardaily.com/news/138488?fbclid=IwAR2Pl5pG3Gy_bqJP59cEYlyGub114kmspFCkgacjHhTWjHo-lDhTJSNnOHQ 

बैशाख ३१, २०७८ शुक्रबार

एसियाली विकास बैक (एडीबी) ले एसिया र प्रशान्त क्षेत्रमा कार्बन उत्सर्जन कम गरी स्वच्छ ऊर्जाको प्रवद्र्धन गर्न नयाँ नीति बनाएको छ ।
विश्वमै उदाउँदो अर्थतन्त्र र बढ्दो औद्योगीकरणसँगै बढ्दो हरित ग्यास उत्सर्जनलाई घटाई स्वच्छ ऊर्जाको प्रवद्र्धन गर्नका लागि एसिया र प्रशान्त क्षेत्रमा कम कार्बन उत्सर्जन गर्ने गरी एडीबीले ऊर्जा नीति बनाएको हो ।
मस्यौदाका अनुसार, एसिया र प्रशान्त क्षेत्रमा प्रयोग हुने ऊर्जामध्ये कोल ४३ प्रतिशत छ । मे २०२१ म सार्वजनिक गरेको मस्यौदामा नेपालसहितका विकासोन्मुख राष्ट्रहरुमा दिगो र भरपर्दो ऊर्जा प्रणालीको विकास गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण र अनुकूलनका लागि सन् २०१९ देखि २०३० सम्मको लागि ८० विलियन डलर अर्थात एक खर्ब बराबरको मौसम वित्त (क्लाइमेट फाइनान्स) सहायता गर्ने उल्लेख छ । समृृद्ध र समावेशी एसिया र प्रशान्त क्षेत्रका लागि सुनिश्चित ऊर्जा, भविष्यका लागि दिगो र भरपर्दो ऊर्जा निर्माण, संस्थागत सहभागितमा नीतिमा पुनर्सुधार, ऊर्जा सुरक्षाका लागि क्षेत्रीय साझेदारीको प्रवद्र्धन र एकीकृत समाधानका लागि उपयोगसहितको विकासको प्रभाव वृद्धिका लागि अन्तर क्षेत्रीय परिचालनको उद्देश्यसहित नीति ल्याएको मस्यौदामा उल्लेख छ ।
एडीबीले कोल कटौतीका लागि दीर्घकालीन ऊर्जा योजना, मार्गचित्र, रणनीति र नीतिहरुमा सहायता पु¥याउने उल्लेख गर्दै कार्बन उत्सर्जन कम गर्न प्राथमिकतामा राखेर लगाउने बढाउने मस्यौदामा उल्लेख छ । नीतिको मस्यौदामा ऊर्जा दक्षता, न्यून र जिरो कार्बनसहितको ऊर्जा प्रणाली, यातायात, उद्योगका साथै तताउने र चिसाउनेमा विद्युत् ग्रीडको पहुँच तथा नवीकरणीय ऊर्जा सेवाको प्रदायक, उपभोक्ता र उत्पादकहरुको सहभागिता वृद्धिमा जोड दिइएको छ ।
नीतिको मस्यौदामा एडीबीले कोल, न्यूक्लियर ऊर्जामा लगानी नगर्ने उल्लेख गर्दै स्वच्छ ऊर्जाका प्रविधिहरुमा जोड दिने बताएको छ । विकासोन्मुख राष्ट्रहरुका लागि दिगो पहुँच, समावेशी र भरपर्दो जीवनयापनका लागि काम गर्ने उल्लेख गर्दै एडीबीले ग्रामीण विद्युतीकरण, ऊर्जा दक्षता र बढी नवीकरणीय ऊर्जालाई ग्रीडमा जोड्ने लगायतमा सहायता गर्ने उल्लेख गर्दै स्वच्छ ऊर्जा उत्पादनमा निजी क्षेत्रको सहभागितामा वृद्धिमा जोड दिएको छ ।
मस्यौदामा एडीबीले क्षेत्रीय सहयोग र एकीकरणको प्रवद्र्धनका लागि एडीबीले सन् २०३० सम्मका लागि सात वटा परिचालन प्राथमिकताहरु निर्धारण गरेको उल्लेख गर्दै यसमा अन्तरदेशीय पूर्वाधार निर्माण र व्यापारमा पनि जोड दिएको छ । एडीबीले सकेसम्म फोहोर व्यवस्थापनसहितको फोहोरबाट ऊर्जा उत्पादनमा लगानी गर्ने बताउँदै यसलाई पनि प्राथमिकतामा राखेको उल्लेख गरेको छ ।
नीतिको मस्यौदा सार्वजनिक भएपछि ग्लोबल एलायन्स अन इन्सिनेटर अल्टरनेटिभ्स (जीएआईए) एसिया प्रशान्तले कोल ऊर्जाको कटौती गर्दै कम कार्बन उत्सर्जनका लागि एडीबीले एसिया क्षेत्रकै लागि ऊर्जा नीतिको मस्यौदा बनाएकोमा स्वागत गरेको छ । नीति प्रभावित विश्व समुदाय तथा वातावरण र सामाजिक न्यायका लागि वकालत गरिरहेको लागि एउटा विजय भएको उल्लेख गर्दै फोहारबाट ऊर्जाका लागि एडीबीको निरन्तर सहयोगको अपेक्षा पनि गरेको छ ।
जीएआईएले नीति मस्यौदामा उल्लेख भए बमोजिममै दिगो विकासका लागि कम कार्बन समाधानका लागि लगानी गर्ने र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहायतालाई जारी राख्ने अपेक्षा पनि गरेको छ । एडीबीले यस क्षेत्रका विभिन्न नगरपालिकाहरुमा फोहोरबाट ऊर्जा उत्पादनका लागि प्राविधिक सहायताहरु गर्दै आएको छ ।
जीएआईएले नीतिको मस्यौदामा उल्लेखित किफायती फोहोरबाट ऊर्जा उत्पादनबारेको पुनः प्रयोग र रिसाइक्लिङ कार्यक्रमबारेका भाषा भने स्पष्ट नभएको बताउँदै विश्वमै ऊर्जाबाट फोहोर कार्यक्रम ऊर्जाभन्दा पनि फोहोर व्यवस्थापनमा केन्द्रित रहेकोले यो महंगो तरिका नअपनाउन र रोकी यसमा पुनर्विचार गर्न पनि भनेको छ ।

Thursday, May 13, 2021

लगानी भित्र्याउँदा कर कट्टी छुट

https://www.karobardaily.com/news/138349

 बैशाख ३०, २०७८ बिहीबार

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले आगामी बजेटमा निजी क्षेत्रले समेत विद्युत् व्यापार गर्न सक्ने गरी व्यवस्था गर्न सुझाव दिएको छ । इपानले अर्थमन्त्री, ऊर्जा मन्त्री, ऊर्जा सचिवलगायतलाई बुझाएको बजेट सुझावमा उत्पादित ऊर्जा खपत गर्नका लागि निजी क्षेत्रलाई पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा व्यापारका लागि अनुमति दिने व्यवस्था गर्न सुझाव दिइएको छ । हालसम्म विद्युत् व्यापारमा नेपाल विद्युत् प्राधिकरणको मात्र एकाधिकार छ ।
इपान अध्यक्ष कृष्ण आचार्यले विद्युत् व्यापारमा भएको एकाधिकार तोडेर निजी क्षेत्रलाई समेत व्यापारमा संलग्न गराउने लगायतका सुझाव इपानको तर्फबाट सरकारलाई दिइएको जानकारी दिए । इपानले आय कर ऐन २०५८ मा नेपाली बासिन्दा व्यक्तिले कुनै पनि विदेशी बैक÷वित्तीय संस्थालाई ऋणमा ब्याज भुक्तानी गर्दा १५ प्रतिशत कर कट्टी गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै यसले वैदेशिक ऋणका साथै आयोजनाको लागत बढ्न गई विदेशी लगानी निरुत्साहित हुने भएकोले यसमा छुट गर्न पनि सुझाव दिएको छ । सरकारले राखेको १० वर्षभित्र १५ हजार मेगावाट उत्पादनको लक्ष्य प्राप्त नहुञ्जेलसम्मका लागि रकमको आयस्रोत नखोज्ने व्यवस्था गर्न आग्रह गर्दै बजेट सुझावमा जलविद्युत् आयोजनामा पेनस्टक र हेडरेसका लागि उपयोग हुने स्टील पातामा लाग्दा भन्सार महशुल दर ५ प्रतिशतलाई घटाएर पुरानै एक प्रतिशतमा झार्न सुझाव दिएको छ ।
चालू वर्षको बजेटमा भन्सार महशुलमा एक प्रतिशत रहेकोमा बढाएर ५ प्रतिशत र मूल्य अभिवृद्धि कर थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएपछि निजी प्रवद्र्धकहरुले विरोध जनाएका छन् । गत असोजमा निजी क्षेत्रको विरोधपछि बजेटमा लगाएको १३ प्रतिशत पैठारी गर्दा लाग्ने कर भने हटाएको थियो । इपानले २०६७ चैत ९ गते तत्कालीन संसदबाट पारित २०७९÷०८० सम्म राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनाहरुलाई प्रति मेगावाट ५० लाख दिने घोषणा कार्यान्वयन गर्न माग गरेको छ ।
यस्तै इपानले १५ हजार मेगावाट उत्पादन नभएसम्मका लागि २०७९÷०८० सम्म विद्युत् उत्पादनलाई १० वर्षसम्म पूरै र त्यसपछि पाँच वर्ष ५० प्रतिशत छुटको व्यवस्थालाई निरन्तरता दिन, २०७१ चैत मसान्तसम्म व्यावसायिक उत्पादन सुरु गर्ने आयोजनाको हकमा दिइएको पोष्टपेड दरलाई नियमित भुक्तानीको व्यवस्था गर्न तथा ऊर्जा मन्त्रालयकै सिफारिसकै आधारमा संकटग्रस्त जलविद्युत् आयोजनालाई सहुलियत ऋण प्रदानको व्यवस्था गर्न पनि सुझाव दिएको छ ।
यसैगरी इपानले महामारीका असर गरेका आयोजनाहरुलाई सहुलियत ऋण प्रदान गर्न मन्त्रीपरिषदले स्वीकृति गरेको सहुलियत तथा सुविधामा सर्वेक्षण अनुमति शुल्कमा ७५ प्रतिशत छुट दिन, ५० मेगावाटसम्मका आयोजनाका लागि पनि हेजिङ फण्डको व्यवस्था गर्न, आन्तरिक विद्युत् बढाउनका लागि विद्युतीय सामग्री र सवारी साधनलाई प्रवद्र्धन गर्न, सुरक्षा निकाय परिचालन गरेर भएपनि उच्च भोल्टेजका प्रसारण लाइन निर्माण तथा यसका लागि जलविद्युत् परियोजना गर्ने कम्पनीहरुसहितको नयाँ संयन्त्र बनाउन, विद्युत् खरिद दर (पीपीए) को सन्र्दभमा एक सय मेगावाटभन्दा माथिका आयोजनाको हकमा स्वपुँजीमा प्रतिफल सत्र प्रतिशतभन्दा बढी हुने देखिएमा दर घट्ने व्यवस्था गरिएकोमा जलविद्युत् विकास गर्न वित्तिय हिसाबले आकर्षक नहुने भएकोले स्वपुँजीको प्रतिफलको साटो इन्टरनल रेट अफ रिटर्न (आईआरआर) व्यवस्था गर्न, जलविद्युत् आयोजनाको लागि आवश्यक जग्गा सम्बन्धमा निश्चित अवधि पश्चात सरकारलाई हस्तान्तरण हुने भएकोले जग्गा हदबन्दी खुकुलो पार्न पनि सुझाव दिएको छ । बैकको व्याजदर एक अंकमा सीमित गर्न, ऊर्जा आयोजनाको पहुँच मार्ग÷प्रसारण लाइन निर्माण सम्बन्धमा निर्माणीन र निर्माण हुने आयोजनाहरुको लागि आवश्यक पहुँच मार्ग र प्रसारण लाइनको लागि सरकारको तर्फबाट आवश्यक बजेट व्यवस्था गर्न पनि इपानले सुझाव दिएको छ ।

Wednesday, May 12, 2021

१० मेगावाटसम्मका आयोजनालाई हाइड्रोलोजी जरिवाना छुट

https://www.karobardaily.com/news/138324

 बैशाख २९, २०७८ बुधबार

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले १० मेगावाटसम्मका जलविद्युत् आयोजनालाई हाइड्रोलोजी पेनाल्टी (जरिवाना) छुट दिने निर्णय गरेको छ ।
उपलब्धता घोषणा (एभाइबिलिटी डिस्लिरेसन) भन्दा कम विद्युत् उत्पादन गरेमा कम उत्पादन गरे बराबरको जरिवाना लगाउँदै आएको प्राधिकरणले जरिवाना छुट दिने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् नियमन आयोगको निर्देशनअनुसार १० मेगावाटसम्मका आयोजनामा घोषणा गरेभन्दा कम उत्पादन गरेवापत लगाउँदै आएको जरिवाना छुट दिने निर्णय गरेको जानकारी दिए । “निर्णय भएको छ, निर्णयअनुसार माइन्युट र हस्ताक्षर भएपछि कार्यान्वयनमा आउँछ,” उनले भने ।
२०७२ सालकै तत्कालीन सरकारले ल्याएको ऊर्जा संकटकाल योजनामै हाइड्रोलोजी पेनाल्टीमा छुट दिने उल्लेख गरेको थियो भने विद्युत् नियमन आयोग आएपछि पनि पटक पटक छुटका लागि निर्देशन दिएको थियो । गत चैतमा तेस्रो पटक आयोगले हाइड्रोलोजी जरिवाना छुट दिने निर्णय गर्न निर्देशन दिएको थियो तर कार्यान्वयन भएको थिएन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले विगत ५ वर्षदेखि पानी उपयोग बढेसँगै र पानीको बहाव कम हुँदै गएका कारण जलविद्युत् उत्पादन घटेको बताउँदै आफूहरू मर्कामा परेकाले छुट दिन माग गर्दै आएका थिए ।
ऊर्जा मन्त्रालयद्वारा गठित निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रूपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले ९३ आयोजनामध्ये १० मेगावाटभन्दा कम क्षमताका ३५ आयोजना आर्थिक रूपमा संकटग्रस्त अवस्थामा रहेको देखाएको थियो भने उनीहरूले वर्षको २० करोडभन्दा बढी जरिवाना तिर्दै आएका छन् ।
विद्युत् प्राधिकरणले १० मेगावाटमुनिका आयोजनामा प्रत्येक महिना ऊर्जा उत्पादनको प्रक्षेपण गर्दा ९० प्रतिशत अर्थात् १० प्रतिशतसम्म उपलब्धताको घोषणा (एभाइबिलिटी डिक्लेरेसन) गर्न पाउने र त्यसको पनि ९० प्रतिशत अर्थात् ८० प्रतिशतभन्दा कम उत्पादन गरेमा सोअनुसार कम उत्पादन ऊर्जा बराबरको जरिवाना लगाउने व्यवस्था गरेको छ । पानीको सतह घट्दै गएर निजी क्षेत्रका लगानीकर्ताले २०७२ सालमा ऊर्जा मन्त्रालयले ल्याएको ऊर्जा संकटकाल कार्ययोजनाअनुसार विद्युत् प्राधिकरणले त्यसमा ५० प्रतिशत छुट दियो । अहिले ४० प्रतिशतभन्दा कम उत्पादन गरेपछि मात्र जरिवाना तिरे हुन्छ तर निजी क्षेत्रले बनाएका एक तिहाइभन्दा बढी आयोजनाले सो बराबर पनि उत्पादन गर्न सकेका छैनन् । कम उत्पादनका कारण आम्दानीसमेत गुमाइरहेका उनीहरूलाई विद्युत् प्राधिकरणले समेत जरिवाना लिएपछि यसको विरोध हुँदै आएको थियो ।

Tuesday, May 11, 2021

नयाँ बजेटका लागि स्रोत व्यवस्थापनमा सकस

https://www.karobardaily.com/news/138043 

बैशाख २७, २०७८ सोमबार

राष्ट्रिय योजना आयोगलाई आर्थिक वर्ष २०७८-०७९ को बजेटका लागि स्रोत व्यवस्थापन गर्न सकस भएको छ ।
चालु आर्थिक वर्षको करिब १० महिनाको राजस्व, आन्तरिक ऋण तथा बाह्य सहायतालाई विश्लेषण गर्दा महत्वाकांक्षी कार्यक्रम राखेर १७ खर्ब बराबरको बजेट ल्याउन लागेको सरकारलाई स्रोत व्यवस्थापनमा सकस देखिएको हो ।
आयोगकै मध्यकालीन खर्च संरचनाअनुसार १७ खर्बसम्म बजेट ल्याउने अवस्था छ । तर आयोगले आगामी वर्षका लागि १५ खर्ब ६२ अर्बको बजेट सिलिङ दिएको छ । चालु वर्षमा समेत आयोगले दिएको सिलिङभन्दा झण्डै साढे दुई खर्ब कम १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट विनियोजन गरेकोमा मध्यावधी समीक्षामार्फत १३ खर्ब ४४ अर्ब ६८ करोडमा झारिएको थियो ।
अर्थ मन्त्रालय स्रोतले राजस्वबाट ११ खर्ब, आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब र वैदेशिक सहायतामार्फत साढे तीन खर्ब जुटाउन सकिने बताएपनि सो जुटाउन भने हम्मे पर्ने देखिएको छ । “योजना आयोगले दिएको साढे १५ खर्ब बराबरको बजेट सिलिङको वरिपरि बजेट ल्याउन स्रोत व्यवस्थापन गर्न सक्ने अवस्था छ, तर त्योभन्दा माथि जाँदा त ठूलो चाप पर्छ, अहिले बजेटको तयारी १७ खर्ब हाराहारीमा हुने गरी तयारी अघि बढाइएको छ” स्रोतले भन्यो, “सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याउँदा झण्डै पौने खर्ब थप भार हुन्छ, पछिल्लो समयमा ७७ जिल्लामै दुई दर्जनभन्दा बढी विभिन्न समितिहरु र उनीहरुका लागि सुविधा थपिएकाले यसको भार पनि ठूलै छ ।”
कोरोना प्रकोप र त्यससँगै भएको निषेधाज्ञाको कारण अर्थतन्त्रमा पारेको प्रभावले लक्ष्य अनुसार स्रोत व्यवस्थापन गर्न समस्या देखिएको छ ।
महालेखा नियन्त्रण कार्यालयका अनुसार, सरकारले चालु वर्षमा १० खर्ब ११ अर्ब ७५ करोड राजस्व लक्ष्य राखेतापनि २५ वैशाखसम्म ७ खर्ब ४७ अर्ब ४ करोड राजस्व उठेको छ । आर्थिक वर्ष सकिने तीन महिना मात्र बाँकी रहँदा अहिलेसम्मको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकको विश्लेषण तथा निशेषाज्ञासँगै उद्योग व्यवसाय, आयात निर्यातमा देखिएको समस्याको कारण लक्ष्य हासिल हुने अवस्था छैन भने आगामी वर्षको राजस्व समेत ११ खर्ब पुग्ने सम्भावना कम देखिएको छ ।
आन्तरिक ऋणका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ५.५ प्रतिशतको दायरा तोकिसकेको छ । सरकारले त्यही दायरामा आन्तरिक ऋण उठाउँदा झण्डै २ खर्ब ३० अर्ब बराबरको आन्तरिक ऋण उठाउन सक्ने देखिन्छ । तर, १७ खर्बको बजेट धान्न अझै ४ खर्ब बराबरको रकम आवश्यक हुन्छ । त्यसका लागि एक मात्र विकल्प वैदेशिक सहायता भएपनि त्यो पाउन कठिन छ । आजसम्मको अवस्था हेर्दा २ खर्ब भन्दा बढीको वैदेशिक सहायता लिन नसकिने अर्थविद् केशव आचार्य बताउँछन् । “स्रोत जुटाउनको लागि खर्च गर्ने क्षमता बढाउनु पर्छ” उनी भन्छन्, “वैदेशिक प्रतिवद्धताका अनुसार काम गर्न सक्यो भने सहायता आउँछ । तर, विगत २०÷२५ वर्षलाई हेर्ने हो भने हामिले जति प्रतिवद्धता जनाएका थियौं । त्यसको आधापनि खर्च गर्न सकेको छैन ।”
यस्तै प्रशासनिक संरचना, यही निर्णय पद्धति, यस्तै समन्वयको अभावले ४÷५ अर्ब वैदेशिक सहायता ल्याउन नसकिने उनको तर्क छ । “यस्तो संकटको समयमा खोप ल्याउन सकेको छैनौं” उनी भन्छन्, “दिन्छु भन्दा पनि अक्सिजनको सिलिन्डर ल्याउन सकेका छ्रैनौं, यस्तो अवस्थामा यत्रो ठूलो वैदेशिक अनुदान परिचालन गरौंला भन्ने आशा गर्नु महत्वकांक्षी हुन्छ ।” वृद्ध भत्ता र कर्मचारीको भत्ता बढाउँदा नै धेरै रकम बढी खर्च हुने भन्दै उनले बजेट निर्माण गर्दा स्रोत सुनिश्चिता गर्नुपर्ने बताए ।
अर्थविद् डा. रघुविर विष्ट पनि अहिलेको अवस्थामा बजेटको स्रोत जुटाउन चुनौति हुने बताउँछन् । “भावनामा बगेर बजेट ठुलो देखाउन कार्यान्वयन नै हुन नसक्ने ठूला ठूला कार्यक्रमहरु ल्याएको देखिन्छ” उनी भन्छन्, “कोरोना भाइरस र लकडाउनलाई जोड्ने हो भने आगामी आर्थिक वर्षमा बजेटको आर्थिक स्रोत र साधन जुटाउन चुनौति देखिन्छ ।”
उनका अनुसार अहिलेको बजेटको विनियोजन, त्यसको खर्च र क्रियाकलापलाई हेर्ने हो भने ५०ं प्रतिशत कार्यक्रमहरु कार्यान्वयन नहुने र चाहेर पनि गर्न नसकिने अवस्था छ । यस्ता कार्यक्रमलाई आगामी आर्थिक वर्षमा नियन्त्रण गर्न सक्ने हो भने स्रोत र साधनको समस्या नहुने उनी बताउँछन् । “उद्योग वाणिज्य महासंघले विभिन्न क्षेत्रमा कर कटौती गर्न सरकारलाई सुझाव दिएका छन्” उनले भने, “सरकारले त्यस्तो स्वार्थ समुहको कुरा सुनेर कर कटौती ग¥यो भने राजस्व घट्छ । र चालु खर्च गर्नकै लागि आन्तरिक ऋण उठाउँदा ५.५ प्रतिशतको मापदण्डले हावा खानेछ ।”
अर्का वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारी भने स्रोत जुटाउनमा भन्दा पनि खर्च गर्न नसक्नुमा समस्या रहेको बताउँछन् । उनका अनुसार बजेट खर्च नभएपनि खर्चको अनुपातमा राजस्व अलि बढी नै उठ्ने देखिएको र अनुदानहरु पनि आउन बाँकी भएकाले स्रोत जुटाउन खासै समस्या हुँदैन । “हिजो पाउनुपर्ने अनुदानहरु पनि लिन बाँकी नै छ” उनी भन्छन्, “पूरा नभएका परियोजनाहरुमा पनि काम सुरू भयो भने रकम आउँछन्, त्यसैले अहिले स्र्रोत भन्दा पनि त्यसको खर्चमा समस्या देखिएको छ ।”
त्यस्तै अर्का अर्थविद् डा. शंकर शर्मा पनि स्रोत जुटाउन समस्या नपर्ने बताउँछन् । “हामिसँग प्रशस्त वैदेशिक सहायताहरु छन् । एसियाली बैंक तथा विश्व वैकबाट २०२१ मा धेरै ऋणका सम्झौताहरु भएका छन्” उनी भन्छन्, “कोरोना भाइरस पनि मे सम्ममा घट्छ कि भन्ने अपेक्षा गरिएको छ । दसैंपछि हामिकहाँ पनि खुकुलो हुँदै जाने अनुमान छ । ९ महिना काम गर्न सकिने अवस्था आयो भने राजस्व संकलनमा पनि समस्या देखिँदैन ।”

Sunday, May 9, 2021

अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका बन्दै

https://www.karobardaily.com/news/137937 

बैशाख २६, २०७८ आईतबार

विद्युत् नियमन आयोगले आगामी १० वर्षलाई लक्षित गर्दै मार्गचित्र निर्माण अघि बढाएको छ । साढे तीन वर्षअघि कानुनी रुपमा र दुई वर्षअघि पदाधिकारी नियुक्ति भएर सक्रिय रहेको ऊर्जा क्षेत्रको नियामक निकाय आयोगले ६ महिनाभित्र मार्गभित्र निर्माण गर्ने गरी काम अघि बढाएको हो ।
आयोगले तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यहरु निर्धारण गरी मार्गचित्र निर्माण अघि बढाएको र ६ महिनाभित्र पूरा हुने आयोगका सदस्य एवं प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिए । आयोगका पदाधिकारी नियुक्त भएको दुई वर्ष पुगेको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा उनले दिएको जानकारी अनुसार २०८०/०८१ को लागि तत्कालीन लक्ष्य तथा ६ वर्षका लागि मध्यकालीन र १० वर्षका लागि दीर्घकालीन लक्ष्य निर्धारण हुनेछन् ।
आयोगले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका पनि छिट्टै बनाउने गरी तयार अघि बढाएको जानकारी पनि डा. धितालले दिए । नेपालले बढी भएको बिजुली भारतलाई बेच्ने बताउँदै आए पनि भारतले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका बनाए पनि हालसम्म बनाएको छैन । आयोगका अनुसार, तीन वर्षभित्र उपभोक्ता महशुल निर्धारण निर्देशिकाको संशोधन, ग्रिड र वितरण संहिता निर्माण, मुख्य कार्यसम्पादक सूचक, विद्युत् खरिदविक्री दर निर्धाण्रण निर्देशिका, अनुमति प्राप्त व्यक्तिको संहिता, उपभोक्ता÷ग्राहकको पहुँचको लागि रणनीति, उपभोक्ता सेवा निर्देशिका तथा सेवा प्रदायको कार्य सम्पादनको मापदण्ड, खुल्ला पहुँच सम्बन्धी निर्देशिका लगायत बनाउने लक्ष्य राखिएको छ ।
विद्युत् उपभोगका लागि सरोकारवालाहरुले खर्च गर्ने इच्छुकता, अनुदान तथा लाइफलाइन महसुलको अध्ययन, विद्युत् उत्पादन, प्रसारण तथा वितरण सेवा प्रदायकको स्वपुँजी लगानीमा प्रतिफल, सहकारी संस्थाबाट हुने सामुदायिक आपूर्तिको दिगोपनाको अध्ययन गर्ने लक्ष्य पनि आयोगको छ । आयोगका अध्यक्ष डिल्ली सिंहले ऊर्जा क्षेत्रमा प्रतिष्पर्धा र उपभोक्ता हकहितको संरक्षणलाई ध्यान दिएर आयोगले आफ्नो क्षेत्राधिकारभित्र बसेर काम गरिरहेको बताए ।
आयोगले दुई वर्षको अवधिमा ३६ जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर र हकप्रद सेयर निष्काशनका लागि र ५९ आयोजनालाई सेयर संरचना परिवर्तन गर्न पुर्व स्वीकृति दिएको छ भने ६ आयोजनालाई विद्युत् खरिद सम्झौता (पीपीए), ८८ आयोजनालाई पीपीएको संशोधन तथा ४ जलविद्युत् आयोजनालाई स्वामित्व हस्तान्तरण, प्राप्ति, ग्रहण लगायतमा सहमति दिएको छ ।
भर्चुअल कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले विद्युत् उत्पादन, प्रसारण र वितरणमा आयोगले सहजीकरण गर्नुपर्ने बताउँदै विद्युत् उत्पादन बढेसँगै खपतमा विशेष जोड दिनुपर्ने अवस्था रहेको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. केपी ओली, केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारी, ऊर्जा सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले सहजीकरण गरिरहेको बताएका थिए । नेपाल उद्योग परिसंघका ज्ञानेन्द्रलाल प्रधान र नेपाल उद्योग वाणिज्य महासंघका गोपाल खनालले विद्युत् उत्पादन वृद्धि गर्न हाल रहेको क्यू ४० को नीति हटाउनुपर्ने, पीपीएमा ढिलाइ अन्त्य गर्नुपर्ने बताएका थिए ।

Wednesday, May 5, 2021

जलविद्युत्मा सर्वसाधारणको लगानी डुब्न दिनु हुँदैन

 

https://www.karobardaily.com/news/137578बैशाख २२, २०७८ बुधबार

डा. रामप्रसाद धिताल
सदस्य, विद्युत् नियमन आयोग
वि. सं २०५५ देखि ऊर्जा क्षेत्रमा सक्रिय डा. रामप्रसाद धिताल अहिले विद्युत् नियमन आयोगका सदस्य एवं प्रवक्ता छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक धितालसँग विशेषगरी नवीकरणीय ऊर्जा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै रूपमा काम गरेको अनुभव छ । समग्र ऊर्जा क्षेत्रको नियमनका लागि गठन गरिएको आयोगले विशेषगरी विद्युत् महसुल निर्धारणका साथै सरकारलाई नीतिगत सल्लाह दिने र यससम्बन्धी विवाद देखिएमा समाधानका लागि काम गर्छ । आयोग सक्रिय भएको पनि दुई वर्ष बितिसकेको छ । विद्युत् विकास विभागमा कार्यालय रहेको आयोगले आफ्नो संरचना बनाउन नसकेको र स्वायत्त रूपमा काम गर्न नसकेको आरोप पनि लागेको छ । यद्यपि आयोगको सक्रियतासँगै केही नयाँ काम सुरु गरेको छ भने गरेको कामप्रति पनि सरोकारवालाको चासो, चर्चा र आलोचना हुन थालेको छ । आयोगका सदस्य डा. धितालसँग आयोग सक्रिय भएपछि गरिएका गतिविधि, स्वायत्तता, भएका निर्णयहरूको कार्यान्वयन र चुनौतीबारे कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्ति भएर सक्रिय भएको पनि दुई वर्ष पुग्यो । यो दुई वर्षको अवधिमा आयोगले केके महŒवपूर्ण काम गर्यो ?
मुख्य त दुई वर्षको अवधिमा संस्थाको संस्थागत परिचय निर्माण ग¥यौं । सरोकारवाला निकायबीचमा परिचित गरायौं । हिजो त्यो अवस्था थिएन । आयोग नयाँ आएको हो । नयाँ आयोगले विशेष विद्युत् महसुलको निगमन र प्राविधिक नियमन, विवाद समाधान र उपभोक्ताको अधिकार स्थापित गर्ने क्षेत्रमा काम ग¥यो । नियमनकारी निकाय छ भन्ने कुरा अहिले सबै सरोकारवाला निकायसम्म पुगेको छ । सेवाप्रदायकदेखि सर्वसाधारणले समेत यसबारे थाहा पाएका छन् । अर्को, पहिलो वर्षको अन्त्यतिर विद्युत् महसुल समायोजन गर्न सक्यौं, जसका कारणले क्रोनिक रूपमा रहेको डेडिकेटेड र ट्रक लाइनका साथै सेवाप्रदायक नेपाल विद्युत् प्राधिकरणको एउटा पेन्डिङ इस्युमा पनि अघि बढ्न सक्यौं । विद्युत् महसुल दर कायम गर्न सक्यौं, जसले गर्दा औद्योगिक क्षेत्रको, गार्हस्थ्य वर्गको फाइदा पुग्यो । गार्हस्थ्य वर्गमा गरिबहरूलाई राहत दिने गरी महसुल निर्धारण भयो । विद्युतीय सवारी साधनको चार्जिङका लागि पनि काम गरियो । सामुदायिक खानेपानी र सिँचाइ महसुलमा डिमान्ड चार्ज मिनाहा गरेका छौं, जसले गर्दा विद्युत्लाई कृषि र खानेपानीसँग जोड्नका लागि नयाँ सुरुवात भएको छ । अर्को, समग्र महसुल पनि विद्युत् खपत बढाउनेतिर केन्द्रित छ, विद्युतीय सवारी साधन र उपकरण प्रयोग गर्नेहरूलाई प्रोत्साहन पनि गरेका छौं, जसका कारण विद्युत् खपत बढ्छ भन्ने हाम्रो अपेक्षा छ ।

नियमन आयोग सक्रिय भएको दुई वर्षको बीचमा आयोग अलि ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरणको छायाजस्तो भयो । छुट्टै स्वायत्त भएर काम गर्न सकेन भनेर आयोगमाथि आरोप छ नि ?
नयाँ संस्था भएको हुनाले हिजो विद्युत् प्राधिकरण, विद्युत् विकास विभागले गरेका कामहरू पनि नियमन आयोगको जिम्मामा आइसकेको छ । यसमा कतिपय कुरामा हामीले समन्वय गर्नुपर्ने, कतिपयमा अहिले भएको प्रावधानहरूलाई टेकेर अघि बढ्नुपर्ने भएको हुनाले त्यस्तो देखिएको हो । यथार्थतामा नियमन आयोगले स्वायत्त भएर काम गरेको छ । नयाँ सुरुवाती चरणमा सबै सरोकारवालाहरूसँग आफ्नो पहिचान पनि कायम गर्ने र हामीले गरेका निर्णयहरू पारदर्शी, व्यावसायिक र स्वतन्त्र रूपमा गर्ने पनि हाम्रो मुख्य उद्देश्य छ । त्यो दिशामा हामी उन्मुख छौं । त्यो दिशामा उन्मुख हुँदा पनि कतिपय अवस्थामा हामी अहिले विद्युत् विकास विभागकै संरचनामा बसेको अवस्था र नयाँ संरचना बन्ने क्रममा रहेको, कर्मचारीहरू अहिले नेपाल सरकारकै काजमा आएको र त्यही संरचनाबाट काम गरिरहँदा बाहिर त्यो देखिनु एक हिसाबले ठीक पनि हो । अहिले कर्मचारीको सांगठनिक संरचना स्वीकृत भएको छ । कर्मचारी आर्थिक प्रशासनिक विनियमावली पनि बनाउँदै छौं । जब यो बन्छ, लोकसेवाकै सहमतिमा नियमन आयोगका आफ्नै कर्मचारी व्यवस्थापन गरेपछि स्वतन्त्र पहिचान निश्चय नै हुनेछ । अहिले भने नेपाल सरकारकै कर्मचारीहरूमार्फत हाम्रा काम भइरहेका छन् । जब सबै संरचनाहरू हाम्रो आफ्नै हुन्छ, त्यो आशंका मेटिन्छ ।

आयोग सक्रिय भएको दुई वर्ष भयो, तर जुन निकायको नियमन गर्नुपर्ने हो त्यही विद्युत् विकास विभागमा आयोग छ । त्यही निकायबाट कर्मचारी ल्याउनुभएको छ । अर्को, पछिल्लो समयमा ऊर्जा मन्त्रालय गठन गर्ने विभिन्न समितिहरूमा पनि नियमनकारी निकायकै प्रतिनिधिहरू राख्ने गरिएको छ । त्यसमा आयोगले प्रतिवाद गरेको देखिँदैन । आयोग स्वायत्त छैन भन्ने उदाहरण त यी हुन् नि ?
यसलाई दुई हिसाबले बुझ्नुपर्छ । नियमन आयोगले अनुमति प्राप्त संस्था वा व्यक्तिहरूलाई नियमन गर्ने हो । त्यो भनिरहँदा हामीले गर्ने भनेको निजी क्षेत्र, जसले अनुमतिपत्र पाउँछ, उसलाई नियमन गर्ने हो । विद्युत् विकास विभागलाई हामीले प्रत्यक्ष रूपमा नियमन गर्दैनौं । अनुमतिपत्रको नियमनकारी निकाय त विभाग नै रहेको छ । सरकार वा मन्त्रालयले गठन गर्ने कतिपय समितिमा आयोगको प्रतिनिधित्व कर्मचारीस्तरमा भएको यथार्थ हो । तर, नीतिगत सल्लाह दिने निकाय भएकाले नीतिगत तहमा निर्णय हुने हकमा त्यो हुन्छ, तर आयोगले गर्नुपर्ने निर्णयको हकमा हामी सहभागी हुँदैनौं ।

विद्युत् महसुलको कुरामा पनि विद्युत् प्राधिकरणले पठाएको प्रस्तावमा गहिरिएर अध्ययन भएन भन्ने एउटा कुरा आएको छ । डेडिकेटेड फिडरबारेको विवाद समाधानका लागि निर्णय गर्ने क्रममा मन्त्रिपरिषद्ले कार्यान्वयनका लागि आयोगलाई पनि पठाइदियो । यो विवाद आयोग आउनुअघिको थियो । यसलाई कसरी हेर्नुभएको छ ?
विद्युत् महसुलको जहाँसम्म कुरा छ, नियमन आयोग सक्रिय भएको एक वर्षमै यसको समायोजन ग¥यौं । यो समायोजना गर्दा तत्कालीन अवस्थामा लागतमा आधारित महसुल निर्धारण गर्ने मोडल तय गरौं । आधारभूत रूपमा विद्युत् प्राधिकरणको आम्दानी र खर्च कति हुन्छ, यसलाई दीर्घकालीन रूपमा एउटा सेवामूलक संस्थाका रूपमा पनि विकास गर्नुपर्ने र नाफाको मार्जिन पनि राख्नुपर्ने भएकाले तत्कालीन अवस्थामा हाम्रो मोडल वैज्ञानिक नै छ भन्ने लाग्छ । तीन वर्ष पुराना ऐतिहासिक सूचनालाई आधार मानेर विश्लेषण ग¥यौं । यसमा विद्युत् प्राधिकरणले प्रस्ताव गरेको १० अर्बबराबर खर्चमा हामीले पुष्ट्याइँ देखेनौं र त्यो घटेपछि नै सर्वसाधारणले पनि घटेको अनुभव गर्न पाए । आयोग सक्रिय भएको एक वर्षभित्रै त्यो काम गरेको हुनाले यसमा शतप्रतिशत पूर्ण छ त भन्दैनौं, राम्रो गर्ने प्रयास गरेका छौं । अर्को, महसुल समायोजन गर्दा पहिला देखिएका कमी–कमजोरीहरूलाई सुधार गर्छौं । जहाँसम्म डेडिकेटेड र ट्रक लाइनको कुरा छ, यो नियमन आयोग स्थापना हुनुअघि नै मुद्दा हो तर मन्त्रिपरिषद्ले नै निर्णय गरेर सरकारले गठन गरेको समितिले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले सहजीकरण गरी आयोग र प्राधिकरणसँग समन्वय र सहजीकरण गरी कार्यान्वयन गर्ने भन्ने निर्देशनबमोजिम अध्ययन ग¥यौं र प्राधिकरणलाई के भएको, अहिलेको अवस्था कस्तो हो भनेर सोधेर पनि पठाएका छौं । यसको जवाफ पनि पाएका छौं । यसबारे हामीले थप अध्ययन गरेर यसमा के गर्नुपर्छ, त्यो पठाउँछौं । यसमा आयोगले हामीलाई प्रत्यक्ष जिम्मा लगाएको भन्दा पनि मन्त्रालयका सचिवको नेतृत्वमा बनाएको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा हामीकहाँ आएको छ र यसको अध्ययन गर्दैछौं । यसको कार्यान्वयन गर्ने निकाय त प्राधिकरणकै हो, तर प्राधिकरणकै प्रतिक्रियाका आधारमा कसरी जाने भनेर सल्लाह गर्दैछौं । यो विवादित विषय पनि भएको र आयोगको कार्यक्षेत्रभित्र पर्दा कुन हिसाबले ल्याउने भन्ने कुरा पनि छ । यसमा निर्देशन दिन सक्ने, समस्या समाधानका लागि आउन सक्ने र सरकारलाई नीतिगत सल्लाह दिनसक्ने आयोगको कार्य क्षेत्र भएकाले यो कुनमा पर्छ भनेर कानुनविद्हरूसँग सल्लाह गर्दैछौं ।

आयोगले गरेको अर्को निर्णय भनेको १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनामा विद्युत् प्राधिकरणले लगाउँदै आएको हाइड्रोलोजी जरिवानाको मिनाहा पनि हो, तर यसको कार्यान्वयन त साह्रै सकस भयो नि । आयोगले एउटा निर्देशन दिने, प्राधिकरणले नमान्ने अवस्था रह्यो । यसबारे तपाईं के भन्नुहुन्छ ?
विशेषगरी १० मेगावाटभन्दा कम क्षमताका हाम्रा जलविद्युत् आयोजनाहरूमा पानीको बहाव कम हुँदा यसको कारणले उत्पन्न हुने जरिवानाका बारेमा २०७२ सालमा लोडसेडिङ न्यूनीकरण योजनामा पनि स्पष्ट निर्देशन भएको रहेछ । त्यसका आधारमा विद्युत् प्राधिकरण, निजी क्षेत्रहरूको सहभागिता भएको तथा प्राधिकरण सञ्चालक समितिको निर्णयका आधारमा एउटा निर्णय ग¥यौं । त्यो निर्णय गर्दा प्राधिकरणले दुईवटा मुद्दा उठाएको सही नै हो; आयोजनाहरूका विद्युत् खरिद सम्झौता (पीपीए) पहिल्यै भएकाले यसको करार व्यवस्थाको मुद्दा एउटा र अर्को प्रणाली सञ्चालन । घोषणा गरेको ऊर्जा दिन सकेन भने त्यो वैकल्पिक माध्यमबाट पूरा गर्नुपर्ने हुनाले प्रणाली सञ्चालन र करार व्यवस्थापनमा असर पर्न सक्छ भनेर पुनर्विचारका लागि प्राधिकरणले हामीलाई पत्र लेख्यो । त्यो पत्रका आधारमा धेरै पटक प्राधिकरण, निजी क्षेत्रलगायतका सरोकारवालासँग छलफल गरेर के निर्णय ग¥यौं भने ऊर्जाको घोषणा गर्नुपर्ने तर पहिला मासिक रूपमा गर्ने गरेकोमा साप्ताहिक रूपमा घोषणा गर्न पाउने । यसमा पनि पहिला सञ्चालनमा आइसकेका हकमा जरिवाना नलाग्ने तर अब उत्पादन हुने आयोजनाको हकमा १० प्रतिशत जरिवाना लगाउने भन्ने छ । सही ऊर्जा उत्पादनको घोषणा गरोस् भन्ने यसको उद्देश्य हो । प्राधिकरण सञ्चालक समितिले यसमा आवश्यक निर्णय गरेर कार्यान्वयनमा जान्छ भन्ने लाग्छ । अहिले त बुझिसकेको छैन, गइसक्यो पनि होला । नियमनकारी निकायले गरेको निर्देशन सम्बन्धित प्रदायकले कार्यान्वयन गर्नुपर्छ । नत्र यो अदालती प्रक्रियामा जान्छ ।

पछिल्लो समयमा जलविद्युत् आयोजनाहरूले सेयर जारी गर्नका लागि धितोपत्र बोर्ड र आयोग दुवैमा जानुपर्ने हुनाले झन्झटिलो भयो भनेर निजी क्षेत्रले भनिरहेका छन् । जलविद्युत् आयोजनाको पुँजी निर्माणमा आयोगको पनि स्वीकृति चाहिने व्यवस्थाले झन् झझन्टिलो भयो भन्ने छ । नियमनकारी नियकाले सेयर निष्कासनमा झन् समस्या थप्यो भन्ने निजी क्षेत्रको आरोपमाथि तपाईं के भन्नुहुन्छ ?
सेयर निष्कासनको कुरामा धितोपत्र बोर्डले बढी वित्तीय दृष्टिकोणले हेर्छ । पहिला पनि धेरै आयोजनाले वास्तविक लागत नदेखाएर काल्पनिक लागत देखाएर बजारमा जाँदा साना लगानीकर्ता वा सर्वसाधारणको लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएकाले क्षेत्रगत नियमनको अवधारणा ल्याइएको हो । विद्युत्का लागि नियमनकारी निकाय आयोग नै हो । जलविद्युत् आयोजनाको वित्तीय मात्र होइन, यसको प्राविधिक पक्ष पनि हेर्नुपर्छ । यसमा निर्माण र सञ्चालन दुवैको जोखिम पनि हेर्नुपर्ने हुन्छ । प्राविधिक पक्षलाई पनि नियमन गरियो भने सर्वसाधारणको लगानी डुब्दैन भन्ने हिसाबले हामीले हेरेका हौं । यद्यपि लगानी गर्दा लगानीको जोखिम त हुन्छ नै । यसमा वित्तीय धितोपत्र बोर्डले हेर्छ भने प्राविधिक जोखिम हामीले हेरिदिनुपर्छ । जलविद्युत्मा सर्वसाधारणको लगानीलाई डुब्न दिनु हुँदैन भन्ने हिसाबले गरेको हो । पछिल्लो समयमा यसलाई व्यवस्थित गर्न सरोकारवालाहरूको विभिन्न प्रतिक्रिया आएको हुनाले यसमा थपेर यसको मस्यौदा बनाई सरोकारवालालाई सुझावका लागि पठाएका छौं । सरोकारवालाको सुझाव आएपछि यसलाई हामी पुनर्विचार गर्छौं । यसका अतिरिक्त सेयर निष्कासनलाई सहजीकरण गर्न बोर्ड र आयोगका प्रतिनिधि बसेर छलफल पनि गरेका छौं । जलविद्युत् आयोजनाहरूलाई दोहोरो झन्झट नहोस् भन्नेमा हामी छौं । यसको अन्तिम स्वीकृति गर्ने निकाय बोर्ड नै हो, तर हामीले पूर्वस्वीकृति दिने हो । निर्माण र सञ्चालनको जोखिम न्यूनीकरण गर्नका लागि सहायता गर्ने हिसाबले हामी काम गरिरहेका छौं । सुरुमा नियमनकारी निकायको हिसाबले गर्दा गा¥हो हुन्छ, तर यसले सर्वसाधारण, जलविद्युत् प्रवद्र्धकलगायत सबैलाई फाइदा नै गर्छ ।

नियमनकारी निकायको एउटा काम भनेको अहिले विद्युत् प्राधिकरणमा रहेको ऊर्जा क्षेत्रको एकाधिकार अन्त्य गरेर प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने पनि हो । विद्युत् व्यापारमा पनि एकाधिकार छ । यसको अन्त्य गर्नुपर्छ भनेर निजी क्षेत्रले माग पनि गरिरहेका छन् । तपाईंहरू पनि यसमा सकारात्मक देखिनुभएको छ, तर अझै त्यो कार्यान्वयनको अवस्थामा गएको छैन । अहिले यसका लागि के गरिरहनुभएको छ ?
यसका लागि दुई–तीन कुरामा काम गरिरहेका छौं । यसमा मुख्यतः लागतकै नियमन हो । नयाँ आयोजनाहरूको नयाँ बेन्च मार्क गर्न खोजिरहेका छौं । पुराना विद्युत् प्राधिकरणको, निजी क्षेत्रको र वैदेशिक लगानीका आयोजनाहरूको लागतको मोडल बनाएर ग्रिन फिल्ड परियोजनाहरूको लागतको अवस्था कस्तो छ भनेर एउटा खाका हामीकहाँ आइसकेको छ । अब त्यो खाकाका आधारमा हामीले लागतलाई बेन्च मार्किङ गर्छौं । यो भनेको १० मेगावाट आयोजनाको लागत योभन्दा बढी गयो भने प्रतिफल दिन सक्दैन भन्ने एउटा मोडल, यो मोडल बनाउन भुटान, भारत र नेपालको आफ्नै अनुभव पनि छ । यसका आधारमा हामीले बेन्चमार्क बनाइदिन्छौं । जलविद्युत् आयोजनाहरूले योभन्दा घटी गराए भने केही सहुलियत दिने तर बढी ग¥यो भने त्यसलाई निरुत्साहित गर्ने, जसले गर्दा न्यूनतम लागतमा आयोजनाले अधिकतम फाइदा दिन सकोस् । यसकै आधारमा विद्युत् महसुल र पीपीएका दर पनि निर्धारण हुन्छन् । यसबाट उपभोक्ताले पनि फाइदा पाउन सक्छन । अर्को पाटो भनेको सेवा प्रदायकले कस्तो गुणस्तरीय सेवा उपभोक्तालाई दिन आवश्यक छ भन्ने छ । यसमा गुणस्तरको मापदण्ड पनि हामीले बनाइसकेका छौं । यो पनि सरोकारवाला निकायमा सुझावका लागि पठाउँछौं । दुवै गरेपछि उपभोक्ताले पनि मेरो घरमा यो गुणस्तरको बिजुली नआउँदाखेरि सेवाप्रदायकलाई यसमा कसरी जोड्न सक्छौं र यसको असर वार्षिक आम्दानीमा कसरी पर्न सक्छ भनेर हामीले एउटा मोडल बनाउन खोजिरहेका छौं । अर्को भनेको विवाद समाधान पनि आयोगको क्षेत्राधिकारभित्र पर्छ । यसको मोडल पनि करिब बनिसकेको छ । यो पनि सरोकारवाला निकायहरूमा प्रतिक्रियाका लागि पठाउँछौं । अर्को भनेको पुराना आयोजनाहरूको पीपीए विस्तार वा बजारमा कसरी ल्याउने भन्नेबारे पनि हामीले गृहकार्य गरिरहेका छौं । मुख्य गरी उत्पादनलाई कसरी प्रतिस्पर्धी बनाउने भन्ने कुरा हुन्छ । यो भयो भने हाम्रा सेवाप्रदायकको दक्षता पनि कायम हुने भयो, लगानीकर्ताले पनि प्रतिस्पर्धा गर्न सक्ने भए । यसले उपभोक्ताले पनि सर्वसुलभ र सस्तो दरमा बिजुली पाउने भए । त्यो दिशामा जाने हाम्रो चाहाना छ । यो गर्न केही समय लाग्छ । नयाँ नियमनकारी निकाय भएकाले हामीले आफूलाई पनि स्थापित गर्नुपर्नेछ भने हाम्रो नियमनकारी उपकरणले सेवाप्रदायकलाई पनि झट्का नआओस् भन्ने छ । साथै आयोगको निर्णय पनि भेदभाव र प्रभावित नहोस् भन्नेमा हामी सचेत पनि हुनुपर्छ र त्यो दिशामा हामी गएका छौं ।

आयोगमा रहेर दुई वर्ष काम गर्दाको अनुभवमा गर्नुपर्ने काम केके छन् र यसमा केके चुनौती देखिएका छन् ?
मुख्य त आयोगको आफ्नै संरचना र सुदृढीकरणको कुरा हो । आयोग आफैं सक्षम भएन भने सशक्त रूपमा नियमन गर्न सक्दैन । पहिलो त आयोग स्वायत्त र शक्ति हुन आफ्नै संरचना र उपकरण आवश्यक छ । यो भनेको आफ्नै कर्मचारी, आर्थिक विनियमावली, प्रशासनिक भवन हुनुप¥यो भन्ने हो । अहिले हामी आफ्नै भवनमा सर्न पनि खोजिरहेका छौं । पहिला पनि कोभिडका कारणले त्यति धेरै अघि बढ्न सकेनौं । निकट भविष्यमा हाम्रो छुट्टै भवन हुन्छ । हामीलाई स्रोतको समस्या छैन, तर यो परिचालन गर्न आफ्नै संरचना आवश्यक छ । त्यसपछि भनेको हामीले दिने सेवा स्वतन्त्र, निष्पक्ष, व्यावसायिक हुनुपर्यो । हामी कसैप्रति भेदभाव राखेर जानु भएन । यी काम गरेपछि हामी विश्वसनीय र भरपर्दो संस्था बन्न सक्छौं । नयाँ संस्था भएकाले सरोकारवाला निकायबाट पनि सकारात्मक सहयोगको जरुरी छ । उपभोक्तामैत्री विद्युत् महसुल, लागतमा आधारित उत्पादन, प्रसारण, वितरण र व्यापार गर्नुपर्ने आवश्यकता छ । यसमा जसले लागत घटाउन सक्छ उसलाई प्रोत्साहन गर्नु आवश्यक छ । यो दिशामा हामी जान सक्यौं भने आयोगले नयाँ इतिहास रच्न सक्छ भन्ने मलाई विश्वास लाग्छ ।

Sunday, May 2, 2021

भारतीय ऊर्जा एक्सचेन्जको ‘जोखिमयुक्त’ बजारमा नेपाल

https://www.karobardaily.com/news/137000

 बैशाख १९, २०७८ आईतबार

शनिबार बिहान १२ बजेदेखि दक्षिण एसियामै पहिलोपटक ऊर्जा आयातका लागि भारतीय एक्सचेन्ज बजारमा प्रवेश गरेको छ । नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि भारतीय एक्सचेन्ज बजारमा प्रवेशका लागि प्रयास गरे पनि बल्ल प्रवेश गरेको हो । यसअघि सौदाबाजी (नेगोसेसन) को आधारमा निश्चित विद्युत् खरिद सम्झौता (पीपीए) मार्फत बिजुली आयात गर्दै आएकोमा अब प्रतिष्पर्धाको आधारमा बिजुली किन्न सुरु गरेको छ ।
भारतीय एक्सचेन्ज बजारमा २४ घण्टामा ९६ पटक पीपीए दर हुने भएकाले नेपालले आवश्यक अनुसार प्रतिष्पर्धा गरेर एनभीभीएनमार्फत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् आयात सुरु गरिसकेको छ । शनिबार २५० मेगावाटसम्म आयात गरेको प्राधिकरणको आइतबार पनि २५० मेगावाट आयात गर्ने योजना छ । विद्युत् प्राधिकरणका अनुसार, शनिबार बिहान १२ बजेदेखि शनिबार राती १२ बजेसम्म तथा आइतबार बिहान १२ बजेदेखि राती १२ बजेदेखि सम्मको पीपीए दर नेगोसेसनको आधारमा आयात गर्दा भन्दा धेरै सस्तो छ । नेगोसेसनको आधारमा ढल्केबर–मुजफ्फरपुरबाट प्रतियुनिट सरदर ४.१८ भारतीय रुपैयाँका साथै पाँचवटा १३२ केभीका प्रसारण लाइनबाट ६.१८ र ३३ केभीबाट ६.६८ भारतीय रुपैयाँमा खरिद गर्दै आएको छ तर एक्सचेन्ज बजारबाट शनिबार प्रतियुनिट ३.८१ र आइतबार ३.५१ भारतीय रुपैयाँमा आयात गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका एक अधिकारीले भने एक साता यता कोभिडको कारणले एक्सचेन्ज बजारमा बिजुली सस्तो भए पनि मध्यकालीन र दीर्घकालीन रुपमा पीपीए गरेर ल्याउनेभन्दा यो बढी जोखिमयुक्त हुने बताउँछन् । ‘एक साताअघि प्रतियुनिट ८ रुपैयाँ भारतीय रुपैयाँ थियो, अहिले एक्सचेन्ज बजारमा केही घटेको छ,” ती अधिकारी भन्छन्, “मध्यकालीन र दीर्घकालीन रूपमा लिने बिजुलीभन्दा दैनिक एक्सचेन्ज बजारबाट लिने बिजुलीमा जोखिमता बढी हुन्छ, यो पूर्ण भरपर्दो पनि हुँदैन, त्यसकारण सबै एक्सचेन्ज बजारमा भर पर्दैनन् पनि, निश्चित प्रतिशतमात्र भर हुन्छ ।”
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भने भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताउँदै सस्तो बिजुली आयात गर्न सुरु गरिएको दाबी गर्छन् । “प्राधिकरणले पहिलोपल्ट भारतीय बजारले निर्धारण गरेको दरमा शनिबारका लागि खरिद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारु ३७ पैसा सस्तोमा विद्युत् पाएका छौं, यसबाट हाम्रो करिब ३० लाख ४८ हजार रुपैयाँ बचत भएको छ, अन्य दिनमा पनि विद्युत् खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं,” उनले भने ।
प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत् निगम लिमिटेड(एनभीभीएन)बीच ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरिद बिक्री (पीपीए) सम्झौता भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ । हिउँदमा उत्पादन घटेर एक तिहाइमा झरेपछि हाल विद्युत् प्राधिकरणले ७ सय ८० मेगावाटसम्म भारतीय बजारबाट आयात गरिरहेको छ, त्यो झण्डै ६६ प्रतिशत हो । ढल्केबरबाहेक १३२ केभीबाट झण्डै ३ सय ५० मेगावाट र ३३ केभीबाट ५० मेगावाट प्राधिकरणले बिजुली आयात गरिरहेको छ । प्राधिकरणका अनुसार, हाल साढे १४ सय बिजुलीको माग छ । एक्सचेन्ज बजारमा भने प्राधिकरणले चाहेअनुसार बिजुली लिन सक्छ । महंगो पीपीए दर भएको बेला नेपालले एक्सचेन्ज बजारमा बिजुलीमा प्रतिष्पर्धा नगर्न पनि सक्छ तर स्वदेशी उत्पादन घटेकोले पिक आवरमा लिनैपर्ने बाध्यतामा प्राधिकरण छ ।
भारतीय एक्सचेन्ज बजारबाट विद्युत् खरिदका लागि प्राधिकरणका तर्फबाट सम्पूर्ण कारोबार भारतीय नोडल कम्पनी एनभीभीएनले गर्ने प्राधिकरणले जनाएको छ । एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउने छ भने एक्सचेन्ज बजारमा कारोबार भएको विद्युत्को दैनिक बिल एनभीभीएनले पेस गरेपछि ५ दिनभित्रमा प्राधिकरणले भुक्तानी पठाउनु पर्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।