Thursday, November 8, 2012

कुलेखानी भरिँदा प्राधिकरणलाई राहत

कुलेखानी (मकवानपुर), २४ कात्तिक । कुलेखानी जलाशययुक्त आयोजनाले नेपाल विद्युत् प्राधिकरणको ‘शाख र प्राण’ जोगाएको छ । वर्षामा परेको पानीका आधारमा कुलेखानी जलाशय नभरिने र आगामी हिउँदमा १९ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिरहेको प्राधिकरणका लागि जलाशय भरिएपछि शाख र प्राण जोगिएको हो ।
१९ घन्टासम्म लोडसेडिङ गर्नुपर्दा उपभोक्ता, राजनीतिक दल तथा अन्य संघ/संस्थाबाट पाउने विरोध र खस्कने शाखलाई कुलेखानी भर्नाले आगामी हिउँदमा लोडसेडिङ घट्ने हुनाल शाख जोगिने भएको छ भने दिनको ५ घन्टा मात्र बिजुली आएपछि प्राधिकरण मर्नलागेको निकायजस्तो बन्ने खतरामा पनि प्राण भरिएको छ । ‘हामीले १५ सय २२ मिटर मात्र भर्ने लक्ष्यका साथ आगामी हिउँदमा १९ घन्टासम्म लोडसेडिङ हुने अनुमान लगाएका थियाँै तर यो भरिनाले प्राधिकरणका लागि ठूलो राहत भएको छ, प्राधिकरणका सबै कर्मचारी खुसी भएका छौँ,’ प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले भने, ‘विद्युत् सेवा दिने प्राधिकरणका लागि कुलेखानी मेरुदण्ड नै हो, हिउँदमा लोडसेडिङ घटाउन ठूलो राहत पुग्नेको छ ।’
कुलेखानीबाहेक सबै आयोजना रन अफ दर रिफर आयोजना भएका र हिउँदमा एक तिहाइ मात्र विद्युत् उत्पादन हुने भएकाले कुलेखानीलाई देशकै सबैभन्दा महत्त्वपूर्ण जलविद्युत् आयोजना मानिन्छ । प्राधिकरण सबैको ध्यान कुलेखानी जलाशययुक्त आयोजनामा रहेकाले भरिएपछि चर्को आलोचना खेप्नुपर्ने अवस्थाबाट प्राधिकरण र ऊर्जा मन्त्रालयले मुक्ति पाएका छन् ।
भदौमा समेत पानी नभरिएर जलाशय नभर्ने देखिएपछि पानी पारिदिन्छु र जलाशय भरिदिन्छु भनेर एक ज्योतिष पनि लगिएको थियो । प्राधिकरणका इन्जिनियर र महाप्रबन्धकलाई भेटेर डंगोल थरका ती ज्योतिषले पानी पारिदिने बताएपछि हिउँदको लोडसेडिङ चर्को अनुमानसँगै चिन्तित बनेका प्राधिकरणका पदाधिकारीले जलाशययुक्त आयोजनामा पठाएका थिए तर पानी परेन । असोजको पहिलो साता तीन दिनसम्म परेको अविरल वर्षाले भने जलाशययुक्त आयोजना भर्नका लागि सहयोग पुगेको सहायक इन्जिनियर धु्रवबहादुर बस्नेतले बताए ।
वर्षा याममा समेत कम चलाएर र विगत एक महिनादेखि नचलाइएको र केन्द्रले आगामी हिउँदको भयावह लोडसेडिङका लागि जलाशयमा पानी संकलन सुरु गरेको थियो । सात किलोमिटर ठूलो जलाशयमा अहिले पूरै एक हजार पाँच सय ३० मिटर भरिएर र थप आधा मिटरका लागि बोरा राखिएकामा नौ सेन्टिमिटर भरिएको छ । कुलेखानी आयोजनाका अनुसार अहिले प्रत्येक दिन पाँच सेन्टिमिटर पानी बढिरहेको छ । आगामी कात्तिक २८ गते लक्ष्मीपूजाको अवसर पारेर त्यो दिनदेखि जलाशयुक्त आयोजना विद्युत् उत्पादन गरिने भएको छ ।
६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रोबाट प्राधिकरणका लागि करिब १५ करोड युनिट विद्युत् उपलब्ध हुनेछ । बोरा राखेर थप गरिएको आधा मिटर पानीबाट मात्र थप २० लाख युनिट बराबर विद्युत् थप हुने प्राधिकरणले जनाएको छ । प्रमुख क्षत्रीका अनुसार जलाशययुक्त आयोजनाबाट भरिएको पानीबाट मात्र हिउँदमा दुई घन्टा लोडसेडिङ प्रत्येक दिन घटाउन सहयोग पुग्नेछ ।
अघिल्लो वर्ष जलाशय भरिएपछि हिउँदका लागि लोडसेडिङ बढीमा १४ घन्टा रहेकामा यस वर्ष पनि भरिएपछि तथा एक वर्षयता एक मेगावाट बराबर विद्युत्को माग बढेकाले भारतबाट थप विद्युत् आयात गर्न नसकिएमा पनि १९ घन्टा हुने लोडसेडिङको अनुमान अब १५/१६ घन्टामा झरेको छ । प्राधिकरणका अनुसार आगामी जेठसम्म जलाशयुक्त आयोजना सञ्चालन गरिनेछ । ‘जलाशय भरिन्छ कि भरिन्न भन्ने चिन्ता सबैमा थियो, भरियो, यसले प्राधिकरणलाई राहत दिएको छ,’ प्राधिकरणका सहायक इन्जिनियर गणेशदत्त भट्टले भने ।
पालुङ, चलेख, चित्लाङ, सिमखोला, काल्ची खोला, सेती खानीलगायत नौ खोला र खोल्साबाट आएको पानी भरिएपछि अहिले कुलेखानीको शोभा नै बढेको छ । भरिभराऊ इन्द्र सरोवर हेर्नका लागि आन्तरिक पर्यटक पनि बढेका छन् । ०६८ सालमा समेत भरिएको जलाशययुक्त आयोजनाको इन्द्रसरोवरमा लक्ष्मीपूजा अघि नै बोरा बिछ्याएर थप गरिएको आधा मिटर पानी पनि भरिसक्ने प्राधिकरणले जनाएको छ ।

1 comment:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन