Wednesday, February 6, 2013

माथिल्लो तामाकोसीको सेयर निष्काशन

-सौर्य समाचार

काठमाडौं, २४ माघ । स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर निष्काशन हुने भएको छ । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रो लिमिटेडको सेयर निष्काशन तथा बिक्रीप्रबन्ध सेवाका लागि नागरिक लगानी कोषसँग सम्झौता भएपछि आयोजनाको सेयर निष्काशन हुने भएको हो ।
सेयर निष्काशनका लागि मंगलबार आयोजनाका निमित्त प्रमुख विज्ञान श्रेष्ठ र नागरिक लगानी कोषका कार्यकारी प्रमुख ऋषिराज गौतमबीच सम्झौता भयो । सम्झौताअनुसार चालु आर्थिक वर्ष ०६९/७० भित्रै पहिलो चरणमा ३ अर्ब ६० करोड ६ लाख रुपियाँबराबरको सेयर निष्काशन गरिनेछ । जसअनुसार कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका लागि १७.२८ प्रतिशत, दोलखावासी तथा कम्पनीका लागि १० प्रतिशत तथा प्राधिकरण र कर्जाप्रवाह गर्ने संस्थाका कर्मचारीहरूलाई ६.७२ प्रतिशत सेयर निष्काशन गरिनेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख रुपियाँबराबरको सेयर निष्काशन गरिनेछ । आगामी जेठसम्म पहिलो चरणको सेयर निष्काशन गरिसक्ने तामाकोसी आयोजनाले जनाएको छ ।
३५ अर्ब २९ करोड रुपियाँमध्ये ३० प्रतिशत रकम सेयर पुँजीबाट र ७० प्रतिशत ऋणबाट बनाउन लागिएको आयोजनामा कर्मचारी सञ्चय कोषको १० अर्ब ऋण र डिबेन्चर दुई अर्ब, नेपाल टेलिकमको ६ अर्ब, राष्ट्रिय बिमा संस्थानको २ अर्ब, नागरिक लगानी कोषको २ अर्ब तथा नपुग ११ अर्ब ८ करोड रुपियाँ सरकारको ऋण लगानी हुनेछ । त्यसैगरी, सेयर पुँजीतर्फ प्राधिकरणको ४१ प्रतिशत, टेलिकमको ६ प्रतिशत, संस्थान र कोषको २/२ प्रतिशत, दोलखावासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत तथा बाँकी सञ्चयकोषका सञ्चयकर्ता, कर्जा प्रवाह गर्ने संस्था तथा कम्पनी र विद्युत् प्राधिकरणका कर्मचारीहरूको सेयर रहनेछ । २०६७ साल मंसिर २१ गते ऋणसम्झौतामा कम्पनीको सेयर निष्काशन तथा बिक्रीप्रबन्धको कार्य कोषलाई दिने सहमति भएको थियो ।
०७१ सालको चैत्रसम्म कार्यसम्पन्न गरी ०७२ जेठदेखि पहिलो युनिटबाट र उक्त वर्षभित्र ६ युनिटमै विद्युत् उत्पादन गरिसक्ने लक्ष्य छ । आयोजनाको १६ किलोमिटर सुरुङमध्ये करिब ८ किलोमिटर सम्पन्न भइसकेको छ । १० अर्ब ५० करोड रुपियाँ खर्च भइसकेको आयोजनाको अहिलेसम्म करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

1 comment:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन