आइतवार, आश्विन १२, २०७६
पनौती (काभ्रे)-नेपाल भ्रमणमा रहेका विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष हार्टविक सेफरसँग भूकम्प प्रभावितहरूले जीविकोपार्जनका लागि सहयोग गर्न आग्रह गरेका छन् । भूकम्पपछिको पुर्ननिर्माणबारे जानकारी लिन उपाध्यक्ष सेफर शुक्रबार पनौती नगरपालिका–४ स्थित बस्नेत गाउँ पुगेका थिए । भूकम्पबाट घर भत्किएपछि पुर्ननिर्माण गर्दा सरकारी अनुदानको रकम पर्याप्त नभएको तथा १८ प्रतिशतसम्मको महंगो ब्याजमा ऋण लिनुपरेको भन्दै सहयोगका लागि स्थानीयले आग्रह गरेका हुन् ।
“भूकम्पबाट घर भत्किएपछि सरकारले दिएको ३ लाख अनुदानले पुगेन, ऋण गरेर घर त बल्लबल्ल बनायौं तर १८ प्रतिशत महँगो ब्याजले थलियौं,” स्थानीय मनिषा बस्नेतले भनिन्, “कमाउनका लागि जागिर छैन, गरिबी छ, बाच्नका लागि सहयोग गर्नुस् ।”मनिषाजस्तै गुनासो छ स्थानीय गणेबहादुर बस्नेतको पनि । सहरी क्षेत्रमा भूकम्पबाट नढल्ने बलियो घर बनाउनका लागि तीन लाख अनुदानले नपुगेर महंगो ब्याजमा ऋण लिनुपरेको र त्यसपछिको ऋणको ब्याज तिर्न धौ धौ परेको उनले बताए । उनीहरूले विश्व बैंकका उपाध्यक्ष सेफरसँग सरकारले दिने भनेको सहुलियत ऋण लिन नसकेको बताउँदै भूकम्पको कारण गरिबीको चपेटामा परेर आफूहरूलाई बाँच्नका लागिनै समस्या भएकोले सहयोग गर्न आग्रह गरेका थिए ।
सो अवसरमा पनौती नगरपालिकाकी उपप्रमुख गीता बञ्जाराले जेष्ठ र एकल महिलालाई घर बनाउन नसकेको, सहुलियत ऋण नपाएको कारण पक्की घर बनाउन समस्या भएकोले विश्व बैंक र पुर्ननिर्माण प्राधिकरणसँग सहयोगका लागि आग्रह गरिन् । पुरातात्विक क्षेत्र र गुठीका जग्गामा घर बनाउँदा नक्सापासका लागि भक्तपुर जानुपर्ने अवस्थाको अन्त्यका लागि सहजीकरण गरिदिन समेत उनको आग्रह थियो । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सहुलियत ऋण उपलब्धताका लागि प्राधिकरणले सहजीकरण गर्नुका साथै पुरातात्विक क्षेत्र र गुठीको जग्गामा पुर्ननिर्माणका लागि नक्सापासका लागि भक्तपुर जाने अवस्था अन्त्य गर्ने प्रतिवद्धता जनाए ।
विश्व बैंकका उपाध्यक्ष सेफरले खुलस्त रुपमा दिँदै उनले जीविपीकोपार्जनका लागि विश्व बैंकले सहयोग गर्दै आएको र कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि आफूले पहल गर्ने बताए । भूकम्पपछिको पुर्ननिर्माणमा सँगै काम गर्दा विश्व बैंक र नेपाली जनताबीचको सम्बन्ध बलियो बन्दै गएको बताउँदै उनले पुर्ननिर्माणको क्रममा देखिएका समस्याहरू खुलस्त रुपमा राखेकोमा स्थानीयबासीलाई धन्यवाद दिए । पनौती पुगेका नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फारिस इदादले भूकम्पपछिको पुर्ननिर्माणमा विश्व बैंकले नेपाललाई सहयोग गरिरहेको बताए ।
सोही क्रममा उनले भूकम्पबाट क्षतिग्रस्त भएर पुर्ननिर्माण गरिएको स्थानीय बालउद्धार माविको भवनको अवलोकन गर्नुका साथै स्थानीय विद्यार्थीका लागि खेलकुदका सामग्री हस्तान्तरण पनि गरेका थिए । शुक्रबारनै उनले विश्व बैंकको सहयोगमा जीएफडीआरआरले धुलिखेलमा सञ्चालन गरेको समावेशी उद्यमशीलता प्रशिक्षक प्रशिक्षण तालिमका सहभागीहरूसँग अन्तक्र्रिया गरेका थिए ।
| पुनर्निर्माणमा थप ३३ अर्ब सहायता दिँदै विश्व बैंकले भूकम्पपछिको पुर्ननिर्माणका लागि थप ३३ अर्ब अर्थात तीन सय मिलियन डलर सहयोग गर्ने भएको छ । भूकम्पपछिको पुर्ननिर्माणका लागि सबैभन्दा बढी अर्थात ५ सय मिलियन डलर सहायता गरेको विश्व बैंकले फेरि सहयोग गर्न लागेको छ । भूकम्पछिको पुर्ननिर्माणका लागि लागत अभाव भएको भन्दै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले सहायतका लागि अनुरोध गरेकोमा विश्व बैंकले सहयोग गर्न लागेको हो । विश्व बैंकका दक्षिण एशिया उपाध्यक्ष हार्टविक सेफरले १ लाख २९ हजार भूकम्प प्रभावितलाई लाभान्वित हुने गरी तीन सय मिलियन डलर सहयोगको लागि प्रकृया अघि बढाएको जानकारी दिए । “सरकारले पुर्ननिर्माणका लागि थप सहायतका लागि प्रस्ताव गरेकोमा त्यसलाई स्वीकार गरेर थप सहयोग गर्न लागेका छौ,” उनले भने । |

No comments:
Post a Comment