सोमवार, आश्विन ६, २०७६
प्रदेश–५ अन्र्तगतको उद्योग बढी भएका र स्थापना हुन लागेका रुपन्देही र नवलपरासी क्षेत्रमा बिजुली पु-याउनका लागि नेपाल विद्युत प्राधिकरण तातेको छ ।
रुपन्देही तथा नवलपरासीस्थित बर्दघाट सुस्ता पश्चिम र गण्डकी प्रदेशको नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न प्राधिकरण तातेको हो ।
प्राधिकरणका अनुसार, बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२-३३-११ केभी सबस्टेसन आयोजनाको समग्र भौतिक प्रगति करिब ४५ प्रतिशत छ । रुपन्देहीको योगीकुटी सबस्टेसनबाट सुरु भइ मैनहिया पुग्ने प्रसारण लाइनको लम्बाइ १८ किलोमिटर छ । दुई किलोमिटर भूमिगतसहित प्रसारण लाइन आयोजनाले ५७ टावर निर्माण गर्नुपर्ने छ ।रुपन्देही तथा नवलपरासीस्थित बर्दघाट सुस्ता पश्चिम र गण्डकी प्रदेशको नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न प्राधिकरण तातेको हो ।
रुपन्देहीको भैरहवा क्षेत्रमा रहेका उद्योग र आम उपभोक्तालाई गुणस्तरीय, विश्वसनीय विद्युत् आपूर्ति गर्न, चुहावट घटाउन, प्रसारण क्षमता सुदृढ बनाउन यो आयोजनाको निर्माण हुन लागेको हो ।
यसैगरी, चिनियाँ लगानीमा खुलेको होङशी सिमेन्टलाई विद्युत् आपूर्ति गर्न निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण भौतिक प्रगति करिब ४५ प्रतिशत छ । २० किलोमिटर लामो आयोजनाले ६७ टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ४० टावरको जग हालिएको छ । बर्दघाट सबस्टेसनको स्तरोन्नती अन्तिम चरणमा पुगेको छ ।
प्रसारण लाइनको टावर रहने स्थानको निजी जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको अधिकांश समस्याहरु समाधान भइसकेको र निर्माण सामग्री आयोजनास्थलमा आइसकेकाले दुवै आयोजनाका काम बढीमा ६ महिना सकिने प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन र सबस्टेसन निर्माणमा ढिलाइ हुँदा पर्याप्त विद्युत् नपाएको गुनासो आएपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल आयोजनाहरुको निर्माणस्थल पुगेर आयोजना छिटो बनाउन निर्देशन दिएका छन् ।
आयोजना व्यवस्थापन, ठेकेदारसँग निर्माणमा रहेको जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगलगायतमा देखिएका समस्याबारेमा जानकारी लिँदै यस्तो निर्देशन दिएका हुन् ।
उनले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी माघभित्र अर्थात जनवरी २०२० र मैनहिया सबस्टेसनको काम पुस अर्थात डिसेम्बर २०१९भित्र सक्न निर्देशन दिएका छन् । ‘निजी जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगमा रहेका समस्या समाधान गरी हामी साइट उपलब्ध गराउँछौं, अत्यन्तै महत्वका आयोजनाहरुको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न जनशक्ति थप्नुहोस्, समयमै काम सक्नु भयो भने फूलमाला लगाएर पुरस्कृत गर्छौ, ढिलाइ गरेमा ठेक्का सम्झौतामा भएको व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं’,उनले ठेकेदार कम्पनीहरुलाई निर्देशन दिंदै भने । प्रसारण लाइन र सबस्टेसनको ठेकेदार कम्पनीहरुले भने तोकिएकै समयमा काम सक्ने प्रतिबद्धता जनाएका छन् ।
घिसिङले बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको बर्दघाट नगरपालिका क्षेत्रमा जग्गा अधिग्रहणमा रहेको समस्या समाधान गर्न त्यहाँका मेयर धीरज शर्मासँग पनि छलफल गरेका छन् । मुलुकको औद्योगिक विकाससँग जोडिएका यो प्रसारण लाइनको निर्माणमा सहयोग गरिदिन उनले आग्रह गरेका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पु-याउने घोषणा अनुसार यो लाइन बनिरहेको प्राधिकरणले जनाएको छ । लाइन नपुग्दा होङशी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ । उद्योगको क्षमता बिस्तार गर्न लागेकाले होङशीलाई मात्रै करिब ८० मेगावाट विद्युत् आवश्यक पर्ने बताइएको छ ।
यसैगरी, चितवनको भरतपुरदेखि नवलपरासीको बर्दघाटसम्मको २२० केभी प्रसारण लाइनको पनि निर्माण धमाधम भइरहेको छ । प्राधिकरणका अनुसार, २४६ टावरमध्ये १८० को जग हालिएको छ भने १५१ खडा गरिएको छ ।

No comments:
Post a Comment