भीम गौतम
१२ बर्ष अघि म २७ बर्षको थिएँ र अहिले ३९ बर्ष छु । १२ बर्ष अघि इन्द्रावती भर्खर जन्मेको थियो र अहिले १२ बर्ष पुरा भैसक्यो। अहिले म वृद्ध भैसकेको छु भन्न खोजेको होइन तर इन्द्रावती साप्ताहिक आज १३ बर्ष प्रवेश पुग्दै गर्दा इन्द्रावतीभित्र पोखिएका जोशहरु सम्झिरहेको छु । इन्द्रावती साप्ताहिकसँगको साइनो र सम्बन्ध गहिरो र अवस्मरणीय छ । छापा माध्यममा मलाई पहिलोपटक सम्पादक बन्ने अवसर त्यही इन्द्रावतीले जुराईदिएको थियो । पछिल्लो १० बर्षमा म राजधानी काठमाण्डौमा बसेर पत्रकारिताको कर्म गरिरहेको छु । काभ्रेका पुराना धेरै पत्रकार र व्यक्तित्वहरुलाई मलाई चिन्नुहुन्छ तर विशेष गरी नयाँ पुस्ता र कतिपयसँग मेरो परिचय छैन । कुनै बेला भेटघाट भयो र काभ्रेको पत्रकारितासँग जोडेर परिचय दिनुपर्दाको अवस्थामा अग्रपक्तिमा इन्द्रावतीको नाम आउँछ, संस्थापक सम्पादकको रुपमा । २०६५ सालको साउनदेखि झण्डै साढे दुई बर्ष सम्पादकको रुपमा बस्दा मैले पत्रकारिता पढ्दाका सिद्धान्त, दायित्व र धर्मलाई खुलेरै जोशका साथ उपयोग गरे । इन्द्रावतीको सम्पादकीय नेतृत्व गर्दाको त्यो जोश फेरि जीवनमा फर्केर नआउने निश्चित छ । तर चोट (चोट भनौ नभनौ!!!) ले जीवनको घुम्ती मोडिन्छ” भनेझै इन्द्रावतीकै कारण मेरो जिन्दगीको यात्रा पनि मोडियो । २०५७ सालमा काठमाण्डौबाट काभ्रे गएको म फेरि काठमाण्डौ फर्किएँ । पत्रकार महासंघ काभ्रेको अध्यक्षको निर्वाचनमा इन्द्रावती टिमको मजबूद सहयोग नपाएपछि मेरो इन्द्रावतीसँगको नाता टुट्यो र केही बर्ष काभ्रे बसेर फेरि काठमाण्डौतिर हान्निएँ । नाता टुटेपछि केही समय त आफै सम्पादक भएर सुनकोशी साप्ताहिक प्रकाशन भएको थियो । त्यसले निरन्तरता पाउन सकेन । इन्द्रावती छुटिएपछिको मलम पट्टीको रुपमा सुनकोशीको शुभारम्भ भएको थियो । एउटा रमाइलो प्रसंग के छ भने सुनकोशी चलाउन आर्थिक रुपमा हम्मे परेपछि बनेपा बचत तथा ऋण सहकारीमा मैले र रामकृष्ण (रामकृष्ण चापागाई) ले ऋण लिएका थियौ । रामकृष्णले धेरै अघि त्यो ऋण चुक्ता गर्यो तर मैले बल्ल गएको असार (२०७७) मात्र मात्र चुक्ता गर्न सके । चुक्ता गरेको दिन मैले इन्द्रावती र सुनकोशीलाई मज्जाले सम्झिएँ । यी प्रसंग किन उठाएको भने इन्द्रावतीसँग सुनकोशीको पुर्नजन्म जोडिएको छ र त्यो बेलाको जोश जोडिएको छ । अहिले काठमाण्डौमा बसेर पूर्ण व्यवसायिक रुपमा मैले पत्रकारिता पढ्दा सिकेको पत्रकारिताको इमान र इन्द्रावतीको जोशलाई कम नहुने गरी अघि बढीरहेको छु । आर्थिक पत्रकारिताको यात्रा जारी छ, पूर्ण सफलता त मर्ने बेलासम्म पनि हासिल गर्न नसकिएला तर असन्तुष्ट छैन ।
इन्द्रावती र काभ्रेको पत्रकारिताको मेरो आफ्नै नाता र सम्बन्ध छ । ढुंखर्क गाविस–३ (हाल बेथानचोक–३) मा जन्मेको मैले २०५५ साल देखिनै काभ्रेबाट प्रकाशित काभ्रेपोष्ट साप्ताहिक हुँदै काभ्रेबाट रेडियो नेपाल, नेपाल वान टीभी, इमेज टिभी र राजधानी दैनिकको संवाददाताका साथै २०५९ सालतिर काभ्रेबाट पहिलो दैनिकको रुपमा प्रकाशित पुर्वीय दर्पण दैनिक, मध्यमार्ग साप्ताहिक, सञ्जीवनपत्र साप्ताहिक÷दैनिकसम्म काम गरे । काठमाण्डौ आएर सौर्य र राजधानी दैनिक हुँदै हाल कारोबार दैनिकमा छु । शिक्षाको हिसाबले पत्रकरितामा एमफीएल पनि सकाए । सकृय पत्रकारितासँगैे प्राध्यापन गर्छु भने आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्ष पनि छु । काठमाण्डौ आएपछि पनि पत्रकारिताबाहेक अर्को पेशामा जानुपर्ने अवस्था आयो भनेर भौतारिनुपर्ने अवस्था छैन । पूर्ण रुपमा आफ्नै स्वभाविमान, इमान्दारिता र निष्ठापूर्वक पत्रकारिता गर्न पाएको छु । यति हुँदा हुँदै पनि मेरो जिन्दगीभर सम्झिरहने नाम इन्द्रावती भएको छ । जहिलेसम्म इन्द्रावती बाँचिरहन्छ, त्यतिबेलासम्म गर्वका साथ म इन्द्रावतीको संस्थापक सम्पादक भन्न पाउनेछु । इन्द्रावती निरन्तर बगिरहोस र मैले पनि नमरुन्जेलसम्म इन्द्रावतीको संस्थापक सम्पादक भन्न पाईरहँु । इन्द्रावतीलाई यही १३ औ बर्ष गाठको शुभकामना ।
इन्द्रावतीबारे यति चर्चा गर्दा १२ बर्ष अघि इन्द्रावतीमा पोखिएको जोशको चर्चा नगर्दा मेरो इन्द्रावतीप्रतिको सम्झना अधुरो रहन्छ । पहिलो त यसमा इन्द्रावतीको सम्पादकीय सामग्रीको चर्चा जोडिहाल्छ । जस्ले जति पनि गफ दिन सक्छ, जोशिलो छु भन्न सक्छ तर त्यो जोश देखाउने हामी पत्रकारले पत्रकारितामै हो । त्यो बेला ममा काभ्रेको पत्रकारितामा केही नयाँ गर्ने सोच थियो तर अवसर जुटिरहेको थिएन । सबै सामग्री र विषयवस्तु काभ्रेकै हालेर कुनै पत्रिका निकाल्ने मेरो धोको थियो, सपना थियो । २०६५ साल साउन २७ गतेदेखि आफै सम्पादक भएर इन्द्रावती साप्ताहिक प्रकाशन सुरु गरियो । समाचार, लेखरचना, अन्तरवार्ता, सम्पादकीय लगायतका सम्पूर्ण सामग्रीहरु स्थानीय हालेर पत्रिका प्रकाशन गर्छु भन्दा काभ्रेकै धेरै पत्रकारहरुले पत्याएका थिएनन् । काठमाडौमा प्रकाशित भएका पत्रपत्रिका वा इन्टरनेटका समाचारहरुलाई कपी पेष्ट गरेर तलमाथि गर्ने अल्छी पत्रकारितालाई इन्द्रावतीले केही चुनौती दिएकै थियो । झण्डै साढे दुई बर्ष सम्पादकको रुपमा रहँदा कहिल्यै सामग्रीहरु अभाव भएन । बरु बढी भएर हाल्न पाइएन । जिल्लामा पत्रिका चर्चित पनि भएको थियो ।
जसरी पनि स्थानीय सामग्रीहरुले भर्नुपर्ने कारणले पत्रकारलाई समेत यसले अझ सक्रिय र स्थानीय मुद्दाहरु खोज्नका लागि अभिप्रेरित गर्दो रहेछ । यसबाट योजनावद्ध ढंगले मुद्दाहरु खोज्न पनि सजिलो हुने रहेछ । कहिलेकाही इन्द्रावतीका ती अंकहरु पल्टाएर हेर्दा मलाई बडा आनन्द आउँछ । के मुद्दा उठाइएन छ र के लेखिएन छ जस्तो लाग्छ । राजनीति मात्र समाचार हालेर पत्रिका चर्चित हुन्छ र पढ्छन् भन्ने परम्परागत मान्यतलाई इन्द्रावतीले केही भत्काएको थियो । राष्ट्रपति, प्रधानमन्त्री वा जोसुकै देशकै उच्च व्यक्तिहरु आऊन, उनीहरुको भाषण प्रथम पृष्ठ नछाप्ने अर्थात भाषण पत्रकारितालाीई कम प्राथमिकता दिने त्यो अभियानमा इन्द्रावतीले आफ्नो स्वाभिमानलाई कायममै राख्यो । बिहान साढे ५ बजे राष्ट्रिय राजनीतिका ताजा समाचारहरु पढ्न छोडेर केही स्थानीय समाचारसहित राष्टिय राजनीतिका तीनै समाचारहरु पस्कने स्थानीय पत्रपत्रिका किन पढ्ने ? स्थानीय समाचारहरु पढ्नका लागि त्यस्ता के पढ्नीय सामग्री छन् ? के खोजी समाचार छन् ? गाउँघरमा लुकेर बसेका कुराहरु समाचार बन्दैनन् ? जनताले समयमै सेवा नपाएको, अन्याय भोग्नुपरेको, विकास निर्माण नपाएको, बजेट गाउँसम्म नआएको समाचार होइनर ? के ठूलावडा र नेताहरुले बोलेको मात्र समाचार हो ? समाचारले जनताको आवाज बोल्नुपर्दैन ? यी धेरै प्रश्नहरु हामीमाथि उठ्ने गर्थे । यस्ता समाचारहरु पत्रपत्रिकामा आउँथे तर थोरै आउँथे । जनताको त्यो सपना र स्थानीय सामग्री हालेर पत्रिका भर्ने चाहानालाई केही पुरा गर्न सहयोग गरेकोमा त्यो बेला हामी खुशीनै थियौ ।
इन्द्रावती साप्ताहिकका ती तीता, मीठा, दुःख, सुख र संघर्षका दिनहरु सम्झन्छु । अहिले कस्तो अवस्था छ ? म विश्लेषण गर्ने अवस्थामा छैन तर इन्द्रावती सामग्रीमा विविधता र काममा निष्पक्षताको आर्दशमा अडिग भईरहेको छ भन्नेमा पूर्ण आशावादी छु । इन्द्रावतीले पहिलाकै जस्तै स्वतन्त्र, निष्पक्ष होस् र स्थानीय मुद्दा उठाउनेमा काभ्रेको अग्रणी पत्रिका होस् भन्ने मेरो अहिलेको इन्द्रावती टिमबाट अपेक्षा छ । इन्द्रावतीले सही गति लिएमा इन्द्रावतीलाई निरन्तर बगाउनका लागि हातमा हात र काँधमा काँध थाप्नेहरु धेरै हुन्छन् । त्यसमा इन्द्रावती चुक्नु हुँदैन र जतिसुकै कठिन परिस्थितीमा पनि नचुकोस् ।
५ साउन, २०७७, हाम्रो इन्द्रावती साप्ताहिक, बनेपा, काभ्रे
No comments:
Post a Comment