Monday, December 17, 2012

प्रतिस्थापित ट्रान्सफर्मर भन्सार आइपुग्यो

काठमाडौं, २ पुस । गुणस्तरहीन ट्रान्सफर्मर नेपाल आयात गरेको जेके होल्डिङ कम्पनी लिमिटेडले पठाएको नयाँ प्रतिस्थापित ट्रान्सफर्मर वीरगन्जस्थित भन्सार कार्यालय आइपुगेको छ । ०६७/६८ मा आयात गरिएका ती ट्रान्सफर्म प्राधिकरणद्वारा गठित विभिन्न समितिले गरेको अध्ययनले गुणस्तरहीन देखाएपछि जेके होल्डिङले आफ्नो बदमासी स्वीकार्दै दुई महिनाअघि सबै ट्रान्सफर्म प्रतिस्थापन गर्न तयार भएको थियो । सोहीअनुसार कम्पनीले पठाएको दुई सय १० थान ट्रान्सफर्म वीरगन्ज भन्सार कार्यालय आइपुगेको हो । नेपाल विद्युत् प्राधिकरण ग्राहक तथा वितरण पूर्वका महाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेलले दुई सय १० थान ट्रान्सफर्मर भन्सार कार्यालय आइपुगेको जानकारी दिए । ‘प्रतिस्थापन गर्नेमध्ये दुई सय १० थान ट्रान्सफर्मर भन्सार आइपुगेका छन्,’ उनले भने । प्राधिकरणले ४७४ थान ट्रान्सफर्मर जेके होल्डिङमार्फत नेपाल आयात गरेको थियो । बाँकी सबै ट्रान्सफर्मर छिट्टै पठाउने कम्पनीले प्रतिबद्धता गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार चार लाख ५० हजार ६०७ अमेरिकी डलरमा ती ट्रान्सफर्मर खरिद गरिएका थिए । खरिद गरिएका सबै ट्रान्सफर्मर प्राधिकरणले उपयोग गरेको छैन ।
त्यसैगरी प्राधिकरणले हुबेई सनलाइट इलेक्ट्रिक कम्पनीमार्फत ल्याइएका ट्रान्सफर्मरसमेत नेपाल पठाएको जानकारी प्राधिकरणलाई कम्पनीले गराएको छ । १० डिसेम्बरमा प्रतिस्थापनका लागि ट्रान्सफर्मर पठाएको जानकारी कम्पनीले दिएको प्राधिकरणका एक अधिकारीले बताए । तर, कति भन्ने उनले खुलाउन चाहेनन् । ०६७/६८ मा हुबेईमार्फत विश्व बंैकको सहयोगमा करिब १६ करोड रुपियाँमा ७३५ थान ट्रान्सफर्मर खरिद गरिएका थिए । हुबेईलाई प्राधिकरणले स्वीकार प्रमाणपत्र (एक्सेप्टएबल सर्टिफिकेट भने दिइसकेको छ । हुबेईले समेत आफ्नो बदमासी स्वीकार्दै प्रतिस्थापन गर्ने जनाएको थियो । दुई लटमा हुबेईमार्फत मात्र १६ लाख दुई हजार डलरमा १२६० वटा ट्रान्सफर्मर ल्याइएका थिए ।
ट्रान्सफर्मर प्रकरण सार्वजनिक भएपछि दुवै कम्पनीले प्राधिकरणलाई पत्र पठाउँदै सबै ट्रान्सफर्मर प्रतिस्थापन गर्ने बताएका थिए । प्राधिकरणका तत्कालीन सञ्चालक सदस्य डा. कृष्णप्रसाद दुलालको संयोजकत्वमा ०६९ सालको जेठ र अर्का तत्कालीन सञ्चालक सदस्य मुकेश काफ्लेको संयोजकत्वमा ०६७ सालमा बनेको समितिले ०६३ सालपछि खरिद गरिएका पाँच हजारभन्दा बढी ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो ।
प्राधिकरणका अनुसार गुणस्तरहीन ट्रान्सफर्मरका कारण प्राधिकरणले बर्सेनि दुई अर्ब बढी घाटा बेहोर्दै आएको थियो । घाटा पूर्ति तथा ती कम्पनीको कारबाहीबारे प्राधिकरण सञ्चालक समिति मौन रहँदै आएको छ । ट्रान्सफर्मर प्रकरणमा प्राधिकरण सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा रहेको समितिले दोषी देखाएका २६ कर्मचारीलाई प्राधिकरण अझसम्म कुनै कारबाही गर्न सकेको छैन । प्राधिकरणका कर्मचारी संघ/संगठनहरूले पनि सबैलाई कारबाहीको माग गर्दै आएका छन् ।
हुबेईले नेपाल पठाएको ट्रान्सफर्मरमा बाहिर तामा र भित्र आल्मुनियम भेटिएपछि ट्रान्सफर्मर प्रकरण चुलिएको थियो । गत भदौ १५ गते प्राधिकरणको लैनचौरस्थित वर्कसपमा उक्त बदमासी पत्ता लागेको थियो ।

1 comment:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन