Friday, December 7, 2012

कुलेखानी इन्द्रसरोवरमा बोटिङ चलाइने


काठमाडौं, २२ मंसिर । नेपालको एक मात्र कुलेखानी जलाशय जलविद्युत् आयोजना इन्द्रसरोवरमा बोटिङ चलाउनका लागि नेपाल विद्युत् प्राधिकरणले अध्ययन समिति गठन गरेको छ ।
सात किलोमिटर लामो उक्त सरोवरमा बोटिङ चलाउन सके आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन हुनसक्ने भन्दै प्राधिकरणले अध्ययन समिति गठन गरेको हो । कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख रवीन्द्रबहादुर महासेठ संयोजक रहेको समितिमा प्रदीपमान श्रेष्ठ, राजेश सापकोटा, राजु ज्ञवाली, धु्रर्वराज भट्टलगायत सदस्य छन् । उनीहरूले बोटिङ सञ्चालन गर्न उपयुक्त हुने/नहुनेबारे विस्तृत अध्ययन गरेर बुझाउने प्राधिकरणले जनाएको छ । संयोजक महासेठले चलाउन दिँदा मानवीय क्षति हुनेलगायत खतराको सम्भावना भएकाले त्यसबारे अध्ययन भइरहेको र एक साताभित्र प्रतिवेदन बुझाउने जानकारी दिए ।
इन्द्रसरोवर मत्स्य व्यवसायी संघले बोटिङ सञ्चालनका लागि प्राधिकरणमा निवेदन दिएपछि प्राधिकरण सञ्चालनका लागि अध्ययन समिति बनाएर अघि बढाएको हो । ‘बोटिङ सञ्चालनका लागि निवेदन आएपछि त्यसबारे अध्ययन गर्न समिति गठन गरिएको छ, अब अध्ययन समितिको प्रतिवेदनपछि मात्र निर्णय हुन्छ,’ प्राधिकरण उत्पादन, सञ्चालन तथा सम्भार विभागका महाप्रबन्धक केशवराज भट्टले भने । उनका अनुसार अध्ययन समितिले प्रतिवेदन दिँदा उपयुक्त देखाएमा आह्वान गरेर सम्बन्धित संस्थालाई दिइने छ ।
लोडसेडिङको समस्याको कारणले हिउँदमा कुलेखानी जलाशय आयोजना सञ्चालन गरिने भएकाले हिउँदमा २/३ महिना मात्र सञ्चालन हुने तथा पानी सुक्दै गएपछि बढी क्षतिपूर्ति माग्ने प्रवृत्तिको कारण सञ्चालन गर्न दिन नहुने आवाज पनि प्राधिकरणमा उठेको छ । ‘पहिला माछा पाल्न स्थानीयलाई दिइएकामा जलाशयमा पानी सुक्दै गएपछि माछा मर्न थाले भन्दै १४ लाख रुपियाँसम्म प्राधिकरणले क्षतिपूर्ति दिएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘बोट चलाउन दिँदा मानवीय क्षति हुन्छ, कहिलेकाहीँ त कोहीले आत्महत्या पनि गर्लान्, त्यो सबैको क्षतिपूर्ति प्राधिकरणले तिर्न सम्भव हुँदैन, चलाउन दिँदा फाइदाभन्दा बढी जोखिम छ ।’ प्राधिकरणका ती अधिकारीले भने धेरै जोखिम देख्दादेख्दै सञ्चालनका लागि इन्जिनियरिङ सेवाका श्रेष्ठ तथा सापकोटा, वातावरण तथा सामाजिक अध्ययन विभागका ज्ञवाली तथा कानुन विभागका भट्टलाई नामै तोकेर सदस्य बनाई प्राधिकरणले सञ्चालन गर्न खोजेको आरोप लगाए ।
बोटिङ चलाउन सके पर्यटकीय प्रवद्र्धनमा भने ठूलो सहयोग पुग्ने छ । माछाको लागि समेत प्रसिद्ध कुलेखानी जलाशय नजिक धेरै आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन् । अझ बोटिङ चलाएमा भने धेरैको गन्तव्य कुलेखानी हुने भएकाले अहिले प्राधिकरणले बोटिङ सञ्चालन गर्न दिने भन्ने मनस्थितिका साथ अध्ययन समिति गठन गरेको हो । पालुङ, चलेख, चित्लाङ, सिमखोला, काल्ची खोला, सेती खानी लगायत ९ खोला–खोल्साबाट आएको पानी इन्द्रसरोवरमा खसालिएको छ । अहिले उक्त जलाशयमा स्थानीयवासीले माछासमेत पालन गर्दै आएका छन् ।

1 comment:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन