Monday, October 17, 2016

ऊर्जा मन्त्रालयमा दुई सातामा दुई सय गुनासा

     कारोबार संवाददाता   + -

काठमाडौं : सर्वसाधारणले लोडसेडिङ, मिटर अभाव, आयोजना निर्माण ढिलाइलगायतका विषयमा ऊर्जा मन्त्रालयमा दुई सयभन्दा बढी गुनासो गरेका छन् । दुई हप्ताअघि गुनासो सुन्नका लागि ऊर्जा मन्त्रालयले युनिट खडा गरेपछि सो युनिटमा सर्वसाधारणले यति धेरै गुनासो गरेका हुन् ।
टेलिफोन, एसएमएस र इमेलमार्फत दुई सयभन्दा बढी फरक फरक गुनासो आएको ऊर्जामन्त्री जनार्दन शर्माका निजी सचिव किरणराज तिमल्सिनाले जानकारी दिए ।
“सबै गरी चार सयभन्दा बढी गुनासा आएका थिए, एउटै समस्याबारे २०/३० वटासम्म गुनासो आएका छन् तर फरक फरक दुई सयभन्दा बढी आएका थिए,” उनले भने, “अधिकांश सम्बोधन भएका छन्, तत्काल सम्बोधन गर्नुपर्नेमा भएमा तत्काल फोन गरेर र केही समयपछि गर्न मिल्ने भए समस्या समाधान गर्ने निकायमा पत्र लेखेर समाधानका लागि भनेका छौं ।”
उनका अनुसार, अधिकांश गुनासा सम्बोधन भैसकेका छन् । मन्त्रालयले इमेलमार्फत २० वटा, एसएमसमार्फत ५१ वटा तथा अन्य गुनासाहरू फोनमार्फत आएको जनाएको छ । 
ऊर्जा मन्त्रालयको प्रत्यक्ष मातहत र मन्त्रीलाई समेत तत्काल जानकारी दिने गरी स्थापना गरिएको युनिटमा अधिकांशले तालिका अनुसार बिजुली नआएको बारे गुनासो गरेका छन् ।
मध्यभोटेकोसी जलविद्युत् आयोजनामा ठेकेदार कम्पनीले जग्गा नपाएको, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको काम गर्ने ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको, पूर्वको बेलबारी, दमकलगायतका क्षेत्रमा मिटरको अभाव रहेको, टान्सफर्मर पड्केको र कम क्षमताका कारण बत्तीको पावर कमलगायतका गुनासा रहेको मन्त्रालयले जनाएको छ । 
मन्त्रालयले गत १६ असोजमा सर्वसाधारणका लागि विद्युत् आपूर्ति सरल, सहज र भरपर्दो बनाउन सम्बन्धित निकायबाट भए गरेका कार्यमा ढिला सुस्ती एवं अनियमितता र चुहावट भएको अवस्थामा सूचना प्राप्त गर्न गुनासो व्यवस्थापन युनिट स्थापना गरेको थियो ।
तथ्यपरक र जायज विषयसम्बन्धी सूचनाको तत्काल सम्बोधन गर्न ऊर्जामन्त्री जनार्दन शर्मा आफैंले आवश्यक कदम चाल्ने गरी स्थापना भएको युनिटमा गुनासोका लागि सर्वसाधारणले ९८६१६६६३६६ नम्बरमा २४ घन्टा सन्देश तथा दिउँसो ११ बजेदेखि १ बजेसम्म फोनसमेत गर्ने व्यवस्था मिलाइएको छ भने ऊर्जा मन्त्रालयको नम्बर र इमेलमा समेत गुनासो पोख्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयले लोडसेडिङ, कर्मचारी र ग्राहकको मिलोमतोमा विद्युत् चुहावट भएको पाइएमा वा ग्राहकले गैरकानुनी रूपमा विद्युत् बाल्ने काम भएको पाइएमा, आयोजनाका कर्मचारी वा ठेकेदारको लापारबाहीले निर्माणस्थलमा काम ढिला सुस्ती भएमा वा जलविद्युत्सम्बन्धी सबै गुनासोको सुनुवाइ गर्ने भन्दै युनिट स्थापना गरेको छ ।
 http://www.karobardaily.com/%E0%A4%8A%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BE-%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B2%E0%A4%AF%E0%A4%AE%E0%A4%BE-%E0%A4%A6%E0%A5%81%E0%A4%88-%E0%A4%B8%E0%A4%BE%E0%A4%A4%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%A6%E0%A5%81%E0%A4%88-%E0%A4%B8%E0%A4%AF-%E0%A4%97%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B8%E0%A4%BE

No comments: