Sunday, October 2, 2016

दुर्गममा जाने प्राविधिकलाई ५० प्रतिशत भत्ता दिने प्राधिकरणको निर्णय, अर्थले स्वीकृति दिन बाँकि

    भीम गौतम   0 + -

तस्विर : कारोबार
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणका लागि दुर्गम जाने प्राविधिकहरूलाई ५० प्रतिशत भत्ता दिने भएको छ । पुनर्निर्माणमा खटिएका प्राविधिक इन्जिनियरहरूले भत्ता, सुविधा माग गर्दै आन्दोलन गरेपछि प्राधिकरणले दुर्गम जानेलाई थप ५० प्रतिशत भत्ता दिने भएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राविधिकहरूलाई ३५ प्रतिशतदेखि ५० प्रतिशत भत्ता दिने निर्णय गरेर अर्थ मन्त्रालयमा पठाएको जानकारी दिए । 
प्राधिकरणका अनुसार, अर्थ मन्त्रालयले स्वीकृति दिएमा सबै प्राविधिकहरूलाई २५ प्रतिशत भत्ताका साथै सुगम र दुर्गमका आधारमा २५ प्रतिशतसम्म थप भत्ता पाउनेछन् ।
जिल्ला सदरमुकाममा काम गर्ने प्राविधिकले थप १० प्रतिशत, नगरपालिकामा काम गर्नेले १५ प्रतिशत र दुर्गम क्षेत्रमा काम गर्नेले थप २५ प्रतिशत भत्ता पाउने प्रस्ताव गरिएको छ ।
“फिल्डमा गएर काम गर्ने प्राविधिकहरूलाई भत्ता र सेवा सुविधाका लागि पहिल्यैदेखि पहल भएको थियो, यसै आवभित्र थप गर्ने पक्षमा पनि थियौं,” कार्यकारी अधिकृत ज्ञवालीले भने, “भत्ता वृद्धिसँगै उनीहरूलाई निश्चित लक्ष्य दिइनेछ र कार्य सम्पादनको आधारमा मात्र भत्ता पाउनेछन् ।”
प्राधिकरणले सर्भेक्षण सकिएका भूकम्प अतिप्रभावित ११ जिल्लामा ५ लाख ३१ हजार पहिचान भैसकेका तथा काठमाडौं उपत्यकामा भेरिएसयन भैसकेका १ लाख ७ हजार र थप गरी सवा लाख तथा बाँकी १७ जिल्लाको सर्भेक्षणसमेत गरी कुल ८ लाख पुग्ने अनुमान गरेको छ ।
प्राधिकरणले दातृ निकाय डीएफआईडीको सहयोगमा १७ जिल्लामा भूकम्पबाट करिब २ लाख आंशिक घर क्षति भएको हुनसक्ने तथा हाल रेक्ट्रोफिटका लागि ५० हजार रुपैयाँ दिने निर्णय गरेकोमा थप ५० हजार दिनका लागि गृहकार्य अघि बढाएको उनले जानकारी दिए ।
काठमाडौं उपत्यकाभित्रका भूकम्प प्रभावितसँग अनुदान सम्झौतका लागि ललितपुरका १२ गाविसको लाभग्राहीको नाम सार्वजनिक गरी अनुदान सम्झौता अघि बढाउन लागेको प्राधिकरणले जनाएको छ । 
प्राधिकरणले हरेक जिल्लामा जिल्ला प्रशासन कार्यालयसँगै रहने गरी जिल्ला समन्वय समिति स्थापना गरी पुनर्निर्माणको प्रक्रिया द्रुत गतिमा अघि बढाउन लागेको जानकारी दिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार, भूकम्पबाट घर क्षति भएर आफैं पुनर्निर्माण गरिसकेका लागि निश्चित मापदण्डको आधारमा अनुदान दिन कार्यविधि निर्माण अघि बढाइएको जानकारी दिए । 
हालसम्म पुनर्निर्माणका लागि विभिन्न संघ–संस्थासमेतले गरी १५ हजार दक्ष निर्माणकर्मी तयार गरिसकेको र प्रभावित सबै जिल्लाका गाविसस्थित करिब ५ वडामा ६/६ जनाको दरले ३० हजार निर्माणकर्मी तयार गरिन लागेको छ । 
http://www.karobardaily.com/%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%97%E0%A4%AE%E0%A4%AE%E0%A4%BE-%E0%A4%9C%E0%A4%BE%E0%A4%A8%E0%A5%87-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A5%AB%E0%A5%A6-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B6%E0%A4%A4-%E0%A4%AD%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8%E0%A5%87-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A3%E0%A4%AF-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A4%B2%E0%A5%87-%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A5%80%E0%A4%95%E0%A5%83%E0%A4%A4%E0%A4%BF-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8-%E0%A4%AC%E0%A4%BE%E0%A4%81%E0%A4%95%E0%A4%BF

No comments: